९३. महामारीको बेलाको एउटा पृथक अनुभव
सन् २०२२ को नोभेम्बरको सुरुमा, मैले आफ्नो कर्तव्य पूरा गरिरहेको ठाउँमा महामारीको अवस्था झन्-झन् खराब हुँदै गइरहेको थियो, र केही दिनको अन्तरालमै, वरपरका कयौँ इलाका उच्च जोखिमका क्षेत्र बने। त्यसको तुरुन्तै, सम्पूर्ण काउन्टी सील गरी सबैलाई घरमा क्वारेन्टाइनमा बस्न भनियो। त्यसको केही समयपछि नै, म रहेको समुदायभरि महामारीले असर गर्यो, र एकपछि अर्को गरी सय जनाभन्दा बढी मानिसलाई आइसोलेसनमा लगेर राखियो, र मानिसहरूलाई अझै लगिइरहेको थियो। मैले यो रोग यति चाँडो फैलिरहेको छ भन्ने कुरामा मलाई विश्वासै लागिरहेको थिएन, किनभने केही दिनमै कति धेरै मानिसहरू सङ्क्रमित भइरहेका थिए। मलाई चिन्ता लाग्न थाल्यो, “के मेरा सहकर्मीहरू र म पनि सङ्क्रमित हुनेछौँ?” तर फेरि सोचेँ, “हामी गैरविश्वासीहरूभन्दा फरक छौँ। हामी विश्वासीहरू परमेश्वरबाट रक्षित छौँ। यसबाहेक, हामी भिडियो बनाउने महत्त्वपूर्ण काम गरिरहेका छौँ। र हाम्रो कामले राम्रा परिणामहरू पनि प्राप्त गरिरहेको छ। यदि अरू ठाउँका ब्रदर-सिस्टरहरूले समस्याहरू भोगिरहेका छन् भने, तिनीहरूले हामीलाई सहयोग माग्दै पत्र लेख्नेछन्। यदि हामी सङ्क्रमित भयौँ र आफ्नो कर्तव्य पूरा गर्न सकेनौँ भने, के त्यसले काममा ढिलाइ गर्दैन र? बाइबलले भन्छ: ‘तेरो छेउमै हजार जना ढल्नेछन्, र तेरो दाहिनेतिर दश हजार जना; तर त्यो तेरो नजिक आउनेछैन’ (भजनसंग्रह ९१:७)। यदि परमेश्वरले अनुमति दिनुभएन भने, सम्पूर्ण समुदाय सङ्क्रमित भए पनि, हामीलाई केही हुने छैन।” यी विचारहरूले मलाई शान्ति र श्रेष्ठताको अकल्पनीय अनुभूति दिए। कहिलेकहीँ म आश्रयदाता सिस्टरहरू सङ्क्रमित भइएला कि भनी डराएको देख्थेँ, र मलाई तिनीहरूमा विश्वासको कमी भएजस्तो लाग्थ्यो। म सोच्थेँ, “तिमीहरूले हामीलाई बास दिइरहेका छौ, र परमेश्वरले तिमीहरूलाई पनि रक्षा गर्नुहुनेछ।”
हाम्रो समुदायमा महामारी अन्तमा नियन्त्रणभन्दा बाहिर फैलियो। हरेक दिन म कामदारहरूले बाहिरी ठूला ठाउँहरूमा कीटाणुशोधन गरिरहेको देख्थेँ र गैरविश्वासीहरूलाई कसरी आइसोलेसनका लागि लगिइरहेको छ भनेर आश्रयदाता सिस्टरहरूले कुरा गरिरहेका हुन्थे। म विश्वासी भएकीमा निकै खुसी थिएँ, र मलाई परमेश्वरको हातमा रहेको बच्चा हुँ जस्तै लाग्थ्यो। परमेश्वरको हेरचाह र सुरक्षामा, महामारीले हामीलाई छुन सक्दैनथियो। तर केही समयपछि नै, अनपेक्षित कुरा घट्यो। नोभेम्बर १८ मा, मसँग सहकार्य गरिरहेकी एक जना सिस्टरलाई नुहाएपछि अचानक ज्वरो आयो र खोकी लाग्यो। त्यसपछि आश्रयदाता सिस्टरहरूलाई ज्वरो आउने र टाउको दुख्ने भयो, र मैले सोच्न थालेँ, “के तिनीहरू सङ्क्रमित भएका हुन्?” तर यी विचारहरू साँचो हुन सक्दैनन् भन्ने विश्वास गर्दै मैले ती बिचारहरूलाई तुरुन्तै हटाएँ। तर भोलिपल्ट, मेरो पूरै शरीरमा अचानक पीडा भयो र मलाई कमजोर महसुस भयो, र अर्को सिस्टरलाई पनि ज्वरो आयो। हामीले जाँच गर्यौँ, र हामी र हामीलाई बास दिने सिस्टरहरू दुवैमा पोजेटिभ देखियो। सुरुमा, मैले यो कुरा साँचो हो भनेर विश्वास गर्ने आँट गर्न सकिनँ र म कसरी सङ्क्रमित भएँ भन्ने नै थाहा भएन। मैले आफ्नो कर्तव्यमा गरेका हालैको क्रियाकलापहरू सम्झन थालेँ, र मनमनै भनेँ, “मैले स्पष्ट रूपमा परमेश्वरको प्रतिरोध हुने कुनै काम गरेकी छैनँ, र हाम्रो काम पनि निकै राम्ररी अघि बढिरहेको छ। मलाई दण्ड नदिइनु पर्ने हो, त्यसोभए म किन सङ्क्रमित भएकी छु? के परमेश्वरले मलाई कदमा वृद्धि भएको देखेर, मलाई जाँच्न यो रोगको प्रयोग गरिरहनुभएको हो ताकि मैले उहाँको गवाही दिन सकूँ? यदि त्यसो हो भने, मैले गुनासो गरिनँ र आफ्नो कर्तव्यमा लागिरहेँ भने, परमेश्वरले मलाई केही हुन दिनुहुने छैन।” त्यसपछि, मैले आफूलाई पहिले जस्तै आफ्नो कर्तव्यमा लागिरहन र परमेश्वरको सुरक्षा पाएर, मेरो अवस्था चाँडै परिवर्तन हुनेछ भनेर सम्झाइरहेँ। तर परिस्थिति मैले कल्पना गरेअनुसार भएन, र मेरो स्थितिमा सुधार आउनु त कता हो, यो झन्-झन् खराब हुँदै गएको थियो। मेरो ज्वरो बल्झिरह्यो र मेरो जिउ सबैतिर पोल्थ्यो, विशेष गरी मेरो घाँटी दुख्ने र पोल्ने भइरह्यो। जब-जब म केही कुरा खान वा पिउन खोज्थेँ, तब मलाई छुरा निले जस्तो लाग्थ्यो, र राति सुत्ने प्रयास गर्दा मेरो नाक बन्द हुन्थ्यो र मैले मुखबाट मात्रै सास फेर्न सक्थेँ, जसले गर्दा मेरो घाँटी अझै दुख्थ्यो र सुक्खा हुन्थ्यो। मैले हृदयमा गुनासो गर्न थालेँ, “यो रोग किन ठीक भइरहेको छैन?” अनि दुई रात मलाई छातीमा समस्या भयो र सास फेर्न गाह्रो भयो। मलाई यो रोगले गर्दा सास फेर्न नसकेर मरेका मानिसहरूका झझल्कोहरू याद आयो र मलाई झन् बढी डर लाग्यो। मैले चिन्ता गरिरहेँ, “मेरो अवस्था झन् खराब किन भइरहेको होला? के म मर्नेछु? परमेश्वरले मलाई यो रोगले जाँचिरहनुभएको छ कि दण्ड दिइरहनुभएको छ?” यी विचारहरूले मेरो हृदय अत्यन्तै भारी भयो। रोगको ती केही दिनको अवधिमा, घरमा वर्षा हुँदा र चिसो हुँदा, मृत्युको छाया परेको छ जस्तो लाग्यो र मभित्र एक प्रकारको अवर्णनीय तिक्तता महसुस भयो, मानौँ मलाई परमेश्वरले त्याग्नुभएको छ। यस विन्दुमा मेरो पहिलेको श्रेष्ठताको बोध हराएको थियो। मैले परमेश्वरले पहिले मलाई कसरी अनुग्रह र आशिष् दिनुभएको थियो, र अरूले मलाई कसरी आदर र डाहा गरेका थिए भन्ने सोचेँ, तर अहिले मलाई अत्यन्तै महत्त्वहीन महसुस भयो, मानौँ कुनै दिन म चुपचाप हराउन सक्छु… मैले यसका बारेमा जति विचार गरेँ, मलाई त्यति नै व्याकुल भयो, मेरो अगाडि रहेको बाटो अँध्यारो भयो, र मसँग केही गर्ने ऊर्जा थिएन। रोगप्रति मैले अनुभव गरिरहेका प्रतिकूल प्रतिक्रियाहरू पनि थपिँदा, मलाई सुतौँ र आराम गरौँ मात्र हुन्थ्यो। म आफ्नो कर्तव्यमा लागिरहनुपर्छ भन्ने मलाई थाहा भए पनि, मेरो पूरै शरीरमा पटक्कै तागत थिएन, र मैले सोचेँ, “मलाई निको हुनु त कता हो कता, म त झन्-झन् बिरामी पो भइरहेकी छु। मैले आफ्नो कर्तव्य पूरा गर्न सकेकी छैनँ र कुनै गवाही दिएकी छैनँ। के मेरो अन्त्य यही हुन सक्छ?” पीडामा, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! अहिले मलाई अत्यन्तै कमजोर महसुस भइरहेको छ र मैले तपाईँको अभिप्राय बुझेकी छैनँ। यो कुराबाट कसरी पार हुने मलाई थाहा छैन, कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र अगुवाइ गर्नुहोस्!”
यसपछि, मैले परमेश्वरका वचनका दुई खण्ड पढेँ: “जब परमेश्वरले कुनै व्यक्ति बिरामी पर्ने बन्दोबस्त मिलाउनुहुन्छ, तब त्यो बिमारी ठूलो भए पनि सानो भए पनि, त्यस्तो गर्नुमा उहाँको उद्देश्य तँलाई बिरामी पर्नुका हरेक कुराहरू, त्यो रोगले तँलाई गर्ने हानि, त्यो रोगले तेरो जीवनमा ल्याउने असहजताहरू र अप्ठ्याराहरू, अनि त्यो रोगले तँलाई महसुस गराउने अनगिन्ती कुराहरू बुझाउनु होइन—उहाँको उद्देश्य तैँले बिरामी भएर त्यो रोग बुझ् भन्ने होइन। बरु, उहाँको उद्देश्य त तँलाई त्यो बिमारीबाट पाठहरू सिकाउनु, परमेश्वरका अभिप्राय कसरी थाहा पाउने त्यो सिकाउनु, तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरू र तँ बिरामी हुँदा परमेश्वरप्रति तैँले अपनाउने गलत मनोवृत्तिहरू ज्ञात गराउनु, र परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा कसरी समर्पित हुने त्यो सिकाउनु हो, ताकि तैँले परमेश्वरप्रति साँचो समर्पणता हासिल गर्न र आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुन सक्—मुख्य कुरा यही हो। परमेश्वरले तँलाई रोगबिमारीमार्फत मुक्ति दिन र पखाल्न चाहनुहुन्छ। उहाँले तेरो के कुरालाई पखाल्न चाहनुहुन्छ? उहाँले परमेश्वरप्रतिका तेरा सबै अनावश्यक इच्छा र मागहरू पखाल्न चाहनुहुन्छ, र तैँले जुनसुकै हालतमा पनि जीवित रहिरहन र बाँच्नको लागि गर्ने योजना, मूल्याङ्कन, र युक्तिहरूसमेत पखाल्न चाहनुहुन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। “तिमीहरू सबै प्रकारका कष्टहरूमार्फत गुज्रिएका, र तिमीहरूले सबै प्रकारका यातना अनुभव गरेका भए तापनि, त्यो कष्ट अय्यूबको जस्तो बिलकुल छैन; बरु यो त न्याय र सजाय हो जुन मानिसहरूले तिनीहरूको विद्रोहीपनको कारणले, तिनीहरूको विरोधको कारणले, र मेरो धर्मी स्वभावको कारणले पाएका हुन्; यो धर्मी न्याय, दण्ड र श्राप हो। यसको विपरीत, अय्यूब भने इस्राएलीहरूको माझमा एक धर्मी मानिस थिए जसले यहोवाको ठूलो प्रेम तथा करुणा पाए। तिनले कुनै दुष्कर्महरू गरेका थिएनन्, अनि तिनले यहोवाको विरोध गरेनन्; बरु, तिनी निष्ठापूर्वक यहोवाप्रति समर्पित थिए। तिनको धार्मिकताको कारणले, तिनी परीक्षाहरूमा परेका थिए, अनि तिनले अग्निमय परीक्षाहरू भोगे किनकि तिनी यहोवाका एक विश्वासयोग्य सेवक थिए। आजका मानिसहरू आफ्नो फोहोरीपन र अधार्मिकताको कारणले मेरो न्याय तथा श्रापमा परेका छन्। यद्यपि, तिनीहरूको कष्ट अय्यूबले आफ्नो पशुधन, आफ्नो सम्पत्ति, आफ्ना नोकरचाकर, आफ्ना सन्तानहरू र आफूले प्रिय ठानेका सबै कुराहरू गुमाएर भोगेको कष्टजस्तो होइन, तैपनि तिनीहरूले भोग्ने कुरा अग्निमय शोधन र ज्वलन हो। अनि यो परीक्षालाई अय्यूबले भोगेको भन्दा गम्भीर बनाउने कुरा के हो भने त्यस्ता कष्टहरू मानिसहरू कमजोर भएकाले घटाइँदैनन् वा हटाइँदैनन्; बरु, ती लामो समयसम्म रहन्छन्, अनि मानिसहरूको जीवनको अन्तिम दिनसम्म नै रहिरहन्छन्। यो दण्ड, न्याय र श्राप हो; यो निर्दयी ज्वलन हो, अनि अझ बढी, यो मानवजातिको न्यायोचित ‘उत्तराधिकार’ हो। मानिसहरू यसैका हकदार छन्, अनि यहीँ नै मेरो धर्मी स्वभाव प्रकट हुन्छ। यो एउटा ज्ञात तथ्य हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आशिष्को बारेमा तिमीहरूको बुझाइ कस्तो छ?)। परमेश्वरको वचनबाट मैले के बुझेँ भने परमेश्वरले मलाई रोग लाग्न दिनुको कारण मलाई रोगमा जिउन लगाउनु वा मेरो देहलाई वास्ता गर्न लगाउनका लागि होइन, न त यो मलाई प्रकटन गर्न वा हटाउनका लागि नै हो, मेरो कद मैले सोचेको जस्तै भएकाले म अय्यूबले जस्तै परमेश्वरको गवाही दिन लायक भएर झनै होइन, बरु, ममा भ्रष्ट स्वभाव भएकाले यस्तो भएको हो। परमेश्वरले मेरो भ्रष्टता प्रकटन गर्न, मलाई शुद्ध पार्न, र परिवर्तन गर्न यो रोगको प्रयोग गरिरहनुभएको थियो। यदि मैले आत्मचिन्तन गर्न र सत्यताको खोजी गर्न सकेँ भने, यो सत्यता प्राप्त गर्ने राम्रो मौका हुनेछ, तर म सधैँ धारणा र कल्पनाहरूमा जिइरहेकी थिएँ, र परमेश्वरले मलाई बिरामी पर्न दिनुहुनेछैन भनेर निर्धारित गरिरहेकी थिएँ। म त बच्चा जस्तै परमेश्वरको अङ्गालोमा जिउन मात्रै चाहन्थेँ र जीवनका आँधीबेहरीहरूको अनुभव गर्न चाहन्नथिएँ। बिरामी परेपछि, मैले आत्मचिन्तन गर्ने र पाठ सिक्ने कार्यमा ध्यान दिइनँ, बरु, ममा मसँग कद छ, र परमेश्वरले मलाई उहाँको गवाही दिन लगाउन यो परिस्थितिको प्रयोग गरिरहनुभएको छ भन्ने हास्यास्पद विचार आयो। म गुनासो गर्नबाट टाढा बसेँ र आफ्नो कर्तव्यमा लागिरहेँ, त्यसो गरेर, म आफ्नो गवाहीमा दृढ रहेर परमेश्वरलाई सन्तुष्ट पार्न सक्छु, त्यसपछि परमेश्वरले यो रोग हटाउनुहुन्छ भन्ने सोचेको थिएँ। परिणाम स्वरूप, मेरो स्थिति सुधार हुनुको सट्टा खराब हुँदै जाँदा, मैले गुनासो गरेँ र परमेश्वरले यो रोग हटाउनुहुनेछ भन्ने आशा गरेँ, यहाँसम्म कि म सतर्क भएँ, उहाँलाई गलत रूपमा बुझेँ, र उहाँले मलाई प्रकटन गर्न र हटाउन चाहनुहुन्छ भन्ने सोचेँ। मैले कुन तरिकाले परमेश्वरको काम अनुभव गरिरहेको थिएँ? मलाई निनवेका मानिसहरू सम्झेँ। तिनीहरूको भ्रष्टता, दुष्टता, र दुष्ट कार्यहरूले परमेश्वरको क्रोध ल्याए, त्यसकारण परमेश्वरले तिनीहरूलाई पश्चात्ताप गर्नका लागि ४० दिन बाँकी छ भनेर घोषणा गर्न योनालाई पठाउनुभयो। निनवेका सबै मानिसहरूले परमेश्वरमा विश्वास गरे, अनि राजा र साधारण मानिसहरू सबैले भाङ्ग्रा लगएर खरानी घसेर परमेश्वरका अघि पश्चात्ताप गरे, र तिनीहरूले अन्तमा परमेश्वरको कृपा र क्षमादान प्राप्त गरे। म सङ्क्रमण हुनुमा परमेश्वरको अभिप्राय समावेश थियो, र निनवेवासीहरूले जस्तै, मैले पनि परमेश्वरका अघि पश्चात्ताप गर्नुपर्थ्यो।
यस बेला, मैले यो रोगको सामना गर्दा प्रकट गरेका स्थितिहरूका बारेमा चिन्तन गरेँ। मलाई परमेश्वरका केही वचनहरू याद आयो: “परमेश्वरको परिवारमा, दाजुभाइ-दिदीबहिनीहरूमाझ तेरो हैसियत वा प्रतिष्ठा जति नै उच्च भए पनि वा तेरो कर्तव्य जति नै महत्त्वपूर्ण भए पनि, अनि तेरो प्रतिभा र योगदान जति नै ठूलो भए पनि वा तैँले परमेश्वरमा जति नै लामो समयदेखि विश्वास गरेको भए पनि, परमेश्वरको दृष्टिमा तँ सृष्टि गरिएको प्राणी, एक सामान्य सृष्टि गरिएको प्राणी होस्, अनि तैँले आफूलाई दिएको उच्च उपाधि र पदवीको कुनै अस्तित्व छैन। यदि तँ सधैँ यी कुरालाई मुकुट वा विशेष समूहको हुन वा विशेष व्यक्ति बन्न सक्षम पार्ने पूँजी ठान्छस् भने, तैँले यसो गरेर परमेश्वरको दृष्टिकोणको प्रतिरोध र विरोध गर्छस्, र तँ परमेश्वरसँग अमिल्दो हुन्छस्। अनि यसको परिणाम के हुनेछ? के यसले तँलाई सृष्टि गरिएको प्राणीले निर्वाह गर्नुपर्ने कर्तव्यको प्रतिरोध गर्न लगाउँदैन र? परमेश्वरको दृष्टिमा तँ केवल सृष्टि गरिएको प्राणी होस्, तर तँ आफूलाई त्यस्तो ठान्दैनस्। के तँ साँच्चै यस्तो मनस्थितिले परमेश्वरप्रति समर्पित हुन सक्छस् त? तँ सधैँ यस्तो कामना गर्दै सोच्छस्, ‘परमेश्वरले मलाई यस्तो व्यवहार गर्नु हुँदैन, उहाँ मलाई यस्तो व्यवहार गर्न कहिल्यै सक्नुहुन्न।’ के यसले परमेश्वरसँग द्वन्द्व गराउँदैन र? अनि, जब परमेश्वरले तेरो धारणा, मानसिकता, र आवश्यकताविपरीत कार्य गर्नुहुन्छ, तब तँ मनमा के सोच्नेछस्? परमेश्वरले तेरो लागि बन्दोबस्त गर्नुभएका वातावरणलाई तँ कसरी लिनेछस्? के तँ समर्पित हुनेछस्? (हुनेछैनँ।) तँ समर्पित हुनेछैनस्, अनि यसबारे हृदयमा बारम्बार अन्योल हुँदै, निश्चय नै प्रतिरोध, विरोध, गनगन र गुनासो गर्नेछस् र यस्तो सोच्नेछस्, ‘तर परमेश्वर त मलाई सुरक्षा दिने र अनग्रही व्यवहार गर्ने गर्नुहुन्थ्यो। किन अहिले उहाँ परिवर्तन हुनुभएको हो? म अब त म जिउनै सक्दिनँ!’ त्यसैले तँ झगडालु र अभद्र बन्न थाल्छस्। यदि तैँले घरमा आफ्ना आमाबुबासँग यस्तो व्यवहार गरेको भए, क्षमा मिल्थ्यो र उहाँहरूले तँलाई केही गर्नुहुन्थेन। तर परमेश्वरको घरमा यो स्वीकार्य हुँदैन। किनभने तँ वयस्क र विश्वासी होस्, र अरू मानिसहरूले समेत तेरो मूर्खता सहन सक्दैनन्—के तँ परमेश्वरले यस्तो व्यवहार सहनुहुन्छ भन्ने सोच्छस्? के तैँले उहाँलाई यसो गर्दा उहाँले तँलाई क्षमा दिनुहुनेछ? अहँ, दिनुहुनेछैन। किन क्षमा दिनुहुनेछैन? परमेश्वर तेरा आमाबुबा हुनुहुन्न, उहाँ परमेश्वर हुनुहुन्छ, उहाँ सृष्टिकर्ता हुनुहुन्छ, अनि सृष्टिकर्ताले सृष्टि गरिएको प्राणीलाई झगडालु र अनुचित बन्न वा उहाँसामु रीस देखाउन कहिल्यै दिनुहुनेछैन। जब परमेश्वरले तँलाई सजाय र न्याय गर्नुहुन्छ, परीक्षा लिनुहुन्छ वा तँदेखि सबथोक फिर्ता लिनुहुन्छ, जब उहाँले तँलाई कठिनाइमा पार्नुहुन्छ, तब उहाँ सृष्टिकर्ताप्रति सृष्टि गरिएको प्राणीको मनोवृत्ति कस्तो छ, र सृष्टि गरिएको प्राणीले कस्तो मार्ग रोज्छ भनेर हेर्न चाहनुहुन्छ, र उहाँले तँलाई कहिल्यै पनि झगडालु र अनुचित बन्न वा बेतुकको सफाइ दिन अनुमति दिनुहुनेछैन। के मानिसहरूले यी कुरा बुझेपछि, सृष्टिकर्ताले गर्नुहुने हरेक कुरालाई कसरी लिनुपर्छ भन्नेबारे सोच्नुपर्दैन र? सर्वप्रथम, मानिसहरूले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो उचित स्थान ग्रहण गर्नुपर्छ र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो पहिचान स्विकार्नुपर्छ। के तँ आफू सृष्टि गरिएको प्राणी हुँ भनेर स्विकार्न सक्छस्? यदि तँ यो स्विकार्न सक्छस् भने, तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो उचित स्थान ग्रहण गर्नुपर्छ र सृष्टिकर्ताका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, अनि तैँले अलि कष्ट भोगे पनि, गुनासो नगरीकनै त्यसो गर्नुपर्छ। समझदार व्यक्ति हुनु भनेको यही हो। यदि तँ आफूलाई सृष्टि गरिएको प्राणी ठान्दैनस्, बरु आफूसँग उपाधि र शीरमा तेजस्वी चक्र छ भन्ठान्छस्, र आफूलाई परमेश्वरको परिवारमा हैसियत भएको व्यक्ति, महान् अगुवा, सञ्चालक, सम्पादक वा निर्देशक अनि परमेश्वरको परिवारमा मूल्यवान् योगदान दिने व्यक्ति मान्छस् भने—यदि तँ यस्तो सोच्छस् भने, तँ सबैभन्दा अनुचित र निर्लज्ज व्यक्ति होस्। के तिमीहरू हैसियत, प्रतिष्ठा र मूल्य भएका मानिसहरू हौ? (होइनौँ।) त्यसोभए तँ के होस् त? (म सृष्टि गरिएको प्राणी हुँ।) सही भनिस्, तँ केवल सृष्टि गरिएको एक सामान्य प्राणी होस्। मानिसहरूमाझ, तँ आफ्नो योग्यताको धाक लगाउन सक्छस्, आफ्नो वरिष्ठताको कुरा उठाउन सक्छस्, आफ्नो योगदानबारे घमण्ड गर्न सक्छस् वा आफ्नो साहसिक कार्यको गुनगान गाउन सक्छस्। तर परमेश्वरसामु, यी कुराको कुनै अस्तित्व छैन र तैँले तीबारे कुरा गर्नु वा तिनलाई प्रदर्शन गर्नु वा अनुभवी भएको ढोँग रच्नु कहिल्यै हुँदैन। यदि तैँले आफ्नो योग्यताको धाक लगाइस् भने, परिस्थिति बिग्रनेछ। परमेश्वरले तँलाई एकदमै अनुचित र हदै अहङ्कारी ठान्नुहुनेछ। उहाँले तँलाई तिरस्कार र घृणा गर्नुहुनेछ, र पन्छाउनुहुनेछ, र त्यसपछि तँ समस्यामा पर्नेछस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (११))। परमेश्वरका वचनहरूले मलाई मेरो निद्राबाट बिउँझाए! मैले आफ्नो महत्त्वपूर्ण कर्तव्य, आफ्नो कामका परिणामहरूलाई, र अगुवा, कामदार, ब्रदर-सिस्टरहरूको अनुमोदनलाई पूँजीको रूपमा हेरिरहेकी थिएँ, र मैले आफ्नो योग्यताका बारेमा धाक लगाउन र मेरा उपलब्धिहरूलाई जोड दिन थालेँ, किनभने म गैरविश्वासीहरूभन्दा फरक छु र परमेश्वरले अवश्य नै मलाई महामारीबाट रक्षा गर्नुहुनेछ र म बिरामी भइहालेँ भने पनि, ममा कद भएकाले र परमेश्वरले मलाई उहाँको गवाही दिन लगाउनका लागि जाँचिरहनुभएको हुनेछ भन्ने सोचेकी थिएँ, मानौँ म अरू भ्रष्ट मानवजातिबाट अलग छु। म कति अहङ्कारी बनेको छु भन्ने कुरा मैले देखेँ। विशेष गरी परमेश्वरका यी वचनहरू पढ्दा: “यदि तैँले आफ्नो योग्यताको धाक लगाइस् भने, परिस्थिति बिग्रनेछ। परमेश्वरले तँलाई एकदमै अनुचित र हदै अहङ्कारी ठान्नुहुनेछ। उहाँले तँलाई तिरस्कार र घृणा गर्नुहुनेछ, र पन्छाउनुहुनेछ, र त्यसपछि तँ समस्यामा पर्नेछस्।” परमेश्वरले त्यस्ता मानिसहरूप्रति राख्नुहुने तीव्र घृणाका बारेमा मैले बुझेँ। मलाई रोग लागेको कुरालाई फर्केर हेर्दा, म समर्पित नभएकी मात्र होइन, मैले परमेश्वरका अघि आफ्नो योग्यताका बारेमा धाक लगाएर अनुचित मागहरू पनि गरेकी थिएँ, जुन परमेश्वरका लागि साँच्चै नै वाक्कलाग्दो र घिनलाग्दो थियो। यदि मैले पश्चात्ताप गरिनँ भने, मलाई परमेश्वरले तिरस्कार गरी हटाउनुहुनेथियो। यो बुझेपछि, मैले तुरुन्तै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! यो रोग नलागेको भए, मैले आत्मचिन्तन गर्नेथिइनँ र मैले तपाईँलाई विरोध गरिरहेकी छु भन्ने समेत बुझ्नेथिइनँ। हे परमेश्वर, बिन्ती छ ममाथि कृपा गर्नुहोस्, र मलाई समर्पित हुन र पाठ सिक्न सहयोग गर्नुहोस्।”
पछि, मैले आफैलाई सोधेँ, “मलाई मैले आफ्नो काममा परिणामहरू पाइरहेकी छु र ब्रदर-सिस्टरहरूको अनुमोदन प्राप्त गरिरहेकी छु, र परमेश्वरले मलाई अनुमोदन गर्नुपर्छ र महामारीबाट रक्षा गर्नुपर्छ भन्ने लाग्थ्यो, तर के परमेश्वरले यसलाई साँच्चै यसरी नै हेर्नुहुन्छ?” एक दिन, मैले परमेश्वरका वचनहरूमा एउटा उत्तर भेट्टाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तिमीहरू सोच्छौ होला, वर्षौँसम्म अनुयायी भएर तिमीहरूले जे-जस्तो भए पनि कडा मेहनत गरेका छौ र जे भए पनि तिमीहरू श्रमिक हुन परमेश्वरको घरमा फाइदा उठाउन सक्छौ। म त भन्छु तिमीहरूमध्ये अधिकांशले यसरी नै सोच्छौ, किनभने तिमीहरूले सधैँ कसरी विभिन्न कुराहरूबाट फाइदा लिने र आफूबाट फाइदा लिन नदिने सिद्धान्तलाई पछ्याएका छौ। यसरी, अब म तिमीहरूलाई पूर्ण गम्भीरताका साथ भन्दैछु: तेरो कडा मेहनत कति सराहनीय छ, तेरा योग्यताहरू कति प्रभावशाली छन्, कति नजिकबाट तैँले मलाई पछ्याउँदैछस्, तँ कति प्रख्यात छस्, वा तैँले आफ्नो मनोवृत्तिमा कति सुधार गरिस् भन्ने कुरामा म ध्यान दिँदिन; जबसम्म तैँले मेरा मागहरू पूरा गरेको हुँदैनस्, तबसम्म तैँले कहिल्यै पनि मेरो प्रशंसा प्राप्त गर्न सक्नेछैनस्। जतिसक्दो चाँडो तिमीहरूका ती सबै विचारहरू र आकलनहरूलाई महत्त्व दिन छोडिदेऊ र मेरा आवश्यकताहरूलाई गम्भीरताका साथ लिन थाल; होइन भने, म मेरो कामको अन्त्य गर्न सबैलाई खरानी पारिदिनेछु र अझै खराब कुरा त, मेरो वर्षौंको काम र कष्टलाई शून्यमा बदलिदिन्छु, किनभने म मेरा शत्रुहरूलाई अनि ती व्यक्तिहरू जसबाट दुष्टताको गन्ध आउँछ र जसमा अझै शैतानको पुरानो रूप छ तिनीहरूलाई मेरो राज्यमा ल्याउन वा अर्को चरणमा लैजान सक्दिनँ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ)। “अन्त्यमा, मानिसहरूले मुक्ति प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा तिनीहरूले निर्वाह गर्ने कर्तव्यमा होइन, बरु तिनीहरूले सत्यता बुझ्न र प्राप्त गर्न सक्छन् कि सक्दैनन् र तिनीहरू अन्त्यमा परमेश्वरमा पूर्ण रूपमा समर्पित हुन, आफैलाई उहाँका योजनाबद्ध कार्यहरूको कृपामा छोड्न, भविष्य र नियतिको बारेमा केही नसोच्न र योग्य सिर्जित प्राणी बन्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा निर्भर रहन्छ। परमेश्वर धर्मी र पवित्र हुनुहुन्छ र उहाँले सबै मानवजातिलाई मापन गर्न प्रयोग गर्नुहुने मानकहरू यिनै हुन्। यी मानकहरू अपरिवर्तनीय छन् र तैँले यो सम्झनैपर्छ। यी मानकहरूलाई दिमागमा खोपेर राख्, र कुनै अवास्तविक कुरालाई पछ्याउन अर्को बाटो पत्ता लगाउनेबारेमा जुनसुकै बेलामा नसोच्। मुक्ति प्राप्त गर्न चाहने सबैलाई परमेश्वरले दिनुभएका सर्त र मापदण्डहरू कहिले पनि परिवर्तन हुँदैनन्। तिमीहरू जोसुकै भए तापनि ती उस्तै रहन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरू अत्यन्तै स्पष्ट छन्। परमेश्वरले मानिसहरूलाई तिनीहरूले पूरा गर्ने कर्तव्य वा तिनीहरूसँग कति पूँजी छ त्यसको आधारमा मूल्याङ्कन गर्नुहुन्न, तर व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन, र ऊ उहाँमा समर्पित हुन, उहाँलाई उहाँले चाहनुभए अनुसार योजनाबद्ध गर्न दिन सक्छ कि सक्दैन भन्ने कुराको आधारमा गर्नुहुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। सत्यता नपछ्याई, मेरो कर्तव्य जति नै महत्त्वपूर्ण भए पनि, मैले जति नै धेरै योगदान दिए पनि, वा जति धेरै मानिसहरूले मलाई आदर गरे पनि, मैले परमेश्वरको अनुमोदन वा मुक्ति प्राप्त गर्न सक्दिनँथिएँ। यो रोगले मलाई पूर्ण रूपमा प्रकट गर्यो। ममा सत्यताको कमी भएकाले र मसँग विकृत दृष्टिकोणहरू भएका हुनाले, मसँग परमेश्वरमाथिको कुनै विश्वास वा कष्ट भोग्ने इच्छा थिएन, परमेश्वरप्रतिको प्रेम हुनु त परको कुरा हो। जाँचमा पर्दा, मैले आत्मचिन्तन गरिनँ वा सत्यताको खोजी गरिनँ, र मेरो कदको कारण मलाई जाँचिएको हो भन्ने हास्यास्पद सोच मात्रै राखेँ। तीव्र पीडाको सामना गर्दा, मैले गुनासो गरेँ र परमेश्वरले मेरो रोग हटाउनुभएको होस् भन्ने चाहेँ, यहाँसम्म कि मलाई आफ्नो कर्तव्य पूरा गर्न मन पनि लागेन। ममा कुन हिसाबमा कद थियो त? मसँग कुनै विश्वास वा समर्पणता थिएन। परमेश्वरको विरुद्धमा विद्रोह गर्ने र उहाँको विरोध गर्ने व्यक्तिको रूपमा, म अझै पनि उहाँको सुरक्षा र आशिष् प्राप्त गर्न, मुक्ति पाउन र स्वर्गको राज्यमा प्रवेश गर्न चाहन्थेँ। कति लाजमर्दो कुरा! मैले आफ्नो कर्तव्य निर्वाह गरेको धेरै वर्ष भएको थियो र मेरो कामले केही परिणामहरू हासिल गरेका थिए, र मैले अरूको आदर पाएकी थिएँ, र मैले यी कुराहरूलाई पूँजीको रूपमा लिएँ। म अहङ्कारी र अभिमानी बनेँ, मेरो हृदयमा परमेश्वरका लागि कुनै ठाउँ थिएन, मैले आफ्नो योग्यताको धाक लगाएँ, परमेश्वरले के गर्नुपर्छ र के गर्नु हुँदैन भनेर माग गरे, र म परमेश्वरको गवाही दिन योग्य छु भन्ने ठानेँ। मैले थाहै नपाई परमेश्वरको प्रतिरोध गरिरहेकी थिएँ। यो बुझेपछि मेरो हृदय भारी भयो। मैले विश्वासको यतिका वर्षपछि पनि सत्यता प्राप्त गरेकी छैनँ भने यतिका समय मैले के पछ्याइरहेकी रहेछु भनेर आफैलाई सोधेँ। मेरो खोजीमा, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “सुरुदेखि अन्त्यसम्म, ख्रीष्टविरोधीहरूमा आफ्नो कर्तव्यप्रति मनोवृत्ति कस्तो हुन्छ? तिनीहरू के विश्वास गर्छन् भने, कर्तव्य निर्वाह गर्नु भनेको लेनदेन हो, र जसले आफूलाई कर्तव्यमा सबैभन्दा बढी समर्पित गर्छ, जसले परमेश्वरको घरमा सबैभन्दा बढी योगदान दिन्छ र जसले परमेश्वरको घरमा सबैभन्दा धेरै वर्षसम्म सहेर बस्छ, उसैसँग अन्त्यमा आशिष् र मुकुट पाउने बढी मौका हुन्छ। ख्रीष्टविरोधीहरूको तर्क यही हो। के यो तर्क सही छ? (छैन।) के यस्तो दृष्टिकोण सुल्ट्याउन सजिलो हुन्छ? यो सुल्ट्याउन सजिलो हुँदैन। ख्रीष्टविरोधीहरूको प्रकृति सारले नै यो कुरा निर्धारित गर्छ। ख्रीष्टविरोधीहरू हृदयमा सत्यताप्रति वितृष्णा राख्छन्, तिनीहरू सत्यता पटक्कै खोजी गर्दैनन् र तिनीहरूले गलत मार्ग लिइरहेका हुन्छन्, त्यसकारण परमेश्वरसँग लेनदेन गर्ने तिनीहरूको दृष्टिकोण सुल्ट्याउन सजिलो हुँदैन। अन्ततः ख्रीष्टविरोधीहरू परमेश्वर सत्यता हुनुहुन्छ भनेर विश्वास गर्दैनन्, तिनीहरू अविश्वासी हुन्, र तिनीहरू स्वार्थी लाभको लागि आशिष्हरू प्राप्त गर्न आएका हुन्छन्। अविश्वासीहरूले परमेश्वरमा विश्वास गर्नु आफैमा टिक्न नसक्ने कुरा हो, यो आफैमा हास्यास्पद कुरा हो, अनि तिनीहरू परमेश्वरका लागि कष्ट भोग्दै र मूल्य चुकाउँदै परमेश्वरसँग लेनदेन गर्न र आशष्हरू प्राप्त गर्न चाहन्छन्, यो झनै हास्यास्पद कुरा हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्वरका वचनहरू मनन गर्दा, मैले यतिका वर्षपछि पनि सत्यता प्राप्त नगर्नुको कारण सत्यताले अरूलाई चाहने हुनाले होइन, तर मैले सत्यतामा कहिल्यै कुनै मेहनत नलगाएकीले र मैले आशिष् र इनामहरू मात्रै पछ्याएकीले रहेछ। यतिका वर्ष, मैले आफ्नो विश्वासमा के कुरा पछ्याउनुपर्छ, मैले कुन मार्ग लिनुपर्छ, र कस्तो व्यक्तिले परमेश्वरलाई खुशी पार्छ भनेर कहिल्यै खोजी वा मनन गरेकी थिइनँ, र मैले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा वा आफूले लिएको मार्गमा रहेका मेरा अभिप्राय र दृष्टिकोणहरूलाई बिरलै जाँचेकी थिएँ। म सधैँ काममा ध्यान दिनमा नै सन्तुष्ट थिएँ, अझै धेरै काम गरेँ र अझै धेरै परिणाम प्राप्त गरेँ भने, परमेश्वरले अवश्य नै मलाई आशिष् दिनुहुनेछ र उहाँ मप्रति प्रसन्न बन्नुहुनेछ र विपत्तिहरू आइपरे पनि, परमेश्वरले मलाई रक्षा गर्नुहुनेछ र मलाई कुनै हानि हुन दिनुहुनेछैन भन्ने सोचेँ। परमेश्वरका वचनहरूको खुलासाबाट, मैले बल्ल के बुझेँ गरेँ भने मेरा विचारहरूले ख्रीष्टविरोधीको तर्कलाई पछ्याएका छन्, ती अविश्वासीको लेनदेनका दृष्टिकोणहरू हुन्, र मैले परमेश्वरलाई छल गर्ने र आफ्ना उद्देश्यहरू हासिल गर्न उहाँलाई प्रयोग गर्ने प्रयास गरिरहेकी छु। यो परमेश्वरको प्रतिरोध गर्नु थियो! मलाई अनुग्रहको युगका पावललाई सम्झेँ। उसले धेरै मानिसहरूसम्म सुसमाचार फैलायो, युरोपको धेरैजसो क्षेत्रमा समेत फैलायो, र उसले धेरै मानिसहरूलाई विश्वासमा ल्यायो। तर पावलले गरेका सबै कुराहरू प्रभु येशूको गवाही दिनका लागि थिएनन्, न त सृजित प्राणीको कर्तव्य पूरा गर्नका लागि नै थियो, बरु सुसमाचार फैलाएबापत परमेश्वरसँग सौदाबाजी गरी धार्मिकताको मुकुट साट्नका लागि थियो। आफ्नो कामको अवधिमा, पावलले सधैँ आफूलाई उचालेर देखावटी गर्दथ्यो, र उसको स्वभाव झन्-झन् अहङ्कारी हुँदै गयो। उसले परमेश्वरका अघि आफ्नो योग्यताका बारेमा धाक लगाउँथ्यो र निर्धक्क भएर यसो भन्दै उहाँलाई माग गर्थ्यो, “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। उसले ख्रीष्टको रूपमा जिउँछु भनेर समेत घमण्ड गर्थ्यो। अन्तमा, पावलले परमेश्वरको विरोध गरेको र उहाँको स्वभावलाई चिढ्याएको हुनाले दण्ड पायो। के पछ्याइका बारेमा रहेको मेरो दृष्टिकोण र म रहेको मार्ग पावलको जस्तो थिएन र? म आशिष्हरूको पछि लाग्न र आफ्ना उद्देश्यहरू प्राप्तिका लागि आफ्नो कर्तव्य प्रयोग गर्न मात्रै चाहन्थेँ। म कति स्वार्थी र घृणित थिएँ! यो प्रकटीकरणविना, मैले अझै पनि मेरो भ्रष्ट स्वभावको गम्भीरतालाई बुझ्नेथिइनँ, र यदि म यसरी नै अघि बढिरहेकी भए, मलाई परमेश्वरले तिरस्कार गर्नुहुनेथियो र हटाउनुहुनेथियो। यो बुझेपछि मलाई ग्लानि भयो र मैले घुँडा टेकेर प्रार्थना गरेँ, “हे परमेश्वर! मेरो रोग तपाईँको धार्मिकता र मलाई मुक्ति दिने उद्देश्यको कारण आएको हो। म त एउटा सानो सृजित प्राणी मात्रै हुँ। तपाईँले मलाई उचाल्नुभएको छ, अनुग्रह दिनुभएको छ र मलाई कर्तव्य पूरा गर्ने मौका दिनुभएको छ, तर म अत्यन्तै अहङ्कारी र अनुचित भएछु। मैले तपाईँको विरोध गरिरहेकी थिएँ र तपाईँसँग सौदाबाजी गरिरहेकी थिएँ, तैपनि मलाई यसका बारेमा थाहा थिएन। हे परमेश्वर, म तपाईँविरुद्ध विद्रोह गर्न वा प्रतिरोध गर्न चाहन्नँ, बरु पश्चात्ताप गर्न चाहन्छु।”
पछि, मैले सोचेँ, “म बिरामी हुँदा मैले गुनासो गर्नु र समर्पित हुन नसक्नुको अर्को कारण पनि छ। त्यो म मृत्युको डर मान्नु थियो। मैले यो समस्यालाई कसरी समाधान गर्न सक्छु?” मैले प्रार्थना र खोजी गरेँ, र परमेश्वरका वचनहरूमा मैले यो कुरा पढेँ: “ध्यान दिनुपर्ने अर्को कुरा पनि छ, र त्यो के हो भने, मृत्युको मामलाको प्रकृति पनि अरू कुराहरूको जस्तै छ। यो मानिसहरूले छनौट गर्ने कुरा होइन, न त यसलाई मानिसको इच्छाद्वारा परिवर्तन नै गर्न सकिन्छ। मृत्यु पनि जीवनको अरू महत्त्वपूर्ण घटनाजस्तै हो: यो पूर्ण रूपमा सृष्टिकर्ताको पूर्वनिर्धारण र सार्वभौमिकताअन्तर्गत पर्छ। यदि कसैले मृत्यु आओस् भनेर बिन्ती गर्यो भने, ऊ मर्छ नै भन्ने छैन; यदि उसले जिउन पाऊँ भनेर बिन्ती गर्यो भने, ऊ जिउँछ नै भन्ने छैन। यो सबै परमेश्वरको सार्वभौमिकता र पूर्वनिर्धारणअन्तर्गत पर्छ, र यो कुरालाई परमेश्वरको अख्तियार, परमेश्वरको धर्मी स्वभाव, र परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूले परिवर्तन र निर्धारित गर्छ। त्यसकारण, मानौँ तँलाई गम्भीर रोग लाग्यो, ज्यान नै लैजान सक्ने गम्भीर रोग लाग्यो भने पनि तँ मर्छस् नै भन्ने हुँदैन—तँ मर्छस् कि मर्दैनस् भनेर कसले निर्णय गर्छ? (परमेश्वरले गर्नुहुन्छ।) परमेश्वरले निर्णय गर्नुहुन्छ। अनि परमेश्वरले यसको निर्णय गर्नुहुने र मानिसहरूले यस्तो कुराको निर्णय गर्न नसक्ने हुनाले, मानिसहरूले के कुराका बारेमा तनाव र हैरानीको महसुस गर्छन् त? यो त तेरा आमाबुबा को हुन्, र तँ कहिले र कहाँ जन्मन्छस् भन्ने जस्तै हो—यी कुराहरूलाई पनि तैँले छनौट गर्न सक्दैनस्। यी मामिलाहरूमा गर्न सकिने सबैभन्दा बुद्धिमानी निर्णय भनेको यी कुराहरूलाई स्वाभाविक रूपमा चल्न दिनु, समर्पित हुनु, र छनौट नगर्नु, यस विषयमा कुनै विचार वा ऊर्जा नलगाउनु, र यसका बारेमा हैरानी, तनाव, वा चिन्ता महसुस नगर्नु हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (४))। परमेश्वरका वचनहरूले मलाई के बुझाए भने म यो रोगबाट बाँच्छु कि मर्छु भन्ने कुरा सबै परमेश्वरको हातमा हुन्छ र कुनै पनि मानवको हातमा हुँदैन। यो त म जन्मेको बेलाको जस्तै हो, म जन्मेको परिवार, र म कस्तो देखिन्छु भन्ने कुरा मैले छनौट गर्न सक्ने कुराहरू होइनन्। त्यसरी नै, म कहिले र कहाँ मर्छु भन्ने कुरा मेरो हातमा छैन। यो सबै परमेश्वरको सार्वभौमिकता र पूर्वनिर्धारित कार्यमा निर्भर छ। यदि परमेश्वरले मलाई यो रोगले मर्ने पूर्वनिर्धारित गर्नुभएको छ भने, मैले यसका बारेमा केही गर्न सक्दिनँ, र यदि मेरो मृत्युको समय भएको छैन भने, मेरो रोग जति नै गम्भीर भए पनि म मर्ने छैन। मेरा चिन्ता र तनावहरू अनावश्यक थिए, र मैले केही पनि परिवर्तन गर्न सक्दिनथिएँ, ती त अनावश्यक थप पीडा र बोझ मात्रै थिए। मैले आफूलाई परमेश्वरमा समर्पित गर्नुपर्छ, म उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूको कृपामा हुनुपर्छ, र मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ। परमेश्वर भन्नुहुन्छ: “तँ बिरामी भए पनि पीडामा भए पनि, जबसम्म तँसँग एक मुट्ठी सास बाँकी हुन्छ, जबसम्म तँ बाचिरहेको हुन्छस्, जबसम्म तैँले बोल्न र हिँड्न सक्छस्, तबसम्म तँसँग कर्तव्य पूरा गर्ने ऊर्जा हुन्छ, र तैँले कम्मर कसेर शिष्ट भई आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य वा सृष्टिकर्ताले तँलाई दिनुभएको जिम्मेवारी त्याग्नु हुँदैन। जबसम्म तँ मर्दैनस्, तबसम्म तैँले आफ्नो कर्तव्य निभाउनुपर्छ र राम्रोसित पूरा गर्नुपर्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने सृजित प्राणीले कर्तव्य पूरा गर्नु पूर्ण रूपमा प्राकृतिक र उचित कुरा हो, जसरी छोराछोरीले आफ्ना आमाबुबाप्रति सन्तानी माया देखाउनु सही हुन्छ त्यसरी नै। मण्डलीमा कर्तव्य पूरा गर्ने मौका पाउनु परमेश्वरको अनुग्रह हो, र म बाँचे पनि मरे पनि, र मैले जति धेरै पीडा भोगे पनि, म परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ र मैले आफ्ना जिम्मेवारी र कर्तव्यहरू पूरा गर्नुपर्छ। मूल्यवान् र अर्थपूर्ण जीवन जिउने एउटै मात्र तरिका यही हो। मैले नोआका बारेमा पनि सोचेँ। उसले परमेश्वरको आज्ञा स्वीकार गरेपछि, परमेश्वरका चिन्ताहरू उसका चिन्ताहरू बने, र परमेश्वरका विचारहरू उसका विचारहरू बने। उसले जति नै पीडा वा कठिनाइहरूको सामना गरे पनि ऊ कहिल्यै पछि हटेन, र १२० वर्षपछि, उसले ठूलो जहाज निर्माण गर्यो र परमेश्वरको आज्ञा पूरा गर्यो। नोआको बफादारिता र समर्पणले परमेश्वरलाई सान्त्वना दियो, र मैले पछ्याउनुपर्ने उदाहरण यही हो। यो महसुसले मलाई शक्ति दियो र मैले यस्तो सङ्कल्प गरेँ: जबसम्म मेरो सास रहन्छ, तबसम्म म कहिल्यै आफ्नो कर्तव्य त्याग्ने छैनँ वा आफ्ना जिम्मेवारीहरू पन्छाउने छैनँ।
त्यसपछि, मैले आफ्नो कर्तव्यमा हृदय लगाएँ, मेरो अवस्था खराब भइरहेको छ कि छैन वा म मर्छु कि मर्दिनँ भन्ने बारेमा चिन्ता गर्न छोडेँ। मलाई के लाग्यो भने म अर्को दिनसम्म बाँचेँ भने, मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ, ताकि कुनै दिन म मरे पनि, म व्यर्थमा जिएको हुने छैनँ। कहिलेकहीँ म आफ्नो कर्तव्यमा यति व्यस्त हुन्थेँ कि म बिरामी समेत छु भन्ने कुरा बिर्सिन्थेँ। मैले साँच्चै नै यी वचनहरूबाट केही कुरा बुझेँ: “रोग-बिमारमा बास गर्नु भनेको बिरामी हुनु हो, तर आत्मामा जिउनु भनेको ठीक हुनु हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ६)। चाँडै नै, मेरो रोगका लक्षणहरू हराए र मेरो परीक्षणको परिणाम नेगेटिभ आयो। यो सबै परमेश्वरको कृपा हो भन्ने मलाई थाहा थियो। मैले यो महामारीमा परमेश्वरको प्रेम र मुक्ति अनुभव गरेँ र म परमेश्वरलाई हृदयदेखि धन्यवाद दिन्छु!