इमानदार मानिस हुनुको स्वाद

योङ्ग्सुइ, दक्षिण कोरिया

एक दिन मार्च महिनाको अन्ततिर एक भेलामा, एक जना अगुवाले गिरफ्तार गरेर क्रूर यातना दिइएका एकजना दाजुको बारेमा बताए। असाध्यै कमजोर भएको अवस्थामा उनले अर्को दुई जना मण्डलीका भाइहरूलाई बेचिदिए। उनले धेरै अफसोस गरे, र उनले न्याय र प्रकाशसम्बन्धी परमेश्‍वरका वचनहरूको पुस्तक पढेपछि आफ्नो असफलताको जड थाहा पाए र उनले साँचो रूपमा पश्‍चात्ताप गरे। ती अगुवाले हामीलाई यो अनुभवको बारेमा हाम्रो विचार के छ अनि के यसलाई साँचो गवाहीको रूपमा लिन सकिन्छ कि सकिँदैन भनी सोधे। उनले हामी सबैलाई आ-आफ्नो विचार बाँड्न पनि लगाए। यसले गर्दा म एकदम आत्तिएँ र अनुमान लगाउन थालेँ: “उनले हामीलाई किन यो कुरा छलफल गर्न लगाएका हुन्? हामीले समस्यालाई ठीकसँग हेर्‍यौं कि हेरेनौं भनेर जाँच्न पो हो कि?” मैले विचार गरेँ, “ती दाजुले अर्का दुई जनालाई एकछिनको कमजोरीको कारणले बेचे। त्यो त पाप नै हो। तर उनले आफ्नो बारेमा केही सिके र साँचो पश्‍चात्ताप गरे, त्यसकारण उनको अनुभवलाई गवाहीको रूपमा लिन हुन्छ।” तर मैले अनिश्‍चित भएर सोचेँ, “पहिला अरूले के भन्दा रहेछन् हेर्छु, त्यसो गर्दा मैले नमिल्ने कुरा र अस्पष्‍ट कुरा गर्दिनँ।” अरूले आफ्ना विचारहरू भन्‍न थाले। शुरूमा एक जना बहिनीको कुरा हेरौं, उनले मेरो विचारसँग मिल्दोजुल्दो कुरा बताइन्, त्यसकारण मेरो कुरा मान्य रहेछ जस्तो लाग्यो। त्यसपछि अर्की बहिनीले भनिन् कि ती दाजु त परमेश्‍वरलाई धोका दिने यहूदा जस्तै भए, त्यसकारण त्यस्तो गवाहीले परमेश्‍वरको गवाही बोक्न सक्दैन। अन्य केहीले पनि उनको गवाहीलाई गवाही भन्‍न मिल्दैन भने। यतिका धेरैको त्यही विचारमा सहमति भएको हुनाले म डगमगाएँ, र के विचार गर्ने हो भनेर जानिनँ। त्यसपछि ती अगुवाले भने, “यदि यो गवाही होइन भनेर विचार गर्नुहुन्छ भने आफ्नो हात उठाउनुहोस्।” धेरैले हात उठाए, तर म निश्‍चित थिइनँ, त्यसैले मैले हात तल नै राखेँ। मैले यस्तो विचार गर्दै थिएँ, “म गलत समयमा हात उठाउन सक्दिनँ। यसले त ममा बुझ्ने क्षमता नभएको जस्तो देखाउँदैन र?” मैले यस्तो सोच्दै गर्दा, ती अगुवाले मलाई सोधे, “तपाईंले किन हात उठाउनुभएन?” मैले मनमनै सोचेँ, “ओहो, मलाई किन सोधेका होलान्? मैले हात उठाउनुपर्ने थियो कि?” मैले तुरून्तै हात उठाएँ। मेरो मुटुको धड्कन बढ्यो—मलाई अप्ठ्‍यारो लाग्न थाल्यो। मैले हात उठाएको ठीक थियो कि थिएन? मलाई आफ्नो हृदयमा यसले गवाहीको काम गर्छ जस्तो त लागेको थियो, तर मैले राम्रोसँग विचार नै नगरी हात उठाएँ। मैले आफ्नो हात उठाइसकेको हुनाले अरूका विचारहरू सुन्‍न थालेँ। उनीहरूले आफ्नो विचार बाँड्दै थिए, त्यसकारण मैले यसबारेमा शान्त भएर विचार गर्न थालेँ। ती दाजुले साँच्चै नै पश्‍चात्ताप गरेका थिए, त्यसकारण उनको गवाही, गवाही नै हुनुपर्छ। मैले हात नउठाएको भए हुनेथियो जस्तो लाग्यो। मैले साँच्‍चै के विचार गरेको थिएँ भनेर भन्न मन लाग्यो, तर फेरि यस्तो पनि लाग्यो कि मैले त सम्पूर्ण कुरा बुझेको छैनँ, त्यसकारण मेरो विचार ठीक भए त ठीकै हुन्छ। तर ठीक भएन भने त, ती अगुवाले मेरो बारेमा कस्तो विचार गर्लान्? उनले मेरो कुनै गहिरो अनुभव वा क्षमता छैन भन्लान् कि? यदि ती अगुवाले ममा यस्तो कुरा देखे भने उनले मलाई यो तालिमको लागि योग्य छैन भन्‍ने ठान्‍नेछन्, र परमेश्‍वरको घरमा मेरो कुनै भविष्‍य हुनेछैन। अझ, त्यहाँ धेरै दाजुभाइ-दिदीबहिनीहरू छन्, र गलत भएमा साँच्चै नै लाजमर्दो हुन्छ। मैले धेरैपटक अघिपछि गर्दै विचार गरेँ र अन्तमा चुप लागेँ।

त्यसपछि, ती अगुवाले त्यो गवाही, गवाही नै मानिन्छ भनी सङ्गति गरे, अनि उनले के पनि सङ्गति गरे भने एकछिन कमजोर भएको बेलामा परमेश्‍वरलाई धोका दिएपछि, न्याय र सजायलाई अनुभव गरेर, साँचो रूपमा पश्‍चात्ताप गर्नु एकदम नै राम्रो गवाही हुन्छ। यो कुरा धेरैको लागि प्रेरणादायक थियो, र यसले साँचो विश्‍वास हुनेको लागि परमेश्‍वरले आफ्नो महान् कृपा प्रदान गर्नुहुन्छ भन्ने देखायो। हामी कति भ्रष्‍ट छौं भन्‍ने कुरा परमेश्‍वरलाई थाहा छ, त्यसकारण हामीले साँचो रूपमा पछुतायौं र उहाँतिर फर्क्यौं भने, उहाँले हामीलाई पश्‍चात्ताप गर्ने मौका दिनुहुन्छ, यस्तो खालको गवाहीले परमेश्‍वरको महिमा बढाउँछ र शैतानलाई सबैभन्दा बढी लाजमा पार्छ। ती अगुवाले अझै सिकाउँदै भने कि हाम्रो बुझाइ अशुद्ध छ र हामी छली र बेइमान छौं, र हामीले हाम्रा दृष्‍टिकोणहरूलाई परमेश्‍वरका वचनहरूमा आधारित गरेका छैनौं। यो घटनाको बारेमा हामीले छलफल गर्नुपर्ने अवस्थालाई देख्दा, हामीले ती दाजुको अनुभवमा केही गलत भएको अनुमान गर्‍यौं। हामीले ती अगुवाले के विचार गर्दैछन् भनेर अनुमान गर्ने प्रयास गर्‍यौं अनि एउटा पनि इमानदार शब्द बोलेनौं। ती अगुवाले धैर्यतापूर्वक हामीलाई संगति गर्दै हामीले आफ्नो लागि आफैले विचार गर्नुपर्छ र सबै कुरामा आफ्नै दृष्‍टिकोण हुनुपर्छ भन्‍ने कुरा सिकाए र चाहे त्यो ठीक होस् या गलत हामीले सत्य बोल्नुपर्छ भनेर पनि सिकाए। त्यही नै हाम्रो आचरणको आधारभूत तत्व हो। त्यो “आधारभूत तत्व” शब्दावलीले मलाई असहज बनायो। मैले विचार गरेँ, “उनको कुरा सही हो, म गलत भए तापनि, मेरो आफ्नो विचार राख्नु अरूको लहैलहैमा जानुभन्दा राम्रो हो। जे भए पनि, यो मेरो आफ्नो दृष्‍टिकोण हुन्छ, र म इमानदार हुन्छु।” मैले आफ्नो विचार नभनेकोमा आफैलाई घृणा गरेँ। खालि दश मिनेटमा मैले आफ्नो अडानलाई प्रस्तुत गर्नको सट्‍टामा, म छली भएँ र मैले सत्यताको अभ्यास गरिनँ, मानव आचरणको आधारभूत तत्वलाई समेत मैले पूरा गर्न सकिनँ। मैले गलत कुरा भन्ने र गर्न्ने मात्र गरिनँ, बरु म त आफ्नो आचरणलाई ठीक राख्‍न समेत असक्षम भएँ।

त्यो भेलापछि आराधनाको समयमा मैले परमेश्‍वरको यी वचनहरू पढेँ: “मानिसहरूले परमेश्‍वरमाथिको उनीहरूको विश्‍वासमा र उनीहरूले व्यवहार गर्ने तरिकामा सही मार्ग लिनुपर्छ; कुटिल एवं दुष्ट तरिका र साधनहरू प्रयोग गर्नुहुँदैन। कुटिल एवं दुष्ट तरिका र साधनहरू के-के हुन्? तिनीहरू परमेश्‍वरमाथिको यस्तो विश्‍वास हो, जुन सधैं तुच्छ चलाकी, भ्रामक विवरणहरू, र सस्ता युक्तिहरूमा आधारित हुन्छ; तिनीहरूले तेरो भ्रष्टता लुकाउन खोजिरहेका हुन्छन्, र तेरा कमीहरू, गल्तीहरू, र कमजोर क्षमता जस्ता समस्याहरूलाई लुकाइरहेका हुन्छन्। तिनीहरूले सधैं शैतानी दर्शनहरू प्रयोग गरेर काम-कर्तव्य सम्हालिरहेका हुन्छन्, सुस्पष्ट विषयहरूमा चापलुसी गरेर परमेश्‍वरको र मण्डलीका अगुवाहरूको निगाह पाउने कोसिस गरिरहेका हुन्छन्, तर सत्यको अभ्यास गरिरहेका हुँदैनन्, सिद्धान्तअनुसार काम-कर्तव्य सम्हालिरहेका हुँदैनन्, र मानिसहरूको चापलुसी गर्नका निम्ति तिनीहरूलाई निरन्तर नजिकबाट ध्यान दिइरहेका हुन्छन्; उनीहरू सोधिरहन्छन्, ‘मैले भर्खरै कस्तो गरें? तपाईंहरू सबै मलाई समर्थन गर्नुहुन्छ? के परमेश्‍वरलाई मैले गरेका असल कुराहरूको बारेमा थाहा छ? यदि उहाँले थाहा छ भने, के उहाँले मेरो प्रशंसा गर्नुहुनेछ? परमेश्‍वरको हृदयमा मेरो कुन स्थान छ? के परमेश्‍वरको नजरमा मेरो कुनै महत्त्व छ?’ उनीहरूले वास्तवमा, परमेश्‍वरमाथिको उनीहरूको विश्‍वासमा आशिषित हुन सक्लान् कि नसक्लान् भनी सोधिरहेका हुन्छन्। यस्ता कुराहरूमाथिको निरन्तर चिन्तन के कुटिल एवं दुष्ट तरिका र साधन होइन र? यो सही मार्ग होइन। त्यसो भए, सही मार्ग कुन हो त? सही मार्ग त्यो हो जसमा मानिसहरू आफ्नो विश्‍वासमा सत्यको पछि लाग्छन्, जसमा उनीहरू सत्य प्राप्त गर्न सक्षम हुन्छन्, र जसमा उनीहरूले आफ्नो स्वभावमा परिवर्तनहरू हासिल गर्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “जीवन वृद्धिका छ वटा सूचकहरू”)। यसमा परमेश्‍वरले हामीलाई हाम्रो आचरणमा ठीक बाटो लिन र विश्‍वासीहरूजस्तै हुन स्मरण गराउनुहुँदै र चेतावनी दिनुहुँदै छ। हामीले सत्यताको खोजी र अभ्यास गर्नुपर्छ। यदि हामीले यी सकारात्मक कामहरू गर्नको लागि कोशिश गर्दैनौं भने, यदि हामी आफ्ना गल्तीहरू छोप्ने, रवाफ जमाउने, अगुवासँग राम्रो सम्बन्ध राख्ने, मण्डलीमा कुनै पदमा रहने कुरा मात्र सोच्छौं भने, र परमेश्‍वर र अगुवाले मेरो बारेमा के विचार गर्छन् भन्‍ने कुरामा बढी ध्यान दिन्छौं भने, यो त दुष्‍टको बाटोमा हिंडेको अवस्था हो। मैले जे गर्दैथिएँ, ठीक त्यही कुरा परमेश्‍वरले मलाई प्रकाश पार्नुभएको मैले देखेँ। ती दाजुको अनुभव साँचो गवाही थियो कि थिएन मलाई पक्‍का थाहा थिएन, तर मैले मेरो हृदयबाट बोलिनँ। बरू मैले कोठामा भएका अरूको विचारलाई पढेँ, त्यसैअनुसार मेरो पत्ता खेलेँ र अरूले के सोच्लान् भनेर हिसाब गरेँ। जब ती अगुवाले मलाई किन हात नउठाएको भनेर सोधे, तब मैले गलत कदम उठाएँ कि भनेर विचार गरेँ, र धेरैको विचारअनुसार ती दाजुको गवाही सही नभएको बेलामा, मैले पनि त्यही भींडलाई पछ्याउन हतार गरेँ। हावा कतातिर बहन्छ हेर्दै, मैले आफैलाई तुच्छ बनाएँ। मैले शैतानी छलपूर्ण स्वभावबाहेक अरू केही देखाइनँ। एउटा साँचो कुरा भन्‍न पनि किन यति गाह्रो हुन्छ भ। मैले गलत भनेर आफैलाई लाजमा पार्छु कि भन्‍ने डरले, अगुवाले मलाई नजान्‍ने सोच्छन् कि र मलाई महत्व नदेलान् वा तालिम नदेलान् भन्‍ने डरले, र यस्तै भइरह्‍यो भने मलाई कामबाट निकाल्छन् कि भन्‍ने डरले गर्दा मैले यस्तो गरेको थिएँ। मैले केवल आफ्नो इज्जत र पदलाई जोगाउन चाहेको थिएँ, मेरो कमजोर क्षमतालाई लुकाउन र आफूलाई राम्रो देखाउन सक्दो कोशिश गरेँ। म आफूलाई सत्यता बुझेको एकदम सीपालु व्यक्ति भएको देखाउन चाहन्थेँ र कुनै पनि कुरामा राम्रो अन्तर्दृष्‍टि भएजस्तो व्यवहार गर्न चाहन्थेँ। म जुनसुकै प्रश्‍नको पनि अगुवाको विचारसँग मिल्ने सही उत्तर दिन चाहन्थेँ, ताकि मेरो बारेमा उनमा राम्रो प्रभाव परोस् र उनले राम्रो सोचून्। त्यसपछि अरू दाजुभाइ-दिदीबहिनीले पनि मलाई स्वीकार गर्छन् र मलाई आदरसाथ हेर्छन्। मैले मेरो तरिकामा छल र षडयन्त्र देखेँ। म त यति सानो कुरामा पनि सीधा हुन सकिनँ। मैले त एउटा पनि इमानदार र मनमा लागेको वचन बोल्न सकिनँ। म त सधैँ नै परमेश्‍वरको घरमा आफ्नो स्थान जोगाउनको लागि कोठामा भएका अरूहरूको विचारलाई ध्यान दिएर पढ्थेँ। मैले दुष्‍टको बाटो अपनाउँदै थिएँ, यो सही बाटो थिएन। म यी सबै कुराहरूको बारेमा म सचेत भएँ तर मैले अरू गहिरिएर आत्मपरीक्षण गरिनँ।

त्यसको तीन महिनापछि, मैले परमेश्‍वरको यो संगतिबाट सुनेँ। परमेश्‍वर भन्नुहुन्छ, “आफूले बोल्‍ने र गर्ने हरेक कुरामा ख्रीष्‍टबाट सङ्केत लिँदै, उहाँको स्वर-शैली सुन्दै, र उहाँका वचनहरूमा अर्थ छन् कि भनी ध्यान दिएर सुन्दै ख्रीष्ट-विरोधीहरूले मानिसहरूलाई जसरी व्यवहार गर्छन्, ख्रीष्टसँग पनि त्यसरी व्यवहार गर्छन्। जब तिनीहरू बोल्छन्, तिनीहरूको एउटै शब्‍द पनि वास्तविक वा इमानदार हुँदैन; तिनीहरूलाई खोक्रा शब्‍दहरू र धर्मसिद्धान्तहरू कसरी बोल्‍ने त्यो मात्रै थाहा हुन्छ। तिनीहरूले यस व्यक्तिलाई छल गर्ने र धोका दिने प्रयास गर्छन् जो तिनीहरूको नजरमा सर्वसाधारण व्यक्ति हो। तिनीहरू घुमौरो र अप्रत्यक्ष पारामा कुरा गरेर चिप्‍ले घस्दै कुरा गर्छन्। तिनीहरूका वचनहरूको शैली र दिशा लहरोजस्तै बेरिएर माथि चढिरहेका हुन्छन्। जब तपाईंले कुनै व्यक्ति राम्रो क्षमता भएको व्यक्ति हो र उसको पदोन्‍नति गरिनुपर्छ भनेर भन्‍नुहुन्छ, तब तिनीहरू तुरुन्तै तिनीहरू कति असल छन्, र तिनीहरूमा के कुराको प्रकटीकरण र प्रकाश भएको छ त्यसको बारेमा कुरा गर्न थाल्छन्; र यदि तपाईंले कुनै व्यक्ति खराब हो भनेर भन्‍नुभयो भने, ती मानिसहरू कति खराब र दुष्ट छन्, ती मानिसहरूले मण्डलीमा कति बाधा र अवरोधहरू ल्याएका छन् त्यसको बारेमा तिनीहरू तुरुन्तै कुरा गर्न थाल्छन्। जब तपाईंले कुनै कुराको बारेमा सत्यता जान्‍न चाहनुहुन्छ, तिनीहरूसँग भन्‍ने केही पनि हुँदैन; तपाईंले निर्णय गर्नुहुन्छ कि भन्दै प्रतीक्षा गर्दै, तपाईंका वचनहरूमा अर्थ छन् कि भनेर ध्यान दिएर सुन्दै, तपाईंका अभिप्रायहरूलाई पत्ता लगाउने प्रयास गर्दै तिनीहरू छलकपट गर्छन्। तिनीहरूले भन्‍ने हरेक कुरा चापलुसी, चम्चागिरी, र चाकडी हुन्छ; तिनीहरूको मुखबाट सत्यताको एउटै शब्‍द निस्कँदैन” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, सार्वजानिक रूपमा सिद्धान्तहरू उल्‍लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूको बेवास्ता गर्छन् (भाग दुई)”)। परमेश्‍वरका यी वचनहरूले मेरो हृदयलाई विक्षिप्त पारे। मैले सधैँ नै बेइमान भएर अरूले चाहेको जस्तो गरेर व्यवहार गर्थेँ। ख्रीष्‍टसँग मेरो सीधै सम्बन्ध नभए पनि परमेश्‍वरले तयार पार्नुभएको वातावरणमा उहाँको छानबिन मैले स्वीकार गर्दिनथेँ। म त खालि रवाफ देखाउन र मलाई अगुवाले मन पराओस् भन्‍ने चाहन्थेँ, त्यसकारण मैले आफ्ना शब्दहरू तौलेर उनले सुन्‍न चाहने कुराहरू मात्र बोल्थेँ र म कति पनि इमानदार थिइनँ। यी सबै वास्विकताको तोडमरोड मात्र थियो। मैले गरेको व्यवहार र बोल्ने तरिका सर्पको जस्तै थियो, र यो परमेश्‍वरको लागि घिनलाग्दो थियो। यसरी मैले पत्ता लगाएको थिएँ कि ती अगुवालाई उत्तर दिने बेलामा आफूलाई राम्रो देखाएर उनीमाथि राम्रो प्रभाव पारेर मैले उनलाई उल्लु बनाउन सक्छु। यसो गर्दा मैले परमेश्‍वरको घरमा मेरो पद र भविष्‍यलाई सुरक्षित राख्‍न सक्छु। यो मेरो असाध्यै अविश्‍वसनीय मूर्खता थियो, र वास्तवमा मैले त परमेश्‍वरलाई नै मूर्ख बनाउने प्रयास गर्दै थिएँ। परमेश्‍वरले सबै कुराको छानबिन गर्नुहुन्छ भन्‍ने कुरामा खासै विश्‍वास गर्दिनँथिएँ। हरेक परिस्थितिमा मेरो क्षमता, उचाइ, र विचारहरू, र मेरो मनोवृत्ति र दृष्टिकोण—उहाँले यी सबै कुराहरू पूर्ण स्पष्‍टताका साथ हेर्नुहुन्छ। मेरो वरिपरिका मानिसहरूलाई मैले छल्न सकेँ पनि, मैले परमेश्‍वरलाई कहिल्यै छल्न सकिनँ। वास्तवमा, परमेश्‍वरले मैले अरूको अगाडि के भन्छु वा गर्छु भन्‍ने कुरालाई हेर्नुहुन्‍न, बरु उहाँले त मैले सत्यतालाई कसरी लिन्छु भन्‍ने कुरालाई हेर्नुहुन्छ। उहाँले हरेक दिन मैले के अभ्यास गर्छु, म कसरी जिउँछु र मेरो कर्तव्यमा मैले कसरी व्यवहार गर्छु भन्‍ने कुरा हेर्नुहुन्छ। परमेश्‍वरले विशेषतः यस्तै सानातिना कुराहरूको सूक्ष्म जाँच गर्नुहुन्छ। उहाँले मैले सत्यतालाई प्रेम या अभ्यास गर्छु कि गर्दिन भनेर हेर्नुहुन्छ, र मेरो देखावटी कुराले उहाँलाई बिलकुलै मूर्ख बनाउन सक्दैन। त्यसपछि अन्तमा मैले थाहा पाएँ कि म छली भएको मात्र होइन, मैले त परमेश्‍वरको धार्मिकतालाई र उहाँले सबै कुरा अवलोकन गर्नुहुन्छ भन्‍ने कुरालाई पनि इन्कार गर्दैथिएँ। म त एउटा अविश्‍वासीले जस्तै व्यवहार गर्दैथिएँ। पहिला मैले ख्रीष्‍ट विरोधीहरूले ख्रीष्‍टलाई खिसी गरेको र आफ्नो फाइदाको लागि उहाँलाई झूटो तारिफ गरेको विषयमा परमेश्‍वरले गर्नुभएको विश्‍लेषण सुन्दा, यो विषय मसँग त्यति धेरै सम्बन्धित भएजस्तो लाग्दैनथ्यो। म कहिल्यै पनि व्यक्तिगत रूपमा ख्रीष्‍टसँगको सम्पर्कमा आएको थिइनँ, त्यसैले म सोच्थेँ कि मैले त्यस प्रकारको शैतानी स्वभाव देखाउननेछैन। त्यसपछि मैले महसुस गरेँ कि म गलत रहेछु, आफ्नो शैतानी व्यवहारलाई प्रकट गर्न ख्रीष्‍टसँग सम्पर्कमा आउनुपर्दैन रहेछ। मैले ती अगुवाको कृपा पाएर बढी अङ्क ल्याउने कोशिश गरेँ, र मैले परमेश्‍वरको घरमा आफ्नो स्थान जोगाउनको लागि त्यस्तो काम गर्न पनि तयार भएँ। मैले ठ्याक्‍कै शैतानी व्यवहार देखाउँदै थिएँ। यदि म कहिल्यै ख्रीष्‍टसँग आमनेसामने भएको भए, यो अझ स्पष्‍ट देखिने थियो। परमेश्‍वरलाई मूर्ख बनाउने र उहाँको विरोध गर्ने प्रयास गर्नबाट मैले आफैलाई रोक्न सक्ने थिइनँ।

हामीले गलत उत्तर दिए पनि मैले सोचेको जस्तो गरी ती अगुवाले हामीलाई छाँट्ने र ठीक पार्ने काम गरेनन् भनेर मैले केही दिन विचार गरिरहेँ। उनले हाम्रो क्षमता कम भयो पनि भनेनन्, हामीलाई बेकामका मान्छेको रूपमा पनि व्यवहार गरेनन् वा हामीलाई तालिम दिन इन्कार पनि गरेनन्। उनले हामीलाई हाम्रो विचार बाँड्न मात्र लगाए, ताकि सत्यताको संगतिभन्दा अगाडि हाम्रा कमजोरीहरू उनले बुझ्न सकून् र ती सिद्धान्तहरूमा हामीलाई मार्गदर्शन गर्न सकून्। उनले हाम्रो भ्रष्‍ट व्यवहार पनि खुलासा गरी देखाइदिए र आफैलाई पुनर्विचार गर्न आग्रह गरे। उनले गरेका सबै कुरा हामीलाई सहायता गर्न र टेवा दिनको लागि थियो। परमेश्‍वरको घरमा र दाजुभाइ-दिदीबहिनीसँग अनुमान लगाउनु आवश्यक थिएन। यसले मलाई परमेश्‍वरका वचनहरूको बारेमा विचार गर्न लगायो: “वास्तवमा, परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, त्यसैले उहाँका वचनहरूलाई सधैँ विश्‍वास गर्न सकिन्छ; यसको अलाबा, उहाँका कार्यहरू खोटरहित र निर्विवाद छन्, किनभने परमेश्‍वरले उहाँप्रति इमानदार हुनेलाई मन पराउनुहुन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “तीन अर्तीहरू”)। परमेश्‍वरका वचन र कार्यहरू हाम्रो भरोसाको एकदम योग्य छन्, र उहाँले हामीलाई इमानदार व्यवहार गर्नुहुन्छ। जब परमेश्‍वरले मानिस बनाउनुभयो, उहाँले मानिसलाई बगैँचाको कुन फल खानुहुन्छ र कुन खानुहुँदैन भनेर भन्‍नुभयो। उहाँले साधारण तरिकामा सीधै बोल्नुभयो—यहाँ अनुमान लगाउनुपर्ने कुनै आवश्यक थिएन। अनुग्रहको समयमा, प्रभु येशूले सधैँ “साँचो-साँचो म तिमीलाई भन्छु” भनेर भन्‍नुभयो। र परमेश्‍वरको कामको यो चरणमा, सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू कति इमानदार र वास्तविक छन् भन्‍ने कुरा हामीले अनुभूति गर्न सक्छौं। धेरैजसो रूपमा, ती हृदय छुने, न्यानो र दयालु वचनहरू हुन्, र हाम्रो भ्रष्‍ट व्यवहार देखाउने कुराहरू कठोर देखिए तापनि, ती वास्तविकतामा आधारित, र हामीलाई शुद्ध बनाउने र मुक्ति दिने वचनहरू हुन्। परमेश्‍वर हामीसँग इमानदार र पारदर्शी हुनुहुन्छ। उहाँमा कुनै पनि ढोङ्गीपन छैन। तर म त्यस्तो परिस्थितिमा पनि अलिकति पनि इमानदार नभई हिसाब लगाउँदै र योजना बनाउँदै थिएँ। म त धेरै नै छली र घृणित रहेछु भन्‍ने लाग्यो।

त्यसपछि मैले परमेश्‍वरका केही वचनहरूबाट सम्झेँ: “अरूसँग शङ्का नगर्नेहरूसँग म खुशी हुन्छु, र सजिलैसँग सत्य स्वीकार्नेहरूलाई म मन पराउँछु; यी दुई प्रकारका मानिसहरूलाई म धेरै वास्ता गर्छु, किनकि तिनीहरू मेरो नजरमा इमानदार मानिसहरू हुन्। यदि तँ छली छस् भने, तँ सबै मानिस र विषयहरूप्रति सतर्क बन्नेछस् र शङ्कालु बन्नेछस्, यसैले मप्रतिको तेरो विश्‍वास शङ्काको जगमाथि निर्माण हुनेछ। त्यस्तो विश्‍वासलाई म कहिल्यै स्वीकार्न सक्दिनँ” (वचन देहमा देखा पर्नुहुन्छको “पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने”)। परमेश्‍वरले किन अरूलाई शंका नगर्ने र खुशीसाथ सत्यलाई स्वीकार्ने मानिस परमेश्‍वरको नजरमा इमानदार हुन्छ भन्‍नुभएको हो भनी मैले पहिले कहिल्यै बुझेको थिइनँ। तर अहिले उहाँका वचनहरूमा विचार गर्दा, मैले बुझ्न थालेँ। इमानदार मानिसले परमेश्‍वर वा मानिसप्रति कुनै शंका गरिराख्‍दैन; उनीहरू निर्दोष हुन्छन्। उनीहरू आफ्नो मानव दिमागले कुरा बुझ्न खोज्दैनन्, बरु सत्यताको खोजी गर्न तिनीहरू परमेश्‍वरको अगाडि आउँछन्। उनीहरूले आफूले बुझ्न सके जति स्वीकार गर्छन् र अभ्यास गर्छन् र परमेश्‍वरले जे भन्‍नुहुन्छ त्यही गर्छन्। उनीहरू इमानदार हृदय लिएर सत्यताको नजिक जान्छन् र यस्तो खालको हृदय अति बहुमूल्य हुन्छ। बालकजस्तो हुनु भनेको पनि यही हो। परमेश्‍वरले उनीहरूलाई आशिष् दिनुहुन्छ; पवित्र आत्माले उनीहरूमा काम गर्नुहुन्छ, र उनीहरूलाई नै मार्गदर्शन गर्नुहुन्छ र अन्तर्दृष्टि दिनुहुन्छ। त्यसपछि उनीहरूले अझ सजिलैसँग सत्यतालाई बुझ्न सक्छन्। तर कसैले केही सत्य बोल्न र आफ्नो काम अलिकति गर्न सके तापनि, यदि उनीहरू भित्रचाहिँ भूलभूलैया जस्ता छन् भने, सधैँ शंकालु र स्व-आरक्षी छन् भने, र प्रेमिलो, दयालु परमेश्‍वरप्रति पनि शंकालु छन् भने, तिनीहरू सबैभन्दा छली, बेइमान का मानिस हुन्। परमेश्‍वरले किन छली मानिसले मुक्ति पाउन सक्दैन भनेर भन्नुभएको रहेछ सो मैले त्यसबेलादेखि बुझ्न थालेँ। यसको एउटा भाग के हो भने परमेश्‍वर वास्तविक हुनुहुन्छ, उहाँले छली मानिसलाई घृणा गर्नुहुन्छ र उनीहरूलाई मुक्ति प्रदान गर्नुहुन्न। अर्को भागचाहिँ हाम्रो व्यक्तिपरक खोजीसँग सम्बन्धित छ। छली मानिसहरू असाध्यै अप्ठ्यारा हुन्‍छन्। उनीहरूले सधैँ अनुमान लगाइराखेका हुन्छन्, विश्‍लेषण गरिराखेका हुन्छन्, र अरू मानिस, वस्तु र परमेश्‍वरको विरुद्धमा आफूलाई सुरक्षा गरिराखेका हुन्छन्। उनीहरूलाई वास्तवमै मानिसको विचार कसरी पढ्ने भन्‍ने पनि आउँछ। उनीहरूका विचारहरू यिनै कुराहरूले भरिएका हुन्छन्। पवित्र आत्माले उनीहरूमा केही काम गर्न सक्नुहुन्‍न। त्यसकारणले गर्दा उनीहरूले कहिल्यै पनि सत्यतालाई बुझ्न सक्दैनन्। त्यसरी नै जसरी परमेश्‍वरले भन्‍नुभएको छ, “परमेश्‍वरले तिनीहरूलाई सिद्ध पार्नुहुन्न जो छली छन्। यदि तेरो हृदय इमानदार छैन भने—यदि तँ इमानदार व्यक्ति होइनस् भने—तँलाई कहिल्यै पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछैन। त्यसरी नै, तैँले कहिल्यै पनि सत्यता प्राप्त गर्न सक्नेछैनस्, र तँ परमेश्‍वरलाई प्राप्त गर्न पनि असमर्थ हुनेछस्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “जीवन वृद्धिका छ वटा सूचकहरू”)। त्यसकारण त्यो बिन्दुमा मैले आफैलाई कठोर तरिकाले हेरेँ। कुनै समस्याको सामना गर्दा, म परमेश्‍वरको अगाडि सत्यताको खोजी गर्न इमानदार हृदयको साथमा आएको थिइनँ, बरु अरूका कुराहरूको अनुमान गर्ने कुरामा लिप्‍त भएको थिएँ। म त साधारण छलफलको समयमा पनि दाजुभाइ-दिदीबहिनीहरूसँग धेरै हदसम्म त्यस्तै थिएँ। कहिलेकहीँ मैले पूर्ण रूपमा कुरा बुझ्दिनथिएँ, तर अरूहरूले जे बुझे त्यसैमा लाग्थेँ। कहिलेकहीँ मेरो आफ्नै विचार हुन्थ्यो तर त्यो गलत होला भनेर भन्‍न डर लाग्थ्यो। त्यसकारण म अरूले भनेको कुरा सुनेपछि म सही रहेछु भन्‍ने जानेर मात्र बोल्ने गर्थेँ। नत्रभने, म ठम्याउँथेँ कि मैले केही भन्‍नु पर्दैन ताकि अरूको अगाडि मैले सम्मान गुमाउनु नपरोस्। म कति छली र अप्रत्यक्ष रहेछु भन्‍ने कुरा मैले देखेँ। मैले त केवल भींडलाई पछ्याइरहेको थिएँ। मैले केही नबुझेको बेलामा अरूलाई हेरेर उनीहरूले जे गर्छन् त्यही गर्दै आइरहेको थिएँ। त्यसले मलाई सत्यता बुझ्नको लागि बाधा दिंदैथियो। तर क्षमता नहुनु र सत्यता थाहा नहुनुमा कुनै डर लाग्दो कुरा हुँदैन। मानिसले आफूले नजानेको कुरालाई लुकाउनुचाहिँ डरलाग्दो कुरा हो। त्यसपछि उनीहरूले कहिल्यै पनि सत्यतालाई बुझ्न सक्दैनन्। मैले त्यो बाटोमा जानु एकदमै खतरापूर्ण रहेको र इमानदार हुनु अत्यावश्यक भएको कुरा महसुस गरेँ।

भविष्यमा विभिन्‍न कुराहरूको सामना गर्दा म कसरी इमानदार बन्‍न सक्छु, र म कुन सिद्धान्तमा अडिग रहनुपर्छ भनेर मैले खोज्न थालेँ। मैले परमेश्‍वरको वचनबाट दुई पाना जति पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ: “परमेश्‍वरसँग खुला हृदयको व्यक्ति बन्‍नको लागि, तैँले सुरुमा आफ्‍ना व्यक्तिगत इच्‍छाहरूलाई पन्छ्याउनुपर्छ। परमेश्‍वरले तँसँग कस्तो व्यवहार गर्नुहुन्छ भन्‍ने कुरामा ध्यान केन्द्रित गर्नुको सट्टा, तेरो हृदयमा के छ त्यो कुरा बता, र तेरा शब्‍दहरूका परिणामहरू के हुनेछन् त्यसको बारेमा चिन्तन गर्ने वा विचार-विमर्श गर्ने नगर्; तैँले जे विचार गरिरहेको छस् त्यही भन्, तेरा उत्प्रेरणाहरूलाई पन्छ्याएर राख्, अनि कुनै उद्देश्य हासिल गर्नको लागि शब्‍दहरूको प्रयोग गर्ने प्रयास नगर्। जब तँसँग अति धेरै अभिप्रायहरू हुन्छन्, तब तँ सधैँ आफूले बोल्ने शैलीमा हिसाबकिताब गरिरहेको हुन्छस्। ‘मैले यसो भन्‍नुपर्छ, त्यसो होइन, मैले बोल्‍ने कुरामा म होशियार बन्‍नुपर्छ, मैले मेरो उद्देश्य हासिल गर्नुपर्छ’—के यसमा व्यक्तिगत उत्प्रेरणाहरू लुकेका छन्? यी मानिसहरूले शब्‍दहरू बोल्‍नुभन्दा पहिले नै मनमा अनेक कुरा खेलाइसकेका हुन्छन्, तिनीहरूले भन्‍न लागेका कुराहरूलाई धेरैपटक सोचविचार गरेका, र आफ्‍नो मस्तिष्कमा यसलाई धेरैपटक छानेका हुन्छन्। तिनीहरूको मुखमा आइपुग्दा, यी शब्‍दहरूले शैतानका छली युक्तिहरू बोकेका हुन्छन्; अर्थात्, तेरो मुखबाट निस्केका वचनहरूले आशय र व्यक्तिगत लक्ष्यहरू बोकेका हुन्छन्; त्यस्ता वचनहरू सच्‍चा हुँदैनन् अनि तिनीहरू हृदयबाट पनि आएका हुँदैनन्। परमेश्‍वरप्रति खुला हृदयले व्यवहार गर्ने तरिका यो होइन” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, सार्वजानिक रूपमा सिद्धान्तहरू उल्‍लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूको बेवास्ता गर्छन् (भाग दुई)”)। “सबै विषयहरूमा, तँ परमेश्‍वरप्रति खुला हुनुपर्छ र तँ खुला हृदयको हुनुपर्छ—यो एक मात्र सर्त र अवस्था हो जुन परमेश्‍वरको अगाडि कायम राखिनुपर्छ। तँ खुला नभएको बेलामा पनि तँ परमेश्‍वरको अगाडि खुला हुनुपर्छ। तँ खुला छस् कि छैनस् भन्ने कुरा परमेश्‍वरलाई थाहा हुन्छ। यदि तैँले त्यसलाई देख्‍न सक्दैनस् भने के तँ मूर्ख छैनस् र? त्यसो भए, तँ कसरी बुद्धिमान् हुन सक्छस् त? तँलाई थाहा छ, परमेश्‍वरले सबै कुरालाई सुक्ष्म तरिकाले जाँच्‍नुहुन्छ र सबै कुरा जान्‍नुहुन्छ, त्यसैले उहाँले जान्‍नुहुन्‍न होला भन्‍ने नसोच्; परमेश्‍वरले गोप्य रूपमा मानिसहरूको मनमस्तिष्कमा हेर्नुहुने हुनाले मानिसहरू अझ खुला हृदयका, केही बढी शुद्ध र इमानदार हुन सक्नु बुद्धमानी कुरा हो—यसो गर्नु चलाख भई काम गर्नु पनि हो। … जब मानिसहरूले स्वरूपमा ध्यान दिइरहेका हुन्छन्, जब यो तिनीहरूको मस्तिष्क भएर जान्छ, जब तिनीहरूले यसको बारेमा केही सोच्छन्, तब यो कष्टप्रद विषय बन्छ। तिनीहरूले आफ्नो मनमस्तिष्कमा सधैँ सोच्छन्, ‘परमेश्‍वरलाई मेरो बारेमा उच्च सोच राख्ने र मैले भित्र सोचेको कुरा थाहा नपाउने तुल्याउन मैले के भन्‍न सक्छु? भन्‍नुपर्ने सही कुरा के हो? मैले धेरै कुरा मसँगै राख्‍नुपर्छ, म केही बढी होसियार हुनुपर्छ, मसँग विधि हुनुपर्छ; तब सायद परमेश्‍वरले मलाई उच्च ठान्‍नुहुनेछ।’ के तैँले सधैँ यसरी सोचिरहिस् भने परमेश्‍वरलाई थाहा हुनेछैन भन्‍ने सोच्छस्? परमेश्‍वरले तैँले जे सोचे पनि थाहा पाउनुहुन्छ। यसरी सोच्‍नु थकाइलाग्दो हुन्छ। इमानदार र साँचो बोल्‍नु धेरै सरल हुन्छ, र यसले तेरो जीवन झन् सहज बनाउँछ। परमेश्‍वरले तँ इमानदार र शुद्ध छस्, तँ खुला हृदयको छस् भन्‍नुहुनेछ—र यो असीमित रूपमा अमूल्य छ। यदि तँसँग खुला हृदय र इमानदार मनोवृत्ति छ भने, तँ धेरै टाढा गएर मूर्खतापूर्वक काम गरेको बेलामा पनि, परमेश्‍वरको निम्ति यो उल्लङ्‍घन हुनेछैन; यो तेरा तुच्छ चालहरूभन्दा असल हुन्छ र तेरो निरन्तरको चिन्तन तथा प्रक्रियाहरूभन्दा असल हुन्छ” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग दुई)”)। परमेश्‍वरको वचनमा के भनिएको छ भने, परमेश्‍वर र उहाँले तय गर्नुभएका परिस्थितिहरूलाई कसरी लिने भन्ने सवालमा सबैभन्दा महत्वपूर्ण र आधारभूत कुरा खुला हृदय हुनु हो। हामीले परमेश्‍वरको अगाडि हाम्रो हृदयलाई कुनै कुरा नलुकाई वा छल नगरी, कुनै कुराको अध्ययन नगरी वा प्रकृया नचलाई उदाङ्गो पारेर राख्‍नुपर्छ। हामीले हाम्रो वचनको पछाडि कुनै प्रकारको ध्येय राख्‍नुहुँदैन वा कुनै रणनीतिहरू लगाउनुहुँदैन, तर हाम्रा विचारहरूलाई सत्यताको भावमा आदानप्रदान गर्नुपर्छ। हामीले बोध गर्न, बुझ्न नसकेको कुरा स्वीकार गर्नुपर्छ, त्यसपछि परमेश्‍वरको अगाडि सत्यताको खोजी गर्न निर्दोष, इमानदार हृदय लिएर आउनुपर्छ। यो भनेको बुद्धिमान बन्नु हो। परमेश्‍वरले सबै देख्‍नुहुन्छ र हामीलाई उहाँको हातको पछाडिको भागलाई जस्तै जान्‍नुहुन्छ। मेरो क्षमता, मैले कत्तिको सत्यतालाई बुझ्छु, मेरो अनुभवको गहिराइ, र मैले कुनै कुरा बुझ्छु कि बुझ्दिनँ, सबै कुरा परमेश्‍वरले राम्रोसँग जान्‍नुहुन्छ। म परमेश्‍वरको सामु उदाङ्गो छु। मेरा भूलहरू किन छोप्नुपर्‍यो र सबै बुझेको बहाना किन गर्नुपर्‍यो? खासमा, सधैँ हिसाब गर्ने, अरूलाई अवलोकन गर्ने र उनीहरूले के विचार गर्दैछन् भनेर अनुमान गर्ने र के भन्‍ने भनेर दिमागमा जोर लगाउनु मानसिक र भावनात्मक रूपमा थकाउने किसिमको थियो र यो कुरालाई परमेश्‍वरले घृणा गर्नुहुन्थ्यो। यति बेला बल्ल मैले निर्दोष हुनु र हृदयबाट निष्कपट हुनु कति महत्वपूर्ण छ भन्‍ने कुरा बुझेँ। परमेश्‍वरले त्यसलाई मूल्यवान ठान्‍नुहुन्छ, र यो अझ स्वतन्त्र र आरामसँग जिउने तरिका हो। परमेश्‍वरले मानिसको क्षमता वा उसको विचार ठीक छ कि छैन भनेर मात्र हेर्नुहुन्‍न भन्‍ने पनि मैले देखेँ। उहाँले हाम्रो हृदय हेर्नुहुन्छ, हाम्रो सत्यताप्रतिको मनोवृत्तिलाई र हामीले त्यस बाटोमा कस्तो स्वभाव व्यक्त गर्छौं भनेर हेर्नुहुन्छ। कहिलेकहीँ हामी गलत नै भए तापनि, यदि हामी खुला र इमानदार छौं भने परमेश्‍वरले हामी मूर्ख हौँ कि क्षमताविहीन हौँ यसको पर्वाह गर्नुहुन्‍न र उहाँले हामीलाई त्यसको लागि दोषी ठहराउनुहुन्‍न। त्यसको विपरीत, सधैँ छल गर्ने कुरालाई परमेश्‍वरले घिनलाग्दो र घृणापूर्ण ठान्‍नुहुन्छ। त्यस बेला मैले सत्यताको अभ्यास गर्नेछु र इमानदार मानिस बन्‍नेछु भन्ने निर्णय लिएँ। परमेश्‍वरले बनाउनुभएको वातावरणमा खुला भएर, अरूसँगको व्यवहारमा निष्कपट बनेर, हृदयभित्रबाट बोलेर र मैले बुझेको कुरा खुलेर भनेर, मैले बिस्तारै मेरो ढोङ्गी, छली भ्रष्‍ट स्वभावलाई निराकरण गर्न सक्छु।

मलाई याद छ, एकपटक हामी मण्डलीमा गाइने एउटा भजनमा भएका दुई वटा खोक्रोजस्तो लागेको पङ्क्तिलाई लिएर अगुवाकहाँ गयौँ। उनले ती पङ्क्तिहरूको बारेमा केही पनि भनेनन्, तर उनले त्यो भजनको कुनै महत्व नभएको र राम्रो नभएको कुरा बताए। मेरो मुखबाट “हो” भन्‍ने शब्द निस्कियो। मैले उत्तिखेरै महसुस गरेँ म फेरि पनि छली बन्दै थिएँ। त्यो भजनमा उनले देखेका समस्या मैले देखेको थिइनँ। म त हो हजुर भन्‍ने र बुझेको जस्तै बहाना गर्ने खालको मानिस बन्दै थिएँ। मैले मुख खोल्ने बित्तिकै झूट निस्केकोमा मलाई घृणा लाग्यो र म यसरी हावादारी हुँदै अघि बढ्न चाहिनँ। यदि मैले बुझिनँ भने ठीकै छ, मैले बुझिनँ। मैले परमेश्‍वरका वचनहरूको बारेमा विचार गरेँ: “इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो” (वचन देहमा देखा पर्नुहुन्छको “तीन अर्तीहरू”)। मलाई थाहा थियो मैले भरखरै बोलेको झूटलाई सही बनाउनु थियो र इमानदार बन्‍नु थियो। त्यसकारण मैले ती अगुवालाई भनेँ, “मेरो विचारमा त दुई वटा पङ्क्तिमा मात्र समस्या जस्तो लागेको थियो। यो भजनको कुनै महत्व छैन भन्‍ने कुरा त मलाई थाहा थिएन।” उनले धैर्यतासाथ भजनको समस्याको बारेमा संगति गरेर सिकाए, यसले भजनको बारेमा मेरो आँखा अलिकति खोलिदियो। मलाई शान्ति भएको महसुस भयो। सत्यता यही हो कि हामीले हाम्रो शब्द, काम वा दृष्‍टिकोणलाई एकै ठाउँमा पोको पार्नुपर्दैन, बरु हामी इमानदार मानिस बन्‍न सक्छौं जो व्यवहारिक र वास्तविक हुन्छन्। मैले मेरो समूहमा दाजुभाइ-दिदीबहिनीहरूसँग छलफल गर्ने बेलामा इमानदारी हुने अभ्यास गर्न पनि शुरू गरेँ। म गलत भए पनि वा सही भए पनि, मैले मेरो वास्तविक विचार राख्थेँ। मैले नबुझेको कुरामा खुलस्त हुन्थेँ, यदि मैले गल्ती गर्थेँ भने मेरो भूल सुधार्थेँ। यसले ममा धेरै शान्ति ल्यायो। अझै पनि म साँचो इमानदार मानिसको स्तरको छेउ पनि पुगेको छैनँ, तर मैले इमानदार हुनुको महत्वलाई महसुस गरेको छु र यसरी मात्र परमेश्‍वरबाट मुक्ति पाउन सकिन्छ भन्‍ने कुरा मलाई थाहा छ। मलाई साँच्चै नै इमानदार व्यक्ति बन्‍ने आकांक्षा छ र म त्यसको लागि संघर्ष गरिरहन चाहन्छु, त्यसैमा लागिरहन चाहन्छु। परमेश्‍वरलाई धन्यवाद होस्!

अघिल्लो: इमानदार व्यक्ति हुनलाई लडाइँ

अर्को: झुटहरूपश्चात्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

रोगको कठिन परीक्षा

झोङ्गछिन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मेरा कार्यहरू समुद्र किनारका बालुवाका कणहरूभन्दा धेरै छन् र मेरो बुद्धि सोलोमनका सबै...

थोरै भए नि मानव रूपमा जिउनु निश्‍चय नै महान् कुरा हो

टाशी, क्यानडासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “उहाँको ६,००० वर्षको व्यवस्थापन योजना नजिक नआउञ्‍जेलसम्‍म—उहाँले प्रत्येक वर्गको मानिसको...

परमेश्‍वरलाई मेरो हृदय दिँदा

क्षिन्चे, दक्षिण कोरियावर्ष २०१८ को जुन महिनामा, मैले राज्यको स्तुतिगानको प्रदर्शनका लागि अभ्यास गरें। परमेश्‍वरको प्रशंसा गर्दै र उहाँको...

मृत्युको परीक्षामा पर्दा

क्षियाङदाओ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वर भ्रष्ट मानव जातिलाई बचाउन पृथ्वीमा काम गर्न आउनुभएको छ; यसमा कुनै...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्