१२. कठिनाइका दुई दशक
म सन् १९९१ मा इसाई बनेँ, अनि त्यसको केही वर्षपछि म मण्डली प्रचारक भएँ। सन् १९९५ मा काउन्टीको सार्वजनिक सुरक्षा ब्युरो मातहतको राजनीतिक सुरक्षा शाखाका प्रहरीले मलाई समाते, उनीहरूले म कहाँ प्रचार गर्दै छु र मेरो अगुवा को हो भनेर सोधपुछ गरे। मैले जवाफ नदिएपछि, मलाई मुक्का र लात्तीले हाने, मेरो शरीरभरि निलडाम हुनेगरी, मलाई चार पाँच घण्टासम्म यातना दिए। त्यसपछि तिनीहरूले मलाई काउन्टी हिरासत गृहमा थुने। प्रहरी र अन्य कैदीले मलाई ४२ दिनसम्म मृत्युको मुखमा पुग्ने गरी यातना दिए। पछि मेरी श्रीमतीले केही सोर्सफोर्स लगाउँदै मलाई छुटाउन झन्डै १० हजार युआन जरिवाना तिरिन्। मैले बुझ्नै सकिनँ। सुसमाचार सुनाउने विश्वासी भएकाले हामी अरूलाई प्रभुको शिक्षाको पालना गर्न, असल व्यक्ति र सहनशील हुन अनि आफूजस्तै अरूलाई प्रेम गर्न मार्गदर्शन गर्थ्यौँ। कम्युनिस्ट पार्टीले हामीलाई यति निर्दयी तरिकाले किन सताउँछ? पछि सर्वशक्तिमान् परमेश्वरमा विश्वास प्राप्त गरेपछि, परमेश्वरका वचनको प्रकाश र व्यक्तिगत अनुभवबाट मैले सत्यतालाई घृणा र परमेश्वरको विरोध गर्ने सीसीपीको दानवीय सारका बारेमा खुट्याइ प्राप्त गरेँ।
सन् १९९९ डिसेम्बरको एक दिन मेरी श्रीमती र मैले नास्ता खाइरहेका बेला तीन जना अधिकारी अचानक घरभित्र आए। तिनीहरू मध्ये एक जना अधिकारीले मलाई प्रभुमा आस्था राखेका कारण पहिले नै पक्रेका थिए। उनले मलाई केही बेर माथिदेखि तलसम्म हेरे, अनि कठोर आवाजमा भने, “तैँले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गरेको र सुसमाचार प्रचार गरेको उजुरी परेको छ। तैँले साँच्चिकै पाठ सिकेको रहेनछस्!” त्यसपछि, तिनीहरूले केही पनि बाँकी नराखी पूरै घर खानतलासी गरे। यो करिब एक घण्टासम्म चल्यो र तिनीहरूले मेरो घर पूरै लथालिङ्ग बनाए, तर आस्थाबारे कुनै पुस्तक वा सामग्री फेला पारेनन्। त्यसपछि, मलाई एउटा कारमा राखेर प्रहरी चौकी लगे। बाटामा, पहिलो पटक पक्राउ परी यातना पाएका दृश्यहरू एकपछि अर्को गर्दै दिमागमा झलक्क आए। म निकै डराएको थिएँ, सोचेँ, “ती राक्षसहरूले विश्वासीलाई घृणा गर्छन्, अब मलाई कस्तो यातना दिने हुन्?” मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ र उहाँले भनेका केही कुरा सम्झेँ: “जसलाई म मेरो महिमा दिन्छु उसले मेरो गवाही दिनेछ र मेरो निम्ति तिनीहरूको जीवन दिनेछन्। यसलाई मैले उहिले नै निर्धारण गरेको छु” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विश्वासको बारेमा तँलाई के थाहा छ?)। साँचो कुरा—त्यो दिनको मेरो गिरफ्तारी परमेश्वरको अनुमतिले भएको थियो, र मैले कति कष्ट भोग्छु, म बाँच्छु कि मर्छु भन्ने सबै परमेश्वरको हातमा थियो। मैले गवाही दिनु थियो। परमेश्वरका वचनले मलाई आस्था र शक्ति दिए, मन शान्ति भयो।
तिनीहरूले मेरो तलासी लिन र सोधपुछ गर्न पहिले प्रहरी चौकी लगे, तर म नबोल्ने देखेर तिनीहरूले मलाई काउन्टी सार्वजनिक सुरक्षा ब्युरो पुर्याए। त्यहाँ धेरै अधिकारीहरूले मलाई घेरेर मुक्का र लात्ती बर्साए, केहीले प्रहरी डन्डाले हाने। तिनीहरूको पिटाइले म भुइँमा ढलेँ। मेरो नाक र मुखबाट रगत बगिरहेको थियो, मेरो कपडा च्यातिएको थियो र टाउको घुमिरहेको थियो। ममा उभिने शक्ति पनि थिएन। त्यसपछि, मुख्य अधिकारीले मेरो गर्धनमा समातेर भने, “मैले तँलाई देखाइनँ भने, तँलाई आफू कोसँग निहुँ खोजिरहेको भन्ने थाहा हुँदैन! बोल! तेरो नेता को हो? तैँले कसलाई प्रचार गरेको छस्?” म निकै आत्तिएको थिएँ। म नबोल्दा तिनीहरूले मलाई पिटिरहने थिए, र यस्तै भइरह्यो भने त, म कि अपाङ्ग हुन्छु वा मर्छु भन्ने ठानेँ। मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, उहाँसँग सुरक्षा र मार्गदर्शन मागेँ। तब मैले परमेश्वरका यी वचन सम्झेँ: “यदि मानिसले आफ्नो मनमा डरपोक र भयका विचारहरू राख्छ भने शैतानले उनीहरूलाई मूर्ख बनाएको हुन्छ, हामी विश्वासको पुल पार गरी परमेश्वरमा प्रवेश गरौंला भनी त्यो डराएको हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ६)। मैले बुझेँ, मेरो कायरता र डर सैतानबाट आइरहेको थियो, र प्रहरी जतिसुकै क्रूर भए पनि मेरो देहलाई हानि गर्न र यातना दिन मात्र सक्थे, तर मेरो आत्मालाई छुन सक्दैनथे। त्यो दिन तिनीहरूले मलाई कुटेर मारेको भए पनि मेरो आत्मा परमेश्वरको हातमा हुनेथ्यो। यो सोचले मलाई आस्था र शक्ति दियो, मैले मर्न परे पनि परमेश्वरलाई धोका दिने वा ब्रदर—सिस्टरहरूलाई बेच्ने थिइनँ। म दाँत बाँधेर बसेँ र एक शब्द पनि बोलिनँ। धेरै पटक सोधे पनि मैले जवाफ नदिएकाले तिनीहरूले मलाई लात्तीले हानेर लडाए, प्रहरीको डन्डा ल्याएर सिमेन्टको भुइँमा राखे, र दुई जनाले मलाई तानेर त्यसमाथि जबरजस्ती मेरो घुँडा टेकाए। मेरो पिँडुलाको हड्डीमा दबाबका कारण निकै पीडा भयो, मेरा आँखाबाट आँसु झरिरहे। एउटा अधिकारीले मेरो पिँडुलामा धेरै पटक कुल्चिए, त्यसले यति दुख्यो कि म चिच्याएँ र भकुन्डोजस्तो गुँडुल्की परी भुइँमा ढलेँ। अधिकारीले चिच्याएर भने “उठ्!” तर मैले खुट्टा चलाउनै सकिरहेको थिइनँ—ममा उभिने तागत थिएन। अत्यन्तै दुःखी हुँदै मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म अब सहन सक्दिनँ र मलाई थाहा छैन तिनीहरूले अरू कसरी यातना देलान्। परमेश्वर, म तपाइँलाई धोका दिन चाहन्न—बिन्ती मलाई आस्था र शक्ति दिनुहोस्।” त्यही बेला मैले परमेश्वरका केही वचन सम्झेँ: “के तिमीहरूले तिमीहरूका लागि तयार पारिएका आशिष्हरू कहिल्यै स्वीकार गरेका छौ? के तिमीहरूले तिमीहरूका निम्ति गरिएका प्रतिज्ञाहरू कहिल्यै पछ्याएका छौ? मेरो ज्योतिको मार्गदर्शनमा, तिमीहरूले अन्धकारको शक्तिको पकडलाई तोड्नेछौ। तिमीहरूले अन्धकारबीच ज्योतिको मार्गदर्शन गुमाउनेछैनौ। तिमीहरू यावत् थोकका मालिक बन्नेछौ। तिमीहरू शैतानको अघि विजेता बन्नेछौ। ठूलो रातो अजिङ्गरको देशको पतन हुँदा, तिमीहरू मेरो विजयको प्रमाणका रूपमा विभिन्न मानिसमाझ उभिनेछौ। सिनिमको देशमा तिमीहरू दृढ र अटल हुनेछौ। तिमीहरूले सहने कष्टहरूमार्फत्, तिमीहरू मेरा आशिष्हरूका उत्तराधिकारी हुनेछौ, र सम्पूर्ण ब्रह्माण्डभरि मेरो महिमाको ज्योतिलाई चम्काउनेछौ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय १९)। परमेश्वरका वचनले मेरा आस्था र शक्तिलाई टेवा दिए। मैले साँच्चिकै परमेश्वरमा भर गर्नुपर्ने थियो, र उहाँका वचनको मार्गदर्शनले म पक्कै सैतानलाई जितेर आफ्नो गवाहीमा दृढ हुन सक्थेँ। छ वा सात घण्टाको भयानक यातनापछि, मलाई पिटेर शिथिल बनाइयो र मेरो पिँडुला क्षतविक्षत भएको थियो। म अझै पनि नबोलेकाले प्रहरीले मलाई हिरासत गृह लगे। त्यहाँका कर्मचारीले म नराम्ररी घाइते देखेर मलाई लिन चाहेनन्, र प्रहरीले केही बेरसम्म कुराकानी गरेपछि बल्ल तिनीहरू मलाई राख्न सहमत भए।
तिनीहरूले मलाई एउटा गन्हाउने कोठामा लगे। यो सानो १० वर्ग मिटर जतिको सानो, फोहोरी, गन्हाउने कम्बल र नजिकै गन्ध आउने चर्पी भएको ठाउँ थियो। त्यहाँ पन्ध्र सोह्र जनाले खान्थे, पिउँथे, सुत्थे र दिसा पिसाब गर्थे—ओसिलो र फोहोरी थियो। अन्य कैदीहरूले मलाई डरलाग्दो नजरले हेरे। म निकै भयातुर भई परमेश्वरलाई प्रार्थना गरिरहेँ। मैले उहाँका केही वचन सम्झेँ: “नडरा, किनभने मेरा हातले तँलाई साथ दिन्छ, र म तँलाई दुष्टहरूबाट टाढा राख्नेछु” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय २८)। परमेश्वरका वचनले मलाई सान्त्वना दिए, र म भयातुर हुन छाडेँ। भोलिपल्ट, कैदीको मुखियाले जानाजानी निहुँ खोजेर अरूबाट मलाई पिटाए, मलाई भुइँमा लछारपछार गरे। पीडाले म भकुन्डोजसरी गुँडुल्किएँ, हलचल गर्नै सकिनँ। त्यसपछि, प्रहरीले मलाई बेलाबेलामा सोधपुछ गरिरहन्थे, मण्डलीलाई बेच्न भन्थे, तर मबाट केही प्राप्त गर्न नसकेपछि नरम चाल अपनाए। एक पटक, मेरी श्रीमतीका काका मलाई सोधपुछ गर्न आए। उनी सार्वजनिक सुरक्षा ब्युरोको राजनीतिक सुरक्षा शाखामा सामग्रीहरूको प्रबन्ध गर्थे। उनले मप्रति चिन्ता देखाउँदै मलाई सोधे, “तपाइँलाई कुनै कैदीले पिटिरहेका छन्? राम्रोसँग खान पाइरहनुभएको छ?” त्यसपछि उनले अर्को अधिकारीलाई मेरा लागि केही वफ्याइएको रोटी र चुरोटका बट्टा किन्न पठाए। उनले गहिरो सुस्केरा हाले र चिन्तित हुँदै भने, “तपाइँले कबुल गर्नु भएन भने जेल सजाय पनि हुनसक्छ, अनि मैले मद्दत गर्न सक्नेछैन। कबुल्नु भयो भने, नयाँ वर्षका लागि समयमै घर जान सक्नुहुन्छ। यसबारे विचार गर्नुहोला!” उनले त्यसो भनेपछि मैले सोच्न थालेँ, मेरा आमाबुबा ७० कटिसक्नु भएको छ, र श्रीमती एक्लैले तीन लालाबालाको हेरचाह गरिरहेकी छिन्। यदि म साँच्चिकै तीन वा पाँच वर्षका लागि जेल गएँ भने तिनीहरूले कसरी गुजारा गर्लान्? कम्युनिस्ट पार्टीका जेलहरू नर्क समान छन्, अनि कुनै पनि समय यातना दिएर मृत्युमा पुर्याउन सक्छन्। म मरेँ भने तिनीहरूले के गर्लान्? यसबारे जति सोचेँ म उति निराश भएँ, अनि मैले परमेश्वरलाई प्रार्थना गरी मेरो रक्षा गर्न भनेँ। मैले परमेश्वरका यी वचनहरू सम्झेँ: “मेरा मानिसहरू हर समय शैतानका धूर्त युक्तिहरूप्रति सावधान रहनुपर्छ, मेरा निम्ति मेरो घरको ढोकाको प्रतिरक्षा गर्नुपर्छ; तिनीहरूले एक-अर्कालाई सहयोग गर्नुपर्छ र एक-अर्काको लागि प्रबन्ध गर्न सक्नुपर्छ, ताकि शैतानको पासोमा पर्न नपरोस्, जुन बेला पछुतो गर्नको लागि धेरै ढिलो भइसकेको हुनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय ३)। परमेश्वरका वचनले मलाई जगाए। प्रहरीले परिवारप्रतिको मेरा स्नेह र देहगत कमजोरी प्रयोग गरेर परमेश्वरलाई मबाट धोका दिलाउन चाहन्थ्यो। यो निकै कपटपूर्ण कुरा थियो! म झन्डै फसेको थिएँ। मेरो जीवन परमेश्वरकी देन थियो र म जिउने वा मर्ने उहाँमै निर्भर थियो। मेरा आमाबुबा र श्रीमतीको भाग्य पनि परमेश्वरको हातमा थियो—अन्तिम निर्णय उहाँकै थियो। मलाई जेल सजाय भयो भने यो परमेश्वरकै अनुमतिले हुन्थ्यो। ज्यानै गए पनि म दृढ रहनु पर्ने थियो! त्यसैले मैले उनलाई भनेँ, “मैले भन्नुपर्ने सबै भनिसकेको छु र यसभन्दा अरू म केही जान्दिनँ।” उनको सानो चालले काम नगरेपछि, उनले मलाई घुरेर हेर, त्यसपछि रिसाएर गए।
कारागार प्रहरीले सधैँ अन्य कैदीहरूलाई उकासेर मलाई विभिन्न तरिकाले यातना दिन भन्थे, जस्तै, “डम्पलिङ खाने”, “ऐनामा हेर्ने”, “कुहिनो खाने” र जेलको नियम वाचन गर्ने। “डम्पलिङ खाने” भनेको ओछ्यानमै मलाई बेरेर अरूलाई ममाथि मुक्का र लात्ती बर्साउन लगाउने थियो, जसले म रिङ्गटा लागेर भ्रमित हुन्थेँ। “ऐनामा हेर्नु” भनेको मेरो टाउकोलाई दिसा पिसाब भएको चर्पीमा हाल्नु थियो, र म सावधान नभए निसासिने थिएँ। “कुहिना खानु” भनेको मेरो ढाडमा कुहिनाले हान्नु थियो। साथै, तिनीहरूले मलाई जेलका नियम वाचन गर्न लाउँथे, र मैले शब्द भुलेमा मेरो पाइजामा उतार्थे र पुट्ठामा रातो फोका उठुन्जेल प्लास्टिकको सोल भएको जुत्ताले हान्थे। यसबाहेक, कारागार प्रहरीले मलाई दिनरात काम गराउँथे। चोटको कारण म बिस्तारै काम गर्थेँ र अरू कैदीहरूले मलाई झन् धेरै काम दिइराख्थे। ती काम पूरा नगरे मलाई पिटिन्थ्यो। यस प्रकारका यातना पाउनु मेरा लागि निकै पीडादायी र निराशाजनक थियो। कहिलेकाहीँ म यति कमजोर हुन्थेँ कि त्यो पीडा अन्त्यका लागि मर्न मन लाग्थ्यो। म सधैँ परमेश्वरलाई प्रार्थना गरी मेरो हृदयको रक्षा गर्न अनुरोध गर्थेँ। एक दिन अचानक, प्रभु येशूको क्रुसीकरण याद आयो। परमेश्वर सर्वोच्च, पवित्र र पापरहित हुनुहुन्छ, उहाँ आफैँ देहधारण गरी मानवलाई मुक्ति दिने काम गर्न आउनुभयो, तर उहाँलाई क्रुसमा उनियो। अब परमेश्वर एक पटक फेरि देहधारी भई काम गर्न चीनमा आउनुभएको छ, र ठिक त्यसरी नै उहाँ मानवजातिको अस्वीकृति, बदनामी, दोषारोपण र ईशनिन्दा सहनुहुन्छ। उहाँलाई कम्युनिस्ट पार्टीले पनि खेदो गरेको छ। तर पनि, उहाँले मानवजातिलाई मुक्ति दिन सत्यता व्यक्त गरिरहनुभएको छ। मानिसप्रति परमेश्वरको प्रेम कत्ति महान् छ! म मुक्ति पछ्याइरहेको विश्वासी हुँ—यति थोरै कष्टको के हिसाब? यसबाहेक, कष्ट सहनु ख्रीष्टको राज्य र उहाँको कठिनाइको हिस्सा बन्नु हो। यो गौरवको कुरा हो। यसमा मूल्य र अर्थ छ। यो बुझाइले मेरो आस्था र शक्तिलाई नवीकरण गर्यो, त्यसपछि कैदीहरूले ममाथि जति अत्याचार गरे पनि म त्यस्तो दुःखी हुन छाडेँ।
एक दिन नास्तापछि, केही प्रहरी अधिकारीले मलाई मेरो घरबाट करिब ५.५ माइल नजिकको बजार पुर्याए, अनि म र अरू एक दर्जन जति कैदीलाई एउटा मञ्चमा राखे। तिनीहरूले निन्दा र्याली निकाल्दै छन् भन्ने मैले बुझेँ। काउन्टी सार्वजनिक सुरक्षा ब्युरोका कर्मचारीको एउटा लाइन मञ्चमा बसेको थियो, तल मानिसहरूको घुइँचो थियो। धेरैले कानेखुसी गर्दै मतिर इशारा गर्दै थिए। मेरो अनुहार तातो भयो, मुटुको धड्कन बढ्यो र ममा टाउको उठाउने हिम्मत भएन। म सोचिरहेको थिएँ, त्यस क्षेत्रमा मेरा धेरै आफन्त, साथी र चिनजानका मान्छे छन्, मेरो अघिल्लो सम्प्रदायका सहकर्मी पनि छन्। मलाई अन्य कैदीसँगै घाँटीमा निशान झुन्ड्याएर उभिएको देखेर उनीहरूले के सोच्ने होलान्? त्यसपछि मैले कसरी मुख देखाउने? मैले यसबारे जति सोचेँ, उति नराम्रो लाग्यो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरी शक्ति मागेँ। मैले परमेश्वरका केही वचन सम्झेँ: “सबै मानिसहरूले ठूलो रातो अजिङ्गरको अघि मेरो लागि बलियो, सानदार गवाही दिन सकून्, तिनीहरूले अन्तिम पटक मेरो लागि आफूलाई अर्पण गर्न सकून्, र अन्तिम एक पटक मेरो मापदण्डहरूलाई पूरा गर्न सकून् भन्ने मेरो आशा छ। के तिमीहरूले साँच्चै यसो गर्न सक्छौ त?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय ३४)। परमेश्वरका वचनले मलाई आस्था र शक्ति दिए। विश्वासीका रूपमा हामी सही मार्गमा छौँ। हामी कानुन तोड्दैनौँ वा खराब काम गर्दैनौँ, त्यसैले लाज मान्नुपर्ने कुरै छैन। मैले सामना गरेको अपमान भनेको धार्मिकताका लागि सतावट सहिएको थियो। मैले गर्व गर्नुपर्छ। यो सोचले मलाई शान्त बनायो। तिनीहरूले आखिरमा मलाई “गैरकानुनी आस्था” र “सामाजिक व्यवस्थामा खलल पुर्याएको” आरोप थोपरे, र मलाई श्रम गरी तीन वर्षको पुनर्शिक्षा लिने सजाय दिए। मञ्चमा ती सबै पवित्र, आत्मसन्तुष्ट अनुहार देखेर मैले रौँ-रौँबाट ती राक्षसहरूलाई घृणा गरेँ, र तिनीहरूले तीन वर्षको सट्टा मलाई ३० वर्षकै सजाय दिए पनि म परमेश्वरलाई कहिल्यै धोका दिनेछैन, सैतानसामु झुक्नेछैन भनी कसम खाएँ।
निन्दा र्यालीको दुई दिनपछि मलाई श्रम शिविर पठाइयो। त्यहाँ, मलाई निर्माण स्थलमा खाडल खन्ने काम दिइयो, र मैले ठेलामा सिमेन्ट र बालुवा लैजानुपर्थ्यो। मैले हरेक दिन यस्तो कठिन श्रम १२ घण्टाभन्दा बढी समय गर्नुपर्थ्यो। मेरो पिँडुलाको चोटले गर्दा कहिलेकाहीँ म सुस्तरी काम गर्थेँ, सुधार अधिकारीले यो देख्ने बित्तिकै मलाई पिट्थे। त्यहाँ तीन वर्षसम्म रहनुपर्छ भन्ने सोच्दा म केही कमजोर हुन्थेँ। त्यसबाट कसरी पार पाउने वा जिउँदै त्यहाँबाट निस्कन्छु वा निस्किन्न भन्ने मलाई थाहा थिएन। त्यो समयमा, मैले परमेश्वरलाई धेरै प्रार्थना गरेँ र उहाँको प्रेमका बारेमा सोचेँ। हामीजस्ता भ्रष्ट मानवजातिलाई मुक्ति दिन उहाँले भोग्नुभएको पीडा र अपमानबारे सोच्नु मेरा लागि मन छुने कुरा थियो। यसले मलाई समर्पित हुन तयार गरायो, र मैले जस्तोसुकै कष्ट सहनु परे पनि अन्तसम्म परमेश्वरलाई पछ्याउन चाहेँ।
केही समयपछि, मैले शाङ्ग जिन नामको कैदी भेटेँ, उनी प्रभुका विश्वासी थिए, र हामी दुवै इसाई भएकाले मौका मिल्ने बित्तिकै हामी आफ्ना आस्थाबारे कुरा गर्थ्यौँ। मैले ब्रदर शाङ्ग जिनमा असल मानवता देखेँ, उनमा प्रभु फिर्तीको तीव्र अभिलाषा थियो, त्यसैले म उनीसँग परमेश्वरका आखिरी दिनहरूका कामबारे कुराकानी गर्न चाहन्थेँ। तर उनको सजाय सकियो र मैले मौका पाउनुअघि नै उनी छुटे। म निकै धिक्कार महसुस गरेँ, र मैले परमेश्वरलाई प्रार्थना गरी मार्ग खोलिदिन बिन्ती गरेँ, ताकि मैले शाङ्ग जिनलाई सुसमाचार सुनाउने मौका पाऊँ। उनी छुटेको लगत्तै पछि, म सदा झैँ काम गर्ने ठाउँमा श्रम गरिरहेको थिएँ। एक दिन, मेरो पेट दुख्यो र अघि पछि भन्दा बढ़ी पटक चर्पी जानु पर्यो। मैले चर्पीको पर्खाल त्यति अग्लो नभएको पाएँ र त्यसको अर्कोतिर ठुलो कारखाना थियो। म चर्पीमा हुँदा बाहिर एउटा गार्डले पत्रिका पढिरहेको थियो। त्यो परमेश्वरले मेरा लागि मार्ग खोलेको हो कि होइन थाहा थिएन, त्यसैले मैले प्रार्थना गरेँ। प्रार्थनापछि, मेरो हृदयमा यो परमेश्वरले नै निस्कने बाटो दिनुभएको भन्ने लाग्यो, त्यसैले गार्डको ध्यान अन्तै हुँदा म पर्खालमाथि फालहालेर कारखानामा गएँ। मैले जेलको पोसाक खोलेँ, काँधमा हालेँ र मुख्य द्वारबाट बाहिर निस्केँ। मैले सपनामा पनि यस्तो कडा सुरक्षाबिच म उम्कन सक्छु भनेर सोच्ने थिइनँ। म परमेश्वरप्रति निकै आभारी भएँ।
तर चाँडै नै मैले मेरो पछाडि साइरनको आवाज सुनेँ। म हतार हतार रुखका झाडीमा लुकेँ र लगातार प्रार्थना गरिरहेँ। रात नपरेसम्म पर्खिरहेँ, त्यसपछि सावधानीपूर्वक झाडीबाट बाहिर निस्केँ। मैले सानो गोरेटो बाटो समातेँ, बाटो सोध्दै शाङ्ग जिनको घरतिर लागेँ। राति अबेरतिर उनको घर जाने राजमार्ग पुग्दा मैले त्यहाँ केही प्रहरी अधिकारीहरूले जाँच चौकी थापेर बसेको देखेँ, अनि त म निकै डराएँ। तिनीहरूले मलाई भेटे भने? मलाई समाते भने त फुत्किन दिने छैनन्। मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ। मैले परालको कुन्यु देखेँ र हतार हतार गएर लुकेँ, म त्यहाँ एक घण्टाभन्दा बढी समय बसेँ। प्रहरी कार त्यहाँबाट गएको देखेपछि मात्रै म सतर्क हुँदै बाहिर निस्केँ, त्यसपछि मुस्किलले शाङ्ग जिनको घरतिर लागेँ। केही बेर हिँडेपछि मेरो पिँडुला निकै दुख्यो र हिँड्नै सकिनँ, त्यसैले म बसेँ र विश्राम गरेँ, त्यसपछि फेरि हिँड्न थालेँ। हिँड्दै गर्दा मैले “म परमेश्वरको महिमाको दिन देख्न चाहन्छु” भन्ने भजन गुनगुनाएँ।
१ आज म परमेश्वरको न्याय स्वीकार गर्छु अनि भोलि उहाँका आशिष्हरू प्राप्त गर्ने छु। परमेश्वरको महिमाको दिन हेर्नलाई म मेरो जवानी दिन र मेरो जीवनकाल अर्पण गर्न इच्छुक छु। उहाँले काम गर्नुहुन्छ र सत्यता व्यक्त गर्नुहुन्छ, र मानिसलाई जीवनको मार्ग प्रदान गर्नुहुन्छ। परमेश्वरका वचनहरू र परमेश्वरको प्रेमले मेरो हृदयलाई मोहित गरेका छन्। सत्यता प्राप्त गर्नको लागि म तितो कचौराबाट पिउन र कष्ट भोग्न इच्छुक छु। म कुनै गुनासो नगरिकन अपमान सहनेछु। म मेरो सारा जीवन परमेश्वरको अनुग्रहको ऋण चुकाउँदै बिताउन चाहन्छु।
२ परमेश्वरले सुम्पनुभएका कुराहरू मुटुमा हुँदा, म शैतानसामु कहिल्यै घुँडा टेक्नेछैनँ। मेरो शिर छिनिएला र मेरो रगत बग्ला, तर परमेश्वरका मानिसहरूको मेरुदण्डलाई झुकाउन सकिँदैन। म परमेश्वरका लागि जोरदार गवाही दिनेछु, र दियाबलसहरू अनि शैतानलाई अपमानित गर्नेछु। पीडा र कठिनाइहरू परमेश्वरले नै पूर्वनिर्धारित गर्नुभएको हो, म मृत्युसम्मै उहाँप्रति बफादार र समर्पित हुने छु। म परमेश्वरलाई फेरि कहिल्यै रुवाउने छैन वा कहिल्यै चिन्तित तुल्याउने छैन। म मेरो प्रेम र बफादारी परमेश्वरलाई अर्पण गर्ने छु र उहाँलाई महिमित तुल्याउन आफ्नो मिसन पूरा गर्ने छु।
…………
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
भजन गुनगुनाउँदै गर्दा मलाई मेरो आस्था बढेको महसुस भयो। भोलिपल्ट मध्यान्हतिर म बल्ल शाङ्ग जिनको घर पुगेँ। एक अर्कासँग भेट हुने बित्तिकै हामी खुसीले रोयौँ। प्रहरी आउन सक्छ भनेर उनले मलाई अर्को व्यक्तिको घरमा राखे। अनुमान गरेजस्तै, तेस्रो दिन मध्यान्हतिर प्रहरी शाङ्ग जिनको घरमा आए। मलाई नभेटेपछि तिनीहरू दिक्क मान्दै गए। त्यसपछि मैले शाङ्ग जिनलाई परमेश्वरका आखिरी दिनहरूको सुसमाचार सुनाएँ। परमेश्वरको मार्गदर्शनले उनको सम्प्रदायका सयभन्दा धेरै ब्रदर-सिस्टरहरू सर्वशक्तिमान् परमेश्वरसामु आए।
श्रम शिविरबाट भागेपछि म खोजीमा रहेको अपराधी भएको थिएँ। म यताउता सुसमाचार सुनाउँदै घुमिरहेँ, घर फर्किने हिम्मत भएन। कति छिटो दश वर्ष बित्यो, त्यसपछि, सेप्टेम्बर २०१० मा म गृह नगर फर्केँ र बहिनीको घर गएँ। मैले श्रीमतीलाई त्यहाँ देखेँ र उनले मलाई श्रम शिविरबाट म भागेपछि प्रहरी हाम्रो घर गएर हाम्रो अनि आफन्तहरूको पनि घर खानतलासी गरेको कुरा बताइन्। तिनीहरूले श्रीमती, आमाबुबा र आफन्तहरूलाई धम्की दिँदै मेरो ठेगाना पत्ता लगाउन फुस्ल्याउने कोसिस गरेछ। प्रहरीले केही दिनसम्म मेरो घर वरपर गोप्य निगरानी पनि गरेछ। ती वर्षहरूमा, प्रहरीले मेरो पिछा गर्न छोडेको रहेनछ। नयाँ वर्ष र मेरा आमाबुबाको जन्म दिनमा तिनीहरू सधैँ मेरो बारेमा सोध्ने र म घर फर्के नफर्केको हेर्ने गर्दा रहेछन्। सन् २००२ मा श्रीमतीलाई उनको आस्थाका कारण पक्राउ गरिएछ, उनलाई बाहिर निकाल्ने हाम्रो परिवारले सोर्सफोर्स लगाउँदै २ हजार युआनभन्दा बढी खर्चनुपरेछ। श्रीमती र म दुवै पक्राउ र जरिवानामा परेकाले हाम्रो परिवारको परिस्थिति निकै कठिन भछ। हाम्रो छोराछोरीले प्राथमिक र मध्यमा पढाइ पूरा गर्न नपाइ विद्यालय छाड्नुपरेछ, अनि जीविका चलाउन त्यो ठाउँ छोडेर अन्यत्र जानुपरेछ। त्यो सुनेर मलाई निकै दुःख लाग्यो। म आएको सुनेर मेरा आमाबुबा बहिनीको घरमा मलाई भेट्न आउनुभयो। मलाई देख्ने बित्तिकै केही नबोली उहाँहरू रुन थाल्नुभयो, तर अरूले सुन्छन् भन्ने डरले डाँको छोडेर रुन सक्नुभएन। उहाँहरूले हरसमय मलाई सम्झेर धेरै रोएको बताउनुभयो। मेरा आमाबुबालाई निकै दुर्बल देखेर मैले आँसु थाम्न सकिनँ। केही दिनपछि, आफ्नो बाइकमा चढेर बहिनीको घरमा मलाई भेट्न आउँदा मेरो बुबा लड्नुभएछ र तिघ्राको हड्डी भाँचिएछ। यो सुनेपछि मलाई उहाँको निकै चिन्ता लाग्यो, र मध्यरातमा जोखिम मोल्दै म उहाँलाई भेट्न गएँ। मलाई देख्नसाथ बुबा रुन थाल्नुभयो, र भन्नुभयो, “डाक्टरले मेरो तिघ्राको हड्डी जोड्न सकिएन भन्यो। मैले त केवल मृत्यु कुर्ने हो। हामीले भेट्ने सायद यही नै अन्तिम पटक होला।” मैले आफ्नो आँसु रोकेर उहाँलाई सान्त्वना दिएँ। पक्राउ पर्ने डरले म त्यहाँ धेरै बेर बस्ने आँट गरिनँ, त्यसैले एक घण्टा जतिमा म हिँडे। कम्युनिस्ट पार्टीको गिरफ्तारीका कारण एक दशकभन्दा बढी समयदेखि म भागिरहेको थिएँ, म घर फर्किन सकिनँ, परिवारलाई भेट्न, आमाबुबाप्रतिको धर्म निभाउन, वा श्रीमती र छोराछोरीका लागि श्रीमान् र बुबाको जिम्मेवारी पूरा गर्न सकिनँ, र अब मेरो बुबा बिरामी हुँदा एक दिनसमेत उहाँको हेरचाह गर्न सकिनँ। मैले आमाबुबालाई निराश बनाएको महसुस भयो र हृदयमा पीडा भयो। म तुरुन्त प्रार्थनामा परमेश्वरसामु आएँ, मलाई मार्गदर्शन गर्दै आस्था र शक्ति दिन उहाँसँग बिन्ती गरेँ। प्रार्थनापछि, मैले परमेश्वरका यी वचन पढेँ: “परमेश्वरले हामीलाई डोऱ्याउनुहुने मार्ग सिधा छैन, तर खाल्डा-खुल्डीले भरिएको घुमाउरो बाटो हो; यसबाहेक, परमेश्वर भन्नुहुन्छ, कि मार्ग जति धेरै ढुङ्गेनी हुन्छ, त्यत्ति नै बढी त्यसले हाम्रो प्रेमिलो हृदयहरूलाई प्रकट गर्न सक्छ। तर हामीमध्ये कसैले पनि त्यस्तो बाटो खोल्न सक्दैनौं। मेरो अनुभवमा, म धेरै ढुङ्गेनी, धोकेबाज मार्गहरू हिँडेको छु र मैले ठूलो यातना भोगेको छु; कहिलेकहीँ म शोकले यति धेरै ग्रस्त भएको छु कि म रुन चाहन्थें, तर म आजको दिनसम्म यो मार्गमा हिँडेको छु। म विश्वास गर्दछु कि यो परमेश्वरले डोऱ्याउनुभएको बाटो हो, त्यसैले म सबै दुःखको यातना सहन्छु र अगाडि बढिरहन्छु। किनकि परमेश्वरले ठहराउनुभएको यही हो, त्यसकारण त्यसबाट को उम्कन सक्छ र? म कुनै आशिष् पाऊँ भनी माग्दिनँ; म केवल यति मात्र बिन्ती गर्दछु कि मैले जुन बाटोमा हिँड्नुपर्छ त्यसमा म परमेश्वरका अभिप्रायहरूअनुसार हिँड्न सकूँ। म अरूले हिँडेको बाटो हिँड्दै अरूको अनुकरण गर्न खोज्दिनँ; म यति मात्रै चाहन्छु कि, मेरो तोकिएको मार्गमा हिँडेर मैले मेरो भक्तिसाथ पूर्ण रूपमा पूरा गर्न सकूँ। … किनकि म सधैँ यो विश्वास गर्छु, कि एक व्यक्तिले जति दुःख भोग्नुपर्छ र उनीहरूले आफ्नो मार्गमा जति दूरी हिँड्नु पर्ने हुन्छ त्यो परमेश्वरद्वारा तोकिएको हुन्छ, र कसैले पनि अरू कसैलाई वास्तवमा सहायता गर्न सक्दैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मार्ग … (६))। “तिमीहरूले आज जे प्राप्त गरेका छौ त्यो प्रेरितहरू र युगौँदेखिका अगमवक्ताहरूको भन्दा ठूलो छ अनि मोशा र पत्रुसभन्दा पनि धेरै नै ठूलो छ। आशिष् एक-दुई दिनमा प्राप्त गर्न सकिँदैन; त्यसलाई धेरै मूल्य चुकाएर कमाउनुपर्छ। यसको अर्थ, तिमीहरूसित शोधन गरिएको प्रेम हुनैपर्छ, तिमीहरूमा ठूलो विश्वास हुनैपर्छ, अनि तिमीहरूले प्राप्त गरेकै होस् भनी परमेश्वरले चाहनुभएका विभिन्न सत्यताहरू तिमीहरूमा हुनैपर्छ; अझ भन्नुपर्दा, तिमीहरू धम्की दिने अथवा विश्वासघाती नबनी न्यायतर्फ फर्कनैपर्छ, अनि तिमीहरूमा मृत्युसम्मै स्थिर रहने परमेश्वरलाई प्रेम गर्ने हृदय हुनैपर्छ। तिमीसित अठोट हुनैपर्छ, तिमीहरूको जीवन स्वभावमा परिवर्तनहरू हुनैपर्छ, तिमीहरूको भ्रष्टता निको हुनैपर्छ, तिमीहरूले कुनै पनि गुनासोविना परमेश्वरका सबै योजनाहरू स्वीकार गर्नैपर्छ, अनि तिमीहरू मृत्युसम्मै समर्पित हुनैपर्छ। तिमीहरूले प्राप्त गर्नुपर्ने कुरा यही नै हो, परमेश्वरको कार्यको अन्तिम लक्ष्य यही नै हो, अनि परमेश्वरले मानिसहरूको यस समूहलाई गर्न लगाउनुहुने कुरा पनि यही नै हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के परमेश्वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। परमेश्वरका वचन अन्तर्दृष्टिपूर्ण थिए। एउटा व्यक्तिले जीवनभर कति कष्ट भोग्नुपर्छ भन्ने कुरा परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ। मैले आमाबुबालाई परमेश्वरको हातमा छोड्दै उहाँको सार्वभौमिकता र प्रबन्धमा समर्पित हुनुपर्ने थियो। मैले सदियौँदेखिका सन्तहरूलाई पनि सम्झेँ जसले सतावट र कठिनाइका बिच परमेश्वरका लागि शानदार गवाही दिएका थिए। मैले परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ र उहाँले व्यक्त गरेका सत्यताहरूको आनन्द लिएँ। मैले ती सबै धर्मदूत र अगमवक्ताहरूभन्दा धेरै प्राप्त गरेँ, तर सतावटको सामना हुँदा म दुःखी र कमजोर भएँ—मेरो कद यति सानो रहेछ। त्यसपछि मैले सन्तहरूकै नेतृत्व पछ्याउँदै, आस्थामा दृढ रहने र परमेश्वरलाई पछ्याउने सङ्कल्प गरेँ!
सन् २०११ मा, एक ब्रदरले एउटा पत्र ल्याए, पत्रमा प्रहरी मेरो घरमा मेरी श्रीमतीसँग मेरो ठेगाना सोध्न गएको कुरा लेखिएको थियो। त्यस बेलादेखि श्रीमती र मैले सम्पर्क गरेका छैनौँ।
डिसेम्बर २०१२ को एक दिन म पानी परिरहेको बेला केही ब्रदर-सिस्टरहरूसँग एउटा परिवारलाई सुसमाचार सुनाउन गएँ। चार जना अधिकारी आए, कारबाट ओर्लिए र मलाई समाते। विद्युतीय बाइकमा रहेका दुई सिस्टर भागे र तीन जना अधिकारीले कार चढेर तिनीहरूको पिछा गरे। एउटा अधिकारीले मलाई बलियोसँग समातेका थिए र म फुत्किनका लागि बल गरिरहेको थिएँ। एउटा पाको उमेरकी सिस्टरले मलाई बचाउन र भगाउन ती अधिकारीलाई समातिन्। तर म १२ मिटर जति मात्र दौडेको थिएँ, ती अधिकारीले मलाई समातिहाले, त्यति बेलै दुई सिस्टर आएर उसलाई रोके र म फुत्केर भाग्न सकेँ। घर पुगेपछि मुटु जोडतोडले धड्किरहेको थियो र मैले भर्खरै भएको कुराबारे नसोचिरहनै सकिनँ। ती दुई सिस्टरले मलाई बचाउन उक्त अधिकारीलाई समातेकाले मात्र म फुत्किन सकेँ। तिनीहरू पक्राउ परे कि परेनन्, तिनीहरूले यातना पाउने थिए कि थिएनन्, र अन्य ब्रदर-सिस्टरहरू पनि पक्राउ परेका थिए कि थिएनन् भन्ने मलाई थाहा भएन। मैले पछिल्लो दुई पटक आफू पक्राउ परेको र यातना पाएको बारेमा सोचेँ। मलाई चीनमा सुसमाचार फैलाउनु निकै खतरनाक रहेछ, जुनसुकै बेला, जुनसुकै ठाउँमा पक्राउ परेर जेलमा पर्न सकिने रहेछ भन्ने लाग्यो। म निकै निराश भएँ, त्यसैले परमेश्वरसामु आएर प्रार्थना गरेँ। प्रार्थना गरिसकेपछि, मैले आफूसँग भएको परमेश्वरका वचनको पुस्तक खोलेँ र यो देखेँ: “सबै मानिसहरूका लागि शोधन धेरै पीडादायक हुन्छ, र यसलाई स्वीकार्न धेरै गाह्रो हुन्छ—तर शोधनको बेला नै परमेश्वरले मानिसको निम्ति उहाँको धर्मी स्वभाव स्पष्ट पार्नुहुन्छ, र मानिसका लागि आफ्ना मागहरू सार्वजनिक गर्नुहुन्छ र थप अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ र थप व्यावहारिक काटछाँट गर्नुहुन्छ; तथ्यहरू र सत्यताबीचको तुलना मार्फत मानिसले आफ्नैबारे र सत्यताबारे अझ धेरै ज्ञान प्राप्त गर्छ, र परमेश्वरका अभिप्रायहरूको अझ बढी बुझाइ प्राप्त गर्छ, यसरी मानिस परमेश्वरलाई अझ साँचो र अझ शुद्ध प्रेम गर्ने बन्छ। शोधनको काम गर्ने परमेश्वरका उद्देश्यहरू यिनै हुन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ)। “यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्वरको गवाही दिनैपर्छ। तिमीहरूका दुःख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्वरप्रति विश्वासयोग्य हुनैपर्छ र उहाँको योजनाबद्ध कार्यको कृपामा हुनैपर्छ; यो मात्रै परमेश्वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्)। परमेश्वरका वचन पढेपछि मैले आत्मचिन्तन गर्न थालेँ। मैले परमेश्वरप्रतिको मेरो प्रेम दूषित रहेको र आफू साँचो रूपमा उहाँप्रति समर्पित नभएको देखेँ। पछिल्लो दुई पटक आफू पक्राउ पर्दा, यातना दिइँदा पनि मैले सैतानसामु घुँडा टेकेको थिइनँ र आफ्नो गवाहीमा दृढ रहेको थिएँ, तसर्थ मैले आफूसँग कद रहेको, परमेश्वरप्रति केही आस्था र समर्पण रहेको ठानेँ। तर, समय समयमा सैतानको परीक्षा र आक्रमणमा परेपछि मेरो साँचो कद प्रकटित भयो। पहिले दृढ रहन सक्नु मेरो वास्तविक कद थिएन, यो त परमेश्वरका वचनले मलाई दिएका आस्था र हिम्मतका कारणले थियो। यो पटक मैले परमेश्वरको बुद्धि वास्तवमा सैतानको चालबाजीका आधारमा प्रयोग हुन्छ भन्ने देखेँ। सैतानले मलाई पक्राउ गराई यातना दिलाउन, मलाई पूर्ण रूपमा हराउन र परमेश्वरलाई मबाट धोका दिलाउन हर प्रकारका चाल चल्यो, तर, परमेश्वरले ती परिस्थितिहरू मलाई आफ्ना दोषहरू देख्न सक्ने बनाउन, मेरा कमीकमजोरी बुझाउनमा प्रयोग गर्नुभयो, र मेरो आस्था र साँचो समर्पण ती दीर्घकालीन परीक्षाहरूबाट सिद्ध भए। परमेश्वरको साँचो अभिप्राय बुझेपछि म नकारात्मक वा दुःखी भइनँ, र मैले पत्रुसको उदाहरण पछ्याउँदै हरेक कुरामा परमेश्वरको योजनाबद्ध कार्यलाई पछ्याउने, जस्तोसुकै सतावट र कठिनाइको सामना गर्नुपरे पनि आफ्नो कर्तव्य पूरा गर्दै सुसमाचार सुनाउने र परमेश्वरको गवाही दिने सङ्कल्प गरेँ।
दुई दशकमा, मलाई कम्युनिस्ट पार्टीले क्रूरतापूर्वक पक्राउ गरी सतायो र यातना दियो, घरबाट भाग्न र परिवार टुटेको हेर्न बाध्य बनायो, र बेलाबेलामा म कमजोर भएको छु। परमेश्वरका वचनले समय समयमा मलाई शक्ति दिइरहे, र आजको दिनसम्म आइपुग्ने मौका दिए। यी सतावट र कठिनाइबाट मैले केही शारीरिक कष्टको अनुभव गरेँ, तर म परमेश्वरको अझ नजिक आएँ। मैले परमेश्वरको बुद्धि, सर्वशक्तिमानता, प्रेम र मुक्तिबारे केही वास्तविक बुझाइ पनि प्राप्त गरेँ। मैले कम्युनिस्ट पार्टी परमेश्वरविरोधी सैतानी राक्षस हो भन्ने प्रस्टसँग देखेँ। मैले यसविरुद्ध पूर्ण विद्रोह गरेँ, यसलाई त्यागेँ र परमेश्वरलाई पछ्याउन दृढ भएँ। मेरा लागि यी सबै व्यवस्था गर्नुभएकोमा, जीवनमा सबभन्दा बहुमूल्य खजाना प्राप्त गर्न दिनुभएकोमा परमेश्वरप्रति म हृदयदेखि आभारी छु।