८८. यातना र कष्टको बीचमा मैले जे देखेँ …

लि हुवा, चीन

सन् २०१७ को सेप्टेम्‍बरमा एक दिन हामी भेलाका लागि सिस्टर फेङ्ग मिङ्गको घरमा गयौँ। मैले ढोका ढकढक्याउने बित्तिकै ढोका खोलियो र एउटा हातले अचानक मलाई घरभित्र तानेर लग्यो। म डरले भयभीत भएँ, र होस खुल्दा मैले तिनीहरू सादा पोसाकका पुलिसहरू हुन्, र फेङ्ग मिङ्ग पक्राउ परिसकेकी छिन् भन्‍ने थाहा पाएँ। त्यसपछि, तिनीहरूले मलाई कानुनी तालिम केन्द्र लगे, जुन इसाईहरूको मष्तिष्क-सफाइ गर्ने केन्द्र थियो। त्यहाँ मैले पक्राउ परेका धेरै जना ब्रदर-सिस्टरलाई देखेँ। एक जना सिस्टरले मलाई पुलिसले मण्डलीको ३०,००० युआन, ४ वटा ल्यापटप, र उनी र अरू दुई जना सिस्टरहरूबाट २१०,००० युआन जफत गरेका छन् भनेर बताइन्। यो सुन्दा मलाई निकै रिस उठ्यो, किनभने ठूलो रातो अजिङ्गरले पागलले झैँ इसाईहरूलाई पक्राउ गरिरहेको र मण्डलीको पैसा जफत गरिरहेको थियो। यो पूर्ण रूपमा दुष्ट कार्य थियो! मैले मनमनै आफूसँग के बाचा गरेँ भने मेरो गवाहीमा म दह्रिलो गरी खडा हुन परमेश्‍वरमा भरोसा गर्छु, र म शैतानसँग कहिल्यै सम्झौता गर्नेछैन!

मष्तिष्क-सफाइ केन्द्रमा पुलिसले हामीलाई फरक-फरक कोठामा राखे, र हामी प्रत्येकलाई दिनको २४सै घण्टा निगरानी गर्न एक-एक जना गार्ड खटाइएको थियो। हामीले खाने कुरा, सुत्‍ने समय, र हामी कहिले शौचालय जान पाउछौँ भन्‍ने सबै कुरा तिनीहरूकै नियन्त्रणमा थियो। तिनीहरूले कोठा बाहिर गार्ड बस्‍नका लागि कतिपय मानिसहरूलाई समेत काममा लगाएका थिए। हरेक दिन बिहानको सात बजेदेखि राती एघार-बाह्र बजेसम्‍म तिनीहरूले ठूलो आवाजमा नाटक बजाउँथे, त्यसपछि बिहान तीन-चार बजेसम्‍म रेडियो खोलेर नाटक वा अरू त्यस्तै बजाइरहन्थे। यस अवधिमा, परमेश्‍वरमाथिको मेरो विश्‍वासबारे मलाई बेला-बेलामा सोधपुछ गर्न पुलिस आउँथे। मैले केही नबोल्दा तिनीहरूले मलाई धम्‍की दिन्थे र तर्साउँथे। तिनीहरूले हामीलाई भेला गराएर नास्तिक विचारहरू समेत प्रचार गरे। यसको उद्देश्य परमेश्‍वरलाई इन्कार गर्न र धोका दिन हामीलाई बाध्य बनाउनु थियो। ती शब्‍दहरू सुन्दा मलाई वाक्‍क लाग्यो।

तिनीहरूले हामीलाई २० दिनभन्दा बढी जबरजस्ती मष्तिष्क-सफाइ गरे। मलाई हरेक दिन खान मन वा निद्रा लाग्दैनथियो, र म सधैँ तनावमा हुन्थेँ। पछि, पुलिसले मेरो परिचय थाहा पाएछन्, मेरो मोबाइल फोनबाट कल रेकर्डहरू लिएछन्, अनि मलाई सोधपुछ गर्न थाले। एक दिन बिहान पुलिसले एक-दुई जना सिस्टरहरूको फोटो मलाई देखाए, “तिनीहरूलाई चिन्छेस्?” यी सबै सिस्टर मण्डलीको पैसा राख्‍ने जिम्‍मा पाएका व्यक्तिहरू रहेछन्। म तिनीहरूलाई कहिल्यै धोका दिनेथिइनँ, त्यसकारण मैले भनेँ, “म तिनीहरूलाई चिन्दिनँ।” एक जना पुलिस झोँक्‍किँदै आएर मलाई दुई थप्‍पड हाने, त्यसपछि दाहिने पाखुराको एकै ठाउँमा दर्जनौँ पटक मुक्‍काले हाने। मेरो पाखुरा भाँचिएको हो कि जस्तै गरी दुख्यो। तिनले दाँत किट्दै मलाई पिट्दै सोधिरहेका थिए: “तिनीहरूलाई चिन्दिनस् रे? तैँले छ महिना पहिले तिनीहरूलाई सम्पर्क गरेकी थिइस्। के हामीलाई थाहा छैन जस्तो लाग्छ? तँलाई थाहा भएको कुरा भनिनस् भने तेरो पाखुरा भाँच्छु।” त्यसपछि, तिनले मलाई ठिङ्ग्रिएर हात सीधा तन्काएर बस्‍न लगाए। मेरो दाहिने हात यति दुखेको थियो कि उचालेर सिधा राख्न नै नसक्ने भएकी थिएँ। तिनले ब्याडमिन्टनको र्‍याकेटले मेरो हात-खुट्टामा अनि मेरो ओठ र चिउँडो चेतनाहीन हुन्जेलसम्‍म मुख र चिउँडोमा हानिरहे। दश मिनेटभन्दा बढी ठिङ्ग्रिएर बसेपछि तिनीहरूले मलाई एक जना ब्रदरको नाम लिँदै चिन्छेस् कि चिन्दिनस् भनी सोधे। म छक्‍क परेँ। तिनीहरूले पक्‍कै पनि मेरो कल रेकर्डबाट तिनको नाम भेट्टाएका हुनुपर्छ। मैले तिनीहरूलाई बताइनँ भने कस्तो कष्ट आइपर्नेछ मलाई थाहा थिएन, तर जेसुकै भए पनि मैले यहूदा बनेर मेरो ब्रदरलाई धोका दिनु हुँदैनथियो। मैले शान्त हुँदै भने, “म उसलाई चिन्दिनँ।” त्यसपछि तीन जना पुलिसले मलाई घेरेर मेरो कलरमा समाते, अनि मलाई रिँगटा लागेर ढलपलिने नभएसम्म अगाडि-पछाडि झट्कारिरहे। मलाई अलिक डर लाग्यो र सोचेँ, “मेरो जस्तो सानो ज्यानलाई यस्तै यातना भइरह्यो भने, के म सहन सक्छु?” मैले हृदयमा परमेश्‍वरलाई बारम्‍बार प्रार्थना गरिरहेँ र मलाई रक्षा गर्नुहोस् भनेर अनुरोध गरिरहेँ। मैले दानिएलको बारेमा याद आयो। सिंहको खोरमा फ्याँकिदा तिनले परमेश्‍वरलाई प्रार्थना गरे, र परमेश्‍वरले सिंहको मुख थुनिदिनुभयो, त्यसकारण सिंहले तिनलाई टोकेन। सबै कुरा परमेश्‍वरकै हातमा हुन्छ, त्यसकारण परमेश्‍वरको अनुमतिविना पुलिसले मलाई केही पनि गर्न सक्दैन भन्‍ने मलाई थाहा भयो। यी कुराहरू सोचेपछि, मलाई त्यति धेरै डर र अत्यास लाग्‍न छोड्यो। तिनीहरूले मलाई २० मिनेटभन्दा बढी समयसम्म झट्कारिरहे, त्यसपछि पुलिसको क्याप्टेनले अचानक भने, “मैले अझै केही काम गर्न बाँकी छ। म तँलाई भोलि ठीक पार्छु!” त्यसपछि, तिनी हत्तारिँदै निस्किए। भोलि मैले केही बताइनँ भने पुलिसले मलाई कसरी यातना दिन्छन् होला भनेर सोचेँ। के म सहन सक्छु? यसको बारेमा विचार गर्दा, मलाई निकै अत्यास र डर लाग्यो, त्यसकारण मैले परमेश्‍वरलाई प्रार्थना गरिरहेँ। बिहानसम्‍म नै मैले यी कुराहरू सोचेर चिन्ता गरिरहेँ। मलाई रिँगटा लाग्यो, छाती भारी भयो, र सास फेर्न गाह्रो भयो। मलाई गार्ड गर्ने व्यक्ति निकै डराइन् र तिनले मष्तिष्क-सफाइ केन्द्रको प्रमुख प्रशिक्षक र डाक्टर बोलाइन्। तिनीहरूले मेरो रक्तचाप जाँच गर्दा, न्यून चाप ११० मर्करी मिलिमिटर र उच्‍च चाप १८० मर्करी मिलिमिटर थियो। प्रमुख प्रशिक्षकलाई म त्यही केन्द्रमा मर्छु र तिनको काँधमा यसको जिम्‍मेवारी पर्नेछ भन्‍ने डर लाग्यो, त्यसकारण तिनले मलाई तुरुन्तै अस्पताल लिएर गए। डाक्टरले मलाई मुटु नली सम्‍बन्धी रोग लागेको छ र उपचार गरिनुपर्छ भनेर बताए, त्यसपछि सिलेन पानी र अक्सिजन दिए। डाक्टरले भनेको कुरा सुनेर पुलिसले म तुरुन्तै नमरिहाल्ने देखे, त्यसकारण तिनीहरूले नर्सलाई मेरो अक्सिजन र सिलेन पानी निकाल्‍न लगाए, त्यसपछि मलाई मष्तिष्क-सफाइ केन्द्रमा फर्काएर लगिहाले।

मष्तिष्क-सफाइ केन्द्रमा फर्केपछि मेरो रक्तचाप निकै उच्‍च रहिरह्यो, र यो घट्ने छाँटकाँट थिएन। मलाई चक्‍कर लागिरहेको थियो र भित्ता नसमाइकन हिँड्न समेत सक्दिनथिएँ। तर पुलिसलाई मेरो ज्यानको कुनै परवाह थिएन। दिनको समयमा तिनीहरूले मलाई जबरजस्ती टिभी हेर्न लगाउँथे। जतिबेला पनि चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ राष्ट्रिय कङ्ग्रेसको प्रसारण भइरहेको हुन्थ्यो, र राती पनि तिनीहरूले बिहान तीन-चार बजेसम्‍म रेडियो बजाइरहेका हुन्थे। मलाई यति नराम्ररी कष्ट भइरहेको थियो कि मेरो शरीरको अवस्था झन्-झन् खराब हुँदै गयो। मेरो छाती प्रायजसो भारी हुन्थ्यो र सास फेर्न गाह्रो हुन्थ्यो। जब-जब म ढल्थेँ, तब-तब तिनीहरूले मलाई तुरुन्तै मर्नबाट रोक्‍नका लागि मात्रै सात-आठ वटा आपतकालीन चक्‍की खुवाउँथे। पुलिस पनि मलाई धम्की दिन आइरहन्थे, ब्रदर-सिस्टरहरू र मण्डलीको पैसाबारे पोल खोल्न मलाई जबरजस्ती गरिरहन्थे। यस प्रकारको निरन्तर सोधपुछ र यातनाले मलाई अत्यन्तै हैरान तुल्याएको थियो, र मेरो स्वास्थ्य स्थिति झन्-झन् खस्किँदै गयो। मेरो शरीरको माथिल्‍लो भाग पूरै सुन्निएको र दुखिरहेको थियो, र अलिकति हलचल गर्दा पनि मेरो भित्री अङ्गहरू टुक्रा-टुक्रा हुन्छन् जस्तो भान हुन्थ्यो। हरेक दिन मैले आफ्‍ना हातहरूले शरीरलाई कस्‍नुपर्थ्यो र हरेक कदम होशियारीको साथ हिँड्नुपर्थ्यो। सुतेको बेला न त ढल्किनु सहज हुन्थ्यो न त उठेर बस्‍नु। म घरि उठेर बस्थेँ, घरि ढल्‍केर, अन्त्यमा कुनै तागत बाँकी रहँदैनथियो र केही समय त्यतिकै निदाउँथेँ। समय बित्दै जाँदा, मेरो मुटु अत्यन्तै कमजोर हुँदै गयो, र मलाई म बाँच्‍दिनँ जस्तो लाग्यो। मैले प्रार्थना गरी मलाई विश्‍वास दिनुहोस् भनी परमेश्‍वरलाई अनुरोध गरिरहेँ।

एक दिन मलाई एउटा भजन याद आयो, “ख्रीष्टलाई पछ्याउनु परमेश्‍वरद्वारा पूर्वनिर्धारित छ”: “परमेश्वरले तोक्नुभएको छ कि हामीले ख्रीष्टलाई पछ्याऔँ र परीक्षा र सङ्कष्टहरू सामना गरौँ। यदि हामी परमेश्वरलाई साँच्चै प्रेम गर्छौँ भने, हामी उहाँको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ। परीक्षा र सङ्कष्टहरू सामना गर्नु परमेश्वरद्वारा आशिषित् हुनु हो, र परमेश्वर भन्नुहुन्छ कि हामी हिँड्ने मार्ग जति अप्ठ्यारो छ, त्यति बढी त्यसले हाम्रो प्रेम देखाउन सक्छ। आज हामीले हिँड्ने मार्ग परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको हो। आखिरी दिनहरूको ख्रीष्टलाई पछ्याउनु सबैभन्दा ठूलो आशिष् हो” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। यो गीत मनमनै गुनगुनाइरहेकी बेला मैले के बुझेँ भने परमेश्‍वरमा विश्‍वास गरेपछि हरेक व्यक्तिले आफ्‍नो जीवनमा कस्तो प्रकारको परिस्थितिको सामना गर्छ, कस्तो प्रकारको शोधन भएर जान्छ, र उसले कति धेरै कष्ट भोग्छ भन्‍ने कुरा परमेश्‍वरले धेरै पहिले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। यसलाई अनुभव गर्न मैले परमेश्‍वरमा समर्पित भएर उहाँमा भरोसा गर्नुपर्थ्यो। गाउँदै जाँदा मैले केही विश्‍वास प्राप्त गरेँ।

पछि, प्रमुख प्रशिक्षकले मलाई परमेश्‍वरको निन्दा गर्ने र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको बदनामी गर्ने पुस्तक-पुस्तिका पढ्न र भिडियोहरू हेर्न लगाउँथे, र मानिसहरू ल्याएर मलाई मष्तिष्क-सफाइ कक्षा दिन्थे। ती दिनहरूमा दिउँसो मलाई मस्तिष्क सफाइ गरिन्थ्यो, र राती टिभी र रेडियोको हल्‍ला सुन्‍न लगाइन्थ्यो। यसको साथै, कुनै पनि बेला पुलिस मलाई केरकार गर्न आउँछ भन्‍ने डर लाग्थ्यो, त्यसैले म अत्यन्तै नर्भस हुन्थेँ। छाती भारी हुने र दुख्‍ने क्रम झन्-झन् बढ्न थाल्यो। केही दिनपछि, प्रमुख प्रशिक्षकले मलाई म अबदेखि परमेश्‍वरमा विश्‍वास गर्दिनँ भनेर कबुल गरी पत्र लेख्‍न भने। मैले केही कुरा लेख्‍न मानिनँ, र तिनले भने, “यति बिरामी भएर पनि, तँ अझै इन्कार गर्दैछेस्। किन झमेलामा पर्छेस्? म तेरो लागि खाका लेखिदिन्छु, अनि तैँले त्यसलाई सार्न मात्रै सक्छस्। त्यसमा लेखिएका शब्‍दहरू तैँले भनेका वा तैँले सोचेका कुराहरू हुँदैनन्। त्यसपछि, म तेरो लागि राम्रो शब्‍दमा लेखिदिनेछु र तँलाई रिहाइ गराउनेछु। सिस्टमलाई टार्नु भनेको यही हो, बुझिस्? म तँलाई सहयोग गर्छु किनभने तँ राम्रो व्यक्ति होस् जस्तो लाग्यो। अब, यसलाई सार्, त्यसपछि घर गएर डाक्टरकहाँ जा।” तिनले भनेको कुरा उचित हो जस्तो लाग्यो। मैले मुखले मात्रै त्यसो भनिरहेकी हुन्छु, हृदयबाट परमेश्‍वरलाई धोका दिइरहेकी हुँदिन, त्यसकारण मैले तिनलाई भनेँ, “म गएर विचार गर्छु।” कोठामा गएर मैले यसको बारेमा विचार गरिरहेँ, “मैले पहिले सुनेअनुसार पुलिसले ब्रदर-सिस्टरहरूलाई दिमाग खलबलिने सुई र औषधी दिन्छन्। ब्रदर-सिस्टरहरूलाई धोका दिन बाध्य गराउन र मण्डलीको पैसा त्याग्‍न लगाउनका लागि तिनीहरूले यस्तो घृणित विधिको प्रयोग गर्छन्। मैले सम्पर्क गरेका धेरैजसो मानिस अगुवा र सेवकहरू, साथै मण्डलीको पैसा राख्‍ने ब्रदर-सिस्टरहरू पनि थिए। यदि कुनै दिन पुलिसले मलाई दिमाग खलबलिने औषधी दियो, र मैले चेतना गुमाएँ र तिनीहरूलाई धोका दिएँ भने मैले मण्डलीका हितहरूलाई नराम्ररी हानि गर्न सक्छु। त्यो त ठूलो अपराध गर्नु हुनेछ, र भविष्यमा अवश्य नै मलाई दण्ड दिइनेछ। यदि मैले पत्र लेखेँ भने म जति सक्दो चाँडो यहाँबाट जान सक्छु, र मैले ब्रदर-सिस्टरहरूलाई धोका दिनेछैन। तैपनि, मैले परमेश्‍वरलाई धोका दिइरहेकी र उहाँलाई इन्कार गरिरहेकी हुनेछु, त्यसपछि जिउनुको अर्थ के हुनेछ र? अहँ, मैले यो पत्र लेख्‍नु हुँदैन।” भोलिपल्‍ट, मैले पत्र लेखेकी छैन भन्‍ने देख्दा प्रमुख प्रशिक्षक रिसाए। तिनले चिच्याउँदै भने, “सरकारले तिमीहरूजस्ता सर्वशक्तिमान् परमेश्‍वरका विश्‍वासीहरूलाई रिहाइ गर्नु अघि पत्र लेखेर हस्ताक्षर गर्नुपर्छ भन्‍ने आदेश दिएको छ। तिमीहरू जति नै बिरामी भए पनि सरकारका नियमहरू पालना गर्नुपर्छ, त्यसकारण छिटो गरेर लेखिहाल्!” मलाई मनाउनका लागि तिनले तीन जना गार्ड बोलाए र भने, “तैँले पत्रमा हस्ताक्षर नगरुञ्‍जेलसम्‍म तँ जान पाउँदिनस्। तिमीहरूलाई पुनर्शिक्षा दिन सरकारले धेरै पैसा खर्च गरेको छ, र विशेष कक्षाहरू समेत निर्माण गरेको छ। हामी सरकारको पैसा लिन्छौं, र सरकारले हामीलाई जे गर्नका लागि पैसा दिएको छ, हामीले त्यही गर्नुपर्छ, त्यसकारण हस्ताक्षर गरिनस् भने, जबसम्‍म हस्ताक्षर गर्दिनस् तबसम्‍म तँलाई हामी यातना दिनेछौँ।” तिनीहरूको डरधम्की र दबाबले म अत्यन्तै चिन्तित भएँ र मेरो छाती भारी भएको पीडा मैले सहनै सकिनँ। मैले मनमनै प्रार्थना गरेकी भए पनि त्यो मुखले मात्रै गरेकी थिएँ, इमानदार प्रार्थना थिएन। वास्तवमा, म अब कुनै कष्ट सहन चाहन्नथिएँ, र परमेश्‍वरमाथि ममा कुनै विश्‍वास थिएन। पुलिसले मेरो खानामा औषधी हालिदिन्छ भनेर मलाई चिन्ता लागिरह्यो। यदि मैले दिमागको नियन्त्रण गुमाएँ र मेरा ब्रदर-सिस्टरहरूलाई धोका दिएँ भने के हुनेथियो? भविष्यमा मेरो दण्ड अझै गम्‍भीर हुनेथियो, त्यसकारण मैले पत्र लेखेर हस्ताक्षर गर्दा नै राम्रो हुनसक्छ। यो सोच्‍नेबित्तिकै मैले सम्झौता गरेँ र पत्र लेखेँ। मलाई अचानक मेरो हृदय खाली भएको अनुभव भयो, र मेरो मनमा अन्धकार छायो। मलाई निकै अप्ठ्यारो लाग्यो, र म डरले थरथर कामे। “तीन वटा पत्रहरू” हस्ताक्षर गरेर ममा पशुको छाप लगाइएको छ भन्‍ने मलाई महसुस भयो। म परमेश्‍वरलाई धोका दिने यहूदा बनेकी थिएँ, र मैले परमेश्‍वरको स्वभावलाई चिढ्याएकी थिएँ। मलाई गहिरो ग्‍लानि भयो, आफैप्रति घृणा जाग्यो, र म जिउनुको योग्य छैन भन्‍ने लाग्यो। मेरो गार्ड निदाएको बेला बाँकी रहेका १५-१६ वटा उच्‍च रक्तचाप कम गर्ने औषधी निलेँ। एक-दुई घण्टापछि मलाई रिँगटा लाग्यो, त्यसकारण ओछ्यानमा ढल्किँदै मैले परमेश्‍वरसँग यसो भन्दै प्रार्थना गरेँ, “हे परमेश्‍वर! मैले ‘तीन वटा पत्रहरू’ हस्ताक्षर गरिहालेँ। मैले तपाईंलाई धोका दिएकी र तपाईंको नाउँ अपमानित गरेकी छु। म जिउन योग्य छैन। हे परमेश्‍वर! अर्को जन्‍म पाएँ भने म अझै पनि तपाईंमा विश्‍वास गर्न र तपाईंलाई पछ्याउन चाहन्छु…।” थाहै नपाई म निदाएछु। भोलिपल्ट मैले अचानक बिहान उठ्ने समयको सिट्ठी बजेको सुनेँ। मैले आँखा खोलेँ र एक-दुई पटक आफूलाई चिमोटेँ। म मरेकी रहेनछु। मलाई आफैप्रति घृणा जाग्यो। म किन मरिनँ? ठीक त्यही बेला मलाई “जुन कुरा परमेश्‍वरले सिद्ध पार्नुहुन्छ त्यो विश्‍वास हो” भन्‍ने शीर्षक रहेको परमेश्‍वरको वचनको एउटा भजन याद आयो, “आखिरी दिनहरूको काममा, हामीबाट सबैभन्दा ठूलो आस्था र प्रेम आवश्यक हुन्छ, र थोरै लापरवाहीका कारण हामीले ठेस खान सक्छौँ, किनकि कामको यो चरण पहिलेका सबै चरणहरू भन्दा फरक छ: जुन कुरा परमेश्‍वरले सिद्ध पार्दै हुनुहुन्छ त्यो मानिसहरूको आस्था हो, जुन अदृश्य पनि छ र अमूर्त पनि छ। परमेश्‍वरले वचनहरूलाई आस्थामा, प्रेममा र जीवनमा परिवर्तन गर्ने गर्नुहुन्छ। मानिसहरू त्यो विन्दुमा पुग्नुपर्छ जहाँ तिनीहरूले सयौँ शोधनहरू सहिसकेका होऊन् र तिनीहरूसँग अय्यूबको भन्दा ठूलो आस्था होओस्, जसका लागि तिनीहरूले कुनै पनि समयमा परमेश्‍वरलाई कहिल्यै नछाडी अविश्‍वसनीय दुःख र हरप्रकारको यातना सहनुपर्छ। जब तिनीहरू मृत्युसम्मै समर्पित हुन्छन्, र तिनीहरूसँग परमेश्‍वरमाथि ठूलो आस्था हुन्छ, तब परमेश्‍वरको कामको यो चरण पूरा हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मार्ग … (८))। परमेश्‍वरको वचन सुन्दा मन उर्लिएर आयो, र आँसु बग्‍न थाल्यो। म रोएँ र परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! तपाईंले मेरो रक्षा गर्नुभयो। मलाई थाहा छ, यो तपाईंले मलाई दिनुभएको कृपा हो, त्यसकारण यदि म तपाईंको सेवा गर्न सक्छु भने म जिउन तयार छु। मेरो सेवापछि म मरे भने पनि मसँग कुनै गुनासो हुनेछैन।”

मलाई उप्रान्त मर्न नै मन नभएको भए पनि म अत्यन्तै निराश अवस्थामा थिएँ। ती केही दिनको अवधिमा म लल्याकलुलुक भएर सिरानीमा ढेसिन्थेँ, आँखा बन्द गर्थेँ, र हल न चल भएर एकोहोरो हेरिरहन्थेँ। मलाई त सारा संसारले त्यागेको जस्तो लाग्यो। एक दिन म बाथरूम गएकी बेला पहिले नै पक्राउ परेकी फेङ्ग मिङ्गले ट्वइलेट पेपरको पोको मतिर फ्याँकिन्। गार्ड नभएको बेला मैले त्यो खोलेँ। त्यसमा यस्तो नोट लेखिएको थियो, “सिस्टर, हताश नहुनुहोस्, र परमेश्‍वरलाई गलत रूपमा नबुझ्‍नुहोस्। मैले तपाईंका लागि परमेश्‍वरको वचनको एउटा भजन लेखेकी छु।” यो कुरा पढ्दा म रोइरहेँ:

सङ्कल्प भएकाहरूलाई परमेश्‍वर मन पराउनुहुन्छ

१  व्यावहारिक परमेश्‍वरलाई पछ्याउँदा, हामीमा यो सङ्कल्प हुनुपर्छ: हामीलाई जति नै ठूलो परिस्थिति आइपरे पनि, वा हामीले जस्तो प्रकारका कठिनाइहरू सामना गर्नुपरे पनि, र हामी जति नै कमजोर र नकारात्मक भए पनि, हामीले आफ्नो स्वभाव परिवर्तनप्रति वा परमेश्‍वरले बोल्ने कुराप्रतिको आस्था गुमाउनु हुँदैन। परमेश्‍वरले मानिसहरूलाई एउटा प्रतिज्ञा गर्नुभएको छ, र यसका लागि तिनीहरूमा यसलाई वहन गर्ने सङ्कल्प, आस्था, र दृढता हुनुपर्छ। परमेश्‍वर कायरहरूलाई मन पराउनुहुन्‍न; उहाँ सङ्कल्प भएका मानिसहरूलाई मन पराउनुहुन्छ। तैँले थुप्रै भ्रष्टता प्रकट गरेको भए पनि, तैँले धेरैवटा घुमाउरो बाटोहरू लिएको, वा धेरै अपराध गरेको, परमेश्‍वरबारे गुनासो गरेको, वा धर्ममा हुँदा परमेश्‍वरको प्रतिरोध गरेको वा हृदयमा उहाँविरुद्ध निन्दा पाल्ने आदि काम गरेको भए पनि—परमेश्‍वर ती सबै कुरा हेर्नुहुन्‍न। परमेश्‍वर त तँ सत्यता पछ्याउँछस् कि पछ्याउँदैनस् र कुनै दिन तँ परिवर्तन हुन सक्छस् कि सक्दैनस् भनेर मात्र हेर्नुहुन्छ।

२  एउटी आमाले आफ्नो सन्तानलाई बुझेजतिकै परमेश्‍वरले हर व्यक्तिलाई बुझ्नुहुन्छ। उहाँ हरेक व्यक्तिका कठिनाइ, कमजोरी र आवश्यकताहरू बुझ्नुहुन्छ। त्योभन्दा बढी, मानिसहरूले जीवन प्रवेश र स्वभाव परिवर्तनको क्रममा कस्ता कठिनाइ, कमजोरी र असफलताहरू सामना गर्नेछन् भनेर परमेश्‍वरले बुझ्नुहुन्छ। परमेश्‍वरले सबैभन्दा राम्ररी बुझ्ने कुरा यिनै हुन्। यसरी परमेश्‍वरले मानिसको हृदयको गहिराइ छानबिन गर्नुहुन्छ भनेर भन्ने गरिन्छ। तँ जति नै कमजोर भए पनि, यदि तैँले परमेश्‍वरको नाम त्यागिनस्, वा उहाँ र यो मार्ग छोडिनस् भने, तँसँग स्वभाव परिवर्तन गर्ने मौका सधैँ हुनेछ। यदि तँसँग यो मौका भयो भने, तँसित बाँच्ने आशा हुन्छ, र त्यसैले परमेश्‍वरद्वारा मुक्ति पाइने आशा हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो स्वभाव परिवर्तन गर्ने अभ्यासको मार्ग

परमेश्‍वरका वचनहरू कति सान्त्वना दिने किसिमका छन्—तिनले मेरो हृदय न्यानो पारे र मलाई सान्त्वना दिए। म नराम्ररी रोएँ र मनमनै धेरै पटक भजन गाएँ। मैले परमेश्‍वरलाई चोट पुर्‍याउने काम गरेकी थिएँ, तर परमेश्‍वरले मलाई दण्ड दिनुको साटो म सबैभन्दा पीडादायी र विवश अवस्थामा हुँदा मलाई साथ दिन उहाँले मेरी सिस्टरलाई परमेश्‍वरको वचन सारेर पठाउन उत्प्रेरणा समेत दिनुभएको थियो। म कौसीको कुनामा गएँ अनि भूँइमा झुकेर रुँदै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! मैले ‘तीन वटा पत्रहरू’ हस्ताक्षर गरेर तपाईंलाई धोका दिएँ। म तपाईंको कृपा पाउन योग्यकी छैन। मप्रतिको तपाईंको प्रेम र मुक्ति व्यक्त गर्ने मसँग शब्द छैन। हे परमेश्‍वर! म तपाईंसामु पश्‍चात्ताप गर्न चाहन्छु। बिन्ती छ मलाई अगुवाइ गर्नुहोस्।”

पछि, मलाई सोधपुछ गरेर केही पाउने नदेखेर पुलिसले मलाई रिहाइ गर्‍यो। रिहाइ गर्दा तिनीहरूले मलाई अबदेखि ईश्‍वरमा विश्‍वास नगर्नू भनी चेतावनी दिए, र मेरो श्रीमानलाई दिनको चौबिसै घण्टा मेरो निगरानी गर्नू भनी आदेश दिए। घर फर्केर गएपछि नगर सरकारले म परमेश्‍वरमा विश्‍वास गरेको कारण राजनीतिक कैदीको रूपमा रहेकी थिएँ भनेर गाउँभरि जानकारी फैलाउनु र पूरै गाउँलाई मेरो निगरानी गर्न लगाउनु भनेर गाउँ समितिलाई आदेश दियो। म जहीँ गए पनि मानिसहरूले मलाई घुरेर हेर्थे, र मानिसहरूले चोर औँलाले देखाएको, अनौठो नजरले हेरेको, खिल्‍ली उडाएको, खिसी गरेको, दुर्व्यवहार गरेको र अनेक किसिमका अप्ठ्यारो व्यवहारलाई सहनु पर्‍यो। पहिले मेरो श्रीमानले परमेश्‍वरमाथिको मेरो विश्‍वासलाई समर्थन गर्नुहुन्थ्यो, तर मेरो रिहाइपछि उहाँले मलाई सताउन र प्रायजसो कुनै कारणविना हप्काउन थाल्नुभयो। मेरो छोराले गाउँलेहरूका गिल्‍ला र बेइज्‍जती सहन सकेनन्, त्यसकारण तिनले पनि मलाई शत्रुको रूपमा व्यवहार गरी मलाई बेवास्ता गरे। यी सबै कुराले मलाई निकै व्याकुल तुल्यायो। विशेष गरी ठूलो रातो अजिङ्गरको सतावटमा परेर मैले “तीन वटा पत्रहरू” हस्ताक्षर गरेकी र परमेश्‍वरको अघि गम्‍भीर पाप गरेकी थिएँ भन्‍ने सम्झिँदा मलाई परमेश्‍वरले अवश्य नै मुक्ति दिनुहुन्‍न, र मेरा ब्रदर-सिस्टरहरूले मलाई हेला गर्नेछन् भन्‍ने लागेको थियो। मलाई त म अतल कुण्डमा फ्याँकिएकी छु जस्तो लाग्यो। म हरेक दिन जिउँदो लास झैँ बिताउँथेँ। म चरम पीडा र कष्टको स्थितिमा जिउँथेँ, हरेक दिन मेरो आँखा आँसुले पखालिएका छन् जस्तो लाग्थ्यो। त्यस अवधिमा मैले परमेश्‍वरका वचनहरू पढ्न पाउँदिनथिएँ, र मेरा ब्रदर-सिस्टरहरूलाई सम्पर्क गर्ने आँट आउँदैनथियो, त्यसकारण म प्रायजसो परमेश्‍वरसामु प्रार्थनामा आउँथेँ, र उहाँको इच्‍छा बुझ्‍न सहयोग गर्नुहोस् भनी अगुवाइ माग्थेँ।

त्यसपछि, मैले मेरी आमाको घरमा जाने मौका पाएँ। उहाँले मलाई यस्ता परिस्थितिहरूमा पाठ सिक्‍नुपर्छ तर परमेश्‍वरलाई गलत रूपमा बुझ्‍नु हुँदैन भनेर सङ्गति दिनुभयो। उहाँले मलाई घर लैजान परमेश्‍वरको वचनको एउटा प्रतिलिपि पनि लुकाएर हालिदिनुभयो। एक दिन मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “धेरैजसो मानिसहरूले केही अपराधहरू गरेका र आफूमाथि केही दागहरू ल्याएका छन्। उदाहरणका लागि, कतिपय मानिसहरूले परमेश्‍वरको प्रतिरोध गरेका छन् र ईशनिन्दात्मक कुराहरू भनेका छन्; कतिपय मानिसहरूले परमेश्‍वरको आज्ञालाई अस्वीकार गरेका छन् र आफ्नो कर्तव्य निर्वाह गर्न इन्कार गरेका छन्, र तिनीहरू परमेश्‍वरद्वारा तिरस्कृत भएका छन्; कतिपय मानिसहरूले परीक्षाहरूको सामना गर्दा परमेश्‍वरलाई धोका दिएका छन्; कतिपयले आफू पक्राउ पर्दा ‘तीन बयानको पत्र’ मा हस्ताक्षर गरेर परमेश्‍वरलाई धोका दिएका छन्; कतिपयले भेटीहरू चोरेका छन्; कतिपयले भेटीहरू फजुलमा उडाएका छन्; कतिपयले बारम्बार मण्डली जीवनमा बाधा दिएका छन् र परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि पुऱ्याएका छन्; कतिपयले गुटहरू निर्माण गरेर अरूलाई सास्ती दिएका छन्, र मण्डलीलाई अस्तव्यस्त बनाएका छन्; कतिपयले बारम्बार धारणाहरू र मृत्यु फैलाएका छन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई हानि पुऱ्याएका छन्; र कतिपय चाहिँ विपरीत लिङ्गीसँग अनुचित सम्बन्ध र व्यभिचारमा संलग्न भएका छन्, र तिनीहरूले भयानक प्रभाव पारेका छन्। यति भन्न सकिन्छ कि सबैका आफ्ना अपराध र दागहरू हुन्छन्। तैपनि कतिपय मानिसहरू सत्यता स्वीकार गर्न र पश्‍चात्ताप गर्न सक्षम हुन्छन्, जबकि अरूले सत्यता स्वीकार गर्न सक्दैनन् र पश्‍चात्ताप गर्नुभन्दा बरु मर्न तयार हुन्छन्। त्यसैले तिनीहरूलाई तिनीहरूको प्रकृति सार र तिनीहरूको निरन्तरको प्रकटीकरणअनुसार व्यवहार गरिनुपर्छ। जो पश्‍चात्ताप गर्न सक्छन् तिनीहरू परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नेहरू हुन्; तर जो साँच्चिकै अपश्‍चात्तापी छन्, तिनीहरूलाई आवश्यकताअनुसार निकालिनुपर्छ वा निष्कासित गरिनुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “परमेश्‍वरका वचनहरूद्वारा विजय गरिने कार्यलाई स्वीकार गर्ने प्रत्येक व्यक्तिले मुक्ति पाउने केही अवसरहरू पाउनेछ; परमेश्‍वरले प्रत्येक व्यक्तिलाई मुक्ति प्रदान गर्दा तिनीहरूलाई सम्भव भएसम्म फुक्का छोड्नुहुनेछ। अर्को शब्दमा भन्दा, तिनीहरूलाई अत्यधिक उदारता देखाइनेछ। जबसम्म मानिसहरू गलत मार्गबाट फर्कन्छन्, र जबसम्म तिनीहरूले पश्चात्ताप गर्न सक्छन्, परमेश्‍वरले तिनीहरूलाई उहाँको मुक्ति प्राप्त गर्ने अवसरहरू दिनुहुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले हैसियतका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसलाई मुक्ति दिने परमेश्‍वरको अभिप्रायलाई बुझ्‍नुपर्छ)। परमेश्‍वरका वचनहरूले विशेष रूपमा मेरो मन छोयो। मैले भूँइमा घुँडा टेकेर आँखाबाट वेदनाको आँसु बगाउँदै परमेश्‍वरलाई प्रार्थना गरेँ। मैले परमेश्‍वरको स्वभावमा प्रताप र क्रोध सँगसँगै कृपा र सहनशीलता पनि छ भन्‍ने देखेँ। परमेश्‍वर धर्मी हुनुहुन्छ, र उहाँले मानिसहरूको क्षणिक अपराधको आधारमा नभएर तिनीहरूको कार्यको मनसाय र पृष्ठभूमि, तिनीहरूको कार्यका परिणामहरू, तिनीहरूले साँचो रूपमा पश्‍चात्ताप गर्छन् कि गर्दैनन्, र सत्यताप्रतिको तिनीहरूको आचरणको आधारमा तिनीहरूको परिणाम निर्धारण गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूको धोकालाई घृणा र इन्कार गर्नुहुन्छ, तर परमेश्‍वरले मानिसहरूलाई सम्‍भव भएको हदसम्‍म मुक्ति पनि दिनुहुन्छ। यदि कसैले कमजोरीको क्षणमा मात्रै परमेश्‍वरलाई धोका दिएको छ, उहाँलाई हृदयबाट इन्कार गरेको र धोका दिएको छैन, अनि पश्‍चात्ताप गर्न तयार छ भने परमेश्‍वर कृपालु हुनुहुन्छ र उसलाई अर्को मौका दिनुहुन्छ। यो कुरा महसुस गरिसकेपछि मलाई परमेश्‍वरप्रति अझै ऋणी भएको महसुस भयो, र अझै बढी ग्‍लानि भयो। परमेश्‍वरले मलाई चाहनुभए पनि नचाहनुभए पनि म उहाँलाई पछ्याउँछु, स्थिर रूपमा सत्यताको खोजी गर्छु, र स्वभाव परिवर्तन गर्ने प्रयास गर्छु भनेर मैले उहाँसामु शपथ खाएँ। भविष्यमा मेरो लागि कुनै राम्रो परिणाम नभए पनि मसँग कुनै पछुतो हुनेछैन।

त्यसपछि, चिनियाँ कम्युनिस्ट पार्टीले पक्राउ गरेर सताउँदा मैले किन “तीन वटा पत्रहरू” हस्ताक्षर गरेँ र परमेश्‍वरलाई धोका दिएँ भनेर म सोचिरहन्थेँ। सुरुमा पक्राउ पर्दा मैले कसरी आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा हुन चाहेकी थिएँ, तर पुलिसले मलाई झन्-झन् कठोरताको साथ चेतावनी र धम्की दिँदै गएपछि, अनि मेरो रोग झन्-झन् गम्‍भीर हुँदै गएपछि, मैले विश्‍वास गुमाएँ र पूर्ण रूपमा कायर र डरको अधीनमा भएँ। पुलिसले मलाई दिमाग खलबलाउने वा दिमागको नियन्त्रण गुमाउने औषधी दिए भने, र मैले अचेत अवस्थामा मेरा ब्रदर-सिस्टरहरूलाई धोका दिएँ भने पछि मेरो दण्ड अझै गम्‍भीर हुनेछ भन्‍ने कुराको डर लागेको थियो, त्यसकारण मलाई “तीन वटा पत्रहरू” हस्ताक्षर गर्नु नै बेस हो भन्‍ने लाग्यो। मण्डलीका हितहरूमा हानि भएन भने मैले भविष्यमा पाउने दण्ड त्यति कठोर हुनेछैन भन्‍ने विश्‍वास लागेको थियो। त्यसकारण आफ्‍नै हितहरूको रक्षा गर्न मैले पत्रहरूमा हस्ताक्षर गरेर परमेश्‍वरलाई धोका दिएँ। वास्तविकतामा, परमेश्‍वरले मेरो विश्‍वासलाई सिद्ध पार्नका लागि ठूलो रातो अजिङ्गरलाई सतावट गर्न अनुमति दिनुभएको थियो, ताकि मैले परमेश्‍वरका वचनहरू अनुसार जिएर शैतानलाई हराउन सकूँ। तर मैले परमेश्‍वरको इच्‍छालाई खोज्दै-खोजिनँ, न त दह्रिलो गरी खडा भएर परमेश्‍वरलाई सन्तुष्ट तुल्याउनका लागि मैले के गर्नुपर्छ भन्‍ने कुरालाई नै विचार गरेँ। मैले आफ्‍नै अन्त्य र गन्तव्यको बारेमा मात्रै विचार गरेँ। म कति स्वार्थी र घृणित रहेछु भन्‍ने मलाई थाहा भयो! यसको साथै, म सधैँ के सोच्थेँ भने परिस्‍थिति जे-जस्तो भए पनि कसैले परमेश्‍वरलाई धोका दियो भने उसको समाप्ति यहूदाको जस्तै हुनेछ, ऊ अवश्य नै दण्डित हुनेछ। तर यी त पूर्ण रूपमा मेरा धारणा र कल्‍पनाहरू मात्रै थिए। परमेश्‍वर धर्मी हुनुहुन्छ, र उहाँले मानिसहरूको हृदयको अन्तस्करणमा हेर्नुहुन्छ। उहाँले मेरो हरेक बोलीवचन र व्यवहारलाई हेर्नुहुन्छ। यदि मैले आफ्‍नै हितहरूलाई रक्षा गर्नका लागि मेरा ब्रदर-सिस्टरहरूलाई धोका दिएर ठूलो रातो अजिङ्गरको मतियार र नोकर बनेकी भए म अवश्य नै यहूदा बन्‍नेथिएँ र दण्डित हुनेथिएँ, तर यदि मलाई पुलिसले जबरजस्ती औषधी खुवाएर नियन्त्रणमा नभएको बेला मबाट परमेश्‍वरलाई धोका हुँदा भने, परमेश्‍वरले अवस्था र परिप्रेक्ष्यअनुसार मलाई फरक रूपमा व्यवहार गर्नुहुन्थ्यो। तर मलाई परमेश्‍वरको धर्मी स्वभाव र मानिसहरूको अन्त्यलाई निर्धारण गर्ने परमेश्‍वरको मापदण्डबारे थाहा थिएन। म आफ्‍नै धारणा र कल्‍पनाहरूको फन्दामा परेकी थिएँ, शैतानको चलाकीमा परेर गम्‍भीर अपराध गरेकी थिएँ। तैपनि, परमेश्‍वरले मलाई अझै पनि पश्‍चात्ताप गर्ने मौका दिनुभयो। यो ममाथिको परमेश्‍वरको कृपा थियो!

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “शैतान जतिसुकै ‘अत्यन्तै शक्तिशाली’ भए पनि, यो जतिसुकै दुस्साहसी र महत्त्वाकाङ्क्षी भए पनि, क्षति पुऱ्याउने यसको क्षमता जतिसुकै ठूलो भए पनि, मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने यसका सक्षमताहरूको दायरा जतिसुकै फराकिलो भए पनि, यसले मानिसलाई धम्काउने युक्ति र जालझेलहरू जतिसुकै चलाख भए पनि, वा यसको अस्तित्वका रूपहरू जतिसुकै विविध भए पनि, यसले कहिल्यै एउटै जीवित प्राणी सृष्टि गर्न, यावत् थोकको अस्तित्वका लागि व्यवस्था वा नियमहरू स्थापित गर्न, वा कुनै पनि सजीव वा निर्जीव वस्तुमाथि शासन गर्न वा सार्वभौमिकता राख्न सकेको छैन। ब्रह्माण्ड र आकाशभित्र, एउटा पनि व्यक्ति वा थोक छैन जुन यसद्वारा अस्तित्वमा ल्याइएको होस् वा यसको कारणले अस्तित्वमा रहेको होस्; यसको सार्वभौमिकता वा शासनअन्तर्गत एउटा पनि व्यक्ति वा थोक छैन। यसको विपरीत, यो परमेश्‍वरको प्रभुत्वअन्तर्गत अस्तित्वमा रहनुपर्ने मात्रै होइन, यसले परमेश्‍वरका सबै आज्ञा र आदेश पनि पालन गर्नैपर्छ। परमेश्‍वरको अनुमतिविना, शैतानले जमिनमा भएको एक थोपा पानी वा बालुवाको एक कणलाई सजिलै छुन समेत सक्दैन; परमेश्‍वरको अनुमतिविना, शैतानले जमिनमा भएका कमिलाहरूलाई समेत छेडछाड गर्न सक्दैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिको त कुरै छोडौँ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १)। परमेश्‍वरका वचनहरूबाट, मैले के महसुस गरेँ भने ब्रह्माण्डको सबै कुरामा परमेश्‍वरले नै अन्तिम निर्णय गर्नुहुन्छ। चिनियाँ कम्युनिस्ट पार्टी जति नै धूर्त वा उग्र भए पनि त्यो परमेश्‍वरको हातको खेलौना हो। यो परमेश्‍वरले आफ्‍ना चुनिएका मानिसहरूलाई शुद्ध पार्नका लागि प्रयोग गर्नुहुने औजारको रूपमा रहेको सेवाकर्ता हो। तर मलाई परमेश्‍वरको अख्तियारबारे थाहा थिएन, र पुलिसले मलाई दिमाग खलबलाउने सुई र औषधी दिनेछ, र मैले अचेत अवस्थामा मेरा ब्रदर-सिस्टरहरूलाई धोका दिएँ भने मण्डलीका हितहरूमा ठूलो घाटा हुनेछ भन्‍ने कुराको सधैँ चिन्ता लागिरहन्थ्यो। तैपनि, पुलिसले मलाई त्यस्तो औषधी दिनु-नदिनु र मैले आफ्‍नो चेतनाप्रतिको नियन्त्रण गुमाउनु-नगुमाउनु परमेश्‍वरकै हातमा थियो। परमेश्‍वरको अनुमतिविना पुलिसले मलाई केही पनि गर्न सक्दैनथियो। ममाथि यस्तो परिस्थिति आइपर्दा ममा परमेश्‍वरप्रतिको कुनै विश्‍वास नरहेको, मैले शैतानका चलाकीहरूलाई देख्‍न नसकेको र मेरो कद अत्यन्तै सानो थियो भन्‍ने मैले देखेँ। यो कुरा पहिचान गरेपछि मेरो ग्‍लानि झन्-झन् गहिरो हुँदै गयो। मैले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको थियो र मैले परमेश्‍वरको वचनको धेरै मलजल र भरणपोषण प्राप्त गरेकी थिए, तर मलाई परमेश्‍वरको बारेमा वास्तवमा त्यति धेरै कुरा थाहा थिएन। मैले “तीन वटा पत्रहरू” हस्ताक्षर गरेर परमेश्‍वरलाई धोका समेत दिएकी थिएँ। यो सोचेपछि मलाई परमेश्‍वरप्रति अझै ऋणी महसुस भयो, त्यसकारण मैले यसो भनेर प्रार्थना गरेँ, “हे परमेश्‍वर! अझै मौका छ भने म अर्को पटक पक्राउ पर्न चाहन्छु, म आफ्‍नो शरीरलाई त्यागेर ठूलो रातो अजिङ्गरलाई अपमानित तुल्याउन र मेरो पापको प्रायश्‍चित गर्न चाहन्छु।”

सन् २०१८ को अक्टोबरमा एक दिन सात जना सादा पोसाकका पुलिस अचानक मेरो घरमा आएर मलाई पक्राउ गरे। यो परमेश्‍वरले मलाई पश्‍चात्ताप गर्न दिनुभएको मौका हो भन्‍ने मलाई थाहा थियो। यस पटक पुलिसले मलाई कुटेर मारे पनि वा जेल पठाए पनि दह्रिलो गरी खडा हुनका लागि मैले परमेश्‍वरमा भरोसा गर्नुपर्थ्यो। पुलिसले मलाई सोधपुछ कोठामा लिएर गए मलाई बाघे कुर्सीमा बाँधे, मेरो कपाल समातेर दश-बाह्र पटक अनुहारमा थप्‍पड हाने। त्यो पिटाइले तीखो पीडा अनुभव भयो र मेरो अनुहार तुरुन्तै सुन्‍नियो। एउटा पुलिसले मलाई फलानो-फलानो व्यक्तिलाई चिन्छेस् भनी सोधे। मैले चिन्दिनँ भनेर भनेँ। तिनी क्रोधित भएर मतिर हुर्रिँदै आए, अनि मलाई कस्‍सेर झापट हान्‍न थाले। त्यसपछि, अर्को पुलिसले मलाई अगुवाको नाम निश्चित गर्नु भने, तर मैले जवाफ दिइनँ। तिनले रिसाउँदै मेरो कान समाए, कानको लोतीमा नङ गाड्दै मलाई उत्तर दिन दबाब दिए। मैले मेरो टाउको हल्‍लाइरहेँ र केही पनि बोलिनँ। तिनी यति रिसाए कि तिनले एक मुट्ठी फलामको क्‍लिप लिए, त्यसपछि दुष्ट हाँसोमा भने, “बोलिनस् भने, तैँले कष्ट भोग्‍नेछेस्!” तिनले मेरो कानको लोतीमा फलामको क्‍लिपले चेपे। हरेक पटक यी क्‍लिपले घोच्दा मुटु छेडिएको जस्तै पीडा हुन्थ्यो, मेरो अनुहार झट्-झट् गर्थ्यो, र मेरो टाउको चुलामा पोलेको जस्तै लाग्थ्यो। मैले आँखा चिम्‍लेँ र दाँत किटेँ, र मेरो शरीर थरथर कामिरहेको बेला, मैले हृदयमा परमेश्‍वरलाई बारम्‍बार प्रार्थना गरिरहेँ र मलाई कष्ट भोग्‍ने सङ्कल्प दिनुहोस् भनेर अनुरोध गरेँ। मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “आस्था भनेको साँघु जस्तै हुन्छ: जीवनलाई पक्रिरहने र मृत्युको डर मान्‍नेहरूलाई त्यो पार गर्न कठिनाइ हुनेछ, तर आफ्नो जीवन दिन तयार रहनेहरू, नडगमगाई र निष्फिक्रीसित त्यसलाई पार गर्न सक्छन्। यदि मानिसले डरपोक र भयका विचारहरू राख्छ भने, यो शैतानले उसलाई मूर्ख बनाएकाले हो, हामी आस्थाको पुल पार गरेर परमेश्‍वरभित्र प्रवेश गरौँला भनी त्यो डराएको हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६)। मलाई के महसुस भयो भने मबाट परमेश्‍वरलाई र मेरा ब्रदर-सिस्टरहरूलाई धोका दिन लगाउनका लागि पुलिसले मलाई यातना दिइरहेका छन्। मैले परमेश्‍वरलाई निराश तुल्याउनु हुँदैन। दह्रिलो गरी खडा हुनका लागि मैले परमेश्‍वरमा भरोसा गर्नुपर्छ। एक-दुई मिनेटपछि पुलिसले क्‍लिपहरू हटाए र अर्को एक जना सिस्टरको फोटो ल्याएर मलाई चिन्न लगाए। मैले भनेँ, “म उनलाई चिन्दिनँ।” पुलिसले रिसाउँदै मेरो अगाडिपट्टि मेरो हात झट्कारेर ताने र मेरा औँलाहरू जबरजस्ती झट्कारे। म पीडाले चिच्याएँ र अचानक हातको मुठी कसेछु, तर तिनले मेरा सबै औँलाहरू तानेर मास्तिर झट्कारे। मलाई त तिनले मेरा औँलाहरू भाँच्दैछन् जस्तो लाग्यो, र यति पीडा भयो कि म टुट्न लागेकी छु जस्तो लाग्यो। म अझै नबोलेको देखेपछि दुई जना पुलिसले मेरो हतकडी खोले, मेरो हात पछाडि बटारेर ताने, बाघे कुर्सीको तल्‍लो भागको दुलोबाट छिराए, फेरि हतकडी लगाए, र त्यसपछि हतकडीमा जबरजस्ती थिचे। मलाई मेरा हात र पाखुराहरू चुँडिन लागेका छन् जस्तो लाग्यो, म पीडाले चिच्याएँ। मलाई हृदयमा अत्यन्तै कमजोर अनुभव भयो, त्यसकारण मैले आँखाभरि आँसु पार्दै परमेश्‍वरलाई प्रार्थना गरी मलाई कष्ट भोग्‍ने विश्‍वास र सङ्कल्प दिनुहोस् भनी अनुरोध गरेँ। त्यस बेला, मलाई परमेश्‍वरको वचनको एउटा भजन याद आयो: “सर्वशक्तिमान्‌ परमेश्‍वर, यावत् थोकका शिरले, सिंहासनबाट आफ्नो राजकीय शक्ति चलाउनुहुन्छ। उहाँले ब्रह्माण्ड र यावत् थोकमाथि शासन गर्नुहुन्छ, र सारा पृथ्वीमा हामीलाई मार्गदर्शन गर्दै हुनुहुन्छ। हर समय उहाँको नजिक होऊ, र चुपचाप उहाँसामु आऊ, एक पल पनि कहिल्यै नगुमाऊ—सिक्नका लागि सधैँ पाठहरू हुन्छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६)। परमेश्‍वरको वचनले मलाई चाहिएको अन्तर्दृष्टि दियो, अनि अचानक मेरो हृदय उज्यालो भयो। सर्वशक्तिमान्‌ परमेश्‍वर ब्रह्माण्डका महाराजा हुनुहुन्छ, ब्रह्माण्डको सबै कुराको बारेमा उहाँले नै अन्तिम निर्णय गर्नुहुन्छ। मेरो जीवन र मृत्यु परमेश्‍वरकै हातमा थिए। परमेश्‍वरको अनुमति नहुँदो हो त पुलिसले मलाई केही पनि गर्न सक्दैनथियो। यी दियाबलसहरूले मलाई यसरी यातना दिनका लागि परमेश्‍वरको अनुमति पाएका थिए, किनभने परमेश्‍वरले मेरो विश्‍वासलाई सिद्ध तुल्याउन चाहनुहुन्थ्यो। मैले ठूलो रातो अजिङ्गरको सतावटमा परेर यसभन्दा पहिले “तीन वटा पत्रहरू” हस्ताक्षर गरेर परमेश्‍वरलाई धोका दिएकी थिएँ, तर परमेश्‍वरले मलाई मेरो अपराधको कारण हटाउनुभएको थिएन, र मलाई भरणपोषण र सान्त्वना दिन आफ्‍ना वचनहरू प्रयोग गर्नुभएको थियो भन्‍ने बारेमा पनि स्मरण गरेँ। मैले यस पटक फेरि पनि परमेश्‍वरलाई निराश तुल्याउनु हुँदैनथियो। मैले साक्षीको रूपमा खडा भएर शैतानलाई लज्‍जित पार्नुपर्थ्यो, र परमेश्‍वरलाई सान्त्वना दिनुपर्थ्यो। तिनीहरूले निरन्तर चार पटक हतकडीमा थिचे, त्यसपछि मलाई रिँगटा लाग्यो, जिउ कामिरहेको थियो र जताततै झट्-झट् गरिरहेको थियो, अनि मलाई म मर्न लागेको छु भन्‍ने जस्तो लाग्यो। त्यसपछि पुलिसले मेरो अनुहारमा बोतलको पानी फ्याँकिदिए, र मेरो कलर तानेर मेरो सर्टमा चीसो पानी खन्याइदिए। म पसिनाले भिजेकी थिएँ, त्यसकारण चीसो पानीले म यति तर्सिएँ कि मेरो शरीर कामिरहेको थियो। केही समयपछि, पुलिसले लाइट निभाए, दुई वटा फ्‍लासलाइट बालेर मेरो अनुहारमा चहकिलो लाइटको फोकस पारे, र नचली आँखा खुला राख्‍न आदेश दिए। मैले हृदयमा परमेश्‍वरसँग प्रार्थना गरेँ, र ब्रदर-सिस्टरहरूको पोल खोल्न वा उहाँलाई धोका दिनबाट बचाउनुहोस् भनेर अनुरोध गरेँ।

त्यस बेला मलाई “म परमेश्‍वरलाई प्रेम गर्न दृढ़ छु” भन्‍ने एउटा भजन याद आयो:

१  हे परमेश्‍वर, मैले तपाईंको धार्मिकता र पवित्रताको सुन्दरता देखेको छु। मैले सत्यताको खोजी गर्ने सङ्कल्‍प लिएको छु, मैले तपाईंलाई प्रेम गर्ने अठोट गरेको छु। तपाईंले मेरो आत्मिक आँखा खोलिदिऊन् र तपाईंको आत्माले मेरो हृदयलाई चलाऊन्। यसलाई यस्तो बनाइदिनुहोस् कि म तपाईंसमक्ष उपस्थित हुँदा ती सबै चीज त्याग गरूँ जुन नकारात्मक छन्, म कुनै पनि व्यक्ति, विषय वा चीजद्वारा विवश हुन छोडूँ, र मेरो हृदयलाई पूर्ण रूपमा तपाईंसामु नङ्ग्याउन सकूँ, अनि यसलाई यस्तो बनाइदिनुहोस् कि म आफ्नो सम्पूर्ण अस्तित्व तपाईंसमक्ष अर्पण गर्न सकूँ। हजुरले मलाई जसरी जाँच्‍नुहुन्छ, त्यसरी नै जाँच्‍नुहोस्, म तयार छु। अब, म मेरो भविष्यका सम्भावनाहरूप्रति कुनै ध्यान दिन्नँ, न त म मृत्युको बन्धनमा नै छु। हजुरलाई प्रेम गर्ने हृदयको साथमा, म जीवनको मार्ग खोजी गर्न चाहन्छु।

२  सबै विषय, सबै कुरा—यी सबै हजुरकै हातमा छन्; मेरो नियति हजुरकै हातमा छ र मेरो यो जीवन हजुरले आफ्नो हातमा राख्नुहुन्छ। अब, म हजुरलाई प्रेम गर्न चाहन्छु, र हजुरले आफूलाई प्रेम गर्ने अनुमति प्रदान गरे पनि या नगरे पनि, शैतानले जसरी बाधा पुऱ्याए पनि, म हजुरलाई प्रेम गर्न प्रतिबद्ध छु। म आफै परमेश्‍वरलाई खोज्न र उहाँको पछि लाग्‍न इच्छुक छु। अहिले परमेश्‍वरले मलाई त्याग्‍न चाहनुहुन्छ भने पनि, म उहाँलाई पछ्याइरहनेछु। उहाँले मलाई चाहनुभए पनि नचाहनुभए पनि, म उहाँलाई प्रेम गरिरहनेछु, र आखिरमा मैले उहाँलाई प्राप्त गर्नैपर्छ। म मेरो हृदय परमेश्‍वरमा अर्पण गर्छु, र उहाँले जे गर्नुभए नि, म आजीवन उहाँलाई पछ्याउनेछु। जेसुकै भए पनि, मैले परमेश्‍वरलाई प्रेम गर्नैपर्छ र मैले उहाँलाई प्राप्त गर्नैपर्छ; जबसम्म म उहाँलाई प्राप्त गर्दिनँ तबसम्म म विश्राम लिनेछैनँ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रार्थनाको अभ्यासको सम्बन्धमा

मैले मनमनै यो भजन बारम्‍बार गुनगुनाइरहेकी बेला विगत सबै युगका सन्तहरू शहीद बनेको कुरा याद आयो। परमेश्‍वरका लागि स्‍तिफनलाई ढुङ्गाले हानेर मारियो, याकूबको शिर काटिएको थियो र पत्रुसलाई उधोमुन्टो क्रूसमा टाँगियो…। तिनीहरू सबैले परमेश्‍वरलाई गवाही दिन आफ्‍नो जीवन बलिदान दिए, तर थोरै कष्ट हुनेबित्तिकै मलाई म अब सहन सक्दिनँ जस्तो लाग्यो। मलाई मेरो विश्‍वास अत्यन्तै सानो छ भन्‍ने थाहा भयो, र मैले मनमनै शपथ खाएँ: पुलिसले मलाई जसरी यातना दिए पनि म परमेश्‍वरलाई कहिल्यै धोका दिनेछैन वा मेरा ब्रदर-सिस्टरहरूलाई धोका दिनेछैन। आश्‍चर्यजनक रूपमा, दुई वटा फ्‍लासलाइटबाट आएका कडा प्रकाश मेरो आँखामा परिरहेको थियो, तर मेरो आँखा अलिकति पनि तिरमिराएको थिएन। मलाई दुई वटा मैनबत्ती हेरिरहेको छु जस्तै लाग्यो। म उत्साहित भएँ र मैले हृदयबाट परमेश्‍वरलाई धन्यवाद दिएँ। यो सबै परमेश्‍वरको रेखदेख र सुरक्षा हो भन्‍ने मलाई थाहा थियो। पछि, एक जना पुलिसले भने, “सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्ने तिमीहरूका छोराछोरी सेनामा वा लोकसेवामा लाग्‍न पाउँदैनन्।” तिनले मेरो फोटो इन्टरनेटमा हालेर मण्डलीलाई धोका दिएकी छु भनेर अफवाह फैलाउने पनि बताए ताकि मेरा सबै ब्रदर-सिस्टरहरूले मलाई इन्कार गरून्। यो तिनीहरूको चलाकी मात्रै हो भन्‍ने मलाई थाहा थियो, त्यसकारण मैले तिनीहरूले भनेको मानिनँ।

भोलिपल्‍ट दिउँसो दुई बजेतिर एक जना पुलिस आए। तिनले यसो भन्दै मसँग चलाकी गर्ने प्रयास गरे, “अहिले तँलाई केही भन्‍नु मन छैन भने, ठीकै छ। तैँले परमेश्‍वरमाथिको विश्‍वास-त्याग गरेको पत्र लेखिस् भने हामी तँलाई घर जान दिनेछौँ, र हामी तँलाई फेरि दुःख दिनेछैनौँ। मसँग तँलाई यो कबुल गर्ने अख्‍तियार छ।” तिनले मलाई लेख्‍न दबाब दिइरहे, तर मैले इन्कार गरेँ। तिन निकै रिसाए र रिसको झोँकमा मलाई सात-आठ पटक झापट हाने, त्यसपछि अर्को पुलिस पनि आएर मेरो नली हड्डीमा कस्‍सेर लात हाने, जसले मेरो पूरै शरीरभरि अति पीडा भयो। मेरो हात पछाडि लगेर हतकडी लगाइएको थियो, र तिनले मेरो ढाडमा एउटा हातले यति साह्रो थिचे कि मेरो टाउकोले बाघे कुर्सीमा गाँसिएको फलामको पातामा ठोक्कियो, यस क्रममा तिनले अर्को हातले मेरो हतकडीलाई जति सक्दो माथि ताने। मेरा नाडीका मासुहरू हड्डीबाट ताछेर निकालिँदैछ जस्तै भइरहेको थियो। म पीडाले चिच्याएँ। यस बेला, मलाई केरकार गर्ने पुलिस पनि आएर मेरो नली हड्डीमा लातले हाने, र चिच्याउँदै भन्यो, “तँ घर जान चाहन्छेस् कि तेरो परमेश्‍वर चाहन्छेस्? तैँले एउटै मात्र रोज्‍न पाउँछेस्। अब मलाई जवाफ दे!” मैले प्रतिक्रिया दिइनँ। तिनीहरूले अरू चार पटक मेरो ढाड सक्दो थिचे र मेरो हतकडी मास्तिर सक्दो ताने, मेरो जिऊ झट्-झट् गरेर काम्न थालेपछि मात्रै तिनीहरू रोकिए। मलाई रिँगटा लाग्यो, मेरो दुवै हात लट्टिएका थिए, मेरो छाती भारी हुन थाल्यो, मेरो पूरै शरीर झट्-झट् गरिरहेको थियो, र मेरो होस हराउन थालेको थियो। मैले हृदयमा प्रार्थना गरी मेरा ब्रदर-सिस्टरहरू र परमेश्‍वरलाई धोका दिनबाट बचाउनुहोस् भनेर परमेश्‍वरलाई अनुरोध गरिरहेँ। पुलिसले मलाई जति धेरै यातना दिए पनि म गवाहीको रूपमा खडा भएर ठूलो रातो अजिङ्गरलाई लज्‍जित पार्नेथिएँ। पुलिसले मलाई प्रश्‍न सोधेर दबाब दिइरहे, र म घर जान चाहन्छु कि परमेश्‍वर चाहन्छु भनेर सोधिरहे। मैले भनेँ, “म परमेश्‍वरलाई कहिल्यै छोड्नेछैनँ!” एक जना पुलिस यति रिसाए कि तिनले मलाई खाउँला झैँ हेर्दै चिच्याएर भने, “तँ कति जिद्दी गर्छेस्, तेरो दिमाग खुस्केछ क्यारे! तेरो कुनै आशा छैन!” अन्त्यमा, तिनीहरूले मबाट केही पनि पाउन सकेनन्, त्यसकारण तिनीहरूले मलाई थुना केन्द्रमा पठाए, र १५ दिन थुनामा राखेर रिहाइ गरे। यस पटक परमेश्‍वरको सुरक्षा र अगुवाइको कारण नै म दह्रिलो गरी खडा हुन सकेको हुँ भन्‍ने मलाई थाहा थियो।

घर फर्केर आएपछि, पुलिसले मलाई अझै नजिकबाट निगरानी गर्न थाले। गाउँको महिला संघकी प्रमुख पनि मेरो अवस्थाको बारेमा बुझ्‍न नियमित रूपमा मेरो घर आइरहन्थिन्। मेरो परिवार र छरछिमेकले पनि मेरो निगरानी गर्थे। मैले अझै पनि परमेश्‍वरमा विश्‍वास गर्छु कि भनेर हेर्न पुलिस हरेक महिना आउने गर्थे। मलाई याद छ, एक पटक एक महिनामा चार पटक पुलिस आएका थिए। अक्टोबर २०२० मा नगर सरकारका तीन जना प्रतिनिधिहरू आएर भने, “हामीले तिमीलाई तीन वर्षदेखि निगरानी गर्दै आएका छौँ। आज, हामी तिमीलाई परमेश्‍वरमा विश्‍वास गर्दिनँ भन्‍ने व्यहोराको पत्र, आलोचना र खुलासा पत्र, अनि मण्डलीसँगको सम्‍बन्ध तोड्छु भन्‍ने व्यहोराको पत्र लेख्‍न लगाउन आएका हौँ। त्यसो गर्‍यौ भने हामी तिमीलाई कालोसूचीबाट हटाउछौँ। हामी उप्रान्त तिमीलाई निगरानी गर्नेछैनौँ, र तिमी सामान्य व्यक्तिले जस्तै जीवन जिउन पाउनेछौ, अनि तिम्रो छोराको भविष्यमा पनि असर पर्नेछैन।” यो कुरा सुनेपछि, मलाई अत्यन्तै रिस उठ्यो। मैले सोचेँ, “तिमीहरू साँच्‍चै घृणित छौ! मबाट परमेश्‍वरलाई धोका दिन लगाउन तिमीहरूले सोच्‍न सक्‍ने सबै उपाय प्रयोग गर्छौ, तर तिमीहरूले मलाई मूर्ख बनाउन सक्दैनौ!” मैले तत्काल तिनीहरूको कुरा इन्कार गरेँ। त्यसपछि जिल्‍ला पार्टी समितिको सचिवले भने, “त्यसोभए हामी लेखिदिन्छौँ नि त? तिमीले सारेजस्तो मात्रै गर्न सक्छौ, अनि हामी हाम्रो हाकिमलाई तिमीले यो काम गरिसकेको फोटो खिचेर रिपोर्ट पठाउनेछौँ। हामी तिमीलाई दुःख दिन यहाँ आइरहन चाहँदैनौँ।” तिनको ढोङ्गी शब्‍दहरू सुन्दा मलाई वाकवाकी लाग्यो। आफ्‍ना हितहरूको रक्षा गर्न म पहिले शैतानको चलाकीमा परेकी, र “तीन वटा पत्रहरू” हस्ताक्षर गरेर परमेश्‍वरलाई धोका दिएकी कुरा मलाई याद आयो। त्यो अपमानको छाप मेरो हृदयमा गहिरोसँग गाडिएको थियो। मैले मनमनै विचार गरेँ, “तिमीहरूले मलाई बाँकी जीवनभरि निगरानी गरे पनि, पक्राउ गरेर मलाई जेल सजाय दिए पनि, म फेरि कहिल्यै परमेश्‍वरलाई धोका दिनेछैन।” अन्तिममा, म दृढ छु भन्‍ने देखेर तिनीहरू खिन्‍न हुँदै गए।

दुई पटक पक्राउ परेपछि मैले यातना र कष्ट भोगेकी भए पनि धेरै कुरा प्राप्त गरेँ। मैले म अत्यन्तै स्वार्थी र घृणित रहेछु, र ममा परमेश्‍वरमाथि कुनै साँचो विश्‍वास छैन भन्‍ने थाहा पाएँ। मैले परमेश्‍वरको धर्मी स्वभावको बारेमा पनि बुझाइ प्राप्त गरेँ। परमेश्‍वरको धर्मी स्वभाव प्रतापी र क्रोधपूर्ण मात्रै छैन, मानिसहरूप्रतिको कृपा र मुक्तिले पनि भरिपूर्ण छ। यस यात्राभरि, मैले मप्रतिको परमेश्‍वरको सच्‍चा प्रेम अनुभव गरेँ। यसका लागि म परमेश्‍वरप्रति हृदयदेखि नै कृतज्ञ छु। अगाडिको बाटो जति नै कठिन र अप्ठ्यारो भए पनि म अन्त्यसम्‍मै परमेश्‍वरलाई पछ्याउनेछु!

अघिल्लो: ८७. मैले बल्‍ल शुद्धीकरणको बाटो भेट्टाएँ

अर्को: ८९. हेर्नुहोस् मेरा आमाबुबा को हुन्

सम्बन्धित विषयवस्तु

७५. रोगको कठिन परीक्षा

झोङ्गछिन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मेरा कार्यहरू समुद्र किनारका बालुवाका कणहरूभन्दा धेरै छन् र मेरो बुद्धि सोलोमनका सबै...

२१. आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको के हो मैले बल्‍ल बुझेँ

क्षुन्‍क्‍वी, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र...

६३. अहङ्कारी स्वभाव परिवर्तन गर्न सकिँदैन भनेर कसले भन्छ?

झाओ फान, चीनपरमेश्‍वरका वचनहरूले भन्छ, “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय, र...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्