८. बिमारको अनुभवबाट मैले धेरै कुरा प्राप्त गरें
“मानिसहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा खोजी गर्ने कुरा भनेको भविष्यका लागि आशिष्हरू प्राप्त गर्नु हो; तिनीहरूको विश्वासको लक्ष्य यही हो। सबै मानिसहरूसँग यही मनसाय र आशा हुन्छ, तर तिनीहरूको प्रकृतिमा भएको भ्रष्टतालाई परीक्षा र शोधनमार्फत निराकरण गरिनुपर्छ। जुन पक्षहरूमा तिमीहरूलाई शुद्ध पारिएको छैन र तिमीहरूले भ्रष्टता प्रकट गर्छौ, तिनै पक्षहरूमा तिमीहरू शोधन गरिनुपर्छ—यो परमेश्वरको प्रबन्ध हो। परमेश्वरले तेरो लागि वातावरण सृजना गरेर तँलाई परिष्कृत हुन बाध्य पार्नुहुन्छ ताकि तैँले आफ्नो भ्रष्टता चिन्न सक्। अन्ततः तँ यस्तो बिन्दुमा पुग्छस् जहाँ तँ आफ्नो योजनाहरू र चाहनाहरू त्याग्न, अनि परमेश्वरको सार्वभौमिकता र प्रबन्धमा समर्पित हुनका लागि मर्छस्। त्यसकारण, यदि मानिसहरूसँग शोधनका धेरै वर्षहरू छैनन् भने, यदि तिनीहरूले केही निश्चित मात्राको कष्ट सहन गर्दैनन् भने, तिनीहरूले आफ्नो सोच-विचारहरू र हृदयमा देहको भ्रष्टताको बन्धनबाट आफूलाई मुक्त गर्न सक्दैनन्। जुन पक्षहरूमा मानिसहरू अझै आफ्नो शैतानी प्रकृतिको बन्धनमा हुन्छन्, र जुन पक्षहरूमा तिनीहरूसँग अझै आफ्नै चाहना र मागहरू हुन्छन्, तिनै पक्षहरूमा तिनीहरूले कष्ट भोग्नुपर्ने हुन्छ। कष्टमार्फत मात्र पाठ सिक्न सकिन्छ, यसको मतलब सत्यता हासिल गर्न र परमेश्वरका अभिप्रायहरूलाई बुझ्न सक्षम हुने भन्ने हो। वास्तवमा, कष्ट र परीक्षाहरू अनुभव गरेर धेरै सत्यताहरू बुझिन्छ। कसैले पनि परमेश्वरका अभिप्रायहरूलाई बुझ्न, परमेश्वरको सर्वशक्तिमान्ता र ज्ञान-बुद्धिलाई पहिचान गर्न सक्दैन, वा आरामदायी र सहज परिस्थितिमा वा परिस्थिति अनुकूल हुँदा परमेश्वरको धर्मी स्वभावको सराहना गर्न सक्दैन। त्यो असम्भव हुनेछ!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। हरेकपटक परमेश्वरका वचनको यो खण्ड पढ्दा यसले मलाई म बिरामी हुँदाको अनुभवलाई सम्झाउँछ। यदि मेरो बिमारीले मलाई खुलासा नगरेको भए, आशिष् प्राप्तिका लागि मात्र परमेश्वरमा विश्वास गर्ने मेरो गलत धारणालाई म कहिल्यै चिन्नेथिइनँ। र आफ्नो भविष्यको सम्भावना र गन्तव्यप्रतिको मेरो डर र चिन्ताको भावना हटाउन सक्नेथिइनँ। यो बिमारी अनुभव गराउने र अनपेक्षित इनाम प्राप्त गर्ने गरी त्यो परिस्थिति खडा गर्नुभएकोमा परमेश्वरलाई धन्यवाद।
सानैदेखि म रोगको खतरामा हुन्थेँ। २१ वर्षको हुँदा मलाई ब्रोन्काइटिस भयो र तीन महिनासम्म मन्द ज्वरो आयो। म धेरै अस्पताल धाएँ, तर कहीँ उपचार हुन सकेन। उपचारका लागि खाइरहेको झोल औषधिले मेरो पेट र रक्तनलीमा झन् गम्भीर हानि गर्यो, एउटै विकल्प भनेको घरगएरै स्वास्थ्यलाभ गर्नु थियो। घर गएपछि, खान मन लागेन र स्वास्थ्य झन् खराब हुँदै गयो। म अब मृत्युमात्र कुरिरहेको जस्तो लाग्यो। मेरो पीडा देखेर आमाले मलाई सर्वशक्तिमान परमेश्वरका आखिरी दिनहरूको सुसमाचार सुनाउनुभयो। परमेश्वरका वचनबाट मैले मानवजाति परमेश्वरको सृष्टि हुन्, मानवजातिको भ्रष्टताको मूल, मानिसको जीवन यति कष्टकर किन छ, यो पीडाबाट तिनीहरू कसरी मुक्त हुन सक्छन्, अर्थपूर्ण जीवन जिउन के गर्नुपर्छ, आदि विभिन्न कुरा बुझ्न पाएँ। त्यो बेला, मलाई हरेक दिन परमेश्वरका वचन पढ्न रमाइलो लाग्थ्यो। यसले मलाई मेरो रोगबारे नै बिर्साउँथ्यो। पछि, मेरो स्वास्थ्यमा केही सुधार भयो, र म मण्डली जीवन जिउन थालेँ। ६ महिनापछि म धेरै निको भएकी थिएँ। परमेश्वरको अनुग्रह पाएकी मैले मनमनै उहाँको प्रेमको ऋण तिर्न मेरो पूरै जीवन अर्पित गर्नेछु र आफूलाई उहाँका लागि समर्पित गर्नेछु भनी सङ्कल्प गरेँ। त्यसपछि, म कर्तव्यमा सक्रिय भएँ। जस्तोसुकै परिस्थिति र वातावरण भएपनि, हामी कम्युनिष्ट पार्टीको धरपकड र सतावटको जोखिममा भएपनि, मैले हर सुख दुःखमा आफ्नो कर्तव्य निभाइरहेँ।
हेर्दाहेर्दै नौ वर्ष बित्यो, र कम्युनिष्ट पार्टीको सतावट झन्-झन् गम्भीर हुँदै गइरहेको थियो। भाग्यले म चीनबाट भाग्न सकेँ र एउटा स्वतन्त्र प्रजातान्त्रिक देशमा आएँ जहाँ मैले परमेश्वरमाथिको विश्वास जारी राखेँ। ती वर्षमा, हर समय मैले आफ्नो कर्तव्य निभाइरहेँ। केही समयका लागि, म आफूले मलजल गरेका नयाँ विश्वासी बस्ने ठाउँको भन्दा फरक समय क्षेत्रमा थिएँ, र हरेक दिन मैले अबेरसम्म नसुती आफ्नो कर्तव्य निभाउनु पर्थ्यो। कहिलेकाहीँ म थकित भएपनि, हाम्रा लागि परमेश्वरले तयार गर्नुभएको महान गन्तव्यको बारेमा सोच्दा जुनसुकै मात्रामा कष्ट सहनु सार्थक लाग्थ्यो। सन् २०२१ मा मेरो छाती भारी हुने, मुटुको धडकन बढ्ने भइरह्यो र मेरो मुटुको चाल पनि तलमाथि भइरहन्थ्यो। साथै, मेरो पूरै शरीर थकित हुन्थ्यो र अक्सर म लोलाउँथेँ। पहिले त मैले यसलाई वास्ता गरिनँ, सोच्थेँ केही आराम पाउनेबित्तिकै म ठीक हुन्छु। यसबाहेक, नयाँ विश्वासीले सर्वशक्तिमान परमेश्वरलाई भर्खर स्वीकार गरेका थिए र स्थिर जग बनाइसकेका थिएनन्, यदि मैले तिनीहरूलाई तुरुन्त मलजल गरिनँ भने तिनीहरूको जीवनलाई हानि पुग्ने थियो। तर, धेरै महिना बित्यो, र मेरो रोगको लक्षण झन् खराब हुँदै गयो। कहिलेकाहीँ अचानक मुटु निकै दुख्थ्यो। मलाई कुनै गम्भीर रोग लागेको हो कि भनेर म केही चिन्तत भएँ। तर फेरि सोचेँ, “सानैदेखि मेरो स्वास्थ्य कमजोर भएको भएपनि पहिले कहिल्यै गम्भीर रोग लागेको छैन। सायद यी कुरा अबेरसम्म जागा रहेकोको सामान्य शारीरिक प्रतिक्रिया होलान्। यो सम्भवतः त्यति गम्भीर कुरा नहोला। साथै, यी वर्षहरूमा मैले सबै कुरा त्यागेकी छु र आफूलाई परमेश्वरका लागि समर्पित गरेकी छु, त्यसैले उहाँले मेरो रक्षा गर्नुपर्छ, र मलाई ठूलो रोग लाग्न दिनुहुँदैन।”
सन् २०२२ फेब्रुअरीको एक साँझ, म सधैँ झैँ कर्तव्य निभाउने क्रममा कम्प्युटरमा काम गर्दैथिएँ त्यो बेला मेरो मुटुमा हल्का घोचेजस्तो भयो। शुरुमा, मैले यसलाई सहेँ र आफै ठीक हुनेछ भनेर पर्खेँ, तर यो झन् खराब हुँदै गयो, ऐठनजस्तो भयो। मलाई सास फेर्न गाह्रो हुन थाल्यो, र अन्तमा म सीधा रहन सकिन र भूइँमा ढलेँ। यस्तो भएपछि म धेरै डराएँ र मेरा आखाँबाट आँसु झरे। घरमा बस्ने अर्को सिस्टरले मलाई देखिन् र उठाएर ओछ्यानमा सुताइन्, र केही समयमै म निदाएँ। बिउँझिदा रातिको ९ बजिसकेको रहेछ, र मैले सिलिङतिर एकटकले हेर्दै भर्खर भएको घटना सम्झँदै सोचेँ, “के म मुटुको दुखाइले बेहोश भएकी थिएँ? के मलाई साँच्चै मुटुको रोग छ? मुटुको रोग घातक हुन्छन्; के म मर्दैछु? मैले सबथोक त्यागेर मेरो कर्तव्य निभाएँ, परमेश्वरले मेरो रक्षा किन गर्नुभएन?” मलाई यो रोगको सामना गराउनुको पछाडि परमेश्वरको के अभिप्राय थियो भन्ने मैले बुझ्न सकिनँ। मैले मन शान्त बनाएर परमेश्वरका वचन पढ्नु थियो, त्यसैले मैले फोन निकालेँ र परमेश्वरका यी वचन हेरेँ: “जाँचहरू भोग्दा मानिसहरू कमजोर हुनु वा उनीहरूभित्र नकारात्मकता हुनु वा परमेश्वरका अभिप्रायहरू वा तिनीहरूका अभ्यासको मार्गबारे स्पष्ट नहुनु सामान्य कुरा हो। तर कुनै पनि अवस्थामा परमेश्वरको कामप्रति तँमा आस्था हुनैपर्छ, अनि जसरी अय्यूबले परमेश्वरलाई इन्कार गरेनन्, तैँले पनि गर्नु हुँदैन। अय्यूब कमजोर थिए र तिनले आफू जन्मेको दिनलाई धिक्कारे पनि, तिनले मानव जीवनमा सबै थोकहरू यहोवाले नै दिनुहुन्छ र उहाँले नै सबै थोक लैजानु पनि हुन्छ भन्ने कुरालाई इन्कार गरेनन्। तिनलाई जस्तोसुकै परीक्षाहरू भोगाइएको भए पनि तिनले यो विश्वास थामेर राखे। तेरो अनुभवमा तँ परमेश्वरको वचनद्वारा जस्तै शोधनबाट भएर जानुपरे पनि, सङ्क्षेपमा, परमेश्वरले मानवजातिबाट चाहनुभएको कुरा भनेको तिनीहरूका आस्था र परमेश्वरलाई प्रेम गर्ने तिनीहरूको हृदय नै हो। यस्तो प्रकारले काम गरेर उहाँले मानिसहरूको विश्वास, प्रेम र आकाङ्क्षाहरूलाई सिद्ध पार्नुहुन्छ। परमेश्वरले मानिसहरूमा सिद्ध पार्ने काम गर्नुहुन्छ, र तिनीहरूले त्यो देख्न सक्दैनन्, त्यो महसुस गर्न सक्दैनन्; त्यस्तो परिस्थितिहरूमा, तेरो विश्वासको आवश्यकता हुन्छ। मानिसहरूको आस्था त्यत्ति बेला चाहिन्छ जब कुनै कुरा मानिसको नाङ्गो आँखाले देख्न सकिँदैन, तेरो आस्था त्यसबेला चाहिन्छ, जब तँ आफ्ना धारणाहरूलाई त्याग्न सक्दैनस्। जब परमेश्वरको कामको विषयमा तँमा स्पष्टता हुँदैन, त्यसबेला तँबाट चाहिने कुरा भनेको तैँले आस्था राख्नुपर्छ र तैँले दह्रिलो अडान लिनुपर्छ र आफ्नो गवाहीमा बलियोगरी उभिनुपर्छ भन्ने हुन्छ। जब अय्यूब यो अवस्थामा पुगे परमेश्वर तिनीकहाँ देखा पर्नुभयो र तिनीसँग बोल्नुभयो। अर्थात्, तँ भित्रको आस्थाले मात्र तैँले परमेश्वरलाई देख्न सक्छस्, अनि जब तँमा आस्था हुन्छ परमेश्वरले तँलाई सिद्ध बनाउनुहुन्छ। आस्थाबिना, उहाँले यो गर्न सक्नुहुन्न। तैँले जे प्राप्त गर्ने आशा गरेको छस्, परमेश्वरले त्यो तँलाई दिनुहुनेछ। यदि तँसँग विश्वास छैन भने तँलाई सिद्ध बनाउन सकिँदैन, तैँले परमेश्वरका कामहरू देख्न सक्दैनस्, उहाँको सर्वशक्ति देख्ने कुरा त परै जाओस्। जब आफ्नो व्यक्तिगत अनुभवमा उहाँका कार्यहरू देख्न सक्ने विश्वास तँमा हुन्छ, तब परमेश्वर तँकहाँ देखा पर्नुहुनेछ, र उहाँले तँलाई ज्ञान दिनुहुनेछ अनि भित्रबाट तँलाई डोर्याउनुहुनेछ। त्यो विश्वासविना परमेश्वरले त्यसो गर्न सक्नुहुनेछैन। यदि तैँले परमेश्वरमा आशा गुमाएको छस् भने, तैँले कसरी उहाँको कामको अनुभव गर्न सक्नेछस् र? त्यसकारण, तँमा विश्वास छ र तैँले परमेश्वरप्रति शङ्का गर्दैनस् भने मात्र, उहाँले जे गर्नुभए पनि उहाँप्रति तँमा साँचो विश्वास छ भने मात्र उहाँले तँलाई तेरा अनुभवहरूद्वारा ज्ञान र प्रकाश दिनुहुनेछ, तब मात्र तैँले उहाँका कामहरू देख्न सक्नेछस्। यी सबै कुराहरू विश्वासद्वारा नै प्राप्त गरिन्छ। विश्वास शोधनबाट मात्र आउँछ, अनि शोधनको अनुपस्थितिमा विश्वास बढ्न सक्दैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधन भएर जानैपर्छ)। परमेश्वरका वचनले मलाई अलि शान्त बनाए। मैले बुझेँ म परमेश्वरको परीक्षा सामना गरिरहेको छु, मलाई यो रोग लाग्नुको पछाडि परमेश्वरको अभिप्राय छ, मैले अझैसम्म यो नबुझेकी मात्र हो। अय्युबले परीक्षा सामना गर्दा परमेश्वरको अभिप्राय बुझेका थिएनन्, तैपनि उनले मुखले पाप गरेका थिएनन्। बरु, उनले प्रार्थना गरी मार्गदर्शन खोजे, परमेश्वरको सुन्दर गवाही दिए। अन्तमा, परमेश्वर अय्युबसामु प्रकट हुनुभयो; त्यो कति ठूलो आशिष् थियो। अहिले म मुटुको समस्याले बेहोश भएकी थिएँ, र मैले परमेश्वरको अभिप्राय के थियो भनेर नबुझेकी भएपनि मैले अय्युबबाट सिक्नुपर्थ्यो र मुखले पाप गर्नुहुँदैनथ्यो। साथै, परमेश्वरले ममा साँचो विश्वास छ कि छैन भनेर पनि हेर्दै हुनुहुन्थ्यो। विगतमा, मेरो स्वास्थ्य राम्रो हुँदा आफूलाई उहाँका लागि समर्पित गर्न, कष्ट भोग्न र गुनासोविना मूल्य चुकाउन म सक्षम थिएँ। तर अहिले यो बिमार आएपछि मैले परमेश्वरबारे गुनासो गर्न हुँदैनथ्यो। मैले परमेश्वरको अभिप्राय खोज्नुपर्थ्यो; मैले उहाँमाथिको विश्वास गुमाउनुहुँदैनथ्यो।
त्यसपछिका समयमा मेरो स्वास्थ्य खस्कँदै गयो। मेरो मुटुको धड्कन बढ्थ्यो, छाती भारी हुन्थ्यो, र पूरै शरीरमा कमजोर महसुस हुन्थ्यो। बोल्दाखेरि मलाई अक्सर सास फेर्न गाह्रो हुन्थ्यो र स्वाँस्वाँ हुन थाल्थ्यो, र म घरको सामान्य काम पनि गर्न सक्दिनँथेँ। आफ्नो यस्तो हालत देखेर म दुःखी हुँदै सोच्थेँ, “म ३० वर्षकी मात्र छु, के म भोलिका दिनमा अर्ध-अपाङ्ग भएर जिउनुपर्नेछ? मैले २१ वर्षकी छँदा परमेश्वरमा विश्वास गर्न थालेँ, जवानी अर्पित गरेँ र सबथोक त्यागेँ। कम्युनिष्ट पार्टीको सतावट हुँदा पनि म पछि हटिनँ। किन परमेश्वरले मेरो नगर्नुभएको? अहिले सबैले सक्रिय रूपमा आफ्नो कर्तव्य निभाइरहेका छन्, तर मलाई यो रोग लागेको छ। यो महत्त्वपूर्ण क्षणमा म कर्तव्य निभाउन वा राम्रो काम तयार गर्न सक्दिनँ। के मैले अझैपनि राम्रो परिणाम र गन्तव्य पाउनेछु?” जति सोचेँ, त्यति नै दुःखी भएँ, र बरन्डाका कुनामा बसेर रोएँ। जति रोएँ, त्यति अन्याय महसुस गरेँ, सोचेँ, मेरो वर्तमान दुर्दशा साँच्चै दयनीय थियो। रोएपछि मेरो मन अलि शान्त भयो, र मैले घुँडा टेकेर परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, यो रोगले मलाई निकै दुःखी बनाइरहेको छ र तपाईँको अभिप्राय के हो मलाई थाहा छैन। मलाई थाहा छ, मैले तपाईँसँग गुनासो वा समझविना माग गर्नु हुँदैन, तर मेरो हृदय निकै कमजोर छ र मेरो कद एकदमै सानो छ। बिन्ती तपाईँको अभिप्राय बुझ्न, मैले आफैलाई चिन्न र यी परिस्थितिमाझ पाठ सिक्न मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले परमेश्वरका वचनको एउटा खण्ड सम्झेँ: “परमेश्वरले तिनीहरूलाई पारिवारिक सदस्यहरूको रूपमा हेर्नुहुन्थ्यो तैपनि तिनीहरूले उहाँलाई पराईको रूपमा व्यवहार गर्थे। तथापि, परमेश्वरको कामको अवधिपछि भने, मानिसहरूले उहाँले के उपलब्धि हासिल गर्ने प्रयास गर्दैहुनुहुन्थ्यो भन्ने कुरा बुझे र उहाँ साँचो परमेश्वर हुनुहुँदोरहेछ भन्ने थाहा पाए; तिनीहरूले परमेश्वरबाट के प्राप्त गर्न सक्दा रहेछन् भन्ने कुरा पनि थाहा पाए। उक्त समयमा मानिसहरूले परमेश्वरलाई कसरी लिन्थे त? तिनीहरूले उहाँलाई जीवन-रक्तको रूपमा हेर्थे र उहाँको अनुग्रह, आशीर्वाद, र प्रतिज्ञाहरू प्राप्त गर्ने आशा गर्थे। उक्त समयमा, परमेश्वरले मानिसहरूलाई कसरी लिनुहुन्थ्यो त? उहाँले तिनीहरूलाई उहाँको विजयको लक्ष्यको रूपमा लिनुहुन्थ्यो। परमेश्वरले तिनीहरूको न्याय गर्न, तिनीहरूलाई जाँच गर्न, र तिनीहरूलाई परीक्षाहरूमार्फत गुज्रन लगाउन वचनहरूको प्रयोग गर्न चाहनुहुन्थ्यो। तथापि, जहाँसम्म त्यति बेलाका मानिसहरूको सवाल छ, तिनीहरूको लागि परमेश्वर केवल एक वस्तु हुनुहुन्थ्यो जसलाई तिनीहरूले तिनीहरूका आफ्ना लक्ष्यहरू प्राप्त गर्नको लागि प्रयोग गर्न सक्थे। मानिसहरूले परमेश्वरबाट जारी भएका सत्यताले तिनीहरूमाथि विजय गर्न र तिनीहरूलाई उद्धार गर्न सक्छ भन्ने देखे, तिनीहरूले प्राप्त गर्न चाहेका कुराहरू उहाँबाट प्राप्त गर्नसक्ने साथसाथै तिनीहरूले चाहेका गन्तव्यहरू हासिल गर्ने अवसर हो भन्ने देखे। यसको फलस्वरूप, तिनीहरूको हृदयमा अलिअलि इमानदारीताको विकास भयो, र तिनीहरू परमेश्वरलाई पछ्याउन इच्छुक भए” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने)। परमेश्वरका वचन मनन गरेपछि म निकै खिन्न र दु:खी भएँ। परमेश्वरले मलाई उहाँका घरमा ल्याउनुभयो, परिवारजस्तो व्यवहार गर्नुभयो, मलाई कर्तव्य निभाउने मौका दिनुभयो, र कर्तव्यमा विभिन्न सत्यता प्राप्त गर्न सक्षम बनाउनुभयो, ताकि मैले अन्ततः आफ्नो भ्रष्ट स्वभाव त्यागेर परमेश्वरको मुक्ति पाउन सकूँ। तर मैले परमेश्वरलाई जीवनरेखा ठानेँ, उहाँबाट अनुग्रह र आशिष् मात्र पाउन चाहेँ। यो बिमार लागेपछि, मैले परमेश्वरका लागि कति त्यागेकी थिएँ भनी हिसाब गरेँ, सोचेँ, मैले आफूलाई उहाँका लागि त्यागेको र समर्पण गरेकी छु, म बिरामी पर्नुहुँदैनथ्यो, र परमेश्वरले मलाई राम्रो स्वास्थ्यको आशिष दिनुपर्थ्यो। मैले आफूले चाहेको नपाउँदा हतोत्साहित र निरुत्साहित भएँ। यसबाट थाहा भयो, मैले प्रमेश्वरको प्रेम चुकाउन उहाँका लागि सबथोक त्यागेकी र आफूलाई समर्पित गरेकी होइन रहेछु। बरु, उहाँसँग लेनदेन गरिरहेकी रहेछु। मैले त अनुग्रह र आशिष् पाउन त्याग र समर्पण गरिरहेकी रहेछु। परमेश्वरमाथिका विश्वासमा मैले अझै पनि यति धेरै घृणित मनसाय पालेको देखेर म निकै दुःखी भएँ, र मलाई म परमेश्वरको मुक्ति पाउन अयोग्य छु भन्ने लाग्यो। मैले सोचेँ, परमेश्वरको आशिष् पाउनका लागि मात्र मैले कर्तव्य गरिरहेकी देखेर परमेश्वर निकै दुःखी भएको हुनुपर्छ। यदि छोराछोरीले आमाबुबाको सम्पत्ति पाउने लोभमा मात्र हेरचाह गरिरहेका छन् भने आमाबुबा पक्कै पनि दुःखी हुन्छन्। म पनि सन्तान धर्म ननिभाउने सन्तानजस्तै थिएँ, मैले आफ्नै हितका लागि परिश्रम गरिरहेकी, आफूलाई अर्पित गरिरहेकी थिएँ। यो परमेश्वरले देख्न चाहेको कुरा थिएन। यो बुझेर, मैले परमेश्वरलाई प्रार्थना गरी पश्चात्ताप गरेँ। म आशिष् पाउने मेरो मनसाय छोड्न र परमेश्वरको प्रेमको ऋण तिर्नका खातिर कर्तव्य निभाउन इच्छुक भएँ। त्यसपछि, मैले मेरो सुताइको समय मिलाउन थालेँ। मैले सामान्यतया अझ धेरै आराम गर्न, आहार मिलाउन र हरेक दिन सामान्य रूपमा कर्तव्य निभाउन ध्यान दिएँ। अचम्म, एक हप्तापछि मेरो स्वास्थ्यमा सुधार हुन थाल्यो। मैले परमेश्वरलाई धन्यवाद दिएँ र उहाँको स्तुति गरेँ।
सोही वर्षका डिसेम्बरमा, मलाई नयाँ कर्तव्य दिइयो। यस कामसँग म परिचित हुनुपर्ने र साथै समूहका ब्रदर सिस्टरहरूको काम जाँच्नुपर्ने भएकाले, कैयौँ दिनसम्म म केही ढिलो गरी सुतेँ। एक दिन, साँझको पाँच बजेपछि मेरो मुटु हल्का दुख्यो। यो निकै लामो समयसम्म रह्यो, दुखाइ बढ्दै गयो। म बाथरुम जान उठेँ, र बाथरुमबाट फर्केपछि मेरा मुटुमा ठूलै गडबडी छ जस्तो लाग्यो, र सास फेर्न गाह्रो भयो। म सिधा उभिन सकिनँ, हात ढोकामा राखेँ, र बिस्तारै भुईँमा लडेँ। भुइँमा लगभग आधा घण्टासम्म लम्पसार परेँ। मुटुमा असहज भइरहेको थियो र पूरै शरीर लगातार काँपिरहेको थियो। म भुइँमा लडिरहेको देखेर एक जना सिस्टर आत्तिइन् र उनले मलाई ओछ्याउनमा जान सघाइन्। पछि, रातको १० बजेपछि, म उठेर ल्यापटप डेस्क ओछ्यानमा तान्न खोजेँ, तर ममा अतिकति पनि बल थिएन। त्यो बेला, मेरो हृदयमा वेदना भरियो, र सोचेँ, “यदि मेरो स्वास्थ्य भोलिका दिनमा सधैँ खराब भयो भने, मैले के गर्ने होला?” भोलिपल्ट, एक जना सिस्टरसँग चेकजाँच गराउन अस्पताल गएँ, तर सबै कुरा सामान्य रहेको देखियो। यसबाट खुसी हुने कि डराउने, मलाई थाहा भएन। ममा रोग नहुनु राम्रो कुरा थियो, तर मभित्र केही गडबडी त थियो, र रोग पत्ता लागेन भने त्यसलाई निको पार्ने तरिका नै हुँदैन। पछि, मेरो स्वास्थ्य हेरेर सुपरिवेक्षकले मेरो कार्यभार कम गरिदिइन्। मेरो कर्तव्य बारम्बार घटाएको देखेर म चिन्तित भएँ, र सोचेँ, “मेरो कर्तव्य बिस्तारै कम हुँदै जाँदै छ, यसले राम्रो काम तयार गर्ने मेरो अवसर कम हुँदै जाँदैन र? मैले कसरी राम्रो काम तयार गर्ने र भविष्यमा मुक्ति प्राप्त गर्ने?” यो सोचेर म केही नकारात्मक भएँ। त्यसपछि, मेरो स्वास्थ्य झन् खस्कियो, र कोठाबाट बाथरुमसम्म जाँदा पनि भित्ता समातेर हिँड्नुपर्ने भयो। सामान्यतया म ओछ्यानमा मात्र बस्न सक्थेँ, र ठाडो बस्न नसक्दा भित्तामा अडेस लाग्थेँ वा डेस्कमा ढल्कन्थेँ। मैले मनमनै सोचेँ, “विगतमा केही समय आराम गर्दा म ठीक हुन्थेँ। अहिले किन झन्-झन् खराब भइरहेको छ? बाँकी सबै यताउता दौडधुप र कर्तव्य गरिरहेका छन्, मैले रोगका कारण कर्तव्य निभाउन सकिनँ भने मुक्ति पाउने मौका गुमाउनेछैन र? यसपछि, जबसम्म मेरो स्वास्थ्यले साथ दिन्छ म कर्तव्यमा कायम रहनेछु। अहिले सीमित कर्तव्य मात्र गर्न सक्छु, तर कर्तव्यमा कायम रहेसम्म सायद परमेश्वरले कायम रहन सकेको देख्नुहुनेछ र मलाई चाँडो निको हुन मद्दत गर्नुहुनेछ।” त्यसपछि, मेरो स्वास्थ्य खराब नै रह्यो, र मेरो मुटुको दुखाइ बढ्दै गइरहेको थियो। कुनै चिजले भयभीत बनाउँदा म सम्हालिन सक्दिनथेँ, कुनै ठूलो आवाज आउँदा मुटुमा असहज हुन्थ्यो। मैले सोचेँ, “यो रोग हुँदा पनि आफ्नो कर्तव्य निभाउन सक्दो हरकुरा गरिरहेकी छु, तैपनि किन मेरो स्वास्थ्य यसरी खस्किरहेको छ? किन परमेश्वरले मलाई ठीक नगर्नुभएको? यो रोग लागेको दुई वर्ष भइसक्यो। म अस्पताल गएँ, तर मेरो रोग पत्ता लागेन, र यसलाई निको पार्न म केही गर्न सक्दिनँ। मलाई अब आत्मनिर्भर भएर जिउन पनि गाह्रो भएको छ, र कर्तव्य निभाउन पर्याप्त ऊर्जा छैन। के मलाई हटाइनेछ?” म भित्रभित्रै कमजोर हुँदै गइरहेकी थिएँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरी मार्गदर्शन खोजेँ।
एक दिन, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “जब सामान्य मानिसहरू बिरामी हुन्छन्, तिनीहरूलाई सधैँ कष्ट हुन्छ र निराशा महसुस हुन्छ, र तिनीहरूले सहन सक्ने कुराको सीमा हुन्छ। तैपनि एउटा कुरा ध्यान दिनुपर्छ: यदि मानिसहरूले बिरामी पर्दा आफ्नो रोग-बिमारीलाई हटाउन र यसबाट मुक्त हुनका लागि सधैँ आफ्नै क्षमतामा भर पर्ने विचार गरेका भए, अन्तिम परिणाम के हुनेथ्यो? तिनीहरूको रोग-बिमारी त छँदैछ, तर के तिनीहरूले अझै धेरै कष्ट र निराशा भोग्नेथिएनन् र? त्यसकारण मानिसहरूलाई रोग-बिमारीले जति धेरै च्याप्छ, तिनीहरूले त्यति नै सत्यताको खोजी गर्नुपर्छ, र परमेश्वरका अभिप्रायअनुरूप हुनका लागि तिनीहरूले अभ्यास गर्ने मार्गको खोजी अझै धेरै गर्नुपर्छ। मानिसहरूलाई रोग-बिमारीले जति धेरै च्याप्छ, तिनीहरू त्यति नै धेरै परमेश्वरको अघि आउनुपर्छ र आफ्नो भ्रष्टता र तिनीहरूले परमेश्वरसँग गर्ने अनुचित माग बुझ्नुपर्छ। तँलाई रोग-बिमारीले जति धेरै च्याप्छ, तेरो साँचो समर्पणताको जाँच त्यति नै हुन्छ। त्यसकारण, जब तँ बिरामी हुन्छस्, तब परमेश्वरका योजनाबद्ध कार्यहरूमा समर्पित भइरहने र आफ्ना गुनासा र अनुचित मागहरूविरुद्ध विद्रोह गर्ने तेरो क्षमताले तँ साँचो रूपमा सत्यतालाई पछ्याउने र परमेश्वरप्रति साँचो रूपमा समर्पित हुने व्यक्ति होस्, तैँले गवाही दिन्छस्, परमेश्वरप्रतिको तेरो बफादारिता र समर्पणता साँचो हो र त्यसलाई जाँच गर्दा त्यसको पुष्टि हुन्छ, र परमेश्वरप्रतिको तेरो बफादारिता र समर्पणता नारा र धर्मसिद्धान्त मात्रै होइनन् भन्ने कुरालाई देखाउँछ। बिरामी हुँदा मानिसहरूले अभ्यास गर्नुपर्ने कुरा यही हो। तँ बिरामी पर्नुको उद्देश्य तेरा सबै अनुचित मागहरू र परमेश्वरसम्बन्धी तेरा अवास्तविक कल्पना र धारणाहरू प्रकट गर्नु, र परमेश्वरमाथिको तेरो विश्वास र उहाँप्रतिको समर्पणतालाई जाँच्नु पनि हो। यदि तैँले यी कुराहरूसम्बन्धी जाँचमा उत्तीर्ण भइस् भने, तँसँग साँचो गवाही छ, र यो परमेश्वरमाथिको तेरो विश्वासको, परमेश्वरप्रतिको तेरो बफादारिताको, र उहाँप्रतिको तेरो समर्पणताको वास्तविक प्रमाण हो। परमेश्वरले यही चाहनुहुन्छ, र सृष्टि गरिएको प्राणीमा हुनुपर्ने र उसले जिउनुपर्ने कुरा यही हो। के यी सबै कुराहरू सकारात्मक छैनन् र? (छन्।) यी सबै मानिसहरूले पछ्याउनुपर्ने कुराहरू हुन्। यसका साथै, यदि परमेश्वरले तँलाई बिरामी पर्न दिनुहुन्छ भने, के उहाँले कुनै पनि समय र स्थानमा तेरो रोग हटाइदिन सक्नुहुन्न र? (सक्नुहुन्छ।) परमेश्वरले कुनै पनि समय र स्थानमा तेरो रोग हटाउन सक्नुहुन्छ, त्यसोभए के उहाँले तँमा रोग रहिरहने र तँलाई त्यसले कहिल्यै नछोड्ने अवस्था पनि ल्याउन सक्नुहुन्छ? (सक्नुहुन्छ।) अनि यदि परमेश्वरले यो रोगलाई तँबाट कहिल्यै हट्न दिनुहुन्न भने, के तैँले अझै पनि आफ्नो कर्तव्य निर्वाह गर्न सक्छस्? के तैँले परमेश्वरमाथिको आफ्नो विश्वासलाई कायम राख्न सक्छस्? के यो जाँच होइन र? (हो।) यदि तँ बिरामी भइस् अनि केही महिनापछि निको भइस् भने, परमेश्वरमाथिको तेरो विश्वास, र उहाँप्रतिको तेरो बफादारिता र समर्पणताको जाँच भएको हुँदैन, र तँसँग कुनै गवाही हुँदैन। केही महिनासम्म रोग सहनु सजिलो हुन्छ, तर यदि तेरो रोग दुई-तीन वर्ष रहिरह्यो, र तेरो विश्वास र परमेश्वरप्रति आज्ञाकारी र समर्पित हुने तेरो इच्छा परिवर्तन भएन, बरु झन् वास्तविक भएर आयो भने, के यसले तँ जीवनमा वृद्धि भएको छस् भन्ने देखाउँदैन र? के तैँले यो फसल पाउँदैनस् र? (हजुर।) त्यसकारण, जब साँचो रूपमा सत्यतालाई पछ्याउने व्यक्ति बिरामी हुन्छ, ऊ आफ्नो रोगले ल्याउने अनगिन्ती फाइदाबाट गुज्रन्छ र तिनलाई व्यक्तिगत रूपमा अनुभव गर्छ। उसले चिन्तित भएर आफ्नो रोगदेखि उम्कने प्रयास गर्दैन वा यदि उसको रोग रहिरह्यो भने के परिणाम आउनेछ, यसले के-कस्ता समस्याहरू ल्याउनेछ, यो अझै खराब हुन्छ कि हुँदैन, वा यसले गर्दा मरिन्छ कि मरिँदैन भनेर चिन्ता गर्दैन—उसले यस्ता कुराहरूका बारेमा चिन्ता गर्दैन। यस्ता कुराहरूका बारेमा चिन्ता नगर्ने बाहेक, उसले सकारात्मक रूपमा प्रवेश गर्न, र परमेश्वरमा साँचो विश्वास राख्न, र उहाँप्रति साँचो रूपमा समर्पित र बफादार हुन सक्छन्। यसरी अभ्यास गरेर, उसले गवाही प्राप्त गर्छ, र यसले तिनीहरूको जीवन प्रवेश र स्वभाव परिवर्तनमा पनि ठूलो फाइदा पुर्याउँछ, र यसले उसको मुक्ति प्राप्तिको ठोस आधार निर्माण गर्छ। कति राम्रो कुरा!” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (४))। परमेश्वरका वचन अन्धकारमाझ ज्योतिजस्तै थियो, जसले मलाई सान्त्वना र अभ्यासको मार्ग दिए। यस क्षणमा मलाई एकदमै चाहिएको कुरा परमेश्वरलाई थाहा थियो। उहाँले यी परिस्थितिहरू बन्दोबस्त गर्नु मैले तीबाट सत्यता खोज्न र आफ्नो भ्रष्ट स्वभाव बुझ्न सकूँ भनेर थियो। साथै, परमेश्वर मेरो विश्वास र समर्पणताको परीक्षा लिन चाहनुहुन्थ्यो। परमेश्वरले यो रोग सजिलै खोस्न सक्नुहुन्थ्यो, तर उहाँले त्यसो गर्नुभएन। बरु मेरो रोगका लक्षणहरू झन् खराब भए, र यसमा पक्कै उहाँको अभिप्राय थिए। रोगसँगको यी दुई अनुभवहरूले मेरो विद्रोहीपनको धेरै कुरा खोले। हरेक पटक, यो रोग आउँदा सुरुवातमा मेरो आत्मगत इच्छा समर्पित हुने र गुनासो नगर्ने हुन सक्थ्यो, तर, रोग खराब हुँदै जाँदा, म परमेश्वरसँग गुनासो र तर्क गर्न थाल्थेँ। गत दुई वर्षदेखि, मैले लगातार यी परिस्थितिहरू भोगिरहेकी छु, तर गवाहीमा दृढ रहिनँ, सधैँ लेनदेनको मनसाय राखिरहन्थेँ। मलाई अनुभव गराउन परमेश्वरले लगातार यी परिस्थितिहरू बन्दोबस्त गर्नुभएको थियो, र यो उहाँले मेरो जीवनप्रति जिम्मेवारी देखाउँदै मलाई बचाइरहनुभएको थियो। म विवेकहीन भएर परमेश्वरको बारेमा गुनासो गर्नु हुँदैनथ्यो। यी परिस्थितिको सामना गरिरहँदा, एक हिसाबले मैले साँचो समर्पण गर्नु र क्षमताले भ्याएसम्म मेरो कर्तव्य निभाउनु थियो। अर्को, म आफूले प्रकट गरेका भ्रष्ट स्वभाव बुझ्नु र आफू प्रवेश गर्नुपर्ने सत्यता खोज्नु थियो।
एक दिन मैले परमेश्वरका यी वचन पढेँ: “हामीले ख्रीष्टविरोधीहरू कसरी सत्यताप्रति अरुचि राख्छन्, अधर्मी र दुष्ट कुराहरूलाई मन पराउँछन्, कसरी हित र आशिष्हरूको पछि लाग्छन्, आशिष्हरू प्राप्त गर्ने आफ्नो अभिप्राय र इच्छा कहिल्यै त्याग्दैनन्, र सधैँ परमेश्वरसँग सौदा गर्ने प्रयास गर्छन् भन्ने बारेमा कुरा गऱ्यौँ। त्यसोभए, यस मामिलालाई कसरी चिन्नु र वर्गीकरण गर्नुपर्छ? यदि हामीले यसलाई अरू सबै कुराभन्दा नाफालाई अघि राख्नु हो भन्यौँ भने, त्यो अत्यन्तै नरमपन हुनेछ। यो त पावलले आफ्ना देहमा छेस्को छ, र उसले आफ्नो पाप प्रायश्चित गर्न काम गर्नुपर्छ भन्नु, तर अन्त्यमा अझै पनि धार्मिकताको मुकुट प्राप्त गर्न चाहनुजस्तै हो। यसको प्रकृति के हो? (उग्रपन।) यो एक प्रकारको उग्र स्वभाव हो। तर यसको प्रकृति के हो? (परमेश्वरसँग सौदा गर्नु।) त्यससँग यो प्रकृति हुन्छ। ऊ आफूले गर्ने सबै कुरामा नाफा खोज्थ्यो, र सबै कुरालाई लेनदेनका रूपमा लिन्थ्यो। गैरविश्वासीहरूमाझ एउटा भनाइ छ: ‘सित्तैँमा खाना पाइँदैन।’ ख्रीष्टविरोधीहरूले पनि यस्तो तर्क राख्छन्, र सोच्छन्, ‘यदि मैले तपाईंका लागि काम गरेँ भने, बद्लामा तपाईं मलाई के दिनुहुन्छ? म केकस्ता फाइदाहरू प्राप्त गर्न सक्छु?’ यो प्रकृतिलाई कसरी सारांशीकरण गर्नुपर्छ? यो त नाफाद्वारा प्रेरित हुनु, अरू सबै कुराभन्दा पहिले नाफालाई राख्नु, अनि स्वार्थी र घृणित हुनु हो। ख्रीष्टविरोधीहरूको प्रकृति सार यही हो। तिनीहरू नाफा र आशिष् प्राप्त गर्ने उद्देश्यले मात्रै परमेश्वरमा विश्वास गर्छन्। तिनीहरूले केही कष्ट भोगे पनि वा केही मूल्य चुकाए पनि, त्यो सबै परमेश्वरसँग सौदा गर्नका लागि हो। आशिष् र इनाम प्राप्त गर्ने तिनीहरूको अभिप्राय र इच्छा अत्यन्तै ठूलो हुन्छ, र तिनीहरू यस कुरामा कसिएर लागिरहन्छन्। तिनीहरू परमेश्वरले व्यक्त गरेका धेरै सत्यतामध्ये कुनैलाई पनि स्वीकार गर्दैनन्, तिनीहरू हृदयमा सधैँ के सोच्छन् भने परमेश्वरमा विश्वास गर्नु भनेको आशिष् र राम्रो गन्तव्य प्राप्त गर्नु हो, यो सर्वोच्च सिद्धान्त हो, र यसलाई कुनै कुराले उछिन्न सक्दैन। तिनीहरू के सोच्छन् भने मानिसहरूले आशिष् प्राप्त गर्नका लागि होइन भने परमेश्वरमा विश्वास गर्नु हुँदैन, र त्यो आशिष्का लागि होइन भने, परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ वा मूल्य हुँदैन, त्यसले यसको अर्थ र मूल्य गुमाउनेछ। के ख्रीष्टविरोधीहरूमा यी विचारहरू अरू कसैले हालिदिएको हुन्छ? के ती अरूको शिक्षा वा प्रभावबाट आएका हुन्छन्? होइन, ती कुरा ख्रीष्टविरोधीहरूको अन्तर्निहित प्रकृति सारद्वारा निर्धारित हुन्छन्, जुन कुरालाई कसैले पनि परिवर्तन गर्न सक्दैन। आज देहधारी परमेश्वरले यति धेरै वचनहरू बोल्नुभएको भए पनि, ख्रीष्टविरोधीहरूले तीमध्ये कुनै पनि वचन स्वीकार गर्दैनन्, बरु तिनलाई विरोध र निन्दा गर्छन्। सत्यताप्रति तिनीहरूलाई अरुचि हुने र सत्यतालाई घृणा गर्ने प्रकृति कहिल्यै परिवर्तन हुँदैन। यदि तिनीहरू परिवर्तन हुन सक्दैनन् भने, यसले केलाई जनाउँछ? यसले तिनीहरूको प्रकृति दुष्ट छ भन्ने कुरालाई जनाउँछ। यो सत्यता पछ्याउने वा नपछ्याउने कुरा मात्र होइन; यो दुष्ट स्वभाव हो, यो परमेश्वरविरुद्ध खुल्लमखुल्ला सोर मच्चाउनु र परमेश्वरको विरोध गर्नु हो। ख्रीष्टविरोधीहरूको प्रकृति सार यही हो; यो तिनीहरूको साँचो रूप हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई))। परमेश्वरका वचनले मलाई गहन चिन्तनमा पुर्याए। परमेश्वरले खुलासा गर्नुभयो कि ख्रीष्टविरोधीहरू आशिष् पाउन परमेश्वरमा विश्वास गर्छन् र कर्तव्यमा परमेश्वरसँग लेनदेन गर्छन्। सत्यता पछ्याउन र जीवन स्वभाव बदल्न परमेश्वरमा विश्वास गर्दैनन्। विगत दुई वर्षमा लगातार बिरामी भइरहँदा यसले मेरो वास्तविक कद देखायो। सुरुवातमा मैले यसलाई समान्य रूपमा अनुभव गर्न सकेँ, तर पछि मेरो हालत खराब हुँदै जाँदा मेरो गुनासो र गलतफहमी देखिन थाल्यो, र मैले गरेको त्याग र समर्पणलाई परमेश्वरसँग तर्क गर्न प्रयोग गरेँ। सबैले रोग र मृत्य अनुभव गर्छन्। यी सामान्य कुरा हुन्। सबै कुरा त्यागेर परमेश्वरमा विश्वास गर्नु र कर्तव्य निभाउनु मेरो रोजाइ थियो जुन मैले स्वेच्छाले गरेकी थिएँ। कर्तव्यमा समर्पित हुनु र मलाई रोग लाग्नुको आपसमा कुनै सम्बन्ध थिएन। तर, मैले आफ्नो समर्पणलाई परमेश्वरसँग अनुचित माग गर्ने पुँजी बनाएँ। मैले सोचेँ, परमेश्वरलाई पछ्याउन र कर्तव्य निभाउन मैले त्याग गरेकीले परमेश्वरले मेरो रक्षा गर्नुपर्थ्यो, मलाई यो रोग लाग्न वा यति कष्ट हुन दिनुहुँदैनथ्यो, र भोलिका दिनमा मलाई असल गन्तव्य दिनुपर्थ्यो। जब यस्तो भएन, तब मैले गुनासो गरेँ, परमेश्वरसँग तर्क र माग गरेँ। मैले पावललाई सम्झेँ, जसले पूरैजसो युरोप घुमेर सुसमाचार सुनाए, धेरै काम गरे, तर यो सबै उनले भोलिका दिनमा मुकुट र असल गन्तव्य पाउन गरेका थिए। पावलले भनेका थिए, “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। यी शब्द बोलेर पावलले स्पष्ट रूपमा परमेश्वरसँग लेनदेन गरिरहेका थिए। सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य निभाउनु पूर्णतः स्वाभाविक हो, र यसभन्दा माथि यो परमेश्वरले मानवलाई उठाउनु हो। तर पावलले परमेश्वरमा समर्पित हुनुलाई लेनदेन गर्ने दृष्टिले हेरेका थिए, कर्तव्य निभाउनुको अर्थलाई पूरै विकृत बनाएका थिए। परमेश्वरबाट इनाम नपाउने अवस्थामा उनले उहाँसँग तर्क र माग गरे, जसले उनको भयानक एवम् दुष्ट स्वभावको खुलासा गर्यो। परमेश्वरमाथिको मेरो विश्वासको बाटो पावलको जस्तै रहेको मैले देखेँ। म यो बाटो हिँडिरहेँ भने अन्तमा उनले जस्तै दण्ड पाउने थिएँ। यो बुझेर म केही डराएँ, र सोच्न थालेँ, “परमेश्वरमा विश्वास गर्दा आशिष् प्राप्त गर्ने कुरालाई पछ्याउनुको प्रकृति र परिणाम धेरै गम्भीर रहेको देखिन्छ। म पछ्याइप्रतिको यो गलत दृष्टिकोण बोकेर हिँडिरहनु हुँदैन।”
मेरो स्थिति केही हदसम्म बदलिएपनि मेरो स्वास्थ्यमा सुधार आएन र यो लगातार खराब हुँदै गयो। मलाई लाग्यो मेरो दिन गिन्ती सुरु भइसक्यो, र मेरो मनमा कहिलेकाहीँ नकारात्मक सोच आउँथ्यो, जस्तै “के यो रोग परमेश्वरले मलाई खुलासा र दण्डित गर्ने तरिका होइन? नत्र, यो सुधार हुनुको साटो किन उँधो लागिरहेको छ?” यो सोचेर, मेरो हृदयमा ठूलो पीडा भइरहेको थियो र सहन नै मुस्किल भइरहेको थियो। एक दिन मैले परमेश्वरका यी वचन सम्झेँ: “मानिसहरूले आफ्नो हृदयमा भएका परमेश्वरसँग मेल नखाने, वा उहाँबारे गलत बुझेको कुनै पनि कुरा बारम्बार जाँच गर्नुपर्छ।” अनि मैले परमेश्वरका वचनको पूरै खण्ड खोजेर पढेँ: “मानिसहरूले आफ्नो हृदयमा भएका परमेश्वरसँग मेल नखाने, वा उहाँबारे गलत बुझेको कुनै पनि कुरा बारम्बार जाँच गर्नुपर्छ। यी गलत बुझाइहरू कसरी उत्पन्न हुन्छन्? किन मानिसहरू परमेश्वरलाई गलत बुझ्छन्? (किनकि तिनीहरूको स्वार्थ प्रभावित हुन्छ।) … परमेश्वरले मानिसहरूलाई कृपा, मुक्ति, वास्ता, सुरक्षा, र तिनीहरूको प्रार्थना सुनेरबाहेक अरू कुन तरिकाले प्रेम गर्नुहुन्छ? (ताडना, अनुशासन, काटछाँट, न्याय, सजाय, परीक्षा, र शोधनमार्फत।) त्यो सही हो। परमेश्वरले आफ्नो प्रेम अनेकौँ तरिकाले देखाउनुहुन्छ: प्रहार गरेर, ताडना दिएर, हप्काएर, अनि न्याय, सजाय, परीक्षा, शोधन आदि इत्यादिमार्फत। यी सबै परमेश्वरको प्रेमका पक्षहरू हुन्। यो दृष्टिकोण मात्र विस्तृत र सत्यताबमोजिम छ। यदि तैँले यो बुझिस् भने, आफूलाई जाँचेर आफूले परमेश्वरलाई गलत बुझेको रहेछ भनी थाहा पाउँदा, के आफ्नो विकृत चिन्न, र आफूले कहाँनेर गल्ती गरेको रहेछु भनेर चिन्तन गर्न सक्दैनस् र? के यसले तँलाई परमेश्वरबारे तेरा गलतबुझाइहरू सुल्झाउन मद्दत गर्न सक्दैन र? (हो, सक्छ।) तैँले यो कुरा हासिल गर्न सत्यता खोजी गर्नैपर्छ। यदि मानिसहरूले सत्यता खोजी गरे भने, परमेश्वरबारे आफ्ना गलतबुझाइहरू हटाउन सक्छन्, र तिनीहरूले परमेश्वरबारे आफ्ना गलतबुझाइहरू हटाएपछि, परमेश्वरका सबै बन्दोबस्तहरू पालना गर्न सक्छन्। … परमेश्वरले मानिसहरूलाई अनुग्रह र आशिष् दिन, अनि दैनिक खुवाउन सक्नुहुन्छ, तर उहाँले ती सबै खोस्न पनि सक्नुहुन्छ। त्यो परमेश्वरको अख्तियार, सार, र स्वभाव हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता बुझेर मात्र व्यक्तिले परमेश्वरका कार्यहरू चिन्न सक्छ)। परमेश्वरका वचनले मेरो हृदयलाई तुरुन्त उज्यालो बनाए। मेरो दृष्टिकोण सधैँ गलत रहेको देखियोः म ठान्थेँ, यदि परमेश्वरले कसैलाई प्रेम गर्नुहुन्छ भने उसलाई आशिष दिइरहनुहुन्छ, उसका लागि सबै कुरा सहज बनाउनुहुन्छ, उसलाई सुरक्षित र स्वस्थ राख्नुहुन्छ, तर उहाँले कसैलाई प्रेम नगर्दा उसलाई विभिन्न उतारचढाव, असहजता, रोग आदिका रूपमा विभिन्न पीडादायी कुराहरू भोग्न लगाउनुहुन्छ। तसर्थ, मेरो स्वास्थ्य खराब हुँदै जाँदा, यो परमेश्वरले मलाई सजाय दिने तरिका होला भन्ने लाग्यो, र म आफ्नै धारणा, कल्पना, नकारात्मकता र पीडामा जिएँ। यसलाई विस्तृतमा सोच्दा, बिमारीको यी दुई वर्ष पीडादायी भएपनि यो पूरै प्रक्रियाको दौरान मैले परमेश्वरलाई झन् धेरै प्रार्थना गरी मार्गदर्शन मागेँ, र उहाँसँग नजिक भएको महसुस गरेँ। साथै, मैले आशिष् पछ्याउने बलियो मनसाय राखेकी रहेछु भन्ने पनि थाहा पाएँ। यो सबै मलाई आशिष् दिने परमेश्वरको तरिका थियो, यो मेरो विशेषाधिकार थियो। यो परमेश्वरका वचनले भनेजस्तै होः परमेश्वरको प्रेम केवल दया र करुणा, हेरचाह र सुरक्षा होइन। न्याय र सजाय, साथै परीक्षा र शोधन पनि परमेश्वरको प्रेम हो। यी उहाँका आशिष् र अनुग्रह हुन्। प्रेम देखाउने यो तरिका मलाई मन नपरेको हुन सक्छ, तर मलाई चाहिने यही नै थियो। यी परिस्थिति नभएका भए मैले आफूलाई बुझ्ने थिइनँ। यो समयमा, मैले मानिसलाई मुक्ति दिनेबारे परमेश्वरको विचारशीलताको प्रत्यक्ष अनुभव गरेँ। परमेश्वरले मलाई सधैँ मुक्ति दिइरहनुभएको थियो, तैपनि उहाँले मेरो गलतफहमी र गुनासो सहनु परेको थियो। यो सोचेर, मैले आफैलाई घृणा गरेँ, साथै, परमेश्वरको प्रेमबाट गहिरोसँग प्रभावित भएँ।
त्यो समयमा, मैले पत्रुसले गरेको अनुभवलाई सम्झेँ। मैले बुझेँ कि म उनको मानवता वा परमेश्वरलाई, प्रेम गर्ने उनको दृढ सङ्कल्पको बराबरी हुन सक्दिनँ, तर उनले न्याय र सजाय, परीक्षा र शोधन भोग्दाको अनुभव कस्तो थियो, र अन्यन्त पीडा र कमजोरीको समयबाट कसरी बाहिर आए, त्यो म जान्न चाहन्थेँ। मैले परमेश्वरका वचनको दुइटा भिडियो वाचन हेर्न थालेँ: “पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान,” र “पत्रुसले येशूलाई कसरी चिने।” मैले परमेश्वरका यी वचन पढेँ: “अब पत्रुसले हिँडेको त्यही मार्गलाई तैँले स्पष्ट रूपमा देख्न सक्नुपर्छ। यदि तैँले पत्रुसको मार्गलाई स्पष्ट रूपमा देख्न सक्छस् भने, आज गरिने कामको बारेमा तँ निश्चित हुनेछस्, ताकि तैँले कुनै गुनासो गर्ने छैनस्, वा नकारात्मक बस्ने छैनस्, वा कुनै कुराको तृष्णा गर्नेछैनस्। त्यो समयको पत्रुसको भावनालाई तैँले अनुभव गर्नुपर्छ: तिनी शोकले ग्रस्त थिए; तिनले भविष्य वा आशीषहरूको लागि अनुरोध गर्न छाडे। तिनले संसारमा लाभ, खुशी, ख्याति, वा सम्पत्तिको खोजी गरेनन्; तिनले सबैभन्दा अर्थपूण जीवन मात्रै जिउन खोजे, जुन परमेश्वरको प्रेमको ऋण तिर्नु र आफूले सबैभन्दा बहुमूल्य ठानेको कुरा परमेश्वरलाई सुम्पनु थियो। त्यसपछि तिनी आफ्नो हृदयमा सन्तुष्ट हुन्थे। तिनले धेरै पटक येशूलाई यी शब्दहरूद्वारा प्रार्थना गर्थे: ‘प्रभु येशू ख्रीष्ट, एक पटक मैले तपाईंलाई प्रेम गरेँ, तर मैले तपाईंलाई साँचो रूपमा कहिल्यै प्रेम गरिन। तपाईंप्रति ममा विश्वास छ भनेर मैले भनेको भए तापनि, मैले तपाईंलाई साँचो हृदयले कहिल्यै प्रेम गरिन। मैले तपाईंलाई सराहना मात्र गरेँ, तपाईंलाई आदरपूर्वक प्रेम गरेँ, र तपाईंको याद गरेँ, तर मैले तपाईंलाई न त साँचो रूपमा कहिल्यै प्रेम गरेँ, नत तपाईंमा कहिल्यै साँचो विश्वास नै राखेँ।’ संकल्प गर्नको लागि तिनले निरन्तर प्रार्थना गरे, र तिनी येशूको वचनद्वारा सँधै उत्साहित हुन्थे र तिनबाट उत्प्रेरणा लिन्थे। पछि, अनुभवको एक अवधिपछि, येशूले तिनलाई उहाँप्रति अझै तड्पिन बाध्य तुल्याउँदै तिनको जाँच गर्नुभयो। तिनले भने: ‘प्रभु येशू ख्रीष्ट! म कति धेरै तपाईंको याद गर्छु, र तपाईंलाई हेर्ने तृष्णा गर्छु। ममा धेरै कुराको कमी छ, र तपाईंको प्रेम जति म तपाईंलाई दिन सक्दिन। मलाई चाँडै नै लैजानुहोस् भनेर म तपाईंलाई बिन्ती गर्छु। तपाईंलाई कहिले मेरो खाँचो पर्नेछ? तपाईंले मलाई कहिले लैजानुहुनेछ? कहिले फेरि मैले तपाईंको मुहार हेर्नेछु? यो शरीरमा जिउन, निरन्तर भ्रष्ट भइरहन म चाहन्नँ, नत अब उप्रान्त म विद्रोह नै गर्न चाहन्छु। सकेसम्म चाँडो मसँग भएको सबै कुरा तपाईंलाई समर्पित गर्न म तयार छु, र अब उप्रान्त म तपाईंलाई दुःखित तुल्याउन चाहन्नँ।’ तिनले यसरी नै प्रार्थना गरे, तर येशूले तिनलाई सिद्ध पार्नुहुनेछ भन्ने बारेमा तिनलाई त्यो बेला थाहा थिएन। तिनको परीक्षाको वेदनाको बेला, येशू फेरि तिनीकहाँ देखा पर्नुभयो र तिनलाई भन्नुभयो: ‘पत्रुस, म तँलाई सिद्ध बनाउन चाहन्छु, ताकि तँ एक फलको टुक्रा बन्छस्, जुन तँलाई मैले बनाएको सिद्धताको हिरा हुन्छ, र जसप्रति म आनन्दित हुनेछु। के तैँले मेरो लागि साँचो रूपमा गवाही दिन सक्छस्? के तैँले तँलाई मैले जे गर्न भनेको छु सो गरेको छस्? के मैले बोलेको वचनमा तँ बाँचेको छस? एक पटक तैँले मलाई प्रेम गरिस, तर तैँले मलाई प्रेम गरे पनि, के तैँले म भएर बाँचेको छस? तैँले मेरो लागि के गरेको छस्? तँ मेरो प्रेमको लागि अयोग्य छस् भन्ने कुरालाई तैँले पहिचान गरिस्, तर तैँले मेरो लागि के गरेको छस?’ आफूले येशूको लागि केही पनि गरेको छैन भन्ने पत्रुसले देखे र आफ्नो जीवन परमेश्वरलाई दिन्छु भनी गरेको आफ्नो पहिलेको शपथलाई स्मरण गरे। अनि त्यसैले, तिनले फेरि गुनासो गरेनन्, त्यसपछिको तिनको प्रार्थना अझै उत्तम हुँदै गयो। तिनले यसो भन्दै प्रार्थना गरे: ‘प्रभु येशू ख्रीष्ट! एक पटक मैले तपाईंलाई छोडेँ, र तपाईंले पनि मलाई एक पटक छोड्नुभयो। हामीले एक-अर्काबाट अलग बसेर, अनि सँगै बसेर समय बिताएका छौं। तैपनि तपाईंले अरू सबैले भन्दा बढी प्रेम गर्नुहुन्छ। मैले तपाईंको विरुद्धमा बारम्बार विद्रोह गरेको छु र तपाईंलाई बारम्बार दुःखी तुल्याएको छु। म यस्ता कुराहरूलाई कसरी बिर्सन सक्छु र? तपाईंले मेरो जीवनमा गर्नुभएको कामलाई र तपाईंले मलाई सुम्पनुभएको कुरालाई म सँधै मनमा राख्छु र कहिल्यै बिर्सँदिन। तपाईंले ममा गर्नुभएको कामको लागि मैले आफूले सकेजति सबै कुरा गरेको छु। मैले के गर्न सक्छु त्यो तपाईंलाई थाहा छ, र मैले कुन भूमिका निर्वाह गर्न सक्छु त्यो पनि तपाईंले जान्नुहुन्छ। म तपाईंको योजनाबद्ध कार्यको कृपामा हुन चाहन्छु, र मसँग भएको सबै कुरा तपाईंमा समर्पित गर्नेछु। मैले तपाईंको लागि के गर्न सक्छु त्यो तपाईंलाई मात्र थाहा छ। शैतानले मलाई धेरै झुक्काएको भए तापनि र मैले तपाईंको विरुद्ध विद्रोह गरेको भए तापनि, ती अपराधहरूका निम्ति मलाई तपाईंले याद गर्नुहुन्न र तिनीहरूको आधारमा तपाईंले मलाई व्यवहार गर्नुहुन्न भनी म विश्वास गर्छु। म मेरो सम्पूर्ण जीवन तपाईंमा नै समर्पित गर्न चाहन्छु। म केही कुरा पनि माग्दिन, नत मसँग अरू आशा वा योजना नै छ; तपाईंको अभिप्राय अनुसार काम गर्ने र तपाईंका अभिप्रायहरूलाई पछ्याउने मात्रै मेरो चाहना छ। तपाईंको तीतो कचौराबाट म पिउनेछु, र आज्ञा गर्नलाई म तपाईंकै हुँ।’” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसले येशूलाई कसरी चिने)। “तिमीहरूले हिँड्ने बाटोको बारेमा तिमीहरू स्पष्ट हुनैपर्छ; तिमीहरूले भविष्यमा हिँड्ने बाटोको बारेमा, परमेश्वरको इच्छाले सिद्ध पार्ने जे कुरा हो त्यसको बारेमा, र तिमीहरूलाई जे सुम्पिइएको छ त्यसको बारेमा तिमीहरू स्पष्ट हुनैपर्छ। सायद, एक दिन तिमीहरू जाँचिनेछौ र, जब त्यो समय आउँछ, तब यदि तिमीहरूले पत्रुसको अनुभवहरूबाट उत्प्रेरणा प्राप्त गर्न सक्षम भयौ भने, यसले तिमीहरू साँच्चै नै पत्रुसको मार्गमा हिँडिरहेका छौ भन्ने देखाउनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसले येशूलाई कसरी चिने)। परमेश्वरका वचनले मलाई निकै प्रभावित बनाए, र परमेश्वरलाई प्रेम गर्ने पत्रुसको दृढ सङ्कल्पले पनि। पत्रुसको अनुभवका बारेमा पढेपछि, मलाई लाज र अप्ठेरो लाग्यो। परीक्षाका बीच, पत्रुसले सधैँ परमेश्वरलाई पवित्र भावनाले कसरी प्रेम गर्ने भनेर खोजी गर्थे, र परमेश्वरलाई सन्तुष्ट बनाउन नसक्दा आफैलाई घृणा गर्थेँ। उनी आफ्नो सबभन्दा मूल्यवान कुराहरू परमेश्वरमा कसरी अर्पित गर्ने भनी खोजिरहन्थे। तर, म आफू बिरामी भएको बेला विद्रोहीपन र गलतफहमी बाहेक अरू केही देखाउन सकिनँ। म मेरो रोग बढ्दै गयो भने भोलिको मेरो गन्तव्य के होला भनी चिन्तित भइरहेँ वा म मर्नेछु भनेर डराइरहेँ। म सोच्थेँ, मलाई खुलासा गरी दण्डित गर्न परमेश्वरले यी परिस्थितिहरू बनाउनु भएको हो। मैले आफ्नो हित मात्रै विचार गरेँ, परमेश्वरलाई सन्तुष्ट बनाउन केही पनि गरिनँ। मेरो कद दयनीय रूपमा सानो थियो, र मैले कुनैपनि खालका कठिनाइ सामना गर्न सकिनँ। मेरो देह निकै कमजोर भएपनि र मैले गर्नसक्ने कर्तव्य निकै सीमित भएपनि मैले सत्यता पछ्याउने सङ्ककल्प गुमाउनु हुँदैनथ्यो। आफू जस्तोसुकै परिस्थितिमा भएपनि, म सिर्जित प्राणी थिएँ र परमेश्वरलाई प्रेम गर्नु र चिन्नु नै मैले जीवनभर पछ्याउनुपर्ने लक्ष्य थियो। यदि म यो धर्तीमा जीवित रहेँ भने मैले सत्यता पछ्याउनुपर्छ र आफ्नो कर्तव्य राम्ररी निभाउनुपर्छ।
एक दिन, बिहानदेखि नै मेरो शरीरले कमजोर महसुस गर्न थाल्यो। मेरो मुटु दुखाइ पहिलेभन्दा झन् धेरै र लामो समयसम्म हुन थाल्यो। मैले लगभग पूरै दिन ओछ्यानमा सुतेर बिताएँ। साँझसम्ममा हालत झन् खराब भयो र सास फेर्नसमेत गाह्रो भयो। मसँगै बस्ने सिस्टरले एम्बुलेन्स बोलाइन्, र मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म अब धेरै टिक्छु जस्तो लाग्दैन। के तपाईँले म यो उमेरभन्दा बढी बाँच्दिनँ भनेर पहिल्यै निर्धारण गर्नुभएको हो? के म मर्दैछु?” त्यही बेला, परमेश्वरका वचनको एउटा वाक्य मैले सम्झेँ: “जबसम्म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, तबसम्म परमेश्वरले तँलाई मर्न दिनुहुनेछैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ६)। प्रकाशको किरण झैँ परमेश्वरका वचनले मेरो हृदय उज्यालो बनाए। मेरो सास चलिरहन्छ वा रहँदैन भन्ने परमेश्वरको हातमा थियो। उहाँले मलाई मर्न दिनुभएन भने म मर्नेछैन। यो बेला मैले अक्सर पढ्ने गरेको पत्रुसको अनुभव सम्झेँ। मृत्युको मुखमा पनि पत्रुसले परमेश्वरलाई प्रार्थना गरी उसको प्रेम पर्याप्त पर्याप्त नभएको भनेर भन्दै थिए। पत्रुसको अनुभवले मलाई प्रेरित गरे र मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर म मरे वा नमरे पनि, सबै कुरा तपाईँकै हातमा छ भन्ने म विश्वास गर्छु। म यो उमेरसम्म मात्र बाँच्छु भनी तपाईँले पहिल्यै तय गर्नु भएको छ भने मेरो कुनै गुनासो छैन। म पत्रुसको बराबरी नपुगेपनि, म उनीबाट सिक्न र तपाईँका योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुन तयार छु। एउटा सृजित प्राणीको नाताले यो मैले गर्नुपर्छ। हे परमेश्वर, म तपाईँप्रति धन्यवाद र प्रशंसा अर्पित गर्दछु।” पछि, एम्बुलेन्सले मलाई अस्पताल पुर्यायो र डाक्टरले विभिन्न जाँच गरेपछि मलाई शान्ति महसुस भयो। जाँचबाट डाक्टरले मेरो रोग के हो अझै भन्न सकेनन्, र कुन उपचार गर्ने भन्ने तय भएन। डाक्टरले घरमै स्वास्थ्यलाभ गराउन पठाए। मलाई झन् दृढ विश्वास भयो कि मेरो जीवन परमेश्वरको हातमा छ, र म मर्ने वा बाँच्ने भन्ने डाक्टरले भन्न सक्दैनन्। यदि म मर्नु छ भने डाक्टरले बचाउन सक्दैनन्, र मर्नु छैन भने म मर्दिनँ। घर पुगेपछि, म अझैपनि धेरै कमजोर थिएँ र म ओछ्यानमा पल्टिएँ। बिउँझेपछि, अनायसै मैले मुठ्ठी कसेँ। अचम्म, मेरा हात पहिलेभन्दा बलिया भएका थिए। म ओछ्यानबाट उठेँ र चप्पल लगाएँ, कुनै सहाराविना नै म हिँड्न सक्छु भन्ने लाग्यो। मैले विश्वास नै गर्न सकिनँ, के म साँच्चै आफै ठीक भएँ? त्यसपछि, एक हप्तासम्म कमजोरी र दुर्बलताको कुनै लक्षण देखिएन र पछि, मैले सामान्य रूपमा कर्तव्य निभाउन थालेँ। अब एक वर्ष बितिसकेको छ। मेरो शरीर बिस्तारै ठीक हुँदैछ र मैले सामान्य रूपमा कर्तव्य निभाउन सकेकी छु।
यो अनुभवपछि मैले आफै परमेश्वरको परीक्षा र शोधन मानिसलाई शुद्ध गर्न र मुक्ति दिन हो भन्ने बुझेँ। यो बिमारीको दौरान मलाई केही कष्ट भएपनि मेरो प्राप्ति मैले भोगेको पीडाभन्दा धेरै थिए। यो त्यस्तो कुरा हो जसलाई कुनै कुरासँग साट्नेछैन। यसले मेरो जीवनमा ऐश्वर्य लिएर आयो।