९. वैवाहिक सुखको पछ्याइले ल्याएको पीडा

लि सिन्झु, चीन

मलाई याद भएदेखि नै, म प्रायः बुबा रिसाउनुभएको र आमालाई गाली गर्नुभएको देख्थेँ। म हुर्कदै जाँदा, आमाले मसँग उहाँको दुःखी वैवाहिक जीवनबारे प्रायः गुनासो गर्नुहुन्थ्यो। बुबासँग बस्दा सधैँ खान-लाउन दुःख भएको, उहाँसँग कहिल्यै सुख नपाएको, र उहाँले प्रायः आमामाथि रिस पोख्ने गर्नुभएको कुरा आमाले बताउनुहुन्थ्यो। उहाँले मलाई प्रायः भन्‍नुहुन्थ्यो, “एउटी नारीले आफूलाई राम्रो व्यवहार गर्ने श्रीमान् पाएमा मात्र जीवनभर सुख पाउन सक्छिन्।” मैले मनमनै सोचेँ, “आमा आफैले यो कुरा भोग्‍नुभएको छ, त्यसैले उहाँले भन्नुभएको कुरा साँचो हो। जेसुकै भए पनि, मेरो हालत आमाको जस्तो हुनु हुँदैन। मैले मलाई राम्रो व्यवहार गर्ने श्रीमान् खोज्‍नुपर्छ।” पछि गएर, मैले चाहेजस्तै शान्त स्वभावको र मलाई राम्रो व्यवहार गर्ने श्रीमान् पाएँ। हाम्रो विवाहपछि, मेरा श्रीमान्‌ले सधैँ हरेक कुरामा मलाई साथ दिनुहुन्थ्यो, र उहाँ मसँग कहिल्यै ठूलो स्वरले बोल्नुहुन्‍नथियो। कामबाट घर फर्कदा मलाई देख्‍नुभएन भने, उहाँले फोन गरेर म कहाँ गएकी छु भनी सोध्नुहुन्थ्यो, र मलाई लिन हतार-हतार बाइकमा आउनुहुन्थ्यो। उहाँले दैनिक जीवनमा पनि मेरो धेरै ख्याल राख्नुहुन्थ्यो, जब उहाँले मलाई दुःखी देख्नुहुन्थ्यो, तब सधैँ सोध्नुहुन्थ्यो, “के भयो? केही कुराले तनाव भएको छ?” यस्तो मायालु र ख्याल राख्ने श्रीमान् पाएर म धेरै खुसी थिएँ, र जीवनमा सन्तुष्ट महसुस गर्थेँ।

२००४ मा, मैले परमेश्‍वरको नयाँ कामलाई स्वीकार गरेँ र मेरा श्रीमान्‌लाई सुसमाचार प्रचार गरेँ। उहाँले त्यो स्वीकार त गर्नुभएन, तर मेरो विश्वासको विरोध पनि गर्नुभएन। तर पछि, मेरा श्रीमान्‌ले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबारे चिनियाँ कम्युनिस्ट पार्टीले बनाएका आधारहीन अफवाहहरू पत्याउन थाल्नुभयो, र त्यसपछि उहाँले मलाई परमेश्‍वरमा विश्वास गर्नबाट रोक्न थाल्नुभयो। म भेलाहरूमा जाँदा पनि उहाँले प्रायः गुनासो गर्नुहुन्थ्यो। एकदिन कामबाट घर फर्किएपछि, उहाँले गम्भीर हुँदै मलाई भन्नुभयो, “अनलाइनमा त परमेश्‍वरमा विश्वास गर्नु भनेको चिनियाँ कम्युनिस्ट पार्टीको विरोध गर्नु हो भनेर लेखिएको छ, अनि सरकारले यसलाई अनुमति दिँदैन रे। अबदेखि तिमीले परमेश्‍वरमा विश्वास गर्न पाउँदिनौ!” जब मैले उहाँको असन्तुष्ट अनुहार देखेँ, तब मलाई के थाहा भयो भने, उहाँ चिनियाँ कम्युनिस्ट पार्टीले फैलाएका आधारहीन अफवाहहरूद्वारा भ्रमित हुनुभएको छ। मैले उहाँलाई यी कुराहरू झूट र निन्दा मात्र हुन् भनेर बताएँ, तर उहाँले मेरो कुरा सुन्नै मान्नुभएन। एक साँझ, मेरा श्रीमान्‌ले घर आउनेबित्तिकै मलाई सोध्नुभयो, “के तिमी आज फेरि भेलामा गएकी थियौ?” मैले भनेँ, “गएकी थिएँ।” त्यसपछि उहाँ मलाई कराउनुभयो, “मैले तँलाई परमेश्‍वरमा विश्वास नगर् भनेको थिएँ, तर तैँले सुन्दै सुनिनस्! आज म फर्किँदा, एक जना शिक्षिकालाई परमेश्‍वरमा विश्वास गरेको कारण पक्राउ गरेको देखेँ। कसलाई के थाहा उनलाई कति वर्षको जेल सजाय हुन्छ? यदि तैँले यसमा विश्वास गरिरहिस् भने, ढिलो-चाँडो तँ पनि पक्राउ पर्नेछस्। त्यसपछि बच्चाहरू र म पनि यो सबमा मुछिनेछौँ र तैँले हाम्रो परिवार बर्बाद पार्नेछस्!” यति भन्दै, उहाँले आफ्नो जुत्ता उचाल्नुभयो, र केही नभनी मेरो टाउकोमा हिर्काउन थाल्नुभयो, र हिर्काउँदै सराप्नुभयो, “मैले तँलाई मेरो कुरा सुन् भनेको थिएँ, तर तैँले मान्दै मानिनस्! म तँलाई मार्दिन्छु!” मलाई त उहाँले रिस पोख्न एक-दुई चोटी मात्र हिर्काउनुहुन्छ होला भन्‍ने लागेको थियो, तर उहाँले मलाई एकदमै बेस्सरी हिर्काउनुभयो। पिटाइले गर्दा मलाई रिँगटा लाग्यो, र उहाँ रोकिनेवाला जस्तो देखिएन। यतिका वर्ष सँगै बिताएपछि पनि उहाँ यति निर्दयी हुन सक्नुहुन्छ भनेर मैले कहिल्यै सोचेकी थिइनँ! त्यसपछि मेरा श्रीमान्‌ले बच्चाहरूलाई भन्नुभयो, “जाओ, तिमीहरूको आमासँग कुरा गर, उनलाई अबदेखि परमेश्‍वरमा विश्वास गर्दिनँ भन्न लगाऊ। यदि उनले मानिनन् भने, म आज उनलाई कुटेर मारिदिन्छु!” मेरी छोरीले रुँदै मलाई बिन्ती गर्न थाली। मेरा बच्चाहरू रोएको देखेर मैले कमजोर महसुस गर्न थालेँ। मैले सोचेँ, “सायद अहिलेका लागि मैले श्रीमान्‌लाई म अब विश्वास गर्दिनँ भनेर भनिदिनुपर्छ। यदि म यसरी नै अडिग रहिरहेँ, र उहाँले झन् रिसाएर मलाई डिभोर्स दिनुभयो भने, यो परिवार बर्बाद हुनेछ।” तर फेरि मैले सोचेँ, “जेसुकै भए पनि, मैले परमेश्‍वरको नामलाई इन्कार गर्नु हुँदैन। म अब परमेश्‍वरमा विश्वास गर्दिनँ भन्नुको अर्थ उहाँलाई धोका दिनु हो, त्यसैले मैले त्यसो भन्‍नु हुँदैन।” त्यसैले मैले निरन्तर परमेश्‍वरसँग प्रार्थना गरिरहेँ, र उहाँसँग बुद्धि र विश्वास मागेँ। त्यसपछि मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो: “परमेश्‍वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदम बाहिरी रूपमा मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर कामको प्रत्येक कदमपछाडि, र घट्ने सबै कुरा शैतानले परमेश्‍वरसँग थापेको बाजी हो, र तिनका लागि मानिसहरू परमेश्‍वरको गवाहीमा दृढ रहनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबको परीक्षा लिइएको घटना लिऊँ: पर्दापछाडि, शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो, त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको बाधा थियो। तिमीहरूमा परमेश्‍वरले गर्नुहुने कामको प्रत्येक कदमपछाडि शैतानले परमेश्‍वरसँग थापेको बाजी हुन्छ—यसको पछाडि एउटा लडाइँ हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टिले मलाई के बुझ्न मद्दत गर्यो भने, मेरा श्रीमान्‌ले मलाई सताइरहनुभएको जस्तो देखिए पनि, वास्तवमा यसको पछाडि शैतानका दाउपेचहरू थिए। मैले परमेश्‍वरलाई इन्कार गरेको र उहाँलाई धोका दिएको शैतानले चाहन्थ्यो। मैले मेरा श्रीमान्‌को रिसको डरले मात्र अब परमेश्‍वरमा विश्वास गर्दिनँ भनेर भन्‍नु हुँदैन; म आफ्नो गवाहीमा दृढ रहनुपर्छ। त्यसपछि, मेरा छोराछोरीले जति नै बिन्ती गरे पनि, म चुपचाप बसेँ। रिसले आगो भएर, मेरा श्रीमान् कराउनुभयो, “तेरो आमाले मान्दिन भने, म आज राति नै यसलाई डिभोर्स दिन्छु र घरबाट निकालिदिन्छु। यो हाम्रो घरमा अब एक दिन पनि बस्नेछैन!” यो कुराले मलाई ठूलो धक्का लाग्यो। उहाँले साँच्चै डिभोर्स चाहनुहोला भनेर मैले कहिल्यै सोचेकी थिइनँ। मैले यतिका वर्ष उहाँलाई तनमन दिएर साथ दिएँ, तर केवल मेरो विश्वासकै कारण, उहाँले मलाई डिभोर्स दिन चाहनुहुन्थ्यो, र मलाई तत्कालै घर छोडेर जाओस् भन्ने चाहनुहुन्थ्यो। एक दशकभन्दा बढी समय सँगै बिताएको श्रीमान् यस्तो कसरी हुन सक्नुहुन्छ? मेरो मुटु छियाछिया भयो। मैले सोचेँ, “यदि हाम्रो डिभोर्स भयो भने, असहाय र एक्लो भएर म एक्लै कसरी बाँच्ने?” मेरो मुटु चिरिएझैँ भयो, र मेरो अनुहारबाट आँसुका धारा बगे। मैले सोचेँ, मानवहरू परमेश्‍वरद्वारा सिर्जिएका हुन्, परमेश्‍वरले नै हामीलाई जीवनको सास दिनुभएको छ र हामीलाई आवश्यक पर्ने सबै कुरा प्रदान गर्नुभएको छ, त्यसैले मानिसले परमेश्‍वरको आराधना गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो। जेसुकै भए पनि मैले परमेश्‍वरमा विश्वास गर्न छोड्नु हुँदैन भन्‍ने लाग्यो। त्यसपछि मेरी छोरीले आफ्नो बुबालाई भनिन्, “यदि तपाईंहरू दुई जनाको डिभोर्स भयो भने, भाइ र म ममीसँग बस्न चाहन्छौँ, तपाईंसँग होइन।” त्यसपछि मात्रै मेरा श्रीमान् नरम हुनुभयो र उहाँले डिभोर्सको कुरा छोडिदिनुभयो। पछि, चिनियाँ कम्युनिस्ट पार्टीको सतावट तीव्र भयो, र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई निन्दा र बदनाम गर्ने सबै प्रकारका विधर्म र भ्रामक कुराहरू सडकभरि टाँसिएका थिए। ममाथि मेरा श्रीमान्‌को सतावट पनि झन् बढ्यो। हरेक दिन कामबाट फर्किएपछि, उहाँले मलाई केरकार गर्नुहुन्थ्यो, मलाई अझै परमेश्‍वरमा विश्वास गर्छस् कि गर्दैनस् भनेर सोध्नुहुन्थ्यो, र सानो-सानो कुरामा पनि ममाथि रिस पोख्नुहुन्थ्यो। उहाँलाई यस्तो अवस्थामा देख्दा म धेरै दुःखी हुन्थेँ। मैले परमेश्‍वरमा विश्वास गरेको र आफ्नो कर्तव्य निर्वाह गर्ने गरेको भए पनि, म घरको सबै काम र खेतीको काम गर्थेँ, र छोराछोरीको हेरचाह पनि गर्थेँ। उहाँले मलाई यसरी नसताउनुभएको भए हुन्थ्यो। तर फेरि मैले सोचेँ, “यदि चिनियाँ कम्युनिस्ट पार्टीको सतावट र आधारहीन अफवाहहरू नभएको भए, सायद उहाँले मलाई यस्तो व्यवहार गर्नुहुन्नथियो होला। उहाँ चिनियाँ कम्युनिस्ट पार्टीद्वारा छलमा पर्नुभएको छ। यदि मैले सहिनँ भने, हाम्रो डिभोर्स हुने निश्चित छ।” हाम्रो परिवारलाई नटुटाउन र हाम्रो वैवाहिक सम्बन्ध जोगाउन, मेरा श्रीमान्‌ले जति नै सताए पनि, मैले चुपचाप सहेँ, यहाँसम्म कि म अग्रसर भएर उहाँको ख्याल राख्थेँ र उहाँका लागि मीठो खाना बनाउँथेँ। कहिलेकाहीँ, यसले गर्दा मेरो कर्तव्यमा ढिलाइ हुन्थ्यो।

पछि, म एक प्रचारकको रूपमा चुनिएँ र मलाई केही मण्डलीहरूको जिम्मेवारी दिइयो। तीमध्ये केही मण्डलीहरू घरबाट टाढा थिए, त्यसैले म हरेक दिन घर आउन पाउँदिनथिएँ, अनि यसले मलाई अलिक चिन्तित बनायो। त्यो बेला मेरा श्रीमान्‌को बाहिर अफेयर चलिरहेको थियो, र रक्सी पिएर घर आएपछि उहाँले मलाई एउटी महिलाले उहाँलाई प्रेम प्रस्ताव राखेकी छिन् र उहाँसँग घरजम गर्न चाहन्छिन् भनेर धेरै पटक भन्‍नुभएको थियो। मलाई के डर थियो भने, म घरबाट टाढा हुँदा र सजिलै फर्कन नसक्दा यसले मलाई मेरा श्रीमान्‌बाट टाढा बनाउनेछ, र उहाँले मलाई पक्कै पनि डिभोर्स दिनुहुनेछ। यदि त्यसो भयो भने, हाम्रो परिवार टुक्रिनेछ। तर फेरि मैले सोचेँ, यो कर्तव्य परमेश्‍वरबाट आएको हो, र पारिवारिक मेलमिलाप कायम राख्नका लागि मात्र मैले आफ्नो कर्तव्यलाई इन्कार गर्नु हुँदैन। त्यसैले मैले यो जिम्मेवारी स्वीकार गरेँ। त्यतिबेला, म करिब दुई हप्तामा एकपटक घर आएर केही दिन बस्थेँ, र घर तथा खेतीको सबै काम गर्थेँ, यिनै प्रयासहरूद्वारा मेरा श्रीमान्‌को मन जित्‍न सकूँ भन्ने आशा गर्थेँ। मलाई उहाँको अफेयर छ भन्ने थाहा भए पनि, मैले कहिल्यै उहाँसँग यसबारे सोधपुछ गरिनँ किनभने यसले साँच्चै डिभोर्स निम्त्याउनेछ भन्‍ने मलाई साह्रै डर लाग्थ्यो। यो कुराले मलाई प्रायः सताइरहन्थ्यो, र आफ्नो कर्तव्य निर्वाह गर्दा पनि मेरो ध्यान भड्किन्थ्यो। प्रायः, म केवल झारा टार्ने काम गर्थेँ। एउटा मण्डलीमा एक जना झूटो अगुवा थिइन् जसलाई तुरुन्तै बर्खास्त गरिनुपर्थ्यो, तर बर्खास्त गरेपछि नयाँ अगुवा छान्न समय लाग्छ भन्‍ने सोचेँ, त्यसैले घर जाने समय निकाल्नका लागि मैले उनलाई बर्खास्त गर्ने कामलाई पछि सारेँ। यसले गर्दा मण्डलीको काममा ढिलाइ भयो। अर्को पटक, माथिल्लो अगुवाले मलाई एउटा मण्डलीमा ख्रीष्ट विरोधीलाई कारबाही गर्न सहयोग गर्न भन्नुभयो। त्यतिबेला, केही ब्रदर-सिस्टरहरूले यो ख्रीष्ट विरोधीलाई खुट्ट्याउन सकेका थिएनन्, त्यसैले तिनीहरूसँग समयमै खुट्ट्याउने क्षमता सम्बन्धी सत्यता सङ्गति गर्न आवश्यक थियो। मैले सोचेँ, “ब्रदर-सिस्टरहरूले यो ख्रीष्ट विरोधीलाई खुट्ट्याउनका लागि सायद आधा महिना सङ्गति गर्नुपर्ने हुन्छ, र त्यति गर्दा पनि नतिजा आउँछ भन्ने ग्यारेन्टी छैन। अनि म कहिले घर जान पाउने?” त्यसैले मैले अगुवालाई भनेँ, “यो ख्रीष्ट विरोधी धेरै धूर्त छ, र मानिसहरूलाई भ्रममा पार्ने उसका तरिकाहरू जटिल छन्। ब्रदर-सिस्टरहरूले उसलाई खुट्ट्याउन सजिलो छैन, र म पनि उसको सामना गर्न सक्दिनँ। बरु तपाईंले यो समस्या समाधान गर्न अरू कसैलाई खोज्नुहुन्छ कि?” अगुवाले म सहकार्य गर्न इच्छुक नभएको देख्नुभयो र यसलाई सम्हाल्न अर्की सिस्टरलाई खोज्नुपर्यो। तर ती सिस्टरसँग खुट्ट्याउने क्षमता नभएकोले, यो ख्रीष्ट विरोधीलाई कारबाही गर्ने प्रक्रिया सुस्त भयो, जसले गर्दा यो ख्रीष्ट विरोधी मण्डलीमै रह्यो, र उसले दुई महिनाभन्दा बढी समयसम्म परमेश्‍वरका चुनिएका मानिसहरूलाई भ्रममा पारिरह्यो र नियन्त्रण गरिरह्यो। मण्डलीको सम्पूर्ण काम ठप्प भयो। पछि, मेरो कर्तव्यमा गैरजिम्मेवारीपनको कारण, र मैले मण्डलीको काममा गम्भीर ढिलाइ गरेको कारण, मलाई बर्खास्त गरियो। एउटा भेलाको दौरान, एक जना सिस्टरले मलाई भन्नुभयो, “तपाईंको व्यवहारको आधारमा, तपाईंलाई चिन्तनको लागि अलग गरिनुपर्छ।” उहाँका शब्दहरूले मेरो मुटुमा गहिरो चोट पार्यो। मेरो वैवाहिक सम्बन्ध जोगाउन म प्रायः घर जान्थेँ, जसले मण्डलीको काममा ढिलाइ हुन्थ्यो। मैले साँच्चै दुष्ट कार्य गरेकी थिएँ र मलाई चिन्तनको लागि अलग गरिनुपर्नेथियो। मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो: “तैँले परमेश्‍वरका आज्ञाहरूलाई कसरी व्यवहार गर्नुपर्छ भन्‍ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ। यो एकदमै गम्भीर कुरा हो! यदि परमेश्‍वरले तँलाई सुम्‍पनुभएको कुरा तँ पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तैँले आफ्नो दण्ड स्विकार्नुपर्छ। परमेश्‍वरले सुम्पनुभएका आज्ञाहरू मानिसहरूले पूरा गर्नु पूर्ण रूपमा स्वाभाविक र न्यायोचित हो। यो मानिसको सर्वोच्च जिम्मेवारी हो, र यो उसको जीवनजत्तिकै नै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्‍वरका आज्ञाहरूलाई हल्का रूपमा लिन्छस् भने, यो परमेश्‍वरलाई दिइएको सबैभन्दा गम्भीर धोका हो। त्यसो गरेर, तँ यहूदाभन्दा पनि बढी निन्दनीय हुन्छस्, र तँ श्रापित हुनुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। परमेश्‍वरका वचनहरूले गर्दा म डरले कामेँ। मैले परमेश्‍वरको क्रोध महसुस गरेँ, मानौँ म उहाँद्वारा दोषी ठहराइएकी छु। ब्रदर-सिस्टरहरूले मलाई प्रचारकको रूपमा चुनेका थिए। परमेश्‍वरको अभिप्राय भनेको उहाँका वचनहरू खान र पिउन अनि सत्यतामा प्रवेश गर्न ब्रदर-सिस्टरहरूलाई अगुवाइ गर्ने काम मलाई गर्न लगाउनु, र साथै ब्रदर-सिस्टरहरूलाई झूटा अगुवाहरू र ख्रीष्ट विरोधीहरूद्वारा बाधित र भ्रमित हुनबाट सुरक्षा दिन लगाउनु थियो। तर मेरो मन आफ्नो कर्तव्यमा कत्ति पनि थिएन। मैले मेरो विवाह सम्बन्ध र परिवारलाई अरू सबै कुराभन्दा माथि राखेँ, र म प्रायः श्रीमान्‌सँगको सम्बन्ध जोगाउन घर गइरहेँ। मण्डलीमा एक जना झूटो अगुवा छिन् भन्‍ने मलाई थाहा थियो, तर मैले उनलाई समयमै बर्खास्त गरिनँ। प्रकाश भएको ख्रीष्ट विरोधीको सन्दर्भमा पनि, म ब्रदर-सिस्टरहरूसँग खुट्ट्याउने क्षमताबारे सङ्गति गर्न समय दिन इच्छुक थिइनँ। मैले बहानाहरू पनि बनाएँ, र यो ख्रीष्ट विरोधी धेरै धूर्त छ र म यसको सामना गर्न सक्दिनँ भनेर भनेँ, र म आफ्नो कर्तव्यबाट पन्छिएँ। यसले गर्दा ख्रीष्ट विरोधीलाई मण्डलीका ब्रदर-सिस्टरहरूलाई भ्रममा पार्ने मौका मिल्यो। मेरो विवाह र परिवारको खातिर, मैले अगुवा र कामदारहरूको छनौट, झूटा अगुवाहरूको बर्खास्त, र ख्रीष्ट विरोधीलाई कारबाही गर्ने जस्ता महत्त्वपूर्ण कामप्रति उदासीनता र बेवास्ता देखाएँ। यसले मण्डलीको कामलाई हानि पुर्यायो र ब्रदर-सिस्टरहरूको जीवनलाई नोक्सान गर्यो। म कति स्वार्थी र घृणास्पद भएकी थिएँ! ममा मानवता भएको व्यक्तिको व्यवहार कहाँ थियो र? त्यसैले मैले परमेश्‍वरको अगाडि आएर प्रार्थना गरेँ, आफ्ना पापहरू स्वीकार गर्दै भनेँ, “हे परमेश्‍वर, वैवाहिक सुखको खोजमा, म आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न असफल भएकी छु र मैले अपराध गरेकी छु। तपाईंको धर्मी स्वभावअनुसार, म दण्डको भागीदार छु। तैपनि तपाईंले मलाई मेरा अपराधअनुसार व्यवहार गर्नुभएको छैन, र अझै पनि मलाई कर्तव्य निर्वाह गर्ने मौका दिनुभएको छ। अबदेखि, म तपाईंको डर मान्ने हृदय लिएर आफ्नो कर्तव्यमा लाग्न चाहन्छु।”

केही समयपछि, मेरा श्रीमान्‌ले अरू केही विश्वासीहरू पक्राउ परेको सुन्नुभयो, त्यसैले ममाथिको उहाँको सतावट झन् तीव्र भयो। एकपटक, मलाई परमेश्‍वरमा विश्वास गर्नबाट रोक्न, उहाँले मेरा सबै लुगाहरू जलाइदिनुभयो। म रिसले आगो भएँ। पछि, अवैध प्रचारको आरोपमा मलाई पक्राउ गर्न प्रहरी मेरो घरमा आयो, तर म त्यतिबेला घरमा थिइनँ र विपत्तिबाट जोगिन सफल भएँ। यसले गर्दा, मैले पाँच महिनासम्म घर जाने आँट गरिनँ। मेरा श्रीमान्‌ले मलाई खोज्न र मलाई घर आउन दबाब दिन मेरा आफन्तहरूलाई फोन गर्नुभयो, र मलाई घर फर्कन दबाब दिनका लागि, उहाँले परमेश्‍वरमा विश्वास गर्ने मेरी कजनलाई पनि उजुरी गरिदिनुभयो। यो सुनेर म स्तब्ध भएँ। उहाँले यस्तो काम गर्नुहुनेछ भनेर मैले कहिल्यै सोचेकी थिइनँ। उहाँ साँच्चै डरलाग्दो र दुर्भावपूर्ण हुनुहुँदो रहेछ भन्‍ने मलाई लाग्यो। यदि उहाँ मेरी कजनलाई उजुरी गर्न तयार हुनुहुन्छ भने, के उहाँले मलाई पनि उजुरी गर्नुहुन्न र? हाम्रो विवाह सम्बन्ध जोगाउन मैले गरेका त्यागहरू सम्झिएँ, र मलाई ती सब व्यर्थ थिए भन्‍ने लाग्यो। तर जब मैले म घर फर्कन पाउँदिनँ र हाम्रो परिवार यसरी भत्किनेछ, अनि मैले सधैँ खोजेको सुखी वैवाहिक जीवन समाप्त हुनेछ भन्ने सोचेँ, तब मलाई अझै पनि धेरै पीडा महसुस भयो। म प्रार्थनामा परमेश्‍वरको अगाडि आएँ, र उहाँले मलाई यो गलत स्थितिबाट बाहिर निकाल्नुहुनेछ भन्ने आशा गरेँ।

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “विवाहित मानिसहरू सधैँ विवाहलाई जीवनको ठूलो घटना ठान्छन् र विवाहमाथि ठूलो जोड दिन्छन्। त्यसकारण तिनीहरू आफ्नो जीवनको खुसीलाई आफ्नो वैवाहिक जीवन र आफ्नो जोडीको जिम्मामा छोड्छन्, र वैवाहिक सुख यो जुनीमा पछ्याउनुपर्ने एकमात्र लक्ष्य हो भन्‍ने विश्‍वास गर्छन्। त्यसैले धेरै मानिसहरूले वैवाहिक सुखको निम्ति ठूलो प्रयत्न गर्छन्, ठूलो मूल्य चुकाउँछन्, र ठूलो त्याग गर्छन्। … कतिपय त्यस्ता मानिसहरू समेत छन्, जो परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि आफूलाई परमेश्‍वरको घरले दिएको कर्तव्य र आज्ञा स्विकार्छन्, तर आफ्नो वैवाहिक सुख र सन्तुष्टि कायम राख्नको निम्ति कर्तव्य निभाउनमा धेरै नै चुक्छन्। खासमा तिनीहरूले टाढाको ठाउँ गएर सुसमाचार प्रचार गर्नुपर्ने, र हप्तामा एकपटक वा लामो समयको अन्तरालमा घर फर्कनुपर्ने हुन्छ, वा घर छोडेर आफ्नो विविध क्षमता र अवस्थाअनुसार पूर्णकालीन रूपमा कर्तव्य निभाउनुपर्ने हुन सक्छ, तर तिनीहरू आफ्नो जोडी आफूबाट बेखुसी होला, आफ्नो वैवाहिक जीवन खुसीपूर्ण नहोला, वा आफ्नो वैवाहिक जीवन पूर्णतया गुम्ला भन्‍ने डर मान्छन्, र कर्तव्य निभाउनमा खर्चनुपर्ने धेरै समय वैवाहिक सुख कायम राख्नको निम्ति बलि चढाउँछन्। विशेषगरी जब तिनीहरूले आफ्नो जोडीले गुनासो गरेको, र बेखुसी वा बिलौना प्रकट गरेको सुन्छन्, तिनीहरू वैवाहिक जीवन कायम राख्नमा झनै बढी सचेत बन्छन्। तिनीहरूले आफ्नो जोडीलाई सन्तुष्ट पार्न आफूले सकेको सबै गर्छन् र आफ्नो वैवाहिक जीवन खुसीपूर्ण बनाउन मेहनत गर्छन् ताकि त्यो नटुटोस्। अनि अवश्य नै, योभन्दा गम्भीर कुरा के छ भने, कतिपय मानिसहरूले परमेश्‍वरको घरको बोलावट अस्वीकार गर्छन् र आफ्नो वैवाहिक सुख कायम राख्नको निम्ति आफ्नो कर्तव्य निर्वाह गर्न इन्कार गर्छन्। जब तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न घर छोड्नुपर्ने हुन्छ, तब तिनीहरू आफ्नो जोडीसँग छुट्न नसक्ने भएर वा सासू-ससुराले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको र जागिर त्यागी कर्तव्य निर्वाह गर्न घर छोड्ने कुराको विरोध गर्ने भएर, तिनीहरूले सम्झौता गर्छन् र कर्तव्य त्याग्छन्, र आफ्नो वैवाहिक सुख र विवाहको पूर्णता कायम राख्ने निर्णय गर्छन्। वैवाहिक सुख र विवाहको पूर्णता कायम राख्नको निम्ति, र आफ्नो विवाह टुट्न र अन्त्य हुनबाट जोगाउनको लागि, तिनीहरू विवाहित जीवनका जिम्मेवारी र दायित्वहरू पूरा गर्न मात्र खोज्छन् र सृजित प्राणीको मिसन त्याग्छन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१०))। परमेश्‍वरका वचनहरूले मेरो स्थितिलाई खुलासा गर्यो। म बाल्यकालदेखि नै पारिवारिक मूल्यमान्यताहरूबाट प्रभावित भएकी थिएँ, र एउटी नारीको जीवनको खुसी उनको वैवाहिक जीवन सुखी छ कि छैन र श्रीमान्‌ले उनलाई माया गर्छन् कि गर्दैनन् भन्ने कुरामा निर्भर हुन्छ भन्ने विश्वास गर्थेँ। मैले सुखी परिवारको खोजलाई आफ्नो जीवनको लक्ष्य मानेकी थिएँ। म “जीवन बहुमूल्य छ; प्रेम त अझ बढी बहुमूल्य छ” र “एउटै साँचो मन पाऊँ र जीवनको अन्त्यसम्म कहिल्यै नछुट्टिऊँ” भन्ने शैतानी विचारहरूअनुसार जिइरहेकी थिएँ। मैले मेरा श्रीमान्‌लाई मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति बनाएकी थिएँ, र मेरो जीवनभरको खुसी उहाँलाई सुम्पेकी थिएँ। परमेश्‍वरमा विश्वास गर्न थाल्नुभन्दा पहिले, सुखी वैवाहिक जीवनको खोजमा मैले आफूलाई मेरा श्रीमान्‌ र परिवारप्रति पूर्ण रूपमा समर्पित गरेकी थिएँ। मैले परमेश्‍वरमा विश्वास गर्न थालेपछि, मेरा श्रीमान्‌ चिनियाँ कम्युनिस्ट पार्टीले फैलाएका आधारहीन अफवाहहरूबाट प्रभावित हुनुभयो, र उहाँले मलाई परमेश्‍वरमा विश्वास गर्न निषेध गर्दै मलाई सताउन थाल्नुभयो, यहाँसम्म कि उहाँले मलाई डिभोर्सको धम्की दिनुभयो र ममाथि हिंसा गर्नुभयो। हाम्रो यो विवाह सम्बन्ध नटुटोस् भनेर, मैले चुपचाप सहिरहेँ र सम्झौता गरिरहेँ, र जब उहाँले मलाई रूखो व्यवहार गर्नुहुन्थ्यो र गिज्याउनुहुन्थ्यो, तब पनि म अझै उहाँलाई खुसी पार्न सक्रिय भई प्रयास गर्थेँ, घरधन्दामा बढी समय बिताउँथेँ र मैले निर्वाह गर्नुपर्ने कर्तव्यहरूलाई बेवास्ता गर्थेँ। विशेषगरी जब म प्रचारक भएँ, तब मलाई यो कर्तव्य धेरै महत्त्वपूर्ण छ र यसमा धेरै मण्डलीहरूको काम समावेश छ भन्‍ने स्पष्ट थाहा थियो, तर हाम्रो वैवाहिक सम्बन्ध टुट्छ कि भन्ने डरले, म प्रायः श्रीमान्‌सँगको सम्बन्ध जोगाउन घर जान्थेँ, र म आफ्नो कर्तव्यमा तनमन दिन सक्दिनथिएँ। जब मण्डलीहरूमा ख्रीष्ट विरोधीहरू र झूटा अगुवाहरू देखा परे, तब मेरो परिवारलाई जोगाउने प्रयासले गर्दा मैले तिनीहरूलाई समयमै कारबाही गर्न सकिनँ, र यसले मण्डलीको काममा ढिलाइ गरायो। हाम्रो वैवाहिक सम्बन्ध बचाउन र श्रीमान्‌सँगको सम्बन्ध जोगाउन, मैले आफ्ना जिम्मेवारी र कर्तव्यहरूलाई पूर्ण रूपमा बेवास्ता गरेँ र गम्भीर अपराधहरू गरेँ। मैले म कति हठी र स्वार्थी रहेछु भन्‍ने देखेँ। चिन्तन गरेपछि, मलाई आफैप्रति साँच्चै घृणा जाग्यो।

पछि, मैले परमेश्‍वरका केही वचनहरू पढेँ: “तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सिकेस्, अर्को व्यक्तिसँग शान्तिपूर्वक जिउन र ऊसँग तेरो जीवन बाँड्न सिकेस्, आफ्नो जोडीसित आफ्नो जीवन बाँड्दा कस्तो हुन्छ भनी अनुभव गरेस्, र आफूलाई आइपर्ने सम्पूर्ण कुरा सँगै मिलेर सम्हाल्न सिकेर, तेरो जीवन अझ समृद्ध र फरक बनाउन बनाएस् भनेर नै परमेश्‍वरले तेरा लागि विवाहको नियोजन गर्नुभएको छ। तर, उहाँले तेरो विवाह गराएर तँलाई बेच्नुभएको छैन, र अवश्य नै, उहाँले तँलाई तेरो जोडीको दास बनाउन तँलाई बेच्नुभएको छैन। तँ उसको दास होइनस्, र ऊ पनि तेरो मालिक होइन। तिमीहरू बराबर हौ। तेरो आफ्नो जोडीप्रति स्वास्नी (वा लोग्नेको) जिम्मेवारी मात्र हुन्छ, र तैँले यी जिम्मेवारीहरू पूरा गर्दा, परमेश्‍वर तँलाई मानकअनुरूपको स्वास्नी (वा लोग्ने) मान्नुहुन्छ। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् र सत्यता पछ्याउँछस्, आफ्नो कर्तव्य पूरा गर्न सक्छस्, र प्राय: भेलाहरूमा सहभागी हुन्छस्, प्रार्थना गर्दै परमेश्‍वरका वचनहरू पढ्छस्, र परमेश्‍वरसामु आउँछस् भने, यी परमेश्‍वरले स्विकार्ने कुरा हुन्; ती सृजित प्राणीले गर्नुपर्ने कुरा हुन्, अनि एउटा सृजित प्राणी जिउनुपर्ने सामान्य स्थिति यही नै हो। यसमा लाज मान्नुपर्ने कुनै कुरा छैन, र तैँले आफूले यस्तो जीवन जिउने भएकाले तँ आफ्नो जोडीप्रति कुनै कुराको ऋणी भएको महसुस गर्नु आवश्यक छैन—तेरो जोडीप्रति तँ कुनै कुराको ऋणी छैनस्। यदि तैँले चाहेमा, तँमा आफ्नो जोडीलाई परमेश्‍वरको कामको गवाही दिने दायित्व छ। तर, यदि ऊ परमेश्‍वरमा विश्‍वास गर्दैन, र ऊ तँसँग एकाइ मनको छैन र तैँले पछ्याउने मार्ग पछ्याउँदैन भने, उसलाई कुनै कुराबारे बताउनु वा व्याख्या गर्नु वा आफ्नो आस्था वा आफूले पछ्याउने मार्गबारे कुनै जानकारी दिनु आवश्यकता छैन वा दायित्व हुँदैन, न त त्यसबारे जान्ने उसको कुनै अधिकार नै हुन्छ। तँलाई साथ दिनु, प्रोत्साहन दिनु र रक्षा गर्नु उसको जिम्मेवारी र दायित्व हो। यदि उसले यो गर्न सक्दैन भने, उसमा मानवता छैन। किन? किनभने तँ सही मार्ग पछ्याउँछस्, र तैँले सही मार्ग पछ्याउने भएकाले नै तेरो परिवार र तेरो जोडी आशिषित् छन् र तँसँगै तिनीहरूले परमेश्‍वरको अनुग्रह पाउँछन्। तेरो जोडीले तेरो आस्था वा तैँले उत्पीडन भोगिरहेको कारण तँविरुद्ध भेदभाव गर्नु वा तँलाई हेप्नु, वा तैँले अझ बढी घरायसी कामधन्दा र अन्य कुरा गर्नुपर्छ, वा तँ उसको ऋणी होस् भनी विश्‍वास गर्नुको साटो यसका लागि ऊ कृतज्ञ हुनु एकदमै ठिक हो। तँ ऊप्रति भावनात्मक, आत्मिक, वा अरू कुनै रूपमा ऋणी छैनस्—उसको चाहिँ तँप्रति दायित्व छ। तैँले परमेश्‍वरमा आस्था राखेको कारण, उसले परमेश्‍वरबाट अतिरिक्त अनुग्रह र आशिष् पाउँछ, र उसले आफू हकदार नभएका यी कुराहरू पाउँछ। मैले ‘उसले आफू हकदार नभएका यी कुराहरू पाउँछ’ भन्नुको अर्थ के हो? मेरो भन्नुको अर्थ हो, त्यस्तो व्यक्ति ती कुराहरू पाउन योग्य हुँदैन र उसले ती कुराहरू पाउनु हुँदैन। किन उसले ती पाउनु हुँदैन? किनभने ऊ परमेश्‍वरलाई पछ्याउँदैन र स्विकार्दैन, त्यसैले तैँले परमेश्‍वरमा आस्था राखेको कारण उसलाई अनुग्रह प्राप्त हुन्छ। तँसँगै उसले पनि लाभ र आशिष् पाउँछ, र ऊ तँप्रति कृतज्ञ हुनैपर्छ। … विश्‍वास नगर्नेहरू अझै सन्तुष्ट छैनन्, र तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई दबाउने र हेप्नेसमेत गर्छन्। देश र समाजले विश्‍वासीहरूलाई दिने उत्पीडन तिनीहरूका लागि विपत्ति बनिसकेको छ, अनि त्यसमाथि पनि तिनीहरूको परिवारका सदस्यहरूले झनै बढी दबाब दिन्छन्। यस्ता परिस्थितिमा, यदि तँ अझै आफूलाई तिनीहरूको ऋणी भन्ठान्छस् र आफ्नो विवाहको दास बन्न चाहन्छस् भने, त्यो पूर्ण रूपमा अनुचित कुरा हो। तिनीहरू तँलाई परमेश्‍वरमा विश्‍वास गर्न साथ दिँदैनन् भने ठिकै छ; तिनीहरू परमेश्‍वरप्रतिको तेरो विश्‍वासको बचाउ गर्दैनन् भने त्यो पनि ठिकै छ। तिनीहरूले ती कुराहरू नगर्न पाउँछन्। तर, तैँले परमेश्‍वरमा विश्‍वास गरेकै कारण तिनीहरूले तँलाई दासजस्तो व्यवहार गर्नु मिल्दैन। तँ दास होइनस्, तँ मानव होस्, मर्यादित र सोझो व्यक्ति होस्। कम्तीमा पनि, परमेश्‍वरसामु तँ सृजित प्राणी होस्, न कि कसैको दास। यदि तँ दास हुनैपर्छ भने, सत्यता र परमेश्‍वरको मात्र दास हुन सक्छस्, कुनै व्यक्तिको दास हुन सक्दैनस्, झन् तेरो जोडी तेरो मालिक हुन परको कुरा हो। दैहिक सम्बन्धको सन्दर्भमा भन्नुपर्दा, तेरा आमाबुबाबाहेक यो संसारमा तेरो निकटतम व्यक्ति भन्नु नै तेरो जोडी हो। तैपनि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भन्दैमा, उसले तँलाई आक्रमण गर्छ र सताउँछ, मानौँ तँ उसको शत्रु होस्। उसले तँ भेलामा सहभागी भएकोमा आपत्ति जनाउँछ; यदि उसले कुनै गफगाफ सुन्यो भने घर आएर तुरुन्तै तँलाई गाली गर्छ र कुट्छ। तैँले घरमा प्रार्थना गर्दा वा परमेश्‍वरका वचन पढ्दा र उसको सामान्य जीवनमा असर नपुऱ्याउँदा समेत उसले तँलाई गाली र विरोध गर्नेछ, र कुटपिटसमेत गर्नेछ। मलाई भन् त, ऊ कस्तो प्रकारको प्राणी हो? के ऊ पिशाच होइन र? के तेरो निकटतम व्यक्ति यही हो? के यस्तो व्यक्ति तैँले ऊप्रति कुनै जिम्मेवारी पूरा गर्नुको लायक हुन्छ? (हुँदैन।) यस्तो वैवाहिक जीवनमा हुने कतिपय मानिस आफ्नो जोडीले जे भन्छ त्यही गर्छन्, र उसका लागि सबथोक त्याग्न तत्पर हुन्छन्—आफ्नो कर्तव्य पूरा गर्नमा खर्चनुपर्ने समय, आफ्नो कर्तव्य पूरा गर्ने अवसर, र आफूले मुक्ति प्राप्त गर्ने अवसरसमेत त्याग्न तत्पर हुन्छन्। यीमध्ये कुनै पनि कुरा उचित होइनन्, र कम्तीमा पनि तिनीहरूले यस्ता विचार त्याग्नुपर्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (११))। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने, परमेश्‍वरले मानिसहरूलाई जिम्मेवारी पूरा गर्न सिक्न लगाउन र प्रचुरताको जीवन अनुभव गर्न दिनका लागि विवाह सम्बन्धको नियोजन गरिदिनुभएको हो, विवाह सम्बन्धको दास बन्न लगाउनका लागि होइन। विवाह सम्बन्दमा जिम्मेवारी पूरा गर्दा सिद्धान्तहरू हुनुपर्छ। यदि अर्को व्यक्तिमा राम्रो मानवता छ र उसले परमेश्‍वरमाथिको हाम्रो विश्वासलाई समर्थन गर्छ भने, हामीले विवाहको दायराभित्र रहेर आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छौँ। तर, यदि अर्को व्यक्तिले परमेश्‍वरमाथिको हाम्रो विश्वासमा बाधा दिन्छ र हामीलाई सताउँछ वा दोषी ठहराउँछ समेत भने, यो त दियाबलसले आफ्नो रूप देखाइरहेको हो, र उसको सारले नै परमेश्‍वरलाई घृणा गर्छ। यस्तो अवस्थामा, हामीले आफ्ना जिम्मेवारीहरू पूरा गर्नु पर्दैन। यदि कुनै व्यक्तिले असल र खराबबीचको भिन्नता छुट्याउन सक्दैन र अझै पनि यस्तो जीवनसाथीलाई समातिराख्न चाहन्छ भने, ऊ पूर्ण रूपमा मूर्ख र अज्ञानी हो! मैले परमेश्‍वरमा विश्वास गर्नु र सृजित प्राणीको कर्तव्य निर्वाह गर्नु परमेश्‍वरबाट अनुमोदित र सबैभन्दा इन्साफपूर्ण काम हो, तर मेरा श्रीमान्‌ले मलाई समर्थन गर्नु त कता हो कता, उल्टै मलाई शत्रुको रूपमा व्यवहार गर्नुभयो, मलाई कुट्नुभयो, गाली गर्नुभयो, र मलाई परमेश्‍वरमा विश्वास त्याग्न लगाउन दबाब दिन डिभोर्सको धम्की दिनुभयो। तथ्यहरूले स्पष्ट रूपमा के प्रकाश गर्यो भने, मेरा श्रीमान्‌ले परमेश्‍वरलाई घृणा गर्नुहुन्थ्यो र उहाँको सार एउटा दियाबलसको सार थियो। उहाँलाई चिनियाँ कम्युनिस्ट पार्टी मेरो पछि लागेको छ र म घर फर्किएँ भने जुनसुकै बेला पक्राउ पर्न सक्छु भन्‍ने राम्ररी थाहा थियो, तैपनि मलाई घर फर्कन दबाब दिन उहाँले मेरी कजनलाई उजुरी गरिदिनुभयो। उहाँलाई मेरो जीवन वा मृत्युको कुनै वास्ता थिएन! उहाँ साँच्चै स्वार्थी र दुर्भावपूर्ण हुनुहुन्थ्यो! पछि, मैले के महसुस गरेँ भने, पहिले उहाँले मलाई राम्रो व्यवहार गर्नुको कारण त मैले हाम्रो परिवार र उहाँकी आमाको हेरचाह गर्न सक्थेँ, जसले उहाँलाई फाइदा हुने भएकोले रहेछ; नत्र उहाँले मलाई धेरै पहिले नै डिभोर्स दििसक्नुहुन्थ्यो। उहाँले मलाई साँच्चै माया गर्नुहुन्नथियो, र उहाँको नजरमा, म केवल उहाँको स्वार्थ पूरा गर्ने माध्यम मात्र थिएँ। तर मैले सधैँ उहाँलाई मेरो सहारा मानेकी थिएँ र मेरो जीवनभरको खुसी उहाँलाई सुम्पेकी थिएँ। उहाँलाई जोगाउन र उहाँको मन जित्न मैले मेरा कर्तव्यहरूलाई पन्छाएकी समेत थिएँ। यो सोच्दा, मैले म त मूर्ख बनेकी रहेछु भन्‍ने महसुस गरेँ, र म कति अन्धो भएकी रहेछु भन्ने देखेँ! अब मलाई के स्पष्ट भयो भने, मेरा श्रीमान्‌को सार परमेश्‍वरलाई घृणा गर्ने दियाबलसको सार हो। परमेश्‍वरलाई घृणा गर्ने व्यक्तिसँग मैले कसरी खुसी पाउन सक्छु? उहाँसँग मैले खुसी पाउनु त परको कुरा, उल्टै मैले उहाँबाट अझ बढी हानि भोग्नेथिएँ। म उप्रान्त उहाँद्वारा बाँधिनु हुँदैनथियो। मैले लगनशीलताका साथ सत्यता पछ्याउनुपर्थ्यो र आफ्नो क्षमताले भ्याएसम्म कर्तव्य पूरा गर्न प्रयास गर्नुपर्थ्यो।

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “विवाहको कुरामा भन्नुपर्दा, जस्तोसुकै फाटो देखा परे पनि वा जे परिणाम उत्पन्न भए पनि, चाहे विवाह रहोस् वा नरहोस्, तैँले आफ्नो विवाहमा नयाँ जीवन सुरु गरे पनि, वा त्यति बेलै र त्यहीँ नै तेरो विवाह अन्त्य भए पनि, विवाह तेरो गन्तव्य होइन, र तेरो श्रीमान पनि तेरो गन्तव्य होइन। परमेश्‍वरले उसलाई त तेरो जीवन र अस्तित्वमा देखा परेर तेरो जीवन यात्रामा तँलाई साथ दिने भूमिका खेल्ने मात्र तोक्नुभएको हो। यदि ऊ तँलाई यात्राको अन्त्यसम्म साथ दिन र अन्तिम अवस्थासम्म तँसँगै हुन सक्छ भने, त्योभन्दा राम्रो केही हुँदैन, र तँले परमेश्‍वरलाई उहाँको अनुग्रहका लागि धन्यवाद दिनुपर्छ। यदि विवाहमा कुनै समस्या आयो भने, चाहे फाटो आओस् वा तँलाई मन नपर्ने केही आइपरोस्, र अन्ततः विवाह अन्त्य भए पनि, त्यसको अर्थ अब तेरो गन्तव्य नै छैन, अब तेरो जिन्दगी अन्धकार भएको छ, वा त्यसमा कुनै उज्यालो छैन, र तेरो भविष्य छैन भन्‍ने होइन। तेरो विवाह अन्त्य हुनु अझ राम्रो जीवनको थालनी हुन सक्छ। यो सब परमेश्‍वरको हातमा छ, र त्यो परमेश्‍वरले नै योजना मिलाउने र बन्दोबस्त गर्ने हो। हुन सक्छ, तेरो विवाह अन्त्य हुँदा तैँले विवाहबारे अझै गहन समझ पाउँछस् र विवाहको मूल्याङ्कन गर्न सक्छस् र विवाहलाई बुझ्छस्। अवश्य पनि, तेरो विवाह अन्त्य हुनु तेरा लागि आफ्नो जीवनको लक्ष्य र दिशा, साथै आफू हिँड्ने मार्गमा महत्त्वपूर्ण मोड हुन सक्छ। त्यसले तँलाई तिता यादहरू छोड्नेछैन, झन् पीडादायी यादहरू छोड्नु त परै जाओस्, न त त्यो सबै नकारात्मक अनुभव र नतिजा नै हुनेछन्, बरु त्यसबाट तैँले सकारात्मक र सक्रिय अनुभवहरू बटुल्नेछस् जुन यदि तँ विवाहित रहेको भए पाउन सक्थिनस्। यदि तेरो विवाह जारी रहेको भए, सायद तँ आफ्नो अन्तिम दिनसम्म सधैँ यस्तै सादा, औसत र फिका जीवन जिउनेथिस्। तर यदि तेरो विवाह अन्त्य भयो र टुट्यो भने, त्यो नराम्रो हो भन्न मिल्दैन। पहिले तँ आफ्नो विवाहको खुसी र जिम्मेवारी, साथै श्रीमानप्रतिको चासो, हेरचाह, ध्यान, वास्ता, र चिन्ताको भावना वा जीवनशैलीद्वारा नियन्त्रित थिइस्। तर, तेरो विवाह अन्त्य भएको दिनदेखि, तेरो जीवनका सबै परिस्थिति, जिउनुका लक्ष्य र जीवनका पछ्याइको आमूल र पूर्ण परिवर्तन हुनेछन्, अनि यो परिवर्तन तेरो विवाह अन्त्य हुनुको नतिजा हो भनेर भन्नैपर्छ। परमेश्‍वर तेरा लागि उहाँले तोकेको विवाहबाट तैँले यही नतिजा, परिवर्तन र रूपान्तरण पाएको चाहनुहुन्छ, अनि उहाँ तैँले आफ्नो विवाह अन्त्य गरेर यही प्राप्त गरेस् भन्‍ने चाहनुहुन्छ। तैँले चोट पाएको र कष्टदायी मार्गमा हिँडेको भए पनि, अनि तैँले विवाहको संरचनाभित्र केही अनावश्यक त्याग र सम्झौताहरू गरेको भए पनि, अन्त्यमा जे प्राप्त गर्छेस् त्यो विवाहित जीवनमा प्राप्त गर्न सकिँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (११))। परमेश्‍वरका वचनहरू पढेपछि, मेरो हृदय उज्यालो भयो। परमेश्‍वरले मानिसहरूका लागि विवाह सम्बन्धको नियोजन गरिदिनुभएको छ, तर विवाह सम्बन्ध मानवको गन्तव्यचाहिँ होइन। कुनै व्यक्तिको वैवाहिक जीवन सुखी र सन्तोषजनक छ कि छैन, वा त्यो टुटेर अन्त्य भएको छ कि छैन, यसको कुराको त्यो व्यक्तिले राम्रो गन्तव्य पाउँछ कि पाउँदैन भन्ने कुरासँग कुनै सम्बन्ध हुँदैन, न त यसले उसको जीवन सुखी हुन्छ कि हुँदैन भन्ने नै निर्धारण गर्छ। तैपनि, मैले विवाह सम्बन्धलाई मेरो गन्तव्य र मेरा श्रीमान्‌लाई मेरो सहारा मानेकी थिएँ, त्यसैले जब मैले मेरो विवाह सम्बन्ध टुट्दै गरेको र केवल नाम मात्रको रहेको देखेँ, तब मलाई मसँग कुनै विकल्‍प छैन भन्‍ने लाग्यो: मेरो मन भारी भयो, र मैले एक्लो र असहाय महसुस गरेँ, र अगाडिको जीवन कसरी सामना गर्ने मलाई थाहा थिएन। अहिले, मैले मेरा दृष्टिकोणहरू सत्यता अनुरूप छैनन् भन्‍ने महसुस गर्न पुगेँ। परमेश्‍वरका वचनहरूबाट, मैले के देखेँ भने, कसैको विवाह सम्बन्ध टुट्नुको अर्थ त्यो व्यक्तिको भविष्य हुँदैन वा उसको जीवन अन्धकारमय हुनेछ भन्ने हुँदैन; यो त अझ सुन्दर जीवनको सुरुवात हुन सक्छ। विगतमा, सुखी वैवाहिक जीवन जोगाउनका लागि, म घरभित्र र बाहिरका सबै काम गर्थेँ, र ढाड दुख्ने गरी दिनभरि खटिन्थेँ, र म श्रीमान्‌को मुडअनुसार पनि चल्नुपर्थ्यो। तर अझ खराब कुरा त, म आफ्नो कर्तव्यमा पूर्ण रूपमा समर्पित हुन सक्दिनथिएँ। म केवल झारा टार्ने काम गर्थेँ, र यसले मण्डलीको काममा ढिलाइ हुन्थ्यो। मलाई प्रायः बेचैनी हुन्थ्यो, मानौँ मेरो मुटुमा ढुङ्गा राखिएको छ, र म पीडा र थकानको स्थितिमा जिउँथेँ। वैवाहिक सुखको खोजले मलाई अझ बढी आत्मिक दमन र पीडा मात्र दियो। विगत केही महिनामा, चिनियाँ कम्युनिस्ट पार्टीको सतावटको कारण म घर जान सकिनँ, र जब मैले आफ्नो कर्तव्य पूरा गर्न मन स्थिर गरेँ, तब मेरो शरीरको थकाइ कम भएको महसुस भयो, र मेरो मन पहिलेभन्दा धेरै हलुका भयो। जब मैले परमेश्‍वरका वचनहरू खान र पिउन अनि ब्रदर-सिस्टरहरूसँग मण्डली जीवन जिउन आफूलाई शान्त बनाएँ, तब म केही सत्यताहरू बुझ्न सक्षम भएँ, र मेरो हृदय आनन्दले भरियो। यो मेरो जीवनका लागि साँच्चै फाइदाजनक थियो। अहिले, मसँग मेरा श्रीमान्‌को साथ र हेरचाह नभए पनि, जब म कठिनाइ र पीडाको सामना गर्छु, तब म परमेश्‍वरसँग प्रार्थना गर्छु, र परमेश्‍वरका वचनहरूको निर्देशनमा, मलाई परमेश्‍वर मेरो साथमै हुनुहुन्छ, र उहाँ नै मेरो साँचो सहारा हुनुहुन्छ भन्‍ने महसुस हुन्छ। यी कुराहरू बुझेपछि, मलाई अब आफ्नो विवाह सम्बन्ध जोगाउने चिन्ता लाग्न छोड्यो, र लामो समयदेखि दबिएको मेरो मनले, अब स्वतन्त्र महसुस गर्न थाल्यो। पछि, मैले अन्य क्षेत्रहरूमा निरन्तर आफ्नो कर्तव्य पूरा गरिरहेँ र म घर फर्किनँ।

तीन वर्षपछि एक दिन, मैले पार्कमा एउटी सिस्टरलाई भेट्ने योजना बनाएकी थिएँ, र बाटोमा मेरा श्रीमान्‌को भिनाजुले मलाई देख्नुभयो। उहाँ निकै छक्क पर्नुभयो र उहाँले मलाई नै खोजिरहनुभएको भनेर बताउनुभयो। उहाँकी श्रीमतीलाई क्यान्सर भएको थियो र उहाँको जुनसुकै बेला बित्न सक्नुहुन्थ्यो, र उहाँले मलाई उहाँको घर आउन कर गरिरहनुभयो। मैले कसरी मेरा श्रीमान्‌ले प्रायः हाम्रो छोरीलाई फोन गरेर मेरो अत्तोपत्तो सोधिरहनुहुन्थ्यो, उहाँ मलाई खोज्न मेरी आमाको घरमा पनि जानुहुन्थ्यो, र उहाँले मलाई फेला पार्न आफन्तहरूलाई फोन गरिरहनुहुन्थ्यो भन्‍ने कुरा सम्झेँ। यदि म उहाँकी दिदीको घर गएँ भने, उहाँले तुरुन्तै थाहा पाउनुहुनेछ। यदि मेरा श्रीमान्‌ले मलाई देख्नुभयो र मलाई घरमा बस्न बिन्ती गर्नुभयो भने के गर्ने? मैले मेरी बूढी सासूलाई सम्झिएँ, र यदि उहाँकी दिदी बित्नुभयो भने, उहाँको जीवन कति गाह्रो हुनेछ भनेर सोचेँ। जे भए पनि हाम्रो विवाह भएको यतिका वर्ष भयो, र म गएको झन्डै तीन वर्ष भइसक्यो, त्यसैले के उहाँले मलाई अझै पनि पहिले जस्तै सताउनुहुन्छ होला त? यसबारे सोचेपछि, म अझै पनि दोधारमा परेँ, त्यसैले मैले मौन रूपमा परमेश्‍वरसँग प्रार्थना गरेँ, मलाई निर्देशन दिन र डोर्याउन उहाँलाई बिन्ती गरेँ। प्रार्थना गरेपछि, मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो: “के जनावर र दियाबलसहरू मानिस बन्न सक्छन्? यो असम्भव छ। ठूलो रातो अजिङ्गरलाई दुष्ट काम गर्न छोड्न लगाउनु असम्भव छ; त्यसको प्रकृति दियाबलसको हो—त्यसले आँखा झिमिक्क नगरी मानिसहरूलाई मार्छ। दियाबलस र शैतान एउटै समूहका हुन्। तैँले ठूलो रातो अजिङ्गरलाई जसरी हेर्छस्, त्यसरी नै यी जनावर र दियाबलसहरूलाई हेर्नुपर्छ; यो सही हुन्छ। यदि तैँले दियाबलसहरूलाई शैतान र ठूलो रातो अजिङ्गरलाई हेर्नेभन्दा फरक तरिकाले हेरिस् भने, यसले के प्रमाणित गर्छ भने, तँलाई अझै पनि दियाबलसहरूको सारको पूर्ण बुझाइ छैन; यदि तैँले अझै पनि तिनीहरूलाई मानिसको रूपमा व्यवहार गर्छस्, तिनीहरूमा मानवता छ, केही प्रशंसनीय गुणहरू छन्, र तिनीहरूले अझै पनि छुटकारा पाउन सक्छन् भनी विश्‍वास गर्छस्, र तैँले अझै पनि तिनीहरूलाई मौका दिन आवश्यक ठान्छस् भने, तँ अज्ञानी होस्, तँ फेरि तिनीहरूको चालमा फसेको छस्, र तैँले यसको लागि मूल्य चुकाउनुपर्नेछ(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१५))। एउटा दियाबलस सधैँ दियाबलस नै हुन्छ र ऊ कहिल्यै मानव बन्नेछैन। मेरा श्रीमान्‌ले परमेश्‍वरलाई घृणा र विरोध गर्नुहुन्थ्यो, र उहाँको सार एउटा दियाबलसको सार थियो। मैले मेरा श्रीमान्‌प्रति सहानुभूति राख्नु हुँदैनथियो, नत्र उहाँले मलाई चोट मात्र पुर्याउनुहुन्थ्यो। जेसुकै भए पनि, म फर्कनु हुँदैनथियो। त्यसपछि मैले परमेश्‍वरका जरुरी अभिप्रायहरूबारे सोचेँ। परमेश्‍वरले अझ धेरै मानिसहरू उहाँको अगाडि आउन सकून् र तिनीहरूले सकेसम्म चाँडो उहाँको मुक्ति स्वीकार गर्न सकून् भन्‍ने आशा गर्नुहुन्छ, त्यसैले यो निर्णायक घडीमा, सुसमाचारको काममा सहकार्य गर्न मैले सक्दो प्रयास गर्नुपर्थ्यो। वैवाहिक सुखको पछि लागेको कारण विगतमा आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह नगरेकोमा मलाई पछुतो थियो। अहिले मैले यसको भर्पाइ गर्नुपर्थ्यो र म परमेश्‍वरको प्रेमको बदला दिन आफ्ना कर्तव्यहरूमा बफादार हुनुपर्थ्यो। त्यसपछि, मैले आफूलाई नयाँ विश्वासीहरूलाई मलजल गर्ने काममा समर्पित गरेँ र मैले सहज र शान्ति महसुस गरेँ। मलाई विवाह सम्बन्धको पीडाबाट उकास्नुभएकोमा म परमेश्‍वरप्रति हृदयदेखि कृतज्ञ छु।

अघिल्लो: ८. बिमारको अनुभवबाट मैले धेरै कुरा प्राप्त गरें

अर्को: १०. मेरा उच्च अपेक्षाहरूले मेरो छोरालाई हानि गर्यो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१३. इमानदार व्यक्ति हुनलाई लडाइँ

वेइ झोङ्ग, चीनकेही वर्षहरू अघि मैले एउटा उपकरण मर्मत पसल खोलेँ। म इमानदार व्यवसाय चलाउन चाहन्थेँ, र अलिकति पैसा कमाउन चाहन्थेँ ताकि मेरो...

३४. आफ्नो देखावटी आवरणलाई उतार्दा कति राम्रो अनुभव हुँदो रहेछ

चेन युआन, चीनसेप्टेम्बर २०१८ मा, म मण्डलीको अगुवाको रूपमा चुनिएँ। त्यस बेला म निकै खुशी थिएँ। मेरा धेरैजसो दाजुभाइ र दिदीबहिनीहरूभन्दा म नै...

७२. एक ढोङ्गीको पश्‍चात्ताप

क्षिनरुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्