७९. म पैसाका लागि जिउन छोडेँ
म सानो छँदा मेरो परिवार धेरै गरिब थियो। हाम्रा आफन्त र छिमेकी सबैले हामीलाई हेयको दृष्टिले हेर्थे, र छिमेकीका बच्चा मसँग खेल्दैनथे। एक चोटिको कुरा हो, म खुसी हुँदै छिमेकीको बच्चासँग खेल्न भनेर गएँ, तर उनको घरको ढोकानेर के पुगेकी थिएँ, उनले अचानक ढोका बन्द गरिन्। यो दृश्य मेरो बाल्यकालको सम्झनामा छाप बनेर बसेको छ। यसले मेरो आत्मसम्मानमा निकै ठेस पुग्यो। म स्कुल जान थालेपछि सहपाठी र शिक्षकले पनि मलाई हेयको दृष्टिले हेर्थे। अरू परिवारका बच्चाहरूको राम्रो ब्याग, पेन्सिल केस र लुगा देख्दा अनि आफूसँग त्यस्तो नभएको पाउँदा म हरेक दिन अरू परिवारको जस्तै मेरो परिवारसँग पनि धेरै पैसा भएको भए कति राम्रो हुन्थ्यो भनी सोच्थेँ। अनि मानिसले मलाई हेयको दृष्टिले हेर्ने थिएनन्। म १० वर्षको हुँदा मेरो परिवार एउटा सडक दुर्घटनाका कारण ठूलो ऋणमा पर्यो, र मेरो बुबा आफन्तसँग पैसा सापट माग्न जानुभयो। हामी गरिब भएकाले आफन्तले हामीलाई सापट दिन मानेनन्। त्यसपछि, मेरो बुबा यति खिन्न हुनुभयो कि उहाँ प्रायः निराशामा सुस्केरा हाल्नुहुन्थ्यो, र उहाँले मलाई भन्ने गर्नुहुन्थ्यो, “हामीसँग पैसा नभएकाले आफन्त र छिमेकीले हामीलाई हेयको दृष्टिले हेर्छन्। तिमीले ठूलो भएर हाम्रो परिवारको नाम चम्काउनुपर्छ। तिमीले धेरै पैसा कमाएपछि मात्र मानिसले तिम्रो आदर गर्नेछन्।” मेरो बुबाका शब्द र सानो हुँदा भोगेको हेपाइ दुवै मेरो मनमा गडेर बसेको थियो, र ठूलो भएपछि धेरै पैसा कमाउने, सम्पन्न जीवन जिउने, गरिबको बिल्लाबाट सधैँका लागि छुटकारा पाउने, मलाई हेयको दृष्टिले हेर्ने सबै मानिसलाई देखाउने मैले सङ्कल्प गरेँ।
सन् १९९६ मा, मेरो बुबा कार्गो यातायात व्यवसायमा बिचौलियाको काम गर्न थाल्नुभयो। केही वर्षपछि, हाम्रो पारिवारिक व्यवसाय निकै फस्टाउन थाल्यो। हामीले हाम्रो ऋण तिर्यौँ, साथै कार्गो ट्रक पनि किन्यौँ र टेलिफोन र मोबाइल फोनहरू राख्यौँ। हाम्रो परिवारमा पैसा हुन थालेपछि हामीलाई हेयको दृष्टिले हेर्ने आफन्त र छिमेकीहरू हामीलाई भेट्न आउन थाले। हामी जहाँ जाँदा पनि अरूले हाम्रो आदर गर्थे। म बल्ल टाउको उठाएर हिँड्न सक्ने भएँ। यसले ममा के दृढ विश्वास जगायो भने यो संसारमा जिउन मान्छेले धेरै पैसा कमाउनै पर्छ। मान्छेको हातमा पैसा भएपछि मात्र अरूले सम्मान गर्नेछन्। आफू वरिपरिका कुरा सुनेर र देखेर, मैले व्यवसाय सञ्चालन गर्ने तरिका सिक्दै गएँ। सन् १९९९ मा म आफ्नो पूरै ऊर्जा व्यवसायमा लगाउन तयारी गर्दै थिएँ, त्यही बेला परमेश्वरको आखिरी दिनहरूको मुक्ति ममाथि आयो। सुरुमा, परमेश्वरमाथिको मेरो विश्वासलाई लिएर म निकै उत्साहित थिएँ। धेरै मानिस अझै पनि परमेश्वरसामु आइसकेका थिएनन्, र त्यसैले म सुसमाचार प्रचारकको समूहमा सामेल भएँ। त्यसपछि, म प्रायः सुसमाचार सुनाउन हिँड्थेँ, जसले मेरो पारिवारिक व्यवसायमा असर गर्यो। परिवारले मलाई यसो भन्दै गाली गर्न थाले, “यति सानो उमेरमा नै परमेश्वरमा विश्वास किन थालेको? तिमी यताउता बरालिने हो भने तिमीलाई खर्च दिँदैनौँ।” मैले सोचेँ, “मसँग पैसा भएन भने, मैले सानो हुँदाको जस्तै मानिसको भेदभाव सहनुपर्ने त होइन?” अन्तमा, मैले यो प्रलोभनलाई हराउन सकिनँ र कर्तव्य निर्वाह गर्न छाडिदिएँ, र म कहिलेकाहीँ मात्र भेलाहरूमा सहभागी हुन्थेँ। काम धेरै व्यस्त हुँदै गएपछि, मेरो हृदय परमेश्वरबाट टाढा हुँदै गयो। पछि, मेरो बुबाले सम्पूर्ण व्यवसायको व्यवस्थापन गर्ने जिम्मा मलाई दिनुभयो, र भर्खर २० वर्षमा हिँड्दै गर्दा मेरो आफ्नै करियर पाएँ। सो समयमा, म निकै खुसी थिएँ। धेरैभन्दा धेरै पैसा कमाउन र सफल महिला व्यवसायी बन्न हरदिन विभिन्न सामानका आपूर्तिकर्तासँग सम्पर्कमा रहन दिमाग खियाएँ। दिन-रातभर, मैले उत्तर दिन नभ्याउने गरी धेरै फोन आउँथे। तिर्खा लाग्दा पानी खाने पनि फुर्सद हुन्नथ्यो र गला बस्दा पनि आराम गर्न खोज्दिनँथेँ। यो कडा मेहनतको बलले मैले झण्डै १ लाख युआन जम्मा गरिसकेकी थिएँ। यी केही वर्षमा मैले औसत व्यक्तिभन्दा धेरै कष्ट भोगे पनि मेरो पैसाको थैली बिस्तारै फुकेको देख्दा यो कष्ट सार्थक लाग्थ्यो।
पछि, मैले देखेँ कि मेरो घरमा व्यवसायबारे छलफल गर्न आउने धेरैजसो ग्राहक कार चलाउँथे, गगनचुम्बी घरमा बस्थे, तर मैले सडकतिर फर्केको पुरानो दुई कोठाको घर भाडामा लिइरहेकी थिएँ। यी धनी मानिसको तुलनमा म फीका थिएँ। मैले आफैलाई भनेँ, “यसरी त हुँदैन, मैले मेहनत र प्रयास गरिरहनु नै पर्छ, अनि एक दिन कार चढ्न, अग्लो अपार्टमेन्टमा बस्न र आफ्नै कम्पनी बनाउनतिर लागिपर्नुपर्छ।” मेरो इच्छालाई छिटोभन्दा छिटो पूरा गर्न म पहिलेभन्दा झन् व्यस्त भएँ। ती वर्षमा, म एक रात पनि राम्रोसँग सुतिनँ, सधैँजसो धेरै थाकेकी हुन्थेँ। मेरो उमेर सानै थियो, तर मलाई तनावले टाउको दुख्ने समस्या हुन थालेको थियो। मलाई टाउको दुख्दा, सियोले घोचेको जस्तो हुन्थ्यो। यस बाहेक, मेरो कम्प्युटर र फोनबाट निस्कने विकिरणले प्रायः वाकवाकी र बान्ता हुन्थ्यो। दुखाइ कम गर्न नङले कन्चटमा जोड्ले चिमोट्थेँ, वा भित्तामा टाउको बजार्थेँ, तर यसले दुखाइ अलिकति पनि कम हुँदैनथ्यो। सहनै नसक्ने गरी टाउको दुख्न थालेपछि अस्पताल गएर जँचाउनुपर्ला भन्ने लाग्यो, तर मेरो थैलीमा १०० युआनका नोटहरू आइरहेको देखेर म अस्पताल जान सकिनँ। मैले सोचेँ, “आ छोडौँ, पैसा कमाउने अवसरहरू बिरलै आउँछन्। मैले यो अवसरको फाइदा उठाउँदै युवा छँदै अझै पैसा कमाउनुपर्छ।” धेरै वर्षपछि, हामीसँग एउटा कार र घर थियो, दर्ता गरेको कार्गो कन्टेनर कम्पनी थियो। अरू कम्पनीसँग व्यवसायका बारेमा कुरा गर्न हरेक पटक म आफ्नो कारमा जाँदा, त्यहाँका हाकिमले मलाई स्वीकृतिको नजरले हेर्थे, सानो उमेरमा आफ्नै करियर बनाउनु निकै ठूलो क्षमता हो भन्दै मेरो प्रशंसा गर्थे। कतिपय ग्राहकले मलाई भेट्दा म्यानेजर भनेर सम्बोधन गर्थे, र साथीहरूले मलाई सफल महिला भनी तारिफ गर्थे। बिदाका दिन हाम्रो परिवार कारमा गाउँ जाँदा गाउँका धेरै छिमेकीहरू हामीलाई हेर्न आउँथे र मेरो श्रीमान्का आमाबुबाले यस्तो सक्षम बुहारी पाउनु अहोभाग्य हो भन्थे। तारिफका शब्द सुन्दा म आफैमा निकै खुसी थिएँ। ती केही वर्षमा, कसरी धेरै पैसा कमाउन सकिन्छ भन्ने मात्र सोचेँ, र परमेश्वरमाथिको मेरो विश्वासप्रति म झन् उदासीन हुँदै गएँ। कहिलेकाहीँ, म भेलामा सहभागी नहुँदा सिस्टरहरू मलाई खोज्दै आउँथे। तर म तिनीहरूको सङ्गति सुन्ने मनस्थितिमा बिलकुलै हुन्नथेँ। कहिलेकाहीँ म भेलामा गए पनि त्यहाँ बसुन्जेल व्यवसायका कुरा नै सोचिरहन्थेँ। हरेक दिन म धेरै व्यस्त भए पनि, मैले कल्पना गरे जसरी व्यवसाय सहज रूपमा चलिरहेको थिएन। एकपछि अर्को गरी सवारी दुर्घटना भइरहेका थिए, र धेरै ग्राहकले कार्गोको पैसा समयमा दिइरहेका थिएनन्। ती केही वर्षमा, हामीले लाखौँ युआन गुमायौँ। हामीलाई भएको घाटा पूर्तिका लागि मैले पहिलेभन्दा झन् धेरै समय र ऊर्जा लगाएँ। हरेक दिनको अत्यधिक कामको बोझले मेरो शरीर अत्यन्त तनावमा थियो, र मेरो टाउको दुखाइको समस्या भन् गम्भीर हुँदै गयो। हरेक दिन, मर्नु नै ठीक हुन्छ होला जस्तो लाग्थ्यो। हामीले पैसा कमाउन थालेदेखि मेरो श्रीमान हरेक दिन रमाइलो गर्न बाहिर जान्थे र पूरै रात बाहिर बिताउँथे। उनी जुवा पनि खेल्थे र यसमा धेरै पैसा उडाए। यो कुरामा हरेक दिन हाम्रो ठाकठुक पर्थ्यो, र मेरो अनुहार सधैँ आँसुले भिजेको हुन्थ्यो। जिउनु निकै कष्टकर रहेछ भन्ने लाग्थ्यो। म निकै असहाय थिएँ, अनि अन्योलमा पनि। मेरो सपना साकार भइसकेको थियो। मसँग कार, घर र कम्पनी थियो। तर ममा अलिकति पनि खुसी किन थिएन? आखिर के भइरहेको थियो?
म पीडामा र असहाय हुँदा, मैले अफिसमा राखेको परमेश्वरका वचनको एउटा पुस्तक सम्झेँ। मैले “सर्वशक्तिमानको सुस्केरा” शीर्षकको अध्याय पल्टाएँ र पढ्न थालेँ। त्यो समय अफिस निकै शान्त थियो, र मैले सुरुदेखि नै पढ्दै गएँ। अन्तिम खण्ड पढेपछि परमेश्वरका वचनले मेरो हृदय छोयो। परमेश्वर भन्नुहुन्छ: “सर्वशक्तिमान्ले आपूर्ति गर्नुभएको जीवन छोडेर गएको हुनाले, मानवजाति आफ्नो अस्तित्वको उद्देश्यबारे अनभिज्ञ छ, तथापि ऊ मृत्युसँग डराउँछ। तिनीहरू सहयोग वा समर्थनरहित छन्, अझै पनि आफ्ना आँखा चिम्लन अनिच्छुक हुन्छन्, र तिनीहरूले यस संसारमा जसोतोसो एक तुच्छ अस्तित्व कायम राख्ने क्रममा प्राणमा कुनै भावना नभएका देहका पोकाहरू बोक्न आफैलाई तयार पार्छन्। अरू लक्ष्यबिना जिएझैँ, तँ त्यसरी नै आशाबिना जिउँछस्। केवल प्राचीन कथाका पवित्र एउटै उहाँले मात्र ती मानिसहरूलाई मुक्ति दिनुहुनेछ, जो आफ्नो कष्टमाझ विलाप गर्दै उहाँको आगमनको व्यग्र तृष्णा गर्छन्। अहिलेसम्म, त्यस्तो विश्वास चेतनाको अभाव हुनेहरूमा साकार भएको छैन। तथापि, मानिसहरू अझै पनि यसका लागि आतुर छन्। सर्वशक्तिमान्ले यी मानिसहरूमाथि कृपा गर्नुहुन्छ जो गहिरोगरी कष्टमा छन्; साथसाथै, यी चेतना नभएका मानिसहरूप्रति उहाँ वितृष्ण महसुस गर्नुहुन्छ, किनकि मानवबाट उत्तर प्राप्त गर्न उहाँले लामो समय पर्खनुपरेको छ। उहाँले खोज्न चाहनुहुन्छ, तेरो हृदय र तेरो आत्मा खोज्न चाहनुहुन्छ, तेरो लागि पानी र खाना ल्याउन र तँलाई ब्यूँझाउन चाहनुहुन्छ, ताकि तँ अब उप्रान्त तिर्खाउन र भोकाउन नपरोस्। जब तँ थाक्छस् र जब तैँले यस संसारको निराशाजनक उजाडताका केही कुरा महसुस गर्न थाल्छस्, तब तँ नहरा, तँ नरो। सर्वशक्तिमान् परमेश्वर, रखवालाले जुनसुकै बखत पनि तेरो आगमनलाई अङ्गाल्नुहुनेछ। उहाँ तेरो छेउमै रखवाली गर्दै हुनुहुन्छ, तँ फर्किने प्रतीक्षा गर्दै हुनुहुन्छ। उहाँ तेरो स्मृति अकस्मात् फर्किने दिनको प्रतिक्षा गर्दै हुनुहुन्छ: जुन दिन तैँले तँ परमेश्वरबाट आइस्, तैँले कुनै अज्ञात समयमा आफ्नो दिशा गुमाइस्, कुनै एक अज्ञात समयमा तैँले बाटोमा चेतना गुमाइस्, र कुनै अज्ञात समयमा एक ‘पिता’ प्राप्त गरिस् भन्ने कुरा महसुस गर्छस्; यसका अतिरिक्त, जब तैँले सर्वशक्तिमान्ले सदा तेरो रखवाली गर्दै, धेरै समयदेखि तेरो फिर्ती पर्खँदै आउनुभएको छ भन्ने कुरा महसुस गर्छस्। उहाँले व्यग्र तृष्णाका साथ रखवाली गर्दै, र बिना कुनै उत्तर तेरो प्रतिक्रिया पर्खँदै आउनुभएको छ। उहाँको रखवाली र प्रतीक्षा अमूल्य छन्, र ती मानव हृदय र मानव आत्माका खातिर हुन्। सायद ती रखवाली र प्रतीक्षा कालातीत छन्, र सायद ती समाप्तिमा आएका छन्। तर, तेरो हृदय र तेरो आत्मा अहिले ठ्याक्कै कहाँ छन् भन्ने कुरा तैँले जान्नुपर्दछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सर्वशक्तिमान्को सुस्केरा)। जब मैले “विना कुनै उत्तर जवाफको प्रतीक्षा गर्दै” भन्ने वचन पढेँ, मेरो गहिरो निद्रामा सुतेको हृदय अचानक जाग्यो। र मैले सोच्न थालेँ, “उत्तर विना जवाफको प्रतीक्षा कसले गर्न सक्छ? केवल परमेश्वरले! केवल परमेश्वर यसरी नै सधैँ चुपचाप मानिसको छेउमा रहनुहुन्छ।” परमेश्वरका वचनले मेरो घाइते आत्मालाई सान्त्वना दियो, र मेरो आखाँको आँसुलाई मैले रोक्न सकिनँ। त्यस क्षणमा, मेरो हृदय परमेश्वरको निकै नजिक रहेको महसुस भयो। परमेश्वरमा विश्वासको यत्तिका वर्षमा, मैले गम्भीर भएर कहिल्यै परमेश्वरका वचन पढेकी थिइनँ, र मेरो दिमाग सधैँ कसरी धेरै पैसा कमाउने र मानिसले आदर गर्ने बन्ने भन्ने सोचले भरिएको हुन्थ्यो। हरेक दिन, व्यवसायको प्रबन्ध गर्ने कार्यमा मेरो थकित शरीरलाई घिसार्थेँ। अन्तमा, मैले धेरै भौतिक सुख र अरूको आदर पाएँ, तर यसलाई मलाई श्रीमान्को बारम्बारको धोका, अनि मेरो रोग निम्त्यायो। मलाई अलिकति पनि खुसीको अनुभूति थिएन। बरु मलाई खोक्रोपन, पीडा र असहायपन महसुस हुन्थ्यो। यो सबै आफूलाई परमेश्वरको रेखदेख तथा संरक्षणबाट टाढा राख्नु, ओझेलमा पार्नुले गर्दा भएको थियो। दश वर्षअघि, मैले परमेश्वरको आवाज सुनेकी थिएँ, तर मैले उहाँको मुक्ति दिने अनुग्रहको कदर गरिनँ, वा उहाँका वचनहरू राम्रोसँग खाने र पिउने गरिनँ, न त मैले आफ्नो कर्तव्य नै निर्वाह गरेँ। म निकै विद्रोही थिएँ, तर परमेश्वरले मलाई त्याग्नु भएन, मेरो हृदय परिवर्तन हुने प्रतीक्षा गर्दै मेरो छेउमा रहनुभयो। म भ्रमित र असहाय हुँदा, परमेश्वरका वचनले तुरुन्तै मेरो घाइते आत्मालाई सान्त्वना दिए। म भेलामा नियमित उपस्थित नहुँदा र परमेश्वरबाट टाढा हुँदा, उहाँले सिस्टहरूलाई बारम्बार मलाई मद्दत गर्न लगाउनुभयो, तर म कृतघ्न र प्रतिरोधी थिएँ। परमेश्वरले दिनुभएको मुक्तिलाई मैले बारम्बार अस्वीकार गरेँ, ममा कुनै विवेक र समझ थिएन। मैले जति धेरै सोचेँ, त्यति नै पछुतो मान्दै आफैलाई धिक्कारेँ। रुँदै मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर म गलत थिएँ। त्यतिबेला तपाईँका वचन राम्रोसँग नपढेको र पूरै हृदय पैसा कमाउन लगाएको कुराप्रति मलाई खेद छ। पैसा भए सबै कुरा हुन्छ भन्ने सोचेँ। तर पैसा र भौतिक सुख पाएर पनि मलाई निकै खोक्रोपन, पीडा र असहाय महसुस भइरहेको थियो। हे परमेश्वर, मैले पहिले रोजेको मार्ग गलत थियो। अबदेखि, म फेरि सत्यता पछ्याउन, परमेश्वरलाई विश्वास गर्ने मार्गमा हिँड्न चाहन्छु।” प्रार्थना गरिसकेपछि, मलाई निकै सहज र शान्त महसुस भयो। म मेरो लङ्गुर बाँध्ने बन्दरगाह भेटेको समुद्रको एक्लो डुङ्गा जस्तै थिएँ, म धेरै वर्ष भौँतारिएपछि आमाको काखमा फर्किएको एउटा अपव्ययी सन्तान जस्तै थिएँ। मैले पहिले कहिल्यै महसुस नगरेको सुरक्षाको बोध गरेँ। त्यसपछि, भेला हुने समयमा म सधैँ मेरो काम पहिल्यै तय गर्दथेँ। बिस्तारै भेलाहरूमा सहभागी हुँदा सहज महसुस गर्न थालेँ, र प्रायः परमेश्वरका वचन पढ्न, मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न समय निकाल्न सक्थेँ। तर, कहिलेकाहीँ मेरा व्यवसाय र कर्तव्य जुध्दा, नचाहँदा नचाहँदै म कर्तव्यलाई छोडेर व्यवसायलाई रोज्थेँ। यस कुराले मलाई भित्रभित्रै पीडा हुन्थ्यो। कहिलेकाहीँ सोच्थेँ, “कहिलेदेखि म व्यवसायबाट प्रभावित हुन छोडेर शान्तिसँग कर्तव्य निर्वाह गर्न सक्ने हुन्छु होला?” धेरै ब्रदर-सिस्टरहरूले परिवार र पेशा छोडेर सुसमाचार सुनाउन सकेको देख्दा मेरो हृदयलाई निकै छुन्थ्यो। म सोच्थेँ, हामी सबै मानव हौँ, अनि ब्रदर-सिस्टरहरूले आफ्नो चिन्ता छोडेर परमेश्वरका लागि समर्पित हुन सक्छन् भने म किन सक्दिनँ? मैले पनि एक दिन पूरै हृदयले कर्तव्य निर्वाह गर्न सक्नेछु भन्ने म आशा गर्थेँ, त्यसो हुँदा कति राम्रो हुन्थ्यो। मैले प्रार्थनामा परमेश्वरसामु यो कुरा भनिरहेँ, परमेश्वरले मलाई अझ धेरै आस्था दिनुहुनेछ र मैले व्यवसाय छोडेर सम्पूर्ण हृदयले उहाँप्रति समर्पित हुन सक्ने दिन पनि ल्याउनुहुनेछ भन्ने आशा गरेँ।
सन् २०११ को ग्रीष्म ऋतुमा मेरो टाउको दुख्ने समस्या झन् गम्भीर हुँदै गइरहेको थियो। म अब सहन नसक्ने अवस्थामा थिएँ, त्यसैले जँचाउन सहरको अस्पताल गएँ। डाक्टरले मलाई भने, “तपाईँको टाउको दुख्ने समस्या तपाईँले अहिले गरिरहेको कामसँग सम्बन्धित हुन सक्छ। यदि तपाईँआफ्नो अवस्था सुधार्न चाहनुहुन्छ भने, यो व्यवसाय छाडिदिनु राम्रो हो। नत्र, तपाईँको अवस्था झन् गम्भीर हुँदै जानेछ।” डाक्टरको कुरा सुनेपछि यो परमेश्वरले बाहिर निस्कने मार्ग देखाउनु भएको हो भन्ने मैले प्रष्ट बुझेँ। म अब व्यवसायलाई निरन्तरता दिन सक्दिनँ भनी परिवारलाई बताउन यो मौकाको प्रयोग गर्न चाहन्थेँ, तर निर्णय लिन सकिनँ, किनभने आजको फल पाउन मैले १० वर्षसम्म कडा मेहनत र व्यवस्थापन गरेकी थिएँ, र यसबाहेक, त्यो वर्ष व्यवसाय निकै फस्टाइरहेको थियो, र हामीले एक दिनमै पाँचदेखि छ हजार युआन कमाउन सक्थ्यौँ। यदि मैले छोडेँ भने, मैले अहिलेसम्म बनाएका ग्राहकलाई यस उद्यमका अरूले नै लैजाने थिए। अन्तमा, मैले पैसाको मोह त्याग्न सकिनँ, र कयौँ महिनासम्म मेरो रोगको पीडा सहँदै काम गरिरहेँ। मैले पैसा त धेरै कमाएकी थिएँ, तर पटक्कै खुसी थिइनँ, र केही समय पहिले परमेश्वरलाई प्रार्थना गरी व्यवसाय छोडेर उहाँका लागि समर्पित हुन तयार भएको कुरा सम्झेँ। तर अहिले, अझै पनि पैसामा नै झुन्डिएर त्यसलाई छोडिरहेकी थिइनँ। मलाई भित्रभित्रै निकै दोषी महसुस भयो। मैले फेरि परमेश्वरलाई प्रार्थना गरेँ, मेरो व्यवसाय त्यागेर उहाँका लागि समर्पित हुन मलाई सहयोग गर्न बिन्ती गरेँ। एक दिन मैले परमेश्वरका यी वचन देखेँ: “यदि अहिले मैले तिमीहरूको अगाडि केही पैसा राखेँ र तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिएँ भने—र मैले तिमीहरूको छनौटको लागि तिमीहरूलाई दोष लगाइन भने—तिमीहरूमध्ये धेरैजसोले पैसा छनौट गरेर सत्यलाई त्याग्नेथियौ। तिमीहरूमध्ये उत्तम व्यक्तिहरूले पैसालाई त्यागेर मन नलागी-नलागी सत्यतालाई छनौट गर्नेथियौ, जबकी दोधारेहरूले एउटा हातले पैसा हडप्नेथिए र अर्को हातले सत्यता टिप्नेथिए। तिमीहरूको साँचो रङ त्यसपछि आफै स्पष्ट नहोलान् त? तिमीहरूले सत्यता र तिमीहरू निष्ठावान् भएको कुनै कुराको बीचमा छनौट गर्दा, तिमीहरू सबैले यही छनौट गर्थ्यौ र तिमीहरूको मनोवृत्ति उस्तै रहन्थ्यो। के त्यो यस्तै हो नि, होइन र? के तिमीहरूमध्ये धेरै जना सही र गलतको बीचमा घरी यता र घरी उता गरेका व्यक्तिहरू होइनौ र? सकारात्मक र नकारात्मक, कालो र सेतो बीचको प्रतिस्पर्धामा, तिमीहरूले परिवार र परमेश्वर, छोराछोरी र परमेश्वर, शान्ति र अवरोध, सम्पत्ति र गरिबी, हैसियत र साधारणपन, समर्थन पाउनु र पन्छाइनु र यस्तै अन्य कुराहरूको बीचमा तिमीहरूले गरेको छनौटको बारेमा तिमीहरूलाई अवश्य नै थाहा होला। शान्तिपूर्ण परिवार र टुक्रिएको परिवारको बीचमा, तिमीहरूले पहिलोलाई नै छनौट गर्यौ र तिमीहरूले हिचकिचाहटविना त्यस्तो गर्यौ; धन र कर्तव्यको बीचमा, तिमीहरूले फेरि पहिलोलाई छनौट गर्यौ, यहाँसम्म कि किनारामा फर्किने इच्छा समेत राखेनौ; विलासिता र गरिबीको बीचमा, तिमीहरूले पहिलोलाई छनौट गर्यौ; आफ्ना छोरा, छोरी, श्रीमती, श्रीमान अनि मेरो बीचमा छनौट गर्दा, तिमीहरूले पहिलोलाई छनौट गर्यौ; र धारणा र सत्यताको बीचमा, तिमीहरूले पहिलोलाई नै छनौट गर्यौ। तिमीहरूका सबै दुष्कर्महरूको सबै तरिकालाई सामना गरेको कारण, मैले तिमीहरूमाथिको विश्वासलाई गुमाएको छु। तिमीहरूको हृदय यसलाई कोमल बनाउने कार्यप्रति अत्यन्तै प्रतिरोधी छ भन्ने कुराले मलाई साँच्चै अचम्मित पार्छ। समर्पण र प्रयासका धेरै वर्षहरूले स्पष्ट रूपमा मलाई तिमीहरूको परित्याग र निराशाभन्दा धेरै अरू केही दिएन, तर तिमीहरूको लागि मेरा आशाहरू बितेको प्रत्येक दिनसँगै बढ्दै जान्छन्, किनकि मेरो दिन पूर्ण रूपमा सबैको अगाडि उदाङ्गो भएको छ। तैपनि तिमीहरू अँध्यारो र दुष्ट कुराहरूको खोजमा छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ? के तिमीहरूले कहिल्यै यसबारे ध्यानपूर्वक विचार गरेका छौ? यदि तिमीहरूलाई फेरि छनौट गर्न लगाइएको थियो भने, तिमीहरूको छनौट के हुनेथियो? के यो अझै पनि पहिलो नै हुनेथियो? के तिमीहरूले अझै पनि मलाई निराशा र दुर्भाग्यपूर्ण शोक ल्याइदिनेथियौ? के तिमीहरूको मुटुमा अझै पनि न्यानोपनको सानो टुक्रा बाँकी रहनेथियो? के तिमीहरू अझै पनि मेरो मुटुलाई सान्त्वना दिन के गर्नुपर्छ सोबारे अनभिज्ञ हुनेथियौ? यो समयमा तिमीहरू केलाई छनौट गर्छौ? तिमीहरू मेरा वचनहरूप्रति समर्पित हुन्छौ कि वितृष्ण हुन्छौ?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ कोप्रति निष्ठावान् छस्?)। परमेश्वरको यो प्रश्नले मलाई चिन्तन गर्ने स्थितिमा ल्यायो। मैले धेरै पटक व्यवसाय छोडेर जतिबेला पनि परमेश्वरमा समर्पित हुने भन्दै उहाँलाई प्रार्थना गरेको सम्झेँ। तर दैनिक हजारौँ युआन कमाइ भइरहेको देख्दा म यसलाई छोड्न तयार भइनँ। के मैले परमेश्वरलाई छल गरिरहेकी थिइनँ र? मैले सोचेँ, यी वर्षमा मैले परमेश्वरमा विश्वास गरिरहेकी भए पनि, मैले आफ्नो सारा समय र ऊर्जा व्यवसायमै खर्चिएकी थिएँ। मेरो दिमाग कसरी धेरै पैसा कमाउने भन्ने सोचले भरिएको थियो, र आफूले निर्वाह गर्नुपर्ने कर्तव्यलाई मैले कहिल्यै कदर गरिनँ। मेरो कर्तव्य र व्यवसाय जुध्दा म पहिले व्यवसायको पक्ष लिन्थेँ, कर्तव्य निर्वाहलाई दिमागमै राख्थेँ, गम्भीरतापूर्वक लिन्नथेँ। यी केही वर्षमा म साथीहरूमाझ अलग्गै देखिन पैसाको पूर्ण दास भएकी थिएँ, अनि हरेक दिन म खोक्रोपन र पीडाको बीचमा सङ्घर्ष गरिरहेकी थिएँ, यसमा झन् झन् डुब्दै गइरहेकी थिएँ। मैले बारम्बार परमेश्वरविरुद्ध विद्रोह गरेकी भए पनि, उहाँ मलाई मुक्ति दिनमा पछि हट्नु भएन। व्यवसायकै लागि भेलामा म सहभागी हुन नसक्दा, उहाँले मलाई समर्थन र सहयोग गर्न सिस्टरहरूको प्रबन्ध गर्नुभयो। श्रीमान्को विश्वासघात, व्यवसायका चुनौती, अनि रोगको सामना गर्दा, र म पीडा अनि असहायपनको स्थितिमा जिउँदा परमेश्वरले मलाई अगुवाइ र मार्गदर्शन गर्न आफ्ना वचन प्रयोग गरेर ममा ज्योति खोज्ने तृष्णा र सत्यतालाई सही तरिकाले पछ्याउने चाहना जगाउनुभयो। मैले व्यवसायलाई छोड्न नसक्दा परमेश्वरले मलाई सल्लाह दिन डाक्टरका वचन प्रयोग गर्नुभयो। उहाँ सधैँ मेरो जीवनबारे चिन्तित हुनुहुन्थ्यो, मेरा लागि कष्टपूर्ण प्रयास गर्नुभयो, तर म भने धेरै पैसा कसरी कमाउने भन्ने ध्याउन्नमै रहेर आफ्नो कर्तव्यलाई बिलकुलै ध्यान दिइनँ। म साँच्चै नै स्वार्थी थिएँ। अहिले पनि, परमेश्वरले मलाई कर्तव्य निर्वाह गर्ने मौका दिइरहनु भएको थियो, र मैले यसलाई कदर गर्नु थियो। मैले आफूलाई राज्यको सुसमाचार सुनाउन र सृजित प्राणीको कर्तव्य निभाउन समर्पित हुनुथियो। मैले आफ्नो छनोट गरेपछि केही अप्रत्याशित घटना घटे, जसले मलाई केही हदसम्म धनको पछि लाग्दाको हानि र परिणाम राम्रोसँग देख्न सघाए।
सन् २०११ को जाडोयाममा एक दिन एकजनाले फोन गरेर हामीले कसैलाई चिढ्याएको भन्दै श्रीमान्को सुरक्षा सुनिश्चित गर्नका लागि एक लाख युआन पठाउनु, नत्र श्रीमान्को। हात खुट्टा छिनाल्ने भन्दै धम्की दिए। यो शब्द सुनेर मेरो मुटु डरले ढक्क फुल्यो। मैले यस्तो दृश्य टीभीमा मात्र देखेकी थिएँ, तर आफैले वास्तविक जीवनमा अनुभव गर्छु भन्ने सोचेकी थिइनँ। किन अचेल संसारमा यति उपद्रो छ? मानिसको हृदय कसरी यति दुष्ट हुन सकेको? त्यो क्षणमा, मलाई अचानक ख्याल आयो कि यदि मैले यो व्यवसाय जारी राखेँ भने, यसले एउटा घातक विपत्ति निम्त्याउनेछ। मैले सोचेँ, मेरो परिवारमा पैसा आउन थालेदेखि मैले एक दिन पनि शान्तिसँग बिताएकी छैन, र अहिले यस्तो अनपेक्षित दुर्भाग्य आइपरेको छ—पैसाले खुसी र आनन्द ल्याउँदो रहनेछ। पछि, मैले हाम्रो घरमा सामान पुर्याउने गरेका धेरै ट्रक ड्राइभरहरूका बारेमा सुनेँ, जो कार दुर्घटनामा एकपछि अर्को गरी मरेका थिए। उनीहरूको मृत्युको खबर सुन्दा मैले पत्याउनै सकिनँ। तीमध्ये, सबभन्दा कान्छा बीस वर्ष जतिका थिए, र पाको उमेरका ड्राइभर चालीसे मात्र थिए। ममा गहिरो छाप छोड्ने एक जोडी श्रीमान् श्रीमती थिए, जसले धेरै पैसा कमाउन भनेर ड्राइभर राख्दैनथे र दिनरात काम गर्थे। अन्तमा, थकानका कारण तिनीहरू कार दुर्घटनामा परे, र दुवैजना मरे। तिनीहरूले केही पैसा कमाएका भए पनि, त्यही गर्दागर्दै ज्यान गुमाए। यो पैसाले आखिरमा तिनीहरूको के हित गर्यो? मैले प्रभु येशूका वचन सम्झेँ: “किनकि यदि मानिसले सारा संसार पाएर आफ्नै प्राण गुमायो भने, उसलाई के फाइदा हुन्छ? अथवा आफ्नो प्राणको साटो मानिसले के दिन सक्छ?” (मत्ती १६:२६)। सामाजिक सिँढी चढ्न मैले दिलोज्यानले गरेको प्रयासलाई फर्केर हेर्दा म हरदिन दिनरात काम गर्ने मेसिनझैँ थिएँ। मैले केही पैसा, प्रशंसा र आदर कमाएकी भए पनि मैले यसबाट खुसी वा आनन्द पाइनँ, बरु खोक्रोपन र पीडाको अनुभूति हुँदै गयो। पैसा कमाउने सुरमा मलाई रोगले समात्यो, टाउको निकै दुखेर भित्तामा ठोक्काउन मन लाग्दा पनि पैसा कमाउन छोड्न तयार भइनँ। पैसाले मलाई बलियोसँग बाँधेर राखेको थियो। पैसा भनेको एउटा छुरा हो, जसले मानिसलाई निर्दयी तरिकाले मार्दछ। यदि म अझै पनि पहिलेझैँ आफ्नो पूरा क्षमताले पैसा कमाउनमा लागिरहेँ भने सायद एकदिन म पनि यी मानिस झैँ पैसाको यातनाले मृत्युमा पुग्नेथिएँ। यो दिनदेखि अब म पैसाकै लागि ज्यान फाल्ने छैन। मेरो दिमागमा अहिले पनि धेरै मानिसले यो कुरालाई राम्रोसँग बुझ्न सक्दैनन् र अझै पनि पैसाको भुमरीमा नै छटपटाइरहेका छन् भन्ने आयो। तिनीहरूले आफ्नो जीवनको दिशा देख्दैनन्, र अर्थपूर्ण जीवन कसरी जिउने तिनीहरूलाई थाहा छैन। म परमेश्वरका आखिरी दिनहरूको सुसमाचार धेरै मानिसलाई सुनाउन चाहन्थेँ, मानिसहरूले उहाँको आवाज छिटो सुनून् र सत्यता बुझून्, अनि शैतानको भ्रष्टता र हानिबाट पीडित नहोऊन् भनेर मद्दत गर्न चाहन्थेँ। मैले मेरो परिवारलाई भनेँ कि मेरो टाउको दुख्ने समस्या झन् नराम्रो भएको छ, अबदेखि म व्यवसायमा सहभागी हुनेछैन। मेरो परिवार यो कुरामा सहमत भए र निको हुन छोडिदिए। म धेरै खुसी थिएँ। निस्कने बाटो दिनुभएकोमा मैले हृदयदेखि ने परमेश्वरलाई धन्यवाद दिएँ।
सन् २०१२ मा, वसन्त महोत्सवपछि मैले सम्पूर्ण व्यवसायको व्यवस्थापन श्रीमान्को जिम्मा लगाएँ, त्यसपछि म परमेश्वरका वचन पढ्न र शान्त भएर कर्तव्य निर्वाह गर्न सक्ने भएँ। मेरो आत्माले निकै सहजता र शान्तिको अनुभूति गर्यो। मेरो मानसिक स्थितिमा पनि क्रमिक सुधार हुँदै आयो। अर्को झन् चामत्कारिक घटना, मेरो टाउको दुख्ने समस्या विना उपचार हराएर गयो। मेरो हृदय निकै प्रभावित भयो। परमेश्वरले मेरो रोग निको पार्नुभएको, रोगको यातनाबाट राहत दिनुभएको र मेरो आत्मालाई विनाश हुनबाट बचाउनुभएको मलाई राम्रोसँग थाहा भयो। मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने र परमेश्वरको मुक्तिको अनुग्रह चुक्ता गर्ने सङ्कल्प गरेँ। मेरो टाउको दुखाइको समस्या निको हुँदै गएको देखेर श्रीमान्ले व्यवसायमा फर्किन दबाब दिए, र मैले अब फेरि व्यवसायमा नफर्किने मेरो मनोवृत्तिबारे उनलाई स्पष्ट बताएँ। उनको कुरा मैले नमान्ने देखेर उनले सम्बन्ध विच्छेद गर्ने र मैले परमेश्वरमा विश्वास जारी राखेँ भने खर्च नदिने भनेर धम्क्याए। श्रीमान्को यो निर्दयीता देखेर मेरो शरीर रिसले काम्न थाल्यो। बाल्यकालमा मानिसले मलाई हेयको दृष्टिले हेर्ने गरेको दृश्य दिमागमा झल्झल्ती आयो। म फेरि त्यस्तो जीवन जिउन चाहन्नथेँ। मैले निकै कमजोर महसुस गरिरहेकी थिएँ। परमेश्वरमा विश्वास नगर्दा मैले प्रशस्त भौतिक जीवन र अरूको आदर पाइरहने थिएँ। हर समय कर्तव्य गर्ने निर्णय गरेमा मसँग भएको सबै कुरा गुमाउने थिएँ। मेरो हृदय अत्यन्त पीडा र कष्टमा थियो, आँखाबाट अनवरत आँसु खसिरहे। एकातिर मेरो कर्तव्य थियो, अर्कोतिर वर्षौँसम्म मैले सम्हालेको पेशा थियो। कसरी छनोट गर्ने मलाई थाहा थिएन। मैले रुँदै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! म अहिले धेरै कमजोर छु, के छनोट गर्ने थाहा छैन। मैले कर्तव्य निर्वाह गरिरहेँ भने, मेरो पेशा र परिवार गुम्नेछ। परिवार र पेशालाई रोजेर परमेश्वरमाथिको विश्वास र कर्तव्य निर्वाह छोडेँ भने म विवेक र समझ नभएको व्यक्ति हुनेछु। हे परमेश्वर, म तपाईँलाई छोड्न चाहन्न। तपाईँले आजसम्म चरणबद्ध मार्गदर्शन नगर्नुभएको भए, म जीवनको सही मार्गमा हिँड्ने थिइनँ। विगतमा, मैले सत्यता पछ्याइनँ, तपाईँका लागि आफूलाई समर्पित गरिनँ। आज म तपाईँको विचारशीलताको अयोग्य बन्न सक्दिनँ। म अबदेखि सही तरिकाले सत्यता र तपाईँलाई पछ्याउन चाहन्छु। हे परमेश्वर! मलाई सही छनोट गर्ने आस्था र बल दिनुहोस्।” प्रार्थनापछि, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “तैँले सत्यताका लागि कष्ट भोग्नैपर्छ, तैँले आफैलाई सत्यतामा समर्पित गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका लागि तैँले अझै बढी कष्ट भोग्नैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। शान्तिपूर्ण पारिवारिक जीवनको खातिर तैँले सत्यतालाई फ्याँक्नु हुँदैन र क्षणिक सुखचैनको खातिर तैँले आफ्नो जीवनको प्रतिष्ठा र सत्यनिष्ठालाई गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छन् ती सबै कुराको खोजी गर्नुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्गलाई पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको अशिष्ट जीवन जिउँछस् र कुनै पनि उद्देश्यहरूलाई पछ्याउँदैनस् भने, के तैँले आफ्नो जीवनलाई खेर फाल्दैनस् र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताको खातिर पनि तैँले देहका सबै सुखचैनहरूलाई त्याग्नुपर्छ, र थोरै सुखचैनको खातिर सारा सत्यतालाई फ्याँक्नु हुँदैन। यस किसिमका मानिसहरूसँग कुनै सत्यनिष्ठा वा गरिमा हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। परमेश्वरका वचन पढ्दा उहाँले आमने सामने मलाई सम्बोधन गरिरहे झैँ लाग्योः “भोलिका दिनमा तैँले राम्रोसँग सत्यता पछ्याउनुपर्छ। विगतको छाडा जीवन नजिउनू।” यसभन्दा पहिले, म सत्यता पछ्याउँदिनथेँ, र म परमेश्वरका वचन पर्याप्त रूपमा पढ्दिनँथेँ। मेरो समय र प्रयासलाई व्यवसायमा नै लगाउँथेँ, मैले धेरै समय बरबाद गरेकी थिएँ। अब मैले आउने समयलाई कदर गर्नुथियो, परिवारले जतिसुकै रोके पनि सत्यता पछ्याउने यो महान् अवसर म छोड्न सक्दिनँथेँ। मैले श्रीमान्लाई भनेँ, “यी केही वर्षमा पैसा कमाउने ध्याउन्नमा मैले रोग झेल्नु पर्यो। मैले परमेश्वरमा विश्वास नगरेकी भए उहिल्यै मरिसक्थेँ। परमेश्वरको विश्वासी भएर म उज्यालो र सही जीवन मार्गमा हिँड्दैछु। अब मैले यो मार्ग रोजिसकेँ, मैले यसलाई अन्तसम्मै पछ्याउनुपर्छ। तिमी परमेश्वरमा विश्वास गर्दैनौ, तर तिमीले मेरो स्वतन्त्रतामा हस्तक्षेप गर्न मिल्दैन।” मलाई रोक्न नसक्ने देखेर श्रीमान्ले त्यो बेलादेखि मलाई यसबारे दिक्क लगाउन छाडे। यो छनोट गरेपछि, मेरो हृदय निकै स्वतन्त्र भएको महसुस भयो। त्यसपछि, मेले हर समय आफ्नो कर्तव्य निभाएँ।
पछि, चिनजानका मानिसहरू कारमा हुइँकिएको देख्दा मलाई अझै पनि केही गुमाएजस्तो हुन्थ्योः विगतमा व्यवसाय गर्दा र कारमा हुइँकिदा म जहाँ जाँदा पनि मानिसले आदर गर्थे। अहिले म बिजुलीले चल्ने बाइकमा हिँड्छु। विगतको चिनजानका मानिस र ग्राहकले मलाई देख्दा पनि नमस्ते भन्दैनथे, र मैले चिनेको लगभग सबैले रुखो व्यवहार गर्थे। मैले विगतको चमक गुमाएकी मात्र थिइनँ, परिवारले पनि यस्तो गाली गर्न थालेको थियोः “तिमीले व्यवसायमा १० वर्षभन्दा बढी परिश्रमपूर्ण समय बितायौ र अहिले स्वेच्छाले अरूलाई हस्तान्तरण गर्यौ। तिमी व्यवसाय गर्दैनौँ भने हेरौँ कसले तिमीलाई भोलिका दिनमा खर्च दिनेछ। तिमीले के सोच्दैथियौ, मलाई थाहा छैन। तिमी पक्कै अति मूर्ख हौ।” यी आपत्तिजनक र सोधखोज गर्ने शब्दले मेरो दिमाग खल्बल्यायो। ती दिनमा म बेचैन र उदास रहने गर्थेँ। म सोच्थेँ, “मैले व्यवसाय गरिरहेकी भए अरूले अझै मलाई आदर गर्ने थिए। तर अहिले व्यवसाय छैन, भोलिका दिनमा पैसा पनि भएन भने कसरी जिउने होला?” थाहै नपाइकन म शैतानको परीक्षामा फसेकी थिएँ, नचाहँदा नचाहँदै मैले वैकल्पिक योजनाबारे सोच्न थालेँ। सुनसान रातको समयमा कोल्टे फेरिरहेँ, निदाउनै सकिनँ। मैले चिन्तन गर्न थालेँ, “म हरेक पटक पैसा, प्रसिद्धि र हैसियतको परीक्षामा पर्दा, कसरी मेरो हृदय व्याकुल भइरहन्छ?” म यो प्रश्नको उत्तर खोज्न चाहन्थेँ। पछि, मैले परमेश्वरका वचनको यो खण्ड देखेँ: “‘दुनियाँ पैसाको इसारामा चल्छ’ भन्ने भनाइ शैतानको दर्शन हो। यो सारा मानवजातिमा, हरेक मानव समाजमा हाबी छ; यो प्रचलन नै बनेको छ भनेर भन्न सकिन्छ। यस्तो किन हुन्छ भने यो हरेक व्यक्तिको हृदयमा घुसाइएको छ, र तिनीहरूले सुरुमा त यो भनाइलाई स्वीकार गरेनन्, तर जब तिनीहरू वास्तविक जीवनको सम्पर्कमा आए तिनीहरूले यसलाई मौन रूपमा स्वीकार गरे, अनि यी शब्दहरू वास्तवमा साँचो छन् भन्ने अनुभव गर्न सुरु गरे। के मानिसलाई भ्रष्ट तुल्याउने शैतानको प्रक्रिया यही होइन र? … शैतानले मानिसहरूलाई प्रलोभनमा पार्न पैसाको प्रयोग गर्छ, र तिनीहरूलाई भ्रष्ट पारी पैसाको पूजा गर्ने र भौतिक कुराहरूको मान गर्ने बनाउँछ। अनि, यस्तो पैसा पूजा कसरी मानिसहरूमा प्रकट हुन्छ त? के कुनै पैसा भएन भने तिमीहरू यो संसारमा बाँच्न सक्दैनौ, पैसाविना एक दिन कटाउन समेत असम्भव हुन्छ भन्ने अनुभव गर्छौ त? मानिसहरूको सम्मान जस्तै, तिनीहरूको हैसियत तिनीहरूसँग कति पैसा छ भन्नेमा आधारित हुन्छ। गरिबको ढाड लाजले कुप्रो हुन्छ, तर धनीले आफ्नो उच्च प्रतिष्ठाको आनन्द लिन्छ। तिनीहरू ठाडो गरी अभिमानका साथ उभिन्छन् अनि उच्च स्वरमा बोल्छन् र अहङ्कारी रूपमा जिउँछन्। यो भनाइ र प्रवृत्तिले मानिसहरूकहाँ के ल्याउँछ? के धेरैजसो मानिसहरूले पैसाको लागि जे पनि बलि चढाउन सक्छन् भन्ने कुरा साँचो होइन र? के धेरै मानिसहरूले पैसाको पछि लाग्ने क्रममा आफ्नो गौरव र इज्जत गुमाउँदैनन् र? के धेरै मानिसहरूले पैसाको लागि आफ्नो कर्तव्य निभाउने र परमेश्वरलाई पछ्याउने अवसर गुमाउँदैनन् र? के सत्यता हासिल गर्ने र मुक्ति पाउने मौका गुमाउनु मानिसहरूको लागि नोक्सानीहरूमध्येकै सबैभन्दा ठूलो नोक्सानी होइन र? के मानिसहरूलाई त्यस हदसम्म भ्रष्ट तुल्याउनको लागि यो विधि र यो भनाइको प्रयोग गर्न शैतान कुटिल छैन र? के यो दुर्भावनापूर्ण छल होइन र? तँमा यस प्रसिद्ध भनाइलाई इन्कार गर्नेदेखि लिएर यसलाई सत्यताको रूपमा स्वीकार गर्ने सम्मको परिवर्तन हुँदै जाँदा, तेरो हृदय पूर्ण रूपमा शैतानको पकडमा पर्छ, अनि त्यसकारण, तँ अपरिहार्य रूपमै यो भनाइअनुसार जिउन पुग्छस्” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ५)। परमेश्वरका वचनले गरेको खुलासाबाट मैले आफूलाई पैसा र प्रसिद्धिको बन्धनबाट मुक्त गर्न नसक्नुको मूल कारण पत्ता लगाएँ। म सानो छँदा बुबाले सधैँ सिकाउने गरेको कुरा सम्झेँ, “हाम्रो परिवार गरिब छ, जब तिमी ठूली हुन्छौ, तिमीले धेरै पैसा कमाएर हाम्रो परिवारको नाम चम्काउनुपर्छ। हामीसँग पैसा भयो भने मात्र मानिसले हामीलाई राम्रो मान्नेछन्।” बुबाका वचन मेरो स्मृतिमा छापिएर बसेका थिए। मैले सोचेँ, यी वर्षमा “दुनियाँ पैसाको इसारामा चल्छ,” र “पैसा सबथोक होइन, तर यो विना काम चल्दैन” भन्ने खालका शैतानी विषले मेरो जीवन जिउने तरिका तय गरिरहेका थिए। म ठान्थेँ, पैसा भयो भने शीर ठाडो पारेर बोल्न सक्छु र अरूको आदर पाउन सक्छु। अरूको आदर पाउन मैले पैसा कमाउने यन्त्र झैँ दिनरात अथक परिश्रम गरेँ। थाक्दा वा निद्रा लाग्दा म आराम गर्दिनँथेँ, बिरामी हुँदा डाक्टरकहाँ जान्नथेँ। केही व्यवसाय छुट्छ कि भन्ने डरले तनमन पैसा कमाउनमा लगाएँ। व्यवसाय र भेला जुध्दा व्यवसायका कुरालाई पहिले हेर्थेँ र त्यसपछि भेलामा जान्थेँ। सत्यता पछ्याउने र कर्तव्य निर्वाह गर्ने कुरालाई प्राथमिकता दिन्नथेँ, र व्यवसायमा व्यस्त हुँदा भेलामा जान्नथेँ। म पैसाको जालमा फसेकी थिएँ, यसबाट आफूलाई निकाल्नै सकिनँ र म झन् लोभी र पतित हुँदै गएँ। परमेश्वरका वचनले खुलासा गरेका कुराबाट मैले बल्ल मानिसलाई हानि गर्न यी विष प्रयोग गर्ने शैतानको दुष्ट मनसाय स्पष्ट देखेँ। यसले पैसा र प्रसिद्धि पछ्याउने मानिसको महत्त्वाकाङ्क्षा र चाहनाको फाइदा उठाउँदै तिनीहरूलाई हानि गर्न र पूरै निल्न चाहन्थ्यो। परमेश्वरले शैतानको दुष्ट मनसायको खुलासा नगरिदिनुभएको भए यसको चलाख षड्यन्त्र बुझ्न मलाई साँच्चै गाह्रो हुने थियो, र म पैसाको भुमरीमा नै फसिरहने थिएँ, मेरो जीवन शैतानलाई सुम्पने थिएँ। यो अनुभवबाट मैले प्रत्यक्ष के बुझेँ भने मैले जतिसुकै पैसा, भौतिक सुखसुविधा र अरूको आदर कमाए पनि मेरो हृदय अझै पनि खाली र पीडामा थियो। मेरो जीवनको रत्तिभर मूल्य वा अर्थ थिएन। मैले अब पनि आफूअघिका हित छोड्न सकिनँ र पैसामा टाँसिएर रहेँ भने पैसाले मलाई यातना दिएर अन्ततः मृत्युमा पुर्याउने थियो। यो जीवनमा परमेश्वरलाई पछ्याउन, सृष्टिकर्ताको वचन सुन्न र सृजित प्राणीको नाताले कर्तव्य निभाउन पाउनुमा म निकै भाग्यमानी थिएँ। मेरो जीवनको यो कुरा अत्यन्त मूल्यवान र अर्थपूर्ण थियो। भौतिक सुख र अरूको आदर पाउन मैले सत्यतालाई त्याग्न सक्दिनँथेँ। बरु परमेश्वरमाथिको विश्वास र आराधना नै मैले पछ्याउने लक्ष्य थिए। यो राज्यको सुसमाचार विस्तारमा फैलाउने समय थियो र सृजित प्राणीको नाताले मैले आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्नु थियो, साथै सुसमाचार फैलाउँदै गवाही दिनु थियो, ताकि परमेश्वरबाट धेरै मानिसले मुक्ति पाउन सकून्। यो नै मेरो जीवनको मूल्य र अर्थ थियो। परमेश्वरको अभिप्राय बुझिसकेपछि, म पैसाले प्रभावित हुन छोडेँ। म आमाबुबाको घर गएपछि उहाँहरूले व्यवसाय नगरेको भनी गाली गर्न छोड्नुभयो, र कहिलेकाहीँ उहाँहरूले जीवनयापनका लागि केही खर्च पनि दिनुहुन्थ्यो। यो सबै परमेश्वरको अनुग्रह र कृपा थियो भन्ने म राम्ररी जान्दथेँ, र मेरो हृदय उहाँप्रतिको कृतज्ञताले भरिएको थियो।
मैले सोचेँ, यो यात्रामा परमेश्वरका वचनको मार्गदर्शन नभएको भए म “दुनियाँ पैसाको इसारामा चल्छ” भन्ने शैतानी विषको नियन्त्रणबाट फुत्किने थिइनँ, व्यवसाय छोडेर कर्तव्य निर्वाह गर्ने निर्णय त झन् गर्न सक्दिनँथेँ। मैले बुझेँ कि पैसा, प्रसिद्धि, हैसियत, कार, घर र यस्तै सबै भौतिक वस्तुहरू बादल झैँ क्षणिक थिए। सत्यता पछ्याएर, परमेश्वरका वचनअनुसार जिएर र सृजित प्राणीका नाताले आफ्नो कर्तव्य निभाएर मात्रै सबैभन्दा अर्थपूर्ण र मूल्यवान जीवन जिउन सकिन्छ। परमेश्वरका वचनले भन्छन्ः “जब मानिसहरू सांसारिक करियरमा संलग्न हुन्छन्, तब तिनीहरूले सांसारिक प्रवृत्ति, प्रतिष्ठा र नाफा, र देहसुख पछ्याउनेबारे मात्र सोच्छन्। यसबाट के निष्कर्ष निकाल्न सकिन्छ? यो कि तेरो सारा शक्ति, समय र बैँस यी कुराहरूमै केन्द्रित हुन्छन् र यी कुराहरूमै सकिन्छन्। के यी कुराहरू अर्थपूर्ण छन्? तैँले यी कुराहरूबाट अन्त्यमा के प्राप्त गर्नेछस्? तैँले प्रतिष्ठा र नाफा प्राप्त गरे पनि, त्यो रित्तो नै हुनेछ। तर तैँले आफ्नो जियाइ शैलीमा बदलाव ल्याइस् भने के हुन्छ? यदि तैँले आफ्नो समय, शक्ति र मस्तिष्कलाई सत्यता र सिद्धान्तहरूमा मात्र लगाउँछस् भने, र यदि तैँले आफ्नो कर्तव्य कसरी राम्ररी निभाउने, र कसरी परमेश्वरसामु आउने भन्नेजस्ता सकारात्मक कुराहरूबारे मात्र सोच्छस् भने, र यदि तैँले आफ्नो शक्ति र समयलाई यी सकारात्मक कुराहरूमा अर्पित गर्छस् भने, तैँले प्राप्त गर्ने कुरा फरक हुनेछ। यसरी तैँले प्राप्त गरेको कुरा सबैभन्दा तात्त्विक लाभ हुनेछ। अनि, तैँले कसरी जिउने, कस्तो उचित स्वव्यवहार देखाउने, हर प्रकारको व्यक्ति, घटना र वस्तुलाई कसरी सामना गर्ने भनी जान्नेछस्। जब तैँले हर प्रकारको व्यक्ति, घटना र वस्तुलाई सामना गर्न जानेको हुन्छस्, तब धेरै हदसम्म यसले तँलाई स्वाभाविक रूपमै परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्षम तुल्याउनेछ। जब तँ स्वाभाविक रूपमै परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्छस्, तब थाहै नपाई, तँ परमेश्वरले स्विकार्नुहुने र प्रेम गर्नुहुने व्यक्ति बन्नेछस्। यसबारे सोच् त, के त्यो राम्रो कुरा होइन र? सायद तँलाई अझै यो कुरा अझै थाहा छैन होला, तर तैँले आफ्नो जीवन जिउने, र परमेश्वरका वचन र सत्यता सिद्धान्तहरू स्विकार्ने क्रममा, तैँले अनजानमै परमेश्वरका वचनअनुसार जीवन जिउने, मानिसहरू र कामकुराहरूलाई हेर्ने, र आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने गर्नेछस्। यसको मतलब, तँ अचेतन रूपमै परमेश्वरका वचनप्रति समर्पित हुनेछस्, उहाँका मापदण्डहरूमा समर्पित हुनेछस्। त्यसपछि तँ थाहै नपाई परमेश्वरले स्वीकार, भरोसा र प्रेम गर्नुहुने व्यक्ति बनिसकेको हुनेछस्। के त्यो सानदार कुरो होइन र? (हो।) त्यसकारण, यदि तैँले आफ्नो शक्ति र समयलाई सत्यता पछ्याउन र कर्तव्य राम्ररी निभाउनमा अर्पित गर्छस् भने, तैँले अन्त्यमा सबैभन्दा मूल्यवान् कुराहरू प्राप्त गर्नेछस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१८))। परमेश्वरका वचन पढेपछि मैले सत्यता पछ्याउनुको मूल्य र महत्त्व राम्रोसँग बुझेँ। अहिले म पहिलेजस्तो धनी नभए पनि र मेरा लुगा राम्रो र सुन्दर नभए पनि मैले परमेश्वरको जीवन आपूर्तिको आनन्द लिइरहेकी थिएँ। यो कुरा जतिसुकै पैसाको बदलामा पनि पाउन सकिँदैनथ्यो। यतिका वर्षमा मैले कसरी बारम्बार परमेश्वरविरुद्ध विद्रोह गरेकी, उहाँको हृदयमा चोट पुर्याएकी र पैसाको पछि दौडिन उहाँको मुक्तिलाई धेरै पटक इन्कार गरेकी थिएँ भन्ने सम्झेँ। मैले कर्तव्य निर्वाह गर्ने महान् अवसरलाई कदर गरिनँ, बरु परमेश्वर सधैँ मेरो छेउमा रहेर म बदलिन्छु भनेर पर्खिरहनुभयो, मलाई मुक्ति दिने कुरामा हार मान्नु भएन। मैले व्यवसाय छोडेपछि परमेश्वरले मलाई चिसो वा भोकमा छोड्नु भएन, उहाँले हरसम्भव तरिकाले मेरो भरणपोषण गरिरहनुभयो। परमेश्वरको मुक्तिको अनुग्रहलाई हिसाब गर्न सकिन्न, त्यसको ऋण तिर्नु त परको कुरा भयो। यो जीवनमा परमेश्वरलाई पछ्याउने निर्णय गरेकोमा मलाई कदापि पछुतो हुनेछैन। परमेश्वरलाई उहाँले दिनुभएको मुक्तिका लागि धन्यवाद। सारा महिमा परमेश्वरलाई होस्।