२७. अत्यन्त ईर्ष्यालु हुनुका परिणामहरू
सन् २०१६ मा, म मण्डलीमा भिडियो बनाउँदै थिएँ। मैले सिस्टर शिन चेङ्गले तुलनात्मक रूपमा बढी भिडियोहरू निर्माण गरेको, र हाम्रा छलफलहरूको दौरान प्राय: उनकै रायलाई अपनाइएको, साथै सुपरभाइजरले धेरैजसो उनलाई नै आफ्ना विचार व्यक्त गर्न अनुरोध गरेको देखेँ। मैले उनी लामो समयदेखि अभ्यास गर्दै आएकी र प्राविधिक रूपमा दक्ष होलिन् भन्ने ठानेँ। त्यसैले मैले सोचेँ, “म यहाँ नयाँ भएकीले, मैले उनीबाट धेरै सिक्नुपर्छ।” तर पछि थाहा पाएँ शिन चेङ्ग यहाँ आएको दुई महिना मात्र भएको रहेछ, अनि मैले सोच्न थालेँ, “हामी दुवैले यहाँ एकै समयमा कर्तव्य निर्वाह सुरु गरेका रहेछौँ। सायद अरूले मेरो तुलना उनीसँग गर्नेछन्। उनले सबैको अनुमोदन पाउन सक्छिन् भने, म उनीभन्दा कम हुनु हुँदैन, नत्र, मानिसहरूले मलाई हेप्नेछन्।” पछि, मैले योजनापूर्वक शिन चेङ्गले बनाएका भिडियोहरू हेरेँ, तर त्यति धेरै खास कुरा केही देखिनँ, त्यसैले सोचेँ, उनको सीपमा खास कुरा केही छैन—म पनि त्यो स्तरसम्म पुग्न सक्षम हुनुपर्छ। म शिन चेङ्गभन्दा कम क्षमताकी छैन भन्ने प्रमाणित गर्न, हरेक पटक हामीले भिडियो प्रस्तुतिबारे छलफल गर्दा म ध्यानपूर्वक विचार गर्दै, उनको भन्दा बढी गहन बुझाइ प्रस्तुत गर्ने कोसिस गर्थेँ। उनको विचार उपयुक्त हुँदा पनि, म अझै उनको विचारमाथि मेरा बुझाइ जोडिहाल्थेँ, ताकि सबैले म उनीभन्दा धेरै बृहत् रूपमा विषयवस्तुबारे विचार गर्छु भन्ने सोचुन्।
एक पटक, मैले शिन चेङ्गले बनाएको निकै राम्रो भिडियो हेरेँ। यो हेर्दा आनन्द आउने खालको थियो। मैले मनमा यसलाई सकारेपनि, उनको भिडियो राम्रो छ भनेर स्विकार्नु भनेको, आफैँलाई सबैसामु थप्पड हानेसरह हुन्थ्यो र मैले त्यसो गर्न सकिनँ। मैले यसो सोच्दै आफूलाई सान्त्वना दिएँ, “मैले यसमा अलि मन लगाएँ भने त, म उनीभन्दा कम हुनेछैन।” त्यसपछि, म भिडियो निर्माणमा निकै लगनशील हुन थालेँ, हाइलाइट गर्नुपर्ने कुरामा बारम्बार चिन्तन गर्थेँ, र राम्रो इफेक्ट दिन कसरी एडिट गर्ने भन्ने विचार गरिरहन्थेँ। केही मेहनत गरेर, मैले केही भिडियोहरू बनाएर शिन चेङ्गलाई जाँच गर्न लगाउँदा उनले कुनै समस्या भेटिनन्। त्यसैले मलाई उनको सीपस्तर मेरैजस्तो रहेछ भन्ने विश्वास भयो। तर पछि, सुपरभाइजरले शिन चेङ्गलाई मेरो मार्गदर्शन गर्न अह्राए। मैले मनमनै सोचेँ, “हामी दुवैले लगभग एकै समयमा सुरु गरेका हौँ, अनि मेरो मार्गदर्शन उनले किन गर्ने? सुपरभाइजरले म उनी जत्तिकी दक्ष छैन भन्ने सोचेको हुनुपर्छ।” मेरो मनले मान्दै मानेन, सोचेँ, “मैले आज्ञाकारी भएर उनीबाट सिक्ने हो भने, यो त उनीभन्दा म कम सक्षम छु भनेर स्वीकार्नुजस्तै हुनेछ, र भविष्यमा मैले राम्रो गरेँ भने पनि, सबैले उनलाई नै श्रेय दिनेछन्। म यस्तो हुन दिनेछैन!” त्यसैले, शिन चेङ्गसँग भिडियोको प्रस्तुतिबारे छलफल गर्दा, म उनको रायलाई वास्तै गदिनँथेँ, र चाख नमानी नजरअन्दाज गरिदिन्थेँ। यसको विपरीत, जब म आफ्नो विचार बताउँथेँ, शिन चेङ्ग धेरै ध्यानपूर्वक सुन्थिन्, र प्रायः आफूले राम्रोसँग नबुझेका कुरा ल्याउँथिन् र त्यसमाथि मेरो राय माग्थिन्। मैले यसलाई आफूमा उनको भन्दा धेरै ज्ञान भएको सङ्केतका रूपमा लिएँ र मैले उनलाई ध्यान दिनुपर्छ जस्तो ठानिनँ। केही समयपछि, शिन चेङलाई अर्को ठाउँमा कर्तव्य निर्वाह गर्न बढुवा गरियो, यसबाट मलाई खुसी र डाहा दुवैको अनुभूति भयो। मलाई उनको बढुवा देखेर डाहा लाग्यो, तर त्यतिखेरै म मनमनै खुसी पनि थिएँ, किनभने उनी जानुको अर्थ मेरो एक जना प्रतिस्पर्धी कम हुनु थियो।
शिन चेङ्ग गएपछि, हामी एक चोटि भिडियोको प्रस्तुतिबारे कुरा गर्दै थियौँ। केहीकेही कुराहरू बुझ्न गाह्रो भयो, जसले गर्दा बारम्बार रोकावट र प्रगतिमा सुस्तता भइरह्यो। म सोच्न बाध्य भएँ, “विगतमा, सुपरभाइजरले शिन चेङ्गलाई मेरो मद्दत गर्न साथै हामीसँग अनुभव सङ्गति गर्न भनेको बेला, उनले जानेको सबैकुरा मलाई थाहा छ, र उनी टिममा भएपनि नभएपनि परक पर्दैन भन्ने सोच्दै मैले त्यसलाई वेवास्ता गरेँ। तर अहिले उनी जाने बित्तिकैदेखि, हामीलाई गाह्रो भइरहेको छ। यसबाट सिद्धान्तहरूबारे मेरो बुझाइ त सीमित रहेछ भन्ने देखियो। निरीक्षण गर्दै नेतृत्व लिने कोही नहुँदा त, म स्तरीय भिडियो नै बनाउन सक्दिनँ।” त्यो बेला, मलाई आफू कति अहङ्कारी बनेकी रहेछु भन्ने थाहा भयो, अनि त म अर्को व्यक्ति र अरू केही सुझाव भएको भए कति राम्रो हुन्थ्यो भन्ने सोच्दै, शिन चेङ्गको उपस्थिति सम्झन थालेँ। मलाई परमेश्वरका केही वचन सम्झना आयो: “तिमीहरूले परमेश्वरको कामको उद्देश्यका निम्ति, मण्डलीको फाइदाका निम्ति, अनि तिमीहरूका दाजुभाइ-दिदीबहिनीहरूलाई अघि बढ्न प्रोत्साहन दिनका निम्ति मैत्रीपूर्ण सहकार्य हासिल गर्नुपर्छ। हरेकले अर्कालाई सुधार्दै र कामको उत्तम नतिजा प्राप्त गर्दै परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्नका निम्ति तैँले एकअर्कासित सहकार्य गर्नुपर्छ। साँचो सहकार्य भनेको यही नै हो, अनि यसमा लागिपर्नेले मात्रै साँचो प्रवेश पाउनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। इस्राएलीहरूले जस्तै सेवा गर्)। मलाई अचानक थाहा भयो, परमेश्वरले मलाई शिन चेङ्गसँग काम गर्न खटाउनुभएको रहेछ, ताकि हामीले एकर्काका सबल र दुर्बल पक्षको पूरक बन्दै भिडियोलाई राम्रो बनाउन सकौँ। तर पछिल्ला केही महिनादेखि, म आफूले गर्नुपर्ने कुरामा ध्यान नदिई, खालि उनीसँग आफूलाई दाँज्न र आफ्नै क्षमता देखाउन केन्द्रित हुँदै, उनलाई बेवास्ता र असहयोग समेत गरिरहेकी थिएँ। अहिले शिन चेङ्ग छोडेर गएकीले, उनीबाट सिक्ने मौका नै थिएन। त्यो बेला, मलाई उतिखेर यति धेरै बुद्धिहीन भएकीमा आफैँसँग रिस उठ्यो।
खोज्दै जाँदा, मैले परमेश्वरका यी वचनहरू भेटेँ: “कतिपय मानिसहरू आफूभन्दा अरूहरू उत्तम र उच्च होलान्, र आफ्नो बेवास्ता हुँदा अरूहरूलाई मानसम्मान मिल्ला भनेर सधैँ डराउँछन्, र यसले तिनीहरूलाई अन्य व्यक्तिहरूलाई आक्रमण गर्ने र पाखा लगाउने बनाउँछ। के यो प्रतिभावान् मानिसहरूको ईर्ष्या गर्नु होइन र? के त्यो स्वार्थी र नीच कुरा होइन र? यो कस्तो प्रकारको स्वभाव हो? यो दुराशयता हो! आफ्ना हितहरूबारे मात्रै सोच्ने, आफ्ना स्वार्थी चाहनाहरू मात्रै पूरा गर्ने, अन्य व्यक्तिहरूबारे वा परमेश्वरको घरको हितबारे केही नसोच्ने मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्वरले तिनीहरूलाई प्रेम गर्नुहुन्न” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। “ख्रीष्टविरोधीहरूको सबैभन्दा स्पष्ट स्वभाव के हो? अर्थात्, तिनीहरूको सम्पर्कमा आउँदा तिनीहरूको एक-दुई वटा वाक्यांश सुनेरै तैँले छर्लङ्गै देख्न सक्ने स्वभाव के हो? अहङ्कार। … तिनीहरू अहङ्कारी हुने भएकाले र तिनीहरूले आफ्नो स्तरमा कोही हुँदैन भन्ने विश्वास गर्ने भएकाले—यस कारणले गर्दा, तिनीहरूले गर्ने कुनै पनि कुरामा, कसैसँग सहकार्य वा छलफल गर्न चाहँदैनन् भनेर भन्दा अतिशयोक्ति हुँदैन। तिनीहरूले प्रवचनहरू सुन्न, परमेश्वरका वचनहरू पढ्न, उहाँका वचनहरूको खुलासा देख्न सक्छन्, वा तिनीहरू कहिलेकहीँ काटछाँटमा पर्न सक्छन्, तर जे भए पनि, तिनीहरूले भ्रष्टता प्रकट गरेको र अपराध गरेको कुरा स्वीकार गर्दैनन्, अहङ्कारी र आत्मधर्मी छु भनेर स्वीकार गर्नु त परको कुरा हो। तिनीहरूले आफू साधारण क्षमता भएको साधारण व्यक्ति मात्रै भएको कुरा बुझ्न सक्दैनन्। तिनीहरूले त्यस्ता कुराहरू बुझ्न सक्दैनन्। तैँले तिनीहरूलाई जतिसुकै काटछाँट गरे पनि, तिनीहरूले अझै पनि तिनीहरूको क्षमता राम्रो छ, तिनीहरू साधारण मानिसहरूभन्दा माथि छन् भन्ने सोच्छन्। के यो आशाभन्दा बाहिरको कुरा होइन र? (हो।) यो आशाभन्दा बाहिरको कुरा हो। त्यो ख्रीष्टविरोधी हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्वरका वचनको खुलासाबाट, मेरो व्यवहार त ठ्याक्कै परमेश्वरले खुलासा गरेको, प्रतिभाशाली मानिसको डाहा गर्ने र बिनाकारण अहङ्कार गर्ने पो रहेछ भन्ने मैले महसुस गरेँ। पहिले म भर्खर भर्खर आएर भिडियो बनाउन थालेको सम्झँदा, जब मैले शिन चेङ्ग भर्खरै आएकी भएपनि सबैको अनुमोदन पाउन सक्षम भएको देखेकी थिएँ, तब मैले उनीसँग आफूलाई दाँजे, उनले गर्न सक्छिन् भने म पनि गर्न सक्छु भनेर सोचेँ। भिडियो बनाउँदा होस् वा विचार बताउँदा, मैले दिमाग खियाएर आफ्नो चतुर्याइँ देखाउन खोजेकी थिएँ। म शिन चेङ्गको बलियो पक्षलाई पनि स्वीकार्न अनिच्छुक भएकी थिएँ। उनको भिडियो बनाउने सीप अवश्यै मेरो भन्दा राम्रो थियो, मैले मनमनै यो कुरा मानेपनि, मुखले स्विकार्न मानेकी थिइनँ। सुपरभाइजरले शिन चेङलाई मलाई अझ धेरै मार्गदर्शन गर्नु भनेका थिए, ताकि मैले चाँडै सिद्धान्त बुझेर आफ्नो सीपको स्तर सुधार्न सकूँ, तर मैले त्यसलाई मलाई तुच्छ ठानेको सङ्केतका रूपमा लिएकी थिएँ, र बारम्बार शिन चेङ्गसँग हल्का मनोवृत्ति राखेर व्यवहार गरेकी थिएँ। आफ्नो ईर्ष्याले गर्दा, म सुध्रने कुनै चाहनाबिना आफ्ना तौरतरिकामा अड्केर बसेकी थिएँ, र मैले उनीसँग सहकार्य गरेर केही पनि सिकेकी थिइनँ। त्यसमाथि, मैले भर्खरै भिडियो बनाउने तालिम थालेकीले, मेरो सीपमा धेरै कमजोरी थिए, तरपनि मलाई सबै थाहा छ जस्तो लाग्थ्यो, अनि अन्धाधुन्ध र हठी हुँदैअहङ्कारी भएकी थिएँ। शिन चेङ भिडियो बनाउनमा मभन्दा राम्रो थिइन, अनि नम्रतापूर्वक मसँग सल्लाह माग्न र समस्याबारे छलफल गर्नसमेत सक्थिन्। तर, मैले उनका सबलतालाई बेवास्ता गरेँ र निर्लज्ज भई आफूलाई उनीभन्दा राम्रो ठानेँ। यदि ममा आफ्ना कमजोरीहरू स्विकार्न सक्ने, आफ्नो अहङ्कारलाई जित्ने, र शिन चेङ्गबाट सिक्ने अलिकति पनि समझ भएको भए अहिलेजस्तो निस्सहाय र दयनीय हुनेथिइनँ। यो थाहा पाएपछि, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मैले गर्नुपर्ने कुरामा ध्यान दिइरहेकी छैनँ र तपाईँको गम्भीर-इमानदार अभिप्रायलाई निराश तुल्याएकी छु। अहिले पनि, म सीपमा निपुण भएकी छैनँ, जसले गर्दा मेरो कर्तव्यमा ढिलाइ भएको छ। म पश्चात्ताप गर्न इच्छुक छु।”
दुई वर्षपछि, वाङ लु नामकी नयाँ सुपरभाइजर नियुक्त भइन्। पहिले म वाङ लुको कामका लागि जिम्मेवार थिएँ, तर अहिले उनी सुपरभाइजर भएकी थिइन् र मेरो कामको अनुगमन र रेखदेख गर्थिन्, जसले मलाई निकै असजिलो बनायो। मैले सोचेँ, “मैले आफ्नो कर्तव्य उनीभन्दा लामो समयदेखि गरिरहेकी छु, तर उनी आउनबित्तिकै सुपरभाइजर बनेकी छिन्। के ब्रदर—सिस्टरहरूले म आफ्नो लामो तालिमको बाबजुद नयाँ विश्वासीभन्दा राम्रो छैनँ भनेर सोच्नेछन्?” मैले सुपरभाइजर बन्ने अभिप्राय कहिल्यै नराखेकी भए पनि, म तुच्छ ठानिन पनि चाहिँदिनथेँ। त्यसैले मैले एउटी सिस्टरलाई वाङ लुबारे हिचकिचाउँदै उनको राय सोधेँ, र ती सिस्टरले वाङ लुले सिद्धान्तहरू निकै राम्रो बुझेकी छिन्, र उनले बनाएका भिडियोका नतिजा पनि निकै राम्रो छ भनेर बताइन्। यो सुनेर मलाई चित्त बुझेन, उनी साँच्चै त्यति राम्रो छिन् भनेर पत्याउन सकिनँ। त्यसपछि, मैले आफ्नो मानसिकताको असन्तुलन मिलाउन वाङ लुमा सानातिना गल्तीहरू खोजिरहेँ। एक साँझ, वाङ लु हाम्रो कामका समस्याहरूको निचोड निकाल्न आइन्, मलाई उनको स्तर ठ्याक्कै के हो भनेर हेर्न मन थियो, त्यसैले मैले उनको सङ्गति पर्खेँ। तर, उनी धेरैबेर चुपचाप बसिन्। मैले सोचेँ, “सुपरभाइजर भएर तिमी किन अग्रसर हुँदिनौ? तिमी त नाम मात्रकी सुपरभाइजर हौ जस्तो छ। यति सानो काम पनि व्यवस्थित गर्न सक्दिनौ।” त्यसपछि, मैले जानाजानी सिस्टरहरूलाई वाङ लु आफ्नो कर्तव्यमा निष्क्रिय र अदक्ष छिन् भनेँ, र उनीहरू मेरो विचारसँग सहमत भए। उनको दुर्भाग्यमा मलाई अलि खुसी लाग्यो, सोचेँ “अहिले उनको राम्रो कदर भए पनि, उनको कार्य दक्षता कुनै हिसाबले प्रभावशाली छैन। उनी सायद लामो समय सुपरभाइजरको भूमिका सम्हाल्न सक्दिनन्। त्यति बेलासम्म, ब्रदर—सिस्टरहरूले के सोच्नेछन् भने, ममा सुपरभाइजर बन्ने क्षमता नभए पनि, म कम्तीमा आफ्नो जिम्मेवारीमा भरपर्दो र विश्वसनीय छु, अनि उनीभन्दा कम योग्य छैन।” अर्को भेलामा, वाङ लुले मेरो स्थितिको बारेमा सोधिन्, मैले एकदम उपेक्षापूर्ण जवाफ दिएँ, जसले उनलाई मेरो साँचो स्थिति बुझ्न गाह्रो भयो, र मैले जानाजानी उनलाई अप्ठ्यारोमा पारेँ। नियमित भेलाहरूमा, ममा अन्तर्ज्ञान भए पनि, म तुरुन्तै सङ्गति गर्दिनथेँ, र वाङ लुले त्यस अवस्थालाई कसरी सम्हाल्छिन् भनेर हेर्न अरू चुप बसिदिए पनि हुन्थ्यो भनेर उत्सुकतासाथ आशासमेत गर्थेँ। तर सबै जना अघि सरेर खुलस्त भई सङ्गति गर्थे, र वाङ लुले सोधेका कुनै पनि प्रश्नको सक्रियतापूर्वक जवाफ दिन्थे। सबै जना स्वतन्त्र र निश्चिन्त भएको जबकि मलाई चाहिँ असहज भइरहेको देख्दा, मैले आफैँलाई सोधेँ, “किन अरू सबैले वाङ लुलाई सही तरिकाले व्यवहार गर्छन्, तर म सधैँ उनको विरुद्धमा जान खोज्छु?” चिन्तन गर्दा, मैले आफ्नो ईर्ष्या फेरि सक्रिय भएको रहेछ भन्ने बुझेँ।
एक दिन, मैले परमेश्वरका यी वचनहरू पढेँ: “यदि कुनै व्यक्तिले आफूभन्दा राम्रो कसैलाई देख्छ र उसलाई होच्याउने प्रयास गर्छ, उसको बारेमा अफवाह फैलाउँछ वा उसलाई बदनाम गर्न र उसको प्रतिष्ठा गिराउन घृणित माध्यमहरू प्रयोग गर्छ—र उसलाई कुल्चिमिल्चीसमेत गर्छ—र यो सबै काम मानिसहरूको मनमस्तिष्कमा आफ्नो स्थान जोगाउनको लागि गर्छ भने, यो कस्तो प्रकारको स्वभाव हो? यो अहङ्कार र दम्भ मात्र होइन, यो त शैतानको स्वभाव हो, यो दुष्ट स्वभाव हो। यस व्यक्तिले आफूभन्दा राम्रा र सबल मानिसहरूलाई आक्रमण गर्न र एकल्याउन सक्नु कपटीपन र दुष्टता हो। अनि ऊ मानिसहरूलाई होच्याउन कहीँकतै नरोकिनुले ऊभित्र धेरै हदसम्म दियाबलस रहेको हुन्छ भन्ने देखाउँछ! यस्ता मानिसहरूले शैतानको स्वभावअनुसार जिएर, मानिसहरूलाई होच्याउन, तिनीहरूलाई फसाउने प्रयास गर्न, र तिनीहरूका लागि परिस्थिति गाह्रो बनाइदिन सक्छन्। के यो दुष्कर्म होइन र? अनि यसरी जिएर पनि तिनीहरूले म ठीक छु, म असल व्यक्ति हुँ भनी सोच्छन्—तर तिनीहरूले आफूभन्दा उत्तम कसैलाई देख्दा, तिनीहरूले दुष्ट काम गरेर तिनीहरूलाई गाह्रो परिस्थितिमा पार्न, तिनीहरूलाई कुल्चीमिल्ची पार्न सक्छन्। यहाँ समस्या के हो? के यस्ता दुष्ट कार्यहरू गर्न सक्ने मानिसहरूमा अनैतिक र मनोमानी हुँदैनन् र? त्यस्ता मानिसहरूले आफ्ना हितहरू मात्रै सोच्छन्, तिनीहरूले आफ्नै भावनाबारे मात्रै विचार गर्छन्, र तिनीहरू आफ्नै इच्छा, महत्त्वाकाङ्क्षा, र उद्देश्य हासिल गर्न मात्र चाहन्छन्। आफूले मण्डलीको काममा कति हानि पुऱ्याउँछु भनेर तिनीहरूले वास्ता गर्दैनन्, र तिनीहरू मानिसहरूको मनमस्तिष्कमा रहेको आफ्नो हैसियत र तिनीहरूको आफ्नै प्रतिष्ठा जोगाउन परमेश्वरको घरका हितहरूलाई बलि चढाउन रुचाउँछन्। के यस प्रकारका व्यक्तिहरू अहङ्कारी र आत्मधर्मी, स्वार्थी र नीच होइनन् र? यस्ता मानिसहरू अहङ्कारी र आत्मधर्मी मात्र हुँदैनन्, तिनीहरू त हदैसम्मका स्वार्थी र नीच पनि हुन्छन्। तिनीहरूले परमेश्वरका अभिप्रायलाई पटक्कै वास्ता गर्दैनन्। के यस्ता मानिसहरूमा परमेश्वरको भय मान्ने हृदय हुन्छ? तिनीहरूमा परमेश्वरको भय मान्ने हृदय पटक्कै हुँदैन। यसैकारण, तिनीहरूले कुनै दोषको भावनाविना, कुनै डरविना, कुनै चिन्ता वा फिक्रीविना र परिणामहरूलाई विचार नगरी छाडा व्यवहार देखाउँछन्, र आफूले जे चाह्यो त्यही गर्छन्। तिनीहरूले प्रायः यसै गर्छन्, र सधैँ यसरी नै व्यवहार गरेका हुन्छन्। त्यस्तो व्यवहारको प्रकृति के हो? यसलाई सरल रूपमा भन्नुपर्दा, त्यस्ता मानिसहरूमा व्यक्तिगत प्रतिष्ठा र हैसियतका निम्ति अति नै बढी जोस हुन्छ र अति नै बलियो चाहना हुन्छ; तिनीहरू अति नै छली र धूर्त हुन्छन्। यसलाई अझ कठोर रूपमा भन्नुपर्दा, समस्याको सार के हो भने, त्यस्ता मानिसहरूमा परमेश्वरको भय मान्ने हृदय पटक्कै हुँदैन। तिनीहरू परमेश्वरको भय मान्दैनन्, तिनीहरू आफैलाई अत्यन्त महत्त्वपूर्ण ठान्छन्, र तिनीहरू आफ्नो हरेक पक्षलाई परमेश्वरभन्दा उच्च र सत्यताभन्दा उच्च ठान्छन्। तिनीहरूका हृदयमा, परमेश्वर उल्लेखयोग्य हुनुहुन्न, बरु नगण्य हुनुहुन्छ, र तिनीहरूको हृदयमा परमेश्वरको कुनै हैसियत नै हुँदैन। के आफ्नो हृदयमा परमेश्वरका निम्ति कुनै स्थान नहुने, र परमेश्वरको भय मान्ने हृदय नहुने व्यक्तिहरूले सत्यता अभ्यास गर्न सक्छन्? कदापि सक्दैनन्। त्यसैले, जब तिनीहरू विशेष रूपले खुसी हुँदै यताउता गएर आफूलाई व्यस्त राख्छन् र धेरै ऊर्जा खर्च गर्छन्, तब तिनीहरूले के गरिरहेका हुन्छन्? त्यस्ता मानिसहरूले परमेश्वरको निम्ति अर्पित हुन आफूले सबै कुरा त्यागेका र धेरै दुःख भोगेका समेत दाबी गर्छन्, तर वास्तवमा तिनीहरूका सबै कार्यका अभिप्राय, सिद्धान्त र उद्देश्य तिनीहरूको आफ्नै हैसियत र प्रतिष्ठाको लागि, तिनीहरूको आफ्नै हित रक्षा गर्नको खातिर हुन्छन्। के तिमीहरू यस किसिमको मानिस डरलाग्दो हुन्छ भनी भन्छौ, कि भन्दैनौ? कस्ता किसिमका मानिसहरूले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेका भए पनि, तिनीहरूमा परमेश्वरको भय मान्ने हृदय हुँदैन? के तिनीहरू अहङ्कारी होइनन्? के तिनीहरू शैतान होइनन्? अनि कोसँग परमेश्वरको भय मान्ने हृदयको सबैभन्दा कमी हुन्छ? पशुहरूबाहेक, दियाबलस र ख्रीष्टविरोधीहरू, दियाबलस र शैतानका नोकरहरूमा त्यस्तो कुराको कमी हुन्छ। तिनीहरूले सत्यता कदापि स्वीकार गर्दैनन्; तिनीहरूमा परमेश्वरको भय मान्ने हृदय हुँदै हुँदैन। तिनीहरूले जुनसुकै दुष्ट काम गर्न सक्छन्; तिनीहरू परमेश्वरका शत्रुहरू हुन्, र उहाँका चुनिएका मानिसहरूका पनि शत्रुहरू हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमाथिको विश्वासको सही मार्गमा हिँड्नको लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। परमेश्वरका वचनहरू पढ्दा, त्यसले मलाई एकदमै मर्माहत गरेको महसुस भयो। “दुष्ट,” “ख्रीष्टविरोधीहरू,” “दियाबलसहरू” र “शैतान” जस्ता शब्दहरूले मलाई एकदमै लज्जित बनाए। म सुपरभाइजर बन्न सक्ने नै थिइनँ, तर पनि अरूले मेरो तारिफ गरून् भन्ने चाहन्थेँ। नयाँ विश्वासी वाङ लुले अरूलाई उछिनेको देख्दा, मान्छेहरूले म आफ्नो यति लामो अभ्यासको बाबजुद पनि नयाँ विश्वासीभन्दा कमसल छु भनेर भन्नेछन्, जसले मलाई अयोग्य देखाउँछ भन्ने मलाई डर लाग्यो। ईर्ष्या र असन्तुष्टिले गर्दा, मैले उनका गल्ती खोज्नमा ध्यान दिएँ। वाङ लु सुरुमा आबद्ध हुँदा र कामसितअझै परिचित नहुँदा, मैले उनलाई निष्क्रिय र अदक्ष भएकामा आलोचना गर्न, उनलाई होच्याउन र उनको प्रयासलाई कमजोर बनाउन उनको गल्ती खोज्ने कोसिस गरेँ। भेलाको समयमा, उनलाई जानाजानी लज्जित पार्ने अभिप्रायले म सङ्गतिमा सक्रिय हुँदिनथेँ र अरू ब्रदर-सिस्टरलाई पनि सङ्गतिमा सहभागी हुन दिँदिनँथेँ। म परमेश्वरको डर पटक्कै नभएकी साँच्चै घृणित र खराब थिएँ! यसो हेर्दा, म उनको ईर्ष्या गर्थेँ र उनलाई कमजोर बनाउने प्रयास गर्थेँ, तर वास्तवमा, म मण्डलीको काममा बाधा र अवरोध पुर्याउँदै थिएँ र परमेश्वरको स्वभावलाई चिढ्याउँदै थिएँ। यो त दुष्ट काम गर्नु थियो! म आफैँ सुपरभाइजरको भूमिका पूरा गर्न सक्दिनथेँ, तरपनि अरूको गल्ती समातेर उनीहरूलाई गाह्रो बनाइदिन्थेँ, उनीहरू पनि असफल होऊन् भन्ने आशा गर्थेँ। म त शैतानको सेवक भएर काम गरिरहेकी थिएँ। म ईर्ष्या र प्रतिस्पर्धामा जिइरहने हो भने, ढिलोचाँडो, धेरै दुष्ट काम गरेकामा परमेश्वरको दण्ड भोग्नुपर्थ्यो।
आफ्नो चिन्तनमा, मैले परमेश्वरका यी वचनहरू पढेँ: “शैतानका खेमामा, चाहे समाजमा होस् वा सरकारी वृत्तमा, कस्तो वातावरण प्रचलित छ? कुन अभ्यासहरू लोकप्रिय छन्? तिमीहरूले यीबारे केही बुझेको हुनुपर्छ। तिनीहरूका कार्यहरूका सिद्धान्त र दिशानिर्देशन केके हुन्? प्रत्येक आफ्नै लागि एउटा कानुन हो; प्रत्येक आफ्नै बाटोमा लाग्छ। तिनीहरू आफ्नै हितमा काम गर्छन् र आफ्नै रोजाइअनुसार गर्छन्। जोसँग अधिकार हुन्छ त्यसैले अन्तिम निर्णय लिन्छ। तिनीहरूले अरूबारे क्षणिक विचारसमेत गर्दैनन्। तिनीहरू केवल आफ्नो इच्छाअनुसार गर्छन्, प्रसिद्धि, प्राप्ति र हैसियतका लागि लागिपर्छन्, अनि पूर्णतया आफ्नो प्राथमिकताअनुसार कार्य गर्छन्। तिनीहरूले शक्ति प्राप्त गर्नेबित्तिकै यो शक्ति तुरुन्तै अरूमाथि प्रयोग गर्छन्। यदि तैँले तिनीहरूलाई चिढाइस् भने, तिनीहरूले तँलाई निकै दुःख दिन खोज्छन्, र तैँले तिनीहरूलाई उपहार दिनेबाहेक केही गर्न सक्दैनस्। तिनीहरू बिच्छीजस्तै भयानक हुन्छन्, कानुन, सरकारी नियम उल्लङ्घन गर्न र अपराधसमेत गर्न इच्छुक हुन्छन्। यी सबै कुरा तिनीहरू गर्न सक्छन्। शैतानका खेमामा यस्तै अन्धकार र दुष्टता हुन्छ। अब, परमेश्वर मानवजातिलाई मुक्ति दिन, मानिसहरूलाई सत्यता स्वीकार गर्न, सत्यता बुझ्न र शैतानको बन्धन र शक्तिबाट मुक्त हुन सहयोग गर्नका लागि आउनुभएको छ। यदि तिमीहरू सत्यता स्वीकार गर्दैनौ र सत्यता अभ्यास गर्दैनौ भने, के तिमीहरू अझै पनि शैतानको शक्तिमा जिइरहेका छैनौ र? त्यस अवस्थामा, तिमीहरूको वर्तमान दियाबलसहरू र दियाबलस शैतानको स्थितिबीच के भिन्नता रह्यो र? तिमीहरू पनि गैरविश्वासीहरूले जस्तै होड गर्नेछौ। तिमीहरू त्यसरी नै लड्नेछौ जसरी गैरविश्वासीहरू लड्छन्। बिहानदेखि रातिसम्म, तिमीहरू षड्यन्त्र गर्छौ, चाल चल्छौ, ईर्ष्या गर्छौ र विवादमा मुछिन्छौ। यो समस्याको जड के हो? यो त मानिसहरूमा भ्रष्ट स्वभाव भएकाले र तिनीहरू यी भ्रष्ट स्वभावअनुसार जिउनाले गर्दा हो। भ्रष्ट स्वभावको शासन शैतानको शासन हो; भ्रष्ट भएको मानवता शैतानी स्वभावभित्र बास गर्दछ, र यसबाट केही पनि अछुत छैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्वरका वचनहरू पढेपछि, मलाई के सम्झना भयो भने परमेश्वरमा विश्वास गर्नुअघि, म “महापुरुष एक जना मात्रै हुन सक्छ” र “विजेताले नै वैधता पाउँछ, हरुवा सधैँ गलत हुन्छ” जस्ता बचाइका नियमहरू मान्थेँ। म वरपरका मान्छेलाई उछिनेर, अरूले कदर र समर्थन गर्ने व्यक्ति बन्नु नै जीवनको मूल्य हो भन्ने सोच्थेँ। यही मानसिकताको प्रभुत्वका कारण, स्कुलमा, धेरै अङ्क ल्याउने वा शिक्षकको ध्यान पाउनेहरू मैले गोप्य रूपमा आफूलाई तुलना गर्ने व्यक्ति बन्थे। काम सुरु गरेपछि, म प्रायः के सुन्थेँ भने स्थिर पद र सम्मान पाउन, मान्छे भिन्न र उत्कृष्ट हुनुपर्छ। मभन्दा बढी क्षमतावान् कोही व्यक्ति मेरो छेउछाउ हुँदा, मलाई त्यो सङ्कट जस्तो लाग्थ्यो, किनभने त्यसको मतलब एउटा प्रतिस्पर्धी थपिएको भन्ने हुन्थ्यो, र कुनै निश्चित क्षेत्रमा, अनुभवी व्यक्तिलाई नयाँ प्रवेसीले उछिन्दा, त्यो झन् लज्जास्पद हुन्थ्यो। परमेश्वरमा विश्वास गर्न थालेपछि पनि मैले कामकुरालाई यसरी नै हेरिराखेँ। मानिसहरूको कुनै पनि समूहमा, म पहिले मभन्दा राम्रो को छ वा कसले मेरो पदलाई खतरामा पार्न सक्छ भनेर हेर्थेँ। कोही कुनै क्षेत्रमा मभन्दा अगाडि भयो भने मलाई लाज लाग्थ्यो, र म ईर्ष्यालु तथा असन्तुष्ट बन्थेँ। मैले आफूभन्दा योग्य ब्रदर—सिस्टरहरू देखेँ भने, म ईर्ष्या गर्थेँ र उनीहरूलाई बाहेक गर्थेँ, र सधैँ उनीहरूलाई होच्याएर आफूलाई माथि उठाउन खोज्थेँ। उनीहरूलाई उछिन्न, उनीहरूलाई तल झारेर सन्तुष्टि लिने आशा गर्दै म चालबाजी गर्थेँ, कमजोरीहरू पक्रिन्थेँ, र उनीहरूका पछाडि कुरा काट्थेँ। मैले बुझेँ, बाँच्नेसम्बन्धी शैतानको नियमअनुसार जिउँदा, म अहङ्कारी, दुर्भावनापूर्ण र मानवताहीन भएकी थिएँ, र मण्डलीको काममा पनि बाधा पुर्याएँ। परमेश्वरले मप्रति मेरा दुष्कर्मअनुसारको व्यवहार देखाउनुभएन, बरु मलाई अझैपनि पश्चात्ताप गर्ने मौका दिनुभयो। मैले मनैदेखि परमेश्वरलाई धन्यवाद दिएँ, र अब आफ्नो भ्रष्ट स्वभावअनुसार बाँच्न चाहिनँ।
पछि, मैले परमेश्वरका यी वचनहरू पढेँ: “सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; मान्छेको हितहरूको ख्याल नगर्, र आफ्नो सान, प्रतिष्ठा, र हैसियतको मात्र विचार नगर्। तैँले पहिले परमेश्वरको घरको हितबारे विचार गर्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनुपर्छ। तँ परमेश्वरका अभिप्रायप्रति विचारशील हुनुपर्छ र तैँले तेरो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्धता छ कि छैन, तँ निष्ठावान बनेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस् र तैँले तनमन दिएको छस् कि छैनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामबारे सम्पूर्ण हृदयले सोच्ने गरेको छस् कि छैनस् भनी विचार गर्दै यो काम सुरु गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। यदि तँमा थोरै क्षमता छ भने, यदि तँ सतही अनुभव भएको व्यक्ति होस् भने वा यदि तँ तेरो व्यावसायिक काममा निपुण छैनस् भने, तेरो काममा केही गल्ती वा कमजोरीहरू हुन सक्छन्, र तैँले राम्रा नतिजाहरू प्राप्त नगर्न सक्छस्—तर तैँले आफ्नो सक्दो प्रयास लगाइसकेको हुन्छस्। तँ आफ्नै स्वार्थी चाहनाहरू वा आफ्नै प्राथमिकताहरू सन्तुष्ट पार्ने गर्दैनस्। त्यसको साटो, तँ मण्डलीको काम र परमेश्वरको घरका हितहरूलाई निरन्तर ध्यान दिन्छस्। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सायद राम्रो नतिजा हासिल नगर्लास्, तर तेरो हृदय सोझिइसकेको हुन्छ; यसअलावा, यदि तैँले आफ्नो कर्तव्यमा आइपरेका समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न सक्छस् भने, तँ तेरो कर्तव्यपालनमा मापदण्डअनुरूपको हुनेछस् र साथमा तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछस्। आफूसँग गवाही हुनु भनेकै यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनहरूले मलाई अभ्यास गर्ने सिद्धान्तहरू देखाए: परिस्थितिहरूको सामना गर्दा, मैले आफ्नो स्वार्थ, इज्जत वा हैसियत जोगाउने कार्यलाई प्राथमिकता दिनुहुन्न, बरु परमेश्वरको घरको हितलाई विचार गर्नुपर्छ, र परमेश्वरको घरको कामको रक्षा गर्न जे गर्नुपर्ने हो, त्यो गर्नुपर्छ। मैले आफूभन्दा अरू बढी योग्य र वास्तविक काम गर्न सक्ने देखेमा, मैले उनीहरूलाई सहयोग र साथ दिनुपर्छ। उनीहरूमा कमजोरी भएपनि, मैले उनीहरूलाई ठीक तरिकाले व्यवहार गर्नुपर्छ, उनीहरूबाट अत्यधिक ठुला आशा नराखी, उनीहरूका सबलता र गुणहरूबाट सिक्नुपर्छ। वाङ्ग लुले भर्खरै सुपरभाइजरको अभ्यास सुरु गरेकी थिइन्, र उनमा केही कमजोरी हुनु सामान्य थियो। उनी सच्चा व्यक्ति भएर र केही वास्तविक काम गर्न सक्छिन् भने, मैले उनलाई माया गरेर सहयोग गर्नुपर्छ र उनीसँग मिलेर काम राम्रोसँग गर्नुपर्छ। यो नै मण्डलीको कामलाई कायम राख्नु हो। जब मैले मेरो मानसिकता सुधारेँ, मलाई वाङ्ग लुको ईर्ष्या लाग्न छोड्यो, बरु मैले उनको प्रशंसा गर्न थालेँ। उमेर सानो भएपनि, उनले समस्याहरूबारे राम्रोसँग सोचविचार गर्थिन्, धैर्य र स्थिर भएर काम गर्थिन्, र सिद्धान्त खोज्नमा ध्यान दिन्थिन्। ममा यी सबै कुराको अभाव थियो। मलाई उनीप्रति प्रतिरोध हुन छाड्यो, म आफैँ अघि सरेर कामका समस्याहरू उनलाई रिपोर्ट गर्न र त्यसबारे उनीसँग छलफल गर्न सक्ने भएँ, र उनले काममा हाम्रा कमजोरीहरू देखाउँदा पनि म त्यो स्वीकार गर्न तयार भएँ। यसरी अभ्यास गर्दा, मलाई लाज लागेन; बरु, मलाई धेरै स्वतन्त्रता महसुस भयो।
पछि, मलाई अर्को टिममा जियान रानसँग काम गर्न सरुवा गरियो। हामीले यो कर्तव्य लगभग उस्तै समयदेखि गरिरहेका भएपनि, मैले उनको दक्षता र पेसागत सीप मभन्दा धेरै राम्रो रहेको देखेँ। सुरुमा त, मलाई एकदम लाज लाग्यो र अरूले मलाई तुच्छ ठान्छन् कि भनेर चिन्तित भएँ। तर पछि मैले बुझेँ, उनका प्रभावकारी सीपहरूबाट, मैले आफ्ना कमजोरीहरू सुधार गर्न धेरै कुरा सिक्न सक्नेछु, त्यसैले म उनीसँग सहकार्य गर्न निकै इच्छुक भएँ। तर पछि, जब सुपरभाइजरले उनलाई कामको इन्चार्ज बनाए, र अरू सिस्टरहरू प्रायः कुनै समस्याबारे छलफल गर्न उनीकहाँ नै जान थाले, मलाई फेरि असन्तुलित महसुस भयो। मैले सोचेँ, “के यो खालि उनी आफ्नो कर्तव्यमा अलि बढी दक्ष र प्रभावकारी भएकै कारणले होइन र? के यो साँच्चै सबै जना उनको वरिपरि झुम्मिनुपर्ने कारण हो? म त अदृश्य जस्तै छु त।” म हृदयमा निश्चिन्त भइनँ, तर त्यही बेला, मैले बुझेँ, मेरो ईर्ष्या फेरि सक्रिय भइरहेको छ। त्यसैले, मैले परमेश्वरलाई यो अवस्थाको उचित व्यवस्थापनका लागि मलाई मार्गदर्शन गर्नुहोस् भन्दै उहाँलाई प्रार्थना गरेँ। त्यसपछि, मैले परमेश्वरका यी वचनहरू पढेँ: “तैँले जीवनमा खेल्ने भूमिका र तैँले पूरा गर्ने कर्तव्य परमेश्वरले धेरै पहिले नै पूर्वनिर्धारित गर्नुभएको हो। कतिपय मानिसहरू आफूमा नभएको सबल पक्ष अरूमा देख्छन् र तिनीहरू असन्तुष्ट हुन्छन्। तिनीहरू अझै धेरै सिकेर, अझै धेरै खोजेर, अनि अझै धेरै लगनशील भएर परिस्थिति बदल्न चाहन्छन्। तर तिनीहरूको लगनशीलताले हासिल गर्न सक्ने कुराको सीमा हुन्छ, र तिनीहरूले यी प्रतिभा र विशेषज्ञता भएकाहरूलाई उछिन्न सक्दैनन्। तैँले जति नै संघर्ष गरे पनि यो व्यर्थ हुन्छ। तँ के बन्नेछस् भन्ने कुरा परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ, र यसलाई कसैले पनि केही गरी परिवर्तन गर्न सक्दैन। तँ जुन कुरामा सिपालु छस्, तैँले त्यही कुरामा प्रयास गर्नुपर्छ। तँ जुन कर्तव्यका लागि उपयुक्त छस्, तैँले त्यही कर्तव्य निर्वाह गर्नुपर्छ। तेरो सीपको क्षेत्रबाहिर आफूलाई जबरजस्ती लैजाने प्रयास नगर् र अरूको डाहा नगर्। हरेकको आ-आफ्नै कार्य हुन्छ। तैँले सधैँ अरूको स्थान लिने र आफूलाई प्रदर्शन गर्ने इच्छा गर्दै सबै कुरा राम्ररी गर्न सक्छु वा तँ अरूभन्दा सिद्ध वा असल छस् भनेर नसोच्। यो भ्रष्ट स्वभाव हो। आफूले कुनै पनि काम राम्ररी गर्न सक्दिनँ, र आफूसँग कुनै सीपै छैन भनेर सोच्ने मानिसहरू पनि हुन्छन्। यदि त्यस्तो अवस्था छ भने, तँ व्यावहारिक तरिकामा सुन्ने र समर्पित हुने व्यक्ति बन्नुपर्छ। आफूले गर्न सक्ने काम गर् र आफ्नो सारा शक्तिले राम्रोसित गर्। त्यही नै पर्याप्त छ। परमेश्वर सन्तुष्ट हुनुहुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्वरका वचनबाट मैले बुझेँ हरेकका क्षमता र सबलता फरक—फरक हुन्छन्, ती परमेश्वरद्वारा पहिल्यै निर्धारित हुन्छन् र हामी ती कुरामा प्रतिस्पर्धा गर्न सक्दैनौँ। परमेश्वरको अभिप्राय के हो भने हामी आफ्ना र अरूका सबल र दुर्बल पक्षहरूप्रति सही तरिकाले व्यवहार गरौँ, आफ्नै ठाउँमा अडिग रहौँ, र आफ्ना कर्तव्य राम्रोसँग पूरा गरौँ। वास्तविकता के थियो भने मेरो कार्यदक्षता र सिद्धान्तको बुझाइ जियान रानको जति राम्रो थिएन, त्यसैले ब्रदर–सिस्टरहरूले राम्रोसँग आफ्नो कर्तव्य पूरा गर्नका लागि उनीसँग बढी सल्लाह माग्थे, उनलाई महान् देखाउन र मलाई होच्याउनका होइन। सबैले सिर्जित प्राणीको आ–आफ्नो भूमिकामा आफ्नो कर्तव्य निभाइरहेका थिए; कोही कसैभन्दा ठुलो वा सानो थिएन। वास्तवमा, जियान रानका सबल पक्षहरूले मेरा कमीहरू पूर्ति गर्थे, त्यसैले मैले धेरै कुरा प्राप्त गर्न सक्रिय भएर उनको सल्लाह माग्दै उनीबाट सिक्ने प्रयास गर्नुपर्थ्यो। यस क्षण, मेरो मन उज्यालो भयो। मैले आफ्ना क्षमता र कमजोरीहरूको सामना गर्नुपर्छ, मेरा महत्त्वाकाङ्क्षा र चाहनाहरू त्यागेर आफूले सक्ने काम राम्रोसँग गर्नुपर्छ। ममा हुनुपर्ने समझ यही नै हो। पछि, म आफूले गर्नुपर्ने काम सकेसम्म राम्रोसँग गर्नमा केन्द्रित भएँ, र जब राम्ररी बुझ्न नसक्ने कुनै कुरा आइपर्थे, तब जियान रानलाई खोजेर छलफल गर्थेँ। पछि, जब म आफूभन्दा दक्ष व्यक्तिहरूसँग भेट्थेँ, कहिलेकाहीँ ईर्ष्याको भावना आउँथ्यो, तर म सचेत भएर आत्मचिन्तन गर्न सक्थेँ, त्यसविरुद्ध विद्रोह गर्न प्रार्थना गर्थेँ, र मेरो हृदयले त्यति बाँधिएको वा नियन्त्रित भएको महसुस गर्दैनथ्यो। यसरी जिउँदा जीवन धेरै सहज र सरल भयो। परमेश्वरलाई धन्यवाद!