२८. परमेश्वरका वचनहरूका आधारमा मानिसहरूलाई खुट्ट्याउनु
हालै, मेरा सुपरभाइजर, मेङ्ग जीएले मलाई लि पिङ्गले सत्यता स्वीकार नगर्ने, सधैँ मानिस र कामकुराहरूको अतिविश्लेषण गरेर मण्डलीको जीवनमा बाधा पुऱ्याउने, अनि ब्रदर-सिस्टरहरूले उनीसँग सङ्गति गरेर मद्दत गर्दा पनि उनले आफ्नो बानी नसुधारेको कुरा बताउनुभयो। उहाँले मलाई लि पिङ्गबारे मूल्याङ्कन लेख्न भन्नुभयो। उहाँले के पनि भन्नुभयो भने यदि बहुमतको मूल्याङ्कनका आधारमा लि पिङ्गलाई अविश्वासी ठहर गरियो भने, उनलाई मण्डलीबाट निकालिनेछ। यो सुनेर म अलि अचम्ममा परेँ, लि पिङ्ग यो अवस्थासम्म पुग्लिन् भनेर मैले सोचेकी थिइनँ। सुरुमा त मलाई यो कुरा स्वीकार्नै गाह्रो भयो। लि पिङ्गको परिवारले पुर्खौंदेखि प्रभुमा विश्वास गर्दै आएको थियो, उनले किशोरावस्थामै मण्डलीमा सेवा गरेकी, अनि उनले परमेश्वरको कामको यो चरणलाई स्वीकारेको पनि २० वर्षभन्दा बढी भइसकेको थियो। अहिले उनी ५० वर्ष नाघिसकेकी र अविवाहित थिइन्। उनले आफूलाई त्यागेको र समर्पण गरेको, संयम अपनाएको र कष्ट सहेको देख्दा त उनले परमेश्वरमा साँचो विश्वास गरेजस्तो लाग्थ्यो। तर अहिले, उनले मानिस र कामकुराहरूको अतिविश्लेषण गरेका आधारमा उनलाई अविश्वासी भनी परिभाषित गरिँदै थियो। के यो अलि बढी नै कठोर भएन र? मैले विगतमा लि पिङ्गसँग गरेको कुराकानी सम्झँदा, उनको मानवता खराबजस्तो लाग्दैनथ्यो; मात्र समस्याहरू आउँदा उनी सही र गलतमाथि बहस गर्ने गर्थिन्। के यस्ता मानिसलाई मण्डलीमा बसेर श्रम गर्ने मौका दिनु पर्दैन र? पछि, मैले मेङ्ग जीबाट सुनेँ लि पिङ्गको निरन्तरको व्यवहारका आधारमा उनलाई अविश्वासी ठहर गरिसकिएको रहेछ। उहाँले मलाई मैले के कारणले उनलाई राम्ररी चिन्न सकिनँ भन्ने जान्नका लागि आफैँलाई जाँच्न पनि सम्झाउनुभयो, र यसको समाधानका लागि सत्यता खोज्न भन्नुभयो। त्यसपछि, मैले आफ्नो खोजीमा सचेत रूपमा यस समस्यामाथि काम गरेँ, र लि पिङ्ग र मैले गरेका सबै अन्तरक्रियालाई सम्झिएँ।
सन् २०१९ मा, लि पिङ्ग र म कर्तव्य निर्वाहमा सहकार्य गर्थ्यौँ। त्यतिबेला, हाम्रो समूहकी एक सिस्टर यिङ्गशिन लि पिङ्गसँग राम्ररी मिलेर काम गरिरहेकी थिइनन्। यिङ्गशिनले यसबारे लि पिङसँग कुरा गर्न खोजिन्, तर लि पिङ मानिनन्। यिङ्गशिन अलि नकारात्मक भइन्, र जब अगुवाले उनीहरूको अवस्थाबारे सोध्नुभयो, यिङ्गशिनले आफूहरूबीच राम्रो सहकार्य नभएको कुरा साँचो-साँचो बताइन्। तर यिङ्गशिनले यसो भन्दा लि पिङ्गले आफ्नो प्रतिष्ठामा हानि पुगेको ठानिन्, र उनी यिङ्गशिनप्रति निकै पक्षपाती भइन्। पछि, उनले तथ्यहरूलाई बङ्ग्याएर यिङ्गशिनले उनलाई समूहबाट हटाउने प्रयासमा जानाजानी उनीविरुद्ध उजुरी दिएको हो भनिन्। एउटा भेलाअघि, यिङ्गशिनले पहिले आफ्नो स्थितिबारे कुरा गर्ने र त्यसपछि हाम्रो स्थितिका आधारमा परमेश्वरका वचनहरू ध्यान दिएर पढ्ने प्रस्ताव गरिन्। तर लि पिङ्गले यिङ्गशिनले उनलाई नै निशाना बनाउँदै, उनले भेलामा ब्रदर-सिस्टरहरूको स्थितिबारे छलफल नगरेको कुरालाई इङ्गित गरेको ठानिन्, त्यसैले, उनले रिसाउँदै उनीहरूसँग त्यसका लागि समय नभएको, र स्थितिको मामिलामा कुरा नगरिने बताइन्। यस्तै, अर्को एउटा समीक्षा बैठकमा, यिङ्गशिनले हालै मण्डलीको कामका नतिजाहरू खस्किएको कुरा बताइन् र हामी सबैलाई यसको कारण खोज्न सम्झाइन्। फेरि पनि, लि पिङ्गले यो उनकै बारेमा हो भन्ने ठानिन्, र आवेशमा आएर भनिन्, “यदि तिमीहरूलाई म ठीक छैन भन्ने लाग्छ भने, सुपरभाइजरलाई रिपोर्ट गर र मलाई सरुवा गराइदेऊ।” हामीले उनीसँग सङ्गति गर्दै समय बिताउनुपऱ्यो र कामबारे सामान्य रूपमा छलफल गर्न सकेनौँ। त्यसबेला, सिस्टर लुओ वेन भर्खरै समूहमा आएकी थिइन्, र उनी आफ्नो काममा कठिनाइ र समस्याहरू आउँदा अक्सर यिङ्गशिनसँग सल्लाह गर्थिन्। लुओ वेनले यिङ्गशिनलाई उच्च सम्मान गरेको देखेर, लि पिङ्गले लुओ वेनकै सामुन्ने के भनिन् भने तिनीहरू मिलेर उनलाई बहिष्कार गर्नका लागि, यिङ्गशिनले कुनै अनुचित तरिका अपनाएर उनलाई आफ्नो पक्षमा पार्न खोजिरहेकी छिन्। यो सुनेर लुओ वेन यति रिसाइन् कि उनी रुन थालिन्। उनले लि पिङ्गसँग काम गर्न सजिलो नभएको महसुस गरिन् र अब उप्रान्त त्यहाँ कर्तव्य निर्वाह गर्न चाहिनन्। लि पिङ्गले आत्मचिन्तन गरिनन्, उल्टै यदि लुओ वेन छोडेर जान चाहन्छिन् भने, त्यो उनको इच्छा हो भनिन्। कहिलेकाहीँ, हामी कोठामा सँगै कामबारे छलफल गर्दा पनि, लि पिङ्ग शङ्कालु हुन्थिन् र हामीले उनको पिठ्यूँपछाडि उनीबारे नराम्रो कुरा गरिरहेको सोच्थिन्। यसकारण, समूहका सिस्टरहरूसँग उनको अक्सर मतभेद हुन्थ्यो। वास्तवमा, उनको यस्ताे स्थिति लामो समयदेखि चलिरहेको थियो। हाम्रा सुपरभाइजरले उनलाई धेरै पटक सङ्गति गरेर मद्दत गर्नुभयो, तर उनले कहिल्यै आफ्नो बानी सुधारिनन्। त्यतिबेला, म भर्खरै समूहमा आबद्ध भएकी थिएँ, र मैले उनीसँग सङ्गति गरेर उनले सत्यता खोज्न र पाठ सिक्नमा ध्यान दिनुपर्छ भनेर भनेँ, तर उनले सही र गलतमा बहस गरिन् र आफ्नो लागि बहाना बनाइन्। म धेरै अन्योलमा परेँ। उनले वर्षौंदेखि परमेश्वरमा विश्वास गरेकी थिइन्, त्यसोभए किन उनले आफूलाई केही आइपर्दा परमेश्वरबाट आएको भनी कुनै कुरा स्वीकार गरिनन् बरु सधैँ मानिस र कुराहरूको अतिविश्लेषण गरिन्? त्यसपछि मैले सोचेँ, “सायद अहिले उनी खराब स्थितिमा छिन्। यदि हामीले उनीसँग अझ बढी सङ्गति र मद्दत गर्यौँ भने, उनले आफ्नो स्थिति परिवर्तन गर्लिन् र मानिस र कुराहरूको अतिविश्लेषण नगर्लिन्।” पछि, ली पिङ्ग र यिङ्गसिनले राम्ररी मिलेर काम गर्न नसकेकाले, हाम्री अगुवाले मलाई ली पिङ्गसँग सहकार्य गर्ने प्रबन्ध गर्नुभयो। सुरुमा, यिङ्गसिनबाट अलग भएपछि पनि, ली पिङ्गले उनीमाथि त्यति धेरै ध्यान देलिन् भन्ने मैले सोचेकै थिइनँ, तर हरेक पटक मैले यिङ्गसिनको उल्लेख गर्दा, ली पिङ्गले फेरि उनीसँग सम्बन्धित कुराहरू उठाएर सुनाउँथिन्। उनका शब्दहरू यिङ्गसिनप्रतिको अप्रत्यक्ष आलोचनाले भरिएका हुन्थे। तर, मैले उनको सारलाई स्पष्ट रूपमा देख्न सकिनँ, त्यसैले उनले केवल क्षणिक रूपमा यसलाई भुल्न नसकेकी हुन्, सायद समय बित्दै जाँदा उनी यसबाट बाहिर आउलिन् भन्ने सोचेँ। पछि, ली पिङ्गलाई आफ्नो कर्तव्य पूरा गर्न अर्को समूहमा सरुवा गरियो। ब्रदर-सिस्टरहरूले उनी अझै पनि त्यसरी नै व्यवहार गरिरहेकी छिन्, जब कुनै कुराले उनको अहममा असर गर्छ, उनी अनन्त झमेला खडा गर्छिन् र अरूसँग राम्ररी मिलेर काम गर्न सक्दिनन् भन्ने रिपोर्ट गरे। उनले अरूको स्थितिलाई पनि असर पारिन् र समूहको काममा ढिलाइ गरिन्। हाम्रो अगुवाले उनीसँग धेरै पटक सङ्गति गर्नुभयो र उनलाई सत्यता खोज्न र पाठ सिक्नमा ध्यान दिन भन्नुभयो, तर उनले यो कुरा कहिल्यै ग्रहण गरिनन् र आफूलाई बचाउन जिद्दी गरिरहिन्, जसले काममा बाधा र अवरोधहरू ल्यायो। उनलाई बर्खास्त नगरुन्जेलसम्म, उनी सही र गलतमा बहस गरिरहेकी थिइन् र आत्म-चिन्तन वा आफूलाई चिन्ने प्रयास गरिरहेकी थिइनन्।
पछि, मैले ब्रदर-सिस्टरहरूले उनका केही व्यवहारहरूबारे कुरा गरेको सुनेँ। मानिस र कुराहरूको अतिविश्लेषण गर्ने उनको व्यवहार निकै स्पष्ट थियो। उनले मानिसहरूलाई नियन्त्रित महसुस गराउने मात्र नभई, मण्डलीको काममा समेत बाधा पुऱ्याउँथिन्। मैले सोचेँ, “परमेश्वरले यस्ता व्यवहारहरूलाई कसरी वर्गीकरण गर्नुहुन्छ?” यस समस्याबारे, मैले परमेश्वरका केही सान्दर्भिक वचनहरू पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कतिपय मानिसले केही आइपर्दा ससाना कुराहरूको भेद केलाउन र निकासहीन दिशातिर लाग्न रूचाउनु के नीचता होइन? यो ठूलो समस्या हो। समझदार मानिसहरूले यो गल्ती गर्नेछैनन्, तर मूर्ख र असमझदार मानिसहरू यस्तै हुन्छन्। तिनीहरू जहिले पनि अरूले तिनीहरूका लागि परिस्थिति गाह्रो बनाइरहेको, अरूले तिनीहरूलाई जानीजानी गाह्रो बनाइरहेको ठान्छन्। त्यसैले तिनीहरू सधैँ अरू मानिससँग दुश्मनी मोल्छन्। के यो विचलन होइन? तिनीहरू सत्यताका सन्दर्भमा चाहिँ प्रयास गर्दैनन्, आफूलाई केही आइपर्दा महत्त्वहीन कुराहरूबारे झगडा गर्न रूचाउँछन्, स्पष्टीकरण माग्छन्, आफ्नो इज्जत जोगाउन खोज्छन्, र यी मामिलाहरू सम्हाल्न सधैँ मानव उपाय लगाउँछन्। जीवन प्रवेशको सबैभन्दा ठूलो अड्चन यही हो। यदि तँ यसरी परमेश्वरमा विश्वास गर्छस्, वा अभ्यास गर्छस् भने तैँले कहिल्यै पनि सत्यता प्राप्त गर्नेछैनस् किनकि तँ कहिल्यै परमेश्वरसामु आउँदैनस्। तँ परमेश्वरले तेरा लागि प्रबन्ध गरेका सबै कुरा प्राप्त गर्न उहाँसामु कहिल्यै आउँदैनस्, न त तँ यो सब सम्हाल्न सत्यता प्रयोग नै गर्छस्। त्यसको सट्टा तँ कुराहरू सम्हाल्दा मानव तरिकाहरू प्रयोग गर्छस्। त्यसैले, परमेश्वरका दृष्टिमा तँ उहाँबाट धेरै भट्किसकेको छस्। तेरो हृदयमात्र उहाँबाट भट्किसकेको होइन, तेरो सम्पूर्ण अस्तित्त्व नै उहाँका उपस्थितिमा बाँच्दैन। कामकुरालाई सधैँ अति विश्लेषण गर्ने र ससाना कुराको भेद केलाउनेहरूलाई परमेश्वर त्यसरी नै हेर्नुहुन्छ। … म तिमीहरूलाई के बताउँछु भने, परमेश्वरमा विश्वास गर्ने व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे पनि—चाहे उसले बाहिरी मामिला वा परमेश्वरको घरको विभिन्न काम वा विशेषज्ञताका क्षेत्रहरूसँग सम्बन्धित कर्तव्य सम्हालोस्—यदि ऊ परमेश्वरसामु बारम्बार आउँदैन र उहाँको उपस्थितिमा जिउँदैन, अनि उहाँको छानबिनलाई स्विकार्ने आँट गर्दैन, र परमेश्वरबाटको सत्यता खोजी गर्दैनन् भने ऊ अविश्वासी हो र ऊ गैरविश्वासीभन्दा फरक होइन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरको अघि बारम्बार जिएर मात्रै उहाँसँग सामान्य सम्बन्ध राख्न सकिन्छ)। “ख्याति, लाभ, वा इज्जतको कुरामा, तिनीहरू को सही को गलत, को उच्च को निम्न हो भनी स्पष्ट पार्न जोड दिन्छन्, र तिनीहरूलाई आफ्नो कुरा प्रमाणित गर्न बहस गर्नैपर्ने हुन्छ। अरूले त्यो सुन्न चाहँदैनन्। मानिसहरू भन्छन्, ‘के तपाईं आफूले भनेको कुरालाई सरल बनाउन सक्नुहुन्छ? के तपाईं सीधासीधा भन्न सक्नुहुन्छ? तँपाईलाई किन यति फोगट्या बन्नुपरेको हो?’ तिनीहरूका विचारहरू अत्यन्त जटिल र कठिन हुन्छन्, र तिनीहरू वास्तविक समस्याहरू महसुस नगरी त्यस्तो थकानपूर्ण जीवन जिउँछन्। तिनीहरू किन सत्यता खोज्न र इमानदार हुन सक्दैनन्? किनभने तिनीहरू सत्यताप्रति वितृष्ण छन् र इमानदार हुन चाहँदैनन्। त्यसोभए, तिनीहरू जीवनमा के कुरामा भर पर्छन् त? (दुनियाँसित व्यवहार गर्ने सांसारिक दर्शनहरू र मानव विधिहरूमा।) काम गर्न मानव विधिहरूमा भर पर्दा त्यस्ता नतिजाहरू निम्तिने सम्भावना हुन्छ जसमा व्यक्ति स्वयम्को खिल्ली उडाइन्छ वा उसको कुरूप पक्ष प्रकट भइदिन्छ। त्यसैले, अझ नजिकबाट जाँच्दा, तिनीहरूका कार्यहरू, तिनीहरूले पूरै दिनभर गरिरहने कामकुराहरू—ती सबै तिनीहरूको आफ्नै इज्जत, ख्याति, लाभ र आडम्बरसँग सम्बन्धित हुन्छन्। तिनीहरू जालोमै जिइरहेका छन् जस्तो गरी, तिनीहरूलाई हरेक कुरामा तर्कसङ्गत हुनुपर्छ, या त हरेक कुराको लागि बहाना बनाउनुपर्छ, र यसरी तिनीहरू सधैँ आफ्नै खातिर बोलिरहेका हुन्छन्। तिनीहरूको सोचाइ जटिल हुन्छ, तिनीहरू अति बकवास गर्छन्, र तिनीहरूका शब्दहरू अत्यन्तै उल्झनपूर्ण हुन्छन्। तिनीहरू जहिले पनि के सही र के गलत भनी बहस गरिरहेका हुन्छन्, त्यसको कुनै अन्त्य हुँदैन। यदि तिनीहरू इज्जत कमाउन खोजिरहेका छैनन् भने पनि, प्रतिष्ठा र हैसियतको लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन्, र तिनीहरू यी कुराहरूको लागि नजिएको कुनै समय नै हुँदैन। अनि अन्तिम परिणाम के हुन्छ त? तिनीहरूले इज्जत त कमाएका हुन सक्छन्, तर सबैजना तिनीहरूदेखि दिक्क र थकित हुन्छन्। मानिसहरूले तिनीहरूलाई भित्रैदेखि चिनिसकेका हुन्छन् र तिनीहरूमा सत्यता वास्तविकता छैन र तिनीहरू इमानदारीपूर्वक परमेश्वरमा विश्वास गर्ने व्यक्ति होइनन् भनेर बुझिसकेका हुन्छन्। अगुवाहरू र कामदारहरू वा अन्य दाजुभाइ र दिदीबहिनीहरूले तिनीहरूलाई काटछाँट गर्न केही शब्दहरू प्रयोग गर्दा, तिनीहरू ढीठ भई स्विकार्न अस्वीकार गर्छन्, अनि तर्क गर्न वा बहाना बनाउन जोड दिन्छन्, र जिम्मेवारी अरूमा थोपर्न खोज्छन्। सभाहरू दौरान तिनीहरू आफ्नो प्रतिरक्षा गर्छन्, विवाद सुरु गर्छन्, र परमेश्वरका चुनिएका मानिसहरूमाझ समस्या पैदा गर्छन्। तिनीहरू हृदयमा यस्तो सोचिरहेका हुन्छन्, ‘के मैले आफ्नो कुरा राख्ने ठाउँ कहीँ छैन?’ यो कस्तो व्यक्ति हो? के यो सत्यतालाई प्रेम गर्ने व्यक्ति हो? के यो परमेश्वरमा विश्वास गर्ने व्यक्ति हो? जब तिनीहरूले कसैले तिनीहरूको अभिप्रायसँग नमिल्ने कुरा गरेको सुन्छन्, तिनीहरू सधैँ विवाद गर्न र स्पष्टीकरण माग्न चाहन्छन्; को सही र को गलत भन्ने कुरामा अल्झिन्छन्, र सत्यता खोजी गर्ने र सत्यता सिद्धान्तअनुसार ती कुराप्रति व्यवहार गर्ने गर्दैनन्। तिनीहरूलाई मामला जतिसुकै सरल भए पनि, त्यसलाई अत्यन्तै जटिल बनाउनैपर्छ—तिनीहरू केवल समस्या निम्त्याइरहेका हुन्छन्, तिनीहरू अत्यन्त थकित हुनै योग्य छन्!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूबाट मैले देखेँ मानिस र कुराहरूको अतिविश्लेषण गर्नेहरूले सैद्धान्तिक रूपमा त सबै कुरामाथि परमेश्वरको सार्वभौमिकता हुन्छ, र उनीहरूका दैनिक परिस्थितिहरू उहाँद्वारा नै प्रबन्ध गरिएका हुन्छन् भनी स्विकार्छन्। तर, यी वास्तविक परिस्थितिहरूको सामना गर्नुपर्दा भने, उनीहरूले ती परमेश्वरबाट आएको भनी स्विकार्दैनन्, न त सत्यता खोज्छन् वा पाठ सिक्छन्। बरु, उनीहरू कसैले उनीहरूका लागि कठिनाइ उत्पन्न गरिरहेको छ भन्ने ठान्छन्, र आफ्नो इज्जत र प्रतिष्ठा बचाउनका लागि, उनीहरू सधैँ सही र गलतमा बहस गर्छन्, र अनन्त झमेला खडा गर्छन्। उनीहरूले अरूलाई र मण्डलीको काममा बाधा मात्रै पुऱ्याउँछन्। यस्ता मानिसहरूको सार अविश्वासीहरूको जस्तै हुन्छ। उदाहरणका लागि, ली पिङ्गलाई हेर्नुहोस्। जब उनी यिङ्गसिनसँग सहकार्यमा थिइन्, उनीहरू दुई जनाले मिलेर राम्ररी काम गरिहेका छैनन् र यसले उनीहरूको कर्तव्यलाई असर गरिसकेको छ भन्ने प्रस्ट थियो। यिङ्गसिनले मद्दत पाउने आशामा अगुवालाई साँचो परिस्थितिबारे रिपोर्ट गरिन्, तर ली पिङ्गले सत्यता खोजेर आत्मचिन्तन गरिनन्, बरु यिङ्गसिनले उनीविरुद्ध उजुरी गरिरहेकी छिन् भन्ने सोचिन्। त्यसपछि, उनले यिङ्गसिनमाथि सधैँ कडा नजर राखिरहिन्। भेला हुँदा वा कामबारे छलफल गर्दा, यदि यिङ्गसिनले केही समस्याहरू औँल्याइन् वा कुनै उचित सुझाव दिइन् भने, ली पिङ्गले त्यसलाई सही रूपमा लिन सक्दिनथिन्, बरु यिङ्गसिनले उनलाई निसाना बनाइरहेकी छिन् भन्ने विश्वास गर्थिन् र यसरी जानाजानी यिङ्गसिनको विरोध गर्थिन्। यदि हामीलाई उनी ठीक छैनन् भन्ने लाग्छ भने, हामीले अगुवालाई भनेर उनलाई अर्को कर्तव्यमा सरुवा गराइदिनुपर्छ भन्दै उनी जानीजानी समस्या खडा समेत गर्थिन्। यी सबैले हामीलाई बाँधिएको महसुस गरायो, र यसले मण्डलीको जीवन र मण्डलीको कामलाई असर गऱ्यो। सिस्टर लुओ वेन भर्खरै समूहमा आबद्ध भएकी थिइन्, र उनी सिद्धान्त र पेसागत सीपहरूसँग परिचित थिइनन्, त्यसैले उनी यिङ्गसिनसँग कुरा गर्न गइन्। ली पिङ्ग लुओ वेन उनलाई तुच्छ ठान्छिन् र यिङ्गसिनको पक्ष लिएर उनलाई पन्छाउँदै छिन् भन्ने शङ्का गर्थिन्। सिस्टरहरू सामान्य रूपमा सँगै कामबारे छलफल गरिरहेका बेला, ली पिङ्ग सबैजना उनको पिठ्युँ पछाडि उनकै आलोचना गरिरहेका हुन्छन् भन्ने समेत शङ्का गर्थिन्, र उनी जानाजानी मानिसहरूमा गल्ती निकाल्थिन् र उनीहरूसँग रुखो व्यवहार गर्थिन्। यसले गर्दा मानिसहरू सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न असमर्थ भए। वास्तवमा, यी सबै कुराहरू एकदमै सामान्य र सरल थिए, जुन सामान्य मानिसहरूले अलिकति सोचे मात्रै पनि बुझ्न सक्थे। तर उनी मानिस र कुराहरूको अतिविश्लेषण गरेर उल्झनमा परिन्; उनका विचारहरू अत्यन्तै जटिल थिए। पछि, सबैले परमेश्वरका वचनहरूमा सङ्गति गरेर उनलाई मद्दत गरे, तर उनले कहिल्यै खोजी गर्ने अभिप्राय देखाइनन्। बरु, उनी बहाना बनाउँथिन् र आफ्नो बचाउ गर्थिन्, अनि आफ्नो कुरा प्रमाणित गर्ने प्रयासमा सही र गलतमा बहस गर्थिन्। विगतमा, म सधैँ उनको मानिस र कामकुराहरूको अतिविश्लेषण गर्ने बानी क्षणिक खराब स्थिति मात्र हो भन्ने सोच्थेँ। अहिले मैले के देखेँ भने क्षणिक भ्रष्ट प्रकट हुनु र अविश्वासीको सार हुनु दुई फरक कुरा हुन्। यो केही मानिसहरूमा मानिस र कामकुराहरूको अतिविश्लेषण गर्ने प्रकटीकरण हुनु, तर उनीहरू अस्थायी रूपमा मात्र केही विशेष मामिलाहरूमा परमेश्वरको अभिप्राय बुझ्न असमर्थ हुनुजस्तै हो। वा, उनीहरू आफ्नो इज्जत बचाउन बहाना बनाउँछन् र आफ्नो बचाउ गर्छन्, तर प्रार्थना र खोजी गरेर वा ब्रदर-सिस्टरहरूको सङ्गति र मद्दत प्रयोग गरेर, उनीहरू परमेश्वरको अभिप्राय बुझ्न पुग्छन् र अतिविश्लेषण गर्न छोड्छन्। यस्ता मानिसहरूले सत्यता स्विकार्छन् र उनीहरूमा अविश्वासीहरूको सार हुँदैन। अर्कोतर्फ, जो मानिसहरू अविश्वासी हुन्छन्, उनीहरू आफूलाई जेसुकै आइपरे पनि त्यसलाई परमेश्वरबाट आएको भनी स्विकार्दैनन्। अरूले सजिलै बुझ्न सक्ने कुनै साह्रै सानो कुरा भए पनि, उनीहरू सधैँ मानिस र कामकुराहरूको अतिविश्लेषण गर्छन् र ब्रदर-सिस्टरहरूबाट सङ्गति र मद्दत स्विकार्न असमर्थ हुन्छन्। यसले के प्रकाश गर्छ भने उनीहरू स्वभावैले सत्यताप्रति वितृष्णा राख्छन् र कामकुराहरूलाई वाहियात तरिकाले बुझ्छन्। ली पिङ्गको व्यवहारलाई फर्केर सोच्दा, दुई-तीन वर्षअघि उनले यिङ्गसिनसँग सहकार्य गर्दा उनी ठ्याक्कै यस्तै थिइन्। पछि, उनी र यिङ्गसिन अलग भए, र बाहिरबाट हेर्दा त, उनी त्यति स्पष्ट रूपमा सही र गलतमा बहस गरिरहेको जस्तो देखिँदैनथिन्, तर हरेक पटक यिङ्गसिनको उल्लेख हुँदा भने, उनी फेरि सही र गलतमा बहस गर्न थालिहाल्थिन्। उनले यो कुरालाई पटक्कै छोडेकी छैनन् भन्ने प्रष्ट थियो। उनी जोसुकैसँग सहकार्यमा भए पनि, कुनै कुरा उनको इज्जत र हैसियतसँग सम्बन्धित भयो भने, उनी त्यसबारे अनन्तसम्म विवाद गर्थिन्, र मानिसहरूलाई बाधाबाहेक केही दिन्नथिइन्। त्यसपछि, केही वर्ष बित्यो तर उनी अझै पनि त्यस्तै थिइन्; उनमा कुनै पश्चात्ताप र परिवर्तन छँदै थिएन। उनको सार अविश्वासीको जस्तै थियो।
पहिले, म के विश्वास गर्थेँ भने ली पिङ्ग उत्साही देखिने, दान दिने र मानिसहरूलाई मद्दत गर्ने, साथै त्याग र समर्पण गर्न सक्ने हुनुको मतलब उनमा राम्रो मानवता छ र उनले पश्चात्ताप गर्ने अर्को मौका पाउनुपर्छ। पछि, मैले महसुस गरेँ मलाई असल र खराब मानवताबीच कसरी खुट्ट्याउने भन्ने थाहा रहेनछ। त्यसपछि, मैले यस विषयमा परमेश्वरका केही वचनहरू पढेँ। परमेश्वर भन्नुहुन्छ: “जब मानिसहरूमा फरक-फरक कुराहरू आइपर्छन्, तब तिनीहरूमा अनेकथरीका प्रकटीकरण देखिन्छन्, र त्यसले असल र खराब मानवताबीचको भिन्नता देखाउँछ। त्यसो भए, मानवता मापन गर्ने मापदण्डहरू के-के हुन्? कुनै व्यक्ति कस्तो व्यक्ति हो, र उसले मुक्ति पाउन सक्छ कि सक्दैन भन्ने कुरा कसरी मापन गर्नुपर्छ? यो कुरा तिनीहरूले सत्यलाई प्रेम गर्छन् कि गर्दैनन् र तिनीहरूले सत्यता स्वीकार र अभ्यास गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा निर्भर हुन्छ। मानिसहरू सबैमा भित्री रूपमा धारणा र विद्रोहीपन लुकेको हुन्छ, तिनीहरू सबैमा भ्रष्ट स्वभाव हुन्छ, त्यसैले कहिलेकाहीँ यस्तो समय आइपर्छ जुन बेला परमेश्वरले तिनीहरूलाई तिनीहरूको हितसँग नमिल्ने कुराहरू गर्न लगाउनुहुन्छ, र तिनीहरूले छनौट गर्नुपर्ने हुन्छ—यी कुराहरू तिनीहरू सबैले प्राय अनुभव गर्ने कुराहरू हुन्, कोही पनि यी कुराहरूबाट बच्न सक्दैनन्। हर व्यक्तिलाई त्यस्ता समयहरू आइपर्छन् जुन बेला उसले परमेश्वरलाई गलत बुझ्ने र परमेश्वरबारे धारणा बोक्ने, वा परमेश्वरबारे गुनासोहरू गर्ने र उहाँप्रति आक्रोशित, प्रतिरोधी, वा विद्रोही हुने गर्छ—तर सत्यताप्रति मानिसहरूको मनोवृत्ति फरक-फरक हुन्छ, र यसलाई तिनीहरूले फरक-फरक तरिकाले नै लिन्छन्। कतिपय मानिसहरू आफ्ना धारणाहरूबारे कहिल्यै केही बोल्दैनन्, बरु आफै सत्यता खोजेर त्यसलाई समाधान गर्छन्। किन तिनीहरूले ती कुराबारे केही बोल्दैनन्? (तिनीहरूसँग परमेश्वरको डर मान्ने हृदय हुन्छ।) ठिक भन्यौ: तिनीहरूसँग परमेश्वरको डर मान्ने हृदय हुन्छ। यस्ता कुरा बोल्दा नकारात्मक असर पर्छ भन्ने तिनीहरूलाई डर लाग्छ, र तिनीहरूले कसैलाई असर नगरी हृदयभित्रै यसलाई समाधान गर्ने प्रयास गर्छन्। जब तिनीहरूले यस्तै स्थितिमा भएका अरूलाई भेट्छन्, तब तिनीहरूले उनीहरूलाई सहयोग गर्न आफ्नो अनुभव प्रयोग गर्छन्। यो दयालु हृदयको हुनु हो। दयालु हृदय भएका मानिसहरूले अरूप्रति प्रेमिलो व्यवहार गर्छन्, र तिनीहरू अरूलाई समस्या समाधान गर्न सहयोग गर्ने इच्छा गर्छन्। तिनीहरूले काम गर्दा र अरूलाई सहयोग गर्दा सिद्धान्तहरू पालना गर्छन्, अरूलाई फाइदा होस् भनेर नै तिनीहरूले अरूका समस्याहरू समाधान गर्न सहयोग गर्छन्, र तिनीहरूले अरूलाई फाइदा नपुग्ने केही कुरा बोल्दैनन्। यो प्रेम हो। त्यस्ता मानिसहरूसँग परमेश्वरको डर मान्ने हृदय हुन्छ, र तिनीहरूको व्यवहार सिद्धान्त-आधारित र बुद्धिमानीपूर्ण हुन्छ। मानिसहरूको मानवता असल छ कि खराब भनेर मापन गर्ने मापदण्ड यिनै हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरप्रति हुनुपर्ने मानिसको मनोवृत्ति)। परमेश्वरका वचनहरूबाट मैले बुझेँ असल मानवता भएका मानिसहरू सत्यतालाई प्रेम गर्छन्, सत्यता स्विकार्न इच्छुक हुन्छन्, र दयालु हृदयका हुन्छन्। यस्ता मानिसहरू अरूसँग सङ्गत गर्दा, अरूको ठाउँमा आफूलाई राख्न सक्छन् र अरूलाई उन्नत बनाउन कसरी बोल्ने र काम गर्ने भन्ने ख्याल गर्न सक्छन्। यदि उनीहरूमा परमेश्वरप्रति धारणाहरू छन् वा मानिसहरूप्रति पूर्वाग्रह राख्छन् भने, उनीहरूले ती कुरालाई लापरवाहीपूर्वक पोख्दैनन्। बरु, उनीहरू तिनको समाधानका लागि सत्यता खोज्न समर्थ हुन्छन्। उनीहरू मानिसहरूका लागि लाभदायक नहुने कुराहरू बोल्दैनन्। यस्ता मानिसहरूमा परमेश्वरको डर मान्ने हृदय हुन्छ र उनीहरूको बोली र व्यवहारमा सिद्धान्तहरू हुन्छन्। यिनीहरू नै असल मानवता भएका मानिसहरू हुन्। यो कुरालाई परमेश्वरका वचनहरूका आधारमा ली पिङ्गको व्यवहारसँग तुलना गर्दा, हरेक पटक उनको प्रतिष्ठा र हैसियतसँग सम्बन्धित कुनै कुरा भएमा, उनी आफ्नो असन्तुष्टि पोखिहाल्थिन्। उनी आफ्ना शब्दहरूले ब्रदर-सिस्टरहरूलाई चोट पुर्याउन सक्छन् कि सक्दैनन्, वा तिनले के परिणाम ल्याउन सक्छन् भन्नेबारे विचार नै गर्दिनथिन्। जब अरूले उनका समस्याहरू औँल्याउँथे, उनी त्यसलाई पटक्कै स्वीकार गर्दिनथिन्, र पछि उनी के सही र के गलत भन्नेमा बहस गर्थिन्। ली पिङ्गले २० वर्षभन्दा बढी समयदेखि परमेश्वरमा विश्वास गरेकी थिइन्; के उनले साँच्चै कसरी समर्पित हुने र सत्यता खोज्ने भनेर बुझेकी थिइनन् र? उनले यी कुराहरू नबुझेकी होइनन्, बरु उनको मानवता कमजोर थियो। विगतमा, मैले केवल उनको बाहिरी रूप हेरेँ। मैले सोचेँ, उनले लामो समयदेखि परमेश्वरमा विश्वास गरेकी, मानिसहरूप्रति स्नेही, त्याग र समर्पण गर्न सक्ने, र अक्सर दान दिने र मानिसहरूलाई मद्दत गर्ने भएकीले, उनको मानवता पक्कै असल हुनुपर्छ। तर जब मानिसहरूले वास्तवमै उनका समस्याहरू औँल्याए र उनीसँग सङ्गति गरे, उनले त्यसलाई पटक्कै स्वीकार गरिनन्, र त्यसमाथि, उनले कुरालाई बङ्ग्याएर अरूलाई आक्रमण र आलोचना गरिन्। यो साँचो असल मानवता थिएन।
परमेश्वरका वचनहरूको खुलासाद्वारा, मैले ली पिङ्गको मानवता र उनको अविश्वासी व्यवहारलाई अलिकति खुट्ट्याएँ। तर, जब मैले उनले दशकौँदेखि परमेश्वरमा विश्वास गरेकी अनि त्याग गर्न, समर्पण गर्न, र दुःखकष्ट सहन सकेकी थिइन्, र कसरी अब उनलाई निकालिँदैछ भन्नेबारे सोचेँ, मैले उनीप्रति केही सहानुभूति महसुस गरेँ। पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “कतिपय मानिसहरूले यसो भन्छन्, ‘यदि कसैले हरेक दिन परमेश्वरका वचनहरू खान्छ-पिउँछ र सत्यता सङ्गति गर्छ भने, यदि उसले आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न सक्छ भने, यदि उसले मण्डलीले मिलाएको जुनसुकै काम गर्छ, र कहिल्यै वाधा वा व्यवधान ल्याउँदैन भने—अनि कहिलेकहीँ तिनीहरूले सत्यता सिद्धान्तहरू उल्लङ्घन गरे पनि, तिनीहरूले जानीजानी वा आशयपूर्वक त्यसो गरेका हुँदैनन् भने—के यसले तिनीहरूले सत्यता पछ्याइरहेका छन् भन्ने देखाउँदैन र?’ यो राम्रो प्रश्न हो। धेरै मानिसहरूमा यस्तो विचार हुन्छ। सर्वप्रथम, यसरी एकनाससित अभ्यास गरेर कसैले सत्यता बुझ्न र सत्यता प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने कुरा तिमीहरूले बुझ्नुपर्छ। तिमीहरूका विचार बताओ। (यसरी अभ्यास गर्नु सही भए पनि, यो अलिक धार्मिक विधिविधानसँग सम्बन्धित छ—यो नियम पालना गर्ने कार्य हो। यसमार्फत सत्यता बुझ्न वा प्राप्त गर्न सकिँदैन।) त्यसकारण, वास्तवमा यी कस्ता व्यवहारहरू हुन्? (ती सतही रूपमा असल व्यवहार हुन्।) मलाई त्यो उत्तर मन पर्यो। ती केवल असल व्यवहारहरू हुन् जुन् व्यक्तिले परमेश्वरमा विश्वास गरेपछि, विभिन्न असल र सकारात्मक शिक्षाहरूद्वारा प्रभावित भएपछि, त्यस व्यक्तिको विवेक र समझको जगबाट उत्पन्न हुन्छन्। तर ती असल व्यवहार मात्रै हुन्, र सत्यता पछ्याउने कार्यभन्दा ती धेरै टाढा हुन्छन्। त्यसो भए, यी असल व्यवहारहरूको जड के हो? केबाट ती पैदा हुन्छन्? ती व्यवहारहरू व्यक्तिको विवेक र समझ, तिनीहरूको नैतिकता, परमेश्वरमा विश्वास गर्ने विषयमा तिनीहरूमा रहेका सकारात्मक भावनाहरू, र तिनीहरूको आत्मसंयमबाट आएका हुन्छन्। ती असल व्यवहार मात्र भएका हुनाले, सत्यतासँग तिनको कुनै सम्बन्ध हुँदैन, र ती कुराहरू र सत्यता अवश्य नै एउटै कुरा होइनन्। असल व्यवहार गर्नु र सत्यता अभ्यास गर्नु उस्तै होइनन्, र व्यक्तिको व्यवहार राम्रो छ भन्दैमा उसलाई परमेश्वरले अनुमोदन मिलेको छ भन्ने हुँदैन। असल व्यवहार र सत्यता अभ्यास गर्नु दुई फरक कुरा हुन्—एकअर्कासँग ती दुईको कुनै सम्बन्ध हुँदैन। सत्यता अभ्यास गर्नु परमेश्वरको मापदण्ड हो र यो पूर्ण रूपमा उहाँका अभिप्रायअनुरूप हुन्छ; असल व्यवहार मानिसको इच्छाबाट आउँछ र यसभित्र मानिसको अभिप्राय र मनसाय लुकेको हुन्छ—यो मानिसले असल ठान्ने कुरा हो। असल व्यवहारहरू दुष्ट कार्य नभए पनि, ती सत्यता सिद्धान्तहरूसँग बाझिन्छन् र सत्यतासँग कहीँकतै सम्बन्धित हुँदैनन्। ती व्यवहारहरू जति नै असल भए पनि, वा ती मानवका धारणा र कल्पनाहरूसँग जति नै मिले पनि, सत्यतासँग तिनको कुनै सम्बन्ध हुँदैन। त्यसकारण, जति नै धेरै भए पनि, असल व्यवहारहरूले परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्दैनन्। असल व्यवहारलाई यसरी परिभाषित गरिने हुनाले, स्पष्टतः असल व्यवहारको सत्यता अभ्याससँग कुनै सम्बन्ध हुँदैन। यदि मानिसहरूलाई तिनीहरूको व्यवहारको आधारमा वर्गीकरण गर्ने हो भने, यी असल व्यवहारहरू बढीमा निष्ठावान श्रमिकहरूको कार्य हुनुपर्छ, त्योभन्दा बढी केही होइन। सत्यता अभ्यास वा परमेश्वरप्रतिको साँचो समर्पणसँग तिनको कहीँकतै कुनै सम्बन्ध हुँदैन। ती एक प्रकारका व्यवहार मात्रै हुन्, र मानिसहरूको स्वभाव परिवर्तन, र सत्यतामा समर्पित हुने र त्यसलाई स्विकार्ने, परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने कार्य, वा सत्यतासँग साँचो रूपमा सम्बन्धित अरू कुनै व्यावहारिक तत्वहरूसँग तिनको कुनै सम्बन्ध हुँदैन। त्यसो भए, ती कुराहरूलाई किन असल व्यवहार भनियो? यहाँ एउटा व्याख्या छ, र यो स्वाभाविक रूपमै यो प्रश्नको सारको व्याख्या पनि हो। यी व्यवहारहरू मानिसहरूको धारणा, रुचि, इच्छा, र आत्म-प्रेरित प्रयासहरूबाट मात्रै आएका हुन्छन्। ती सत्यता र परमेश्वरका वचनहरूको न्याय र सजाय स्विकारेर प्राप्त हुने साँचो आत्मज्ञानबाट आउने पश्चात्तापका प्रकटीकरणहरू होइनन्, न त ती सत्यता अभ्यास गर्ने व्यवहार वा कार्यहरू नै हुन् जुन मानिसहरूले परमेश्वरमा समर्पित हुने प्रयास गर्दा उत्पन्न हुन्छन्। तिमीहरूले यो कुरा बुझ्यौ? यसको अर्थ यी असल व्यवहारहरू व्यक्तिको स्वभाव परिवर्तन, वा परमेश्वरका वचनहरूको न्याय र सजाय भोगेर आउने कुरा, वा आफ्नो भ्रष्ट स्वभावलाई चिनेपछि व्यक्तिमा आउने साँचो पश्चात्तापसँग कहीँकतै सम्बन्धित छैनन्। परमेश्वर र सत्यताप्रतिको मानिसको साँचो समर्पणसँग पनि ती पटक्कै सम्बन्धित छैनन्; परमेश्वरप्रतिको भय र प्रेमको हृदय हुनुसँग त झन् ती सम्बन्धित हुने कुरै छोडौँ। यी सबै कुराहरूसँग असल व्यवहारको कुनै सम्बन्ध हुँदैन; ती त मानिसबाट आउने र मानिसले असल ठान्ने कुरा मात्रै हुन्। तैपनि यी असल व्यवहारहरूलाई व्यक्तिले सत्यता अभ्यास गरिरहेको सङ्केत हो भनेर मान्ने मानिसहरू धेरै छन्। यो भयानक गल्ती हो, यो हास्यास्पद दृष्टिकोण र बुझाइ हो। यी असल व्यवहारहरू त धार्मिक विधिविधान पूरा गर्नु, र झारा टार्नु मात्रै हुन्। ती सत्यता अभ्यास गर्नुसँग पटक्कै सम्बन्धित छैनन्। परमेश्वरले ती व्यवहारलाई सीधै दोष नदिन पनि सक्नुहुन्छ, तर उहाँले तिनलाई अनुमोदन पनि कदापि गर्नुहुन्न; त्यो कुरा निश्चित छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (१))। परमेश्वरका वचनहरू मनन गर्दै, मैले बुझेँ ली पिङ्गले १० वर्षभन्दा बढी समयदेखि प्रभुमा विश्वास गर्नु, २० वर्षभन्दा बढी समयदेखि परमेश्वरको आखिरी दिनहरूको काम स्विकार्नु, अनि यस दौरान सधैँ आफैँलाई उत्साहपूर्वक समर्पण गर्नु, आफ्नो परिवार त्याग्नु, र आफ्नो पेसा छोड्नु यी सबै उनको सतही उत्साह र असल व्यवहारका उदाहरणहरू थिए। ती कुराले सत्यता अभ्यास गर्ने मानक पूरा गर्दैनथे। परमेश्वरमा विश्वास गरेपछि, धेरै मानिसहरूले केही असल व्यवहार देखाउँछन्, तर उनीहरूको प्रकृति सत्यतालाई प्रेम गर्ने खालको नभएकाले, र उनीहरूले परमेश्वरका वचनहरूको न्याय र सजायलाई स्विकार्न नसक्ने भएकाले, वर्षौंसम्म परमेश्वरमा विश्वास गरेपछि पनि उनीहरूको जीवन स्वभावमा पटक्कै परिवर्तन आउँदैन। यस्ता मानिसहरू अझै पनि अन्तमा परमेश्वरद्वारा त्यागिनेछन् र हटाइनेछन्। असल व्यवहार देखाउनुको मतलब व्यक्तिले सत्यता अभ्यास गरिरहेको छ भन्ने हुँदैन। यदि कसैले केवल केही असल व्यवहार देखाउँछ तर कहिल्यै सत्यता स्विकार्दैन वा अभ्यास गर्दैन भने, त्यस्तो व्यक्तिले जहिले पनि वा जहाँ पनि परमेश्वरको प्रतिरोध गर्न सक्छ। यो कुरा धर्ममा धेरै मानिसहरूले कडा परिश्रम गर्दै, आफूलाई त्याग्दै र समर्पण गर्दै जीवनभर प्रभुमाथि विश्वास गरेजस्तै हो। तर, जब सर्वशक्तिमान् परमेश्वर, आखिरी दिनहरूका ख्रीष्ट, काम गर्न, सत्यता व्यक्त गर्न, र मानवजातिलाई मुक्ति दिन आउनुभयो, उनीहरूले उहाँको निन्दा गरे, प्रतिरोध गरे, र उहाँलाई अस्वीकार गरे। उहाँले व्यक्त गर्नुभएका सत्यताहरूप्रति उनीहरूले नाक खुम्च्याए। उनीहरूले जतिसुकै असल व्यवहार देखाए पनि, परमेश्वरले उनीहरूलाई अनुमोदन गर्नुभएन। उहाँले उनीहरूलाई परमेश्वरको प्रतिरोध गर्ने मानिसहरू भनेर निन्दा गर्नुभयो। मैले फारसीहरूका बारेमा सोचेँ, जो यहोवा परमेश्वरको सेवा गर्थे र प्रचार गर्न समुद्र र भूमि चहार्थे। अरूको नजरमा, उनीहरूको व्यवहार धेरै राम्रो थियो, र कुनै गल्ती पनि भेट्टाउन सकिँदैनथ्यो, तर जब प्रभु येशू काम गर्न देखा पर्नुभयो, उनीहरूले उहाँको प्रतिरोध गरे, निन्दा गरे, र उहाँलाई क्रूसमा समेत टाँगे। उनीहरूको प्रकृति सार सत्यता र परमेश्वरलाई घृणा गर्ने थियो। प्रभु येशूले उनीहरूलाई सर्पको जात भनेर निन्दा गर्नुभयो, र अन्तमा, उनीहरू सबै परमेश्वरद्वारा दण्डित र श्रापित भए। यसबाट, मैले देखेँ जब केवल मानिसहरूको सतही असल व्यवहारलाई हेरिन्छ र सत्यताप्रति उनीहरूको मनोवृत्तिलाई खुट्ट्याइँदैन, तब बहकिन कति सजिलो हुँदो रहेछ!
पछि, मैले सोचेँ, “त्यसोभए, ली पिङ्ग जस्तै अविश्वासीका रूपमा प्रकट भएकाहरूलाई ठ्याक्कै कसरी हेरिनुपर्छ? कस्ता मानिसहरू मण्डलीमा श्रम गर्न बस्न सक्छन्, र कस्तालाई हटाइनुपर्छ? यसमा कुन सिद्धान्तहरू समावेश छन्?” मैले परमेश्वरको वचनको यो खण्ड पढेँ: “यदि तिनीहरू अविश्वासी, गैरविश्वासी हुन्, तैपनि श्रम गर्न इच्छुक छन् अनि आज्ञाकारी र समर्पित हुन सक्छन् भने, तिनीहरूले सत्यता नपछ्याए पनि, तिनीहरूलाई कष्ट नदे र नहटा। बरु, तिनीहरूलाई श्रम जारी राख्न दे, र यदि तिनीहरूलाई सहयोग गर्न सक्छस् भने, सहयोग गर्। यदि तिनहरूसँग श्रम गर्नसमेत इच्छा छैन, अनि तिनीहरूले लापरवाही र दुष्कर्म गर्न थाले भने, हामीले गर्न सक्ने सबै गरिसकेका हुन्छौँ। यदि तिनीहरू छोडेर जान चाहन्छन् भने, जान दे, र तिनीहरू गइसकेपछि तिनीहरूलाई याद नगर्। तिनीहरू छोडेर जाने हदमा हुन्छन्, र त्यस्ता मानिसहरू तेरो दया पाउनलायक हुँदैनन्, किनभने तिनीहरू अविश्वासी हुन्। सबैभन्दा दुःखलाग्दो कुरा के हो भने कतिपय मानिस अत्यन्तै मूर्ख हुन्छन्, मण्डलीबाट निकालेर पठाइने मानिसहरूप्रति सधैँ व्यक्तिगत भावना राख्छन्, सधैँ तिनीहरूको याद गर्छन्, तिनीहरूको पक्षमा बोल्छन्, तिनीहरूको पक्षमा बहस गर्छन्, अनि तिनीहरूका लागि बिलौना गर्ने र प्रार्थना गर्ने, अनि बिन्ती गर्नेसमेत गर्छन्। यी मानिसहरूले गर्ने कुरा तिमीहरूलाई कस्तो लाग्छ? (यो त अत्यन्तै मूर्ख कुरा हो।) यो कसरी मूर्ख कुरा भयो? (छोडेर जानेहरू अविश्वासी हुन्, तिनीहरू सत्यता स्विकार्दैनन्, र तिनीहरू प्रार्थना गर्न र याद गर्नलायक छैनन्। परमेश्वरबाट अवसर र मुक्ति पाउने आशा भएका मानिसहरूका लागि मात्रै अरूले आँसु झार्न र प्रार्थना गर्न सुहाउँछ। यदि कसैले अविश्वासी वा दियाबलसका लागि प्रार्थना गर्छ भने, ऊ अत्यन्तै मूर्ख र अज्ञानी व्यक्ति हो।) एउटा पक्ष के हो भने तिनीहरू परमेश्वर हुनुहुन्छ भनेर साँचो रूपमा विश्वास गर्दैनन्—तिनीहरू अविश्वासी हुन्; अर्को पक्षचाहिँ के हो भने यी मानिसहरूको प्रकृति सार गैरविश्वासीको प्रकृति सार हो। यहाँ यसको अर्थ के हो? के हो भने तिनीहरू त मानिस नै होइनन्, तर तिनीहरूको प्रकृति सार दियाबलस, र शैतानको प्रकृति सार हो, र यी मानिसहरू परमेश्वरको विरोध गर्छन्। तिनीहरूको प्रकृति सारसम्बन्धी कुराहरू यस्तै हुन्छन्। अझै अर्को पक्ष पनि छ, र त्यो के हो भने परमेश्वर मानिसहरूलाई चुन्नुहुन्छ, दियाबलसहरूलाई होइन। त्यसकारण, मलाई बता, के यी दियाबलसहरू परमेश्वरका चुनिएका मानिस हुन्, र के तिनीहरू परमेश्वरद्वारा चुनिन्छन्? (चुनिँदैनन्।) तिनीहरू परमेश्वरका चुनिएका मानिस होइनन्, त्यसकारण यदि तँ यी मानिसहरूसँग सधैँ भावनात्मक बन्धनमा रहन्छस् र तिनीहरू जाँदा दुःख मान्छस् भने, के तँ मूर्ख बन्दैनस् र? के त्यसले तँलाई परमेश्वरविरोधी तुल्याउँदैन र? यदि तँ साँचो दाजुभाइ-दिदीबहिनीहरूप्रति गहिरो भावना राख्दैनस्, तर यी दियाबलसहरूप्रति चाहिँ गहिरो भावना राख्छस् भने, तँ के होस्? कम्तीमा पनि तँ बेवकुफ होस्, तँ मानिसहरूलाई परमेश्वरको वचनअनुसार हेर्दैनस्, आफूलाई सही दृष्टिकोणले व्यवहारमा ढाल्दैनस्, र सिद्धान्तअनुसार कामकुरा सम्हाल्दैनस्। तँ त बेवकुफ व्यक्ति होस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (४))। अविश्वासीका रूपमा प्रकटित मानिसहरूलाई कसरी लिनुपर्छ भन्नेबारे परमेश्वर स्पष्टरूपमा बताउनुहुन्छ। यदि उनीहरू आज्ञाकारी, समर्पित, र श्रम गर्न इच्छुक छन् भने, उनीहरूले सत्यता नपछ्याए पनि, उनीहरूले बाधा वा अवरोधहरू नल्याएसम्म श्रम गरिरहन सक्छन्। यदि उनीहरू राम्ररी श्रम गर्दैनन्, झारा टार्ने वा दुष्टता गर्ने र मण्डलीको काममा बाधा वा अवरोध पुऱ्याउने गर्छन्, ब्रदर-सिस्टरहरूले उनीहरूलाई खुलासा गर्दा र काटछाँट गर्दा स्विकार्दैनन् वा पश्चात्ताप गर्दैनन्, र आफ्नो कर्तव्य निर्वाह गर्दा फाइदाभन्दा बढी नोक्सान पुऱ्याउँछन् भने, उनीहरूलाई धुनुपर्छ। परमेश्वरले मानिसलाई मुक्ति दिनुहुन्छ, र मानिसको विवेकको एउटा न्यूनतम सीमा हुनुपर्छ। कोही व्यक्तिले सत्यता पछ्याउँदैन भने पनि, कम्तिमा, उसले बाधा वा अवरोधहरू ल्याउनुहुँदैन। परमेश्वरका घरको काममा दुष्टता गर्न र बाधा-अवरोध पुऱ्याउन सक्ने सबैको सार शैतान र दियाबलसहरूको जस्तै हुन्छ। यस्ता मानिसहरू मण्डलीमा बसे पनि, उनीहरूको कुनै काम हुनेछैन। उनीहरूलाई धुनुपर्छ। मैले यसलाई ली पिङ्गको व्यवहारसँग तुलना गरेँ: उनले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकी थिइन्, र उनीमाथि केही आइपर्दा, उनले सत्यता खोजिनन् अनि लगातार मानिस र कामकुराहरूको अतिविश्लेषण गरिन्, जसले ब्रदर-सिस्टरहरू र मण्डलीको काममा बाधा पुऱ्यायो। ब्रदर-सिस्टरहरूले उनीसँग धेरै पटक सङ्गति गरेर मद्दत गरे, तर उनी अलिकति पनि जागिनन् वा पश्चात्ताप गरिनन्। उनको प्रकृति सार सत्यताप्रति वितृष्णा राख्ने र घृणा गर्ने थियो, र उनी प्रकाश गरिएकी एक अविश्वासी थिइन्। ली पिङ्गलाई मण्डलीद्वारा धोइनुले परमेश्वरको धार्मिकतालाई पूर्ण रूपमा प्रकट गऱ्यो। विगतमा, ली पिङ्गलाई जाँच्ने कुरा आउँदा, म उनलाई परमेश्वरका वचनहरूका आधारमा जाँच्दिनथेँ, बरु आफ्नै धारणाहरू र कल्पनाहरूका आधारमा जाँच्थेँ। मैले सोचेँ उनले त्याग गर्न, समर्पण गर्न, दुःखकष्ट सहन, आफूलाई संयममा राख्न, र केही असल व्यवहार देखाउन सक्ने भएकीले, उनी परमेश्वरमा साँचो विश्वास भएकी व्यक्ति हुन्। त्यसकारण, म आफ्नो असल अभिप्रायका साथ, उनलाई मण्डलीमा बस्न लगाउन चाहन्थेँ। म साँच्चै यति अन्धी रहेछु! परमेश्वरले केही असल व्यवहार देखाउने हरेकको परमेश्वरमाथि साँचो विश्वास हुन्छ भनेर कहिल्यै भन्नुभएन। परमेश्वरले मानिसहरूलाई उनीहरूको प्रकृति सार र सत्यताप्रतिको उनीहरूको मनोवृत्ति, साथै उनीहरूले सधैँ हिँडेको मार्गका आधारमा मापन गर्नुहुन्छ। परमेश्वरको काम मानिसहरूलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्ने अन्तिम चरणमा प्रवेश गरिसकेको छ। सत्यतालाई प्रेम गर्ने र स्विकार्न सक्ने मानिसहरू, त्यसप्रति वितृष्णा राख्ने र घृणा गर्ने मानिसहरू, मानिसहरू, जो गहुँ हुन्, र मानिसहरू, जो सामा हुन्— परमेश्वरले उनीहरू सबैलाई प्रकट गर्नै लाग्नुभएको छ। सत्यताप्रति वितृष्णा राख्ने र घृणा गर्ने ती अविश्वासीहरू, दुष्ट मानिसहरू, र ख्रीष्टविरोधीहरू सबै परमेश्वरद्वारा हटाइनेछन्। अहिले पनि, म अविश्वासी कहलाइएर प्रकाश भएकी ली पिङ्गप्रति सहानुभूति महसुस गर्न सक्थेँ; के म परमेश्वरको विपक्षमा उभिएर उहाँको प्रतिरोध गरिरहेकी थिइनँ र? म साँच्चै नै यति मूर्ख रहेछु! मैले मेरो हृदयमा उनलाई खुट्ट्याएर अस्वीकार गर्नुपर्थ्यो र तुरुन्तै परमेश्वरका घरको काम जोगाउन उनका अविश्वासी व्यवहारहरू मण्डलीलाई तुरुन्तै बुझाउनुपर्थ्यो। म अब अलमलमा परिरहनु हुँदैनथ्यो! त्यसलगत्तै, मैले ली पिङ्गका अविश्वासी हुनुका व्यवहारहरू मण्डलीलाई उपलब्ध गराएँ, र केही समयमै, उनलाई निकालियो।
ली पिङ्गलाई निकाल्ने यो प्रक्रिया अनुभव गरेर, मैले अविश्वासीहरूप्रतिको केही खुट्ट्याइ प्राप्त गरेँ, साथै आफूभित्रका भ्रामक दृष्टिकोणहरूबारे केही बुझाइ पाएँ। मैले के बुझेँ भने कसैले केही असल व्यवहार देखाउँदैमा उसले परमेश्वरमा साँचो विश्वास गरेको हुन्छ भन्ने होइन। यदि कसैले सत्यतालाई प्रेम गर्दैन वा स्विकार्दैन भने, ऊ ढिलो-चाँडो प्रकाश गरिएर हटाइनेछ। मैले परमेश्वरका वचनहरूका आधारमा मानिसहरूलाई खुट्ट्याउनु सही नै हुन्छ भन्ने बुझेँ।