१८. कमजोर आत्मबलबाट म कसरी मुक्त भएँ

मी जीङ्ग, चीन

सानो छँदा, म मान्छेहरूसँग बातचित र घुलमिल नगर्ने भएकाले, मेरा बुवाआमाले आफ्ना नातेदार र साथीसङ्गीलाई, “यो बच्चीमा केही समस्या छ। पक्कै सुस्त हुन पर्छ।” भन्नुहुन्थ्यो। वयस्कहरू पनि, “तिम्रो दिदीलाई हेर कति तीक्ष्ण र आकर्षक छिन्, तिमी जस्तो बोधो त कोही हुँदैन।” भन्नुहुन्थ्यो। बिस्तारै म आफूलाई बेकार, एकदमै कमजोर ठान्न थालेँ। मूर्ख कुरा गरेकाले अरूले खिल्ली उडाउँछन् भनेर कक्षामा पनि म केही बोल्ने आँट गर्दिन थिएँ। वाक्पटुता र तेज दिमाग भएका मान्छे देख्दा ईर्ष्या लाग्थ्यो, र त्यस्तै मान्छेलाई सबैले मन पराउँछन् जस्तो लाग्थ्यो।

आस्थामा प्रवेश गरेपछि, सुरुसुरुमा मैले राम्रो गर्न सक्दिनँ, र अरूले खिल्ली उडाउँछन् भनेर भेलाहरूमा परमेश्वरका वचनमा सङ्गति गर्न असाध्यै डराउँथे, त्यसैले धेरै बोल्दैनथेँ। तर ब्रदर-सिस्टरहरू मलाई थप सङ्गति गर्न प्रायः प्रोत्साहन गर्दथे, र उनीहरूले खुलेर आफ्नो अनुभव र ज्ञानको सङ्गति गर्न थालेपछि, कोही हाँसेको देखिँदैन थियो। यसले मेरो सङ्कुचन कम भयो, र म अलि बोल्न थालेँ। पछि म धेरै मण्डलीहरूका जिम्मेवारी सहितको प्रचारकमा निर्वाचित भएँ। मेरा लागि यो आश्चर्यजनक थियो। लाग्यो म जस्तो बोल्न नसक्ने व्यक्ति प्रचारक हुनु भनेको परमेश्वरको कृपा थियो। यो काम सक्दो राम्रो गरेर परमेश्वरको अपेक्षामा मैले खरो उत्रनु पर्दथ्यो। एक अगुवाले एक पटक म लगायत दुई अरू प्रचारकहरूलाई भेला हुन बोलाए। ती प्रचारकहरू परमेश्वरका वचनको सङ्गतिमा पारङ्गत र अत्यन्तै तार्किक ढङ्गले बोलेको मैले देखेँ। मलाई उनीहरूको अत्यन्तै ईर्ष्या लाग्यो। मैले सोचेँ, “म उनीहरूको क्षमता र वाक्पटुताको, छेउ पनि आउन सक्दिनँ। म किन यस्तो बुद्धू छु? राम्रोसँग बोल्न पनि जान्दिनँ।” यी विचारले मलाई केही निराश बनाए। परमेश्वरका वचनमा घोरिँदै मैले केही अन्तर्दृष्टि प्राप्त गरेकी थिएँ, तर आफ्नो बोल्न नसक्ने बानी सोचेर अरू हाँस्लान् भन्ने डरले, सङ्गति गर्ने आँटै गरिनँ। त्यसमाथि, पछि काममा केही समस्या भोगेँ, जसले गर्दा म नकारात्मक स्थितिमा जिउन पुगेँ, आफू बेकामे छु र यो कर्तव्य पूरा गर्न सक्दिनँ भन्ने मलाई पक्का भयो। कामको परिणाम पनि राम्रो आइरहेको थिएन। केही समयपछि, मलाई यो कर्तव्यबाट एउटा मात्र मण्डलीको जिम्मेवारीसहित सरुवा गरियो।

यो मण्डलीका दुई सिस्टरहरूसँग सुरुमा काम गर्दा, मैले त्यति नराम्रो गरेको लागेन। पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शनमा म आफ्नो कर्तव्यमा निक्कै सक्रिय थिएँ। धेरै समय नबित्दै, एक सिस्टरले वास्तविक काम गर्न नसकेको भन्दै राजीनामा दिइन्, र अर्की सिस्टरसँग क्षमता नभएकाले अर्को कर्तव्यमा सरुवा भइन्। त्यसपछि, ब्रदर झ्याङ तोङ्ग र सिस्टर आन चिङ्ग मेरो सहकर्मीको रूपमा छानिए। झ्याङ तोङ्गले ज्ञानको सङ्गति व्यवहारिक र स्पष्टसँग गरेको देख्दा उनमा क्षमता भएको देखेँ। आन चिङ्ग पनि भेलाहरूमा आफ्नो सङ्गतिद्वारा वास्तविक समस्या समाधान गर्न सक्षम थिइन्। उनीहरूको तागत देखेर आफू असाध्यै कमजोर महसुस भयो। पछि, कामका सम्बन्धमा छलफल हुँदा म अति सतर्क हुन्थेँ, र उनीहरूले जे भने त्यसकै पछि लाग्थेँ। कहिलेकाहीँ उनीहरूको विचार उचित नभएको जस्तो लाग्थ्यो, र औँल्याउन चाहन्थेँ, तर आफ्नो कमजोर क्षमता र अनुभूतिको कमी सम्झेर, चुप लाग्थेँ। धेरै पटक उनीहरूले मेरो विचार अस्वीकार गरिसकेका थिए, जसले मेरो अपर्याप्तता थप स्थापित भयो अनि म झनै कम बोल्न थालेँ। केही महत्त्वपूर्ण कार्यमा समेत म निष्क्रिय थिएँ, किनभने मेरो कारण काम बिग्रिएर ढिलाइ होला भन्ने डर थियो मलाई। एक समय, सिस्टर झ्याङ कानलाई मलजल गर्ने कामको मुख्य जिम्मेवारी दिने प्रस्ताव झ्याङ तोङ्गले गरे। झ्याङ कानलाई म राम्रोसँग चिन्थेँ। कर्तव्यको बोझ नउठाउने उनी लापरवाह भइरहन्थिन्, वास्तविक काम नगरेकाले उनी यसअघि बर्खास्त भइसकेकी थिइन्। उनलाई अझै आफ्नैबारे थाह थिएन र यस्तो महत्त्वपूर्ण कामको जिम्मेवारी लिन उपयुक्त थिइनन्। शान्तिपूर्वक मैले आफ्नो विचार राखेँ। झ्याङ तोङ्ग यो सुनेर झ्याङ कानलाई भेट्न गए। परिस्थितिको मूल्याङ्कन गरेपछि झ्याङ कानले केही आत्मचिन्तन गरी अहिले अलिकति आत्मज्ञान पाएको, र हामीले मान्छेको विगत हैन सम्भावना हेर्नुपर्ने झ्याङ तोङ्गले मलाई बताए। उनको यो विचार आन चिङ्गले अनुमोदन गरिन्। झ्याङ तोङ्ग अगुवा भएको लामो समय नभएकाले अझै केही सिद्धान्त बुझी नसकेको, र झ्याङ कानलाई त्यति राम्ररी नचिनेको जस्तो लाग्यो। एक भेटकै आधारमा उनको सही मूल्याङ्कन गर्न नसकेको पनि हुन सक्छ। उनले गरेको कर्तव्यका आधारमा जाँच्न अथवा उनलाई राम्ररी चिन्ने अरूसँग कुरा गरेर पुनर्मूल्याङ्कन गर्न सल्लाह दिन म चाहन्थेँ। तर “झ्याङ तोङ्गसँग राम्रो क्षमता छ र केही समस्याहरू सुल्झाउन पनि सफल भएका छन्। उनको सङ्गतिपछि झ्याङ कानले आफ्ना समस्या बुझेकी हुनसक्छ। र आन चिङ्गले पनि आफ्नो स्वीकृति दिइसकेकी छन्। क्षमताको कमीले मैले कुरा राम्रोसँग बुझिरहेकी छैन; त्यसैले म चुप लागेकै राम्रो।” भनी सोचेँ। त्यसैले, मैले थप जिद्दी गरिनँ। पछि, वास्तविक काम नगरेका कारण झ्याङ कानलाई फेरि बरखास्त गरियो। मलजलको काम ढिला र प्रभावित भएको देख्दा, मलाई साह्रै दुख: लाग्यो। सुरुमै म अलि जिद्दी भएको र सिद्धान्तमा रहेर झाङ तोङ्गसँग सङ्गति गरेको भए हामीले यो समस्या बेहोर्नुपर्ने थिएन। दोषी महसुस गरे पनि, मैले आफ्ना समस्याको चिन्तन गरिनँ। थप केही कुराहरू भएपछि मात्र मैले अन्ततः आत्मचिन्तन गरेँ।

एक भेलामा झ्याङ तोङ्गले ब्रदर झेङ्ग यीलाइ मलजल गर्ने समूहको अगुवामा सिफारिस गरे। उत्साही भए पनि झेङ्ग यी, आस्थामा भरखरै प्रवेश गरेका थिए र दर्शनको सत्यतामा अझै स्पष्ट थिएनन्। उनलाई पहिले तयार गरिनु पर्थ्यो, सिधै समूह अगुवाको जिम्मेवारी दिनु अलि बढी हुने मलाई लागेको थियो। मैले यस विषयमा आफ्नो विचार राखेँ, तर झ्याङ तोङ्गले आश्चर्यजनक रूपमा मलाई भने, “किन तिमी यति अफ्ठेरो र अवरोध गर्ने भएकी? उनलाई पहिले भेटेर हामी छानबिन गर्न सक्दैनौ?” उनको भनाइ सुनेर मलाई अचानक लाज र दुख: लाग्यो। मैले सोचेँ, “झ्याङ तोङ्गसँग राम्रो क्षमता र काम गर्ने तरिकाको ज्ञान छ। मेरो क्षमता छ र म मान्छे अनि चिजहरूलाई छर्लङ्ग देख्न सक्दिनँ। मैले जिद्दी गरिरहँदा काम अवरुद्ध भए के हुन्छ? मैले जिद्दी गर्न बन्द गर्नु नै उत्तम हुन्छ।” भेलापछि, झ्याङ तोङ्गले भनेका कुरा सम्झेर म दुःखी भएँ। मसँग यो काम गर्न क्षमता पनि नभएकाले, आफ्नो सीमा स्वीकार गरेर सकेसम्म चाँडो राजीनामा गर्नुपर्छ कि जस्तो लाग्यो। यो कुरा थाहा पाएर, आफ्नो अनुभव सुनाउँदै अगुवा मलाई सहयोग गर्न आइन्। अगुवाको सङ्गतिले मैले राजीनामा दिन खोज्नुको कारण, र सधैँ किन यस्तो निराशामा जिएकी थिएँ भनी चिन्तन गर्न सुरु गरेँ। पछि, मैले परमेश्वरका वचन पढेँ: “सबै मानिसहरूभित्र केही न केही गलत स्थितिहरू हुन्छन्, जस्तै नकारात्मकता, कमजोरीपन, निराशा, र दुर्बलता; वा तिनीहरूसँग तुच्छ अभिप्रायहरू हुन्छन्; वा तिनीहरू आफ्नो घमण्ड, स्वार्थी चाहनाहरू, र स्वार्थद्वारा निरन्तर समस्याग्रस्त बन्छन्; वा तिनीहरू आफ्नो क्षमता कमजोर छ भन्ठान्छन्, र तिनीहरूले केही नकारात्मक स्थितिहरू अनुभव गर्छन्। यदि तँ सधैँ यी स्थितिहरूमा जिउँछस् भने, तँलाई पवित्र आत्माको काम प्राप्त गर्न निकै कठिन हुनेछ। यदि तँलाई पवित्र आत्माको काम प्राप्त गर्न कठिन हुन्छ भने, तँभित्र सक्रिय तत्वहरू कमैमात्र हुनेछन्, र नकारात्मक तत्वहरू प्रकट भई तँलाई बाधा पुर्‍याउनेछन्। ती नकारात्मक स्थितिहरू दबाउन मानिसहरू सधैँ आफ्नै इच्छामा भर पर्छन्, तर जसरी दबाए पनि तिनीहरू ती स्थितिहरूबाट मुक्त हुन सक्दैनन्। यसको मुख्य कारण के हो भने, मानिसहरूले पूर्ण रूपले ती नकारात्मक र प्रतिकूल कुराहरू चिन्‍न सक्दैनन्; तिनीहरूले प्रष्ट रूपले ती कुराहरूको सार देख्न सक्दैनन्। यसले तिनीहरूलाई देह र शैतानविरुद्ध विद्रोह गर्न कठिन तुल्याउँछ। साथै, मानिसहरू सधैँ यी नकारात्मक, उदास, र विकृत स्थितिहरूमा फस्छन्, र तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्ने वा उहाँलाई आदरभावले हेर्ने गर्दैनन्, बरु ती कुराहरूमा झारा टार्ने काम मात्र गर्छन्। फलस्वरूप, पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुन्न, र अन्त्यमा तिनीहरू सत्यता बुझ्न असक्षम हुन्छन्, तिनीहरूले जे गर्छन् त्यसमा मार्गको कमी हुन्छ, र तिनीहरूले कुनै मामिला पनि प्रष्ट रूपमा देख्न सक्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचन पढेर म छर्लङ्ग भएँ। सधैँ निराश र उदास हुनुको मुख्य कारण, म आत्मरति र स्वार्थ जस्ता कुराले बाँधिएकी थिएँ। प्रायः, भेलामा परमेश्वरका वचन सङ्गति गरिरहँदा म केही ज्ञान बटुल्ने गर्थेँ, तर कहिले त्यसलाई मिलाएर व्यक्त गर्न सक्दिन थिएँ। राम्रो सङ्गति गर्न सक्दिनँ र अरूले नराम्रो भन्नेछन् सोचेर म सधैँ चिन्तित हुन्थेँ र केही बोल्ने साहस नै गर्दिनथिएँ। यसरी आफैँले प्राप्त गरेको केही ज्ञान पनि हराउने गर्थ्यो। अन्य प्रचारकको उच्च क्षमता र वाक्पटुता देख्दा र मेरो अभिव्यक्त गर्न नसक्ने समस्यासँग दाँज्दा, आफ्नो कमजोर क्षमताप्रति एकदम लाज लाग्थ्यो। अनि नकारात्मक भई आफ्नो कर्तव्य बेवास्ता गर्दा कुनै परिणाम आउँदैनथ्यो, र अन्ततः अर्को काम दिइन्थ्यो। यसपल्ट पनि त्यही भयो। मेरा सहकर्मी मभन्दा क्षमतावान र राम्रो सङ्गति गर्दथे। छलफलमा, राम्रो बोल्न नसकेका कारण अपमानित वा अपहेलित हुने डर लाग्थ्यो, त्यसैले आफूलाई लागेका कुरा भन्ने आँट गर्दैनथेँ। कहिलेकाहीँ मेरा सही विचार र दृष्टिकोण नअपनाइँदा, आफ्नो विचारको बचाउमा उभिन सक्दिनथेँ, केवल आफ्नो इज्जत बचाउन लाग्थेँ। यस्ता नकारात्मक भावनाबाट नियन्त्रित भएकाले कामबाट बिदा लिन मन लाग्थ्यो। आत्मरति र गौरवलाई मैले धेरै महत्त्व दिएँ। यसै गरी अघि बढे मैले पवित्र आत्माको काम, अनि सत्यता बुझ्ने र प्राप्त गर्ने कुनै अवसर नै हुने थिएन। त्यसैले, आफूलाई चिन्न र आफ्नो स्थिति बदल्न अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस् भन्दै मैले परमेश्वरलाई प्रार्थना गरे।

पछि, परमेश्वरका वचन पढेँ: “ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य सामान्य मानिसहरूको भन्दा धेरै परको हदसम्म जान्छ, र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको पर्यावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब, ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा, तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो, र तिनीहरूको जीवनभरको लक्ष्य हो। तिनीहरूले गर्ने सबै कुराहरूमा, तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले पहिलो पटक सोच्ने कुरा यही हो, जुन तिनीहरूमा ख्रीष्टविरोधीहरूमा भएको स्वभाव र सार छ भन्ने कुराको प्रमाण हो; तिनीहरूले यी समस्याहरूलाई अन्यथा सोच्दैनन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, यी कुराहरू तिनीहरूको लागि नहुँदा पनि हुने बाह्य वस्तुहरू हुने कुरा त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन्, र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको आचरण होइन। त्यसो भए, तिनीहरूको आचरण के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक स्थिति, र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचनबाट ख्रिस्टविरोधी सधैँ प्रतिष्ठा र हैसियत कदर गर्ने हुन्छन् भन्ने देखेँ। उनीहरूले गरेका हरेक काम यी दुई चिजबाट उत्प्रेरित हुन्छन्। यो उनीहरूको ख्रिस्टविरोधी सारको परिणाम हो। मैले गरिरहेको व्यवहार पनि यही अनुरूप थियो। सानैदेखि आफूले गरेको कुनै काम गतिलो हुँदैन भन्ने लागेको थियो। आफू बाँधिएको जस्तो लाग्थ्यो र हर कुरामा अति सावधान हुने गर्दथेँ। यो खासगरी इज्जत बचाउन र अरूका अगाडि नराम्रो नहुन थियो। आफ्नो हैसियत र इज्जतलाई म किन यति महत्त्व दिन्थेँ? यसको मुख्य कारण, “रुखलाई बोक्रा चाहिए जस्तै मान्छेलाई गौरव चाहिन्छ,” र “हाँस जता उडे पनि क्वाँ क्वाँ गरेजस्तै मान्छे जहाँ-जहाँ बस्छ, आफ्नो नाम छोड्छ,” जस्ता सैतानी विष थिए, जसले गर्दा मैले आत्मरति र गौरवलाई यति महत्त्व दिएको हो। अरूमा राम्रो छाप छोड्नु नै जिउनुको एक मात्र अर्थ हुने कुरामा पूर्ण विश्वस्त थिएँ। त्यसैले, जहाँ जो सँग भए पनि, आफ्नो इज्जतमा आँच आउने सम्भावना हुने बित्तिकै, त्यसलाई बचाउन म भागिहाल्थेँ। झ्याङ तोङ्गसँग काम गर्दा, मेरा विचार अस्वीकृत भइरहँदा, आफ्नो इज्जत गुमेको लाग्यो। अगुवा बनिरहे थप बेइज्जत हुने चिन्ता लागेर, अगुवाले मलाई अर्कै कर्तव्यको जिम्मेवारी दिए हुन्थ्यो भन्ने चाहन्थेँ। वास्तवमा, ध्यानपूर्वक विचार गर्दा, म अगुवा हुन पाउनु परमेश्वरको कृपा थियो। मैले उहाँको अभिप्राय बुझेर, अरूका वास्तविक समस्या समाधान गरी मण्डलीका कामको रक्षा गर्नु पर्थ्यो। तर काम राम्रोसँग गर्नको सट्टा, म आफ्नो इज्जत र हैसियत बचाउनतिर लागेँ। यी सब चिज हराएपछि, म नकारात्मक भएर मेहनत गर्न छोडेँ। म साँच्चिकै विवेक र समझ नभएकी थिएँ। बाहिरबाट हेर्दा म ख्रिस्टविरोधी जस्तो हैसियत खोज्ने वा मण्डलीका काममा बाधा र अवरोध पुर्‍याउने, गरिरहेकी थिइनँ, तर मान्छे छान्ने र प्रयोग गर्ने कुरामा सिद्धान्तमा बस्ने हिम्मत नगरी, सधैँ आफ्नो इज्जत र हैसियत बचाउनतिर लागेँ। मैले जे स्वभाव खुलासा गरेँ त्यो ख्रिस्टविरोधी थियो। आफ्नो समस्याको गम्भीरता बुझेर मैले परमेश्वरलाई प्रार्थना र उहाँसामु पश्चात्ताप गरेँ।

यसपछि मेरो स्थितिबारे एक सिस्टरसँग खुलस्त भने र उनले परमेश्वरका केही वचन पढ्न दिइन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसहरूको क्षमता कसरी मापन गर्नुपर्छ? यसलाई तिनीहरूले कुन हदसम्म परमेश्‍वरका वचन र सत्यता बुझ्छन् त्यसको आधारमा मापन गर्नुपर्छ। यो नै क्षमता मापन गर्ने सबैभन्दा सही तरिका हो। कतिपय मानिस वाक्पटु, तिक्ष्ण बुद्धिका, र अरू मानिसलाई सम्हाल्न अत्यन्तै सिपालु हुन्छन्—तर जब तिनीहरू प्रवचनहरू सुन्छन्, तब कहिल्यै केही पनि बुझ्न सक्दैनन्, र तिनीहरू परमेश्‍वरका वचनहरू पढ्दा ती बुझ्दैनन्। तिनीहरू आफ्ना अनुभवात्मक गवाहीबारे कुरा गर्दा, सधैँ वचन र धर्मसिद्धान्तहरू बोल्छन्, जसले गर्दा तिनीहरू जाबो अनुभवहीन देखिन्छन्, र अरूलाई तिनीहरूमा आत्मिक बुझाइ रहेनछ भन्‍ने भान हुन्छ। यी कमजोर क्षमताका मानिसहरू हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो कर्तव्य राम्रोसँग पूरा गर्नका लागि, सत्यता बुझ्‍नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ)। “के तिमीहरू पावलसित क्षमता थियो भन्छौ? पावलको क्षमता कुन श्रेणीमा पर्थ्यो? (त्यो अत्यन्तै राम्रो थियो।) तिमीहरूले धेरै प्रवचनहरू सुनेका छौ तर अझै पनि बुझ्दैनौ। के पावलको क्षमतालाई अत्यन्तै राम्रो भन्‍न मिल्थ्यो? (मिल्दैनथ्यो, त्यो अत्यन्तै कमजोर थियो।) पावलको क्षमता किन कमजोर थियो? (ऊ आफूलाई चिन्दैनथ्यो र परमेश्‍वरका वचनहरू बुझ्न सक्दैनथ्यो।) किनभने ऊ सत्यता बुझ्दैनथ्यो। उसले पनि प्रभु येशूले दिएका प्रवचनहरू सुनेको थियो, र उसले काम गरेको समयमा अवश्यै पवित्र आत्माको काम भइरहेको थियो। त्यसोभए उसले त्यत्रो काम गर्दा, त्यतिका पत्रहरू लेख्दा, र ती सबै मण्डली भ्रमण गर्दा पनि कसरी सत्यताबारे केही पनि बुझेन र धर्मसिद्धान्तबाहेक केही प्रचार गरेन त? त्यो कस्तो क्षमता थियो? कमजोर क्षमता। त्यसका अलावा, पावलले प्रभु येशूलाई सतायो र उहाँका चेलाहरूलाई गिरफ्तार गऱ्यो, र त्यसपछि प्रभु येशूले उसलाई स्वर्गबाट ठूलो ज्योतिले प्रहार गर्नुभयो। पावलले आफूलाई घटेको त्यो ठूलो घटनालाई कसरी लियो र बुझ्यो? उसको बुझ्ने तरिका पत्रुसको भन्दा फरक थियो। उसले सोच्यो, ‘प्रभु येशूले मलाई प्रहार गर्नुभयो, मैले पाप गरेको छु, त्यसैले मैले यसको परिपूर्ति गर्न अझ बढी मेहनत गर्नैपर्छ, र मेरा गुणहरू अवगुणहरूभन्दा बढी भएपछि, म इनाम पाउनेछु।’ के उसले आफूलाई चिन्थ्यो? चिन्दैनथ्यो। उसले यसो भनेन, ‘मैले आफ्नो दुर्भावनापूर्ण प्रकृति, मेरो ख्रीष्टविरोधी प्रकृतिका कारण प्रभु येशूको विरोध गरेँ। मैले प्रभु येशूको विरोध गरेँ—ममा राम्रो कुरा केही पनि छैन!’ के ऊसँग आफूबारे यस्तो ज्ञान थियो? (थिएन।) … उसलाई अलिकति पनि पछुतो थिएन, झन् आफूबारे कुनै ज्ञान हुनु त परको कुरा थियो। उसमा यी कुनै पनि कुराहरू थिएनन्। यसले पावलका क्षमतामा समस्या थियो र उसमा सत्यता बुझ्ने क्षमता थिएन भन्‍ने देखाउँछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो कर्तव्य राम्रोसँग पूरा गर्नका लागि, सत्यता बुझ्‍नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ)। परमेश्वरका वचनले मलाई बुझाए। कुनै व्यक्तिको क्षमता उसको बाहिरी वाक्पटुता, प्रतिभा र बौद्धिकताको आधारमा मात्र मापन गर्नु सत्यताको सिद्धान्त अनुकूल नहुने पावल जस्तै; प्रतिभाशाली, बोल्न सिपालु उनले अधिकांश युरोपभरि सुसमाचार फैलाए, तर सत्यता र स्वयम् आफूलाई बुझ्न भने सकेनन्। उनले ठुला पापहरू गरे, आत्मज्ञान र पछुतो फिटिक्कै थिएन। उनी केवल धेरै काम गरेर इनाम पाउन र परमेश्वरको राज्य प्रवेश गर्न चाहन्थे। पावल सत्यता नबुझ्ने र खराब क्षमता भएका व्यक्ति थिए। राम्रो बोल्ने र तीक्ष्ण व्यक्ति क्षमतावान् हुने सोचेर, मैले आफूलाई सधैँ त्यही मानकले जाँचेकी थिएँ। यो मानक पूरा नभएपछि, आफूसँग क्षमता छैन र अगुवाको काम गर्न सक्दिनँ भन्ने लाग्थ्यो। समस्या आइपर्दा समाधान गर्न सत्यता खोज्नको साटो म नकारात्मक र सुस्त भएँ, र अन्त्यमा आफैँले समाधान गर्न सक्ने समस्या पनि त्यतिकै रहे। सत्यता बुझ्न नसकेर मूर्ख भएकी थिएँ म। धेरै क्षमता नभए पनि परमेश्वरका वचन बुझ्न सक्थेँ, र आफैँले खुलासा गरिरहेको भ्रष्ट स्वभावको मलाई केही ज्ञान थियो। अरूको जीवन प्रवेशमा आएका समस्या समाधान गर्न म परमेश्वरका वचनबाट उत्प्रेरणा लिन सक्थेँ, त्यसैले आफ्नो कर्तव्य नै पूरा गर्न नसक्ने गरी क्षमता नभएकी जस्तो थिइनँ म। यी सबै चिज बुझेर मेरो मानसिकता केही परिवर्तन भयो र आफ्नो कर्तव्य सामान्य तरिकाले निभाउन सकेँ।

पछि, मेरो स्थिति राम्रोसँग बताउने परमेश्वरका वचनको केही खण्ड पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “बच्‍चामा कतिपय मानिसहरू सामान्य देखिने, स्पष्ट बोल्‍न नसक्‍ने, र चतुर व्यवहार गर्न नजान्‍ने हुन्छन्, जसले गर्दा परिवार र समाजले तिनीहरूको नकारात्मक मूल्याङ्कन गर्छन्, र यस्तो भन्छन्: ‘यो बच्‍चा मन्दबुद्धिको, सुस्त, र बोल्न नजान्‍ने छ। अरूका छोराछोरीलाई हेर त, तिनीहरूले अरूलाई औँलामा नचाउँछन्। यो बच्‍चाचाहिँ दिनभरि ओठ लेब्र्याउँदै बस्छ। मान्छेलाई भेट्दा के भन्‍ने, कुनै गल्ती गरेपछि कसरी स्पष्टीकरण दिने वा आफ्‍नो बचाउ गर्ने, यसलाई थाहै छैन, र यसले मान्छेहरूलाई खुसी पार्न सक्दैन। यो बच्‍चा मूर्ख छ।’ आमाबुबाले यसै भन्छन्, आफन्त र साथीहरूले यसै भन्छन्, र तिनीहरूका शिक्षकहरूले पनि यसै भन्छन्। त्यस्ता व्यक्तिहरूमा यस्तो वातावरणले केही निश्‍चित र अदृश्य दबाब दिन्छ। यी वातावरणहरू अनुभव गरेर, तिनीहरूले अचेतन रूपमै निश्‍चित मानसिकता विकास गर्छन्। कस्तो मानसिकता? तिनीहरूले आफू राम्रो छैनँ, आफूलाई अरूले मन पराउँदैनन्, र आफूलाई देख्दा अरू खुसी हुँदैनन् भन्‍ने सोच्छन्। तिनीहरूले आफू पढ्नमा सिपालु छैनँ, र सुस्त छु भन्‍ने सोच्छन्, र अरूको छेउमा मुख खोलेर बोल्‍न सधैँ धकाउँछन्। मानिसहरूले तिनीहरूलाई केही कुरा दिँदा लाजले धन्यवाद पनि भन्दैनन्, र मनमनै सोच्छन्, ‘किन मेरो मुख सधैँ बन्द हुन्छ? अरू मानिसहरू किन यति मीठो बोल्‍न सक्छन्? म त मूर्खै हुँ!’ … त्यस्तो वातावरणमा हुर्केपछि, हीनताबोधको यो मानसिकताले क्रमिक रूपमा स्थान लिन्छ। यो तेरो हृदयमा गाँजिएको र दिमागमा खाँदिएको एक अटुट संवेगमा परिणत हुन्छ। तँ पहिले नै वयस्क भएर, संसारमा सङ्घर्ष गर्न थालेको, विवाह गरिसकेको र करियरमा अघि बढिसकेको भए पनि नभए पनि, र तेरो सामाजिक हैसियत जे-जस्तो भए पनि, तँ तेरो वातावरणमा हुर्कँदै गर्दा तँभित्र रोपिएको हीनताबोधको यो भावना हटाउनु असम्‍भव हुन्छ। तैँले परमेश्‍वरमा विश्‍वास गरेर मण्डलीमा आबद्ध भएपछि पनि, तैँले अझै पनि आफ्नो रूप त्यति राम्रो छैन, बौद्धिक क्षमता कमजोर छ, स्पष्ट रूपमा बोल्‍न आउँदैन, र केही पनि गर्न सक्दिनँ भन्‍ने लाग्छ। तैँले यस्तो सोच्छस्, ‘म जे सक्छु त्यही गर्छु। मैले अगुवा बन्‍ने आकाङ्क्षा बोक्‍नु हुँदैन, गहन सत्यताहरू खोजिरहनुपर्दैन, म सबैभन्दा सानो बनेर नै सन्तुष्ट हुनेछु, र अरूलाई जसरी मन लाग्छ त्यसरी नै मप्रति व्यवहार गर्न दिनेछु’(वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१))। “जब हीनताबोधको भावनाले तेरो हृदयमा गहिरो जरा गाडेको हुन्छ, त्यसले तँमा गहन असर मात्रै गर्दैन, त्यसले त मानिसहरू र परिस्थितिहरूप्रतिको तेरो दृष्टिकोण, र तेरो व्यवहार अङ्गालाइ र कार्य गराइमा समेत नियन्त्रण कायम गर्छ। अनि, हीनताबोधको भावनाद्वारा नियन्त्रित व्यक्तिहरूले मानिसहरू र परिस्थितिहरूलाई कसरी हेर्छन्? तिनीहरूले अरू मानिसहरूलाई आफूभन्दा असल ठान्छन्, र तिनीहरूले ख्रीष्टविरोधीहरूलाई पनि आफूभन्दा असल ठान्छन्। ख्रीष्टविरोधीहरूमा दुष्ट स्वभाव हुने र तिनीहरूको मानवता खराब हुने भए पनि, यी मानिसहरूले अझै पनि तिनीहरूलाई अनुकरण गर्नुपर्ने र आदर्शको रूपमा लिनुपर्ने मानिसहरूको रूपमा लिन्छन्। तिनीहरूले आफैलाई यस्तोसमेत भन्छन्, ‘हेर्‌ त, तिनीहरूमा खराब स्वभाव र दुष्ट मानवता भए पनि, तिनीहरू वरदानप्राप्त छन् र काममा मभन्दा सिपालु छन्। तिनीहरूले सहजतासाथ अरूसामु आफ्‍नो क्षमता देखाउन सक्छन् र कुनै लाज वा धक नमानी त्यति धेरै मानिसहरूअघि बोल्‍न सक्छन्। तिनीहरूमा साँच्‍चै साहस छ। म त तिनीहरूको स्तरमा पुग्‍नै सक्दिनँ। म पर्याप्त रूपमा साहसी छैनँ।’ केले यस्तो अवस्था पैदा गर्छ? यसको एउटा कारण के हो भनेर भन्‍नैपर्छ भने, तेरो हीनताबोधले मानिसहरूको सारसम्‍बन्धी तेरो मूल्याङ्कन क्षमता, साथै अरू मानिसहरूलाई हेर्ने तेरो दृष्टिकोण र विचार प्रभावित गरेको छ। के कुरा यही होइन र? (हो।) त्यसोभए हीनताबोधको भावनाले तेरो आफ्‍नै व्यवहार अँगालाइमा कसरी प्रभाव पारेको हुन्छ? तैँले आफूलाई यसो भन्छस्: ‘म कुनै वरदान वा क्षमताविना मूर्ख भएर जन्‍मेँ, र सबै कुरा सिक्‍नमा म सुस्त छु। त्यो व्यक्तिलाई हेर्‌ त। उसले कहिलेकहीँ बाधा र व्यवधान ल्याए पनि, र स्वेच्‍छाचारी र लापरवाही हिसाबले काम गरे पनि, कम्तीमा पनि ऊ वरदानप्राप्त छ र उसमा क्षमता छ। अनि जहाँ गए पनि, मानिसहरूले काम गराउन चाहने भनेको त्यस्तै व्यक्तिलाई हो, मजस्तोलाई होइन।’ जब कुनै घटना घट्छ, तैँले गर्ने पहिलो कुरा भनेको आफ्‍नो बारेमा फैसला गरेर मनको ढोका बन्द गर्नु हो। समस्या जेसुकै होस्, तँ पछि हट्छस् र अग्रसरता लिनबाट भाग्छस्, र तँ जिम्‍मेवारी लिन डराउँछस्। तैँले मनमनै भन्छस्, ‘म त जन्‍मँदै मूर्ख जन्‍मेँ। म जहाँ गए पनि, मलाई कसैले मन पराउँदैनन्। म धेरै बाठो हुनु हुँदैन, र मैले मेरा सानातिना क्षमताहरू देखाउनु हुँदैन। यदि कसैले मलाई सिफारिस गर्‍यो भने, त्यसले म ठीकै छु भन्‍ने प्रमाणित गर्छ। तर यदि कसैले मलाई सिफारिस गरेन भने, मैले त्यो काम लिएर राम्ररी गर्न सक्छु भन्दै अग्रसरता जनाएर हुँदैन। यदि ममा यसबारे आत्मविश्‍वास छैन भने, ममा आत्मविश्‍वास छ भनेर भन्‍नु हुँदैन—यदि मैले काम बिगारेँ भने, के गर्ने? मलाई काटछाँट गरियो भने के गर्ने? म त साह्रै लज्‍जित हुनेछु! के त्यो अपमानजनक कुरा हुँदैन र? मैले आफूलाई त्यस्तो अवस्थामा पार्नु हुँदैन।’ हेर् त—के यसले तेरो व्यवहारमा प्रभाव पारेको छैन र? निश्‍चित हदसम्‍म, तैँले आफूलाई व्यवहारमा कसरी ढाल्‍ने भन्‍नेबारेको तेरो मनोवृत्तिलाई हीनताबोधको तेरो भावानाले प्रभावित र नियन्त्रित गरेको हुन्छ। निश्‍चित हदसम्‍म, यसलाई तेरो हीनताबोधको दुष्परिणाम भनेर भन्‍न सकिन्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१))। परमेश्वरका वचन पढेर उहाँले हामीलाई राम्रोसँग बुझ्नुहुन्छ भन्ने लाग्यो। उहाँले खुलासा गर्नुभएको चाहिँ ठ्याक्कै मेरो सोच्ने तरिका हो। मेरो दिक्दारीको एक मात्र कारण मैले आफ्नो इज्जतलाई दिएको महत्त्व मात्र थिएन; यसको अर्को कारण पनि थियो। मेरो वरपर रहेका व्यक्ति र चिजहरूको प्रभावले ममा हीनताबोध विकसित भएको थियो, आफूलाई सही ढङ्गले बुझ्न नसक्ने र गरेका कुनै पनि काम गतिलो नभएको सोच्ने, अति सतर्क, दबिएकी र हरेक काममा सङ्कुचित भएकी थिएँ। केटाकेटी हुँदा आफू बोल्न नचाहने भएको, र प्राय वयस्कहरूले मन नपराइएको, बोधो वा मूर्ख भनेको कुरा सम्झेँ। तर वास्तवमा मेरा आफ्नै राय थिए, त्यो समयमा नभनी बसेकी भए पनि; आफ्नो इज्जत गुमाउने डरले मात्र नबोलेकी थिएँ। केही थाहा नभएर हैन, आफू बोल्न जान्दिनँ भनेर कक्षामा बोल्ने आँट गर्दैनथेँ। भेलाहरूमा परमेश्वरका वचन पढेर केही ज्ञान हासिल गरेकी थिएँ, तर बोल्नै जान्दिनँ भन्ने सोचेर सङ्गति गर्ने आँट आउँदैन थियो। झ्याङ तोङ्गले सिद्धान्तको पर्बाह नगरी मनपरी मान्छे छान्ने र प्रयोग गर्ने काम गरेको देख्दा, उनलाई सम्झाउन चाहन्थेँ तर उनको असल क्षमता र मेरो नालायकी सम्झँदा, कुनै सल्लाह वा सोचविचार नगरी, आफ्नो विचार त्यागिदिएँ, जसले गर्दा काममा नोक्सान भयो। हीनताबोधका कारण हरेक कुरामा नकारात्मक र निष्क्रिय भएकी थिएँ। आफू र अरूलाई पनि परमेश्वरका वचन अनुसार नभई, आफ्नै विचारअनुसार आँकिरहेकी थिएँ। कुनै चिज र मान्छेलाई मैले हेर्ने दृष्टिकोण हीनताबोधद्वारा निर्देशित थिए, र तिनले मेरो मूल्याङ्कन अनि खोजको मार्ग प्रभावित गरेका थिए। हीन भावनाले मलाई ठुलो हानि पुर्‍याएको थियो। तुरुन्तै मैले परमेश्वरका थप वचन पढेँ: “तेरो यो संवेग नकारात्मक मात्रै छैन, तर अझै ठीक तरिकाले भन्दा, यो परमेश्‍वर र सत्यताविरुद्ध छ। तँलाई यो सामान्य मानवताको संवेग हो भन्‍ने लाग्छ होला, तर परमेश्‍वरको नजरमा, यो संवेगको सामान्य कुरो मात्रै होइन, यो त परमेश्‍वरको विरोध गर्ने तरिकासमेत हो। यो नकारात्मक संवेगहरूले भरिएको एक तरिका हो जुन मानिसहरूले परमेश्‍वर, परमेश्‍वरका वचनहरू र सत्यताको विरोध गर्न प्रयोग गर्ने गर्छन्(वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१))। परमेश्वरका वचन पढेर हीनताबोधको गम्भीर प्रकृति र त्यसले निम्त्याउने हानि, मान्छेका लागि भ्रष्ट स्वभाव जत्तिकै घातक हुने बुझेँ। हीनताबोधसहित जिउनु परमेश्वर र सत्यता विरुद्ध थियो, र समाधान नभए यसले मान्छेलाई मुक्तिको मार्ग प्राप्त हुँदैनथ्यो। सानैदेखि म हीनताबोधले ग्रसित थिएँ, र केही पनि राम्रो गर्न सक्दिनँ जस्तो लाग्थ्यो। क्षमतावान् मान्छेको अगाडि त आफूलाई झनै कमजोर, पीडित र दुःखी महसुस हुन्थ्यो, र परमेश्वरलाई क्षमता वा बुद्धि नदिएको भनी दोष दिन्थेँ। परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तमा चित्त नबुझेर अस्वीकार गरेकी थिएँ, जुन वास्तवमा परमेश्वरको अवहेलना थियो! यसरी नै अघि बढेकी म हटाइने थिइनँ त? यी कुरा बुझिसकेपछि मात्र, मलाई हीनताबोध लिएर जिउनु ज्यादै घातक हुने भएकाले, यसरी म अघि बढ्न सक्दिनथेँ र यो भावना फाल्नु पर्ने थियो।

पछि मैले परमेश्वरका थप वचन पढेँ: “तैँले आफूलाई सही रूपमा कसरी मूल्याङ्कन गर्न र चिन्‍न सक्छस्, र तँ कसरी हीनताबोधको भावनाबाट मुक्त हुन सक्छस्? तैँले आफ्‍नो बारे ज्ञान पाउने, आफ्‍नो मानवता, क्षमता, र प्रतिभाबारे जान्‍ने, साथै आफूमा के-कस्ता सामर्थ्यहरू छन् भनेर थाहा पाउने आधारको रूपमा परमेश्‍वरका वचनहरूलाई लिनुपर्छ। उदाहरणको लागि, मानौँ तँलाई गीत गाउन मन पर्थ्यो र तँ राम्ररी गाउँथिस्, तर कतिपय मानिसहरूले तेरो आलोचना गरिरहे र तँलाई होच्याइरहे, तँलाई सुर चिन्‍न आउँदैन र तैँले बेसुरे गाउँछस् भनी भनिरहे, त्यसकारण अहिले तँलाई राम्ररी गाउन आउँदैन भन्‍ने लाग्छ र तैँले अरूको अगाडि गाउने आँट गर्न छोडेको छस्। ती सांसारिक जन, ती भ्रमित र औसत मानिसहरूले तेरो बारे गलत मूल्याङ्कन र आलोचना गरेका हुनाले, तेरो मानवताले पाउनुपर्ने अधिकारहरूबाट तँ वञ्चित भइस्, र तेरो प्रतिभा दबियो। परिणामस्वरूप, तँलाई गीत गाउनेसमेत आँट आउँदैन, र कोही नभएको बेला एकलै हुँदा मात्रै तँलाई खुलेर गाउने आँट आउँछ। तँलाई आफूमाथि भयानक दमन गरिएको छ भन्‍ने सामान्य रूपमै महसुस हुने हुनाले, तँ एकलै नहुँदा गीत गाउने आँटै गर्दैनस्; एकलै हुँदा मात्रै तँलाई गीत गाउने आँट आउँछ र तँ ठूलो स्वरमा र स्पष्टसित गीत गाउँदै रमाइलो गर्छस्, अनि त्यो कति सुन्दर र स्वतन्त्र समय हुन्छ! यस्तै हुन्छ नि, होइन र? मानिसहरूले तँलाई गरेको हानिको कारण, तैँले वास्तवमा के गर्न सक्छस्, तँ के कुरामा सिपालु छस्, र तँ के कुरामा सिपालु छैनस् भन्‍ने कुरा तँ जान्दैनस् वा स्पष्ट रूपमा देख्‍न सक्दैनस्। यस्तो परिस्थितिमा, तैँले सही मूल्याङ्कन गर्नुपर्छ र परमेश्‍वरका वचनहरूअनुसार आफ्‍नो सही मापन गर्नुपर्छ। तैँले के सिकेको छस् र तेरा सामर्थ्यहरू के-केमा छन् त्यो पत्ता लगाएर आफूले गर्न सक्‍ने कुरा गर्नुपर्छ; तैँले गर्न नसक्‍ने कुराहरू, तेरा कमीकमजोरी र त्रुटिहरूको हकमा, तैँले मनन गरेर तिनलाई चिन्‍नुपर्छ, र तैँले तेरो क्षमता कस्तो छ, र त्यो असल छ कि खराब छ भनेर सही रूपमा मूल्याङ्कन गर्नु र जान्‍नुपर्छ। यदि तैँले आफ्‍ना समस्याहरू बुझ्‍न वा तीबारे स्पष्ट ज्ञान प्राप्त गर्न सक्दैनस् भने, समझशक्ति भएका र आफूले चिनेजानेका मानिसहरूलाई तेरो बारे मूल्याङ्कन गर्न अनुरोध गर्। तिनीहरूले भनेको कुरा सही भए पनि नभए पनि, कम्तीमा पनि यसले तँलाई एउटा सन्दर्भको रूपमा प्रयोग र विचार गर्न सकिने आधार दिन्छ र तँलाई आफ्‍नो बारेमा आधारभूत मूल्याङ्कन वा चरित्र चित्रण गर्न सक्षम तुल्याउँछ। अनि, तँ हीनताबोधजस्तो नकारात्मक संवेगको अपरिहार्य समस्या समाधान गर्न, र त्यसबाट क्रमिक रूपमा मुक्त हुन सक्छस्। यदि व्यक्तिले हीनताबोध चिन्‍न र त्यसप्रति सतर्क हुन, अनि सत्यता खोजी गर्न सक्छ भने, त्यस्तो हीनताबोधका भावनाहरू समाधान गर्न सजिलै हुन्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१))। परमेश्वरका वचन पढिसकेर मैले यो हीनताबोधको भावना त्याग्ने उपाय भेटेँ। आफैँलाई बुझ्न र आँक्न मैले परमेश्वरका वचन प्रयोग गर्न पर्दथ्यो, र मेरो मूल्याङ्कन गरिदिन मलाई चिन्ने मान्छेलाई अनुरोध पनि गर्न सक्थेँ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “परमेश्वर! हीनताबोध सहित जिउनु कति घातक छ भन्ने मैले अब बुझेँ। मलाई यी भावना त्याग्न मद्दत गर्नुहोस्।” पछि, मेरा सहकर्मीहरूलाई मेरो मूल्याङ्कन गर्न अनुरोध गरेँ। उनीहरूले भने: “शुद्धसँग परमेश्वरका वचन बुझेर, आफ्नो भ्रष्ट स्वभाव र स्थिति सम्बन्धमा तिमीले परमेश्वरको सङ्गति, र अरू वास्तविक समस्या परेकालाई मद्दत गरेको हेर्दा, तिमी आफूले भने जति अयोग्य छैनौ। धेरै क्षमतावान् नभए पनि, मन लगाएर गर्दा तिमीले वास्तविक काम गर्न सक्छौ।” ब्रदर र सिस्टरहरूले यसो भनेको सुन्दा अलि सहज अनुभूति भयो र सोचेँ; “आफूलाई व्यक्त गर्न कोही अरू जत्तिकै सिपालु नभए पनि, सङ्गति गर्दा सबैले मलाई बुझेका छन्। बाँधिएको सोच्नै हुँदैन मैले। आफूले सक्ने जति सङ्गति मैले गर्नु पर्छ। अरूको वाहवाह पाउने मात्र मैले सोच्न हुँदैन; व्यवहारिक रूपमा सङ्गति गरी ब्रदर सिस्टरहरूको भलाइका लागि उनीहरूको समस्या समाधान गर्न म केन्द्रित हुनुपर्छ। कमजोर क्षमता भए पनि, थप अभ्यास गरी आफ्नो कमजोरी मेटाउन र आफूलाई विकास गर्न सक्छु म। अरूसँग तुलना, नकारात्मक र आफूलाई कम आँक्नु हुँदैन मैले। सकारात्मक सोचसहित मैले प्रवेश खोज्नु पर्छ।” यी कुरा बुझेर मैले आफैँले आफूलाई राम्रो व्यवहार र सुदृढ मनोवृत्तिसहित कर्तव्य गर्न सकेँ।

भर्खरै म फेरी प्रचारक चुनिएँ। यो अप्रत्याशित थियो, र म गर्न सक्दिन भनी चिन्तित भएँ। अनि, परमेश्वरका वचनले भनेका कुरा सम्झेँ: “तैँले आफ्‍नो बारे ज्ञान पाउने, आफ्‍नो मानवता, क्षमता, र प्रतिभाबारे जान्‍ने, साथै आफूमा के-कस्ता सामर्थ्यहरू छन् भनेर थाहा पाउने आधारको रूपमा परमेश्‍वरका वचनहरूलाई लिनुपर्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१))। परमेश्वर वचनमा आधारित भएर मैले सब चिज नाप्नु पर्छ। क्षमता नभएर मात्र पहिले मैले यो कर्तव्य राम्रोसँग गर्न नसकेकी होइन। खासगरी हीनताबोधमा जिएकीले, सहकार्यमा मन लगाउँदैनथेँ र पवित्र आत्माको कार्य सम्पन्न गर्न सकेकी थिइनँ। म यस्तो हीनताबोधका साथ, आफ्नो इज्जत र हैसियत सोचेर जिउन सक्दिनथेँ। ब्रदर सिस्टरहरूले चुनेको हुनाले सहकार्य गर्न मैले सक्दो प्रयास गर्नुपर्थ्यो, र नबुझेका कुरा थिए भने परमेश्वरमा थप भर र अरूको सहयोग खोज्न पर्थ्यो। यो मनोवृत्तिले, आफूलाई सहज र स्वतन्त्र महसुस गरेँ। केही समयपछि प्रचार समूहकी प्रमुख सिस्टर हाम्रो काम जाँच गर्न आइन्। आफ्नो काम र सत्यताको सङ्गतिमा उनी अत्यन्त क्षमतावान् थिइन्, र उनले हाम्रो काममा प्रशस्त विचलन र गल्ती औँल्याइन्। मलाई असक्षम भन्ने हुन् कि भनेर डर लागेको थियो, तर फेरी आफ्नो इज्जत र हैसियतबारे म चिन्तित भएको तत्काल थाहा पाएँ, त्यसैले, आफैँ विरुद्ध विद्रोह गर्न मैले परमेश्वरको प्रार्थना गरेँ, र यी सिस्टरसँग थप सिकेर आफ्ना कमजोरी सुधार्न चाहन्थेँ। त्यसपछि, कामको छलफल गर्दा मैले आफूलाई अभिव्यक्त गर्न कहिले रोकिनँ, र उनीसँग कुराकानी गरेर अभ्यासका केही मार्ग पहिल्याएँ। परमेश्वर वचनको मार्गदर्शनले मैले हीनताबोधको बन्धनबाट मुक्त भएँ।

अघिल्लो: १६. अब म डरले लुरुक्क पर्दिनँ

अर्को: २०. मैले परमेश्‍वरको आवाज सुनेको छु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२१. आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको के हो मैले बल्‍ल बुझेँ

क्षुन्‍क्‍वी, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र...

७१. प्रदर्शन गरेर भएको हानि

रुओयु, स्पेनकेही वर्ष पहिले, म उस्तै उमेरका केही दाजुभाइ-दिदीबहिनीहरूसँग मलजल गर्ने कर्तव्यमा लागेकी थिएँ। तिनीहरू अत्यन्तै उत्साहित र...

२३. परमेश्‍वरलाई मेरो हृदय दिँदा

क्षिन्चे, दक्षिण कोरियावर्ष २०१८ को जुन महिनामा, मैले राज्यको स्तुतिगानको प्रदर्शनका लागि अभ्यास गरें। परमेश्‍वरको प्रशंसा गर्दै र उहाँको...

४५. परमेश्‍वरको अगाडि जिउनु

योङ्ग्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वास्तविकतामा प्रवेश गर्नका लागि, व्यक्तिले सबै थोकलाई वास्तविक जीवनतर्फ...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्