९८. आस्थाका लागि मैले भोगेको सतावट
मे २००३ को एक साँझ ८ बजेपछि, म भर्खरै कर्तव्य निर्वाह गरेर घर आएकी थिएँ। तीन जना प्रहरी स्वात्त भित्र पसे, मेरो पाखुरामा च्याप्प समाते र मलाई हतकडी लगाए। डरले मेरो मुटु ढुकढुक भइरहेको थियो। तीमध्ये एक जनाले मेरो खानतलासी गरेर मेरो पेजर जफत गऱ्यो। मैले सोधेँ, “मैले कुन कानुन तोडेकी छु र? तपाईँहरू किन मलाई गिरफ्तार गर्दै हुनुहुन्छ?” उसले अँध्यारो अनुहार लगाउँदै भन्यो, “राज्यले तँलाई सर्वशक्तिमान् परमेश्वरमाथि आस्था राख्ने अनुमति दिँदैन। यो कम्युनिस्ट पार्टीको नीतिविपरीत हो। त्यसैले तँ गिरफ्तार हुँदै छेस्!” तिनीहरूले थप केही नभनी मलाई तिनीहरूको गाडीमा हाले। पछाडिको सीटमा कोच्चिएर बसेकी म घबराएकी र डराएकी थिएँ, कस्तो क्रूरता भोग्नुपर्ने हो मलाई केही थाहा थिएन। म आफ्नो कद सानो भएकोले यातना सहन सक्दिनँ होला, यूहदा बनेर ब्रदर-सिस्टरहरूलाई धोका दिन्छु होला भनेर चिन्तित थिएँ। मैले परमेश्वरलाई मनमनै बारम्बार प्रार्थना गरेर सुरक्षा, विश्वास र बल मागेँ। त्यसपछि, मलाई परमेश्वरका वचनहरूका यो कुरा याद आयो: “तैँले जान्नुपर्छ कि तेरो वरिपरिको सारा वातावरणलाई मैले अनुमति दिएको हुँ र मैले नै तिनको प्रबन्ध गरेको हुँ। यसबारे स्पष्ट हो र मैले तँलाई दिएको वातावरणमा मेरो हृदयलाई सन्तुष्ट बना। यो वा त्यो कुराको डर नमान्, सेनाहरूका सर्वशक्तिमान् परमेश्वर अवश्य नै तेरो साथमा हुनुहुनेछ; उहाँ तेरो सहायक शक्ति हुनुहुन्छ, र उहाँ तेरो ढाल हुनुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय २६)। परमेश्वरका वचनहरूले मेरो विश्वास र साहसलाई टेवा दिए। मेरो पक्राउ परमेश्वरको अनुमतिमा भएको थियो र प्रहरी परमेश्वरकै नियन्त्रणमा थियो। परमेश्वर मेरो साथमा हुनुभएकाले डराउनुपर्ने कुनै कारण थिएन। यसबारे त्यसरी सोच्दा मलाई त्यति डर लागेन, र मैले प्रहरीले मलाई जसरी यातना दिए पनि, ब्रदर-सिस्टरहरू वा परमेश्वरलाई कहिल्यै धोका दिन्नँ भनेर मनमनै सङ्कल्प गरेँ।
हामी प्रहरी चौकी पुगेपछि, एक जना महिला प्रहरीले मेरो कपडा उतारेर तलासी लिइन् र अर्को कोठामा लगिन् अनि मेरो पछाडि रहेको हिटिङ पाइपमा मलाई हतकडी लगाइन्। राती ११ बजेतिर, प्रहरीले मेरो घरमा परमेश्वरका वचनका पुस्तकहरूका साथै थुप्रै वटा पेजरहरू फेला पारेछ। अपराध प्रहरी ब्रिगेडका प्रमुख लिले हातमा ती पेजरहरू लिएर मलाई सोधे, “तँलाई यी कसले दियो? तेरो सम्पर्कमा कोको छन्?” मैले मुख नखोलेपछि, उनले मलाई केहीपटक नराम्रोसँग थप्पर हाने। मैले झिलिल्ल तोरीको फूल देखेँ र अनुहार भतभत पोलेर दुख्यो। त्यसपछि तिनले मेरो खुट्टाको बूढी औँलामा जोडले कुल्चे, र मलाई सियोले घोचेको जस्तो दुख्यो। यति साह्रो दुख्यो कि मेरो पूरै शरीर पसिनै-पसिना भयो। मैले रिसाउँदै उनलाई भनेँ, “म जीवनको सही मार्गमा विश्वास गर्छु। त्यसले कुन कानुन तोड्छ? के चीनको कानुनले धार्मिक स्वतन्त्रतालाई अनुमति दिएको छैन र? मलाई पक्रने र कुट्ने तपाईंको के अधिकार छ?” एक जना प्रहरीले भने, “तिमीहरू असाध्ये सोझा छौ! धार्मिक स्वतन्त्रता त विदेशीहरूको मुखमा बुजो लगाउने मुखौटो मात्र हो। कम्युनिस्ट पार्टी नास्तिक हो, त्यसैले देश तिमी विश्वासीहरूलाई दमन गर्न र जरैसमेत उखेल्न चाहन्छ! यदि तैँले आफूलाई थाहा भएको कुरा बताइनस् भने, भोलि तेरो छाला काढिनेछ। तँ यहाँ आउन त जिउँदै आएकी छेस्, तर यहाँबाट तेरो लाश निस्कनेछ!” त्यसो भन्दै तिनीहरू कोठाबाट निस्के। म के सोच्दै थिएँ भने तिनीहरूले मेरो घरमा त्यति धेरै चीज भेट्टाएकाले मलाई कुनै पनि हालतमा त्यतिकै छोड्नेछैनन्। मैले मुख खोलिनँ भने तिनीहरूले मलाई कस्तो यातना दिने हुन्, मलाई केही थाहा थिएन। तिनीहरूले मेरो छाला काढिनेछ समेत भनेका छन्—तिनीहरूले मेरो ज्यान लिनेछन्। यसले गर्दा मलाई साह्रै चिन्ता लाग्यो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेर विश्वास र बल मागेँ। भोली बिहान चार जना प्रहरी टाइगर चेयर लिएर आए। अफिसर लिले भयानक अनुहार पार्दै भने, “नबोलेकोमा अब तैँले मेरोबाट भेट्नेछस्! आज तैँले टाइगर चेयरको स्वाद चाख्नेछस्!” त्यसपछि तिनीहरूले मलाई चेयरमा थचारेर राखे र हत्केला मास्तिर फर्कने गरी मेरा हात फलामे हुपले कसे। मेरो शरीर पछिल्तिर ढल्किने गरी मलाई चेयरमा बसाइयो, खुट्टा तलतिर फैलाएर तन्काइयो, अनि नाडीमा हतकडी भने एकदमै दुख्नेगरी गाडिँदै थिए। मेरो हात भुक्क सुनियो अनि नीलो भएर लाटा भयो। त्यो दिन बित्यो। मेरो शरीर हिउँजस्तो चिसो भयो र मेरा हात झन्-झन् धेरै सुन्निदै गए। मलाई झन् धेरै चिन्ता र डर लाग्दै थियो: यदि यस्तै भइरह्यो भने, के मेरो हात कुँजो हुँदैन र? अनि त्यसो भएमा, यसपछि मैले कसरी जीवन धान्ने? यसबारे मैले जति सोचेँ, उति नै दुःखी भएँ। यो दुःख कहिले सकिने हो मलाई थाहा थिएन। मैले प्रार्थना गरेँ: “हे परमेश्वर, मलाई अति कष्ट भइरहेको छ। बिन्ती छ, दह्रिलो हुन मलाई बल र मार्गदर्शन दिनुहोस्।” र त्यसपछि, मैले परमेश्वरले भन्नुभएको कुरा सम्झेँ: “जाँचहरू भोग्दा, मानिसहरू कमजोर हुनु वा उनीहरूभित्र नकारात्मकता हुनु, वा परमेश्वरका अभिप्रायहरू वा तिनीहरूका अभ्यासको मार्गबारे स्पष्ट नहुनु सामान्य कुरा हो। तर समग्रमा, तँमा परमेश्वरको कामप्रति आस्था हुनैपर्छ, अनि अय्यूबले जस्तै, तैँले परमेश्वरलाई इन्कार गर्नु हुँदैन। … कठिनाइ र शोधनको समयमा मानिसहरूलाई विश्वास चाहिएको हुन्छ, अनि विश्वास यस्तो कुरा हो जुन शोधन पछि आउँछ; शोधन र विश्वासलाई अलग गर्न सकिँदैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधन भएर जानैपर्छ)। परमेश्वरका वचनहरूबाट मैले बल पाएँ—मैले यो पीडा र सतावट भोग्दा परमेश्वरमा विश्वास गर्नुपर्थ्यो। प्रहरीले मलाई झुकाउन र परमेश्वरलाई धोका दिन लगाउन मेरो देहगत कमजोरीको दुरुपयोग गर्ने प्रयास गर्दै यातना दिइरहेको थियो। परमेश्वरले पनि यस परिस्थितिलाई मेरो विश्वास र सतावट सहने मेरो सङ्कल्पलाई सिद्ध पार्न प्रयोग गरिरहनुभएको थियो। मेरो हात कुँजो हुने वा नहुने कुरालगायत सबै कुरा पूर्णरूपमा परमेश्वरकै हातमा र उहाँकै शासनको अधीनमा थियो। मैले परमेश्वरमा विश्वास गर्नुपर्थ्यो र उहाँको गवाहीमा दृढ़ रहन उहाँमै भर पर्नुपर्थ्यो। यो सोच्दा मलाई अझ दह्रिलो भएको महसुस भयो, र थाहै नभई मेरो हातको दुखाइ हराएर गयो। मैले परमेश्वरलाई हृदयदेखि नै धन्यवाद दिएँ!
प्रहरीले तेस्रो दिन बिहान फेरि मलाई सोधपुछ गर्न थाल्यो। तिनीहरूमध्ये एक जनाले मलाई औँलो ठड्याउँदै भन्यो, “हामीलाई केही थाहा छैन भन्ने नसोच्। हामीले दुई महिनाभन्दा अघिदेखि तेरो घरको निगरानी गरिरहेका छौँ। तँकहाँ निकै धेरै मानिस आउजाउ गरेका छन्!” त्यसपछि उसले मेरो घरमा आउने मानिसहरूले कस्तो कपडा लगाएका थिए, तिनीहरू कति अग्ला थिए, तिनीहरूले कस्ता बाइसाइकल चढेका थिए भन्दै फटाफट बताए। म त तीनछक परेँ। तिनीहरूले मेरो घरलाई केही समयदेखि निगरानीमा राखेका रहेछन्, र तिनीहरूले बताएका मानिसहरू सबै मण्डली अगुवा वा डिकनहरू थिए। मैले ती कुनै ब्रदर-सिस्टरहरूलाई धोका दिनु हुँदैनथ्यो, तर प्रहरीलाई पहिल्यै सबै कुरा राम्ररी थाहा भएकोले, र यदि मैले फिटिक्कै केही बताइनँ भने, तिनीहरूले मलाई अवश्यै छोड्नेथिएनन्। तिनीहरूले मलाई कस्तो यातना दिने हुन् मलाई थाहा थिएन। सायद मैले थोरै भए पनि केही भन्नुपर्ला कि? म हिरासतमा परेको तीन दिन भइसकेको थियो, त्यसैले मेरा आफ्नै सिस्टरहरूले पक्कै पनि यो कुरा थाहा पाएर लुकिसकेका थिए। प्रहरीले उनीहरूलाई भेट्टाउन सक्दैन भन्ने मलाई लाग्यो र मैले भनेँ, “मलाई भेट्न आउनेहरू मेरा सिस्टरहरू हुन्।” त्यसपछि ती प्रहरीले सोधे, “के तिनीहरू विश्वासी हुन्?” मैले यसबारे त्यति नसोची फ्याट्टै भनिहालेँ, “तिनीहरू साँचो विश्वासी होइनन्।” मैले त्यसो भन्नासाथ, प्रहरी मेरा सिस्टरहरूलाई पक्रन हिँडिहाल्यो। मलाई साह्रै ग्लानि भयो। मैले उनीहरू विश्वासी हुन् भनेर कसरी भन्न सकेँ? आफूले कम कष्ट भोग्न सकूँ भनेन आफ्ना सिस्टरहरूलाई धोका दिनु भनेको के यहूदा बन्नु थिएन र? यदि उनीहरू पक्रा परे र अरू ब्रदर-सिस्टरहरू पनि त्यसमा मुछिए भने, के मण्डलीको काममा झनै ठूलो हानि पुग्नेथिएन र? अनि उनीहरू यसपटक पक्राउ नपरे पनि, प्रहरीले तिनीहरूलाई त्यतिकै छोड्ने थिएन। उनीहरू भाग्दै हिँड्नुपर्ने निश्चित थियो। यसबारे जति सोचेँ, उति नै मलाई नराम्रो लाग्यो, र त्यसपछि मैले परमश्वरका यी वचनहरू सम्झेँ: “सङ्कष्टको समयमा मप्रति अलिकति पनि निष्ठा नदेखाउनेहरूप्रति, अब म कृपालु हुनेछैनँ, किनभने मेरो कृपा यहीँसम्मका लागि मात्रै थियो। साथै, मलाई एक पटक विश्वासघात गर्नेहरूलाई म मन पराउँदिनँ र आफ्ना साथीहरूको हितलाई बिक्री गर्नेहरूसँग संलग्न हुन झनै मन पराउँदिनँ। मानिस जोसुकै भए पनि मेरो स्वभाव यही हो। मैले तिमीहरूलाई यो भन्नैपर्छ: मेरो हृदय तोड्ने जोसुकैले मबाट दोस्रो पटक क्षमा पाउनेछैन, र मप्रति निष्ठावान् रहनेहरू सधैँ मेरा हृदयमा रहनेछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्वरको न्यायका वचनहरू पढ्दा मलाई झनै नरमाइलो लाग्यो। परमेश्वरको धार्मिक स्वभावले कुनै अपराध सहँदैन। परमेश्वर उहाँलाई धोका दिनेहरूलाई तिरस्कार गर्नुहुन्छ। मैले निर्लज्ज यहूदाको जस्तो व्यवहार गर्दै र आफ्नो गवाही गुमाउँदै मेरा दुई सिस्टरलाई धोका दिएकी थिएँ। म यति स्वार्थी र दुष्ट, यति बिघ्न मानवताहीन बनेकामा मलाई आफैँप्रति घृणा लाग्यो। मैले मनमनै परमेश्वरलाई प्रार्थना गर्दै प्रायश्चित्त गरेँ, अनि प्रहरीले मलाई जसरी सोधपूछ गरे पनि र यातना दिए पनि, अबउसो ब्रदर-सिस्टरहरूलाई धोका दिँदिनँ भनेर कसम खाएँ। त्यो साँझ, अफिसर लिले १३ वटा फोटो ल्याएर त्यसमा भएका मानिसहरू मलाई चिन्न लगाए। मैले म ती कसैलाई पनि चिन्दिनँ भनेँ। त्यसपछि, तिनले अर्की सिस्टरको फोटो निकालेर भने, “तँ उसलाई त चिन्छस्, होइन? उसले तँलाई चिन्छु भनेकी छे।” उसले मलाई चिन्छु भने पनि, मैले उसलाई चिन्छु भन्नु हुँदैन भन्ने सोचेँ। मैले आफ्ना दुई जना सिस्टरबारे उनीहरूलाई पहिल्यै बताइसकेकी थिएँ, त्यसैले अब अरू कसैलाई धोका दिएर मलाई जस्तो यातना भोग्न लगाउनु हुँदैनथ्यो। मैले दृढ भएर भनेँ, “म उनलाई चिन्दिनँ।” अफिसर लि गर्जिए, “तैँले बताइनस् भने, भोली तेरो काल आउनेछ!”
चौथो दिनको दिउँसो, एक जना प्रहरीले चारवटा ब्याटन लिएर आए, एउटा ब्याटन एक इन्चभन्दा मोटो र एक फूट लामो थियो, त्यसपछि मैले कोठामा केही देख्न नसकूँ भनेर तिनले झ्यालको पर्दा लगाए। मेरो मुट छाती फुट्लाजस्तो गरी ढुकढुक भयो, धडकन बढ्यो र खुट्टा लल्याकलुलुक भए। मलाई यातना दिन तिनीहरूले कस्तो माध्यम प्रयोग गर्दै थिए वा मैले त्यो सहन सक्छु कि सक्दिनँ, त्यो मलाई थाहा थिएन। मैले परमेश्वरलाई मनमनै बारम्बार पुकारेँ र दह्रिलो हुन सकूँ भनेर सुरक्षा मागेँ। केही क्षणपछि छ जना प्रहरी भित्र आए, मलाई टाइगर चेयरबाट निकाले र मेरो हात पछाडि लगेर हतकडी लगाए। दुई जनाले टेबुलमा उभिएर मलाई हतकडीमा समाएर उचाल्दै चिच्याए, “बोल्! तेरो नाइके को हो?” मेरो खुट्टाले भुईँ टेकेको थिएन र मेरो शीर तलतिर लत्रेको थियो; मेरो शरीर हावामा तुर्लुङ्ग झुण्डिएको थियो र म पीडाले दाँत किटिरहेकी थिएँ। मैले केही नबोलेको देखेर, दुई जना प्रहरीले मेरो दुईतिर करङमा ब्याटनले बलपूर्वक रगड्न थाले भने अरू दुई जनाले चाहिँ ब्याटनले मेरा पाखुरा र खुट्टामा जोडले हिर्काउन थाले। मलाई मेरो करङको चेपबाट मासु च्यातिएर निस्किन लागेको र मेरा खुट्टाहरू चुँडिन लागे जस्तो लाग्यो। म पीडाले पसिनै पसिना भइरहेकी थिएँ। तिनीहरूले त्यसो गर्दै यसो भने, “बोलिनस् भने अझ जोडले भेट्नेछस्!” मैले दाँत किटिरहेँ र एक शब्द बोलिनँ। दुई जना प्रहरीले एउटा कडा चीज ल्याएर मेरो खुट्टाको नङमा अति दुख्ने गरी घुसारे, त्यससँगै धेरै पावरको बत्ती मेरो हातमा बालिदिए जसको तातोले पोल्दा मेरा हात आगोमा परे झैँ भए। अबचाहिँ शारीरिक तवरमा सहन सक्दिनँ होला भन्ने लागेर, मैले परमेश्वरलाई बारम्बार पुकारेर बल मागेँ। तिनीहरूले फेरि मलाई हतकडीमा पक्रेर उचाल्दा पाखुरमा कऱ्याक्क आवाज आयो र म पीडाले चिच्याएँ, अनि त्यसपछि मात्र तिनीहरूले मलाई छोडिदिए। तिनीहरूले मलाई एक घण्टाभन्दा बढी समयसम्म तुर्लुङ्ग झुण्डाएर राखेका थिए। तिनीहरूले मलाई तल झारेपछि मेरा खुट्टा पूरै लाटा भएका थिए। उभिन सक्ने सम्भावनै थिएन। मेरा पाखुरा र खुट्टा काला-निला भएका थिए र भतभत पोल्दै दुखिरहेको थियो। मेरो करङ वरिपरिको मासुमा पनि आगोले पोलेको जस्तो भएको, र पीडा असह्य थियो। म चलमलाउन नसकेर भुइँमा ढलेँ, कुनै शक्ति नै नभए जस्तो र पूरै र चकनाचुर भएजस्तो लाग्यो। यो साह्रै पीडादायी थियो। प्रहरीले मलाई थप कसरी यातना दिने हो, वा मैले त्यो सहन सक्छु कि सक्दिनँ भन्ने थाहा छैन भन्ने सोचले, मलाई दुःखी र कमजोर महसुस गरायो। मैले आफ्ना ब्रदर-सिस्टरहरूलाई धोका दिनु नपरोस् भनेर जिब्रो टोकेर आत्महत्या गर्न चाहेँ। मैले निकै जोडले जिब्रो टोकेँ, तर सहनै नसक्ने गरी अति दुःखेकाले त्यसो गर्न सकिनँ। त्यसपछि सोचेँ, सायद मैले आफ्नो किलकिले निकालेँ भने त मैले बोल्ने सम्भावनै रहँदैन। मैले तिनीहरूलाई बाथरूम जानुपऱ्यो भनेर भनेँ। मेरो निगरानी गरिरहेका प्रहरीले मैले बाथरूममा जिब्रो तान्दै वाकवाक गरेको आवाज सुनेर “त्यसो गर्ने त सोच्दै नसोचे हुन्छ,” भन्दै मलाई फर्काएर ल्याए र फेरि टाइगर चेयरमा हतकडी लगाए। त्यसपछि मलाई आफूले झण्डै अत्यन्तै मूर्ख काम गरेछु भन्ने महसुस भयो, र मैले परमेश्वरले भन्नुभएको कुरा सम्झेँ: “यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्वरको गवाही दिनैपर्छ। तिमीहरूका दुःख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्वरप्रति विश्वासयोग्य हुनैपर्छ र उहाँको योजनाबद्ध कार्यको कृपामा हुनैपर्छ; यो मात्रै परमेश्वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्)। “निराश नबन्, कमजोर नबन्, अनि म तेरो लागि सबै कुरा स्पष्ट बनाउनेछु। राज्यमा पुग्ने मार्ग सहज छैन; कुनै पनि कुरा त्यति साधारण छैन! तिमीहरूकहाँ आशिष सहजै आएको नै तिमीहरू चाहन्छौ, होइन र? आज सबैले तितो परीक्षाको सामना गर्नु पर्नेछ। यस्तो परीक्षाविना मेरो निम्ति तिमीहरूसँग भएको प्रेम बलियो हुन सक्दैन अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुनेछैन। यस्ता परीक्षाहरू स-साना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर नै जानुपर्नेछ, केवल परीक्षाको कठिनाइ व्यक्ति अनुरूप फरक हुनेगर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ४१)। मैले परमेश्वरका वचनहरूबाट के बुझेँ भने पिशाचहरूको क्रूरताको सामना गर्दा, परमेश्वरको इच्छा भनेको हाम्रो आस्था र भक्तिलाई सिद्ध पार्नु, अनि त्यो ठूलो रातो अजिङ्गरले कसरी परमेश्वरविरुद्ध कार्य गर्छ र मानिसहरूलाई अत्याचार गर्छ भनेर हामीलाई स्पष्टसित बुझाउनु हो, ताकि हामी त्यसलाई हृदयदेखि नै घृणा गर्न र शैतानसामु परमेश्वरको गवाही दिन दृढ रहन सकौँ। तर परमेश्वरप्रति मेरो विश्वास एकदमै कमजोर थियो, र अलिकति यातना भोग्दा नै मैले आत्महत्या गरेर यसबाट उम्कन चाहेँ। त्यो कसरी कुनै गवाही भयो र? यसबारे त्यसरी सोच्दा, मलाई त्यति दुःख लाग्न छोड्यो, र ममा अझ धेरै विश्वास पलायो। तिनीहरूले मलाई जसरी यातना दिए पनि, मेरो एक मुठी सास रहुञ्जेलसम्म पनि म परमेश्वरमा भर पर्न, उहाँको गवाहीमा दृढ रहन र शैतानलाई लज्जित पार्न चाहन्थेँ। म कहिल्यै आफ्ना ब्रदर-सिस्टरहरूलाई र परमेश्वरलाई धोका दिनेथिइनँ। मैले त्यो अठोट गरेपछि, प्रहरी मलाई सोधपूछ गर्न फेरि आएन। मैले यस अनुभवद्वारा परमेश्वरको सार्वभौमिकता र सर्वशक्तिमानता, अनि त्यो ठूलो रातो अजिङ्गर त उहाँको हातको कठपुतली मात्र रहेछ भन्ने देखेँ। यो त परमेश्वरले आफ्ना चुनिएका मानिसहरूलाई सिद्ध पार्न प्रयोग गर्नुहुने औजार मात्र हो। मैले यो कष्टको अवधिभरि परमेश्वर मेरो साथमा रहनुभएको पनि देखेँ। उहाँ सधैँ मेरै साथमा रहेर आफ्ना वचनहरूद्वारा मार्गदर्शन र मद्दत, विश्वास र शक्ति प्रदान गर्दै हुनुहुन्थ्यो। मैले परमेश्वरको प्रेम र सुरक्षा महसुस गर्न सकेँ र उहाँलाई हृदयदेखि नै धन्यवाद दिएँ।
कम्युनिस्ट पार्टीले मलाई “सामाजिक सुव्यवस्था भङ्ग गरेको” भनेर श्रममार्फत सुध्रिनुपर्ने तीन वर्षको सजाय दियो। मैले श्रम शिविरमा हरेक दिन १२ देखि १४ घण्टा कडा परिश्रम गर्नुपर्थ्यो, र मलाई दिइएको काम पूरा गर्न नसकेमा त्योभन्दा लामो समयसम्म काम गर्नुपर्थ्यो। मलाई कीटनाशक औषधीको कारखानमा काम गर्न खटाइएको थियो। म कीटनाशक औषधीको गन्ध सहन सक्दिनथेँ, त्यसैले मलाई हरेक दिन टाउको दुख्थ्यो र वाकवाकी लाग्थ्यो, र म राम्ररी खान वा सुत्न सक्दिनथेँ। मैले अर्को कारखानमा सरुवा पाऊँ भनेर निवेदन दिएँ, तर प्रहरीले स्वीकृति दिएन। त्यो बेला म साह्रै दयनीय हालतमा थिएँ, र त्यहाँ तीन वर्ष अर्थात् एक हजार भन्दा बढी दिन र रात काट्नुपर्ने कुरा सम्झँदा, त्यो कसरी पार गर्ने मलाई केही हेक्का भएन। म काम गर्न जाँदा बाटामा बाहिर मानिसहरूलाई स्वतन्त्र र ढुक्क, तर आफूलाई चाहिँ पिँजराको चरा जस्तो हालतमा देख्दा, मलाई साह्रै दुःख लाग्थ्यो र रून मन लाग्थ्यो। त्यही कारखानामा काम गर्ने अर्की सिस्टरले मसँग सङ्गति गरिन्, र हामीले सँगै परमेश्वरका वचनहरूको एउटा भजन सानो स्वरमा गायौँ “विजेताहरूको गीत”: “के तिमीहरूले तिमीहरूका लागि तयार पारिएका आशिष्हरू कहिल्यै स्वीकार गरेका छौ? के तिमीहरूले तिमीहरूका निम्ति गरिएका प्रतिज्ञाहरू कहिल्यै पछ्याएका छौ? मेरो ज्योतिको मार्गदर्शनमा, तिमीहरूले अन्धकारको शक्तिको पकडलाई तोड्नेछौ। तिमीहरूले अन्धकारबीच ज्योतिको मार्गदर्शन गुमाउनेछैनौ। तिमीहरू यावत् थोकका मालिक बन्नेछौ। तिमीहरू शैतानको अघि विजेता बन्नेछौ। ठूलो रातो अजिङ्गरको देशको पतन हुँदा, तिमीहरू मेरो विजयको प्रमाणका रूपमा विभिन्न मानिसमाझ उभिनेछौ। सिनिमको देशमा तिमीहरू दृढ र अटल हुनेछौ। तिमीहरूले सहने कष्टहरूमार्फत्, तिमीहरू मेरा आशिष्हरूका उत्तराधिकारी हुनेछौ, र सम्पूर्ण ब्रह्माण्डभरि मेरो महिमाको ज्योतिलाई चम्काउनेछौ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय १९)। यो भजन गाउँदा मेरो मन प्रफुल्ल भयो। यो सतावटले मलाई परमेश्वरको गवाही दिने मौका दियो—यो मेरा लागि सम्मानको कुरा थियो। कम्युनिस्ट पार्टीले मेरो शरीर र मन दुवै नष्ट गर्न चाहन्थ्यो, ताकि मैले कष्ट सहन नसकेर परमेश्वरलाई धोका दिऊँ। म यसको चालमा फस्नु हुँदैनथ्यो। त्यो जति नै दुःखदायी वा कठिन भए पनि, म परमेश्वरमा भर पर्नुपर्थ्यो, दृढ रहनुपर्थ्यो र मैले शैतानलाई लज्जित तुल्याउनुपर्थ्यो। त्यसपछि, बेलुका-बेलुका ती सिस्टर र म मौका पाउने बित्तिकै गोप्य रूपमा परमेश्वरका वचनका भजनहरू सँगै गुनगुनाउँथ्यौँ र परमेश्वरका वचनमाथि सङ्गति गर्थ्यौँ। क्रमिक रूपमा, मलाई त्यति दुःख लाग्न छोड्यो।
पछि मेरा श्रीमान् मलाई भेट्न आए, अनि उनी आफ्नो हातखुट्टा राम्ररी चलाउन नसक्ने देखेर मैले उनको स्वास्थ्य बिग्रेको चाल पाएँ। म पक्राउ परेपछि, मेरा श्रीमानलाई मैले यातना पाउँछु भन्ने डरले गर्दा खान र सुत्न गाह्रो भएछ, अनि मुट रोग लागेछ। जचाउँदाखेरि, डाक्टरले उनको पछिल्लो मष्तिष्कको स्नायु कोशमा क्षति पुगेको र उनी आंशिक पक्षघात भएको बताएछन्। यो सुनेर मेरो मुटु छियाछिया भयो, मैले पिशाचहरूको झुण्ड, यो कम्युनिस्ट पार्टीलाई सम्पूर्ण हदृयले घृणा गरेँ। यदि तिनीहरूले विश्वासीहरूलाई नपक्रेको र नसताएको भए, म कहिल्यै पक्राउ पर्ने नै थिइनँ र मेरा श्रीमान् बिमार पर्नेथिएनन्। त्यसको केही समयपछि नै, मेरो देवर मलाई भेट्न आए र मेरा श्रीमानको हालत झनै बिग्रेको छ र उनी मलमूत्र रोक्न नसक्ने हालतमा पुगेका छन् भनेर बताए। यो व्यथित तुल्याउने खबर थियो, अनि त म कहिले जेल मुक्त भई घर गएर उनको हेरचाह गरूँला भन्ने एउटै कुरा मात्र सोच्न थालेँ। त्यसपछि, २००४ को अन्त्यतिर, उनको हालत झनै बिग्रेर उनी बिते भन्ने पत्र परिवारबाट पाएँ। यो सुन्दा, मलाई आफूमाथि आकाश नै खसेको जस्तो लाग्यो। म वेदनाले तड्पिएँ। हाम्रो परिवारका मूल खाँबो ढलेको थियो। हाम्रो छोरो अझै विश्वविद्यालयमा नै थियो, र उसले कस्तो गर्दै छ मलाई अत्तोपत्तो थिएन। कम्युनिस्ट पार्टीको सतावटले गर्दा, हाम्रो एकदमै सुखी परिवार बरबाद भयो र मेरा श्रीमान् बिते। मलाई आफू साह्रै कमजोर भएको र आफूमा थाहै नपाई गुनासो बढेको महसुस भइरहेको थियो। किन विपत्ति सधैँ मैमाथि परिरहेको छ? किन परमेश्वरले मलाई रक्षा गरिरहनुभएको छैन? आफ्नो पीडामा, मैले परमेश्वरका यी वचनहरू सम्झेँ: “यदि तैँले देहको कमजोरीलाई आश्रय दिइस् भने र परमेश्वरले अति नै गर्नुहुन्छ भनेर भन्छस् भने तैँले सधैँ पीडाको महसुस गर्नेछस् र तँ सधैँ दुखमय बन्नेछस्, र तँ परमेश्वरका सबै कार्यका बारेमा अस्पष्ट हुनेछस्, र परमेश्वर मानिसको कमजोरी र मानिसका अप्ठ्याराप्रति पूर्ण रूपमा असंवेदनशील रहेको जस्तो हुन्छ। तसर्थ, तैँले ठूलो अन्याय भोगेजस्तो सधैँ हैरानी र एक्लो महसुस गर्नेछस्, र यस बेला तैँले गुनासो गर्न सुरु गर्नेछस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो)। परमेश्वरका वचनहरूले मेरो स्थिति खुलासा गरिदिए। मेरा श्रीमान् बितेपछि, मैले परमेश्वरको अभिप्राय खोजिनँ, बरु आफ्नो देहसुख पूरा गरेँ। मलाई आफ्ना पतिविना हाम्रो छोरोको हेरचाह गर्ने कोही छैन भन्ने लाग्यो र मैले परमेश्वरलाई दोष दिएँ। ममा पटक्कै विवेक थिएन! कम्युनिस्ट पार्टीको सतावटले गर्दा नै मेरो परिवार भताभुङ्ग भएको र मेरा श्रीमानको मृत्यु भएको स्पष्टै थियो, तर मैले यो सबैको दोष परमेश्वरलाई लगाएँ। म तथ्य तोडमोड गर्दै पूर्णत: समझहीन भइरहेकी थिइनँ त? त्यो बेला मैले आफू साँच्चै सानो कदकी भएकी र ममा परमेश्वरप्रति साँचो विश्वास वा साँचो समर्पण नभएको देखेँ। मैले हृदय पोखाएर प्रार्थना गरेँ, “हे परमेश्वर, यसरी खुलासा हुँदा, मैले आफू कति विद्रोही रहेछु भनेर देख्न सकेँ। म सधैँ आफ्नै देहबारे मात्र सोच्छु, र तपाईंको हृदयलाई पटक्कै बुझ्ने प्रयास गर्दिनँ। हे परमेश्वर, बिन्ती छ यो परिस्थितिमार्फत मलाई समर्पित हुन र तपाईँको अभिप्राय जान्न मार्गदर्शन गर्नुहोस्।” त्यसपछि यी वचनहरू मेरो मनमा आए: “तँ सृष्टि गरिएको प्राणी होस्—तैँले अवश्य पनि परमेश्वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवनको खोजी गर्नुपर्छ। यदि तैँले परमेश्वरको आराधना गर्दैनस् तर आफ्नै फोहोर देहमा जिउँछस् भने, के तँ मानिसको वस्त्र धारण गरेको पशु हुँदैनस् र? तँ मानिस भएकोले तैँले आफूलाई परमेश्वरका निम्ति समर्पित गर्नुपर्छ र सबै दुःख भोग्नुपर्छ। तँ आज जुन सानो दुःखमा परेको छस् त्यसलाई तैँले खुसी र निर्धक्कसाथ स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो अर्थपूर्ण जीवन जिउनुपर्छ। … तिमीहरू त्यस्ता मानिसहरू हौ जसले सही मार्ग पछ्याउँछन्, जसले सुधार खोजी गर्छन्। तिमीहरू त्यस्ता मानिसहरू हौ जो ठूलो रातो अजिङ्गरको देशमा खडा हुन्छन्, जसलाई परमेश्वरले धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (२))। मैले परमेश्वरका वचनहरू मनन गरेर आफ्नो विश्वासको खातिर पक्राउ पर्नु र त्यसरी कष्ट भोग्नु त धार्मिकताका लागि सताइनु पो रहेछ अनि त्यो कष्ट भोगाइको अर्थ रहेछ भन्ने बुझेँ। मैले यो कठिनाइद्वारा आफ्नो विद्रोहीपन र भ्रष्टता अनि आफ्नो साँचो कद देखेँ। मैले त्यो ठूलो रातो अजिङ्गरको शैतानी सार—कसरी यसले परमेश्वरलाई घृणा र विरोध गर्छ—भन्ने बारे सुझबुझ प्राप्त गरेँ। त्यो मप्रति परमेश्वरको प्रेम थियो। अय्यूबले यस्तै हदसम्म परीक्षा भोगेको मलाई याद आयो—उनको पाखाभरिका वस्तुभाउ र सबै पारिवारिक सम्पत्ति चोरी भएको थियो, उनका छोराछोरी मरे, र उनको शरीरभरि खटिरा आयो। तैपनि उनले परमेश्वरलाई दोष दिएनन् र कुनै पापमय कुरा भनेनन्। उनले अन्त्यमा यसो भने, “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। अय्यूबले परमेश्वरबारे सुन्दर गवाही दिए। मेरो मन साह्रै छोयो, र अय्यूबको उदाहरण पछ्याउने, जतिसुकै कष्ट भोग्नुपरे पनि परमेश्वरको गवाहीमा आफू दृढ रहने अठोट गरेँ। यस्तो महसुस भएपछि, मैले परमेश्वरसामु आई समर्पणको प्रार्थना गरेँ, आफ्नो परिवारसम्बन्धी सबै कुरा उहाँको हातमा छोड्न र उहाँका शासन र बन्दोबस्तहरूमा समर्पित हुन तयार भएँ।
म डिसेम्बर २००५ को अन्त्यतिर रिहा भएँ। मेरो छोरो अझै विश्वविद्यालयमै थियो र हामीलाई जीवन धान्न एकदमै धौधौ परेको थियो, त्यसैले मैले जागिर खोजेँ। तर एक महिना पनि नपुग्दै मेरा हाकिमले यसो भने, “प्रहरी आएर मलाई तिमी परमेश्वरको विश्वासी हौ र मैले तिमीलाई जागिरबाट निकाल्नुपर्छ भनेर उनीहरूले भनेका छन्।” त्यो सुनेर मलाई साह्रै रिस उठ्यो। म जेलबाट त रिहा भएकी थिएँ तर कम्युनिस्ट पार्टीले मलाई अझै छोडेको थिएन—तिनीहरूले अझै मलाई मेरो बाँच्न पाउने अधिकारबाट वञ्चित गर्दै थिए। तिनीहरू साँच्चै घृणित र दुष्ट रहेछन्! मेरो छोरोले २००६ मा स्नातक गरिसकेको हुनुपर्थ्यो, तर मलाई आफ्नो विश्वासका कारण श्रम सजाय दिइएको हुनाले, स्कूलले उसलाई थोरै अङ्कले मात्रै कक्षा फेल भएका आधारमा डिप्लोमा दिन मानेन। तसर्थ, उसले फेरि एक वर्ष स्कुल दोहोऱ्याउनुपऱ्यो। तर फेरि अर्को वर्ष पनि तिनीहरूले त्यही बहानामा उसलाई डिप्लोमा दिन मानेनन्। अरू सहपाठी दुई वा तीन वर्ष आफ्ना कक्षा पास नगरे पनि ग्राजुएट भएको देख्दा, उसले यसबारे शिक्षकलाई सोधेछ, उसले, “तिम्री आमा परमेश्वरकी विश्वासी हुन् भन्ने तिमीलाई थाहा छैन?” भनेर सोधेछ। त्यसपछि मात्र हामीलाई मेरो विश्वासको कारण उसलाई स्कूलले डिप्लोमा नदिने बहाना बनाइरहेको रहेछ भन्ने थाहा भयो। अन्त्यमा, तिनीहरूले उसलाई उपस्थितिको प्रमाणपत्र मात्र दिए। डिप्लोमा विना उसले जागिर पाउन गाह्रो थियो, र ऊ साह्रै निराश भयो। ऊ सधैँ घरमा मात्र बस्न मन गर्थ्यो र बोल्नसमेत मन गर्दैनथ्यो। उसलाई त्यस्तो दयनीय हालतमा देख्दा म साह्रै व्याकुल हुन्थेँ। उसले यत्तिका वर्ष अध्ययन गरेपनि म जेल परेका कारण त्यसमा उसलाई मुछिएको थियो, अनि अन्त्यमा उसलाई डिप्लोमाबाट बन्चित गरियो र जागिर पाउन गाह्रो भइरहेको थियो। मलाई भित्रैबाट कमजोरी महसुस भयो। मेरो छोरो पनि विश्वासी नै थियो, त्यसैले हामीले सँगै परमेश्वरलाई प्रार्थना गऱ्यौँ र उहाँका वचनहरू पढ्यौँ, र यो देख्यौँ: “कामको यस चरणमा हामीबाट निकै ठूलो आस्था र प्रेम आवश्यक हुन्छ। थोरै लापरवाहीको कारण हामी लड्खडाउन खान सक्छौँ, किनकि कामको यो चरण पहिलेका सबै चरणहरू भन्दा फरक छ: जुन कुरा परमेश्वरले सिद्ध पार्दै हुनुहुन्छ त्यो मानिसहरूको आस्था हो, जुन अदृश्य र अमूर्त दुवै छ। परमेश्वरले जे गर्नुहुन्छ त्यो वचनहरूलाई आस्थामा, प्रेममा र जीवनमा परिवर्तन गर्नु हो। मानिसहरू त्यो विन्दुमा पुग्नुपर्छ जहाँ तिनीहरूले सयौँ शोधनहरू सहिसकेका हुन्छन् र तिनीहरूसँग अय्यूबको भन्दा ठूलो आस्था हुन्छ, जसका लागि तिनीहरूले कहिल्यै परमेश्वरलाई नछाडीकनै अविश्वसनीय कष्ट र हरप्रकारका यातना सहनुपर्छ। जब तिनीहरू मृत्युसम्मै समर्पित हुन्छन्, र तिनीहरूसँग परमेश्वरमाथिको ठूलो आस्था हुन्छ, तब परमेश्वरको कामको यो चरण पूरा हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मार्ग … (८))। मलाई कम्युनिस्ट पार्टीले पक्रेर यातना दिएका कारण, मेरो श्रीमानको मृत्यु भयो र मेरो छोराले जागिर पाउन सकेन। पार्टीले हाम्रो आयस्रोत बन्द गरिदिएको थियो र परमेश्वरलाई दोष र धोका दिन मलाई बाध्य पार्न यस परिस्थितिको प्रयोग गर्न चाहन्थ्यो। तर परमेश्वरले यस परिस्थितिलाई मेरो विश्वास सिद्ध पार्न प्रयोग गरिरहनुभएको थियो। यदि मैले यति धेरै कष्ट भोगेर पनि परमेश्वरलाई पछ्याउन र उहाँप्रति समर्पित हुन सकेको भए, ममा साँचो विश्वास रहेछ भनेर देखिनेथ्यो। कम्युनिस्ट पार्टीले हामीलाई बेसाहारा बनाउन चाहन्थ्यो, तर जीवनमा परमेश्वरलाई भरोसा गरेर अनि उहाँको भरनपोषण र मार्गदर्शनद्वारा अघि बढेर हामी अझै जीवन धान्न सक्छौँ। त्यसपछि, मेरो छोरो र मैले सँगै परमेश्वरका वचनहरू बारम्बार पढ्यौँ र यसमा सङ्गति गऱ्यौँ, अनि ऊ क्रमिकरूपमा आफ्नो निराश हालतबाट बाहिर निस्कन सक्यो। यी सब दुःख कम्युनिस्ट पार्टीले ल्याएको हो; पार्टीले जीवन तहसनहस पार्छ तर परमेश्वरले चाहिँ कृपा गर्नुहुन्छ र मुक्ति दिनुहुन्छ; र परमेश्वरले मात्र हामीलाई ज्योति दिन सक्नुहुन्छ, अनि परमेश्वरलाई पछ्याउनु नै जीवनको सही मार्ग हो भन्ने आफूले स्पष्टसित बुझेको उसले बतायो। उसले परमेश्वरलाई विश्वास गर्न र निष्कपट भई पछ्याउन चाहेको बतायो। त्यसपछि, हामी दुवैले जङ्गली जडीबुटी र च्याउ खोजेर बजारमा बेच्यौँ, ताकि हामीले अझ सजिलै भेलाहरू जान र कर्तव्य निर्वाह गर्न सकौँ। त्यसरी, हामीले धेरै परिश्रम नगरी जीवन धान्न मनग्गे पैसा जुटाउन सक्यौँ।
मैले कम्युनिस्ट पार्टीको पक्राउ र सतावट अनुभव गरेपछि, यसको शैतानी सार—यसले कसरी परमेश्वरलाई घृणा र विरोध गर्छ—भन्ने पूर्ण रूपले देखेँ। यसले धार्मिक स्वतन्त्रताको ग्यारेन्टी दिएको दाबी त गर्छ, तर गोप्यरूपमा इसाईहरूलाई पक्रन, यातना दिन र जेलसजाय दिन बृहत अभियान चलाउँछ, साथै उनीहरूको परिवारका सदस्यहरूमाथि अत्याचार गर्छ र सताउँछ, यसरी अनगिन्ती इसाई परिवारहरू तहसनहस भएका छन्। मैले यसलाई हृदयदेखि नै घृणा गरेँ र यस विरुद्ध विद्रोह गरेँ—साथै म यसलाई फेरि स्वीकार्न नसक्ने गरी यसको विरोधमा छु भन्ने मलाई थाहा थियो। मैले परमेश्वरको प्रेम र उहाँका वचनहरूको अख्तियार पनि व्यक्तिगत तवरमा अनुभव गरेँ। मलाई पक्रेर जेलसजाय हुँदा, मेरा श्रीमानको मृत्यु हुँदा, मेरो छोरोले विश्वविद्यालायको डिप्लोमा पाउन नसक्दा, र म उम्कने बाटोविनाको दयनीय हालतमा जिउँदा, परमेश्वरका वचनहरूले नै मलाई विश्वास र बल दिएका थिए, र देहगत कमजोरीलाई जित्न डोऱ्याएका थिए। मैले परमेश्वरको हेरचाह र सुरक्षा नपाएको भए, यो दिन कहिल्यै देख्नेथिइनँ। म परमेश्वरको प्रेम र मुक्तिका लागि साँच्चै कृतज्ञ छु। मैले भविष्यमा जस्तोसुकै दमन र कठिनाइ भोग्नुपरे पनि, म अन्त्यसम्मै परमेश्वरलाई पछ्याउनेछु।