९९. मानसिक स्वास्थ्य केन्द्रमा बिताउँदाका मेरा दिनहरू
अगष्ट २०११ मा एक जना सहकर्मीले मलाई परमेश्वरको आखिरी दिनहरूको कामको सुसमाचार सुनाइन्। त्यो बेला, मेरो कामको कारण म लामो समयदेखि रसायन पदार्थजन्य औषधिको प्रभावमा थिएँ र मलाई मासी सम्बन्धी रोग लागेको थियो, त्यसकारण म प्रायजसो आराम गर्न बिदा लिन्थेँ र प्रशस्तै खाली समय हुन्थ्यो। प्रार्थना र परमेश्वरका वचनहरू पढेर मैले स्वर्ग, पृथ्वी र यावत् थोक परमेश्वरले नै सृष्टि गर्नुभएको, साथै मानव पनि परमेश्वरबाट नै आएको हो, त्यसैले हामीले परमेश्वरमा विश्वास गर्नुपर्छ र उहाँकै आराधना गर्नुपर्छ भन्ने बुझेँ। मैले के पनि बुझेँ भने आखिरी दिनहरूमा परमेश्वर देहधारी भएर आउनुहुन्छ र मानवजातिलाई पूर्ण रूपमा मुक्ति दिन वचनहरू व्यक्त गर्नुहुन्छ, र परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेर मात्रै मानिसहरूले मुक्ति पाउन सक्छन्। त्यसपछि म नियमित रूपमा भेलामा जान्थेँ र परमेश्वरका वचनहरू पढ्थेँ। अनपेक्षित रूपमा मेरो रोग बिस्तारै निको हुँदै गयो। यो परिणाम देखेर मेरो परिवारले परमेश्वरमाथिको मेरो विश्वासमा समर्थन जनाए। dhhdh
सन् २०१२ को डिसेम्बरमा चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्वरको मण्डलीप्रति नयाँ चरणको दमन र सतावट सुरु गर्यो। त्यो बेला, धेरै जना ब्रदर-सिस्टरहरू पक्राउ परे। एक दिन, पानी संरक्षण ब्यूरोका प्रमुख रहेका मेरो दाजुले मलाई आफ्नो घरमा बोलाउनुभयो। उहाँले मलाई भन्नुभयो, “सरकारले सर्वशक्तिमान् परमेश्वरको मण्डलीमाथि कारबाही गरिरहेको छ। कुनै व्यक्तिले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छ वा उसको परिवारका सदस्यहरूले विश्वास गर्छ भन्ने यसले थाहा पाएपछि तिनीहरूलाई तुरुन्तै सार्वजनिक पदबाट बर्खास्त गरिन्छ। त्यसपछि, न त तिनीहरूलाई न त तिनीहरूको परिवारका सदस्यहरूलाई पार्टीमा संलग्न हुने अनुमति हुनेछ, र तिनीहरूका छोराछोरीले सेनामा भर्ना हुन वा विश्वविद्यालयमा भर्ना हुन पाउनेछैनन्। अबदेखि तैँले परमेश्वरमा विश्वास गर्न छोड्नुपर्छ। अब, तँ पक्राउ परिस् भने तेरा छोराछोरीले विश्वविद्यालयको प्रवेश परीक्षा दिन वा सेनामा भर्ती हुन पाउनेछैनन्, किनभने तिनीहरूले राजनीतिक पृष्ठभूमि जाँच पास गर्नेछैनन्। तैँले आफ्ना छोराछोरीको भविष्यको बारेमा सोच्नुपर्छ! यस बाहेक, तेरी भाउजू र म दुवै सरकारी जागिरे हौँ र हामीले महत्त्वपूर्ण पद पाएका छौँ। यदि तँ पक्राउ परिस् भने यसले हामीलाई असर गर्नेछ। त्यसो भयो भने, भविष्यमा तेरो छोराको लागि कसले जागिर मिलाइदिन्छ?” मेरी भाउजू र भतिज दुवैले मलाई विश्वास छोड्न अनुरोध गरे। मलाई निकै दुःख लाग्यो, किनभने म सानै छँदादेखि मेरो दाजुले मलाई राम्रो गर्नुहुन्थ्यो, र प्रायजसो हाम्रो परिवारका खाँचोहरू पूरा गरिदिनुहुन्थ्यो। उहाँले मेरी छोरीलाई जागिर मिलाइदिनुभएको थियो। म उहाँप्रति सधैँ आभारी थिएँ। यदि मैले परमेश्वरमा विश्वास गरेको कारण उहाँले जागिर गुमाउनुभयो भने, मैले कसरी आफ्नो अनुहार देखाउने? र सारा परिवार मुछियो भने तिनीहरूले मलाई यसका लागि घृणा गर्नेछन्। यो सोचेर म अलिक व्याकुल भएँ, त्यसकारण मैले तिनीहरूलाई भेलामा जाँदिन वा सुसमाचार प्रचार गर्दिनँ भनेर कबुल गर्नुपर्यो। तर मेरो दाजु अझै पनि चिन्तित हुनुहुन्थ्यो, र जानुभन्दा पहिले उहाँले मेरो श्रीमानलाई ध्यान दिएर मेरो रेखदेख गर्न अनुरोध गर्नुभयो।
त्यसपछि, म भेलाहरूमा जान्छु भन्ने डरले मेरो श्रीमानले प्रायजसो मेरो कार्यस्थलमा मलाई भेट्न आउनुहुन्थ्यो, र उहाँले मलाई घरमा पनि परमेश्वरको वचन पढ्न दिनुहुन्नथियो। मेरो श्रीमानले थाहा पाउनुहुन्छ भनेर डराउँदै म लुकीलुकी पढ्थेँ। मलाई मेरो परिवारका सदस्यहरूले परमेश्वरमा विश्वास गर्न र भेलाहरूमा जान रोक नलगाएका विगतको बारेमा याद आयो। अहिले, चिनियाँ कम्युनिस्ट पार्टीको शक्तिप्रति डराएर तिनीहरू सबै मिलेर मलाई सताएका थिए, र मैले सामान्य रूपमा भेलाहरूमा जान वा परमेश्वरको वचन पढ्न सक्दिनथिएँ। मलाई चीनमा बसेर परमेश्वरमा विश्वास गर्नु निकै गाह्रो रहेछ भन्ने अनुभव भयो। पछि, मैले परमेश्वरका यी वचनहरू पढेँ, “परमेश्वरलाई विरोध गर्ने यही देशमा यो सुरु भएको कारण, परमेश्वरका सबै कामले प्रचण्ड बाधाहरूको सामना गर्छ, अनि उहाँका धेरैजसो वचनहरू पूरा हुन समय लाग्छ; यसर्थ, मानिसहरू परमेश्वरको वचनको कारण विशुद्ध गरिन्छन्, जो कष्टकै भाग हो। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्वरले उहाँको बुद्धि र उहाँका अचम्मका कामहरू प्रकट गर्दै, अनि यसलाई मानिसहरूको यो समूहलाई पूर्ण बनाउने मौकाको रूपमा प्रयोग गर्दै, उहाँको कार्यको एउटा चरण पूरा गर्नुहुन्छ। मानिसहरूको कष्ट भोगाइद्वारा, तिनीहरूकै क्षमताद्वारा, अनि यस फोहोर देशका मानिसहरूको सारा शैतानिक स्वभावद्वारा नै परमेश्वरले शुद्धीकरण र विजयको कार्य गर्नुहुन्छ, ताकि, यसद्वारा उहाँले महिमा पाउन सक्नुभएको होस्, अनि उहाँले आफ्ना कार्यहरूको साक्षी बन्नेहरूलाई प्राप्त गर्न सक्नुभएको होस्। मानिसहरूको यस समूहको निम्ति परमेश्वरले गर्नुभएका सबै त्यागहरूको पूर्ण महत्त्व यही नै हो” (वचन देहमा देखा पर्नुहुन्छको “के परमेश्वरको कार्य मानिसले सोचे झैँ सरल छ र?”)। “तिमीहरूमध्ये एक जना पनि व्यवस्थाद्वारा सुरक्षित छैनौ—बरु, तिमीहरू त व्यवस्थाद्वारा प्रतिबन्धित हुन्छौ। त्योभन्दा ठूलो समस्या यो छ कि मानिसहरूले तिमीहरूलाई बुझ्दैनन्: तिमीहरूको आफन्त होस्, वा तिमीहरूको बाबा-आमा, तिमीहरूको इष्टमित्र, अथवा तिमीहरूका सहकर्मीहरू होस्, तिनीहरूमध्ये कसैले पनि तिमीहरूलाई बुझ्दैनन्। जब तिमीहरू परमेश्वरद्वारा त्यागिन्छौ तिमीहरूको निम्ति यस धरतीमा जिइरहनु असम्भव हुँदछ, तर त्यसो भए तापनि, मानिसहरू परमेश्वरदेखि टाढा जान सक्दैनन्, जुन मानिसहरूलाई परमेश्वरले जित्नुको महत्त्व हो, र परमेश्वरको महिमा हो” (वचन देहमा देखा पर्नुहुन्छको “के परमेश्वरको कार्य मानिसले सोचे झैँ सरल छ र?”)। परमेश्वरको वचनले साँच्चै नै मेरो मन छोयो। यस नास्तिक देश चीनमा परमेश्वरमा विश्वास गर्दा र जीवनमा सही मार्ग हिँड्दा हामीलाई कानुनले रक्षा नगरेको मात्र होइन, हामीलाई दोषी ठहराएर पक्राउ पनि गरिन्छ, र हाम्रा आफन्तहरू समेत मुछिन्छन्। मैले चिनियाँ कम्युनिस्ट पार्टी परमेश्वरले घृणा गर्नुहुने दुष्ट हो भन्ने देखेँ। यदि चीनमा बसेर कसैले परमेश्वरमा विश्वास गर्छ र परमेश्वरलाई पछ्याउँछ भने तिनीहरू अवश्य नै सतावटमा पर्छन्, र यही कष्टभोगद्वारा परमेश्वरले मानिसहरूको विश्वासलाई सिद्ध पार्नुहुन्छ। परमेश्वरको इच्छा बुझे पछि मलाई त्यति नरमाइलो लागेन, र म यो वातावरण अनुभव गर्नको लागि म परमेश्वरमा भरोसा गर्न तयार भएँ। दुई महिनापछि, मेरो श्रीमानको मप्रतिको निगरानी अलिक खुकुलो भयो, र म लुकेर भेलामा जान थालेँ।
२०१५ को डिसेम्बरमा मैले एक जना साथीलाई सुसमाचार सुनाएँ। उनको परिवारलाई यसको बारेमा थाहा पाएर मेरो बारेमा उजुरी दिने धम्की दिए। मेरो दाजुलाई मेरो पक्राउले उहाँको जागिरमा असर गर्छ भन्ने डर थियो, त्यसकारण उहाँ र मेरो परिवारले मलाई वसन्त ऋतुको चाडपछि मानसिक अस्पतालमा पठाउनुभयो। त्यस दिन, मेरो छोरा, छोरी, दाजु, र दिदी सबै उपस्थित थिए। मेरी छोरीलाई डिप्रेसन थियो, र हामी मानसिक अस्पताल हुँदै गइरहेको बेला उनले आफूलाई केही समयदेखि अनिदो भएको बहाना बनाउँदै भित्र गएर केही औषधि ल्याउने भन्दै गइन्। उनी बाहिर आउँदाको दृश्य मैले सोचेकी पनि थिइनँ, उनले दुई जना नर्सहरू पनि डोरी बोकेर मलाई बाँध्न ल्याएकी रहेछिन्। मलाई बल्ल थाहा भयो, तिनीहरूले त मलाई मानसिक अस्पतालमा पठाउन लागेका रहेछन्, र भाग्न पनि ढिला भइसकेको थियो। मेरो परिवारले मलाई जबरजस्ती ठेल्दै र घिस्याउँदै अस्पतालभित्र लगे। मैले सकीनसकी संघर्ष गरेँ र म बिरामी होइनँ भनेर भनेँ, तर कसैले पनि मेरो कुरा सुनेनन्। मेरो परिवारका सदस्यहरू यति निर्दयी भएको देख्दा मैले सोचेँ, “तिमीहरूले मलाई जसरी सताए पनि म परमेश्वरमा विश्वास गर्न कहिल्यै छोड्दिनँ।” मैले ध्यान नदिएको बेला दुई जना नर्सले मलाई ओछ्यानमा थेचारे र मलाई जबरजस्ती सुई दिए। सुई लगाएपछि मलाई रिँगटा लाग्यो र प्रतिरोध गर्नै नसक्ने गरी शिथिल भएँ। त्यसपछि, तिनीहरूले मलाई तथाकथित परीक्षण गरे। नर्सले मेरो रक्तचाप अत्यन्तै उच्च छ, र निगरानीका लागि मलाई रातभरि त्यहीँ राख्नुपर्छ भनेर भनिन्। त्यो रात, त्यस दिन भएको घटनाको बारेमा सोच्दै अस्पतालको बेडमा पल्टिरहेकी थिएँ, र मलाई अचानक दुःख लागेर आयो। मेरो परिवारले आफ्नो हितको रक्षा गर्न र मेरो कारणले नमुछिनकै लागि मलाई मानसिक अस्पतालमा पठाउँछन् भन्ने मैले सोचेकी थिइनँ। यो कति निर्दयी कार्य थियो। यी मानिसहरू कसरी मेरो परिवार हुन सक्छन्? तिनीहरू त दियाबलसका जत्था मात्रै थिए! भोलिपल्ट, मैले मेडिकल प्रमाणपत्र देखेँ, जसमा यसो भनिएको रहेछ, “पन्थमा आस्था राखेको कारण चरम रूपमा मानसिक समस्या भएको; परमेश्वरका विश्वासीहरूको सम्पर्कमा आए तुरुन्तै पागल जस्तो व्यवहार गर्ने खतरा।” मैले डाक्टरबाट के पनि सुनेँ भने मेरो समस्याको उपचारमा समय लाग्ने भएकोले मलाई अस्पतालमै राखिनुपर्छ। मेरी छोरीले मलाई भनिन्, “ठूलो मामाले अस्पताल डाक्टरलाई सबै कुरा भनिसक्नुभएको छ। तपाईं केही दिन यहाँ बस्नुपर्छ र अवस्थाको बारेमा विचार गर्नुपर्छ। अबदेखि परमेश्वरमा विश्वास गर्दिनँ भन्नुभएपछि हामी तपाईंलाई लिन आउनेछौँ।” म क्रोधित भएँ: मैले परमेश्वरमा विश्वास गरेकोले मलाई कुनै कारणविना मानसिक रोगी भनिएको छ। यो सबै चिनियाँ कम्युनिस्ट पार्टीको गल्ती हो! परमेश्वरमा विश्वास गर्ने मानिसहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीले पक्राउ गर्ने र सताउने, मानिसहरूलाई छल गर्न झूट फैलाउने, र तिनीहरूको परिवारलाई मुछ्ने नगरेको भए मलाई मानसिक अस्पतालमा पठाइनेथिएन। यो बेला, मलाई परमेश्वरका यी वचनहरू याद आयो, “शैतानले मानिसको सम्पूर्ण शरीरलाई कसिलो गरी बाँधेर राख्छ, त्यसले उसका दुवै आँखाहरू ढाकिदिन्छ, र उसका ओठहरू बलियो गरी बन्द गरिदिन्छ। दियाबलसहरूका राजाले हजारौं वर्षदेखि आजको दिनसम्म उधुम मच्चाएको छ, अनि अझै पनि यसले भूतको सहरमाथि ध्यान लाएर हेर्छ, मानौं यो भूतहरूको अभेद्य महल हो; यस बेला रखवारी कुकुरहरूको यो झुन्डले परमेश्वरले उनीहरूलाई थाहै नपाई पक्रनुहुनेछ र ती सबैलाई मेटाउनुहुनेछ, शान्ति र आनन्दको ठाउँ हुनेछैन भनी डराएर ठूला-ठूला आँखाले हेर्छन्। यस्तो भूतको शहरका यस्ता मानिसहरूले कसरी परमेश्वरलाई देखेका हुन सक्छन् र? के तिनीहरूले कहिल्यै परमेश्वरको मायालु र प्रेमिलोपनको आनन्द उठाएका छन्? मानव संसारका मामिलाको बारेमा तिनीहरूले कति बुझेका छन्? तिनीहरूमध्ये कसले परमेश्वरको उत्सुक इच्छालाई बुझ्न सक्छ?” (वचन देहमा देखा पर्नुहुन्छको “काम र प्रवेश (८)”)। परमेश्वरको वचन पूर्ण रूपमा सही थियो। ठूलो रातो अजिङ्गरको देशमा जन्मेको व्यक्तिका लागि कुनै स्वतन्त्रता छैन। चिनियाँ कम्युनिस्ट पार्टीले पागलले झैँ इसाईहरूलाई दमन गर्छ र सताउँछ, र मानसिक अस्पतालहरू समेत इसाईहरूलाई यातना दिने स्थान बनेका छन्। म पूर्ण रूपमा सकुशल थिएँ, तैपनि परमेश्वरलाई धोका दिन जबरजस्ती बाध्य बनाउनका लागि मलाई मानसिक अस्पतालमा फन्दामा पारेर राखिएको थियो। मलाई यो सबै कुराको षडयन्त्र रच्ने चिनियाँ कम्युनिस्ट पार्टीप्रति घृणा जाग्यो। यसले मलाई जति सताउँथ्यो, त्यति नै यसले मलाई परमेश्वरप्रतिको यसको शत्रुवत् दुष्ट सार स्पष्ट रूपमा देखायो, र यसले परमेश्वरलाई पछ्याउने मेरो आत्मविश्वासलाई पनि दह्रिलो बनायो।
पछि, डाक्टरले मेरो परिवारलाई भन्यो, “चिन्ता नगर्नुहोस्। उनलाई यहाँ केही महिना छोडेर जानुहोस्, र बाहिर निस्कँदा उनले परमेश्वरमा विश्वास गर्दिनँ भनेर कबुल गर्नेछिन्।” यो कुरा साँचो हो भन्ने कुरा मेरो परिवारले विश्वास गरे, त्यसकारण तिनीहरूले मलाई भर्ना गर्न कागजात तयार गरे। मलाई भर्ना गरिसकेपछि, अरू बिरामीहरूलाई जस्तै मलाई पनि दिनमा तीन पटक सुई लगाइन्थ्यो, र नर्सहरूको रेखदेखमा मैले तीन पटकको हरेक खानापछि चक्कीहरू खानुपर्थ्यो। सुरुमा, मैले सुई र औषधि लिन इन्कार गरेँ, र नर्सले मलाई यसो भन्दै धम्की दिइन्, “भनेको मानिनस् भने, हामी तँलाई बाँधेर जबरजस्ती खुवाउँछौँ!” उपचार गर्न नमान्ने बिरामीहरूलाई कसरी ओछ्यानमा बाँधेर यातना दिइन्छ भन्ने कुरा मैले व्यक्तिगत रूपमा नै देखेकी थिएँ। तिनीहरूले बिरामीहरूलाई निर्दयी तरिकाले यातना दिएको देख्दा मलाई भनेको मान्ने बाहेक कुनै विकल्प छैन भन्ने लाग्यो।
एक दिन, दिउँसोको खाना खाने बेलामा म खाना खान गइनँ। म आफ्नो टुलमा बसेर चुपचाप रोएँ, र सोचेँ, “म बिरामी छैन, तर पनि मलाई यहाँ बन्दी बनाइएको छ, र मसँग कुराकानी समेत कोही छैन। मैले परमेश्वरको वचन पढ्न पाउँदिनँ, आफ्नो कर्तव्य पूरा गर्न पाउँदिन, र हरेक दिन सुई र औषधि लिनुपर्छ। कहिले यसको अन्त्य हुन्छ? …” यसको बारेमा म जति सोच्थेँ, मलाई त्यति नै दुःख लाग्थ्यो। म खाना खान नगएको देखेर नर्सले मलाई यसो भन्दै धम्की दिइन्, “खाना खाइनस् भने, भर्खरैको बिरामीलाई जस्तै डोरीले बाँध्छौँ। तँलाई ओछ्यानमा बाँधेर, तेरो नाकमा पाइप हालेर, खानेकुरा खन्याइदिन्छौँ!” पीडाले रोइरहेको त्यस बिरामीको दयनीय अवस्थालाई मैले देखेकी थिएँ, र मलाई निकै डर लाग्यो, त्यसकारण मसँग खाना खान जाने बाहेक कुनै विकल्प थिएन। अस्पताल बसाइको अवधिमा, उपचार गर्न नमान्ने बिरामीहरूलाई दुर्व्यवहार गरिएको र पीडामा चिच्याएको देख्थेँ, जुन हेर्दा भयानक लाग्थ्यो। मलाई त म भूतहरूको अखडामा छु जस्तो लाग्थ्यो, र मलाई हरेक दिन निकै डर लाग्थ्यो। मानसिक रूपमा बिरामी रहेका यी मानिसहरूसँग दिनभरि बिताउँदा र डाक्टरहरूले मलाई जबरजस्ती औषधि र सुई लिन लगाउँदा म साँच्चै मानसिक रोगी हुन्छु कि भन्ने साह्रै चिन्ता लाग्थ्यो। यदि म मानसिक रोगी भएँ भने म उप्रान्त परमेश्वरमा विश्वास गर्न सक्दिनँ, तब मेरो जीवनको अर्थ के हुन्थ्यो र? पीडा र विवशतामा, मैले मलाई अगाडिको बाटोमा डोर्याउनुहोस् भनेर परमेश्वरलाई अनुरोध गर्दै प्रार्थना गरेँ। प्रार्थना गरिसकेपछि, मलाई परमेश्वरको यो वचन याद आयो, “यो ‘विश्वास’ भन्ने शब्दले केलाई जनाउँछ? विश्वास भनेको कुनै कुरा देख्न वा छुन नसक्दा, परमेश्वरको काम मानिसका विचारहरूसँग मेल नखाँदा, त्यो मानव जातिको पहुँचभन्दा पर हुँदा मानव हृदयमा हुने सच्चा आस्था र इमानदार हृदय हो। मैले यही विश्वासको बारेमा कुरा गरेको हुँ। कठिनाइ र शोधनको समयमा मानिसहरूलाई विश्वास चाहिएको हुन्छ, अनि विश्वास यस्तो कुरा हो जुन शोधन पछि आउँछ; शोधन र विश्वासलाई अलग गर्न सकिँदैन। परमेश्वरले जसरी काम गर्नुभए पनि र तेरो वातावरण जस्तोसुकै भए पनि तँ जीवनलाई अनि सत्यतालाई खोजी गर्न अनि परमेश्वरको कामको ज्ञानलाई खोज्न, उहाँका कामहरूलाई बुझ्न सक्छस्, अनि तँ सत्यताअनुसार कार्य गर्न सक्छस्। यसो गर्नु नै साँचो विश्वास हुनु हो, अनि त्यसो गर्दा तैँले परमेश्वरमाथिको विश्वास हराएको छैनस् भन्ने देखिन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ”)। परमेश्वरका वचनहरूले मलाई के कुरा बुझाए भने यो वातावरण मेरो विश्वास साँचो हो कि होइन भनेर मलाई जाँच्नको लागि थियो। मैले दानिएललाई सिंहको खोरमा फ्याँकिएको घटनाको बारेमा सोचेँ। तिनको साथमा परमेश्वर हुनुहुन्थ्यो, र परमेश्वरले सिंहको मुख थुनिदिनुभयो, त्यसकारण दानिएललाई केही पनि भएन। दानिएलले परमेश्वरमाथि विश्वास गरेका थिए, तिनी परमेश्वरको निम्ति गवाहीको रूपमा खडा भए, र परमेश्वरका कार्यहरूको साक्षी दिएका थिए, त्यसकारण म उप्रान्त डर र कायरतामा जिउनु हुँदैन। परमेश्वरको निम्ति गवाहीको रूपमा खडा हुनको लागि मैले परमेश्वरमाथिको विश्वासमा भरोसा गर्नुपर्थ्यो। यो कुरा महसुस गरेपछि, मेरो मनको पीडा अलिक कम भयो।
एक पटक, बिहान दुई बजेपछि, म सुतिरहेकी बेला कसैले मलाई दुई पटक थपथपायो। म ओछ्यानबाट अचानक उठेँ र मेरो छेउमा कुनै व्यक्ति उभिरहेको देख्दा मेरो सातो गयो। त्यो मानसिक रोगी मलाई हेर्दै हाँसिन् र नबुझिने कुरा बरबराइन्। मैले तिनलाई खेदाएँ, तर तिनी जानै मानिनन् र हाँसिरहिन्। यस बेला, कोठाका अरू बिरामीहरू पनि बिउँझिए, र अन्त्यमा, नर्स आएर उनलाई लगिन्। यी मानसिक रोगीहरूमध्ये धेरैलाई दुष्ट आत्मा लागेको थियो, र म हरेक दिन तिनीहरूसँग बस्नु पर्थ्यो। यदि यस्तै भइरह्यो भने ढिलोचाँडो त्यो कष्टले मलाई पनि पागल बनाउनेथियो। मैले यसको बारेमा जति विचार गरेँ, मलाई त्यति नै पीडा भयो। ती दिनहरूमा, मैले भजन गीतहरू गाउन र परमेश्वरको वचन मनन गर्न छोडेँ। म निकै निराश थिएँ, र कसैले मसँग सङ्गति गरे त राम्रो हुनेथियो जस्तो लाग्थ्यो। मैले परमेश्वरसँग प्रार्थना गरेँ र मेरा कठिनाइ र पीडाको बारेमा उहाँलाई बताएँ। तीन-चार दिनपछि, एक दिन बिहान म अरू बिरामीहरूसँग हलमा टिभी हेरिरहेकी बेला लगभग तीस वर्षकी महिला आइन्, जसलाई मैले कहाँ देखेदेखे जस्तो लाग्यो। उनी परिचित देखिन्थिन्। उनीसँगको कुराकानीपछि उनले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्दा रहेछिन् भन्ने थाहा भयो। मलाई जस्तै उनलाई पनि उनको परिवारले चिनियाँ कम्युनिस्ट पार्टीका अफवाहहरू सुनेर जबरजस्ती मानसिक अस्पतालमा पठाएका रहेछन्। त्यहाँ ती सिस्टरलाई भेटेपछि बल्ल बोल्ने साथी पाएँ भनेर म अत्यन्तै खुशी भएँ। त्यहाँ ती सिस्टरलाई भेट्ने, र हामीले एक-अर्कासँग सङ्गति गर्ने र प्रोत्साहन दिने बन्दोबस्त परमेश्वरले मेरा लागि मिलाउनुभएको थियो, त्यसकारण म परमेश्वरप्रति अत्यन्तै आभारी बनेँ।
मानसिक अस्पतालमा दिनको चौबीसै घण्टा मेडिकल स्टाफहरूले पहरा दिन्थे, त्यसकारण हामीले परमेश्वरका वचनहरूमा सङ्गति गर्न, हाम्रा अनुभव र बुझाइहरूको बारेमा छलफल गर्न, र एकअर्कालाई सहयोग र साथ दिन गुप्तमा मौका खोज्नुपर्थ्यो। एक पटक, बिरामी क्रियाकलाप हलमा, मैले उनलाई कानेखुसी गरेर भनेँ, “म धेरै समयसम्म यहाँ बसेँ भने, म पनि मानसिक रोगी हुन्छु भन्ने डर लागेको छ, त्यसकारण मलाई यहाँबाट जान मन धेरै लागेको छ, तर जान सक्दिनँ, जुन अत्यन्तै पीडादायी कुरा हो।” उनले मलाई कानेखुसी गर्दै परमेश्वरको वचनको एउटा खण्ड बताउँदै उत्तर दिइन्, “मानिसको हृदय र आत्मा परमेश्वरको हातमा हुन्छ, उसको जीवनको सबै थोकमा परमेश्वरले नजर राख्नुहुन्छ। तैँले यस कुरालाई विश्वास गर् वा नगर्, चाहे त्यो सजीव वा निर्जीव होस्, कुनै पनि थोक र सबै थोक परमेश्वरको विचारअनुसार सर्छन्, परिवर्तन हुन्छन्, नवीकरण हुन्छन् र लोप हुन्छन्। परमेश्वरले यसरी सबै थोकमाथि शासन गर्नुहुन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ”)। उनले मलाई मानसिक अस्पतालमा बिताउँदाको आफ्नो अनुभवको बारेमा पनि बताइन्, र सबै कुरा परमेश्वरले नै नियन्त्रण गर्नुहुन्छ, त्यसकारण म डराउनु हुँदैन, र अझै बढी परमेश्वरमा भरोसा गर्नुपर्छ भनेर मलाई बताइन्। मलाई सबै कुरा परमेश्वरकै हातमा छ, र परमेश्वरको अनुमतिविना शैतानले मलाई केही पनि गर्न सक्दैन भन्ने महसुस भयो। परमेश्वरको वचनको अगुवाइद्वारा मलाई उप्रान्त त्यति धेरै डर लाग्न छोड्यो।
त्यसपछि, ती सिस्टर र मैले हामीलाई याद भएको परमेश्वरका वचनहरू र भजनहरू लेख्यौँ, र प्रोत्साहको रूपमा एकअर्कालाई हस्तान्तरण गर्यौँ। एक पटक, ती सिस्टरले मलाई भजन लेखिएको एउटा नोट दिइन्। त्यसका शब्दहरू यस्ता थिए, “हाम्रो शिर भाँचिन र हाम्रो रगत बग्न सके पनि, परमेश्वरका मानिसहरूको मेरुदण्ड कहिल्यै निहुरने छैन। मैले परमेश्वरका अर्तीहरू मुटुमा बेरेर शैतान अर्थात् दियाबलसलाई लाजमा पार्ने प्रण गर्छु। पीडा र कठिनाइहरू परमेश्वरले नै पूर्वनिर्धारित गर्नुभएको हो। म मृत्युसम्मै उहाँप्रति विश्वासी र आज्ञाकारी हुने छु। म परमेश्वरलाई कहिल्यै रुवाउने छैन र म उहाँलाई कहिल्यै चिन्तित तुल्याउने छैन” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “म परमेश्वरको महिमाको दिन देख्न चाहन्छु”)। यी शब्दहरूले मलाई उत्साह दिए, र मलाई हृदय निकै दह्रिलो भएको अनुभव भयो। शैतानले मलाई जस्तो व्यवहार गरे पनि म परमेश्वरलाई कहिल्यै पनि धोका दिनेछैन। मैले साक्षीको रूपमा खडा भएर शैतानलाई लज्जित पार्नु थियो।
प्रमुख डाक्टरले सामान्यतया मसँग हप्तामा एक पटक कुरा गर्थिन्, र हरेक पटक नै उनले मलाई परमेश्वरमाथिको विश्वास त्याग्न लगाउने प्रयास गर्थिन्। उनले चिनियाँ कम्युनिस्ट पार्टीलाई पछ्याउँछिन् र त्यसको निम्ति काम गर्छिन् भन्ने मलाई थाहा थियो, त्यसकारण म उनको कुरा बेवास्ता गर्थेँ। पछि, उनी फेरि मसँग कुरा गर्न आइन् र मेरो अस्पताल बसाइको बारेमा मलाई के लागेको छ भनेर सोधिन्। मैले सोचेँ, “तिमीहरू सबैलाई म बिरामी छैनँ भन्ने थाहा छ, तर मैले परमेश्वरमा विश्वास गरेकी हुनाले तिमीहरू मलाई मानसिक रोगीलाई जस्तो व्यवहार गर्छौ र मलाई यहाँ थुनामा राख्छौ। तिमीहरूले मलाई हरेक दिन जबरजस्ती औषधि र सुई लिन लगाउँछौ। डाक्टर भएर पनि तिमीले मलाई कुनै विवेकविना कष्ट दिन्छौ, र अहिले मलाई कस्तो लागेको छ भनेर सोध्छौ?” मैले उनलाई दोष दिँदै सोधेँ, “म बिरामी होइन, तर पनि किन तपाईं म बिरामी हो भन्नुहुन्छ र मानसिक रोगीलाई जस्तै उपचार गर्नुहुन्छ?” उनले मलाई पुलुक्क हेरिन्, र जङ्गिदै भनिन्, “म तँलाई स्पष्ट भन्छु, हामीले तँलाई गरेका परीक्षणको कुनै अर्थ छैन। अर्थ राख्ने कुरा त तैँले ईश्वरमा विश्वास गरेकोले तँ असामान्य बनेकी छेस् भन्ने नै हो। तेरो अवस्था मानसिक रोगीहरूको भन्दा पनि निकै गम्भीर छ। अनि तँलाई थाहा होस्, हामीले यहाँ सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्ने मानिसलाई राखेको तँ पहिलो वा अन्तिम व्यक्ति होइनस्। यदि तैँले विश्वास गरिरहन्छु भनेर जोड दिन्छेस् भने तँलाई केही वर्षसम्म कैदमा राखिनेछ। यहाँ मैले भनेकै कुरा चल्छ। तँ बिरामी होस् कि होइनस् भन्ने कुरा मेरो निर्णयमा भर पर्छ!” यो सुन्दा मलाई निकै रिस उठ्यो। अस्पतालहरू त मर्न लागेको मानिसलाई बचाउने र बिरामीलाई हेरचाह गर्ने स्थान हुनु पर्ने हो, तर अहिले त ती चिनियाँ कम्युनिस्ट पार्टीको पक्षबाट इसाईहरूलाई यातना दिने स्थान बनेका थिए। हामी परमेश्वरमा विश्वास गर्छौँ र जीवनको सही मार्ग हिँड्छौँ, तर चिनियाँ कम्युनिस्ट पार्टीले परमेश्वरमा विश्वास गर्ने मानिसहरूलाई हानि गर्न सबै प्रकारका घृणित तरिकाहरू प्रयोग गर्छ। तिनीहरू भित्रैदेखि दियाबलसहरू, पूर्ण रूपमा दुष्टता बोकेको राजनीतिक पार्टी हुन्! परमेश्वरमाथिको मेरो विश्वासको कारण मलाई चिनियाँ कम्युनिस्ट पार्टीले सताएको थियो, परिवारले इन्कार गरेको थियो, र डाक्टरहरूले औषधीद्वारा यातना दिएका थिए। मैले स्पष्ट रूपमा नै चिनियाँ कम्युनिस्ट पार्टी पृथ्वीमा आएका भूतहरूको पार्टी हो भन्ने देखेँ। तिनीहरू परमेश्वरको विरोध गर्ने र मानिसहरूलाई हानि गर्ने शैतान हुन्। पछि, ती सिस्टर र मैले अस्पतालमा भेटेका प्रभुका विश्वासीहरूलाई सुसमाचार सुनायौँ। कतिलाई अनिद्राको कारण उपचारको लागि पठाइएको थियो, र कतिलाई प्रभुमाथिको विश्वासको कारण सरकारले जबरजस्ती ल्याएको थियो। अन्त्यमा, केहीले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरे।
हरेक दिन डाक्टरहरूले जबरजस्ती सुई र औषधि दिएका कारण मेरो स्वास्थ्य स्थिति झन्-झन् खस्किँदै गइरहेको थियो। मलाई रिँगटा र थकाइ लाग्थ्यो, र मलाई सधैँ निद्रा लाग्थ्यो, काँध भारी हुन्थ्यो, र हात उचाल्न समेत हम्मे-हम्मे हुन्थ्यो। मैले डाक्टरहरूलाई औषधी बन्द गर्न अनुरोध गरेँ, तर तिनीहरूले कुरा सुनेनन्। पछि, मेरो अवस्था झन्-झन् खराब हुँदै गयो। मलाई सधैँ टाउको दुख्थ्यो, र मलाई हरेक दिन एकोहोरो भएकी छु जस्तो लाग्यो। मलाई सधैँ अत्यास लाग्थ्यो, असहज हुन्थ्यो, र अत्यन्तै झर्को लाग्थ्यो; मेरा हात काम्थे, र चपस्टिकले केही पनि समाउन सक्दिनथिएँ। म प्रायजसो नराम्रो सपना देख्थेँ, र मेरो स्मरण शक्ति पनि हराउँदै गयो। म प्रायजसो कुनै कुरा भूइँमा राख्थेँ र कहाँ राखेँ भनेर तुरुन्तै बिर्सिन्थेँ, र म आफ्नो विचारको बहावलाई कायम राख्न सक्दिनथिएँ। पछि, म आफ्नो हातैमा भएका कुराहरू समेत खोज्ने भएकी थिएँ, र म हरेक दिन अत्यन्तै अत्यासमा हुन्थेँ। म पहिले त एक-दुई मिनेट मात्रै अत्यास लाग्थ्यो, तर पछि त्यो अवधि दश-पन्ध्र मिनेटदेखि आधा घण्टामा पुग्यो। यो अत्यन्तै असहज अवस्था थियो, र मेरो मन मेरो नियन्त्रणभन्दा बाहिर गएको थियो। मलाई मानसिक अशक्तता भएको छ जस्तो लाग्यो, र मलाई सधैँ रुन मन लाग्थ्यो। मैले परमेश्वरसँग हृदयदेखि प्रार्थना गरेँ, र मलाई शैतानको क्रूरताबाट मुक्त गर्नुहोस् भनेर अनुरोध गरेँ। अस्पतालमा बसेको ४० दिनभन्दा बढी भएपछि, मेरी छोरी मलाई भेट्न आइन्। त्यो दिन, म घोसे मुन्टो लाएर हलमा बसिरहेकी थिएँ। मेरी छोरीले मलाई बोलाएको सुन्दा मैले आफ्नो शिर उठाएँ र अचेत भएर केही क्षण हेरेँ, त्यसपछि बिस्तारै खडा भएर उनी भएतिर गएँ, उनको हात तानेर यसो भन्दै रोएँ, “मलाई घर लैजा, मलाई घर लैजा…।” एक छिनपछि, म फेरि हाँस्न थालेँ। मेरी छोरीले अचम्म मान्दै भनिन्, “तपाईं किन यस्तो हुनुभयो? तपाईं साँच्चै बिरामी हुनुभएको हो?” मेरी छोरीले मलाई मेरो दाजुको घरमा लगिन्। उहाँले उनलाई यसो भन्दै हकार्नुभयो, “किन तेरी आमालाई लिएर आइस्?” त्यसपछि उहाँले मलाई म अझै परमेश्वरमा विश्वास गर्छु कि गर्दिनँ भनेर सोध्नुभयो। त्यो बेला, मेरो विवेक स्पष्ट भएको थियो, र मैले दृढताको साथ भनेँ, “गर्छु! म परमेश्वरमा विश्वास गर्छु, सत्यताको खोजी गर्छु, र असल व्यक्ति बनेर सही मार्ग पछ्याउने प्रयास गर्छु। मैले किन विश्वास नगर्ने?” मेरी भाउजूले भनिन्, “तपाईंलाई त्यहाँ पर्याप्त लामो समय राखिएन जस्तो लाग्यो। उहाँलाई फेरि पठाउनुपर्छ।” मैले रिसाउँदै भने, “तपाईंहरूले मलाई पहिले नै त्यस्तो जङ्गली उपचार सहन बाध्य गर्नुभएको छ, र पनि तपाईंहरू अझै मलाई त्यहीँ पठाउन चाहनुहुन्छ। तपाईंहरू कति निर्दयी हुनुहुन्छ! यसो गर्नुभयो भने तपाईंहरूलाई ढिलोचाँडो दण्ड हुनेछ!” मैले यसो भनेको सुनेर तिनीहरूले अरू केही बोलेनन्, र मेरो दाजुले मेरो डिस्चार्ज पक्रियाहरू पूरा गर्न मेरी छोरीलाई मन नलागी-नलागी अह्राउनुभयो।
अस्पतालबाट डिस्चार्ज भएपछि, मलाई जहिल्यै पनि टाउको दुख्थ्यो, र हरेक दिन म एकोहोरो हुन्थेँ। प्रायजसो मेरो होस कताकता पुगिरहेको हुन्थ्यो। राती बत्ती निभाइएको बेला मलाई अत्यन्तै डर लाग्थ्यो, किनभने मलाई मानसिक अस्पतालमा नै फर्केर गएको जस्तो लाग्थ्यो, र म प्रायजसो नराम्रो सपना देख्थेँ। मेरो श्रीमानले भनेअनुसार म विनाकारण रुने र कराउने गर्थेँ, र म प्रायजसो तिनीसँग झडङ्ग रिसाउने गर्थेँ। मलाई निकै डर लाग्यो, र मैले सोचेँ, “के म साँच्चै मानसिक रूपमा बिरामी भएकी छु? त्यसो हो भने, भविष्यमा मैले कसरी परमेश्वरमा विश्वास गर्नेछु?” मैले ओछ्यान अगाडि घुँडा टेकेर आँसु झार्दै परमेश्वरसँग प्रार्थना गरेँ, “हे परमेश्वर, आज म जे बनेकी छु त्यो सबै ठूलो रातो अजिङ्गरको कारणले गर्दा भएको हो। म त्यसलाई घृणा गर्छु! हे परमेश्वर, कृपया मलाई रक्षा गर्नुहोस्, मलाई बचाउनुहोस्...।” प्रार्थना गरेपछि मलाई अलिक ढुक्क भयो। दुई हप्तापछि मेरो अवस्थामा निकै सुधार आयो, र मैले सचेत भएर आफ्ना भावनाहरूलाई नियन्त्रण गर्न सकेँ। तीन महिनापछि, मेरो मानसिक स्थिति आधारभूत रूपमा सामान्य भइसकेको थियो, र मेरो मानसिक अवस्थामा धेरै सुधार आयो, तर मेरो स्मरण शक्ति अझै पनि कमजोर नै थियो। छ महिनापछि, मैले फेरि पनि भेलाहरूमा सहभागी हुन र आफ्नो कर्तव्य पूरा गर्न थालेँ।
मानसिक अस्पतालमा बिताएको पैँतालीस दिनले मेरो मष्तिष्क र शरीरमा धेरै हानि गरेको थियो। यो यातनाद्वारा मैले सत्यतालाई घृणा गर्ने र परमेश्वरप्रति शत्रुवत व्यवहार गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको दुष्ट सारलाई स्पष्ट रूपमा देखेँ। मलाई दुष्ट चिनियाँ कम्युनिस्ट पार्टीप्रति पूर्ण रूपमा घृणा जाग्यो, र मैले यसलाई मेरो हृदयदेखि नै इन्कार गरेँ र त्यागेँ। यसको साथै, मैले मेरो परिवारको सारलाई देखेँ। मैले परमेश्वरमा विश्वास गरेकी र तिनीहरू पनि मसँगै मुछिन्छन् र तिनीहरूको हैसियत र भविष्यमा असर पर्छ भन्ने डरले तिनीहरूले चिनियाँ कम्युनिस्ट पार्टीलाई पछ्याए र मलाई परमेश्वरमाथिको मेरो विश्वास जबरजस्ती त्याग गराउन दुष्ट माध्यमहरू प्रयोग गरे। तिनीहरूले मलाई मानसिक अस्पताल समेत पठाए। तिनीहरूलाई म मरूँ कि बाँचूँ त्यसको मतलब थिएन। म यसलाई कसरी परिवार भन्न सक्छु? यो त दियाबलस थियो! यो वातावरण अनुभव गरिसकेपछि मैले मप्रतिको परमेश्वरको प्रेम र मुक्तिलाई साँचो रूपमा अनुभव गरेँ। मानसिक अस्पतालमा, म डराउँदा, कष्ट भोग्दा, र विवश हुँदा, मलाई अन्तर्दृष्टि दिन, अगुवाइ गर्न, अनि मलाई आत्मविश्वास र शक्ति दिन परमेश्वरले बारम्बार आफ्ना वचनहरू प्रयोग गर्नुभयो, र मलाई सहयोग गर्न र साथ दिन उहाँले एक जना सिस्टर पठाउनुभयो। परमेश्वरको रक्षाविना ती भूतहरूले मलाई पूर्ण रूपमा पागल र बौलाही बनाउनेथिए। मैले परमेश्वरको सार्वभौम बन्दोबस्त, सर्वशक्ति, र बुद्धि देखेँ। मलाई साँच्चै नै परमेश्वर मात्रै सधैँ मेरो सहयोग हुनुहुन्छ र परमेश्वरले मात्रै मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ भन्ने अनुभव भयो, र मैले परमेश्वरमाथिको अझै ठूलो विश्वास प्राप्त गरेँ। परमेश्वरलाई धन्यवाद होस्!