५४. खतराको बीचमा
सन् २०११ को डिसेम्बरमा, विभिन्न मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई एकपछि अर्को गर्दै पक्राउ गर्न थालियो। हाम्रो मण्डलीले सिस्टर मा र सिस्टर लीयू अनि मलाई त्यसपछिको प्रभावबाट आएका समस्याहरूलाई सम्हाल्न फाल्टो-फाल्टै गरी अह्राइयो। २५ तारिखको दिन, दिउँसोको खाना खाएपछि मलाई एउटा फोन आयो। फोनमा उताबाट बोल्ने व्यक्तिले छिटो-छिटो यसो भनिन्, “ली क्षिन, नराम्रो खबर छ!” सिस्टर माको आवाज सुन्दा मेरो मुटु ढुकढुक गर्न थाल्यो। सिस्टर माले मलाई कोड भाषामा त्यो बिहान पुलिसले सिस्टर लीयूलाई पक्राउ गर्यो र मण्डलीको रकम पनि जफत गर्यो भनेर बताइन्। आफ्नो पछि पनि तिनीहरू लागेका हुन सक्छन् भनेर सिस्टर माले भनिन्, अनि यसबाट आउने समस्याहरूलाई तुरुन्तै सम्हालेर गइहाल्न भनिन्।
म सोफामा थेचारिएँ अनि सोचेँ, “पुलिसले पक्कै पनि हामीलाई लामो समयदेखि पछ्याइरहेको र निगरानी गरिरहेको हुनुपर्छ, र तिनीहरू तयारीको साथ आएको हुनुपर्छ। मण्डलीका पुस्तक र सम्पत्ति लुकाउने ठाउँ मलाई थाहा छ। सिस्टर मा र सिस्टर लीयू दुवै जना त्यहाँ गएका थिए। मैले यी कुराहरूलाई तुरुन्तै सुरक्षित स्थानमा लैजानुपर्छ, नत्र पुलिसले कुनै पनि बेला ती जफत गर्न सक्छ।” तर त्यसपछि मलाई के महसुस भयो भने त्यो ठाउँ पुलिसले पत्ता लगाएको हुनसक्छ, त्यसकारण यदि म गएँ भने, के मैले आफूलाई तिनीहरूको हातमा सुम्पिएको जस्तो हुँदैन र? यदि मलाई पक्राउ गरियो भने पुलिसले अवश्य नै मलाई यातना दिनेछन्। यदि मैले यातना सहन नसकेर परमेश्वरलाई धोका दिएँ भने, के मैले मेरो अन्त्य र गन्तव्य गुमाउँदिन र? यसको बारेमा मैले जति विचार गरेँ, मलाई त्यति नै डर लाग्यो। मलाई म जहाँ छु त्यहीँ बसेर सबै कुरा शान्त भइञ्जेल पर्खनु नै ठीक हुन्छ जस्तो लाग्यो। तर मलाई निकै असहज महसुस भयो, किनभने अहिले परमेश्वरको घरका हितहरूमा हानि पुगेको थियो, त्यसकारण त्यसको रक्षा गर्नु मेरो जिम्मेवारी थियो। यस्तो बेला म कसरी कायर भएर बस्न सक्छु? म आफ्नै सुरक्षा र परमेश्वरको घरका हितहरूको बीचमा थिएँ, र के गर्ने मलाई थाहा थिएन। तर त्यसपछि, मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो, “जब तैँले आफ्नो कर्तव्य निभाउँछस्, तैँले आफ्नै हितहरू, आफ्नै व्यक्तिगत सुरक्षा, आफ्नै परिवारका सदस्यहरूको बारेमा सोचिरहन्छस्। तैँले मेरो लागि कहिले के गरेको छस्? तैँले कहिले मेरो बारेमा विचार गरेको छस्? कहिले तैँले आफूलाई हरहालतमा मेरो लागि र मेरो कामको लागि समर्पित गरेको छस्? मप्रति तेरो अनुकूलताको प्रमाण कहाँ छ? मप्रति तेरो वफादारिताको वास्तविकता कहाँ छ?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले ख्रीष्टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ)। परमेश्वरको वचनले मेरो स्थितिलाई सटीक रूपमा प्रकट गर्यो। ठूलो रातो अजिङ्गरको पक्राउ र सतावटको डरले गर्दा मैले परमेश्वरको इच्छालाई ध्यान दिने वा परमेश्वरको घरको कामको रक्षा गर्ने बारेमा विचार गरिनँ। बरु मैले आफ्नै हितको बारेमा मात्रै विचार गरेँ। पक्राउ र यातनाप्रति म निकै डराएकी थिएँ, र यातनाले मलाई तोड्नेछ, म यहूदा बन्नेछु, अनि मैले मेरो असल अन्त्य र गन्तव्यलाई गुमाउनेछु भन्ने कुराप्रति मलाई झनै डर लागेको थियो। मेरो सबै डर मेरो आफ्नै हितको रक्षा गर्नका लागि थियो, र यस्तो महत्त्वपूर्ण क्षणमा आफैलाई रक्षा गर्नका लागि मैले परमेश्वरको घरका हितहरूलाई वेवास्ता गरेर आफ्नो कर्तव्यबाट पछि हट्न चाहेँ। म कति स्वार्थी र घृणित थिएछु! पुलिस जति नै कठोर भए पनि, तिनीहरू अझै पनि परमेश्वरकै हातमा थिए, र परमेश्वरको अनुमतिविना तिनीहरूले मेरो शिरको एउटा कपाललाई समेत हानि गर्न सक्दैनथिए। यो कुरा ध्यानमा राख्दै म शान्त भएँ र मेरो डर पनि कम भयो। यस बेला, मैले सारा मानवजातिको लागि छुटकाराको काम पूरा गर्न प्रभु येशू कसरी क्रूसमा टाँगिनुभएको थियो त्यसको बारेमा विचार गरेँ। प्रभु येशूले परमेश्वरको आज्ञा पूरा गर्न कसरी आफ्नो जीवन दिन सक्नुभयो? मैले परमेश्वरका वचनहरूमा यस्तै प्रसंगको खण्ड खोजेँ र पढेँ, जसमा यसो भनिएको छ, “येशूले परमेश्वरको आज्ञा पूरा गर्न—अर्थात् सारा मानवजातिको छुटकाराको काम गर्न सक्षम हुनुहुन्थ्यो—किनकि उहाँले आफ्नै निम्ति कुनै योजनाहरू वा बन्दोबस्तहरू नगरी परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्नुभयो। त्यसै पनि, उहाँ परमेश्वर, अर्थात् परमेश्वर स्वयम्सँग अति घनिष्ठ हुनुहुन्थ्यो, जुन कुरा तिमीहरू सबैले राम्ररी बुझ्दछौ। (वास्तवमा, उहाँ परमेश्वर स्वयम् हुनुहुन्थ्यो, जुन कुराको साक्षी परमेश्वरले दिनुभयो। मैले यस विषयमा उदाहरण दिनका निम्ति येशूका तथ्यहरू प्रयोग गर्न यहाँ यो कुरा भन्दैछु।) उहाँले परमेश्वरको व्यवस्थापन योजनालाई केन्द्रमा राख्न सक्नुहुन्थ्यो, अनि सधैँ स्वर्गमा हुनुहुने पितासँग प्रार्थना गर्नुभयो र उहाँको इच्छा खोज्नुभयो। उहाँले प्रार्थना गर्दै भन्नुभयो: ‘हे परमेश्वर पिता! तपाईंको इच्छा जे छ त्यो पूरा गर्नुहोस्, अनि मेरा इच्छाहरू अनुसार होइन, तर तपाईंको योजनाअनुसार काम गर्नुहोस्। मानिस कमजोर हुन सक्छ, तर तपाईं त्यसको किन वास्ता गर्नुहुन्छ? मानिस तपाईंको वास्ता पाउने योग्यको कसरी बन्न सक्छ? अर्थात् मानिस, जो तपाईंको हातमा एउटा कमिला जस्तो छ? मेरो हृदयमा, म तपाईंको इच्छा मात्र पूरा गर्न चाहन्छु, अनि तपाईंले आफ्नो इच्छाअनुसार ममा जे गर्न चाहनुहुन्छ त्यो गर्नुहोस् भन्ने म चाहन्छु।’ यरूशलेमतर्फ जाने बाटोमा येशू ठूलो वेदनामा हुनुहुन्थ्यो, मानौं उहाँको मुटुमा छुरी रोपेको थियो, तापनि उहाँमा आफ्नो वचनबाट पछि फर्कने अलिकति पनि इच्छा थिएन; सधैँ एउटा प्रबल शक्तिले काम गरिरहेको थियो, र त्यो शक्तिले उहाँलाई क्रूसमा टाँगिने स्थानतर्फ बढ्न बाध्य बनायो। अन्त्यमा, उहाँलाई क्रूसमा टाँगियो र मानवजातिको छुटकाराको काम पूरा गर्दै उहाँ पापी मानिस सरह हुनुभयो। उहाँ मृत्यु र पातलका बन्धनहरू तोडेर स्वतन्त्र हुनुभयो। उहाँको सामुन्ने मृत्यु, नरक र पातालले आफ्नो शक्ति गुमाए, र उहाँद्वारा पराजित भए” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरका अभिप्रायहरू अनुसार कसरी सेवा गर्ने)। परमेश्वरका वचनहरूको यो खण्ड पढेपछि मेरो हृदय छोयो। शैतानको राज्य क्षेत्रमा जिउने मानवजातिलाई छुटकारा दिन प्रभु येशू क्रूसमा टाँगिन तयार हुनुभयो र मानवजातिको लागि पापबलि बन्नुभयो, यसरी उहाँले धेरै पीडा र अपमान सहनुभयो। उहाँले कुनै सर्त वा बहाना नबनाई, र आफ्नो नाफा वा घाटाको बारेमा नसोची पहिलो प्राथमिकता परमेश्वरको आज्ञा पूरा गर्ने कार्यलाई नै राख्नुभयो। तर, जब मैले परमेश्वरको आज्ञा पाएँ, तब मैले परमेश्वरको इच्छालाई बुझ्ने वा परमेश्वरको आज्ञा पूरा गर्ने बारेमा विचार गरिनँ। मैले आफ्नै सुरक्षा र गन्तव्यको बारेमा विचार गरेँ। त्यो बेला मलाई आफैप्रति लाज लाग्यो, र मलाई निकै ग्लानि भयो अनि परमेश्वरप्रति ऋणी भएको आभास भयो। मैले तुरुन्तै घुँडा टेकेँ र पश्चात्ताप गर्दै परमेश्वरसँग प्रार्थना गरेँ।
त्यो बेला मलाई हामीले प्रायजसो गाउने गरेको परमेश्वरको वचनको एउटा भजन याद आयो, “म मेरो सम्पूर्ण जीवन परमेश्वरलाई समर्पण गर्न चाहन्छु” भन्ने भजन। यो गीत परीक्षाको बेला अत्यन्तै वेदनामा पर्दा पत्रुसले गरेको प्रार्थना थियो,
म मेरो सम्पूर्ण जीवन परमेश्वरलाई समर्पण गर्न चाहन्छु
१ … मैले के गर्न सक्छु त्यो तपाईंलाई थाहा छ, र मैले कुन भूमिका निर्वाह गर्न सक्छु त्यो पनि तपाईंले जान्नुहुन्छ। म तपाईंको योजनाबद्ध कार्यको कृपामा हुन चाहन्छु, र मसँग भएको सबै कुरा तपाईंमा समर्पित गर्नेछु।
२ मैले तपाईंको लागि के गर्न सक्छु त्यो तपाईंलाई मात्र थाहा छ। शैतानले मलाई धेरै झुक्काएको भए तापनि र मैले तपाईंको विरुद्ध विद्रोह गरेको भए तापनि, ती अपराधहरूका निम्ति मलाई तपाईंले याद गर्नुहुन्न र तिनीहरूको आधारमा तपाईंले मलाई व्यवहार गर्नुहुन्न भनी म विश्वास गर्छु। म मेरो सम्पूर्ण जीवन तपाईंमा नै समर्पित गर्न चाहन्छु। म केही कुरा पनि माग्दिन, नत मसँग अरू आशा वा योजना नै छ; तपाईंको अभिप्राय अनुसार काम गर्ने र तपाईंका अभिप्रायहरूलाई पछ्याउने मात्रै मेरो चाहना छ। तपाईंको तीतो कचौराबाट म पिउनेछु, र आज्ञा गर्नलाई म तपाईंकै हुँ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसले येशूलाई कसरी चिने
पत्रुसको प्रार्थनाले मेरो हृदय छोयो र मलाई उत्प्रेरित गर्यो। वास्तवमा, परमेश्वरलाई मेरो कदको बारेमा र मैले कस्तो कर्तव्य पूरा गर्न सक्छु भन्ने थाहा थियो, र यो कर्तव्य मेरो हातमा आएको हुनाले मैले कुनै हिचकिचाहटविना यसलाई पूरा गर्नुपर्छ भन्ने मलाई थाहा थियो। यस बेला मात्रै मैले आफ्नो व्यक्तिगत हितलाई पन्छ्याएर परमेश्वरको इच्छालाई ध्यान दिने दृढशक्ति पाएँ। भोलि पल्ट, म पुस्तकपुस्तिका र सम्पत्ति अर्को ठाउँ सार्न तुरुन्तै गइहालेँ। त्यो बेला मलाई निकै चिन्ता लागेको थियो। बाटोमा केही नराम्रो हुन्छ भन्ने डर लागेको थियो, त्यसकारण मैले परमेश्वरलाई निरन्तर प्रार्थना गरिरहेँ। मैले परमेश्वरका यी वचनहरू सम्झेँ, “यो वा त्यो कुराको डर नमान्, सेनाहरूका सर्वशक्तिमान् परमेश्वर अवश्य नै तेरो साथमा हुनुहुनेछ; उहाँ तेरो सहायक शक्ति हुनुहुन्छ, र उहाँ तेरो ढाल हुनुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय २६)। यी वचनहरूले तुरुन्तै मलाई आत्मविश्वास प्रदान गरे। सबै कुरा परमेश्वरको हातमा थियो, र बाटोमा जाँदा खतरा हुन्छ कि हुँदैन भन्ने परमेश्वरकै हातमा थियो। मेरो काम भनेको आफूले पाएको कार्य सक्दो पूरा गर्नु र आफूले सके जति गर्नु थियो। परमेश्वर मेरो साथमा हुनुभएकोले मैले कुनै कुरा डर मान्नु पर्दैनथियो। पछि, पुस्तकपुस्तिका र सम्पत्ति सुरक्षित स्थानमा सारियो, र मेरो मन बल्ल ढुक्क भयो। यो अनुभव प्राप्त गरेपछि मैले परमेश्वरको सर्वशक्ति र सार्वभौमिकताको बारेमा, साथै मेरो स्वार्थी र घृणित प्रकृतिको बारेमा केही बुझाइ प्राप्त गरेँ।
एक वर्षपछि, २०१२ को डिसेम्बर महिनामा, सुसमाचारको काम वृहत् रूपमा अघि बढिरहेको थियो र देशभरिका धेरैभन्दा धेरै मानिसहरूले सर्वशक्तिमान् परमेश्वरको कामलाई ग्रहण गरिरहेका थिए। कम्युनिस्ट पार्टी अत्यन्तै क्रोधित थियो। यसले मण्डलीलाई आक्रमण गर्न र बदनाम गर्न आफ्नो मुखपत्र मिडियाहरू प्रयोग गर्यो, र दाजुभाइ-दिदीबहिनीहरूलाई पागलले झैँ दमन र पक्राउ गर्न थाल्यो। म बसेको सहरमा, दश जनाभन्दा बढी दाजुभाइ-दिदीबहिनीहरू पक्राउ परे। एक दिन, म भेलाको लागि सहर बाहिर हुँदा मलाई अचानक सिस्टर टियानबाट फोन आयो। नर्भस आवाजमा उनले भनिन्, “नराम्रो खबर छ, नराम्रो घटना भयो…।” उनले मलाई फोनमा स्पष्ट रूपमा भन्न सक्दिनन् भन्ने थाहा भयो, त्यसकारण म फोन काटेर तुरुन्तै फर्किएँ। सिस्टर टियानलाई भेटेपछि सुसमाचार प्रचार गर्ने दुई जना सिस्टरहरूलाई पुलिसले खोजिरहेका छन् भन्ने थाहा भयो। पुलिसले सबैतिर सडकभरि प्रोपागाण्डा बोर्डहरूमा, टेलिफोन पोल, र कारखानाको गेटहरूमा वान्टेड नोटिस पोष्ट गरे। तिनीहरूले देशका हरेक चेकपोइन्टमा आवतजावत गर्ने सवारी साधन र पैदल यात्रीहरूलाई जाँच गर्न तिनीहरूको फोटो पनि प्रयोग गरे। सिस्टर टियानले मलाई दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरू लुक्ने अस्थाई ठाउँ खोजिदिएका छन् भनेर बताइन्। तैपनि, हाम्रा दाजुभाइ-दिदीबहिनीहरूका परिवारका धेरै जना सदस्यहरूले परमेश्वरमा विश्वास गर्नेहरूलाई सरकारले पक्राउ गर्दैछ भन्ने खबर सुनेर तिनीहरू आफ्नो परिवारका सदस्यहरू पनि पक्राउ पर्छन् भन्नेमा चिन्तित भए, त्यसकारण तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई घरैमा राखे र भेलाको लागि बाहिर जान दिएनन्। के गर्ने भन्ने बारेमा मैले सिस्टर टियानसँग छलफल गरेँ, त्यसपछि दाजुभाइ-दिदीबहिनीहरूलाई अलग-अलग गरेर भरणपोषण र सहयोग गर्ने तयारी गरेँ, ताकि सबैले सत्यता बुझ्न सकून्, ठूलो रातो अजिङ्गरको अन्धकार शक्तिको नियन्त्रणमा नपरून्, र त्यस्तो परिस्थितिमा दह्रिलो गरी खडा हुन सकून्।
एक दिन, म एक जना सिस्टरलाई सहयोग गर्न गएँ। हामीले हाम्रो सङ्गति सकेपछि आधा रात भइसकेको थियो। म यस्तो सोच्दै रित्तो सडकमा एकलै हिँडेँ, “मैले यो सिस्टरलाई राती अबेरसम्म सहयोग गर्नुपर्यो, र मलजल र सहयोग गर्नुपर्ने अझै पनि धेरै जना दाजुभाइ-दिदीबहिनीहरू छन्। अहिले म खतरामा छु, त्यसकारण यदि म सधैँ घरघर यसरी नै गइरहँदा पक्राउ परेँ भने, पुलिसले मलाई कस्तो प्रकारको यातना दिनेछन्, मलाई थाहा छैन। के कम्युनिस्ट पार्टीले परमेश्वरमा विश्वास गर्ने मानिसहरूलाई घृणा गर्ने हुनाले मलाई त्यसले कुटेर मार्नेछ? यदि मलाई कुटेर मार्यो भने मैले राज्यको सुन्दरता प्रकट भएको हेर्न पाउनेछैन, होइन र? यो कर्तव्य पूरा गर्नु अत्यन्तै खतरनाक छ, र अहिले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई साथ दिनको लागि कसैले पनि मलाई तोकेर खटाएको छैन, तब मैले किन यो खतरा मोलिरहेकी छु? …” मैले यसको बारेमा जति विचार गरेँ, मलाई त्यति नै डर लाग्यो। घर पुगेपछि मैले एक जना सिस्टरबाट पत्र पाएँ। उनी र अरू धेरै जना दाजुभाइ-दिदीबहिनीहरूलाई सुसमाचार प्रचार गरेको निहुँमा केही समय पहिले पक्राउ गरिएको थियो। उनको परिवारले पुलिसलाई पैसा दिएको कारणले मात्रै उनलाई रिहाइ गरिएको थियो। जेलमा रहेका दाजुभाइ-दिदीबहिनीहरूले हामीलाई तिनीहरूको बारेमा चिन्ता नगर्नू भनेका छन् भनेर उनले भनिन्। तिनीहरूलाई पक्राउ गरिएको, जेलमा हालिएको, र तिनीहरूले केही कठिनाइ भोगेका भए पनि सुसमाचार प्रचार गरेकोमा सतावट भोग्नु सम्मानको कुरा हो भन्ने तिनीहरूलाई लाग्छ। त्यस सिस्टरले के पनि भनिन् भने, केही समयसम्म पुलिसले उनलाई पछ्याउन र उनको निगरानी गर्न छोडेको छ भन्ने कुरामा उनी निश्चित भएपछि उनले सुसमाचार सुनाउने कार्यलाई जारी राख्नेछिन्। उनको पत्र पढेपछि मलाई अत्यन्तै ग्लानि भयो। यी दाजुभाइ-दिदीबहिनीहरूले जेलमा कष्ट भोगिरहेका थिए, तर गुनासो गर्नुको सट्टा सुसमाचार प्रचार गरेको निहुँमा सतावट भोग्दा तिनीहरूले गौरव गरे। त्यसपछि मैले आफ्नै बारेमा विचार गरेँ। मैले त मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई सहयोग गरिरहेकी र एकपछि अर्को पक्राउपछि देखिएका मामलाहरूलाई सम्हाल्न केही काम गरिरहेकी मात्रै थिएँ, तर म पक्राउ पर्नेछु र मलाई कुटेर मारिनेछ भनेर सधैँ चिन्ता गरिरहेकी हुन्थेँ। मैले आफ्नै हित, अन्त्य, र गन्तव्यको बारेमा मात्रै विचार गरिरहेकी थिएँ। मैले यसको बारेमा जति विचार गरेँ, मलाई त्यति नै पछुतो भयो र मैले आफैलाई दोष दिएँ। मलाई म स्वार्थी र घृणित रहेछु, र म परमेश्वरको मलजल र भरणपोषण पाउन योग्य छैन भन्ने लाग्यो। यही बेला मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो, “म पहाडमा फुल्ने लिली फूलहरूप्रति सराहना गर्छु; भिरालो भूमिभरि फूलहरू र घाँस फैलिएका छन्, तर वसन्त आउनुभन्दा पहिले लिली फूलहरूले पृथ्वीमा मेरो महिमामा शोभा थप्छन्—के मानिसले त्यस्ता कुराहरू हासिल गर्न सक्छ? के उसले मेरो पुनरागमनभन्दा पहिले पृथ्वीमा मेरो गवाही दिन सक्छ? के ठूलो रातो अजिङ्गरको देशमा उसले मेरो नामको खातिर आफूलाई समर्पित गर्न सक्छ?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय ३४)। मैले अर्को खण्ड पनि पढेँ, “परमेश्वरलाई विरोध गर्ने देशमा यो सुरु भएको कारण, परमेश्वरका सबै कामले प्रचण्ड बाधाहरूको सामना गर्छ, अनि उहाँका धेरै वचनहरूतुरुन्तै पूरा हुन सक्दैनन्; यसर्थ, मानिसहरू परमेश्वरका वचनका कारण शोधन गरिन्छन्, जुन पनि कष्टकै भाग हो। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्वरले उहाँको बुद्धि र उहाँका अचम्मका कामहरू प्रकट गर्दै, अनि मानिसहरूको यो समूहलाई पूर्ण बनाउन यो मौका प्रयोग गर्दै, उहाँ आफ्नो कार्यको एउटा चरण गर्नुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के परमेश्वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। परमेश्वरका वचनहरूमा मनन गरिसकेपछि मैले परमेश्वरको इच्छाको बारेमा अलि बुझेँ। परमेश्वरले हाम्रो विश्वास र आज्ञापालनलाई सिद्ध पार्न ठूलो रातो अजिङ्गरलाई हाम्रो सतावट गर्ने अनुमति दिनुहुन्छ। आखिरी दिनहरूमा परमेश्वरले विजेताहरूको समूह, अर्थात् वातावरण जति नै खतरनाक र खराब भए पनि आफ्नो कर्तव्य पूरा गर्ने, सत्यताको अभ्यास गर्ने, र गवाहीको रूपमा खडा हुने मानिसहरूको समूहलाई सिद्ध पार्नुहुन्छ। परमेश्वरको अनुग्रह र उहाँले मलाई उत्थान गर्नुभएको हुनाले मात्रै मैले त्यस्तो वातावरणको अनुभव गर्न सकेकी थिएँ। म परमेश्वरको लागि गवाहीको रूपमा खडा हुने समय यही थियो, तर आफ्नै सुरक्षाको लागि मैले आफूले पाएको आज्ञालाई त्याग्न र त्यो वातावरणबाट उम्कन चाहेकी थिएँ। म साँच्चै स्वार्थी र घृणित थिएँ। म अत्यन्तै अन्धो थिएँ! मलाई रोड छेउछाउमा देखिने फूल र बोटबिरुवाको याद आयो। जति चीसो होस् र जति गर्मी होस्, वातावरण जति नै कठोर होस्, परमेश्वरले तिनीहरूलाई वृद्धि हुन दिनुभएको ऋतुमा ती बढ्छन् र फुल्छन्, अनि सृष्टिकर्ताका कार्यहरूको गवाही दिन्छन्। तब म किन वातावरण अलिकति कठिन हुने बित्तिकै निष्क्रिय र कमजोर बनेँ? मैले किन सृष्टि गरिएको प्राणीको थोरै कर्तव्य पनि पूरा गर्न सकिनँ? म त वास्तवमा सडक छेउका फूल र बोटबिरुवाभन्दा पनि सानो स्तरको रहेछु। म परमेश्वरको उपस्थितिमा जिउन कसरी योग्यकी हुन सकेँ र? मलाई अत्यन्तै ग्लानि भयो, त्यसकारण मैले आफ्नै बारेमा मनन गरेँ: मैले ठूलो रातो अजिङ्गरको पक्राउ र सतावटको सामना गर्दै आफ्नो कर्तव्य पूरा गर्नुपर्ने अवस्थामा पनि किन मेरा आफ्नै हितहरूको बारेमा सधैँ विचार गरेँ र मण्डलीको कामको रक्षा गर्न खडा भइनँ?
पछि मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, “परमेश्वर सदासर्वदा सर्वोच्च हुनुहुन्छ र उहाँ सदासर्वदा आदरयोग्य हुनुहुन्छ भने, मानिसचाहिँ सदैव तुच्छ, र सदैव मूल्यहीन छ। किनभने परमेश्वरले सदासर्वदा मानवजातिका लागि आफैलाई अर्पित गर्नुहुन्छ र समर्पित गर्नुहुन्छ, जबकि मानिसले चाहिँ सधैँ केवल आफ्नो निम्ति माग गर्छ र आफ्नै निम्ति लागिपर्छ। परमेश्वरले सधैँ मानवजातिको अस्तित्वका लागि धेरै मेहनत गर्नुहुन्छ, तैपनि मानिसले कहिल्यै इन्साफ वा ज्योतिका खातिर कुनै योगदान गर्दैन, र मानिसले केही अस्थायी प्रयास गरे पनि, त्यसले एउटै प्रहार पनि सहन सक्दैन, किनभने मानिसको प्रयास सधैँ तिनीहरूकै निम्ति मात्र हुन्छ, अरूका लागि हुँदैन। मानिस सदासर्वदा स्वार्थी हुन्छ, जबकि परमेश्वर सदासर्वदा स्वार्थरहित हुनुहुन्छ। परमेश्वर सबै इन्साफ, असल र सुन्दर कुराहरूको मूल हुनुहुन्छ, जबकि मानिस त्यो हो, जसले सबै कुरूपता र दुष्टताको उत्तराधिकार लिन्छ र तिनलाई व्यक्त गर्छ। परमेश्वरले इन्साफ र सुन्दरताको आफ्नो सार कहिल्यै अदलबदल गर्नुहुनेछैन, तैपनि मानिस कुनै पनि समयमा र कुनै पनि परिस्थितिमा इन्साफलाई धोका दिएर परमेश्वरदेखि टाढा जान सक्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको स्वभाव बुझ्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ)। परमेश्वरका वचनहरूको यो खण्ड पढेपछि मेरो हृदय छोयो। मानवजातिलाई शैतानको राज्यक्षेत्रबाट बचाउनको लागि परमेश्वर दुई पटक देह बन्नुभयो, र जति धेरै अपमान वा कष्ट सहनु परे पनि परमेश्वरले सधैँ सत्यता व्यक्त गर्नुभयो र मानिसहरूको मुक्तिको लागि काम गर्नुभयो, अनि उहाँले मानिसहरूलाई मुक्ति दिने आफ्नो उद्देश्यलाई कहिल्यै त्याग्नुभएको छैन। उहाँको सार निस्स्वार्थ र असल छ। तर, म भने “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” र “इनामविना औँलो पनि नउठाउनू” जस्ता शैतानी दर्शनशास्त्रहरू अनुसार जिएँ। मैले गर्ने सबै कुरामा सधैँ आफ्नै हितहरूको बारेमा मात्रै विचार गरेँ, र परमेश्वरको परिवारका हितहरूलाई विचार गरिनँ। जब कुनै कुराको लागि ठूलो कष्टको आवश्यक पर्दैनथियो, र मेरो भविष्य र गन्तव्यसँग सम्बन्धित हुँदैनथियो, तब मैले आफूलाई अलिअलि समर्पित गर्न वा त्याग्न सक्थेँ। पक्राउ र सतावटको बेला मलाई सधैँ पक्राउ पर्ने, कुटेर मारिने, र मेरो असल अन्त्य र गन्तव्य गुमाउने डर हुन्थ्यो। बारम्बार मैले आफ्नो कर्तव्यलाई त्याग्न चाहेँ। मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूको नकारात्मकता र कमजोरीको बारेमा विचार गरिनँ, न त परमेश्वरका चिन्ताहरूका बारेमा नै विचार गरेँ। ममा विवेक छ भनेर कसरी भन्न सकिन्थ्यो र? यो कुरा सम्झेर मलाई विशेष रूपमा लज्जित अनुभव भयो, त्यसकारण मैले घुँडा टेकेर परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! म स्वार्थी, घृणित छु, र ममा कुनै मानवता छैन। म तपाईंसामु पश्चात्ताप गर्न चाहन्छु, र मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई मलजल र सहयोग गर्न चाहन्छु।” प्रार्थना गरेपछि, मलाई परमेश्वरको वचनको अर्को भजन याद आयो,
सत्यताको लागि सबै त्याग्नुपर्छ
१ तैँले सत्यताका लागि कष्ट भोग्नैपर्छ, तैँले सत्यताका लागि आफ्नो बलिदान गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका लागि तैँले अझै बढी कष्ट भोग्नैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। सौहार्दपूर्ण पारिवारिक जीवनको आनन्द उठाउनका खातिर तैँले सत्यतालाई फ्याँक्नु हुँदैन र क्षणिक सुखचैनको खातिर तैँले जीवनभरको इज्जत र सत्यनिष्ठालाई गुमाउनु हुँदैन।
२ तैँले जुन कुरा सुन्दर र असल छन् ती सबै कुराको खोजी गर्नुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्गलाई पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको साधारण र सांसारिक जीवन जिउँछस् र तँसँग पछ्याउनका लागि कुनै पनि लक्ष्यहरू छैनन् भने, के यो तैँले आफ्नो जीवनलाई खेर फाल्नु होइन र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताको खातिर पनि तैँले देहका सबै सुखचैनहरूलाई त्याग्नुपर्छ, र थोरै सुखचैनको खातिर सारा सत्यतालाई फ्याँक्नु हुँदैन। यस किसिमका मानिसहरूसँग कुनै सत्यनिष्ठा वा गरिमा हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
वास्तवमा, कुनै दिन म साँच्चै नै पक्राउ परेर जेलमा परेँ, वा यातनाद्वारा मारिएँ भने पनि यो सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्दा भएको मृत्यु हुनेथियो, जुन सम्मानजनक कुरा हो। मृत्युको बन्धनलाई नाघ्न र सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सक्नु शक्तिशाली र सानदार गवाही हो, भ्रष्ट स्वभावको बन्धनमा बसेर जिउनु अनि कायर र नालायक जीवन जिउने प्रयास गर्नुभन्दा सयौँ गुणा राम्रो कुरा हो। यी कुराहरू महसुस गरिसकेपछि, मलाई सहजताको महसुस भयो।
भोलिपल्ट, हामीले केही दाजुभाइ-दिदीबहिनीहरूलाई भेला गर्यौँ। परमेश्वरका वचनहरूमा सङ्गति गरेपछि सबैले परमेश्वरले शैतानका चलाकीहरू अनुसार आफ्नो बुद्धिको प्रयोग गर्नुहुन्छ, परमेश्वरले हाम्रो विश्वासलाई सिद्ध पार्न हामीमाथि सतावट र कष्ट आउन दिनुहुन्छ, र ठूलो रातो अजिङ्गर परमेश्वरको कामको सेवा गर्ने पात्र मात्रै हो भन्ने कुरा बुझे। यो सङ्गतिपछि सबै जना अरू दाजुभाइ-दिदीबहिनीहरूलाई सहयोग गर्न आफ्नो कर्तव्यको बोझ लिन तयार भए। दाजुभाइ-दिदीबहिनीहरू आफ्नो नकारात्मक स्थिति र कमजोरीबाट बाहिर निस्केर अझै दह्रिलो बनेको देख्दा मेरो हृदय विशेष रूपमा छोयो। मैले कुनै पनि शत्रुवत शक्तिले परमेश्वरका वचनहरूको अख्तियार र शक्तिलाई दमन गर्न सक्दैन भन्ने देखेँ। यो संकष्टको सामना गरेपछि परमेश्वरमाथिको सबैको विश्वास वृद्धि भएको थियो, र यो सबै परमेश्वरको आशिष् हो भन्ने मलाई थाहा भयो। त्यस बेला, मलाई परमेश्वरको यो वचन याद भयो, “ठूलो रातो अजिङ्गरको बिस्तारै हुने पतनको प्रमाण परमेश्वरका मानिसहरूमा निरन्तर हुने परिपक्वतामा देख्न सकिन्छ; यो सबैको लागि स्पष्ट र देख्न सकिने हुन्छ। परमेश्वरका मानिसहरूको परिपक्वता शत्रुको निधनको चिन्ह हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय १०)। परमेश्वरले आफ्ना चुनिएका मानिसहरूलाई सिद्ध पार्न ठूलो रातो अजिङ्गरको अनियन्त्रित पक्राउहरूको प्रयोग गर्नुभयो। यसको सतावटद्वारा परमेश्वरले दाजुभाइ-दिदीबहिनीहरूको विश्वास र आज्ञापालनलाई सिद्ध पार्नुभयो, र आफ्नो जीवनमा सबैले प्रगति गरे। परमेश्वरको कामले हासिल गर्न चाहने प्रभाव ठीक यही हो। परमेश्वरका वचनहरू पूरा भएको देखेपछि मेरो आत्मविश्वास वृद्धि भयो, र आफ्नो कर्तव्य पूरा गर्ने मेरो जाँगर पहिलेको भन्दा धेरै बढ्यो।
यो घटना लगत्तै, मैले के खबर सुनेँ भने टेलिफोन निगरानीद्वारा पुलिसले दुई जना सिस्टर लुकेको सहर पत्ता लगाएका छन्, र तिनीहरूलाई खोज्न पुलिसहरू घरघर गइरहेका छन्। पुलिसले सडकमा खोजी चेकपोइन्टहरू पनि बनाएका थिए। केही दाजुभाइ-दिदीबहिनीहरूले खतरा मोलेर ती दुई सिस्टरहरूलाई सहर बाहिरको गुफामा लगे। तर दुई दिनदेखि मौसम अत्यन्तै चिसो थियो, ती दुई जना सिस्टरहरू लुक्दा र भाग्दा-भाग्दा थकित थिए, अनि तिनीहरूले केही पनि खाने कुरा पाएका थिएनन्, त्यसकारण तिनीहरू लामो समयसम्म गुफामा बस्नु असम्भव भयो। तिनीहरूलाई उद्धार गर्नुपर्नेथियो। मैले सोचेँ, “अहिले मेरा ती सिस्टरहरूको नाममा वान्टेड सूचना सडकभरि टाँसिएको छ, र पुलिसले सवारी साधनहरू जाँच गरिरहेका छन्। यदि हामीले ती सिस्टरहरूलाई बाहिर भगाउने प्रयास गर्यौँ र पुलिसको हातमा पर्यौँ भने हामीलाई पक्कै पनि फरार व्यक्तिहरूलाई शरण दिएको आरोप लगाइनेछ। पुलिसले हामीलाई पक्राउ गर्नेछ, मलाई पक्कै पनि कुटेर मारिनेछ, र त्यस्तो भयो भने, मैले कसरी सत्यताको खोजी गरेर मुक्ति पाउनेछु?” मनमा त्यो विचार आएपछि मलाई म फेरि स्वार्थी, घृणित भइरहेकी छु र आफ्नै बारेमा मात्रै सोचिरहेकी छु भन्ने महसुस भयो, त्यसकारण मैले तुरुन्तै परमेश्वरलाई मनमनै प्रार्थना गरेँ र मेरो हृदयको रक्षा गरिदिनुहोस् भनी उहाँलाई अनुरोध गरेँ, ताकि व्यक्तिगत चासोहरूलाई ध्यानै नदिई म परमेश्वरको पक्षमा खडा हुन सकूँ। त्यो बेला मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो, “मानिसको कर्तव्य र उसले आशिष्हरू पाउँछ कि दुर्भाग्य भोग्छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिष्हरू प्राप्त गर्नुले कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्वरको आशिषहरू प्राप्त गर्नुलाई जनाउँछ। दुर्भाग्य भोग्नु भन्नाले सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनुलाई जनाउँछ हो; तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष्हरू पाऊन् वा दुर्भाग्य भोगून्, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम कार्य यही हो। तैँले आशिष्हरू प्राप्त गर्नका लागि मात्रै आफ्नो कर्तव्य पूरा गर्नु हुँदैन, र तैँले दुर्भाग्य भोग्नुपर्ने डरले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारी परमेश्वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता)। आफ्नो कर्तव्य पूरा गर्नु भनेको सृष्टि गरिएको प्राणीको जिम्मेवारी हो, र हामीले त्यसको लागि कुनै सर्त माग गर्नु हुँदैन। वातावरण जति नै खतरनाक होस्, वा हामीले राम्रो अन्त्य र गन्तव्य प्राप्त गरौँ वा नगरौँ, हामीले आफ्नो कर्तव्य पूरा गर्नैपर्छ। सृष्टि गरिएको प्राणीमा हुनुपर्ने समझशक्ति यही हो। मेरा दाजुभाइ-दिदीबहिनीहरूको रक्षा गर्नु मेरो कर्तव्य हो। मैले मेरा सिस्टरहरूलाई लैजाँदै गर्दा मलाई पक्राउ गरी कुटपिट गरेर नै मारियो भने पनि म सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्ने क्रममा मारिनेथिएँ, जुन महिमित कुरा हो! त्यसकारण, हामी ती दुई सिस्टरलाई उद्धार गर्न गयौँ। हामीले तिनीहरूलाई कारको ट्रङ्कमा लुकायौँ, र पुलिसले हामीलाई देख्नेछन् भन्ने डरले हामी मुख्य सडक हुँदै नगएर जङ्गलको सानो रोड हुँदै गयौं। यो यात्राभरि मैले परमेश्वरसँग प्रार्थना गरिरहेँ र उहाँसँग सुरक्षा मागिरहेँ। लगभग एक घण्टापछि हामीले सफलतापूर्वक हाम्रा सिस्टरहरूलाई गन्तव्यमा ल्याइपुर्यायौँ, र मलाई ठूलो राहत भयो। हामी काउन्टी फर्केर आउँदा पुलिसले हाम्रो कार रोक्यो, तर कारमा तिनीहरूले खोजेको कोही नभएपछि तिनीहरूले हामीलाई जान दिए। यो निकै डरलाग्दो कुरा थियो!
मेरो अनुभवद्वारा मैले के देखेँ भने परमेश्वरको कामलाई तोड्न, परमेश्वरका विश्वासीहरूलाई दमन र पक्राउ गर्न कम्युनिस्ट पार्टी पागल अवस्थामा पुगेको छ, र यो जति नै पागल बने पनि यो अझै पनि परमेश्वरको सार्वभौम बन्दोबस्तहरूको विषय हो, र यो परमेश्वरको हातको सेवा पुर्याउने वस्तु हो। परमेश्वरले यो वचनद्वारा के भन्नुभएको हो, त्यो मैले बल्ल बुझेँ, “मेरा सबै योजनाहरूमा, त्यो ठूलो रातो अजिङ्गर मेरो प्रतिभार हो, मेरो शत्रु र मेरो नोकर पनि हो; त्यसैले, मैले त्यसबाट मेरा ‘मागहरू’ कहिल्यै खुकुलो पारेको छैन। यसैकारण मेरो देहधारणको कामको अन्तिम चरण त्यसको घरमा पूरा हुन्छ—ठूलो रातो अजिङ्गरलाई राम्रोसँग मेरो सेवा गर्न यो अझ बढी अनुकूल हुन्छ, जसको माध्यमबाट म त्यसलाई जित्नेछु र मेरो योजना पूरा गर्नेछु” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय २९)। आखिरी दिनहरूमा परमेश्वरले चीनमा ठूलो रातो अजिङ्गरको अखडामा आफ्नो काम गर्नु अत्यन्तै महत्त्वपूर्ण कुरा हो। परमेश्वरले हाम्रो विश्वासलाई सिद्ध पार्न अनि मानिसहरूको समूहलाई सिद्ध पारेर विजेताहरू बनाउन ठूलो रातो अजिङ्गरको सेवा प्रयोग गर्नुहुन्छ। परमेश्वर साँच्चै नै बुद्धिमानी हुनुहुन्छ! सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद होस्!