१०. मेरा उच्च अपेक्षाहरूले मेरो छोरालाई हानि गर्यो

जब म सानी थिएँ, घरमा पाँच जना सन्तान थियौँ, र म जेठी थिएँ। मेरो बुबा धेरै वर्षसम्म घर छोडेर काम गर्नुभयो, र घरको सारा काम आमाको काँधमा पऱ्यो। आमाले अति काम गर्नुहुन्थ्यो र उहाँले कठिनाइहरूको सामना गर्नुपर्थ्यो। त्यसैले मैले तीन कक्षा पुगेपछि पढाइ छाडेँ र आमालाई घर खेतको काम गर्न सघाउन थालेँ। म सधैँजसो यति धेरै थाकेकी हुन्थेँ कि मेरो छातीदेखि ढाडसम्म सबै दुखेको हुन्थ्यो, र यस्तो खालको जिन्दगी निकै कठिन हुँदो रहेछ भन्ने लाग्थ्यो। पछि, मेरो काकाको छोराले कलेजमा प्रवेश पायो, र पूरै परिवार निकै खुसी थियो। मेरा आमाबुबाले नाम कमाएको भन्दै प्राय: उसको प्रशंसा गर्नुहुन्थ्यो। त्यो बेला, मेरो मनमा एउटा विचार आयो: पूरै जीवनमा मैले राम्रो शिक्षा पाएकी थिइनँ वा आफू केही बन्ने मौका पाएकी थिइनँ, तर पछि, मेरा छोराछोरी भएपछि, तिनीहरूलाई प्रतिभावान बनाउनेछु, ताकि हामी यो परिश्रमपूर्ण जिन्दगीबाट निस्कन सकौँ, र आफन्त र छिमेकीको प्रशंसा र आदर पाउन सकौँ, परिवारको सम्मान बढोस्।

बिहेपछि, मेरा दुई सन्तान भए। तिनीहरू प्राथमिक स्कुलमा हुँदा नै मेरी आमाले परमेश्वरमा आस्था राख्नुभयो। कहिलेकाहीँ उहाँले भेला गरी उनीहरूसँग बसेर प्रार्थना गर्नुहुन्थ्यो, अनि तिनीहरूले मेरी आमालाई पढ्न पनि सिकाए। तर त्यो बेला, म मेरा छोराछोरीले पढून् भन्ने मात्र चाहन्थेँ, त्यसैले यो देखेर मैले आमालाई भनेँ, “तपाईँलाई जेमा मन लाग्छ विश्वास गर्नुस्, तर मेरा छोराछोरीसँग भेला गरेर तिनीहरूको पढाइ नबिगार्नुहोस्।” पछि, मैले पनि परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ, तर छोराछोरीको पढाइ र प्रगतिमा विशेष जोड दिन्थेँ, र म कहिलेकाहीँ भेलामा सहभागी हुँदा पनि, झारा मात्र टार्थेँ। अझ धेरै पैसा कमाएर छोराछोरीलाई राम्रो शिक्षा दिन म श्रीमानसँगै कवाडी सङ्कलन गर्न जान्थेँ। हरेक दिन म बिहानदेखि बेलुकासम्म काम गर्थेँ, र यति धेरै थाक्थेँ कि मेरो पूरै शरीर दुखेको हुन्थ्यो, तरपनि आराम गर्दिनथेँ। मेरो दिमागमा एउटा मात्र सोच हुन्थ्योः जतिसुकै सङ्घर्ष गर्नुपरे पनि छोराछोरीलाई राम्रो शिक्षा दिनु छ, ताकि भोलिका दिनमा तिनीहरू राम्रो कलेजमा पढ्न सकून् र राम्रो भविष्य बनोस्। यसका लागि म लखतरान भएपनि त्यो सार्थक हुनेथ्यो!

एक पटक, म छोराछोरीलाई भेट्न घर गएँ, र आमाले मेरो छोराको प्रगति खस्केको बताउनुभयो, मलाई निकै रिस उठ्यो धेरै बेरसम्म छोरालाई गाली गर्दै भनेँ, “तँलाई लाग्छ मैले सजिलैसँग पैसा कमाउँछु? हामीजस्तो कवाडी सङ्कलन गर्नेलाई सबैले हेयको दृष्टिले हेर्छन्। के मैले यो सबै तिमीहरू दुई जनाका लागि सहेको होइन र? यदि मन लगाएर पढ्दैनौ भने, तिमीहरूले के गर्नेछौ?” छोराले सुँक्कसुँक्क गर्दै भन्यो, “आमा, मैले गल्ती गरेँ।” पछि, मलाई डर थियो, मेरी आमाले मेरा दुई बच्चालाई सम्हाल्न सक्नुहुन्न। मलाई तिनीहरूको पढाइ र स्तर खस्कनेछ भन्ने चिन्ता लाग्यो, त्यसैले मैले मेरा छोराछोरीको स्कुलको छेउमा एउटा ठाउँ भाडामा लिएँ र सानो व्यवसाय सञ्चालन गरेँ, यसरी मैले छोराछोरी हाइस्कुल नपुगेसम्म उनीहरूको पढाइ निगरानी गरेँ। ती वर्षमा, मैले आफ्नो सारा ध्यान आफ्नो केटाकेटीमा केन्द्रित गरेँ: मेरा छोराछोरीले कलेजमा प्रवेश पाऊन् भनेर, मैले उनीहरूको पढाइमा कडाइ गरेँ, र उनीहरूले अलिकति पनि फुर्सदको समय पाउँदैनथे। बाथरुममा उनीहरूले धेरैबेर लगाए भने, म छिटो गर भन्थेँ; कहिलेकाहीँ तिनीहरू बाहिर गएर खेल्न वा टीभी हेर्दै आराम गर्न खोज्थे, तर म उनीहरूलाई गाली गर्दै भन्थेँ, “आफ्नो काकालाई हेरः उहाँले प्रतिष्ठित कलेजमा पढ्न पाउनुभयो, र सम्मानित हुने जागिर पाउनुभएको छ। आफन्त र छिमेकी सबैले उहाँको प्रशंसा गर्छन्। तिमीहरूले काकाबाट सिक्नुपर्छ। तिमीहरूले अहिले कष्ट सहेर ज्ञान हासिल गर्दैनौ भने, पछि कसरी राम्रो जीवन पाउन सक्छौ? भनाइ नै छ, ‘अब्बल हुनका लागि ठूलो कष्ट सहनुपर्छ।’” कहिलेकाहीँ म तिनीहरूलाई प्रोत्साहित गर्न लगनशील भई पढेका मानिसको पुराना कथा सुनाउँथेँ। मेरा दुई छोराछोरीले असहाय हुँदै भन्थे, “आमा, अब त चुप लाग्नुस्। हामीले तपाईँले भनेको सबै याद गरिसक्यौँ। ढुक्क हुनुस्, तपाईँका लागि हामी कलेज पढेरै छाड्छौँ!” त्यो समयमा, म छोराछोरीको समय बचाउन हरेक दिन बिहान पाँच बजे उठेर नास्ता बनाउँथेँ, बेलुका खाना तयार गरेर तिनीहरूको स्कुलमा पुऱ्याउँथे। बेलुका अबेरसम्म स्कुलमा स्वअध्ययन गरेर घर आएपछि पनि तिनीहरू पढ्न बसिहाल्थे। तिनीहरू अल्छी होलान् कि भन्ने मलाई डर थियो, त्यसैले मध्यरातसम्म तिनीहरूसँगै जागै रहन्थेँ। तिनीहरूको दैनिक जीवनमा, तिनीहरूको खाना नियमित बनाउन हर तरिकाले सोच्थेँ: कार्प माछाको सुप दिमागका लागि राम्रो हो भन्ने सुनेकी थिएँ, त्यसैले म बेलाबेलामा कार्पको सुप बनाइदिन्थेँ, र विद्यार्थीको दिमागका लागि भनेर बनाइएको विशेष दुध र ब्रेन टनिक पनि किनेर ल्याइदिन्थेँ। हरेक दिन तिनीहरूले लोकल अण्डा खानुपर्थ्यो। बच्चाको शरीरका लागि राम्रो हुने कुनै कुराबारे सुन्नेबित्तिकै म किनिहाल्थेँ। मैले यो मेरा छोराछोरी जान्ने होऊन् र पढाइमा राम्रो गरून् भनेर गरेकी थिएँ। दुवै छोराछोरीले निकै मेहनत गर्थे, र श्रेणी पनि बढ्दै गयो। अन्ततः मेरी छोरी कलेजमा भर्ना भई, मेरो छोरा नमुना परीक्षा दिँदा विशिष्ट विद्यार्थीभित्र पऱ्यो। म निकै खुसी थिएँ, र मैले सोचेँ, “हामी यसरी नै अघि बढिरहयौँ भने, मेरो छोरालाई प्रमुख विश्वविद्यालयमा प्रवेश पाउन कुनै कठिनाइ हुनेछैन।” पछि, मैले मेरो छोरामा झन् कडा निगरानी राखेँ।

कलेजको प्रवेश परीक्षा नजिक आउँदै गर्दा, मेरो छोरा दबाबका कारण तनावमा हुन थाल्यो, उसलाई राति निदाउन मुस्किल पर्न थाल्यो। अन्तत, ऊ बिरामी भयो, ज्वरो र रुघाखोकी लाग्यो। औषधि र खोपले पनि असर गरेन, र उसको पढाइ निरन्तर खस्किरहेको थियो। उसको हालत देखेर मलाई निकै पीडा भयो। मलाई डर थियो, यदि उसले पढाइ गरिरह्यो भने उसको शरीरले थाम्नेछैन, तर निर्णायक क्षण आउनै लागेको थियो। मेरो छोराको बिमारी अझै सुधार भएन, र उसको श्रेणी खस्कियो। भोलिका दिनमा उसको भविष्य कसरी राम्रो होला? उसले प्रवेश परीक्षा पार गर्न सकेन भने, पछिल्ला केही वर्षको मेरो प्रयास खेर जाने थिएन र? अस्वीकार्य कुरा। मेरो छोराले राम्रो अङ्क पाएर भविष्य राम्रो बनाउन सकोस् भनेर मैले उसलाई रातदिन पढ्न लगाउनु थियो। त्यसपछि, म हरेक दिन छोराको ओछ्यानको सिरानतिर बसेर उसले पढेको हेरिरहन्थेँ। छोराले मलाई ऊतिर हेरिरहेको देख्दा असहाय भएर भन्थ्यो, “भोलिका दिनमा मेरो छोराछोरी भए भने, तपाईँले पढाएजस्तो तिनीहरूलाई पढाउँदिनँ। मैले तिनीहरूलाई केही स्वतन्त्रता दिनुपर्छ, बास्केटबल वा टेबलटेनिस खेल्न दिनुपर्छ।” छोराले यसो भनेको सुनेर मेरो मनमा चस्का हान्यो, तर भविष्यमा उसको सफल जीवनका लागि, मैले यो गर्नैपर्थ्यो। मेरो छोराको बिमारीमा अझै सुधार नआएको देख्दा म निकै चिन्तित भएँ, सोच्न थालेँ, “यदि कलेजको प्रवेश परीक्षाको समयसम्म मेरो छोराको स्वास्थ्यमा सुधार भएन भने, यसले निश्चयनै उसको प्रदर्शनमा प्रभाव पार्नेछ। परीक्षामा राम्रो गरेन भने, के मेरा पहिलेका सबै प्रयास खेर जाने थिएनन् र? हाम्रा आफन्त र छिमेकीले मलाई हाँसोको पात्र बनाउनेछन्। मैले धेरै प्रयास गरेँ, यति ठूलो मूल्य चुकाएँ तर अन्तमा मसँग केही रहेन। मेरो प्रतिष्ठा के होला?” मेरो छोराको बिमारी छिटो निको बनाउन जताततै डाक्टरसँग औषधि माग्थेँ। तर मेरो छोराको स्वास्थ्यमा अझै सुधार आएन। हरेक दिन मेरो अनुहार चिन्ताले विकृत हुन्थ्यो, र भारी सास फेर्थेँ, कहिले मेरो छोराको स्वास्थ्यमा सुधार होला भनेर सोचिरहन्थेँ। कुनै उपाय नसुझेपछि मलाई आफू इसाई हुँ भन्ने याद आयो, र मैले यी कठिनाइ परमेश्वरको हातमा सुम्पिएर उहाँमा भर पर्नुपर्छ भन्ने लाग्यो। अनि, म प्रार्थनामा परमेश्वरसामु आएँ र भनेँ, “हे परमेश्वर! मेरो छोराले उसको रोगका लागि औषधि खायो, खोप लियो तर सुधार भएको छैन। कलेजको प्रवेश परीक्षा नजिक आइसक्यो, र के गर्ने होला भनी म अलमल्ल छु। हे परमेश्वर, मेरो छोराको बिमारी चाँडै निको बनाइदिनुस्।” एक रात, म बाहिर घुमिरहेको बेला एकजना सिस्टरसँग भेट भयो। उनले आजकल मेरो स्थिति कस्तो छ भनेर सोधिन्। मैले सिस्टरलाई आफ्नो पीडा बताएँ, र उनले यसो भन्दै मसँग सङ्गति गरिन्, “हामी परमेश्वरका विश्वासी हौँ। तपाईँले आफ्नो छोराको पढाइ र अवस्थालाई परमेश्वरका हातमा सुम्पनुपर्छ परमेश्वरलाई नै यो सम्हाल्न दिनुहोस्।” ती सिस्टरले मलाई परमेश्वरका वचनको एउटा खण्ड पढेर पनि सुनाइन्ः “मानिसको भाग्य परमेश्‍वरका हातहरूद्वारा नियन्त्रित हुन्छ। तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्: मानिसले सधैँ आफ्नै खातिर भागदौड गरे तापनि र व्यस्त रहे तापनि उसले आफूलाई नियन्त्रण गर्न सक्दैन। यदि तैँले आफ्नै भविष्य जान्न सक्थिस् भने, यदि तैँले आफ्नै भविष्यलाई नियन्त्रण गर्न सक्थिस् भने, के तँ अझै सृष्टि गरिएको प्राणी नै हुनेथिइस् र? … त्यसैले परमेश्‍वरले मानिसलाई जसरी सजाय दिनुभए तापनि, न्याय गर्नुभए तापनि, यो सबै मानिसको मुक्तिको निम्ति हो। उहाँले मानिसलाई उसका शारीरिक आशाहरूबाट बञ्चित गर्नुहुने भए तापनि यो उसको शुद्धीकरणको निम्ति हो र मानिसको शुद्धीकरण ऊ बाँच्न सकोस् भन्‍ने हेतुले गरिन्छ। मानिसको गन्तव्य सृष्टिकर्ताको हातमा छ, त्यसैले कसरी मानिसले आफूलाई नियन्त्रण गर्न सक्थ्यो र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। परमेश्वरका वचन सुनेपछि, मैले बुझेँ कि एउटा सृजित प्राणीका लागि उसले यस जीवनमा कति कष्ट सहने, कति आशिष् पाउने भनेर परमेश्वरले निर्धारित गरिसक्नुभएको छ कसैले त्यो बदल्न सक्दैन। मानिसले आफ्नो भाग्य र भविष्यका लागि सबै कुरा सोच्छन्, ख्याति र प्राप्तिका लागि भागदौड गरिरहन्छन्, तर जति पैसा कमाएपनि वा जति उच्च शिक्षा भएपनि तिनीहरूले आफ्नो वा अरूको भाग्य बदल्न सक्दैनन्। मैले उत्कृष्ट बन्ने र परिवारको नामलाई गौरवान्वित बनाउने, श्रेष्ठ जीवन जीउने चक्करमा आफूले साकार बनाउन नसकेको सपना छोराछोरीमाथि कसरी थोपरेको थिएँ, उनीहरूमाथि धेरै परिश्रम गरेकी थिएँ भन्ने सम्झेँ। उनीहरूलाई राम्रो शिक्षा दिन, श्रीमान र मैले सङ्घर्ष गर्दै पैसा कमायौँ, हाम्रो शरीर थाकेर लखतरान हुँदा पनि हामीले काम गरिरह्यौँ। हाम्रा छोराछोरीले सफल हुँदासम्म यी सबै कष्ट र थकान सार्थक हुन्थे। छोराछोरीले प्रतिष्ठत कलेजमा नाम निकालून् भनेर तिनीहरूलाई स्वतन्त्रता पनि दिइनँ। मेरो छोरा निकै तनावग्रस्त अवस्थामा पुग्यो, निद्रा नपुग्दा नि केही भन्ने हिम्मत गरेन। खोकी र बिमारीले ग्रस्त हुँदा पनि उसले पढेको हेर्थेँ। मैले छोराको स्नायुमा दबाब मात्र दिएँ, र उसलाई वर्णन गर्न नसकिने पीडा दिएँ। मैले उसलाई नियन्त्रण गरेँ, उसको भाग्य बदल्ने महत्त्वाकाङ्क्षा राखेँ यो परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुनु थिएन; यो परमेश्वरविरुद्धको विद्रोह थियो! यो बुझेर, मैले परमेश्वरलाई प्रार्थना गरेँ, मेरो छोराको भविष्य उहाँमा सुम्पिन इच्छुक छु भनेँ, उसले कलेजमा प्रवेश पाएपनि-नपाएपनि, चाहे जे भएपनि म छोरालाई फेरि कहिल्यै त्यसरी दबाब दिनेछैन। यसपछि, मेरो हृदयले पनि केही राहत पायो। मात्र केही दिनपछि, मैले सुनेँ कि हामी बस्ने भवनको तेस्रो तलाको एउटा केटाको तेस्रो वर्षको पढाइको दबाबका कारण अचानक दिमागको सन्तुलन बिग्रियो; दिनरात ऊ आमाबुबालाई चिच्याउँदै गाली गर्छ, “तिमीहरूले नै मलाई यस्तो बनाएको हो! तिमीहरूले नै मलाई यस्तो बनाएको हो!” त्यो बेला, म धेरै डराएँ र छोरालाई पढ्न भनेर मैले दबाब दिएका हरेक दृश्य झल्झल्ती मेरा आँखामा नाच्न थाले। मलाई चिन्ता लाग्यो कि मैले छोरालाई पढ्न यसरी नै दबाब दिइरहेँ भने, मेरो छोरा पनि त्यो केटाजस्तै होला कि? मैले मनमनै सोचेँ, “मैले छोरालाई यसरी दबाब दिइरहनु हुँदैन।” त्यस बेलादेखि, म भेलामा नियमित गई परमेश्वरका वचन खान र पिउन थालेँ, छोरालाई पढाइमा फेरि कहिल्यै दबाब दिइनँ।

पछि, मेरो छोराले अप्रत्याशित रूपमा एउटा प्रमुख विश्वविद्यालयमा प्रवेश पायो। म धेरै खुसी भएँ, तर सो खुसी सकिएपछि मेरो हृदय बेचैन भयो। किनभने परमेश्वरका वचन पढेर मैले के पनि बुझेकी थिएँ भने ज्ञानमा धेरै कयौँ नास्तिक विचार र दृष्टिकोण हुन्छन्। व्यक्तिले जति धेरै ज्ञान प्राप्त गर्छ, उति नै धेरै उसमा शैतानी विष प्रवेश हुन्छ। यी कुराले मानिसलाई परमेश्वरबाट पर लैजान्छ, उहाँलाई इन्कार गर्ने बनाउँछ, अन्तमा, उहाँले दिनुहुने मुक्ति गुमाउँछ। यदि मेरो छोरा केही वर्ष कलेज गयो र उसमा शैतानको धेरै भ्रमहरू रोपिए भने, उसलाई परमेश्वरसामु आउन गाह्रो हुनेछ, त्यसैले मैले सोचेँ, उ फर्केर आएपछि उसँग भेला गर्नेछु, उसलाई परमेश्वरका वचन खुवाउनेछु, पियाउनेछु, उसलाई परमेश्वरबाट धेरै पर हुन दिनेछैन। मैले छोराछोरी सानै हुँदा कसरी उनीहरू मेरी आमासँगै परमेश्वरमा विश्वास, प्रार्थना र भेला गर्थे भन्ने कुरा सम्झेँ, तर त्यो समयमा म उनीहरूले राम्रो शिक्षा पाउन् भन्ने मात्रै चाहन्थेँ, परमेश्वरसामु ल्याउन चाहन्नथेँ। अब, विपत्ति झन्-झन् नजिकै आएको देखेँ। मेरा छोराछोरी परमेश्वरमा विश्वास गर्दैनथे, न उनीहरूले परमेश्वरको रेखदेख र सुरक्षा प्राप्त गरेका थिए। सायद एकदिन तिनीहरूमाथि विपत्ति आउनेछ, र मर्नेछन्। म मेरा छोराछोरीलाई सुसमाचार सुनाउन र उनीहरूलाई परमेश्वरसामु ल्याउन चाहान्थेँ। त्यसैले, उनीहरू छुट्टीमा घर आउँदा म उनीहरूलाई परमेश्वरका वचन पढेर सुनाउनेछु। जब मैले उनीहरूलाई परमेश्वरका वचन पढेर सुनाएँ, उनीहरूले सुने, तर भेला गर्ने कुरा गर्नेबित्तिकै मेरो छोरो इच्छुक भएन। उसले मेरो कुरा टाल्दै भन्यो, “म धेरै व्यस्त छु! आज म जहाँ छु त्यहाँ सजिलै पुगेको होइन; यदि मैले राम्रोसँग पढिनँ भने मेरो जीवन कसरी राम्रो हुनेछ? प्रतिस्पर्धा अहिले निकै कडा छ, र सम्मानजनक जागिर पाउन सजिलो छैन। म कुरा बुझ्दिनँ: मैले मास्टर डिग्री पूरा गरिसकेँ, अहिले पीएचडी गर्दैछु—तपाईँले सधैँ चाहेको कुरा यही होइन र? मैले सफलता र पहिचान पाउनै लागेको छु, र अन्ततः जीवन राम्रो हुन लागेको छ—तपाईँ त मेरा लागि खुसी हुनुपर्ने हो। किन यस्तो लाग्दैछ कि तपाईँ अर्कै व्यक्ति बन्नुभएको छ, जसले मलाई अन्तिम क्षणमा पछि हट्न भनिरहेको छ?” मेरो छोराले भनेको कुरा सुनेर मलाई अवर्णनीय पीडा भयो। उसले भनेका हरेक शब्दमा मैले उसको कानमा हरेक दिन फुक्ने गरेका कुरा नै थिए। अहलिे, मेरो छोरा आफ्नो शोधपत्रमा व्यस्त थियो, हरेक रात ऊ राति १ बजेसम्म जागै रहन्थ्यो। बीस वर्षको उमेरतिरै उसको तालु खुइलिन थालेको थियो। मेरो छोरा निकै थकित हुने गरेको देख्दा, मलाई चिन्ता र निराशा हुन्थ्यो, त्यो बेला बच्चाहरूलाई म कसरी पढाउने गर्थेँ भन्ने सम्झेर आफैप्रति घृणा लाग्थ्यो। अहिले मैले मेरो छोरालाई प्रतिभावान् व्यक्ति बनाएकी थिएँ, तर ऊ परमेश्वरबाट पर गएको थियो।

पछि, मैले मनन गरेँ: छोराछोरीलाई ज्ञान, ख्याति र लाभ पछ्याउने तुल्याउन सक्दो गरेकी थिएँ, तर पछि, मेरा छोराछोरी भएपछि, तिनीहरूलाई प्रतिभावान् बनाउनेछु, तर, आखिरमा मैले मेरा छोराछोरीलाई के दिएँ? के मैले उनीहरूलाई साँचो खुसी दिएँ? एक दिन आत्मिक उपासना दौरान, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “पारिवारिक बोझको सम्बन्धमा भन्नुपर्दा, हामी यसलाई दुई पक्षबाट छलफल गर्न सक्छौँ। एउटा पक्ष आमाबुबाका अपेक्षाहरू हो। हरेक आमाबुबा वा अग्रजसँग आफ्ना छोराछोरीप्रति ठूला-साना विविध अपेक्षाहरू हुन्छन्। तिनीहरू आफ्ना छोराछोरीले मेहनतसाथ अध्ययन गर्नेछन्, सुशील व्यवहार गर्नेछन्, स्कुलमा उत्कृष्ट नतिजा ल्याउनेछन्, उत्कृष्ट विद्यार्थी बन्नेछन्, र अल्छी गर्नेछैनन् भनी आशा गर्छन्। तिनीहरू आफ्ना छोराछोरीलाई शिक्षक र सहपाठीहरूले सम्मान गरून्, र तिनीहरूको ग्रेड नियमित रूपमा ८० भन्दा माथि होस् भन्‍ने चाहन्छन्। बच्चाले ६० अङ्क प्राप्त गरेमा उसलाई पिटिनेछ, र उसले ६० भन्दा कम अङ्क ल्याएमा उसले भित्तामा फर्केर आफ्ना गल्तीहरूबारे सोच्नुपर्नेछ, वा सजायस्वरूप नहल्लीकन उभिनुपर्नेछ। उसलाई खान, सुत्न, टिभी हेर्न, वा कम्प्युटरमा खेल्न दिइनेछैन, र उसलाई पहिले किनिदिने भनिएका राम्रा कपडा र खेलौनाहरू अब किनिदिइनेछैन। हरेक आमाबुबाहरू आफ्ना छोराछोरीप्रति विविध अपेक्षाहरू राख्छन् र उनीहरूमाथि ठूलाठूला आशाहरू राख्छन्। तिनीहरू आफ्ना छोराछोरीले जीवनमा सफलता पाउनेछन्, आफ्नो करियरमा फड्को मार्नेछन्, र आफ्ना पुर्खा र परिवारलाई सम्मान र गौरव दिलाउनेछन् भनी आशा गर्छन्। … त्यसोभए आमाबुबाका यी चाहनाहरूले तिनीहरूका छोराछोरीमाथि अनजानमा के-कस्ता परिणामहरू सिर्जना गर्छन्? (दबाब।) यी कुराहरूले दबाब सिर्जना गर्छन्, अनि अरू के सिर्जना गर्छन्? (बोझ।) यी कुराहरू दबाब र जन्जिर बन्छन्। आमाबुबाले आफ्ना छोराछोरीप्रति अपेक्षाहरू राख्ने भएकाले, तिनीहरूले छोराछोरीलाई ती अपेक्षाहरूअनुसार नै अनुशासनमा राख्छन्, मार्गदर्शन गर्छन्, र शिक्षा दिन्छन्; तिनीहरू आफ्ना अपेक्षाहरू पूरा गरून् भनेर छोराछोरीमा लगानी गर्ने वा उनीहरूको लागि जतिसुकै मूल्य तिर्ने कामसमेत गर्छन्। उदाहरणको लागि, आमाबुबाहरू आशा गर्छन् कि तिनीहरूका छोराछोरी स्कुलमा उत्कृष्ट बन्नेछन्, कक्षाकै उत्कृष्ट हुनेछन्, हरेक जाँचमा ९० भन्दा बढी अङ्क ल्याउनेछन्, सधैँ एक नम्बरमा आउनेछन्—वा नराम्रै भए पनि, पाँचौँ स्थानभन्दा तल कहिल्यै आउनेछैनन्। यी अपेक्षाहरू व्यक्त गरिसकेपछि, के आमाबुबाले पनि आफ्ना छोराछोरीलाई यी लक्ष्यहरूमा पुग्न मद्दत गर्न निश्‍चित त्यागहरू गरिरहेका हुँदैनन् र? (हुन्छन्।) यी लक्ष्यहरूमा पुग्नलाई छोराछोरीले बिहान सबेरै उठेर पाठहरू दोहोर्‍याउनेछन् र घोक्नेछन्, र उनीहरूलाई साथ दिन आमाबुबा पनि सबेरै उठ्नेछन्। गर्मीयाममा तिनीहरूले छोराछोरीलाई फ्यान चलाइदिने, चिसो पेय पदार्थ बनाइदिने वा आइसक्रिम किनिदिने गर्छन्। तिनीहरू बिहान उठेर सुरुमै छोराछोरीको लागि सोया दूध, डो स्टिक, र अण्डा तयार पार्छन्। विशेषगरी परीक्षाको समयमा, आमाबुबाले आफ्ना छोराछोरीलाई एउटा फ्राइ डो स्टिक र दुइटा अण्डा खान दिन्छन्, र यी चिजहरूले उनीहरूलाई १०० अङ्क ल्याउन मद्दत गर्नेछ भन्‍ने आशा गर्छन्। यदि तैँले ‘यो सबै खान सक्दिनँ, एउटा अण्डा भए पुग्छ’ भनिस् भने, तिनीहरूले यसो भन्‍नेछन्, ‘ए मूर्ख, एउटा मात्र अण्डा खाइस् भने तैँले १० अङ्क मात्र ल्याउनेछस्। आमाको लागि अर्को पनि खा त। सक्दो कोसिस गर्; यदि तैँले यो खाइस् भने, तैँले सय अङ्क ल्याउनेछस्।’ बच्चाले भन्छ, ‘म भर्खरै त उठेको, अहिले नै खान सक्दिनँ।’ ‘हुँदैन, तैँले खानैपर्छ! असल बनेर आमाले भनेको मान्। आमाले यो तेरै निम्ति गरेकी हो, त्यसैले आमाको लागि भए पनि यो खा त।’ अनि, बच्चाले मनन गर्छ, ‘आमाले निकै ख्याल राख्‍नुहुन्छ। उहाँले गर्ने सबथोक मेरै लागि हो, त्यसैले म खानेछु।’ खान त अण्डा नै खाइन्छ, तर के निलिन्छ? दबाब; हिचकिचाहट र अनिच्छा निलिन्छ। खानु राम्रो हो र आमासँग उच्च अपेक्षाहरू छन्, र मानवता र विवेकको नजरले हेर्दा यी कुराहरू स्विकार्नुपर्छ, तर समझको आधारमा हेर्दाचाहिँ, व्यक्तिले यस्तो प्रेम नकार्नुपर्छ र यस्तो कार्यशैली स्विकार्नु हुँदैन। … खासगरी, केही आमाबुबाले आफ्ना छोराछोरीले आफूलाई उछिन्न सकून् भन्‍ने आशाले र आफूले पूरा गर्ने नसकेको इच्छा छोराछोरीले पूरा गरून् भन्‍ने झनै ठूलो आशाले आफ्ना छोराछोरीमाथि विशेष अपेक्षाहरू राख्ने गर्छन्। उदाहरणको लागि, कतिपय आमाबुबा आफै डान्सर बन्न चाहेका तर तिनीहरू हुर्केको युग वा पारिवारिक परिस्थितिहरूजस्ता विविध कारणले अन्त्यमा तिनीहरूले त्यो इच्छा पूरा गर्न नसकेका हुन सक्छन्। त्यसैले, तिनीहरू त्यो इच्छा तँमाथि लाद्‌छन्। पढाइमा उत्कृष्ट हुनेहरूमध्येमा पर्न र कुनै प्रतिष्ठित विश्‍वविद्यालयमा भर्ना पाउनुपर्ने दबाबबाहेक, तिनीहरूले तँलाई नृत्य कक्षामा पनि भर्ना गरिदिन्छन्। तिनीहरूले तँलाई विद्यालयभन्दा बाहिर विविध नृत्यशैलीहरू सिक्न, कक्षामा अझ बढी सिक्न, घरमा अझ बढी अभ्यास गर्न, र कक्षामा सर्वोत्कृष्ट बन्न लगाउँछन्। अनि अन्त्यमा, तिनीहरूले तँलाई एउटा प्रतिष्ठित विश्‍वविद्यालयमा भर्ना प्राप्त गर्न मात्र नभई, तँलाई एक डान्सर बन्न पनि दबाब दिन्छन्। तेरा विकल्पहरू कि त डान्सर बन्ने कि त कुनै प्रतिष्ठित विश्‍वविद्यालयमा पढ्ने, र त्यसपछि ग्र्याजुएट स्कुलमा जाने र पी.एच.डी. गर्ने हुन्छन्। तँसित रोज्नको लागि यी दुई मार्गहरू मात्र छन्। तिनीहरूले अपेक्षाहरू राख्दै, एकातिर, तैँले स्कुलमा मेहनतसाथ अध्ययन गर्ने, एउटा प्रतिष्ठित विश्‍वविद्यालयमा भर्ना प्राप्त गर्ने, तेरा साथीहरूभन्दा अलग देखिने, र समृद्ध र गौरवशाली भविष्य बनाउने आशा गर्छन्। अर्कोतिर, तिनीहरूका अपूरा इच्छाहरू तँमाथि लाद्छन्, र तैँले तिनीहरूको निम्ति ती इच्छाहरू पूरा गर्न सक्‍ने आशा गर्छन्। यसरी, शैक्षिक क्रियाकलाप वा तेरो भावी करियरको सम्बन्धमा, तैँले एकै पटक दुई वटा बोझहरू बोक्छस्। एक अर्थमा, तैँले तिनीहरूका अपेक्षाहरू पूरा गर्नुपर्छ र तिनीहरूले तेरो लागि गरेका सबै कुराको ऋण तिर्नुपर्छ, र अन्त्यमा तेरा साथीहरूभन्दा अलग देखिने कोसिस गर्नुपर्छ ताकि तिनीहरूले राम्रो जीवनमा रमाउन सकून्। अर्को अर्थमा, तिनीहरूले आफ्नो बैँसमा हासिल गर्न नसकेका सपनाहरू तैँले पूरा गर्नुपर्छ र तिनीहरूलाई तिनीहरूका इच्छाहरू पूरा गर्न मद्दत गर्नुपर्छ। यो थकानलाग्दो कुरा हो, होइन र? (हो।) तँलाई यीमध्ये एउटा बोझ उठाउन नै गाह्रो परिसकेको हुन्छ; जुन भए पनि एउटा नै तँलाई भारी पर्छ र तैँले सास फेर्न पनि सक्दैनस्। विशेषगरी आजको अत्यन्तै तीव्र प्रतिस्पर्धाको युगमा, आमाबुबाले आफ्ना छोराछोरीमाथि लाद्‌ने विविध अपेक्षाहरू सोझै असहनीय र अमानवीय छन्; ती सम्पूर्ण रूपले अनुचित छन्। गैरविश्‍वासीहरू यसलाई के भन्छन्? भावनात्मक दबाब। गैरविश्‍वासीहरूले यसलाई जे भने पनि, तिनीहरूले यो समस्या हल गर्न सक्दैनन्, र यो समस्याको सार प्रस्ट बुझाउन सक्दैनन्। तिनीहरूले यसलाई भावनात्मक दबाब भन्छन्, तर हामी के भन्छौँ? (जन्जिर र बोझ भन्छौँ।) हामी यसलाई बोझ भन्छौँ। बोझको सम्बन्धमा भन्नुपर्दा, के त्यो कुनै व्यक्तिले बोक्नुपर्ने चिज हो त? (होइन।) यो तैँले लिने थप वा अतिरिक्त कुरा हो। यो तेरो पाटो होइन। यो तेरो शरीर, हृदय र प्राणमा भएको वा तिनलाई आवश्यक पर्ने कुरा होइन, यो पछि थपिएको कुरा हो। यो बाहिरबाट आउँछ, तँभित्रबाट होइन(वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (१६))। जब मैले परमेश्वरका वचनको यो खण्ड पढेँ, यसले मेरो हृदयमा घोच्यो। मैले मेरा छोराछोरीलाई यसरी नै शिक्षा दिएकी थिएँ। मलाई आफूले सानैदेखि घरखेतीको काम गर्नुपरेको, निकै कष्ट भोग्नुपरेको सानोमा नपढेर, राम्रो शिक्षा नपाएर हो भन्ने लाग्थ्यो। त्यसैले मेरा अधुरा चाहनालाई मेरा छोराछोरीमा लादेँ, तिनीहरूले राम्रोसँग पढेर प्रतिष्ठित कलेजमा प्रवेश पाउन् भन्ने कामना गरेँ, ताकि भविष्यमा उनीहरू सफल होऊन्, उत्कृष्ट होऊन् र परिवारको नाम उज्यालो बनाऊन्। यो लक्ष्य हासिल गर्न, मेरा छोराछोरीलाई सानैदेखि मैले दबाब दिएँ। सानो हुँदा तिनीहरू प्रार्थना गर्न र भेला हुन इच्छुक हुन्थे, तर मलाई यसले तिनीहरूको पढाइ बिग्रिन्छ भन्ने डर लाग्थ्यो, त्यसैले आमालाई तिनीहरूसँग भेला हुन दिन्नथेँ। तिनीहरूले खेल्नुपर्ने बेलामा मैले तिनीहरूलाई खेल्न दिइनँ, तिनीहरूको श्रेणी अलिकति पनि खस्किँदा म गाली गर्थेँ, तिनीहरूमा केही गलत विचार रोप्थेँ, दबाब दिन्थेँ। कलेजको प्रवेश परीक्षाको दबाबले छोरा बिरामी भयो; यसले उसको नतिजामा असर गर्नेछ भन्ने मलाई डर लाग्यो, त्यसैले ऊ अल्छी नहोस् भनेर म हरेक दिन उसको निगरानी गर्थेँ। मलाई उसले परीक्षा बिगार्यो भने हाम्रो सबै प्रयास खेरै जानेछ भन्ने चिन्ता लाग्थ्यो। मैले छोरामाथि निकै ठूलो दबाब थोपरेकी थिएँ। बाहिरबाट, यो सबै मैले छोराका लागि गरिरहेकोझैँ देखिन्थ्यो, तर वास्तवमा, म ऊ प्रतिष्ठित विश्वविद्यालय जाओस्, बाँकीभन्दा अलग देखियोस्, मेरो तुरही बजाओस्, मेरा आदर्श र चाहना साकार बनाओस् भन्ने चाहन्थेँ। यसलाई याद नगरी, मैले छोरालाई ठूलो भार र दबाब दिएँ, मानौँ, मैले उसलाई अदृश्य साङ्लोले बाँधिरहेकी छु। अहिले मेरो छोराले शीर्ष स्थानमा पर्ने शिक्षालयमा पढ्न पाएर मेरा चाहना पूरा भएपछि मेरो अनुहार सम्मानले चम्केको थियो, मेरो घमण्ड तृप्त भएको थियो, तर मेरो छोरा परमेश्वरबाट टाढा भएको थियो। अहिले म उसँग आस्थाको विषयमा कुरा गर्दा, ऊ टाल्ने र बहाना बनाउने गरिरहन्थ्यो, ऊ परमेश्वरका वचन पढ्ने मुडमा हुन्थेन। हरेक दिन, ऊ ख्याति र लाभको बन्धनले बाँधिएको थियो। उसले ख्याति र लाभका लागि दिमाग खियाउँथ्यो, आफ्नो सोचलाई व्यक्तिगत सम्बन्धहरूको व्यवस्थापन गर्नेबारे मै सकाउँथ्यो उसको जीवन निकै दयनीय र थकाइलाग्दो थियो। मेरो छोरा आज जस्तो थियो उसलाई त्यस्तो बनाउने म नै थिएँ।

पछि, मैले परमेश्वरका केही अरू वचन पढेँ: “उदाहरणका लागि, जब उनीहरू सानै थिए, तब तैँले उनीहरूलाई निरन्तर शिक्षा दिइस्, र भनिस्, ‘मेहनत गरेर पढ, कलेज जाऊ, स्नातकोत्तर वा विद्यावारिधि पूरा गर, राम्रो जागिर खोज, विवाह गरेर परिवार सुरु गर्नका लागि सुहाउँदो जोडी खोज, अनि त्यसपछि जीवन राम्रो हुनेछ।’ तैँले दिएको शिक्षा, हौसला र विविध स्वरूपका दबाबमार्फत उनीहरूले तैँले तोकेका मार्ग पछ्याएर जीवन जिए अनि तैँले अपेक्षा गरेको कुरा तैँले इच्छा गरेअनुसार नै हासिल गरे, र अहिले उनीहरू पछाडि फर्कनै सक्दैनन्। यदि तेरो आस्थाका कारण निश्चित सत्यताहरू र परमेश्‍वरका अभिप्राय बुझेपछि, अनि सही सोच र दृष्टिकोणहरू प्राप्त गरेपछि, अब तैँले उनीहरूलाई ती कुराहरू पछ्याउन छोड भन्‍ने कोसिस गरिस् भने, उनीहरूले उल्टै यस्तो प्रश्न गर्ने सम्भावना हुन्छ, ‘के म ठ्याक्कै तपाईंले चाहनुभएकै कुरा गरिरहेको छैनँ र? के तपाईंले मलाई सानोमा यी कुराहरू नै सिकाउनुभएको होइन र? के तपाईंले मबाट यही कुरा माग्नुभएको होइन र? अहिले तपाईं मलाई किन रोकिरहनुभएको छ? के मैले जे गरिरहेको छु त्यो गलत छ? मैले यी कुराहरू हासिल गरेको छु र अब म ती कुरामै रमाउन सक्छु; तपाईंले खुसी, सन्तुष्ट र मप्रति गर्व महसुस गर्नुपर्छ, हैन र?’ यो सुनेपछि तैँले कस्तो महसुस गर्थिस्? के तँ खुसी हुनुपर्छ कि रुनुपर्छ? के तँलाई पछुतो हुनेथिएन र? (हुनेथियो।) अब तैँले उनीहरूलाई फकाउन सक्दैनस्। यदि तैँले उनीहरू सानो छँदा उनीहरूलाई यस तरिकाले शिक्षा नदिएको भए, यदि तैँले उनीहरूलाई कुनै दबाबविना सुखी बालापन दिएको भए, अरूभन्दा उत्कृष्ट हुन, उच्च पदमा रहेर काम गर्न वा धेरै पैसा कमाउन, वा प्रसिद्धि, नाफा र हैसियतको पछि लाग्न नसिकाएको भए, यदि तैँले उनीहरूलाई असल, साधारण मानिस हुन मात्र दिएको भए, उनीहरूले धेरै पैसा कमाऊन्, धेरै रमाइलो गरून्, वा तँलाई धेरै हेरून् भन्‍ने माग नगरेको भए, र उनीहरूलाई केवल स्वस्थ र खुसी हुनू, सरल र खुसी व्यक्ति हुनू भनेको भए, सायद परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि तँमा आएका सोच र दृष्टिकोणहरूलाई उनीहरूले सुन्ने थिए। त्यसपछि, जीवन र समाजको दबाब कम भएर अहिले उनीहरूको जीवन सुखी हुन सक्थ्यो। उनीहरूले प्रसिद्धि र नाफा हासिल नगरे पनि, कम्तीमा उनीहरूको हृदयलाई खुसी र शान्ति महसुस भएको हुनेथ्यो। तर उनीहरूको विकासका वर्षहरूमा, तेरो बारम्बारको उक्साहट र जोडका कारण, तेरो दबाबमा, उनीहरू निरन्तर ज्ञान, पैसा, प्रसिद्धि र नाफाको पछि लागे। अन्त्यमा, उनीहरूले प्रसिद्धि, नाफा र हैसियत प्राप्त गरे, उनीहरूको जीवनमा सुधार आयो, उनीहरू अझ धेरै रमाए, र उनीहरूले अझ धेरै पैसा कमाए, तर उनीहरूको जीवन शिथिल छ। तैँले हरेक पटक उनीहरूलाई देख्दा, उनीहरूको मुहारमा थकान देखिन्छ। उनीहरू घर फर्केर तँकहाँ आएपछि मात्र आफ्नो खोल खोलेर आफू थकित भएको र आराम गर्न चाहेको भन्‍ने आँट गर्छन्। तर बाहिर निस्कनेबित्तिकै उनीहरू उही मानिस रहँदैनन्—उनीहरू फेरि खोल ओढ्छन्। तैँले उनीहरूको थकित र दयनीय भाव हेर्छस्, र तँलाई उनीहरूप्रति दया लाग्छ, तर तँसित उनीहरूलाई पहिलेकै अवस्थामा फर्काउने शक्ति हुँदैन। उनीहरू फर्कनै सक्दैनन्। यो कसरी भयो? के यो तेरो अभिभावकत्वसँग सम्बन्धित छैन र? (छ।) यी कुनै पनि उनीहरूलाई स्वाभाविक रूपमा थाहा भएको वा उनीहरूले सानै उमेरदेखि पछ्याएको कुरा थिएनन्; तेरो अभिभावकत्वसँग यसको सिधा सम्बन्ध छ। उनीहरूको अनुहार देख्दा, उनीहरूको जीवन यो स्थितिमा देख्दा, के तँलाई उदास महसुस हुँदैन? (हुन्छ।) तर तँ शक्तिहीन छस्; तँसित पछुतो र दुःख मात्र बाँकी छ। तँलाई तेरो सन्तान पूर्णतया शैतानको प्रभावमा परेको छ र ऊ त्यहाँबाट फर्कन सक्दैन, र तँसित उसलाई उद्धार गर्ने शक्ति छैन भन्‍ने महसुस होला। यो तैँले अभिभावकका रूपमा आफ्नो जिम्मेवारी पूरा नगरेर भएको हो। तैँले नै उनीहरूलाई हानि गरेको, आफ्नो त्रुटिपूर्ण वैचारिक शिक्षा र मार्गदर्शनद्वारा विचलित पारेको होस्। उनीहरू कहिल्यै फर्कन सक्दैनन्, र अन्त्यमा तँसित पछुतोबाहेक केही हुनेछैन। तैँले आफ्नो सन्तानले दुःख भोगेको, यो दुष्ट समाजले भ्रष्ट तुल्याएको, जीवनका दबाबहरूले थिचेको टुलुटुलु हेर्नबाहेक केही गर्न सक्दैनस्, र तैँले उनीहरूलाई कसैगरी मद्दत गर्न सक्दैनस्। तैँले यति मात्र भन्न सक्छस्, ‘बारम्बार घर आइराख, म तिमीलाई मिठोमिठो पकाएर खुवाउनेछु।’ खानाले कस्ता समस्याहरू हल गर्न सक्छ? त्यसले केही पनि हल गर्न सक्दैन। उनीहरूको सोच परिपक्व बनिसकेको हुन्छ र त्यसले आकार लिइसकेको हुन्छ, र उनीहरू आफूले प्राप्त गरेको प्रसिद्धि र हैसियत त्याग्न इच्छुक हुँदैनन्। उनीहरू अघि बढ्न मात्र सक्छन्, पछि फर्कन सक्दैनन्। यो आमाबुबाले आफ्ना छोराछोरीहरूका प्रारम्भिक वर्षमा गलत मार्गदर्शन प्रदान गर्नु र उनीहरूमा गलत विचारहरू स्थापित गर्नुको प्रतिकूल परिणाम हो(वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (१९))। मैले परमेश्वरका वचनको यो खण्ड केही पटक पढेँ, हरेक पटक पढ्दा मेरो मुटु छुन्थ्यो, निकै दुःख लाग्थ्यो र पश्चतपाको आँसु बग्थ्यो। सम्झन्थेँ, छोरा सानो हुँदा कति सरल थियो, परमेश्वरमा विश्वास गर्थ्यो, हजुरआमासँग भेलामा उपस्थित हुन इच्छुक हुन्थ्यो। तर म भने, यी शैतानी दृष्टिकोणले प्रभावित थिएँ, “ज्ञानले तिम्रो भाग्य बदल्न सक्छ”, “किताबको अघि सबै कुरा फिका हुन्छ,” “दिमाग खियाउनेहरू अरुमाथि शासन गर्छन्, हात खियाउनेहरू अरुद्धारा शासित हुन्छन्,” र “आफ्नो नियति आफ्नै हातमा हुन्छ।” अनि, उत्कृष्ट बनेर परिवारलाई सम्मानित बनाउनुपर्छ भन्नेतिर लागेँ, र छोरामा यी सोचहरू रोपेँ, उसलाई ज्ञानको दलदलमा धकेलेँ, ताकि उसले सम्पूर्ण हृदयले ख्याति, लाभ र हैसियतलाई पछ्याओस्, यसबाट आफूलाई अगल गर्न नसकोस्। मैले परमेश्वरका वचनले एक ठाउँमा यस्तो भनेको देखेँ: “तँलाई तेरो सन्तान पूर्णतया शैतानको प्रभावमा परेको छ र ऊ त्यहाँबाट फर्कन सक्दैन, र तँसित उसलाई उद्धार गर्ने शक्ति छैन भन्‍ने महसुस होला। यो तैँले अभिभावकका रूपमा आफ्नो जिम्मेवारी पूरा नगरेर भएको हो। तैँले नै उनीहरूलाई हानि गरेको, आफ्नो त्रुटिपूर्ण वैचारिक शिक्षा र मार्गदर्शनद्वारा विचलित पारेको होस्। उनीहरू कहिल्यै फर्कन सक्दैनन्, र अन्त्यमा तँसित पछुतोबाहेक केही हुनेछैन।” परमेश्वरले ठ्याक्कै त्योबेला मैले महसुस गरिरहेकै मनोदशाबारे सङ्गति गरिरहनुभएको थियो। हरेक पटक छोरा घर आउँदा, मैले परमेश्वरका वचन पढेर सुनाउँथेँ, तर छोराले सधैँ खण्डन गर्थ्यो, र ती वचन अस्वीकार गर्ने हर तरिका खोज्थ्यो उसले मैले उसलाई अगाडि बढ्न नदिएको समेत भन्यो, जसले मेरो मुटुमा चस्का हान्यो। मैले मेरो छोरा हरेक दिन ख्याति र लाभका लागि दौडधूप र श्रम गरिरहेको देख्थेँ: सानो उमेरमा नै उसको कपाल झर्न थालेको थियो, हरेक दिन ऊ थकित शरीर लिएर राति अबेरसम्म पढ्थ्यो; उसले आफ्नो दिमाग सल्लाहकारहरूको सोच र शोखबारे विचार गर्न खुब खियाउँथ्यो, र उनीहरूले जे जे मन पराउँथे त्यहीअनुसार आफ्नो तरिका मिलाउँथ्यो; ऊ आफ्ना अगुवहरूको निकै सावधानीपूर्वक जिइरहेको थियो, उसले गलत काम वा कुरा गर्ला र तिनीहरूले उसको जीवन कठिन बनाइदेलान् भन्ने डर मान्थ्यो, त्यसले उसको करियरको भविष्यलाई असर गर्न सक्थ्यो। म हरेक दिन मेरो छोराको अनुहारमा मुखौटा देख्थेँ, ऊ नराम्रोसँग थाकेको हुन्थ्यो। मेरो छोरा आज यस्तो बन्नुमा मेरै दोष थियो; मैले नै उसलाई ज्ञानको पछि दौडिन प्रोत्साहित गरेँ, उसलाई हानि गरेँ। अहिले मैले बुझेँ कि यो छोरालाई प्रेम गर्नु थिएन; उसलाई हानि गर्नु थियो, ख्याति र लाभको मेरो आफ्नै पछ्याइका लागि उसलाई बलि बनाउनु थियो। मैले मण्डलीमा मेरो छोराकै उमेरका केही ब्रदर सिस्टरहरूलाई देखेँ। तिनीहरू परमेश्वरमा विश्वास गर्थे, सत्यता पछ्याउँथे, मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्थे; तिनीहरू शैतानको विषले बाँधिएका थिएनन्, तिनीहरूले स्वतन्त्र र चिन्तामुक्त आरामदायी जीवन जिइरहेका थिए। यसले मलाई निकै पछुतो गरायो। यदि मैले आफ्नो छोरामा यी विचार र दृष्टिकोण नरोपेकी भए, सायद ऊ यस्तो हुँदैनथ्यो होला, ख्याति र लाभ, उच्च पद पाउन र पैसा कमाउनका खातिर यस्तो पीडादायी र असहाय जीवन जिउँदैनथ्यो होला। जब मैले यी कुरा सोचेँ, मलाई निकै पश्चात्ताप महसुस भयो र आफैप्रति घृणा लाग्न थाल्यो। मैले चिन्तन गरेँ: म आफ्ना छोराछोरीलाई कलेजमा प्रवेश गराउने चाहनामा एकोहोरो र अडिग किन थिएँ? समस्याको जड कहाँ थियो?

एक दिन, मैले परमेश्वरका यी वचन पढेँ: “शैतानले मानिसको विचारहरूलाई नियन्त्रण गर्नको लागि ख्याति र प्राप्तिको प्रयोग गर्छ, र अन्ततः मानिसहरूले ख्याति र प्राप्तिबाहेक अरू केही सोच्‍न सक्दैनन्। तिनीहरूले ख्याति र प्राप्तिका लागि संघर्ष गर्छन्, ख्याति र प्राप्तिकै लागि कठिनाइहरू भोग्छन्, ख्याति र प्राप्तिकै लागि अपमान सहन्छन्, ख्याति र प्राप्तिकै लागि आफूसँग भएका सबै कुराको बलिदान गर्छन्, र तिनीहरूले ख्याति र प्राप्तिकै लागि जुनसुकै मूल्याङ्कन वा निर्णय पनि गर्नेछन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य बन्धनमा बाँध्छ, र त्यो बन्धन हटाउन तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रन्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्‍वरबाट अलग बस्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, यही तरिकाले शैतानको ख्याति र प्राप्तिको माझमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। अहिले शैतानका कार्यहरूलाई हेर्दा, के यसका भयावह मनसायहरू अत्यन्तै घृणास्पद छैनन् र? सायद आज तिमीहरूले शैतानका भयावह मनसायहरूलाई देख्‍न सक्दैनौ किनभने तिमीहरूलाई व्यक्ति ख्याति र प्राप्तिविना बाँच्‍न सक्दैन भन्‍ने लाग्छ। तिमीहरूलाई त मानिसहरूले ख्याति र प्राप्तिलाई पछाडि छोडे भने, तिनीहरूले अबउप्रान्त अगाडिको बाटो देख्‍न सक्दैनन्, अबउप्रान्त आफ्ना लक्ष्यहरू देख्‍न सक्दैनन्, र तिनीहरूको भविष्य कालो, मधुरो र मलिन बन्छ भन्‍ने लाग्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। परमेश्वरका वचनबाट मैले बुझेँ कि शैतानले मानिसलाई भ्रष्ट बनाउन, बहकाउन र हानि गर्न ख्याति र लाभको प्रयोग गर्छ, मानिसलाई ख्याति र लाभ मात्र पछ्याउने तुल्याउँछ। मैले सम्झेँ, मैले सानोमा राम्रो शिक्षा नपाएकीले पैसा कमाउन जाँदा धेरै कष्ट भोग्नु पऱ्यो र अरूको भेदभाव सहनु पऱ्यो। मैले धेरै ज्ञान र प्रतिष्ठा हुने मानिसलाई जहाँ जाँदा पनि अरूले प्रशंसा गरेको देख्दा, तब मलाई डाह हुन्थ्यो, अनि आफूमा ज्ञान नभएकैले अरूको सम्मान पाउन नसकेकी हुँ भन्ने ठान्थेँ, त्यसैले मैले आफ्ना आशा छोराछोरीमा राखेँ, आफूले पूरा गर्न नसकेका सपना उनीहरूले साकार पारिदिऊन् भन्ने चाहेँ। यसका लागि, मैले मेरा सारा समय खर्च गरेँ, पूरै मूल्य चुकाएँ, तितो र थकाइलाग्दो जीवन जिएँ, र छोरालाई पीडा र यातना दिएँ। पछि, मेरो छोराले ख्याति र लाभ पाए पनि ऊ परमेश्वरबाट टाढा भयो, परमेश्वरको आखिरी दिनहरूको मुक्ति गुमायो। अब मैले बुझेँ कि ख्याति र लाभको मेरो पछ्याइ शैतानले छोरा र ममाथि राखेको एक प्रकारको अदृश्य हतकडी थियो। शैताने हामीलाई लोभ्याउन र बहकाउन ख्याति र लाभ प्रयोग गऱ्यो, सत्यता पछ्याउने कुरा नसोची ख्याति र लाभ पछाडि एकोहोरो लागिपर्ने बनायो; शैतानले हामीलाई चरणबद्ध रूपमा जकड्दै लग्यो—हामी यसका लागि कष्ट सहन तयार थियौँ, परिणामस्वरूप, परमेश्वरबाट पर हुँदै गयौँ, उहाँलाई नकार्ने बिन्दुसम्म पुग्यौँ र शैतानद्वारा निलियौँ। यो शैतानको द्वेषपूर्ण अभिप्राय र षड्यन्त्र थियो। मैले आफ्नो आसपासका मानिसबारे सोचेँ: मेरो अङ्कलको छोराले कलेजमा प्रवेश पायो, तर उसले निम्न मूल विषय चुनेकोमा उसका आमाबुबाले घृणा गरे, र आफ्ना सम्पर्कहरूको प्रयोग गरेर उसलाई मूल विषय बदल्न लगाए। जसले गर्दा, उसले अत्यधिक दबाब महसुस गऱ्यो, राम्रोसँग पढ्न सकेन र पछि मानसिक सन्तुलन गुमायो। अहिले, ऊ आफ्नो जीवनलाई समेत नियन्त्रण गर्न सक्दैन। अरु धेरै बालबालिका छन्, जसले पढाइको नतिजा नराम्रो आएकाले कीटनाशक विष पिए वा भवनबाट हाम फाले। यी सबै दुखद पाठले मलाई सम्झौटो र चेतावनी दिए। वास्तवमा, मानिस जीवनमा धनी वा गरिब हुने कुरा सबै परमेश्वरका हातमा हुन्छ। ख्याति र लाभले हामीलाई पीडाबाट निकाल्न सक्दैनन्; तिनले केवल हामीलाई पीडाको भुमरीमा पुऱ्याउँछन्। शैतानले मानिसलाई कसरी हानि गर्छ भनेर देख्दा निकै घृणा लाग्छ। साथै, परमेश्वरलाई धन्यवाद, किनकि उहाँको अन्तर्दृष्टि, अगुवाइ र मार्गदर्शनद्वारा मैले मेरो पीडाको जरो पत्तो लगाएँ, र ख्याति र लाभ पछ्याउँदाको खतरनाक परिणामहरू देखेँ। अन्यथा, म अझैपनि यसको पासोमै हुने थिएँ, आफूलाई बाहिर निकाल्न सक्नेथिइनँ। यसबाट मैले मानिसलाई मुक्ति दिने परमेश्वरको इमानदार अभिप्रायको बारेमा पनि बुझ्न पाएँ। अब म शैतानको छल र हानिमा परिरहन सक्दिनँथेँ म ख्याति र लाभको बन्धन तोडेर निस्कन चाहन्थेँ, र सत्यता पछ्याउने र मुक्ति पाउने मार्गमा हिँड्न चाहन्थेँ।

पछि, मैले परमेश्वरका वचनमा छोराछोरीलाई शिक्षा दिने सही मार्ग फेला पारेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यदि तैँले उनीहरू सानो छँदा उनीहरूलाई यस तरिकाले शिक्षा नदिएको भए, यदि तैँले उनीहरूलाई कुनै दबाबविना सुखी बालापन दिएको भए, अरूभन्दा उत्कृष्ट हुन, उच्च पदमा रहेर काम गर्न वा धेरै पैसा कमाउन, वा प्रसिद्धि, नाफा र हैसियतको पछि लाग्न नसिकाएको भए, यदि तैँले उनीहरूलाई असल, साधारण मानिस हुन मात्र दिएको भए, उनीहरूले धेरै पैसा कमाऊन्, धेरै रमाइलो गरून्, वा तँलाई धेरै हेरून् भन्‍ने माग नगरेको भए, र उनीहरूलाई केवल स्वस्थ र खुसी हुनू, सरल र खुसी व्यक्ति हुनू भनेको भए, सायद परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि तँमा आएका सोच र दृष्टिकोणहरूलाई उनीहरूले सुन्ने थिए। त्यसपछि, जीवन र समाजको दबाब कम भएर अहिले उनीहरूको जीवन सुखी हुन सक्थ्यो। उनीहरूले प्रसिद्धि र नाफा हासिल नगरे पनि, कम्तीमा उनीहरूको हृदयलाई खुसी र शान्ति महसुस भएको हुनेथ्यो(वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (१९))। परमेश्वरका वचनले छोराछोरीलाई शिक्षा दिने सही मार्ग देखाउँछन्: छोराछोरीलाई शिक्षा दिँदा, उनीहरूसँग ज्ञान, हैसियत, ख्याति, लाभ पछ्याउनु पदोन्नति हुँदै जानु, वा पैसा कमाउनु भनेर माग गर्नुहुँदैन; छोराछोरीले दबाबबाट मुक्त, स्वतन्त्र र चिन्तारहित खुसी र स्वस्थ जीवन जिउन् भन्ने आशा राख्नुपर्छ। परमेश्वरका वचनबाट, मैले परमेश्वरको अभिप्राय पनि बुझेँ। मेरा छोराछोरी र म सबै सृजित प्राणी हौँ, हाम्रो भाग्य परमेश्वरका हातमा छ। हाम्रो जीवनको भाग्य, र हामीले कुन मार्ग लिनुपर्छ भन्ने कुरा परमेश्वरको सार्वभौमिकता र प्रबन्धको अधीन हुन्छ; यो हामी आफैले नियन्त्रण गर्न सक्ने कुरा होइन न म तिनीहरूको भाग्य बदल्न सक्छु। मैले गर्नसक्ने भनेको छोराछोरीका लागि प्रार्थना गर्नु, र उनीहरू घर आउँदा परमेश्वरका वचन पढेर सुनाउनु हो। अन्तमा उनीहरू परमेश्वरसामु आउने-नआउने उहाँमै निर्भर हुन्छ। मैले त केवल आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्दै गर्नुपर्ने काम राम्ररी गर्नुपर्छ। कामकुराबारे मेरो दृष्टिकोण बल्ल केही हदसम्म बदलिएको थियो—यो परमेश्वरका वचनबाट हासिल भएको नतिजा थियो। अब, म केवल आफ्नो कर्तव्य निर्वाह गर्दै सत्यता पछ्याउन र परमेश्वरका वचनअनुसार जिउन चाहन्छु। यो मात्रै सार्थक र मूल्य भएको जीवन हो। परमेश्वरलाई धन्यवाद होस्!

अघिल्लो: ८. बिमारको अनुभवबाट मैले धेरै कुरा प्राप्त गरें

अर्को: १३. जीवन प्रवेशलाई नपछ्याउनुका परिणाम

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

४५. परमेश्‍वरको अगाडि जिउनु

योङ्ग्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वास्तविकतामा प्रवेश गर्नका लागि, व्यक्तिले सबै थोकलाई वास्तविक जीवनतर्फ...

७. धन-दासको जागरण

मेरो जीवनको अधिकांश हिस्सा भागदौड गरेर, पैसा कमाउनमा मैले कसरी बिताएँ भनेर हेर्दा मैले आदर र प्रशंसा कमाएँ, तर मेरो जीवनको हरेक तहमा शैतानले मलाई यातना दिइरह्यो। तर परमेश्‍वरले मलाई मुक्ति दिनुभयो। उहाँले मलाई पैसाको हावा-हुरीबाट मुक्ति दिलाउनुभयो र मेरो जीवनको मार्ग परिवर्तन गरिदिनुभयो।

४६. के मानिसहरूलाई खुशी पार्नेहरूले परमेश्‍वरको स्याबासी जित्‍न सक्छन्

लियु यि, चीनम एक विश्‍वासी हुनुभन्दा पहिले, अरू मानिसलाई ठेस नपुर्‍याऊँ र सबैसँग मिलेर रहन सकूँ भनेर सधैं सचेत रहने गर्दथें। कोही कठिन...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्