७८. मैले आफूलाई दमित भावनाबाट मुक्त गरेँ
गत वर्षको जनवरीमा, अगुवाले ली शिन र मलाई मण्डलीको किताबी कामको संयुक्त जिम्मेवारीमा लगाइन्। मैले भर्खर तालिम थालेकीले ली शिनले मलाई ठूलो कार्यभार दिइनन्, र मैले कठिनाइ र समस्या सामना गर्दा उनले सिद्धान्तमा आधारित भई मसँग सङ्गति गर्थिन्। मैले त्यति धेरै चिन्ता गर्नु पर्दैनथ्यो र काम तनावपूर्ण थिएन। मार्चमा, मलाई मण्डली अगुवा चुनियो, र मलाई मेरो काँधमा ठूलो बोझ आएको महसुस भयो। अगुवाइ गर्ने कर्तव्यमा मैले मण्डलीको समग्र काम हेर्नुपर्ने भयो, र सबै प्रकारका समस्या हल र सम्बोधन गर्नुपर्ने भयो, र मलाई सधैँ भित्रदेखि दबाब महसुस हुन्थ्यो। सुरुमा, मलाई माथिल्लो अगुवाबाट अक्सर मलजल र सुसमाचार काम, मानिसलाई निकाल्ने र निष्कासित गर्ने काम, किताबी काम, मानिसलाई प्रशिक्षित गर्ने र अन्य कामको कार्यान्वयनबारे सोधखोज गरिएको पत्र आउँथ्यो। मैले प्रत्येक कामको योजना र बन्दोबस्त कसरी गरिएको छ, काममा के कस्ता विचलन वा समस्या उत्पन्न भएका छन्, आगामी दिनमा तिनलाई कसरी समाधान गर्ने आदिबारे विस्तृत जवाफ दिनुपर्थ्यो। मैले धेरै काम हेर्नुपर्ने भएकाले, कहिलेकाहीँ, मैले कुनै काम कार्यान्वयन गर्नेबित्तिकै अरू काम कार्यान्वयन गर्न मण्डली जानुपर्थ्यो। हरेक दिन सम्हाल्न बाँकी धेरै काम हुन्थे। केही समयसम्म आफूलाई यसरी नै व्यस्त राखेपछि, म कामबाट केही समय विश्राम लिन चाहन्थेँ, आफूलाई आराम दिने तरिकाका रूपमा केही अनुभवात्मक गवाही भिडियो हेर्न र भजन सुन्न चाहन्थेँ। तर तत्काल कार्यान्वयन गर्नुपर्ने काम एकदमै धेरै रहेको देख्दा, यो कर्तव्य निभाउँदा स्वतन्त्रता नै हुँदैन भन्ने सोचेर मलाई दुःख लाग्थ्यो। एक पटक, माथिल्लो अगुवाले मण्डलीको सफाइ कामको प्रगति सुस्त भएको र मानिसहरूलाई निकाल्नेसम्बन्धी धेरै कागजात पेश नगरिएको पाइन्, अनि उनले मलाई कर्तव्यमा भार-वहन चेत नभएको भन्दै काटछाँट गरिन्। त्यो बेला, म उनीसँग तर्क गर्न चाहन्थेँ, तर उनले मलाई काटछाँट गर्नु सही थियो र मैले यसलाई स्वीकार गरी यसप्रति समर्पित हुनुपर्छ भन्ने मलाई थाहा थियो। त्यसपछि, म ती मूल्याङ्कन सङ्कलन गर्न मण्डली गएँ, र कैयौँ हप्तासम्म व्यस्त भएपछि मैले बल्ल सामग्रीहरूलाई व्यवस्थित गरेँ। त्यस लगत्तै, मैले छिटो गरी कैयौँ अन्य कामहरू जाँच गरी कार्यान्वयन गर्नु थियो। त्यो समयमा, म अक्सर बिहानदेखि बेलुकासम्म दौडधुपमा व्यस्त हुन्थेँ। म सधैँ तनावमा हुन्थेँ र निकै थाक्थेँ। मैले सोचेँ, “म कहिले राम्रोसँग आराम गर्न पाउनेछु? दैनिक यसरी व्यस्त रहनुले निकै दमित महसुस गराउँछ?” पहिले किताबी कर्तव्य गर्दा मेरो कार्यभार त्यति धेरै हुँदैनथ्यो। कामको बोझ बाँड्न मसँग ली शिन हुन्थिन्, र कुनै तनाव महसुस हुन्नथ्यो। मलाई ती दिन धेरै याद आउँथ्यो। जबदेखि मैले अगुवाको कर्तव्य सम्हालेँ, म हरेकदिन मौरीझैँ व्यस्त भएँ, त्यसैले मलाई दमित भएको लाग्यो र त्यसपछि यो कर्तव्य गर्न नै मन लागेन। तर, यसरी सोच्नु समझको कमी हो भन्ने लाग्यो। ब्रदर-सिस्टरहरूले पक्कै पनि म तनाव सम्हाल्न वा कष्ट सहन सक्दिनँ भन्ने सोच्ने थिए। मैले गर्न सक्ने केही थिएन; म सहयोगी रहनु थियो।
पछि, मण्डलीमा कम्युनिष्ट पार्टीले धरपकड गर्यो र त्यसपछि हामीले केही समस्यासँग जुझ्नु पर्यो। मेरो साझेदार सिस्टर र म कामको बोझले थिचिएका थियौँ, त्यसैले मेरो जिम्मामा रहेको मलजलको काममा मैले ध्यान दिइनँ। मैले मनमनै सोचेँ, “मलजलकर्तालाई उनीहरूको अवस्थाबारे सोध्न मैले केही समय निकाल्नुपर्छ।” तर फेरि धरपकडपछि उत्पन्न यी समस्या सम्हाल्न आफू व्यस्त रहेको सम्झेँ। मलजलको कामको नतिजामा पनि तुरुन्तै ठूलो सुधार देखिएला जस्तो थिएन, र साथै मेरो हातमा अझै पनि अर्को काम थियो। मैले हातको काम सकेर मात्र मलजलको काम जाँच गर्नु राम्रो थियो। माथिल्लो अगुवाले मलाई धरपकडपछिको हालतसँग जुझिरहेका भन्दैमा मैले अन्य कामलाई टाल्न मिल्दैन भन्दै पत्र पठाइन् र उनले मलजलको कामका लागि एउटा स्पष्ट योजना बनाइन्। मेरो मनमा प्रतिरोध उत्पन्न भयो, र मैले सोचेँ, “मैले पहिल्यै यति धेरै काम हेर्नु छ, र अब फेरि उनले थप मागहरू राखिरहेकी छिन्। यी सबै काम गर्न त मसँग समय नै हुनेछैन! मेरो कठिनाइबारे कसैले किन विचार गर्दैन? मसँग दुई हात र दुई खुट्टा मात्र छन्। यति धेरै काम सँगसँगै कसरी गर्न सक्छु?” मलाई केही दिक्क र दमित महसुस भयो, र अगुवाको पत्र हेर्न पनि मन लागेन। तर यी सबै काम अझै पनि पूरा गर्नु नै थियो। समयमै मलजल नगरिएका कारण नयाँ विश्वासीहरू पछि हटे भने त्यो अपराध हुने थियो। अनि मेरो काटछाँट मात्र होइन; म बर्खास्त पनि हुन सक्थेँ। त्यसपछि, म मलजलको कामको प्रगति र नयाँ विश्वासीका समस्या बुझ्न गएँ, तर मलाई सक्रिय हुन मन थिएन, कामको जाँच गर्दा म लापरवाह हुन्थेँ र अगुवालाई रिपोर्ट गर्न सकूँ भनेर झारा मात्र टार्थें। त्यो समयमा बाहिरबाट हेर्दा म कामकुरामा निकै व्यस्त रहेकी देखिन्थ्यो, तर म वास्तवमा अनिच्छापूर्वक एकपछि अर्को काम गरिरहेकी थिएँ। काम कार्यान्वयन गर्दा सधैँ केही न केही कमी भइरहेको र काम फेरि गर्नुपर्ने हुन्थ्यो। म हरेक दिन निराश र थकित हुन्थेँ, र कामको नतिजा पनि खस्कँदै थियो। मेरो साझेदार सिस्टरले ममा भार-वहन चेत नरहेको भनिन् र मैले अन्याय महसुस गर्दै सोचेँ, “मैले यी सबै काम हेर्नुपर्छ, हरेक दिन दिनभरि काम गरिरहेकी छु। तिमीले ममा भार-वहन चेत नै छैन, म लगनशील छैन भनी कसरी भन्न सक्यौ? तिमीले मबाट अति नै माग गर्दैछौ!” मैले जति धेरै सोचेँ, त्यति नै दुःखित भएँ र अब त म साँच्चै यो कर्तव्य गर्न सक्दिनँ भन्ने लाग्यो। यो सबै पीडामा रहनुभन्दा राजीनामा दिएर म सुतेर गर्ने कर्तव्य गर्न जानु राम्रो; त्यसपछि म यति दमित त हुन्नथेँ। म नकारात्मकताको बोझले थिचिएकी थिएँ। एक रात म परमेश्वरसामु गएँ र उहाँलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म निकै पीडामा छु र योभन्दा धेरै सहन सक्छु जस्तो लाग्दैन। मैले कुन पाठ सिक्ने थाहा छैन। बिन्ती मलाई अन्तर्दृष्टि दिएर मेरो समस्या बुझ्न मार्गदर्शन गर्नुहोस्।”
प्रार्थनापछि, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “आफूले चाहेअनुसार गर्न नसक्नु भनेको के हो? यसको अर्थ आफ्नो मनमा आउने हरेक इच्छा पूरा गर्न नसक्नु हो। यी मानिसहरूले आफ्नो काम र जीवनमा अघि सार्ने मापदण्ड भनेको आफूले चाहेको कुरा, चाहेको बेला, र चाहेअनुसार गर्न पाऊँ भन्ने हो। तर कानुन, जिउने वातावरण, वा कुनै समूहको नियम, प्रणाली, सर्त, र अनुशासन, आदि इत्यादिजस्ता विभिन्न कुराहरूको कारण, मानिसहरूले आफ्नो इच्छा र कल्पनाअनुसार काम गर्न सक्दैनन्। परिणामस्वरूप, तिनीहरूले हृदयको गहिराइमा दबाब महसुस गर्छन्। यसलाई सीधा हिसाबले भन्दा, मानिसहरूले पीडित महसुस गर्ने हुनाले—अनि कतिपय मानिसहरूले अन्यायमा परेकोसमेत महसुस गर्ने हुनाले यो दबाब पैदा हुन्छ। स्पष्ट रूपमा भन्दा, आफूले चाहेअनुसार गर्न नपाउनु भनेको आफ्नो इच्छा पूरा गर्न नपाउनु हो—यसको अर्थ विभिन्न कारण र व्यक्तिका विभिन्न वातावरण र अवस्थाहरूको निषेधको कारण व्यक्तिले स्वेच्छाचारी ढङ्गले वा स्वतन्त्र रूपमा काम गर्न नपाउनु भन्ने हुन्छ। उदाहरणको लागि, कतिपय मानिसहरूले आफ्नो कर्तव्य निभाउँदा सधैँ झारा टार्छन् र अल्याङटल्याङ गर्ने उपाय खोज्छन्। कहिलेकहीँ, मण्डलीको काम छिटो गर्नुपर्ने जरुरी हुन्छ, तर तिनीहरू आफूलाई मन लागेअनुसार गर्न चाहन्छन्। शारीरिक रूपमा तिनीहरूलाई सहज महसुस भएन, वा तिनीहरू केही दिनसम्म खराब मनस्थिति र निराश अवस्थामा भए भने, तिनीहरूलाई मण्डलीको काम गर्न कठिनाइ भोग्ने र मूल्य चुकाउने इच्छा हुँदैन। तिनीहरू विशेष रूपमा अल्छी हुन्छन् र आरामको लोभ गर्छन्। जब तिनीहरूमा उत्प्रेरणाको कमी हुन्छ, तब तिनीहरूको शरीर बोधो बन्छ, र तिनीहरू हलचल गर्न इच्छा गर्दैनन्, तर अगुवाले काटछाँट गर्ला र विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले अल्छी भन्लान् भन्ने डरले, तिनीहरू मन नलागीनलागी भए पनि अरू सबैसँग काम गर्न बाध्य हुन्छन्। तैपनि, यसप्रति तिनीहरूलाई साह्रै नै अनिच्छा, नरमाइलो, र अरुचि भएको हुन्छ। तिनीहरूले अन्याय, पीडा, झर्को, र थकित महसुस गर्छन्। तिनीहरू आफ्नै इच्छाअनुसार काम गर्न चाहन्छन्, तर परमेश्वरको घरका मापदण्ड र सर्तहरू तोड्ने वा तीविरुद्ध जाने आँट गर्दैनन्। परिणामस्वरूप, समय बित्दै जाँदा तिनीहरूमा एउटा भावना पैदा हुन थाल्छ, जुन दबाबको भावना हो। यो दबाबको भावनाले तिनीहरूमा जरा गाडेपछि, तिनीहरू क्रमिक रूपमा जोसजाँगररहित र कमजोर हुन थाल्छन्। मेसिनजस्तै, तिनीहरूलाई पनि के गर्दै छु भन्ने कुरा स्पष्ट रूपमा थाहा हुन छोड्छ, र तिनीहरू हरेक दिन जे गर्नु भनिएको छ, र जसरी गर्नु भनिएको छ त्यही नै र त्यसरी नै गरिरहन्छन्। हेर्दाखेरि तिनीहरूले नअडिई, नरोकिई, र कर्तव्य पूरा गर्ने वातावरणबाट पछाडि नहटी आफ्नो काम निरन्तर गरेजस्तो देखिए पनि, तिनीहरूले हृदयमा दबाब महसुस गर्छन्, र तिनीहरूलाई आफ्नो जीवन थकाइलाग्दो र गुनासै गुनासोले भरिएको जस्तो लाग्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (५))। परमेश्वरका वचनले खुलासा गरेका कुरा देखेर मैले बुझेँ कि कर्तव्य निभाउँदा मैले सधैँ दमित र पीडा महसुस गर्नुको मुख्य कारण वास्तवमा म नियन्त्रणमा रहन नचाहनु र आफूखुसी गर्न चाहनु रहेछ। आफूलाई मन नपर्ने परिस्थिति आउँदा, आफूले चाहेको गर्न नपाउँदा र सबै कुरामा निषेधको सामना गर्दा यसले मेरो दमित भावनालाई जगाउँथ्यो। मैले किताबी काम थालेको सुरु सुरुमा अगुवाले मबाट धेरै माग गर्थिनन्, मैले शिल्पको अध्ययन गरिरहँदा मलाई मार्गदर्शन गर्न ली शिन थिइन्। कठिनाइ आउँदा ली शिनले तुरुन्त मसँग सङ्गति गरी मेरो मद्दत गर्थिन्। यसबाहेक, यो अपेक्षाकृत आरामदायी काम थियो र मलाई बिलकुलै तनाव थिएन, त्यसैले म त्यसरी नै आफ्नो कर्तव्य निभाउन मन पराउँथेँ। तर अगुवाइ गर्नुपर्ने कर्तव्य सुरु गरेदेखि, मैले धेरै काम हेर्नुपर्ने भयो, र मैले मण्डलीका सबै प्रकारका कामलाई आफैले ध्यान दिनुपर्ने र नजर राख्नुपर्ने भयो। मैले हरेक मामिलामा सहभागी भएर तिनलाई व्यवहारिक रूपमा हल गर्नुपर्ने भयो। पछि, मण्डलीमा धरपकड हुँदा, मैले त्यसपछिका परिणामहरू सम्हाल्नुपर्यो र म झन् व्यस्त भएँ। मेरो केही तनाव काम गर्न म मलजलको कामलाई टाल्न चाहन्थेँ, तर माथिल्लो अगुवाले यो कामको सुपरिवेक्षणलाई थोरै पनि मत्थर पारिनन्। यसले मेरो योजना बर्बाद भयो, र मेरो देहले अझ धेरै कष्ट सहनु पर्यो, त्यसैले म समर्पित हुन सकिनँ। तर, मैले काम गरिनँ भने अरूले मलाई कष्ट सहन नसक्ने भन्लान् भन्ने डर थियो, र त्योभन्दा पनि धेरै नयाँ विश्वासीहरूले राम्रो मलजल नपाउलान् र मैले नै जिम्मेवारी लिनुपर्ला भन्ने डर थियो, त्यसैले म अनिच्छापूर्वक समर्पित भएँ। तर, मैले अझै पनि दमित महसुस गरिरहेकी थिएँ र मैले सबै कुरा सोचविचार नगरी गरेँ। म कर्तव्यमा झारा टारिहेकी थिएँ, अल्याङटल्याङ मात्र गरिरहेकी थिएँ र मलाई गर्नु भनेको काम मात्र गर्थेँ। परिणामस्वरूप, मैले काममा बाधा-अवरोध उत्पन्न गरेँ। मेरो साझेदार बनेकी सिस्टरले मेरो व्यवहार औँल्याइन्, र म झन् क्रोधित र मनोमानी भएँ। म दोष समेत स्विकार्दै मेरो कर्तव्यबाट राजिनामा दिन चाहन्थेँ। म साह्रै नासमझ थिएँ! त्यसपछि, मलाई बोध भयो कि मेरो समस्या निकै गम्भीर छ र मलाई यति हठी हुने हिम्मत आएन।
त्यसपछि, मैले परमेश्वरका यी वचन पढेँ: “समाजमा, आफूले गर्नुपर्ने उचित काम नगर्ने मानिसहरू को हुन्? तिनीहरू कामचोर, मूर्ख, अल्छी, बदमास, फटाहा, र लफङ्गाहरू र त्यस्तै खाले मानिसहरू हुन्। तिनीहरू कुनै नयाँ सीप वा क्षमता सिक्न चाहँदैनन्, र तिनीहरू कुनै गम्भीर करियर निर्माण गर्ने वा हातमुख जोड्न काम खोज्ने चाहना गर्दैनन्। तिनीहरू समाजका कामचोर र लफङ्गाहरू हुन्। तिनीहरू मण्डलीमा घुस्छन्, र त्यसपछि केही नगरी केही पाउन, र आफ्नो भागको आशिष् पाउन चाहन्छन्। तिनीहरू अवसरवादीहरू हुन्। यी अवसरवादीहरूले कहिल्यै पनि कर्तव्य पूरा गर्ने इच्छा गर्दैनन्। यदि तिनीहरूले भनेजस्तो अलिकति पनि भएन भने, तिनीहरूलाई दबाब महसुस हुन्छ। तिनीहरू सधैँ स्वतन्त्र भएर जिउन चाहन्छन्, तिनीहरूले कुनै काम गर्न चाहँदैनन्, तैपनि तिनीहरू मीठो खान र राम्रो लाउन, अनि जे मन लाग्यो त्यही खान र जहिले मन लाग्यो त्यही बेला सुत्न मन पराउँछन्। यस्तो दिन आयो भने एकदम राम्रो हुनेछ भन्ने तिनीहरू सोच्छन्। तिनीहरू थोरै पनि कठिनाइ भोग्न चाहँदैनन् र तिनीहरू मोजमस्तीको जीवन जिउन चाहन्छन्। यस्ता मानिसहरूलाई जिउनसमेत थकाइलाग्दो हुन्छ; तिनीहरू नकारात्मक संवेगहरूको बन्धनमा हुन्छन्। तिनीहरूले आफूले चाहेअनुसार गर्न नपाएर प्रायजसो थकित र अन्योल महसुस गर्छन्। तिनीहरू आफूले गर्नुपर्ने उचित कार्य गर्न वा आफूले सम्हाल्नुपर्ने उचित मामलाहरू सम्हाल्न चाहँदैनन्। तिनीहरू काममा निरन्तर लागेर सुरुदेखि अन्तिमसम्म गरिरहन, यसलाई आफ्नै पेसा र कर्तव्यको रूपमा लिन, र आफ्नो दायित्व र जिम्मेवारीको रूपमा लिन चाहँदैनन्; तिनीहरू काम पूरा गरेर परिणामहरू हासिल गर्न, वा सम्भव भएको उत्कृष्ट मापदण्डअनुसार पूरा गर्न चाहँदैनन्। तिनीहरूले कहिल्यै यसरी सोचेका हुँदैनन्। तिनीहरूले झाराटारुवा शैलीमा काम गर्न र कर्तव्यलाई हातमुख जोड्ने माध्यमको रूपमा लिन मात्रै चाहन्छन्। जब तिनीहरूले थोरै तनाव वा कुनै नियन्त्रण सामना गर्छन्, वा जब तिनीहरूलाई अलिक उच्च मापदण्ड, वा अलिक बढी जिम्मेवारी बोक्न दिइन्छ, तब तिनीहरूलाई असहज र दबाब महसुस हुन्छ। तिनीहरूमा यी नकारात्मक संवेगहरू पैदा हुन्छन्, तिनीहरूलाई जिउन गाह्रो लाग्छ, र तिनीहरू हैरान हुन्छन्। तिनीहरूलाई जिउन गाह्रो लाग्नुको एउटा कारण के हो भने, यस्ता मानिसहरूमा समझको कमी हुन्छ। तिनीहरूको बिग्रेको समझ हुन्छ, तिनीहरू सारा दिन कल्पनामा डुब्दै, सपनामा भुल्दै, अवास्तविक कुरा सम्झँदै सधैँ अनेक कल्पना गरेर बिताउँछन्। त्यसकारण तिनीहरूको दबाब हल गर्न निकै गाह्रो हुन्छ। तिनीहरूलाई सत्यताप्रति चासो लाग्दैन, तिनीहरू अविश्वासीहरू हुन्। हामीले गर्न सक्ने एउटै कुरा भनेको तिनीहरूलाई परमेश्वरको घर छोड्न, संसारमा फर्केर जान, र सहजता र आरामको आफ्नो स्थान खोज्न लगाउनु मात्र हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (५))। परमेश्वरका वचनको यस खण्डले मलाई निकै प्रभावित पार्यो। परमेश्वरले खुलासा गर्नुभयो कि कसैले दमित महसुस गर्नुको मूल कारण ऊ देहमा लिप्त हुन चाहनु हो र आफू नियन्त्रणमा रहन र कष्ट सहन नचाहनु हो। यस्तो व्यक्तिले आफ्नो दैहिक चाहना पूरा गर्न नसक्ने बित्तिकै उसले दमित र पीडा महसुस गर्दछ। उसले आफ्नो उचित काममा राम्रोसँग ध्यान दिने र कर्तव्य पूरा गर्नेबारे कहिल्यै सोच्दैन, सधैँ मण्डलीमा केही नगरी बस्न चाहन्छ। सत्यतालाई साँचो रूपमा पछ्याउने र आफूले गर्नुपर्ने उचित काम गर्ने मानिसले कर्तव्यलाई जिम्मेवारी र दायित्वका रूपमा हेर्छन्। राम्रोसँग कर्तव्य निभाउनका लागि देहले कष्ट भोगेको वा तनाव सहेकोबारे त्यति धेरै सोच्दैनन्। तिनीहरूले आफ्नो कर्तव्य राम्ररी गरे मात्र जीवनले मूल्य र सार्थकता पाउनेछ भन्ने बुझेका हुन्छन्, र तिनीहरूको पछ्याइ सकारात्मक हुनाले दमित वा पीडा महसुस गर्दैनन्। परमेश्वरले यस्ता मानिस मन पराउनुहुन्छ र आशिष दिनुहुन्छ। मलाई राम्रोसँग थाहा थियो कि मैले अगुवाइ गर्ने कर्तव्य लिन सक्नु परमेश्वरको विशेष अनुग्रह हो। तर, धेरै काम हेनुपर्ने र धेरै कार्यमा ध्यान दिनुपर्ने भएकाले र माथिल्लो तहका अगुवाले जाँच र सुपरिवेक्षण गरिरहेकीले मैले सुखसुविधाको आनन्द लिने अवसर कम थिए। यसले गर्दा, यो कर्तव्य निभाउनु निकै कठिन र दमित गराउने खालको छ भन्ने लाग्यो, र म हरेक दिनलाई कुनै तनावविना आरामसँग बिताउन चाहन्थेँ। मैले समाजका फटाहा, गुन्डा, आवारा र बदमासका बारेमा सोचेँ। तिनीहरूले कहिल्यै पनि उचित कुराका बारेमा सोच्दैनन्, यताउता घुमिरहन्छन्, मिठो खान र पिउन सबैतिर मानिस ठग्दै हिँड्छन्, काममा आलसी हुन्छन्। त्यस्ता मानिसको जीवनमा इमानदारी वा मर्यादा हुँदैन, र जहाँ जान्छन् तिनीहरूलाई अन्य मानिसले हेयका दृष्टिले हेर्छन्। तिनीहरू सबभन्दा नीच मानिस हुन्। म पनि सधैँ दैहिक आराम पछ्याउन चाहन्थेँ र अघि बढ्ने बारेमा सोच्दिनँथेँ। म अलिकति पनि कष्ट भोग्न चाहन्नथेँ, र सारमा, म उचित काम नगर्ने र परमेश्वरको घरमा फोकटमा खाना खाने व्यक्ति थिएँ। अगुवा भएर काम गर्नु केही बढी थकाइलाग्दो भए पनि, हरेक दिन धेरै मानिस र कुराको सम्पर्कमा आइन्छ, र अभ्यास गर्ने धेरै अवसर पाइन्छ। उदाहरणका लागि, मण्डलीको पखाल्ने कामका लागि व्यक्तिसँग अरूलाई खुट्ट्याउने सत्यता हुनुपर्छ। मलजलको कामको कुरामा, नयाँ विश्वासीहरूमा स्थिर जग नहुने हुनाले तिनीहरूलाई मलजल र सहयोग गर्न व्यक्तिसँग दर्शनको सत्यता हुनुपर्छ। साथै, अन्य कामको कार्यान्वयनले सान्दर्भिक सत्यता सिद्धान्तलाई छुन्छ। यो व्यक्तिले सामान्य कर्तव्य गरेर हासिल हुने कुरा होइन। तर, मैले परमेश्वरले मलाई सत्यता प्राप्त गर्न दिनुभएका यी मौकालाई सँगालिनँ, र सधैँ आफू अगुवाइको कर्तव्यमा धेरै व्यस्त र निकै थकित भएको र आफूखुसी जिउन नपाएको भन्ने सोच्थेँ। माथिल्लो अगुवाले मेरो कामको सुपरिवेक्षण गर्दा मैले प्रतिरोध गरेँ, र कामको कार्यान्वयनमा झारा टारेँ र कामको प्रगति सुस्त बनाएँ। मैले आत्मचिन्तन गरिनँ, दमित भावनामा जिइरहेँ र कर्तव्य समेत छोड्न चाहेँ। मसँग साँच्चै कुनै विवेक वा समझ थिएन! परमेश्वरका यी वचन पढेपछि म निकै दुःखित र व्याकुल भएँ: “तिनीहरूलाई सत्यताप्रति चासो लाग्दैन, तिनीहरू अविश्वासीहरू हुन्। हामीले गर्न सक्ने एउटै कुरा भनेको तिनीहरूलाई परमेश्वरको घर छोड्न, संसारमा फर्केर जान, र सहजता र आरामको आफ्नो स्थान खोज्न लगाउनु मात्र हो।” परमेश्वरले सामुन्नेबाटै मेरो खुलासा गर्नुभएको जस्तो लाग्यो। परमेश्वरले यस्ता मानिसलाई अविश्वासी भन्नुहुन्छ र तिनीहरूलाई घृणा र तिरस्कार गर्नुहुन्छ। यदि मैले अझै पनि कर्तव्यप्रतिको मेरो मनोवृत्ति बदलिनँ भने ढिलोचाँडो परमेश्वरले मलाई प्रकाश गरी हटाउनुहुने थियो। यो बुझेर म केही डराएँ, र परमेश्वरलाई मनमनै प्रार्थना गरेँ, “हे परमेश्वर, म यसरी अलमल गरिरहन चाहन्न। म सामान्य मानवता भएको, राम्रो समझ भएको र उचित काममा ध्यान दिने व्यक्ति बन्न चाहन्छु। बिन्ती आफूलाई अझ राम्रोसँग बुझ्न मलाई मार्गदर्शन गर्नुहोस्।”
खोजी गर्दा, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “के कुराले मानिसहरूमा दबाब पैदा गर्छ? यो शारीरिक थकानले त पक्कै आउँदैन, त्यसोभए के कुराले यो पैदा गर्छ त? यदि मानिसहरूले निरन्तर शारीरिक सहजता र खुसी खोज्छन् भने, यदि तिनीहरू निरन्तर शारीरिक सुख र सहजताको पछि लाग्छन्, र कष्ट भोग्न चाहँदैनन् भने, थोरै शारीरिक कष्ट, अरूको भन्दा अलिक बढी कष्ट, वा सामान्यभन्दा अलिक बढी काम गर्नुपर्ने अवस्थाले पनि तिनीहरूलाई दबाब महसुस गराउँछ। यो दबाबको एउटा कारण हो। यदि मानिसहरू सानोतिनो शारीरिक कष्टलाई ठूलो मान्दैनन्, र शारीरिक सहजताको पछि लाग्दैनन्, बरु त्यसको साटो सत्यता पछ्याउँछन् र परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य पूरा गर्ने प्रयास गर्छन् भने, तिनीहरूले प्राय शारीरिक कष्ट अनुभव गर्नेछैनन्। बेलाबेला तिनीहरूलाई व्यस्त, थकित, वा लखतरान भएको महसुस हुने भए पनि, सुतेपछि तिनीहरूलाई ठीक भइहाल्छ, र त्यसपछि तिनीहरू आफ्नो कार्य जारी राख्छन्। तिनीहरू आफ्नो कर्तव्य र काममा ध्यान केन्द्रित गर्छन्; तिनीहरू अलिअलि शारीरिक थकानलाई ठूलो कुरा ठान्दैनन्। तर जब मानिसहरूको सोचमै समस्या पैदा हुन्छ र जब तिनीहरू निरन्तर शारीरिक सहजताको पछि लाग्छन्, तब तिनीहरूको शरीरमा अलिकति समस्या हुँदा पनि वा सन्तुष्टि प्राप्त गर्न नसक्नेबित्तिकै, तिनीहरूमा निश्चित नकारात्मक संवेगहरू प्रकट हुन्छन्। … यी कुराहरूबारे प्राय तिनीहरूलाई दबाब महसुस भइरहन्छ र तिनीहरू आफ्ना विश्वासी दाजुभाइ-दिदीबहिनीहरूबाट सहयोग स्विकार्न वा अगुवाहरूको सुपरिवेक्षण स्विकार्न अनिच्छुक हुन्छन्। तिनीहरूले गल्ती गरे भने पनि, तिनीहरूको काटछाँट गर्न अरूलाई अनुमति दिँदैनन्। कुनै पनि हिसाबमा तिनीहरू नियन्त्रणमा पर्न चाहँदैनन्। तिनीहरू सोच्छन्, ‘खुसी मिल्छ भनेर मैले परमेश्वरमा विश्वास गरेको हुँ, त्यसकारण मैले किन आफै आफ्नो लागि कठिनाइ ल्याउने? किन मेरो जीवन त्यति थकाइलाग्दो हुनुपर्ने? मानिसहरू खुसीसाथ जिउनुपर्छ। तिनीहरूले यी नियम र ती प्रणालीहरूलाई त्यति धेरै ध्यान दिनु हुँदैन। सधैँ ती कुराहरू पालन गर्नुको के काम? अहिले, यो क्षण, म जे मन लाग्छ त्यही गर्छु। तपाईंहरू कसैले त्यसबारेमा केही भन्न पाउनुहुन्न।’ यस्तो व्यक्ति एकदमै स्वेच्छाचारी र भोगविलासी हुन्छ: तिनीहरू कुनै पनि अङ्कुश भोग्न चाहँदैनन्, न त तिनीहरूले कुनै पनि काम गर्ने वातावरणमा आफूमाथि अङ्कुश लगाइएको महसुस गर्न नै चाहन्छन्। तिनीहरू परमेश्वरको घरका नियम र सिद्धान्तहरू पालना गर्न चाहँदैनन्, आफ्नो व्यवहारमा मानिसहरूले लागू गर्नुपर्ने सिद्धान्तहरू लागू गर्न चाहँदैनन्, अनि विवेक र समझले तिनीहरूलाई गर्न लगाउने कुरासमेत तिनीहरू पालना गर्न चाहँदैनन्। तिनीहरू आफूलाई जे मन लाग्यो त्यही गर्न, जुन कुराले आफूलाई खुसी मिल्छ त्यही गर्न, र जुन कुराबाट आफूलाई फाइदा र सहज हुन्छ त्यही कुरा गर्न चाहन्छन्। तिनीहरूलाई लाग्छ कि यी अङ्कुशहरूमा जिउँदा यसले तिनीहरूको इच्छा उल्लङ्घन गर्छ, यो आफैलाई दुर्व्यवहार गर्नु हो, आफैप्रति कठोर हुनु हो, र मानिसहरूले त्यसरी जिउनु हुँदैन। तिनीहरू सोच्छन्, मानिसहरू देहमा लिप्त हुँदै र आफ्ना इच्छाहरू पूरा गर्दै, अनि आफ्ना आदर्श सोच र कामनाहरू पूरा गर्दै स्वतन्त्र र मुक्त भएर जिउनुपर्छ। तिनीहरूलाई लाग्छ, तिनीहरूले आफ्ना सबै विचारहरू पूरा गर्नुपर्छ, मन लागेको कुरा बोल्नुपर्छ, चाहेको कामकुरा गर्नुपर्छ, र मन लागेको ठाउँमा जानुपर्छ, परिणामहरूबारे वा अरूको भावनाबारे विचार गरिरहनु पर्दैन, र विशेष गरी आफ्ना जिम्मेवारी र दायित्वहरूबारे, वा विश्वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य, वा तिनीहरूले पालना गर्नुपर्ने र जिउनुपर्ने सत्यता वास्तविकताहरू, वा तिनीहरूले पछ्याउनुपर्ने जीवन मार्गबारे विचार गरिरहनु पर्दैन। यो समूहका मानिसहरूले समाजमा र अरू मानिसहरूमाझ सधैँ आफूलाई जे मन लाग्यो त्यही गर्न चाहन्छन्, तर तिनीहरू जहाँ गए पनि, तिनीहरूले त्यो उद्देश्य पूरा गर्न सक्दैनन्। तिनीहरूलाई यो विश्वास हुन्छ कि परमेश्वरको घरले मानव अधिकारप्रति जोड दिन्छ, मानिसहरूलाई पूर्ण स्वतन्त्रता दिन्छ, र यसले मानवजातिको वास्ता गर्छ, र मानिसहरूप्रति सहिष्णु र धैर्य हुन ध्यान दिन्छ। परमेश्वरको घरमा आएपछि तिनीहरूले स्वतन्त्र रूपमा आफ्नो देह र इच्छाहरूमा लिप्त हुन पाउनुपर्छ भन्ने तिनीहरूले विचार गरेका हुन्छन्, तर परमेश्वरको घरका प्रशासनिक आदेशहरू र नियमहरूको कारण, तिनीहरूले जे मन लाग्यो त्यही गर्न सक्दैनन्। त्यसकारण, तिनीहरू परमेश्वरको घरमा आइसकेपछि तिनीहरूको यो दबाबपूर्ण नकारात्मक संवेग समाधान हुन सक्दैन। तिनीहरू कुनै पनि प्रकारको जिम्मेवारी निभाउन वा कुनै मिसन पूरा गर्न, वा साँचो व्यक्ति बन्नको लागि जिउँदैनन्। तिनीहरूले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नको लागि, आफ्नो मिसन पूरा गर्न, र मुक्ति पाउनको लागि परमेश्वरमा विश्वास गरेका हुँदैनन्। तिनीहरू जोसुकै मानिसहरूमाझ भए पनि, जुनसुकै वातावरणमा भए पनि, वा जुन पेसामा संलग्न भए पनि, तिनीहरूको अन्तिम उद्देश्य भनेको आफूलाई सन्तुष्ट तुल्याउनु नै हुन्छ। तिनीहरूले गर्ने सबै कुराको उद्देश्य यसैमा केन्द्रित हुन्छ, र आत्मसन्तुष्टि नै तिनीहरूको आजीवन इच्छा र खोजको उद्देश्य हुन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (५))। पहिले, ममा दमित भावना आउनुको कारण अगुवाइको कर्तव्यमा धेरै व्यस्त रहनु र तनाव एवम् कठिनाइ हुनुले हो भन्ने ठान्थेँ। परमेश्वरका वचनको खुलासाबाट मैले बल्ल थाहा पाएँ कि मेरो पछ्याइमा रहेको सोच र दृष्टिकोणमा रहेको समस्याले ममा दमित भएको भावना आएको रहेछ। म सधैँ कर्तव्यमा जे मन लाग्थ्यो त्यही गर्न चाहन्थेँ, र तनाव एवम् कठिनाइ आइपर्दा वा आफ्नो देहलाई सन्तुष्ट पार्न नसक्दा म दमित भावनाभित्र जिउँथेँ। यस्तो हुनुको कारण “समय निकाल, मोजमस्ती गर, किनकि जीवन छोटो छ,” “आजको हाला आजै खाला भोलि जे होला देखा जाला” भन्ने शैतानले मभित्र रोपेको विषबाट म प्रभावित भएकाले रहेछ; म मानिसले आफूलाई जीवनमा राम्रो व्यवहार गर्नुपर्छ भन्ने सोच्थेँ। विगतमा, म विद्यार्थी छँदा र हाइस्कुलको प्रवेशिका परीक्षा नजिक आउँदा, स्कुलले हामीलाई पाठ दोहोर्याउन केही दिन छुट्टी दिन्थ्यो। मेरा सहपाठीहरूलाई समय कम भएको लाग्थ्यो, र परीक्षाअघि अन्तिम प्रयास गर्न चाहन्थे, तर म आफूलाई त्यसरी तनाव दिन चाहन्नथेँ, मेरो परीक्षाको नतिजा त्यति धेरै महत्त्वपूर्ण होइन र आफूलाई थकित बनाउनुपर्ने कुनै आवश्यकता छैन भन्ने सोच्थेँ। त्यस समयलाई मैले मिल्ने साथीहरूसँग घुमेर बिताएँ, अरूलाई जस्तो परीक्षाभन्दा पहिलेको डरचिन्ता मलाई थिएन। आफ्नो करियर सुरु गर्दा पनि म दैहिक प्राथमिकताका आधारमा निर्णय गर्थें। एउटा कम्पनीले कर्मचारीका लागि कठोर नियमहरू बनाएको थियो, र मलाई दमित र नियन्त्रित महसुस भयो, राजीनामा दिएर हिडौँजस्तो समेत लागेको थियो। म सोच्थेँ, व्यक्तिले यसरी नै स्वतन्त्र र सहज भएर जिउनुपर्छ। परमेश्वरमा विश्वास गरेपछि, मेरो पछ्याइमा सोही दृष्टिकोण राखेँ, आरामदायी, तनाव मुक्त कर्तव्य निभाउन चाहन्थेँ। मेरो कर्तव्य केही व्यस्त र धेरै तनावपूर्ण हुँदा यसले मेरो दमित भावना, मेरो प्रतिरोधलाई जगाउँथ्यो, र म झारा टार्दै कर्तव्यमा अल्याङटल्याङ गर्थेँ। ममा मानवता नै थिएन। मलाई राम्रोसँग थाहा थियो, कम्युनिष्ट पार्टीले जथाभाव धरपकड गरिरहेको र परमेश्वरका चुनिएका मानिसलाई सताइरहेको छ। माथिल्लो अगुवाले, नयाँ विश्वासीहरूको कद सानो हुन्छ भन्दै हामीले मलजल र सहयोग बढाउनुपर्छ भनिन्, ताकि तिनीहरूले यथाशीघ्र साँचो मार्गमा जरा गाड्न सकून्। मलजलको कामबारे जाँचबुझ गरी अलिक राम्रोसँग सुपरिवेक्षण गरी अगुवाले नयाँ विश्वासीहरूको जीवनको पूर्ण जिम्मेवारी लिइरहेकी थिइन् र परमेश्वरको अभिप्रायलाई ख्याल गर्दै दिइन्। एउटा अगुवाले गर्नुपर्ने यही नै थियो। तर मेरो देहले कष्ट भोग्ने र धेरै मूल्य चुकाउनुपर्ने भएकाले मैले मलजलको कामलाई गम्भीर नठानी प्रतिरोध र गुनासो गरेँ। यसले गर्दा समयमै मलजल नपाएर केही नयाँ विश्वासीको जीवनमा हानि पुग्यो। सत्यतालाई प्रेम गर्ने, जिम्मेवारी बोध भएका मानिसका लागि परमेश्वरबाट आएका आज्ञाको सम्बन्धमा तिनीहरूले पहिले परमेश्वरको अभिप्रायलाई कसरी ख्याल गर्ने र उहाँको माग पूरा गर्ने भन्ने सोच्छन्। तिनीहरूले जतिसुकै ठूलो कठिनाइ वा तनावको सामना गरे पनि सक्रिय तरिकाले यसको सामना गर्न सक्छन्, हरेक काम गम्भीर र जिम्मेवार भएर कार्यान्वयन गर्छन्। तिनीहरूसँग मेरो तुलना गर्दा, मैले अगुवाको कर्तव्य निभाइरहेकी भए पनि, मेरो काममा जिम्मेवारी लिइनँ र कामको कार्यान्वयन गर्दा अल्याङटल्याङ गर्थेँ। आफ्नो कर्तव्यलाई यसरी लिइरहँदा, म कसैले विश्वास गर्न लायक थिइनँ, र मैले आफ्नो इमान र मर्यादालाई फ्याँकेकी थिएँ। यदि म परमेश्वरसामु पश्चात्ताप नगरी अघि बढिरहेकी भए, मैले मण्डलीको काममा गम्भीर ढिलाइ गराउने थिएँ, र परमेश्वरले मलाई निन्दा गर्दै हटाउनुहुने थियो! यदि म यसरी खुलासा नभएकी भए, मेरो यतिका वर्षको पछ्याइमा रहेका गलत दृष्टिकोण चिन्न सक्ने थिइनँ, र मैले यसरी पछ्याउन निकै स्वतन्त्र र सजिलो हुन्छ भन्ने सोचेकी थिएँ। म साँच्चै मूर्ख र हास्यास्पद थिएँ।
पछि, मैले परमेश्वरका वचनबाट अभ्यासको मार्ग भेटेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरमा साँचो विश्वास गर्नेहरू सबै नै आफूले गर्नुपर्ने उचित काम पूरा गर्ने, आफ्नो कर्तव्य निर्वाह गर्न इच्छुक रहने, र कामको बोझ लिने अनि आफ्नो क्षमता र परमेश्वरको घरका नियमहरूअनुसार त्यो काम राम्ररी गर्न सक्ने मानिसहरू हुन्। अवश्य नै, सुरुमा यस्तो जीवन अपनाउन गाह्रो हुनसक्छ। तँलाई शारीरिक र मानसिक रूपमा थकान महसुस हुनसक्छ। तैपनि, यदि तँसँग साँच्चै सहकार्य गर्ने सङ्कल्प र सामान्य र असल व्यक्ति बन्ने, र मुक्ति हासिल गर्ने इच्छा छ भने, तैँले थोरै भए पनि मूल्य चुकाएर परमेश्वरको अनुशासन स्विकार्नुपर्ने हुन्छ। जब तँसँग स्वेच्छाचारी हुने इच्छा हुन्छ, तब तैँले त्यसविरुद्ध विद्रोह गर्नुपर्छ, र तैँले आफ्ना स्वेच्छाचारी सोच र स्वार्थी इच्छाहरू क्रमिक रूपमा घटाउँदै जानुपर्छ। महत्त्वपूर्ण मामला, महत्त्वपूर्ण समय, र महत्त्वपूर्ण काममा, तैँले परमेश्वरको सहयोग लिनुपर्छ। यदि तँमा सङ्कल्प छ भने, तैँले सत्यता बुझ्न सकूँ भनेर परमेश्वरबाट ताडना र अनुशासन, र अन्तर्दृष्टि माग्नुपर्छ, र त्यस तरिकाले तैँले अझै राम्रा परिणामहरू प्राप्त गर्नेछस्। यदि तँमा साँच्चै सङ्कल्प छ, र तैँले परमेश्वरको उपस्थितिमा प्रार्थना गरेर उहाँलाई अन्तर्बिन्ती गर्छस् भने, परमेश्वरले काम गर्नुहुनेछ। उहाँले तेरो स्थिति र तेरा विचारहरू परिवर्तन गर्नुहुनेछ। यदि पवित्र आत्माले अलिअलि काम गरेर तँलाई थोरै भए नि स्पर्शित गर्नुभयो, र अन्तर्दृष्टि दिनुभयो भने, तेरो हृदय परिवर्तन हुनेछ, र तेरो स्थिति रूपान्तरित हुनेछ। यो रूपान्तरण आएपछि, यसरी जिउनु दबाबपूर्ण छैन भन्ने कुरा तँलाई महसुस हुनेछ। तेरा दबाबपूर्ण स्थिति र संवेगहरू रूपान्तरित भई कम हुनेछन्, र त्यो पहिलेको भन्दा फरक हुनेछ। यसरी जिउनु थकाइलाग्दो छैन भन्ने तँलाई महसुस हुनेछ। परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्दा तँलाई आनन्द हुनेछ। यस्तो व्यवहारमा आफूलाई ढाल्नु, अनि कर्तव्य निर्वाह गर्नु, कठिनाइ भोग्नु र मूल्य चुकाउनु, नियमहरू पालना गर्नु, र सिद्धान्तहरूअनुसार काम गर्नु भनेको जिउने असल तरिका हो भन्ने तँलाई महसुस हुनेछ। सामान्य मानिसहरूको जीवन यस्तै हुनुपर्छ भन्ने तँलाई महसुस हुनेछ। जब तँ सत्यताअनुसार जिउँछस् र आफ्नो कर्तव्य राम्ररी पूरा गर्छस्, तब तेरो हृदय स्थिर र शान्तिमा रहेको, र तेरो जीवन अर्थपूर्ण बनेको तँलाई महसुस हुनेछ” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (५))। परमेश्वरका वचनबाट मैले परमेश्वरले उहाँमा साँचो विश्वास गर्ने र आफ्नो उचित काम गर्ने मानिसलाई मन पराउनुहुन्छ भन्ने देखेँ। यी मानिसले कर्तव्य निभाउँदा जस्तोसुकै कठिनाइ वा तनाव सामना गरे पनि, वयस्क व्यक्तिले झैँ आफ्नो जिम्मेवारी र दायित्व वहन गर्न सक्छन्, र स्वीकार गर्छन्, समर्पित हुन्छन्, भाग्न खोज्दैनन्, र परमेश्वरका घरका सिद्धान्त र मागअनुसार कार्य गर्न सक्छन्। तिनीहरूले यो गर्न नसकेका बेला, परमेश्वरलाई प्रार्थना गर्छन्, उहाँमा भर पर्छन् र सत्यता खोज्छन्। तिनीहरूको पछ्याइ र चुकाउने मूल्यका कारण परमेश्वरले तिनीहरूलाई अन्तर्दृष्टि र मार्गदर्शन प्रदान गर्नुहुनेछ। यी जीवनको मूल्य भएका मानिस हुन्। यसलाई मेरो कर्तव्य निर्वाहसँग तुलना गर्दा, थौरै मात्र कठिनाइ वा तनाव हुँदा पनि म दमित भावनामा जिउँथेँ, परमेश्वरको अभिप्राय खोज्दिनथेँ र मेरो कर्तव्यबाट भाग्न समेत चाहन्थेँ। म परमेश्वरको अभिप्रायलाई ध्यान दिने व्यक्ति नै थिइनँ। पहिले, म सामान्य कर्तव्य गर्दथेँ र मबाट धेरै माग पनि हुँदैनथ्यो, त्यो मेरो कद सानो भएको र मैले भर्खर तालिम थालेकाले थियो। अब, मैले अगुवाइ गर्ने कर्तव्य निभाइरहेकी थिएँ, र मेरो काँधमा निकै गह्रौँ कार्यभार थियो त्यसैले स्वाभाविक रूपमा नै मबाट धेरै माग गरियो। यो परिवारमा बच्चा हुर्केर केही काम गर्न र घरको कर्तव्य उठाउन सक्ने भएपछि बाआमाले पक्कै पनि ऊबाट धेरै माग गर्नुजस्तै हो। यदि ऊ कष्ट भोग्न डराउँछ, आफ्नो उचित काममा ध्यान दिँदैन भने उसमा मानवता छैन, र उसका बाआमाले उसलाई पक्कै मन पराउँदैनन्। परमेश्वरले मबाट यति महत्त्वपूर्ण कर्तव्य निर्वाह गराएर र मेरो काँधमा भारी कार्यबोझ हालेर ममाथि कृपा गर्नुभएको थियो। उहाँको अभिप्राय मैले अझ धेरै सत्यता बुझौँ, मेरो जीवन द्रूत रूपमा अघि बढोस्, मैले एउटा वयस्क जसरी आफ्नो जिम्मेवारी निभाउन सकूँ र विवेक र समझ भएको व्यक्ति बनूँ भन्ने थियो। परमेश्वरको अभिप्राय बुझेपछि मलाई धेरै स्वतन्त्र महसुस भयो। म परमेश्वरको विचारशीलताको लायक नभइरहन सक्दिनँथेँ। मैले गर्नुपर्ने काम धेरै भए पनि, र मलाई धेरै तनाव भए पनि, मैले कर्तव्यप्रतिको आफ्नो मनोवृत्ति सही बनाई सत्यता सिद्धान्तमा प्रयास लगाउनु थियो, मैले कुनै कुरा नबुझेको बेला मेरो साझेदार सिस्टर र माथिल्लो अगुवासँग मिलेर धेरै खोज्नु थियो, साथै, बिस्तारै ममा भएका कमीको परिपूर्ति गर्दै परमेश्वरको मागहरू पूरा गर्नु थियो।
सेम्टेम्बरमा, कम्युनिष्ट पार्टीको धरपकड झन् गम्भीर बन्यो, र हामीले लुकेर मात्र काम गर्नसक्ने अवस्था थियो। यसको बाबजुद, मैले अझै पनि ब्रदर-सिस्टरले हरेक दिन रिपोर्ट गरिरहेका र हल गर्न खोजिरहेका समस्याहरूलाई सम्हाल्नु थियो, साथै, माथिल्लो अगुवाले तुरुन्त कार्यान्वयन गर्नु भनेका काम पनि गर्नु थियो। यी परिस्थितिहरूले उत्पन्न गरेका बाधाहरूले हाम्रा विभिन्न कार्यको कार्यान्वयन, हामीले समस्या सम्हाल्ने र सुल्झाउने कुरामाथि प्रभाव पारे। हरेक दिन, यी मामिलाहरूले मेरो दिमाग थिचिरहेका थिए र यो मानसिक रूपमा निकै चुनौतीपूर्ण थियो। यसबाहेक, माथिल्लो अगुवाले विभिन्न कार्यको प्रगति जाँच गर्न तुरुन्त पत्रहरू पठाउँथे। मैले फेरि प्रतिरोध गर्न सुरु गरेँ, र मनमनै सोचेँ, “अगुवाबाट कामको सुपरिवेक्षण निकै विस्तृत र बारम्बार हुन्छ। सुरुमा पर्दापछि बसेर काम गर्दा म केही आराम गर्न पाउँछु भन्ने लाग्थ्यो, तर कार्यभार कम हुनुको सट्टा झन् बढ्न पुग्यो। अब मसँग देहमा लिप्त हुने अवसर नै छैन। यदि भोलिका दिनमा यसरी नै आफ्नो कर्तव्य निभाइरहनु पर्यो भने म निकै दमित हुनेछु!” मलाई फेरि एकपटक मेरो स्थिति गलत छ भन्ने भयो, र म हतार गरी परमेश्वर सामु गएँ, उहाँलाई पुकारेँ र मेरो हृदयको रक्षा गर्न बिन्ती गरेँ। पछि, मैले परमेश्वरका वचन पढेँ: “वयस्कको रूपमा तैँले यी कुराहरूको बोझ लिनैपर्छ—गुनासो वा विरोध नगरी, अनि विशेष गरी तिनीहरूबाट टाढा नबसी वा तिनीहरूलाई इन्कार नगरी त्यसो गर्नुपर्छ। … चाहे समाजमा होस् वा परमेश्वरको घरमा होस्, यो कुरा सबैमा लागू हुन्छ। यो तैँले लिनुपर्ने जिम्मेवारी, वयस्कले लिनुपर्ने गह्रौँ बोझ, र तिनीहरूले बोक्नुपर्ने कुरा हो, र तँ यसबाट पन्छिनु हुँदैन। यदि तँ सधैँ यो सब कुराबाट उम्कने वा पन्छिने प्रयास गर्छस् भने, तेरा दबाबपूर्ण संवेगहरू प्रकट हुनेछन्, र तँ सधैँ तिनको बन्धनमा पर्नेछस्। तैपनि, यदि तैँले उचित रूपमा यी सब कुरा बुझ्न र स्विकार्न सक्छस्, र आफ्नो जीवन र अस्तित्वको अत्यावश्यक भागको रूपमा यसलाई लिन सक्छस् भने, यी समस्याहरू तँमा नकारात्मक संवेगहरू पैदा हुने कारण नहुनुपर्ने हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (५))। परमेश्वरका वचन पढेपछि मैले जानेँ कि कामकुराको जिम्मेवारी स्विकारेर जिम्मेवार व्यक्ति बन्नु सरल र सहज कुरा होइन, यदि म सधैँ यस प्रकारका परिस्थितिबाट बच्न खोजिरहेँ भने, म यो दमित भावनाले बाँधिइरहेकी हुनेछु। मैले आफ्नो कर्तव्य राम्ररी निभाउन सकूँ भनेर अगुवाले कामको सुपरिवेक्षण गरिरहेकी थिइन्। ममा भ्रष्ट स्वभाव थियो र कर्तव्यमा अक्सर झारा टार्थेँ, त्यसैले अगुवाको सुपरिवेक्षण भएकाले मात्र मैले यस्ता स्वभावअनुसार जिउने र आफूखुसी गर्ने हिम्मत गरिनँ। यसले मलाई मेरो कर्तव्य राम्ररी गर्न सहयोग गर्ने थियो। मैले सोचेँ, म पहिले जसरी दमित भावनामा जिइरहनु हुँदैन; मैले मेरो मनोवृत्ति ठीक गर्नुपर्छ र अगुवाको सुपरिवेक्षणलाई सही ढङ्गले सामना गर्नुपर्छ। यसरी सोच्न थालेपछि, मेरो स्थिति बिस्तारै बदलिन थाल्यो। यसपछि, मैले विभिन्न कार्यहरू सामान्य रूपमा गरेँ, मेरो सोच र क्षमताले भ्याएसम्म योगदान गर्ने भरपूर कोसिस गरेँ। मैले कुनै काम पूरा गर्न नसक्दा अगुवालाई तुरुन्त पत्र लेखी समाधानको मार्ग खोज्थेँ। अहिले पनि मेरो काममा धेरै कठिनाइ र तनाव हुन्छन्, तर मैले अब दमित र पीडा महसुस गर्न छोडेकी छु, बरु मेरो जिम्मेवारी बोध बढेको छ। यो परमेश्वरका वचनको मार्गदशर्न थियो जसले मलाई दमित भावनाबाट मुक्त गरायो, र एउटा वयस्क जसरी आफ्नो जिम्मेवारी उठाउन सिकायो। परमेश्वरलाई धन्यवाद।