७६. के बाआमाको भरणपोषण गर्नु परमेश्‍वरले सुम्पनुभएको मिसन हो?

सन् २०२२, सेप्टेम्बरको अन्त्यतिर, मिङ्ग हुईको पतिले उनलाई हिरासतबाट घर ल्याए। सर्वशक्तिमान परमेश्‍वरमा विश्‍वास गरेकाले मिङ्ग हुईलाई प्रहरीले दुईपटक पक्राउ गरी सताएको थियो। यो उनको दोस्रो गिरफ्तारी थियो, र उनलाई तीन वर्षको जेल सजाय सुनाइएको थियो। प्रहरीको नजरबाट भाग्दै हिँड्नाले र पछि जेल पर्नाले उनी घर नगएको पनि १० वर्ष भएथ्यो।

घर आएपछि, एक वर्षअघि नै बुबा बिरामी भएर बितेको र आमालाई पक्षघात भएको मिङ्ग हुईले थाहा पाइन्। आमालाई देख्नेबित्तिकै उनी स्तब्ध भइन्। पहिले निकै हृष्टपुष्ट देखिने आमा अहिले व्हीलचेयरमा थिइन्। मिङ्ग हुईलाई आमाप्रति ऋणी महसुस भयो। उनी घरकी कान्छी छोरी थिइन्, सानैदेखि बुबाले उनलाई केही काम गर्न दिँदैनथे। उनकी आमाले त उनको औधी ख्याल राख्थिन्। आमाबुबाले उनको पालनपोषणमा निकै कष्ट उठाए; शिक्षा, खाना, कपडाको बन्दोबस्त गरे, तर तिनीहरूलाई उनको खाँचो परेको बेला उनी कर्तव्यनिष्ठ छोरी बनेकी थिइनन्। उनले पहिलोपटक हिरासतमा थुनिँदाको समय सम्झिइन्। उनकी आमा प्रहरीले नराम्रोसँग छोरीलाई कुट्नेछन् भनेर चिन्तित थिइन्, र यो चिन्ताले उनको भोक र निद्रा हराएको थियो। आमाले यताउता भनसुन गर्दै उनलाई धरौटीमा छुटाउन पैसा खर्च गरिन्। यो सोच्दै मिङ्ग हुई आमा नजिक गइन्। उनकी आमाले रुँदै भनिन्, “बल्ल तिमी फर्केर आयौ। तिम्रो कति धेरै याद आइरहन्थ्यो, थाहा छ? तिमीलाई त्यहाँ कष्ट भइरहेको होला, तिमीसँग अन्याय भइरहेको होला भन्‍ने मलाई डर थियो।” यी शब्द सुनेर मिङ्ग हुईलाई आमाप्रति झन् ऋणी महससु भयो। बलिन्द्रधारा आँसु खसाल्दै उनले सोचिन्, “‘हामीले बाआमालाई बुढेसकालमा हेरविचार गर्नुपर्ने हो,’ तर मेरा बाआमा बिरामी भई मेरो हेरचाहको खाँचो हुँदा, म उहाँहरूको छेउमा बसेर सेवा गर्न पाइनँ। मैले उहाँहरूलाई खाना खुवाइनँ, औषधि दिइनँ, उहाँहरूलाई राहत हुने गरी मद्दत गर्नु त परको कुरा भयो। म उहाँहरूले मलाई हुर्काउन देखाएको स्नेहको योग्य छैन। मजस्ती छोरीलाई हुर्काउनुको के फाइदा!” मिङ्ग हुईले जति धेरै सोचिन्, उति नै आफूलाई धिक्कारिन्। त्यसपछिका दिनमा मिङ्ग हुईले हरेक दिन पक्षघातग्रस्त आमाको हेरचाहमा बिताइन्। उनी यतिका वर्षसम्म आमाको ऋणी रहेको सबै भर्पाई गर्न चाहन्थिन्। मिङ्ग हुई घर आएको धेरै भएको थिएन, दुई स्थानीय प्रहरीले उनको घर गई उनको फोटो खिचे। तिनीहरूले हरेक महिना उनको हालचाल सोध्न आउनेछौँ पनि भने। मिङ्ग हुईलाई राम्रोसँग थाहा थियो, यी दियाबलसहरू उनको ठेगानाको निगरानी गरिरहेका छन्। त्यहाँ बसेर परमेश्‍वरमा विश्‍वास र आफ्नो कर्तव्य गर्नु उनका लागि असम्भव हुनेथियो।

एक दिन, मण्डली अगुवाले मिङ्ग हुईलाई अन्यत्र कतै कर्तव्य निर्वाह गर्न सक्छौ कि सक्दैनौ भनी सोध्दै एउटा पत्र पठाइन्। पत्र पाएर मिङ्ग हुई खुसी र चिन्तित दुवै भइन्। अझै पनि कर्तव्य निर्वाह गर्ने मौका छ भनी थाहा पाउँदा उनी खुसी थिइन्, तर उनलाई पक्षघातग्रस्त बुढी आमाको यादले सताउने चिन्ता थियो। घर आउने र आमाको हेरचाह गर्ने मौका जुटाउन निकै कठिन थियो। उनलाई घर छोडेर हिँडेपछि कहिले फर्कने भन्‍ने थाहा थिएन। मिङ्ग हुई गहिरो चिन्तनमा डुबिन्। उनले सोचिन्, “बाआमाले मलाई हुर्काएर ठूली बनाउनुभयो। मेरो बुबा बित्दा म घरमा थिइनँ। आमा बित्नुभयो र म उहाँको छेउमा भइनँ भने, के ममा कुनै मानवता रहनेछ र? छिमेकीले मलाई कृतघ्न भन्‍ने कुरा त छँदैछ; यो सधैँभरि मेरो अन्तरात्मामा बोझ बन्नेछ! मेरा बाआमाले बुढेसकालमा म उहाँहरूको छेउ बसेर हेरचाह गर्न सकूँ भनेर मलाई हुर्काउन ठूलो कष्ट उठाउनुभएको होइन र? यी केही वर्षमा, परमेश्‍वरमा विश्‍वास गरेको कारण कम्युनिष्ट पार्टीले मलाई समातेर सतायो, र मैले आमाबुबाको सेवा गर्ने मौका कहिल्यै पाइनँ। यसले गर्दा मेरो अन्तरात्माले मलाई धिक्कारेको छ; म अब आमालाई छोड्न सक्दिनँ।” यो सम्झेर, मिङ्ग हुईले अगुवाको अनुरोध अस्वीकार गर्दै एक पत्र लेखिन्। यसपछि, उनले आफूलाई मनमनै गाली गरिन्। सिर्जित प्राणी भएको नाताले उनले आफ्नो कर्तव्य गर्नुपर्ने थियो, तर घरमा बसेर आमाको हेरचाह गर्न उनले कर्तव्य अस्वीकार गरिन्। यो परमेश्‍वरको अभिप्राय अनुरूप थिएन! ती दिनमा, मिङ्ग हुई निकै तनावमा थिइन्, र यस मामिलाबारे निरन्तर प्रार्थना गरिरहन्थिन्। उनले परमेश्‍वरका वचनको एउटा खण्ड सम्झिइन्ः “सामान्य मानवता भएको व्यक्तिसँग कम्तीमा पनि विवेक र समझ हुनैपर्छ। व्यक्तिसँग विवेक र समझ छ कि छैन भनेर तिमीहरू कसरी भन्न सक्छौ? यदि उसका बोलीवचन र कार्यहरू आधारभूत रूपमा विवेक र समझको मापदण्डअनुरूप हुन्छन् भने, मानव दृष्टिकोणबाट ऊ असल र स्वीकार्य मापदण्डमा रहेको व्यक्ति हो। यदि ऊ सत्यता बुझ्न र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न पनि सक्छ भने, उसले परमेश्‍वरका मापदण्डहरू पूरा गरिरहेको हुन्छ, जुन विवेक र समझको मापदण्डभन्दा उच्च हुन्छ। केही मानिसहरू भन्छन्: ‘मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभयो। परमेश्‍वरले हामीलाई जीवनको सास दिनुभयो, र परमेश्‍वरले नै हामीलाई आपूर्ति र भरणपोषण गर्नुहुन्छ, र हामीलाई वयस्क हुन अगुवाइ गर्नुहुन्छ। विवेक र समझ हुने मानिसहरू आफ्नो लागि वा शैतानको लागि जिउन मिल्दैन; तिनीहरू परमेश्‍वरको लागि जिउनुपर्छ, र तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ।’ यो साँचो हो, तर यो केवल एउटा फराकिलो ढाँचा, एउटा खेस्रा हो। वास्तविकतामा परमेश्‍वरको लागि कसरी जिउने भन्‍ने कुरा गर्दा, यसमा विवेक र समझ समावेश हुन्छ। त्यसोभए व्यक्ति कसरी परमेश्‍वरको लागि जिउँछ त? (सृष्टि गरिएको प्राणीले निभाउनुपर्ने कर्तव्य राम्रोसँग निभाएर।) सही हो। अहिले तिमीहरू सबैजना मानिसको कर्तव्य मात्र पूरा गर्छौ, तर वास्तवमा, तिमीहरू यो कसको लागि गरिरहेका छौ? (परमेश्‍वरको लागि।) यो परमेश्‍वरको लागि हो, यो उहाँसँगको सहकार्य हो! परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आज्ञा तिमीहरूको कर्तव्य हो। यो सुनियोजित, पूर्वनिर्धारित, र उहाँद्वारा सुशासित हुन्छ, वा अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वरले नै तँलाई यो कार्य दिनुहुन्छ, र तैँले यो कार्य पूरा गर् भन्‍ने चाहनुहुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हिँड्नको लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। परमेश्‍वरका वचनबाट मिङ्ग हुईले विवेक र मानवता हुनुको अर्थ थाहा पाइन्। उनी सिर्जित प्राणी थिइन्, र उनले फेर्ने हरेक सास परमेश्‍वरले दिनुभएको थियो। उनीसँग भएका सबै कुरा परमेश्‍वरले आपूर्ति गर्नुभएको थियो। उनी आजसम्म जीवित रहन पाउनु परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तकै हिस्सा थियो, र यतिका वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेर उनले उहाँका वचनको धेरै मलजल र भरणपोषण पाएकी थिइन्। उनमा साँच्चै केही विवेक र समझ हुन्थ्यो त, परमेश्‍वरको प्रेमको ऋण तिर्न उनले राम्ररी कर्तव्य गर्नुपर्दथ्यो। उनले केवल आफ्नो मामिलाको चिन्ता गर्ने, परिवार, आमा वा बालबच्चाका लागि मात्र जिउने गर्नुहुँदैनथ्यो; यसको अर्थ कुनै प्रकारको विवेक नहुनु थियो। अहिले उनको दाजु र बहिनीले आमाको रेखदेख गर्दै थिए, उनी घरमा नभएपनि दाजु र बहिनीले यो काम गर्ने नै थिए। त्यसपछिका दिनहरूमा, मिङ्ग हुईले परमेश्‍वरलाई प्रार्थना गरी उहाँको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुन र कर्तव्य निर्वाह गर्न तयार भइन्।

सन् २०२३ को फेब्रुअरीमा, मिङ्ग हुईले प्रहरीको निगरानीबाट बच्दै कर्तव्य गर्न घर छाडिन्। उनी अन्ततः ब्रदर सिस्टरहरूसँग पुनः जोडिइन्, उनको हृदयमा ठूलो उत्साह पैदा भयो। एक दिन, उनले एउटा छोटो लेख पढिन्, लेख अधबैँसे महिलाबारे थियो, ती महिलाले आमा बिरामी भएको सुनिन् र आमाका लागि केही खानेकुरा किनेर भेट्न गइन्। ती महिलाले आमालाई आफ्नो घरमा ल्याएर केही दिन हेरविचार गर्न चाहन्थिन्, तर परिस्थितिले त्यसो गर्न दिँदैनथ्यो, उनले गर्नसक्ने भनेको आमासँग केही आत्मीय कुरा गर्नु मात्र थियो। कथा पढेर मिङ्ग हुईले आफ्नी आमाबारे सोच्न थालिन्, र आँसुले आवाज अवरुद्ध भयो। यो देखेर मिङ्ग हुईसँग साझेदार सिस्टरले ठट्टा गर्दै भनिन्, “के भयो? के यो लेखले तपाईंको मुटुको तार हल्लायो?” त्यो बेला, मिङ्ग हुईले सिस्टरलाई उत्तर दिन सकिनन्। मानौँ, उनलाई आमा व्हीलचेयरमा बसेको, छोरीको अनुहार हेर्न खोजेजस्तो झझल्को आएको थियो, यसले गर्दा थाहै नपाई उनको आँखाबाट आँसु झरे। सानै उमेरदेखि उनले आमालाई धेरै चिन्तामा पार्थिन्। परमेश्‍वरमा विश्‍वास गरेपछि, कम्युनिष्ट पार्टीको निरन्तरको सतावटले उनी दुईपटक पक्राउ परी जेलमा पुगिन्। उनकी आमा उनको कारण प्रायः चिन्ताको स्थितिमा हुन्थिन्। उनकी आमाले उनको अनगिन्ती चिन्ता गरेकी थिइन्, कति आँसु बगाएकी थिइन्। र सायद उनको रोग छोरीकै कारण भएको थियो। अहिले, उनकी आमालाई उनको सेवाको खाँचो हुँदा आमालाई छोडेर कर्तव्य गर्न हिँडिन्। मिङ्ग हुईले जति धेरै सोचिन्, त्यति नै आमाप्रति ऋणी महसुस गरिन् र अनि रुन थालिन्। उनलाई आफू फेरि स्नेहभित्र जिउन थालेको महसुस भयो, र उनले हतारहतार परमेश्‍वरलाई प्रार्थना गरिन्, “हे परमेश्‍वर म एकचोटि फेरी आमाको चिन्तामा जिइरहेकी छु। बिन्ती मेरो हृदयको रक्षा गर्नुहोस् र शैतानको अवरोधविना तपाईँका वचनमा आधारित भई मानिस र चिजवस्तु हेर्न मलाई सहयोग गर्नुहोस्। आमेन्!”

यसपछि, मिङ्ग हुईले परमेश्‍वरका वचनको एक खण्ड पढिन्, र उनको हृदय केही हदसम्म स्वतन्त्र भयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तँलाई हुर्काएर, तेरा आमाबुबाले आफ्नो जिम्मेवारी र दायित्व मात्रै पूरा गरिरहेका थिए, र यसको ऋण तिर्नु पर्दैन, र यो लेनदेनको कार्य बन्‍नु हुँदैन। त्यसकारण, तैँले भरपाई गर्ने विचारअनुसार आफ्ना आमाबुबासँग व्यवहार गर्ने वा तिनीहरूसँगको सम्‍बन्धलाई सम्हाल्ने गर्नु हुँदैन। यदि तैँले यस विचारका आधारमा आफ्ना आमाबुबासँग व्यवहार गर्छस्, तिनीहरूप्रतिको ऋण तिर्छस्, र तिनीहरूसँगको सम्‍बन्धलाई सम्हाल्छस् भने, त्यो अमानवीय हुन्छ। साथ-साथै, यसले तँलाई तेरा दैहिक भावनाहरूको नियन्त्रण र बन्धनमा पार्ने सम्‍भावना हुन्छ, र तँलाई यी उल्झनहरूबाट बाहिर निस्कन गाह्रो हुनेछ, यहाँसम्‍म कि तैँले आफ्नो बाटो बिराउनसमेत सक्छस्। तेरा आमाबुबा तेरा ऋणदाता होइनन्, त्यसैले तँसँग तिनीहरूका सबै अपेक्षाहरू पूरा गर्ने दायित्व हुँदैन। तँसँग तिनीहरूको अपेक्षाहरू पूर्ति गर्ने कुनै दायित्व हुँदैन। अर्थात्, तिनीहरूका आफ्नै अपेक्षाहरू हुन सक्छन्। तेरा आफ्‍नै रोजाइहरू, र परमेश्‍वरले तेरा लागि निर्धारित गर्नुभएको जीवन मार्ग र गन्तव्य छन्, र तेरा आमाबुबासँग तिनको कुनै सरोकार हुँदैन। त्यसकारण, तेरा आमाबुबामध्ये एक जनाले: ‘तँ आमाबुबालाई प्रेम नगर्ने सन्तान होस्। तँ यति वर्षसम्म मलाई भेट्न आएनस्, र तैँले मलाई फोन नगरेको धेरै दिन भयो। म बिरामी छु र मेरो हेरचाह गर्ने कोही छैन। मैले साँच्‍चै तँलाई व्यर्थैमा हुर्काएँ। तँ साँच्‍चै बैगुनी होस्, र अकृतज्ञ सन्तान होस्!’ भनेर भन्दा यदि तँ ‘तेरा आमाबुबा तेरा ऋणदाता होइनन्’ भन्‍ने सत्यता बुझ्दैनस् भने, यी शब्दहरू सुन्दा छुराले मुटु रोपेजस्तै पीडादायी हुनेछ, र तेरो विवेकले दोषी महसुस गर्नेछ। यी प्रत्येक शब्दहरू तेरो हृदयमा गाडिनेछन्, र तिनले तँलाई आफ्‍ना आमाबुबाको मुख हेर्न लज्‍जित भएको, आफ्‍ना आमाबुबाप्रति ऋणी भएको, र तिनीहरूप्रति दोषी भावनाले भरिएको महसुस गराउनेछन्। तेरा आमाबुबाले तँलाई तँ कसैको वास्ता नगर्ने बैगुनी होस् भनेर भन्दा, तँलाई वास्तवमै यस्तो महसुस हुनेछ: ‘तिनीहरूले साँच्‍चै सही कुरा भने। तिनीहरूले मलाई हुर्काएर यत्रो बनाए, र तिनीहरूले मेरो सफलताको फल पाउन सकेका छैनन्। अहिले तिनीहरू बिरामी छन्, र म तिनीहरूको सेवा गर्दै र तिनीहरूलाई साथ दिँदै तिनीहरूको छेउमा बसूँ भन्‍ने आशा गर्छन्। तिनीहरू मैले तिनीहरूको दया-मायाको ऋण तिरेको हेर्न चाहन्थे, तर म तिनीहरूसँग थिइनँ। म वास्तवमै कसैको वास्ता नगर्ने बैगुनी हुँ!’ तैँले आफूलाई कसैको वास्ता नगर्ने बैगुनीका रूपमा वर्गीकरण गर्छस्—के त्यो तर्कसङ्गत छ? के तँ कसैको वास्ता नगर्ने बैगुनी होस्? यदि तँ आफ्नो कर्तव्य पूरा गर्न आफ्नो घरबाट बाहिर अन्यत्र नगएर आफ्नो आमाबुबाको साथमा बसेको भए, के तैँले तिनीहरूलाई बिरामी पर्नबाट जोगाउन सक्थिस्? (सक्थिनँ।) के तैँले तेरा आमाबुबा बाँच्छन् कि मर्छन् भन्‍ने कुरालाई नियन्त्रण गर्न सक्छस्? के तैँले तिनीहरू धनी हुन्छन् कि गरिब हुन्छन् भनेर नियन्त्रण गर्न सक्छस्? (सक्दिनँ।) तेरा आमाबुबालाई जुनसुकै रोग लागे पनि, तँलाई हुर्काउँदा धेरै थकित भएर, वा तिनीहरूलाई तेरो धेरै याद आएर त्यस्तो भएको हुँदैन; विशेषगरी तिनीहरू तेरो कारणले गर्दा कुनै पनि ठूला, गम्भीर, र सम्भवतः घातक रोगहरूको सिकार हुनेछैनन्। त्यो तिनीहरूको भाग्य हो, र तँसँग त्यसको कुनै सम्बन्ध हुँदैन। तैँले आमाबुबालाई जति नै माया गरे पनि, तैँले बढीमा गर्न सक्‍ने भनेको तिनीहरूको दैहिक पीडा र बोझलाई थोरै मात्रामा कम गर्नु मात्र हो, तर तिनीहरू कहिले बिरामी हुन्छन्, तिनीहरूलाई कुन रोग लाग्छ, तिनीहरू कहिले मर्छन्, र कहाँ मर्छन् भन्‍ने कुराहरूको हकमा भन्दा—के यी कुराहरूसँग तेरो कुनै सम्बन्ध हुन्छ? अहँ, हुँदैन। यदि तँ आमाबुबालाई माया गर्ने व्यक्ति होस् भने, यदि तँ कसैको वास्ता नगर्ने बैगुनी होइनस् भने, र तैँले तिनीहरूसँग दिनभर बिताइस्, तिनीहरूको हेरचाह गरिस् भने, के तिनीहरू बिरामी पर्दैनन्? के तिनीहरू मर्दैनन्? यदि तिनीहरू बिरामी हुनु छ भने, जसरी पनि बिरामी हुँदैनन् र? यदि तिनीहरू मर्नु छ भने, जसरी पनि मर्दैनन् र? होइन र? … तेरा आमाबुबाले तँलाई कसैको वास्ता नगर्ने बैगुनी भने पनि वा नभने पनि, कम्तीमा तैँले सृष्टिकर्ताको अगाडि सृष्टि गरिएको प्राणीका रूपमा आफ्‍नो कर्तव्य पूरा गरिरहेको छस्। तँ परमेश्‍वरको नजरमा कसैको वास्ता नगर्ने बैगुनी होइनस् भने, त्यो नै पर्याप्त हुन्छ। मानिसहरूले के भन्छन्, त्यसले फरक पार्दैन। तेरा आमाबुबाले तेरो बारेमा जे भन्छन्, त्यो साँचो नै हुन्छ भन्‍ने हुँदैन, र तिनीहरूले जे भन्छन्, त्यो उपयोगी हुँदैन। तैँले त परमेश्‍वरका वचनहरूलाई आफ्नो आधारका रूपमा लिनुपर्छ। यदि परमेश्‍वरले तँलाई सृष्टि गरिएको एक योग्य प्राणी होस् भनेर भन्‍नुहुन्छ भने, मानिसहरूले तँलाई कसैको वास्ता नगर्ने बैगुनी भने पनि, तिनीहरूले केही हासिल गर्न सक्दैनन्। यति मात्र हो कि मानिसहरूलाई आफ्नो विवेकको प्रभावको कारण, वा तिनीहरूले सत्यता नबुझ्दा र तिनीहरूको कद सानो हुँदा यी अपमानहरूले असर गर्छन्, र तिनीहरू अलिक खराब मुडमा हुनेछन्, र अलिक उदास महसुस गर्नेछन्, तर जब तिनीहरू परमेश्‍वरसामु फर्कन्छन्, यी सबै कुरा समाधान हुनेछन्, र तिनले तिनीहरूलाई समस्यामा पार्न छोड्नेछन्(वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१७))। मिङ्ग हुईले मनमनै परमेश्‍वरलाई धन्यवाद दिइन्। परमेश्‍वरले “तेरा आमाबुबा तेरा ऋणदाता होइनन्” भनेर सत्यतामा स्पष्ट सङ्गति नगरेको भए, उनले सदैव आमाबुबाले जन्माएको, शिक्षा दिन धेरै कष्ट उठाएको, उनीबारे धेरै चिन्ता गरेको स्नेहपूर्ण तरिकाले उनलाई हुर्काएको कुरा कुनै पनि कुराभन्दा माथि छ र आफू ठूलो भएपछि यो ऋण तिर्नुपर्नेछ भन्‍ने सम्झनेथिइन्। उनले यो गर्न नसक्ने हो भने उनको अन्तरात्माले उनलाई धिक्कार्ने थियो, र अरूले उनलाई कृतघ्न रहेको र सन्तान धर्म पूरा नगरेको भन्‍ने थिए। उनले के ठानेकी थिइन् भने उनी यी वर्षहरूमा घरमा भएकी भए, बुबा बिरामी हुँदा राम्रोसँग रेखदेख गर्न सक्नेथिइन्, आमा पनि उनको बारेमा यति धेरै चिन्तित हुनेथिइनन्। तब सायद आमालाई रोग पनि लाग्ने थिएन होला। आमाको रोग आफ्नै कारण आएको भनेर उनी सधैँ सोचिरहन्थिन्। पछि, उनले परमेश्‍वरका यी वचन पढिन्ः “के तैँले तेरा आमाबुबा बाँच्छन् कि मर्छन् भन्‍ने कुरालाई नियन्त्रण गर्न सक्छस्? के तैँले तिनीहरू धनी हुन्छन् कि गरिब हुन्छन् भनेर नियन्त्रण गर्न सक्छस्? (सक्दिनँ।) तेरा आमाबुबालाई जुनसुकै रोग लागे पनि, तँलाई हुर्काउँदा धेरै थकित भएर, वा तिनीहरूलाई तेरो धेरै याद आएर त्यस्तो भएको हुँदैन; विशेषगरी तिनीहरू तेरो कारणले गर्दा कुनै पनि ठूला, गम्भीर, र सम्भवतः घातक रोगहरूको सिकार हुनेछैनन्। त्यो तिनीहरूको भाग्य हो, र तँसँग त्यसको कुनै सम्बन्ध हुँदैन।” मिङ्ग हुईले बुझिन् कि सबैको भाग्य परमेश्‍वरको हातमा छ। यो जीवनकालमा, व्यक्ति बिरामी हुने वा मर्ने कुरा परमेश्‍वरले धेरै अघि निर्धारित गर्नुभएका कुरा हुन्। यी वर्षमा उनी सधैँ आमाबुबाकै छेउमा भएकी भएपनि, यसले उनीहरूको भाग्य बदल्ने थिएन। मिङ्ग हुईले सोचिन् कि हरेक वर्ष यति धेरै वृद्ध मानिस हुन्छन्, उच्च रक्तचापका कारण तिनीहरूलाई मस्तिष्क रक्तश्राव र हृदयघात हुन्छ, अचानकको रोगले मर्छन् वा त्यसको दुष्प्रभावले आधा भागको पक्षघात हुन्छ। यीमध्ये कतिपयका छोराछोरी आमाबुबाको रेखदेखमा नै समर्पित हुन्छन्, तर जति राम्रो हेरचाह गरेपनि आमाबुबालाई बिरामी हुन वा मर्नबाट रोक्न सक्दैनन्। उनीहरूले गर्नसक्ने भनेको तुरुन्त आमाबुबालाई उपचारका लागि अस्पताल लैजानु हो, तर डाक्टरले उपचार गर्न सक्छ कि सक्दैन भन्‍ने कुरा उनीहरूको हातमा हुँदैन। यो चिनेर मिङ्ग हुईले स्पष्ट रूपमा के बुझिन् भने उनकी आमा यसरी बिरामी हुनु उनको सम्झनाले वा उनलाई हुर्काउँदा ऊर्जा खत्तम भएर होइन रहेछ। यो आमाकै भाग्य थियो। मिङ्ग हुईले धेरै सहज महसुस गरिन्।

आमाको रोग उनीसँग सम्बन्धित नरहेको भन्‍ने बुझेपनि आमाले उनका लागि गरेका सबैकुरा सम्झने बित्तिकै, र अहिले आमा पक्षघातग्रस्त भई उनको रेखदेख चाहिएको बेला, उनी त्यहाँ नहुँदा, उनलाई अझैपनि अन्तरात्माले धिक्कारेको महसुस हुन्थ्यो। उनलाई आफू आमाप्रति ऋणी रहेको लाग्थ्यो। यस लगत्तै, उनले परमेश्‍वरका वचनको दुई खण्ड पढिन्, जसले यस विषयमा उनको हेराइ बदल्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “गैरविश्‍वासीहरूको संसारमा एउटा भनाइ छ: ‘कागले खाना खुवाएर आमाको ऋण तिर्छ, र पाठाले घुँडा टेकेर आमाको दूध चुस्‍छ।’ यो भनाइ पनि छ: ‘आमाबुबालाई आदर नगर्ने व्यक्ति पशुभन्दा गिरेको हुन्छ।’ यी भनाइहरू कति भव्य सुनिन्छन्! वास्तवमा, पहिलो भनाइले उल्लेख गरेको घटना, अर्थात् कागले खाना खुवाएर आमाको ऋण तिर्नु, र पाठाले घुँडा टेकेर आमाको दूध चुस्नु भनेको वास्तवमै हुने कुरा हुन्, र यी तथ्य हुन्। तैपनि, यी त पशु जगतमा देखिने घटनाहरू मात्र हुन्। यी कुराहरू परमेश्‍वरले विभिन्‍न जीवित प्राणीहरूका लागि स्थापित गर्नुभएको नियम मात्र हुन्, र मानिसलगायत सबै प्रकारका जीवित प्राणीहरूले यिनै नियमहरू पालना गर्छन्। सबै प्रकारका जीवित प्राणीहरूले यो नियम पालना गर्छन् भन्‍ने तथ्यले सबै जीवित प्राणीहरू परमेश्‍वरले सृष्टि गर्नुभएको हो भन्‍ने कुरालाई झनै देखाउँछ। कुनै पनि जीवित प्राणीले यस नियमलाई तोड्न सक्दैन, र कुनै पनि जीवित प्राणीले यसलाई पार गर्न सक्दैन। सिंह र बाघजस्ता तुलनात्मक रूपमा क्रूर मांसाहारीहरूले पनि आफ्नो सन्तानको पालनपोषण गर्छन् र वयस्क हुनुभन्दा पहिले तिनलाई टोक्दैनन्। यो जनावरको अन्तर्निहित प्रवृत्ति हो। तिनीहरू जुनसुकै प्रजातिका भए पनि, तिनीहरू क्रूर भए पनि वा दयालु र कोमल भए पनि, सबै जनावरहरूमा यो अन्तर्निहित प्रवृत्ति हुन्छ। मानिसलगायत सबै प्रकारका प्राणीहरू यस अन्तर्निहित प्रवृत्ति र नियम पालना गरेर मात्र वृद्धि हुन र बाँचिरहन सक्छन्। यदि तिनीहरूले यस नियम पालना गरेनन्, वा तिनीहरूमा यो नियम र अन्तर्निहित प्रवृत्ति नभएको भए, तिनीहरू वृद्धि हुन र बाँच्न सक्दैनथिए। जैविक श्रृङ्खला अस्तित्वमा रहने थिएन, न त यो संसार नै अस्तित्वमा रहनेथियो। के यो कुरा साँचो होइन र? (हो।) कागले खाना खुवाएर आमाको ऋण तिर्छ, र पाठाले घुँडा टेकेर आमाको दूध चुस्छ भन्‍ने तथ्यले पशु जगतले यस प्रकारको नियम पालना गर्छ भन्‍ने कुरालाई ठ्याक्कै देखाउँछ। सबै प्रकारका जीवित प्राणीहरूमा यो अन्तर्निहित प्रवृत्ति हुन्छ। सन्तान जन्मिएपछि, त्यो वयस्क नभएसम्म त्यस प्रजातिको भाले वा पोथीले त्यसको हेरचाह र पालनपोषण गर्छ। सबै प्रकारका जीवित प्राणीहरूले इमानदारी र कर्तव्यनिष्ठाका साथ अर्को पुस्तालाई हुर्काउँदै आफ्नो सन्तानप्रतिको जिम्मेवारी र दायित्वहरू पूरा गर्न सक्छन्। यो कुरा मानिसहरूमा अझ बढी लागू हुनुपर्ने हो। मानवजातिले मानिसहरूलाई उच्‍च स्तरका पशु भन्छ—यदि तिनीहरूले यो नियम पालना गर्न सक्दैनन्, र तिनीहरूमा यस अन्तर्निहित प्रवृत्तिको कमी छ भने, मानिसहरू पशुभन्दा तल्‍लो स्तरका हुन्, होइन त? त्यसकारण, तेरा आमाबुबाले तँलाई हुर्काउँदा तेरो जति पालनपोषण गरे पनि, र तिनीहरूले तँप्रतिको आफ्नो जिम्मेवारी जति पूरा गरे पनि, तिनीहरूले सृष्टि गरिएको मानवको क्षमताको दायराभित्र आफूले गर्नुपर्ने काम मात्र पूरा गरिरहेका हुन्छन्—यो तिनीहरूको अन्तर्निहित प्रवृत्ति हो(वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१७))। “बाहिरी रूपमा हेर्दा, तेरा आमाबुबाले तँलाई दैहिक रूपमा जन्म दिए, र तँलाई जीवन दिने तेरा आमाबुबा नै हुन् भन्‍ने देखिन्छ। तर, यदि हामीले यसलाई परमेश्‍वरको दृष्टिकोणबाट, र यस कुराको मूलबाट हेर्‍यौँ भने, तँलाई तेरो दैहिक जीवन तेरा आमाबुबाले दिएका होइनन्, किनभने मानिसहरूले जीवन सृष्टि गर्न सक्दैनन्। सरल शब्दमा भन्‍नुपर्दा, कुनै पनि व्यक्तिले मानिसको सास सिर्जना गर्न सक्दैन। तिनीहरूमा त्यो सास हुने हुनाले, हरेक व्यक्तिको देह व्यक्ति बन्‍न सक्छ। मानिसको जीवन यही सासमा निहित हुन्छ, र यो जीवित व्यक्तिको चिन्ह हो। मानिसहरूसँग यो सास र जीवन हुन्छ, र यी कुराहरूको स्रोत र मूल तिनीहरूका आमाबुबा होइनन्। मानिसहरू तिनीहरूका आमाबुबाले तिनीहरूलाई जन्म दिने कार्यमार्फत पैदा भएका मात्र हुन्—मूल रूपमा, मानिसहरूलाई यी कुराहरू दिने त परमेश्‍वर हुनुहुन्छ। त्यसकारण, तेरा आमाबुबा तेरो जीवनका मालिक होइनन्, तेरो जीवनको मालिक त परमेश्‍वर हुनुहुन्छ। परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुभयो, उहाँले मानवजातिको जीवन सृष्टि गर्नुभयो, र उहाँले मानवजातिलाई जीवनको सास दिनुभयो, जुन मानिसको जीवनको स्रोत हो। तसर्थ, के ‘तेरा आमाबुबा तेरो जीवनका मालिक होइनन्’ भन्‍ने हरफ बुझ्न सजिलो छैन र? तँलाई तेरा आमाबुबाले सास दिएका होइनन्, र तेरा आमाबुबाले तँलाई यसको निरन्तरता दिनु त परको कुरा हो। परमेश्‍वरले तेरो जीवनको हरेक दिनको हेरचाह र त्यसमाथि शासन गर्नुहुन्छ। तेरा आमाबुबाले तेरो जीवनको हरेक दिन कसरी बित्छ भनेर, प्रत्येक दिन खुसीसाथ र सहज रूपमा चल्छ कि चल्दैन, तैँले हरेक दिन कसलाई भेट्छस्, वा तँ प्रत्येक दिन कुन परिवेशमा जिउँछस् भन्‍ने कुरा निर्धारण गर्न सक्दैनन्। यति मात्र हो कि, परमेश्‍वरले तँलाई तेरा आमाबुबामार्फत तेरो हेरचाह गर्नुहुन्छ—तेरा आमाबुबा भनेको परमेश्‍वरले तेरो हेरचाह गर्न पठाउनुभएका मानिस मात्र हुन्। तँ जन्मँदा तँलाई जीवन दिने तेरा आमाबुबा थिएनन् भने, के तँलाई जीवन दिएर अहिलेसम्म बाँच्न दिने तेरा आमाबुबा थिए त? तिनीहरू अझै पनि थिएनन्। तेरो जीवनको स्रोत तेरा आमाबुबा नभई परमेश्‍वर नै हुनुहुन्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१७))। परमेश्‍वरका वचन पढेपछि, मिङ्ग हुईले राहतको सास फेरिन्। परमेश्‍वरले भनेजस्तै “कागले खाना खुवाएर आमाको ऋण तिर्छ, र पाठाले घुँडा टेकेर आमाको दूध चुस्छ,” भन्‍ने कुरा तथ्य हो, तर यो तथ्यले के मात्र प्रमाणित गर्यो भने, प्राकृतिक संसारका सबै जनावरले सन्तानको पालनपोषण गर्ने जिम्मेवारी र दायित्व वहन गरिरहेका छन्। यो परमेश्‍वरले सबै सजीवका लागि बनाउनुभएको नियम हो। चाहे यो बाघ वा सिंह नै किन नहोस्, बच्चा सानो हुँदा, हुर्किनसक्दा, स्वनिर्भर नभएसम्म तिनको रक्षा र पालनपोषणमा समर्पित हुन्छन्। यो परमेश्‍वरले तिनका लागि बनाउनुभएको नियम हो, र यो तिनको प्रवृत्ति पनि हो। मानिस मुटु र आत्मा भएका अरू प्राणीभन्दा विकसित प्रजाति हो, र यो नियम कसरी पालना गर्ने भन्‍ने कुरा मानिसलाई अझ राम्रोसँग थाहा हुनुपर्छ। छोराछोरीका लागि आमाबुबाले मूल्य चुकाएको भएपनि, यो उनीहरूले आफ्नो जिम्मेवारी र दायित्व पूरा गरेको मात्र हो, यसलाई स्नेह भनिँदैन। मिङ्ग हुईले देखिन् कि उनले “कागले खाना खुवाएर आमाको ऋण तिर्छ, र पाठाले घुँडा टेकेर आमाको दूध चुस्छ” भन्‍ने भनाइलाई गलत बुझेकी रहिछिन्, जुन सत्यताअनुरूप थिएन। उनले जनावर पनि आफूलाई हुर्काउने आमाबुबाको ऋण चुक्ता गर्न जान्दछन् र उनले यसो गर्न नसके उनी जनावरभन्दा खराब हो भन्‍ने अर्थ लगाएकी थिइन्। यस्तो बुझाइ गलत थियो र परमेश्‍वरका वचनअनुरूप थिएन। आमाबुबाले उनलाई जन्माउनु, हुर्काउनु, खाना, कपडा र शिक्षा प्रदान गर्नु यी सबै आमाबुबाको नाताले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व थिए। उनले सधैँ आमाबुबाप्रति ऋणी महसुस गर्नुहुँदैन, सधैँ उहाँहरूको स्नेहको ऋण तिर्नुपर्ने भन्‍ने सोच्नु त झन् हुँदैन। सतही रूपमा, आमाबुबाले उनलाई जन्माएर हुर्काएको भए पनि, यो सबै परमेश्‍वरले निर्धारित गर्नुभएको थियो। आमाबुबाले छोराछोरीको हेरचाह गर्ने र ठूलो बनाउने गर्छन्, तर छोराछोरीको भाग्य राम्रो हुने नहुने, छोराछोरीमाथि कुनै घटना वा दुर्घटना कहिले आईपर्छ, यो आमाबुबाको हातबाहिरको कुरा हो। मिङ्ग हुईले अचानक आफू पाँच वा छ वर्षकी हुँदाको समय सम्झिइन्, त्यो बेला उनी दुई वर्षकी बहिनीसँग नदी किनारमा खेल्न गएकी थिइन् र दुर्घटनावश गहिरो खाल्टोमा खसिन्। उनले धेरै पानी निलिन् र झन्डै डुबेकी थिइन्। रुँदै बहिनीले उनलाई खाल्डोबाट तानेर निकालिन्। त्योबेला उनी परमेश्‍वरमा विश्‍वास नगर्ने भएपनि, परमेश्‍वरले उनको रेखदेख र सुरक्षा नगरिरहनु भएको भए, उहिल्यै उनको सास बन्द भई जीवन गुमाएकी हुनेथिइन्। उनका आमाबुबाले उनलाई जति नै माया गरेपनि उनी जिउने वा मर्ने कुरा उनीहरूको नियन्त्रणमा थिएन। उनी आजसम्म बाँचिरहनु परमेश्‍वरकै रेखदेख र रक्षा थियो। उनले सिर्जित प्राणीको नाताले कसरी परमेश्‍वरको प्रेमको ऋण तिर्ने र आफ्नो कर्तव्य निर्वाह गर्ने भनी सोच्नुपर्थ्यो; विवेक र समझ भएको व्यक्तिले गर्नुपर्ने कुरा यही हो।

यस लगत्तै, मिङ्ग हुईले परमेश्‍वरका यी वचन पढिन्: “सृष्टिकर्ताको छेउमा, तँ एक सृष्टि गरिएको प्राणी होस्। तैँले यो जुनीमा गर्नुपर्ने भनेको आमाबुबाप्रतिका तेरा जिम्मेवारीहरू मात्र होइन, सृष्टि गरिएको प्राणीको रूपमा तेरा जिम्मेवारी र कर्तव्यहरू पनि पूरा गर्नु हो। तैँले परमेश्‍वरका वचन र सत्यता सिद्धान्तहरूको आधारमा मात्र तेरा आमाबुबाप्रतिका जिम्मेवारीहरू पूरा गर्न सक्छस्, तेरा भावनात्मक चाहना वा तेरो विवेकका चाहनाहरूको आधारमा जेसुकै गरेर पूरा गर्न सक्दैनस्। … कतिपयले अवश्यै यसो भन्‍नेछन्: ‘तपाईँले भन्नुभएका सबै कुराहरू तथ्य हुन्, तर मलाई यस तरिकाले व्यवहार गर्नु अति अमानवीय कुरा हो जस्तो लाग्छ। मेरो विवेकलाई सधैँ ग्लानि महसुस हुन्छ, म यो सहन सक्दिनँ।’ यदि तँ यो सहन सक्दैनस् भने, तेरा भावनालाई सन्तुष्ट तुल्या; तेरा आमाबुबालाई साथ दे र तिनीहरूको छेउमै बस्, तिनीहरूको सेवा गर्, कर्तव्यनिष्ठ सन्तान हू, र सही गलत जे भए नि तिनीहरूले भनेकै काम गर्—तिनीहरूको पुच्छर र नोकर बन्, त्यो सब ठिक हुन्छ। त्यसो गरिस् भने, कसैले पनि तेरो तेरो कुरा काट्नेछैन, र तेरो बृहत् परिवारले समेत तँ कति कर्तव्यनिष्ठ छस् भनेर कुरा गर्नेछन्। तर अन्त्यमा, घाटा हुने तँलाई मात्र हो। तैँले कर्तव्यनिष्ठ बच्चाको रूपमा आफ्नो छवि जोगाएको हुन्छस्, तैँले तेरो भावनात्मक आवश्यकता पूरा गरेको हुन्छस्, तेरो विवेकले तँलाई घोचेको हुँदैन, र तैँले आफ्ना आमाबुबाको मायाको ऋण तिरेको हुन्छस्, तर यसमा तैँले बेवास्ता गरेको र गुमाएको एउटा कुरा छ: तैँले यी सबै मामलाहरूलाई परमेश्‍वरका वचनअनुसार हेर्ने र सम्हाल्ने गरिनस्, र तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य निभाउने अवसर गुमाएको छस्। यसको अर्थ के हो? यसको अर्थ यो हो कि तँ आमाबुबाप्रति कर्तव्यनिष्ठ बनेको छस् तर परमेश्‍वरलाई विश्‍वासघात गरेको छस्। तैँले सन्तानीय भक्ति देखाइस् र तेरा आमाबुबाको देहका भावनात्मक चाहनाहरू पूरा गरिस्, तर परमेश्‍वरविरुद्ध विद्रोह गरिस्। तँ सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्यहरू निभाउनुको साटो कर्तव्यनिष्ठ सन्तान हुन रोज्छस्। यो परमेश्‍वरको सबभन्दा ठूलो अपमान हो। तँ कर्तव्यनिष्ठ सन्तान होस्, तैँले आमाबुबालाई निराश पारेको छैनस्, तँसित विवेक छ, र तैँले सन्तानको रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गर्छस् भन्दैमा, परमेश्‍वरले तँ उहाँमा समर्पित हुने र मानवता भएको व्यक्ति होस् भन्नुहुनेछैन। यदि तँ तेरो विवेकका खाँचाहरू र तेरो देहका भावनात्मक खाँचाहरू मात्र पूरा गर्छस्, तर यो मामला हेर्ने र सम्हाल्ने आधार र सिद्धान्तहरूको रूपमा परमेश्‍वरका वचन वा सत्यता स्विकार्दैनस् भने, तैँले परमेश्‍वरप्रति सबभन्दा ठूलो विद्रोहीपन देखाउँछस्। यदि तँ योग्य सृष्टि गरिएको प्राणी हुन चाहन्छस् भने, तैँले सुरुमा सबथोक परमेश्‍वरका वचनअनुसार हेर्ने र गर्ने गर्नुपर्छ। यसैलाई योग्यता, मानवता र विवेक भएको भनिन्छ। यसविपरीत, यदि तँ यो मामला हेर्ने वा सम्हाल्ने आधार र सिद्धान्तहरूको रूपमा परमेश्‍वरका वचनहरू स्विकार्दैनस्, र तँ बाहिर गएर कर्तव्यहरू निभा भनी परमेश्‍वरले गर्नुभएको बोलावट पनि स्विकार्दैनस्, वा तँ आमाबुबाको छेउमा रहन, तिनीहरूलाई खुसी दिन, तिनीहरूलाई अन्तिम दिनहरूमा रमाउन दिन, र तिनीहरूको मायाको गुन तिर्नको निम्ति आफ्ना कर्तव्यहरू निभाउन ढिलाइ गर्छस् वा त्यो अवसर गुमाउँछस् भने, परमेश्‍वरले तँलाई मानवता वा विवेकबिनाको चिज भनेर भन्नुहुनेछ। तँ सृष्टि गरिएको प्राणी होइनस्, र उहाँले तँलाई चिन्नुहुनेछैन(वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१६))। मिङ्ग हुई पहिलो पटक मण्डली अगुवाले उनलाई घर छोडेर कर्तव्य निर्वाहका लागि जान सक्ने कि नसक्ने भनी सोधेर पत्र पठाएको सम्झिन्। उनले सोचेको पहिलो कुरा यतिका वर्षसम्म उनी आमाबुबाप्रति निकै ऋणी छिन् भन्‍ने थियो। विशेष गरी, बुबाप्रतिको ऋणको भर्पाई गर्न ढिला भइसकेको थियो। आमालाई पनि छोडेर जाने हो भने, उनले आफैलाई बुझाउन पनि धेरै कठिन हुनेथियो। आफ्नो अन्तरात्मालाई थोरै सान्त्वना दिन र छिमेकीले पनि उनलाई सन्तानको धर्म निभाउने भनून् भनेर उनले कर्तव्य अस्वीकार गरिन् र आमाको हेरचाह गर्न घरमै बसिन्। उनले यो विवेक र मानवता भएको व्यक्ति हुनु हो भन्‍ने ठानिन्। परमेश्‍वरका वचनबाट उनले बुझिन् कि सिर्जित प्राणीको नाताले परमेश्‍वरले दिएको सास फेर्ने र उहाँले उपलब्ध गराएका कुरा उपभोग गर्ने उनले परमेश्‍वरको प्रेमको ऋण तिर्नुपर्ने थियो। तर, मण्डलीलाई उनको कर्तव्य निर्वाह आवश्यक पर्दा आमाको हेरचाहका लागि बस्न उनले कर्तव्य लिन मानिनन्। उनले आमाको राम्ररी रेखदेख गरेपनि, र अरूले उनलाई कर्तव्यनिष्ठ सन्तान भनेपनि, उनी अझैपनि सृष्टिकर्तासामु विवेक वा मानवता नभएकी व्यक्ति हुने थिइन्। यो सोचेर, मिङ्ग हुईले आफैलाई घृणा गरिन्, र सोचिन्, “मैले परमेश्‍वरमा विश्‍वास नगरेकी र उहाँको वचन नपढेकी भए यो क्षमायोग्य हुनेथ्यो। अहिले, मैले यतिका वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेकी छु, उहाँका धेरै वचन पढेकी छु, तैपनि, कामकुराप्रतिको मेरो हेराइ अझैपनि गैरविश्‍वासी झैँ छ। के म अविश्‍वासी हैन र? प्रभु येशूलाई पछ्याउन, स्वर्गको राज्यको सुसमाचार फैलाउन, मण्डलीको गोठालो गर्न पत्रुसले आमाबुबा र परिवारलाई छाडे। त्यसैगरी आफ्ना परिवार छोडेर सात समुद्रपार चीनसम्म आएर प्रभु येशूको स्वर्गको राज्यको सुसमाचार हामीलाई सुनाउने विदेशी धर्मप्रचारक पनि थिए। तिनीहरूका पनि बाआमा, छोराछोरी र आफन्त थिए। तर उनीहरूले परिवार, आमाबुबा र छोराछोरीका बारेमा सोचेनन्, बरु परमेश्‍वरको इच्छाप्रति कसरी विचाशील हुने र पापमा जिइरहेका र शैतानले धेरै हानि गरेका मानिसलाई कसरी परमेश्‍वरको मुक्ति स्विकार्न उहाँसामु ल्याउने भनेर सोचे। तिनीहरू विवेक र मानवता भएका मानिस थिए। अब, आखिरी दिनहरू आइसकेको र परमेश्‍वरका काम सकिन लागेको छ। कोरोनाभाइरस, बाढी, युद्ध, सबै प्रकारका विपद् आएका छन्। अझैपनि धेरै मानिसले परमेश्‍वरको आखिरी दिनहरूका कामको सुसमाचार सुनेका छैनन्। ती मानिसहरू कुनैपनि बेला विपद्मा हराउने खतरामा छन्। अब मसँग कर्तव्य सम्हालेर परमेश्‍वरको राज्यको सुसमाचार फैलाउने मौका छ के यो सबभन्दा उचित र अर्थपूर्ण कुरा होइन? मानवता भएको व्यक्तिले गर्नुपर्ने काम यही हो! अरूले मेरो जतिसुकै प्रशंसा गरेपनि त्यसको के अर्थ? सिर्जित प्राणी भएको नाताले आफ्नो कर्तव्य निर्वाह गर्दै सृष्टिकर्ताको अनुमोदन प्राप्त गर्नु सबभन्दा महत्त्वपूर्ण पूर्ण हो।” मिङ्ग हुईले फेरि परमेश्‍वरका वचनको अर्को खण्ड पढिन् र आफ्नो समस्याबारे थप ज्ञान पाइन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “चिनियाँ परम्परागत संस्कृतिको सधाइमा परेर चिनियाँ मानिसहरूले उनीहरूको परम्परागत धारणाहरूमा आफ्‍ना आमाबुबा वा पुर्खाहरूप्रति भक्तिभाव हुनुपर्छ भन्‍ने विश्‍वास गर्छन्। जसले आमाबुबा वा पुर्खाहरूलाई श्रद्धा गर्दैन त्यो सन्तानको गुण नै नभएको मानिस हो। मानिसहरू सानै हुँदादेखि यी विचारहरू तिनीहरूको मनमस्तिष्कमा हालिएको हुन्छ, र लगभग हरेक परिवारमा, साथै हरेक स्कूल र समग्र समाजमा यिनै कुराहरू सिकाइन्छ। जब व्यक्तिको मगजमा यस्ता कुरा भरिएको हुन्छ, उसले ‘आमाबुबा वा पितापुर्खाप्रतिको भक्ति नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि मैले यस कुराको पालना गरिनँ भने, म असल व्यक्ति बन्‍नेछैन—म सन्तानीय गुण नभएको व्यक्ति हुनेछु, अनि मलाई समाजले निन्दा गर्नेछ। म विवेक नभएको व्यक्ति हुनेछु,’ भनेर सोच्छ। के यो दृष्टिकोण सही छ? मानिसहरूले परमेश्‍वरद्वारा व्यक्त गरिएका कति धेरै सत्यता देखेका छन्—के परमेश्‍वरले व्यक्तिले आफ्‍ना आमाबुबा वा पूर्खाहरूप्रति सन्तानीय भक्ति देखाउनुपर्छ भनेर भन्‍नुभएको छ? के यो परमेश्‍वरका विश्‍वासीहरूले बुझ्‍नैपर्ने सत्यता हो? अहँ, होइन। परमेश्‍वरले केही सिद्धान्तहरूबारे मात्रै सङ्गति गर्नुभएको छ। परमेश्‍वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न आग्रह गर्छन्? परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू: यो सिद्धान्त पालन गर्नुपर्छ। परमेश्‍वरले सत्यको पछि लाग्ने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; यी त्यस्ता मानिसहरू हुन् जसलाई हामीले प्रेम गर्नुपर्छ। परमेश्‍वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्‍वरलाई घृणा गर्नेहरू, र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्‍वरले तिरस्कार गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई तिरस्कार गर्नुपर्छ। परमेश्‍वरले मानिसलाई यस्तै गर्नू भन्नुहुन्छ। … शैतानले यस प्रकारका परम्परागत संस्कृति र नैतिकताका धारणाहरू प्रयोग गरी तेरो सोचविचार, तेरो दिमाग, र तेरो हृदयलाई बन्धनमा पार्छ, अनि तँ परमेश्‍वरका वचनहरू स्वीकार गर्न नसक्‍ने अवस्थामा पुग्छस्; तँ शैतानका यी कुराहरूको अधीनमा परेको छस्, र तँलाई परमेश्‍वरका वचनहरू स्विकार्न नसक्‍ने तुल्याइएको छ। तैँले परमेश्‍वरका वचनहरू अभ्यास गर्न चाहँदा, यी कुराहरूले तँभित्र बाधा पैदा गर्छन्, र तँलाई सत्यता र परमेश्‍वरको मापदण्डको विरोध गर्ने र आफैलाई यो परम्परागत संस्कृतिको बन्धनबाट छुटाउन नसक्‍ने बनाउँछन्। केही समयसम्‍म संघर्ष गरिसकेपछि, तैँले सम्झौता गर्छस्: तैँले नैतिकताका परम्‍परागत धारणाहरू सही र सत्यताअनुरूप छन् भनी विश्‍वास गर्न रुचाउँछस्, त्यसकारण तैँले परमेश्‍वरका वचनहरूलाई इन्कार गर्छस् वा त्याग्छस्। तैँले परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा स्वीकार गर्दैनस् र तैँले मुक्ति पाउने बारेमा केही पनि सोच्दैनस्, किनभने तैँले अझै पनि यो संसारमा जिउनु छ, र यी मानिसहरूमा भर परेर मात्र बाँच्न सकिन्छ भन्‍ने सोचिरहेको हुन्छस्। समाजको दोषारोपण सहन नसकेर, तँ सत्यता र परमेश्‍वरका वचनहरू त्याग्‍न रुचाउँछस्, र यसरी परमेश्‍वरलाई चिढ्याउन र सत्यता अभ्यास नगर्न रुचाउँदै, तैँले आफैलाई नैतिकताका परम्‍परागत धारणाहरू र शैतानको प्रभावमा होमिदिन्छस्। के मानिस दयनीय छैन र? के तिनीहरूलाई परमेश्‍वरको मुक्तिको खाँचो छैन र? कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको धेरै भएको हुन्छ, तर आमाबुबाप्रतिको भक्तिबारे अझै पनि अन्तर्ज्ञान पाएका हुँदैनन्। तिनीहरूले वास्तवमै सत्यता बुझ्दैनन्। तिनीहरू यी सांसारिक सम्बन्धहरूको पर्खाल कहिल्यै नाघ्न सक्दैनन्; तिनीहरूमा साहस हुँदैन, न त आत्मविश्‍वास नै हुन्छ, झन् अठोट हुनु त परै जाओस्, त्यसैले तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न र उहाँको आज्ञा मान्न सक्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रमित दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ)। एक झट्कामा परमेश्‍वरका वचनले मिङ्ग हुईको हृदय उज्यालो बनाए। उनले थाहा पाइन् कि आमालाई छाड्न उनले गरेको इन्कार शैतानले उनीभित्र रोपेको परम्परागत संस्कृतिको शिक्षा र प्रभावबाट आएको थियो। उनी “बाबुआमाप्रतिको धर्म नै सबैभन्दा ठूलो पुण्य हो,” “आमाबुबाले बुढेसकालको सहारा हुन्छ भनेर तिमीलाई हुर्काउनुभएको हो,” “आमाबुबाको काँध नछोड्नू” जस्ता शैतानी विषअनुसार जिएकी थिइन्। सानैदेखि, उनले मानिसहरूले यसो भन्दै आएका सुनेकी थिइन्, “फलानो साँच्चै कर्तव्यनिष्ठ सन्तान हो; उसले बाआमाप्रति भक्तिभाव राख्ने र बाआमाको स्नेहको ऋण तिर्न जानेको छ। उसमा साँच्चै विवेक छ! अनि फलानो असल छैन। उसले आमाबुबा बिरामी हुँदा पनि हेरचाह गरेन। कति कृतघ्न छोरा हो। उसले आफ्नो विवेक ब्वाँसालाई खुवाएछ!” यी भनाइहरू पहिल्यै मिङ्ग हुईको मनमा गडेर बसेका थिए। उनले बाआमाप्रतिको भक्तिलाई प्राथमिकता दिइन्, र आमा बिरामी भएकीले छोरीको नाताले आमाछेउ बसेर सेवा गर्नुपर्छ भन्‍ने सोचिन्। आमाछेउ रहिनन् भने आफू कर्तव्यनिष्ठ सन्तान नहुने सोचिन्। उनलाई छिमेकीले मानवता नभएकी कृतघ्न छोरी भन्लान् कि भन्‍ने डर थियो त्यसैले उनले आफ्नो कर्तव्य अस्वीकार गरिन्। पछि, उनले फेरि आफ्नो कर्तव्य थालेपनि आमाप्रति ऋणी महसुस गरिरहन्थिन्। उनले आफू यी शैतानी विषद्वारा बलियो गरी बाँधिएको थाहा पाइन्। यो बेला, मिङ्ग हुईले आमा अविश्‍वासी रहेको सम्झिइन्। गत वर्ष उनकी आमाले रोगको पीडा सहन नसकेर दुष्टात्माको पूजा गर्न गएकी थिइन्। मिङ्ग हुईले परमेश्‍वरले प्रेम गर्नेलाई प्रेम गर्न र घृणा गर्नेलाई घृणा गर्न नसकेकी मात्र होइन, आमाप्रतिको चिन्ताले आफ्नो कर्तव्यमा प्रभाव पार्न दिइन्। के यो राम्रो र नराम्रो, सही र गलतबीचको अन्तर छुट्याउन नसक्नु थिएन र? मिङ्ग हुईले यति अन्धो र अज्ञानी भएकोमा आफैलाई घृणा गरिन्! उनले सुस्केरा हाल्दै सोचिन्, “भाग्यवश, परमेश्‍वरले यी वचन व्यक्त गर्नुभएको, र आमाबुबाको सम्मान गर्दा पालना गर्नुपर्ने सिद्धान्त हामीलाई बताउनुभएको छ। यसले मलाई आमाप्रति ऋणी मसहसु गर्नबाट मुक्त गरी कर्तव्यमा ध्यान लगाउन सहयोग गर्न सक्छ। नत्र, यो जीवनमा शैतानले मभित्र रोपेको परम्परागत सोचको नियन्त्रण मात्र हुनेथेँ, र कर्तव्य निर्वाह गर्न बिलकुलै मन लाग्नेथिएन। अन्त्यमा, मुक्ति पाउने मौका गुमाएर दयनीय बन्नेथेँ।”

मिङ्ग हुईले परमेश्‍वरका वचनको अर्को खण्ड पढिन् र आमाबुबालाई कसरी लिने भन्‍ने थाहा पाइन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “सर्वप्रथम, धेरैजसो मानिसहरू कर्तव्य निभाउनलाई घर छोड्न रोज्‍नुको कारण भनेको केही हदसम्म त्यो व्यापक वस्तुगत परिस्थिति हो, जसले तिनीहरूलाई आफ्ना आमाबुबालाई छाडेर जान बाध्य तुल्याउँछ; तिनीहरू आमाबुबालाई हेरचाह गर्न र साथ दिन तिनीहरूको छेउमा बस्न सक्दैनन्। तिनीहरूले इच्छापूर्वक आमाबुबालाई छाड्न रोज्छन् भन्‍ने होइन; यो त वस्तुगत कारण हो। अर्को कुरा, व्यक्तिपरक रूपमा भन्नुपर्दा, तँ तेरा कर्तव्यहरू निभाउन बाहिर जानुको कारण तैँले आफ्ना आमाबुबालाई छोड्न र जिम्मेवारीहरूबाट भाग्न चाहेर होइन, त्यो परमेश्‍वरको बोलावटले गर्दा हो। परमेश्‍वरको कामसँग सहकार्य गर्न, उहाँको बोलावट स्विकार्न, र सृष्टि गरिएको प्राणीका कर्तव्यहरू निभाउनको निम्ति, तँसित आमाबुबालाई छोड्नुबाहेक अरू विकल्प थिएन; तँ तिनीहरूलाई साथ दिन र हेरचाह गर्न तिनीहरूको छेउमै बसिरहन मिल्थेन। तैँले जिम्मेवारीहरूबाट पन्छिन तिनीहरूलाई छोडेको त होइनस् नि, होइन र? जिम्मेवारीहरूबाट पन्छिन तिनीहरूलाई छाड्नु अनि परमेश्‍वरको बोलावट स्विकार्न र तेरा कर्तव्यहरू निभाउन तिनीहरूलाई छोड्नुपर्ने हुनु—के यी दुई फरक प्रकृतिका कुरा होइनन् र? (हजुर।) तेरो हृदयमा, तँसित आमाबुबाका लागि भावनात्मक सम्बन्ध र सोचहरू हुन्छन्; तेरो भावना खोक्रो हुँदैन। यदि वस्तुगत परिस्थितिहरूले साथ दिन्छन् र तँ आफ्नो कर्तव्य पनि निभाउँदै तिनीहरूको छेउमा रहन सक्छस् भने, तँ तिनीहरूको छेउमा बस्न इच्छुक हुनेथिस्, र नियमित रूपमा तिनीहरूको ख्याल गरिरहेको र आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेको हुनेथिस्। तर वस्तुगत परिस्थितिका कारणले गर्दा तैँले तिनीहरूलाई छोड्नैपर्छ; तँ तिनीहरूको छेउमा बस्न मिल्दैन। यो होइन कि तँ तिनीहरूको बच्चा भएर आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहँदैनस्, बरु यो हो कि तैँले त्यो पूरा गर्नै सक्दैनस्। के यसको प्रकृति फरक छैन र? (छ।) यदि तैँले कर्तव्यनिष्ठ सन्तान नबन्न र आफ्ना जिम्मेवारीहरू पूरा नगर्न घर छोडिस् भने, त्यो अनुत्तरदायी हुनु हो र त्यसमा मानवता हुँदैन। तेरा आमाबुबाले तँलाई हुर्काए, तर तँ आफ्ना पखेटाहरू फिँजाएर आफ्नो बाटो लाग्न आतुर छस्। तँ आमाबुबा हेर्न चाहँदैनस्, र तिनीहरू कुनै कठिनाइमा परेको सुन्दा तँ केही चासो दिँदैनस्। तँ आफूसँग स्रोतसाधन भएर पनि मद्दत गर्दैनस्; तँ नसुनेझैँ गर्छस् र अरूलाई तेरो बारेमा जे मन लाग्छ त्यो भन्न दिन्छस्—तँ बस आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहँदैनस्। यो अनुत्तरदायी हुनु हो। तर के अहिलेको अवस्था यस्तो हो त? (होइन।) धेरै मानिसहरूले कर्तव्य निभाउन आफ्नो सहर, प्रान्त, वा आफ्नो देशसमेत छाडेका छन्; तिनीहरू आफ्नो गृहनगरबाट धेरै टाढा छन्। साथै, विविध कारणहरूले गर्दा तिनीहरूलाई आफ्ना परिवारसँग सम्पर्कमा रहन सहज छैन। बेलाबेलामा, तिनीहरू आफ्नो गृहनगरबाट आएका मानिसहरूलाई आफ्ना आमाबुबाको हालखबर सोध्छन् र तिनीहरू अझै स्वस्थ छन् र तिनीहरूको गुजारा चलिरहेको छ भन्‍ने सुनेर राहत महसुस गर्छन्। खासमा, तँ अनुत्तरदायी होइनस्; तँ आफ्ना आमाबुबाबारे चासो राख्न वा तिनीहरूप्रतिका जिम्मेवारीहरू पूरा गर्नसमेत नचाहने गरी मानवता नै नभएको बिन्दुमा पुगेको छैनस्। विविध वस्तुगत कारणहरूले गर्दा नै तैँले यो निर्णय गर्नुपरेको हो, त्यसैले तँ अनुत्तरदायी होइनस्। यसका दुई कारणहरू यिनै हुन्। … यसअलावा, सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने, वर्षौँसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि र अत्यन्तै धेरै सत्यताहरू सुनेपछि, मानिसहरूमा कम्तीमा पनि यो थोरै बुझाइ र बोध हुन्छ: मान्छेको भाग्य स्वर्गले निर्धारण गर्छ, मान्छे परमेश्‍वरको हातमा जिउँछ, र परमेश्‍वरबाट हेरचाह र सुरक्षा पाउनु भनेको छोराछोरीले दिने चासो, सन्तानीय भक्ति वा साथभन्दा ज्यादा महत्त्वपूर्ण कुरा हो। के तँलाई तेरा आमाबुबा परमेश्‍वरको हेरचाह र रक्षामा छन् भने राहत महसुस हुँदैन र? तैँले तिनीहरूबारे चिन्ता लिनुपर्दैन। यदि चिन्ता लिन्छस् भने, त्यसको अर्थ तँ परमेश्‍वरमा भरोसा गर्दैनस् भन्‍ने हुन्छ; उहाँमाथिको तेरो आस्था अति सानो छ। यदि तँ आफ्ना आमाबुबाबारे साँच्चै चिन्तित र व्याकुल छस् भने, तैँले बारम्बार परमेश्‍वरलाई प्रार्थना गर्ने, तिनीहरूलाई परमेश्‍वरको हातमा सुम्पने, र परमेश्‍वरलाई सबथोक योजनाबद्ध र बन्दोबस्त गर्न दिने गर्नुपर्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१६))। “सन्तानका रूपमा, तैँले तेरा आमाबुबा तेरा ऋणदाता होइनन् भन्‍ने कुरा बुझ्‍नुपर्छ। तैँले यस जीवनमा गर्नुपर्ने धेरै कुरा छन्, र यी सबै कुराहरू सृष्टि गरिएको प्राणीले गर्नुपर्ने, सृष्टिका प्रभुले तँलाई सुम्पनुभएका कुराहरू हुन्, र तैँले तेरा आमाबुबाको दया-मायाको ऋण तिर्ने कार्यसँग तिनको कुनै सम्‍बन्ध छैन। आफ्‍ना आमाबुबाप्रति सन्तानी निष्ठा देखाउनु, तिनीहरूको दया-मायाको ऋण तिर्नु, तिनीहरूको दया-माया फर्काउनु—तेरो जीवनको मिसनसँग यी कुराहरूको कुनै सम्‍बन्ध हुँदैन। तैँले आफ्ना आमाबुबाप्रति सन्तानी निष्ठा देखाउनु, तिनीहरूको ऋण तिर्नु, वा तिनीहरूप्रतिको आफ्नो कुनै पनि जिम्मेवारी पूरा गर्नु आवश्यक छैन भनेर पनि भन्‍न सकिन्छ। स्पष्ट रूपमा भन्दा, परिस्‍थितिले दियो भने तैँले यो कार्य थोरै मात्रामा गर्न सक्छस् र आफ्‍ना केही जिम्मेवारीहरू पूरा गर्न सक्छस्; परिस्‍थितिले दिएन भने, तैँले त्यसो गर्न जिद्दी गर्नु पर्दैन। यदि तैँले आफ्ना आमाबुबाप्रति सन्तानी निष्ठा देखाउने आफ्नो जिम्मेवारी पूरा गर्न सकिनस् भने, यो भयानक कुरा होइन, यो तेरो विवेक, मानवीय नैतिकता र मानवीय धारणाहरूविपरीत कुरा मात्र हो। तर कम्तीमा पनि, यो सत्यताविपरीत कुरा होइन, र परमेश्‍वरले यसका लागि तेरो निन्दा गर्नुहुनेछैन। जब तैँले सत्यता बुझ्छस्, तब तेरो विवेकले यसैको कारण तँलाई दोषी महसुस गराउँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१७))। परमेश्‍वरका वचनबाट मिङ्ग हुईले बुझिन् कि यतिका वर्षसम्म आमाबुबाको हेरचाह गर्न घरमा हुन नपाउनु मुख्यतः कम्युनिष्ट पार्टीको सतावट र गिरफ्तारीले थियो। उनले घर बस्ने र आमाबुबाको हेरचाह गर्ने मौका नै पाइनन्; उनी जानाजानी बाअमाको टेवा बन्ने जिम्मेवारीबाट भागेकी थिइनन्। अहिले, उनको आपराधिक रेकर्ड बनेको थियो, र प्रहरीले कुनैपनि बेला उनको घर गएर सताउने र निगरानी गर्थ्यो। घरमा बसेर परमेश्‍वरमा विश्‍वास गर्ने र कर्तव्य निर्वाह गर्ने सम्भावना नै थिएन, त्यसैले उनले घर छोडेर हिँड्नुको विकल्प थिएन। एउटा सिर्जित प्राणीको नाताले, सिर्जित प्राणीको कर्तव्य गर्नु बाआमाप्रति निष्ठावान हुनुभन्दा धेरै महत्त्वपूर्ण थियो। यो उनको जीवनको सबभन्दा न्यायोचित काम थियो, यो उनको मिसन थियो भन्नु आवश्यक छैन। परमेश्‍वरका वचनबाट मिङ्ग हुईले अभ्यासको मार्ग पाइन्। परिस्थितिले दिएमा र उनले घरमा बसेर आमाको हेरचाह गर्ने मौका पाएमा, तब उनले छोरीको जिम्मेवारी र दायित्व निर्वाह गर्दै आमाको हेरचाह गर्न सक्ने थिइन्। परिस्थिति उपयुक्त नभएमा उनले आफूलाई धिक्कार्नुपर्ने कारण छैन। छोराछोरी र आमाबुबा एकअर्काका ऋणी हुँदैनन्। यो बुझेर मिङ्ग हुईको पूरै शरीरले आराम पाएजस्तो भयो। उनले मनमनै परमेश्‍वरलाई धन्यवाद दिइन्। परमेश्‍वरका वचनबाट नै उनले परम्परागत संस्कृतिले मानिसलाई कसरी हानि गरेको हुन्छ भनेर स्पष्ट देख्न सकिन्, र सिर्जित प्राणीको नाताले आफ्नो कर्तव्यका लागि जिउनुको मात्र अर्थ छ र यसले व्यक्तिलाई विवेक एवम् मानवता भएको व्यक्ति बनाउँछ भनेर बुझिन्। त्यसपछिका दिनहरूमा, मिङ्ग हुईले आफ्नो पूरै हृदय कर्तव्यमा लगाइन्।

अघिल्लो: ७०.पैसा र हैसियतले मेरो लागि के गर्‍यो?

अर्को: ७८. मैले आफूलाई दमित भावनाबाट मुक्त गरेँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

३६. ख्याति र सम्पत्तिबाट मुक्ति

जियाओ मिन, चीनविश्‍वासी बन्नुअघि, म जहिले पनि नाम र हैसियतको पछि लागिरहेकी थिएँ, र यदि कसैले मलाई जित्यो भने म ईर्ष्या गर्थेँ र दुःखी...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

२. मृत्युको परीक्षामा पर्दा

क्षियाङदाओ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वर भ्रष्ट मानव जातिलाई बचाउन पृथ्वीमा काम गर्न आउनुभएको छ; यसमा कुनै...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्