३३. म अब उप्रान्त कमजोर क्षमताका कारण बन्धनमा पर्दिनँ
अप्रिल २०२३ मा, ममा भिडियो बनाउने केही खुबी भएकोले, अगुवाले मलाई सबैले बनाएका भिडियोहरू जाँच्ने प्रबन्ध मिलाउनुभयो। यो कर्तव्य निर्वाह गर्न पाएकोमा म निकै खुसी थिएँ, र मैले यो अवसरको कदर गर्ने साथै आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने इच्छा गरेँ। सुरुमा, मैले सक्रियतापूर्वक सिद्धान्तहरू अध्ययन गरेँ र भिडियोहरू जाँच्दा केही समस्याहरू पत्ता लगाउन सकेँ। तर केही समयपछि, मैले मसँगै काम गर्ने सिस्टरको क्षमता र सूक्ष्मदृष्टि राम्रो रहेको, र उनी भिडियोमा भएका समस्याहरू तुरुन्तै पत्ता लगाउन सक्ने, जबकि मलाई थोरै समस्याहरू पत्ता लगाउन पनि धेरै समय लाग्ने र म उनीभन्दा धेरै कमजोर रहेको थाहा पाएँ। मलाई अलि लाजमर्दो महसुस भयो। पछि, मैले सान्दर्भिक सिद्धान्तहरू फेरि हेरेँ, तर केही समयपछि पनि, थोरै मात्र सुधार भयो। म एकदमै दिक्दार भएँ, अनि सोचेँ, “यस्तो लाग्छ, यो कर्तव्य निर्वाह गर्नका लागि मसँग साँच्चै नै क्षमताको कमी छ, किन परमेश्वरले मलाई राम्रो क्षमता दिनुभएको छैन? राम्रो क्षमताविना, मैले यो कर्तव्य ठिक तरिकाले निर्वाह गर्न कसरी सक्छु र? यदि मलाई बर्खास्त गरियो वा मेरो कर्तव्य फेरबदल गरियो भने, के त्यो निकै लाजमर्दो नहोला र?” मैले परमेश्वरसँग माग गर्नु वा उहाँबारे गुनासो गर्नु हुँदैन भन्ने मलाई थाहा थियो, तर पनि म एकदमै दिक्दार थिएँ, कर्तव्य निभाउने जाँगर चलेन, र सुधार गर्ने इच्छा पनि गरिनँ। खासगरी केही जटिल भिडियोहरूमा काम गर्दा, मैले समस्याहरू ठिकसँग पत्ता लगाउन सक्दिनँ कि भनेर चिन्ता लाग्थ्यो, त्यसैले म ती भिडियोहरू अरूलाई नै जाँच गर्न दिन्थेँ। कहिलेकाहीँ, मसँग सहकार्य गर्ने सिस्टरले मैले जाँच गरेका भिडियोहरूमा पनि केही समस्याहरू पत्ता लगाउँथिन्, र उनले मसँग सङ्गति गर्नुपर्थ्यो, जसले गर्दा मलाई आफ्नो क्षमतामा झन् धेरै कमी भएको, कामको प्रगतिमा ढिलाइ गरिरहेको, र ढिलो-चाँडो मलाई बर्खास्त गरिने वा मेरो कर्तव्य फेरबदल गरिनेछ भन्ने महसुस हुन्थ्यो। मलाई तर्कसङ्गत देखिनका लागि स्वेच्छाले राजीनामा दिनु नै राम्रो हुन्छ जस्तो लाग्यो। जब यस्ता विचारहरू आउँथे, मलाई निकै दोधार हुन्थ्यो, र मलाई थाहा थियो यस्तो सोच्नु भनेको आफ्नो कर्तव्यबाट भाग्नु हो, तर मैले कसरी उचित रूपमा अभ्यास गर्ने भन्ने थाहा पाइनँ, त्यसैले म प्रार्थना गर्न परमेश्वरसामु आएँ, “हे परमेश्वर, मलाई आफ्नो क्षमता कमजोर छ र म यो कर्तव्य राम्ररी निर्वाह गर्न सक्दिनँ भन्ने लाग्छ, त्यसैले म यसबाट भाग्न चाहन्छु। यो तपाईंको अभिप्रायअनुरूप छैन भन्ने पनि मलाई थाहा छ। म तपाईंलाई मेरा समस्याहरू चिन्न र अभ्यास गर्ने बाटो भेट्टाउन मलाई अन्तर्दृष्टि र मार्गदर्शन गर्नुहोस् भनी बिन्ती गर्छु।”
त्यसपछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “कतिपय मानिसहरूलाई आफ्नो क्षमता अत्यन्तै कमजोर छ र आफूसँग बुझ्ने क्षमताको कमी छ भन्ने लाग्छ, त्यसकारण तिनीहरूले आफूलाई सीमित गर्छन्, र आफूले जति नै सत्यता पछ्याए पनि, परमेश्वरका मापदण्डहरू पूरा गर्न नसक्ने सोच्छन्। तिनीहरूलाई आफूले जति धेरै प्रयास गरे पनि त्यो व्यर्थ हुन्छ, र यसबाहेक केही पनि गर्न सकिँदैन भन्ने लाग्छ, त्यसैले तिनीहरू सधैँ नकारात्मक हुन्छन्, र परिणामस्वरूप, परमेश्वरमा धेरै वर्ष विश्वास गरेर पनि, तिनीहरूले कुनै सत्यता प्राप्त गरेका हुँदैनन्। सत्यता पछ्याउन कडा परिश्रम नै नगरी, तैँले तेरो क्षमता अत्यन्तै कमजोर छ भनेर भन्छस्, हरेस खान्छस्, र तँ सधैँ नकारात्मक स्थितिमा जिउँछस्। परिणामस्वरूप, तैँले बुझ्नुपर्ने सत्यता बुझ्दैनस् वा तेरो क्षमताले भ्याउने सत्यता अभ्यास गर्दैनस्—के तैँले आफूले आफैलाई बाधा दिइरहेको छैनस् र? यदि तैँले सधैँ आफ्नो क्षमता पर्याप्त रूपमा असल छैन भनी भन्छस् भने, के यो जिम्मेवारी इन्कार गर्नु र त्यसबाट पन्छिनु होइन र? यदि तैँले कष्ट भोग्न, मूल्य चुकाउन, र पवित्र आत्माको कार्य प्राप्त गर्न सक्छस् भने, अपरिहार्य रूपमै तँ केही सत्यता बुझ्न र केही वास्तविकतामा प्रवेश गर्न सक्षम छस्। यदि तैँले परमेश्वरतर्फ हेर्दैनस् वा उहाँमा भरोसा गर्दैनस्, अनि कुनै प्रयास नगरी वा मूल्य नचुकाई हरेस खान्छस्, र आत्मसमर्पण गर्छस् भने, तँ बेकारको व्यक्ति होस्, र तँमा थोरै पनि विवेक र समझसमेत छैन। तेरो क्षमता कमजोर भए पनि उत्तम भए पनि, यदि तँसँग थोरै विवेक र समझ छ भने, तैँले आफूले गर्नुपर्ने कुरा र आफ्नो मिसनलाई उचित रूपमा पूरा गर्नुपर्छ; भगुवा हुनु एकदम नराम्रो कुरा हो र यो परमेश्वरप्रतिको धोका हो। यो उद्धार गर्न नसकिने कुरा हो। सत्यताको खोजीको लागि दह्रिलो इच्छाको आवश्यकता पर्छ, र अत्यन्तै नकारात्मक वा कमजोर मानिसहरूले केही पनि उपलब्धि प्राप्त गर्नेछैनन्। तिनीहरूले परमेश्वरलाई अन्त्यसम्मै विश्वास गर्न सक्नेछैनन्, र, यदि तिनीहरूले सत्यता प्राप्त गर्न र स्वभावगत परिवर्तन हासिल गर्न चाहन्छन् भने, तिनीहरूसँग अझै कमै आशा हुन्छ। सङ्कल्प भएका र सत्यताको खोजी गर्नेहरूले मात्रै यसलाई प्राप्त गर्न र परमेश्वरद्वारा सिद्ध तुल्याइन सक्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूले मलाई दोषी र व्यथित महसुस गराए। आफ्नो कमजोर क्षमताको कारण, मैले के निधो गरेकी थिएँ भने मैले जतिसुकै प्रयास गरे पनि, मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्दिनँ, र राम्रो क्षमता भएका सिस्टरहरूको तुलनामा, म सधैँ सबैभन्दा कमजोर नै हुनेछु, त्यसैले म नकारात्मक स्थितिमा जिएँ, र ममा आफ्नो कर्तव्य निभाउने कुनै जाँगर भएन, सुधार गर्ने कुनै इच्छा भएन, र मैले राजीनामा दिने समेत सोचेँ। मैले यसो गर्दा मलाई बर्खास्त गरिने छैन वा मेरो इज्जत जानेछैन भन्ने सोचेकी थिएँ। मैले कसरी आफूले त्यति धेरै प्रयास नगरेकी र खासै प्रगति नदेखेपछि, आफू अगाडि बढ्न चाहिनँ भन्ने बारे सोचेँ। म कस्तो बेकम्मा रहेछु! साँच्चै विवेक र समझ भएको व्यक्तिले आफ्नो कर्तव्य स्वीकार गरेपछि नकारात्मक बन्दैन, चाहे उसलाई आफ्नो क्षमता परमेश्वरको आवश्यकता पूरा गर्ने खालको छैन भन्ने नै किन नलागोस्। बरु उसले प्रार्थना गर्छ, परमेश्वरमा भर पर्छ, र आफ्नो सम्पूर्ण शक्तिले प्रयास गर्छ, र उसले आफ्नो कर्तव्य त्यति सजिलै छोड्दैन। तर आफैँलाई हेर्दा, आफ्नो क्षमता आफूसँगै काम गर्ने सिस्टरको भन्दा कमजोर हुँदा, र आफ्नो कर्तव्यमा केही समस्याहरू औँल्याइँदा, म नकारात्मक भएँ र आलस्य गरेँ, जटिल भिडियोहरू अरूलाई जाँच गर्न दिएँ, र अरूले औँल्याएका समस्याहरूसँग सही तरिकाले व्यवहार गर्न सकिनँ, कमजोर क्षमता भएको मान्दै आफूलाई झनै सीमित पारेँ, अनि आफ्नो कर्तव्यमा नकारात्मक र निष्क्रिय भएँ, आफ्नो मौलिक भूमिका पनि निर्वाह गर्न सकिनँ। यी कठिनाइ र समस्याहरूको सामना गर्दा, मैले तिनलाई समाधान गर्न सत्यता कसरी खोज्ने भन्ने सोचिनँ, बरु आफ्नो कर्तव्यबाट पन्छिनका लागि र त्यसो गरेर आफ्नो इज्जत जोगाउन आफ्नो कमजोर क्षमतालाई बहाना बनाएँ। म कति स्वार्थी भएकी रहेछु! मैले परमेश्वरले प्रदान गर्नुभएका सबै कुराको आनन्द लिएँ तर आफ्नो कर्तव्य निर्वाह गर्न सकिनँ। म साँच्चै विवेक र समझविहीन रहेछु! मैले परमेश्वरका वचनहरूको एउटा खण्डबारे सोचें: “यदि तैँले परमेश्वरका आज्ञाहरूलाई हल्का रूपमा लिन्छस् भने, यो परमेश्वरलाई दिइएको सबैभन्दा गम्भीर धोका हो। यसमा, तँ यहूदाभन्दा पनि बढी निन्दनीय हुन्छस्, र तँ श्रापित हुनुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। कर्तव्य भनेको परमेश्वरको आज्ञा हो। परमेश्वरद्वारा आफ्नो कर्तव्य निर्वाह गर्न दिइएको अवसर मलाई थप अभ्यास प्राप्त गराउन र सत्यताका विभिन्न पक्षहरूमा अघि बढाउनका लागि हो। यो परमेश्वरको अनुग्रह हो, तर मैले यो असल कुराको कदर गर्न सकिनँ, र आफ्नो कमजोर क्षमताको कारण, मैले आफ्नो कर्तव्य त्याग्न चाहेँ। यस्तो व्यवहार परमेश्वरप्रतिको धोका थियो! यो कुरा महसुस गरेपछि, मलाई व्यथित र दोषी महसुस भयो, र मैले अब उप्रान्त आफ्नो कर्तव्यप्रति यस्तो व्यवहार गर्न चाहिनँ। मैले आफ्नो सम्पूर्ण प्रयत्नद्वारा मिहीनेत गर्न र अब उप्रान्त भाग्ने सिपाही नबन्न चाहेँ।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: “परमेश्वरले तँलाई न त तेरो राम्रो क्षमताका कारण उच्च सम्मान गर्नुहुनेछ, न तेरो कमजोर क्षमताका लागि तिरस्कार वा घृणा नै गर्नुहुनेछ। परमेश्वरले के कुरालाई घृणा गर्नुहुन्छ? परमेश्वरले घृणा गर्ने भनेको मानिसले सत्यतालाई प्रेम वा स्वीकार नगर्नु, सत्यतालाई बुझ्ने तर अभ्यास नगर्नु, आफूले गर्न सक्ने काम नगर्नु, आफ्ना कर्तव्यमा आफ्नो सबथोक दिन नसक्नु तर सधैँ अनर्गल चाहनाहरू राख्नु, सधैँ हैसियत चाहनु, सधैँ पदका लागि होड गर्नु, र सधैँ उहाँप्रति मागहरू राख्नु हो। परमेश्वरलाई घिनलाग्दो र घृणास्पद लाग्ने कुरा नै यही हो। सुरुमै तँसित कमजोर क्षमता छ वा क्षमता नै छैन, जसले गर्दा तँ कुनै पनि काम गर्न असक्षम छस्, तैपनि तँ सधैँ अगुवा बन्न चाहन्छस्; तँ सधैँ पद र शक्तिका लागि होड गर्छस्, र सधैँ भविष्यमा तँ राज्यमा प्रवेश गर्न, आशिष् प्राप्त गर्न, र राम्रो गन्तव्यमा पुग्न सक्छस् भनेर परमेश्वरले निश्चित जबाफ दिनुहोस् भन्ने चाहन्छस्। परमेश्वरले तँलाई रोज्नु नै अत्यन्तै ठूलो बढाइ हो, तर तँ औँलो दिँदा डुँडुलो निल्न खोज्छस्। परमेश्वरले तँलाई तैँले प्राप्त गर्नुपर्ने चीज दिनुभएको छ, र तैँले परमेश्वरबाट धेरै कुरा पाइसकेको छस्, तर तँ अझै अव्यावहारिक मागहरू राख्छस्। परमेश्वरले यही कुरालाई घृणा गर्नुहुन्छ। तेरो क्षमता निकै कमजोर छ, वा, तँ मानव बौद्धिकताको स्तरमा समेत पुग्दैनस्, तैपनि परमेश्वरले तँलाई जनावरझैँ व्यवहार गर्नुभएको छैन, बरु अझै मानवकै रूपमा व्यवहार गर्नुहुन्छ। त्यसकारण, तैँले मानवले गर्नैपर्ने काम गर्नुपर्छ, मानवले भन्नै पर्ने कुरा भन्नुपर्छ, र परमेश्वरले तँलाई दिनुभएको सबथोक उहाँबाट आएको भनी स्विकार्नुपर्छ। तैँले जे कर्तव्य पूरा गर्न सक्छस्, त्यो गर्। परमेश्वरलाई निराश नबना। परमेश्वरले तँलाई मानवका रूपमा व्यवहार गर्ने भएकै कारण ‘यदि परमेश्वरले मलाई मानवका रूपमा व्यवहार गर्नुहुन्छ भने, उहाँले मलाई योभन्दा राम्रो क्षमता दिनुपर्छ, मलाई टोली प्रमुख, सुपरिवेक्षक, वा अगुवा हुन दिनुपर्छ। उहाँले मैले थकाइ लाग्ने कुनै काम गर्नु नपर्ने, परमेश्वरको घरले निःशुल्क रूपमा मेरो भरणपोषण गर्ने, र मैले मेहनत लगाउन वा थकाइ सहन नपर्ने वातावरण सिर्जना गरेर मलाई जे मन लाग्छ त्यो गर्न दिनुभए उत्तम हुनेथियो’ भन्दै औँलो दिँदा डुँडुलो निल्न नखोज्। यी सबै अव्यावहारिक मागहरू हुन्। यी सृजित प्राणीमा हुनुपर्ने वा उसले अघि सार्नुपर्ने प्रकटीकरणहरू वा अनुरोधहरू होइनन्। परमेश्वरले तँलाई तेरो कमजोर क्षमताअनुसार व्यवहार गर्नुभएको छैन, बरु त्यसको सट्टामा तँलाई रोज्नुभएको र कर्तव्य पूरा गर्ने अवसर दिनुभएको छ। यो परमेश्वरको बढाइ हो। तैँले औँलो दिँदा डुँडुलो निल्न खोज्ने र परमेश्वरसँग अनुचित मागहरू राख्ने गर्नु हुँदैन। बरु, तैँले परमेश्वरलाई धन्यवाद दिनुपर्छ, र परमेश्वरको प्रेमको ऋण तिर्नका लागि आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। यो परमेश्वरले तँबाट गर्नुहुने माग हो। तेरो क्षमता कमजोर छ, तर परमेश्वरले राम्रो क्षमता भएका मानिसहरूका मानकअनुसार तँबाट माग गर्नुभएको छैन। तँमा क्षमता र बौद्धिकताको कमी छ, तर तँ राम्रो क्षमता भएका मानिसहरू पुग्न सक्ने स्तरमा पुग्नुपर्छ भनेर परमेश्वरले माग गर्नुभएको छैन। तँ जे गर्न सक्षम छस्, त्यही मात्र गर्। परमेश्वरले माछालाई जबरजस्ती जमिनमा जिउन लगाउनुहुन्न। यति मात्र हो कि, तँ नै सधैँ अनर्गल चाहनाहरू राख्छस्, र सधैँ साधारण व्यक्ति, अर्थात् कमजोर क्षमता भएको औसत व्यक्ति बन्न अनिच्छुक हुन्छस्; कुरा के हो भने, तँ आफूलाई चर्चामा नल्याउने यी श्रमसाध्य कामहरू गर्न चाहँदैनस्, र आफ्नो कर्तव्य पूरा गर्दा तँ सधैँ कठिनाइलाई मन पराउँदैनस् र थकाइबाट टाढै रहन्छस्, रोजीछाडी काम गर्छस्; तँ सधैँ मनोमानी गर्छस् र सधैँ तेरा आफ्नै योजना र प्राथमिकताहरू हुने गर्छन्—परमेश्वरले तँलाई अन्याय गर्नुभएको होइन। त्यसोभए, मानिसहरूले कसरी आफ्नो क्षमतालाई सही रूपमा लिनुपर्छ? पहिलो कुरा, परमेश्वरले तँलाई जस्तो क्षमता दिनुहुन्छ, तैँले त्यो परमेश्वरबाट आएको भनी स्विकार्नुपर्छ र तँ परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुनुपर्छ। यो नै मानिसहरूमा हुनुपर्ने सबैभन्दा आधारभूत विचार र दृष्टिकोण हो। यो दृष्टिकोण सही छ, र यो जुनसुकै परिस्थितिमा खरो उत्रन्छ। परिस्थितिहरू जति परिवर्तन भए पनि सधैँ स्थिर रहने भनेको सत्यता सिद्धान्त नै हो” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (७))। परमेश्वरका वचन पढेपछि, मैले लज्जित र दोषी महसुस गरेँ। परमेश्वरले मानिसहरूमाथि अत्यधिक बोझ थुपार्नुहुन्न, र परमेश्वरका आवश्यकताहरू सधैँ मानिसको पहुँचभित्र हुन्छन्। परमेश्वर हामी उहाँको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुन अनि आफ्नो कर्तव्य स्थिर र जिम्मेवारीपूर्वक निर्वाह गर्न सकौँ भन्ने आशा गर्नुहुन्छ। तर मैले परमेश्वरका अभिप्रायहरू बुझिनँ र उहाँको सार्वभौमिकता तथा बन्दोबस्तमा समर्पित हुन अनिच्छुक भएँ। जब मैले आफ्नो क्षमता अरूको जस्तो राम्रो छैन भन्ने देखेँ, म नकारात्मक भएँ र आलस्य गरेँ, र परमेश्वरले मलाई राम्रो क्षमता दिनुभएन भनेर गुनासो गरेँ। पछि, मैले आफ्नो प्राविधिक क्षमताहरू सुधार गर्न कडा मेहनत गर्न चाहेँ, तर जब मैले त्यो गर्न सकिनँ, म नकारात्मक भएँ, मनमा गलत बुझाइ पालेँ, र आफ्नो कर्तव्यबाट पन्छिएँ। यो साँच्चै नै विद्रोहीपूर्ण थियो! मेरो क्षमता केही हदसम्म कमजोर थियो, र मेरो कार्यक्षमता अन्य ब्रदर-सिस्टरहरूको जस्तो उच्च थिएन, तैपनि मण्डलीले मलाई अभ्यास गर्ने मौका दियो, र ब्रदर-सिस्टरहरूले मलाई हेला गरेनन् बरु मलाई प्रोत्साहित र मद्दत गरे। तर म यो असल कुरा हो भनेर चिन्न पूर्ण रूपमा असमर्थ थिएँ, र आफ्नो इज्जतको खातिर, मैले आफ्नो कर्तव्य त्याग्न समेत चाहें। यो साँच्चै स्वार्थी र नीच कुरा थियो! सत्यता के हो भने, परमेश्वरले व्यक्तिको हृदयलाई महत्त्व दिनुहुन्छ, र यदि उसको क्षमता केही कमजोर भए पनि, जबसम्म उसको हृदयले परमेश्वरका आवश्यकताहरू पूरा गर्न प्रयास गर्छ, परमेश्वरले उसलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुनेछ, र उसले आफ्नो कर्तव्यमा केही परिणामहरू हासिल गर्न सक्छ। जस्तै जब मैले पहिलो पटक भिडियोहरू जाँच्न सुरु गरेँ, प्रार्थना गर्दै परमेश्वरमा भर परेर, र सकेसम्म राम्रो सहकार्य गरेर, मैले केही काम पूरा गर्न सकेकी थिएँ। पछि, म आफ्नो इज्जतको बारेमा धेरै चिन्तित भएकोले, मेरो हृदय आफ्नो कर्तव्यमा केन्द्रित भएन, र मैले पवित्र आत्माको काम प्राप्त गर्न सकिनँ, त्यसैले मैले गरेको सबै कुरा गाह्रो र कठिन भयो। त्यसैले मैले परमेश्वरसामु पश्चात्ताप गर्दै, उहाँको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुने र आफ्नो क्षमताले भ्याएसम्म राम्रोसँग गर्ने, साथै अब आफ्नो कर्तव्यबाट पन्छिनेबारे सोच्न छोडिदिने इच्छा गरेँ।
पछि, मैले यो पनि सोचें, “जब मैले आफ्नो क्षमता मसँगै काम गर्ने सिस्टरको भन्दा कमजोर देखेँ, म किन नकारात्मक भएँ र पछि हटेँ? यो समस्याको जड के हो?” आफ्नो खोजीमा, मैले परमेश्वरका यी वचनहरू पढेँ: “धेरै जना मानिसहरूसित सत्यताको खोजी गर्नुको साटो आ-आफ्नै ससाना एजेन्डाहरू हुन्छन्। तिनीहरूका लागि आफ्नै स्वार्थ, इज्जत, र मानिसहरूको मनमा तिनीहरूले ओगटेको स्थान र प्रतिष्ठा नै धेरै महत्त्वपूर्ण हुन्छन्। तिनीहरूले यिनै कुराहरूलाई मात्रै कदर गर्छन्। तिनीहरू यी कुरालाई जकडेर राख्छन् र यिनैलाई आफ्नो जीवन मान्छन्। परमेश्वरले तिनीहरूलाई कसरी हेर्नुहुन्छ वा व्यवहार गर्नुहुन्छ भन्ने कुरा तिनीहरूका निम्ति कम महत्त्वको हुन्छ। अहिलेको लागि तिनीहरूले यसलाई बेवास्ता गर्छन्; अहिलेको लागि तिनीहरू त्यो झुन्डको मालिक हुन् कि होइनन्, मानिसहरूले तिनीहरूलाई उच्च मानेर हेर्छन् कि हेर्दैनन् वा आफ्नो कुरामा वजन छ कि छैन भन्ने कुरा मात्र विचार गर्छन्। तिनीहरूको प्राथमिक चिन्ता नै ओहोदा ओगट्नु हो। जब मानिसहरू समूहमा हुन्छन्, लगभग सबै मानिसहरूले यस प्रकारको प्रतिष्ठा, यस प्रकारका मौकाहरू खोज्छन्। जब तिनीहरू उच्च प्रतिभाका हुन्छन्, निश्चय नै तिनीहरू आफ्नो क्षेत्रमा सर्वोत्कृष्ट हुन चाहन्छन्; यदि तिनीहरू मध्यम क्षमताका छन् भने पनि, तिनीहरू समूहमा उच्च स्थानमा रहन चाहन्छन्; र यदि तिनीहरू औसत क्षमता र योग्यताका भएर समूहमा निम्न स्थानमा छन् भने पनि, अरूले आफूलाई उच्च नजरले हेरून् भन्ने चाहन्छन्, अरूले आफूलाई नीच नमानुन् भन्ने चाहन्छन्। यी मानिसहरूले इज्जत र मर्यादामै रेखा खिच्छन्: तिनीहरूले यी कुराहरूलाई नै समाति बस्नुपर्छ। तिनीहरूसित कुनै निष्ठा हुन सक्दैन, र न त परमेश्वरको अनुमोदन न त स्वीकृति पाएका हुन्छन्, तर तिनीहरूले अरूमाझ पछ्याएको इज्जत, हैसियत, वा सम्मान गुमाउन सक्दै-सक्दैनन्—जुन शैतानको स्वभाव हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने जब मैले आफ्नो क्षमता मसँगै काम गर्ने सिस्टरको भन्दा कमजोर देखेँ, म नकारात्मक भएँ, र समस्याको जड के रहेछ भने मैले आफ्नो इज्जत र हैसियतलाई धेरै महत्त्व दिएछु। जब मैले अन्य ब्रदर-सिस्टरहरूमा राम्रो क्षमता रहेको र आफ्ना कर्तव्यमा दक्ष भएको देखेँ, मलाई ईर्ष्या लाग्यो र आफ्नो कार्यक्षमता सुधार गर्न चाहेँ। तर मेरा प्रयासहरूका बावजुद, म अझै पनि अरूभन्दा कमजोर थिएँ, र आफ्नो इज्जत र हैसियत सन्तुष्ट नभएपछि, म नकारात्मक र निष्क्रिय भएँ र मैले छोड्ने अनि परमेश्वरलाई धोका दिने समेत सोचेँ। मैले आफ्नो कर्तव्यभन्दा इज्जत र हैसियतलाई बढी महत्त्व दिएँ। मैले थाहा पाएँ “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” भन्ने शैतानी विषले मभित्र गहिरोसँग जरा गाडेको रहेछ, जसले गर्दा म परमेश्वरका अभिप्रायहरू वा आवश्यकताहरूलाई पटक्कै वास्ता नगरी, र मण्डलीको कामको पटक्कै सुरक्षा नगरी, अरूले मलाई कसरी हेर्छन् भन्ने कुरामा निरन्तर ध्यान दिइरहन्थेँ। मैले मलाई यो कर्तव्य निभाउन दिनुमा परमेश्वरको श्रमसाध्य अभिप्राय रहेछ भन्ने महसुस गरेँ। परमेश्वरलाई मेरा कमीकमजोरीहरू, मेरो इज्जत र हैसियतमाथिको ध्यान, र मलाई शुद्ध र परिवर्तन गर्न यस्तै वातावरणको आवश्यकता छ भन्ने थाहा छ। जब परमेश्वरले मलाई राम्रो क्षमताका सिस्टरहरूसँग सहकार्य गर्ने प्रबन्ध मिलाउनुभयो, मैले आफूलाई प्रदर्शन गर्न सकिनँ त्यसैले मेरो इज्जत र हैसियत सन्तुष्ट भएनन्, जसले मलाई भित्री पीडा र कष्ट दियो, र मलाई परमेश्वरसामु आउन र आफैमाथि चिन्तन गर्न, प्रतिष्ठा र हैसियत पछ्याउनुका हानि र परिणामहरू बुझ्न, र फलस्वरूप आफ्ना गलत पछ्याइहरू त्याग्न र आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्ति सुधार्न बाध्य तुल्यायो। साथै, राम्रो क्षमताका सिस्टरहरूसँग सहकार्य गरेर साथै आफ्नो कर्तव्यमा सबैको मद्दत पाएर, मैले सिद्धान्तहरूको पनि राम्रो बुझाइ प्राप्त गरेँ, जसले मेरा कमीकमजोरीहरूको पूर्ति गरिदियो। यो परमेश्वरको प्रेम थियो! यसबारे चिन्तन गर्दा, मलाई धेरै पछुतो लाग्यो, र अब उप्रान्त इज्जतको निरर्थक पछ्याइका लागि बाँच्न चाहिनँ।
त्यसपछि मैले परमेश्वरका वचनहरूको अर्को खण्ड भेटेँ, जसले मलाई परमेश्वरको अभिप्रायबारे गहिरो बुझाइ दियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले मानिसहरूलाई अत्यन्तै उच्च क्षमता दिनुहुन्न। एक त, यो कुरा मानिसहरू यो आधारभूत अवस्थाले गर्दा अलि व्यावहारिक रहन सकून्, र आफू साधारण, औसत, र भ्रष्ट स्वभाव भएका मानिस भएको अनुभूतिमा आधारित भएर, तिनीहरूले स्वेच्छाले परमेश्वरको काम र परमेश्वरको मुक्ति स्विकार्न सकून् भन्नन्नका लागि हो। यसरी मात्र मानिसहरूसित परमेश्वरका वचनहरू स्विकार्ने आधारभूत अवस्था हुन्छ। अर्को कुरा, यदि मानिसहरूमा निकै राम्रो क्षमता र अत्यन्तै तीव्र दिमाग छ, र सबै पक्षमा तिनीहरूको क्षमता निकै बलियो छ, तिनीहरू सबै असाधारण छन्, जसले गर्दा संसारमा तिनीहरूको सब थोक सहज रूपमा चलिरहेको छ—तिनीहरूले व्यवसायमा धेरै पैसा कमाइरहेका छन्, तिनीहरूको राजनीतिक करियर निकै सहजतापूर्वक अघि बढिरहेको छ, तिनीहरूले जुनसुकै परिस्थितिमा सहजै काम गरिरहेका छन्, र पानीभित्रको माछाझैँ अनुभूति गरिरहेका छन् भने—त्यस्ता मानिसहरू सजिलै परमेश्वरसामु आउन र परमेश्वरको मुक्ति स्विकार्न सक्दैनन्, होइन र? (हो।) परमेश्वरले मुक्ति दिनुहुने अधिकांश मानिसहरू संसारमा वा समाजका मानिसहरूमाझ उच्च पदमा हुँदैनन्। तिनीहरूका क्षमता र सक्षमता औसत वा कमजोर नै हुने, र तिनीहरूले संसारमा लोकप्रियता वा सफलता पाउन सङ्घर्ष गर्ने, तिनीहरूलाई संसार सधैँ उजाड र अन्यायी भएको महसुस हुने भएकाले, तिनीहरूलाई आस्थाको आवश्यकता हुन्छ, र अन्ततः तिनीहरू परमेश्वरसामु आउँछन् र परमेश्वरको घरभित्र प्रवेश गर्छन्। यो परमेश्वरले मानिसहरूलाई रोज्दा तिनीहरूलाई दिनुहुने एउटा आधारभूत अवस्था हो। यो आवश्यकता हुँदा मात्र तैँले परमेश्वरको मुक्ति स्विकार्ने चाहना राख्न सक्छस्। यदि सबै पक्षहरूमा तेरा अवस्थाहरू संसारमा केही हासिल गर्न लागिपर्नका लागि राम्रा र उचित छन्, र तँ सधैँ आफ्नो नाम राख्न चाहन्छस् भने, तँसँग परमेश्वरको मुक्ति स्विकार्ने चाहना हुनेथिएन, न त तैँले परमेश्वरको मुक्ति प्राप्त गर्ने अवसर नै पाउनेथिइस्” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (७))। परमेश्वरका वचनहरू पढेपछि, मेरो हृदय उज्यालो भयो। परमेश्वरले मलाई राम्रो क्षमता नदिनुभएको तथ्य उहाँको सद्भावकै हिस्सा थियो, र यसमा उहाँका श्रमसाध्य अभिप्रायहरू थिए। मण्डलीबाट निष्कासित गरिएका ख्रीष्ट विरोधीहरूबारे चिन्तन गर्दा, मैले तिनीहरूमध्ये केहीमा राम्रो क्षमता र बुद्धि रहेको, तर तिनीहरूको हृदय आफ्नो कर्तव्य निर्वाह गर्नमा नभई, बरू प्रतिष्ठा र हैसियतको खोजीमा केन्द्रित रहेछ भन्ने थाहा पाएँ। तिनीहरूले सही मार्ग नपछ्याएका, तिनीहरूका कार्यहरूले परमेश्वरको घरको काममा अवरोध र बाधा पुर्याएका, र बारम्बारको सङ्गतिका बावजुद, तिनीहरूले अझै पश्चात्ताप गर्न अस्वीकार गरेका हुनाले अन्ततः निष्कासित गरिए। मैले प्रतिष्ठा र हैसियतमाथिको आफ्नो ध्यान, अनि राम्रो क्षमताविना पनि म कति सतही थिएँ, र यदि मसँग राम्रो क्षमता भएको भए, म सायद अत्यन्तै अहङ्कारी भइसक्थेँ, र पक्कै पनि पहिले नै ख्रीष्ट विरोधीको बाटोमा हिँडिसकेकी हुन्थेँ भन्ने बारे सोचेँ। अहिले यसबारे सोच्दा, परमेश्वरले मलाई राम्रो क्षमता नदिनु वास्तवमा मेरो लागि एक प्रकारको सुरक्षा थियो!
खोजीद्वारा, मैले के पत्ता लगाएँ भने ममा आफ्नो कर्तव्यमा परिणामहरू हासिल गर्नका लागि, मसँग राम्रो क्षमता हुनैपर्छ, र यदि मसँग यसको कमी भयो भने, मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्दिनँ भनेर विश्वास गर्ने एउटा भ्रामक दृष्टिकोण रहेछ। मैले यस विषयमा परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “मानिसहरू परमेश्वरले किन तिनीहरूलाई यति औसत क्षमता दिनुहुन्छ भन्ने बुझ्दैनन्। राम्रो क्षमता भएका अगुवाहरू भेट्टाउन कठिन छ, र मण्डलीको काम राम्रोसँग गर्न अत्यन्तै गाह्रो छ। मानिसहरू सोच्छन्, ‘यदि परमेश्वरले मानिसहरूलाई राम्रो क्षमता दिनुभएको भए, के अगुवाहरू भेट्टाउन सजिलो हुनेथिएन र? के मण्डलीको काम गर्न सजिलो हुनेथिएन र? परमेश्वरले मानिसहरूलाई राम्रो क्षमता किन दिनुहुन्न?’ त्यसलाई परमेश्वरका घरको समग्र कामको दृष्टिकोणबाट हेर्दा, अवश्य पनि, यदि राम्रो क्षमता भएका मानिसहरू अझ धेरै हुँदा हुन् त, मण्डलीको काम वास्तवमै सजिलो हुनेथियो। तर, एउटा आधार हुन्छ: परमेश्वरका घरमा, परमेश्वर आफ्नै काम गरिरहनुभएको हुन्छ, र मानिसहरूले निर्णायक भूमिका खेल्दैनन्। त्यसकारण, मानिसहरूको क्षमता राम्रो, औसत, वा कमजोर छ भन्ने कुराले परमेश्वरको कामका नतिजाहरू निर्धारण गर्दैन। हासिल गर्नुपर्ने अन्तिम नतिजाहरू परमेश्वरले पूरा गर्नुहुन्छ। सबथोकको अगुवाइ परमेश्वरले नै गर्नुहुन्छ; सबथोक पवित्र आत्माको काम हो” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (७))। परमेश्वरका वचनहरू पढेपछि, मैले बुझेँ हाम्रो कर्तव्यमा राम्रा परिणामहरू हासिल गर्ने कुञ्जी भनेको पवित्र आत्माको मार्गदर्शन र काम प्राप्त गर्नु हो। राम्रो क्षमता भएकाहरूले पनि, यदि तिनीहरूका अभिप्रायहरू गलत छन् र तिनीहरू केवल ख्याति, प्राप्ति, वा हैसियतका लागि काम गर्छन्, र तिनीहरू परमेश्वरको मार्गदर्शन र अन्तर्दृष्टिबिना केवल आफ्नै क्षमता र वरदानमा भर पर्छन् भने, तिनीहरूले राम्रा परिणामहरू हासिल गर्न सक्दैनन्। औसत क्षमता भएका तर आफ्नो हृदय आफ्नो कर्तव्यमा लगाउनेहरू, र कठिनाइहरूको सामना गर्दा प्रार्थना गर्ने, परमेश्वरमा भर पर्ने, र सत्यता सिद्धान्तहरू खोज्नेहरूले, पवित्र आत्माको काम प्राप्त गर्ने र आफ्नो कर्तव्यमा राम्रा परिणामहरू हासिल गर्ने सम्भावना बढी हुन्छ। मेरो दृष्टिकोण साँच्चै नै हास्यास्पद रहेको थियो। मैले कर्तव्य राम्ररी निर्वाह गर्नु र परिणामहरू हासिल गर्नु केवल मानव क्षमतामा निर्भर हुन्छ भन्ने सोचेकी थिएँ, र पवित्र आत्माको कामले सबै कुरा निर्धारण गर्छ भन्ने कुरालाई अस्वीकार गरेकी थिएँ। यो अविश्वासीहरूको दृष्टिकोण हो। गैरविश्वासीहरूको संसारमा, कुनै काममा राम्रा परिणामहरू हासिल गर्नका लागि, व्यक्तिले आफ्नो बुद्धि, क्षमता, र वरदानमा भर पर्नुपर्छ। तर परमेश्वरको घर धर्मविहीन संसारभन्दा पूर्ण रूपमा फरक छ। परमेश्वरको घरको काम पवित्र आत्माको कामद्वारा सम्पन्न हुन्छ, र कामको क्रममा मानव सहकार्य आवश्यक भए तापनि, यसले निर्णायक भूमिका खेल्दैन। परमेश्वरको सुसमाचार संसारका विभिन्न देशहरूमा फैलाउने काम पूर्ण रूपमा परमेश्वरद्वारा, एक पटकमा एक कदम गर्दै अगुवाइ गरिएको हो, जसमा परमेश्वरले आफ्नो काम गर्नुहुन्छ, र मानिसहरूले केवल सहकार्य गर्छन्। परमेश्वरलाई मैले के गर्न सक्छु, मेरो क्षमताअनुसार मैले कुन कर्तव्य निर्वाह गर्न सक्छु, र आफ्नो कर्तव्यमा मैले कस्ता परिणामहरू हासिल गर्न सक्छु भन्ने ठ्याक्कै थाहा छ, र जबसम्म म इमानदार र मेहनती हुन्छु, परमेश्वरले मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुनेछ। यसबाहेक, मेरो वरिपरि राम्रो क्षमताका सिस्टरहरू छन् जोसँग मैले सहकार्य गर्न सक्छु, र हामी एकअर्काका सबल र कमजोर पक्षहरूलाई पूर्ति गर्न सक्छौँ, र यसरी, मैले आफ्नो कर्तव्यमा केही परिणामहरू हासिल गर्न सक्छु।
मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पनि पढेँ, जसले मलाई अभ्यासको बाटो दियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “धेरै मानिसहरू आफ्नो क्षमता कमजोर भएको र आफूले कहिल्यै आफ्नो कर्तव्य राम्ररी वा मानकअनुरूप निर्वाह नगरेको सोच्छन्। तिनीहरूले आफूले गर्ने काम सक्दो राम्ररी गर्छन्, तर कहिल्यै सिद्धान्त बुझ्न सक्दैनन् र अझै पनि त्यत्ति राम्रा परिणामहरू प्राप्त गर्न सक्दैनन्। अन्ततः, उनीहरू केवल आफू कम क्षमताको भएको गुनासो गर्छन् अनि नकारात्मक हुन्छन्। त्यसोभए, के कमजोर क्षमता भएको व्यक्तिका लागि अघि बढ्ने मार्ग नै छैन त? कमजोर क्षमता हुनु कुनै घातक रोग होइन र परमेश्वरले कमजोर क्षमता भएका मानिसहरूलाई म मुक्ति नै दिन्नँ भनेर कहिल्यै भन्नुभएन। परमेश्वरले पहिले भन्नुभएझैँ, उहाँ इमानदार तर अज्ञानी व्यक्तिहरूले गर्दा दुखी बन्नुहुन्छ। अज्ञानी हुनुको अर्थ के हो? अज्ञानता धेरैजसो कमजोर क्षमताका कारण हुन्छ। जब मानिसहरू कमजोर क्षमताका हुन्छन्, तब तिनीहरूमा सत्यताबारे सतही बुझाइ हुन्छ। यो विशिष्ट वा पर्याप्त व्यावहारिक हुँदैन, र प्रायः सतही स्तर वा शाब्दिक बुझाइमा सीमित हुन्छ—यो धर्मसिद्धान्त र प्रावधानहरूमा सीमित हुन्छ। त्यसैले तिनीहरूले धेरै समस्याहरू प्रस्ट रूपमा देख्न सक्दैनन् र कर्तव्य निर्वाह गर्दा कहिल्यै सिद्धान्तहरू आत्मसात् गर्न, वा आफ्नो कर्तव्य राम्ररी निभाउन सक्दैनन्। त्यसोभए, के परमेश्वरले कमजोर क्षमता भएका मानिसहरू चाहनुहुन्न? (चाहनुहुन्छ।) परमेश्वरले मानिसलाई कुन मार्ग वा दिशा देखाउनुहुन्छ? (इमानदार व्यक्ति बन्ने।) … त्यसो भए, इमानदार व्यक्तिले कस्तो व्यवहार गर्नुपर्छ? तिनीहरू परमेश्वरका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, आफूले निभाउनुपर्ने कर्तव्यमा अर्पित हुनुपर्छ, र परमेश्वरका अभिप्रायहरू पूरा गर्न लागिपर्नुपर्छ। यसले आफूलाई धेरै तरिकामा प्रकट गर्छ। एउटा तरिका हो, आफ्ना देहगत हितहरूलाई विचार नगरी आफ्नो कर्तव्य इमानदार हृदयले स्वीकार गर्नु, यसबारे आधा मनको नहुनु र आफ्नो फाइदाको लागि षड्यन्त्र नगर्नु। ती इमानदारीका प्रकटीकरणहरू हुन्। अर्को तरिका भनेको आफ्नो कर्तव्य राम्ररी निभाउन आफ्नो सारा हृदय र बल लगाउनु, सबै काम उचित रूपमा गर्नु, र परमेश्वरलाई सन्तुष्ट पार्नको लागि आफ्नो कर्तव्यमा आफ्नो हृदय र प्रेम लगाउनु हो। इमानदार व्यक्तिसँग आफ्नो कर्तव्य निर्वाह गर्दा हुनुपर्ने प्रकटीकरणहरू यिनै हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरू पढेपछि, मेरो हृदय उज्यालो भयो। मेरो क्षमता परमेश्वरद्वारा निर्धारित छ, र मेरो क्षमता कमजोर छ भन्ने एउटा तथ्य हो। तर परमेश्वरले मेरो कमजोर क्षमताको लागि मलाई तिरस्कार गर्नुहुन्न। परमेश्वर म आफ्नो कर्तव्यमा इमानदार हृदयले अघि बढ़ूँ, आफ्नो अभिमानलाई अर्कोतिर पन्छाऊँ, र सबै मामिलाहरूमा सत्यता खोजेर अभ्यास गर्दै आफ्नो सम्पूर्ण हृदय र शक्तिले आफू जे-जति गर्न सक्छु त्यो राम्ररी गरूँ भन्ने आशा गर्नुहुन्छ। मैले गर्नुपर्ने नै यही हो। सिस्टरहरूको क्षमता मेरोभन्दा राम्रो थियो, र उनीहरूले समस्याहरूलाई अझ व्यापक रूपमा हेर्थे, त्यसैले उनीहरूले मेरो कर्तव्यमा भएका विचलन र समस्याहरू औँल्याउनु राम्रो कुरा थियो, किनकि यसले मलाई आफैमाथि चिन्तन गर्न र मेरा विचलनहरूको सारांश निकाल्न प्रेरित गर्न सक्थ्यो, जसले मेरा कमीकमजोरीहरूलाई पनि पूर्ति गर्थ्यो। पछि, मैले मेरा कमीकमजोरीहरूका आधारमा सान्दर्भिक सिद्धान्तहरू फेरि हेरेँ, र यी सिद्धान्तहरूको राम्रो बुझाइ प्राप्त गरेँ। परमेश्वरले साँच्चै नै मलाई विशेष अनुग्रह देखाइरहनुभएको थियो! मैले के महसुस गरेँ भने मेरो क्षमता कमजोर भए तापनि, परमेश्वरले मलाई अझै पनि यस्तो अनुग्रह देखाउनुहुन्छ, मलाई राम्रो क्षमताका सिस्टरहरूसँग सहकार्य गर्न र अझ बढी पूर्ति हुन दिनुहुन्छ। मैले आफ्नो कर्तव्यमा कृतज्ञतायुक्त हृदयले अघि बढ्ने, सत्यता सिद्धान्तहरू बुझ्नमा थप प्रयास गर्ने, अरूका सुझावहरू बढी सुन्ने, र आफ्नो कर्तव्य राम्ररी निभाउने गर्नुपर्थ्यो। म प्रार्थना गर्न परमेश्वरसामु आएँ, “हे परमेश्वर, तपाईंको अन्तर्दृष्टि र मार्गदर्शनका लागि धन्यवाद जसले मलाई तपाईंको अभिप्राय बुझ्न मद्दत गरे। आफ्नो कमजोर क्षमताका कारण मैले अझ कडा मेहनत गर्नुपर्छ, र इमानदार व्यक्ति बन्न खोज्नुपर्छ साथै आफ्नो सम्पूर्ण हृदय र शक्तिले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ!”
त्यसपछि, मैले सचेत रूपमा यस विषयमा प्रार्थना गरेँ, र आफ्नो कर्तव्यमा, मैले आफूलाई अरूसँग तुलना गर्न छोडेँ, र बरु परमेश्वरसामु काम गर्न र उहाँको छानबिन स्वीकार गर्नमा ध्यान केन्द्रित गरेँ। भिडियोहरू जाँच्दा र मैले बुझ्न नसक्ने कुराहरूको सामना गर्दा, मैले सक्रिय रूपमा सिस्टरहरूबाट मद्दत खोजेँ, र इमानदारीका साथ आफ्नो हृदय आफ्नो कर्तव्यमा लगाएँ। जब मैले यसरी अभ्यास गरेँ, मैले आफ्नो हृदयमा सहजता र छुटकारा महसुस गरेँ। एक पटक, टोली अगुवाले मलाई उनीसँगै एउटा भिडियो जाँच गर्न भनिन्, र मैले सोचेँ, “यी सिस्टरको क्षमता राम्रो छ, तर मेरो छैन। यदि मैले कुनै समस्या पत्ता लगाउन सकिनँ भने उनले मेरो बारेमा के सोच्लिन्?” मैले के महसुस गरेँ भने म फेरि आफ्नो इज्जतले गर्दा बन्धनमा परेकी छु, त्यसैले मैले चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, कृपया मेरो हृदयलाई शान्त पार्नुहोस् ताकि म आफ्नो कमजोर क्षमताले गर्दा बन्धनमा नपरूँ र मैले हासिल गर्न सक्ने सबैभन्दा उत्तम कुरा बाहिर ल्याउन सकूँ। सिस्टरको क्षमता राम्रो छ र उनले धेरै समस्याहरू पत्ता लगाउन सक्छिन्, जसले मेरा कमीकमजोरीहरूलाई पूर्ति गर्नेछ।” प्रार्थना गरेपछि, मैले आफ्नो हृदयलाई शान्त पारेँ र ध्यान दिएर भिडियो हेरेँ। भिडियो हेरिसकेपछि, मैले आफूले देखेका समस्याहरू र आफूले नबुझेका क्षेत्रहरूबारे बताएँ, र सिस्टरले पनि आफ्ना विचार र रायहरू बाँडिन् र मैले नबुझेका क्षेत्रहरूबबारे आफ्ना दृष्टिकोणहरू सङ्गति गरिन्। सिस्टरको सङ्गतिबाट, मैले के बुझेँ भने मैले समस्याहरूलाई फराकिलो दृष्टिकोणबाट हेरिरहेकी रहिछु, जबकि सिस्टरले विस्तृत समस्याहरू देखेकी थिइन्, जसले मेरा कमीकमजोरीहरूलाई पूर्ति गरिदियो। हाम्रो अन्तरक्रियाबाट, मैले नबुझेको कुरा समाधान भयो र मैले भिडियोका समस्याहरूबारे अझ स्पष्ट बुझाइ प्राप्त गरेँ। जब म अभिमानमा हुने लाभ र हानिको बारेमा चिन्तित भइनँ र आफ्नो कर्तव्यमा पूर्ण हृदयले समर्पित भएँ, मलाई धेरै ढुक्क महसुस भयो, र यसरी आफ्नो कर्तव्य निर्वाह गर्न साँच्चै राम्रो लाग्यो!
यो अनुभवबाट, मैले कर्तव्य राम्ररी निर्वाह गर्ने कुञ्जी भनेको इमानदार हृदय हुनु, व्यक्तिगत स्वार्थ र इज्जतलाई पन्छाउनु, कमजोर क्षमताले गर्दा बन्धनमा नपर्नु, आफ्नो हृदय कर्तव्यमा लगाउनु अनि त्यसलाई ठिक तरिकाले कसरी गर्ने भनेर चिन्तन गर्नु हो भन्ने अनुभूति गरेँ। यसरी, परमेश्वरको मार्गदर्शन र अन्तर्दृष्टि प्राप्त गर्न र आफ्नो कर्तव्यमा केही परिणामहरू हासिल गर्न सजिलो हुन्छ।