३२. प्रतिकूल परिस्थितिमा पनि आफ्नो कर्तव्यमा अडिग रहनु
सन् २०२३, जुलाई २३ को दिन, मैले भर्खरै केही नयाँ विश्वासीहरूलाई मलजल गरेर घर फर्केकी थिएँ, माथिल्लो अगुवा लि छिङ हतार-हतार मकहाँ आएर, भन्नुभयो, “शु ग्वाङ मण्डलीका धेरै नयाँ विश्वासीहरूलाई प्रहरीले पक्रेर लगेछ, यहाँसम्म कि मण्डलीका अगुवा र डिकनहरूलाई पनि पक्राउ गरेछ। नजिकैका दुईवटा मण्डलीका धेरै ब्रदर-सिस्टरहरू पनि पक्राउ परेका छन्। अहिले, नयाँ विश्वासीहरूलाई तुरुन्तै मलजल र सहयोगको खाँचो छ, नत्र यस्तो भयानक वातावरणमा तिनीहरूलाई दृढ रहन गाह्रो हुनेछ। तपाईँले पहिले तिनीहरूलाई मलजल गरेको हुनाले, तपाईँले नै यी नयाँ विश्वासीहरूलाई सहयोग गर्नुहोस् भन्ने हामी चाहन्छौँ।” अगुवाले यसो भनेको सुनेर, मैले यो काम निकै महत्त्वपूर्ण छ भनी बुझेँ। तर फेरि सोचेँ, “म त दुई दिनअघि मात्र शु ग्वाङ मण्डलीबाट फर्केकी हुँ, अनि भोलिपल्टै यति धेरै ब्रदर-सिस्टरहरू पक्राउ परे। अनि, तिनीहरू सबैले मलाई चिन्छन्, त्यसैले यतिबेला नयाँ विश्वासीहरूलाई मलजल गर्न जानु त ज्यादै खतरनाक हुन्छ! जताततै निगरानी क्यामेराहरू छन्। यदि कसैले मलाई पोले र प्रहरीले निगरानी भिडिओको आधारमा मलाई पक्रियो भने के गर्ने? म पहिले नै दुई पटक पक्राउ परिसकेकी छु, र यदि फेरि पक्राउ परेँ भने, प्रहरीले मलाई पक्कै पनि यातना दिएर मार्नेछ। यदि मलाई कुटेर मारियो भने, मेरो मुक्तिको मौका पनि पूरै गुम्नेछ।” मलाई केही डर लाग्यो, त्यसैले मैले पहिले बर्खास्त गरिएकी एक जना मलजलकर्तालाई यी नयाँ विश्वासीहरूलाई सहयोग गर्न पठाउने विचार गरेँ। तर ती सिस्टरमा कर्तव्यप्रति बोझ थिएन र उनले वास्तविक समस्याहरू समाधान गर्दिनथिइन्, त्यसैले, उनलाई पठाउन मेरो मन मानेन। चिन्ता र दोधारका बीच, मैले सोचेँ, “के प्रहरी पनि परमेश्वरको हातमा छैन र? म पक्राउ पर्ने कि नपर्ने भन्ने कुरा प्रहरीको हातमा छैन। म मण्डलीमा जानुभन्दा अघि नै डराएँ भने, ममा कसरी कुनै गवाही हुनेछ र?” मैले परमेश्वरलाई प्रार्थना गरी मेरो सुरक्षा गर्नुहोस् भन्दै विश्वास र शक्ति मागेँ, अनि त्यसपछि म नयाँ विश्वासीहरूलाई मलजल गर्न गएँ।
तर केही समयपछि, मैले थाहा पाएँ कि अरू केही नयाँ विश्वासीहरू पनि पक्राउ परेका छन्, र प्रहरीले अरू दुई जना सिस्टर र मेरो निगरानी फोटोहरू देखाएर चिन्छौ भन्दै नयाँ विश्वासीहरूलाई सोधिरहेको रहेछ। म झनै डराएँ, र सोचेँ, “म केही वर्षअघि पक्राउ परेकी थिएँ, र राष्ट्रिय सुरक्षा दस्ताका प्रहरी सबैले मलाई चिन्छन्। यदि म फेरि पक्राउ परेँ भने, तिनीहरूले मलाई पक्कै पनि छोड्नेछैनन्।” केही ब्रदर-सिस्टरहरूलाई प्रहरीद्वारा निर्दयीपूर्वक कुटेर मारिएको कुरा सोच्दा, र मलाई पनि पहिले प्रहरीले यातना दिएर झन्डै मारेको कुरा सम्झेर, मैले आफैलाई सोधेँ, “यदि म पक्राउ परेर साँचिक्कै कुटाइबाट मरेँ भने, के मेरो वर्षौँको विश्वासको अन्त्य हुँदैन र?” जति धेरै सोच्थेँ, त्यति नै चिन्तित हुन्थेँ, र राति निदाउनै सकिनँ। म केवल अगुवाले नयाँ विश्वासीहरूलाई मलजल गर्ने अरू कोही खोजून् भन्ने चाहन्थेँ। तर, मण्डलीका धेरैजसो अगुवा, कामदार र मलजलकर्ताहरू प्रहरीको पक्राउमा परिसकेका थिए, त्यसैले तत्कालका लागि अरू कुनै उपयुक्त व्यक्ति थिएनन्। त्यसपछि, म नयाँ विश्वासीहरूलाई मलजल गर्न गए पनि, म डर र त्रासमा बाँचिरहेकी थिएँ, र भेलाहरूमा झारा टारिरहेकी थिएँ, र हरेक पटक परमेश्वरका वचनहरू अलिकति पढेपछि, म सकेसम्म चाँडो निस्कन चाहन्थेँ, भेला लामो भयो भने खतरा बढ्छ कि भन्ने डरले। त्यसबेला, केही नयाँ विश्वासीहरू पक्राउ पर्ने डरले नराम्रो स्थितिमा थिए, र म हतार-हतार भेला सिध्याउनुअघि छोटकरीमा मात्र कुरा गर्थेँ। पछि, नयाँ विश्वासीहरूका समस्याहरू समाधान नभएको कुरा सोचेर, मलाई दोषी महसुस भयो, नयाँ विश्वासीहरू नकारात्मक, कमजोर, वा चिनियाँ कम्युनिष्ट पार्टीका आधारहीन अफवाहहरूले भ्रमित भएर विश्वासबाट पछि हट्छन् कि भन्ने डर लाग्यो। तर फेरि सोचेँ कि प्रहरीले मेरो निगरानी भिडिओ र फोटोहरू पाए पनि, कुनै शङ्कास्पद व्यक्तिले मलाई पछ्याइरहेको मैले देखेकी छैन, र मैले सुरक्षित रहने र लुकेर हिँड्नेमा ध्यान दिएरसम्म, म भेलामा उपस्थित हुन सक्नेछु। यदि यो महत्वपूर्ण क्षणमा, मैले आफ्नै सुरक्षाको बारेमा मात्र सोचेँ, र नयाँ विश्वासीहरू दृढ रहन सक्छन् कि सक्दैनन् भन्ने कुरालाई बेवास्ता गरेँ भने, के ममा अझै मानवता बाँकी रहनेछ र? मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, जसमा भनिएको छ: “ब्रह्माण्डमा हुने सबै कुरामध्ये, त्यहाँ यस्तो केही छैन जसमा मेरो निर्णय हुँदैन। के त्यस्तो कुनै कुरा छ जुन मेरो हातमा छैन?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय १)। साँच्चै हो, परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ, र ठूलो रातो अजिङ्गर जतिसुकै दुष्ट र उन्मत्त भए पनि, त्यसले परमेश्वरको सार्वभौमिकतालाई नाघ्न सक्दैन। परमेश्वरको अनुमतिविना, प्रहरीले मलाई पक्रन सक्दैनथ्यो। परमेश्वरका वचनले मलाई विश्वास र शक्ति दियो, त्यसैले मैले नयाँ विश्वासीहरूलाई मलजल गर्ने काम जारी राखेँ।
पछि, कामको आवश्यकताले गर्दा, म मलजलको कामको सुपरिवेक्षण गर्न सिन शङ मण्डलीमा गएँ। तर मैले सोच्दै नसोचेको कुरा के भयो भने, म सिन शङ मण्डलीमा पुगेको केही समयपछि नै, त्यहाँका मण्डली अगुवाहरूलाई प्रहरीले पक्राउ गर्यो। प्रहरीले यस मण्डलीमा पनि मानिसहरूलाई पक्रन थालेको देखेर, म डर र त्रासले भरिएँ र नयाँ विश्वासीहरूलाई मलजल गर्न जान चाहिनँ। तर यस मण्डलीका नयाँ विश्वासीहरू भर्खरै मात्र सामान्य रूपमा भेला हुन थालेका थिए, र मण्डलीका अगुवाहरू पनि पक्राउ परिहाले। नयाँ विश्वासीहरू मलजलविना छोडिएको र तिनीहरूको जीवनले कष्ट भोगेको म टुलुटुलु हेरेर बस्न सकिनँ। मेरो मनमा उथलपुथल भयो, त्यसैले म परमेश्वरको अगाडि घुँडा टेकेर प्रार्थना गरेँ, “हे सर्वशक्तिमान् परमेश्वर! धेरै नयाँ विश्वासीहरूलाई मलजल र सहयोगको खाँचो छ, तर म पक्राउ पर्ने डरले जान आँट गरिरहेकी छैनँ। कृपया मलाई विश्वास र साहस दिनुहोस्।” प्रार्थना गरेपछि, मैले एउटा अनुभवात्मक गवाहीको भिडिओ हेरेँ जसले मलाई गहिरो रूपमा छोयो। ती सिस्टरले प्रहरीको सतावट र महामारीको प्रकोप दुवैको सामना गर्दा कमजोर र नकारात्मक महसुस गरे पनि, परमेश्वरमा भरोसा गरी मण्डलीमा घटनापछिको काम राम्ररी सम्हाल्न सकिन्, र परमेश्वरका वचनका पुस्तकहरूलाई सुरक्षित रूपमा स्थानान्तरण गरिन्। ती सिस्टरले सतावट र प्रतिकूलताका बीचमा आफ्नो कर्तव्यलाई कायम राख्न सकेको देखेर, मलाई धेरै लाज लाग्यो, विशेष गरी भिडिओमा देखिएका परमेश्वरका वचनहरूले मलाई प्रेरित गर्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मैले अहिले चाहने भनेको तेरो बफादारी र समर्पण, तेरो प्रेम र गवाही हो। यस बेला गवाही के हो वा प्रेम के हो सो तँलाई थाहा नभए पनि, तैँले आफ्नो सबै कुरा ल्याउनुपर्छ र तेरो एक मात्र खजाना मलाई सुम्पनुपर्छ: तेरो बफादारी र समर्पण। जसरी मानिसको पूर्ण विजयमा गवाही हुन्छ, त्यस्तै शैतानलाई पराजित गर्ने गवाही मानिसको बफादारी र समर्पणमा रहन्छ भन्ने कुरा तैँले जान्नुपर्छ। मप्रतिको तेरो विश्वासको कर्तव्य भनेको नै मेरो निम्ति साक्षी दिनु, म बाहेक अरू कोहीप्रति बफादार नहुनु, र अन्तसम्म नै समर्पित हुनु हो। मैले मेरो कामको अर्को चरण सुरु गर्न अघि, तैँले मेरो निम्ति कसरी साक्षी दिनेछस्? तँ मप्रति कसरी बफादार र समर्पित हुनेछस्? के तँ आफ्ना सबै बफादारीता आफ्नै काममा अर्पण गर्छस् कि हरेस खान्छस्? तँ (मृत्यु वा विनाश नै आइपरे पनि) मेरो हरेक प्रबन्धको अधीनमा रहन्छस् कि मेरो सजायबाट बच्न बीचैबाट भाग्छस्? तँ मेरो साक्षी दिने बन्, मप्रति बफादार र समर्पित बन् भनेर म तँलाई सजाय दिन्छु। यति मात्र कहाँ हो र, हालको सजाय मेरो कामको अर्को चरण प्रकट गर्नु र कामलाई निर्बाध रूपमा अघि बढ्न दिनको लागि हो। त्यसैले, म तँलाई बुद्धिमान बन् अनि आफ्नो जीवनलाई अनि आफ्नो अस्तित्वलाई निकम्मा बालुवाको रूपमा व्यवहार नगर् भन्ने उत्साह दिन्छु। आउनेवाला मेरो काम ठ्याक्कै कस्तो हुनेछ भनी के तैँले जान्न सक्छस्? आउने दिनमा म कसरी काम गर्नेछु र मेरो काम कसरी प्रकट हुनेछ भन्ने के तँ जान्दछस्? तैँले मेरो कामप्रतिको तेरो अनुभवको महत्त्व र मप्रति तेरो विश्वासको महत्त्वलाई जान्नुपर्छ। … यसकारण, मैले अझ पनि तँलाई भन्नुपर्छ: तैँले आफ्नो जीवन मेरो कामको निम्ति दिनुपर्छ, र यस बाहेक, तैँले आफूलाई मेरो महिमाको निम्ति अर्पण गर्नुपर्छ। मैले जति लामो समयदेखि तैँले मेरो निम्ति गवाही दिओस् भन्ने उत्कट इच्छा गरेको छु, तैँले मेरो सुसमाचार फैलाएको होस् भन्ने कुरालाई मैले त्योभन्दा बढी चाहेको छु। मेरो हृदयमा के छ सो तैँले बुझ्नुपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विश्वासको बारेमा तँलाई के थाहा छ?)। परमेश्वरका वचनहरू पढेपछि, म गहिरो रूपमा प्रभावित भएँ, र विशेष गरी जब परमेश्वरले भन्नुभयो, “तँ (मृत्यु वा विनाश नै आइपरे पनि) मेरो हरेक प्रबन्धको अधीनमा रहन्छस् कि मेरो सजायबाट बच्न बीचैबाट भाग्छस्?” मलाई आफूमा विवेकको विशेष कमी भएको, अनि साँच्चै स्वार्थी र घृणित भएको महसुस भयो! मण्डलीले चिनियाँ कम्युनिष्ट पार्टीको अनियन्त्रित गिरफ्तारी र सतावट भोगिरहेको बेला, मलाई राम्ररी थाहा थियो यी नयाँ विश्वासीहरूमा दर्शनसम्बन्धी सत्यताको कमी छ, र यो भयानक वातावरण र चिनियाँ कम्युनिष्ट पार्टीका आधारहीन अफवाहहरूको समयमा, तिनीहरू सजिलै नकारात्मक, कमजोर, वा भ्रमित हुन सक्थे, र आस्थाबाट पछि हट्न पनि सक्थे। मैले नयाँ विश्वासीहरूलाई मलजल गर्ने कामको जिम्मा लिनुपर्थ्यो, ताकि तिनीहरू सत्यता बुझेर दृढ रहन सकून्। तर पक्राउ पर्ने डरले, मैले नयाँ विश्वासीहरूलाई मलजल गर्ने काम पन्छाएर यो जरुरी क्षणमा भाग्न खोजेँ, र विशेष गरी प्रहरीसँग मेरो फोटो छ भन्ने थाहा पाएपछि, म झनै डराएँ। प्रहरीले पक्राउ गरी कुटेर मार्नेछ, र भविष्यमा मेरो कुनै राम्रो परिणाम र गन्तव्य हुनेछैन कि भन्ने मलाई डर थियो। त्यसैले, नयाँ विश्वासीहरूलाई सहयोग गर्ने कोही छैन भन्ने राम्ररी थाहा हुँदाहुँदै पनि, म तिनीहरूलाई मलजल गर्न जान चाहिरहेकी थिइनँ। पछि गए पनि, म केवल झारा टारिरहेकी थिएँ र काम चलाउ गरिरहेकी थिएँ, भेला छिट्टै सिध्याएर निस्कन चाहन्थेँ। आफ्नो व्यवहारलाई चिन्तन गर्दा, के महसुस भयो भने ममा परमेश्वरप्रति कुनै साँचो विश्वास वा समर्पण छैन, मलाई केवल आफ्नो सुरक्षाको चिन्ता छ। अलिकति खतराको सङ्केत पाउनेबित्तिकै म आफ्नो कर्तव्य त्यागेर बीच बाटोबाटै भाग्न चाहन्थेँ। कसरी ममा परमेश्वरमाथि विश्वास थियो र? मेरो बफादारी र समर्पण कहाँ थियो र? मेरो गवाही कहाँ थियो र? यो त परमेश्वरलाई धोका दिनुको अभिव्यक्ति थियो। मैले दुःखी र दोषी महसुस गरेँ, आफू यति स्वार्थी र घृणित भएकोमा, र अलिकति पनि बफादारी नभएकोमा आफैलाई घृणा गरेँ! त्यही समयमा, मैले बुझेँ कि गिरफ्तारी र सतावटको समयमा, मैले आफ्नो गवाहीमा दृढ रहन परमेश्वरमा भरोसा गर्नुपर्छ, आफ्नो हृदय सुम्पनुपर्छ, र परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुनुपर्छ, र आफ्नो ज्यान नै बलिदान दिनुपरे तापनि, मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ। यो बुझेपछि, ममा एउटा शक्ति आयो र मलाई पक्राउ पर्ने डर लागेन। त्यसपछि म तुरुन्तै नयाँ विश्वासीहरूकहाँ गएँ, तिनीहरूसँग परमेश्वरका वचनहरूको सङ्गति गरेँ, र तिनीहरूलाई परमेश्वरको सर्वशक्तिमान्ता र बुद्धि बुझ्न मद्दत गरेँ ताकि तिनीहरूमा यो वातावरणको अनुभव गर्ने विश्वास हुन सकोस्।
त्यसपछि, मैले सोचेँ, “ब्रदर-सिस्टरहरू पक्राउ परेको सुन्दा मलाई सधैँ किन डर लाग्छ र म आफूलाई बचाउन चाहन्छु? यसको जड कारण के हो?” मैले यस विषयमा परमेश्वरका वचनहरू खोजेर पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मूलभूमि चीनमा, परमेश्वरमा विश्वास गर्नु भनेको खतरनाक वातावरणमा जिउनु हो। परमेश्वरलाई पछ्याउने हरेक व्यक्तिले दैनिक रूपमा ठूलो रातो अजिङ्गरको पक्राउ, दण्ड र निर्दयी सतावटमा पर्ने जोखिम सामना गर्छ। ख्रीष्टविरोधीहरू पनि यसको अपवाद हुँदैनन्। तिनीहरूलाई परमेश्वरको घरभित्र ख्रीष्टविरोधीहरूका रूपमा चित्रण गरिएको त हुन सक्छ, तर ठूलो रातो अजिङ्गरले धार्मिक संसारसँग मिलेर परमेश्वरको मण्डली र उहाँका चुनिएका मानिसहरूलाई दमन गर्न र सताउन निरन्तर सक्दो प्रयास गरिरहेको हुन्छ, र अवश्य नै, ख्रीष्टविरोधीहरू पनि यस्तो वातावरणमा पर्छन् र तिनीहरू पक्राउको खतराबाट मुक्त हुँदैनन्। तसर्थ, तिनीहरूले आफ्नै सुरक्षाको समस्या बारम्बार सामना गर्नुपर्छ। यसले ख्रीष्टविरोधीहरू आफ्नो सुरक्षाको कुरा कसरी सम्हाल्छन् भन्ने प्रश्नबारे बताउँछ। यस उपखण्डमा हामीले मूलतः ख्रीष्टविरोधीहरूले आफ्नो सुरक्षाप्रति राख्ने मनोवृत्तिबारे सङ्गति गरिरहेका छौं। त्यसोभए, तिनीहरूको मनोवृत्तिचाहिँ के हो त? (तिनीहरूले आफ्नो सुरक्षा जोगाउन सक्दो गर्छन्।) ख्रीष्टविरोधीहरू आफ्नो सुरक्षा कायम राख्न सक्दो प्रयास गर्छन्। तिनीहरू मनमनै यस्तो सोच्छन्: ‘मैले जसरी पनि आफ्नो सुरक्षा पक्कापक्की गर्नैपर्छ। जो पक्राउ परे पनि, मचाहिँ पर्नै हुँदैन।’ … यदि कुनै स्थान सुरक्षित छ भने, ख्रीष्टविरोधीहरूले काम गर्न त्यही स्थान रोज्नेछन्, र वास्तवमा तिनीहरू निकै सक्रिय र सकारात्मक देखिनेछन्, आफ्नो ठूलो ‘जिम्मेवारी बोध’ र ‘बफादारिता’ देखाउँछन्। यदि कुनै काम गर्नुको अर्थ तिनीहरूले जोखिम उठाउनुपर्छ भन्ने हुन्छ, र त्यसमा तिनीहरू खतरामा पर्ने, तिनीहरूलाई ठूलो रातो अजिङ्गरले भेट्टाउने सम्भावना हुन्छ भने, तिनीहरूले बहाना बनाएर यो काम अस्वीकार गर्छन्, र यसबाट भाग्ने मौका खोज्छन्। खतरा आउनेबित्तिकै, वा खतराको सङ्केत देख्नेबित्तिकै, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूबारे कुनै वास्ता नगरी, आफूलाई उम्काउने र आफ्नो कर्तव्य त्याग्ने उपाय सोच्छन्, र आफूलाई खतराबाट निकाल्ने बारे मात्रै चासो राख्छन्। तिनीहरूले मानसिक रूपमा आफूलाई तयार गरिसकेका हुन सक्छन्। खतरा देखा पर्नेबित्तिकै, तिनीहरूले मण्डलीको काम कसरी अघि बढ्छ भन्नेबारे, वा परमेश्वरको घरका हितहरूमा त्यसले के-कस्तो हानि गर्न सक्छ भन्नेबारे, वा दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षाबारे कुनै वास्ता नगरी आफूले गरिरहेको सबै काम तुरुन्तै छोड्नेछन्—तिनीहरूलाई भाग्नुको मात्रै मतलब हुन्छ। तिनीहरूले आफूलाई रक्षा गर्नका लागि ‘कम्मरसमेत कसेका हुन्छन्’: तिनीहरूमाथि खतरा आइपर्नेबित्तिकै वा तिनीहरू पक्राउ पर्नेबित्तिकै, तिनीहरू आफूलाई थाहा भएका सबै कुरा बताउँछन्, आफ्नो सुरक्षा कायम राख्न आफूलाई खतरामुक्त पार्दै सबै जिम्मेवारीहरू त्याग्छन्। तिनीहरूले तयार पार्ने योजना यही हो। यी मानिसहरू परमेश्वरमा विश्वास गर्दा आइपर्ने सतावट भोग्न अनिच्छुक हुन्छन्; तिनीहरूलाई पक्राउ पर्ने, यातना भोग्ने, र जेल पर्ने डर हुन्छ। तथ्य के हुन्छ भने तिनीहरू आफ्नो हृदयभित्र शैतानको अधीनमा परेको लामो समय भइसकेको हुन्छ। तिनीहरूलाई शैतानी शासनको भय हुन्छ, र तिनीहरूमाथि यातना र कठोर सोधपुछ आइपर्ला भनेर तिनीहरूलाई अझै ठूलो डर हुन्छ। त्यसकारण ख्रीष्टविरोधीहरूका लागि, यदि सबै कुरा सहजतापूर्वक अघि बढिरहेको छ, र तिनीहरूको सुरक्षामा कुनै खतरा वा समस्या छैन, र कुनै जोखिम छैन भने, तिनीहरूले आफ्नो जोस र ‘बफादारिता,’ अनि आफ्नो सरसम्पत्तिसमेत अर्पण गर्न सक्छन्। तर परिस्थितिहरू खराब छन् र परमेश्वरमा विश्वास गरेको र आफ्नो कर्तव्य निभाएको कारण तिनीहरू कुनै पनि बेला पक्राउ पर्न सक्छन् भने, र परमेश्वरमाथिको तिनीहरूको विश्वासको कारण तिनीहरूलाई तिनीहरूको पदबाट हटाइने वा तिनीहरूका नजिकका मानिसहरूले तिनीहरूलाई त्याग्ने सम्भावना छ भने, तिनीहरू अत्यन्तै सतर्क हुन्छन्, र यसरी तिनीहरूले न त सुसमाचार सुनाउँछन् अनि न त परमेश्वरको साक्षी दिन्छन् न त आफ्नो कर्तव्य नै पूरा गर्छन्। समस्याको सानो सङ्केत देख्दा, तिनीहरू कछुवा आफ्नो खपेटामा लुकेजस्तो लुरुक्क पछि सर्छन्; जब समस्याको सानो सङ्केत देखा पर्छ, तिनीहरूले आफूलाई सुरक्षित र सकुशल राख्नका लागि तुरुन्तै आफूसँग भएका परमेश्वरको वचनका पुस्तकहरू र परमेश्वरमाथिको विश्वाससम्बन्धी कुनै पनि कुरा मण्डलीमा फिर्ता गर्न चाहन्छन्। के तिनीहरू खतरनाक हुँदैनन् र? पक्राउ परे भने, के तिनीहरू यहूदा बन्दैनन् र? ख्रीष्टविरोधीहरू यति खतरनाक हुन्छन् कि तिनीहरू कुनै पनि बेला यहूदा बन्न सक्छन्; तिनीहरूले परमेश्वरलाई धोका दिने सम्भावना सधैँ हुन्छ। यसको साथै, तिनीहरू अत्यन्तै स्वार्थी र घृणित हुन्छन्। यो कुरा ख्रीष्टविरोधीहरूको प्रकृति सारले निर्धारित गरेको हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्वरले खुलासा गर्नुहुन्छ कि ख्रीष्टविरोधीहरूको प्रकृति विशेष गरी स्वार्थी र घृणित हुन्छ। यदि तिनीहरूले कर्तव्य गर्ने ठाउँहरू सुरक्षित छन् र कुनै खतरा छैन भने, ख्रीष्टविरोधीहरू धेरै सक्रिय हुन्छन् र धेरै जिम्मेवार देखिन्छन्, तर जब वातावरण कठोर हुन्छ, तिनीहरू केवल आफ्नो सुरक्षाको वास्ता गर्छन्, र मण्डलीको काम वा ब्रदर-सिस्टरहरूको सुरक्षाको पटक्कै वास्ता गर्दैनन्। मेरो व्यवहार पनि त्यस्तै थियो। जब मण्डलीमा गिरफ्तारीहरू भइरहेको थिएन, म धेरै ऊर्जाशील र सक्रिय थिएँ, र काम व्यस्त हुँदा, म नखाईकन पनि नयाँ विश्वासीहरूलाई मलजल गर्न जान्थेँ। तर जब मण्डलीले ठुलो मात्रामा धरपकड हुन थाल्यो र अगुवा र मलजलकर्ताहरू सबै पक्राउ परे, र मैले नयाँ विश्वासीहरूलाई मलजल गर्न आवश्यक पर्यो, तब म पछि हटेँ र खुम्चिएँ, प्रहरीबाट पक्राउ परेर यातनाले मर्छु, र कुनै राम्रो परिणाम वा गन्तव्यविनाको हुनेछु कि भन्ने डरले। त्यसैले मैले नयाँ विश्वासीहरूलाई मलजल गर्न चाहिनँ, र बर्खास्त गरिएको मलजलकर्ता गैरजिम्मेवार छिन् भन्ने राम्ररी थाहा हुँदाहुँदै पनि, म अझै पनि नयाँ विश्वासीहरूलाई उनकै जिम्मामा लगाइदिन र यो गम्भीर क्षणमा भाग्न खोजेँ। मैले आफ्नै सुरक्षालाई सबैभन्दा माथि राखेँ, र मण्डलीको काममा हानि पुग्छ कि वा नयाँ विश्वासीहरू दृढ रहन सक्छन् कि सक्दैनन् भन्ने कुराको पटक्कै वास्ता गरिनँ। मैले देखेँ ममा साँच्चै मानवता र विवेकको कमी थियो, र मैले प्रकट गरेको स्वभाव ख्रीष्टविरोधीको जस्तै थियो—अत्यधिक स्वार्थी र घृणित! यदि मैले पश्चात्ताप नगरेकी र गम्भीर क्षणहरूमा कर्तव्य छोड्दै भगौडाजस्तो गरिरहेकी भए, मलाई अन्ततः हटाइनेथ्यो
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, र मृत्युको डरको विषयमा केही बुझाइ प्राप्त गरेँ र यसलाई कसरी लिने भनेर थाहा पाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “प्रभु येशूका यी चेलाहरू कसरी मरे? चेलाहरूमध्ये, कतिलाई ढुङ्गाले हानियो, घोडामा बाँधेर घिस्स्याइएका, उँधोमुन्टो क्रूसमा टाँगिएका, पाँचवटा घोडाले तानेर शरीर चुँडाइएकाहरू पर्थे—तिनीहरूमाथि हरकिसिमको मृत्यु आइपऱ्यो। तिनीहरूको मृत्युको कारण के थियो? के तिनीहरूलाई तिनीहरूको अपराधका निम्ति कानुनअनुसार दण्ड दिइयो? दिइएन। तिनीहरूले प्रभुको सुसमाचार प्रसार गरे, तर संसारका मानिसहरूले त्यो स्विकारेनन्, बरु तिनीहरूको निन्दा गरे, तिनीहरूलाई कुट्ने, र गाली गर्ने, अनि मार्ने समेत गरे—तिनीहरू त्यसरी नै शहीद भए। ती शहीदहरूको अन्तिम परिणाम, वा तिनीहरूका कार्यहरूबारे परमेश्वरले गर्नुभएको फैसलाबारे कुरा नगरौँ, बरु यो सोधौँ: जब अन्त्यमा तिनीहरूको जीवनको जसरी अन्त्य भयो के त्यो मानव धारणासँग मिल्दो थियो? (अहँ, थिएन।) मानव धारणाहरूको दृष्टिकोणबाट हेर्दा, तिनीहरूले परमेश्वरको काम प्रसार गर्नका लागि त्यति ठूलो मूल्य चुकाए, तर तिनीहरू अन्त्यमा सैतानद्वारा मारिए। यो मानिसका धारणाहरूसँग मेल खाँदैन, तर तिनीहरूलाई ठ्याक्कै त्यस्तै नै भयो। परमेश्वरले त्यस्तै हुन दिनुभयो। … वास्तवमा, तिनीहरूका शरीर यसरी मरेका र बितेका थिए; मानव संसारबाट बिदा हुने तिनीहरूको माध्यम यही थियो, तैपनि यसको अर्थ तिनीहरूको परिणाम उस्तै थियो भन्ने होइन। तिनीहरूको मृत्यु र बिदा हुने माध्यम चाहे जे नै भए पनि, र त्यो चाहे जसरी भए पनि, परमेश्वरले ती जीवनका, ती सृजित प्राणीहरूका अन्तिम परिणाम त्यस्तो होस् भनी निर्धारित गर्नुभएको थिएन। यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। यसको विपरीत, तिनीहरूले यस संसारलाई निन्दा गर्न र परमेश्वरका कार्यहरूको गवाही दिन ठ्याक्कै तिनै माध्यमहरू प्रयोग गरे। यी सृजित प्राणीहरूले आफ्नो सबैभन्दा मूल्यवान् जीवन—आफ्ना जीवनको अन्तिम क्षण परमेश्वरका कार्यहरूको गवाही दिन, परमेश्वरको महान् शक्तिको गवाही दिन, र शैतान र संसारलाई परमेश्वरका कार्यहरू सही छन्, प्रभु येशू परमेश्वर हुनुहुन्छ, उहाँ प्रभु हुनुहुन्छ, र परमेश्वरको देहधारी शरीर हुनुहुन्छ भनी घोषणा गर्न प्रयोग गरे। आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि, तिनीहरूले प्रभु येशूको नाउँलाई कहिल्यै इन्कार गरेनन्। के यो संसारमाथिको एक प्रकारको न्याय थिएन र? तिनीहरूले प्रभु येशू नै प्रभु हुनुहुन्छ, प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्वरको देहधारी शरीर हुनुहुन्छ, उहाँले गर्नुभएको सारा मानवजातिलाई छुटकारा दिने कामले नै मानवजातिलाई जिइरहन दिन्छ भनी संसारलाई घोषणा गर्न, मानवजातिलाई पुष्टि गर्न आफ्नो जीवन प्रयोग गरे—यो तथ्य सदैव अपरिवर्तनीय हुन्छ। प्रभु येशूको सुसमाचार प्रसार गरेका कारण शहीद भएकाहरूले कुन हदसम्म आफ्नो कर्तव्य निर्वाह गरे? के त्यो अन्तिम हद थियो? त्यो अन्तिम हद कसरी प्रकट भयो? (तिनीहरूले आफ्नो जीवन दिए।) त्यो सही हो, तिनीहरूले आफ्नो प्राण दिएर त्यो मूल्य चुकाए। परिवार, धन-सम्पत्ति, र यस जीवनका भौतिक थोकहरू सबै बाहिरी थोकहरू हुन्; आफूसँग जोडिएको एउटै मात्र कुरा जीवन हो। प्रत्येक जीवित व्यक्तिका लागि, सबैभन्दा कदर गरिनलायक, सबैभन्दा बहुमूल्य कुरा जीवन हो, अनि, यस्तो हुँदा पनि, यी मानिसहरूले मानवजातिप्रति परमेश्वरको प्रेम पुष्टि गर्न र त्यसको गवाही दिन, आफ्नो सबैभन्दा बहुमूल्य सम्पत्ति—जीवन—अर्पण गर्न सके। तिनीहरूको मृत्यु भएको दिनसम्म, तिनीहरूले परमेश्वरको नाउँलाई इन्कार गरेनन्, न त तिनीहरूले परमेश्वरको कामलाई नै इन्कार गरे, र तिनीहरूले आफ्नो जीवनका अन्तिम क्षणहरू यही तथ्यको अस्तित्वको गवाही दिनका निम्ति प्रयोग गरे—के यो सर्वोच्च प्रकारको गवाही होइन र? यो आफ्नो कर्तव्य पूरा गर्ने सर्वोत्तम तरिका हो; आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको यही नै हो। जब शैतानले तिनीहरूलाई धम्कायो र आतङ्कित बनायो, र, अन्त्यमा, त्यसले तिनीहरूलाई तिनीहरूको जीवनको मूल्य चुकाउने तुल्याउँदा समेत, तिनीहरूले आफ्नो जिम्मेवारी त्यागेनन्। चरम हदसम्म आफ्नो कर्तव्य पूरा गर्नु भनेको यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार प्रचार गर्नु सबै विश्वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य हो)। परमेश्वरका वचनहरूमा चिन्तन गर्दा, म गहिरो रूपमा प्रभावित भएँ। मैले के देखेँ भने युगौँदेखि, परमेश्वरको सुसमाचार प्रसार गर्ने सन्तहरू सत्तामा हुनेहरूबाट सताइएका छन्। कोही घोडाहरूले घिसारेर मारिए, कोहीलाई ढुङ्गाले हानेर मारिए, र अरूलाई उँधोमुन्टो फर्काएर क्रूसमा टाँगियो, तर मृत्युको खतरामा पनि, तिनीहरू अन्धकारका शक्तिहरूको प्रभावले बाँधिएनन्, र तिनीहरूले मृत्युसम्म आफ्नो कर्तव्यलाई कायम राखे, परमेश्वरको नामलाई इन्कार गरेनन् वा उहाँलाई धोका दिएनन्, आफ्नो जीवन अर्पेर परमेश्वरका लागि सुन्दर र शानदार गवाही दिए। तिनीहरूको मृत्यु मूल्यवान र अर्थपूर्ण थियो। मानिसको आँखामा, तिनीहरूको शरीर मरे तापनि, तिनीहरू धार्मिकताको निम्ति सताइएका थिए, र परमेश्वरले तिनीहरूलाई प्रशंसा गर्नुहुन्छ र सम्झनुहुन्छ। मैले सोचेँ कि आखिरी दिनहरूमा परमेश्वरको कामलाई स्वीकार गर्न र सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्न सकेकी छु, र यो परमेश्वरको अनुग्रह हो। सृजित प्राणीको रूपमा, मैले परमेश्वरको प्रेम चुकाउनुपर्छ र आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ। यदि परमेश्वरले प्रहरीलाई मलाई पक्रन अनुमति दिनुभयो भने, त्यो मेरा लागि परमेश्वरको गवाही दिने अवसर पनि हुनेछ। यदि म साँच्चै प्रहरीको सतावटमा परी मारिएँ भने पनि, त्यो परमेश्वरको अनुमतिले हुनेछ। मैले परमेश्वरका लागि आफ्नो गवाहीमा दृढ रहनुपर्छ किनभने मेरो जीवन परमेश्वरले दिनुभएको हो, र म जिउँछु वा मर्छु, मैले आफूलाई परमेश्वरद्वारा योजनाबद्ध गर्न दिनुपर्छ र उहाँको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुनुपर्छ। यसको विपरीत, यदि मैले आफ्नो जीवनलाई माया गरेँ र आफूलाई बचाएँ, र गम्भीर क्षणहरूमा, मैले आफ्नो कर्तव्य पूरा गरिनँ वा नयाँ विश्वासीहरूलाई सहयोग र मलजल गरिनँ भने, मैले परमेश्वरको अगाडि अपराध गरेकी हुनेछु, र पछुताउन धेरै ढिलो हुनेछ। मेरो शरीर मरेन भने पनि, परमेश्वरले मलाई आफ्नो गवाही गुमाएको र उहाँलाई धोका दिएको व्यक्तिको रूपमा हेर्नुहुनेछ, र म हिँड्ने लासजस्तै भएर जिउनेछु। यो कुरा बुझेपछि, मेरो हृदय अब उप्रान्त मृत्युको डरले बाँधिएन।
एक साँझ, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ, जसमा भनिएको छ: “शैतानले परमेश्वरको अख्तियार नाघ्ने आँट कहिल्यै गरेको छैन, यति मात्र होइन, परमेश्वरका आदेशहरू र निश्चित आज्ञाहरूलाई सधैँ ध्यान दिएर सुनेको र पालन गरेको छ, र तिनलाई उल्लङ्घन गर्ने कहिल्यै आँट गरेको छैन, र अवश्य नै, परमेश्वरका कुनै पनि आदेशहरूलाई स्वतन्त्र रूपमा परिवर्तन गर्ने आँट गरेको छैन। परमेश्वरले शैतानको लागि तय गर्नुभएका सीमितताहरू यिनै थिए, त्यसकारण शैतानले यी सीमितताहरूलाई नाघ्ने आँट कहिल्यै गरेन। के यो परमेश्वरको अख्तियारको सामर्थ्य होइन र? के यो परमेश्वरको अख्तियारको साक्षी होइन र? परमेश्वरप्रति कस्तो व्यवहार गर्ने र परमेश्वरप्रति कस्तो दृष्टिकोण राख्ने भन्ने बारेमा मानवजातिलाई भन्दा शैतानलाई अझै बढी स्पष्ट रूपमा थाहा छ, त्यसकारण, आत्मिक क्षेत्रमा, शैतानले परमेश्वरको हैसियत र अख्तियारलाई स्पष्ट रूपमा देख्छ, र त्यसमा परमेश्वरको अख्तियारको सामर्थ्य र उहाँको अख्तियार प्रयोगको पछाडि रहेका सिद्धान्तहरूका बारेमा गहन बोध गर्छ। यसले तिनलाई बेवास्ता गर्ने आँट बिलकुलै गर्दैन, न त तिनलाई कुनै पनि हालतमा उल्लङ्घन गर्ने, वा परमेश्वरको अख्तियारलाई नाघ्ने कुनै काम गर्ने आँट नै गर्छ, र त्यसले कुनै पनि हालतमा परमेश्वरको क्रोधलाई चुनौती दिने आँट गर्दैन। त्यो प्रकृतिमा दुष्ट र अहङ्कारी भए तापनि, परमेश्वरले त्यसको लागि तय गर्नुभएका परिधि र सीमाहरूलाई नाघ्ने आँट शैतानले कहिल्यै गरेको छैन। करोडौँ वर्षसम्म, यसले यी परिधिहरूलाई कडाइको साथ पालन गरेको छ, परमेश्वरले त्यसलाई दिनुभएको हरेक आज्ञा र आदेशलाई पालन गरेको छ, र घेरालाई नाघ्ने आँट कहिल्यै गरेको छैन। यो दुर्भावनापूर्ण भए तापनि, शैतान भ्रष्ट मानवजातिभन्दा निकै बुद्धिमान् छ; त्यसलाई सृष्टिकर्ताको पहिचान थाहा छ, र त्यसका आफ्नै सीमाहरू थाहा छ। शैतानको ‘समर्पित’ कार्यहरूबाट के देख्न सकिन्छ भने, परमेश्वरको अख्तियार र शक्ति स्वर्गीय अध्यादेशहरू हुन् जसलाई शैतानले नाघ्न सक्दैन, र परमेश्वरको अद्वितीयपन र अख्तियारकै कारणले सबै थोक सुव्यवस्थित रूपमा परिवर्तन हुन्छन् र वृद्धि हुन्छन्, परमेश्वरले स्थापना गर्नुभएको मार्गभित्र रही मानवजाति जिउन र प्रजनन गर्न सक्छ, यस व्यवस्थालाई भङ्ग गर्न सक्ने कुनै व्यक्ति वा वस्तु छैन, र यो नियमलाई परिवर्तन गर्न सक्ने कुनै व्यक्ति वा वस्तु छैन—किनभने तिनीहरू सबै सृष्टिकर्ताको हातबाट, र सृष्टिकर्ताको पूर्वनिर्धारण र अख्तियारबाट आउँछन्” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १)। परमेश्वरका वचनहरूबाट, मैले परमेश्वरको अख्तियार र महान् शक्ति देखेँ। सबै कुरा र घटनाहरू परमेश्वरको नियन्त्रणमा छन्, र ठूलो रातो अजिङ्गर जतिसुकै उन्मत्त भए पनि, परमेश्वरको अनुमतिविना त्यसले हामीलाई जथाभावी पक्रने आँट गर्दैन किनभने त्यसले परमेश्वरले तोक्नुभएको सीमा र हद नाघ्न सक्दैन। यो परमेश्वरको अद्वितीय अख्तियार हो। मैले मोशाले अगाडि लाल समुद्र र पछाडि फारोको सेना हुँदा पनि इस्राएलीहरूलाई मिश्रबाट कसरी बाहिर निकाले भन्ने सम्झेँ। मानिसको कल्पनामा, इस्राएलीहरू भाग्न असम्भव देखिन्थ्यो, तर जब इस्राएलीहरू चरम सङ्कटमा थिए, परमेश्वरले लाल समुद्रलाई विभाजित गरेर सुख्खा भूमि बनाउनुभयो, र इस्राएलीहरू सुरक्षित रूपमा पार भए, जबकि सम्पूर्ण मिश्री सेना डुब्यो। मैले परमेश्वरको अख्तियार र महान् शक्ति देखेँ, अनि मैले इस्राएलीहरूलाई भाग्ने बाटो प्रदान गर्ने परमेश्वर नै हुनुहुन्थ्यो र उहाँका लागि केही असम्भव छैन भन्ने पनि देखेँ। सतावट र प्रतिकूलता भए पनि, परमेश्वरले मेरो विश्वासलाई सिद्ध पार्न ठुलो रातो अजिङ्गरलाई सेवा गर्ने वस्तुको रूपमा पनि प्रयोग गरिरहनुभएको थियो, र परिस्थिति जतिसुकै खतरनाक भए पनि, मैले परमेश्वरमा भरोसा राखेर आफ्नो कर्तव्य राम्ररी पूरा गर्नु थियो।
दुई महिनापछि, एक यहूदाको धोकाको कारण, वातावरण झन्-झन् डरलाग्दो हुँदै गयो, र लगभग एक सय जना मानिस पक्राउ परे। जो पक्राउ परेर छुटेका थिए, तिनीहरूबाट मैले थाहा पाएँ कि प्रहरीले मेरा बारेमा धेरै पटक सोधपुछ गरेको थियो। मैले सोचेँ, मलाई मण्डली अगुवाको रूपमा चुनिएकोले, म साँच्चै पक्राउ परेँ भने, प्रहरीले मलाई पक्कै पनि यातना दिनेछ। अनि यदि मैले सहन सकिनँ र कुटाइबाट मरेँ भने, के मेरो वर्षौँको परमेश्वरमाथिको विश्वासको अन्त्य हुँदैनथ्यो र? जब मैले यसबारे सोचेँ, म अझै पनि आफ्नो ज्यानको माया गरिरहेकी रहेछु भन्ने बुझिहालेँ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरी मेरो हृदयको रक्षा गर्न आग्रह गरेँ। मेरो कथा, हाम्रो कथा भन्ने चलचित्र सम्झेँ र हतार-हतार त्यो हेर्न थालेँ। त्यहाँ ब्रदरहरूलाई परमेश्वरका वचनहरू बाँडेको कारण प्रहरीले यातना दिएको थियो, तर तिनीहरूले शैतानको अगाडि झुक्नुभन्दा मर्न रोजे। विशेष गरी अन्त्यमा, जब तिनीहरूले “तीन बयानको पत्र” मा हस्ताक्षर गर्नु र परमेश्वरलाई धोका दिनुभन्दा मर्न रुचाए, तिनीहरूले एक शक्तिशाली र शानदार गवाही दिए। म गहिरो रूपमा प्रेरित भएँ, र के सङ्कल्प गरेँ भने यदि कुनै दिन म साँच्चै प्रहरीद्वारा पक्राउ परेँ भने, चलचित्रका ब्रदर-सिस्टरहरूजस्तै, म पनि शैतानसँग सम्झौता गर्न इन्कार गर्नेछु, चाहे त्यसका लागि मर्नै किन नपरोस्, ताकि परमेश्वरको हृदयलाई सान्त्वना दिन एक सुन्दर गवाही दिन सकूँ। यसपछि, मैले वास्तवमा नयाँ विश्वासीहरूलाई सत्यताको सङ्गति गरेँ, तिनीहरूलाई शैतानको षड्यन्त्र छर्लङ्ग देख्न मद्दत गरेँ, र बिस्तारै, केही नयाँ विश्वासीहरू सामान्य रूपमा भेलामा उपस्थित हुन सके।
ठुलो रातो अजिङ्गरको गिरफ्तारी र सतावटको अनुभवले मेरो साँचो कदलाई प्रकट गर्यो, साथै मेरो स्वार्थी र घृणित शैतानी स्वभावलाई पनि। यसले मलाई आफूलाई अझ राम्ररी बुझ्न मद्दत गर्यो, र मैले के बुझेँ भने गिरफ्तारी र सतावट परमेश्वरद्वारा अनुमति दिइएको हो, र परमेश्वरले यी कुराहरू हाम्रो विश्वास र प्रेमलाई सिद्ध पार्न प्रयोग गर्नुहुन्छ। मलाई थाहा छ भविष्यमा मैले अझ ठुलो सतावट र प्रतिकूलताको सामना गर्नुपर्नेछ, तर म विश्वास गर्छु सबै कुरा परमेश्वरको हातमा छ, र जेसुकै भए पनि, म सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य राम्ररी पूरा गर्नेछु र परमेश्वरका लागि गवाही दिनेछु।