१४. अरू मभन्दा उत्कृष्ट हुँदा मैले कस्तो व्यवहार गर्ने?
सन् २०१६ को अन्त्यतिर, मैले मण्डलीको काममा सिस्टर यी सिनसँग सहकार्य गरेँ। केही समय सँगै काम गरेपछि, मैले यी सिनको क्षमता राम्रो रहेको र उनले परमेश्वरका वचनहरू छिट्टै बुझ्छिन् भन्ने थाहा पाएँ। उनले सत्यतामा सङ्गति गर्दा मुख्य बुँदाहरू समात्न र ब्रदर-सिस्टरहरूका केही कठिनाइ समाधान गर्न सक्थिन्। मैले सोचेँ, “मैले परमेश्वरमा विश्वास गरेको थोरै समय भयो र धेरै सत्यता बुझ्दिनँ, त्यसैले यी सिनले मसँग सहकार्य गर्दा, मण्डलीको काम पक्कै पनि राम्रोसँग हुनेछ।” म असाध्यै खुसी थिएँ, र मेरो मन जोश र जाँगरले भरिएको थियो। मैले केही कुरा नबुझ्दा, म यी सिनलाई सोध्ने गर्थेंँ। उनले काममा अगुवाइ गर्थिन् र मैले कहिल्यै आपत्ति जनाइनँ किनभने मलाई उनी मभन्दा उत्कृष्ट छिन् भन्ने लाग्थ्यो।
केही समयपछि, मैले ब्रदर-सिस्टरहरूले यी सिनको क्षमता राम्रो छ, उनले कुराहरू बुझ्न र उनीहरूका समस्याहरू समाधान गर्न सक्छिन्, र उनको सङ्गति साँच्चै अन्तर्दृष्टियुक्त छ भनेको सुनेँ। सुरुमा, मैले यसलाई सही रूपमा लिन सकेँ, तर यी कुराहरू बारम्बार सुन्दा, मलाई अलि अप्ठ्यारो र खिन्न लाग्न थाल्यो, र सोचेँ, “हामी दुवै अगुवा हौँ र हामी सँगै काम गर्छौँ। ब्रदर-सिस्टरहरू सबैले उहाँको प्रशंसा गर्दा, के म अयोग्य देखिइनँ र?” म मौखिक रूपमा ब्रदर-सिस्टरहरूसँग सहमत हुन्थेँ र भन्थेँ, “हो, यी सिनको क्षमता राम्रो छ,” तर भित्रभित्रै मैले यो सहन सकिनँ, र सोचेँ, “मैले पनि ब्रदर-सिस्टरहरूका लागि धेरै भेलाहरू राख्छु, र म पनि उनीहरूका केही समस्या र कठिनाइहरू समाधान गर्न सक्छु। मलाई किन कसैले प्रशंसा गर्दैन? के म साँच्चै यी सिनभन्दा त्यति नै कमजोर छु र? यो त हुँदैन। मैले भेलाहरूमा अझ स्पष्ट रूपमा सङ्गति गर्न परमेश्वरका वचनहरू धेरै पढ्नैपर्छ, र मैले यी सिनको बराबरी पुग्ने प्रयास गर्नैपर्छ, ताकि ब्रदर-सिस्टरहरूले म उनीभन्दा कम छैन भनी देखून्!” त्यसपछि, मैले कडा मेहनत गर्न थालेँ, दिउँसो भेलाहरूमा गएर र राति परमेश्वरका वचनहरू पढेर आफूलाई सुसज्जित पार्न थालेँ। कुनै निश्चित स्थिति समाधान गर्न सक्ने परमेश्वरका वचनका खण्डहरू म टिपोट गर्थेंँ, ताकि समस्या समाधान गर्दा ती छिट्टै भेट्टाउन सकूँ। जब माथिल्ला अगुवाहरूले हामीसँग भेला गर्नुहुन्थ्यो, मैले नबुझेको कुनै पनि कुरामा उहाँहरूसँग परामर्श गर्थेंँ किनभने म अझ धेरै बुझ्न, अझ राम्रोसँग सुसज्जित हुन, र यी सिनलाई उछिन्न चाहन्थेँ।
एकपटक, टोली अगुवाहरूको भेलामा, यी सिनलाई केही काम परेकाले मलाई पहिले जान भनिन्। म निकै खुसी भएँ, किनभने पहिले, यी सिन सधैँ मसँग आउँथिन् र हरेक भेलामा अगुवाइ गर्थिन्, तर आज, अन्ततः एक्लै ब्रदर-सिस्टरहरूसँग सङ्गति गर्ने मेरो पालो थियो। मैले राम्रो प्रदर्शन गर्न र मेरो क्षमता यी सिनको भन्दा त्यति कम छैन भनी प्रमाणित गर्न यो मौका प्रयोग गर्नुपर्थ्यो। भेलाको दौडान, सुरुमा मैले हरेक टोली अगुवाको हालको स्थिति र उनीहरूले आफ्नो कर्तव्यमा भोगिरहेका कठिनाइहरू बुझेँ। एक जना सिस्टर बोल्दा मैले ध्यान दिएर सुनेँ, र मेरो दिमाग छिटो-छिटो चल्न थाल्यो, उनको स्थितिलाई सम्बोधन गर्न परमेश्वरका वचनका कुन खण्डहरू फेला पार्न सकिन्छ भनेर गहिरिएर सोच्दै थिएँ। मैले सोचेँ, “मैले यो काम बिगार्नै हुँदैन। यदि मैले यो समस्या समाधान गर्न सकिनँ भने, म सधैँभरि यी सिनको छायामा पर्नेछु। त्यो त कति लाजमर्दो र अपमानजनक हुनेछ!” सिस्टरले आफ्नो स्थितिबारे बताइसकेपछि, मैले परमेश्वरका वचनका सान्दर्भिक खण्डहरू फेला पारेँ, र उनको प्रतिक्रिया हेर्दै सङ्गति गरेँ। ती सिस्टरले सहमतिमा टाउको हल्लाएको देखेर, मैले अचानक सन्तुष्टिको महसुस गरेँ र आफूले राम्रो गरिरहेको छु भन्ने सोचेँ। तर म सङ्गतिमा डुब्दै गर्दा, यी सिन आफ्नो काम सकेर आइन्। मलाई हेरिरहेका सबै ब्रदर-सिस्टरहरूको ध्यान यी सिनतिर मोडियो। उनीहरूको आँखाको हेराइबाट उनीहरू सबै उत्सुकतापूर्वक यी सिनको प्रतीक्षा गरिरहेका रहेछन् भन्ने मैले महसुस गरेँ। म अलि निराश भएँ। त्यसपछि, यी सिनले टोली अगुवाका समस्याहरूसम्बन्धी परमेश्वरका वचनहरू फेला पार्न र सङ्गति गर्न थालिन्। यी सिनको सङ्गति साँच्चै नै निकै स्पष्ट थियो र मलाई धेरै ईर्ष्या लाग्यो। मैले सोचेँ, “तिमी आएर अगुवाइ लियौ र मेरो चमक खोस्यौ। हुँदैन। म चुपचाप बसेर तिमीलाई मात्रै केन्द्रमा रहन दिन सक्दिनँ। मैले सङ्गति गर्ने मौका खोज्नैपर्छ।” मैले आफ्नो दिमाग खियाएँ, परमेश्वरका वचनका कुन खण्डहरू प्रयोग गर्ने र यी सिनभन्दा कसरी अझ स्पष्ट रूपमा सङ्गति गर्ने भनेर सोच्दै थिएँ। म देखाउन निकै उत्सुक भएकीले, यी सिन एकछिन रोकिँदा, म टोली अगुवासँगको कुराकानीमा हाम्फालेँ, र भनेँ, “सिस्टर, मैले पनि तपाईंको स्थितिबारे परमेश्वरका वचनको एउटा खण्ड फेला पारेकी छु, आउनुहोस्, त्यसमा सङ्गति गरौँ।” त्यसपछि मैले पढ्न थालेँ, तर पढ्दै जाँदा, मैले छानेको खण्ड ती सिस्टरको स्थितिसँग खासै मेल खाँदैन भन्ने पाएँ। मेरो दिमाग भुन्भुनाउन थाल्यो, र मैले सोचेँ, “लौ बर्बाद भयो! मैले यो बिगारेँ कि क्या हो? म त ब्रदर-सिस्टरहरूबाट प्रशंसा पाउने आशा गरिरहेकी थिएँ, तर यस्तो सामान्य गल्ती गर्नुले के म अयोग्य छु भनी प्रमाणित गर्दैन र? अब त मेरो इज्जत नै गयो!” मलाई अत्यन्तै अप्ठ्यारो र लाज लाग्यो, मेरो अनुहार जल्यो, र म भुइँमा प्वाल पारेर भित्र छिर्न चाहन्थेँ। यी सिनले आफ्नो सङ्गति जारी राखिन्, र ब्रदर-सिस्टरहरूले ध्यान दिएर सुने। मलाई आफू पन्छाइएको जस्तो लाग्यो, र काँडामा बसेझैँ मलाई धेरै पीडा र असहजता भयो। मभित्र रिस उठ्न थाल्यो, र मैले सोचेँ, “म कुन भूमिका निभाइरहेकी छु? के म यहाँ यी सिनको प्रशंसा गर्न मात्र आएकी हुँ? यी सिन यहाँ भएकीले नै म यति कमजोर देखिएकी हुँ! आज मेरो अपमान हुनुको कारण उनी नै हुन्। यदि उनी यहाँ नभएकी भए, के म परमेश्वरका वचनका उपयुक्त खण्डहरू भेट्टाउनै नसक्ने गरी यति चिन्तित हुन्थेँ र? के मेरो यसरी अपमान हुनेथियो र?” मलाई आफू त्यहाँ बसेको एउटा जोकरजस्तो लाग्यो, र तुरुन्तै त्यहाँबाट जान मन लाग्यो। बल्लतल्ल भेला सकेर, म घर गएर ओछ्यानमा पल्टिएँ, तर जब मैले भेलामा भएको घटनाबारे सोचेँ, तब मेरो हृदय पीडाको आँधीले मथ्यो, र मलाई साँच्चै खिन्नता र कुण्ठित महसुस भयो। मैले हालसालै आफ्नो समस्या समाधान गर्ने सीप सुधार्न गरेको सबै प्रयासबारे, कसरी म दिउँसो भेलामा उपस्थित हुने, राति परमेश्वरका वचनले आफूलाई सुसज्जित पार्ने, र मध्यरातसम्म बस्ने गरिरहेकी थिएँ भन्ने सोचेँ, तर जतिसुकै कोसिस गरे पनि, म अझै यी सिनभन्दा पछि नै परेँ। यसबारे सोच्दा, मलाई यी सिनप्रति रिस उठ्न थाल्यो र अबदेखि उनीसँग भेलामा सहकार्य गर्न मन लागेन। म उनलाई देख्न पनि चाहन्नथेँ। भोलिपल्ट, जब यी सिन र म भेलामा गयौँ, म रिसाएर चुपचाप बसेँ, र सोचेँ, “म उनीसँग प्रतिस्पर्धा गर्न सक्दिनँ, त्यसैले म आफ्नो मुख बन्द गरेर सुन्छु!” तर यदि मैले प्रतिस्पर्धा गरिनँ भने, मलाई अझै पनि खिन्नता, कुण्ठित, र रिस उठेको महसुस हुन्थ्यो। मैले सङ्गति गर्न खोज्दा मेरो दिमाग खाली हुन्थ्यो, र के भन्ने थाहा पाउँदिनथेँ। त्यसैले मैले गुनासो गर्न थालेँ, र सोचेँ, “परमेश्वरले उनलाई किन त्यस्तो राम्रो क्षमता दिनुभएको छ? उहाँले मलाई किन यस्तो कमजोर क्षमता दिनुभयो र हामीलाई सँगै कर्तव्य गर्न बन्दोबस्त गर्नुभयो? उनी साथमा हुँदा, म त यहाँ नभएजस्तै हुन्छु।” एक दिन छिट्टै हामी अलग होऔँ भनी मैले आशा गरेँ। त्यसपछिका केही भेलाहरूमा म कम बोल्न थालेँ, र कामको छलफलमा कम भाग लिन थालेँ। मेरो स्थिति झन्-झन् बिग्रँदै गयो, र मलाई झन्-झन् पीडा र दमित महसुस भयो। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! म निरन्तर यी सिनको ईर्ष्या गर्छु, र सधैँ आफूलाई उनीसँग तुलना गर्छु। यस्तो स्थितिमा जिउनु धेरै पीडादायी छ। हे परमेश्वर! मेरो भ्रष्ट स्वभाव बुझ्न मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।”
त्यसपछि, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “प्रतिष्ठा र हैसियत संलग्न हुने वा अनुभवको मौका मिल्ने कुनै पनि कुराको प्रसङ्ग उठ्दा—उदाहरणको लागि, तिमीहरूले परमेश्वरको घरले विभिन्न प्रकारका प्रतिभाशाली व्यक्तिहरूको वृद्धिविकास गर्ने योजना बनाउँदै छ भन्ने सुन्दा—तिमीहरू हरेकको हृदय अपेक्षाले उफ्रन्छ, तिमीहरू हरेकजना नाम कमाउन र चर्चाको दुनियाँमा आउन चाहन्छौ। तिमीहरू हरेक नै हैसियत र प्रतिष्ठाको लागि लड्न चाहन्छौ। तिमीहरू त्यसप्रति लज्जित महसुस गर्छौ, तर त्यसो नगरे तिमीहरूलाई नरमाइलो लाग्छ। तिमीहरू अरू कोही माथि उठेको देख्दा डाहा, घृणा, महसुस गर्छौ र गुनासो गर्छौ, र यो अनुचित भयो भन्ने ठान्छौ, र सोच्छौ, ‘मचाहिँ किन माथि उठ्न सक्दिनँ? किन सधैँ अरूको चर्चापरिचर्चा हुन्छ? किन मेरो पालो कहिल्यै आउँदैन?’ अनि द्वेष महसुस भएपछि, तिमीहरू यसलाई दबाउन कोसिस गर्छौ, तर दबाउन सक्दैनौ। तिमीहरू परमेश्वरलाई प्रार्थना गर्छौ र केही समय अलि राम्रो महसुस गर्छौ, तर यसप्रकारको परिस्थिति पुनः सामना गर्दा तिमीहरू यसबाट पार पाउन सक्दैनौ। के यो अपरिपक्व कदको प्रकटीकरण होइन र? जब मानिसहरू त्यस्तो अवस्थामा फस्छन्, के तिनीहरू शैतानको पासोमा परेका हुँदैनन् र? यी कुराहरू शैतानको भ्रष्ट प्रकृतिका साङ्लाहरू हुन् जसले मानिसहरूलाई बाँधेर राख्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनले मेरो ठ्याक्कै स्थितिलाई प्रकाश पार्यो। जब ब्रदर-सिस्टरहरू सबैले यी सिनलाई आदर गर्थे, तब मलाई आफू अयोग्य छु जस्तो लाग्थ्यो भनी मैले देखेँ, मेरो ईर्ष्या उत्पन्न हुन्थ्यो, र म उहाँसँग प्रतिस्पर्धा गर्न थाल्थेँ। सबैले मेरो प्रशंसा गरून् भनेर, म चाँडै उठेर र राति ढिलोसम्म बसेर परमेश्वरका वचनहरू पढ्थेँ र आफूलाई सत्यताले सुसज्जित पार्थेंँ, र म यी सिनभन्दा कम छैन भनी प्रमाणित गर्न चाहन्थेँ। टोली अगुवाहरूको भेलामा, यी सिन आइपुग्दा, ब्रदर-सिस्टरहरूको ध्यान उनीतिर मोडिन्थ्यो, र उनको सङ्गति निकै राम्रो हुन्थ्यो। मलाई ईर्ष्या लाग्थ्यो र त्यो स्वीकार्न मन लाग्दैनथ्यो, र सङ्गति गर्न अझ उपयुक्त परमेश्वरका वचनका खण्डहरू फेला पार्न मैले आफ्नो दिमाग खियाउँथेँ। तर मैले फेला पारेका खण्डहरू टोली अगुवाको स्थितिसँग बिलकुलै मेल खाँदैनथे। मलाई अपमानित महसुस हुन्थ्यो र मैले आफ्नो रिस यी सिनमाथि पोख्थेँ, उनी त्यहाँ रहुन्जेल म कहिल्यै अगाडि बढ्न सक्दिनँ भन्ने सोच्दै, म उनीसँग सहकार्य गर्न इच्छुक थिइनँ। म आफ्नो प्रतिष्ठा र हैसियतबारे अति धेरै चिन्तित थिएँ। जब कुनै कुराले मेरो अभिमान वा हैसियतमा असर पार्थ्यो, म प्रतिस्पर्धा गर्नबाट आफूलाई रोक्न सक्दिनथेँ, र म असफल हुँदा, मलाई उनीप्रति रिस, घृणा, र पूर्वाग्रह महसुस हुन्थ्यो, र यो सबै उनको गल्ती हो भन्ने सोच्थेँ। म यस्तो सानो सोचको, घृणित, र नीच व्यक्ति थिएँ। मैले ‘द रोमान्स अफ द थ्री किङ्गडम’ का झाउ युको बारेमा सोचेँ, जो झुग लिआङको प्रतिभासँग यति धेरै ईर्ष्या गर्थे कि उनी कलिलै उमेरमा आफ्नो रिसले मरे। म पनि यी सिनप्रतिको मेरो ईर्ष्याका कारण दिनहुँ रिसाउने र कुण्ठित हुने गर्थेंँ, अन्धकार र पीडामा जिउँथेँ, र आफ्नो कर्तव्यसमेत पूरा गर्न असफल भएँ। के यसले मलाई अझ छिटो प्रकटन हुने र हटाइने बनाउँदैनथ्यो र? वास्तवमा, यी सिनले कुराहरू छिट्टै बुझ्न, स्पष्ट रूपमा सत्यतामा सङ्गति गर्न, र ब्रदर-सिस्टरहरूका कठिनाइहरू समाधान गर्न सक्थिन्। यो मण्डलीको काम र ब्रदर-सिस्टरहरू दुवैका लागि लाभदायक थियो, र मेरो कमीकमजोरीको परिपूर्ति पनि गर्थ्यो। यो राम्रो कुरा थियो। तर, म आफ्नो सिस्टरको प्रतिभासँग ईर्ष्या गर्थेंँ र उनी मभन्दा अगाडि बढेको देख्न सक्दिनथेँ। मैले आफ्नो सिस्टरसँग ख्याति, प्राप्ति र पदका लागि प्रतिस्पर्धा गर्नेबारे मात्र सोचेँ, र यदि म जित्न सकिनँ भने, म नकारात्मक र अल्छी बन्थेँ, र आफ्नो कुण्ठा आफ्नो कर्तव्यमाथि पोख्थेँ। म साँच्चै नै स्वार्थी भएकी थिएँ! मैले चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म अब यो ईर्ष्याको स्थितिमा जिउन चाहन्नँ, यसरी जिउनु धेरै पीडादायी र दमनकारी छ! म पश्चात्ताप गर्न र यो भ्रष्ट स्वभाव समाधान गर्न सत्यता खोज्न तयार छु, कृपया मलाई मार्गदर्शन गर्नुहोस्।”
मेरो खोजीको क्रममा, मैले परमेश्वरका केही वचनहरू सम्झेँ: “धेरै वर्षसम्म, आफ्नो अस्तित्वका निम्ति मानिसहरू भर परेका सोचहरूले तिनीहरूका हृदयलाई यति हदसम्म बिगारेका छन् कि तिनीहरू छली, डरपोक र घृणित बनेका छन्। तिनीहरूमा इच्छाशक्ति र सङ्कल्पको अभाव मात्र नभएर, तिनीहरू लोभी, अहङ्कारी र मनमानी गर्ने पनि भएका छन्। तिनीहरूसँग स्वयम्लाई उछिन्ने सङ्कल्पको अभाव छ, र त्योभन्दा बढी, यी अँध्यारा प्रभावहरूबाट मुक्त हुने अलिकति पनि साहस तिनीहरूसँग छैन। मानिसहरूका विचार र जीवन यति कुहिएका छन् कि परमेश्वरमाथि विश्वास गर्ने सम्बन्धमा तिनीहरूका दृष्टिकोणहरू अझ पनि असहनीय रूपले घृणित छन् र त्योभन्दा बढी, जब मानिसहरूले परमेश्वरमाथिको तिनीहरूको विश्वासको सम्बन्धमा आफ्ना दृष्टिकोणहरू राख्छन् त्यो सुन्न नसकिने किसिमका हुन्छन्। मानिसहरू सबै डरपोक, अयोग्य, घृणित र कमजोर छन्। अन्धकारका शक्तिहरूप्रति तिनीहरूले घृणाको महसुस गर्दैनन् र तिनीहरू ज्योति र सत्यताप्रति प्रेमको महसुस गर्दैनन्; बरु तिनलाई निष्कासित गर्ने भरमग्दुर प्रयास तिनीहरू गर्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?)। “शैतानले मानिसको विचारहरूलाई नियन्त्रण गर्नको लागि ख्याति र प्राप्तिको प्रयोग गर्छ, र अन्ततः मानिसहरूले ख्याति र प्राप्तिबाहेक अरू केही सोच्न सक्दैनन्। तिनीहरूले ख्याति र प्राप्तिका लागि संघर्ष गर्छन्, ख्याति र प्राप्तिकै लागि कठिनाइहरू भोग्छन्, ख्याति र प्राप्तिकै लागि अपमान सहन्छन्, ख्याति र प्राप्तिकै लागि आफूसँग भएका सबै कुराको बलिदान गर्छन्, र तिनीहरूले ख्याति र प्राप्तिकै लागि जुनसुकै मूल्याङ्कन वा निर्णय पनि गर्नेछन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य बन्धनमा बाँध्छ, र साङ्लो लगाएपछि त्यो जञ्जिरबाट मुक्त हुन तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रन्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्वरबाट अलग बस्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, यही तरिकाले शैतानको ख्याति र प्राप्तिको माझमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। परमेश्वरका वचनहरूमा मनन गर्दा, मैले के बुझेँ भने म जिइरहेको पीडा शैतानको भ्रष्टता र हानिबाट उत्पन्न भएको थियो। मैले सानैदेखि समाजबाट कसरी प्रभावित भएँ र परिवारले कसरी सिकायो भनेर चिन्तन गरेँ, म “समस्त ब्रह्माण्डमा सर्वोच्च शासक म मात्र हुँ,” “महापुरुष एक जना मात्रै हुन सक्छ,” र “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” जस्ता शैतानी विषहरूअनुसार जिएकी थिएँ। म अत्यन्तै स्वार्थी, घृणित, अहङ्कारी, र अभिमानी भएकी थिएँ। यदि कसैले मलाई उछिन्यो वा मेरो प्रतिष्ठा वा हैसियतलाई खतरामा पार्यो भने, म खिन्न हुन्थेँ, अनि ईर्ष्यालु र घृणित बन्थेँ, र मलाई अत्यन्तै दमित र असह्य पीडा महसुस हुन्थ्यो। मलाई याद छ, मसँग घनिष्ठ र मभन्दा पढाइमा राम्रो एक सहपाठी थिइन्। जब मैले अरू सहपाठीहरू उनीवरिपरि झुम्मिएको र उनलाई प्रश्नहरू सोधेको देख्थेँ, तब मलाई उपेक्षित महसुस हुन्थ्यो र उनीसँग ईर्ष्या लाग्थ्यो, र उनलाई उछिन्न चाहन्थेँ। पछि, मैले पढाइमा प्रयास गर्दा पनि उनलाई भेट्न नसकेपछि, मैले उनीसँग मित्रता तोडेँ, र हाम्रो सम्बन्ध टुट्यो। विवाह गरेपछि, जब मैले मेरा छिमेकीहरूले धेरै पैसा कमाएको र राम्रो जीवन बिताएको देखेँ, तब मलाई ईर्ष्या लाग्यो र धेरै पैसा कमाउन कडा मेहनत गरेँ, तर अन्ततः, मैले अझै प्रतिस्पर्धा गर्न सकिनँ, र उनीहरूसँग अन्तरक्रिया गर्न बन्द गरेँ। परमेश्वरमा विश्वास गर्न थालेपछि पनि, म यी विषहरूअनुसार जिइरहेँ। जब मैले यी सिनको क्षमता र बुझाइ मभन्दा राम्रो भएको देखेँ, तब मलाई ईर्ष्या लाग्यो, र उनलाई उछिन्न कोसिस गरेँ, र जब मैले सकिनँ, मलाई असह्य असहजता महसुस भयो र उनलाई हेर्न चाहिनँ, र मलाई यस्तो कमजोर क्षमता दिनुभएकोमा परमेश्वरलाई गुनासो समेत गरेँ, र आफ्नो कुण्ठा कर्तव्यमाथि पोख्दै मण्डलीको काममा भाग नलिई बसेँ। मैले आफू अविवेकी भइरहेकी र आफूमा अलिकति पनि मानवता नभएको देखेँ। प्रतिष्ठा र हैसियतले मलाई असह्य कष्टमा बाँधेको थियो, जसले मलाई मात्र पीडा दिएन, अरूलाई पनि हानि पुऱ्यायो। मेरो जीवन प्रवेशमा पनि बाधा पुग्यो, र मैले सत्यता प्राप्त गर्ने धेरै मौका गुमाएँ। मैले के बुझेँ भने प्रतिष्ठा, लाभ, र हैसियत पछ्याउनु सही मार्ग थिएन, र यी कुराहरू पछ्याइरहँदा म परमेश्वरबाट झन् टाढा हुनेछु र अन्ततः उहाँद्वारा हटाइनेछु। यो कुरा बुझेपछि, म परिवर्तन हुन र अबदेखि प्रतिष्ठा वा हैसियत नखोज्न तयार भएँ।
पछि, मैले परमेश्वरका अरू वचनहरू पढेँ: “कार्यहरू उस्तै छैनन्। एउटा शरीर छ। यसरी नै प्रत्येकले आ-आफ्नो स्थानमा आफ्नो कर्तव्य उत्तम तरिकाले पालना गर्छ—प्रत्येक झिल्कामा एउटा प्रकाशको चमक हुन्छ—र जीवनमा परिपक्वता फैलाउँछ। यसो गरेमा म सन्तुष्ट हुनेछु” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय २१)। “तिमीहरूले परमेश्वरको कामको उद्देश्यका निम्ति, मण्डलीको फाइदाका निम्ति, अनि तिमीहरूका दाजुभाइ-दिदीबहिनीहरूलाई अघि बढ्न प्रोत्साहन दिनका निम्ति मैत्रीपूर्ण सहकार्य हासिल गर्नुपर्छ। हरेकले अर्कालाई सुधार्दै र कामको उत्तम नतिजा प्राप्त गर्दै परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्नका निम्ति तैँले एकअर्कासित सहकार्य गर्नुपर्छ। साँचो सहकार्य भनेको यही नै हो, अनि यसमा लागिपर्नेले मात्रै साँचो प्रवेश पाउनेछ। सहकार्य गर्ने क्रममा, तैँले बोल्ने केही शब्दहरू असुहाउँदो होला तर त्यसले केही फरक पार्दैन। त्यसबारे पछि सङ्गति गर्, अनि त्यसको स्पष्ट बुझाइ प्राप्त गर्; त्यसलाई बेवास्ता नगर्। यसप्रकारको सङ्गतिपछि, तैँले तेरा दाजुभाइ-दिदीबहिनीहरूका कमजोरीहरूको पूर्ति गर्न सक्छस्। तेरो काममा यसरी गहिरिँदै जाँदा मात्रै तैँले उत्तम नतिजाहरू प्राप्त गर्न सक्छस्। परमेश्वरलाई सेवा गर्ने मानिसहरू भएको हैसियतले तिमीहरू हरेकले आफूले गर्ने हरेक काममा आफ्ना हितलाई विचार गर्नुको साटो मण्डलीका हितलाई रक्षा गर्न सक्नुपर्छ। एकले अर्कालाई हानि पुर्याएर एकलै काम गर्नु ग्रहणयोग्य हुँदैन। यस्तो प्रकारले व्यवहार गर्नेहरू परमेश्वरको सेवा गर्न योग्य हुँदैनन्!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। इस्राएलीहरूले जस्तै सेवा गर्)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने परमेश्वरले हरेक व्यक्तिलाई फरक-फरक क्षमता दिनुहुन्छ र उनीहरूका लागि फरक-फरक मागहरू राख्नुहुन्छ। कुनै व्यक्तिको क्षमता राम्रो होस् वा नराम्रो, जबसम्म उनीहरूले सही अभिप्रायले आफ्नो कर्तव्य गर्छन्, सत्यता खोज्छन्, सिद्धान्तअनुसार काम गर्छन्, र सक्दो प्रयास गर्छन्, तबसम्म परमेश्वरले अनुमोदन गर्नुहुन्छ। परमेश्वरले मलाई यो क्षमता दिनुभएको थियो, जुन उहाँको पूर्वनिर्धारण र सार्वभौमिकता थियो, त्यसैले म समर्पित हुनुपर्थ्यो, मैले हासिल गर्न सक्ने कुराको पूरा लाभ उठाउनुपर्थ्यो, र आफ्नो कर्तव्य राम्रोसँग गर्नुपर्थ्यो। मैले परमेश्वरमा विश्वास गरेको थोरै समय मात्र भएको र मेरो जीवन प्रवेश सतही भएकोले, म एक्लैले काम राम्रोसँग गर्न सक्दिनथेँ भन्नेबारे सोचेँ। यी सिनको सत्यताको सङ्गति स्पष्ट थियो, र उनको बलियो पक्षले मेरा कमीकमजोरीको परिपूर्ति गर्थ्यो। सहकार्यले हामीलाई काम राम्रोसँग गर्न सक्षम बनायो—के त्यो राम्रो कुरा थिएन र? मैले आफ्नो ईर्ष्यालाई छाड्नुपर्थ्यो, आफ्नो सिस्टरसँग राम्ररी सहकार्य गर्नुपर्थ्यो, र आफूले नबुझेका कुराहरूमा उनलाई धेरै सोध्नुपर्थ्यो, ताकि म छिट्टै बढ्न सकूँ। यो कुरा बुझेपछि, मैले आफ्नो कमजोर क्षमताको बारेमा गुनासो गर्न छोडेँ, र समर्पित हुन र आफ्नो भाग पूरा गर्न तयार भएँ। केही समयपछि, फेरि भेलाको समय आयो, र मैले यी सिनलाई आफूले प्रकट गरेको भ्रष्टताबारे खुलेर बताएँ र उनीसँग माफी मागेँ। यी सिनले पनि खुलेर मसँग सङ्गति गरिन्, र यो भेलाबाट मैले आफ्नो हृदयमा ठूलो स्वतन्त्रता महसुस गरेँ। परमेश्वरका वचनको अन्तर्दृष्टि र मार्गदर्शनले गर्दा नै मैले आफ्नो भ्रष्ट स्वभावप्रति केही बुझाइ र परिवर्तन प्राप्त गरेँ। उहाँको मुक्तिको लागि परमेश्वरलाई धन्यवाद!