८३. म बल्ल दुष्ट मानिसहरूलाई खुट्याउन सक्ने भएँ
मार्च २०२० मा, मैले मेरी आमाको पत्र पाएँ। उहाँलाई एक वर्षभन्दा पहिले नै मण्डलीबाट दुष्ट व्यक्ति भनेर निकालिएको रहेछ। यो अचानक आएको सन्देशले मलाई चट्याङ्गले जस्तै झड्का दियो। पत्र पढेर नसक्दै मेरा आँखाबाट आँसु बग्न थाले। परमेश्वरका आखिरी दिनहरूको मुक्तिको काम जीवनमा एक चोटि आउने मौका हो! मेरी आमालाई मण्डलीबाट निकालिएकाले, उहाँले मुक्ति पाउने आशा गुमाइ सक्नु भएको होइन र? त्यस क्षण, मेरो दिमागमा मेरी आमा मप्रति कति असल रहँदै आउनुभएको थियो भन्ने कुरा मात्र आयो: म सानो छँदादेखि नै आमाले मलाई परमेश्वरका वचन पढ्न मार्गदर्शन गर्नुभयो र प्रार्थना गर्न सिकाउनुभयो। बुबाको चाहना म राम्रोसँग पढौँ र भविष्यमा अगाडि बढौँ भन्ने रहेको थियो, तर परमेश्वरमाथि विश्वास र कर्तव्य निर्वाह गर्न जोड दिने मेरी आमा नै हुनुहुन्थ्यो, र यसले मलाई जीवनमा सही मार्गमा हिँड्न सिकायो। पछि, मेरी आमालाई सुसमाचार प्रचारको आरोपमा प्रहरीले पिछा गर्यो र उहाँ भाग्दै हिँड्नुपर्यो। हरेक पटक पत्र लेख्दा, उहाँले मलाई इमानदार भएर कर्तव्य निर्वाह गर्न र सत्यता पछ्याउन प्रोत्साहित गर्नुहुन्थ्यो… यी यादहरू मेरो दिमागमा फिल्मका दृश्य जसरी घुमिरहन्थे। मेरी आमाले परमेश्वरमा विश्वास गर्न थालेको १६ वर्ष भएको थियो, र उहाँ दुई पटक पक्राउ पर्दापनि परमेश्वरलाई धोका दिनुभएन र घरबाट बाहिर रहेर कर्तव्य पूरा गरिरहनुभयो, यसले उहाँ परमेश्वरमा साँचो विश्वास गर्नुहुन्छ भन्नेमा मलाई विश्वस्त बनाएको थियो। अनि, उहाँ कसरी निकालिन पुग्नुभयो? अगुवाले गल्ती पो गरेका हुन् कि? उहाँले वर्षौँसम्म गरेको त्याग र समर्पणलाई हेरेर, उहाँलाई पश्चात्ताप गर्ने अर्को मौका दिन सकिन्नथ्यो र? उहाँले पत्रमा आफू कर्तव्यमा लापरबाही र बेकाबु रहँदै आएको, ब्रदर-सिस्टरहरूबीच मतभेद र गुटबन्दीको बिउ रोपिरहेको, जसले मण्डलीको काममा हानि भइरहेको, र हरेक पटक काटछाँटमा पर्दा आत्मचिन्तन वा आत्मपहिचान नगरेको, र सधैँ समस्या अरू कसैमा छ भनी सोच्ने गरेको लेख्नुभएको थियो। उहाँले आफूले अति धेरै दुष्टता गरेको र आफू निकालिनु उचित रहेको, दशकभन्दा बढीको आस्थामा आफूले कुनै गवाही नदिएको, बरु धेरै दुष्टता गरेर मण्डलीको काममा हानि पुर्याएको पनि भन्नुभयो। उहाँले आफू बुढो दियाबलस, शैतानको नोकर र दुष्ट राक्षस रहेको, आफू जीवित रहनु लाजको कुरा भएको, र धेरै पीडामा भएकाले ज्यान फालौँ कि भन्ने लागेको बताउनुभयो। मैले फेरि, मेरी आमाले मण्डलीबाट निकालिएपछि पनि मलाई मेरो कर्तव्यमा सहायता गर्न आफूले कमाएको पैसा पठाउने गरेको कुरा पनि सम्झेँ। मेरी आमाको व्यवहारले म दोधारमा थिएँ: के यो उहाँको सारमा गडबडी रहेको नभएर, उहाँको भ्रष्ट स्वभाव अत्यन्त गम्भीर भएकाले थियो? के उहाँले अर्को मौका पाउनुभयो भने, पश्चात्ताप गर्न र निकालिनबाट बच्न सक्नुहोला? परमेश्वरले मानिसहरूलाई सकेसम्म मुक्ति दिनुहुन्छ, र परमेश्वरका घरले निकालिएकाहरूलाई साँचो पश्चात्ताप गरेमा फर्कने अनुमति दिन्छ। निकालिएपछि मेरी आमाले केही असल व्यवहार देखाउनु भएको देखेर, सायद मण्डलीले उहाँलाई अर्को मौका दिन सक्थ्यो कि? त्यसैले उहाँको मद्दतका लागि मैले एउटा पत्र लेखेँ; पत्रमा उहाँलाई इमानदारीपूर्वक पश्चात्ताप गर्न, र साँचो पश्चात्ताप गरेमा, मण्डलीमा फेरि स्विकार्न सकिन्छ भनेकी थिएँ।
एउटा भेलाको दौरान, मैले मेरा विचारहरू बताएँ, र एक सिस्टरले मलाई मसँग आफ्नी आमाको सारबारे सुझबुझ नरहेको, अनि यही कारणले मैले सधैँ आफ्नी आमालाई मण्डलीमा फेरि स्विकारियोस् भन्ने चाहेको बताइन्। उनले मलाई मैले यस मामिलामा सत्यता खोज्नुपर्छ पनि भनिन्। परमेश्वरले मलाई पाठ सिक्नु भनी सम्झाउन यस सिस्टरलाई प्रयोग गरिरहनुभएको छ भन्ने अनुभूत गरेर, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मेरी आमा निकालिनुभएको कुरामा म दोधारमा छु, बिन्ती मलाई अन्तर्दृष्टि दिएर सत्यता बुझ्न, मेरी आमाको प्रकृति सार खुट्याउन र भावनाको बन्धनबाट निस्कन मद्दत गर्नुहोस्।”
एकदिन, मैले परमेश्वरका वचनका दुइटा खण्ड पढेँ: “जसले मण्डलीमा उनीहरूको विषाक्त, द्वेषपूर्ण कुराहरू ओकल्छन्, जसले अफवाह फैलाउँछन्, अमेल सृजना गर्छन्, र भाइ-बहिनीहरूमाझ गुट पैदा गर्छन्—तिनीहरूलाई मण्डलीबाट निकालिनुपर्छ। तापनि अहिले परमेश्वरको कामको एक फरक युग भएकोले यी मानिसहरू प्रतिबन्धित छन्, किनकि तिनीहरूलाई निश्चित रूपमा हटाइनुपर्ने हुन्छ। शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। कोही-कोहीसँग त भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू फरक हुन्छन्: केवल उनीहरूसित भ्रष्ट शैतानिक स्वभाव मात्र हुँदैन, तर तिनीहरूको प्रकृति पनि अत्यन्तै द्वेषपूर्ण हुन्छ। तिनीहरूका बोलीवचन र व्यवहारहरूले मात्र तिनीहरूको भ्रष्ट, शैतानिक स्वभावहरू प्रकट गरेन, तर यी मानिसहरू खाँटी दियाबलस र शैतान हुन्। तिनीहरूको व्यवहारले परमेश्वरको काममा अवरोध र बाधा पुऱ्याउँछ, त्यसले दाजुभाइ र दिदी-बहिनीहरूको जीवन प्रवेशलाई बाधा दिन्छ, र त्यसले मण्डलीको सामान्य जीवनलाई नोक्सान पुर्याउँछ। ढिलो-चाँडो, भेडाहरूको खाल ओढ्ने यी ब्वाँसाहरूलाई हटाउनैपर्छ; शैतानका यी नोकरहरूप्रति निष्ठुर मनोवृत्ति, तिरस्कार गर्ने मनोवृत्ति अपनाउनुपर्छ। परमेश्वरको पक्षमा उभिनु भनेको यही मात्रै हो, र त्यसो गर्न नसक्नेहरू शैतानको साथमा हिलोमा लडीबुडी गर्दैछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। “परमेश्वरमा साँचो रूपले विश्वास गर्ने मानिसहरू ती हुन् जो परमेश्वरको वचनलाई व्यवहारमा उतार्न र सत्यको अभ्यास गर्न इच्छुक हुन्छन्। जुन मानिसहरू साँच्चै परमेश्वर सम्बन्धी आफ्ना गवाहीमा अडिग हुन सक्छन् उनीहरू ती हुन् जो उहाँको वचनलाई व्यवहारमा उतार्न इच्छुक हुन्छन् र साँच्चै सत्यको पक्षमा खडा हुन सक्छन्। जो मानिस छल र अन्यायको सहारा लिन्छन् ती सबैमा सत्यको अभाव हुन्छ, र तिनीहरू सबैले परमेश्वरलाई बदनाम गर्छन्। जसले मण्डलीमा विवाद उत्पन्न गराउँछन् तिनीहरू शैतानका नोकरहरू हुन्, तिनीहरू शैतानको मूर्त रूप हुन्। त्यस्ता व्यक्तिहरू धेरै द्वेषपूर्ण हुन्छन्। जोसँग कुनै विवेक हुँदैन र जो सत्यको पक्षमा खडा हुन सक्दैनन्, तिनीहरू सबैले खराब अभिप्रायहरू राख्छन् र सत्यलाई कलङ्कित बनाउँछन्। त्योभन्दा बढी, तिनीहरू शैतानका मुख्य प्रतिनिधिहरू हुन्। तिनीहरू छुटकारा पाउनै नसक्ने हुन्छन्, र तिनीहरूलाई स्वाभाविक रूपमा हटाइनेछ। सत्यको अभ्यास नगर्नेहरूलाई परमेश्वरको परिवारले बाँकी रहन दिँदैन, न त यसले मण्डलीलाई जानाजानी भत्काउनेहरूलाई नै रहन दिन्छ। तापनि, निष्कासनको काम गर्ने समय अहिले होइन; त्यस्ता व्यक्तिहरूलाई आखिरमा केवल पर्दाफास गरिनेछ र हटाइनेछ। कुनै बेकार काम यी मानिसहरूमा खर्च गरिनेछैन; जो शैतानका हुन् उनीहरू सत्यको पक्षमा उभिन सक्दैनन्, तर सत्यको खोजी गर्नेहरू खडा हुन सक्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। परमेश्वरका वचनबाट मैले के बुझेँ भने सत्यता स्विकार्न र अभ्यास गर्न सक्नेले मात्र परमेश्वरमा साँचो विश्वास गर्दछ, सत्यता स्विकार्न इन्कार गर्ने, दुष्टता गरिरहने र मण्डलीका काममा बाधा दिने, अनि कहिल्यै पश्चात्ताप नगर्नेहरू असली दियाबलस र शैतानहरू हुन्। परमेश्वरले खुलासा गरी हटाइने तिनीहरू नै हुन्, र मण्डलीले तिनीहरूलाई निकाल्नुपर्छ। यो मण्डलीको एउटा प्रशासनिक आदेश हो। मेरा ब्रदर-सिस्टरहरूबाट मैले के थाहा पाएँ भने मेरी आमाले आफूले गरेका दुष्ट कार्यमा कहिल्यै पश्चात्ताप गर्नुभएन। उहाँले एउटी सिस्टरले प्रकट गरेको भ्रष्टतालाई लिएर उनीमाथि आक्रमण र आलोचना गर्नुभएको, साथै उनलाई आलोचना र बहिष्कार गर्न अरूलाई उक्साउनुभएको थियो, जसका कारण यी सिस्टरको स्थिति झन् बिग्रिन पुग्यो। मेरी आमाले आफ्नो कर्तव्यमा कुनै नतिजा प्राप्त गर्नुभएको थिएन, र समूह अगुवाले उहाँलाई प्रगतिका लागि दबाब दिँदा, आमाले अगुवा अरूलाई प्रेम नगर्ने खालका भन्दै उनको आलोचना गर्नुभयो। एक जना सुपरभाइजरले उहाँसँग सङ्गति गर्दै उहाँका समस्या खुलासा गरिदिए, तर उहाँले उनीहरूले आफूलाई दबाइरहेका र बोल्नै नदिएका भन्नुभयो। उहाँले ती सुपरभाइजरका पछाडि असन्तुष्टि व्यक्त गर्दै, अरूमा पनि सुपरभाइजरप्रति पूर्वाग्रह पैदा गराएर, काममा गम्भीर बाधा-अवरोध उत्पन्न गर्नुभयो। अगुवाले उहाँको कार्य र आचरणको विश्लेषण गरी उहाँलाई चेतावनी दिँदै एकान्तमा चिन्तन गर्ने प्रबन्ध मिलाए। तर, मेरी आमाले चिन्तन गर्नुभएन, बरु विभिन्न भेलामा आफूखुसी गएर, ब्रदर-सिस्टर र अगुवाहरूबीच मतभेद पैदा गरिरहनुभयो। यी तथ्यले मलाई स्तब्ध बनाए। मेरी आमाको यस्तो दुष्ट प्रकृति रहेछ! यदि कसैले उहाँको इच्छाविरुद्ध अलिकति पनि केही गर्यो भने, ऊप्रति द्वेषभाव बढाउनुहुन्थ्यो, कुरा काट्न थाल्नुहुन्थ्यो, असन्तोष फैलाउनुहुन्थ्यो र ब्रदर-सिस्टरहरूमाझ मतभेद उत्पन्न गराएर मण्डलीको काममा अवरोध पुऱ्याउनुहुन्थ्यो। अरूले उहाँलाई बारम्बार चेतावनी दिएका भए पनि उहाँले कहिल्यै पश्चात्ताप गर्नुभएन, निरन्तर दुष्टता गरिरहनुभएको, अनि मण्डलीको काम र ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा बाधा पुऱ्याउनुभएको थियो। यो भ्रष्टताको सामान्य प्रकटीकरण थिएन, न त यो मैले सोचेको जस्तो गम्भीर भ्रष्ट स्वभावको समस्या थियो, बरु, उहाँ दुष्ट प्रकृतिको हुनुहुन्थ्यो, र दुष्ट व्यक्तिका रूपमा उहाँको सार प्रकट भएको थियो। यदि अर्को मौका दिइयो भने पनि, उहाँले पश्चात्ताप गर्नुहुन्थेन। मण्डलीले उहाँलाई मण्डलीको काम र ब्रदर-सिस्टरहरूलाई थप बाधाबाट जोगाउन सिद्धान्तअनुसार नै निकालेको थियो। यसरी कामकुरा सम्हाल्नु पूर्ण रूपमा न्यायसङ्गत र सिद्धान्तअनुरूप थियो। म सधैँ सोच्थेँ, उहाँको १६ वर्षको विश्वास, धेरै वर्षको कर्तव्य निर्वाह, दुई पटकको पक्राउ पछि पनि उहाँको अटुट आस्था, परिवार अनि पेसाको त्याग, सबै प्रकारका प्रयास र समर्पण गरेको हुनाले, उहाँ साँचो विश्वासी हुनुहुन्छ। तर अहिले मैले प्रस्टसँग देखेँ, मेरी आमा मण्डलीमा घुस्न र आशिष् पाउन मात्र परमेश्वरमा विश्वास गर्नुहुँदो रहेछ, उहाँको आफ्ना देखावटी त्याग र बलिदानसँग स्वर्गको आशिष् साटासाट गर्न चाहनुहुन्थ्यो। सर्वशक्तिमान् परमेश्वरले धेरै सत्यता व्यक्त गर्नुभएको छ, तर आमाले एउटै पनि स्विकार्नु वा अभ्यास गर्नुभएन। बरु, दुष्टता गर्नुभयो, मण्डलीमा अवरोध पैदा गर्नुभयो र अटेरी बन्दै पश्चात्ताप गर्न मान्नुभएन। यो एउटा दुष्ट व्यक्ति हुनु हो। यो व्यवहार प्रभु येशूले व्यक्त गर्नुभएको सत्यता स्विकार्न नमान्ने, अनि मानिसको आस्था बदल्न संसारभर यात्रा गरेपनि प्रभु येशूलाई क्रुसमा किला ठोक्ने फरिसीहरूभन्दा कसरी फरक छ र? मैले प्रभु येशूले भनेको कुरा सम्झेँ: “मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ। त्यस दिन मलाई धेरैले यसो भन्नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२१-२३)। परमेश्वरका वचनले मलाई बुझाए, कुनै व्यक्तिले बाहिरी त्याग र प्रयास गर्न सक्छ, तर त्यसको अर्थ ऊ साँचो विश्वासी भन्ने होइन, र परमेश्वरले यस प्रकारको आस्थालाई चिन्नुहुन्न। सत्यता स्विकार्ने र अभ्यास गर्नेहरू मात्रै साँचो विश्वासी हुन्। यस्ता व्यक्तिमा आफ्ना भ्रष्ट स्वभाव फाल्ने, परमेश्वरको मुक्ति पाउने र उहाँको राज्यमा प्रवेश गर्ने आशा हुन्छ। मैले, निकालिएपछि मेरी आमाले आफ्ना दुष्ट कार्य र आफूलाई दानव र शैतानको रूपमा पहिचान गर्नु के साँचो पश्चात्ताप थियो, र मण्डलीले उहाँलाई फर्किन अनुमति दिन यो पर्याप्त छ भन्ने पनि सोचेँ।
खोजी गर्ने क्रममा, मैले परमेश्वरका यी वचनहरू पढेँ: “परमेश्वर निनवेवासीसँग जति नै धेरै रिसाउनुभएको भए पनि, तिनीहरूले उपवासको घोषणा गरी भाङ्ग्रा लगाई खरानी घसेर बस्नेबित्तिकै, उहाँको हृदय कोमल हुन थाल्यो अनि उहाँले आफ्नो मन परिवर्तन गर्न थाल्नुभयो। उहाँले तिनीहरूको सहर नष्ट गर्ने घोषणा गर्नुभन्दा अघिको क्षण—तिनीहरूले आफ्नो पापको स्वीकार र पश्चात्ताप गर्नुभन्दा पहिले—परमेश्वर तिनीहरूसँग अझै रिसाउनुभएको थियो। तिनीहरूले पश्चात्तापका श्रृंखलाबद्ध कार्यहरू गरिसकेपछि, निनवेका मानिसहरूप्रतिको परमेश्वरको रिस, कृपा र सहनशीलतामा परिवर्तन भयो। एउटै घटनामा परमेश्वरको स्वभावका यी दुई पक्ष एकैसाथ प्रकाश भएको भए पनि ती विरोधाभासपूर्ण भने छैनन्। त्यसैले, यस्तो विरोधाभास नहुनुलाई कसरी बुझ्नु र जान्नुपर्छ? निनवेका मानिसहरूले पश्चात्ताप गर्नअघि एउटा र पश्चात्ताप गरेपछि अर्को गरी, यी दुई विपरीत ध्रुवीय सार व्यक्त र प्रकट गर्नुभयो, अनि मानिसहरूलाई परमेश्वरको सारको यथार्थता र चिढ्याउन नसकिने गुण देख्न दिनुभयो। मानिसहरूलाई निम्न कुराहरू बताउन परमेश्वरले आफ्नो मनोवृत्ति प्रयोग गर्नुभयो: परमेश्वरले मानिसहरूलाई सहनुहुन्न वा तिनीहरूलाई कृपा प्रदान गर्न चाहनुहुन्न भन्ने होइन; बरु, तिनीहरूले बिरलै परमेश्वरसामु साँचो रूपले पश्चात्ताप गर्छन्, र बिरलै आफ्ना दुष्ट मार्गहरू छाड्छन् र आफ्ना हातका हिंसालाई त्याग्छन् भन्ने हो। अर्को शब्दमा भन्दा, जब परमेश्वर मानिससित रिसाउनुहुन्छ, तब उहाँ मानिसले साँचो रूपमा पश्चात्ताप गर्न सक्नेछ भन्ने आशा गर्नुहुन्छ, अनि उहाँ मानिसको साँचो पश्चात्ताप हेर्न चाहनुहुन्छ, र त्यस्तो अवस्थामा उहाँले मानिसलाई उदारताको साथ आफ्नो कृपा र सहनशीलता प्रदान गर्न जारी राख्नुहुनेछ। भन्नुको अर्थ, मानिसको दुष्ट चालले परमेश्वरको क्रोध उत्पन्न गर्छ, जबकि परमेश्वरको कुरा सुन्ने र उहाँको अघि साँचो रूपमा पश्चात्ताप गर्नेहरूलाई, आफ्ना दुष्ट मार्गहरू छाड्न सक्ने र आफ्नो हातका हिंसा त्याग्न सक्नेहरूलाई परमेश्वरको कृपा र सहनशीलता प्रदान गरिन्छ। निनवेवासीलाई उहाँले जस्तो व्यवहार गर्नुभएको थियो, त्यसमा परमेश्वरको मनोवृत्ति अत्यन्तै स्पष्ट रूपमा प्रकट भएको थियो: परमेश्वरको कृपा र सहनशीलता प्राप्त गर्न कठिन छँदैछैन, र उहाँले चाहनुहुने भनेको व्यक्तिको साँचो पश्चात्ताप नै हो। जबसम्म मानिसहरू आफ्ना दुष्ट मार्ग छाड्छन् र आफ्नो हिंसालाई त्याग्छन्, तबसम्म तिनीहरूप्रति परमेश्वरले आफ्नो हृदय र मनोवृत्ति परिवर्तन गर्नुहुनेछ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय २)। “जब तैँले यस संसारका दियाबलस र शैतानहरूले जसरी परमेश्वरको अवज्ञा गरेको देख्छस्, तब आत्मिक क्षेत्रका दियाबलसहरू र शैतानले कसरी परमेश्वरको अवज्ञा गर्दा रहेछन् भनेर देखिरहेको हुन्छस्—कुनै भिन्नता छैन। तिनीहरू एउटै स्रोतबाट आउँछन् र तिनमा एउटै प्रकृति सार हुन्छ, त्यसकारण तिनीहरू उस्तै कुरा गर्छन्। तिनीहरूले जस्तो रूप लिए पनि, उस्तै कुरा गर्छन्। … यदि तिनीहरू परमेश्वरलाई आक्रमण र निन्दा गर्छन् भने, तिनीहरू दियाबलस हुन्, मानव होइनन्। मानव खोलमा रहँदा, तिनीहरूले जति नै सानदार वा सही कुरा भने पनि, तिनीहरूको प्रकृति सार दियाबलसको नै हुन्छ। दियाबलसहरूले मानिसहरूलाई बहकाउन मिठा कुराहरू भन्छन्, तैपनि पटक्कै सत्यता स्विकार्दैनन्, झन् यसलाई अभ्यास गर्नु त परको कुरा हो—वास्तविकता यही हो। ती दियाबलस मानिसहरू र ख्रीष्टविरोधीहरूलाई अनि परमेश्वरलाई अवज्ञा गर्ने र धोका दिनेहरूलाई हेर्—के तिनीहरू यस्ता मानिस होइनन् र? … लौ मलाई भन् त, के दियाबलसका यी मानिसहरू, वा दियाबलसको प्रकृति सार भएका यी मानिसहरूलाई परमेश्वरको घरमा रहन दिनु उचित हुन्छ? (अहँ, हुँदैन।) अहँ, हुँदैन। तिनीहरू परमेश्वरका चुनिएका मानिसजस्तै होइनन्: परमेश्वरका चुनिएका मानिसहरू परमेश्वरका हुन्, जबकि यी मानिसहरू दियाबलसहरू र शैतानका हुन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (४))। परमेश्वरका वचन मनन गरेर मैले निनवेका बासिन्दाका बारेमा बुझ्न पाएँ। उनीहरूले दुष्ट कार्यहरू गरेर परमेश्वरको क्रोध जगाए र विनाशको सामना गर्न पुगे। तर तिनीहरूले “आफ्ना दुष्ट मार्गहरू छाड्न र आफ्ना हातका हिंसालाई त्याग्न सकेकाले,” र साँचो रूपले पश्चात्ताप गरेकाले, परमेश्वरको कृपा र क्षमा पाउन समर्थ भए। आफू हिँडेको दुष्ट मार्गबारे साँचो चिन्तन, त्यसलाई पहिचान, पछुतो र घृणा गरे मात्र, र परमेश्वरका वचन सुन्न र नयाँ तरिकाले सुरु गर्न सक्षम भएमा, अनि आफू हिँडिरहेको दुष्ट मार्गमा हिँड्न छोडेमा, परमेश्वरको कृपा र क्षमा प्राप्त गर्न सकिन्छ। राम्रा सुनिने शब्दहरू मात्र बोल्नु, तर सत्यता स्वीकार वा अभ्यास नगर्नु साँचो पश्चात्ताप होइन, र यस्ता मानिसप्रति परमेश्वरले कृपा र क्षमा देखाउनुहुन्न। मैले मेरी आमाको व्यवहार अध्ययन गरेँ, र अझैपनि उहाँले आफूले गरेका सबै गम्भीर दुष्टताहरू पहिचान नगरेको पाएँ। यसको साटो, उहाँले अरूमाथि दोष थुपार्नुभयो, भन्नुभयो, त्यो समयमा एउटा सिस्टरले सुपरभाइजरलाई मन पराउन्नथिन्, सधैँजसो सुपरभाइजरको गल्ती खोज्थिन्, र कमजोरीको हल्ला फिजाउँथिन्, र आफूमा सुझबुझ नभएकाले उक्त सिस्टरको पक्षमा लागेर दुष्टता गर्न पुगेको हो। मेरी आमाले अझैपनि आफूले गरेका सबै दुष्टता, वा आफ्नो कपटी र दुर्भावनापूर्ण शैतानी प्रकृति अलिकति पनि बुझ्नु भएको थिएन, र उहाँलाई यी कुराप्रति कुनै वास्तविक पछुतो वा घृणा थिएन, अनि उहाँले कसरी साँचो पश्चात्ताप गर्न सक्नुहुन्थ्यो त? उहाँलाई फेरि स्विकारिएमा, उहाँले पहिलेझैँ दुष्टता गर्ने र मण्डलीको काममा बाधा दिने गरिरहनुहुनेथ्यो। साथै, उहाँले आफूलाई बुढो दियाबलस, शैतानको नोकर र दुष्ट राक्षस भनेर माने पनि, आफूबाट कुन-कुन दुष्टता भए, ती किन गरियो, कुन-कुन अभिप्रायले आफूलाई नियन्त्रण गरिरहेका थिए, आफूले पछ्याइरहेका शैतानी विषहरू, र कुन शैतानी स्वभाव यसमा सामेल थियो भन्नेबारेमा उहाँमा कुनै वास्तविक चिन्तन वा बुझाइ थिएन। मलाई आमाले बाल्यकालमा भनेका ती सबै सही कुराहरू सम्झेँ, जस्तै, आखिरी दिनहरूमा परमेश्वरको मुक्तिको काम कति मूल्यवान् छ, इमानदार भएर कर्तव्य निर्वाह गर्नु र सत्यता पछ्याउनु जीवनको सही मार्ग हो, तर, उहाँले यी कुराहरू दशकौँदेखि भन्दै आएको भएपनि, सत्यता स्विकार्नुभएको वा अभ्यास गर्नुभएको रहेनछ। उहाँले मुखले दुष्ट कार्यहरू स्विकार्नुभयो, र सही कुराहरू भन्न सक्नुहुन्थ्यो, तर यसको अर्थ उहाँले साँचो रूपमा पश्चात्ताप गरेको भन्ने थिएन। मण्डलीले साँचो पश्चात्ताप देखाउनेलाई मण्डलीमा फर्कने अनुमति दिन्छ, तर मेरी आमाजस्ता, जो मुखले मात्र स्विकार्ने, तर साँच्चिकै परिवर्तन नहुने मानिसलाई भने होइन।
पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ: “चाहे तँ ख्रीष्ट-विरोधी या दुष्ट व्यक्ति भए पनि, वा तँलाई निकालिएको वा निष्कासित गरिएको भए पनि, व्यक्तिका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको तैँले गर्नुपर्ने कार्य हो। म किन यो तैँले गर्नुपर्ने कार्य हो भनेर भन्छु त? तैँले परमेश्वरबाट सत्यताहरूको अत्यन्तै धेरै आपूर्ति पाएको छस्, र यो परमेश्वरको विचारशील मेहनत पनि हो। परमेश्वरको घरले कैयौँ वर्षदेखि तँलाई पानी हालेको र तेरो आपूर्ति गरेको छ, तर के परमेश्वरले तँबाट केही माग गर्नुहुन्छ र? अहँ। परमेश्वरको घरले वितरण गरेका सबै विभिन्न पुस्तकहरू निःशुल्क हुन्छन्, कसैले एक पैसा पनि खर्च गर्नु पर्दैन। त्यसैगरी, परमेश्वरले मानिसहरूलाई प्रदान गर्नुहुने अनन्त जीवनको साँचो मार्ग र जीवनका वचनहरू निःशुल्क हुन्छन्, र परमेश्वरका घरका प्रवचनहरू र सङ्गतिहरू सबै, मानिसहरूलाई सुन्नका निम्ति निःशुल्क हुन्छन्। त्यसकारण, चाहे तँ साधारण व्यक्ति या विशेष समूहको सदस्य भए पनि, तैँले परमेश्वरबाट अत्यन्तै धेरै सत्यताहरू निःशुल्क पाएको छस्, र तैँले मानिसहरूलाई परमेश्वरका वचनहरू र परमेश्वरको सुसमाचार प्रचार गर्नुपर्छ अनि मानिसहरूलाई परमेश्वरको उपस्थितिमा ल्याउनुपर्छ भन्ने कुरा निश्चित रूपमा नै सही हुन्छ नि, होइन र? परमेश्वरले मानवजातिलाई सबै सत्यताहरू प्रदान गर्नुभएको छ; कसले यस्तो महान् प्रेम फिर्ता तिर्न सक्छ? परमेश्वरको अनुग्रह, परमेश्वरका वचनहरू, र परमेश्वरको जीवन अमूल्य हुन्छ, र कुनै पनि मानवले ती फिर्ता तिर्न सक्दैन। के मानिसको जीवन त्यति बहुमूल्य हुन्छ? के त्यसको मूल्य सत्यता जत्तिकै हुन सक्छ? त्यसकारण, कसैले पनि परमेश्वरको प्रेम र अनुग्रह फिर्ता तिर्न सक्दैन, र त्यसमा मण्डलीद्वारा निकालिएकाहरू, निष्कासन गरिएकाहरू र हटाइएकाहरू पनि समावेश हुन्छन्—तिनीहरू कुनै अपवाद होइनन्। तँसँग अलिकति विवेक, समझ, र मानवता भएसम्म, परमेश्वरको घरले तँलाई जसरी व्यवहार गरे पनि, तैँले परमेश्वरका वचनहरू फैलाउने र उहाँको कामको गवाही दिने आफ्नो दायित्व पूरा गर्नुपर्छ। यो मानिसहरूले टार्नै नसक्ने जिम्मेवारी हो। त्यसकारण, तैँले चाहे जति मानिसहरूलाई परमेश्वरका वचनहरू प्रचार गरे पनि र सुसमाचार फैलाए पनि, वा चाहे जति मानिसहरू प्राप्त गरे पनि, त्यसमा तेरो सराहना गर्नुपर्ने कुनै कुरा हुँदैन। परमेश्वरले अत्यन्तै धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ र तैपनि तँ ती सुन्दैनस् वा स्विकार्दैनस्। निश्चित रूपमा, अलिकति सेवा प्रदान गर्नु र अरूलाई सुसमाचार प्रचार गर्नु तँ तैँले गरिरहेको हुनुपर्ने कुरा हो, होइन र? तँ आज यति टाढा आइपुगेको छस् भन्ने कुरा हेर्दा, के तैँले पश्चात्ताप गर्नुपर्दैन? के तैँले परमेश्वरको प्रेम तिर्ने अवसरहरू खोज्नु पर्दैन? वास्तवमै पर्छ नि! परमेश्वरको घरसँग प्रशासनिक आदेशहरू हुन्छन्, र मानिसहरूलाई निकाल्ने, निष्कासन गर्ने, र हटाउने भनेको प्रशासनिक आदेश अनि परमेश्वरका मागहरूअनुसार गरिने कामकुराहरू हुन्—यी कामकुराहरू गर्नु सही हुन्छ। कतिपय मानिसहरूले यस्तो भन्न सक्छन्, ‘निकालिएका र निष्कासित गरिएकाहरूको सुसमाचार प्रचारद्वारा प्राप्त गरिएका मानिसहरूलाई मण्डलीभित्र स्वीकार गर्नु अलिक लज्जास्पद हुन्छ।’ वास्तवमा, यो मानिसहरूले पूरा गर्नुपर्ने कर्तव्य हो, र त्यसमा लाज मान्नुपर्ने कुनै कुरा हुँदैन। मानिसहरू सबै सृजित प्राणीहरू हुन्। यदि तँलाई निकालिएको वा निष्कासित गरिएको छ, दुष्ट व्यक्ति वा ख्रीष्ट-विरोधीका रूपमा निन्दा गरिएको छ, वा तँ हटाइने निशानामा छस् भने पनि, के तँ अझै पनि सृजित प्राणी नै होइनस् र? एकपटक तँलाई निकालिएपछि, के परमेश्वर अझै पनि तेरो परमेश्वर हुनुहुन्न र? के परमेश्वरले तँलाई भन्नुभएका वचनहरू र तँलाई आपूर्ति गर्नुभएका कुराहरू एकै पटकमा मेटिन्छन् र? के तिनीहरू अस्तित्वमा हुन नै छोड्छन् र? तिनीहरू अझै पनि अस्तित्वमै हुन्छन्, तैँले तिनको कदर मात्रै गरेको हुँदैनस्। सबै धर्मान्तरित मानिसहरू, चाहे तिनीहरूलाई जसले धर्मान्तरण गरे पनि, सृजित प्राणीहरू हुन् र तिनीहरूले सृष्टिकर्तासामु आफूलाई समर्पित गर्नुपर्छ। त्यसकारण, यदि निकालिएका र निष्कासित भएका यी मानिसहरू सुसमाचार प्रचार गर्न इच्छुक हुन्छन् भने, हामी तिनीहरूलाई रोक्नेछैनौँ; तर तिनीहरूले चाहे जसरी प्रचार गरे पनि, परमेश्वरको घरका, मानिसहरूलाई प्रयोग गर्ने सिद्धान्तहरू अनि परमेश्वरको घरका प्रशासनिक आदेशहरू अपरिवर्तनीय हुन्छन्, र यो कहिल्यै कुनै हालतमा परिवर्तन हुनेछैन” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (६))। परमेश्वरका वचनबाट मैले के बुझेँ भने, परमेश्वरले धेरै वचनहरू व्यक्त गर्नुभएको छ, र सधैँ मानिसलाई मुक्ति दिने काम गर्दै आउनुभएको छ। यो मुक्ति हामीलाई निःशुल्क दिइएको हो, र हामीले कर्तव्य पूरा गर्नु नै स्वाभाविक कुरा हो। मेरी आमालाई निकालिएको भएपनि, उहाँ अझैपनि सृजित प्राणी हुनुहुन्थ्यो, बाँच्नका लागि खाना, पानी र हावाका लागि हरेक दिन परमेश्वरमा निर्भर हुनुहुन्थ्यो। परमेश्वरले उहाँका वचन खान-पिउन पाउने अधिकारबाट आमालाई वञ्चित गर्नुभएको थिएन। आमा सुसमाचार फैलाउन तयार हुनुहुन्थ्यो, र मेरो कर्तव्यमा सहयोग गर्न पैसा दिनुभयो, जुन उहाँले केही जिम्मेवारी पूरा गर्नु जस्तो मात्र थियो, तर उहाँले साँचो पश्चात्ताप गर्नुभएको थिएन, र सिद्धान्तलाई विचार गर्दा, उहाँ फर्कन योग्य हुनुहुन्नथ्यो। म अन्योलमा रहने गर्दथेँ, सत्यता खोज्दैनथेँ, र परमेश्वरको स्वभाव बुझेकी थिइनँ। मैले मेरी आमाका केही राम्रा आचरण र उहाँले केही सही कुरा भन्न सक्ने देखेकी थिएँ, त्यसैले, मैले सधैँ मण्डलीले उहाँलाई फिर्ता लिओस् भन्ने आशा राखेँ। म एकदमै अन्योलमा थिएँ! मैले आफैलाई पनि सोधेँ, यदि अरू नै निकालिनु परेको भए, तिनीहरूलाई फेरि स्विकारियोस् भन्ने म आशा गर्ने थिएँ त? गर्ने थिइनँ। म किन आफ्नी आमालाई अर्को एक मौका दिइयोस् र निकालिएपछि फेरि स्वीकार गरियोस् भन्ने आशा गरिरहेकी थिएँ? यस समस्याको जड के थियो? मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “परमेश्वरका वचनहरूको अन्तिम भागले मानवजातिको सबैभन्दा ठूलो कमजोरीलाई—अर्थात् तिनीहरू सबै स्नेहका साथ जिउँछन् भन्ने कुरालाई—उदाङ्गो पार्नेछ, त्यसकारण परमेश्वरले तिनीहरू एक जनालाई पनि छाड्नुहुनेछैन, र सारा मानवजातिको हृदयमा लुकेका रहस्यहरूको खुलासा गर्नुहुनेछ। किन मानिसहरूलाई भावनाबाट आफूलाई अलग्याउन यति साह्रो गाह्रो हुन्छ? के त्यसो गरेर विवेकका मापदण्डलाई पार गर्न सकिन्छ? के विवेकले परमेश्वरको इच्छालाई पूरा गर्न सक्छ? के भावनाले मानिसहरूलाई प्रतिकूल परिस्थितिमा मद्दत गर्न सक्छ? परमेश्वरको नजरमा, भावना उहाँको शत्रु हो—के परमेश्वरका वचनहरूमा यो कुरा स्पष्टसँग बताइएको छैन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय २८)। परमेश्वर खुलासा गर्नुहुन्छ, भावनाहरू उहाँका शत्रु हुन्, ती मानवका सबभन्दा ठुला कमजोरी हुन्, भावनामा जिउनुले कामकुरा र मानिसलाई सिद्धान्तअनुसार हेर्नबाट रोक्छ, र यसरी जिउनुले मण्डलीको काममा बाधा-अवरोध गर्ने बनाउन सक्नेछ। पहिले, म मेरा भावना कत्तिको प्रबल छन् भन्नेबारे अनजान थिएँ। पछिल्ला केही वर्षमा, मेरा वरपरका मानिसहरू दुष्ट मानिस र ख्रिष्टविरोधीका रूपमा प्रकट भएका थिए, र मैले तिनीहरूको समस्यालाई साँचो रूपमा मूल्याङ्कन र खुलासा गर्न सकेकी थिएँ। यसकारण, मलाई आफूमा अझैपनि इन्साफको बोध छ भन्ने थियो, तर मेरी आमा निकालिएको घटनाले मलाई पूरै उदाङ्गो बनाइदियो। मेरी आमाले धेरै नै दुष्ट कार्यहरू गर्नुभएको थियो, तैपनि मैले उहाँलाई घृणा गरिनँ। यसको विपरीत, उहाँ निकालिएको कुराबारे सोच्नासाथ म निराश हुन्थेँ र रुन्थेँ, र उहाँले मुक्तिको मौका गुमाउनु भएकोमा भित्रैदेखि दुःखित थिएँ, यहाँसम्म कि, उहाँलाई निकालेर अगुवा र कामदारहरूले गल्ती त गरेका होइनन् भन्नेसम्म सन्देह गरेँ। अनि, मलाई उहाँप्रति अन्याय भएको छ भन्ने लाग्यो। मेरी आमाले केही असल व्यवहार देखाउनुभएको र निकालिँदा बाहिरी जिद्दीपन वा प्रतिरोध नदेखाउनुभएकाले, मलाई मण्डलीले उहाँलाई फिर्ता लिनेछ भन्ने सधैँ आशा थियो। मैले उहाँको पक्षबाट क्षमाको अपिल नगरेकी भएपनि, आफ्नो सोचमा भने, म परमेश्वरको विरोधमा खडा थिएँ। आमाको सार स्पष्ट देखाउने परमेश्वरका वचनको न्याय र खुलासा, अनि तथ्यहरूको प्रकटीकरण नभएको भए, मैले पक्कै पनि उहाँको पक्षमा क्षमाको अपिल गरेकी हुने थिएँ, र एउटा दुष्ट व्यक्तिको पक्षमा उभिएर परमेश्वरको प्रतिरोध गरेकी हुने थिएँ। पुनर्विचार गर्दा, मैले बल्ल बुझेँ “रगत पानीभन्दा गाढा हुन्छ,” र “मानिस निर्जीव छैन; ऊ भावनाबाट कसरी मुक्ति हुन सक्छ र?” जस्ता शैतानी विषहरू मेरो हृदयको भित्री गहिराइमा गडेका रहेछन्, जसले मलाई भावनामा जिउने र दुष्टबाट असल छुट्याउन नसक्ने बनाएको रहेछ। मेरी आमाले जुनसुकै दुष्टता गर्नुभएको भएपनि, म अझै उहाँलाई असल व्यक्ति, अनि मेरो सबभन्दा नजिकको व्यक्ति सोच्थेँ। मलाई लाग्थ्यो, यदि मैले उहाँको पक्ष लिइनँ भने उहाँको ऋणी हुनेछु र आफू भएर जिउन असमर्थ हुनेछु। अहिले यसमा विचार गर्दा, मेरी आमाले मलाई सानै उमेरदेखि परमेश्वरका वचन पढेर सुनाउनुभएको थियो, प्रार्थना गर्न सिकाउनुभएको थियो, आफ्नो कर्तव्य इमानदार भएर पूरा गर्न र सत्यता पछ्याउन प्रेरित गर्नुभएको थियो, अनि घरबाट टाढा मेरो कर्तव्य निर्वाहमा सहयोग गर्न पैसा पठाउनुभएको थियो। यी र यस्तै अन्य कुराहरू त उहाँले केवल आमाको रूपमा आफ्नो जिम्मेवारी निभाइरहनु भएको थियो, अनि यो परमेश्वरको सार्वभौमिकता र प्रबन्ध पनि थियो। सीसीपीले शासन गरेको राक्षसको गढमा मैले परमेश्वरमा विश्वास गरेका ती सबै वर्षलाई सम्झेँ। मैले धेरै पटक खतराको सामना गरेँ, तर मेरो रेखदेख गर्ने र मलाई कठिनाइबाट बाहिर निकाल्ने परमेश्वर नै हुनुहुन्थ्यो। साथै, रगतका नातै नभएका मेरा ब्रदर-सिस्टरहरूले म पक्राउ पर्ने खतरामा हुँदा आफूलाई जोखिममा राखेर भएपनि मलाई जोगाए। कर्तव्य पूरा गर्ने क्रममा म दुई चोटि पक्राउ परेँ, र मेरो आपराधिक रेकर्ड बन्यो, तर ब्रदर-सिस्टरले मलाई आफ्नो घरमा राखे र आफ्नै रगत झैँ गरी मेरो ख्याल गरे। यो सबै परमेश्वरको प्रेमका कारण थियो, त्यसैले मैले परमेश्वरलाई धन्यवाद दिनुपर्छ र उहाँको प्रेम चुकाउनुपर्छ! मेरी आमा दुष्ट व्यक्ति हुनुहुन्छ, मण्डलीका काममा धेरै बाधा दिइसक्नुभएको छ, र निकालिएपछि पनि अझै साँचो पश्चात्ताप गर्नुभएको छैन, उहाँलाई नखुट्याइकन, मैले अझैपनि मण्डलीले उहाँलाई अर्को मौका दिओस् र फिर्ता लिओस् भन्ने चाहेँ। मैले परमेश्वरको घरका हित वा ब्रदर-सिस्टरको जीवन प्रवेशलाई बिलकुलै विचार गरेकी थिइनँ। के म खालि एउटा दुष्ट व्यक्तिको सहयोगी बनेर परमेश्वरको प्रतिरोध र विरोध गरिरहेकी थिइनँ त? म दुष्ट व्यक्तिप्रति इमानदार र मायालु भइरहेकी थिएँ, जुन परमेश्वरप्रति बफादार नहुनु, ब्रदर-सिस्टरप्रति क्रूर हुनु र मानवतारहित हुनु हो। म आफू शैतानी विषअनुसार जिइरहेकी, तथा ममा सुझबुझ र असल खराब छुट्याउने क्षमता नभएको मैले थाहा पाएँ। म झन्डै शैतानको पक्षमा उभिएर परमेश्वर विरोधी भएकी थिएँ। म एकदमै गम्भीर खतरामा थिएँ! यी कुरा महसुस गरेर, मैले बल्ल परमेश्वरले भन्नुभएको “भावना परमेश्वरको शत्रु हो।” यी वचनहरू धेरै व्यावहारिक र सत्य छन्! पछि मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ: “तैँले जतिसक्दो चाँडो तेरा सबै भावनाहरूलाई त्याग्नुपर्छ; म भावनामा काम गर्दिनँ, बरु धार्मिकताको अभ्यास गर्छु। यदि तेरा आमाबुबाले मण्डलीलाई लाभ पुग्ने गरी केही गर्दैनन् भने, तिनीहरू उम्किन सक्दैनन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ९)। यस्तो ठ्याक्कै के कारणले भएको हो भने परमेश्वरले भावनाअनुसार काम गर्नुको सट्टा धार्मिकता कायम राख्नुहुन्छ, परमेश्वरका घरमा सत्यता र धार्मिकताले शासन गर्छ, ताकि परमेश्वरको काममा विना पश्चात्ताप बाधा दिने र बिथोल्ने अनि ब्रदर-सिस्टरलाई हानि गर्ने ख्रीष्टविरोधी र दुष्ट मानिस निकालिन सकुन्, मण्डलीका सबै काम सहज रूपमा अघि बढोस्, र ब्रदर-सिस्टरहरूले सामान्य मण्डली जीवन र कर्तव्य निर्वाह गर्ने वातावरण पाउन्। परमेश्वरको माग हामी आफ्नो बोली र कर्ममा भावनामा निर्भर नरहौँ, बरु सिद्धान्तमा निर्भर रहौँ भन्ने हो। हामीले आफ्ना आमाबुबासँग पनि यसरी नै व्यवहार गर्नुपर्छ, र मैले व्यवहारमा उतार्नुपर्ने सत्यता यही हो। मेरी आमाले मलाई जन्म दिएपनि, उहाँ सारमा दुष्ट व्यक्ति, परमेश्वरको शत्रु, अनि परमेश्वरबाट घृणित हुनुहुन्छ। यस मामिलामा म सिद्धान्तनिष्ठ हुनुपर्छ, परमेश्वरसँगै उभिनुपर्छ र भावनामा परेर आमाको पक्षमा बोल्नुहुन्न।
पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ, र त्यसले मलाई मेरी आमासँग कसरी व्यवहार गर्ने भनी बुझ्न मद्दत गर्यो। परमेश्वर भन्नुहुन्छ: “मानौं तेरा आमाबुबाले परमेश्वरमाथिको तेरो विश्वासमा बाधा दिन्छन् भने, तिनीहरूको प्रकृति सार अविश्वासी र गैर विश्वासीहरूको जस्तो हुन्छ, वा दुष्ट मानिस र दियाबलसहरूको जस्तोसमेत हुन्छ, र तिनीहरू र तेरो बाटो एउटै हुँदैन। अर्को शब्दमा भन्दा, तिनीहरू तँजस्तो व्यक्ति हुँदै होइनन्, र तँ तिनीहरूसँग एउटै परिवारमा धेरै वर्ष बसेको भए पनि, तिनीहरूसँग तेरो जस्तो उही खोज वा चरित्र हुँदैन, र तिनीहरूसँग निश्चय नै तेरो जस्तो रुचि वा आकाङ्क्षा पनि हुँदैन। तँ परमेश्वरमा विश्वास गर्छस्, तर तिनीहरू परमेश्वरमा पटक्कै विश्वास गर्दैनन्, र परमेश्वरको विरोधसमेत गर्छन्। यस्तो परिस्थितिमा के गर्नुपर्छ? (तिनीहरूलाई इन्कार गर्नुपर्छ।) परमेश्वरले तँलाई यस्तो परिस्थितिमा तिनीहरूलाई इन्कार्नु वा धिक्कार्नुपर्छ भनेर भन्नुभएको छैन। परमेश्वरले त्यसो भन्नुभएको छैन। ‘आफ्ना आमाबुबाको आदर गर्नु’ भन्ने परमेश्वरको मापदण्ड अझै लागू हुन्छ। यसको अर्थ तँ आफ्ना आमाबुबासँग बस्दा, तैँले आफ्ना आमाबुबालाई आदर गर्ने यो मापदण्ड पालना गर्नुपर्छ। यसमा कुनै विरोधाभास छैन, छ र? (छैन।) यसमा बिलकुलै कुनै पनि विरोधाभास छैन। अर्को शब्दमा भन्दा, जब तँ कुनै ठाउँ गएर घर फर्केर आउन पाउँछस्, तब तैँले तिनीहरूको लागि खाना पकाइदिन वा तिनीहरूको लागि मम बनाइदिन सक्छस्, र सम्भव भयो भने, तिनीहरूको लागि स्वास्थ्य सामग्रीहरू किनिदिन सक्छस्, र तिनीहरू तँप्रति सन्तुष्ट हुनेछन्। … तिमीहरूले आफ्ना आमाबुबालगायत सबै मानिसहरूसँग गर्ने व्यवहारमा सिद्धान्तहरू हुनुपर्छ; तिनीहरूले परमेश्वरमा विश्वास गरे पनि नगरे पनि, र तिनीहरू दुष्ट मानिसहरू भए पनि नभए पनि, तैँले तिनीहरूसँग सिद्धान्तअनुसार व्यवहार गर्नुपर्छ। परमेश्वरले मान्छेलाई यो सिद्धान्त बताउनुभएको छ: यो अरूलाई उचित व्यवहार गर्ने कार्यसँग सम्बन्धित छ—यति हो कि, आफ्ना आमाबुबाप्रति मानिसहरूको अलिक बढी जिम्मेवारी हुन्छ। तैँले गर्नुपर्ने एउटै कुरा भनेको यो जिम्मेवारी पूरा गर्नु हो। तेरा आमाबुबा विश्वासी भए पनि नभए पनि, तिनीहरूले आफ्नो आस्था पछ्याए पनि नपछ्याए पनि, तिनीहरूको जीवन दृष्टिकोण र मानवता तेरोसँग मिले पनि नमिले पनि, तैँले बस तिनीहरूप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। तिनीहरूबाट तर्किहिँड्नु आवश्यक छैन—सबै कुरालाई बस स्वाभाविक रूपमा, परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूअनुसार अघि बढ्न दे। यदि तिनीहरूले परमेश्वरमाथिको तेरो विश्वासमा बाधा दिन्छन् भने पनि, तैँले आफ्नो क्षमताले भ्याउञ्जेल आमाबुबाप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, ताकि कम्तीमा पनि तँलाई तेरो विवेकमा तिनीहरूप्रति ऋणी भएको अनुभव नहोस्। यदि तिनीहरूले तँलाई बाधा दिँदैनन्, र परमेश्वरमाथिको तेरो विश्वासमा साथ दिन्छन् भने, तैँले सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्छ, र तिनीहरूसँग उचित व्यवहार गर्नुपर्ने ठाउँमा उचित व्यवहार गर्नुपर्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (४))। परमेश्वरका वचनले मेरो हृदय उज्यालो बनाए र परिवारका सदस्यहरूसँग व्यवहार गर्ने सिद्धान्तहरू बुझाए। मेरी आमा सारमा दुष्ट व्यक्ति हो र हामीहरू अलग-अलग मार्गमा छौँ। मैले भावनामा भर परेर होइन, सिद्धान्तमा रहेर कार्य गर्नुपर्छ। तर, उहाँले नै मलाई हुर्काउनुभएको हो, सुसमाचार सुनाउनुभएको हो, र आजसम्म मेरो आस्थामा मलाई सहयोग गर्नुहुन्छ, र जबसम्म यसले मेरा कर्तव्यमा हस्तक्षेप गर्दैन, म अझैपनि उहाँको हेरचाह गर्न सक्छु, छोरी हुनुको जिम्मेवारी पूरा गर्न सक्छु।
मेरी आमा निकालिएको मामिलाले म कति अन्धी र अत्यधिक भावुक रहेछु भन्ने प्रकट गर्यो। परमेश्वरका वचनले नै मलाई दुष्ट व्यक्तिका रूपमा रहेकी मेरी आमाको सार खुट्याउन मार्गदर्शन गरे, र मैले के अडान लिने भनेर जान्न मद्दत गरे। यसले मलाई धेरै भावुक हुनुको खतरा र परिणाम पूर्ण रूपमा स्पष्ट बनायो, बिथोल्ने खालका कुनै पनि कार्य गर्नबाट मलाई रोक्यो। म हृदयको गहिराइबाटै सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद दिन्छु!