७०. मैले आफ्ना घृणित भावनालाई कसरी पन्छाएँ
ली शिन लेखापढी कामको सुपरिवेक्षण गर्ने कार्यमा मेरो साझेदार थिइन्, तर पछि, व्यावहारिक काम गर्न नसकेकोले उनलाई प्रतिस्थापन गरियो। आफूलाई प्रतिस्थापन गरिएको कुरा उनले स्वीकार गर्न सकिनन्, र हैसियत पाउनका लागि होड गरिरहिन्, मसँग प्रतिस्पर्धा गरिरहिन्। ली शिनको मप्रति खराब मनोवृत्ति थियो—म उनीसँग बोल्दा मेरो कुरा ध्यान दिएर सुन्दिनथिइन् र कामको बारेमा छलफल गर्न अग्रसर हुन्नथिइन्, जसले गर्दा केही प्रोजेक्टको प्रगति ढिलो हुन गयो। उनी मेरो काममा रहेको कमीमाथि पनि व्यङ्ग्य गर्थिन्, मसँग काम गर्दा सबै कुरा आफैले गरेको भनेर गफ हाँक्थिन्, र मेरो भ्रष्टतालाई घटिया टिप्पणी गर्दै औँल्याउँथिन्। म केही बाँधिएको महसुस गर्थेँ र आफ्नै इज्जतमा नै धेरै ध्यान दिन्छु कि भन्ने लागिरहन्थ्यो। मैले सोचेँ, म उनीभन्दा कम सक्षम छु, समूह अगुवा भएर काम गर्न योग्यछैन। म केही नकारात्मक भएँ, राजीनामा दिएर ली शिनलाई पदभार सम्हाल्न दिउँ कि भन्ने पनि लाग्यो। पछि, मेरो अगुवाको सङ्गति र सहयोगले मात्र मेरो स्थितिमा केही सुधार भयो, तर, ली शिनसँग काम गर्दा अझैपनि बाँधिएको महसुस हुन्थ्यो। पछि, मेरो अगुवाले ली शिन जिद्दी, हैसियतका लागि होड गरिरहने र अरूलाई आक्रमण र बहिष्कार गर्ने खालको भएको थाहा पाएर उनले ली शिनको समस्यालाई चिरफार र खुलासा गरिन्। सुरुमा, म ली शिनलाई सही तरिकाले व्यवहार गर्न सक्थेँ, मायालु तरिकाले उनलाई मद्दत पनि गरेँ, आफ्ना समस्यमा उनलाई चिन्तन गर्न मार्गदर्शन गरेँ, तर पछि, आत्मचिन्तनमा उनले लेखेको कुरा देख्दा मलाई एकदमै रिस उठ्यो। उनले मलाई आक्रमण गरेको, मलाई बहिष्कार गरेको लेखेकी मात्र थिइनन्, उनले अरू सदस्य र अगुवासँग मेरो कुरा काटेकी थिइन्। मलाई निकै रनाहा छुट्यो, चित्त दुख्यो र उनले मसँग त्यसरी कसरी व्यवहार गर्न सकिन् भनेर छक्क परेँ। के उनले मेरो पिठ्यूँपछाडि मेरा प्रतिष्ठा धूमिल पार्दै थिइनन् र? उनले मलाई त्यसरी व्यवहार गरेको मन परेन, मैले त उनी नकारात्मक र कमजोर हुँदा प्रेमपूर्वक सङ्गति र सहयोग गरेकी थिएँ। मैले सोचेँ, उनीप्रति सहनशील एवं धैर्यवान हुनु, मैले आफैबारे मात्र चिन्तन गर्नु मेरो मूर्खता रहेछ, अनि मलाई ली शिनप्रति केही घृणा महसुस हुन थाल्यो। म सधैँ अरूलाई किन माफ गरिरहन्छु? के त्यसले मलाई बेकामे मूर्ख देखिने बनाएन र? यो पटक म उनलाई यति सजिलै माफ दिन सक्दिनथेँ, म कठोर हुन सक्छु, म खेल्ने कुरा होइन भनेर म उनलाई देखाउन चाहन्थेँ। म ती दुई दिन निकै उदास रहेँ, मनमा रिस र घृणा उठिरह्यो। कहिलेकाहीँ, ली शिन मसँग कामको बारेमा कुरा गर्न खोज्दा, म उनीसँग पहिले झैँ सामान्य रूपमा कुराकानी गर्न चाहन्थेँ, तर उनले गरेका सबै कर्तुत मेरो दिमागमा आइहाल्थे, र एउटा खरो कुरा दिमागमा आउँथ्योः “म उनीसँग यति सजिलै सम्झौता गर्न सक्दिनँ, म कठोर हुनैपर्छ। ‘जसरी असल घोडालाई चढिन्छ, त्यसरी नै असल व्यक्तिलाई हेपिन्छ।’ म उनीप्रति अति दयालु र असल बन्न सक्दिनँ। उनले मलाई निकै नराम्रो व्यवहार गरेकी थिइन्, उनलाई पनि अतिकति पीडा महसुस किन नगराउनु?” त्यसपछि, ली शिनले मसँग कुरा गर्दा, म सामान्य तरिकाले जवाफ दिने गर्थेँ, तर केही चिसो, रुखो हुन्थेँ, र उनीतिर हेर्दिनँ पनि थिएँ। त्यो समयमा, मलाई निकै बेचैनी हुन्थ्यो, म एकलै शान्त र चुपचाप भएर बस्न चाहन्थेँ। मैले यसबारे नसोच्न खोजेँ, तर मेरो दिमागबाट ती सोचहरूलाई निकाल्नै सकिनँ। पछि, मैले ती नकारात्मक भावनालाई दबाएँ, र ली शिनसँग कामबारे सामान्य रूपमा कुराकानी गर्न सकेँ, तर मलाई सधैँ उनीमाथि आफ्नो हताशा, रिस र घृणा ओकल्न मन लाग्थ्यो। म निकै दुःखी भएकी थिएँ, मेरो स्थितिलाई कसरी सुधार्ने भन्ने थाहा थिएन। मैले मेरो अन्तरमनको कुरा परमेश्वरसामु ल्याएँ, उहाँलाई बारम्बार प्रार्थना गरेँ: “हे परमेश्वर ली शिनले मसँग जे गरिन्, त्यसले मलाई निकै रिस उठाएको छ। उनीप्रति घृणा महसुस हुन्छ र बदला लिउँ जस्तो लाग्छ। हे परमेश्वर, म मेरो भ्रष्ट स्वभावमा जिउन चाहन्न, म ली शिनसँग सामान्य तरिकाले कुराकानी गर्न चाहन्छु, तर गर्नै सक्दिनँ, मेरो कद निकै सानो छ। बिन्ती मलाई मद्दत र मार्गदर्शन गर्नुहोस्।”
पछि, मैले परमेश्वरका वचनको यो खण्ड देखेँ: “यदि कसैले तँलाई पहिले चोट पुर्याएको छ, र तैँले पनि तिनीहरूलाई उस्तै व्यवहार गर्छस् भने, के यो सत्यता सिद्धान्तहरूबमोजिम हुन्छ? यदि तिनीहरूले तँलाई चोट पुर्याएकोले—नराम्रोसित चोट पुर्याएकोले—तैँले हरसम्भव माध्यम प्रयोग गरी तिनीहरूविरुद्ध प्रतिशोध लिन र तिनीहरूलाई दण्डित गर्न खोज्छस् भने, गैरविश्वासीहरूका अनुसार, यो न्यायोचित र उचित कुरा हुन्छ, र यसमा आलोचना गर्नुपर्ने कुनै कुरा हुँदैन; तर यो कस्तो कार्यशैली हो? यो आवेग हो। तिनीहरूले तँलाई चोट पुर्याए, र त्यो कार्यशैली भ्रष्ट शैतानी प्रकृतिको प्रकटीकरण हो, तर यदि तैँले तिनीहरूविरुद्ध प्रतिशोध लिइस् भने, के त्यो तेरो कार्यशैली तिनीहरूकै जस्तो भएन र? तेरो प्रतिशोधपछाडिको मानसिकता, सुरुवात बिन्दु, र स्रोत तिनीहरूकै जस्तो हुन्छ; त्यसमा केही फरक हुँदैन। त्यसैले, तेरा कार्यहरूको चरित्र पक्कै पनि आवेगपूर्ण, प्राकृतिक, र शैतानी छ। अनि, त्यो शैतानी र आवेगपूर्ण भएको देखेपछि, के तैँले तेरो यो कार्यशैली परिवर्तन गर्नुपर्दैन र? के तेरा कार्यहरूपछाडिका स्रोत, अभिप्राय, र प्रेरणाहरू परिवर्तन हुनुपर्छ? (पर्छ।) तैँले ती कुरा कसरी परिवर्तन गर्छस्? यदि तँलाई जे आइपर्छ त्यो सानो कुरा हो भने, र त्यसले तँलाई असहज नै बनाए पनि, जब त्यसले तेरो स्वार्थ छुँदैन, वा तँलाई नराम्रोसँग चोट पुर्याउँदैन, वा तँलाई त्यसप्रति घिनाउने तुल्याउँदैन, वा तँलाई प्रतिशोध लिन जीवन जोखिममा पार्ने तुल्याउँदैन भने, तैँले आवेगमा भर नपरी आफ्नो घृणा त्याग्न सक्छस्; बरु, तैँले आफ्नो तर्कसङ्गतता र मानवतामाथि भर परी उचित र शान्तसित यो मामिला सम्हाल्न सक्छस्। तैँले यो कुरा तेरो समकक्षीलाई खुलस्त र इमानदारीपूर्वक भनेर आफ्नो घृणा समाधान गर्न सक्छस्। तर यदि यो घृणा अत्यन्तै गहन छ, र तँ प्रतिशोध लिन चाहने र तिक्ततापूर्ण घृणाले भरिने हदसम्म पुग्छस् भने, के तैँले अझै पनि धैर्यधारण गर्न सक्छस् र? जब तँ आवेगमाथिको निर्भरताबाहिर रहन सक्षम हुन्छस्, र शान्त रूपमा यसो भन्न सक्छस्, ‘म समझदार हुनुपर्छ। म आफ्नो विवेक र समझले जिउनुपर्छ, र सत्यता सिद्धान्तहरूले जिउनुपर्छ। मैले दुष्टताको जबाफ दुष्टताले नै दिन मिल्दैन, म आफ्नो गवाहीमा अडिग रहनुपर्छ, र शैतानलाई लज्जित तुल्याउनुपर्छ,’ तब के यो भिन्न स्थिति हुँदैन र? (हुन्छ।) विगतमा तेरा कस्ता खाले स्थितिहरू थिए? यदि अरू कसैले तेरो कुनै चीज चोरी गर्छ वा खाइदिन्छ भने, यसले ठूलो, गहिरो घृणा जनाउँदैन, त्यसैले तैँले आफू रिसले चूर नहुञ्जेल तिनीहरूसँग विवाद गर्नु आवश्यक ठान्नेछैनस्—त्यो तेरो भन्दा तल्लो स्तरको कुरा हो, र त्यो विवादको लायक छैन। यस प्रकारको परिस्थितिमा, तँ तर्कसङ्गत रूपमा उक्त मामिला सम्हाल्न सक्छस्। के यस मामिला तर्कसङ्गत रूपमा सम्हाल्न सक्नु सत्यता अभ्यास गर्नुसरह हो? के त्यो यस मामिलामा सत्यता वास्तविकता हुनुसरह हो? अवश्य होइन। तर्कसङ्गतता र सत्यता अभ्यास दुई अलगअलग कुरा हुन्। यदि तैँले आफूलाई विशेष क्रोधित बनाउने कुनै कुरा सामना गर्छस्, तर तैँले त्यसलाई तर्कसङ्गत र शान्त तरिकाले सम्हाल्न सक्छस्, र आफूबाट आवेग वा भ्रष्टता प्रकट हुन दिँदैनस् भने—यसको लागि तैँले सत्यता सिद्धान्त बुझेको हुनुपर्छ र बुद्धिमा भर परी यसलाई सम्हालेको हुनुपर्छ। यस्तो परिस्थितिमा, यदि तँ परमेश्वरलाई प्रार्थना गर्ने वा सत्यता खोज्ने गर्दैनस् भने, तँमा सजिलै आवेग उत्पन्न हुनेछ—हिंसासमेत उत्पन्न हुन सक्नेछ। यदि तँ सत्यता खोज्दैनस्, मानव विधिहरू मात्र अँगाल्छस्, र आफ्नै प्राथमिकताअनुसार मामिलाहरू सम्हाल्छस् भने, तैँले धर्मसिद्धान्तको थोरै प्रवचन दिएर वा भुईँमा बसी हृदय उदाङ्गो पारेर त्यो समस्या समाधान गर्न सक्दैनस्। यो त्यति सजिलो छैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई समाधान गरेर मात्रै साँचो रूपान्तरण ल्याउन सकिन्छ)। परमेश्वरको वचनलाई मनन गरेपछि मलाई निकै दोषी महसुस हुन थाल्यो। ली शिनले अरूको सामुन्ने मेरो आलोचना गरेर मेरो प्रतिष्ठा बिगारेकी थिइन् भन्ने म सोच्थेँ, म बदला लिन र उनको जीवन गाह्रो बनाइदिन चाहन्थेँ। मेरो हर्कत पनि उनको भन्दा कसरी भिन्न रह्यो र? मैले आफ्ना भावना र भ्रष्ट स्वभावलाई मेरो व्यवहार निर्देशित गर्न दिइरहेकी थिइनँ र? यी सकै कुराको जडमा शैतान थिएन र? मैले सत्यता अभ्यास गरिरहेकी थिइनँ! मैले सधैँ आफूलाई निकै दयालु, अरूलाई स्वीकार गरिहाल्ने खालको व्यक्ति सोचेकी थिएँ, म मानिससँग क्षुद्र व्यवहार गर्ने, हिसाबकिताब गर्ने खालको थिइनँ। परमेश्वरका वचन पढेपछि मात्रै मैले यो मेरो साँचो कद होइन भन्ने बुझेँ। मेरो स्वार्थ नभएका कुरामा मात्र म क्षुद्र बन्दिनँथेँ। मलाई सानातिना कुरामा ज्यादा उल्झिन जरुरी लाग्थेन। म धेरै तुच्छ बनेँ भने म अमर्यादित र सङ्कीर्ण सोचको देखिने थिएँ। म यी विषयलाई समझदार तरिकाले सम्हाल्न सक्थेँ, र म उदार एवम् क्षमाशील देखिन्थेँ। सुरुमा, ली शिनले मप्रति खराब मनोवृत्ति देखाउँदा म उनीसँग सही तरिकाले व्यवहार गर्न, उनको स्थिति बुझ्न सक्थेँ। उनीबाट भ्रष्टता देखिनु सामान्य कुरा हो भन्ने ठान्थेँ, र आफूलाई निकै क्षमाशील बनाएँ। तर जब मैले ली शिनले अरू सदस्य र अगुवाको अघि मेरो आलोचना गरेको थाहा पाएँ, मैले यसलाई मेरो मर्यादा गिराउने ठूलो कुरा सम्झेँ, मैले यसलाई सहनै सकिनँ, र रिस र घृणा उम्लिएर आयो। मैले आफूलाई धैर्यवान र सहनशील नै नरहेको पाएँ। परमेश्वरका वचनले भन्छन्ः “यदि तैँले आफूलाई विशेष क्रोधित बनाउने कुनै कुरा सामना गर्छस्, तर तैँले त्यसलाई तर्कसङ्गत र शान्त तरिकाले सम्हाल्न सक्छस्, र आफूबाट आवेग वा भ्रष्टता प्रकट हुन दिँदैनस् भने—यसको लागि तैँले सत्यता सिद्धान्त बुझेको हुनुपर्छ र बुद्धिमा भर परी यसलाई सम्हालेको हुनुपर्छ।” मैले मनमनै सोचेँ: “मैले आफूलाई यो घृणाले भरिएको भावनाबाट बाहिर निकाल्न कुन सत्यताहरू बुझ्नुपर्छ?”
खोजीको क्रममा मैले परमेश्वरका वचनको यो खण्ड भेटेँ: “आक्रमण र प्रतिशोध एक खालको व्यवहार र प्रकटीकरण हो जुन दुर्भावपूर्ण शैतानी प्रकृतिबाट उत्पन्न हुन्छ। त्यो एक प्रकारको भ्रष्ट स्वभाव पनि हो। मानिसहरू यस्तो विचार गर्छन्: ‘यदि तँ मलाई राम्रो गर्दैनस् भने, म पनि तँलाई राम्रो गर्दिनँ! यदि तिमीले मसित इज्जतसाथ व्यवहार गर्दैनौ भने, मैले किन तिमीलाई इज्जतसाथ व्यवहार गर्ने?’ यो कस्तो प्रकारको सोच हो? के यो प्रतिशोध लिने किसिमको सोच होइन र? साधारण व्यक्तिको विचारमा, के यो जायज दृष्टिकोण हैन र? के यो उचित लाग्दैन र? ‘आइनलागिञ्जेल जाइलागिँदैन; आइलागे छोडिँदैन,’ र ‘जस्तालाई त्यस्तै, ढिँडोलाई निस्तै’—गैरविश्वासीहरूले प्राय यस्ता कुराहरू बोलिरहन्छन्; तिनीहरूमाझ यी सबै उचित तर्कहरू हुन् र यी कुराहरू पूर्ण रूपमा मानवीय धारणाहरूसँग मेल खान्छन्। तर परमेश्वरमा विश्वास गर्ने र सत्यता पछ्याउनेहरूले यी वचनहरूलाई कसरी हेर्नुपर्छ? के यी विचारहरू सही छन्? (छैनन्।) ती किन सही छैनन्? तिनीहरूलाई कसरी खुट्ट्याउनुपर्छ? यी कुराहरू कहाँ उत्पन्न हुन्छन्? (शैतानबाट।) ती शैतानबाट उत्पन्न हुन्छन्, यसमा कुनै शङ्का छैन। ती शैतानका कुन-कुन स्वभावहरूबाट आउँछन्? ती शैतानको दुर्भावनापूर्ण प्रकृतिबाट आउँछन्; तिनमा विष हुन्छ, र तिनमा शैतानको सारा द्वेष र कुरूपतासहित त्यसको वास्तविक अनुहार हुन्छ। तिनमा यस्तो प्रकृति सार हुन्छ। त्यस्तो प्रकारको प्रकृति सार भएका दृष्टिकोण, विचार, प्रकटीकरण, बोलीवचन, र कार्यहरूसमेतमा कस्तो चरित्र हुन्छ? निस्सन्देह नै, त्यो मान्छेको भ्रष्ट स्वभाव हो—त्यो शैतानको स्वभाव हो। के ती शैतानी कुराहरू परमेश्वरको वचनअनुरूप हुन्छन्? के ती सत्यता अनुरूप हुन्छन्? के ती कुराको आधार परमेश्वरको वचनमा छ? (छैन।) के ती परमेश्वरका अनुयायीहरूले गर्नुपर्ने कामहरू हुन्, र तिनीहरूमा हुनुपर्ने विचार र दृष्टिकोणहरू हुन्? के ती विचार र कार्यशैलीहरू सत्यताअनुरूप छन्? (छैनन्।) यी कुराहरू सत्यताअनुरूप नभएकाले, के यी सामान्य मानवताको विवेक र समझअनुरूप हुन्छन् त? (हुँदैनन्।) अब तँ प्रस्ट रूपमा देख्न सक्छस् कि यी कुराहरू सत्यता वा सामान्य मानवताअनुरूप हुँदैनन्। के पहिले तँलाई यी कार्यशैली र सोचहरू उचित र आकर्षक, अनि आधार भएका कुरा लाग्थे? (हो।) यी शैतानी सोच र सिद्धान्तहरूले मानिसहरूको हृदयमा पकड जमाउँछन्, र तिनीहरूका सोच, दृष्टिकोण, आचरण, र कार्यशैलीहरू, साथै तिनीहरूका थुप्रै स्थितिहरू नियन्त्रित गर्छन्; त्यसकारण, के मानिसहरूले सत्यता बुझ्न सक्छन् त? कदापि सक्दैनन्। यसविपरीत—के मानिसहरू आफूलाई सही लाग्ने कुराहरू नै सत्यता मानेर अभ्यास र पालना गर्दैनन् र? यदि ती कुराहरू सत्यता हुन् भने, तिनैमा लागिपर्दा पनि किन तेरा व्यावहारिक समस्याहरू समाधान हुँदैनन्? तैँले वर्षौँसम्म परमेश्वरमा विश्वास गरिसकेको बाबजुद, ती कुराहरूमा लागिपर्दा पनि तँमा किन साँचो परिवर्तन आउँदैन? तँ परमेश्वरका वचनहरू प्रयोग गरेर शैतानबाट आउने यी दर्शनहरू किन खुट्याउन सक्दैनस्? के तँ अझै पनि ती शैतानी दर्शनहरू सत्यता नै हुन् जसरी तिनैको पालना गर्छस्? यदि तँमा साँच्चिकै समझशक्ति छ भने, के तैँले ती समस्याहरूको जड भेट्टाएको छैनस्? तैँले जे पालना गरिरहेको थिइस् त्यो कहिल्यै सत्यता थिएन—बरु, त्यो त शैतानी भ्रम र दर्शनहरू थियो—त्यसैले समस्या त्यसैमा छ। तिमीहरू सबैले यो मार्ग अवलम्बन गरेर आफ्नो जाँच र अनुसन्धान गर्नुपर्छ; तिमीहरूभित्रका ती कुन चीजहरू हुन् जसको आधार छ र जुन सामान्य समझ र सांसारिक बुद्धिअनुरूप छन् भन्ने तिमीहरूलाई लाग्छ, र जसलाई तिमीहरू आफूले प्रस्तुत गर्न सक्छु भन्ने सोच्छौ, ती कुराहरू हेर—ती गलत सोच, दृष्टिकोण, कार्यशैली, र आधारहरू जसलाई तिमीहरूले आफ्नो हृदयमा पहिल्यै सत्यताको रूपमा लिइसकेका छौ, जुन तिमीहरूलाई भ्रष्ट स्वभावहरू हुन् भन्ने लाग्दैन, ती कुराहरू हेर” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई समाधान गरेर मात्रै साँचो रूपान्तरण ल्याउन सकिन्छ)। परमेश्वरका वचन पढेर मैले बुझेँ कि मैले खराब र दुष्ट स्वभाव प्रकट गरिरहेकी थिएँ। ली शिनले अरू सामु मेरो आलोचना गरेको, मेरो प्रतिष्ठा र हैसियत धूमिल पारेको मलाई मन परेको थिएन। भनाइ छ, “जसरी असल घोडालाई चढिन्छ, त्यसरी नै असल व्यक्तिलाई हेपिन्छ।” यदि मैले यसलाई त्यत्तिकै छोडिदिएँ भने अरूले मलाई पक्कै पनि बेकम्मा र पटमूर्ख भन्ने थिए, उनीहरूले मलाई जसरी पनि व्यवहार गरे हुन्छ भन्ने ठान्ने थिए। म यसलाई अनुत्तरित छोड्न सकिनँ, मैले ली शिनसँग बदला लिन, उनलाई उपेक्षा गर्न चाहन्थेँ, मैले यो कुरा पनि सोचेँ: मप्रति खराब व्यवहार गर्ने पहिलो ली शिन नै थिइन्। तर मेरो प्रत्युत्तर सीमा बाहिर हुनेछैन। कम्तीमा, चोट पुग्दा कस्तो हुन्छ भन्ने उनलाई अनुभूति गराएर मलाई आफ्ना केही हताशा र निराशा निकाल्नु थियो। भनाइ नै छ, “आँखाको बदला आँखा, दाँतको बदला दाँत,” र “यदि तिमी निष्ठुर छौ भने म अन्यायी छु भनेर मलाई दोष नलगाऊ।” परमेश्वरको वचनको खुलासाबाट मेले मेरो सोच र विचार सबै कुरा मेरो गरम मिजासीपन, शैतानी दर्शन र मेरो आफ्नै भ्रष्ट स्वभावबाट आएको भन्ने देखेँ। मलाई हानि गर्ने वा ठेस पुर्याउने जो कोहीलाई म आक्रमण गर्न, बदला लिन चाहन्थेँ। मलाई नराम्रो लाग्यो भने मलाई आक्रमण गर्नेलाई पनि नराम्रो अनुभूत गराउनेछु। म निकै खराब र दुष्ट रहेको मैले महसुस गरेँ। मेरो भ्रष्ट स्वभावलाई मेरो जीवन निर्देशित गर्न दिँदाको समयमा मैले आफूलाई कसरी खुसी र सन्तुष्ट बनाउने, र कसरी मेरा हितको रक्षा गर्ने भन्ने मात्र सोचेँ। मेरो व्यवहार सत्यता अनुरुप त छ वा ली शिनका लागि हानिकारक हुनेछ कि भन्ने मैले सोचिनँ। म स्वार्थी र सङ्कीर्ण सोचको बनेकी थिएँ। ली शिनले आत्मचिन्तन गर्न, आफूलाई चिन्न सकिन्, आफ्नो भ्रष्टताको खुलासा गर्ने हिम्मत गरिन्। उनले सत्यता अभ्यास गरी पश्चात्ताप गर्ने इच्छा देखाइरहेकी थिइन्। मैले उनलाई राम्रोसँग व्यवहार गर्नुपर्थ्यो र मेरा पूर्वाग्रह पन्छाउनुपर्थ्यो। तर मैले उनलाई प्रोत्साहित गरिनँ, बरु उनको भ्रष्टतामा केन्द्रित भएँ र यसलाई लिएर उनीसँग प्रतिशोध लिन खोजेँ। के म सही हुँदा हुँदै क्षमा नदिने भइरहेकी थिइनँ? यो बुझेर मैले आफ्नो मानवता निकै कमजोर रहेको पाएँ। म घृणाको भावनामा डुबेकी थिएँ, बदला लिने मेरो इच्छा पूरा भएपनि मलाई खुसी वा शान्ति महसुस भइरहेको थिएन। मलाई झन् नराम्रो लागेको थियो, दोषी महसुस भएको थियो। भ्रष्ट स्वभावअनुसार जिउँदा आफू वरिपरिका मानिसलाई कष्ट र हानि पुग्छ भन्ने मैले प्रत्यक्ष अनुभव गरेँ। मैले त्यस्तो व्यवहार गर्नु हुँदैनथ्यो। मेरो हेराइ पनि गैरविश्वासीको जस्तै रहेको मैले पाएँ। मलाई लाग्यो, दुष्टलाई दुष्ट तरिकाले प्रत्युत्तर दिँदा आफूलाई मात्र रक्षा गर्न सक्छु। धर्मनिरपेक्ष संसारमा, इमान्दार मानिसलाई अक्सर हेपिन्छ, र तिनीहरूले आफ्नो अभिमानलाई पन्छाएर सम्झौता मात्रै गर्न सक्छन्। तर, परमेश्वरको घरमा हेप्ने र हेपिने कुरा हुँदैन। हामीलाई जे हुन्छ, अरूले हामीलाई जसरी व्यवहार गर्छन्, यो सबै परमेश्वरको अनुमतिले भएको हुन्छ, हामीले यी कुराबाट सिकेर सत्यता अभ्यास गर्ने तरिका खोज्नुपर्छ। मैले यो परमेश्वरबाट आएको भनी स्वीकार गर्नुपर्छ र उहाँका वचनअनुसार ली शिनलाई व्यवहार गर्नुपर्छ।
भोलिपल्ट यो विषयबारे सोच्दा मलाई अझैपनि नराम्रो लागेको थियो, र ली शिनसँग कसरी कुरा गर्ने भन्ने थाहा भएन, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ: “हे परमेश्वर, मलाई थाहा छ मैले ली शिनलाई शैतानी दर्शनका आधारमा व्यवहार गर्नुहुँदैन, तर यो विषयमा मेरो ज्ञान निकै सतही छ, ममा छोडिदिऊँ भन्ने भावना छैन। ली शिनलाई कसरी व्यवहार गर्ने मलाई थाहा छैन। हे परमेश्वर, बिन्ती मलाई मार्गदर्शन गर्नुहोस्।” त्यसपछि, मैले अर्को खण्ड भेटेँ: “परमेश्वर क्रोध हुनुहुन्छ, र उहाँले कुनै पनि उल्लङ्घन सहनुहुन्न—यसो भन्नुको अर्थ, परमेश्वरको रिसले कारणहरूका बीचमा भिन्नता छुट्याउन सक्दैन वा यो सिद्धान्तहीन छ भन्ने होइन; कारणहरूका बीचमा भिन्नता नछुट्याउने प्रकारको प्रचुर रिसको असैद्धान्तिक, अनियमित आवेगलाई पूर्ण रूपमा दाबी गर्ने भनेको भ्रष्ट मानवजाति नै हो। मानवजातिसँग हैसियत भइसकेपछि, उसले प्रायजसो आफ्नो मनस्थितिलाई नियन्त्रण गर्न कठिन हुनेछ, त्यसकारण आफ्नो असन्तुष्टिलाई व्यक्त गर्ने र आफ्ना भावनाहरूलाई पोखाउने अवसरहरूको फाइदा लिनमा उसले आनन्द लिन्छ; आफ्नो क्षमतालाई प्रकट गर्न र उसको हैसियत र पहिचान सर्वसाधारण मानिसहरूको भन्दा फरक छ भनी अरूलाई देखाउन, उसले कुनै पनि स्पष्ट कारणविना नै प्रायजसो प्रचुर रिस पोखाउनेछ। अवश्य नै, कुनै पनि हैसियत नभएका भ्रष्ट मानिसहरूले पनि प्रायजसो नियन्त्रण गुमाउँछन्। तिनीहरूको निजी चासोहरूमा पर्ने क्षतिद्वारा नै प्रायजसो तिनीहरूको रिस पैदा भएको हुन्छ। तिनीहरूको आफ्नै हैसियत र गरिमालाई सुरक्षित गर्नको लागि, तिनीहरूले प्रायजसो आफ्ना भावनाहरू पोखाउँछन् र आफ्नो अहङ्कारी स्वभावलाई प्रकट गर्छन्। पापको अस्तित्वको प्रतिरक्षा गर्न र त्यसलाई सदर गर्नको लागि मानिस रिसको आवेगमा आउनेछ र आफ्ना भावनाहरू पोखाउनेछ, र यी कार्यहरू मानिसले आफ्नो असन्तुष्टि व्यक्त गर्ने तरिकाहरू हुन्; तिनीहरू अशुद्धताहरू, युक्ति र षड्यन्त्रहरू, र मानिसको भ्रष्टता र दुष्टताले भरिएका हुन्छन्, अनि सबै कुराभन्दा बढी, तिनीहरू मानिसका उग्र महत्वाकांक्षा र इच्छाहरूले भरिएका हुन्छन्” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय २)। परमेश्वरका वचन मनन गरेपछि मलाई निकै लाज लाग्यो। परमेश्वरको सार धर्मी र पवित्र रहेको मैले देखँ, उहाँले आफ्नो काम सिद्धान्तनिष्ठ रूपमा गर्नुहुन्छ। परमेश्वरको क्रोध र कृपा शुद्ध र बेदाग हुन्छ। यसको उदाहरणका रूपमा परमेश्वरले सदोम र नीनवे सहरलाई कसरी व्यवहार गर्नुभयो भन्ने कुरालाई लिन सकिन्छ। दुवे सहरले परमेश्वरलाई इन्कार गरेका थिए, दुष्कर्म र व्यभिचार गर्थे। तिनीहरूको दुष्कर्मबारे परमेश्वरलाई पहिलेदेखि नै थाहा थियो, तिनीहरूले गरेको दुष्कर्मका लागि तिनीहरूलाई नष्ट गरिनुपर्ने थियो। परमेश्वरका दूतहरूप्रति ती दुई सहरले भिन्नाभिन्नै प्रतिक्रिया दिएका थिए। सदोमीहरूले दूतहरूलाई नराम्रो गरी सताए, सबै सकारात्मक कुराहरूलाई घृणा गरे। अन्तमा तिनीहरूले परमेश्वरको स्वभावलाई क्रोधित तुल्याए र अनि तिनीहरूलाई गन्धकले जलाएर नष्ट गरियो। यसको विपरीत, नीनवेका बासिन्दाले योनाको घोषणामा विश्वास गरी त्यसको पालना गरे, पूरै सहरले परमेश्वरसामु आएर पश्चात्ताप र प्रार्थना गरेको थियो, जसले गर्दा परमेश्वरले आफ्नो मन बदल्नुभयो र तिनीहरूमाथि कृपा गर्नुभयो। मानिसलाई कसरी व्यवहार गर्ने भन्नेमा परमेश्वर एकदमै सिद्धान्तपरक हुनुहुन्छ। मानिसले जिद्दी भई पश्चात्ताप गर्न अस्वीकार गरेमा परमेश्वरले दोषी ठहराएर नष्ट गर्नुहुनेछ। तर तिनीहरूले साँच्चिकै पश्चात्ताप गरेर पाप स्वीकार गरे भने परमेश्वरले आफ्नो क्रोध तुरुन्त फिर्ता लिनुहुन्छ र तिनीहरूमाथि कृपा देखाउनुहुन्छ। मानवजातिप्रति परमेश्वरको मनोवृत्ति हेरेर म आफू मानिसलाई व्यवहार गर्नेसम्बन्धमा सिद्धान्तनिष्ठ नरहेको पाएँ, मैले पूर्णतः आफ्नै भ्रष्ट स्वभावको आधारमा व्यवहार गरेँ। ली शिनले भ्रष्टता देखाउँदा तर मेरो हितलाई खासै हानि नगर्दा मैले त्यसलाई सुधार्न उनको मद्दत गरिनँ, यसलाई त्यत्तिकै छाडिदिएँ। तर मेरो हितमा धेरै हानि पुग्दा मैले यसलाई सहन नसकेर गरम मिजास देखाएँ र उनीसँग बदला लिन चाहेँ, उनले पश्चात्ताप गर्दा समेत मैले उनलाई क्षमा गरिनँ। मैले घृणाको भावनामा डुबेर गहिरो वैरभाव राखेँ। दुवै अवस्थामा मैले आफ्नो भ्रष्ट स्वभावको आधारमा ली शिनलाई व्यवहार गरेकी थिएँ, र आफ्नै हितका लागि कार्य गरेकी थिएँ। म गरम मिजासकी थिएँ, आफ्नो प्रतिष्ठा, हैसियत र मर्यादा जोगाउन बदला लिन चाहेँ, यस क्रममा ली शिनप्रति आफ्नो निराशा प्रकट गरेँ। मेरा क्रोध र घृणा स्वार्थी, सङ्कीर्ण र शैतानी थिए। यो मेरो भ्रष्ट स्वभावको प्रकटीकरण थियो।
पछि, मैले परमेश्वरको अरू दुइटा खण्ड भेटेँ: “यदि तँमा घृणा जगाउने कुनै कुरा आइपऱ्यो भने, तँ त्यसलाई कसरी हेर्छस्? तँ त्यसलाई केको आधारमा हेर्छस्? (परमेश्वरका वचनहरूको आधारमा।) त्यो सही हो। यदि तँलाई परमेश्वरको वचनअनुसार यी कुराहरू कसरी हेर्ने भनेर थाहा छैन भने, तँ जहाँ सम्भव छ, त्यहाँ नरम हुन, आफ्नो आक्रोश दबाउन, तत्काललाई छुट दिएर पछि प्रतिशोध लिनको लागि मौका कुर्न मात्र सक्छस्—तैँले लिने मार्ग यही हुनेछ। यदि तँ सत्यता पछ्याउन चाहन्छस् भने, तैँले परमेश्वरको वचनअनुसार मानिसहरू र विभिन्न कुराहरूलाई हेर्नुपर्छ, र आफूलाई सोध्नुपर्छ: ‘किन यो व्यक्तिले मलाई यसरी व्यवहार गर्दै छ? मलाई यस्तो कसरी हुन सक्छ? कसरी यस्तो परिणाम आउन सक्छ?’ यस्ता कुराहरूलाई परमेश्वरको वचनअनुसार हेर्नुपर्छ। सबैभन्दा पहिले गर्नुपर्ने भनेको परमेश्वरबाट यो कुरा ग्रहण गर्न सक्नु हो, अनि यो परमेश्वरबाट आउँछ र यो तेरो लागि उपयोगी र लाभदायी छ भनेर सक्रिय रूपमा स्विकार्न सक्नु हो। तैँले परमेश्वरबाट यो कुरा ग्रहण गर्नलाई पहिला यो परमेश्वरद्वारा योजनाबद्ध र निर्देशित हो भन्ने ठान्नुपर्छ। पृथ्वीमा हुने हरेक थोक, तैँले महसुस गर्न सक्ने सबथोक, तैँले देख्न सक्ने सबथोक, तैँले सुन्न सक्ने सबथोक—यी सबै कुरा परमेश्वरको अनुमतिले नै हुन्छ। तैँले यो कुरा परमेश्वरबाट आएको भनी स्विकारेपछि, यसलाई परमेश्वरको वचनअनुसार मापन गर्, अनि यो कुरा गर्ने व्यक्ति कस्तो हो र यो मामिलाको सार के हो भनेर पत्ता लगा, चाहे उसको बोली वा कामले तँलाई चोट नै किन नपुऱ्याओस्, चाहे त्यसले तेरो भावनालाई घात नै किन नगरोस्, र चाहे त्यसले तेरो चरित्र कुल्चिमिल्ची पारेको नै किन होस्। सर्वप्रथम, त्यो व्यक्ति दुष्ट व्यक्ति हो कि साधारण भ्रष्ट व्यक्ति हो भनेर हेर्, पहिले ऊ कस्तो हो भनेर परमेश्वरको वचनअनुसार खुट्या अनि त्यसपछि यो मामिलालाई परमेश्वरको वचनअनुसार खुट्या र सम्हाल्। के यी चाल्नुपर्ने सही कदम होइनन् र? (हुन्।) पहिला यो मामिलालाई परमेश्वरबाट आएको भनी स्विकार्, अनि यस मामिलामा संलग्न मानिसहरूलाई तिनीहरू साधारण दाजुभाइ-दिदीबहिनी, दुष्ट मानिस, ख्रीष्टविरोधी, अविश्वासी, दुष्टात्मा, घृणित पिशाच, वा ठूलो रातो अजिङ्गरको जासुस हुन् कि होइनन्, अनि तिनीहरूले गरेको कुरा भ्रष्टताको साधारण प्रकटीकरण हो कि बाधा र अवरोध दिन जानाजानी अभिप्रायसहित गरिएको दुष्कर्म हो भनेर निर्धारण गर्न परमेश्वरको वचनअनुसार हेर्। यो सबै कुरा परमेश्वरको वचनसँग दाँजेर निर्धारित गरिनुपर्छ। परमेश्वरको वचनअनुसार विभिन्न कुराहरूको मापन गर्नु सबैभन्दा सही र निष्पक्ष तरिका हो। परमेश्वरको वचनअनुसार नै मानिसहरूलाई छुट्याउनुपर्छ र मामिलाहरूलाई सम्हाल्नुपर्छ। तैँले यसरी मनन गर्नुपर्छ: ‘यो घटनाले मेरो भावनामा साह्रै गहिरो चोट पुऱ्याएको छ र मेरो जिन्दगीमा छायाँ पारिदिएको छ। तर जीवन प्रवेशका लागि यो घटनाले मलाई सुधार्न के गरेको होला? परमेश्वरको अभिप्राय के होला?’ यसले तँलाई मामिलाको जडमा पुऱ्याउँछ, जसलाई तैँले पत्ता लगाउनु र बुझ्नुपर्छ—यही नै सही मार्ग पछ्याउनु हो। तैँले यसरी सोच्दै परमेश्वरको अभिप्राय खोज्नुपर्छ: ‘यो घटनाले मेरो हृदय र प्राणमा आघात पारेको छ। मलाई वेदना र पीडा हुन्छ, तर म नकारात्मक र निन्दनीय बन्नु हुँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यो घटना वास्तवमा मेरो लागि लाभदायी छ कि छैन भनेर परमेश्वरको वचनअनुसार खुट्याउनु, छुट्याउनु र निर्धारित गर्नु हो। यदि यो परमेश्वरको अनुशासनबाट आउँछ, अनि मेरो जीवन प्रवेशका लागि र आफूलाई बुझ्नका लागि लाभदायी छ भने, मैले यो स्विकार्नु र पालन गर्नुपर्छ; यदि यो शैतानबाट आएको परीक्षा हो भने, परमेश्वरलाई प्रार्थना गरेर यसलाई बुद्धिमानीपूर्वक सम्हाल्नुपर्छ।’ के यसरी खोजी गर्नु र सोच्नु सकारात्मक प्रवेश हो? के यो परमेश्वरको वचनअनुसार मानिसहरू र विभिन्न कुराहरूलाई हेर्नु हो? (हो।) त्यसपछि, तैँले जुनसुकै कुरा सम्हालिरहेको भए पनि, वा तेरो मानिसहरूसँगको सम्बन्धमा जुनसुकै समस्या उत्पन्न भए पनि, ती समाधान गर्न परमेश्वरका सान्दर्भिक वचनहरू खोज्नुपर्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (९))। “यदि तैँले सही मार्ग रोजिस् भने, जब कसैले तेरो छवि वा अभिमानमा हानि गर्ने तरिकाले बोल्छ, वा तेरो इज्जत र गरिमाप्रति अपमान गर्छ, तब तैँले सहनशील बन्ने निर्णय गर्न सक्छस्। तैँले कुनै पनि प्रकारको भाषा प्रयोग गरेर तिनीहरूसँग तर्कवितर्क गर्ने वा जानीजानी आफूलाई सही साबित गर्ने र अर्को पक्षलाई खण्डन र आक्रमण गर्ने, र यसरी आफूमा घृणा पैदा गर्ने गर्दैनस्। सहनशील हुनुको सार र महत्त्व के हो? तैँले भन्छस्, ‘उसले भन्ने कति कुराहरू तथ्यहरूसँग मिल्दैनन्, तर सत्यता बुझ्नु र मुक्ति प्राप्त गर्नुपहिले सबै यस्तै हुन्छन्, र म पनि एकपटक यस्तै थिएँ। अहिले सत्यता बुझेपछि, म सही र गलतबारे तर्कवितर्क गर्ने गैरविश्वासीहरूको मार्ग हिँड्ने वा झैझगडाको दर्शनमा संलग्न हुने गर्दिनँ—म त सहनशीलता र अरूलाई प्रेमसाथ व्यवहार गर्ने विकल्प रोज्छु। उसले भन्ने कति कुराहरू तथ्यहरूसँग मिल्दैनन्, तर म तीप्रति ध्यान दिँदिनँ। म आफूले पहिचान गर्न र बुझ्न सक्ने कुराहरू स्विकार्छु। म तिनलाई परमेश्वरबाट आएको भनी स्विकार्छु र तिनलाई प्रार्थनामा परमेश्वरअघि ल्याउँछु, र मेरा भ्रष्ट स्वभावहरू प्रकट गर्ने परिस्थितिहरू तय गर्न उहाँलाई अनुरोध गर्छु, ताकि मैले यी भ्रष्ट स्वभावहरूको सार जान्न सकूँ र यी समस्याहरू समाधान गर्न, तिनलाई क्रमिक रूपमा जित्न, र सत्यता वास्तविकतामा प्रवेश गर्न सुरु गर्ने अवसर पाउन सकूँ। आफ्नो बोलीवचनद्वारा मलाई चोट पुर्याउने मानिसहरूको हकमा र तिनीहरूले भन्ने कुराहरू सही भए नि नभए नि, वा तिनीहरूको अभिप्राय जे भए नि, एक हिसाबले म यसबारे समझशक्ति अभ्यास गर्छु, र अर्को हिसाबले म तिनीहरूलाई सहन्छु।’ यदि यो व्यक्ति सत्यता स्विकार्ने व्यक्ति हो भने, तैँले ऊसँग शान्तिसाथ बस्न र सङ्गति गर्न सक्छस्। यदि ऊ त्यस्तो होइन भने, यदि ऊ दुष्ट व्यक्ति हो भने, ऊप्रति ध्यान नदे। उसले पर्याप्त हदसम्म काम गरुन्जेल, र सबै दाजुभाइ-दिदीबहिनीहरूले उसलाई राम्ररी खुट्ट्याउन्जेल, र तैँले पनि खुट्ट्याउन्जेल, र अगुवा र कामदारहरूले उसलाई सफाइ गरेर तह लगाउन लागुन्जेल पर्खी—त्यो बेला नै परमेश्वरले उसलाई सम्बोधन गर्ने समय आएको हुन्छ, र अवश्य नै, तँलाई पनि खुशी लाग्नेछ। तर तैँले छनौट गर्नुपर्ने मार्ग भनेको दुष्ट मानिसहरूसँग मौखिक कलह गर्नु वा तिनीहरूसँग तर्कवितर्क गर्नु र आफूलाई सही साबित गर्ने प्रयास गर्नु भन्ने पटक्कै होइन। बरु, कुनै कुरा आइपर्दा सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नु हो। चाहे यो तँलाई चोट पुर्याउने मानिसहरूसँग व्यवहार गर्ने कार्य होस् वा र तँलाई चोट नपुर्याउने र तँलाई फाइदा दिने मानिसहरूसँग व्यवहार गर्ने कार्य होस्, अभ्यासका सिद्धान्तहरू उस्तै हुनुपर्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१५))। परमेश्वरका वचन पढेर म झन् प्रष्ट भएँ र मैले अभ्यासका केही मार्ग पाएँ। मैले हामीलाई जे जे हुन्छ, यो सबै परमेश्वरको अनुमतिमा हुन्छ, र हामीले यी कुराबाट पाठ सिक्नुपर्छ भन्ने देखेँ। हामीले मानिसलाई सिद्धान्तअनुरूप व्यवहार गर्नुपर्छ भनी परमेश्वर भन्नुहुन्छ। हामीलाई हानि गर्नेसँग व्यवहार गर्दा हामीले सधैँ अपमान सहेर सम्झौता गर्नुहुँदैन, अनि हामीले घृणा र बदलाको भावना पनि पाल्नुहुँदैन। हामीले यो परिस्थिति परमेश्वरबाट आएको हो भन्ने स्वीकार गरी उहाँको अभिप्राय खोज्नुपर्छ र यस विषयलाई सत्यता सिद्धान्तअनुसार सम्हाल्नुपर्छ। कसैले भ्रष्टता प्रकट गर्दैछ अनजानमै आफ्ना बोली वा कार्यले हामीलाई हानि गर्दैछ भने हामीले प्रेमिलो सहनशीलता र धैर्य देखाउनुपर्छ, उनीहरूले गरेको आलोचनाको प्रयोग गरी आफ्ना समस्यामा चिन्तन गर्नुपर्छ र आफ्नो जीवन प्रवेशमा केन्द्रित हुनुपर्छ। उनीहरूको बोली र कार्यमा गलत मनसाय रहेछ, पिठ्यूँपछाडि आलोचना गर्ने, आक्रमण गर्ने गर्छन् भने हामीले आत्मचिन्तन गर्ने मात्र होइन, तिनीहरू कस्ता व्यक्ति हुन्, तिनीहरूको मनसाय के रहेको छ भनी विश्लेषण गरी तिनीहरूको समस्या देखाउनुपर्छ। तिनीहरू सत्यता स्विकारी पश्चात्ताप गर्न र रूपान्तरण हुन इच्छुक भएमा तिनीहरूलाई ब्रदर-सिस्टर झैँ व्यवहार गरी सङ्गति र सहयोग प्रदान गर्नुपर्छ। तिनीहरूले सत्यतालाई अलिकति पनि स्वीकार गर्दैनन्, अनि दुष्कर्मी र ख्रीष्टविरोधी हुन्छन् भने तिनलाई सत्यताअनुसार खुलासा र पहिचान गरी रिपोर्ट गरिनुपर्छ साथै, तिरस्कार र अस्वीकार गरिनुपर्छ। यो नै मानिसलाई सत्यता सिद्धान्तअनुसार व्यवहार गर्ने वास्तविक तरिका हो। ली शिनको भ्रष्ट स्वभाव अपेक्षाकृत गम्भीर थियो, तर उनले सत्यता स्वीकार गरिरहेकी थिइन्, र पश्चात्ताप गरी रूपान्तरण हुन तयार थिइन्, त्यसैले मैले उनलाई उचित व्यवहार गर्नुपर्ने थियो। म उनीप्रति सहनशील र धैर्य भई मलाई हानि गरेको कुरामा क्षमा दिनुपर्ने थियो। उनले पहिचान नगरेको समस्याको हकमा मैले त्यो देखाएर उनलाई आफूलाई चिनेर आफ्ना भ्रष्ट स्वभाव हल गर्न उनलाई मद्दत र मार्गदर्शन गर्नुपर्ने थियो। साथै, यो अनुभवबाट मैले आत्मचिन्तन गरी आफूलाई जानेँ। मैले आफ्नो कद निकै सानो रहेको, प्रतिष्ठा र हैसियतको मेरो चाहना धेरै बलियो रहेको देखेँ। ली शिनको बोली र कार्यले मेरो हैसियत एवं प्रतिष्ठा जोखिममा पर्दा मैले उग्र बन्दै बदला लिने चाहना राखेँ, एउटा सामान्य व्यक्तिमा हुनुपर्ने समझ गुमाएँ। ली शिनले मेरोबारे गरेका केही आलोचनामा वस्तुनिष्ठता थिएन, तर केहीले ममा भएका वास्तविक समस्या पहिचान गरेका थिए। जस्तै, मेरो कर्तव्यमा म परमेश्वरका वचन अनुभव गर्न छोडेर कामलाई धेरै ध्यान दिन्थेँ, कर्तव्यमा कहिलेकाहीँ गलत प्राथमिकता दिन्थेँ, आदि। यी सबै मेरा कमजोरी थिए। यी आलोचनाले गर्दा मेरो केही इज्जत गयो होला, तर समस्याहरू झन् प्रष्ट देखिए पनि। मेरो जीवन प्रवेशका लागि पनि यो उपयोगी थियो। अनि, किन मैले उनलाई धिक्कार्नु र आलोचना गर्नु? मैले यसबारे जति सोचेँ, उति नै मन छोएको महसुस भयो, र ली शिनप्रतिको मेरो पूर्वाग्रह अन्ततः हराएर गयो।
पछि एउटा भेलाको क्रममा मैले ली शिनसँग मैले देखाएका भ्रष्टता र मेरो जीवन प्रवेशबारे खुलेर कुरा गरेँ। यसरी अभ्यास गरेपछि हामी बीचको तनाव हरायो, र अन्ततः मैले उनलाई सही तरिकाले व्यवहार गर्न सकेँ। पछि, ली शिनसँग साझेदारी गरेको समयमा हैसियतप्रतिको उनको होड समस्याग्रस्त भएको मैले पाएँ, तर उनले यसलाई बोध गर्न सकेकी थिइनन्। कहिलेकाहीँ उनले मबारे गरेका आलोचना वस्तुनिष्ठ हुँदैनथे। उनले गरेका आलोचना परमेश्वरबाट आएका हुन् भनेर मैले स्वीकार गरी आफ्ना समस्यामा चिन्तन गर्ने र उग्र भएर बदला खोज्नबाट बच्ने कोशिश गर्थेँ, साथै, उनको व्यवहारको भेद र अवलोकन गर्नेमा पनि ध्यान केन्द्रित गर्थेँ। जब मैले ली शिनको भ्रष्ट स्वभाव निकै गम्भीर भएको, उनको मानवता कमजोर भएको, उनी साँचो पश्चात्ताप गर्न असफल भइरहेको, बाधा व्यवधान निम्त्याइरहेको देख्थेँ तब मैले उनको स्थिति अगुवालाई बताउँथेँ। अन्ततः, ली शिनलाई अर्को काममा लगाइयो। यसरी अभ्यास गर्दा मलाई निकै शान्ति र स्वतन्त्र महसुस भयो। परमेश्वरलाई धन्यवाद! यो अनुभवबाट मैले के थाहा पाएँ भने सत्यता अभ्यास गरेर र परमेश्वरका वचनअनुसार जिएर मात्रै हामी साँच्चिकै मानवीय स्वरूपमा जिउन सक्छौँ।