६९. सङ्कटको समयमा म अब आफ्नो कर्तव्य त्याग्दिनँ

ये पिङ, चीन

अक्टोबर २०२१ मा, मैले डेब्रेक मण्डलीमा अगुवाका रूपमा आफ्नो कर्तव्य पूरा गर्न थालेँ। डिसेम्बर १० को रात, मलाई एउटा पत्र प्राप्त भयो, जसमा सुसमाचार डिकन याङ हुइ र उनको परिवारलाई ८ तारिखको दिउँसो प्रहरीले पक्राउ गरेको छ भनी लेखिएको थियो। मलाई अचानक भोलिपल्ट बिहान, मेरो एक सहकर्मी ब्रदर ली झीले याङ हुइ र अरूसँग भेट्ने कार्यक्रम रहेको याद आयो। मैले यो कुरा मेरो अर्को सहकर्मी सिस्टर झाङ सिनसँग छलफल गरेँ, र हामीले भोलि बिहानै ली झीलाई याङ हुइको पक्राउबारे जानकारी दिने निर्णय गर्‍यौँ। झाङ सिन भोलिपल्ट गइन्, तर १२ तारिखको मध्यान्हसम्म उनी फर्किनन्। मलाई सिस्टर झाङ सिनलाई पनि पक्राउ गरियो कि भन्‍ने चिन्ता र डर लाग्यो। यदि उनीहरू सबै पक्राउ परे भने, धेरै ब्रदर-सिस्टरहरू मुछिनेथिए, र मण्डलीको परमेश्‍वरका वचनका पुस्तकहरू खतरामा पर्नेथिए। यदि हामीले प्रहरीले खानतलासी गर्नुअघि नै पुस्तकहरू छिटो स्थानान्तरण नगरेका भए, क्षति ठुलो र मेरो अपराध गम्भीर हुनेथ्यो। यी कुराहरूबारे सोच्दा म झन् डराएँ। मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरिरहेँ, “हे परमेश्‍वर! मेरो कद अत्यन्त सानो छ, र मलाई यो अवस्था कसरी पार गर्ने थाहा छैन। कृपया मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्, र यो घटनापछिको परिस्थितिलाई उचित रूपमा सम्हाल्न आस्था र साहस दिनुहोस्।” प्रार्थना गरेपछि, मैले परमेश्‍वरका वचनका पुस्तकहरू स्थानान्तरण गर्नेबारे छलफल गर्नका लागि दुई सिस्टरसँग बैठक गर्न तुरुन्तै पत्र लेखेँ। म निस्कन लाग्दा, मलाई अतिथिसत्कार गर्ने सिस्टरले चिन्तित हुँदै भनिन्, “तपाईँ जानु हुँदैन! यदि तपाईँ बाहिर गएर फर्कनुभएन भने, मण्डलीको काम के हुन्छ?” उनको डराएको हाउभाउ देखेर म झन् चिन्तित भएँ: “उनीहरू अझै फर्केका छैनन्, उनीहरू पक्कै पक्राउ परेको हुनुपर्छ। यदि म बाहिर गएँ भने, कसैले मेरो पिछा गर्ने हो कि? यदि म साँच्चै फर्किनँ भने नि?” मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरिरहेँ र परमेश्‍वरका यी वचनहरू सम्झेँ: “विश्‍वास भनेको एउटै मुढाको पुलजस्तो हुन्छ: दयनीय रूपले जीवनमा अल्झिरहेका मानिसहरूलाई त्यो पार गर्न कठिनाइ हुनेछ, तर आफ्नो जीवन दिन तयार रहेकाहरूले नडगमगाइ र निष्फिक्रीसित त्यसलाई पार गर्न सक्छन्। यदि मानिसले आफ्नो मनमा डरपोक र भयका विचारहरू राख्छ भने शैतानले उनीहरूलाई मूर्ख बनाएको हुन्छ, हामी विश्‍वासको पुल पार गरी परमेश्‍वरमा प्रवेश गरौंला भनी त्यो डराएको हुन्छ। शैतानले हामीकहाँ त्यसका विचारहरू पठाउने हरसम्भव कोसिस गरिरहेको हुन्छ। परमेश्‍वरले हामीलाई ज्योति र अन्तर्दृष्टि दिऊन् भनी हरक्षण उहाँसँग प्रार्थना गर्नुपर्छ, हामीभित्रबाट शैतानको विष पखाल्नका लागि हामी हरक्षण परमेश्‍वरमा निर्भर हुनुपर्छ, हाम्रो आत्माभित्र हामीले परमेश्‍वरको नजिक कसरी आउने भनी हामीले हरपल अभ्यास गर्नुपर्छ, र हामीले परमेश्‍वरलाई हाम्रो सम्पूर्ण अस्तित्वमाथि प्रभुत्व कायम गर्न दिनुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६)। मण्डलीले पक्राउहरू सामना गरिरहेकाले ब्रदर—सिस्टरहरू र परमेश्‍वरका वचनका पुस्तकहरूको रक्षा गर्नु मेरो जिम्मेवारी र जरुरी कर्तव्य थियो। पक्राउन पर्ने मेरो डर शैतानले पठाएको सोच थियो। म शैतानको जालमा पर्नबाट जोगिनुपर्थ्यो। यदि म पक्राउ पर्ने डरले लुकेर बसेँ र परमेश्‍वरका वचनका पुस्तकहरू समयमै स्थानान्तरण गरिनँ भने, र पुस्तकहरू प्रहरीले जफत गरेको भए, मैले पाप गरेकी हुनेथिएँ। यस सङ्कटको घडीमा मण्डलीका हितको रक्षा गर्न असफल हुनु लज्जास्पद हुनेथ्यो। स्थानान्तरण प्रक्रिया जोखिमपूर्ण भए तापनि, मलाई परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, र सबै कुरा परमेश्‍वरको नियन्त्रणमा छ भन्‍ने विश्‍वास थियो। म पक्राउ पर्ने नपर्ने कुरा परमेश्‍वरद्वारा निर्धारित थियो; यदि परमेश्‍वरले अनुमति दिनुहुन्थेन भने, प्रहरीले मेरो एउटा कपालसमेत छुनेथिएन। परमेश्‍वरका वचनहरूमा मनन गर्दा, मेरो डर अलि कम भयो। ती दुई सिस्टरसँग छलफल गरेपछि, हामी अलग-अलग कार्य गर्न तुरुन्तै छुट्टियौँ। एक जना ब्रदर—सिस्टरहरूलाई सूचना दिन गइन्, अनि अर्की सिस्टर र मैले परमेश्‍वरका वचनका पुस्तकहरू स्थानान्तरण गर्ने जिम्मा लियौँ। परमेश्‍वरका वचनका सबै पुस्तकहरू सुरक्षित रूपमा स्थानान्तरण गरिसकिएपछि मात्र बल्ल मलाई राहत महसुस भयो।

पछि, एक यहुदाको विश्‍वासघातका कारण, मण्डलीका झन्-झन् धेरै मानिसहरू पक्राउ परे, र परमेश्‍वरका वचनका पुस्तकहरू प्रहरीले जफत गरिरहे। जनवरी १४, २०२२ मा, मलाई अतिथिसत्कार गर्ने याङ होङलाई पनि प्रहरीले पक्राउ गर्‍यो। उपयुक्त बस्ने ठाउँ नभएपछि, मैले भाग्ने विचार गर्दै सोचेँ, “यदि प्रहरीले समात्यो भने, मैले कठोर यातना सहनुपर्नेछ। यदि मैले सहन सकिनँ र यहूदाले जस्तै परमेश्‍वरलाई धोका दिएँ भने, परिणामहरू अकल्पनीय हुनेछन्।” मैले अन्ततः तुलनात्मक रूपमा सुरक्षित ठाउँ फेला पारेँ, तर धेरै समय नबित्दै यस ठाउँको पनि एक यहूदाले पोल खोलिदियो, त्यसैले मैले फेरि सर्नुपर्‍यो। उपयुक्त बस्ने ठाउँ नभएपछि, मलाई कहीँ पनि हाम्रा लागि सुरक्षित छैन भन्‍ने लाग्यो। मलाई एकदमै असहाय र दुःखी महसुस भयो, र मैले गुनासो नगरी सकिनँ, “निरन्तर डर र चिन्तामा बिताएका यी दिनहरू, कहिले अन्त्य होलान्? बरु प्रहरीले मलाई पक्राउ गरी कुटेर मारे बेस हुनेथ्य्यो।” मैले आफ्नो चरम पीडामा, परमेश्‍वरका वचनहरू सम्झेँ: “तैँले सबै भोग्नैपर्छ; तँसँग भएका सबै कुरा मेरो लागि त्याग्न र मलाई पछ्याउनका लागि तैँले गर्न सक्ने सबै कुरा गर्न, र कुनै पनि मूल्य चुकाउन तँ तयार हुनैपर्छ। मैले तँलाई जाँच गर्नुपर्ने समय यही हो: के तँ तेरो बफादारी मलाई अर्पण गर्छस्? के यो मार्गको अन्त्यसम्म तँ मलाई निष्ठापूर्वक पछ्याउन सक्छस्? नडरा; तैँले मेरो साथ पाएपछि, यो मार्गलाई कसले छेक्न सक्छ र? यो कुरा याद राख्! यसलाई नबिर्सी! जे घट्छ त्यो सबै मेरो सदिच्छाबाट हुन्छ, र सबै कुरा मेरो निगरानीमा छ। तैँले बोल्ने र गर्ने सबैमा तैँले मेरो वचनलाई पछ्याउन सक्छस्? जब तँमाथि आगोको परीक्षा आउनेछ, के तैँले घुँडा टेकेर पुकार्नेछस्? कि तँ अगाडि बढ्न नसकेर, पछि हट्नेछस्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०)। परमेश्‍वरका वचनहरूले मलाई के बुझ्न सहयोग गरे भने मण्डलीले पक्राउ र सतावटको यो लहर सामना गरिरहेको, साथै केही यहुदाहरू प्रकट भएका र कर्तव्य पूरा गर्न सुरक्षित ठाउँहरूको अभावले, हामीलाई धेरै कठिनाइ भएको भए पनि, यी कठिनाइहरूले मेरो आस्थालाई सिद्ध बनाउन र मेरो भ्रष्टता प्रकट गर्न सके। परमेश्‍वरका आखिरी दिनहरूको कामको उद्दश्य विभिन्न प्रकारका सतावट, सङ्कष्ट, परीक्षा र शोधनहरूमार्फत मानिसहरूको आस्था जाँच्नु हो, जसले साँचो रूपमा विश्‍वास गर्ने र नगर्नेलाई प्रकट गर्छ। खतरा र विपत्तिमा परमेश्‍वरको वचनहरू पढ्न जारी राख्ने र आफ्ना कर्तव्यमा बफादार रहने, पक्राउ पर्दासमेत ठुलो रातो अजिङ्गरको सामुन्ने गवाहीमा दृढ बस्नेहरू नै परमेश्‍वरका साँचो विश्‍वासी र अनुयायी हुन्। अर्कोतर्फ, सतावट र सङ्कष्टको समयमा डरले लुरुक्क पर्ने, आफ्नो कर्तव्य त्याग्ने, र आफूलाई जोगाउन परमेश्‍वरलाई धोका दिनेहरू, ती परमेश्‍वरको काममार्फत प्रकट हुने सामा र अविश्‍वासी हुन् र तिनीहरू अन्ततः हटाइनेछन्। यो परमेश्‍वरको कामको बुद्धिमत्ता हो। विगतमा, म सोच्थेँ मेरो आस्था बलियो छ र म परमेश्‍वरमा भरोसा गर्छु, तर तथ्यहरूले ममा साँचो बफादारी र समर्पणको कमी रहेको देखाए। यस्तो अवस्थामा, म लुक्दै र ठाउँ सर्दै हिँडिरहेँ, शारीरिक कष्ट सामना गर्दा गुनासो गरिरहेँ र समर्पित हुन अस्वीकार गरिरहेँ, अनि निरन्तर डरमा जिउनुबाट बच्न प्रहरीलाई मलाई पक्राउ गरी कुटेर मार्न दिनेसमेत विचार गरिरहेँ। मैले आफू कति विद्रोही भएकी रहेछु भन्‍ने देखेँ! म महत्त्वपूर्ण क्षणहरूमा परमेश्‍वरको गवाही दिन असफल भइरहेकी थिएँ, अनि बरु, मैले शैतानसँग सम्झौता गरिरहेकी थिएँ। मैले साँच्चै परमेश्‍वरलाई निराश तुल्याएँ! मैले के पनि बुझेँ भने, सतावट र सङ्कट सामना गर्दा, मैले परमेश्‍वरप्रति बफादारी कायम राख्नुपर्छ, र अन्तसम्म कुनै पनि कष्ट सहनुपर्छ, जुन साँचो विश्‍वासीहरूले गर्नुपर्ने कुरा हो। यो बुझाइ पाएर मलाई बलियो महसुस भयो।

मार्च २०२२ मा, रिहा भएकी एक सिस्टरले मलाई जानकारी दिँदै, प्रहरीलाई म मण्डलीकी अगुवा हुँ भन्‍ने थाहा छ, र मेरो पिछा गर्न स्काईनेट निगरानी प्रणाली प्रयोग गरिरहेको छ, घरबाट निस्कनेबित्तिकै मलाई पक्राउ गर्ने दम्भ देखाइरहेको छ भनेर भनिन्। यस जानकारीले मलाई अत्यन्तै चिन्तित र भयभीत बनायो, र मलाई आफू हरबखत पक्राउ पर्ने खतरामा छु भन्‍ने लाग्यो। मैले सोचेँ, “यदि प्रहरीले मलाई समात्यो भने, मलाई सजिलै छोड्नेछैन। तिनीहरूले विशेष रूपमा अगुवाहरूलाई निशाना बनाइरहेका हुनाले, निश्चिय नै मलाई ब्रदर-सिस्टरहरूलाई धोका दिन बाध्य पार्नेछन्। यदि मैले उनीहरूलाई धोका दिइनँ भने, तिनीहरूले अवश्य नै मलाई चरम यातना दिनेछन्, सम्भवतः मलाई कुटेर मार्नेछन् वा अङ्गभङ्ग बनाउनेछन्। यदि मलाई कुटेर मारियो भने, परमेश्‍वरमा विश्‍वास गर्ने मेरो यात्रा अन्त्य हुनेछैन र? के मैले मुक्ति पाउने मौका गुमाउनेछैनँ र?” मैले यसबारे थप सोच्न सकिनँ। केही दिनपछि, मलाई माथिल्लो अगुवाबाट पत्र प्राप्त भयो जसमा सिस्टर चेन ली र मलाई मर्निङ स्टार मण्डलीमा सरुवा हुन निर्देशन दिइएको थियो। मैले मनमनै खुसी हुँदै सोचेँ, “बल्ल मैले यो ठाउँ छोड्न पाउने भएँ। यहाँको अवस्था धेरै डरलाग्दो छ; प्रहरीले पहिले नै नब्बे जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ। यहाँ बस्नु धेरै जोखिमपूर्ण छ!” सरुवाको पर्खाइमा रहँदा, मलाई मर्निङ स्टार मण्डलीबाट अर्को पत्र प्राप्त भयो। उनीहरूले भने, दुई अगुवा र दर्जनौँ ब्रदर—सिस्टरहरूलाई पक्राउ गरिएको छ, र परमेश्‍वरको वचनका केही पुस्तकहरू प्रहरीले जफत गरेको छ। चेन ली त्यहाँको अवस्थासँग परिचित भएकीले, घटनापछिको परिस्थिति सम्हाल्न त्यही रात त्यहाँ जानुपर्ने भयो, जसले गर्दा मेरो सरुवा ढिलो हुने भयो। चेन लीले भनिन्, “वातावरण एकदमै खराब छ, र हामी घटनापछिको परिस्थिति सम्हाल्न मर्निङ स्टार मण्डली जानुपर्छ। यदि तपाईँ अहिले जानुभयो भने, हाम्रो यस मण्डलीको काम के होला?” उनको कुराले मलाई एकदमै दोषी महसुस गरायो। सिस्टरहरूले घटनापछिको परिस्थिति सम्हाल्न आफ्नो ज्यान जोखिममा हालिरहेका थिए भने म चाहिँ चाँडै त्यहाँबाट जाने सोचमा थिएँ। मण्डली अगुवाका रूपमा, मैले यस सङ्कटको घडीमा मण्डलीको कामको रक्षा गरिरहेकी थिइनँ वा सिस्टरहरूका कठिनाइलाई विचार गरिरहेकी थिएँ, र म केवल छोडेर जान चाहन्थेँ। म यति स्वार्थी कसरी हुन सकेँ? यो बुझेर, मैले माथिल्लो अगुवालाई अवस्था बताएँ र त्यहीँ बसेर मण्डलीको काम सम्हाल्ने आफ्नो इच्छा व्यक्त गरेँ। यस क्षणमा, म परमेश्‍वरको सामु प्रार्थना र खोजी गर्न आएँ, “यस्तो वातावरण हुन दिनुमा परमेश्‍वरको अभिप्राय के हो? मैले कसरी आत्मचिन्तन गर्नुपर्छ र आफूलाई चिन्नुपर्छ?” त्यतिबेला, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “परमेश्‍वरप्रति बफादार मानिसहरूलाई वातावरण खतरनाक छ भन्‍ने स्पष्टसित थाहा हुँदा पनि तिनीहरू घटनाको असर सम्‍हाल्‍ने खतरा मोल्‍छन्, अनि आफू पछि हट्नुअघि परमेश्‍वरको घरमा हुने नोक्सान कम बनाइराख्छन्। तिनीहरूले आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्दैनन्। मलाई भन्, ठूलो रातो अजिङ्गरको यो दुष्ट देशमा, परमेश्‍वरमा विश्‍वास गर्दा र आफ्‍नो कर्तव्य निभाउँदा पटक्कै खतरा छैन भनेर कसले सुनिश्चित गर्न सक्छ? व्यक्तिले जुनसुकै कर्तव्य लिए पनि, यसमा केही खतरा हुन्छ नै—तैपनि कर्तव्य निभाउनु परमेश्‍वरको आज्ञा हो, र परमेश्‍वरलाई पछ्याउने क्रममा, व्यक्तिले आफ्‍नो कर्तव्य निभाउने खतरा मोल्‍नैपर्छ। व्यक्तिले बुद्धि चलाउनुपर्छ, र आफ्‍नो सुरक्षा सुनिश्‍चित गर्न उपायहरू अपनाउनुपर्छ, तर व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिनु हुँदैन। उसले पहिले परमेश्‍वरका अभिप्रायहरूलाई विचार गर्नुपर्छ, उहाँको घरको कामलाई पहिलो स्थानमा राख्‍नुपर्छ र सुसमाचार सुनाउने कार्यलाई पहिलो स्थानमा राख्‍नुपर्छ। परमेश्‍वरले तिनीहरूलाई दिनुभएको आज्ञा पूरा गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र यो नै पहिले आउँछ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्‍वरको वचनहरू पढेर मैले के बुझेँ भने साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँप्रति वफादार हुनेहरूले, ठुलो रातो अजिङ्गरले परमेश्‍वरको चुनिएका मानिसहरूलाई उन्मत्त भई पक्राउ गरेको देख्दा, देहविरुद्ध विद्रोह गर्न, आफ्नो सुरक्षालाई बेवास्ता गर्न, र परमेश्‍वरको घरका हितलाई कायम राख्न सक्छन्। यो परमेश्‍वरको अभिप्रायलाई विचार गर्ने, मानवता र विवेक भएको व्यक्ति हो। तर जब मैले मण्डलीको काम गर्ने मानिसहरूको आवश्यकता देखेँ, तब मैले केवल आफ्नो सुरक्षा र यो ठाउँ कसरी छिट्टै छोडेर जाने भन्‍नेबारे सोचेँ, ताकि म अब निरन्तर डर र चिन्तामा जिउन नपरूँ। मैले मण्डलीको कामलाई विचार गरिनँ वा सिस्टरहरूका कठिनाइहरूप्रति सहानुभूति राखिनँ। म केवल आफ्ना जिम्मेवारीबाट भाग्न र कछुवाजस्तै आफ्नो खोलमा लुक्न चाहन्थेँ। म त्यस्तो डरपोक भएकी थिएँ, पूर्ण रूपमा मानवताविहीन! विपत्ति सामना गर्दा, मैले आफूलाई जोगाएँ र मण्डलीको कामलाई उपेक्षा गरेँ, आफ्नो स्वार्थी र घृणास्पद प्रकृति देखाएँ। यदि मैले सुधार नगरेकी भए, निश्चित रूपमा आफूमाथि परमेश्‍वरको घृणा र तिरस्कार ल्याउनेथिएँ। म अब देहको पछि लाग्नु वा कायर बन्नु हुँदैनथ्यो। वातावरण जतिसुकै खतरनाक बनेको भए पनि वा कठिनाइहरू जति ठुला भए पनि, मैले मण्डलीको कामलाई कायम राख्न आफूलाई पूर्ण रूपमा लगाउनुपर्थ्यो। यो त सृजित प्राणीमा हुनुपर्ने बफादारी र समर्पण हो, र यो शैतानमाथि विजय प्राप्तिको गवाही हो। म बस्न र घटनापछिको परिस्थिति सम्हाल्न सिस्टरहरूसँग काम गर्न इच्छुक थिएँ।

पछि, ब्रदर—सिस्टरहरूले मेरो स्थितिलाई सम्बोधन गर्न परमेश्‍वरका वचनको एउटा खण्ड मलाई पढेर सुनाए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “ख्रीष्टविरोधीहरू आफ्नो सुरक्षा कायम राख्न सक्दो प्रयास गर्छन्। तिनीहरू मनमनै यस्तो सोच्छन्: ‘मैले जसरी पनि आफ्नो सुरक्षा पक्कापक्की गर्नैपर्छ। जो पक्राउ परे पनि, मचाहिँ पर्नै हुँदैन।’ … यदि कुनै स्थान सुरक्षित छ भने, ख्रीष्टविरोधीहरूले काम गर्न त्यही स्थान रोज्नेछन्, र वास्तवमा तिनीहरू निकै सक्रिय र सकारात्मक देखिनेछन्, आफ्‍नो ठूलो ‘जिम्‍मेवारी बोध’ र ‘बफादारिता’ देखाउँछन्। यदि कुनै काममा खतरा हुन्छ र त्यसमा कुनै घटना घटित हुने सम्‍भावना छ, यो काम गर्ने व्यक्तिलाई ठूलो रातो अजिङ्गरले भेट्टाउने खतरा छ भने, तिनीहरूले यस्तो बहाना बनाएर यो काम अस्वीकार गर्छन्, र यसबाट भाग्‍ने मौका खोज्छन्। खतरा आउनेबित्तिकै, वा खतराको सङ्केत देख्‍नेबित्तिकै, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको कुनै वास्ता नगरी आफूलाई मुक्त गर्ने र आफ्‍नो कर्तव्य त्याग्‍ने उपाय सोच्छन्। तिनीहरूले आफूलाई खतराबाट मुक्त गर्ने बारेमा मात्रै सोच्छन्। तिनीहरूले पहिले नै हृदयमा तयारी गरिसकेका हुन सक्छन्। खतरा देखा पर्नेबित्तिकै, तिनीहरूले मण्डलीको काम कसरी अघि बढ्छ, वा परमेश्‍वरको घरका हितहरूमा के-कस्तो क्षति पुग्‍न सक्छ भन्‍नेबारे, वा दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षाबारे कुनै वास्ता नगरी तिनीहरूले आफूले गरिरहेको कामलाई तुरुन्तै छोड्छन्। तिनीहरूलाई भाग्‍नुको मात्रै मतलब हुन्छ। … यी मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्दा आइपर्ने सतावट भोग्‍न अनिच्‍छुक हुन्छन्; तिनीहरूलाई पक्राउ पर्ने, यातना भोग्‍ने, र जेल पर्ने डर हुन्छ। तथ्य के हुन्छ भने तिनीहरू आफ्नो हृदयभित्र शैतानको अधीनमा परेको लामो समय भइसकेको हुन्छ। तिनीहरूलाई शैतानी शासनको भय हुन्छ, र तिनीहरूमाथि यातना र कठोर सोधपुछ आइपर्ला भनेर तिनीहरूलाई अझै ठूलो डर हुन्छ। त्यसकारण ख्रीष्टविरोधीहरूका लागि, यदि सबै कुरा सहजतापूर्वक अघि बढिरहेको छ, र तिनीहरूको सुरक्षामा कुनै खतरा वा समस्या छैन, र कुनै जोखिम छैन भने, तिनीहरूले आफ्‍नो जोस र ‘बफादारिता,’ अनि आफ्नो सरसम्पत्तिसमेत अर्पण गर्न सक्छन्। तर परिस्‍थितिहरू खराब छन् र परमेश्‍वरमा विश्‍वास गरेको र आफ्‍नो कर्तव्य निभाएको कारण तिनीहरू कुनै पनि बेला पक्राउ पर्न सक्छन् भने, र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको कारण तिनीहरूलाई तिनीहरूको पदबाट हटाइने वा तिनीहरूका नजिकका मानिसहरूले तिनीहरूलाई त्याग्‍ने सम्भावना छ भने, तिनीहरू अत्यन्तै सतर्क हुन्छन्, र यसरी तिनीहरूले न त सुसमाचार सुनाउँछन् अनि न त परमेश्‍वरको साक्षी दिन्छन् न त आफ्‍नो कर्तव्य नै पूरा गर्छन्। समस्याको सानो सङ्केत देख्दा, तिनीहरू कछुवा आफ्नो खपेटामा लुकेजस्तो लुरुक्‍क पछि सर्छन्; जब समस्याको सानो सङ्केत देखा पर्छ, तिनीहरूले आफूलाई सुरक्षित र सकुशल राख्‍नका लागि तुरुन्तै आफूसँग भएका परमेश्‍वरको वचनका पुस्तकहरू र परमेश्‍वरमाथिको विश्‍वाससम्‍बन्धी कुनै पनि कुरा मण्डलीमा फिर्ता गर्न चाहन्छन्। के तिनीहरू खतरनाक हुँदैनन् र? पक्राउ परे भने, के तिनीहरू यहूदा बन्दैनन् र? ख्रीष्टविरोधीहरू यति खतरनाक हुन्छन् कि तिनीहरू कुनै पनि बेला यहूदा बन्‍न सक्छन्; तिनीहरूले परमेश्‍वरलाई धोका दिने सम्‍भावना सधैँ हुन्छ। यसको साथै, तिनीहरू अत्यन्तै स्वार्थी र घृणित हुन्छन्। यो कुरा ख्रीष्टविरोधीहरूको प्रकृति सारले निर्धारित गरेको हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्‍वर खुलासा गर्नुहुन्छ, ख्रीष्टविरोधीहरू, आफूलाई जोगाउन, खतराको सामना गर्दा आफ्नो कर्तव्य त्याग्न चाहन्छन्। उनीहरू मण्डलीको कामलाई उपेक्षा गर्छन् र केवल जीवितै निस्कनेबारे सोच्छन्। यस्ता मानिसहरू स्वार्थी र घृणित हुन्छन्। मैले आफ्नो व्यवहार ख्रीष्टविरोधीको जस्तै रहेको थाहा पाएँ। कुनै खतरा नहुँदा, म सक्रिय रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्थेँ। तर जब धेरै अगुवा र कामदार पक्राउ परे, केही यहुदा बने, र मलाई पनि धोका दिइयो, तब म डरपोक र भयभीत भएँ, मैले यो खतरनाक ठाउँ सकेसम्म चाँडो छोड्न चाहेँ। मैले आफू साँच्चै स्वार्थी र घृणास्पद छु, सधैँ आफ्ना शारीरिक हितहरूलाई विचार गर्छु, र मैले घटनापछिको परिस्थिति सम्हाल्न र नोक्सानीहरू कम गर्न सिस्टरहरूसँग एक भई काम गर्नेबारे सोच्दिनँ भन्‍ने बुझेँ। आफ्ना कर्तव्यहरूमा, ममा अलिकति पनि बफादारी थिएन र मैले ख्रीष्टविरोधीको स्वार्थी र घृणास्पद स्वभाव प्रकट गरेँ। परमेश्‍वरका वचनहरूले खुलासा नगरेका भए, मलाई यो ख्रीष्टविरोधी स्वभाव हो भनेर थाहा हुने थिएन।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, जसले मेरो हृदयमा केही स्पष्टता ल्यायो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यस्ता मानिसहरू डरपोक हुन्छन्, तर यस प्रकटीकरणकाको आधारमा मात्रै हामी तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्न अवश्य नैसक्दैनौँ, तैपनि यो प्रकटीकरणको प्रकृति के हो? यस प्रकटीकरणको सार भनेकै अविश्‍वासीको सार हो। परमेश्‍वरले मानिसहरूको सुरक्षा गर्न सक्नुहुन्छ भन्‍ने कुरा तिनीहरू विश्‍वास गर्दैनन्, र परमेश्‍वरको लागि मेहनत गर्न आफूलाई समर्पित गर्नु भनेको आफूलाई सत्यतामा समर्पित गर्नु हो, र यो परमेश्‍वरले अनुमोदन गर्नुहुने कुरा हो भन्‍ने कुरा पनि तिनीहरू बिलकुलै विश्‍वास गर्दैनन्। तिनीहरू हृदयमा परमेश्‍वरको डर मान्दैनन्; तिनीहरू शैतान र दुष्ट राजनीतिक दलहरूको मात्रै डर मान्छन्। तिनीहरू परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, तिनीहरू सबै कुरा परमेश्‍वरकै हातमा छ भन्‍ने विश्‍वास गर्दैनन्, अनि अवश्य नै तिनीहरू परमेश्‍वरले उहाँको खातिर, र उहाँको मार्ग पछ्याउन, र उहाँको आज्ञा पूरा गर्न सबै कुरा अर्पित गर्ने व्यक्तिलाई अनुमोदन गर्नुहुन्छ भन्‍ने कुरामा पनि विश्‍वास गर्दैनन्। तिनीहरू यीमध्ये कुनै कुरा पनि देख्‍न सक्दैनन्। अनि, तिनीहरू केमा चाहिँ विश्‍वास गर्छन् त? तिनीहरू आफू ठूलो रातो अजिङ्गरको हातमा परे, आफ्नो अन्त्य नराम्रो हुनेछ, आफूलाई जेल सजाय हुनेछ वा आफ्नो ज्यानसमेत जाने खतरा हुनेछ भन्‍ने कुरामा विश्‍वास गर्छन्। तिनीहरू हृदयमा आफ्नै सुरक्षाबारे मात्रै विचार गर्छन्, मण्डलीको कामबारे विचार गर्दैनन्। के तिनीहरू अविश्‍वासी होइनन् र?(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्‍वरका वचनहरूले मेरो साँचो स्थिति खुलासा गरे। म सधैँ सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गरेको दाबी गर्थेँ, तर सीसीपीले गरेको पक्राउको सामना गर्दा, मैले सबै कुरा परमेश्‍वरको हातमा छ भनेर विश्‍वास गरिनँ, झन् परमेश्‍वरको अद्वितीय अख्तियारमाविश्‍वास गर्न त परको कुरा हो। जब मलाई एक यहूदाले धोका दिएको छ र प्रहरीले खेदो गरिरहेको छ भन्‍ने थाहा भयो, तब मलाई पक्रा परिने, अङ्गभङ्ग गरिने, वा कुटेर मारिने डर लाग्यो, र परमेश्‍वरलाई धोका दिने चाहना पनि भयो। तथ्यहरूका प्रकटीकरणमार्फत, मैले आफू साँच्चै कत्ति डरपोक र कायर रहेछु, र ममा परमेश्‍वरको अख्तियारबारे कुनै बुझाइ रहेनछ भन्‍ने देखेँ। मैले आफ्नो जीवन शैतानको हातमा भएको जस्तो व्यवहार गरेँ। सीसीपले गरेको व्यापक पक्राउद्वारा म यति डराएँ कि मैले पूर्ण रूपमा हिम्मत हारेँ। म एकदमै दयनीय बनेकी थिएँ! वास्तवमा, सीसीपीले मलाई निगरानी वा पक्राउ गर्न जुनसुकै विधि वा उन्नत प्रविधि प्रयोग गरे पनि, परमेश्‍वरको अनुमतिविना, तिनीहरूको योजनाहरू सफल हुन सक्दैनन्। मलाई २०२१ को एक दिन याद आयो, त्यो बेला म एउटी सिस्टरको घरमा भेटघाटका लागि जान लागेकी थिएँ। माथिल्लो तला चढ्नै लाग्दा, मैले मण्डलीको एउटा जरुरी काम सम्झेँ र माथि नचढ्ने निर्णय गरेँ। भोलिपल्ट, मैले ठिक त्यही समयमा प्रहरीले उनको घरमा छापा मारेछ भन्‍ने थाहा पाएँ। परमेश्‍वरको सुरक्षविना, म प्रहरीको हात परिसकेकी हुनेथिएँ। त्यसै गरी, मलाई यहूदाहरूले धोका दिएका, र चिनियाँ कम्युनिस्ट पार्टीलाई म मण्डलीको अगुवा हुँ भन्‍ने थाहा भएको र मलाई पछ्याउन उच्च—प्रविधिको निगरानी प्रयोग गरिरहेको भए पनि, मलाई थाहा थियो परमेश्‍वरको अनुमतिविना, ठुलो रातो अजिङ्गरले मलाई पक्रन जसरी प्रयास गरे पनि, त्यसको सबै प्रयास व्यर्थ हुनेथ्यो। यदि परमेश्‍वरले अनुमति दिनुभएको भए, मैले भाग्न खोजे पनि भाग्न सक्दिनथेँ। मेरो जीवन र मृत्यु उहाँका हातमा छ, शैतानका हातमा होइन। खतरा सामना गर्दा, मेरो भाग्ने चाहना मृत्युको अत्यधिक डर र जीवनको लोभबाट उत्पन्न भएको थियो। मैले आफ्नो जीवनलाई सबैभन्दा महत्त्वपूर्ण ठानेँ, यदि मैले जीवन गुमाएँ भने, तबउसो मुक्ति पछ्याउन सक्दिनँ र मसँग राम्रो परिणाम र गन्तव्य हुनेछैन भन्‍ने सोचेँ। त्यसैले, खतरा उत्पन्न हुँदा, म सधैँ आफ्नो जीवन जोगाउन चाहन्थेँ। प्रभु येशूले भन्‍नुभयो: “आफ्नो जीवन भेट्टाउनेले त्यो गुमाउनेछ: र मेरो खातिर आफ्नो जीवन गुमाउनेले त्यो भेट्टाउनेछ(मत्ती १०:३९)। इतिहासभऱि, प्रभुका चेला र प्रेरितहरू सुसमाचार फैलाउँदा, ढुङ्गाले हानेर मारिएका र घोडाहरूले तानेर च्यातिएका छन्। तिनीहरूको शरीर मरे पनि, तिनीहरूले शैतानसामु परमेश्‍वरको गवाही दिए, जुन धार्मिकताका लागि सतावट भोग्नु र परमेश्‍वरद्वारा सम्झिनु हो। अर्कोतर्फ, खतरामा हुँदा परमेश्‍वरलाई धोका दिनेहरू यहुदा बन्छन्, वा जीवनको लोभ र मृत्युको डरले आफ्ना कर्तव्य त्याग्छन्, देहमा जीवित देखिएलान्, तर तिनीहरूले परमेश्‍वरसामु आफ्नो गवाही गुमाएका हुन्छन्, र परमेश्‍वर तिनीहरूलाई स्याबासी दिनुहुन्न। परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकारेर म भाग्यशाली थिएँ, जुन ठुलो अनुग्रह हो। यदि परमेश्‍वरले मलाई पक्राउ पर्न अनुमति दिनुभयो भने, मैले कुनै व्यक्तिगत छनोट नगरी शैतानसामु परमेश्‍वरको गवाही दिनुपर्छ, आफू पक्राउ परेँ वा मरेँ भने पनि, त्यो अर्थपूर्ण र मूल्यवान् हुनेछ भनेर जान्नुपर्छ। पछि, धेरै मण्डलीका सदस्यहरूले यहूदाहरूबाट धोका पाए, र सामान्य भेला र कर्तव्यहरूमा अवरोध पुग्यो। ब्रदर—सिस्टरहरू डरमा जिए। यस्तो अवस्था सामना गर्दा, म पनि कमजोर भएँ अनि प्रायः परमेश्‍वरलाई प्रार्थना गर्थेँ, आस्था र साहस माग्थेँ। मैले जतिसुकै कठिनाइहरू आए पनि, म घटनापछिको परिस्थिति सम्हाल्न उहाँमा भर पर्नेछु भनेर सङ्कल्प गरेँ। एउटा मण्डलीलाई तत्कालै नयाँ अगुवाहरू चाहियो, र मैले त्यहाँ गएर चुनाव व्यवस्थित गर्नुपर्थ्यो। ममा चिन्ता भए पनि, विशेष गरी प्रहरीको स्काईनेट निगरानी प्रणालीद्वारा पछ्याइनेबारे चिन्ता भए पनि, अनि मलाई डर र भय लागे पनि, मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “परमेश्‍वरको अनुमतिविना, भूमिमा पानीको थोपा वा बालुवाको कण छुनु समेत शैतानको लागि कठिन हुन्छ; परमेश्‍वरको अनुमतिविना, शैतानसँग भूमिको कमिलोलाई हल्‍लाउने स्वतन्त्रता समेत छैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिलाई छुने कुरा त परै जाओस्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १)। परमेश्‍वरका वचनहरूले मेरो आस्थालाई बलियो बनाए। शैतान परमेश्‍वरको हातको सेवा दिने वस्तु, प्रतिभार मात्र हो, र ममा कुनै डर हुनु हुँदैन। मैले प्रार्थना गर्ने र परमेश्‍वरमा भर पर्ने, आफूलाई उहाँका हातमा सुम्पने र आफ्ना कर्तव्य पूरा गर्ने गर्नैपर्छ। त्यसपछि म मण्डलीको अगुवा चुनाव व्यवस्थित गर्दा परमेश्‍वरमा भर परेँ, र यसरी अभ्यास गर्दा, मलाई हृदयमा शान्ति र स्थिरता महसुस भयो।

यो अनुभवमार्फत, मैले आफ्नो स्वार्थी र घणास्पद भ्रष्ट स्वभावबारे केही बुझाइ, परमेश्‍वरको सर्वशक्तिमानता र सार्वभौमिकताको साँचो अनुभूति, अनि परमेश्‍वरलाई विरोध गर्ने सीसीपीको सारबारे सुझबुझ प्राप्त गरेँ। मैले यी अन्तर्ज्ञान आरमदायी वातावरणमा प्राप्त गर्न सक्दिनथेँ।

अघिल्लो: ६८. अभिभावकीय दयालाई कुन रूपमा हेर्ने

अर्को: ७०. मैले आफ्ना घृणित भावनालाई कसरी पन्छाएँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

५९. इमानदार उजुरीको फल

झाओ मिङ्ग, चीनअप्रिल २०११ मा, मैले देशको अर्को भागमा रहेको एउटा मण्डलीकी याओ लान नामक अगुवाको स्थान लिनुपर्ने भयो। हस्तान्तरणको बेला,...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्