६४. धन र ख्यातिको दलदलबाट मुक्त हुँदा

म सानो छँदा मेरो परिवार गरिब थियो, र मानिसहरूले हामीलाई हेयका दृष्टिले हेर्थे। त्यसैले मैले सोचेँ, “ठूलो भएपछि म धेरै पैसा कमाएर अरूको नजरमा उच्च बन्नेछु।” पछि, मेरो विवाह भयो, तर श्रीमान्को परिवार पनि गरिब नै थियो। मैले जहाँ सकिन्छ, त्यहाँबाट पैसा कमाउने उपाय खोजेँ र कुनै अवसर खेर जान दिइनँ। हामीले ट्याक्सी चलाउनेदेखि तरकारी बेच्नेसम्मका काम गर्‍यौँ, तर खासै पैसा कमाउन सकेनौँ। तर, मैले हार मानिनँ। मैले आफ्नी कजनले च्याउ खेतीबाट राम्रो पैसा कमाएर छिट्टै राम्रो घर बनाएको देखेँ। त्यसैले, मैले उनीसँग च्याउ खेती सिक्ने निर्णय गरेँ। हामीले शरददेखि वसन्तसम्म धेरै मेहनत गर्‍यौँ, तर, हाम्रो च्याउ बेच्नेबेलामा च्याउको भरमार भएर हरेक ठाउँमा सजिलै पाइयो। नतिजास्वरूप, हामीले एक पैसा पनि कमाउन सकेनौँ। हाम्रो आधा वर्षको परिश्रम खेर गयो। घण्टौँसम्म निहुरेर काम गर्नाले गानु जाने समस्या भयो। मैले उपचारका लागि जतासुकै गएर धेरै पैसा खर्च गरेँ, जसले हाम्रो पहिल्यै कमजोर आर्थिक अवस्था झन् बिगार्यो। तर पनि, मैले हार मानिनँ। एकदिन, मैले ठूलो परेवा पालन फार्मले वार्षिक लाखौँ युआन कमाएको समाचार देखेँ। मेरो आँखामा चमक आयो, “लाखौँ! हाम्रो वरपर त कुनै परेवा पालन फार्म पनि छैन। यदि मैले अहिले नै सुरु गरेँ भने, केही वर्षमै मालिक बन्न सक्छु।” त्यसैले, परेवा पालन गर्न हामीले ऋण लियौँ। परेवाहरू फस्टाउँदै गरेको देख्दा मेरो जोस र उत्साह बढ्यो। तर हामीले पहिलो खेप बेच्नै लाग्दा, बर्ड फ्लूको महामारी फैलियो र हामीले २०,००० युआनभन्दा बढी गुमायौँ। एक वर्षको कडा परिश्रम पछि पैसा खेर गएको सम्झिँदा मेरो मुटु चक्कुले काटे झैँ भयो। राति ओछ्यानमा पल्टेर, म रोएँ र आफैँलाई सोधेँ, “मेरो भाग्य किन यति कठोर छ? अरूले कति सजिलै पैसा कमाए जस्तो लाग्छ, तर मलाई चाहिँ किन यति गाह्रो?” तनावका कारण मेरो स्वास्थ्य बिग्रन थाल्यो। म न निदाउन सक्थेँ, न राम्ररी खान सक्थेँ, अनि पेटमा समस्या आयो। मेरो तौल घटेर चालिस किलोको आसपास पुग्यो, र म हिँड्दा पनि लरबरिन थालेँ। तर पनि, मैले हरेस खाइनँ र मनमनै सोचेँ, “अरूसँग जस्तै मसँग पनि दिमाग छ, दुई हात छन्। म अरूभन्दा कम बुद्धिमान छैन। मैले पैसा कमाउन सक्दिनँ भनेर म विश्वास गर्दिनँ! मैले फेरि कोसिस गर्नैपर्छ!” पछि, मैले बार्बेक्यू बेच्नु फाइदाजनक हुन्छ भनेर सुनेँ। स्वास्थ्य कमजोर हुँदाहुँदै पनि, म यो व्यवसाय सिक्न अर्को सहर गएँ। घर फर्किएपछि, मैले बार्बेक्यू रेस्टुरेन्ट सुरू गरेँ। तर, तीव्र प्रतिस्पर्धाका कारण व्यवसाय धेरै समय चल्न सकेन र बन्द गर्नुपर्‍यो। मैले बुझ्नै सकिनँ अरूहरू किन यही व्यवसायमा सफल भएर एक रातमै ३,००० युआन कमाउन सक्छन्, तर म भने केही पनि कमाउन सक्दिनँ। मलाई मेरी आमाले सधैँ मेरा “ठूला महत्त्वाकाङ्क्षा, तर कमजोर भाग्य!” भन्ने गरेको मैले सम्झिएँ। मैले सोचेँ, मेरी दिदीले तरकारीको व्यवसायबाट केही वर्षमै धेरै धन कमाइन्, राम्रो घर बनाइन्, र लाखौँ बचत गरिन्, तर म भने एक दशकभन्दा बढी सङ्घर्ष गरेर पनि असफल नै भएँ। के वास्तवमै मेरो भाग्य यस्तै नै हो? मैले यसबारे जति धेरै सोचेँ, उति नै दुःखी हुन थालेँ। त्यसपछि, म निराशामा डुबेँ, कुनै आशा नै देखिनँ र केही दिनसम्म बिरामी परेँ, हिँडडुल गर्नसम्म चाहिनँ, म सदाका लागि निदाउन पाए र फेरि कहिल्यै बिउँझिन नपरे हुन्थ्यो भन्ने चाहेँ। यो जीवन अत्यन्तै कष्टकर थियो। मेरा श्रीमान् पनि हरेक दिन रक्सी पिएर आफ्नो पीडा भुलाउने गर्नुहुन्थ्यो।

त्यसपछि, हामीले ब्रेकफास्ट व्यवसाय सुरु गर्‍यौँ। अनपेक्षित रूपमा, यो व्यवसाय राम्रो चल्यो। हामी हरेक दिन राति १ बजे उठ्नुपर्थ्यो र बिहान १० बजेसम्म काम गर्नुपर्थ्यो, अनि मात्र नास्ता खान पाउँथ्यौँ। यसरी भोकै बस्दा मेरो पेटको समस्या झन् बढ्यो, र मलाई अम्लपित्त र रगतमा चिनीको कमी हुन थाल्यो। यसले मेरो श्रीमान्को पनि गर्धनको हड्डीमा समस्या ल्यायो, जसले गर्दा उहाँका हातहरू लाटो हुन र दुख्न थाले। डाक्टरले उहाँलाई ड्रिप थेरापीका लागि केही दिन छुट्टी लिने सल्लाह दिए। तर उहाँले हरेक दिन ड्रिप लिएर समय बिताउनु व्यर्थ ठान्नुभयो, र दैनिक एक हजार युआनको आम्दानी छुटाउनु ठूलो घाटा हुने सोच्नुभयो। त्यसैले उहाँले दुखाइ कम गर्ने औषधि खान थाल्नुभयो, र व्यापार सुस्ताएपछि मात्र उपचार गर्ने योजना बनाउनुभयो। समयसँगै उहाँको अवस्था झन् बिग्रँदै गयो। उहाँलाई झन् झन् धेरै दुखाइ कम गर्ने औषधि चाहिन थाल्यो, एउटा बाट पछि दुई-तीनवटा चाहिने भयो। जब पीडा असह्य हुन्थ्यो, उहाँ मलाई गाली गर्नुहुन्थ्यो, र उहाँ झन् रिसाहा बन्दै जानुभयो। हाम्रो कुराकानी लगभग झगडामै सीमित हुन थाल्यो। शारीरिक पीडा अनि मानसिक र आत्मिक तनावले मलाई पूर्ण रूपमा निरीह बनायो। यति धेरै मेहनत गरेको के अर्थ? म बिहानदेखि बेलुकासम्म निरन्तर काम गरिरहने एउटा मेसिनजस्तै भएकी थिएँ। म यति धेरै थकित हुन्थेँ कि मेरो कम्मर कटकटी खान्थ्यो र ढाड दुखिरहन्थ्यो। हामीले पैसा त कमायौँ, तर त्यसलाई खर्च गरेर रमाइलो गर्ने समय नै भएन। हामी सधैँ पैसाले खुसी ल्याउँछ भन्थ्यौँ, तर पैसा हुँदाहुँदै पनि म झन् दुःखी किन महसुस गरिरहेकी थिएँ?

एक वर्षपछि, हामी नयाँ घर बनाउन आफ्नै गाउँ फर्कियौँ। एक दशकभन्दा बढीको सङ्घर्षपछि अन्ततः राम्रो घरमा बस्न पाउने सोच्दा मलाई एक किसिमको उपलब्धिको अनुभूति भयो। हाम्रा छिमेकी, आफन्त, र साथीहरूले हाम्रो क्षमता र साहसको प्रशंसा गरे, र घर निर्माणका लागि आवश्यक सामग्री जुटाउनसमेत सक्रिय रूपमा मदत गरे। गाउँको पार्टी शाखा सचिवले हाम्रो घर निर्माणका लागि स्वीकृति दिलाएर विशेष सहायता गरे। प्रशस्त पैसा भएपछि मलाई फरक महसुस भयो, र सबै कुरा सजिलै हुँदै गएको जस्तो लाग्यो। तर, जब सबै कुरा राम्रो हुन थालेको थियो, विपत्ति आइलाग्यो। हामीले पुरानो घर भत्काएपछि, मेरो श्रीमान्ले आफ्नो गर्दनमा गहिरो दुखाइ भएको बताउनुभयो र गाउँको अस्पताल जाने निर्णय गर्नुभयो। म अस्पताल पुग्दा डाक्टरले हतारिँदै भने, “तपाईं समयमै आइपुग्नुभयो! तपाईंको श्रीमान्को अवस्था अत्यन्तै नाजुक छ!” म अक्क न बक्क परेँ। “यो असम्भव छ,” मैले सोचेँ, “मेरो श्रीमान् सधैँ स्वस्थ हुनुहुन्थ्यो, बिहे भएदेखि त सामान्य रुघाखोकीसमेत कमै लाग्थ्यो। उहाँ अहिल्यै कसरी मर्नु होला र?” म हुत्तिँदै वार्डमा पुगेँ र मेरो श्रीमानलाई त्यहाँ पल्टेको देखेँ। उहाँको अनुहारको रङ्ग अँध्यारो थियो र आँखा बन्द थिए। मैले उहाँको हात समातेँ र रुँदै उहाँको नाम पुकारेँ, तर उहाँ फेरि कहिल्यै उठ्नुभएन। डाक्टरले मेरो श्रीमानलाई सम्भवत: गर्धनमा भएको समस्याले उहाँका रक्त नली च्यापिएर रक्तसञ्चारमा बाधा पुगेको र त्यसैका कारण कडा हृदयघात भएको हुनसक्ने बताए। मेरो श्रीमान्को अकस्मात् मृत्युले मलाई स्तब्ध बनायो। “दुई बच्चा भएकी महिला, म कसरी जिउन सकूँली?” मैले सोचेँ, “मैले हाम्रो जीवन सुधारियोस् र अरूले हामीलाई हेला नगरुन् भन्ने मात्र चाहन्थेँ। वर्षौँको कडा परिश्रमपछि, जति बेला हाम्रो स्थिति सुध्रिन लागेको थियो, मेरो श्रीमान्को अचानक निधन भयो। मैले आशा गरेको सबै कुरा किन यति टाढा र पहुँचभन्दा बाहिर देखिन्छ?” म आफूलाई कोठामा बन्द गरेर निरन्तर रोइरहेँ। मेरा दिदीबहिनीहरू, मैले आफैँलाई हानि पुर्‍याउने डरले, प्रत्येक दिन पालोपालो मलाई भेट्न आउँथे। तर उनीहरूले मलाई केही सान्त्वनाका शब्दहरू मात्र दिन सक्थे, जसले मेरो हृदयको पीडालाई हटाउन सक्दैनथ्यो।

पछि, एक आफन्तले मलाई सुसमाचार सुनाउन एक सिस्टरलाई ल्याए। ती सिस्टरले मलाई परमेश्‍वरका वचनहरूको एक खण्ड पढेर सुनाइन्: “सर्वशक्तिमान्‌ले यी मानिसहरूमाथि कृपा गर्नुहुन्छ जो गहिरोगरी कष्टमा छन्‌; साथसाथै, यी चेतना नभएका मानिसहरूप्रति उहाँ वितृष्ण महसुस गर्नुहुन्छ, किनकि मानवबाट उत्तर प्राप्त गर्न उहाँले लामो समय पर्खनुपरेको छ। उहाँले खोज्न चाहनुहुन्छ, तेरो हृदय र तेरो आत्मा खोज्न चाहनुहुन्छ, तेरो लागि पानी र खाना ल्याउन र तँलाई ब्यूँझाउन चाहनुहुन्छ, ताकि तँ अब उप्रान्त तिर्खाउन र भोकाउन नपरोस्‌। जब तँ थाक्छस् र जब तैँले यस संसारको निराशाजनक उजाडताका केही कुरा महसुस गर्न थाल्छस्, तब तँ नहरा, तँ नरो। सर्वशक्तिमान्‌ परमेश्‍वर, रखवालाले जुनसुकै बखत पनि तेरो आगमनलाई अङ्गाल्नुहुनेछ। उहाँ तेरो छेउमै रखवाली गर्दै हुनुहुन्छ, तँ फर्किने प्रतीक्षा गर्दै हुनुहुन्छ। उहाँ तेरो स्मृति अकस्मात् फर्किने दिनको प्रतिक्षा गर्दै हुनुहुन्छ: जुन दिन तैँले तँ परमेश्‍वरबाट आइस्, तैँले कुनै अज्ञात समयमा आफ्नो दिशा गुमाइस्, कुनै एक अज्ञात समयमा तैँले बाटोमा चेतना गुमाइस्, र कुनै अज्ञात समयमा एक ‘पिता’ प्राप्त गरिस् भन्‍ने कुरा महसुस गर्छस्; यसका अतिरिक्त, जब तैँले सर्वशक्तिमान्‌ले सदा तेरो रखवाली गर्दै, धेरै समयदेखि तेरो फिर्ती पर्खँदै आउनुभएको छ भन्‍ने कुरा महसुस गर्छस्। उहाँले व्यग्र तृष्णाका साथ रखवाली गर्दै, र बिना कुनै उत्तर तेरो प्रतिक्रिया पर्खँदै आउनुभएको छ। उहाँको रखवाली र प्रतीक्षा अमूल्य छन्, र ती मानव हृदय र मानव आत्माका खातिर हुन्। सायद ती रखवाली र प्रतीक्षा कालातीत छन्, र सायद ती समाप्तिमा आएका छन्। तर, तेरो हृदय र तेरो आत्मा अहिले ठ्याक्कै कहाँ छन् भन्‍ने कुरा तैँले जान्नुपर्दछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सर्वशक्तिमान्‌को सुस्केरा)। “जब तँ थाक्छस् र जब तैँले यस संसारको निराशाजनक उजाडताका केही कुरा महसुस गर्न थाल्छस्, तब तँ नहरा, तँ नरो। … उहाँ तेरो छेउमै रखवाली गर्दै हुनुहुन्छ, तँ फर्किने प्रतीक्षा गर्दै हुनुहुन्छ।” मैले पत्तै नपाई मेरा आँसु बग्न थाल्यो। मैले वर्षौँसम्म भोगेका दुःखकष्ट र सहनुपरेका अकथनीय पीडाबारे चिन्तन गरेँ। मेरा बाबु-आमा बितिसक्नुभएको थियो, र मेरो श्रीमान् पनि हुनुहुन्न। मेरो मनको दु:ख कसलाई पोख्न सक्थेँ? कसले पो बुझ्थ्यो र? परमेश्‍वरका वचनहरूले मेरो हृदय छोए, र मैले आफूभित्र सबैतिर न्यानोपन महसुस गरेँ। म आफ्नो मनमा थुप्रिएका सबै पीडा चिच्याएर भन्न चाहन्थेँ, तर कहाँबाट सुरू गर्ने थाहा थिएन। म केवल रोइरहेँ। ती सिस्टरले भनिन्, “म तपाईंको भावना बुझ्छु। हामीले तपाईंलाई सान्त्वना मात्र दिन सक्छौँ, तर तपाईंको पीडा पूर्ण रूपमा हटाउन सक्दैनौँ। केवल परमेश्‍वरले मात्र हाम्रो पीडा मेटाउन सक्नुहुन्छ।” मैले सोधेँ, “यो सबै पीडा कहाँबाट आउँछ? के परमेश्‍वरले यसलाई साँच्चै मेटाउन सक्नुहुन्छ?” त्यसपछि ती सिस्टरले मलाई सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको एक खण्ड पढेर सुनाइन्: “तेरो हृदयमा विशाल रहस्य छ, जसका बारेमा तँ कहिल्यै जानकार भएको छैनस्, किनकि तँ ज्योतिबिनाको संसारमा जिउँदै आइरहेको छस्। तेरो हृदय र तेरो आत्मा दुष्टद्वारा बलजफती खोसिएको छ। तेरा आँखाहरू अन्धकारले धमिला भएका छन्‌ र तँ न दिनमा आकाशको सूर्य देख्न सक्छस् न राती चम्किरहने तारा नै। तेरा कानहरू कपटी शब्दहरूले टालिएका छन्, र तँ न यहोवाको गर्जनको आवाज सुन्न सक्छस्, न उहाँको सिंहासनबाट बग्ने पानीहरूको आवाज नै। तेरो अधिकारमा भएका तेरा सबै चीज, जुन सर्वशक्तिमान्‌ले तँलाई दिनुभएको थियो, तैँले ती सबै गुमाइसकेको छस्। तँ पीडाको अनन्त सागरमा प्रवेश गरेको छस् जहाँ उद्धार गर्ने कुनै शक्ति छैन, बाँच्ने कुनै आशा छैन, र तैँले गर्ने कार्य भनेको केवल सङ्घर्ष र हस्याङफस्याङ मात्र हो…। त्यस क्षणपश्चात्, तँ दुष्टद्वारा पीडित बन्न अभिशप्त भइस्, सर्वशक्तिमान्‌को आशिषबाट धेरै टाढा रहिस्, सर्वशक्तिमान्‌का भरणपोषणको पहुँचभन्दा बाहिर रहिस्, फर्केर आउन नसक्ने मार्गमा हिँडिरहिस्। लाखौँ आह्वानहरूले पनि तेरो मन र आत्मालाई मुस्किलले मात्र जगाउन सक्छन्‌। तँ दुष्टको काखमा चीर निद्रामा सुतेको छस्, जसले तँलाई दिशाविहीन वा मार्गसङ्केतरहित असीम राज्यक्षेत्रमा लोभ्याएको छ। तत्पश्चात्‌ तैँले तेरो मौलिक निर्दोषता र शुद्धता गुमाइस्, र सर्वशक्तिमान्‌को हेरचाहबाट अलग बस्न थालिस्। तेरो हृदयमा, दुष्टले सबै मामिलाहरूमा तँलाई निर्देशित गर्छ र त्यो नै तेरो जीवन बनेको छ। अब तँ ऊसँग डराउनु, ऊबाट टाढा रहनु, वा ऊमाथि शङ्का गर्नुको सट्टा उसलाई आफ्नो मनमा रहेको परमेश्‍वरका रूपमा व्यवहार गर्छस्। तैँले उसलाई प्रतिष्ठापित गर्न र उसैको आराधना गर्न थालिस्, र तिमीहरू दुवै जना शरीर र छाया झैँ अविभाज्य भएका छौ, सँगसँगै जिउन र मर्न प्रतिबद्ध बनेका छौ। तँ कहाँदेखि आएको थिइस्, तेरो जन्म किन भएको थियो, वा तँ किन मर्नेछस् भन्‍ने कुराको ज्ञान तँलाई छैन। तँ सर्वशक्तिमान्‌लाई एक अपरिचितको रूपमा हेर्छस्; उहाँले तेरा लागि गर्नुभएका सबै कुराहरूलाई छोडौँ, तँलाई त उहाँको मूलका बारेमा समेत थाहा छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सर्वशक्तिमान्‌को सुस्केरा)। ती सिस्टरले सङ्गति गर्दै भनिन्, “परमेश्‍वरले मानव पीडाको मूल कारण खुलासा गर्नुभएको छ। सुरुवातमा, परमेश्‍वरले मानिसलाई सिर्जना गरी तिनलाई इडनको बगैँचामा बस्न डोऱ्याउनुभयो। त्यतिबेला, मानिसहरूले परमेश्‍वरको कुरा मान्थे, चिन्तामुक्त जीवन बिताउँथे, र यस्तो दुःख र समस्याहरू भोग्दैनथे। तर, जब मानिसहरू शैतानको प्रलोभनमा परी भ्रष्ट भए, तिनीहरूले परमेश्‍वरलाई धोका दिए, उहाँको हेरचाह र सुरक्षाबाट तर्किए, र शैतानको अधीनमा परे। आज मानिसहरू पापमा जिइरहेका छन्—पैसा, हैसियत, प्रसिद्धि र प्राप्तिका लागि धोका दिन्छन्, षड्यन्त्र रच्छन्, झगडा गर्छन्, एकअर्कालाई फसाउँछन्, र कतिपयले त आत्महत्यासम्म गर्ने सोच्दछन्। यो सबै दुःख शैतानले ल्याएको हो। हजारौँ वर्षदेखि शैतानले मानिसहरूलाई सांसारिक व्यवहारका लागि धेरै दर्शनहरू र ‘दुनियाँ पैसाको इसारामा चल्छ,’ ‘आफ्नै हातले राम्रो जीवन बनाऊ,’ र ‘आफ्नो नियति आफ्नै हातमा हुन्छ’, जस्ता भ्रमपूर्ण सिद्धान्तहरू सिकाउँदै आएको छ। मानिसहरू परमेश्‍वरको सार्वभौमिकताको सट्टा शैतानका यी दुष्टतापूर्ण कुराहरूमा विश्वास गर्छन्, शैतानका नियमहरूअनुसार जिउँछन् र तिनैलाई पछ्याउँछन्। परमेश्‍वरको नेतृत्व र मार्गदर्शन बिना, मानिसहरू जीवनको अर्थ नबुझी, वा आफूहरू कहाँबाट आए वा जाँदैछन् भन्ने कुरा नबुझी, वर्षौंवर्ष, मरिहत्ते गरेर पैसा, हैसियत, प्रसिद्धि र प्राप्तिका पछि दौँडिदै, थाहै नपाई समाजका दुष्ट प्रवृत्तिहरूको पछि लाग्छन्। यी सबै कुराले उनीहरूलाई रित्तो र व्यथित महसुस गराउँछ। मानिसहरूले परमेश्‍वरलाई धोका दिए तापनि, उहाँले तिनीहरूलाई मुक्ति दिने आश मार्नु भएको छैन। परमेश्‍वरले ६,००० वर्षदेखि मानिसहरूलाई डोर्‍याउँदै र मुक्ति दिँदै आउनुभएको छ, मानिसहरू उहाँकहाँ फर्कने प्रतिक्षा गर्दै उहाँले आफ्नो काम गरिरहनुभएको छ। आखिरी दिनहरूमा, सर्वशक्तिमान् मुक्तिदाता परमेश्‍वर, मानिसहरूलाई मुक्ति दिन सत्यता व्यक्त गर्दै स्वयम् पृथ्वीमा आउनुभएको छ। परमेश्‍वरले व्यक्त गर्नुभएको सत्यतालाई स्वीकार गरेर मात्र मानिसहरूले शैतानका चालहरू खुट्याउन सक्छन् र शैतानको भ्रष्ट्रता तथा यातनाबाट छुटकारा पाउन सक्छन्।” सिस्टरहरूको कुरा सुनेर म निकै प्रभावित भएँ। के मेरो अवस्था ठ्याक्कै यस्तै थिएन र? एक दिन अरूभन्दा माथि उठ्ने र मानिसहरूको सम्मान पाउने आशामा, केवल धेरै पैसा कमाउनका लागि मैले दिनरात अथक रूपमा खटेर काम गरिरहेकी थिएँ, तर अन्त्यमा, म थकित र बिरामी मात्रै भएँ र त्यो सबपश्चात् पनि रित्तो र पीडायुक्त नै महसुस गरिरहेकी थिएँ। तर यसरी जिउनु ठीक हो कि होइन भनेर मैले कहिल्यै सोचिनँ। किनभने पुस्तौँपुस्तादेखि यस्तै चल्दै आएको थियो, होइन र? म मात्र अपवाद कसरी हुन सक्थेँ र? अहिले आएर मात्र मैले यो सम्पूर्ण पीडा शैतानको भ्रष्टता र यातनाको परिणाम रहेछ भन्ने बुझेँ। यदि सर्वशक्तिमान् परमेश्‍वरले शैतानको भ्रष्टताको वास्तविक तस्वीर खुलासा नगर्नुभएको भए, म यी कुरा कहिल्यै बुझ्ने थिइनँ र शैतानद्वारा बहकिरहेकी र पीडामा सङ्घर्ष गरिरहेकी हुने थिएँ।

पछि, मैले सर्वशक्तिमान् परमेश्‍वरका थप वचनहरू पढेँ: “मानिसहरूले परमेश्‍वरका योजनाबद्ध कार्यहरू र परमेश्‍वरको सार्वभौमिकतालाई पहिचान नगर्ने हुनाले, तिनीहरूले आफ्ना वर्तमान परिस्‍थितिहरू परिवर्तन गर्ने र आफ्‍नो नियति परिवर्तन गर्ने व्यर्थ आशा गर्दै, सधैँ अवज्ञाकारी र विद्रोही मनोवृत्तिका साथ नियतिको सामना गर्छन्, अनि सधैँ परमेश्‍वरको अख्तियार र सार्वभौमिकता, र नियतिमा रहेका कुराहरूलाई पन्छाउन चाहन्छन्। तर तिनीहरू यसमा कहिल्यै सफल हुन सक्दैनन् र तिनीहरूले हर मोडमा ठक्‍कर खान्छन्। व्यक्तिले आफ्‍नो जीवन खेर फाल्‍ने क्रममा, उसको अन्तस्करणमा हुने यो संघर्षले यति भयानक पीडा दिन्छ कि त्यसले उसको हड्डी नै गलाउँछ। यो पीडाको कारण के हो त? के यो परमेश्‍वरको सार्वभौमिकताको कारण हो कि व्यक्ति अभागी भएर जन्‍मेकोले गर्दा हो? अवश्य नै, दुवै सत्य होइन। आधारभूत रूपमा, मानिसहरूले लिने मार्गहरू, तिनीहरूले आफ्‍नो जीवन जिउन रोजेका शैलीहरूको कारण यस्तो हुन्छ। … यदि मानिसहरूले मानव नियतिमाथि र सम्पूर्ण मानव मामलाहरूमाथि सृष्टिकर्ताको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई साँचो रूपमा पहिचान गर्न सक्दैनन् भने, यदि तिनीहरू सृष्टिकर्ताको प्रभुत्वमा साँचो रूपमा समर्पित हुन सक्दैनन् भने, तिनीहरू ‘आफ्‍नो नियति आफ्‍नै हातमा हुन्छ’ भन्‍ने विचारद्वारा सञ्‍चालित हुन र बन्धनमा पर्न कठिन हुनेछैन। तिनीहरूले नियति र सृष्टिकर्ताको अख्तियारविरुद्धको आफ्नो तीव्र संघर्षको पीडालाई हटाउन कठिन हुनेछ, अनि, अवश्य पनि तिनीहरूले साँचो रूपमा स्वतन्त्र र मुक्त हुन, र परमेश्‍वरको आराधना गर्ने मानिस बन्‍न पनि कठिन नै हुनेछ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। मैले परमेश्‍वरका वचनहरू पढ्दै गर्दा, मेराे अनुहारबाट आँसु बग्न थाले, र विगतका अनुभवहरू मेरो मनमा झल्झली दोहोरिए। अरूबाट हेपिन नपरोस् भनेर, खालि लगनशीलता र कडा परिश्रमले मात्र, म आफ्नो भाग्य आफ्नै हातले बदल्न सक्छु भन्ने विश्वास गर्दै, मैले निकै दिमाग लगाएर पैसा कमाउन सक्दो प्रयास गरेकी थिएँ। प्रत्येक पटक असफल हुँदा पनि, दिमाग र दुई हात भएका अरू धनी बन्न सक्छन् भने, मैले पनि कडा परिश्रम गरेमा म पनि धनी बन्न सक्छु, भन्ने सोचेर मैले दृढ मानसिकता कायम राखेकी थिएँ। आखिर मसँग पनि त आफ्नै बुद्धि र दुई हात थिए, र म उनीहरूभन्दा कम चलाख पनि त थिइनँ। मलाई मेरा विगतका असफलताहरू अनुभवको अभाव वा सही अवसर नपाउनुका कारणले भएजस्तो लाग्यो। मैले “अब्बल हुनको लागि ठूलो कष्ट सहनुपर्छ,” र “आफ्नो भाग्य आफैँ बदल” जस्ता भ्रमपूर्ण भनाइहरूलाई बुद्धिमानी भनाइ ठानेकी थिएँ, अनि, जति पटक असफल भए पनि, म कहिल्यै हार नमान्ने मानसिकताका साथ आफ्नो भाग्यसँग लगातार लडिरहेँ, किनभने मलाई कडा परिश्रमले भाग्य बदल्न सक्छ जस्तो लाग्थ्यो, र अरूभन्दा श्रेष्ठ बन्न निरन्तर प्रयासरत रहेँ। यसले मलाई धेरै रोगहरू निम्त्याएको थियो, र मेरो श्रीमान्को ज्यान समेत गयो। यो सबै शैतानको भ्रष्टता र यातनाका कारण भएको थियो! पहिले, म प्रायः आफ्नो भाग्यलाई अन्यायपूर्ण भएको भन्दै दोष दिन्थेँ। अहिले आएर मात्र मैले बुझेँ परमेश्‍वरले मलाई उपेक्षा गर्नुभएको थिएन, न त मेरो भाग्य नै खराब थियो। बरु, मैले रोजेको बाटो र जिउने तरिकै गलत थिए। मैले परमेश्‍वरको सार्वभौमिकता चिनेकी थिइनँ र उहाँका योजना तथा व्यवस्थामा समर्पित हुन सकिनँ। मैले सधैँ आफ्नै बलबुताले आफ्नो वर्तमान अवस्था र भाग्य बदल्न चाहिरहेकी थिएँ। धन, प्रसिद्धि, र प्राप्तिका लागि, मैले एक दशकभन्दा बढी सङ्घर्ष गर्दै कष्ट सहेकी थिएँ। अहिले आएर मात्र यो सबै दुःख शैतानको भ्रष्टता र यातना, साथै ममा सत्यताको ज्ञान नभएका कारणले रहेछ भन्ने बुझेँ। त्यसबेलादेखि, जब मसँग समय हुन्थ्यो, म थप सत्यताहरू बुझ्न उत्सुक हुँदै परमेश्‍वरका वचनहरू पढ्थेँ।

एक दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “वास्तवमा, मानिसका आदर्शहरू जति नै उच्‍च भए पनि, मानिसका इच्‍छाहरू जति नै यथार्थ वा ती जति नै न्यायसंगत भए पनि, मानिसले हासिल गर्न चाहने, मानिसले खोजी गर्ने सबै कुरा अपरिहार्य रूपमा दुईवटा शब्‍दसँग जोडिएको हुन्छ। यी दुई शब्‍द हरेक व्यक्तिको जीवनको लागि अत्यन्तै महत्त्वपूर्ण छन्, र शैतानले मानिसमा हालिदिन चाहेका कुरा पनि यिनै हुन्। यी दुई शब्‍द के-के हुन्? ती ‘ख्याति’ र ‘प्राप्ति’ हुन्। शैतानले अत्यन्तै सूक्ष्म प्रकारको विधि प्रयोग गर्छ, जुन मानिसहरूका धारणाहरूसँग अत्यन्तै मिल्दो हुन्छ, जुन त्यति उग्र प्रकृतिको हुँदैन, र जसमार्फत त्यसले मानिसहरूलाई अनजानैमा त्यसको जीवनशैली, र जिउने नियमहरू स्वीकार गर्न लगाउँछ, आफ्ना जीवन लक्ष्यहरू र जीवनको दिशा निर्धारण गर्न लगाउँछ, र तिनीहरूले जीवनमा थाहै नपाई महत्त्वाकाङ्क्षाहरू पनि हुर्काउन पुग्छन्। जीवनका यी महत्त्वाकाङ्क्षाहरू जति भव्य देखिए पनि, ती अपरिहार्य रूपमै ‘ख्याति’ र ‘प्राप्ति’ सँग जोडिएका हुन्छन्। कुनै पनि महान् वा चर्चित व्यक्तिले, र वास्तवमा भन्‍ने हो भने सबै मानिसहरूले, जीवनमा पछ्याउने कुराहरू यी दुई शब्‍दहरू ‘ख्याति’ र ‘प्राप्ति’ सँग मात्रै गाँसिएका छन्। ख्याति र प्राप्ति पाइसकेपछि, ती कुरालाई तिनीहरूले पूँजीको रूपमा प्रयोग गरी उच्‍च प्रतिष्ठा र धेरै धनको आनन्द लिन, र जीवनको आनन्द लिन सक्छन् भनी मानिसहरू सोच्छन्। तिनीहरू ख्याति र प्राप्तिलाई सुखचैन खोजी गर्न र दैहिक आनन्द लिनलाई प्रयोग गर्न सकिने पूँजी हो भन्‍ने ठान्छन्। मानवजातिले अत्यन्तै लोभ गर्ने यो ख्याति र प्राप्तिको खातिर, मानिसहरूले स्वेच्‍छाले तर अनजानमा आफ्‍नो तन, मन, आफूसँग भएका सबै कुरा, आफ्नो भविष्य र भवितव्य सबै शैतानलाई सुम्पन्छन्। आफूले सुम्पेका सबै कुरा फिर्ता लिनु आवश्यक छ भन्‍ने कुराप्रति सधैँ अनजान रही, तिनीहरूले साँचो रूपमा र एक क्षण पनि नहिचकिचाई त्यसो गर्छन्। मानिसहरूले यसरी शैतानमा शरण लिएर त्यसप्रति निष्ठावान्‌ बनिसकेपछि के तिनीहरूले आफैलाई नियन्त्रण गर्ने कुनै क्षमता राख्‍न सक्छन्? अवश्य नै सक्दैनन्। तिनीहरू पूर्ण र घोर रूपमा शैतानको नियन्त्रणमा हुन्छन्। तिनीहरू पूर्ण र घोर रूपमा दलदलमा डुबेका हुन्छन्, र आफैलाई मुक्त गर्न असक्षम हुन्छन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। परमेश्‍वरका वचनहरूमा चिन्तन गर्दा, मैले बुझेँ धन, प्रसिद्धि, र प्राप्ति भनेका शैतानले मानिसहरूलाई भ्रष्ट पार्ने तरिकाहरू हुन्। शैतानले सामाजिक प्रभाव र पारिवारिक संस्कारको प्रयोग गरेर “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ,” “भीडभन्दा माथि उठ,” र “पैसा नै पहिलो कुरा हो” जस्ता धेरै झूटा विश्वासहरू मेरो मनमा भर्छ। गरिबीमा हुर्कँदै र भेदभावको सामना गर्दै गर्दा, मैले यी विचारहरू सहजै अपनाएँ, धन, प्रसिद्धि, र प्राप्ति भएपछि, मानिसहरूले मलाई आदर गर्नेछन्, आत्मविश्वासका साथ बोल्न, र सम्मानजनक र मूल्यवान जीवन जिउन सक्षम हुनेछु भनी विश्वास गरेँ। प्रसिद्धि र प्राप्ति पाउन, मैले व्यावसायिक अवसरहरू खोज्न मेरो दिमाग खियाएँ, बिरामी हुँदाहुँदै पनि काम गरेँ, र आफ्नो सीप सिक्न हजारौँ माइल यात्रा गर्न एक वर्षे छोरालाई पनि छोडेर हिडेँ। प्रसिद्धि र प्राप्तिका लागि, खानसमेत फुर्सद नपाएर भोकले चक्कर लाग्ने र बेहोस हुने गरी स्वास्थ्य बिग्रँदै गएतापनि, मैले दु:ख भोग्न कहिल्यै हिच्किचाइनँ। त्यही प्रलोभनमा परेर, मेरो श्रीमान्‌ले व्यवसाय छोड्न मान्नुहुन्नथ्यो, उपचार गर्नुभन्दा दुखाइ कम गर्ने औषधि खान रुचाउनुहुन्थ्यो। अन्ततः उहाँ धनी त हुनुभयो, तर जीवन गुमाउनुभयो। के यो सबै दु:खकष्ट धन, प्रसिद्धि, र प्राप्ति पछ्याउनाले भएको होइन र? सत्यता नबुझ्दा र खुट्याइ नहुँदा, मानिसलाई भ्रष्ट गर्न शैतानले प्रयोग गर्ने अपधर्म र झूट्टा सिद्धान्तहरूलाई नै मैले जिउने नियम र जीवनका लक्ष्य ठानेछु। म साँच्चै मूर्ख र दृष्टिविहीन थिएँ! यो बुझेपछि, मैले पहिलेझैँ धन, प्रसिद्धि, र प्राप्तिका पछि नलागी, परमेश्‍वरमा विश्वास गर्न र सत्यता पछ्याउन आफ्नो जीवन समर्पण गर्ने निर्णय गरेँ। मैले दैनिक परमेश्‍वरका वचनहरू पढेर र सङ्गतिमा सक्रिय रूपमा सहभागी भएर बढी समय बिताएँ। तीन महिनापछि, मैले मण्डलीमा मेरो कर्तव्य निर्वाह गर्दै नयाँ विश्वासीहरूलाई मलजल गर्ने अभ्यास गर्न थालेँ।

मेरा आफन्तहरूले मैले व्यवसाय बन्द गरेको देखेर, साना बच्चाहरू र भविष्यमा हुने खर्चहरू बारे चिन्ता व्यक्त गर्दै, मलाई ब्रेकफास्ट व्यवसाय जारी राख्नुपर्छ भने। घरधनीले पनि मलाई फोन गरेर धेरै मानिसहरूले हाम्रो खाना मन पराएका हुनाले मैले पसल फेरि खोले हुन्थ्यो भन्ने आशा व्यक्त गरे, र यदि म एक्लैले त्यसो गर्न नसके उनी र उनको परिवारले मलाई मद्दत गर्ने कुरा पनि गरे। तिनीहरूका शब्दले मेरो मनमा विचारहरू उब्जिए, “यो सत्य हो। दुई बच्चाहरू स्कूलमा पढ्दै गर्दा, मेरो तलबले आधारभूत जीवनयापन खर्च मुश्किलले धान्न सक्छ। यदि मैले बढी पैसा कमाइनँ भने, म र मेरा बच्चाहरूलाई अझै अनादरपूर्वक हेरिनेछ। ब्रेकफास्ट व्यापारले दैनिक हजारौँ युआन आउन सक्छ। त्यसलाई छोड्न त गाह्रो छ। सायद म कसैलाई मद्दतका लागि राखेर व्यवसाय फेरि सुरु गर्न सक्छु?” मैले यो विकल्पबारे योजना बनाउन र विचार गर्न सुरु गरेँ। तर, मलाई के थाहा थियो भने ब्रेकफास्ट व्यवसाय पुनः सुरु गर्दा धेरै मेहनत गर्नुपर्ने हुन्छ, जसले गर्दा मलाई मण्डलीमा मेरो जिम्मेवारी पूरा गर्न थोरै समय मिल्नेछ। मेरो लागि सङ्गतिमा सामेल हुन सुनिश्चित गर्नु नै पर्याप्त हुनेथ्यो। व्यापार चलाउन सधैँ मेरो ध्यान चाहिन्थ्यो। परमेश्‍वरका वचनहरू पढ्न र सत्यता पछ्याउन केन्द्रित हुनु चुनौतीपूर्ण हुनेथियो, र मेरो आध्यात्मिक जीवनमा पक्कै पनि हानी पुग्ने थियो। ती दिनहरूमा म अनिर्णित र मानसिक अन्तरद्वन्द्वमा थिएँ, यसैका कारण मेरो निद्रा हरायो। एक दिन, मैले परमेश्‍वरका केही वचनहरू पढेँ: “धेरैजसो मानिसहरूका कामनाहरू यस्ता हुन्छन्: थोरै काम गरेर धेरै कमाइ गर्ने, घाम र झरीमा कडा परिश्रम नगर्ने, राम्रो लुगा लगाउने, जहाँसुकै भए पनि हाँसीखुशी बस्‍ने, अरूभन्दा माथि उठ्ने, र आफ्‍ना पुर्खाहरूका निम्ति इज्‍जत कमाउने। मानिसहरूले सिद्धताको आशा गर्छन्, तर जब तिनीहरूले आफ्‍नो जीवन यात्राका प्रथम पाइलाहरू चाल्छन्, तिनीहरूले बिस्तारै मानव नियति कति असिद्ध छ भन्‍ने महसुस गर्छन्, अनि कसैले आफ्‍नो भविष्यको लागि साहसिक योजनाहरू बनाउन सके पनि र उसले आँटिला कल्‍पनाहरू गर्न सके पनि, आफ्‍ना सपनाहरूलाई वास्तविक तुल्याउने क्षमता वा शक्ति कसैसँग छैन, र आफ्‍नो भविष्यलाई नियन्त्रण गर्ने हैसियत कसैसँग छैन भन्‍ने कुरालाई साँचो रूपमा पहिलो पटक बुझ्छन्। व्यक्तिका सपनाहरू अनि उसले सामना गर्नुपर्ने वास्तविकताहरूको बीचमा जहिल्यै पनि केही न केही दूरी हुन्छ; व्यक्तिले जे चाहेको हुन्छ त्यस्तो कहिल्यै हुँदैन, अनि त्यस्ता वास्तविकताहरूको सामना गरिसकेपछि, मानिसहरूले कहिल्यै पनि सन्तुष्टि वा तृप्ति हासिल गर्न सक्दैनन्। कतिपय मानिसहरूले आफ्‍नै नियति परिवर्तन गर्ने प्रयास स्वरूप, आफ्‍नो जीविका र भविष्यको खातिर, कल्‍पना गर्न सकिने कुनै पनि हदसम्‍म लागिपर्छन्, ठूला-ठूला प्रयासहरू गर्छन् र धेरै परित्यागहरू गर्छन्। तर अन्तिममा, तिनीहरूका आफ्‍नै कठिन परिश्रमद्वारा आफ्‍ना सपनाहरू र इच्‍छाहरूलाई पूरा गर्न सके भने पनि, तिनीहरूले आफ्‍नो नियति कहिल्यै परिवर्तन गर्न सक्दैनन्, अनि तिनीहरूले जति धेरै दृढताको साथ प्रयास गरे पनि, नियतिले तिनीहरूका निम्ति जे छुट्याएर राखिदिएको छ त्योभन्दा बढी तिनीहरूले प्राप्त गर्न सक्दैनन्। क्षमता, बौद्धिकता, र इच्‍छाशक्ति जे-जस्तो भए पनि, नियतिको अगाडि मानिसहरू सबै उस्तै हुन्, जसले ठूलो र सानो, उचा र नीच, श्रेष्ठ र तुच्छबीच कुनै भेदभाव गर्दैन। व्यक्तिले कुन पेशा अपनाउँछ, उसले बाँच्‍नको लागि के गर्छ, र उसले जीवनमा कति सम्पत्ति जम्मा गर्छ भन्‍ने कुरालाई उसका बाबुआमा, उसको प्रतिभा, उसका प्रयासहरू वा उसका महत्वाकांक्षाहरूले निर्धारित गर्दैनन्, ती कुरा त सृष्टिकर्ताले नै पूर्वनिर्धारित गर्नुहुन्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। “यदि मानव नियतिमाथिको परमेश्‍वरको सार्वभौमिकताप्रति व्यक्तिको मनोवृत्ति सकारात्‍मक छ भने, जब उसले आफ्‍नो यात्रालाई फर्केर हेर्छ, जब उसले परमेश्‍वरको सार्वभौमिकतालाई साँच्चै अनुभव गर्छ, तब उसले परमेश्‍वरले बन्दोबस्त गर्नुभएका सबै कुरामा थप इमानदारीसाथ समर्पित हुने इच्‍छा गर्नेछ, र परमेश्‍वरलाई आफ्‍नो नियतिको योजना गर्न दिन र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्न छाड्नको लागि उसमा थप सङ्कल्प र आत्मविश्‍वास हुनेछ। किनभने उसले बुझ्छ कि उसमा नियतिको बोध नहुँदा, उसले परमेश्‍वरको सार्वभौमिकतालाई नबुझ्दा, र ऊ कुहिरोभित्र लर्खराउँदै र ढलपलिँदै दृढताका साथ छामछुम गर्दै अघि बढ्दा, त्यो यात्रा अत्यन्तै कठिन, र अत्यन्तै हृदयविदारक हुन्छ। त्यसकारण, जब मानिसहरूले मानव नियतिमाथिको परमेश्‍वरको सार्वभौमिकतालाई पहिचान गर्छन्, तब चलाखहरूले यसलाई जान्‍ने र स्वीकार गर्ने, आफूले आफ्‍नै दुई हातद्वारा सुन्दर जीवन निर्माण गर्ने प्रयास गर्दाका पीडादायी दिनहरूलाई बिदा गर्ने, र नियतिको विरुद्धमा संघर्ष गर्न र आफ्ना तथाकथित ‘जीवन लक्ष्यहरू’ आफ्‍नै तरिकाले खोज्न छाड्ने निर्णय गर्छन्। जब कुनै व्यक्तिसँग परमेश्‍वर हुनुहुन्‍न, जब उसले उहाँलाई देख्‍न सक्दैन, जब उसले परमेश्‍वरको सार्वभौमिकतालाई स्पष्ट रूपमा पहिचान गर्न सक्दैन, तब हरेक दिन अर्थहीन, निरर्थक, दुःखदायी हुन्छ। व्यक्ति जहाँ भए पनि, उसको जागिर जे भए पनि, उसको जीवनका शैलीहरू र लक्ष्यहरूको खोजी कार्यले उसलाई हृदयमा अटुट चोट र चैनविनाको कष्टबाहेक अरू केही दिँदैनन्, यतिसम्‍म कि उसले आफ्‍नो विगतलाई फर्केर हेर्नसमेत सक्दैन(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। परमेश्‍वरका वचनहरू पढ्दा म रोएँ। परमेश्‍वरलाई चिन्नुअघि भाग्य विरुद्ध सङ्घर्ष गर्दाका पीडादायी दिनहरूमाथि चिन्तन गर्दा, मेरो पीडा परमेश्‍वरको सार्वभौमिकतालाई नचिनेको र भ्रष्ट स्वभावमार्फत् आफ्नो भाग्यको प्रतिरोध गरेका कारणले उत्पन्न भएको थियो भन्ने मैले बुझेँ। मैले चाहेको कुरा प्राप्त गर्न नसक्नुको पीडा मेरो सम्झनामा अझै ताजा थियो। अरूहरूले त्यही व्यवसायबाट लाखौँ कमाए भने मैले केही पाइनँ, उल्टो घाटा बेहोरेँ। यसले के देखाउँछ भने कसले कति पैसा कमाउन सक्छ र ऊ धनी हुन्छ वा गरिब, यो सबै परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ। यो केवल आफ्ना प्रयासहरूले प्राप्त गर्न सकिने कुरा होइन। आजको विश्वमा, दुर्भाग्यहरू अत्यधिक बढ्दै गएका छन्। यदि मैले पैसा कमाउन, प्रसिद्धि, प्राप्ति र हैसियत खोज्नलाई प्राथमिकता दिएर सत्यताको खोजी र मुक्ति प्राप्त गर्ने अवसरलाई त्यागेँ भने, के म मूर्ख र अज्ञानी हुने थिइनँ र? ब्रेकफास्ट व्यवसायले दिनमा हजारौँ युआन कमाउन सके पनि, परमेश्‍वरबाट टाढा रहनु्बाट हुने खालीपन र पीडा पैसाले पूरा गर्न सकिँदैन। म अहिले धनी नहुन सक्छु तर म अझै पनि सामान्य जीवन जिउन सक्छु। अझ महत्त्वपूर्ण कुरा, मैले केही सत्यता र जीवनको अर्थ बुझ्न थालेकी छु। म मण्डलीमा मेरो कर्तव्य निर्वाह पनि गर्न सक्थेँ, जसले मलाई शान्ति र खुसी दिन्थ्यो। यस बोधसँगै, मैले व्यापार छोडेर मेरो कर्तव्यमा ध्यान दिने निर्णय गरेँ। मैले मेरो पसलका भान्साका सामग्रीहरू अरूलाई कम मूल्यमा बेचेँ।

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँः “यदि मानिसहरूले मानव नियतिमाथि र सम्पूर्ण मानव मामलाहरूमाथि सृष्टिकर्ताको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई साँचो रूपमा पहिचान गर्न सक्दैनन् भने, यदि तिनीहरू सृष्टिकर्ताको प्रभुत्वमा साँचो रूपमा समर्पित हुन सक्दैनन् भने, तिनीहरू ‘आफ्‍नो नियति आफ्‍नै हातमा हुन्छ’ भन्‍ने विचारद्वारा सञ्‍चालित हुन र बन्धनमा पर्न कठिन हुनेछैन। तिनीहरूले नियति र सृष्टिकर्ताको अख्तियारविरुद्धको आफ्नो तीव्र संघर्षको पीडालाई हटाउन कठिन हुनेछ, अनि, अवश्य पनि तिनीहरूले साँचो रूपमा स्वतन्त्र र मुक्त हुन, र परमेश्‍वरको आराधना गर्ने मानिस बन्‍न पनि कठिन नै हुनेछ। तर यो स्थितिबाट आफूलाई मुक्त गर्ने एउटा अत्यन्तै सरल तरिका छ र यो सरल तरिका भनेको जीवन जिउने आफ्नो पुरानो तरिकालाई बिदा गर्नु हो; आफ्‍नो जीवनका पहिलेका लक्ष्‍यहरूलाई बिदा गर्नु हो; आफ्‍नो पहिलेको जीवनशैली, जीवनसम्‍बन्धी दृष्टिकोण, खोजी, इच्‍छा, र आदर्शहरूलाई सारांशित र विश्‍लेषण गर्नु हो; त्यसपछि तिनलाई मानिसप्रतिको परमेश्‍वरका अभिप्राय र मागहरूसँग तुलना गरेर तीमध्ये कुनै कुरा परमेश्‍वरका अभिप्राय र मागहरूअनुरूप छ कि छैन, र तीमध्ये कुनै कुराले जीवनको सही मूल्य प्रदान गर्छ कि गर्दैन, व्यक्तिलाई सत्यतासम्‍बन्धी बृहत् बुझाइमा लैजान्छ कि लैजाँदैन, र व्यक्तिलाई मानवता र मानवजातिको स्वरूपमा जिउने तुल्याउँछ कि तुल्याउँदैन भनेर हेर्नु हो। जब तैँले मानिसहरूले जीवनमा पछ्याउने विभिन्‍न लक्ष्यहरू र तिनीहरूका जिउने अनेक तरिकाहरूलाई बारम्‍बार अनुसन्धान र होसियारीसाथ विश्‍लेषण गर्छस्, तब तैँले तीमध्ये एउटै पनि मानवजातिलाई सृष्टि गर्दा सृष्टिकर्ताले राख्‍नुभएको मौलिक अभिप्रायअनुरूप नरहेको पाउनेछस्। ती सबैले मानिसहरूलाई सृष्टिकर्ताको सार्वभौमिकता र हेरचाहबाट टाढा लैजान्छन्; ती सबै मानिसहरूलाई भ्रष्ट तुल्याउने, तिनीहरूलाई नर्कतर्फ डोर्‍याउने पासोहरू हुन्। तैँले यो कुरालाई पहिचान गरिसकेपछि, तैँले गर्नुपर्ने काम भनेको जीवनसम्‍बन्धी तेरो पुरानो विचारलाई पन्छाउनु, विभिन्‍न पासोहरूबाट टाढा बस्‍नु, र परमेश्‍वरलाई तेरो जीवन नियन्त्रण गर्न र तेरो लागि बन्दोबस्तहरू गर्न दिनु हो; यो भनेको परमेश्‍वरका योजनाबद्ध कार्यहरू र अगुवाइमा मात्रै समर्पित हुने प्रयास गर्नु हो, व्यक्तिगत छनौटविना नै जिउनु, र परमेश्‍वरलाई आराधना गर्ने व्यक्ति बन्‍नु हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। “परमेश्‍वरलाई चिन्‍न खोज्‍नेहरू आफ्‍ना इच्‍छाहरूलाई पन्छाउन सक्छन्, परमेश्‍वरको सार्वभौमिकता र परमेश्‍वरको बन्दोबस्तमा समर्पित हुन इच्‍छुक हुन्छन्, र परमेश्‍वरको अख्तियारको अधीनमा बस्‍ने र परमेश्वरका अभिप्रायहरू पूरा गर्ने प्रकारका मानिस बन्‍ने प्रयास गर्छन्। यस्ता मानिसहरू ज्योति र परमेश्‍वरका आशिष्‌हरूको माझमा जिउँछन्, र तिनीहरूलाई अवश्य नै परमेश्‍वरले स्याबासी दिनुहुनेछ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। “तँ सृष्टि गरिएको प्राणी होस्—तैँले अवश्य पनि परमेश्‍वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवनको खोजी गर्नुपर्छ। यदि तैँले परमेश्‍वरको आराधना गर्दैनस् तर आफ्नै फोहोर देहमा जिउँछस् भने, के तँ मानिसको वस्त्र धारण गरेको पशु हुँदैनस् र? तँ मानिस भएकोले तैँले आफूलाई परमेश्‍वरका निम्ति समर्पित गर्नुपर्छ र सबै दुःख भोग्नुपर्छ। तँ आज जुन सानो दुःखमा परेको छस् त्यसलाई तैँले खुसी र निर्धक्कसाथ स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो अर्थपूर्ण जीवन जिउनुपर्छ। यस संसारमा, मानिसले शैतानको वस्त्र लगाउँछ, शैतानबाट खानेकुरा लिएर खान्छ, र शैतानकै फोहोरमा कुल्चीमिल्ची भई त्यसकै अधीनमा रही काम र सेवा गर्दछ। यदि तैँले जीवनको अर्थ बुझ्दैनस् वा साँचो मार्ग प्राप्त गर्दैनस् भने, यस्तो प्रकारले जिउनुको के महत्त्व हुन्छ र? तिमीहरू त्यस्ता मानिसहरू हौ जसले सही मार्ग पछ्याउँछन्, जसले सुधार खोजी गर्छन्। तिमीहरू त्यस्ता मानिसहरू हौ जो ठूलो रातो अजिङ्गरको देशमा खडा हुन्छन्, जसलाई परमेश्‍वरले धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (२))। परमेश्‍वरका वचनहरूले मलाई जीवनमा साँच्चिकै अर्थपूर्ण र मूल्यवान पछ्याइहरू के हुन् भनेर प्रकट गरिदिए। अब मैले सृष्टिकर्ताको मानव मुक्तिको काम देख्ने सौभाग्य पाएँ, जुन जीवनमा एक पटक आउने अवसर हो, र सृष्टिकर्ताको आवाज सुन्नु भनेको धेरै मानिसहरूले देख्दै आएको सपना हो। त्यसैले मैले अब पैसा, प्रसिद्धि, र प्राप्तिका पछि नलाग्ने बरु परमेश्‍वरको सार्वभौमिकतामा समर्पित भएर उहाँका मागहरू अनुसार जिउने निर्णय गरेँ। मैले पत्रुसलाई सम्झेँ। जब उनले प्रभु येशूको आह्वान सुने, उनले बिना कुनै हिचकिचाहट आफ्नो माछा मार्ने जाल छोडेर उहाँलाई पछ्याए, र अन्ततः परमेश्‍वरलाई जान्न, उहाँमा समर्पित हुन र उहाँलाई माया गर्न पाए। अय्यूबले पनि सबै कुरा गुमाए, तर पनि उनले परमेश्‍वरको प्रशंसा गरे, शैतानको सामु परमेश्‍वरको बारेमा एक सुन्दर गवाही दिए र अन्ततः परमेश्‍वरको दर्शन पाउनका लागि आशिषित् भए। इतिहासभरि, धेरै सन्तहरूले परमेश्‍वरको सुसमाचार फैलाउनका लागि सबै कुरा, आफ्नो जीवनैसमेत त्यागेका छन्, जुन जिउने सबैभन्दा अर्थपूर्ण र मूल्यवान तरिका हो। यी उदाहरणहरूलाई ध्यानमा राख्दा, मैले के थाहा पाएँ भने म गाँस र कपासमा नै सन्तुष्ट हुनुपर्छ, अनि सत्यता पछ्याउन र आफ्ना कर्तव्यहरू निर्वाह गर्न मैले बढी ऊर्जा समर्पित गर्नुपर्छ। परमेश्‍वरलाई जान्न खोज्नु सबैभन्दा मूल्यवान कुरा हो। मेरो व्यवसायलाई पूर्ण रूपमा त्यागेपछि, काम गर्नु र आफ्ना कर्तव्यहरू निर्वाह गर्नु बाहेक, मैले मेरो बाँकी समय परमेश्‍वरका वचनहरू पढ्न र मेरा बच्चाहरूसँग परमेश्‍वरको प्रशंसा गर्न भजन गाएर बिताएँ। हरेक दिन, म शान्त र स्थिर महसुस गर्थेँ, र यो आनन्दमय हुन्थ्यो। केही महिना पछि, मेरो लामो समयदेखिको पेटको रोग निको भयो, जुन मलाई परमेश्‍वरको कृपा हो भन्ने थाहा भयो। मेरा बच्चाहरू आफ्नो अध्ययन र दैनिक दिनचर्यामा अझ आत्मनिर्भर भए। उनीहरू विशेष रूपमा आज्ञाकारी र समझदार थिए। परमेश्‍वरका वचनहरू खाएर, पिएर र आफ्ना कर्तव्य निर्वाह गरेर, मैले परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन महसुस गरेँ। मैले क्रमशः केही सत्यताहरू बुझ्न थालेँ। मैले परमेश्‍वरको असीम शक्ति र सार्वभौमिकता, शैतानले मानिसलाई कसरी भ्रष्ट पारेको छ, र परमेश्‍वरले मानिसलाई कसरी मुक्ति दिनुहुन्छ भन्ने बारे गहिरो समझ प्राप्त गरेँ। मैले मानिसहरूले कसरी जिउनुपर्छ र के के पछ्याइहरू साँच्चै अर्थपूर्ण र मूल्यवान छन् भन्ने बारेमा पनि सिकेँ। मेरो हृदयको अशान्ति उल्लेखनीय रूपमा घट्यो। म परमेश्‍वरको मुक्तिका लागि अत्यन्तै आभारी छु!

अघिल्लो: ५८. मैले मानिससँग सही व्यवहार गर्न सिकेकी छु

अर्को: ६८. अभिभावकीय दयालाई कुन रूपमा हेर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१३. इमानदार व्यक्ति हुनलाई लडाइँ

वेइ झोङ्ग, चीनकेही वर्षहरू अघि मैले एउटा उपकरण मर्मत पसल खोलेँ। म इमानदार व्यवसाय चलाउन चाहन्थेँ, र अलिकति पैसा कमाउन चाहन्थेँ ताकि मेरो...

४०. ईर्ष्याको उपचार

क्षुन्‍क्‍वी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसको देह शैतानको हो, यो विद्रोही स्वभावले भरिएको छ, यो निकै दुःखलाग्दो किसिमको...

३९. अन्तमा मानव जस्तै भएर जिउँदा

झोउ होङ्ग, चीनजब म सन् २०१८ मा मण्डलीको अगुवा भएँ, मैले राम्रो क्षमता भएको अनि सत्यताको खोजी गर्ने याङ थर गरेकी एक जना सिस्टर छिन् भन्‍ने...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्