२१. अरूका कमजोरीहरूबारे मौन रहनु बुद्धिमानी हो?

नान्यी, चीन

अप्रिल २०२३ मा, मैले अनायासै अगुवाले गरेको मेरो मूल्याङ्कन देखेँ, जसमा उनले म मानिस रिझाउने व्यक्ति भएकी र ममा न्यायको भावना कम रहेको भनेका थिए। यसमा मैले धेरै सहकर्मीहरू काममा असर पर्ने गरी भ्रष्ट स्वभावमा जिइरहेका देखेकी तर मैले उनीहरूलाई यसबारे सङ्गति नगरेकी वा त्यसलाई नऔँल्याएकी भन्‍ने उल्लेख थियो; यसमा मैले मण्डली हितको संरक्षण नगरेकी र मेरो मानवीयता राम्रो नभएको लेखिएको थियो। अगुवाको मूल्याङ्कन देखेपछि म केही खिन्न भएँ। मलाई लाग्यो “म आफ्ना सहकर्मीहरूसँग सधैँ सद्भावपूर्ण रूपमा घुलमिल भएकी छु, अनि कसैलाई सताउने र दबाउने केही गरेकी छैन। कहिलेकाहीँ मैले सङ्गति गरेर आफ्ना सहकर्मीहरूमा देखेका समस्याहरू औँल्याउने गरेकी छु। मेरो मानवीयता उत्कृष्ट नहोला, कम्तीमा पनि औसत भने निश्चय नै छ। उनीहरू भ्रष्ट स्वभावमा जिए र आफैँलाई चिन्न सकेनन् किनकि उनीहरूले सत्यताका लागि प्रयास नै गरेनन्; म त्यसमा कसरी जिम्मेवार भएँ? मेरो मानवीयता खराब छ भनेर अगुवाले कसरी भन्न मिल्छ?” म भित्रैदेखि कति दु:खी भएँ भनेर वर्णन गर्न गाह्रो छ; यो मिश्रित स्वादहरूले भरिएको भाँडोले खन्याए जस्तै थियो; म त्यो भावना कस्तो थियो भनेर भन्न सक्दिनथेँ। परमेश्‍वर माथिको मेरो धेरै वर्षसम्मको आस्थाका बाबजुद, अगुवाले मेरो मूल्याङ्कन परमेश्‍वरका घरको हितको संरक्षण नगर्ने र खराब मानवीयता भएकी एक मान्छे रिझाउने व्यक्तिका रूपमा गरेका थिए। त्यसो भए, मेरो स्वभाव अझै परिवर्तन हुन सक्थ्यो र? ती दिनहरूमा, अगुवाका शब्दहरू सम्झिँदा मलाई, मेरो हृदय चक्कुले रेटे जस्तो हुन्थ्यो। म बगेका आँसु रोक्न सक्दिनथेँ अनि मेरो काम गर्ने जाँगर नै हराउँथ्यो। मेरो काममा अरू थुप्रै समस्याहरू भएको मैले महसुस गरेँ; यो क्षणमा नकारात्मकतामा जाँदा मेरो मानवीयताको अभाव झन् प्रकट हुँदैन र? त्यसैले मैले आफूलाई जबर्जस्ती कर्तव्यपालनमा लगाएँ, अनि सर्वप्रथम मैले भोगेका जस्ता परिस्थितिहरूलाई स्वीकार गर्ने र तिनीहरूबाट पाठ सिक्न आत्मचिन्तन गर्ने सङ्कल्प गर्दै परमेश्‍वरलाई प्रार्थना गरेँ।

पछि मैले किन अरूले म परमेश्‍वरका घरको हित संरक्षण नगर्ने र मान्छे रिझाउने व्यक्ति भनेका हुन् भन्‍ने बारे मनन गरेँ। मेरा सम्झनाहरू केही वर्षअघि म आफ्ना सहकर्मीहरूसँग अन्तर्क्रिया गरिरहेको दृश्यतिर फर्किए। २०१९ मा म लेख-आधारित कामका लागि जिआओझेनसँगको सहकार्यमा थिएँ। त्यो समयमा जिआओझेन प्रतिरक्षात्मक स्थितिमा जिइन्, किनकि उनलाई आफ्नो अहङ्कारी स्वभाव गम्भीर छ, र उनले आफ्नो भ्रष्ट स्वभावमा आधारित भएर काममा बाधा-अवरोध गरिराखिन् भने आफ्ना लागि असल परिणाम र गन्तव्य हुने छैन भन्‍ने लागेको थियो। परिणामस्वरूप, उनी कर्तव्यपालनमा धेरै निष्क्रिय भएकी थिइन् अनि हाम्रो छलफलमा बिरलै सहभागी हुन्थिन्। जिआओझेन रक्षात्मक र गलतबुझाइको स्थितिमा छिन् भन्‍ने मलाई थाहा थियो। उनमा वास्तवमै केही कार्यक्षमता थियो र उनको मनस्थिति सामान्य हुँदा केही काम गर्न सक्थिन्। म उनको समस्या औँल्याउन चाहन्थेँ। तर सोचेँ उनले भर्खरै अभ्यास थालेकीले, उनका समस्या देखाइदिँदा म अविवेकी र काममा दलाउने जस्ती देखिन्छु कि? उनमा मप्रति गलत धारणा आए भविष्यमा कसरी मिलेर काम गर्नु? त्यसैले मैले उनलाई सामान्य सुझाव मात्र दिएँ, “सधैँ आफ्नो भ्रष्ट स्वभावमा नजिऔँ; हामीले कृयाशील हुँदै अग्रसर भएर आफ्ना पेशागत सिपहरू सिक्नुका साथै उन्नतिको प्रयत्न गर्नुपर्छ।” पछि, उनको स्थितिमा खासै सुधार नआएको देखेर, मैले सोचेँ, “मैले तिम्लाई सम्झाएकी छु, तर तिमी प्रवेश नै गर्दिनौ भने त मैले केही गर्न सक्दिनँ।” त्यसैले मैले थप सङ्गति गरिनँ। अन्तत: जिआओझेनको स्थितिमा सुधार आएन, र उनी आफ्नो कर्तव्यपालनमा अप्रभावकारी भएकीले बर्खास्तीमा परिन्। लीन लीन नामकी अर्की सिस्टर थिइन् जो, उनी आफ्नो नयाँ सहकर्मी ब्रदर याङ्ग झी सो पेसामा बढी सिपालु भएको र केही सिद्धान्त बुझेको देखेर, आफूलाई हीन ठान्दै आफ्नो कर्तव्यपालनमा कम अग्रसर भइन्। एउटा सङ्गतिको समयमा उनले आफ्नो स्थिति खुलेर बताइन् अनि रोइन् पनि। उनले प्रतिष्ठा र हैसियतका बारेमा यति धेरै चिन्ता गरेको देख्दा, म सुरुमा यी चीजहरूलाई पछ्याउँदाका प्रकृति र परिणामहरू उनलाई बुझाउन चाहन्थेँ, तर, मलाई लाग्यो उनी पहिले नै निकै तनावमा छिन्, त्यसमाथि उनको समस्या सीधै औँल्याइदिँदा उनी लज्जित होलिन् अनि मलाई सहानुभूति नभएकी ठान्लिन्। भविष्यमा कसरी मिलेर बस्नु? त्यसैले मैले हल्का रूपमा भनेँ, “सधैँ प्रतिष्ठा र हैसियतको पछि नलाग; सहकार्य गर्दा अरूका खुबीबाट पनि सिक्ने कोशिस गर।” पछि पनि लीन लीनले प्रतिष्ठा र हैसियत पछ्याउँदाको प्रकृति र परिणाम खासै बुझ्न सकिनन्। उनको स्थिति कहिले राम्रो हुन्थ्यो त कहिले नराम्रो। उनी आफ्नो कर्तव्यमा अति निष्क्रिय थिइन् र अन्तत: उनलाई बर्खास्त गरियो पनि।

अरू निकै जना सिस्टरहरूसँग सहकार्य र सहयोग गरेका सबै क्षणहरूको सम्झना गर्दा र परमेश्‍वरका वचनअनुसार आत्मचिन्तन गर्दा, मैले मेरो आफ्नै स्थितिबारे केही बुझेँ। मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “धेरैजसो मानिसहरूले सत्यताको खोजी र अभ्यास गर्न चाहन्छन्, तर धेरैजसो समय तिनीहरूसँग त्यसो गर्ने सङ्कल्प र इच्‍छा मात्रै हुन्छ; सत्यता तिनीहरूको जीवन बनेको हुँदैन। परिणामस्वरूप, जब तिनीहरूले दुष्ट शक्तिहरूको सामना गर्छन् वा दुष्ट र खराब मानिसहरूले दुष्ट कार्यहरू गरिरहेका, वा झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूले सिद्धान्तहरूलाई उल्‍लङ्घन गर्ने कार्य गरिरहेका—र यसरी मण्डलीको काममा वाधा पुर्‍याइरहेका, र परमेश्‍वरका चुनिएकाहरूलाई हानि गरिरहेका—भेट्टाउँछन्, तब तिनीहरूले खडा हुने र बोल्‍ने साहस गुमाउँछन्। तँसँग कुनै साहस नहुनु भनेको के हो? के यसको अर्थ तँ डरपोक वा बोल्न नसक्ने व्यक्ति होस् भन्‍ने हो? कि यसको अर्थ तैँले पूर्ण रूपमा नबुझेको कारण, तँसँग बोल्‍ने साहस नहुनु हो? यीमध्ये कुनै पनि होइन; यो मूल रूपमा भ्रष्ट स्वभावहरूद्वारा नियन्त्रित हुनुको परिणाम हो। तैँले प्रकट गर्ने यस्ता भ्रष्ट स्वभावहरूमध्ये एउटा छली स्वभाव हो; जब तँलाई केही हुन्छ, तैँले सबैभन्दा पहिले सोच्ने भनेको तेरो हित हो, तैँले सबैभन्दा पहिले विचार गर्ने भनेको परिणाम के हुन्छ, के यो मेरो लागि फाइदाजनक हुन्छ कि हुँदैन भन्‍ने हो। यो छली स्वभाव हो, होइन र? अर्कोचाहिँ स्वार्थी र नीच स्वभाव हो। तँ यस्तो विचार गर्छस्, ‘परमेश्‍वरको घरका हितहरूमा हानि पुग्‍नुसँग मेरो के सम्‍बन्ध छ र? म अगुवा होइन, अनि मैले किन यसको मतलब गर्ने? यससँग मेरो केही सम्‍बन्ध छैन। यो मेरो जिम्‍मेवारी होइन।’ त्यस्ता सोचविचार र वचनहरू तैँले चेतन मनले सोच्ने कुराहरू होइनन्, ती तेरो अर्धचेतन मनले उत्पन्‍न गरेका कुराहरू हुन्—जुन मानिसहरूले समस्या सामना गर्दा प्रकट हुने भ्रष्ट स्वभाव हो। यस्ता भ्रष्ट स्वभावहरूले तेरो सोच्ने शैलीलाई सञ्‍चालित गर्छन्, तेरो हातखुट्टा बाँध्छन्, र तेरो बोलीवचन नियन्त्रित गर्छन्। तेरो मनमा जुरुक्क उठेर बोल्ने चाहना हुन्छ, तर तँमा यी कुराहरूको बारेमा सन्देह हुन्छ र तैँले बोलिहाले पनि, घुमाउरो पाराले कुरा गर्छस्, र पछि चलखेल गर्ने ठाउँ छोड्छस्, वा कुटिल रूपमा बोल्छस् तर सत्य बोल्दैनस्। स्पष्टता भएको मान्छेले यो कुरा बुझ्न सक्छ; वास्तवमा, तैँले भन्‍नुपर्ने सबै कुरा तैँले भनेको छैनस्, तैँले भनेको कुराले कुनै प्रभाव पारेको छैन, तैँले केवल झारा टार्ने काम मात्र गरेको छस्, र समस्या समाधान गरिएको छैन भन्‍ने कुरा तँलाई तेरो हृदयमा थाहा हुन्छ। तैँले तेरो जिम्‍मेवारी पूरा गरेको हुँदैनस्, तैपनि तैँले तेरो जिम्‍मेवारी पूरा गरेको छस्, वा जे भइरहेको थियो त्यो तेरो लागि स्पष्ट थिएन भनेर खुल्लमखुल्ला भन्छस्। के यो साँचो हो? अनि के तैँले वास्तवमा सोच्‍ने कुरा यही हो? त्यसो भए के तँ पूर्ण रूपमा तेरो शैतानी स्वभावको नियन्त्रणमा छैनस् र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनमाथि चिन्तन गर्दा मलाई, परमेश्‍वरले मानिसका हृदयको छानबिन गर्नुहुन्छ र उहाँले मेरा भित्री मनसायको खुलासा गरिदिनुभएको जस्तो लाग्यो। मैले केही सहकर्मीहरूसँग सहकार्य गर्दा आफूले उनीहरूका समस्याहरू वास्तवमै नऔँल्याइदिएको कुरा सम्झेँ। कहिलेकहिले त सङ्गति गर्दा पनि मैले केही सामान्य सुझाव मात्र दिने गरेकी थिएँ अथवा उनीहरूका समस्यालाई हल्का रूपमा लिएकी थिएँ। खासमा म आफू कपटी प्रकृतिमा जिउने गरेकीले उनीहरूका समस्या औंल्याउने आँट गरेकी थिइनँ, किनकि यसो गरेमा हाम्रो सम्बन्ध बिग्रिन्छ र भविष्यमा मिलेर बस्न गाह्रो हुन्छ भन्‍ने मलाई डर थियो। उदाहरणका लागि, म जिआओझेन र लीन लीन सँग सहकार्यमा हुँदा, मैले जिआओझेन सधैँ आफ्नै सम्भावना र नियतिका बारेमा चिन्तित रहेर, कर्तव्यपालनमा आफूलाई त्यति समर्पण गर्न नसकेकी, जबकि लीन लीन भने आफ्नो प्रतिष्ठा र हैसियतमै तल्लीन रहेर, आफ्नो कर्तव्यपालनप्रति कुनै झुकाव नभएकी देखेकी थिएँ। मैले उनीहरूमा भएका यी समस्या देखेकी थिएँ, तर हामी हरेक दिन बिहानदेखि बेलुकासम्म साथमै बिताउँछौँ, अनि एक अर्कालाई भेटिरहन्छौँ भन्‍ने कुरा विचार गर्दा, तिनीहरूका समस्या औँल्याइदिँदा उनीहरूले म निर्दयी, अति कठोर, र उनीहरूका कठिनाइप्रति सहानुभूति नभएकी भन्‍ने सोच्दैनथे होला? अनि यसले उनीहरूलाई मप्रति पूर्वाग्रही बनाउँदैनथ्यो होला? उनीहरूसँग भविष्यमा मिलेर रहन गाह्रो होला भन्‍ने डरले, मैले उनीहरूका समस्याको प्रकृति र परिणामहरू औँल्याएकी थिइनँ। वास्तवमा हामीमा भएका समस्या अरूले औँल्याइदिनु सामान्य कुरा हो। सत्यता साँचो रूपले स्विकार्नेहरू यस्ता सुधारका कुराहरूलाई मनन गर्दै आत्मचिन्तन गर्छन्, आफ्ना समस्या पहिचान गर्छन्, र पछुतो मान्न अनि आफूलाई परिवर्तन गर्न सक्षम हुन्छन्—यो नै तिनीहरूका निम्ति साँचो सहयोग हुन्छ। तर म त कपटी स्वभावमा जिइरहेकी थिएँ, अनि मैले उनीहरूमा मण्डलीकै काममा असर गर्ने समस्याहरू देख्दा, मैले गरेको काम भनेको संक्षेपमा यसको उल्लेख गर्ने मात्र थियो। अन्त्यमा उनीहरू बर्खास्त भएपछि, मैले सहजै यो उनीहरूले नै सत्यता नपछ्याएको र प्राप्त गर्न नखोजेकाले यस्तो भएको हो भनी सोचेकी थिएँ, तर मेरा आफ्नै समस्या बारे भने कुनै चिन्तन गरेकी थिइनँ—म साँच्चै नै स्वार्थी र कपटी भएकी थिएँ!

पछि मैले आत्मचिन्तन गरिरहेँ। किन मैले आफ्ना सहकर्मीमा देखेका समस्याबारे नम्र भएर बोलेँ अनि सिधै उनीहरूका समस्याको खुलासा गर्न सकिनँ? मैले परमेश्‍वरका वचनको अर्को खण्ड पढेँ: “संसारसँग व्यवहार गर्ने दर्शनमा एउटा सिद्धान्त छ, ‘असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ।’ यसको अर्थ यो असल मित्रता जोगाउनका लागि, व्यक्तिले आफ्‍नो मित्रमा भएका समस्याहरू स्पष्ट देखे पनि ऊ यसबारे मौन बस्नैपर्छ। तिनीहरू मान्छेलाई अनुहारमा नहिर्काउने वा उनीहरूको कमजोरीमाथी औँला नउठाउने सिद्धान्तहरू पालना गर्छन्। तिनीहरू एकअर्कालाई धोका दिन्छन्, र एकअर्काबाट कुरा लुकाउँछन्, र एकअर्काविरुद्ध षड्यन्त्र गर्छन्। अर्को व्यक्ति कस्तो हो भन्‍ने कुरा छर्लङ्गै थाहा भए पनि, तिनीहरू त्यो कुरा सिधै भन्दैनन्, बरु तिनीहरूको सम्बन्ध जोगाउन धूर्त विधिहरू अपनाउँछन्। किन व्यक्तिले यस्तो सम्‍बन्ध जोगाउन चाहन्छ? यसको अर्थ समाजमा र आफ्नो समूहमा शत्रु बनाउन नचाहनु हो, किनभने त्यसो गर्दा आफू खतरनाक परिस्थितिमा पर्न सकिन्छ। तैँले कुनै व्यक्तिमाथि औँला उठाएपछि वा उसलाई चोट पुर्‍याएपछि ऊ तेरो शत्रु बन्‍नेछ र उसले तँलाई हानि गर्नेछ भन्‍ने तँलाई थाहा हुन्छ, र तैँले आफूलाई यस्तो परिस्थितिमा राख्‍न चाहँदैनस्, र त्यसैले तैँले ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्‍नेजस्ता संसारसँग व्यवहार गर्ने दर्शनका सिद्धान्तहरू अपनाउँछस्। यो कुरालाई ध्यानमा राख्दा, यदि दुई व्यक्ति यस्तो सम्‍बन्धमा छन् भने, के तिनीहरूलाई साँचो मित्र भनेर भन्‍न सकिन्छ? (सकिँदैन।) तिनीहरू साँचो मित्र पनि होइनन्, एकअर्काका विश्‍वासपात्र हुनु त परको कुरा हो। त्यसो भए, यो वास्तवमा कस्तो सम्‍बन्ध हो? के यो आधारभूत सामाजिक सम्‍बन्ध होइन र? (हो।) त्यस्ता सामाजिक सम्‍बन्धहरूमा, मानिसहरू अन्तरङ्ग छलफल गर्न सक्दैनन्, न त गहिरो सम्बन्ध राख्न सक्छन्, न त आफूले चाहेको कुरा बोल्न नै सक्छन्। तिनीहरू आफ्नो हृदयको कुरा, आफूले अरू मानिसमा देखेका समस्याहरू, वा अरू मानिसलाई फाइदा पुग्‍ने शब्‍दहरू खुलस्त रूपमा भन्न सक्दैनन्। बरु, तिनीहरू अरूको निगाह राख्नका लागि राम्रा कुराहरू छानेर बोल्छन्। तिनीहरू सत्य कुरा बोल्ने वा सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्, त्यसरी आफूप्रति अरूमा शत्रुता विकास हुन रोक्छन्। कुनै व्यक्तिलाई कोही पनि खतरा नहुँदा, के त्यो व्यक्ति तुलनात्मक रूपमा सहज र शान्तिमा जिउँदैन र? ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्‍ने भनाइ प्रवर्धन गर्नुपछाडि मानिसहरूको उद्देश्य यही हुँदैन र? (यही हुन्छ।) स्पष्टै छ, यो सावधानीको तत्व बोकेर बाँच्ने कुटिल र छली तरिका हो, जसको उद्देश्य आफ्‍नो सुरक्षा गर्नु हो। यसरी जिउँदा, मानिसहरूसँग कुनै पनि विश्‍वासपात्र हुँदैन, कुनै पनि घनिष्ठ मित्र हुँदैन जोसँग आफूलाई भन्न मन लागेको जे पनि भन्न सकियोस्। मानिसहरूबीच आपसी सावधानी, आपसी शोषण, अनि आपसी षड्यन्त्र मात्र हुन्छन्, जसमा हरेक व्यक्तिले उक्त सम्बन्धबाट आफूलाई चाहेको कुरा लिन्छ। के यो यस्तै हुँदैन र? ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्‍ने भनाइको मूल उद्देश्य भनेको अरूलाई रिस नउठाउनु र शत्रु नकमाउनु, अनि कसैलाई चोट नपुर्‍याएर आफ्‍नो रक्षा गर्नु हो। यो आफूलाई चोट लाग्‍न नदिनका लागि अपनाइने उपाय र विधि हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (८))। परमेश्‍वरका वचनले मलाई के स्पष्ट देखाइदिए भने मेरो अरूसँगको सहकार्य र अन्तरक्रिया “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ” “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” जस्ता सांसारिक लेनदेनका शैतानी दर्शनले बाँधिएका थिए। मैले के ठानेकी थिएँ भने अरूसँग अन्तरक्रिया गर्दा मैले आफूलाई जोगाउन सिक्नुपर्छ; साथै अरूका समस्याहरू खुलासा गर्नु उनीहरूको चित्त दुखाउनु हो र यसले गर्दा उनीहरू सजिलै मप्रति पूर्वाग्रही होलान्, मेरा शत्रु बन्लान् अनि म अप्ठ्यारो स्थितिमा परूँला कि भन्‍ने पनि मलाई लागेको थियो। फलस्वरूप, मैले अरूका समस्याको खुलासा गर्ने आँट गरेकी थिइनँ। पछाडि फर्केर हेर्दा, मलाई महसुस भयो, म बाल्यकालदेखि नै सांसारिक लेनदेनका लागि यिनै दर्शनमा जिइरहेकी थिएँ, मैले अरूको चित्त दुख्ला भनेर उनीहरूमा देखिएका समस्या कहिल्यै प्रत्यक्ष रूपमा औँल्याउने काम गरिनँ। म मानिससँगको सम्बन्धलाई जोगाउँदै देखावटी रूपमा मिलनसार भएको स्वाङ्ग गर्थेँ। यसरी अरूसँग अन्तरक्रिया गर्दा, बाहिरबाट त कसैको पनि चित्त दुखेन, तर यसले अरूसँगको वास्तविक संवादमा भने बाधा पुऱ्यायो अनि हामीबीचमा एउटा स्थायी अवरोध पैदा गऱ्यो। परिणामस्वरूप, मेरो कोहीपनि साँचो विश्‍वासपात्र भएन। मण्डलीमा मैले यिनै दर्शनमा जिउने काम जारी राखेकी थिएँ। जिआओझेन र लीन लीनसँग सहकार्य गर्दा, मैले उनीहरू भ्रष्ट स्वभावमा जिइरहेका र कर्तव्यपालनमा भारवहनताको अभाव भएका देखेकी थिएँ। मलाई उनीहरूको समस्या औँल्याइदिँदा चित्त दुख्ला र मलाई सहानुभूतिहीन बनाउला भन्‍ने चिन्ता थियो, त्यसैले म आफ्नो मूल बुझाइबारे मौन बसेँ, उनीहरूलाई आफ्नै भ्रष्ट स्वभावमा जिउन दिएर उनीहरूको कर्तव्यपालन ढिला गराएँ, अन्तत: उनीहरूको बर्खासी भयो। म सांसारिक लेनदेनका “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ” अनि “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” जस्ता दर्शनलाई सकारात्मक ठान्थेँ, र यसो गरेमा, म आफूलाई अरूसँगको दुश्मनीबाट बचाउन सक्छु, र यो एक चलाक चाल हो भन्‍ने सोच्थेँ। अहिले आएर मात्र मैले बुझेँ यी सांसारिक लेनदेनका दर्शनअनुसार जिउँदा, मैले कसैको पनि चित्त नदुखाएको जस्तो देखिएपनि र सहकर्मीहरूसँगको सम्बन्ध राम्रो भएपनि, म अत्यन्त स्वार्थी र कपटी भएकी थिएँ, अनि मेरो अरूसँगको सहकार्य र अन्तरक्रिया धेरै चिसो रहेको थियो अनि यसले उनीहरूको जीवन प्रवेशमा कुनैपनि फाइदा त पुऱ्याएन नै, झन् बरू मण्डलीका काममा हानि चैँ पुऱ्यायो। यस्ता सांसारिक लेनदेनका दर्शनअनुसार जिउँदा अरूका साथै म आफैँलाई हानि पुऱ्याउने मात्र होइन, मण्डलीको कामलाई त झनै बिगार्छ भन्‍ने देखेपछि यो लिन हुने सही मार्ग रहेनछ भन्‍ने मैले महसुस गरेँ।

पछि पनि मैले चिन्तन जारी राखेँ र मलाई के थाहा भयो भने मानिस रिझाउने व्यक्ति बन्ने प्रयत्न गर्दा मभित्र अर्को गलत दृष्टिकोण पनि रहेछ। म सोच्थेँ, केही सहकर्मीहरूको बर्खासी उनीहरूले सत्यता नपछ्याउनुको कारणले भएको हो र यसको मसँग कुनै सरोकार थिएन, त्यसैले उनीहरू बर्खासीमा पर्दा मैले आत्म-दोष महसुस गरिनँ। पछि मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “सहकार्य भनेको के हो? तिमीहरूले एक-अर्कासँग कामकुराबारे छलफल गर्न, र आफ्ना विचार र रायहरू व्यक्त गर्न सक्नुपर्छ; तिमीहरूले एक-अर्काको परिपूरक बनेर रेखदेख गर्नुपर्छ, र एक-अर्काबाट खोजी गर्नुपर्छ, एक-अर्काको बारेमा सोधपुछ गर्नुपर्छ, र एक-अर्कालाई सतर्क गराउनु पर्छ। सद्भावपूर्ण सहकार्य गर्नु भनेको त्यही हो। उदाहरणको लागि, मानौँ तैँले कुनै कुरा आफ्नै इच्छा अनुसार सम्हालिस्, र कसैले यसो भन्यो, ‘तपाईँले गलत गर्नुभयो, तपाईँ पूर्ण रूपमा सिद्धान्तविपरीत जानुभयो। तपाईँले किन सत्यताको खोजी नगरी यसलाई आफूले चाहे अनुसार सम्‍हाल्‍नुभयो?’ यसको जवाफमा, तैँले यसो भन्छस्, ‘ठीक भन्‍नुभयो—तपाईँले मलाई सचेत गराउनुभएकोमा म खुशी छु! यदि तपाईँले त्यसो नगर्नुभएको भए, यसले विपत्ति ल्याउनेथियो!’ एक-अर्कालाई सतर्क गराउनु भनेको त्यही हो। त्यसोभए, एक-अर्काको रेखदेख गर्नु भनेको के हो? हरेक व्यक्तिमा भ्रष्ट स्वभाव हुन्छ, र उसले आफ्नो कर्तव्य पूरा गर्दा झारा टार्न सक्छ, र परमेश्‍वरको घरका हितहरू कायम राख्नुको सट्टा आफ्नै हैसियत र अभिमानको रक्षा मात्रै गर्न सक्छ। हरेक व्यक्तिमा यस्ता स्थितिहरू हुन्छन्। यदि तैँले कसैसँग समस्या छ भन्‍ने थाहा पाइस् भने, तैँले ऊसँग सङ्गति गर्ने पहल गर्नुपर्छ, उसलाई सिद्धान्तहरू अनुसार आफ्नो कर्तव्य पूरा गर्न सम्झाउनुपर्छ, साथै यसलाई आफ्‍नो लागि चेतावनीको उभ्याउनुपर्छ। त्यो पारस्परिक रेखदेख हो। पारस्परिक निगरानीले के काम गर्छ? यसको उद्देश्य परमेश्‍वरको घरका हितहरूको रक्षा गर्नु हो, र मानिसहरूलाई गलत मार्गमा जानबाट रोक्नु पनि हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्‍वरका वचनले मलाई के बुझाए भने, मण्डलीले एकअर्काका खुबीद्वारा आपसका कमजोरीको पूर्ति गरून् र एक अर्कालाई सम्झाउन् अनि निरीक्षण गरून् भनेर धेरै मानिसहरूबीच सहकार्य गर्ने प्रबन्ध मिलाउँछ। विशेषत: कामलाई असर पुऱ्याउने गरी कोही व्यक्ति गलत स्थितिमा जिइरहेको देखेमा, मण्डलीको काममा हानि पुऱ्याउने गरी गलत बाटोमा नहिँडोस् भनेर हामीले उसलाई सम्झाउनुपर्छ, मद्दत गर्नुपर्छ वा उसलाई काँटछाँट नै पनि गर्नुपर्छ। यसो गर्नु भनेको मण्डली हितको संरक्षणका गर्नु हो साथै यो हाम्रो जिम्मेवारी पनि हो। जतिखेर म केही सिस्टरहरूसँग सहकार्यमा थिएँ अनि उनीहरू भ्रष्ट स्वभावमा जिइरहेकाले काममा असर पुगेको छ भन्‍ने देखेकी थिएँ, त्यतिखेर मैले उनीहरूलाई सङ्गतिमार्फत् सहयोग गर्न कदम चाल्नुपर्थ्यो, आवश्यक परे, उनीहरूको खुलासा गर्नुका साथै उनीहरूलाई काँटछाँट गर्नुपर्थ्यो। उनीहरू सत्यता स्विकार्ने मानिस भए, यो सङ्गति र खुलासामार्फत् आफ्ना समस्या पहिचान गर्ने, आफूलाई समयमा नै बदल्ने अनि आफ्नो जीवनको कुनै पनि हानिबाट जोगिने थिए। आफ्नो स्थितिमा परिवर्तन ल्याइसकेपछि उनीहरू आफ्ना कर्तव्य पनि राम्ररी पूरा गर्नसक्ने थिए। उनीहरूले सत्यता स्वीकार नगरे, मेरो अन्तरात्मा त शुद्ध हुने थियो किनकि मैले सङ्गतिमार्फत् उनीहरूलाई सहयोग गरेर आफ्नो जिम्मेवारी पूरा गरिसकेकी हुने थिएँ। पछि, मैले थाहा पाएँ, बर्खास्त भइसकेपछि जिआओझेन र लीन लीनले चिन्तन गरेर आफ्ना समस्या पहिचान गरेका र त्यसपछि आफ्ना कर्तव्यपालन पुन: सुरू गरेका थिए। यसले के देखायो भने उनीहरू सत्यता स्वीकार नगर्ने मानिस थिएनन्, खालि केही समयका लागि भ्रष्ट स्थितिमा जिइरहेका र गलत मार्गमा हिँडिरहेका थिए। बरू म भने केवल उभिएर उनीहरूलाई भ्रष्ट स्वभावले बेरेको हेरिरहेकी थिएँ, उनीहरूलाई कुनै सङ्गति र सहयोग नगरी मण्डलीको कामलाई प्रभावित तुल्याउँदै थिएँ। म वास्तवमै गैरजिम्मेवार भएकी थिएँ!

म सोच्ने गर्थेँ, म अरूसँग राम्ररी मिल्न सक्छु र मैले मानिसलाई दबाउने अथवा सताउने प्रस्ट त्यस्तो केही गरेकी छैन, त्यसैले मेरो मानवीयता तुलनात्मक रूपमा राम्रो छ भन्‍ने विश्‍वास गरेकी थिएँ। तर आफैँलाई परमेश्‍वरका वचनसँग तुलना गरिसकेपछि मैले आफ्नैबारे केही समझ प्राप्त गर्न सुरू गरेँ। मैले परमेश्‍वरका थप वचन पढेँ: “असल मानवत्व हुनको लागि एउटा मापदण्ड हुनुपर्छ। यसमा संयमको बाटो अपनाउने, सिद्धान्तहरू नपछ्याउने, कसैलाई चोट नपुऱ्याउन कोसिस गर्ने, जहाँ जाँदा पनि चापलुसी गर्ने, आफूले भेट्ने सबै जनासँग नरम र चिप्लो कुरा गर्ने, र सबैलाई आफ्नो बारेमा राम्रो कुरा गर्न लगाउने कुरा समावेश हुँदैन। यो मापदण्ड होइन। त्यसो भए, मापदण्ड के हो त? त्यो, परमेश्‍वर र सत्यताप्रति समर्पित हुन सक्‍नु हो। त्यो, आफ्नो कर्तव्य अनि हरप्रकारका मानिस, घटना र परिस्थितिलाई सिद्धान्तहरू र जिम्मेवारीबोधको साथ लिनु हो। त्यो सबैले स्पष्ट देख्‍ने कुरा हो; सबै नै त्यो कुराबारे हृदयमा स्पष्ट हुन्छन्। त्यसबाहेक, परमेश्‍वरले मानिसहरूको हृदयभित्र सूक्ष्म जाँच गर्नुहुन्छ र तिनीहरू प्रत्येकको हर अवस्थाबारे जान्नुहुन्छ; तिनीहरू जोसुकै होऊन्, कसैले पनि परमेश्‍वरलाई मूर्ख बनाउन सक्दैन। कतिपय मानिसहरू आफूसँग असल मानवत्व छ, आफू कहिल्यै अरूको बारेमा नराम्रो बोल्दिनँ, र अरूका हितहरूमा कहिल्यै हानि गर्दिनँ भनेर सधैँभरि घमन्ड गर्छन्, र आफूले अरू मानिसहरूका सम्पत्तिहरूको कहिल्यै लालच नगरेको दाबी गर्छन्। अनि हितहरूको विषयमा विवाद हुँदा पनि, तिनीहरू अरूको फाइदा उठाउनुभन्दा घाटा सहन रुचाउँछन्, र अरू सबैले तिनीहरूलाई असल मानिस ठान्छन्। तैपनि, परमेश्‍वरको घरमा आफ्ना कर्तव्यहरू निर्वाह गर्दा, तिनीहरू चलाक र चिप्ला कुरा गर्ने गर्छन्, र सधैँ आफ्नै लागि योजना बनाउँछन्। तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको घरको हितबारे सोच्दैनन्, तिनीहरू परमेश्‍वरले जरुरी ठान्नुभएको कुरालाई कहिल्यै जरुरी ठान्दैनन्, र परमेश्‍वरले सोच्नु भएजस्तो प्रकारले कहिल्यै सोच्दैनन्, र तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्न आफ्ना रुचिहरूलाई कहिल्यै पन्साउन सक्दैनन्। तिनीहरू आफ्ना रुचिहरू कहिल्यै त्याग्दैनन्। दुष्ट मानिसहरूले दुष्ट्याइँ गरिरहेको देख्दा पनि, तिनीहरूले ती दुष्टहरूको पर्दाफास गर्दैनन्; तिनीहरूसित कुनै पनि प्रकारका सिद्धान्तहरू हुँदैनन्। यो कस्तो प्रकारको मानवत्व हो? यो राम्रो मानवत्व होइन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हृदय परमेश्‍वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। परमेश्‍वरका वचनमार्फत् मैले बुझेँ, असल मानवीयता भएको व्यक्तिमा परमेश्‍वरका निम्ति निष्कपट हृदय हुन्छ, उ ब्रदर-सिस्टरहरूप्रति मायालु हुन्छ, अरूसँग सिद्धान्तअनुरूप सहकार्य गर्छ, अडान लिन्छ अनि कसैले मण्डलीको काममा अवरोध पुऱ्याउने वा प्रभावित गर्ने काम गरेमा त्यसको खुलासा गर्न र परमेश्‍वरका घरको हित संरक्षण गर्न डटेर लाग्छ। यद्यपि मानिससँगको सम्बन्ध जोगाउनका लागि, मैले अरूहरू भ्रष्ट स्वभावमा जिइरहेका र गलत मार्गमा हिँडिरहेका देखे पनि, सहयोग गर्न उनीहरूसँग सङ्गति गरिनँ, जसले काममा केही हानि पुऱ्यायो। अब आएर मात्र मैले मेरो मानवीयता साँच्चै राम्रो रहेनछ भन्‍ने थाहा पाएँ, अनि मैले अगुवाले गरेको मेरो मूल्याङ्कनलाई सही रूपमा स्वीकार गरेँ।

पछि मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ, जसले मानिस रिझाउने प्रवृत्ति समाधान गर्ने अभ्यासको मार्ग प्रदान गऱ्यो। परमेश्‍वर भन्‍नुहुन्छ: “यदि तँसँग मान्छे खुसी पारिहिँड्ने व्यक्तिका का अभिप्राय र दृष्टिकोण छन् भने, सबै मामलामा तैँले सत्यता अभ्यास गर्नेछैनस् वा सिद्धान्त पालना गर्नेछैनस्, अनि तँ सधैँ असफल हुनेछस् र लड्नेछस्। यदि तँ ब्युँझिँदैनस् र कहिल्यै सत्यताको खोजी गर्दैनस् भने, तँ अविश्‍वासी होस्, र तैँले सत्यता र जीवन कहिल्यै पाउनेछैनस्। त्यसोभए तैँले के गर्नुपर्छ त? त्यस्ता कुराहरू सामना गर्दा, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँलाई पुकार्नुपर्छ, उहाँको मुक्तिका लागि बिन्ती गर्नुपर्छ र तँलाई अझ बढी आस्था र सामर्थ्य दिनुहोस् र तँलाई सिद्धान्तहरू पालन गर्न, आफूले गर्नुपर्ने कार्य गर्न, सिद्धान्तहरूअनुसार कामकुरा सम्हाल्न, आफू खडा हुनुपर्ने स्थानमा दृढ भएर खडा हुन, परमेश्‍वरको घरका हितहरूको सुरक्षा गर्न, र परमेश्‍वरको घरका काममा कुनै हानि आउन नदिन सक्षम तुल्याइदिनुहोस् भनी अनुरोध गर्नुपर्छ। यदि तैँले आफ्‍नो स्वार्थ, घमन्ड, र मान्छे खुसी पारिहिँड्ने व्यक्तिको दृष्टिकोणविरुद्ध विद्रोह गर्न सकिस् भने, र यदि तैँले आफूले गर्नुपर्ने काम इमानदार र एकाग्र हृदयले गरिस् भने, तैँले शैतानलाई पराजित गरेको हुनेछस्, अनि सत्यताको यो पक्ष हासिल गरेको हुनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचन पढेपछि मैले बुझेँ, जब-जब ममा मानिस रिझाउने मन वा अभिप्राय हुन्छ, तब-तब मैले परमेश्‍वरलाई अझ प्रार्थना गर्नुपर्छ, मलाई आफैँ विरुद्ध विद्रोह गर्ने शक्ति दिनुहोस् भन्दै अनुरोध गर्नुपर्छ। अरूसँगको सम्बन्धलाई जोगाउनुको सट्टा, मैले सत्यता अभ्यास गर्नुपर्छ, सिद्धान्तअनुरूप चल्नुपर्छ, र मण्डलीको काम समाल्ने व्यक्ति बन्नुपर्छ। यसरी म यस पक्षको सत्यता वास्तविकताभित्र बिस्तारै प्रवेश गर्न सक्छु।

पछि मलाई अर्को मण्डलीको काम निरीक्षण गर्ने जिम्मेवारी दिइयो। म आएको केही दिनपछि, मैले मसँग सहकार्य गर्ने ब्रदर-सिस्टरहरू विभिन्न दैनिक कामकाजमा व्यस्त भएका देखेँ, कहिलेकाहीँ उनीहरू यति व्यस्त हुन्थे कि सङ्गति नै गर्दैनथे। उनीहरूको मण्डली जीवन सामान्य थिएन। मैले मनमनै विचार गरेँ, “अगुवा र कामदार हुँदाको पहिलो जिम्मेवारी भनेको असल मण्डली जीवन सुनिश्चित गर्नु, परमेश्‍वरका वचन खान, पिउन, बुझ्न र सत्यता वास्तविकतामा प्रवेश गर्न ब्रदर-सिस्टरहरूलाई अगुवाइ गर्नु हो। तर सबैजना दैनिक कामकाजमै व्यस्त हुने र आफ्नै जीवन प्रवेशमा केन्द्रित नहुने हो भने, कसरी उनीहरूले ब्रदर-सिस्टरहरूलाई असल मण्डली जीवन जिउन अगुवाइ गर्न सक्छन् त?” मैले साँच्चै यो समस्या सबैलाई देखाउन चाहेकी थिएँ, तर म हच्केँ, “म भर्खर यहाँ आएकी छु, मैले अहिल्यै समस्या औँल्याइदिँदा म कति लगनशील भएर सत्यता पछ्याउँछु भनेर देखाउन लागेको जस्तो होला। त्यसमाथि, हरेकदिन समाल्नुपर्ने कामको चटारो छ, जुन वास्तविक समस्या हो। मैले अहिले यो कुरा अगाडि सारेँ भने तिनीहरूले मलाई अविवेकी खालि कमजोरी मात्र देखाउने भन्लान् कि, अनि मेरो छवि नराम्रो हुने हो कि? यसले त भविष्यमा हाम्रो सहकार्य र छलफलमा अफ्ठ्यारो पार्छ!” यो तवरबाट सोचेपछि त मैले मुखै खोल्न सकिनँ, तर केही नबोल्दा पनि आफैँलाई दोषी महसुस भयो। हामी हरेक दिन व्यस्त रहेपनि उचित योजनामार्फत्, हामीले भेलाका लागि केही समय छुट्ट्याउन सक्थ्यौँ। त्यसमाथि, अगुवा र कामदारका रूपमा हामीले मण्डली जीवन जिउन ध्यान नदिने र सत्यताप्राप्तिका लागि प्रयत्न नगर्ने हो भने, सजिलै पथभ्रष्ट भइन्छ। मैले पहिलेदेखि गर्दै आए जस्तो, आफूले पत्ता लगाएका समस्या औँल्याउन छोडेर मैले अरूसँगको सम्बन्ध जोगाइराख्नु हुँदैनथ्यो। त्यसले अरूलाई र मलाई नै पनि हानि पुऱ्याउँथ्यो, अनि मण्डलीको काममा ढिलाइ हुन्थ्यो। त्यसपछि मैले परमेश्‍वरका वचन सम्झेँ: “यदि तैँले आफ्‍नो स्वार्थ, घमन्ड, र मान्छे खुसी पारिहिँड्ने व्यक्तिको दृष्टिकोणविरुद्ध विद्रोह गर्न सकिस् भने, र यदि तैँले आफूले गर्नुपर्ने काम इमानदार र एकाग्र हृदयले गरिस् भने, तैँले शैतानलाई पराजित गरेको हुनेछस्, अनि सत्यताको यो पक्ष हासिल गरेको हुनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। यस्तो सोच्दै, मैले सबैका अगाडि आफूले देखेका समस्या औँल्याइदिएँ अनि मण्डली जीवन जिउन ध्यान नदिनुका परिणाममाथि सङ्गति गरेँ। धेरै जना सहकर्मीहरूले पनि हालै आफूहरूले मण्डली जीवन जिउन ध्यान नदिएको कुरा उल्लेख गरे। उनीहरू हरेक दिन व्यस्त भएपनि, भित्रबाटै रित्तो महसुस गर्थे अनि आफ्नो काममा भएका समस्या वा आफ्नै स्थिति समेत पनि देख्दैनथे। उनीहरू यसलाई परिवर्तन गर्न राजी थिए। त्यसपछि, हामीले आफ्नो समय उचित तवरले मिलायौँ, सङ्गतिका लागि बारम्बार भेटिरह्यौँ, परमेश्‍वरका वचनको प्रकाशमा आफ्नो स्थितिमाथि चिन्तन गऱ्यौँ, अनि तत्कालै सङ्गति गरेर हाम्रो काममा भएका समस्या र विचलनको निचोड निकाल्यौँ। यो अभ्यासमार्फत् सबैजनाले केही लाभ हासिल गरे। हामीले केवल आफ्नै भ्रष्ट स्वभाव र कामकुराप्रति आफ्नै भ्रमपूर्ण दृष्टिकोणको सुझबुझ मात्र पाएनौँ, हाम्रो काममा रहेका समस्या र विचलनहरूलाई पनि अझ प्रस्ट रूपमा देख्न सक्यौँ।

यो अनुभवबाट पार भैसकेपछि मैले असल मानवीयताको अर्थबारे केही समझ प्राप्त गरेकी छु। खालि झगडा, विवाद, दमन नगर्नु वा अरूलाई नसताउनु मात्र असल मानवीयता होइन। साँचो असल मानवीयताभित्र आफूले अरूमा देखेका समस्या औँल्याउन र ती समस्यामाथि सङ्गति गर्न सक्नु, मानिसलाई उनीहरूको कर्तव्यपालन तथा जीवन प्रवेशमा सघाउनु, आफूले देखेका सत्यताअनुरूप नभएका कुराहरूको प्रतिवाद गर्नु, ती कुराहरू औँल्याउँदा सिद्धान्त कायम राख्नु र मण्डलीका कामको संरक्षण गर्नु जस्ता कुराहरू पर्दछन्। त्यसै बीच, मैले मानिस रिझाउने व्यक्ति बन्दाको प्रकृति तथा परिणाम अझ राम्ररी देख्न सकेँ, अनि सचेत भएर आफैँविरुद्ध विद्रोह गर्न र परमेश्‍वरका वचन अनुरूप आचरण गर्न सक्षम भएकी छु। परमेश्‍वरकै मुक्तिका कारण मैले यो सानो परिवर्तन र बुझाइ प्राप्त गरेकी हुँ। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: २०. प्रसिद्धि र हैसियतले अब बाँधिएकी छैन

अर्को: २२. मैले आफ्ना आमाबाबुको दयाप्रति कस्तो व्यवहार गर्नुपर्छ भन्ने जानेको छु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२२. आखिरमा आफ्नो कर्तव्य कसरी पूरा गर्ने भनेर मैले सिकेँ

क्षिन्‍चेङ, इटालीसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही...

४५. परमेश्‍वरको अगाडि जिउनु

योङ्ग्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वास्तविकतामा प्रवेश गर्नका लागि, व्यक्तिले सबै थोकलाई वास्तविक जीवनतर्फ...

६४. पतनअघि अहङकार आउँछ

क्षिन्‍जिए, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, तिनीहरूले...

२. मृत्युको परीक्षामा पर्दा

क्षियाङदाओ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वर भ्रष्ट मानव जातिलाई बचाउन पृथ्वीमा काम गर्न आउनुभएको छ; यसमा कुनै...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्