९४. पाउनुभन्दा दिनु बढी आशिषित हुनु हो
केही वर्ष अगाडि मण्डलीका अगुवाहरूले मलाई भिडियो बनाउने प्रबन्ध गरिदिए। उनीहरूले त्यो बेला भिडियो बनाउनेहरूको कमी भएकाले, यो कामको मुख्य जिम्मेवारी मलाई दिइएको पनि बताए। म यो सुनेपछि एकदम खुसी भएँ, र मनमनै सोचेँ “अगुवाहरू मप्रति उच्च विचार राख्नुहुन्छ जस्तो देखिन्छ। मैले यो भिडियोको काम राम्ररी गरेँ भने ब्रदर-सिस्टरहरूले पनि मलाई राम्रो सोच्ने निश्चित छ।” त्यसैले मैले सजिलै स्वीकारेँ। केही समयपछि मैले थुप्रै भिडियो बनाएकाले ब्रदर-सिस्टरहरूले मलाई आदर गर्न थाले। आफूले यो कर्तव्य निर्वाह गर्न सकेकोमा म प्राय: खुसी हुन्थेँ, र मण्डलीभित्र म दुर्लभ प्रतिभा हुँ भन्ने लाग्थ्यो। हुन त म निकै व्यस्त हुन्थेँ, हरेकदिन अबेरसम्म जागा रहनुपर्थ्यो, अनि जिम्मेवारी आफैँमा पट्यारलाग्दो थियो, तैपनि म खुसी थिएँ, कत्तिपनि थकित थिइनँ।
केही समयपछि अगुवाहरूले ब्रदर जकारीलाई मसँग भिडियो बनाउने तरिका सिक्ने प्रबन्ध मिलाइदिए। उनी तेज दिमाग भएका र छिट्टै सिक्ने खालका भएको मैले पाएँ, अनि भेलामा हामीसँगै भएको बेलामा ब्रदर जोनाथनले जकारी क्षमतावान् व्यक्ति हुन् भनेको पनि सुनेँ, यसले गर्दा मलाई अलि असहज महसुस भयो, अनि मनमनै सोचेँ “जकारी छिट्टै सिक्ने व्यक्ति हुन्। उनले मलाई जिते भने मभन्दा बढी चर्चा पाउनेछैनन्? उनी म भन्दा बढी सिपालु भए र सबैले उनको प्रशंसा गरे भने, त्यसले मलाई कता पुर्याउला? मैले आफ्ना केही जुक्तिहरू आफैँसँग राख्नुपर्छ, मैले जानेका सबै कुरा उनलाई सिकाउनु हुँदैन। नत्र ‘शिष्य’ले ‘गुरू’लाई भोकै पार्नेछ।” जकारीलाई छिटो सिक्नबाट रोक्नका लागि मैले उनलाई खालि म कसरी भिडियो बनाउँथेँ भनेर देखाउन थालेँ, तर मैले उनलाई प्रक्रियाका विवरण र अत्यावश्यक कुरा बताइनँ। केही दिनपछि मैले उनलाई सम्बन्धित ट्युटोरियल हेर्न लगाएँ र आफैँ अभ्यास गर भनेर अलमलिन छोडिदिएँ। मैले उनलाई भनेँ, मैले यसरी नै सिकेको हो, र राम्ररी अभ्यास गरे मात्रै भिडियो बनाउन सकिन्छ। उनले मैले दिएको निर्देशन माने र आफैँ अभ्यास गर्दै अलमलिएर दिन बिताए। वास्तवमा मैले उनलाई भिडियो कसरी बनाउने भनेर कहिल्यै सिकाउन चाहेको थिइनँ। मैले मनमनै यस्तो विचारसमेत गरेँ, “म तिमीलाई कुनै पनि तरिका सिकाउनेवाला छैन, आफैँ केही केही ट्युटोरियल हेर। तिमीले केही सिक्न सकेनौ र अन्ततः केही पनि गर्न सकेनौ भने अगुवाहरूले तिमीलाई अवश्यै फिर्ता पठाइदिनेछन्।”
केही समय बित्यो, र पनि जकारीले आफैँ कुनै भिडियो बनाउन सकेनन् किनकि उनी अति सुस्त गतिमा सिक्दै थिए, र उनले निकै नकारात्मक महसुस गर्न थाले। यो देखेर म भित्र भित्रै खुसी भएँ, र मनमनै सोचेँ “तिमीले केही पनि सिक्न नसकेर राम्रै भयो। अगुवाहरूले यस्तो देखेपछि तिमीलाई अरू कुनै कर्तव्यको प्रबन्ध गरिदिनेछन्, अनि कसैले मलाई जित्ला भनेर मैले चिन्ता लिनुपर्नेछैन। तर फेरि मैले सोचेँ, जकारी केही दिनदेखि नकारात्मक भइरहेका छन्। मैले उनलाई सहयोग गरिनँ भने, के उनले ममा असल मानवता छैन र मभित्र करुणाको अभाव छ भनेर भन्लान्?” उनले मैले जानाजान उनलाई अगाडि बढ्नबाट रोकिराखेको छु र केही पनि सिकाएको छैन भन्ने नसोचुन् भनेर उनलाई सान्त्वना दिन लागेको स्वाँङ्ग पार्दै म उनको छेउ गएर भनेँ, “ब्रदर, चिन्ता नलिनुहोस्, समय लिएर सिक्नुहोस्, यी कुरा सिक्न केही समय लाग्छ। मैले सुरु गर्दा पनि धेरै ट्युटोरियल हेर्नुपरेको थियो। अझै पनि थुप्रै भिडियो बनाउन बाँकी छ। थप अभ्यास गरेपछि तपाईंले निश्चय नै आफैँ भिडियो बनाउन सक्नुहुनेछ।” बाहिरबाट देख्दा मैले जकारीको ख्याल राखेजस्तो देखिन्थ्यो, तर उनको पछाडि भने म जोनाथनसँग उनका स-साना कमजोरीबारे कुरा गर्दै, जोनाथनभित्र उनीप्रति घृणा उत्पन्न गराई उनलाई एक्ल्याउन र बहिष्कार गर्न जोनाथनलाई मसँग सामेल गराउने कोसिस गर्थेँ। मैले सोचेँ, हामी सबैले उनलाई वेवास्ता गरुन्जेल, उनी यहाँ रहिरहन सक्नेछैनन् र उनले आफैँ छोडेर जाने अनुमति माग्नेछन्, अनि त्यसरी मैले उनीसँग कर्तव्य निर्वाह गर्नुपर्ने छैन। तर उनले छोडेर जाने कुरा कहिल्यै गरेनन्, अनि उनीप्रतिको मेरो मनोवृत्ति झन्-झन् नराम्रो हुँदै गयो। धेरैजसो समय त म उनलाई एउटा कुरा पनि भन्न चाहन्नथेँ। पछि जोनाथनले मेरा समस्या निकै गम्भीर भएको देखेर मसँग सङ्गति गरे र मलाई जकारीसँग मिलेर सहकार्य गर्नु भने। मलाई पनि मैले हदै पार गरेँ कि भन्ने लाग्यो अनि आफूलाई धेरथोर दोषी महसुस गरेँ। मलाई लाग्यो मैले उनलाई जस्तो व्यवहार गरिरहेको थिएँ त्यस्तो गर्नु हुँदैनथ्यो, तर उनले केही नयाँ सीप सिके भने मलाई जित्लान् भनेर अझै पनि म उनीसँग डराइरहेको थिएँ, त्यसैले उनलाई सिकाउन अनिच्छुक नै रहिरहें। पछि उनले आफैँ कुनै पनि भिडियो बनाउन नसकेकाले अगुवाहरूले उनलाई त्यहाँबाट गएर अर्कै कर्तव्य निर्वाह गर्ने प्रबन्ध मिलाइदिए। उनले छोडेर गएपछि, म जति खुसी हुन्छु भन्ने लागेको थियो त्यति खुसी भइनँ। उल्टो मैले अवर्णनीय असहजता महसुस गरेँ। मैले परमेश्वरको उपस्थिति महसुस गर्न सकिनँ, मेरो हृदय अन्धकारले भरिएको थियो अनि मलाई आफू अलमलमा जिइरहेको जस्तो लाग्यो। भिडियो बनाउँदै गर्दा ममा कुनै राम्रा विचार आएनन्, अनि मलाई सामान्य समस्याले पनि अन्योलमा पारिरहेका थिए, जसले गर्दा प्रायः मैले भिडियो फेरी बनाउनुपर्थ्यो। मैले आफूलाई निसास्सिएको र पीडामा भएको पाएँ, र म आफ्नो कर्तव्य निर्वाह गर्नमा पहिले जस्तो प्रेरित थिइनँ। पछि मैले मेरो स्थितिका बारेमा मेरा ब्रदर-सिस्टरहरूसँग खोजी गरेँ र खुलेर कुरा गरेँ। उनीहरूले मैले आफ्नो प्रतिष्ठा र हैसियतलाई बढी महत्त्व दिने गरेको, ममा अहङ्कारी स्वभाव भएको र असल मानवता नभएको भनेर भने। यो सुन्दा मलाई निकै असहज भयो, तर अन्त्यमा मैले आत्मचिन्तन गर्न थालेँ। मैले जकारीसँग व्यवहार गर्दा साँच्चै हद पार गरेको थिएँ, र यो परमेश्वरमाथि विश्वास गर्ने व्यक्तिले गर्ने व्यवहार थिएन। ममा पूर्ण रूपले मानवताको अभाव थियो!
त्यही बेला मैले मानिसहरूको स्थितिको यही पक्षलाई खुलासा गर्ने परमेश्वरका वचन पढेँ। एक दिन मैले परमेश्वरका वचन पढेँ जसले भन्छन्: “कतिपय मानिसहरू आफूभन्दा अरूहरू उत्तम र उच्च होलान्, र आफ्नो बेवास्ता हुँदा अरूहरूलाई मानसम्मान मिल्ला भनेर सधैँ डराउँछन्, र यसले तिनीहरूलाई अन्य व्यक्तिहरूलाई आक्रमण गर्ने र पाखा लगाउने बनाउँछ। के यो प्रतिभावान् मानिसहरूको ईर्ष्या गर्नु होइन र? के त्यो स्वार्थी र नीच कुरा होइन र? यो कस्तो प्रकारको स्वभाव हो? यो दुराशयता हो! आफ्ना हितहरूबारे मात्रै सोच्ने, आफ्ना स्वार्थी चाहनाहरू मात्रै पूरा गर्ने, अन्य व्यक्तिहरूबारे वा परमेश्वरको घरको हितबारे केही नसोच्ने मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्वरले तिनीहरूलाई प्रेम गर्नुहुन्न” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। “तिमीहरू सबै भीडहरूको शिखरमा उठेका छौ; तिमीहरू जनसमुदायका पुर्खाहरू हुन उक्लिएका छौ। तिमीहरू अत्यन्तै स्वेच्छाचारी छौ, र सजिलो ठाउँ खोज्न र आफूभन्दा साना कीराहरूलाई खाने कोसिस गर्दै तिमीहरू सबै कीराहरूको बीचमा अनियन्त्रित भई दगुर्छौ। तिमीहरू हृदयमा द्वेषपूर्ण र कपटी छौ, समुद्रतलमा डुबेका भूतहरूभन्दा पनि बढी छौ। तँ गोबरको फेदमा बस्छस् अनि, माथिदेखि तलसम्मका किराहरूमा अशान्ति नछाउन्जेल तिनलाई पिरोल्छस्, एक अर्कासँग झगडा गरेर एकछिनमा शान्त हुन्छौ। तिमीहरूलाई आफ्नो ठाउँ थाहा छैन, तैपनि तिमीहरू एक-अर्कासँग गोबरमा लडाइँ गर्छौ। त्यस्तो सङ्घर्षबाट तैँले के प्राप्त गर्न सक्छस्? यदि तिमीहरूमा साँच्चै मेरो डर मान्ने हृदय थियो भने, तिमीहरू मेरो पिठिउँ पछाडि कसरी एक-अर्कोसँग लडाइँ गर्न सक्थ्यौ? तेरो हैसियत जति नै उच्च भए पनि के तँ अझै पनि गोबरमा बस्ने गनाउने सानो गँड्यौला होइनस् र? के तँ पखेटा टुसाउन सक्छस् र आकाशमा उड्ने ढुकुर बन्न सक्छस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। जब झर्ने पातहरू तिनको जराहरूमा फर्कन्छन्, आफूले गरेका सबै दुष्ट कामका निम्ति तैँले पछुतो गर्नेछस्)। परमेश्वरका न्यायका हरेक वचनले मेरो हृदय छेडे, र विशेषगरी परमेश्वरका ती वचन पढ्दा, जसले भन्छन् “प्रतिभावान् मान्छेको ईर्ष्या गर्ने” “स्वेच्छाचारी” अनि “हृदयमा द्वेषपूर्ण र कपटी” भन्ने परमेश्वरका वचन पढ्दा मलाई परमेश्वरले साँच्चै अगाडि आएर मेरो खुलासा गरिरहनुभएको जस्तो लाग्यो। जकारी तेज दिमाग र छिट्टै सिक्ने व्यक्ति भएको मलाई थाहा थियो अनि यी सबै सिप सिकिसकेपछि उनले मलाई जित्लान् र मेरो ठाउँ लेलान् भन्ने मलाई चिन्ता थियो। मेरो हैसियत जोगाउनका लागि मैले उनलाई सिकाउन अस्वीकार मात्र गरिनँ, जानीजानी उनलाई दबाएँ, उनलाई सिकाइबाट टाढा राखेँ, अनि उनलाई एक्ल्याउन र बहिष्कार गर्न जोनाथनलाई समेत उक्साउने कोसिस गरेँ, ताकि उनले काम त साह्रै गाह्रो रहेछ भनेर छोडेर जान चाहून्। मैले आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन आफ्नै ब्रदरलाई शत्रु जस्तो व्यवहार गरेँ। मेरो बहिष्कारका कारण मेरा ब्रदर सिक्ने चाहना नै नराख्नेसम्मको नकारात्मक भएको देख्दा पनि, आफूले आत्मचिन्तन गर्नु त कता हो कता, म उल्टै खुसी भएँ। मैले उनी छिट्टै छोडेर गए हुन्थ्यो भन्ने आशासमेत गरेँ। जोनाथनले मलाई मेरो समस्या देखाइदिए, म यति हठी थिएँ अनि आफ्नो हैसियतलाई यति महत्त्व दिन्थेँ कि मैले कहिल्यैसाँचो आत्मचिन्तन गरिनँ। परिणामस्वरूप जकारी आफैँ भिडियो बनाउन असक्षम नै रहिरहे र उनलाई अर्को कर्तव्यमा खटाइयो। म साँच्चै स्वार्थी, घृणित अनि दुर्भावनापूर्ण थिएँ!
पछि मैले परमेश्वरका वचन पढेँ जसले भन्छन्: “ख्रीष्टविरोधीहरूले परमेश्वरको घरको सब थोक र मण्डलीको सम्पत्ति कब्जा गर्छन्, ती कुराहरूलाई आफ्नो व्यक्तिगत सम्पत्तिको रूपमा लिन्छन्, जुन सबै तिनीहरूले व्यवस्थापन गर्नुपर्ने हो, र तिनीहरूले कसैलाई पनि यसमा हस्तक्षेप गर्न दिँदैनन्। मण्डलीको काम गर्दा तिनीहरूले सोच्ने भनेकै तिनीहरूका आफ्नै हित, तिनीहरूका आफ्नै हैसियत, र तिनीहरूका आफ्नै गौरव मात्र हुन्। तिनीहरू कसैलाई पनि आफ्ना हितहरूमा हानि गर्न दिँदैनन्, क्षमता भएको र आफ्नो अनुभवात्मक गवाही सुनाउन सक्ने कसैलाई आफ्नो प्रतिष्ठा र हैसियतमा चुनौती दिन दिनु त परको कुरा हो। … जब कसैले थोरै कामद्वारा आफूलाई पृथक तुल्याउँछ, वा जब कसैले साँचो गवाहीबारे बोल्न सक्छ, र त्यसबाट परमेश्वरका चुनिएका मानिसहरूले लाभ, सुधार, र सहयोग प्राप्त गर्छन्, र त्यसका कारण सबैबाट ठूलो प्रशंसा मिल्छ, तब ख्रीष्टविरोधीहरूको हृदयमा डाहा र घृणा बढ्छ, र तिनीहरूले त्यस व्यक्तिलाई बहिष्कार गर्ने र दबाउने कोसिस गर्छन्। तिनीहरू त्यस्ता मानिसहरूलाई आफ्नो हैसियतमा चुनौती दिनबाट रोक्नलाई कुनै पनि हालतमा कुनै पनि काम गर्न दिँदैनन्। … ख्रीष्टविरोधीहरूले मनमनै सोच्छन्, ‘मैले कुनै हालतमा यो कुरा सहनेवाला छैन। तँ मेरो क्षेत्रभित्र भूमिका खोज्न रमसँग प्रतिस्पर्धा गर्न चाहन्छस्। त्यो असम्भव छ; त्यसको बारेमा सोच्दै नसोच्। तँ मभन्दा शिक्षित छस्, मभन्दा वाक्पटु छस्, मभन्दा चर्चित छस्, र तँ मैले भन्दा ठूलो बौद्धिकताद्वारा सत्यता पछ्याउँछस्। यदि मैले तँसँग सहकार्य गर्नुपर्यो र मैले गर्नुपर्ने काम तैँले मभन्दा पहिल्यै गरिस् भने त्यसपछि मैले के गर्ने?’ के तिनीहरू परमेश्वरको घरको हितबारे सोच्छन्? सोच्दैनन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगानेथिए (भाग एक))। परमेश्वरका वचनले के खुलासा गर्छन् भने, हैसियत प्राप्त गर्न र अरूबाट प्रशंसा पाउन ख्रीष्टविरोधीहरू आफ्नो हैसियतलाई खतरामा पार्न सक्षम जोसुकैलाई दमन र बहिष्कार गर्न आफूसँग रहेका हरेक उपाय अपनाउँछन्, र तिनीहरू मण्डलीको कामलाई अलिकति पनि ध्यान दिँदैनन्। मैले मेरा क्रियाकलाप ख्रीष्टविरोधी थिए र म आफ्नो कर्तव्य केवल अरूको प्रशंसा पाउनका लागि पूरा गर्दै आइरहेको थिएँ भन्ने बुझेँ। जकारीले केही सीप सिकेपछि मलाई जित्लान् र मेरो स्थान लेलान् भनेर म डराएको थिएँ, त्यसैले मैले उनलाई सिकाइँन, अनि उनको पछाडि उनलाई आलोचना र एक्ल्याएँ। मैले मण्डलीको यो कामलाई मेरो आफ्नै उद्यम ठानेँ। मैले आफखुसी र स्वेच्छाचारी ढङ्गले काम गर्न चाहेँ, अनि मसँग उपलब्ध हरेक श्रोतसाधनलाई मेरो हैसियतमाथि खतरा हुन सक्ने जोसुकैलाई आक्रमण र बहिष्कार गर्न प्रयोग गरेँ। म मण्डलीको हितबारे कत्तिपनि विचार गरिरहेको थिइँन। मेरो दिमागमा हैसियतप्रतिको मेरो चाहना साँच्चै हावी भयो, अनि मैले समझ गुमाएँ। राज्यको सुसमाचार प्रचार गर्ने उत्तम समय अहिले नै हो। परमेश्वर देखापराइ तथा कामको गवाही दिनका लागि हामीले धेरै भिडियो बनाउनुपर्छ। मैले जकारीलाई आफूले जानेका सबैकुरा सिकाइदिएको भए उनले आफ्नो प्रतिभा अगाडि ल्याउन सक्ने थिए अनि सँगै मिलेर काम गर्न सकेको भए हाम्रो भिडियो बनाउने गति बढ्नेथ्यो, र राज्यको सुसमाचार प्रचारमा हाम्रो विनम्र प्रयासले केही योगदान पुर्याउन सक्ने थियौँ, जसले गर्दा हाम्रो जिम्मेवारी र कर्तव्य पूरा हुनेथ्यो। तर मैले खालि अर्को व्यक्तिले मेरो हैसियतलाई कसरी जोखिममा पार्ला भन्नेबारे मात्र सोचेँ। मैले केवल आफ्नो प्रतिष्ठा र हैसियतको मात्र ख्याल गरेँ, र परमेश्वरका अभिप्राय वा मण्डलीको काममा कसरी असर पर्ला भन्ने कुराको अलिकति पनि ख्याल गरिनँ, न मेरा ब्रदरको भावनाकै ख्याल राखेँ। मैले आफ्नो हैसियतलाई प्रभावित हुन दिनुभन्दा कर्तव्यमा विलम्ब गर्नु ठीक ठानेँ। म साँच्चै स्वार्थी र मानवताहीन थिएँ! म आफ्नो प्रतिष्ठा र हैसियतका लागि जे गर्न पनि तयार थिएँ, चाहे मण्डलीको हितलाई नै बलिदान दिन किन नपरोस्। म ख्रीष्टविरोधी बाटोमा हिँडिरहेको थिएँ!
एकदिन आफ्नो आत्मिक भक्तिको दौरान मैले परमेश्वरका थप वचन पढेँ: “मानिसहरूको हैसियत पछ्याउने कार्यलाई जति धेरै परमेश्वरले अरू केही कुरालाई पनि घृणा गर्नुहुन्न, किनभने हैसियत पछ्याउनु शैतानी स्वभाव हो, यो गलत मार्ग हो, यो शैतानको भ्रष्टताबाट पैदा भएको कुरा हो, यो परमेश्वरले निन्दा गर्नुभएको कुरा हो, र यो परमेश्वरले न्याय र शुद्धीकरण गर्नुहुने कुरा हो। मानिसहरूले हैसियत पछ्याउँदा जति धेरै परमेश्वरले अरू केहीलाई पनि घृणा गर्नुहुन्न, तैपनि तँ अझै हैसियतको लागि ढिपी गर्दै प्रतिस्पर्धा गर्छस्, निरन्तर हैसियतलाई कदर र रक्षा गर्छस्, र सधैँ हैसियतलाई आफ्नै हातमा लिने प्रयास गर्छस्। अनि प्रकृतिको हिसाबमा, के यो सबै परमेश्वरको विरुद्ध हुँदैन र? हैसियत मानिसहरूको लागि परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको कुरा होइन; परमेश्वरले मानिसहरूलाई सत्यता, बाटो, र जीवन दिनुहुन्छ, र अन्तिममा तिनीहरूलाई सृष्टि गरिएको स्वीकार्य प्राणी अर्थात् सृष्टि गरिएका साना र महत्त्वहीन प्राणी बनाउनुहुन्छ—हैसियत र प्रतिष्ठा भएको र हजारौँ मानिसहरूले सम्मान गर्ने व्यक्ति बनाउनुहुन्न। त्यसकारण, यसलाई जुन दृष्टिकोणले हेरे पनि, हैसियतको पछि लाग्नु भनेको गन्तव्यहीन मार्गमा हिँड्नु हो। हैसियतको पछि लाग्ने तेरो बहाना जति नै तार्किक भए पनि, यो अझै पनि गलत मार्ग नै हुन्छ, र परमेश्वरले यसलाई अनुमोदन गर्नुहुन्न। तैँले जति धेरै प्रयास गरे पनि वा जति ठूलो मूल्य चुकाए पनि, यदि तँ हैसियत पाउने इच्छा गर्छस् भने, परमेश्वरले तँलाई त्यो दिनुहुनेछैन; यदि परमेश्वरले दिनुहुन्न भने, त्यो प्राप्त गर्न लडाइँ गर्दा तँ असफल हुनेछस्, र यदि तैँले लडाइँ गरिरहिस् भने एउटै मात्र परिणाम आउनेछ: तेरो खुलासा गरिनेछ र तँलाई हटाइनेछ, र तैँले गन्तव्यहीन मार्ग सामना गर्नेछस्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका गम्भीर वचन पढेपछि, मलाई के प्रष्ट भयो भने परमेश्वरको धर्मी स्वभावले चिढ्याइ सहँदैन, अनि आफूले गरेको कार्यबारे सोच्दा मेरो मन डरले भरियो। परमेश्वर मेरो हैसियतको खोजीलाई घृणा गर्नुहुन्थ्यो, अनि यो निश्चित मृत्युको मार्ग थियो। मलाई मण्डलीले भिडियो बनाउने अभ्यास गर्न दिएको मौका र परमेश्वरको मार्गदर्शन नभएको भए मैले यी सीप कहाँबाट सिक्थेँ? मलाई मण्डलीले जकारीलाई पढाउने प्रबन्ध मिलाएको थियो, र मैले आफूले जानेका सबै कुरा उनलाई सिकाउनु पर्थ्यो अनि आफ्नो कर्तव्य राम्ररी पूरा गर्न उनीसँग सहकार्य गर्नुपर्थ्यो। यो मात्र परमेश्वरको अभिप्रायअनुरूप हुने थियो। परमेश्वरले के आशा गर्नुभएको थियो भने, आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा मैले सत्यता पछ्याउन सक्नेछु, आफ्ना भ्रष्ट स्वभावलाई चटक्कै फाल्न सक्नेछु, र परमेश्वरलाई सन्तुष्ट पार्न आफूले गर्नुपर्ने कर्तव्य पूरा गर्न सक्नेछु। परमेश्वरप्रतिको मेरो विश्वासमा सही मार्ग र मैले पछ्याउनुपर्ने कुरा यही मात्र थियो। तर आफ्नो विश्वासमा मैले सत्यता पछ्याइरहेको थिइनँ। बरू म जिउनका लागि “महापुरुष एक जना मात्रै हुन सक्छ” र “गुरुको सबै भेद चेलाले थाहा पाएपछि, गुरुले आफ्नो रोजीरोटी गुमाउँछ” भन्ने शैतानी विषको भर परेको थिएँ। मसँग भएका सीपलाई मैले आफ्नो व्यक्तिगत सम्पत्ति ठानेको थिएँ, अनि अरू ब्रदर-सिस्टरहरूले मलाई जित्लान् र फलस्वरूप मैले आफ्नो हैसियत र अरूको प्रशंसा गुमाउँला भन्ने डरले म तिनीहरूलाई ती सीप सिकाउन अनिच्छुक थिएँ। मेरो हैसियत स्थिर बनाउनका लागि मैले अरूलाई बहिष्कार गरेँ र दबाएँ। ममा साँच्चै विवेक र समझ थिएन! मैले मण्डलीबाट निष्काशित सबै ख्रीष्टविरोधीहरूलाई सम्झिएँ। ती सबैले मण्डलीभित्र आफ्नो एकल सत्ता चाहेका थिए, र आफ्नो हैसियत जोगाउनका लागि, उनीहरू आफ्नो हैसियतलाई चुनौती दिनसक्ने जोकोहीलाई बहिष्कार गर्न तयार थिए। उनीहरूले अरूलाई जति नै हानि पुर्याएका भए पनि अथवा मण्डलीको काममा जति नराम्रोसँग बाधा र नोक्सान पुगेको भए पनि, उनीहरू अलिकति पनि ख्याल गर्दैनथे। अन्त्यमा, उनीहरू आफूले गरेका दुष्कर्मका कारण परमेश्वरबाटै हटाइएका थिए। मैले मेरा कार्यले प्रकट गरेको स्वभाव ख्रीष्टविरोधीको भन्दा फरक छैन भन्ने बुझेँ; यो स्वार्थी र द्वेषपूर्ण थियो, अनि परमेश्वरद्वारा घृणित थियो। यस्तो विचारले गर्दा म निकै डराएँ, र आफू दोष र पश्चात्तापले भरिएको पाएँ। म परमेश्वरका अगाडि लम्पसार परेँ र प्रार्थना गरेँ। “हे परमेश्वर, मैले गल्ती गरेको छु; मलाई हैसियतले अन्धो बनाएको थियो, मैले समझ गुमाएँ, अनि मेरा ब्रदरलाई हानि पुर्याएँ। परमेश्वर, मैले यसो गर्नु हुँदैनथ्यो, र म पश्चात्ताप गर्न तयार छु। मैले फेरि यस्तो गरेँ भने मलाई ताडना दिनुहोस्।”
पछि अगुवाहरूले अरू दुईजना ब्रदरहरूलाई मकहाँ आएर मसँग सहकार्य गर्ने प्रबन्ध मिलाइदिए। उनीहरूले मलाई तिनीहरूलाई सिकाउन अनुरोध गरे र यसो गर्दा भिडियोको कामको प्रगति छिटो हुनेछ र यसले मलाई कामको भार कम बाँड्न दिएर मद्दत गर्ला भनेर भने। यो सुनेर मैले मनमनै विचार गरेँ, “ए, अब उनीहरूले एकैचोटि दुईजना आएर सिक्ने प्रबन्ध मिलाएछन्; मैले जानेजति सबै कुरा यिनीहरूलाई सिकाएँ भने, यिनीहरूले मलाई छिट्टै जित्लान्?” म एक प्रकारले चिन्तित र अनिच्छुक थिएँ, तर इज्जत जोगाउन ती दुई ब्रदरहरूलाई सिकाउन सहमति जनाउनुबाहेक मसँग अर्को विकल्प थिएन। तर उनीहरूलाई साँच्चै सिकाउने बेलामा भने, म पोख्त भएका मुख्य बुँदा र अत्यावश्यक कुराहरू उनीहरूलाई बताउन अझै पनि अनिच्छुक नै थिएँ। मैले कुराहरू लुकाउन र उनीहरूलाई आधारभूत तरिका मात्र सिकाउन चाहिरहेँ। तर यो कुरा यसरी गर्नेबारे विचार गर्दा भने मैले निकै असहज महसुस गरेँ, र मैले जे गर्दैथिएँ, त्यो स्वार्थी, घृणित र मानवताहीन थियो। पछि मैले परमेश्वरको वचन पढेँ: “गैरविश्वासीहरूसँग निश्चित किसिमको भ्रष्ट स्वभाव हुन्छ। जब तिनीहरूले अन्य मानिसहरूलाई पेशागत ज्ञान वा सिप सिकाउँछन्, तिनीहरू यस्तो विचार गर्छन्, ‘गुरुको सबै भेद चेलाले थाहा पाएपछि, गुरुले आफ्नो रोजीरोटी गुमाउँछ। यदि मैले जानेका सबै कुरा अरूलाई सिकाएँ भने, कसैले पनि मलाई फेरि उच्च नजरले हेर्ने वा प्रशंसा गर्नेछैनन् र मैले शिक्षकको रूपमा आफ्नो सबै हैसियत गुमाउनेछु। यसरी हुँदैन। मलाई थाहा भएको सबै कुरा मैले तिनीहरूलाई सिकाउनु हुँदैन, मैले केही कुरा त लुकाउनुपर्छ। मैले तिनीहरूलाई आफूले जानेको असी प्रतिशत मात्र सिकाउनुपर्छ र बाँकी कुरालाई आफूसँगै गोप्य राख्नुपर्छ; मेरा सीपहरू अरूको भन्दा उत्तम छन् भनेर देखाउने यो एकमात्र तरिका हो।’ यो कस्तो किसिमको स्वभाव हो? यो छलीपन हो। अरूलाई शिक्षा दिँदा, सहयोग गर्दा, वा आफूले सिकेको कुरा बताउँदा, तँमा कस्तो मनोवृत्ति हुनुपर्छ? (मैले कुनै कसर छोड्नु हुँदैन, र कुनै कुरा लुकाउनु हुँदैन।) कुरा नलुकाउन व्यक्तिले के गर्नुपर्छ? यदि तँ ‘आफूले सिकेका कुराहरूको मामलामा म केही लुकाउँदिनँ, र तिमीहरू सबैलाई तीबारे भन्न मलाई केही समस्या छैन। यसै पनि, म तिमीहरूभन्दा राम्रो क्षमताको छु, र म योभन्दा उच्च कुराहरू बुझ्न सक्छु’ भनेर भन्छस् भने, त्यो अझै पनि कुरा लुकाउनु र स्वार्थी हुनु नै हो। अथवा, यदि तँ ‘म तिमीहरूलाई मैले सिकेका सबै आधारभूत कुराहरू सिकाउँछु, त्यो ठूलो कुरै हैन। मसँग अझै पनि उच्च ज्ञान छ, र तिमीहरूले यो सबै सिक्यौ भने पनि, तिमीहरू मजत्तिको सिपालु हुनेछैनौ’ भनेर भन्छस् भने—यो अझै पनि केही कुरा लुकाउनु नै हो। यदि कुनै व्यक्ति अति स्वार्थी छ भने, ऊ परमेश्वरको आशिष्रहित हुनेछ। मानिसहरूले परमेश्वरका अभिप्रायको ख्याल राख्न जान्नुपर्छ। तैँले आफूले बुझेको सबैभन्दा महत्त्वपूर्ण र आवश्यक कुरा परमेश्वरको घरलाई योगदान दिनुपर्छ, ताकि परमेश्वरका चुनिएकाहरू ती कुराहरू सिकेर तिनमा निपुण हुन सकून्—परमेश्वरको आशिष् प्राप्त गर्ने यो एकमात्र तरिका हो, अनि उहाँले तँमाथि अझ धेरै कुराहरू बर्साउनुहुनेछ। भनिन्छ नि, ‘पाउनुभन्दा दिनु बढी आशिषित् हुनु हो।’ आफ्ना सबै प्रतिभा र वरदानहरू परमेश्वरमा समर्पित गर्, तिनलाई आफ्नो कर्तव्य निभाउँदा प्रदर्शन गर् ताकि सबैले लाभ उठाउन सकून्, र आफ्नो कर्तव्यमा परिणामहरू हासिल गर्न सकून्। यदि तैँले सम्पूर्ण रूपमा आफ्ना वरदान र प्रतिभाहरू योगदान गर्छस् भने, त्यस्तो कर्तव्य पूरा सबैलाई र मण्डलीको कामलाई ती लाभदायक हुनेछन्। हरेकलाई केही सामान्य कुराहरू मात्र भनेर आफूले खुब राम्रो गरेको छु वा केही लुकाएको छैन भनेर नसोच—यसो गरेर काम चल्दैन। तैँले मानिसहरूले अक्षरशः बुझ्न सक्ने केही सिद्धान्त वा कुराहरू मात्र सिकाउन सक्छस्, तर ती सार वा महत्त्वपूर्ण बुँदाहरू सिकारुहरूले बुझ्न नसक्ने हुन्छन्। तैँले विस्तारमा नबताई वा विस्तृत विवरण नदिई अझ पनि सारांश मात्र दिन्छस् र यस क्रममा तैँले मनमनै सोच्छस् ‘जे भए पनि मैले तिमीलाई बताएको छु र केही कुरा पनि जानीजानी लुकाएको छैनँ। यदि तिमीले बुझेनौ भने तिम्रो क्षमता अत्यन्तै कमजोर भएर हो, यसैले मलाई दोष नदेऊ। परमेश्वरले तिमीलाई कसरी अगुवाइ गर्नुहुन्छ भन्ने कुरा मात्र हामीले हेर्नुपर्छ।’ यस्तो सोचविचारमा कपट समावेश हुन्छ, होइन र? के यो स्वार्थी र घृणित होइन र? तेरो हृदयमा भएको र तैँले बुझ्ने कुराहरू किन मानिसहरूलाई सिकाउन सक्दैनस्? यसको साटो, तैँले ज्ञानलाई किन लुकाउँछस्? यो तेरा अभिप्रायहरू र तेरो स्वभावमा भएको समस्या हो। जब धेरै मानिसहरूलाई पेशागत ज्ञानको कुनै विशेष पक्षको परिचय पहिलो पटक दिइन्छ, तिनीहरूले त्यसको शाब्दिक अर्थ मात्र बुझ्छन्; मुख्य बुँदा र सार बुझ्नको निम्ति केही समयको अभ्यास चाहिन्छ। यदि तैँले यी सूक्ष्म बुँदाहरूलाई पहिले नै राम्ररी बुझेको छस् भने, तैँले अरूलाई ती सिधै बताउनुपर्छ; तिनीहरूलाई घुमाउरो बाटो हिँड्ने र छामछाम छुमछुम गर्दै धेरै समय बिताउने नबना। यो तेरो जिम्मेवारी हो; तैँले गर्नुपर्ने कुरा यही हो। यदि तैँले आफूलाई लागेका मुख्य बुँदाहरू र सार भनिस् भने मात्र तैँले केही नलुकाइरहेको वा तँ स्वार्थी नभइरहेको हुनेछस्। तिमीहरूले अरूलाई सीपहरू सिकाउँदा, आफ्नो पेशाबारे बताउँदा, वा जीवन प्रवेशबारे सङ्गति गर्दा, यदि तिमीहरू आफ्ना भ्रष्ट स्वभावहरूका स्वार्थी र घृणित पक्षहरू समाधान गर्न सक्दैनौ भने, तिमीहरूले आफ्ना कर्तव्यहरू राम्ररी निभाउन सक्नेछैनौ, र त्यस्तो अवस्थामा, तिमीहरू मानवता वा विवेक र समझ भएका, वा सत्यता अभ्यास गर्ने मानिसहरू होइनौ। तैँले आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्न सत्यता खोज्नैपर्छ, र स्वार्थी अभिप्रायरहित बिन्दुमा पुगेर परमेश्वरका अभिप्रायबारे मात्र विचार गर्नुपर्छ। यो तरिकामार्फत, तँसँग सत्यता वास्तविकता हुनेछ। यदि मानिसहरूले सत्यता पछ्याएनन् र गैरविश्वासीहरूले झैँ शैतानी दर्शनहरूसाथ जिए भने, त्यो अति थकाइलाग्दो हुनेछ। गैरविश्वासीहरूमाझ प्रतिस्पर्धा व्याप्त हुन्छ। कुनै पनि सीप वा व्यवसायको सारज्ञानमा पोख्त हुनु चानचुने कुरा होइन, र अरू कसैले यो कुरा पत्ता लगाएर यसमा पोख्त भयो भने, तेरो रोजीरोटी खतरामा पर्नेछ। रोजीरोटी रक्षा गर्नको लागि, मानिसहरू यस्तो व्यवहार गर्न उत्प्रेरित हुन्छन्। तिनीहरू सधैँ सतर्क रहनुपर्छ—तिनीहरू जेमा पोख्त छन् त्यो तिनीहरूको सबभन्दा मूल्यवान् कुरा हो, त्यो तिनीहरूको रोजीरोटी, पूँजी, जीवन धान्ने आधार हो, र तिनीहरूले यो कसैको हातमा पर्न दिनु हुँदैन। तर तँ परमेश्वरमा विश्वास गर्छस्—यदि तैँले परमेश्वरको घरमा यसरी सोच्छस् र व्यवहार गर्छस् भने, तँ गैरविश्वासीभन्दा केही फरक छैनस्। यदि तैँले सत्यता पटक्कै स्विकार्दैनस् भने, र शैतानी दर्शनसाथ जिउन जारी राख्छस् भने, तँ साँच्चिकै परमेश्वरमा विश्वास गर्ने व्यक्ति होइनस्। कर्तव्य निभाउँदा, यदि तँसँग सधैँ स्वार्थी अभिप्रायहरू हुन्छन् र तँ छुद्र मानसिकताको बन्छस् भने, तैँले परमेश्वरको आशिष् पाउनेछैनस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचन पढिसकेपछि, मलाई के महसुस भयो भने “गुरुको सबै भेद चेलाले थाहा पाएपछि, गुरुले आफ्नो रोजीरोटी गुमाउँछ” भन्ने शैतानी दर्शन भनेको त्यो नियम हो, जसअनुसार गैरविश्वासीहरू जिउँछन् र यो कार्य गर्ने स्वार्थी र घृणित तरिका हो। जब ब्रदर-सिस्टरहरूले सँगै मिलेर कर्तव्य निर्वाह गर्छन्, तब तिनीहरू आफ्ना कमजोरीहरूको पूर्ति गर्न एकअर्काका सबल पक्षमा भर पर्छन्, अनि आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सहकार्य गर्छन्। परमेश्वरमाथि विश्वास गर्ने व्यक्तिका रूपमा मैले परमेश्वरका वचनअनुरूप आफूलाई आचरणमा ढाल्नुपर्छ र कार्य गर्नुपर्छ। म आफ्नो भ्रष्ट स्वभावमाथि भर परेर आफूले जे चाह्यो त्यही गर्न सक्दिनथेँ। मैले ब्रदर-सिस्टरहरूलाई राम्रोसँग पढ्न दिनुथियो, केही पनि नलुकाई भिडियो बनाउनेसम्बन्धी मुख्य र अत्यावश्यक कुराहरू उनीहरूलाई सिकाउनुथियो। मैले उनीहरूलाई आफ्नो सिकाइमा घुमाउरो बाटो लाग्नबाट रोक्नुथियो ताकि उनीहरू छिट्टै भिडियो निर्माण सुरू गर्न सक्षम होऊन्। मैले पूरा गर्नुपर्ने जिम्मेवारी र कर्तव्य यिनै थिए। परमेश्वरको अभिप्राय यही थियो। यी कुरा महसुस गरिसकेपछि जब फेरि ब्रदरहरूलाई पढाउने बेला आयो, मैले उनीहरूलाई आफू पोख्त भएका सबै मुख्य र अत्यावश्यक कुराहरू सिकाएँ। केही समयपछि उनीहरूले भिडियो निर्माणमा केही प्रगति गर्न थाले। काममा सहयोग गर्ने थप दुई व्यक्ति भएकाले हाम्रो कार्यकुशलता पनि बढ्यो। झन् ब्रदरहरूलाई पढाउने क्रममा, मेरा आफ्नै सीपहरू अझ सुदृढ र मजबुत भए। मैले आफ्नो स्वार्थी र घृणित अभिप्रायलाई त्यागेर, सत्यता अभ्यास गरेर, आफ्नो कर्तव्य कसरी पूरा गर्ने भन्नेबारे सोचविचार गरेर, र मण्डलीको कामलाई फाइदा पुग्नेगरी कसरी अभ्यास गर्ने अनि मेरा ब्रदर-सिस्टरहरूलाई सहयोग पुग्ने गरी कसरी कार्य गर्ने भन्ने कुराको ख्याल गरेर मात्रै मैले सहजता र शान्तिको अनुभूत गर्छु भन्ने सिकेँ।
पछाडि फर्केर हेर्दा, मैले आफू शैतानी विषअनुसार जिइरहेको, अनि म स्वार्थी र द्वेषपूर्ण भएको महसुस गरेँ। मेरा कृयाकलाप र आचरण मेरा ब्रदर-सिस्टरहरू, वा मण्डलीको कार्यका लागि फाइदाजनक थिएनन्, बरू ती बाधाजनक र विध्वंसात्मक थिए, अनि परमेश्वरको हृदयलाई चोट पुर्याइरहेका थिए। ती परमेश्वरका वचन नै थिए जसले मलाई म कति द्वेषपूर्ण र स्वार्थी थिएँ, र साधारण मानवता भनेको के हो, परमेश्वरमा विश्वास गर्ने मानिसले के पछ्याउनुपर्छ, आफूलाई कस्तो आचरणमा ढाल्नुपर्छ भन्ने कुरा बुझाए, साथै मलाई परमेश्वरको धर्मी स्वभावका बारेमा साँचो रूपमा बुझाए। जतिबेला म हठी, विद्रोही थिएँ, र आफ्नो भ्रष्ट स्वभावमा जिइरहेको थिएँ, त्यतिबेला परमेश्वरले आफ्नो मुहार मबाट लुकाउनु भएको थियो, तर जब मैले परमेश्वरसमक्ष पश्चात्ताप गरेँ र कबुल गरेँ, अनि उहाँका वचनअनुरूप अभ्यास गरेँ, उहाँले फेरी ममाथि कार्य गर्न थाल्नुभयो र मैले आफूलाई चिन्न सकूँ भनेर मलाइ अन्तर्दृष्टि र ज्योति दिन आफ्ना वचन प्रयोग गर्नुभयो। परमेश्वरले दिने मुक्ति कति वास्तविक र व्यवहारिक छ भन्ने मैले बुझेँ।