९. झुटा अगुवा बर्खास्तीबारे मेरा चिन्ताहरू
२०२० सेप्टेम्बरमा, म एउटा मण्डलीमा प्रचारक थिएँ र चारवटा मण्डलीको काम हेर्ने जिम्मेवारी पाएकी थिएँ। यीमध्ये एउटा मण्डलीकी अगुवा ली यिङ्ग राम्रो क्षमता भएकी र आफ्नो कर्तव्यपालनमा उत्साही थिइन्। ममा उनको ठूलो छाप परेको थियो। तर केही समयपछि, मैले के पत्ता लगाएँ भने यस मण्डलीमा केही प्रस्ट गैरविश्वासी र दुष्ट मानिसहरू छन् जो अझै पखाइलिएका छैनन् अनि मण्डली जीवनलाई बाधा पुर्याइरहेका छन्। त्यसैले मैले ली यिङ्गको अवस्थाको खुलासा गर्दै उनीसँग सङ्गति गरेँ, र सफाइको काम नगर्नुको सार र परिणाम बताएँ। ली यिङ्ग ती गैरविश्वासी र दुष्ट मानिसहरूलाई मण्डलीबाट जतिसक्दो चाँडो सफा गर्न सहमत भइन्। तर दुई महिनापछि, उनीहरूको काम हेर्दा ली यिङ्गले यसो नगरेको फेला पारेँ। उनी अझ ती गैरविश्वासी र दुष्ट मानिसहरूका मामिलामा बहस गर्दै उनीहरूकै पक्ष लिइरहेकी थिइन्। परिणामस्वरूप हटाइनुपर्ने ती मानिसहरू अझै त्यहीँ थिए अनि मण्डलीभित्र बाधा-व्यवधान पुर्याउन छुट पाइरहेका थिए। त्यसका अलावा ब्रदर-सिस्टरहरूको कर्तव्यमा समस्याहरू थिए, तर ली यिङ्गले तिनलाई समाधान गर्न कहिल्यै सत्यता सङ्गति गरिनन्, न त ती मानिसहरूलाई काँटछाँट नै गरिन्। बरू उनी तिनीहरूको देहलाई ध्यान दिँदै थिइन्, अनि सहयोगी र उदार हुँदै उनीहरू आफ्नो कर्तव्यपालनमा अनुत्तरदायी हुने कारण बन्दै थिइन्, जसले मण्डलीको कामलाई प्रभावित पार्यो। उनको एकै खाले व्यवहारको मूल्याङ्कन गर्दा ली यिङ्ग वास्तविक काम नगर्ने एउटी झुटो अगुवा थिइन् अनि सिद्धान्तअनुसार, तत्कालै बर्खास्त गरिनुपर्ने थिइन्। तर मैले सोचेँ, “यो मण्डलीकी उनी मात्रै एउटी अगुवा हुन्। मैले उनलाई अहिले नै बर्खास्त गरेँ भने मैले यस मण्डलीको कामका धेरै कुरामा चिन्तित हुनु पर्नेछ। यी मध्ये केही कार्यहरू मैले व्यक्तिगत रूपमा कार्यान्वयन गर्नु पर्नेछ। त्यसका लागि मैले समय र उर्जा कहाँ पाउने? त्यसमाथि मैले अरू केही मण्डलीका काम पनि हेर्नु छ। म अति व्यस्त हुनेछु। म साठीवर्षमाथि लागि सकेँ, साथै मेरो स्वास्थ्य पनि त्यति राम्रो छैन। म काममा धेरै जोतिएँ भने मेरो शरीरले धान्न नसक्ला! मैले ली यिङ्गलाई अगुवाका रूपमा निरन्तरता दिएँ भने उनले कमसेकम साधारण कामकाज हेर्नेछिन् र मलाई अलिकति सहज हुनेछ।” मनमा यस्तो सोचेर मैले उनलाई बर्खास्त गरिनँ। अनि डिसेम्बरमा ली यिङ्गको गैरविश्वासी श्रीमानले उनको अनुगमन र पिछा गर्न थाले। उसमा खराब मानवता छ भन्ने उनलाई राम्ररी थाहा थियो तर अरूहरूको सुरक्षाको कत्तिपनि ख्याल नगरी उनी भेला हुने ठाउँमा आइ नै रहिन्। परिणामस्वरूप उनले निकै भेलाहरूलाई खतरामा पारिन्। अन्तत: मैले उनको समस्या कति गम्भीर छ भन्ने महसुस गरेँ र उनको काम तत्कालै रोकिदिएँ। यसपछि मलाई डर लाग्यो। यो मैले ली यिङ्गलाई जतिसक्दो चाँडो बर्खास्त नगर्दाको परिणाम हो भन्ने मैले महसुस गरेँ। म पनि जिम्मेवारी थिएँ!
उपासनाको समयमा मैले परमेश्वरका वचनको एक खण्ड पढेँ: परमेश्वर भन्नुहुन्छ: “परमेश्वरका आज्ञाहरूलाई तैँले कसरी लिन्छस् भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ, र त्यो एकदमै गम्भीर विषय हो! यदि परमेश्वरले मानिसहरूलाई सुम्पनुभएको कुरा तैँले पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तँलाई सजाय दिइनुपर्छ। परमेश्वरले सुम्पनुभएका आज्ञाहरूलाई मानिसहरूले पूरा गर्नुपर्छ भन्ने कुरा पूर्ण रूपमा स्वभाविक र न्यायोचित हो। यो मान्छेको सर्वोच्च उत्तरदायित्व हो, र यो कुरा तिनीहरूको जीवन जत्तिकै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्वरका आज्ञाहरूलाई गम्भीरताका साथ लिँदैनस् भने तैँले उहाँलाई सबैभन्दा घोर रूपले धोका दिइरहेको हुन्छस्। यसमा, तँ यहूदाभन्दा पनि बढी विलापमय हुन्छस्, र तँ श्रापित हुनुपर्छ। मानिसहरूले आफूलाई परमेश्वरले जे सुम्पनुहुन्छ सो कुराप्रति कस्तो व्यवहार गर्ने भन्नेबारेमा पूर्ण बुझाइ हासिल गर्नुपर्छ र तिनीहरूले कम्तीमा पनि उहाँले मानवजातिलाई सुम्पिनुभएका आज्ञाहरू परमेश्वरले दिनुभएको बढाइ र विशेष निगाहहरू हुन् र ती सबैभन्दा महिमामयी कुराहरू हुन् भनेर बुझ्नुपर्छ। अन्य सबै कुराहरूलाई त्याग्न सकिन्छ। यदि व्यक्तिले आफ्नो जीवन नै बलिदान दिनुपर्छ भने पनि, उसले परमेश्वरका आज्ञाहरू पूरा गर्नैपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। परमेश्वरका वचनबाट मैले के बुझेँ भने, कर्तव्य परमेश्वरद्वारा सुम्पिएको हुन्छ र यो अन्य कुराभन्दा धेरै महत्त्वपूर्ण छ। यसलाई हल्कारूपले लिनु र गैरजिम्मेवार हुनु भनेको परमेश्वरलाई धोका दिनु हो। यसो गर्नु भनेको मूलभूतरूपमा यहूदा जस्तै बन्नु हो, र यसो गर्नाले श्रापित होइनेछ। मैले प्रचारक भएर मण्डलीमा काम गर्न पाउनु भनेको परमेश्वरको कृपा थियो। मैले मण्डलीमा वास्तविक काम नगर्ने अगुवाहरू देखेपछि तिनीहरूलाई आवश्यकतानुसार बर्खास्त वा सरूवा गर्नुपर्थ्यो। त्यो मेरो कर्तव्य, मेरो जिम्मेवारी थियो। मण्डली अगुवाका रूपमा ली यिङ्गले समस्याहरू देखिन् तर तिनीहरूलाई समाधान गर्न सत्यता सङ्गति गरिनन्, अनि अझै सफाइकार्यमा बाधा पुर्याउँदै थिइन्। उनी स्पष्ट अविश्वासी तथा दुष्ट मानिसहरूलाई निकाल्न ढिलाइ गर्दै थिइन्, अनि अझै उनीहरूको पक्षमा खडा हुँदै थिइन्। यसले उनी झुटो अगुवा हुन् भन्ने पुष्टि गर्थ्यो र तत्कालै हटाउनु पर्थ्यो। तर मलाई के चिन्ता लाग्यो भने, मैले उनलाई हटाएपछि केही समयका लागि उपयुक्त व्यक्ति पाउन सक्दिनँ र मण्डलीको कामका बारेमा मैले बढी चिन्ता लिनुपर्ने हुन्छ। त्यसैले मैले उनलाई समयमै हटाइनँ, जसले गर्दा सुरक्षा खतरा तथा मण्डलीको काममा व्यवधान उत्पन्न भयो। मलाई राम्रोसँग थाहा थियो झुटा अगुवा तथा ख्रीष्टविरोधीहरू ब्रदर-सिस्टरहरूको जीवन प्रवेशका बाधा-अवरोधहरू हुन् र यस्तो कोही फेला परेमा तिनीहरूलाई बर्खास्त गर्नु र हटाउनु पर्छ-तिनीहरूलाई कत्तिपनि सहनु हुँदैन। तर आफूलाई चिन्ता र कठिनाइबाट जोगाउन, मैले ली यिङ्ग झुटो अगुवा हुन् भन्ने थाहा पाएर पनि उनलाई बर्खास्त गरिनँ। मैले म साँच्चै स्वार्थी र घृणित रहेछु भन्ने बुझेँ। आफ्नो कर्तव्यप्रतिको मेरो रबैया परमेश्वरलाई पक्कै/साँच्चिकै मन नपर्ने थियो। यी अनुभुतिहरूले मलाई निकै डर लाग्यो, त्यसैले मैले परमेश्वरको प्रार्थना गर्दै प्रायश्चित्त गरेँ, अनि ली यिङ्गलाई छिट्टै बर्खास्त गरेँ। मैले उनका गतिविधिहरूको सार तथा परिणामहरूको खुलासा र सङ्गति पनि गरेँ र अरूहरूले उनीबारे केही सुझबुझ पाए। त्यसपछि मण्डलीले अर्को अगुवा चुन्यो अनि बल्ल मण्डलीको कामले क्रमश: गति लियो।
२०२१ को फेब्रुअरीमा, चेङ्गसीको एउटा मण्डलीप्रति जिम्मेवार एकजना प्रचारकलाई वास्तविक काम नगरेकाले हटाइएको थियो, र अगुवाले मलाई उक्त मण्डलीको कामको जिम्मेवारी दिए। मैले त्यो जिम्मेवारी सम्हालेपछि, सिस्टर सु मिङ्गले मलाई उक्त मण्डलीका अगुवा तथा मलजल गर्ने डिकनको समस्याका बारेमा बताइन्, “मलजल गर्ने डिकन आफ्नो कर्तव्यमा सधैँ गैरजिम्मेवार र लापरबाह बन्छिन्। उनले बीसदिनदेखि आफ्नो जिम्मेवारीमा रहेका नवागन्तुकहरूलाई मलजल गरेकी छैनन्। तीमध्ये कतिले अफवाह सुनेकाले आस्था त्यागेर गए। मण्डली अगुवा सधैँ आफ्नो दैनिक काममा व्यस्त हुन्छिन् अनि अरूसँगको भेला वा कामको अनुगमन विरलै गर्छिन्। ब्रदर-सिस्टरहरूले उनलाई खबरदारी र उनीसँग सङ्गति गरिसकेका छन् तर उनी सुन्दिनन्। मलजल गर्ने डिकनले वास्तविक काम गर्दैनन् र तिनलाई बर्खास्त गर्नुपर्छ भन्ने पनि उनलाई थाहा छ, तर तिनलाई बर्खास्त गर्नु त परै जाओस् अझै तिनकै पक्ष लिएर तिनलाई जोगाउँछिन्। तसर्थ तिनीहरू वास्तविक काम नगर्ने झुटा अगुवा र झुटा कामदार हुन्, अनि मण्डलीको कामलाई अघिबाटै ढिला गराइसकेका छन्।” सु मिङ्गको रिपोर्ट सुनिसकेपछि मैले सोचेँ, “ती दुइको व्यवहारका आधारमा तिनीहरूलाई बर्खास्त गरिनुपर्छ। तर नयाँ अगुवा र कामदार चुन्नु सजिलो काम होइन। मैले दुवैलाई बर्खास्त गरेँ र केही समयसम्म हामीले उचित व्यक्ति चुन्न सकेनौँ भने, यो मण्डलीको काम मैले नै सम्हाल्नु पर्दैन र? मसँग सीमित ऊर्जा छ, तसर्थ यो जति नै जरुरी भए पनि मैले एक एक गर्दै कदम चाल्नुपर्छ।” मैले प्रतिक्रिया नदिएको देखेर सु मिङ्गले चिन्तित हुँदै सोधिन्, “झुटा अगुवा र कामदारहरूलाई तुरुन्तै बर्खास्त गरिएन भने, यसले मण्डलीको काम तथा ब्रदर-सिस्टरहरूको जीवन प्रवेश दुवैमा हानि गर्नेछ। तपाईंलाई चिन्ता वा हतार लागेको छैन? के यसबारे तपाईंलाई कुनै मतलब छैन? तपाईं वास्तविक काम नगर्ने पहिलेको प्रचारक जस्तो नहुनुहोला।” आलोचनाको प्रहार सुनेर मेरो अनुहार पोलेजस्तो भयो। अनि मैले सोचेँ, “म यहाँ भर्खरै आएकी छु, मैले बुझ्न बाँकी धेरै छ। मैले निल्न सक्नेभन्दा ठुलो गाँस हाल्नु हुन्न। यो कामलाई मैले एक एक गर्दै हेर्नुपर्छ। जे होस्, मैले यसबारे काम गर्दिनँ त भनेकी छैन।” पछि मेरो मनस्थिति गलत भएको मैले महसुस गरेँ, त्यसैले तत्काल परमेश्वरको प्रार्थना गरेँ, “परमेश्वर, मैले आज सामना गरेको यो परिस्थिति तपाईंकै आज्ञाले भएको थियो, तर म भने आफ्नै लागि बहाना बनाइरहेछु। यो तपाईंको अभिप्राय अनुरूप छैन भन्ने मलाई थाहा छ। कृपया मलाई मार्गदर्शन दिनुहोस् ता कि मैले यसमाथि चिन्तन गरेर सिक्न सकूँ।” प्रार्थना गरिसकेपछि मैले परमेश्वरका वचनको एउटा खण्ड सम्झेँ। परमेश्वर भन्नुहुन्छ: “हाल, केही व्यक्तिहरू यस्ता छन् जसले मण्डलीको निम्ति कुनै बोझहरू बोक्दैनन्। यी मानिसहरू सुस्त र लापरवाह छन् अनि यिनीहरूले केवल आफ्नै देहको मात्र वास्ता गर्छन्। त्यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन् र तिनीहरू अन्धा पनि हुन्छन्। यदि तैँले यो कुरा स्पष्टसित देख्न सक्दैनस् भने, कुनै पनि बोझ बोक्नेछैनस्। तैँले जति बढी परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्छस्, त्यति नै बढी बोझ उहाँले तँलाई सुम्पिनुहुनेछ। स्वार्थीहरू त्यस्ता कुराहरूको कष्ट भोग्न अनिच्छुक हुन्छन्; तिनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन् र परिणामस्वरूप, तिनीहरूले परमेश्वरद्वारा सिद्ध तुल्याइने अवसरहरू गुमाउनेछन्। के तिनीहरूले आफैलाई हानि पुऱ्याइरहेका छैनन् र? यदि तँ परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्ने व्यक्ति होस् भने तँमा मण्डलीको निम्ति साँचो बोझ विकसित हुनेछ। वास्तवमा, यसलाई मण्डलीको निम्ति तैँले बोक्ने बोझ भन्नुको सट्टामा यसलाई तैँले आफ्नै जीवनको खातिर बोक्ने बोझ भन्नु उत्तम हुनेछ किनकि मण्डलीको निम्ति तँमा विकसित यस बोझको उद्देश्य परमेश्वरद्वारा सिद्ध तुल्याइनको निम्ति तँलाई यस्ता अनुभवहरू प्रयोग गर्न दिनु हो। त्यसकारण, जो-जसले मण्डलीको निम्ति सबैभन्दा ठूलो बोझ बोक्छ, जो-जसले जीवन प्रवेशका निम्ति बोझ बोक्छ—तिनीहरू नै परमेश्वरद्वारा सिद्ध तुल्याइने व्यक्तिहरू हुनेछन्। के तैँले यसलाई स्पष्टसित देखेको छस्? यदि तँ भएको मण्डली बालुवा जस्तै छरिएको छ तर तँ न त चिन्तित हुन्छस् न त बेचैन नै अनि तेरा दाजुभाइ तथा दिदीबहिनीहरूले सामान्य रूपले परमेश्वरका वचनहरू खाइरहेका र पिइरहेका नहुँदा पनि आँखा चिम्लिन्छस् भने, तैँले कुनै बोझहरू बोकिरहेको हुँदैनस्। त्यस्ता मानिसहरू परमेश्वरले आनन्द लिने प्रकारका मानिसहरू होइनन्। जुन प्रकारका मानिसहरूमा परमेश्वरले आनन्द लिनुहुन्छ, तिनीहरू धार्मिकताको निम्ति भोकाउँछन् र तिर्खाउँछन् र परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर)। परमेश्वरका वचनमाथिको चिन्तनले मलाई लज्जित बनायो। के मलाई मण्डलीको कामबारे कुनै चिन्ता वा आतुरता नभएकै होइन र? मैले अगुवा र मलजल गर्ने डिकनका समस्यासम्बन्धी सु मिङ्गको रिपोर्ट सुनेपनि, मण्डलीको कामका बारेमा विचार गरिनँ अनि तत्कालै अनुसन्धान गरी झुटा अगुवा तथा कामदारलाई बर्खास्त गरिनँ। बरू पहिले आफ्ना देहको हितबारे सोचेँ, तिनीहरूलाई बर्खास्त गरिसकेपछि मैले व्यक्ति चुन्नै पर्छ भन्ने चिन्ता गरेँ। मैले त्यसबारे चिन्तित हुनुपर्ने र उर्जा त्यसैका लागि खर्चिनुपर्ने हुन्थ्यो, अनि मेरो कार्यभार बढ्ने थियो। आफैँलाई मूल्य चुकाउन र शारीरिक कष्टबाट जोगाउन, तिनीहरू झुटा अगुवा र कामदारहरू हुन् भन्ने थाहा भएपनि मैले तिनीहरूलाई बर्खास्त गर्न कुनै आतुरता महसुस गरिनँ। सारमा, म अप्रत्यक्ष रूपमा तिनीहरूलाई जोगाउँदै र छाडा छोड्दै, मण्डलीमा नराम्रा कामहरू गर्न र बाधा-व्यवधान पुर्याउन खुला छुट दिँदै थिएँ। मैले आफ्नो कर्तव्यलाई जरुरी नठान्दा सु मिङ्गले मलाई काँटछाँट गर्नु मेरा लागि उपयोगी खबरदारी थियो। यसले मलाई तत्काल चिन्तन गर्न, आफ्नो भ्रष्ट स्वभाव चिन्न र परमेश्वर समक्ष प्रायश्चित्त गर्न शक्ति दियो। झुटा अगुवा तथा कामदारहरूलाई मण्डलीमा निरन्तरता दिइएको थियो भने, मण्डलीको काममा कति ठुलो नोक्सान हुन्थ्यो भन्न सकिँदैन। अगाडिको घटनामा पनि म आफ्नो देहको ख्याल राख्दै थिएँ भन्ने मलाई महसुस भयो। मैले झुटो अगुवालाई तुरुन्तै बर्खास्त नगर्नाले मण्डलीको काममा बाधा पुगेको थियो। म त्यही गल्ति दोहोर्याउँदै थिइनँ त? आफूलाई शारीरिक कष्टबाट जोगाउने चाहनाले, मैले मण्डलीको काम अथवा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा पुगेको क्षतिबारे पटक्कै सोचिनँ। म पनि कुनै वास्तविक काम गरिरहेकी थिइनँ, म झुटो अगुवाकै व्यवहार देखाउँदै थिएँ। आफ्नो कर्तव्यप्रतिको मेरो रबैया परमेश्वरलाई साँच्चिकै मन नपर्ने थियो। मलाई काँटछाँट नगरिएको भए मैले आत्मचिन्तन गर्नुपर्ने कुरा थाहै पाउने थिइनँ। यी कुराहरूको महसुस भैसकेपछि मैले परमेश्वरलाई मौन प्रार्थना गरेँ, म प्रायश्चित्त गर्न र आफ्नो कर्तव्यपालन सही रूपले गर्न चाहन्छु भनेँ। भोलिपल्ट म सु मिङ्गसँग मण्डली गएँ। अनुसन्धानपछि, मलाई अगुवा र मलजल गर्ने डिकनले वास्तविक काम गरिरहेका छैनन् भन्ने यकिन भयो। उनीहरूमा ठ्याक्कै अविश्वासीहरूकै जस्तो दृष्टिकोण थियो, मानिस तथा कुराहरूको अतिविश्लेषण गर्थे, र सत्यता स्विकार्दैनथे। उनीहरू झुटा अगुवा र झुटा कामदार थिए। त्यसपछि लगत्तै तिनीहरू बर्खास्त भए र उनीहरूको ठाउँमा नयाँ व्यक्ति छानिए।
त्यो सबै कुरापछि मैले छक्क पर्दै सोचेँ, “किन म मण्डलीमा वास्तविक काम नगर्ने झुटा अगुवा र कामदारहरू फेला परेपछि तिनीहरूलाई तत्कालै बर्खास्त गर्न सक्दिनँ? खास के कारणले यस्तो भैरहेको छ?” पछि मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “मानिसहरूले परमेश्वरको कामको अनुभव गरेर सत्यता बुझुन्जेलसम्म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुसी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै मानिसभित्र शैतानको विष हुनु हो। त्यसो भए, शैतानको विष के हो? यो कसरी अभिव्यक्त हुन सक्छ? उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, मानिसहरूले जवाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनिसकेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरूले यो आफ्नै लागि मात्र त्यसो गर्छन्। त्यसकारण तिनीहरू आफ्नै लागि मात्र जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पहिले नै भ्रष्ट मानवजातिको अस्तित्वको आधार भइसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। परमेश्वरका वचनमाथिको चिन्तनले मलाई के कुरा स्पष्ट भयो भने म मूलभूत रूपमा स्वार्थी र अल्छी भएकाले झुटा अगुवा र कामदारहरूलाई बर्खास्त गरिरहेकी थिइनँ। म जे गर्दै थिएँ केवल सजिलो रूपमा गर्न चाहन्थेँ अनि कुनै कष्ट भोग्न वा मूल्य चुकाउन चाहन्नथेँ। म “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” र “आजको हाला आजै खाला भोलि जे होला देखा जाला” भन्ने शैतानका दर्शनहरूमा जिइरहेकी थिएँ। मैले आफ्नो फाइदा मात्र हेरेँ अनि शारीरिक सुखको अभिलाषा राखेँ। मैले मण्डलीको कामको ख्याल पटक्कै राखिरहेकी थिइनँ। हालैका झुटा अगुवा र कामदारहरू बर्खास्त गर्ने यी दुई घटनाहरूमा, तिनीहरूले वास्तविक काम गर्दैनन् र तत्कालै बर्खास्त गर्नुपर्छ भन्ने मलाई थाहा थियो, तर केही समयसम्म हामीले उचित व्यक्ति छान्न सक्दैनौँ भनेर म चिन्तित भइराखेँ। त्यसपछि म ती मण्डलीका कामबारे चिन्तित हुनुपर्थ्यो, शारीरिक कष्टको त कुरै छोडौँ। म साठीमाथिकी भैसकेकी थिएँ अनि मेरो स्वास्थ्य त्यति राम्रो थिएन। मैले आफैँ धेरै काम गर्दा मलाई गाह्रो हुने थियो। त्यसैले आफ्नो देहलाई विश्राम दिन र कष्टबाट टाढै राख्न, गाह्रो मान्दै तिनीहरूलाई नै निरन्तरता दिएँ अनि तिनीहरूलाई प्रतिस्थापित गर्न आतुरता देखाइनँ। मलाई के लाग्यो भने उनीहरूले यी मण्डलीका काममा सहयोग गर्दा, मेरो चिन्ता र कष्ट कम हुन सक्थ्यो। मैले के बुझेँ भने म आफ्नो कर्तव्यमा मेरो देहको हितबारे मात्र सोच्दै थिएँ, अनि आफ्नो देहको ख्याल राख्न, म झुटा अगुवा र कामदारहरूको अप्रत्यक्ष रक्षा र बचाउ गर्दै थिएँ, उनीहरूलाई छाडा छोडेर मण्डलीको कामलाई बाधा-व्यवधान पुर्याउन दिँदै थिएँ। म आफ्नो कर्तव्यपालन गरिरहेकी थिइनँ; मैले त दुष्टता गरिरहेकी थिएँ! म सदा आफ्नै उमेरको चिन्ता गर्थेँ, अनि मेरो शरीरले बढी कार्यभार सहन सक्दैन भनेर पिर गर्थेँ। तर वास्तवमा म परमेश्वरको अभिप्रायप्रति गैरजिम्मेवार र असंवेदनशील बन्न बहानाबाजी मात्र गरिरहेकी थिएँ। परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले मानिसहरूलाई तिनीहरूले बोक्नै नसक्ने भार दिनुहुन्न। यदि तैँले सय पाउन्ड भारी बोक्न सक्छस् भने, परमेश्वरले अवश्यै तँलाई सय पाउन्डभन्दा गह्रौँ भारी बोक्न दिनुहुनेछैन। उहाँले तँलाई कुनै दबाब दिनुहुनेछैन। परमेश्वरले सबैलाई यसरी नै व्यवहार गर्नुहुन्छ। अनि तँ कुनै पनि कुरा—कुनै पनि व्यक्ति वा कुनै पनि सोच र विचारको रोकटोकमा पर्नेछैनस्। तँ स्वतन्त्र हुन्छस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता पछ्याउनु भनेको के हो (१५))। मेरो स्वास्थ्य कमजोर भएपनि र कहिलेकाहीँँ काममा व्यस्त हुँदा अलि छिटो थाकेपनि, म यी कुराहरूको सहन गर्न सक्थेँ। मेरा जिम्मेवारी मेरा शक्तिले राम्ररी भ्याउने थिए। जबसम्म म आफ्नो समयको उचित व्यवस्थापन र अरूहरूसँग राम्ररी सहकार्य गर्थेँ, तबसम्म मैले यो कार्यभार शारीरिक रूपले बहन गर्न सक्ने थिएँ। म मुख्यत: अल्छी र आफ्नो देहको बढी नै ख्याल गर्ने भएकीले यस्तो सोच्ने गर्थेँ, जसले मलाई आफ्नो कर्तव्यमा दबाब, कष्ट झेल्न अनि मूल्य चुकाउन अनिच्छुक गरायो। मैले त्यो समयलाई सम्झेँ जुनबेला परमेश्वरले मोसालाई इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउन लगाउनुभएको थियो। मोसा असी वर्षका भैसकेका थिए, तर उनले आफू धेरै बूढो भएको छु भनेर भनेनन् र शारीरिक कष्टको चिन्ताले परमेश्वरको आज्ञा अस्वीकार गरेनन्। त्यसको विपरीत, उनले परमेश्वरको बोलाहट स्विकारे, र आफ्नो क्षमताले भ्याएसम्म परमेश्वरले दिनुभएको निर्देशन पूरा गर्न सक्षम भए। अन्त्यमा उनले इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याए। केही ब्रदर-सिस्टरहरू झन्डै-झन्डै मेरै उमेरका थिए, झन् कति त म भन्दा पनि बढी उमेरका थिए, अनि उनीहरूले ठुला कार्यभार लिएका थिए। उनीहरू अझैपनि पहिले झैँ सम्पूर्ण शक्ति आफ्नो कर्तव्यपालनमा लगाउँथे, साथै मैले कसैलाई पनि आफ्नो कर्तव्यपालनका कारण साँच्चै थाकेको कहिल्यै देखिनँ। उनीहरूले मैले भन्दा बढी दु:ख र कष्ट भोग्दै थिएनन् त? तर म भने, ती झुटा अगुवा तथा कामदारहरूलाई बर्खास्त नगर्न आफ्नो बुढ्यौली र कमजोर स्वास्थ्यलाई निहुँ बनाउँदै, तिनीहरूलाई मण्डलीमै राखी, काम तथा ब्रदर-सिस्टरहरूको जीवनप्रवेशमा ढिलाइ गर्न रुचाउँदै थिएँ। म साँच्चै स्वार्थी र घृणित थिएँ। वास्तवमा परमेश्वरलाई मेरो उमेर तथा मैले निर्वाह गर्न सक्ने कर्तव्यका बारेमा थाहा थियो, अनि म थकित हुने-नहुने कुरा उहाँकै हातमा थियो। मण्डलीको एक अगुवा तथा कामदार भएको नाताले, मैले हर समय आफ्नो कर्तव्य सिद्धान्तनुसार पूरा गर्नुपर्ने थियो साथै मण्डलीको कामको हिफाजत गर्नुपर्ने थियो। मेरो स्वास्थ्य जे-जस्तो भएपनि, मैले सधैँ परमेश्वरको सार्वभौमिकता र प्रबन्धप्रति समर्पित हुनुपर्छ। एउटा सिर्जित प्राणीमा हुनुपर्ने एकमात्र समझ यही थियो। परमेश्वरको अभिप्राय तथा माग बुझेपछि, मैले केवल सत्यताको अभ्यास गर्न, देह विरुद्ध विद्रोह गर्न र आफ्नो कर्तव्य राम्ररी पालन गर्न चाहेँ।
त्यसपछि मैले चिन्तन जारी राखेँ। मैले झुटा अगुवा र कामदारहरू फेला पार्दा, किन तिनीहरूलाई नै उपयोग गरिरहेँ, अनि तिनीहरूलाई बर्खास्त गर्ने तत्परता देखाइनँ? यसमाथि विचार गर्दा, मैले आफूमा गलत धारणा थिएछ भन्ने थाहा पाएँ। मैले सोचेकी थिएँ झुटा अगुवा र कामदारहरूलाई बर्खास्त गर्नु अनि तिनीहरूको स्थान लिने मानिसहरू चुन्नु मुस्किल काम हो। मैले तिनीहरूलाई केही समयसम्म राखेँ भने तिनीहरू कमसेकम सामान्य कामकाज गर्ने थिए, जुन नहुनु मामा भन्दा कानो मामा जाति झैँ हुने थियो। एउटी सिस्टरले मलाई परमेश्वरका वचनको एउटा खण्ड पठाइन् जुन यही समस्यासँग मिल्ने थियो र यसले मलाई कुराहरू झनै छर्लङ्ग बनाइदियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “झुटो अगुवाको प्रकारको व्यक्तिले वास्तविक काम गर्दैन, र ऊ वास्तविक काम गर्न असक्षम हुन्छ। उसको क्षमता कमजोर हुन्छ, उसका आँखा र मन अन्धा हुन्छन्, ऊ समस्याहरू पत्ता लगाउन असक्षम हुन्छ, र उसले विभिन्न प्रकारका मानिसहरूलाई छर्लङ्ग देख्न सक्दैन, त्यसैले ऊ विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूको प्रवर्द्धन र जगेर्ना गर्ने महत्त्वपूर्ण काम वहन गर्न असक्षम हुन्छ। यसरी, ऊसँग मण्डलीको काम राम्ररी गर्ने कुनै तरिका हुँदैन, र उसले परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा कैयौँ कठिनाइहरू उत्पन्न गराउनेछ। यी तत्त्वहरू ख्याल गर्दा, झुटा अगुवाहरू मण्डली अगुवा बन्न अनुपयुक्त हुन्छन् भन्ने कुरा स्पष्ट छ। अरू झुटा अगुवाहरू छन् जो मण्डलीको कुनै विशिष्ट काम गर्दैनन् र विशिष्ट कामका सुपरिवेक्षकहरूसँग कुनै सम्पर्क राख्दैनन्, त्यसैले तिनीहरूलाई कुन प्रतिभावान् व्यक्तिहरू कुन काम गर्न सक्षम छन्, वा को के कामका लागि उपयुक्त छ, वा उनीहरूको काम सिद्धान्तअनुरूप छ कि छैन भन्ने थाहा हुँदैन। यसरी तिनीहरू प्रतिभा भएका मानिसहरूको प्रवर्द्धन र जगेर्ना गर्न असक्षम हुन्छन्। त्यसोभए, त्यस्ता मानिसहरूले कसरी मण्डलीको काम राम्ररी गर्न सक्थे त? झुटा अगुवाहरूले वास्तविक काम गर्न नसक्ने मुख्य कारण भनेको तिनीहरूको क्षमता कमजोर हुनु हो; तिनीहरूसँग कुनै पनि कुराबारे अन्तर्ज्ञान हुँदैन र तिनीहरूलाई वास्तविक काम भनेको के हो भन्ने नै थाहा हुँदैन। यसले मण्डलीको कामलाई ठप्प र निष्क्रिय हुने स्थितिमा डोऱ्याउँछ। झुटा अगुवाहरूको वास्तविक काम गर्ने असमर्थतासँग यी सीधै सम्बन्धित हुन्छन्। विगत कैयौँ वर्षदेखि, परमेश्वरको घरले, दुष्ट मानिसहरू र अविश्वासीहरू पखालिनुपर्छ र झुटा अगुवाहरू र झुटा सेवकहरू बर्खास्त गरिनुपर्छ भनेर बारम्बार, जोड दिएको छ। किन विभिन्न दुष्ट मानिसहरू र अविश्वासीहरू पखालिनुपर्छ त? किनकि, वर्षौँ परमेश्वरमा विश्वास गरेपछि पनि, यी मानिसहरू अझै पनि सत्यता बिलकुलै स्विकार्दैनन्, र मुक्तिको आशाभन्दा पार हुने बिन्दुमा पुगेका हुन्छन्। र किन सबै झुटा अगुवाहरू र झुटा सेवकहरू बर्खास्त गरिनुपर्छ त? किनभने तिनीहरूले कुनै वास्तविक काम गर्दैनन्, र कहिले पनि सत्यता पछ्याउनेहरूको प्रवर्द्धन र जगेर्ना गर्दैनन्; बरु, निरर्थक मेहनतमा संलग्न भइरहन्छन्। यसले मण्डलीको कामलाई अस्तव्यस्तता र निष्क्रियतामा पुऱ्याउँछ, विद्यमान समस्याहरू समाधान नभई रहिरहन्छन्, र यसले परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशलाई पनि सुस्त बनाउँछ। यदि सबै झुटा अगुवाहरू र झुटा सेवकहरू बर्खास्त भए भने, र मण्डलीको कामलाई बाधा दिने यी सबै दुष्ट मानिसहरू र अविश्वासीहरू पखालिए भने, मण्डलीको काम स्वतः सहज रूपमा अघि बढ्नेथियो, र परमेश्वरका चुनिएकाहरूले सामान्य रूपमा परमेश्वरका वचनहरू खान र पिउन र आफ्ना कर्तव्य पूरा गर्न, अनि परमेश्वरमाथिको आस्थामा सही मार्गमा प्रवेश गर्न पाउनेथिए। परमेश्वरले यही हेर्न चाहनुहुनेथ्यो” (वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्मेवारीहरू (५))। परमेश्वरका वचनबाट मैले के बुझेँ भने झुटा अगुवा तथा कामदारहरू वास्तविक काम गर्दैनन् र गर्नै सक्दैनन्। तिनीहरूलाई अनिच्छापूर्वक राखेपनि फ़ाइदाभन्दा नोक्सान नै बढी हुन्छ। तिनीहरूले मण्डलीको कामको हिफाजत नगर्ने मात्र होइन यसलाई खालि बाधा-व्यवधान मात्र पुर्याउँछन्। ली यिङ्गको बर्खास्तीसँगै, म के कुराले चिन्तित भएँ भने मैले यी झुटा अगुवालाई बर्खास्त गरेँ, र तत्कालै राम्रो व्यक्ति चुन्न असफल भएँ भने, यसले काममा सहजै ढिलाइ हुन्छ। मैले तत्कालका लागि उनैलाई राखिराख्दा कमसेकम उनले काममा सहयोग गरिराख्छिन्, जुन कोहीपनि त्यहाँ नहुनुभन्दा बेस हो भन्ने सोचेँ। परमेश्वरका वचनको खुलासा तथा तथ्यले देखाएका कुराबाट, अन्तत: मैले के बुझेँ भने यस्तो दृष्टिकोण गलत मात्र होइन, निरर्थक, भ्रामक अनि बिलकुल सत्यतासँग मेल नखाने छ। झुटा अगुवा तथा कामदारहरू भेटिएभने तिनीहरूलाई तत्कालै बर्खास्त गर्नुपर्छ र जतिसक्दो चाँडो कामको जिम्मेवारी लिने उचित व्यक्ति चुनिहाल्नुपर्छ। तत्कालै व्यक्ति चुन्न सकिएन भने झुटा अगुवा राख्नुभन्दा कसैलाई प्रशिक्षित गर्नु बढी श्रेयस्कर हुन्छ। यो नै मण्डलीको कामको हिफाजत गर्नु हो। मैले पहिले यो स्पष्ट देख्न सकिनँ। मैले सोचेकी थिएँ ती झुटा अगुवा र कामदारहरूलाई राख्दा मलाई केही काम बाँड्न र अलिकति आराम पाउन सहयोग पुग्छ। पछि मैले थाहा पाएँ यसो गर्दा समस्याबाट जोगिनु त परै जाओस्, म पहिलेभन्दा झन् बढी थकित र व्यस्त हुन थालेँ, किनभने उनीहरूको काममा सधैँ निकै विचलन र कमजोरीहरू हुन्थे। अन्त्यमा, थुप्रै समस्याहरू अझै समाधान गर्न बाँकी हुन्थे। तिनीहरूलाई प्रतिस्थापन गरेपछि मात्र मण्डलीको काममा क्रमिक सुधार आयो। साथै अगुवाप्रतिका मेरा माग तथा मापदण्डहरू अत्यन्त उच्च थिए। म अगुवाहरूले चुनिने बित्तिकैदेखि काम सुरू गर्नुपर्छ भन्ने ठान्थेँ, अत: मलाई कहिल्यै उपयुक्त उम्मेदवार छन् भन्ने लागेन, अनि ती झुटा अगुवालाई प्रतिस्थापन गर्ने कार्यलाई स्थगित गरेँ। तर यथार्थमा यदि कोही व्यक्तिले सत्यता पछ्याउँछ, सही अभिप्राय राख्छ, सही व्यक्ति छ, र प्रशस्त क्षमता छ भने उसलाई प्रशिक्षित गर्न सकिन्छ। उनीहरूले लामो समयदेखि परमेश्वरमाथि विश्वास गरेका छन् कि छैनन् वा उनीहरू यहाँभन्दा अगाडि अगुवा या कामदार भएका छन् कि छैनन् भन्ने कुराको मतलब हुँदैन, किनकि यस्ता प्रकारका व्यक्तिहरूले सत्यता पछ्याउने भएकाले पवित्र आत्माको काम सजिलै प्राप्त गर्न सक्छन्, र आफ्नो कर्तव्यपालनमा निरन्तर अगाडि बढ्छन्। यी कुराहरूको महसुस गरेपछि, मेरो “नहुनु मामाभन्दा कानो मामा बेस” भन्ने गलत धारणा पूरै परिवर्तित भयो।
पछि एउटा मण्डलीका ब्रदर-सिस्टरहरूले, लिउ ली नामक एउटी अगुवाले वास्तविक काम गरिरहेकी छैनन् र उनी झुटो अगुवा हुन् भन्ने रिपोर्ट गरे। मैले यो मामिलाको अनुसन्धान गरी उनलाई जतिसक्दो चाँडो बर्खास्त गरूँ भन्ने उनीहरूले चाहेका थिए। मैले मनमनै विचार गरेँ, “यो मण्डलीमा पहिल्यै नै डिकन र अगुवाहरू कम छन्, अझ मैले अर्कोलाई पनि बर्खास्त गर्नुपर्ने भयो? मैले अझ बढी मानिसहरू चुन्नेबारेमा चिन्ता गर्नु नपर्ला? त्यसमाथि अर्को मण्डलीलाई अझै एक जना अगुवाको खाँचो छ, जुन आफैँमा धेरै काम हो। यदि मैले लिउ लीलाई बर्खास्त गर्दा त्यसले मेरो कार्यभार बढाउँदैन होला?” मैले फेरि आफ्नो देहको ख्याल राख्न चाहेँ, तर त्यतिखेरै मैले मेरो मनस्थिति गलत भएको महसुस गरेँ। मैले छिटोछिटो परमेश्वरको प्रार्थना गरेँ, “हे सर्वशक्तिमान् परमेश्वर! म हरेक पल्ट अगुवा बर्खास्त गर्नुपर्दा आफ्नो देहको ख्याल राख्न पुग्छु। म तपाईंको अभिप्रायको ख्याल राख्न वा मण्डलीको कामको हिफाजत गर्न असमर्थ हुन्छु। परमेश्वर मलाई आफ्नो देहविरुद्ध विद्रोह गर्न, सत्यता अभ्यास गर्न र तपाईंलाई सन्तुष्ट पार्न शक्ति प्रदान गर्नुहोस्।” प्रार्थन गरेपछि, मैले परमेश्वरका वचनले भन्ने कुरा सम्झेँ: “आफ्नो कर्तव्य निभाउनेहरू सबैको हकमा भन्दा, सत्यतासम्बन्धी तिनीहरूको बुझाइ जति गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल किसिमको अभ्यास भनेको सबै कुरामा परमेश्वरको घरको हितबारे विचार गर्नु, र आफ्ना स्वार्थी इच्छाहरू, व्यक्तिगत अभिप्राय, मनसाय, गर्व, र हैसियत त्याग्नु हो। परमेश्वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दे—व्यक्तिले कम्तीमा पनि यतिचाहिँ गर्नैपर्छ। यदि कर्तव्य निभाउने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निभाइरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निभाएको कुरै भएन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनले मलाई के बुझाइदिए भने मेरा व्यक्तिगत चाहहरू मण्डलीका कार्यसँग बाझिन पुगेमा, मैले व्यक्तिगत चाहहरूलाई पन्छाएर मण्डलीको कामलाई प्राथमिकतामा राख्नुपर्छ। मैले परमेश्वरको अभिप्रायलाई ख्याल राख्दै तत्कालै झुटा अगुवाहरूलाई बर्खास्त गर्नुपर्छ। यो मात्र परमेश्वरको अभिप्रायसँग मेल खान्छ। त्यसैले मैले लिउ लीसँग सङ्गति गर्दै यसको सुरूवात गरेँ, उनले आफ्नो वास्तविक काम नगर्नुको सार तथा गम्भीर परिणामहरूको खुलासा र विश्लेषण गरेँ। तर केही समयपछि, उनमा अझै अलिकति पनि परिवर्तन नआएको मैले देखेँ, त्यसैले मैले उनलाई सिद्धान्तबमोजिम बर्खास्त गरेँ। मैले अरूहरूसँग सङ्गति गरेँ र हामीले एकजना नयाँ अगुवा चुन्यौँ। जब मैले परमेश्वरको मागअनुसार कार्य गरेँ, मलाई थकान नै महसुस भएन, बरू झन् आनन्द र शान्तिको अनुभव गरेँ। यस्तो प्रकारले प्रगति गर्न र प्रवेश गर्न सक्षम हुनु पूर्ण रूपमा परमेश्वरका वचनको मार्गदर्शनका कारणले नै हो।