८. सौभाग्य पछ्याइमाथिको चिन्तन
सन् २०२२ को अन्त्यमा, मैले प्रचारकको रूपमा आफ्नो कर्तव्य सुरु गरेँ, र धेरैवटा मण्डलीको काम अनुगमन गर्ने जिम्मेवारी पाएँ। एक दिन मैले माथिल्लो अगुवाको पत्र पाएँ, पत्रमा मण्डलीका दुई अगुवाको स्थिति खराब रहेको र यसले पहिल्यै मण्डलीका कामको विभिन्न पक्षलाई प्रभावित गरेको कुरा बताइएको थियो। उनले मलाई तुरुन्त त्यहाँ गएर अवस्था बुझ्न र सङ्गति गरेर त्यसको समाधान गर्न अनुरोध गरिन्। मैले मनमनै सोचेँ, “हालै, यो मण्डलीले कम्युनिस्ट पार्टीद्वारा गिरफ्तारीको कारवाही भोगेको थियो, कैयौँ ब्रदर-सिस्टर सुरक्षाको जोखिममा छन्, र सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन्। यही कठिनाइका कारण यी दुई अगुवा केही नकारात्मक भएको बुझ्न सकिन्छ। यदि मैले परमेश्वरका केही वचन खोजेर तिनीहरूसँग सङ्गति गरेँ भने म यो समस्या समाधान गर्न सकूँला।” जब मैले यी दुई अगुवालाई भेटेँ, तिनीहरूको स्थिति निकै खराब थियो। उनीहरूले मण्डलीको कामका विभिन्न पक्षमा नतिजा नदेखिनु आफूहरूले वास्तविक काम गर्न असफल भएका कारणले गर्दा हो भने, र तिनीहरू यति नकारात्मक थिए कि राजीनामा दिन चाहन्थे। मैले तुरुन्त तिनीहरूसँग यसो भन्दै सङ्गति गरेँ, “यो वातावरण परमेश्वरको अनुमतिले आएको हो। हामी नकारात्मकताको स्थितिमा अल्झिनु हुँदैन। अहिलेको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्नो कर्तव्य वहन गर्न र मण्डलीको काममा ढिलाइ हुन नदिन हामी कसरी मिलेर काम गर्न सक्छौँ भन्ने हो।” तर मैले जसरी सङ्गति गरे पनि ती दुई सिस्टरहरू नकारात्मक स्थितिकै बन्दी बनिरहे, र आफ्नो क्षमता खराब रहेको, आफूहरूले सत्यता नपछ्याउने र अगुवाइ गर्ने काम गर्न नसक्ने भनिरहे। यस्तो अवस्थाको सामना भएपछि, मैले सोचेँ, “म किन यति अभागी छु? मैले प्रचारकको काम भर्खरै सुरु गरेकी थिएँ, र मलाई यो मण्डलीमा खटाइयो, जहाँका अगुवाहरू जिम्मेवारी लिनै नसक्ने गरी नकारात्मक थिए। यसको अर्थ सबै काम मेरै काँधमा आउने होइन र?” त्यो बेला, मैले मण्डली अगुवाहरूको स्थिति हल गर्न सङ्गति गर्ने र केही काम कार्यान्वयन गर्न विभिन्न भेलामा जाने एकसाथ गरिरहेकी थिएँ। म हरेक दिन थकित हुनेगरी व्यस्त हुन्थेँ। पछि, एक अगुवाले राजीनामा दिइन्। अर्को अगुवाले एउटा यहूदाबाट धोका पाइन् र पक्राउबाट बच्न केही समय लुक्नु पर्यो, र उनी कर्तव्य निर्वाह गर्न बाहिर जान सकिनन्। यो खबर सुनेपछि मेरो मुखबाट गहिरो सुस्केरा निस्कियो, मैले सोचेँ, “यो मण्डलीमा धेरै समस्या छन्; ती दुई अगुवाले आफ्नो कर्तव्य समेत निर्वाह गर्न सक्दैनन्। सबै काम मैमाथि आइपरेको छ। म कहिलेसम्म यी सबैमा व्यस्त रहने?” ती दिनमा, म घुम्ने चक्र जस्तै थिएँ, रोकिन नै सक्दिनथेँ। कहिलेकाहीँ दिनमा म कामको बारेमा बुझ्न ब्रदर-सिस्टरसँग भेट गर्थेँ भने, राति घर फर्केपछि, जवाफ दिनुपर्ने पत्रहरूको थुप्रो हुन्थ्यो। हरेक रात अबेरसम्म म व्यस्त रहन्थेँ, र तैपनि सबै कार्य पूरा गर्न सक्दिनथेँ। यी विभिन्न समस्या र कठिनाइबिच, म मानसिक र शारीरिक दुवै रूपमा निकै थकित भएकी थिएँ। मेरो छातीमा सास फेर्न कठिन हुने गरी ठुलो ढुङ्गा राखेजस्तो भएको थियो। मैले सोचेँ, “यो मण्डलीमा नियुक्त भएदेखि नै मैले विभिन्न प्रतिकूल घटनाको सामना गर्नुपरेको छ। पुरानो समस्या समाधान भएकै हुन्न, नयाँ समस्या देखिइहाल्छन्। अब त्यहाँ कुनै मण्डली अगुवा पनि छैनन्। म एक्लो कमान्डर जस्ती भएकी छु, कामकुराबारे सल्लाह गर्न कोही छैनन्, सारा काम आफैले सम्हाल्नु पर्नेछ। जबकि, अर्का प्रचारकले तीन जना अगुवा भएको मण्डली हेर्ने जिम्मेवारी पाएका छन्। गर्नुपर्ने कार्य धेरै भए पनि प्रत्येकले थोरथोरै बाँडेर गर्छन्, त्यसैले उनी मजस्तो थकित हुँदैनन्। उनलाई किन यस्तो सौभाग्य प्राप्त भएको? र मलाई चैँ यस्तो मण्डलीमा किन खटाइयो? म धेरै अभागी छु!” यसबारे जति सोचेँ, म उति नै दुःखी भएँ, जतिखेर पनि यो मण्डलीमा खटाइनु नै मेरो दुर्भाग्य हो भन्ने लाग्थ्यो। मैले हरदिन आफ्नो काम सामान्य तरिकाले गरेजस्तो देखिए पनि म निराश हुन्थेँ, र यो वातावरणबाट निस्कन समेत चाहन्थेँ।
निराशा र प्रतिरोधको यस गलत स्थितिमा जिइरहँदा एक दिन मैले परमेश्वरका वचनको एउटा खण्ड सहितको एउटा गवाही भिडियो हेरेँ, जसले मलाई निकै प्रभावित बनायो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “आफूलाई सधैँ अभागी ठान्ने मानिसहरूको समस्या के हो? तिनीहरूले आफ्नो व्यवहार सही छ कि गलत छ भनेर मापन गर्न, र तिनीहरूले लिनुपर्ने मार्ग, तिनीहरूले अनुभव गर्नुपर्ने कुराहरू, र तिनीहरूले सामना गर्ने कुनै पनि समस्याहरू तौलनको लागि भाग्यको मापदण्ड प्रयोग गर्छन्। यो सही हो कि गलत हो? (गलत हो।) तिनीहरूले खराब कुराहरूलाई अभागी भन्ने शब्दले र असल कुराहरूलाई भाग्यमानी वा फाइदाजनक भन्ने शब्दले व्याख्या गर्छन्। यो दृष्टिकोण सही छ कि गलत छ? (गलत छ।) यस्तो दृष्टिकोणले मापन गर्नु गलत हुन्छ। विभिन्न कुराहरू मापन गर्ने यो विधि र मापदण्ड चरम र गलत छ। यस्तो तरिकाले मानिसहरूलाई प्राय निराशामा डुबाउँछ, र प्राय असहज महसुस गराउँछ, र यसले तिनीहरूलाई तिनीहरूले भनेजस्तो कहिल्यै हुँदैन, र तिनीहरूले चाहेको कहिल्यै मिल्दैन भन्ने महसुस गराउँछ, जसले गर्दा तिनीहरूलाई निरन्तर चिन्ता, झन्झट, र असहज महसुस हुन्छ। जब यी नकारात्मक संवेगहरूलाई समाधान नगरी त्यतिकै छोडिन्छ, तब यी मानिसहरू निरन्तर निराशामा डुब्छन् र आफूलाई परमेश्वरले निगाह गर्नुहुन्न भन्ने महसुस गर्छन्। तिनीहरू परमेश्वरले अरूलाई अनुग्रहसाथ व्यवहार गर्नुहुन्छ तर आफूलाई गर्नुहुन्न, र परमेश्वरले अरूको हेरचाह गर्नुहुन्छ तर आफूलाई गर्नुहुन्न भन्ने सोच्छन्। ‘मलाई किन सधैँ असहजता र चिन्ता हुन्छ? किन मेरो जीवनमा सधैँ खराब कुराहरू आइपर्छन्? किन असल कुराहरू मेरो बाटोमा कहिल्यै आउँदैनन्? एकपटक मात्रै भए पनि त आए हुन्थ्यो!’ जब तैँले यस्तो गलत सोच र दृष्टिकोणले विभिन्न कुराहरू हेर्छस्, तब तँ असल र खराब भाग्यको फन्दामा पर्नेछस्। जब तँ निरन्तर यो पासोमा परिरहन्छस्, तँलाई निरन्तर निराशा महसुस हुन्छ। यो निराशामाझ, तँ तेरो जीवनमा आइपर्ने कुराहरू भाग्यशाली हुन् कि दुर्भाग्यशाली हुन् भन्ने कुराप्रति अत्यन्तै संवेदनशील हुन्छस्। जब यस्तो हुन्छ, यसले तँ असल भाग्य र खराब भाग्यसम्बन्धी यो दृष्टिकोण र विचारद्वारा नियन्त्रित भएको छस् भन्ने प्रमाणित गर्छ। जब तँ यस्तो दृष्टिकोणद्वारा नियन्त्रित भएको हुन्छस्, तब मानिसहरू, घटना, र परिस्थितिहरू हेर्ने तेरो दृष्टिकोण र मनोवृत्ति सामान्य मानवताको विवेक र समझको दायराभित्र रहेको हुँदैन, बरु चरम अवस्थामा पुगेको हुन्छ। जब तँ यो चरम अवस्थामा पुग्छस्, तँ आफ्नो निराशाबाट मुक्त हुन सक्दैनस्। तँ बारम्बार निराशामा परिरहन्छस्, र तैँले सामान्यतया निराशा महसुस नगरे पनि, कुनै गलत कुरा आइपर्ने बित्तिकै, र तँलाई कुनै अभागी घटना घटेको छ भन्ने महसुस हुनेबित्तिकै, तँ तुरुन्तै निराशामा डुब्छस्। यो निराशाले तेरो सामान्य मूल्याङ्कन र निर्णय प्रक्रियामा असर पार्छ, र तेरो खुसी, रिस, शोक, र आनन्दमा पनि असर पार्छ। जब यसले तेरो खुसी, रिस, शोक, र आनन्दमा असर पार्छ, तब यसले तेरो कर्तव्यपालन, र परमेश्वरलाई पछ्याउने तेरो इच्छा र चाहना बिथोल्छ र नष्ट पार्छ। जब यी सकारात्मक कुराहरू नष्ट हुन्छन्, तब तैँले बुझेका थोरै सत्यताहरू पनि हावामा बिलाएर जानेछन् र ती कुरा तेरो लागि कुनै फाइदाका हुँदैनन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनले मेरो यथार्थ स्थितिको खुलासा गरे। मेरो विचारमा, मैले कुनै कठिनाइविना सहजतापूर्वक कर्तव्य निर्वाह गर्नु र सबै कुरा ठिकठाक रहनु सौभाग्य थियो। जब म आफ्नो कर्तव्यमा केही कठिनाइ वा समस्या सामना गर्थेँ, तब आफू अभागी छु जस्तो लाग्थ्यो, र म तुरुन्तै निराशाको स्थितिमा पुग्थेँ। उदाहरणका लागि, जब म यो मण्डलीमा आएँ, र दुवै अगुवालाई राजीनामा दिने सोचमा पुग्ने गरी नकारात्मक देखेँ र मण्डलीको काममा कैयौँ कठिनाइ र समस्या थिए, तब मैले यो परमेश्वरबाट आएको हो भन्ने स्वीकार गरिनँ, न उहाँको अभिप्राय खोजी गरेँ न त कामको जिम्मेवारी लिन आफ्नो सारा ऊर्जा कसरी लगाउने भन्ने नै सोचेँ। यसको साटो, म निराशामा पुगेँ, यी कठिनाइको सामना गर्नु मेरो दुर्भाग्य हो भन्ने सोचेँ। विशेष गरी, जब पछि कुनै पनि अगुवाले काम गर्न सकेनन्, र जब मैले अर्का प्रचारकले सुपरिवेक्षण गरिरहेको, सबै अगुवा र सेवकहरू आ-आफ्नो जिम्मेवारीमा रहेको र काम सहजरूपमा रूपमा चलिरहेको क्षेत्रबारे सोचेँ, तब मलाई उनको एकदमै डाह लाग्यो र उनी भाग्यमानी रहेछन्, तर म भने अभागी रहेछु र तमाम खराब कुराहरूको सामना गर्नु परेको छ भन्ने सोचेँ। जब मैले यस गलत दृष्टिकोणबाट कामकुरालाई हेरेँ, तब म निराशा र प्रतिरोधको भावनामा डुब्दै गएँ, कर्तव्यमा कुनै ऊर्जा रहेन र यो परिस्थितिबाट भाग्न समेत चाहेँ। तर वास्तवमा, मैले सामना गरेका सबै परिस्थितिहरू परमेश्वरबाट निर्धारित थिए। परमेश्वरको अभिप्राय मैले सत्यता खोजूँ, परमेश्वरमा भर परूँ र यो परिस्थितिलाई व्यावहारिक तरिकाले अनुभव गरूँ भन्ने छ। कठिनाइ हुँदा पनि, मैले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र ती कठिनाइ हल गर्न सत्यता खोज्नुपर्छ, आफूले सम्हाल्न सक्ने कर्तव्यको जिम्मेवारी लिनुपर्छ। तर, मैले यस्तो परिस्थितिमा परमेश्वरको काम कसरी अनुभव गर्ने र उहाँको सार्वभौमिकता र योजनाबद्ध कार्यलाई कसरी बुझ्ने भन्नेबारे सोचेकी थिइनँ। असन्तुष्टिजनक कुराको सामना हुँदा म आफूलाई अभागी सम्झन्थेँ, अनि निराशापूर्ण मुडमा जिउँथेँ र परमेश्वरको सार्वभौमिकताको प्रतिरोध गर्थेँ। म यो तरिकाले कसरी पाठ सिक्न सक्थेँ र? मैले परमेश्वरको कार्यलाई कसरी बुझ्न सक्थेँ र? म परमेश्वरमा विश्वास नगर्ने मानिसहरूलाई सम्झिन बाध्य भएँ। तिनीहरूले कहिल्यै कामकुरा परमेश्वरबाट आएको भन्ने स्विकार्दैनन्, परमेश्वरको सार्वभौमिकता र प्रबन्धमा समर्पित हुँदैनन्, र जब कामकुरा आफूले चाहेअनुसार हुँदैनन्, तिनीहरूले आफूलाई छाडेर सबैलाई दोष दिन्छन्। तिनीहरू सारा जीवन परमेश्वरलाई नचिनी जिउँछन्। मेरो हकमा, मैले परमेश्वरमा विश्वास गरेकी र परमेश्वरले सबथोकमा सार्वभौमिकता राख्नुहुन्छ भनेकी भएपनि, म अझै अविश्वासीको नजरअनुसार नै हर चिजको मूल्याङ्कन गर्थेँ। के यो वास्तविक अविश्वासीको व्यवहार होइन र?
मैले परमेश्वरका अरू वचन पढेँ: “आफ्नो भाग्य असल छ कि खराब छ भनेर सधैँ चिन्ता गर्ने यी मानिसहरूको—के तिनीहरूको दृष्टिकोण सही हुन्छ? के असल भाग्य वा खराब भाग्य भन्ने कुरा हुन्छ? (हुँदैन।) यस्तो कुरा हुँदैन भन्नुको आधार के हो? (हामीले हरेक दिन भेट्ने मानिसहरूलाई र हाम्रो जीवनमा आइपर्ने घटनाहरूलाई परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तले तय गरेका हुन्छन्। असल भाग्य वा खराब भाग्य भन्ने कुरो हुँदैन; सबै कुरा आवश्यकताको आधारमा घटित हुन्छन् र त्यो सबै कुरापछाडि अर्थ लुकेको हुन्छ।) के त्यो सही हो? (हो।) यो दृष्टिकोण सही छ, र भाग्य भन्ने कुराको कुनै अस्तित्व छैन भनेर भन्नुको सैद्धान्तिक आधार यही हो। तँमाथि जुनसुकै घटना घटे पनि, चाहे त्यो असल होस् वा खराब, त्यो सबै चार वटा ऋतुको मौसमजस्तै सामान्य कुरा हो—हरेक दिन घाम लाग्छ नै भन्ने छैन। तैँले घमाइला दिनहरू परमेश्वरले बन्दोबस्त गर्नुभएको हो, जबकि बादल लागेका दिनहरू, अनि वर्षा, बतास, र आँधीका दिनहरू परमेश्वरले बन्दोबस्त गर्नुभएको होइन भनेर भन्न सक्दैनस्। सबै कुरा परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तले निर्धारित गरेको, र प्राकृतिक वातावरणले सिर्जना गरेको हुन्छ। प्राकृतिक वातावरण परमेश्वरले बन्दोबस्त र स्थापना गर्नुभएका व्यवस्था र नियमहरूअनुसार पैदा हुन्छ। यो सबै कुरा अत्यावश्यक र अपरिहार्य हुन्छ, त्यसकारण मौसम जे-जस्तो भए पनि, यसलाई प्राकृतिक नियमले नै सिर्जना गरेको र ल्याएको हुन्छ। यसमा असल वा खराब भन्ने कुनै कुरा हुँदैन—यसप्रतिको मान्छेको अनुभूति मात्रै असल वा खराब हुन्छ। … साँचो कुरा के हो भने व्यक्तिले राम्रो महसुस गर्छ कि गर्दैन भन्ने कुरा उसको आफ्नै स्वार्थी मनसाय, इच्छा, र आत्मचासोमा आधारित हुन्छ, त्यो कुराको सारमा आधारित हुँदैन। त्यसकारण, मानिसहरूले कुनै कुरालाई असल वा खराब भनी मूल्याङ्कन गर्ने आधार नै गलत हुन्छ। अनि, आधार नै गलत भएको हुनाले, तिनीहरूले निकाल्ने अन्तिम निष्कर्ष पनि गलत नै हुन्छ। अब, असल भाग्य र खराब भाग्यको विषयमा फर्केर हेर्दा, सबैलाई भाग्यसम्बन्धी यो भनाइ निराधार छ, र यो असल पनि हुँदैन र खराब पनि हुँदैन भन्ने कुरा थाहा भएको छ। तैँले सामना गर्ने मानिसहरू, घटनाहरू, र परिस्थितिहरू असल भए पनि खराब भए पनि, ती सबै परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तले नै तय गरेका हुन्छन्, र त्यसकारण तैँले तिनलाई उचित रूपमा सामना गर्नुपर्छ। तैँले असल कुरा पनि परमेश्वरबाट आएको भनी स्विकार्नुपर्छ, र खराब कुरा पनि परमेश्वरबाट आएको भनी स्विकार्नुपर्छ। असल कुराहरू हुँदा आफू भाग्यमानी छु, र खराब कुराहरू हुँदा आफू अभागी छु भनेर नभन्। यो मात्र भन्न सकिन्छ कि यी सबै कुराहरूमा मानिसहरूले सिक्नुपर्ने पाठहरू हुन्छन्, र तिनीहरूले ती कुराहरू इन्कार गर्ने वा ती कुराहरूबाट तर्किने गर्नु हुँदैन। तिमीहरू असल कुराहरूको लागि पनि परमेश्वरलाई धन्यवाद देओ, र खराब कुराहरूको लागि पनि परमेश्वरलाई नै धन्यवाद देओ, किनभने ती सबै कुराको बन्दोबस्त उहाँले नै मिलाउनुभएको हुन्छ। असल मानिसहरू, घटनाहरू, परिस्थितिहरू, र वातावरणहरूले मानिसहरूलाई तिनीहरूले सिक्नुपर्ने पाठहरू प्रदान गर्छन्, तर खराब मानिसहरू, घटनाहरू, परिस्थितिहरू, र वातावरणहरूबाट सिक्नुपर्ने कुराहरू अझै धेरै हुन्छन्। यी सबै कुरा अनुभव र घटनाक्रमहरू हुन्, जुन व्यक्तिको जीवनको भाग बन्नुपर्छ। मानिसहरूले यी कुराहरू मापन गर्न भाग्यसम्बन्धी विचारहरू प्रयोग गर्नु हुँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। “यदि तैँले आफू कति भाग्यमानी वा अभागी छु भन्ने सोच त्यागेर, यी कुराहरूलाई शान्त र सही रूपमा लिन्छस् भने, तैँले धेरैजसो कुराहरू त्यति नकारात्मक वा सम्हाल्न गाह्रो पाउनेछैनस्। जब तँ आफ्ना महत्त्वाकाङ्क्षा र इच्छाहरू त्याग्छस्, जब तँ आफ्नो जीवनमा आइपर्ने दुर्भाग्य इन्कार्न वा त्यसबाट तर्किन छोड्छस्, र त्यस्ता कुराहरूलाई तँ कति भाग्यमानी वा अभागी छस् भन्ने हिसाबबाट मापन गर्न छोड्छस्, तब तैँले दुर्भाग्य र खराब भनी ठान्ने गरेका धेरै कुराहरू तँलाई असल लाग्न थाल्नेछन्—ती खराब कुराहरू असल कुरामा परिणत हुनेछन्। तेरो मानसिकता र तेरो दृष्टिकोण परिवर्तन हुनेछ, जसले गर्दा तैँले आफ्नो जीवन अनुभवलाई फरक तरिकाले महसुस गर्नेछस्, र यस क्रममा फरक फलहरू प्राप्त गर्नेछस्। यो एउटा असाधारण अनुभव हो, जसले तँलाई तैँले कल्पनै नगरेका फलहरू दिलाउनेछ। यो राम्रो कुरा हो, खराब कुरा होइन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनले मलाई अन्तर्दृष्टि दिए। वास्तवमा, सौभाग्य र दुर्भाग्य भन्ने कुरा नै हुँदैन। ममाथि घटित हुने हरेक कुरा बाहिरीरूपमा मेरा धारणासँग मेल खाओस्-नखाओस्, त्यो परमेश्वरद्वारा योजनाबद्ध तथा अवश्यम्भावी हुन्छ, र यो मेरो जीवनमा एउटा आवश्यक अनुभव पनि हो। परमेश्वरले यी कुराहरूको प्रबन्ध मलाई पाठ सिकाउनका लागि गर्नुहुन्छ। म सत्यताको खोजीमा केन्द्रित रहेसम्म, मैले केही पाउनेछु; मानिसका लागि नराम्रो देखिने कुरा पनि राम्रोमा परिणत हुन सक्छ। जस्तै, अय्यूबले शैतानको परीक्षाको सामना गरे, उनले आफ्नाे सारा सम्पत्ति गुमाए, उनका छोराछोरी किचिएर मरे, र उनको शरीरभरि खटिरा आयो। मानवीय दृष्टिकोणबाट, अय्यूबले सामना गरेका यी शृङ्खलाबद्ध घटना निकै दुर्भाग्यपूर्ण देखिन्थे। तर, परमेश्वरको दृष्टिकोणबाट हेर्दा, उहाँले अय्यूबलाई यी परीक्षाको सामना गर्न लगाउनुभयो, ताकि उनले परमेश्वरको गवाही दिने मौका पाउन्, र अय्यूब परमेश्वरको डर मान्ने अनि दुष्टताबाट टाढै बस्ने धर्मी मानिस हो भनी शैतानलाई प्रमाणित गरून्; यसले गर्दा शैतानले उनलाई थप दोष दिन वा आक्रमण गर्न पाएन। परमेश्वरमा विश्वास गर्ने र उहाँको डर मान्ने अय्यूब यी परीक्षाका दौरान आफ्नो गवाहीमा दृढ रहे, र परमेश्वरको अनुमोदन प्राप्त गरे। यो निकै सार्थक कुरा थियो! अय्यूबको अनुभवबाट हामी देख्न सक्छौँ सौभाग्य वा दुर्भाग्य भन्ने कुरा हुँदैन, र जुन कुरा घटित हुन्छ त्यो परमेश्वरको सार्वभौमिकता र योजनाबद्ध कार्यले गर्दा हुन्छ, जुन विविध परिस्थितिहरूमा हामीलाई विभिन्न पाठ सिकाउन परिकल्पना गरिएको हुन्छ। तर, मैले परमेश्वरको सार्वभौमिकतालाई चिनिनँ, र ममाथि घटित सबै कुरालाई सधैँ भाग्यका आधारमा मापन गरेँ। मैले आफ्नो देहको धेरै ख्याल गरेका कारणले, सधैँ आफ्नो देहले कष्ट नभोगी सहजरूपमा कर्तव्य निर्वाह गर्न चाहेका कारणले यस्तो भएको थियो। यसले मेरो देहलाई लाभ पुर्याउँदासम्म र मैले कष्ट नभोग्दासम्म म आफूलाई भाग्यमानी ठान्थेँ। यसको विपरीत, मैले कुनै कठिनाइ र समस्याको सामना गरेँ, कष्ट भोग्नुपर्ने र मूल्य तिर्नुपर्ने भयो भने, म आफूलाई अभागी ठान्थेँ र मनमनै गुनासो गर्थेँ। कामकुराको परख गर्ने बारेमा मेरो दृष्टिकोण धेरै विकृत थियो! मैले अहिले सामना गरेका शृङ्खलाबद्ध कठिनाइ र समस्या बाहिरबाट प्रतिकूल देखिन्थे, तर परमेश्वरले म उहाँमाथि भर परूँ, सत्यता खोजूँ, आफ्नो देहविरुद्ध विद्रोह गरूँ, र केही पाठ सिकूँ भनेर यी कठिनाइको प्रयोग गर्नुभएको थियो। विगतमा, मैले आरामदायक माहौलमा आफ्नो कर्तव्य गरिरहँदा र हरेक दिन उही दिनचर्यालाई नै पछ्याइरहँदा बाहिरबाट हेर्दा यो सजिलो देखिए पनि मैले ज्यादै थोरै कुरा प्राप्त गरेँ। मैले कतिपय सत्यता सिद्धान्त बुझेकी थिइनँ, र मेरो जीवन वृद्धि सुस्त थियो, यो वर्तमान परिस्थिति मेरो जीवनका लागि लाभदायक थियो। परमेश्वरका अभिप्राय बुझेर मलाई धेरै राहत महसुस भयो, अब म निराशा र प्रतिरोधमा रहन छाडेँ। म परमेश्वरले मेरा लागि निर्माण गर्नुभएको परिस्थितिप्रति समर्पित हुन, र परमेश्वरका कामको व्यवहारिक अनुभव गर्न राजी थिएँ। यसपछि, मैले इमानदारीसाथ कर्तव्य निर्वाह गर्न थालेँ, परमेश्वरका घरको आवश्यकताअनुसार कामको कार्यान्वयन गरेँ। केही समयपछि, मण्डलीको केही काम बिस्तारै राम्रो हुन थाल्यो। म कर्मचारी र कामका विभिन्न पक्षसँग अझै परिचित भएँ, र मैले कामको सिद्धान्त पहिलेभन्दा राम्रोसँग बुझेँ, केही आत्मविश्वास पाएँ। तब मात्र मैले परमेश्वरको यी परिस्थिति मिलाउँदाको विचारशीलता प्रत्यक्ष अनुभव गरेँ, मैले वरिपरिका मानिस, कार्यक्रम र चिजवस्तुलाई सौभाग्य वा दुर्भाग्यको नजरबाट मूल्याङ्कन नगरेर, सबै कुरा परमेश्वरबाट आएका हुन् भनी स्वीकार गरी सत्यताको खोजी गर्दा आफूलाई कर्तव्यमा थकित नभएकी पाएँ। बरु, मैले पूर्णता र शान्ति महसुस गरेँ।
एउटा भेलापछि, अगुवाले मेरा लागि एउटा मण्डलीको केही काम सम्हाल्ने व्यवस्था गरिन्। मैले सुरुमा यो एक दिनमा सक्ने र त्यसपछि, अर्को मण्डलीमा कामको कार्यान्वयन गर्न जाने योजना बनाएँ तर अप्रत्याशित रूपमा, म यो मण्डलीमा आइपुग्नेबित्तिकै मण्डलीको सुपरभाइजरले आत्तिँदै मलाई भने, “केही घटना भयो। धेरै ब्रदर-सिस्टर हिजो पक्राउ परे।” उनको कुरा सुनेपछि पक्राउ पर्ने लगभग सबै अगुवा र सेवकहरू थिए भन्ने बुझेँ, अर्थात् अब मण्डलीका कुनै पनि काम सामान्य रूपमा गर्न असम्भव हुने थियो। यी मानिसहरूसँगको सम्पर्कका कारणले मण्डलीका अगुवाहरू पनि लुक्नु पर्यो र आफ्नो कर्तव्य निर्वाह गर्न जान नसक्ने भए। त्यसको लगत्तै पछि, मैले माथिल्लो अगुवाबाट एउटा पत्र प्राप्त गरेँ पत्रमा मलाई गिरफ्तारीपछिको स्थिति केही समय सम्हाल्न त्यही मण्डलीमा बस्न निर्देशन दिइएको थियो। सुरूमा त, मैले यो परमेश्वरबाट आएको भन्ने स्वीकार गरी समर्पित हुन सकेँ। त्यो बेला, त्यहाँ विभिन्न घरबेटी परिवार र ब्रदर-सिस्टरका लागि धेरै सुरक्षा जोखिम थिए, र मण्डलीका कैयौँ कार्य सम्हाल्नुपर्ने थियो। म पूरै दिन व्यस्त हुन्थेँ, र राति म बस्ने घरमा पुगेपछि, मैले अन्य मण्डलीबाट आएका पत्रहरूको उत्तर दिनुपर्थ्यो। हरेक रात मैले राति अबेरसम्म बस्नु पर्थ्यो। वातावरण पनि निकै कठोर थियो, र लगभग हरेक दिन मैले अरू ब्रदर-सिस्टरहरू पक्राउ परेको कुरा लेखिएका पत्र पाउँथेँ। हरेक समय म बाहिर जाँदा मेरो मुटु घाँटीमा हुन्थ्यो, यसपटक सुरक्षित फर्किन्छु-फर्किन्न भन्ने थाहा हुँदैनथ्यो। केही समय बितेपछि म शारीरिक र मानिसक रूपमा थकित महसुस गर्न थालेँ। मेरो आसपासका दुई अगुवाहरू केवल पत्रको जवाफ दिइरहेका साथै घरमा केही काम गरिरहेका, जबकि म भने चर्खा झैँ सधैँ अविरल यताउता दौडधुप गरिरहेकी आफूसँग समयभन्दा काम ज्यादा भएको र मेरा नसाहरू तनावले तन्किएको देख्दा, मैले मनमनै सोचेँ, “उनीहरूले निर्वाह गर्ने कर्तव्यहरू त कति सजिला छन्। उनीहरूले चिन्ता वा दौडधुप गर्नैपर्दैन। म चाहिँ भने आराम गर्ने मौका समेत पाउँदिनँ। मैले मण्डलीमा भएको गिरफ्तारीलाई कसरी सम्हाल्ने? म धेरै अभागी छु! यस्ता कुराहरू एकपछि अर्को गरी ममाथि नै किन हुन्छन्?” मैले खुलेर गुनासो गर्ने आँट नगरे पनि भित्र भने म निकै प्रतिरोधी थिएँ, र आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ निस्कृय र अनिच्छुक हुन्थेँ। आफू यस गलत स्थितिमा रहिरहेकै बेला, म पहिलेका अनुभवहरूबारे सोच्न पुगेँ, र म अस्पष्ट रूपमा सचेत भएँ यो परिस्थिति मैले पाठ सिकूँ भनेर मेरा लागि परमेश्वरद्वारा निर्माण गरिएको हो। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, जब ममाथि केही आइपर्छ, म अझै पनि अनजानमै ती कुरालाई सौभाग्य र दुर्भाग्यको नजरबाट हेर्छु, र अझै पनि ती कुरा मेरो दुर्भाग्यका कारण भएका हुन् भन्ने ठान्छु। म तपाईंको अभिप्राय साँचो रूपमा बुझ्न सक्दिनँ। हे परमेश्वर, मलाई अन्तर्दृष्टि प्रदान गरी मार्गदर्शन गर्नुहोस्, ताकि मैले यो परिस्थितिबिच अनुभव गर्न सिक्न सकूँ।”
पछि, मैले सधैँ सौभाग्य पछ्याउनमा खास खराबी के रहेछ भन्ने बुझ्न, सचेत हुँदै पढ्नका लागि परमेश्वरका वचन खोजेँ। मैले परमेश्वरका वचनको यो खण्ड पढेँ: “कुनै कुरा असल हो कि खराब हो भनेर मापन गर्न भाग्य प्रयोग गर्ने मानिसहरूको विचार र दृष्टिकोणहरू के-के हुन्? त्यस्ता मानिसहरूको सार के हो? किन तिनीहरूले असल भाग्य र खराब भाग्यप्रति यति धेरै ध्यान दिन्छन्? भाग्यमा धेरै ध्यान दिने मानिसहरूले आफ्नो भाग्य असल होस् भन्ने चाहन्छन् कि खराब होस् भन्ने चाहन्छन्? (तिनीहरू आफ्नो भाग्य राम्रो होस् नै भन्ने चाहन्छन्।) ठीक भन्यौ। वास्तवमा, तिनीहरूले आफ्नो असल भाग्य होस् र आफ्नो जीवनमा राम्रा घटनाहरू घटून् भन्ने चाहन्छन्, र तिनीहरूले यी कुराहरूबाट फाइदा र नाफा कमाउँछन्। अरूले कति धेरै कष्ट, वा कति धेरै कठिनाइ वा अप्ठ्याराहरू भोग्छन् भन्ने कुरा तिनीहरू वास्ता गर्दैनन्। तिनीहरूले दुर्भाग्य ठान्ने कुनै पनि कुरा आफ्नो जीवनमा आओस् भन्ने चाहँदैनन्। अर्को शब्दमा भन्दा, तिनीहरू आफ्नो जीवनमा कुनै खराब घटना घटेको चाहँदैनन्: कुनै बाधा, कुनै असफलता वा बेइज्जती, कुनै काटछाँट, वा कुनै कुरा हराउने, छुटाउने, र कुनै छलमा पर्ने अवस्था आएको चाहँदैनन्। यदि यस्ता कुनै कुरा भयो भने, तिनीहरूले यसलाई खराब भाग्य ठान्छन्। यदि खराब कुराहरू आइपर्यो भने, ती कुराहरू जोसुकैद्वारा तय गरिएको भए पनि, ती अभागीकै कुरा हुन्छन्। तिनीहरू आफ्नो जीवनमा—बढुवा हुने, भीडबाट माथि उठ्ने, अरूको अप्ठ्यारोको फाइदा उठाउने, कुनै कुराबाट फाइदा लुट्ने, धेरै पैसा कमाउने, वा उच्च ओहोदाको अधिकारी बन्ने—सबै कुरा होऊन् भन्ने आशा गर्छन् र तिनीहरू यसलाई राम्रो भाग्य ठान्छन्। तिनीहरू आफूले सामना गर्ने मानिसहरू, घटनाहरू, र परिस्थितिहरूलाई सधैँ भाग्यको आधारमा मापन गर्छन्। तिनीहरू खराब भाग्य होइन, असल भाग्य पछ्याइरहेका हुन्छन्। कुनै कुरा अलिकति गलत हुनेबित्तिकै, तिनीहरू रिसाउँछन्, झर्किन्छन्, र असन्तुष्ट हुन्छन्। सीधै भन्दा, यस्ता मानिसहरू स्वार्थी हुन्छन्। तिनीहरू अरूको बेफाइदाबाट फाइदा लिने, आफ्नै लागि नाफा कमाउने, सर्वश्रेष्ठ हुने, र भीडभन्दा माथि उठ्ने प्रयास गर्छन्। तिनीहरू हरेक असल कुरा आफ्नो जीवनमा मात्रै भयो भने मात्रै सन्तुष्ट हुन्छन्। यो तिनीहरूको प्रकृति र सार हो; यो तिनीहरूको साँचो रूप हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनले मलाई धेरै लज्जित बनाए। मेरो सौभाग्यको निरन्तर पछ्याइ र कुनै कठिनाइ वा प्रतिकूलता छल्ने काम वास्तवमा मेरो स्वार्थी प्रकृतिका कारण रहेछ। मैले “क्षति बेगर लाभ प्राप्त गर्ने” भन्ने सांसारिक व्यवहारको दर्शनलाई पालन गरेकी रहेछु, र सधैँ आफ्नै हितलाई प्राथमिकता दिएछु। मैले सधैँ मेरो जीवनमा राम्रा कुरा मात्र होऊन् भन्ने चाहन्थेँ। सबै कुरा निर्बाध अघि बढोस्, कुनै कठिनाइ सहनु नपरोस् भन्ने चाहन्थेँ; त्यसले नै मलाई खुसी दिने थियो। मैले मेरो देहको हितलाई प्रभावित गर्ने, कष्ट भोग्न बाध्य पार्ने, बाधा र असफलताको सामना गरेँ भने म गुनासो गर्न थाल्थेँ, रिसाउँथेँ, आफ्नो सन्तुलन पूरै गुमाउँथेँ। परमेश्वरमा विश्वास गर्नुभन्दा पहिले, जब म आफ्ना सहकर्मी राम्रो पृष्ठभूमिबाट आएका, स्थिर जागिर र राम्रो घर सहितका परिवारका सदस्यहरू भएका, जबकि म भने गरिबीमा जिउने, आफ्नै घर समेत नभएकी, र घरमा बेरोजगार परिवारका सदस्य भएका, अनि उनीहरूलाई मैले नै सहयोग गर्नुपरेको देख्थेँ, तब म निकै असन्तुलित महसुस गर्थेँ। म सोच्थेँ, यस्तो परिवार हुनु दुर्भाग्य हो, र म मेरा सहकर्मीहरूको निकै ईर्ष्या र डाह गर्थेँ। मलाई सधैँ लाग्थ्यो, राम्रा कुरा त अरूको जीवनमा मात्रै हुन्छन् र म एउटा अभागी व्यक्ति हुँ। हालैको समयलाई विचार गर्दा, मैले जिम्मेवारी लिएका यी दुई मण्डलीमा लगातार चिनियाँ कम्युनिस्ट पार्टीले छापा मारेपछि मैले कष्ट उठाउनु, मूल्य चुकाउनु पर्यो र मेरो देहको हितमा असर पर्यो, तब मैले सबै कुराबारे गुनासो गर्न थालेँ, मेरो दुर्भाग्यलाई दोष दिएँ। मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नेबारे नसोच्ने मात्र होइन, म त निराश र प्रतिरोधी समेत भएँ, मेरा लागि परमेश्वरले यस्ता परिस्थितिहरू तयार गरिराख्नुभएको भनी गुनासो गरेँ। मेरो सौभाग्यको पछ्याइ सारमा मेरो देहको हित सन्तुष्ट गर्नका लागि थियो; मैले मेरो जीवनमा सबै राम्रा कुरा आउन् भन्ने इच्छा गरेँ, सधैँ अरूको नोक्सानीमा आफूले फाइदा कमाउन चाहेँ। जोखिम र कष्ट उठाउनुपर्ने कामको विषयमा ती सबै अरूले नै गर्नुपर्छ भन्ने मैले सोचेँ। जबसम्म म सहज रहन सक्थेँ र मेरो देहले लाभ पाउँथ्यो, म सन्तुष्ट हुन्थेँ। म साँच्चिकै निकै स्वार्थी थिएँ! बाहिरबाट हेर्दा, मैले परमेश्वरका घरमा आफ्नो कर्तव्य निर्वाह गरिरहेकी जस्तो लाग्थ्यो, तर मेरो मनले मण्डलीको काम र परमेश्वरको उत्सुक अभिप्रायलाई भन्दा मेरो देहहितलाई महत्त्व दिन्थ्यो। यो परमेश्वरका लागि घृणित कुरा थियो, र यसरी कर्तव्य निर्वाह गरेर मैले अन्ततः उहाँको अनुमोदन पाउने थिइनँ।
पछि, मैले परमेश्वरका अरू वचन पढेँ: “के यो निराशाबाट उम्कनु सजिलो छ? वास्तवमा, यो सजिलो छ। बस तेरा गलत दृष्टिकोणहरू त्याग्, अनि सबै कुरा राम्ररी, वा तैँले चाहेजस्तै गरी वा सहज रूपमा अघि बढ्छ भनेर अपेक्षा नगर्। गलत कुराहरू आइपर्छन् भनेर नडरा, र त्यसलाई प्रतिरोध वा इन्कार गर्ने नगर्। बरु, आफ्नो प्रतिरोध त्याग्, शान्त बन्, र समर्पणको मनोवृत्ति लिएर परमेश्वरको अघि आइज, र परमेश्वरले तय गर्नुभएका सबै कुराहरू स्वीकार गर्। तथाकथित ‘असल भाग्य’ को पछि नलाग् र तथाकथित ‘खराब भाग्य’ लाई इन्कार नगर्। आफ्नो हृदय र आफ्नो सम्पूर्ण अस्तित्व परमेश्वरलाई दे, उहाँलाई काम र योजना गर्न दे, र उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित बन्। परमेश्वरले तँलाई जहिले चाहिन्छ तहिले चाहिने जति सबै कुरा दिनुहुनेछ। उहाँले तेरा आवश्यकता र कमीकमजोरीअनुसार तँलाई चाहिने वातावरण, मानिस, घटना, र परिस्थितिहरू योजनाबद्ध गर्नुहुनेछ, ताकि तैँले आफूले सामना गर्ने मानिस, घटना, र परिस्थितिहरूबाट सिक्नुपर्ने पाठहरू सिक्न सक्। अवश्य नै, यो सबैको पूर्वसर्त के हो भने, परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति तँमा समर्पणताको मानसिकता हुनुपर्छ। त्यसकारण, सिद्धताको पछि नलाग्; अप्रिय, लाजमर्दा, वा प्रतिकूल घटनाहरू इन्कार्ने वा ती घटित होलान् कि भनेर डराउने नगर्; अनि खराब कुराहरू घटित हुँदा प्रतिरोध गर्नको लागि आफ्नो निराशाको प्रयोग नगर्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनबाट मैले उहाँको अभिप्राय बुझेँ। परमेश्वरले मेरा लागि निर्धारित गरेका परिस्थितिहरू राम्रा थिए र सबै मलाई पाठ सिकाउनका लागि थिए। मैले तथाकथित सौभाग्य पछ्याउन हुँदैन र अबदेखि सधैँ सहज वातावरणमा आफ्नो कर्तव्य निर्वाह गर्न खोज्नु हुँदैन। यसैलाई निरन्तरता दिने हो भने यो निष्फल परिश्रम मात्र हुनेछ। बरु, मैले परमेश्वरबाट निर्धारित यी परिस्थितिहरूमा समर्पित हुन सिक्नुपर्छ, र अनुकूल-प्रतिकूल जे भए पनि तिनबाट मैले सत्यताको खोजी गर्नुपर्छ, मैले प्रकट गरेका भ्रष्ट स्वभावप्रतिको चिन्तनमा केन्द्रित हुनुपर्छ र देहविरुद्ध विद्रोह गरी परमेश्वरको माग अनुसार कार्य गर्नुपर्छ। यो नै परमेश्वरको अभिप्रायअनुरूप हुन्छ। अहिले, ब्रदर-सिस्टरहरू पक्राउ परिरहेका थिए, दुईवटा मण्डली अगुवाका लागि सुरक्षा जोखिम थिए र कति काम त गर्नै सकिएन। अगुवाका रूपमा, मैले यस सङ्कटकालीन क्षणमा आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। मण्डलीको काम सम्हाल्नु कठिन हुने र केही देहगत कष्ट भोग्नुपर्ने भए पनि यसले मण्डलीको हित गर्दासम्म मैले सक्दो सहकार्य गर्नुपर्छ। यो बुझेर, म नकारात्मकतामा जिउन छाडेँ, र मैले हृदयबाटै यो मेरो कर्तव्य हो, मैले पूरा गर्नुपर्ने जिम्मेवारी हो भन्ने बुझेँ। त्यसपछि, कर्तव्य निर्वाह गर्ने क्रममा मण्डलीको काममा देखिने कुनै समस्या वा विचलनको समाधान गर्न म सक्रिय सङ्गति गर्थेँ। म आफूले नबुझ्ने समस्याको सामना गरेमा, उनीहरूले यसलाई चाँडै बुझ्न सकुन् भनेर, ती दुई अगुवासँग छलफल गर्थेँ, र त्यसपछि हामी ती समस्या हल गर्न सिद्धान्तको खोजी गर्थ्यौँ। यसरी अभ्यास गर्नाले, म हरेक दिन व्यस्त भए पनि, मैले कामकुरा उचित तरिकाले व्यवस्थित गर्दासम्म म यसलाई सम्हाल्न सक्थेँ र यसलाई असहनीय वा कठिन पाउँदिनथेँ।
एक दिन, माथिल्लो अगुवाले धोइपखाल्ने र निकाल्नेबारेका केही सामग्री छिटो मिलाउनु भन्दै एउटा पत्र पठाइन्, यो निकै जरुरी भनिएको थियो र यसलाई सुरक्षा जोखिम नभएका मानिसले सङ्कलन गरी व्यवस्थित गर्नुपर्ने लेखिएको थियो। यो पत्र पढेपछि, मेरा लागि यो काम गर्नु धेरै उपयुक्त छ भन्ने थाहा भयो। तर, मैले धेरै ब्रदर-सिस्टरसँग रुजु गर्नुपर्छ र पक्कै पनि हरेक दिन दौडधुप गर्नुपर्छ भन्ने सोचेपछि पुरानै विचार मनमा आउन थाल्यो, “उफ्, अगुवाले स्पष्ट रूपमा सुरक्षा जोखिम नभएका व्यक्ति भनेका छन्, त्यसैले मैले चाहेर पनि यसलाई टार्न सक्दिनँ। यसरी हतारमा दौडधुप गरे पनि यी सामग्री सङ्कलन गरी रुजु गर्न कति समय लाग्छ भन्ने के थाहा।” मलाई आफू अभागी लाग्यो। ममा यस्तो सोच आएपछि मैले परमेश्वरका वचन सम्झेँ: “सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; मान्छेको हितहरूको ख्याल नगर्, र आफ्नो सान, प्रतिष्ठा, र हैसियतको मात्र विचार नगर्। तैँले पहिले परमेश्वरको घरको हितबारे विचार गर्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनुपर्छ। तँ परमेश्वरका अभिप्रायप्रति विचारशील हुनुपर्छ र तैँले तेरो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्धता छ कि छैन, तँ निष्ठावान बनेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस् र तैँले तनमन दिएको छस् कि छैनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामबारे सम्पूर्ण हृदयले सोच्ने गरेको छस् कि छैनस् भनी विचार गर्दै यो काम सुरु गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनले मेरो मन उज्यालो बनाए। मैले जुनसुकै कर्तव्य पाए पनि त्यसमा परमेश्वरका अभिप्रायहरू थिए। विशेष गरी, यो काम धेरै महत्त्वपूर्ण थियो, यो काम गर्ने अवसर परमेश्वरबाट गरिएको उठाइ थिएन र? तैपनि, कर्तव्यको सामना गर्दा मेरो विचारमा आउने पहिलो कुरा मेरो देहले कष्ट भोग्नेछ भन्ने थियो र म आफूलाई अभागी ठान्थेँ। म साँच्चिकै निकै स्वार्थी रहेछु! मैले पहिला ती देहगत कठिनाइबारे सोच्नुभन्दा, मण्डलीको कामलाई प्राथमिकता दिनुपर्छ र परमेश्वरमा भर गरी सहकार्य गर्न सक्दो प्रयास गर्नुपर्छ। यो बुझेपछि, मैले यो कर्तव्यमा त्यति धेरै प्रतिरोध गर्न छाडेँ, र सामग्रीको रुजु गर्ने मानिस कसरी भेट्टाउने भन्नेबारे मण्डलीका अगुवाहरूसँग छलफल गरेँ। रुजुको प्रक्रियामा, मैले केही कठिनाइको सामना गरेँ, तर मैले यी परमेश्वरबाट आएका हुन् भनी स्वीकार गरेँ र गुनासो गरिनँ, साथै, विचलनहरूको समीक्षा गर्दै सहकार्यलाई निरन्तरता दि परमेश्वरमा भर पर्न थालेँ। अन्ततः, सामग्री सफलतापूर्वक सङ्कलन गरियो। मैले परमेश्वरलाई मार्गदर्शनका लागि मनैदेखि धन्यवाद दिएँ!
यी अनुभवमार्फत्, मैले सौभाग्य पछ्याउनुको त्रुटिपूर्ण दृष्टिकोणका बारेमा केही बुझाइ पाएँ र यस पछ्याइको पछि स्वार्थी र घृणित भ्रष्ट स्वभाव रहेको छ भन्ने देखेँ। वास्तवमा, परमेश्वरले मेरा लागि तयार गरेका सबै परिस्थितिहरू मैले राम्रो-नराम्रो जे देखे पनि, ती मेरो कद र आवश्यकताका आधारमा निर्धारित गरिएका थिए। यी मलाई सत्यताको खोजीमा, मेरो भ्रष्ट स्वभाव पहिचानमा सहयोग गर्नका लागि हुन्, र यी परिस्थितिहरूबाट पाठ सिकाउनका लागि हुन्। तिनमा परमेश्वरको बुद्धि र परिश्रमी अभिप्राय छ। भविष्यमा, म आफ्नो सामु आउने मानिस, घटना, चिजवस्तुलाई भाग्यमा आधारित भएर मूल्याङ्कन गर्न चाहन्न। म परमेश्वरबाट निर्धारित परिस्थितिहरूमा समर्पित हुन सिक्न र उहाँको कामको अनुभव गर्न चाहन्छु।