७९. मेरो परिवारको विनाशको कारण को हो?

वाङ झिईङ, चीन

मेरा प्रारम्भिक वर्षहरूमा, म सरकारमा लोक सेवकका रूपमा कार्यरत थिएँ, मेरो श्रीमान् उच्च-माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्थ्यो, र हाम्री छोरी एक प्यारी, चतुर सानी केटी थिई, जसले सधैँ राम्रो अङ्क ल्याउँथी, त्यसकारण, यस्तो चटक्क मिलेको र सौहार्दपूर्ण परिवार भएकोमा सबैले हामीलाई ईर्ष्या गर्थे। त्यसपछि, २००५ को अन्त्यतिर, मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गर्ने सौभाग्य पाएँ, र मैले थाहा पाएँ कि सर्वशक्तिमान् परमेश्वर नै फर्केर आउनुभएको प्रभु येशु हुनुहुन्छ, र उहाँ न्यायको काम गर्न, मानिसलाई शुद्द गर्न, मुक्ति दिन र परमेश्वरको राज्यमा ल्याउन सत्यता व्यक्त गर्नुहुन्छ। मैले यो शुभ समाचार मेरो श्रीमान् र मेरी सासूलाई सुनाएँ, र मेरी सासूले पनि छिट्टै सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गर्नुभयो। मेरा श्रीमान्ले स्वयम् विश्वास नगरे पनि, हाम्रो आस्थाप्रति आपत्ति जनाउनुभएन। त्यो समयमा, म हरेक दिन परमेश्वरका वचनहरू पढ्थेँ, ब्रदर-सिस्टरहरूसँग सत्यताको सङ्गति गर्थेँ र आफ्नो कर्तव्य निर्वाह गर्थेँ—ती दिनहरू समृद्ध, लाभप्रद, र खुसीले भरिपूर्ण थिए। मैले ती दिनहरू चाँडै चिनियाँ कम्युनिष्ट पार्टीको सतावटका कारण समाप्त हुनेछन् भनेर कहिल्यै कल्पना गरेकी थिइनँ।

२००६ को एक दिउँसो, म एउटा भेला सकेर घर फर्किएलगत्तै, मेरा श्रीमान्ले रिसाउँदै मलाई भन्नुभयो, “पहिले मलाई लाग्थ्यो कि परमेश्वरमा आस्था राख्नु राम्रो कुरा हो, तर मैले भर्खरै इन्टरनेटमा सरकारले विश्वासीहरूमाथि कडा कारबाही गरिरहेको देखेँ। सर्वशक्तिमान् परमेश्वरको मण्डली सरकारको कारबाहीको प्रमुख निशाना हो, र यदि तिमी पक्राउ पर्‍यौ भने, तिमीलाई गम्भीर अपराधी मानिनेछ र जेल सजाय हुनेछ। सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्ने पारिवारिक सदस्य भएका कुनै पनि सरकारी कर्मचारीलाई कडा सजाय दिइनेछ, उनीहरूको जागिर खोसिनेछ र सामाजिक कल्याण पनि रद्द गरिनेछ, र उनीहरूका सन्तानले विश्वविद्यालयमा भर्ना हुन, सेनामा सेवा गर्न वा लोक सेवक पदका लागि आवेदन दिन पाउने छैनन्। आजदेखि, तिमीलाई सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न अनुमति छैन!” आफ्नो क्रोधपूर्ण भाषण सकेपछि, उहाँ रिसाउँदै घरबाट बाहिर निस्कनुभयो। म निकै रिसाएँ र मनमा सोचेँ, “हाम्रो आस्थामा, हामी केवल परमेश्वरका वचन खान्छौँ र पिउँछौँ, सत्यता पछ्याउँछौँ र सही बाटोमा हिँड्छौँ। हामी कुनै गैरकानुनी काम गर्दैनौँ। तर, त्यसका बावजुद चिनियाँ कम्युनिष्ट पार्टीले अझै पनि हामीलाई पक्राउ गर्न र दमन गर्न खोज्दैछ—कति दुष्ट हुन्! तिनीहरूले मलाई जति सताए पनि, म सर्वशक्तिमान् परमेश्वरलाई अनुसरण गर्न जारी राख्नेछु!”

अर्को दिन, मेरो कर्तव्य निर्वाह गरेर घर फर्किँदा, कठोर अनुहार भएकी मेरी सासूले मलाई प्रश्न गर्नुभयो, “तिमी किन यति ढिलो घर आउँछौ? के तिमी साँच्चै अहिले यति खतरा हुँदा पनि विश्वास गर्न जारी राख्नेछौ? मैले आज इन्टरनेटमा पढेँ कि परमेश्वरमा विश्वास गरेमा तिमी पक्राउ पर्न र तिमीले जेल सजाय पाउन सक्छौ, तिमीहरूका छोराछोरीले कलेजमा भर्ना हुन पाउने छैनन्, र तिमी र तिम्रो श्रीमान्लाई लोक सेवक पदबाट हटाइनेछ। मेरी नातिनीको भविष्यका लागि, मैले परमेश्वरमा विश्वास गर्न छोड्ने निर्णय गरेकी छु।” डरलाग्दो गरी मुस्कुराउँदै, मेरो श्रीमान्ले टिप्पणी गर्नुभयो, “देख्यौ, मेरी आमाको केही बुद्धि त छ! उहाँले आस्था अभ्यास गरेकोमा पक्राउ पर्न सकिन्छ भन्ने थाहा पाउनेबित्तिकै आस्था त्याग्नुभयो—तिमीले पनि विश्वास गर्न छोड्नु पर्छ! यदि तिमी विश्वास गर्दा पक्राउ पर्‍यौ भने, हाम्रो सम्पूर्ण परिवार यस कष्टमा तानिनेछ, र यो सबै तिम्रै कारणले हुनेछ। यो राम्रोसँग विचार गर!” यो सुनेर, म केही चिन्तित भएँ र मनमनै सोचेँ, “यदि मैले आस्थामा रहेर मेरो कर्तव्य निर्वाह गर्न जारी राखेँ र पक्राउ परेँ भने, मेरो श्रीमान्लाई जागिरबाट निकालिनेछ र मेरी छोरी पनि नकारात्मक रूपमा प्रभावित हुनेछ। यदि त्यस्तो भयो भने, दुवैले मलाई घृणा गर्नेछन्। सायद म केही समयका लागि भेलामा नगएर मेरो परिवारलाई समस्यामा पर्नबाट रोक्न सक्छु।” तर जब मलाई यो विचार आयो, मैले भित्रभित्रै असहज महसुस गरेँ। मैले सोचेँ, “यदि मैले चिनियाँ कम्युनिष्ट पार्टीद्वारा पक्राउ गरिनबाट बच्न भेलामा गइनँ र मेरो कर्तव्य निर्वाह गरिनँ भने, के म अझै विश्वासी हुन योग्य हुनेछु? के मैले अझै सत्यता प्राप्त गर्न सक्नेछु?” मैले हतारमा परमेश्वरलाई पुकारेँ। त्यतिबेला, मैले परमेश्वरका वचनहरू सम्झेँ जसमा भनिएको छ: “ब्रह्माण्डमा हुने सबै कुरामध्ये, त्यहाँ यस्तो केही छैन जसमा मेरो निर्णय हुँदैन। के त्यस्तो कुनै कुरा छ जुन मेरो हातमा छैन? जे म भन्छु त्यो गरिन्छ, र मानिसहरूमध्ये कसले मेरो मन परिवर्तन गर्न सक्छ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १)। परमेश्वरका वचन मनन गर्दै, मैले स्पष्ट बुझाइ प्राप्त गरेँ। मानिसका रूपमा हाम्रो भाग्य सबै परमेश्वरको हातमा छ। परमेश्वरले पहिले नै मेरो श्रीमान् र मलाई निकालिनेछ कि छैन र मेरी छोरीको भविष्य के हुनेछ भनेर निर्धारण गर्नुभएको थियो। यी केवल मानिसहरूले निर्णय गर्न सक्ने कुराहरू थिएनन्। यो बुझेपछि, मैले उहाँहरूलाई भनेँ, “म पक्राउ पर्छु कि पर्दिन र हाम्रो सन्तानको भविष्य प्रभावित हुनेछ कि हुनेछैन भन्ने अन्तिम निर्णय परमेश्वरको हो। मानिस परमेश्वरको सृष्टि हो, र हामीले परमेश्वरमा विश्वास गर्नु र उहाँको पूजा गर्नु पूर्ण रूपमा प्राकृतिक र जायज छ। मलाई थाहा छ यो मैले गर्नैपर्ने कुरा हो, त्यसैले म तपाईंको पछि लागेर साँचो मार्गलाई त्याग्नेछैन।” मेरो श्रीमान् रिसाउनुभयो र मलाई होच्याउन थाल्नुभयो र शब्दहरूले प्रहार गर्नुभयो, “होसमा आऊ! हामी धेरै वर्षदेखि चिनियाँ कम्युनिष्ट पार्टी को प्रणालीमा काम गरिरहेका छौँ र तिमी अझै पनि तिनीहरूको नीति बुझ्दैनौ? चीनमा साँचो धार्मिक स्वतन्त्रता हुन सक्दैन। चीनमा, तिमीले पार्टीमा मात्र विश्वास गर्न सक्छौ। पार्टीले जे निर्णय गर्छ, त्यो कानुन हो र तिमी यसको विरुद्ध जान सक्दैनौ। तियानमेन स्क्वायर घटनालाई लिऊः ती विद्यार्थीहरू केवल लोकतन्त्र र स्वतन्त्रता प्राप्त गर्न प्रयास गरिरहेका थिए, तर उनीहरूलाई चिनियाँ कम्युनिष्ट पार्टी द्वारा क्रूरतापूर्वक दमन गरिएको थियो र विद्रोह र क्रान्ति भड्काएको झूठा आरोपसमेत लगाइएको थियो, जसका लागि उनीहरूमध्ये धेरैलाई पक्राउ गरिएको र जेल हालिएको थियो। केही विद्यार्थीहरूलाई त ट्याङ्कले समेत किचिएको थियो। यसबारेमा सोच्दा मात्र मेरो जिउमा सिरिङ्ग हुन्छ। यस बारेमा सोच: यदि तिनीहरू विद्यार्थीहरूप्रति यति क्रूर व्यवहार गर्न सक्छन् भने, के तिमीलाई लाग्छ कि तिनीहरूले तिमी विश्वासीहरूलाई सजिलै छोड्नेछन्? तिमीले आउन लागेको खतराको सङ्केतलाई बुझ्नैपर्छ, तिमी एक चिनियाँ नागरिक हौ र त्यसैले तिमीले केवल चिनियाँ कम्युनिष्ट पार्टीमा विश्वास गर्न मिल्छ र परमेश्वरमा विश्वास गर्न बिल्कुलै मिल्दैन।” मेरो श्रीमान्को तर्क सुनेर, मैले मनमनै सोचेँ, “चिनियाँ कम्युनिष्ट पार्टी साँच्चै क्रूर, उग्र र दानवी छ। यदि मैले परमेश्वरमा विश्वास गर्न अड्डी कसेँ र पक्राउ परेँ भने, तिनीहरूले निश्चित रूपमा मलाई कुटेर मार्नेछन्।” म केही डराउनबाट आफूलाई रोक्न सकिनँ। त्यतिबेलै, मलाई प्रभु येशुका वचनहरू याद आए जसमा भनिएको छ: “अनि शरीर मार्ने तर आत्मा मार्न नसक्‍नेहरूसँग नडराओ, तर उहाँसँग डराओ जसले आत्मा र शरीर दुवै नरकमा नष्ट पार्न सक्‍नुहुन्छ(मत्ती १०:२८)। परमेश्वरका वचनले मलाई आस्थाले भरिदिए—सबै घटना र चीजहरू परमेश्वरको हातमा छन्, र परमेश्वरको अनुमति बिना, चिनियाँ कम्युनिष्ट पार्टीले मलाई छुन पनि सक्दैनथ्यो। अन्ततः मलाई पक्राउ गरियो र कुटेर मारियो वा अपाङ्ग बनाइयो भने पनि, यो परमेश्वरको अनुमतिले हुनेथ्यो। यदि म मेरो गवाहीमा दृढ रहन र शैतानलाई अपमान गर्न सक्थेँ भने, मेरो जीवन व्यर्थ गएको हुने थिएन। म मेरो श्रीमान्ले भनेका कुराहरूले बाँधिन र उहाँले जस्तै शैतानको शक्ति अन्तर्गत अनादरपूर्ण जीवन जिउन सक्दिनथेँ। मेरो गवाहीमा दृढ रहन म परमेश्वरमा भर पर्नुपर्थ्यो।

मेरो श्रीमान्ले मैले अझै मेरो आस्था त्यागेकी थिइनँ भन्ने देखेपछि, उहाँले प्रायः मेरा कमजोरीहरू देखाउनुहुन्थ्यो, मलाई होच्याउनुहुन्थ्यो र गाली गर्नुहुन्थ्यो, र मैले गर्नुपर्ने काम नगरेकोमा मेरी छोरीको सामुन्ने मेरो आलोचनासमेत गर्नुहुन्थ्यो। मेरी सासूले पनि मसँग धेरै फुर्सदको समय छ, मैले नचाहिने कुरामा समय बर्बाद गर्दैछु र आफ्नै आस्थालाई माथि राखेर मेरो बच्चा र परिवारको भविष्यलाई बेवास्ता गर्दैछु भन्दै मलाई घिनलागदो नजरले हेर्न र मलाई गाली गर्न थाल्नुभयो। मेरी छोरी बाहेक, कोही पनि मसँग कुरा गर्दैनथे—यस्तो लाग्थ्यो कि परिवारमा मेरा लागि कुनै ठाउँ बाँकी थिएन। समय बित्दै जाँदा, म केही कमजोर हुन थालेँ, त्यसैले म प्रार्थना र खोजी गर्दै परमेश्वर सामु आएँ र परमेश्वरका वचनको यो खण्ड देखेँ: “त्यस ठूलो रातो अजिङ्गरले परमेश्‍वरलाई सताउँछ अनि त्यो परमेश्‍वरको शत्रु हो, यसैले, यही देशमा, परमेश्‍वरमा विश्‍वास गर्नेहरू अपमान र उत्पीडनको सिकार बन्छन्…। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्‍वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्‍वरले उहाँको बुद्धि र उहाँका अचम्‍मका कामहरू प्रकट गर्दै, अनि मानिसहरूको यो समूहलाई पूर्ण बनाउन यो मौका प्रयोग गर्दै, उहाँ आफ्नो कार्यको एउटा चरण गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। परमेश्‍वरका वचनहरूबाट मैले थाहा पाएँ कि चिनियाँ कम्युनिष्ट पार्टीको शासन शैतानको शासन हो। चिनियाँ कम्युनिष्ट पार्टीले परमेश्‍वर र सत्यतालाई गहिरो रूपमा घृणा गर्छ, र त्यसैले चीनमा परमेश्‍वरमा विश्वास गर्ने सबैजना अनिवार्य रूपमा चिनियाँ कम्युनिष्ट पार्टीको उत्पीडनको सिकार हुन्छन्। तर परमेश्‍वरको बुद्धि शैतानका योजनाहरूका आधारमा प्रयोगमा आउँछ र परमेश्वरले हाम्रो आस्थालाई सिद्ध गर्नका लागि चिनियाँ कम्युनिष्ट पार्टीको गिरफ्तारी र दमनले सिर्जना गरेको कठिन वातावरण प्रयोग गर्नुहुन्छ। मेरो श्रीमान्ले चिनियाँ कम्युनिष्ट पार्टीसँग मिलेर मलाई सताउँदै हुनुहुन्थ्यो र मेरो परिवारले मलाई अस्वीकार गर्‍यो; म कष्ट भोग्दै थिएँ र अलिकति अपमानित भएको महसुस गरिरहेकी थिएँ, तर यो सत्यता पछ्याउँदा र सही मार्गमा हिँड्दा आउने कष्ट थियो, र त्यसैले यो सहन योग्य थियो। म नकारात्मकता र कमजोरीमा अल्झिनु हुँदैनथ्यो, किनकि यसले परमेश्‍वरलाई चोट पुर्‍याउँछ। म उहाँको गवाहीमा दृढ रहनुपर्थ्यो! जब मैले यो बुझेँ, मैले त्यति दुःखी महसुस गरिनँ र नवीकृत विश्वास प्राप्त गरेँ।

त्यसपछि, मेरो श्रीमान् र सासूले पालैपालो मलाई निगरानी गर्नुहुन्थ्यो र मलाई भेलामा जान वा परमेश्‍वरका वचनहरू पढ्न दिनुहुन्नथ्यो। तर मैले उहाँहरूलाई मलाई बाँध्न दिइनँ, र उहाँहरूले नहेरेको बेला लुकेर भेलामा सहभागी हुन जान्थेँ र रातमा ओछ्यानमा टर्च बालेर परमेश्‍वरका वचनहरू पढ्थेँ। तर, एक दिन जब म भेलामा जाँदै थिएँ, मेरी सासूले मलाई समात्नुभयो र आँखाभरि आँसु लिएर भन्नुभयो, “बुहारी, कृपया, कृपया परमेश्‍वरमा विश्वास गर्न बन्द गर। यदि तिमी समातियौ भने हाम्रो परिवारको के हुनेछ? मेरो छोराले भनेको छ, यदि तिमीले यसलाई जारी राख्यौ भने उसले तिमीलाई छोड्नेछ। तिमी राम्री बुहारी हौ, म तिमीलाई गुमाउन चाहन्न, र म हाम्रो परिवार टुक्रिएको हेर्न सक्दिनँ।” मेरो सासूको गालामा आँसु बगिरहेको देख्दा मलाई निकै गाह्रो भयो। विगतमा, उहाँले मलाई आफ्नै छोरीजस्तो व्यवहार गर्नुभएको थियो र म उहाँले त्यसरी दुःख भोगेको हेर्न सक्दिनथेँ, त्यसैले मैले उहाँसँग सङ्गति गरेँ, “आमा, तपाईं आफैँले परमेश्‍वरका वचनहरू पढ्नुभएको छ, त्यसैले तपाईंलाई थाहा छ कि परमेश्‍वरले मानवजाति, आकाश, पृथ्वी र यावत् थोक सिर्जना गर्नुभएको हो। हाम्रो जीवन र हामीले उपभोग गर्ने सबै कुरा उहाँबाट आउँछ, र परमेश्‍वरमा विश्वास गर्नु र उहाँको आराधना गर्नु प्राकृतिक र उचित कुरा हो। आखिरी दिनहरूमा, सर्वशक्तिमान् परमेश्‍वरले पापबाट हामीलाई मुक्ति दिनका लागि धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ। यदि हामी पक्राउ पर्ने डरले हाम्रो आस्था त्याग्छौँ भने, हामीले मुक्तिको मौका गुमाउनेछौँ। साथै, म परमेश्‍वरमाथिको विश्वासमा जीवनको सही मार्गमा हिँडिरहेकी छु, यदि हाम्रो परिवार टुक्रियो भने, त्यसको दोष चिनियाँ कम्युनिष्ट पार्टीलाई जानेछैन र? यहाँ साँचो अपराधी त चिनियाँ कम्युनिष्ट पार्टी हो। हामी यो कठिनाइभर हाम्रो गवाहीमा दृढ हुनुपर्छ र परमेश्‍वरलाई धोका दिनु हुँदैन।” मेरी सासूले रिसाउँदै जवाफ दिनुभयो, “मलाई थाहा छ कि परमेश्‍वरमा विश्वास गर्नु राम्रो कुरा हो, तर चिनियाँ कम्युनिष्ट पार्टीले मानिसहरूलाई पक्राउ गरिरहेको बेला म कसरी हिम्मत गरेर विश्वास गर्न सकुँली? यदि तिमी परमेश्‍वरमा विश्वास गर्न अड्डी कसिरहन्छौ भने, हाम्रो परिवारका निम्ति म आफ्ना छोराको पक्षमा उभिन बाध्य हुनेछु।” मैले गर्न सक्ने भनेको उहाँलाई यसो भन्नु मात्र थियो, “यदि तपाईं आफ्नो आस्था त्याग्न चाहनुहुन्छ भने, त्यो तपाईंको रोजाइ हो, तर कृपया परमेश्‍वरमा विश्वास गरेकोमा मलाई रोक्न र सताउन चिनियाँ कम्युनिष्ट पार्टीलाई साथ नदिनुहोस्। तपाईंलाई थाहा छ कि म साँचो परमेश्‍वरमा विश्वास गर्छु र साँचो मार्गमा हिँडिरहेकी छु। यदि म पक्राउ परी जेल जानुपरे पनि, म अन्तिमसम्म परमेश्‍वरमा विश्वास गरिरहनेछु।” यो सुनेर उहाँ रिसाउँदै बाहिर जानुभयो र आफ्नो कोठामा फर्कने क्रममा ढोका बजार्दै जानुभयो।

जब मेरो श्रीमान् घर फर्कनुभयो र म भेलामा गएको थाहा पाउनुभयो, उहाँले रिसाउँदै मसँग सोधपुछ गर्न थाल्नुभयो, “तिमीलाई मर्न मन लागेको छ कि के हो? तिमीलाई इन्टरनेटमा भनिएका कुरा मजाक जस्तो लाग्छ? त्यो त राष्ट्रिय सार्वजनिक सुरक्षा ब्यूरोको वेबसाइटबाट आएको कुरा हो। के तिमीलाई थाहा छ कि सर्वशक्तिमान् परमेश्‍वरका धेरै विश्वासीहरूलाई पक्राउ गरिसकिएको छ, र केहीलाई जेल सजाय दिइएको छ, कुटेर मारिएको छ या अपाङ्ग बनाइएको छ? तिम्रो आस्थाले गर्दा हाम्रो परिवार तल नझरोस्!” अत्यन्तै रिसको झोकमा उहाँले हाम्रो सुत्ने कोठामा खानतलासी गरेर परमेश्‍वरका वचनका मेरा किताबहरू खोज्न थाल्नुभयो र मैले पढ्न प्रयोग गर्ने टर्चलाई जमिनमा फाल्नुभयो र चिच्याउँदै भन्नुभयो, “यदि तिमीले आफ्नो आस्था त्याग्दैनौ र परमेश्‍वरमा विश्वास गर्न अड्डी कस्छौ भने, तिमी अब यस परिवारको हिस्सा रहने छैनौ! तिम्रो परमेश्‍वरमा विश्वासका कारण म हरेक दिन डर र चिन्तामा रहन्छु। के तिमीलाई थाहा छ कि तिमी पक्राउ परेमा हामीले हाम्रो जागिर गुमाउन सक्छौँ? मेरो सहकर्मीको श्रीमतीले जहिले पनि तिमी विश्वासी हौ भनेर मलाई सुनाइरहन्छिन् र यसले काममा मलाई धेरै अप्ठ्यारो बनाइरहेको छ। तिमीले मलाई पूरै लज्जित बनाइदिएकी छ्यौ! मलाई तिमीबाट आज नै जवाफ चाहिन्छ: तिमी आफ्नो आस्था रोज्छौ कि हाम्रो परिवार? यदि तिमी हाम्रो परिवार रोज्छ्यौ भने, घरमा ठीक तरिकाले सामान्य जीवन जिउ, तिमीलाई कुनै दायित्व पूरा गर्नु पर्ने छैन, र म तिमीलाई महिनैपिच्छे महजोङ खेल्नका लागि पैसा पनि दिनेछु। म तिमीलाई चाहिने सबै कुरा दिनेछु। यदि तिमी परमेश्‍वरमा विश्वास गर्न अड्डी कस्यौ भने, म तिमीलाई छोड्नेछु, तिमीलाई हाम्रो सम्पत्तिको कुनै भाग मिल्ने छैन र तिमीलाई हाम्री छोरीलाई भेट्न पनि दिइने छैन।” मेरो श्रीमान् यति निर्दयी र कठोर बन्नुभएको देख्दा म भित्रदेखि टुटेँ, मेरो आँखामा आँसु भरिए र मलाई मनमा गहिरो चोट लाग्यो। मैले हाम्रो परिवारका लागि पैसा कमाउन धेरै मेहनत गरेकी थिएँ, हामीले भर्खरै घर मर्मत गरेका थियौँ, तर अब मेरा श्रीमान्ले आफ्नो इज्जत र भविष्यको सम्भावना जोगाउनका लागि मात्र, दस वर्षभन्दा बढीको सुखी वैवाहिक जीवन पछि मलाई घरबाट निकाल्न चाहनुहुन्थ्यो। त्यस बेलासम्म हाम्रो विवाह केवल नाम मात्रको छ भन्ने कुरा स्पष्ट भइसकेको थियो। मैले उहाँलाई जवाफ दिँदै भनेँ, “यदि तपाईंले सम्बन्धविच्छेदपछि मेरा लागि केही नि छोड्नुभएन भने पनि, म परमेश्‍वरलाई पछ्याउन नै रोज्नेछु।” उहाँले घृणास्पद र डर लाग्दो आवाजमा जवाफ दिनुभयो, “यदि तिमी परमेश्‍वरलाई पछ्याउने हो भने, म तिमीलाई त्यसो गर्न सजिलो बनाइदिनेछैन। म तिमीलाई सार्वजनिक सुरक्षा ब्युरोमा पठाइदिनेछु, तिनीहरूले तिमीलाई ठीक पार्नेछन्!” त्यसपछि, उहाँले मलाई एउटा प्रिन्ट गरेको पत्र देखाउनुभयो जसमा लेखिएको थियो, “मेरी श्रीमती सर्वशक्तिमान् परमेश्‍वरमा विश्वास गर्छे र अब बचाउन नसकिने अवस्थामा पुगेकी छ। मैले सक्दो प्रयास गरेँ, तर उनले मलाई सुन्न मानिनन्, त्यसैले मेरी श्रीमतीलाई सम्हाल्न सार्वजनिक सुरक्षा ब्युरोको सहयोग माग्नु बाहेक मसँग कुनै विकल्प छैन। यदि कुनै मद्दत आवश्यक परेमा, म पूर्ण रूपमा सहयोग गर्नेछु।” त्यो पत्र देख्दा म रिसले चुर भएँ र सोचेँ, “उहाँ कस्तो खालको श्रीमान् हो? उहाँ त राक्षस हो! उहाँलाई थाहा छ कि चिनियाँ कम्युनिष्ट पार्टीले परमेश्‍वरमा विश्वास गर्नेहरूमाथि कस्तो क्रूर व्यवहार गरेको थियो, तर उहाँ अझै पनि मलाई सार्वजनिक सुरक्षा ब्युरोमा पठाउन चाहनुहुन्छ। के उहाँले मलाई सिधै मृत्युको मुखमा पठाइरहनुभएको होइन?” मेरो आफ्नै श्रीमान्ले पूर्ण रूपमा आफ्नो मानवता गुमाइसक्नुभएको र अब जे पनि गर्न सक्ने अवस्थामा पुग्नुभएको देखेर म चिन्तित भएँ। “यदि उहाँले साँच्चै मलाई सार्वजनिक सुरक्षा ब्युरोमा लैजानुभयो भने मैले के गर्ने? त्यहाँ तिनीहरू विश्वास गर्नेहरूलाई हानि पुर्‍याउन र यहाँसम्म कि मार्न निपूर्ण छन्।” मैले यसबारे जति धेरै सोचेँ, त्यति नै डर लाग्न थाल्यो, त्यसैले म निरन्तर परमेश्‍वरलाई प्रार्थना गरेँ, मलाई आस्था र शक्ति दिन उहाँलाई बिन्ती गरेँ। प्रार्थनापछि, मैले भक्ति समयमा पढेको परमेश्‍वरका वचनको एउटा खण्ड सम्झिएँ: “तँ यो र त्यो कुराप्रति डराउनु हुँदैन; तैँले जतिसुकै अप्ठ्यारा र खतराको सामना गर्नुपरे पनि, तँ कुनै पनि बाधाबाट अवरोधमा नपरी मेरो अगाडि स्थिर रहन सक्छस्, ताकि मेरो इच्छा विनारोकटोक पूरा होओस्। यो तेरो कर्तव्य हो। … नडरा; तैँले मेरो साथ पाएपछि, यो मार्गलाई कसले छेक्न सक्छ र? यो कुरा याद राख्! यसलाई नबिर्सी!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०)। परमेश्वरका वचनले मलाई शक्ति र आस्थाले भरिदियो—परमेश्वर मेरो ढाल हुनुहुन्छ, त्यसैले म कुनै कुरादेखि डराउन आवश्यक छैन। दृढ विश्वासका साथ मैले आफ्ना श्रीमान्लाई भनेँ, “यदि तपाईंले मलाई सार्वजनिक सुरक्षा ब्युरोमा बुझाउनुभयो भने पनि, म परमेश्वरमा विश्वास गर्न जारी राख्नेछु। तपाईंले थाहा पाउनुपर्छ कि चिनियाँ कम्युनिष्ट पार्टीले मेरो शरीरलाई मात्र क्रूरतापूर्वक यातना दिन सक्छ, तर तिनीहरूले परमेश्वरको अनुसरण गर्ने मेरो इच्छाशक्ति कहिल्यै नष्ट गर्न सक्नेछैनन्। तिनीहरूले मलाई जसरी सताए पनि, मेरो मृत्यु नै भए पनि म परमेश्वरमा विश्वास गर्न छोड्ने छैन!” मेरो विश्वासमा कति दृढ छु भन्ने देखेर, मेरा श्रीमान्ले निराश भई टाउको हल्लाउँदै भन्नुभयो, “ओहो, ओहो, अब त उनलाई बचाउन सम्भव छैन!” मेरो श्रीमान्सँग कुनै उपाय बाँकी नरहेको देखेर, मलाई दृढ रहन आस्था दिनुभएकोमा मैले हृदयदेखि नै परमेश्वरलाई धन्यवाद दिएँ।

बेलुकाको खाना खाएपछि, मैले ओछ्यानमा बसेर त्यो दिनका सबै घटनाबारे मनन गरेँ र बुझेँ कि म अब त्यो घरमा बस्न सक्दिनँ। त्यसबारे सोचेर म केही उदास भएँ र छुट्टिन नचाहेको महसुस गर्न थालेँ र मेरा आँखाबाट आँसुको धारा बग्न थाल्यो। म रोइरहेको देखेर, मेरा श्रीमान्ले मलाई फेरि प्रलोभनमा पार्न खोज्नुभयो, र भन्नुभयो, “यदि तिमी परमेश्वरमा विश्वास नगर्ने वाचा गर्छ्यौ भने, म तिमीलाई तलाक दिनेछैन, र तिमीलाई सार्वजनिक सुरक्षा ब्युरोमा बुझाउने छैन। त्यसपछि हाम्रो परिवार पहिले झैँ सौहार्दपूर्ण रूपमा जिउन सक्छ।” मैले जवाफ दिँदै भनेँ, “सर्वशक्तिमान् परमेश्वरले मानवजातिलाई न्याय र शुद्धिकरण गर्ने काम गर्न सत्यताहरू व्यक्त गर्नुभएको छ। हामी सबैले उहाँबाट मुक्ति प्राप्त गर्न सत्यता स्वीकार गर्नुपर्छ र परमेश्वरसामु पश्चात्ताप गर्नुपर्छ। यो मात्र हाम्रो बाहिर निस्कने बाटो हो। आजभोलि, विपत्तिहरू झन् ठूलो मात्रामा आइरहेका छन्—यदि तपाईंले चिनियाँ कम्युनिष्ट पार्टीसँग मिलेर परमेश्वरमाथिको मेरो विश्वासमा बाधा पुर्‍याउन र सताउन जारी राख्नुभयो भने, तपाईं ती विपत्तिहरूको शिकार हुनुहुनेछ र दण्डित गरिनुहुनेछ!” मेरो कुरा उहाँले स्विकार्नै सक्नुभएन र रिसले जवाफ दिनुभयो, “मेरो अगाडि तिमीले आफ्नो आस्थाको कुरा नगर। सर्वशक्तिमान् परमेश्वर साँच्चै साँचो परमेश्वर भए पनि, म उहाँमा विश्वास गर्दिनँ।” यदि तिमी अझै पनि परमेश्वरमा विश्वास गर्न अड्डी कस्छौ भने, म भोलि बिहानै तिमीलाई सार्वजनिक सुरक्षा ब्युरोमा लैजान्छु!” मैले उहाँको कुरा सुन्दै नसुनेको देखेर उहाँ रिसले उन्मत्त हुनुभयो, मलाई ओछ्यानमा थिचेर मेरो गालामा थप्पड हान्नुभयो र मेरो घाँटी निमोठ्दै भन्न थाल्नुभयो, “तिम्रो विश्वासले हाम्रो परिवारलाई क्षति मात्र पुर्‍याएन, मलाई पनि तल्लो अवस्थामा झारेको छ। तिमीलाई कुटेर मारेपछि तिमी परमेश्वरमा विश्वास गर्छ्यौ कि गर्दिनौ, हेरौँला!” म आफूलाई छुटाउन सङ्घर्ष गरिरहेको बेलामा, मेरी त्यो होहल्ला सुनेर सासू हाम्रो कोठामा आउनुभयो। उहाँले मलाई झपार्दै भन्नुभयो, “तिम्रो आस्थाले यो परिवारलाई टुक्र्याएको छ र अहिले मेरो छोरालाई पनि तल झारिरहेको छ।” यो सुनेर मलाई निकै रिस उठ्यो, र मैले सोचेँ, “हाम्रो परिवार बेमेलमा परेको मुख्य कारण त तपाईंहरू दुवैले चिनियाँ कम्युनिष्ट पार्टीका अफवाहहरूमा विश्वास गरेर मेरो धार्मिक अभ्यासलाई सताउन थाल्नु हो। तपाईंहरूले चिनियाँ कम्युनिष्ट पार्टीलाई घृणा गर्नुको सट्टा सबै दोष मलाई लगाउनु पूर्णतः अनुचित छ। म यसरी अब जिउन सक्दिनँ।” म यति रिसाएँ कि म झ्यालतिर दौडेँ र आफ्नो जीवन समाप्त गर्न झ्यालबाट हाम फाल्न तयार भएँ। झ्यालबाट हाम फाल्नै लाग्दा, मेरो सासूले मतिर इसारा गर्दै भन्नुभयो, “जाऊ, हाम फाल। झ्यालबाट हाम फाल, तिम्रा लागि कसैले पनि आफ्नो जीवन बलिदान गर्नेछैन!” उहाँले यो कुरा भन्नासाथ म एक्कासि होसमा आएँ र परमेश्वरका वचन सम्झेँ, जसले भन्छन्: “यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्‍वरको गवाही दिनैपर्छ। तिमीहरूका दुःख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्य रहनुपर्छ र आफुलाई उहाँकै कृपामा छोड्नुपर्छ; केवल यो मात्रै परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्)। परमेश्वरका वचनहरूबारे मनन गर्दा, मैले मेरो आँखाबाट आँसु रोक्न सकिनँ। मेरो परिवारले मलाई नबुझे र सताउने समेत गरे पनि, परमेश्वरले मलाई आफ्नो अभिप्राय देखाउन निरन्तर अन्तर्दृष्टि दिनुभयो र मार्गदर्शन गर्नुभयो। त्यस्तो परिस्थितिमा, मलाई थाहा थियो कि म परमेश्वरमा भर पर्नुपर्छ, उहाँप्रतिको आफ्नो आस्था कायम राख्नुपर्छ, र शैतानलाई लज्जित पार्न आफ्नो गवाहीमा दृढ हुनुपर्छ। तैपनि मैले परमेश्वरको अभिप्रायलाई खोजिनँ र केही सतावट सामना गर्दा मृत्युको बाटो रोजेर उम्कन चाहेँ। के म शैतानको षड्यन्त्रमा फसेकी थिइनँ त? म कति मूर्ख थिएँ र गवाही दिन असफल भएकी थिएँ। म आफैँलाई शैतानको छलमा परिरहन दिन सक्दिनथेँ, मेरो परिवारले मलाई जतिसुकै सताए पनि, मैले जिइरहन, परमेश्वरमा विश्वास गर्न र आफ्नो कर्तव्य निर्वाह गर्न जारी राख्नुपर्थ्यो।

मेरो श्रीमान्ले मलाई रोक्न नसकिने बुझेपछि, उहाँले आफ्नो काकालाई बोलाउनुभयो। काकाले मलाई भन्नुभयो, “तिमी अझै पनि परमेश्वरमा विश्वास गर्न अड्डी कस्छौ भन्ने सुनेको छु। तिमीलाई थाहा छ, यदि तिमी समातियौ भने यसले पूरै परिवारलाई असर गर्नेछ र मेरो भतिजाले तिमीसँग तलाक गर्नेछ। यदि तिमीले आज राति परमेश्वरमा विश्वास नगर्ने प्रतिज्ञा लेख्यौ भने, यो परिवार एकसाथ रहन सक्छ।” त्यसपछि मेरो श्रीमान्ले मलाई कलम र कागज दिनुभयो र त्यो प्रतिज्ञा लेख्न भन्नुभयो। मेरो दिमागमा अनेक विचारहरू दौडिए, “यदि हाम्रो साँच्चै तलाक भइहाल्यो भने, हाम्री छोरीको के होला? उनी अझै सानी छिन्, र उनको हेरचाह गर्न म नभएमा अरूले उनलाई दुःख दिन सक्छन्। मेरो श्रीमानले पुनः विवाह गरे भने, सौतेनी आमाले उनलाई दुर्व्यवहार गर्लिन् कि? के उनी स्वस्थ रूपमा हुर्किन पाउँछिन् त? यदि मैले बाहिरी रूपमा प्रतिज्ञा लेख्न मानेँ तर भित्रभित्रै आफ्नो आस्थालाई कायम राखेँ भने, परिवार पनि सँगै रहनेछ र म आफ्नो विश्वासलाई पनि जारी राख्न सक्नेछु। के यसले मलाई दुवै कुरा दिन्न र?” तर त्यसो गर्ने कुरा मात्र सोच्दा नै मलाई असहज महसुस भयो र त्यसैले मैले परमेश्वरसँग प्रार्थना गरेँ, उहाँको अभिप्रायअनुरूप हुन कसरी व्यवहार गर्ने भनेर मार्गदर्शन खोजेँ। प्रार्थना गरेपछि मलाई लाग्यो कि त्यो प्रतिज्ञा लेख्नु भनेको परमेश्वरलाई विश्वासघात गर्नु हो। मलाई बुझेँ कि म फेरि पनि शैतानको जालमा पर्नै लागेकी थिएँ। यदि मैले त्यो प्रतिज्ञा लेखेँ भने, म परमेश्वरलाई विश्वासघात गर्नेथेँ र गवाही दिन असफल हुनेथेँ, त्यसैले म त्यो बिलकुलै लेख्न सक्दिनथेँ। मैले प्रतिज्ञा लेख्न अझै सुरु नगरेको देखेर, मेरो श्रीमान्को काकाले दाँत किट्दै भन्नुभयो, “परमेश्वरमा विश्वास गर्न छोड्दा के तिमी मर्नेछ्यौ र? यदि मेरी श्रीमतीले तिमी जस्तै व्यवहार गर्थिन् भने, म उनका हातखुट्टा भाँचिदिन्थेँ। त्यसपछि हेर्थेँ, उनी अझै आस्था अभ्यास गर्न सक्छिन् कि सक्दिनन्!” उहाँका कुरा सुनेर मलाई वाक्क लाग्यो, र मैले सोचेँ, कुनै मानिसले कसरी यस्तो घिनलाग्दो कुरा बोल्न सक्छ? के उहाँ दियाबलसजस्तै बोलिरहेको हुनुहुन्थिएन त? मैले रिसका साथ जवाफ दिएँ, “म यो प्रतिज्ञा लेख्दिनँ!” मैले यो भन्नेबित्तिकै, मेरो श्रीमान्ले रिसाउँदै उहाँले लेखेको सम्बन्धविच्छेदको सम्झौता समात्नुभयो र कुनै हिचकिचाहट नगरी आफ्नो हस्ताक्षर गर्नुभयो। त्यो सम्झौतामा, घर र हाम्री छोरी सबै उहाँलाई दिइने, तर मलाई कुनै सम्पत्ति वा छोरीलाई भेट्ने अधिकार नदिइने भनेर लेखिएको थियो। यद्यपि मैले पहिले नै तलाकको लागि मानसिक तयारी गरिसकेकी थिएँ, जब यो वास्तविक जीवनमा घटित भयो, मैले केही कमजोर महसुस गर्न थालेँ। मैले हाम्रो परिवारलाई अहिलेको अवस्थामा ल्याउन धेरै मेहनत गरेकी थिएँ, तर अहिले म घर र छोरीसँगको सम्पर्कबिना नै रहने भएँ। म यो परिवारलाई र मेरी छोरीलाई छोड्न सक्दिनथेँ, तर मेरो श्रीमान्ले माथि दबाब दिइरहनुभएको थियो र म निर्णय लिन नै सकिरहेकी थिइनँ। त्यही बेला, मैले परमेश्वरका वचनको एउटा खण्ड सम्झेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तैँले सत्यताका लागि कष्ट भोग्‍नैपर्छ, तैँले आफैलाई सत्यतामा समर्पित गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका लागि तैँले अझै बढी कष्ट भोग्नैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। शान्तिपूर्ण पारिवारिक जीवनको खातिर तैँले सत्यतालाई फ्याँक्‍नु हुँदैन र क्षणिक सुखचैनको खातिर तैँले आफ्‍नो जीवनको प्रतिष्ठा र सत्यनिष्ठालाई गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छन् ती सबै कुराको खोजी गर्नुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्गलाई पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको अशिष्ट जीवन जिउँछस्‌ र कुनै पनि उद्देश्यहरूलाई पछ्याउँदैनस्‌ भने, के तैँले आफ्‍नो जीवनलाई खेर फाल्दैनस्‌ र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताको खातिर पनि तैँले देहका सबै सुखचैनहरूलाई त्याग्‍नुपर्छ, र थोरै सुखचैनको खातिर सारा सत्यतालाई फ्याँक्‍नु हुँदैन। यस किसिमका मानिसहरूसँग कुनै सत्यनिष्ठा वा गरिमा हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्वरका वचन पढेपछि, मैले बुझेँ कि सत्यता प्राप्त गर्नका लागि कष्ट भोग्नु मूल्यवान् र अर्थपूर्ण छ। आफ्नो आस्थामा सत्यता पछ्याउँदै बिताएको जीवन मात्र अर्थपूर्ण हुन्छ। सौहार्दपूर्ण पारिवारिक जीवन र दैहिक आरामको खोजी गर्दै, यदि मैले सजिलो जीवनशैली जिएँ, तर परमेश्वरको मुक्ति प्राप्त गर्ने अवसर गुमाएँ भने, मलाई जीवनभर त्यसको पछुतो हुनेथ्यो। मेरी छोरीको भविष्य र उनले भोग्नुपर्ने दुःख परमेश्वरले पहिले नै निर्धारण गरिसक्नुभएको थियो। म उनको छेउमै रहेँ भने पनि, म उनी हरेक दिन स्वस्थ जीवन जिउने कुराको प्रत्याभूति गर्न सक्नेछैन, झन् उनको भाग्य परिवर्तन गर्नु त टाढाको कुरा हो। मैले उनको भाग्य परमेश्वरमा छोड्नुपर्छ र उहाँको व्यवस्थापन र योजनामा समर्पित हुनुपर्छ। परमेश्वरको अभिप्राय बुझिसकेपछि, मैले अगाडि बढ्ने मार्ग पाएको महसुस गरेँ र त्यति धेरै दुःखी पनि भइनँ। त्यसपछि मैले परमेश्वरका वचनको अर्को खण्ड सम्झेँ, जसले भन्छ: “परमेश्‍वरलाई पहिचान नगर्ने जो-कोही पनि शत्रु हो; अर्थात्, देहधारी परमेश्‍वरलाई पहिचान नगर्ने—चाहे उनीहरू यस प्रवाहभित्रका होऊन् वा यस प्रवाह बाहिरका होऊन्—ऊ ख्रीष्ट विरोधी हो! यदि परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरू होइनन् भने शैतान को हो, भूतहरू को हुन्, र परमेश्‍वरका शत्रुहरू को हुन्?” “विश्‍वासी र गैरविश्‍वासीहरू मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। परमेश्वरका वचनबारे मनन गर्दा, मैले मेरो श्रीमान्ले परमेश्वरका विश्वासीहरूलाई चिनियाँ कम्युनिष्ट पार्टीले गिरफ्तार र उत्पीडन गर्नेछ भनेर सुन्दा, उहाँले मलाई सताउन सुरु गर्नुभएको, परमेश्वरका वचन पढ्न नदिनुभएको, ब्रदर-सिस्टरहरूसँग भेटघाट गर्न रोक लगाउनुभएको, मेरो आस्थाको अभ्यासमा बाधा पुर्‍याउन हरेक उपाय अपनाउनुभएको, र मलाई निश्चित रूपमा ठूलो खतरा हुने सार्वजनिक सुरक्षा कार्यालयमा पठाउने धम्की दिनुभएको कुरा सम्झेँ। अहिले उहाँले मलाई आस्था अभ्यास नगर्ने प्रतिज्ञा लेख्न बाध्य बनाउँदै हुनुहुन्थ्यो, मैले त्यसो नलेखे, उहाँले मलाई तलाक दिने र घरबाट निकाल्ने, मलाई केही पनि नछोड्ने धम्की दिँदै हुनुहुन्थ्यो। मैले देखेँ कि मेरो श्रीमान् परमेश्वरको विरोध गर्ने र सत्यतालाई घृणा गर्ने दानव मात्र हुनुहुन्थ्यो। उहाँले चिनियाँ कम्युनिष्ट पार्टीसँग मिलेर परमेश्वरको विरोध गर्नुभएको, तर मैले चाहिँ परमेश्वरलाई पछ्याउन र सही मार्गमा हिँड्न खोजेकी हुनाले, हामी स्पष्ट रूपमा फरक दिशामा गइरहेका थियौँ, र सँगै रह्यौँ भने केवल दुःख पाउने थियौँ। यो बुझेर, म शान्त मनले यो परिस्थिति सम्हाल्न सक्षम भएँ र तलाकको कागजातमा आफ्नो नाम हस्ताक्षर गर्ने निर्णय गरेँ।

यो अग्नीपरीक्षा अनुभव गरेर, मैले चिनियाँ कम्युनिष्ट पार्टीको घृणित, विकर्षक र परमेश्वरको विरोध गर्ने स्वभाव चिन्न पुगेँ। परमेश्वरको वचनले भन्छ: “धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै पाप ढाक्ने युक्तिहरू हुन्। … परमेश्‍वरको काममा त्यस्तो अभेद्य बाधा किन पार्नु? परमेश्‍वरका मानिसहरूलाई धोका दिन किन विभिन्न युक्तिहरू प्रयोग गर्नु? साँचो स्वतन्त्रता र वैधानिक अधिकार र हितहरू कहाँ छन्? निष्पक्षता कहाँ छ? सान्त्वना कहाँ छ? न्यानोपन कहाँ छ? परमेश्‍वरका मानिसहरूसित चलाकी गर्न किन छलपूर्ण युक्तिहरू प्रयोग गर्नु? परमेश्‍वरको आगमनलाई दमन गर्न किन शक्ति प्रयोग गर्नु? उहाँले सृष्टि गर्नुभएको पृथ्वीमा परमेश्‍वरलाई स्वतन्त्र रूपमा घुम्ने अनुमति किन नदिनु? परमेश्‍वरले उहाँको शिर टेकाउने ठाउँ कहीँ नपाउने गरी किन उहाँको खेदो गर्नु?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८))। चिनियाँ कम्युनिष्ट पार्टीको शासन शैतानकै शासन हो। आफ्नो निरंकुश शासनको स्थिरता मजबुत बनाउनका लागि, चिनियाँ कम्युनिष्ट पार्टीले परमेश्वरको भयङ्कर विरोध गर्छ, र मानवजातिलाई मुक्ति दिने परमेश्वरको कामालाई बिथोल्न र नष्ट गर्न आफूले गर्न सक्ने सबथोक गर्छ। तिनीहरू परमेश्वरलाई मानहानि, बदनामी, निन्दा र इशनिन्दा गर्न मिडिया प्रयोग गर्छन्, र ईसाईहरूलाई गिरफ्तार र उत्पीडन गर्न अनेकौँ रणनीतिहरू पनि अपनाउँछन्, र ईसाईहरूको परिवारलाई बहकाउँदै र उचाल्दै उनीहरूलाई उत्पीडन र आक्रमण गर्न लगाउँछन्, जसले गर्दा उनीहरूको परिवारको विघटन हुन्छ। तर तिनीहरू सत्यतालाई उल्ट्याउँदै, विश्वास गर्नेहरूले परिवार छोड्दैछन् भन्ने दाबी गर्छन्—तिनीहरू कत्ति घृणित र दुष्ट छन्! यो सतावट अनुभव गरेर, मैले मेरो श्रीमान्को सत्यताप्रतिको घृणाको वास्तविक प्रकृतिबारे समझ प्राप्त गरेँ। मैले यो पनि बुझेँ कि परमेश्वर नै एकमात्र हुनुहुन्छ जसमा म साँचो रूपमा भर पर्न सक्छु। जब म सबैभन्दा कमजोर र पीडित अवस्थामा थिएँ, परमेश्वरका वचनले पटकपटक मलाई अन्तर्दृष्टि दिँदै र मार्गदर्शन गर्दै ममा आस्था र शक्ति भरे र शैतानको दुष्ट योजना देख्न सक्षम बनाए, जसले गर्दा म उत्पीडनको सामना गर्दा दृढ रहन सकेँ। अबदेखि, म सत्यता पछ्याउन जारी राख्नेछु र परमेश्वरको ऋण चुक्ता गर्न मेरो कर्तव्य राम्रोसँग निर्वाह गर्नेछु।

अघिल्लो: ७८. सत्य बोल्‍न मलाई केले रोक्यो?

अर्को: ८२. झूट बोल्‍नुको पीडा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७७. बिमारी मार्फत फसल काटियो

झाङ्ग ली, चीनवर्ष २००७ मेरो जीवनको ठूलो मोड थियो। त्यो वर्ष मेरा श्रीमान् कार दुर्घटनामा परेर थला पर्नुभयो। हाम्रा दुई बच्चाहरू अझै सानै...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

५९. इमानदार उजुरीको फल

झाओ मिङ्ग, चीनअप्रिल २०११ मा, मैले देशको अर्को भागमा रहेको एउटा मण्डलीकी याओ लान नामक अगुवाको स्थान लिनुपर्ने भयो। हस्तान्तरणको बेला,...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्