६. परमेश्वरलाई गलत बुझ्दाका मेरा घोर पीडादायी दिनहरू
सन् २०१७ मा, म मण्डली अगुवाका रूपमा चयन भएँ। सुरुमा, मैले आफ्नो कर्तव्यमा केही परिणाम निकालेँ, तर पछि, मैले हैसियतको आशिष्को लालसा गरेँ र वास्तविक काम गर्न छोडेँ। मैले आफ्नो क्षमता कमजोर छ र आफू व्यावसायिक सीपहरू बुझ्न सक्दिनँ भन्ने बहाना बनाएर मण्डलीको कामको अनुगमन गरिनँ। जब माथिल्लो अगुवा, सिस्टर जुलियाले, कामका बारेमा सोधिन्, मैले उनलाई जवाफ दिनै सकिनँ, न त मैले ब्रदर-सिस्टरहरूले आफ्नो कर्तव्य निभाउँदा सामना गर्ने वास्तविक कठिनाइहरू बुझेँ। त्यसपछि जुलियाले मलाई सहयोग गर्नका लागि मेरा समस्याहरू औँल्याइन्, तर म पछाडि फर्किनँ। एक-दुई पटक, उनले धेरै डिकनहरूका अगाडि मलाई खुलासा गर्दै मैले वास्तविक काम नगरेको, म आफ्नो कर्तव्यमा सुस्ताएको, धेरै कपटी भएको, र यस्तै अन्य कुरा भनिन्। मलाई लाग्यो, जुलिया मलाई दुःख दिन र अरूको अगाडि लज्जित बनाउन खोज्दै छिन्, त्यसैले म मेरो हृदयमा प्रतिरोधी भएँ।
एक पटक एउटा भेलामा, मैले जुलियाको काममा केही गल्ती फेला पारेँ, त्यसैले मैले ब्रदर-सिस्टरहरूको सामु उनको आलोचना गरेँ। यसले गर्दा गल्तीले तिनीहरूले उनी झूटा अगुवा हुन् भनी सोच्न थाले। मैले गरेको कामले मण्डलीको काममा बाधा पुर्यायो। यो कुराको खुलासा भएपछि, मेरो अगुवाले मलाई काटछाँट गर्नुहुनेछ र मेरो कर्तव्य परिवर्तन गर्नुहुनेछ भनेर मलाई चिन्ता लाग्यो, त्यसैले मैले हतारहतार जुलियासँग माफी मागेँ र ब्रदर-सिस्टरहरूका अगाडि आफूलाई विश्लेषण र आत्मचिन्तन गरेँ। मलाई लाग्यो, यो कुरा यसै सकिन्छ। तर आश्चर्यको कुरा, केही दिनपछि मेरा माथिल्ला अगुवाहरूले मलाई सम्पर्क गरे, उनीहरूले मैले वास्तविक काम नगर्नु गम्भीर लापरवाही हो, र मैले काटछाँटलाई पनि स्वीकार गरिनँ र लुकेर अरूलाई कमजोर बनाएको छु भनेर भने। यसले मण्डलीको काममा अवरोध गरिरहेको थियो। यो सुनेर, मलाई यसलाई स्विकार्न निकै गाह्रो भयो र मैले मेरो हृदयमा बहस गरिरहेँ: मैले वास्तविक काम गर्न नचाहेको होइन, तर त्यसो गर्नलाई मेरो क्षमता निकै कमजोर थियो। जहाँसम्म अरूलाई लुकेर कमजोर बनाएको कुरा छ, मैले पहिल्यै मेरो गल्ती स्वीकार गरेकी थिएँ। मैले जुलियासँग माफी मागेँ र ब्रदर-सिस्टरहरूका अगाडि मेरो भ्रष्टताको विश्लेषण गरेँ। त्यसो भए, किन तपाईंहरूले यो कुरामा अझै अडान राख्नुहुन्छ? त्यतिबेला, उनीहरूले मसँग जसरी सङ्गति गरे पनि, मैले स्विकार्न सकिनँ। त्यसैले मेरो स्थितिका आधारमा, एक जना अगुवाले परमेश्वरका यी वचनहरू मलाई पढेर सुनाए: “दाजुभाइ-दिदीबहिनीहरूमाझ सधैँ आफ्नो नकारात्मक पोखाउनेहरू शैतानका नोकर हुन्, र तिनीहरूले मण्डलीमा बाधा दिन्छन्। त्यस्ता व्यक्तिहरूलाई एक दिन निष्कासित गर्नुपर्छ र हटाइनुपर्छ। परमेश्वरमाथिको तिनीहरूको विश्वासमा यदि ती मानिसहरूमा परमेश्वरको डर मान्ने हृदय छैन भने, यदि तिनीहरूसँग परमेश्वरमा समर्पित हुने हृदय छैन भने, तिनीहरू उहाँको निम्ति कुनै काम गर्न असमर्थ मात्र हुँदैनन्, तर त्यसको विपरीत तिनीहरू उहाँको काममा बाधा दिने र उहाँलाई प्रतिरोध गर्नेहरू बन्नेछन्। परमेश्वरमा विश्वास गर्नु तर उहाँप्रति समर्पित नहुनु वा उहाँको डर नमान्नु, बरु त्यसको साटो उहाँको विरोध गर्नु भनेको एक विश्वासीका निम्ति सबैभन्दा ठूलो बेइज्जती हो। यदि विश्वासीहरू तिनीहरूका बोलीवचन र आचरणमा लापरवाह र अनियन्त्रित छन् र गैरविश्वासीहरू जस्तो व्यवहार गर्छन् भने तिनीहरू गैरविश्वासीहरूभन्दा पनि बढी दुष्ट छन्; भूतात्माहरूको असली नमुना हुन्। जसले मण्डलीमा उनीहरूको विषाक्त, द्वेषपूर्ण कुराहरू ओकल्छन्, जसले अफवाह फैलाउँछन्, अराजकता फैलाउँछन्, र भाइ-बहिनीहरूमाझ गुट पैदा गर्छन्—तिनीहरूलाई मण्डलीबाट निष्कासित गरिनुपर्छ। तापनि अहिले परमेश्वरको कामको एक फरक युग भएकोले यी मानिसहरू प्रतिबन्धित छन्, किनकि तिनीहरूलाई निश्चित रूपमा हटाइनुपर्ने हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। म जति सुन्दै गएँ, मेरो हृदयमा त्यति नै डर बढ्दै गयो, किनकि मैले जुलियाको आलोचना गर्नाले मण्डलीको काममा साँच्चै अवरोध पुर्याएको थाहा पाएकी थिएँ। तर जब मैले “शैतानका चाकर,” “मण्डलीलाई बाधा दिने”, “निष्कासित गरिनेछ,” “हटाइनेछ,” जस्ता शब्दहरू सुनेँ, म ती कुरा स्वीकार गर्ने आँट गरिनँ, यो डरले कि, यदि मैले स्वीकार गरेँ भने म निन्दित हुने त होइन? त्यसपछि मैले कसरी मुक्ति प्राप्त गर्न सक्नेथिएँ? मैले यो तथ्य स्वीकार गर्न चाहिनँ, त्यसैले मैले अगुवाका बारेमा गुनासो गरेँ, मलाई लाग्यो कि उनले मलाई आक्रमण र निन्दा गर्न जानाजानी परमेश्वरका वचनहरू प्रयोग गरिरहेकी छिन्। म धेरै भावुक भएँ र भनेँ, “तपाईं मेरो समस्या समाधान गर्न सहयोग गर्न सत्यताको सङ्गति गरिरहनुभएको छैन! तपाईं त मलाई आक्रमण मात्र गरिरहनुभएको छ!” अगुवाहरूले बुझे कि मलाई आफ्नै बारेमा कुनै ज्ञान छैन, त्यसैले मलाई सहयोग गर्न निरन्तर सङ्गति गरे। मलाई आफैँलाई बुझ्न मार्गदर्शन गर्न उनीहरूले आफ्नै अनुभवहरूबारे पनि सङ्गति गरे। तर, उनीहरूले जे भने पनि, मैले अझै केही बुझ्न सकिनँ। अन्ततः जब उनीहरूले मैले कुनै वास्तविक काम नगरेको, सत्यतालाई पनि स्वीकार नगरेको र ममा पश्चात्तापको मनोवृत्तिसमेत नभएको देखे, माथिल्ला अगुवाहरूले मलाई बर्खास्त गरे।
त्यस क्षणमा, म अचानक थला परेँ। मैले आफूले दस वर्षभन्दा बढी समयदेखि परमेश्वरमा विश्वास गरेको, र म दुई वा तीन वर्षकी नयाँ विश्वासी नभएको भन्नेबारे सोचेँ। परमेश्वरको काम अब आफ्नो निष्कर्षतर्फ अघि बढिरहेको छ। मानिसहरूलाई उनीहरूको प्रकारअनुसार प्रकाश र वर्गीकृत गर्ने समय आइसकेको छ। यो महत्त्वपूर्ण मोडमा, मलाई सत्यतालाई स्वीकार नगर्ने व्यक्तिका रूपमा प्रकाश गरियो। के यसको अर्थ म हटाइएको हुँ भन्ने होइन र? मलाई डर लाग्यो कि यो बिन्दुबाट, मैले आस्थामा अझ कडा मेहनत गरे पनि त्यसले कुनै काम गर्नेथिएन र मेरो कुनै भविष्य हुनेथिएन। म धेरै नकारात्मक महसुस गर्न थालेँ। मेरो स्थिति दिनदिनै बिग्रँदै गयो। म आफूलाई कुनै कर्तव्य राम्रोसँग निर्वाह गर्न नसक्ने निकम्मा जस्तै महसुस गर्न थालेँ। परमेश्वरले मलाई परित्याग गर्नुभएको भनेर निरन्तर महसुस गर्दै, मेरो हृदय हरेक दिन डर र बेचैनीले भरिएको थियो। ब्रदर-सिस्टरहरूले मलाई आत्म-चिन्तन गर्न र मेरो असफलताबाट सिक्न आग्रह गर्दै परमेश्वरको अभिप्रायका बारेमा निरन्तर सङ्गति गरे तापनि, मैले जिद्दीपूर्वक म सत्यतालाई नपछ्याउने व्यक्तिका रूपमा प्रकट भइसकेकी थिएँ भन्ने विश्वास गरेँ, त्यसैले मैले अझै त्यसलाई पछ्याउनु समयको बर्बादी हुनेछ भनेर सोचेँ। त्यसपछि, मण्डलीले मलाई जे-जस्तो कर्तव्य सुम्पिए पनि, मैले तिनलाई नकारात्मकता र निष्क्रियतासाथ गरेँ, लापरवाह भएँ र लगभग कुनै नतिजा हासिल गरिनँ। अन्ततः, सिद्धान्तका आधारमा, मेरा अगुवाहरूले मेरो कर्तव्य रोकेर मलाई आत्मचिन्तनका लागि अलग राखे। त्यो क्षणमा, मेरो दिमाग खाली भयो; यो मृत्युदण्डजस्तो महसुस भयो। मैले म पूर्णरूपमा समाप्त भएको बुझेँ। कर्तव्य बिना, मुक्ति प्राप्त गर्ने मेरो कुनै आशा कसरी रहन सक्थ्यो र? ती दिनहरूमा, म हिँड्ने लासजस्तै भएर जिइरहेकी थिएँ, र प्रायः जसो मैले आफू परमेश्वरद्वारा तिरस्कृत गरिएको महसुस गरेँ। म प्रार्थना गर्न धेरै लाज मान्थेँ, र परमेश्वरका वचन पढ्न योग्य छुजस्तो महसुस गर्थिनँ। त्यसबेला, केही ब्रदर-सिस्टरहरूले मलाई सहयोग गरे र मलाई परमेश्वरका वचन पढेर सुनाए। तर, मैले परमेश्वरका वचन सत्यतालाई पछ्याउनेहरूका लागि हुन्, मेरा लागि होइनन् भनेर विश्वास गरेँ, त्यसैले, मैले तिनलाई ग्रहण गर्नै सकिनँ। के प्रभु येशूले, “कुकुरहरूलाई पवित्र चीजहरू नदेऊ; सुँगुरहरूलाई आफ्नो मोती नफाल” भन्नुभएको थिएन? परमेश्वरले मजस्तो व्यक्तिसँग कसरी बोल्न सक्नुहुन्थ्यो? त्यसबेला, म हरेक दिन डर र बेचैनी महसुस गर्थेँ। यदि परमेश्वरले साँच्चै मलाई परित्याग गर्नुभएको हो भने, मेरो अस्तित्वको के अर्थ रह्यो? एक दिन, म कुनै दण्डद्वारा मर्नु नै ठीक होला। मेरो हृदय डरले भरिएको थियो, र म हरेक दिन यातनामा सङ्घर्ष गरिरहेकी थिएँ। पछि, केही यस्तो भयो जसले मलाई गहिरो रूपमा प्रभावित गर्यो।
मैले धाईको काम पाएँ जहाँ मेरो नियोक्ताले राम्रो मानवता देखाए र जीवनमा मेरो राम्रो ख्याल गरे। यसबाट प्रेरित भएर, मैले मेरो नियोक्तालाई सुसमाचार सुनाएँ र उनले परमेश्वरको आखिरी दिनहरूको सुसमाचार खुशीसाथ स्वीकार गरे। म धेरै उत्साहित भएँ। यस अनुभवबाट, मैले बुझेँ कि परमेश्वरले मलाई परित्याग गर्नुभएको थिएन, बरु मलाई दया देखाएर मुक्ति दिन जारी राख्नुभएको थियो। दोषको भावनाले भरिएर, मैले आँसुमा डुब्दै परमेश्वरलाई पुकारेँ, “परमेश्वर, म यसरी नकारात्मक रहन चाहन्नँ; कृपया मलाई मुक्ति दिनुहोस्!” मैले परमेश्वरका वचनहरूको एउटा खण्ड देखेँ, जसमा भनिएको छ: “जब केही मानिसहरूले परमेश्वरका वचन पढ्छन् र उहाँका वचनहरूमा परमेश्वरले मानिसहरूलाई निन्दा गर्नुभएको देख्छन्, तब तिनीहरू धारणा बनाउँछन् र मनभित्र अन्तर्द्वन्द्व महसुस गर्छन्। उदाहरणको लागि, परमेश्वरका वचनले भन्छ कि तैँले सत्यता नस्विकार्ने भएकोले परमेश्वरले तँलाई रुचाउनु वा स्विकार्नुहुन्न, तँ दुष्कर्मी र ख्रीष्टविरोधी होस्, तँलाई हेर्दासमेत उहाँमा उदासी छाउँछ र उहाँ तँलाई चाहनुहुन्न। मानिसहरू यी वचन पढेर यस्तो सोच्छन्, ‘यी वचनहरू मलाई भनिएका हुन्। परमेश्वरले मलाई नचाहने भनेर दृढनिश्चय गर्नुभएको छ, र परमेश्वरले मलाई परित्याग गर्नुभएकोले, म पनि अबदेखि परमेश्वरमा विश्वास गर्नेछैनँ।’ त्यस्ता मानिसहरू पनि छन् जो, परमेश्वरका वचनहरू पढ्दा, प्रायः धारणा र गलतबुझाइहरू विकास गर्छन् किनकि परमेश्वरले मानिसका भ्रष्ट स्थितिहरू पर्दाफास गर्नुहुन्छ र मानिसलाई निन्दा गर्दै केही कुरा बोल्नुहुन्छ। तिनीहरू परमेश्वरका वचनहरू आफूप्रति लक्षित छन्, परमेश्वरले आफूलाई त्यागिरहनुभएको छ र उहाँले आफूलाई मुक्ति दिनुहुन्न भन्ने सोच्दै नकारात्मक र कमजोर बन्छन्। तिनीहरू यति हदसम्म नकारात्मक बन्छन् कि तिनीहरूको आँसु नै झर्छ र अबउप्रान्त परमेश्वरलाई पछ्याउन चाहँदैनन्। यो वास्तवमा परमेश्वरलाई गलत बुझ्नु हो। जब तैँले परमेश्वरका वचनहरूको अर्थ बुझ्दैनस्, तैँले परमेश्वरलाई सीमित पार्ने कोसिस गर्नु हुँदैन। तँलाई परमेश्वरले कस्तो व्यक्तिलाई त्याग्नुहुन्छ, वा उहाँले कस्ता परिस्थितिमा मानिसहरूबाट आशा मार्नुहुन्छ, वा कस्ता परिस्थितिमा मानिसहरूलाई पन्छाउनुहुन्छ भन्ने कुरा थाहा छैन; यो सबै कुराका सिद्धान्त र परिवेश हुन्छन्। यदि तँसँग यी सब कुराबारे पूर्ण अन्तर्दृष्टि छैन भने, तँ अति संवेदनशील बन्ने सम्भावना हुन्छ र तैँले परमेश्वरको एउटा वचनको आधारमा आफूलाई सीमित पार्नेछस्। के त्यो समस्याजनक कुरा होइन र? जब परमेश्वरले मानिसहरूलाई न्याय गर्नुहुन्छ, उहाँले तिनीहरूको कुन प्रमुख पक्षको निन्दा गर्नुहुन्छ? परमेश्वरले जुन कुराहरूको न्याय र खुलासा गर्नुहुन्छ, ती मानिसहरूका भ्रष्ट स्वभाव र भ्रष्ट सारहरू हुन्, उहाँले तिनीहरूका शैतानी स्वभाव र शैतानी प्रकृतिको निन्दा गर्नुहुन्छ, उहाँले परमेश्वरप्रति तिनीहरूका विद्रोह र विरोधका विविध प्रकटीकरण र व्यवहारहरूको निन्दा गर्नुहुन्छ, उहाँले तिनीहरूलाई परमेश्वरमा समर्पित हुन नसकेकोमा, सधैँ परमेश्वरको विरोध गरेकोमा, र सधैँ तिनीहरूका आफ्नै उत्प्रेरणा र लक्ष्यहरू भएकोमा निन्दा गर्नुहुन्छ—तर यस्तो निन्दाको अर्थ परमेश्वरले शैतानी स्वभाव भएका मानिसहरूलाई परित्याग गर्नुभएको छ भन्ने हुँदैन। … परमेश्वरबाट निन्दाको एउटा अभिव्यक्ति सुन्दा नै तैँले सोच्छस् कि, परमेश्वरबाट निन्दित भएपछि मानिसहरू परमेश्वरद्वारा त्यागिएका हुन्छन्, र अब तिनीहरूले मुक्ति पाउनेछैनन्, र यही कारणले तँ नकारात्मक बन्छस्, र तैँले आफूलाई निराशामा डुबाउँछस्। यो परमेश्वरको गलत व्याख्या गर्नु हो। खासमा, परमेश्वरले मानिसहरूलाई त्याग्नुभएको हुँदैन। तिनीहरू आफैले परमेश्वरको गलत व्याख्या गरेर आफूलाई त्यागेका हुन्छन्। मानिसहरूले आफैलाई त्याग्नुभन्दा गम्भीर कुरा केही हुँदैन, र यो कुराले पुरानो करारको यो वचन चरितार्थ गर्छ: ‘मूर्खहरू बुद्धिको चाहनामा मर्छन्’ (हितोपदेश १०:२१)। मानिसहरूले आफूलाई निराशामा डुबाउनुभन्दा मूर्ख व्यवहार केही हुँदैन। कहिलेकाहीँ तैँले परमेश्वरका त्यस्ता वचनहरू पढ्छस् जसले मानिसहरूलाई सीमित पारेजस्तो देखिन्छ; तर खासमा, तिनले कसैलाई पनि सीमित पारिरहेका हुँदैनन्, बरु ती परमेश्वरका इच्छाहरू र विचारहरूका अभिव्यक्ति हुन्। ती सत्यता र सिद्धान्तका वचन हुन्, तिनले कसैलाई सीमित पारिरहेका हुँदैनन्। रिस र आक्रोशको समयमा परमेश्वरले बोल्नुभएका वचनले पनि परमेश्वरको स्वभाव प्रतिनिधित्व गर्छन्, ती वचनहरू सत्यता हुन्, र ती सिद्धान्तका वचन हुन्। यो कुरा मानिसहरूले बुझ्नैपर्छ। परमेश्वरले यसो भन्नुको उद्देश्य मानिसहरूलाई सत्यता र सिद्धान्तहरू बुझ्न दिनु हो; यो कसैलाई सीमित पार्नु किमार्थ होइन। मानिसहरूको अन्तिम गन्तव्य र इनामसँग यसको कुनै सम्बन्ध छैन, ती कुरा झन् मानिसहरूको अन्तिम दण्ड हुने त कुरै भएन। ती त मानिसहरूलाई न्याय र काँटछाँट गर्न बोलिएका वचन मात्र हुन्, ती उहाँका अपेक्षा पूरा नगर्ने मानिसहरूप्रतिको रिसका परिणाम हुन्, ती मानिसहरूलाई जगाउन र उक्साउन बोलिएका हुन्, र ती परमेश्वरको हृदयका वचनहरू हुन्। तर अझै पनि, कतिपय मानिसहरू परमेश्वरको न्यायको एउटै अभिव्यक्तिको कारण पछारिन्छन् र परमेश्वरलाई त्याग्छन्। यस्ता मानिसहरूलाई आफ्नो लागि के ठिक हुन्छ भन्ने नै थाहा हुँदैन, तिनीहरू समझप्रतिरोधी हुन्छन्, र बिलकुलै सत्यता स्विकार्दैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्वरमा विश्वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (१))। मैले आत्मग्लानीका आँसु रोक्न नसकेर परमेश्वरका वचनहरू बारम्बार पढिरहेँ। यो यस्तो महसुस भयो, मानौँ परमेश्वर आफैँ मेरो सामुन्ने आएर मलाई सान्त्वना दिइरहनु भएको थियो, विशेष गरी, जब परमेश्वरले भन्नुभयो: “ती त मानिसहरूलाई न्याय र काँटछाँट गर्न बोलिएका वचन मात्र हुन्, ती उहाँका अपेक्षा पूरा नगर्ने मानिसहरूप्रतिको रिसका परिणाम हुन्, ती मानिसहरूलाई जगाउन र उक्साउन बोलिएका हुन्, र ती परमेश्वरको हृदयका वचनहरू हुन्। तर अझै पनि, कतिपय मानिसहरू परमेश्वरको न्यायको एउटै अभिव्यक्तिको कारण पछारिन्छन् र परमेश्वरलाई त्याग्छन्। यस्ता मानिसहरूलाई आफ्नो लागि के ठिक हुन्छ भन्ने नै थाहा हुँदैन, तिनीहरू समझप्रतिरोधी हुन्छन्, र बिलकुलै सत्यता स्विकार्दैनन्।” परमेश्वरका वचनहरूले मलाई ब्युँझाए। परमेश्वरका वचनप्रति मेरो दृष्टिकोणबारे मनन गर्दा, मैले जब अगुवाले मलाई खुलासा र निन्दा गर्ने परमेश्वरका वचनहरू सुनाउँथे, म दोषी महसुस गर्थेँ भन्ने बुझेँ। मेरो हृदय परमेश्वरका वचनमा भएको न्याय र खुलासालाई स्वीकार गर्न अत्यन्त प्रतिरोधी थियो। यस बिन्दुमा, मैले अन्ततः यो बुझेँ कि परमेश्वरका वचनहरू कठोर भए तापनि, ती हामीलाई आफूलाई चिन्न, पश्चात्ताप गर्न, र परिवर्तन हुन सहयोग गर्नका लागि हुन्। अगुवाले मलाई खुलासा गरे किनभने मेरा क्रियाकलापहरू गम्भीर थिए, तर मेरो जिद्दी स्वभावले मलाई त्यो तथ्यलाई स्वीकार गर्न रोकेको थियो। बर्खास्त भइसकेपछि पनि, म होसमा आइनँ, र परमेश्वरले मलाई प्रकाश गरी हटाउँदै हुनुहुन्थ्यो भन्दै गलत रूपमा सोचेँ। म नकारात्मक स्थितिमा अल्झिरहेँ, आफूमाथिकै भरोसा गुमाएँ र निराशामा विलीन भएँ। मैले जति आत्मचिन्तन गरेँ, उति नै पश्चात्ताप महसुस गरेँ, र मेरो जिद्दीपन र विद्रोहीपनलाई घृणा गर्न थालेँ। मैले परमेश्वरको कामलाई साँच्चै कति कम बुझेकी रहेछु भन्ने बुझेँ। मैले परमेश्वरका ती वचनहरू सम्झिएँ, जसमा भनिएको थियो: “कुन तरिकाले परमेश्वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको धर्मी स्वभावको माध्यमबाट पूरा गरिन्छ। परमेश्वरको स्वभाव मुख्य रूपले धार्मिकता, क्रोध, महानता, न्याय र सरापले बनेको हुन्छ र उहाँले मानिसलाई मुख्य रूपले आफ्नो न्यायद्वारा सिद्ध बनाउनुहुन्छ। कति मानिसहरूले बुझ्दैनन्, र परमेश्वरले किन मानिसलाई न्याय र सरापद्वारा मात्र सिद्ध बनाउन सक्नुहुन्छ भनी प्रश्न गर्छ। तिनीहरू भन्छन्, ‘यदि परमेश्वरले मानिसलाई सराप्नुभयो भने, के मानिस मर्नेथिएन र? यदि परमेश्वरले मानिसलाई इन्साफ गर्नुभयो भने, के मानिस दोषी हुने थिएन? त्यसो भए ऊ कसरी अझै सिद्ध हुन सक्छ?’ यी ती मानिसहरूका कुरा हुन्, जसले परमेश्वरका कामहरूलाई जान्दैनन्। परमेश्वरले जुन कुरालाई सराप्नुहुन्छ त्यो मानिसको विद्रोहीपन हो, र उहाँले जे कुराको न्याय गर्नुहुन्छ त्यो मानिसको पाप हो। उहाँ रूखो र कठोरता साथ बोल्नुहुने भए तापनि, उहाँले मानिसभित्र भएका सबै कुरा पर्दाफास गरिदिनुहुन्छ, उहाँले यी कठोर शब्दहरूद्वारा ती कुरा पर्दाफास गरिदिनुहुन्छ, जुन मूल रूपमा मानिसभित्र हुन्छ, तापनि त्यस्तो न्यायद्वारा उहाँले मानिसलाई देहको सारको गहिरो ज्ञान दिनुहुन्छ, र यसैले मानिस परमेश्वरको सामु समर्पित हुन्छ। मानिसको शरीर पापको र शैतानको हो, यो विद्रोही छ, र यो परमेश्वरको सजायको पात्र हो। यसैले, मानिसलाई ऊ आफैलाई चिन्न लगाउनको लागि परमेश्वरका वचनहरूको न्याय ऊमाथि आउनुपर्छ र त्यहाँ हरप्रकारको शोधन प्रयोग गर्नुपर्दछ; तब मात्र परमेश्वरको काम प्रभावकारी हुन सक्दछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्)। मैले परमेश्वरका यी वचनहरूको यो खण्ड पहिले पनि धेरै पटक पढेकी थिएँ, तर म अझै पनि परमेश्वरको अभिप्राय बुझ्न किन असफल भएँ? आखिरी दिनहरूमा, परमेश्वरको कामले न्याय र ताडनाका वचनहरूमार्फत मानवजातिलाई शुद्ध गर्न र मुक्ति दिने लक्ष्य राख्दछ। मानवजाति शैतानद्वारा यति गहिरोगरी भ्रष्ट भएको छ कि न्याय र खुलासा गर्ने परमेश्वरका वचनहरूबिना, साँचो पश्चात्ताप र रूपान्तरण हासिल गर्ने त टाढाको कुरा, हामी हाम्रो भ्रष्टताको सार र वास्तविकतालाई कहिल्यै साँचो रूपमा चिन्न सक्दैनथ्यौँ। तर मैले जब परमेश्वरले हामीलाई न्याय र खुलासा गर्नुभयो, त्यो निन्दा र अनन्त रूपमा हटाइनु हो भनेर गलत रूपमा विश्वास गरेँ, जसको अर्थ हामीले कहिल्यै राम्रो परिणाम र गन्तव्य पाउन सक्दैनौँ भन्ने थियो। मेरो बुझाइ वाहियात र भ्रमित थियो। मलाई परमेश्वरको काम र मानवजातिलाई मुक्ति दिने उहाँका सच्चा अभिप्रायहरूका बारेमा धेरै कम थाहा थियो। मैले परमेश्वरले पहिले भन्नुभएको कुरा सम्झिएँ: “जुनसुकै समयमा पनि, मानिसलाई मुक्ति दिने परमेश्वरको अभिप्राय कहिल्यै परिवर्तन हुँदैन” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। आजसम्म मैले ती वचनहरू कति व्यवहारिक थिए भन्ने महसुस गरेकी थिइनँ। परमेश्वरले मानवजातिलाई पूर्ण रूपमा मुक्ति दिनुहुन्छ, र उनीहरू आफैँले सत्यताको खोजी त्याग्ने निर्णय नगरुन्जेल, उहाँले कसैको पनि साथ सजिलै छोड्नुहुन्न। मैले आफूलाई इमानदारीपूर्वक प्रश्न गर्नबाट रोक्न सकिनँ, “यदि परमेश्वरले मलाई मुक्ति दिन चाहनुहुन्थेन भने, मेरा कर्महरूका आधारमा, के म पहिले नै उहाँद्वारा हटाइसकिएकी हुने थिइनँ? यदि त्यो सत्य भएको भए, के उहाँलाई मलाई न्याय र खुलासा गर्न, मेरो भ्रष्टता प्रकट गराउने परिस्थिति मिलाउन, र आफूबारे चिन्तन गर्न र आफूलाई बुझ्नका लागि मलाई मार्गदर्शन र अन्तर्दृष्टि दिन, आवश्यक हुनेथ्यो? ब्रदर-सिस्टरहरूले मलाई सही मार्गमा फर्काउन र आत्मचिन्तन गर्न मद्दत गर्न काटछाँट गरे र चेतावनी दिए। के यी कार्यहरू परमेश्वरको व्यावहारिक र साँचो मुक्ति थिएन? तर, मैले परमेश्वरले मानवजातिलाई मुक्ति दिने तरिकाहरू बुझिनँ, न त मैले उहाँको प्रेम चिनेँ। बरु, मैले परमेश्वरलाई गलत बुझेँ र उहाँको विरोध गर्दै नकारात्मकतामा जिएँ। म कति अव्यावहारिक थिएँ!” यो सोच्दै गर्दा, मेरो लामो समयदेखि भावशून्य भएको हृदयले अन्ततः केही महसुस गर्न थाल्यो, र मैले आफ्ना क्रियाकलापप्रति गहिरो पछुतो गरेँ। मैले परमेश्वरसँग प्रार्थना गरेँ, “परमेश्वर, भविष्यमा, मैले जेसुकै असफलता वा अवरोध सामना गरे पनि, म अब तपाईंलाई गलत बुझ्न चाहन्नँ। म गम्भीरतापूर्वक आत्मचिन्तन गर्न, पाठहरू सिक्न, इमानदारीपूर्वक सत्यता पछ्याउन, र मेरो बाँकी जीवनभर मेरा कर्तव्यहरू राम्रोसँग पूरा गर्न इच्छुक छु, ताकि म साँचो पश्चात्ताप प्राप्त गर्न सकूँ।”
पछि, मैले त्यस समयका आफ्ना अनुभवहरूलाई समेटेर एउटा लेख लेखेँ। एकजना सिस्टरले त्यो लेख पढिन् र मलाई परमेश्वरका केही वचनहरू पठाउँदै सम्झाइन्, भनिन्, “तपाईंलाई किन काटछाँट गरियो भन्ने कुरामा चिन्तन गर्नु पर्छ। अगुवाहरूले खुलासा गरेका प्रत्येक समस्याको गहिरो चिन्तन गर्नुहोस् , र ती समस्याहरूलाई समाधान गर्न सम्बन्धित सत्यताहरूको उपयोग गर्नुहोस् । त्यसपछि मात्र तपाईंले यी समस्याहरूलाई साँच्चै सम्बोधन गर्न सक्नुहुनेछ।” त्यसैले म शान्त भएँ र आत्मचिन्तन गरेँ: अगुवाहरूले किन म सत्यता स्वीकार गर्दिनँ भने? कुन-कुन व्यवहारले मैले सत्यता अस्वीकार गरेको सङ्केत गर्थे? अगुवाका रूपमा बिताएको मेरो समय सम्झँदा, मैले महसुस गरेँ कि कठिनाइहरू आइपर्दा, म प्रायः आफ्नो देहलाई प्राथमिकता दिन्थेँ। मैले समाधानका लागि सत्यता खोज्न कुनै मेहनत गर्न वा मूल्य चुकाउनबाट बच्ने प्रयास गरेँ। मैले समस्याहरू समाधान गर्न सत्यता खोज्नु धेरै थकाइलाग्दो र तनावपूर्ण हुन्छ भन्ने सोचेर छली तरिकाहरू समेत अपनाएँ । यदि मैले आफ्नो कमजोर क्षमतालाई बहानाका रूपमा प्रयोग गरी माथिल्ला अगुवाहरूलाई समस्या सुम्पिएँ भने, म समस्याबाट जोगिन सक्थेँ। समस्या अन्ततः समाधान नभए पनि, मैले कुनै जिम्मेवारी उठाउन पर्दैनथ्यो। मैले सम्झेँ, एक पटक मैले मेरा अगुवाहरूलाई कामका समस्याहरू रिपोर्ट गर्दा, उनीहरूले यस्तो जवाफ दिएका थिए, “जब तपाईं समस्याहरू सामना गर्नुहुन्छ, तपाईं ती समाधान गर्न कुनै प्रयास गर्नुहुन्न। बरु, तपाईं ती कठिनाइहरूलाई भारजस्तै ठान्नुहुन्छ र अरूको हातमा हालिदिनुहुन्छ। यदि तपाईंले आफ्ना कठिनाइहरूका सम्बन्धमा सत्यता खोजेको भए, तपाईंलाई ती समस्याहरू समाधान गर्ने आफ्नै तरिकाहरू थाहा हुनेथियो।” यो सुनेपछि, मैले आत्मचिन्तन गर्नु सट्टा रिसाएँ: समस्या रिपोर्ट गर्नुमा आखिर के गलत छ? तपाईं कसरी मैले समस्याहरू सामना गर्दा सत्यता खोजिनँ भन्न सक्नुहुन्छ? मैले मनमनै चुपचाप तर्क गरेँ। यो सोच्दै गर्दा, मैले अचानक महसुस गरेँ कि मैले सत्यता नखोजेको वा स्वीकार नगरेको ठ्याक्कै यसरी हो। मैले जुलियाले कति पटक मेरा समस्याहरू औंल्याएकी थिइन् र सङ्गतिको क्रममा ती समस्याहरू खुलासा गरेकी थिइन् भन्ने पनि सम्झेँ। आत्मचिन्तन गर्नुको सट्टा, मैले रिस राखेँ र प्रतिकार गर्न खोजेँ। मैले उनका काममा भएका गल्तीहरूमा ध्यान केन्द्रित गरेँ, उनको पछाडि उनलाई आलोचना गरेँ र उनलाई कमजोर बनाएँ, जसले मण्डली जीवनमा बाधा पुर्यायो। जब मेरो गलत आचरण खुलासा भयो, जिम्मेवारीबाट बच्नका लागि, मैले जुलियासँग औपचारिक रूपमा मात्र माफी मागेँ, र ब्रदर-सिस्टरहरूका अगाडि आफूलाई उजागर गरेर र आत्म-चिन्तन गरेर, समस्याको गम्भीरतालाई कम गर्न खोजेँ। जब अगुवाहरूले परमेश्वरका वचनअनुसार मेरो व्यवहारलाई खुलासा गरे, मैले ती कुरा मनमनै स्विकारेँ, तर मौखिक रूपमा स्विकारिनँ। तैपनि, मैले अनुचित रूपमा अगुवाहरूलाई परमेश्वरका वचनहरू प्रयोग गरेर ममाथि आक्रमण र निन्दा गरेको आरोप लगाएँ। के यी सबै कार्यहरू सत्यतालाई अस्वीकार गर्ने मेरो मनोवृत्तिको अभिव्यक्ति थिएनन् र? पछि, मैले परमेश्वरका थप वचनहरू पढ्दा, यसले मेरो आन्तरिक स्थितिलाई अझ स्पष्ट रूपमा बुझ्न सहयोग गर्यो। परमेश्वरका वचनहरूले भन्छन्: “यदि तँ आफूलाई भ्रष्टताबाट धोइन र तेरो जीवन स्वभाव बदल्न चाहन्छस् भने, तँमा सत्यताप्रति प्रेम हुनुपर्छ अनि तँ सत्यता स्वीकार गर्न सक्षम हुनुपर्छ। सत्यतालाई स्वीकार गर्नु भनेको के हो? सत्यता स्वीकार गर्नुको अर्थ के हो भने, तँसँग जे-जस्तो भ्रष्ट स्वभाव भए तापनि, वा रातो अजिङ्गरको अर्थात् शैतानका जुनसुकै विषहरू तेरो प्रकृतिमा भए तापनि, जब परमेश्वरका वचनहरूले यी कुराहरू पर्दाफास गर्छन्, तब तैँले ती कुरा स्विकार्नुपर्छ र तँ समर्पित हुनुपर्छ, तैँले फरक निर्णय गर्नु हुँदैन, र तैँले परमेश्वरका वचनहरूअनुसार आफूलाई चिन्नुपर्छ। परमेश्वरका वचनहरू स्विकार्न र सत्यता स्विकार्न सक्नु भनेको यही हो। परमेश्वरले जेसुकै भन्नुभए तापनि, उहाँका वाणीहरू जति नै कठोर भए तापनि, र उहाँले जुनसुकै वचनहरू प्रयोग गर्नुभए तापनि, उहाँले भन्नुभएका कुराहरू सत्य हुन् भने तैँले तिनलाई स्वीकार गर्न सक्छस् र ती वास्तविकतासँग मेल खान्छन् भने तैँले तिनलाई स्वीकार्न सक्छस्। तैँले परमेश्वरका वचनहरूलाई जति गहन रूपमा बुझे पनि तँ ती वचनहरूमा समर्पित हुन सक्छस्, र तँ पवित्र आत्माबाट आएको तेरा दाजुभाइ-दिदीबहिनीहरूले सङ्गति गर्ने ज्योतिलाई स्वीकार गर्न र त्यसमा समर्पित हुन सक्छस्। जब त्यस्तो व्यक्तिले केही हदसम्म सत्यको खोजी गरेको हुन्छ तब उसले सत्य प्राप्त गर्न सक्छ र उसले आफ्नो स्वभावको रूपान्तरण हासिल गर्न सक्छ। सत्यतालाई प्रेम नगर्ने मानिसहरूमा थोरै मानवता भए पनि, तिनीहरूले केही सुकर्म र परमेश्वरको लागि त्याग र समर्पण गर्न सक्ने भए पनि, तिनीहरू सत्यताबारे अन्योलमा हुन्छन् र यसलाई गम्भीर रूपमा लिँदैनन्, त्यसकारण तिनीहरूको जीवन स्वभाव कहिल्यै परिवर्तन हुँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। परमेश्वरका वचनबाट, मैले बुझेँ कि जो व्यक्तिले सत्यतालाई स्वीकार गर्छ, उसमा परमेश्वरका वचनहरूप्रति बिना शर्त स्वीकारोक्ति, स्वीकृति र समर्पणको मनोवृत्ति हुनुपर्छ। चाहे परमेश्वरका वचन कठोर होउन् वा कोमल, चाहे तिनीहरूले न्याय र खुलासा गर्ने कुरा समेटून् वा सल्लाह र सान्त्वना प्रदान गरून्, मानिसले सधैँ स्वीकार र समर्पण गर्नुपर्छ। यो एक व्यक्तिमा हुनु पर्ने समझ हो। कहिलेकाहीँ, हामीलाई परमेश्वरका वचनहरूले खुलासा गरेको स्थिति चिन्न कठिनाइ हुन सक्छ, तर हामीले स्वीकार र समर्पणको मनोवृत्ति कायम राख्नुपर्छ। कम्तिमा हामीले विश्वास गर्नुपर्छ कि परमेश्वरका वचनहरू सत्यता हुन्, र उहाँले खुलासा गरेका कुरा तथ्यगत हुन्, र तिनले हाम्रो भ्रष्ट स्वभावका लुकेका पक्षलाई उजागर गरिरहेका छन्, र हामीले परमेश्वरका वचनलाई “आमेन” भन्नुपर्छ। तर, मैले परमेश्वरका वचनहरूले मेरो वास्तविक स्थिति खुलासा गरिरहेका थिए भन्ने स्पष्ट रूपमा थाहा भए पनि, मैले त्यसलाई स्वीकार गरिनँ, र अनुचित रूपमा, मैले अगुवाहरूलाई परमेश्वरका वचनहरू प्रयोग गरेर मलाई निन्दा गर्न र नकारात्मक बनाउन खोजेको आरोप लगाएँ। म परमेश्वरका वचनहरूको न्याय र खुलासालाई स्विकार्न असफल मात्र भइनँ, मैले जिम्मेवारी पनि अरूमा सार्ने प्रयास गरेँ। मैले साँच्चै नै सत्यतालाई बिल्कुलै स्विकारिनँ। म कति अविवेकी थिएँ! ब्रदर-सिस्टरहरूका सुझाव, सहयोग, र काँटछाँटजस्ता सकारात्मक कुराहरू पाउँदा समेत मैले ती कुरा परमेश्वरबाट आएको भनेर स्वीकार गर्न र तीप्रति समर्पित हुन सकिनँ। उल्टै, मैले मलाई काटछाँट र खुलासा गर्नेहरूलाई आरोप लगाएँ। मैले जति आत्मचिन्तन गरेँ, त्यति नै मैले आफूमा मानवताको कमी भएको बुझेँ र निकै लज्जित महसुस गरेँ। मैले हृदयको गहिराइबाट म सत्यता स्विकार्ने व्यक्ति थिइनँ भनेर स्वीकार गरेँ।
पछि, मैले मेरा अगुवाहरूले सुनाएका परमेश्वरका वचनहरूलाई पुनः पल्टाएर हेरेँ, तीबारे मनन गरेँ, र प्रार्थना गर्दै पढेँ। परमेश्वरका वचनहरूले भन्छन्: “आफ्नो भनाइ र गराइमा सधैँ चलाकी गर्नेहरू र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सधैँ लापरवाही गर्ने वा जिम्मेवारीबाट भाग्नेहरू सत्यता बिलकुलै नस्विकार्नेहरू हुन्। तिनीहरूसँग पवित्र आत्माको काम हुँदैन र त्यो दलदल र अँध्यारोमा जिउनुजस्तै हो। चाहे तिनीहरूले अँध्यारोमा जसरी नै छामछुम गरून्, चाहे जतिसुकै कोसिस गरून्, तिनीहरूले न प्रकाश देख्न सक्छन्, न कता जाने भनेर बाटो नै भेट्न सक्छन्। तिनीहरू प्रेरणा र परमेश्वरको मार्गदर्शनबिनै कर्तव्य निर्वाह गर्छन्, कैयौँ मामिलाहरूमा समस्याको पर्खालमा ठोक्किन्छन् र कतिपय काम गर्दा थाहै नभई प्रकाश हुन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सृष्टि गरिएको प्राणीको कर्तव्य राम्रोसित निभाउँदा मात्र जिउनुको मूल्य हुन्छ)। “दाजुभाइ-दिदीबहिनीहरूमाझ सधैँ आफ्नो नकारात्मक पोखाउनेहरू शैतानका नोकर हुन्, र तिनीहरूले मण्डलीमा बाधा दिन्छन्। त्यस्ता व्यक्तिहरूलाई एक दिन निष्कासित गर्नुपर्छ र हटाइनुपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। परमेश्वरका वचनहरूबाट मैले बुझेँ कि म साँच्चै मेरो कर्तव्यमा कपटी, चिप्लो र जिम्मेवारीबाट भाग्ने व्यक्ति थिएँ। ममा परमेश्वरप्रति बफादारी थिएन। जबजब मैले समस्याहरू र कठिनाइहरू सामना गर्थेँ, म निरन्तर आफ्नै आरामलाई प्राथमिकता दिन्थेँ। म सत्यता खोज्न र समस्याहरू समाधान गर्नका लागि प्रयास गर्न र मूल्य चुकाउन इच्छुक थिइनँ। यसको सट्टा, मैले आफैँलाई समस्याबाट बचाउनका लागि बारम्बार माथिल्लो अगुवाहरूलाई समस्याहरू पठाएँ, र मेरो कमजोर योग्यतालाई बहाना बनाई वास्तविक काम नगरेको दोषबाट आफूलाई मुक्त गर्ने प्रयास गरेँ। म कति स्वार्थी र कपटी थिएँ! मैले आफ्नो बानीले नै मेरा कर्तव्यहरू लापरवाह र गैरजिम्मेवार ढङ्गले निर्वाह गरेँ, यसरी, मैले पवित्र आत्माबाट मार्गदर्शन र अन्तर्दृष्टि प्राप्त गर्न सकिनँ, र मैले कुनै समस्याहरू पत्ता लगाउन पनि सकिनँ। जब अगुवाले मलाई काटछाँट गरे, आत्मचिन्तन गर्नुको सट्टा, मलाई रिस उठ्यो किनकि म लज्जित थिएँ। मेरो व्यक्तिगत द्वेष व्यक्त गर्न, मैले उसको पिठ्यूँपछाडि आलोचना र निन्दा गरेँ, जसले मण्डलीको काममा बाधा पुर्यायो। मेरो दुष्ट कार्यलाई ध्यानमा राख्दा, के यी नै परमेश्वरले “शैतानका चाकरहरू” र “मण्डलीलाई बाधा दिने” भनेर खुलासा गर्नुभएका व्यवहारहरू थिएनन् र? तर त्यो समयमा मैले आफूलाई किन चिन्न सकिनँ? परमेश्वर र उहाँका वचनप्रति मेरो मनोवृत्ति, साथै मेरा सबै अपराधहरूका बारेमा चिन्तन गर्दा, मलाई गहिरो पश्चात्ताप र आत्मघृणा महसुस भयो। मैले परमेश्वरको सामु उपस्थित भएर प्रार्थना गरेँ, “परमेश्वर, मैले धेरै विद्रोही भएकी छु। म पश्चाताप गर्न चाहन्छु। म अब तपाईंलाई गलत बुझ्न चाहन्न। म तपाईंले जे पनि गर्नुहुन्छ त्यो मेरो शुद्धीकरण र मुक्तिका लागि हो भनेर विश्वास गर्छु!” प्रार्थना गरेपछि, म गहिरो रूपमा प्रभावित भएँ। मेरो हृदयमा, मैले परमेश्वरसँग भनेँ, “परमेश्वर, अबदेखि म कहिल्यै तपाईंलाई छोडेर जाने छैन। तपाईंबाट टाढा हुने दिनहरू अत्यन्त दुखदायी छन्।” त्यो क्षणदेखि, मेरो नकारात्मक स्थिति पूर्ण रूपमा परिवर्तन भयो। म सक्रिय रूपमा सङ्गतिमा सहभागी भएँ, मेरो कर्तव्य निर्वाह गर्न उत्प्रेरित महसुस गरेँ, र अनुभवात्मक गवाही लेख लेख्न सुरु गरेँ। हरेक दिन, मैले साँच्चै मेरो स्थिति सुधार हुँदै गरेको महसुस गरेँ। यो एक गम्भीर बिरामी दिनप्रतिदिन सुधार हुन सुरु गरेको जस्तै थियो। लगभग एक वर्ष कर्तव्य बिना, म परमेश्वरप्रति गलत बुझाइ र रक्षात्मकताको स्थितिमा जिएकी थिएँ, हृदयमा डर र बेचैनी महसुस गरेकी थिएँ। पवित्र आत्माको काम गुमाउने पीडालाई पूर्ण रूपमा अनुभव गरेपछि, आज म अन्ततः मेरो नकारात्मक स्थितिबाट बाहिर निस्केँ। यो सबै परमेश्वरको अपार दया र मुक्तिको कारण हो। केही समय पछि, मैले अगुवाबाट मेसेज प्राप्त गरेँ जसमा म मण्डलीमा फर्केर मेरो कर्तव्य निर्वाह गर्न भनिएको थियो। यसलाई पढेर, यसले मेरो मन यति छोयो कि मैले केही भन्न सकिनँ, बरु बारम्बार परमेश्वरलाई धन्यवाद दिएँ।
आफ्नासाथ भएका घटनाहरूलाई तर्कसङ्गत बनाउने आफ्नो प्रवृत्ति थाहा पाएर, मैले परमेश्वरका वचनहरूतिर फर्किएर आफ्नै स्थितिसँग सम्बन्धित सत्यता खोजेँ। एक दिन, जब मैले परमेश्वरका वचनहरूमा यो पढेँ, त्यसले मेरो मन निकै छोयो। परमेश्वरका वचनहरू भन्छन्: “परमेश्वर कुनै व्यक्तिप्रति वा एकखाले व्यक्तिप्रति अत्यन्तै क्रोधित हुनुमा एउटा कारण छ। यो कारण परमेश्वरको रूचिद्वारा निर्धारित हुँदैन, तर सत्यताप्रति त्यस व्यक्तिको मनोवृत्तिद्वारा निर्धारित हुन्छ। जब कुनै व्यक्ति सत्यताप्रति अरुचि राख्छ, तब निस्सन्देह यो उसको मुक्ति प्राप्तिका लागि घातक हुन्छ। यो क्षमा गर्न सकिने वा नसकिने कुरो होइन, यो कुनै व्यवहारको प्रकार, वा क्षणिक रूपमा प्रकट हुने कुरो होइन। यो त व्यक्तिको प्रकृति सार हो, र परमेश्वर त्यस्ता मानिसहरूद्वारा सबैभन्दा दिक्क हुनुहुन्छ। यदि तैँले सत्यताप्रति अरुचि राख्ने भ्रष्टता कहिलेकाहीँ प्रकट गर्छस् भने, यी प्रकटीकरणहरू सत्यताप्रति तेरो विरोधका कारण आएका हुन् कि सत्यता नबुझेका कारण आएका हुन् भनेर परमेश्वरका वचनहरूका आधारमा जाँच गर्नैपर्छ। यसका लागि खोजी चाहिन्छ, अनि परमेश्वरको अन्तर्दृष्टि र सहयोग चाहिन्छ। यदि तेरो प्रकृति सार नै सत्यताप्रति अरुचि राख्ने छ, र तँ कहिल्यै सत्यता स्विकार्दैनस्, र यसलाई विशेष गरी नकार्छ अनि त्यसप्रति शत्रुता राख्छस् भने, त्यसमा समस्या छ। तँ अवश्य नै दुष्ट व्यक्ति होस्, र परमेश्वरले तँलाई मुक्ति दिनुहुनेछैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्नका लागि, सत्यता बुझ्नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ)। परमेश्वरका वचनहरूबाट, मैले परमेश्वर केही मानिसप्रति किन यति क्रोधित हुनुहुन्छ भनेर थाहा पाएँ। उनीहरू सत्यता प्रति वितृष्ण भएकाले र त्यसलाई अस्वीकार गर्ने हुनाले यस्तो हुन्छ। परमेश्वर नै सत्यतालाई व्यक्त गर्ने एक मात्र हुनुहुन्छ। सत्यताप्रतिको हाम्रो मनोवृत्तिले परमेश्वरप्रतिको हाम्रो दृष्टिकोणलाई प्रतिनिधित्व गर्छ। सत्यताप्रति वितृष्ण हुनु र त्यसलाई घृणा गर्नु भनेको परमेश्वरको विपरीत पाटोमा उभिनु र परमेश्वरको शत्रु बन्नु हो। सत्यताप्रति वितृष्ण र परमेश्वरलाई घृणा गर्ने प्रकृति भएको व्यक्तिले निश्चित रूपमा सत्यतालाई स्वीकार गर्दैन। यस प्रकारका व्यक्तिहरूले आफ्ना भ्रष्ट स्वभावहरू जति प्रकट गरे पनि वा उनीहरूलाई जति काँटछाँट गरिए पनि, उनीहरू कहिल्यै पश्चात्ताप गर्दैनन्। उनीहरूले परमेश्वरमा जति वर्ष विश्वास गरे पनि, उनीहरूको भ्रष्ट स्वभाव कहिल्यै परिवर्तन हुँदैन, र अन्ततः उनीहरू परमेश्वरद्वारा निश्चित रूपमा तिरस्कृत हुनेछन् र हटाइनेछन्। ठीक पावललाई जस्तै, जसको स्वभाव सत्यताप्रति वितृष्ण र घृणास्पद थियो, जसले कहिल्यै आत्मचिन्तन गरेन। फलस्वरूप, धेरै वर्ष काम गरे पनि, ऊ अहङ्कारी र स्वार्थी रह्यो। उसको भ्रष्ट स्वभाव कत्ति पनि परिवर्तन भएन, त्यसैले उसलाई अन्ततः परमेश्वरले दोषी ठहराउनुभयो र दण्ड दिनुभयो। पावलमा, मैले आफ्नै प्रतिबिम्ब देखेँ। मैले सत्यता पछ्याइनँ, न त मैले काटछाँट स्वीकार गरेँ। मैले जिएको र प्रकट गरेको कुरा सत्यताप्रति वितृष्ण हुने शैतानी स्वभाव थियो। फलस्वरूप, म लामो समयसम्म अन्धकार, डर, र पीडामा जिएँ, र परमेश्वरले मलाई पन्छाउनुभयो। ती परिणामहरू सबै मेरो सत्यताप्रतिको वितृष्णाका कारण भएका थिए। परमेश्वरको स्वभाव साँच्चै धर्मी, पवित्र र चिढ्याउन नमिल्ने छ। यदि मैले सधैँ सत्यता वा परमेश्वरद्वारा काटछाँट हुन स्वीकार गरिनँ भने, मैले परमेश्वरको सफाइ र मुक्ति कसरी प्राप्त गर्न सक्नेथेँ? यदि यस्तो हो भने, परमेश्वरप्रतिको मेरो विश्वास अन्त्यमा व्यर्थ हुनेथिएन र? मैले बुझेँ कि सत्यताप्रति वितृष्ण हुने स्वभाव हल नगर्नु अत्यन्त खतरनाक छ! पछि, म जानीजानी सत्यता खोज्नमा र मेरो आफ्नै भ्रष्ट स्वभावविरुद्ध विद्रोह गर्नमा केन्द्रित भएँ। फेरि काटछाँटको सामना गर्दा, तर्क गर्ने र प्रतिरोध गर्ने मेरो मनसाय कमजोर भयो। ब्रदर-सिस्टरहरूले मलाई भनेका कुरा जतिसुकै सही भए पनि, यदि त्यो तथ्यसँग मेल खान्थ्यो भने, म त्यसलाई स्वीकार गर्थेँ। कहिलेकाहीँ, मैले मेरो समस्या चिन्न नसक्दा र प्रतिवाद गर्न चाहँदा, मैले पहिले परमेश्वरसँग प्रार्थना गर्थेँ र समर्पित हुन्थेँ। पछि, मैले आत्मचिन्तन गरेर केही बुझाइ र लाभ प्राप्त गर्थेँ।
म पहिले कत्ति जिद्दी र विद्रोही थिएँ, सत्यतालाई स्वीकार गर्न पूर्णतया अनिच्छुक थिएँ, र आज मैले कसरी यसरी केही बुझाइ र लाभ प्राप्त गर्न सक्थेँ भनेर सोच्दा, मैले यो साँच्चिकै परमेश्वरको मुक्ति हो भन्ने बुझेँ। यस अनुभवबाट, मैले अन्ततः आफैँलाई अलिकति बुझेँ, र परमेश्वरले मानवजातिलाई मुक्ति गर्ने तरिकाहरू र परमेश्वरका अभिप्रायहरूबारे केही बुझाइ पनि प्राप्त गरेँ। मैले साँच्चिकै बुझेँ कि परमेश्वरको ताडना, अनुशासन र काटछाँट वास्तवमा मानिसहरूलाई सफा गर्न र मुक्ति दिनका लागि हो, उनीहरूलाई निन्दा गर्न वा हटाउन होइन।