४५. ख्रीष्टविरोधीहरूको खुलासा गर्नु मेरो जिम्मेवारी हो
सन् २०२०, अगस्टको अन्त्यतिर, म मण्डली अगुवाको रूपमा निर्वाचित भएँ र मेरी सहकर्मी सिन रान भइन्। सेप्टेम्बरको प्रारम्भतिर, हामी माथिका व्यक्तिले तिनलाई सहरबाहिरको एउटा भेलामा बोलाए, तर म भने मण्डलीका विभिन्न कामहरू सम्हाल्नका लागि केही डिकनहरूसँग मण्डलीमा नै बसेँ। त्यो बेला, मुख्यतः सुपरभाइजरले समयमा नै कामको अनुगमन गर्न नसकेकाले मलजलको काम त्यति प्रभावकारी नभएको हामीले थाहा पायौँ। समस्या समाधान गर्न हामी सुपरभाइजरसँग सङ्गति गर्ने तयारी गऱ्यौँ, तर हामीले यसबारे सिन रानलाई पत्र पठाउँदा, तिनले हाम्रो सुझाव सिधै इन्कार गरिन् र यसबारे कुरा गर्न उनी नआइञ्जेल पर्खनू भनिन्। मैले सोचेँ, “यो त सुपरभाइजरसँगको सङ्गति मात्रै हो। किन हामीले तिमी नआइञ्जेल पर्खने?” तर त्यसपछि सोचेँ, सायद सिन रानलाई सुपरभाइजरका अरू समस्याबारे पनि थाहा होला, जसबारे हामीलाई थाहा छैन र उनी यसलाई हामीसँगै समाधान गर्न चाहन्छिन्। यो सोचेर, मैले थप केही भनिनँ। तर केही दिनपछि, सिन रान भेलाबाट फर्किन् र केही पनि बताइनन्। त्यो बेला, मलाई उनी अलिक अहङ्कारीजस्तो लाग्यो, किनभने उनी आउनुअघि, हामीले सुपरभाइजरसँग यी विषयहरूमा छलफल गर्नु उचित हुनेथ्यो। के हामीले उनीविना काम गर्न नपाउनुका कुनै कारण थियो? पछि, हामीले हाम्रो भेलामा कामबारे छलफल गर्दा, हामीलाई होच्याएर बोल्ने र आदेश मात्रै दिने गर्थिन्, मानौँ तिनले हामीसँग छलफल गर्ने आवश्यकता देखिनन्। मैले हाम्रो कामबारे केही सुझावहरू दिएँ, तर तिनले नसोची इन्कार गरिन्। केही सुझावहरूमा कुनै समस्या थिएन, तर तिनले जानाजानी तिनमा गल्तीहरू खोतलिन् र हामीलाई तिनले चाहेअनुसार गर्न लगाइन्। उदाहरणको लागि, मैले केही समूहको कामबारे अनुसन्धान गर्दा, केही समस्याहरू भेट्टाएँ, र ती समाधान गर्न सुपरभाइजरहरूसँग सङ्गति गर्छु भनेर सुझाव दिएँ, तर सिन रानले एकदमै जोड दिएर म जानु पर्दैन भनिन्, र समय पाएपछि उनी आफै तिनीहरूलाई भेट्छु भनिन्। तर के त्यसले काममा ढिलाइ गरेन र? अनि यी समूहरूको कामको अवस्थाबारे तिनलाई भन्दा मलाई बढी थाहा थियो, तसर्थ, मैले मेरो सुझावलाई दोहोऱ्याएँ, तर तिनले अझै उनैले भनेअनुसार मैले गर्नुपर्छ भनेर जिद्दी गरिन्। मलाई निकै अप्ठ्यारो लाग्यो, र सोचेँ, “हामी त सहकर्मी हौँ, तर उनी सधैँ अन्तिम निर्णय गर्छिन्, र कुराकानी गर्ने त मौका नै छैन। उनी मेरा सबै सुझाव इन्कार गर्छिन्, र अन्तिममा, मैले तिनकै कुरा मान्नुपर्छ। के मेरो कुनै पनि सुझाव उचित हुँदैनन् त? कि उनी अति अहङ्कारी हुन्?” तर मैले उनी कति जबरजस्ती गर्छिन् भन्ने देखेँ, र उनी मभन्दा पहिला अगुवा बनेकी हुन्, त्यसैले तिनले मैलेभन्दा राम्ररी परिस्थिति जान्नुपर्छ भन्ने मलाई थाहा थियो। त्यसकारण मैले तिनले भनेअनुसार नै गर्ने निर्णय गरेँ, र थप केही भनिनँ।
त्यसपछि, हामीले छुट्टिएर फरक-फरक समूहहरूलाई भेट्ने निर्णय गऱ्यौँ। मैले मलजलकर्ताहरूलाई भेट्दा, त्यसको इन्चार्ज सिस्टर वाङ सिन्युले आजभोलि धेरैभन्दा धेरै नयाँ विश्वासीहरू आइरहेका छन्, र मलजलकर्ताहरू अत्यन्तै व्यस्त छन् भनेर भनिन्, र नयाँ विश्वासीहरूलाई पार्टटाइम मलजल गर्न हामीले अगुवा र सेवकहरू खटाउन सक्छौँ कि भनेर सोधिन्। त्यसरी नयाँ विश्वासीहरूले समयमै मलजल पाएको सुनिश्चित हुनेथ्यो। मलाई सिन्युको सुझाव राम्रो लाग्यो, त्यसकारण मैले यो अपनाएँ। अप्रत्याशितरूपमा, सिन रानले यो कुरा थाहा पाइन्, र त्यही दिन तिनले निकै रूखो शैलीको पत्र लेखेर सबै मलजलकर्तालाई पठाइन्। पत्रमा मैले खराब योजना बनाएर काम अस्तव्यस्त पारेको आरोप लगाइएको रहेछ। तिनले सिन्युलाई पनि निराकरण गर्दै, घुमौरो पाराले हप्काएछिन्, र हामीले मनमानी ढङ्गले बन्दोबस्त र आफूखुसी काम गऱ्यौँ, र यसले मण्डलीको काममा बाधा र व्यवधान ल्यायो अनि यो गम्भीर कुरा हो भनेछिन्। यो पत्र मेरो लागि टाउकोमा हिर्काएको प्रहारजस्तै भयो। यसले गर्दा मेरो मुटु छाती फुटाउलाजस्तो ढुकढुक भयो। के मैले मनमानी निर्णय गरेकी थिएँ? के मैले मण्डलीको काममा बाधा दिएँ? म एक्कासी स्तब्ध भएँ, र मलाई आफूले बाटो बिराएर बाधा पैदा गरेकी छु होला भन्ने डर लाग्यो। विशेष गरी सबै ब्रदर-सिस्टरहरूले यो पत्र पढ्न सक्छन् भन्ने महसुस गर्दा, मलाई साह्रै लाज लाग्यो। अहिले सबैले मलाई के सोचेका छन्? भविष्यमा मैले तिनीहरूलाई कसरी मुख देखाउने? म दुःखी थिएँ, र मलाई दोषी ठहऱ्याइएको छ जस्तो लाग्यो। सोचेँ, “मैले गल्ती गरेकी नै भए पनि, तिमीले हामीलाई सिद्धान्तहरूमा सङ्गति दिन सक्थ्यौ र हामीले कहाँ गल्ती गरेका छौँ भनेर बताउन सक्थ्यौ, ताकि हामी त्यो समस्या समाधान गर्न सकौँ। किन तिमीले सबैलाई पत्र पठायौ तर हामीसँग सङ्गति गरेनौ?” म नरोई सकिनँ। त्यो बेला, यस विषयमा म दुई दिनसम्म नकारात्मक भएँ। त्यसपछि, परमेश्वरको वचन खाएर-पिएर मात्रै मेरो स्थिति अलिक सुध्रियो। मलाई मनमा सिन रानको रिस भयानक छ र भविष्यमा म उनीसँग होसियार हुनुपर्छ र तिनलाई रिस उठाउनु हुँदैन भन्ने कताकता लाग्यो। नत्र, तिनले मलाई कहिले दण्ड दिन्छिन् र अपमानित गर्छिन् थाहा हुँदैनथ्यो। त्यसपछि मेरो मनमा यो पीर परिरह्यो। यदि मैले तिनको कुरा सुनिनँ वा तिनको खण्डन गरेँ भने, तिनले मलाई हानि गर्न केही गर्नेछिन् भन्ने मलाई सधैँ लाग्थ्यो। मलाई सधैँ मनमा कताकता डर लाग्थ्यो।
त्यसपछि, सिन रानले हरेक टोलीका सुपरभाइजरलाई भेट्न जोड दिएछिन्, तर समय राम्ररी नमिलाइएको हुनाले, यसमा धेरै दिन ढिलाइ भयो, र धेरै काम समयमै व्यवस्थित र लागू गरिएन। तिनले यस घटनाबाट सिकेका पाठहरू भेलामा बताउँछिन्, वा काम मिलाउँदाकाका विचलनल र गल्तीहरूबारे कुरा गर्छिन् भन्ने मैले सोचेकी थिएँ, तर तिनले यो उल्लेख नगर्दा म छक्क परेँ। केही दिनपछि, हामी माथिका व्यक्तिले सान्दर्भिक सिद्धान्तहरूमा सङ्गति गर्न पत्र पठाएका रहेछन्, जसमा तिनले नयाँ विश्वासीहरूलाई पार्टटाइम मलजल गर्न मैले अगुवा र सेवकहरूलाई खटाउनु उचित हो भनेर भनेका थिए। यसरी, हामी अझै धेरै असल काम बढाउन सक्थ्यौँ र नयाँ विश्वासीहरूले समयमा नै मलजल पाउन सक्थे, जुन मण्डलीको कामको लागि फाइदाजनक हुन्थ्यो। सिन रानले यो थाहा पाएपछि आत्मचिन्तन गरेर आफ्नो गल्ती महसुस गर्नेछिन् भन्ने मलाई लागेको थियो, तर तिनलाई यसबारे कुनै मतलब थिएन। तिनले मलाई तिरस्कारपूर्ण नजरले पुलुक्क हेरिन् र फनक्क फर्केर गइन्। सोचेँ, “तिनले आफ्नो कर्तव्यमा एकपछि अर्को गल्ती गरेकी छिन्, र पनि आफूलाई पटक्कै चिन्दिनन्। तिनले यसो गरिरहनु खतरनाक हो।” म तिनको घमण्डी बर्तावलाई हेर्थेँ, र उनी आफूलाई दिइएको हरेक सुझाव कसरी जबरजस्ती इन्कार गर्थिन्, अनि अरूले तिनका समस्याहरू औँल्याइदिँदा आफ्नो मनोवृत्तिबारे ध्यानै दिँदिनथिइन् भन्ने कुरा मैले सम्झेँ। साथै, यसअघि मलाई तिनले कति रूखो शैलीमा हप्काएकी थिइन्, जसले गर्दा मलाई डर लाग्थ्यो र बन्धनमा परेको महसुस भयो, र मैले यो कुरा तिनलाई बताउने आँट गरिनँ।
त्यो अवधिमा, सिन रान एकलैले कामको सञ्चालन र बन्दोबस्त गर्ने गर्थिन्। हामी दुई सहकर्मीहरू भए पनि, तिनले कामकुराबारे मसँग कहिल्यै कुराकानी वा छलफल गर्दिनथिइन्। उनी सबै कुराको इन्चार्ज थिइन्, र उनी एकलै अन्तिम निर्णय गर्थिन्। कामको छलफल गर्दा, म र अरू केही डिकनहरूले आफ्ना दृष्टिकोण राख्दा, तिनले सधैँ हाम्रो दृष्टिकोणमा गल्तीहरू खोतल्थिन्, त्यसपछि हाम्रा विचारहरूलाई घुमाई-फिराई अन्त्यमा तिनकै “अहङ्कारी विचारहरू” प्रस्तुत गर्थिन्। समय बित्दै जाँदा, हामी सबैलाई आफू उनीभन्दा निम्न छौँ, र उनी बढी विचारशील, क्षमतावान्, र परिस्थितिहरूलाई स्पष्टरूपमा देख्न सक्छिन् भन्ने लाग्न थाल्यो, त्यसकारण प्रायजसो, हामी तिनको दृष्टिकोण चुपचाप मानेर तिनले भनेको गर्थ्यौँ। साथै, सिन रानले जानाजानी मेरा सुझावहरूमा गल्ती खोतल्दा वा ती सिधै इन्कार गर्दा, उनी साह्रै आक्रमक हुन्थिन्, त्यसैले मलाई सधैँ एक प्रकारको डर लाग्थ्यो। मलाई लाग्थ्यो, यदि मैले तिनको कुरा मानिनँ भने, तिनले मलाई उग्र व्यवहार गर्छिन्, त्यसकारण म बाध्य भएर सम्झौता गर्थेँ र उनीविरुद्ध जाने आँट गर्दिनथेँ। तिनले सधैँ मलाई इन्कार गर्ने गरेकीले, समय बित्दै जाँदा, मसँग कुनै विचारहरू हुँदासमेत, त्यो तिनलाई बताउन मन लाग्दैनथ्यो। पछि, म आफ्नो कर्तव्यमा झन्-झन् निष्क्रिय हुँदै गएँ र आफ्नो कर्तव्यमा सबैभन्दा प्रभावकारी कसरी हुने भनेर खोजी गर्न छोडेँ। म कठपुतलीजस्तो मात्रै थिएँ। मेरो कामका विभिन्न समस्याहरू सामना गर्दा ममा कुनै विचार र दृष्टिकोणहरू हुँदैनथे। कुनै पनि काम गर्न म सिन रानको आदेश पर्खेर बस्थेँ, र उनी जे चाहन्थिन् म त्यही गर्थेँ। धेरै डिकनहरू पनि यही स्थितिमा थिए। त्यो अवधिमा, म झन्-झन् निष्क्रिय हुँदै गएँ। परमेश्वर मेरो यो स्थितिलाई घृणा गर्नुहुन्छ र उहाँले मबाट आफ्नो अनुहार लुकाइरहनुभएको छ भन्ने मलाई थाहा थियो तर यो कसरी बदल्ने मलाई थाहा भएन, र मलाई कष्ट हुन्थ्यो।
ती केही दिनको अवधिमा, हामीले अगुवाबाट पत्र पायौँ, त्यसमा केही ब्रदर-सिस्टरहरू भर्खरै पक्राउ परेका छन् भनेर बताइएको थियो। सुरक्षाको लागि, हामीलाई दुईवटा समूहमा विभाजित हुन र एउटै ठाउँमा नबस्न अनुरोध गरिएको थियो। यसो गर्दा हामी सबै एकैपटक पक्राउ पर्नबाट बच्नेथ्यौँ, र एकैपटक पक्राउ परेमा काममा ढिलाइ हुन सक्थ्यो। त्यो बेला, सिन रान थिइनन्, त्यसकारण मैले यसबारे केही डिकनहरूसँग छलफल गरेँ। मलाई यो योजना राम्रो लाग्यो, तर डिकनहरूलाई अलग-अलग बस्दा कामबारे छलफल गर्न गाह्रो हुन्छ भन्ने लाग्यो, त्यसैले अन्त्यमा, हामीले निर्णय लिन सकेनौँ। तिनीहरूले निर्णय गर्न सिन रानलाई पर्खन चाहे। मैले सोचेँ, “यो त समूहमा विभाजित हुनु मात्रै हो, सिद्धान्त मुछिएको ठूलो कुरा होइन, र सुरक्षाका समस्याहरूलाई विचार गर्दा, अलग हुनु राम्रो आइडिया हो।” तर कसैले निर्णय गर्ने आँट गरेनन्। तिनीहरूले सहमतिमा पुग्न सिन रानलाई पर्खन जोड दिए। सबैले तिनको कति धेरै मानमनितो गर्छन्, कामकुरा मिलाउन र निर्णय गर्न कसरी सबैले तिनलाई पर्खन्छन्, कसरी तिनीहरू तिनको आदेश सुन्छन् भनेर मैले देखेँ, र तिनको समस्या निकै गम्भीर छ भन्ने मलाई महसुस भयो। त्यसपछि, मैले एक जना डिकन, सिस्टर ली रुइझीलाई आफ्नो स्थिति र मैले सिन रानमा पत्ता लगाएका समस्याहरूबारे बताएँ। तिनले पनि सिन रानबाट आफू बन्धनमा परेको महसुस गरेकी छिन् भनेको सुन्दा म छक्क परेँ। तिनलाई सिन रानसँग सधैँ डर लाग्थ्यो र तिनीविरुद्ध जाने कहिल्यै आँट गर्दैनथे। तिनले के पनि भनिन् भने, सिन रानले जानाजानी तिनका कमीकमजोरीलाई ठूला बनाउँछन् र तिनलाई नराम्रो देखाउन अरूसामु हप्काउँछिन्। त्यसपछि रुइझीले थपिन्, “हामी सिन रानको समस्या देख्न सक्छौँ, तर हामीले यसलाई चिनेनौँ, खुलासा गरेनौँ, र सत्यता अभ्यास गरेनौँ भने, हामीलाई पवित्र आत्माले त्याग्नुहुनेछ।” तिनले त्यो भनेको सुन्दा म सहमत भएँ। मलाई परमेश्वरको वचनको एउटा खण्ड याद आयो। “मण्डलीभित्र सत्यको अभ्यास गर्नेहरूलाई तिरस्कार गरिन्छ, र उनीहरू सबै कुरा दिन असमर्थ हुन्छन् भने मण्डलीमा बाधा दिने र मृत्यु फैलाउनेहरू जताततै दगुर्छन्—अनि, यति मात्र होइन, धेरै जना मानिसले उनीहरूलाई पछ्याउँछन्। त्यस्ता मण्डलीहरूमा शैतानले नै शासन गर्छ, जुन स्पष्ट र सरल कुरा हो; शैतान तिनीहरूको राजा हो। यदि त्यस्ता मण्डलीमा मानिसहरू खडा भएर प्रमुख भूतात्माहरूलाई इन्कार गर्दैनन् भने, तिनीहरू पनि ढिलो वा छिटो नाश हुनेछन्। अबदेखि उसो, त्यस्ता मण्डलीहरूको विरुद्धमा कारबाही गर्नुपर्छ। यदि थोरै सत्य अभ्यास गर्न सक्षम व्यक्तिहरूले खोजी गरेनन् भने त्यो मण्डलीलाई हटाइनेछ। यदि कुनै मण्डलीमा सत्यता अभ्यास गर्न इच्छुक हुने र परमेश्वरको गवाही दिनमा दृढ रहन सक्ने कोही छैन भने, त्यो मण्डलीलाई पूर्ण रूपमा अलग गर्नुपर्दछ, र अरू मण्डलीहरूसँग त्यसको सम्बन्ध विच्छेद गर्नुपर्दछ। यसलाई ‘मृत्युलाई गाड्नु’ भनिन्छ; शैतानलाई तिरस्कार गर्नु भनेको यही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। परमेश्वरको वचनको यो खण्डबारे सोच्दा, मलाई साह्रै डर लाग्यो। परमेश्वरको वचनले हाम्रो वर्तमान स्थितिलाई ठ्याक्कै प्रकट गरेको थियो। सिन रानले मण्डलीमा अन्तिम निर्णय गर्थिन् र शक्ति हातमा लिएकी थिइन् तर तिनलाई खुलासा गर्न र खडा भएर सत्यता अभ्यास गर्ने आँट कसैले गर्दैनथ्यो। बरु, हामी सबैले तिनको कुरा मान्थ्यौँ, तिनलाई पछ्याउथ्यौँ, र तिनलाई अन्तिम निर्णय गर्न दिन्थ्यौँ। कसरी हामी आफ्नो हृदयमा परमेश्वरको निम्ति ठाउँ छ भनेर भन्न सक्थ्यौँ र? यसरी त हामीले परमेश्वरलाई कसरी हामीलाई घृणा र इन्कार गर्ने तुल्याउन सक्थेनौँ र? यदि हामीले यसै गरिरहेको भए, अन्तिममा, परमेश्वरले हामीलाई इन्कार गर्नुहुनेथ्यो र हामीले पूर्णरूपमा पवित्र आत्माको काम गुमाउनेथ्यौँ। सिन रानले सिद्धान्तहरू उल्लङ्घन गरेको र मनमानी ढङ्गले काम गरेकी मैले स्पष्टसित देखेकी थिएँ। उनी सबै कुरामा अन्तिम निर्णय गर्थिन्, निरङ्कुश व्यवहार गर्थिन्, र आफ्ना सहकर्मीहरूको सल्लाह पटक्कै सुन्दिनथिइन्। अरूले तिनका समस्याहरू औँल्याइदिँदा, उनी स्वीकार गर्दिनथिइन्, र आत्मचिन्तन गर्दिनथिइन्, तर मलाई भने तिनलाई चिढ्याउँछु अनि तिनले मलाई निराकरण र दमन गर्छिन् भन्ने डर लाग्थ्यो। मैले यसबारे कुरा गर्ने आँट गरिनँ। म सधैँ तिनको कुरा सुन्थेँ र तिनले भनेको मान्थेँ, जसले गर्दा मण्डलीको काममा ढिलाइ भयो, बाधा पुग्यो, र म शैतानको मतियार बन्न पुगेँ। यो महसुस गरेपछि मलाई साह्रै पछुतो र खेद भयो। सोचेँ, “मैले सत्यता अभ्यास गरेर तिनलाई खुलासा गर्नुपर्छ। म अबदेखि यसरी लुत्रुक्क हुनु हुँदैन।”
तर त्यसपछि, मलाई नसोचेको कुरा भयो। एक दिन, सिन रान भेलाबाट फर्केपछि, तिनले अनुहार ठुस्स पारेर रिसाउँदै भनिन्, “दुई जना सुपरभाइजरहरूले अरूसँग मिलेर काम गर्न सक्दैनन् र सधैँ अरूको आलोचना गर्छन्। तिनीहरूलाई बर्खास्त गरिनेछ।” यो सुन्दा म चकित भएँ। मलाई यी सुपरभाइजरहरूबारे अलिअलि थाहा थियो। तिनीहरूले कहिलेकाहीँ अहङ्कारी स्वभाव देखाउने भए पनि, ती दुवैले सत्यता स्विकार्न र व्यावहारिक काम गर्न सक्थे। तिनीहरूले भ्रष्टता प्रकट गरेका र मिलेर सहकार्य गर्न नसकेका मात्र थिए, तर सत्यतामा सङ्गति गरेर त्यो समस्या समाधान गर्न सकिन्थ्यो। कसरी तिनीहरूलाई त्यसरी बर्खास्त गर्न सकिन्थ्यो र? व्यावहारिक काम गर्ने मानिसहरूलाई मनमानी ढङ्गले बर्खास्त गर्दा मण्डलीको काममा ढिलाइ हुन्थेन र? यसपटक, म तिनलाई अन्धाधुन्ध पछ्याएर डरपोक हुनु हुँदैनथ्यो। मैले भनेँ, “यस्तो महत्त्वपूर्ण कुराको लागि, हामीले कसरी उचित अभ्यास गर्ने भनेर खोजी गर्नुपर्छ। हामीले तिनीहरूलाई आफूखुसी बर्खास्त गर्न मिल्दैन।” त्यसपछि, म परिस्थितिबारे अनुसन्धान गर्न मण्डलीमा गएँ। तिनीहरूलाई प्रतास्थापित गरिसकिएको पाउँदा म त छक्क परेँ। मैले अनुसन्धान गरेर तिनीहरू बर्खास्त गरिन लायक रहेनछन् भन्ने पत्ता लगाएँ। म छक्क परेँ र मलाई रिस उठ्यो, अनि सोचेँ, “यस्तो महत्त्वपूर्ण मामिलामा, सिन रानले कसैसँग छलफल नगरी निर्णय गरेकी छिन्। यो त तानाशाही व्यवहार हो!” मैले तिनको समस्या औँल्याउन पत्र लेखेँ, तर तिनले आफूलाई पटक्कै बुझिनन्। पछि मैले के थाहा पाएँ भने, सिस्टर लियाङ्ग सिन्जिङ पहिले आफ्नो कर्तव्यमा सक्रिय र जिम्मेवार थिइन्, तर भर्खरै सिन रानले तिनलाई प्राय आक्रमण गर्ने र होच्याउने गरेकीले, तिनको स्थिति अत्यन्तै नकारात्मक भएको थियो, र तिनलाई डिकन बनिरहनु सक्दिनँ भन्ने लागेको रहेछ। यो सुन्दा मलाई अति दुःख लाग्यो। मैले सिन रानको अहङ्कार, निरङ्कुश व्यवहार, र अरूलाई निरन्तर आक्रमण गर्ने र बन्धनमा पार्ने कुराले अरूलाई नकारात्मक र दुःखी तुल्याउनुबाहेक अरू केही गर्दैन भन्ने देखेँ। तिनी दुष्कर्मी हुन् भन्ने कुरामा रत्तिभर शङ्का थिएन। म तिनलाई खुलासा गरेर रोक्न खडा हुनुपर्थ्यो। मैले तिनलाई मनोमानी गर्न दिनु हुँदैनथ्यो। तैपनि, मैले साँच्चै तिनको सामना गर्नुपर्दा, मलाई अलिक डर लाग्यो।
त्यसपछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ। “यदि सत्यता तेरो जीवन बनेको छैन, र तँ अझै पनि तेरो शैतानी स्वभावमा जिउँछस् भने, जब तैँले मण्डलीको काममा बाधा र अवरोध पैदा गर्ने दुष्ट मानिसहरू र दियाबलसहरूलाई पत्ता लगाउँछस्, तब तैँले आँखा चिम्लनेछस् र नसुनेको जस्तो गर्नेछस्; आफ्नो विवेकमा कुनै धिक्कारको अनुभूति नगरीकन तैँले तिनीहरूलाई पन्छाउँछस्। कसैले मण्डलीको काममा बाधा पैदा गरिरहेको छ भने त्यस कुराको तँसँग कुनै सम्बन्ध छैन भन्ने समेत तँलाई लाग्नेछ। मण्डलीका कार्य र परमेश्वरको घरका हितहरूमा जति नै धेरै हानि भए पनि, तैँले वास्ता, हस्तक्षेप वा ग्लानि महसुस गर्दैनस् जसले तँलाई विवेक वा समझ नभएको व्यक्ति, एक अविश्वासी, एक श्रमिक बनाउँछ। तँ परमेश्वरबाट आउने कुरा खान्छस्, परमेश्वरबाट आउने कुरा पिउँछस्, र परमेश्वरबाट आएका सबै कुरामा रमाउँछस्, तैपनि परमेश्वरको घरका हितहरूमा हुने कुनै पनि हानि तँसँग सम्बन्धित छैन भन्ने ठान्छस्—त्यसैले तँ जुन थालमा खायो त्यही थालमा थुक्ने धोकेबाज होस्। यदि तैँले परमेश्वरको घरका हितहरूको रक्षा गर्दैनस् भने, तँ के मानव समेत होस् र? यो त मण्डलीमा आफै घुसेको नरपिशाच हो। तैँले परमेश्वरमा विश्वास गरेको नाटक गर्छस्, चुनिएको जन भएको ढोँग गर्छस्, र तँ परमेश्वरको घरमा फाइदा लुट्न चाहन्छस्। तँ मानवजातिको जीवन जिइरहेको छैनस्, तँ मान्छे होइन पिशाचजस्तो छस्, र तँ स्पष्ट रूपमै अविश्वासी होस्। यदि तँ परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने व्यक्ति होस् भने, तैँले सत्यता र जीवन पाउन बाँकी नै भए पनि, कम्तीमा पनि तैँले परमेश्वरको पक्षमा उभिएर बोल्नेछस् र काम गर्नेछस्; कम्तीमा पनि, तैँले परमेश्वरको घरका हितहरूमा सम्झौता भएको देख्दा तँ हात बाँधेर बस्नेछैनस्। तँलाई त्यस्तो समस्याप्रति आँखा चिम्लन मन लाग्दा, ग्लानि महसुस हुनेछ, र तँ व्याकुल हुनेछस्, र मनमनै भन्नेछस्, ‘मैले हात बाँधेर बस्नु हुँदैन, खडा हुनुपर्छ र केही बोल्नुपर्छ, मैले जिम्मेवारी लिनुपर्छ, मैले यो दुष्ट व्यवहारलाई पर्दाफास गर्नैपर्छ, मैले यसलाई रोक्नैपर्छ ताकि परमेश्वरको घरका हितहरूमा हानि नपुगोस्, र मण्डली जीवनमा बाधा नपुगोस्।’ यदि सत्यता तेरो जीवन बनेको छ भने, तँसँग यो साहस र सङ्कल्प मात्रै हुँदैन, र त्यस विषयलाई तैँले पूर्ण रूपमा बुझ्न मात्र सक्नेछैनस्, बरु तैँले त परमेश्वरको कार्य र उहाँको घरका हितहरूको लागि तैँले उठाउनुपर्ने जिम्मेवारी समेत पूरा गर्नेछस्, त्यसरी तेरो कर्तव्य पूरा हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्वरको वचनमा के देखेँ भने कतिपय मानिसहरूलाई परमेश्वरको घरका हितहरूमा हानि पुगेको देख्दा, कुनै मतलब हुँदैन। त्यस्ता मानिसहरू अमानव हुन्। यो जान्दा मर्माहात भएँ, किनभने मैले यस्तै व्यवहार गरेकी थिएँ। मैले सिन रानको समस्या स्पष्टसित देखेकी थिएँ, तर मैले तिनलाई खुलासा गर्न र रोक्न कहिल्यै खडा हुने आँट गरिनँ। तिनले सधैँ ममा गल्तीहरू खोतल्ने र मेरा दृष्टिकोणहरूलाई इन्कार गर्ने, अनि मलाई भाषण छाँट्न र आक्रमण गर्न होच्याउने गरेकीले, मलाई तिनको डर लाग्थ्यो र तिनलाई चिढ्याउने आँट आउँदैनथ्यो। आफ्नो रक्षा गर्न मैले तिनले भनेको खुरुक्क मानेँ र आफूलाई नीचो तुल्याएँ। यदि म उनीप्रति आज्ञाकारी र समर्पित भएँ भने, तिनले मलाई दमन गर्ने र दण्ड दिनेछैनन् भनेर समेत मैले सोचेँ। मेरो रक्षा हुन सक्छ भने, म तिनको अधीनमा बस्न र तिनलाई दयाको भीख माग्न तयार थिएँ। म मण्डलीको कामलाई ध्यान नदिई यस स्थितिमा जिएँ। तिनले जुन किसिमले सिद्धान्तविपरीत काम गरी उत्पीडकले जस्तो काम गरिन्, त्यसले मण्डलीको काममा असर गरिसकेको थियो, तर मैले खडा भएर तिनलाई खुलासा गर्ने आँट गरिनँ। तिनले चारैतिर मानिसहरूलाई आक्रमण गर्ने र दबाउने, शक्ति हातमा लिने, र अन्तिम निर्णय गर्ने गरेकी भए पनि, मैले तिनको विरोध गर्ने र तिनका दुष्ट कार्यहरूलाई रोक्ने आँट गरिनँ। मेरो चापलुसीको स्थिति गम्भीर थियो। म त तुच्छ स्थितिमा जिउने बेकामको कायरबाहेक केही थिइनँ। मसँग कसरी यस्तो कुनै मर्यादा हुन सक्थ्यो र? मैले परमेश्वरको वचनको मलजल र भरणपोषण, अनि परमेश्वरबाट आउने सबै कुरा प्राप्त गरेकी थिएँ, तर म सधैँ आफूलाई रक्षा गर्न चाहन्थेँ र मण्डलीका हितहरूको रक्षा गर्न सत्यता अभ्यास गर्न सक्दिनथेँ। म मानव भनिन लायक थिइनँ। यो सोच्दा, मलाई साह्रै खिन्न र दोषी महसुस भयो। यति स्वार्थी र छली भएकोमा मलाई आफैप्रति घृणा जाग्यो। मैले सोचेँ, “अबदेखि मैले यस्तो गर्नु हुँदैन। यसपटक, तिनले मलाई दण्ड दिए पनि र बदला लिए पनि, मैले खडा भएर तिनका दुष्ट कार्यहरू खुलासा गर्नुपर्छ, र मण्डलीको कामको रक्षा गर्नुपर्छ। यो मेरो जिम्मेवारी हो।”
म फर्केपछि, सिन रानले दुई जना सुपरभाइजरलाई मनमानी ढङ्गले गरेको बर्खासीको प्रतिक्रियास्वरूप, मैले तिनले सिद्धान्तहरू उल्लङ्घन गरेको र तिनको निरङ्कुश व्यवहारको खुलासा गरेँ। तर मैले एक शब्द बोल्नुअघि नै, तिनले मेरो कुरा काटिन्, र मैले उनीसँग मिलेर काम गर्न सकिनँ भनेर भनिन्। यस बेला, धेरै जना डिकनहरूले पनि तिनको दमनकारी र हैकमवादी व्यवहारको खुलासा गरे। अन्तिममा, तथ्यहरूको सामुन्ने, तिनले तिनीहरूको खण्डन गर्न सकिनन्, त्यसकारण तिनले हामीले तिनलाई बताएका समस्याहरू पहिचान गरेकी थिइनँ, र भविष्यमा खोजी गर्नेछु भनेर मात्रै भनिन्। अन्तिममा, तिनले मुस्कुराउँदै भनिन्, “मेरो क्षमता उच्च भएकोले, म अहङ्कारी नभई बस्न सक्दिनँ।” यो सुन्दा म अवाक् भएँ। उनी पूर्णरूपमा अविवेकी रहेछिन्। त्यसपछि, सिन रानले पश्चात्ताप गर्ने आशामा दुई जना डिकनले तिनलाई सङ्गति र सहयोग दिए, तर तिनले त्यो पटक्कै स्वीकार गरिनन्, र ती दुई सिस्टरले तिनलाई निराकरण गरिरहेका छन् भनेर तिनीहरूलाई आक्रमणसमेत गरिन्। तिनले पटक्कै सत्यता स्वीकार गर्दिनन् र आफ्ना दुष्ट कार्यहरूलाई बुझेकी छैनन् भन्ने देखेपछि, मैले तिनको समस्या गम्भीर रहेछ भन्ने महसुस गरेँ।
त्यसपछि, मैले केही कुराबारे सोचेँ। हामीलाई सिन रानले यति कमजोर हुने हदसम्म दमन गरेकी थिइन् कि हामीलाई आफ्नो कर्तव्य पूरा गर्न मन लागेन। वास्तवमा के भइरहेको थियो? पछि, परमेश्वरको वचन पढेपछि, सिन रानले गरेको कामको अर्थ र सारलाई बल्ल केही मात्रामा बुझेँ। परमेश्वरका वचनहरूले भन्छन्: “सत्यता खोजी गर्ने मानिसहरूविरुद्ध ख्रीष्टविरोधीहरूले प्रयोग गर्ने हरेक माध्यमहरूको पछाडि मनसाय र उद्देश्यहरू हुन्छन्। परमेश्वरको घरको कामको रक्षा गर्ने प्रयास गर्नुको सट्टा, तिनीहरूको उद्देश्य आफ्नै शक्ति र हैसियतको रक्षा गर्नु, साथै परमेश्वरका चुनिएका मानिसहरूको हृदयमा आफ्नै पद र छवि कायम राख्नु हो। तिनीहरूका तरिका र व्यवहारहरू परमेश्वरको घरको कामको निम्ति बाधा र व्यवधान हुन्, र तिनले मण्डली जीवनमा पनि हानिकारक असर गर्छन्। के ख्रीष्टविरोधीका दुष्कर्महरूको सबैभन्दा आम प्रकटीकरण यही होइन र? यी दुष्कर्महरूको अलावा, ख्रीष्टविरोधीहरूले तीभन्दा पनि घृणित काम गर्छन्, अर्थात् तिनीहरूले सत्यता खोजी गर्ने मानिसहरूलाई कसरी काबुमा राख्ने भनेर सधैँ समाधान निकाल्ने प्रयास गर्छन्। उदाहरणको लागि, यदि कसैले व्यभिचार गर्यो वा अरू कुनै अपराध गर्यो भने, ख्रीष्टविरोधीहरूले तिनीहरूलाई आक्रमण गर्न यी कुराहरूको फाइदा उठाउँछन्, तिनीहरूलाई अपमान, खुलासा, र निन्दा गर्ने मौका हेर्छन्, तिनीहरूको कर्तव्यप्रतिको जोस मार्न अनेक नाम दिन्छन्, जसले गर्दा तिनीहरूले नकारात्मक महसुस गर्छन्। ख्रीष्टविरोधीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई तिनीहरूप्रति पक्षपात, घृणा र इन्कार गर्ने पनि बनाउँछन्, जसले गर्दा सत्यता खोजी गर्नेहरू एक्लो बन्छन्। अन्त्यमा, जब सत्यता खोजी गर्नेहरू सबैले नकारात्मक र कमजोर महसुस गर्छन्, सक्रिय रूपमा आफ्नो कर्तव्य पूरा गर्न छोड्छन्, र भेलाहरूमा जान मन गर्दैनन्, तब ख्रीष्टविरोधीहरूको उद्देश्य पूरा हुन्छ। सत्यता खोजी गर्नेहरूले ख्रीष्टविरोधीहरूको हैसियत र शक्तिमा खतरा पुर्याउन छोडेकाले, र कसैले पनि तिनीहरूको रिपोर्ट वा खुलासा गर्ने आँट नगर्न नगरेकाले तिनीहरू ढुक्क हुन्छन्। … ख्रीष्टविरोधीहरूले के सोच्छन् जसले गर्दा तिनीहरू यस्तो दुष्टता गर्न सक्ने बन्छन्? ‘यदि सत्यता खोजी गर्नेहरूले नियमित रूपमा प्रवचनहरू सुने भने, एक दिन तिनीहरूले मेरो व्यवहारको वास्तविकता देख्न सक्छन्, र त्यसपछि तिनीहरूले मलाई अवश्य नै खुलासा गरेर प्रतिस्थापन गर्नेछन्। तिनीहरूले आफ्नो कर्तव्य निभाउँदा, मेरो हैसियत, प्रतिष्ठा, र इज्जतमा चुनौती आइलाग्छ। पहिले मैले नै प्रहार गर्नुपर्छ, र तिनीहरूलाई बाधा पुर्याउनेर दोष दिने मौकाको फाइदा उठाई तिनीहरूलाई नकारात्मक बनाउनु नै राम्रो हुन्छ, ताकि तिनीहरूले आफ्नो कर्तव्य निभाउने सबै इच्छा गुमाऊन्। अगुवा र सेवकहरू अनि सत्यता खोजी गर्नेहरूको बीचमा द्वन्द्व पनिउत्पन्न गराउनेछु, ताकि अगुवा र सेवकहरूले तिनीहरूलाई छिःछि दूरदूर गरून्, तिनीहरूबाट टाढा बसून्, र तिनीहरूलाई महत्त्व वा बढुवा दिन छोडून्। त्यसरी, तिनीहरूसँग सत्यता खोजी गर्ने वा कर्तव्य निभाउने इच्छा हुनेछैन। सत्यता खोजी गर्नेहरू नकारात्मक भई बसे भने, त्यो एकदमै राम्रो हुन्छ।’ ख्रीष्टविरोधीहरूले हासिल गर्न चाहने उद्देश्य यही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु तीन: तिनीहरू सत्यताको पछि लाग्नेहरूलाई बहिष्कार र आक्रमण गर्छन्)। परमेश्वरको वचन पढेर मैले ख्रीष्टविरोधीहरू शक्तिलाई जीवन ठान्छन् र हैसियतप्रति तीव्र चाहना गर्छन् भन्ने देखेँ। सत्यताको पछि लाग्नेहरूले यो कुरा बुझ्नेछन् र तिनीहरूलाई चिन्नेछन्, र ब्रदर-सिस्टरहरूको सहयोग र अनुमोदन प्राप्त गर्नेछन् भन्ने तिनीहरू चिन्ता गर्छन्, त्यसकारण ख्रीष्टविरोधीहरू आफ्नो पद र शक्तिलाई दह्रिलो बनाउन, सत्यताको पछि लाग्नेहरूलाई नकरात्मक बनाउन, आत्म-विश्वास गुमाउन लगाउन, र सामान्यरूपमा आफ्नो कर्तव्य पूरा गर्न नसक्ने बनाउन जानाजानी आक्रमण गर्ने र हेला गर्ने बहाना खोज्छन्। यसरी, तिनीहरूले शक्तिमा रहेर अन्तिम निर्णय गर्न पाउँछन्। सिन रानले यही गरेकी थिइन् भन्ने मलाई महसुस भयो। तिनले सधैँ हामीमा गल्तीहरू खोतल्थिन्, उपहास गर्दै र व्यङ्ग्य हान्दै हाम्रा समस्याहरू औँल्याउँथिन् र जानाजानी हामीलाई ब्रदर-सिस्टरहरूको अघि लाजमा पार्थिन् र नीचो देखाउँथिन्, जसले गर्दा हामीलाई व्यावहारिक काम गर्न सक्दैनौँ भन्ने लाग्थ्यो, हामी कमजोर बन्यौँ र आफ्नो कर्तव्य पूरा गर्न सकेनौँ। निरर्थक बुझाइ र मनमानी काम गरेकोमा मलाई होच्याउँदै र निन्दा गर्दै तिनले लेखेको सार्वजनिक पत्र लेख्दा विशेष गरी मलाई आक्रमण गरिएको महसुस भयो। त्यहाँदेखि नै मलाई उनीदेख डर लागेको थियो। मैले उनीसँग कुनै कुरामा असहमत हुनेछु र तिनले मलाई फेरि पनि सार्वजनिक रूपमा होच्याउनेछिन् र हप्काउनेछिन् भन्ने मलाई डर लाग्थ्यो, त्यसैले म तिनको कुरा मान्न सक्दो प्रयास गर्थेँ, र तिनलाई फेरि चिढ्याउने आँट गर्दिनथेँ, र फेरि तिनको इच्छाविरुद्ध जाने, वा तिनलाई चिनेर खुलासा गर्ने आँट गर्दिनथेँ। तिनले डिकनहरूमा पनि यही तरिका लागू गरेर तिनीहरूलाई शिर निहुराउन र आत्मचिन्तन गर्नुपर्छ भन्ने सोच्न लगाइन्, त्यसैले कसैले पनि तिनको वास्तविकतालाई पत्ता लगाउन सकेनन्, सबैलाई बन्धनमा परेको महसुस हुन्थ्यो र सबैले तिनको कुरा मान्थे, र तिनको निर्णयलाई विरोध गर्ने आँट कसैले गर्दैनथे। तिनले एकलै शक्ति लिने आफ्नो उद्देश्य यसरी हासिल गरिन्। सिन रानका बोली र व्यवहार विशेष गरी कुटिल, धूर्त, र दुष्ट थिए। तिनले बोल्ने र गर्ने सबै कुरा ख्रीष्टविरोधीका जस्तै थिए।
मैले के पनि विचार गरेँ भने, हामी सबै तिनको दमनमा परेका हुनाले, आखिर किन हामीले अझै तिनलाई आदर गर्थ्यौँ र तिनको कुरा मान्थ्यौँ, र उनीविना निर्णय गर्ने आँट किन गर्थेनौँ? कसरी तिनले हामीलाई यति हदसम्म छल गरेर नियन्त्रण गरेकी थिइन्? पछि, मैले परमेश्वरको वचनको अर्को खण्ड पढेँ। “ख्रीष्टविरोधीले नियन्त्रण गर्दा हुने सबैभन्दा सामान्य घटना भनेको उसले नै आफ्नो अख्तियारको दायराभित्र, अन्तिम निर्णय गर्न पाउँछ। यदि ऊ उपस्थित छैन भने, कसैले पनि निर्णय गर्ने वा कुनै मामला सुल्झाउने आँट गर्दैन। ऊविना, अरू मानिस हराएका बालबालिकाजस्तै बन्छन्, प्रार्थना गर्न, खोजी गर्न, वा एकअर्कासँग कुरा गर्न जान्दैनन्, कठपुतली वा मरेका मानिसहरूझैँ व्यवहार गर्छन्। ख्रीष्टविरोधीहरू मानिसहरूलाई भ्रममा पार्न र नियन्त्रण गर्न प्रायः के भन्छन् भन्ने सम्बन्धमा हामी यहाँ विस्तारमा जानेछैनौँ। तिनीहरूले प्रयोग गर्ने भनाइ र तरकिबहरू निश्चय नै धेरै छन्, र त्यसबाट आउने परिणामहरू भ्रममा परेकाहरूमा देख्न सकिन्छ। … उदाहरणका लागि, यदि तैँले कुनै उचित सुझाव प्रस्ताव गरिस् भने, सबैले यो सही प्रस्तावलाई अँगाल्नुपर्छ र त्यसबारे सङ्गति गरिरहनुपर्छ, अनि यो नै सही मार्ग हो र यसले उसको कर्तव्यप्रतिको बफादारी र जिम्मेवारीलाई देखाउँछ, तर कुनै ख्रीष्टविरोधीले मनमा सोच्छ, ‘किन मैले त्यो प्रस्ताव पहिला सोचिनँ?’ उसलाई भित्री रूपमा उक्त प्रस्ताव सही हो भनी मानिलिन्छ, तर के उसले त्यसलाई स्विकार्न सक्छ? उसको प्रकृतिका कारण, उसले तेरो सही सुझावलाई कदापि स्विकार्नेछैन। उसले तेरो प्रस्ताव अस्वीकार गर्न सम्भव भएको सबथोक गर्नेछ, त्यसपछि वैकल्पिक योजना बनाएर तँलाई तेरो प्रस्ताव बिलकुलै कामको छैन र उसको योजना राम्रो छ भन्ने महसुस गराउनेछ। ऊ तँलाई ऊविना तैँले केही गर्न सक्दैनस् र ऊसँग काम गरे मात्र सबै जना प्रभावकारी हुन सक्छन् भन्ने महसुस गराउन चाहन्छ। ऊविना कुनै पनि काम सही रूपमा गर्न सकिँदैन, अनि सबै जना बेकार बन्छन् र कुनै कुरा फत्ते हुन सक्दैन। ख्रीष्टविरोधीको रणनीति सधैँ नवीन र अद्वितीय देखिनु र ठुलठुला दाबीहरू गर्नु हो। अरू कसैका कथनहरू जति नै सही भए पनि, उसले ती अस्वीकार गर्नेछ। अरू मानिसका सुझावहरू उसकै विचारसँग मिले पनि, यदि ती उसले पहिला प्रस्ताव नगरेको हो भने, उसले ती कहिल्यै स्विकार्ने वा अपनाउनेछैन। बरु, उसले उनीहरूलाई होच्याउन सक्दो प्रयास गर्नेछ, त्यसपछि उनीहरूलाई अस्वीकार र निन्दा गर्नेछ, सुझाव प्रस्ताव गर्ने व्यक्तिलाई आफ्ना विचार गलत लागेर आफ्नो गल्ती नस्विकारिञ्जेल निरन्तर उनीहरूको आलोचना गर्नेछ। अन्ततः त्यसपछि मात्र ख्रीष्टविरोधीले छोड्नेछ। ख्रीष्टविरोधीहरू आफूलाई स्थापित गरेर अरूलाई होच्याउन, अरूलाई आफ्नो आराधना गराउन र आफूलाई केन्द्रमा राख्न मन रुचाउँछन्। तिनीहरू आफूलाई मात्र चम्कन दिन्छन्, अरूचाहिँ पृष्ठभूमिमा उभिन मात्र सक्छन्। तिनीहरू जे भन्छन् वा गर्छन् त्यो सही हुन्छ, अनि अरूले जे भन्छन् वा गर्छन् त्यो गलत हुन्छ। तिनीहरू प्रायः नवीन दृष्टिकोणहरू प्रस्ताव गरेर अरूका दृष्टिकोण र कार्यहरूलाई अस्वीकार गर्छन्, अरूका सुझावमा गल्ती निकाल्छन् र अरूका प्रस्तावहरू तोड्छन् र अस्वीकार गर्छन्। यसरी, अरू मानिसले तिनीहरूको कुरा सुन्नैपर्ने र तिनीहरूका योजनाअनुसार कार्य गर्नैपर्ने हुन्छ। तिनीहरू यी विधि र रणनीतिहरू प्रयोग गरेर निरन्तर तँलाई नकार्छन्, आक्रमण गर्छन्, र तँ अयोग्य छस् भन्ने महसुस गराउँछन्, यसरी तँलाई तिनीहरूप्रति झन्-झन् समर्पित, तिनीहरूको झनै प्रशंसा गर्ने र उच्च सम्मान गर्ने बनाउँछन्। त्यसरी, तँ तिनीहरूद्वारा पूर्ण रूपले नियन्त्रित हुन्छस्। ख्रीष्टविरोधीहरूले यही प्रक्रियामार्फत मानिसहरूलाई वशमा राख्छन् र नियन्त्रण गर्छन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु पाँच: तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रणमा राख्छन्)। परमेश्वरका वचनहरू पढेपछि, मेरो हृदय प्रसन्न भयो। विगतमा, सिन रानले हाम्रो दृष्टिकोण सधैँ इन्कार गर्दा, म उनी अहङ्कारी छिन् भन्ने मात्रै सोच्थेँ, तर मैले तिनका अभिप्राय र कार्यको प्रकृतिलाई चिनिनँ। परमेश्वरका वचनहरू पढिसकेपछि मात्रै मलाई के थाहा भयो भने, सिन रानले हाम्रो दृष्टिकोणलाई इन्कार गर्दैपिच्छे, निपुणतासाथ हाम्रो दृष्टिकोणमा समस्या खोतलेर त्यसलाई खण्डन गर्थिन्, यसरी हामीलाई हाम्रो सल्लाह उचित थिएन रहेछ भनेर सोच्न लगाउँथिन्। त्यसपछि तिनले यही आधारमा एउटा विचार मिलाउँथिन्, वा कुनै उच्च सिद्धान्त प्रस्तुत गर्थिन्, अनि केही समयपछि, हामीलाई आफू उनीभन्दा नीचो छौँ भन्ने लाग्थ्यो, र तिनले हामीले भन्दा गहन र अन्तर्दृष्टिका साथ परिस्थितिलाई हेर्छिन् भन्ने हामी सोच्थ्यौँ। हामीले तिनलाई चिन्न नसकेका मात्र होइनौँ, तर झन्-झन् धेरै प्रशंसा पनि गर्थ्यौँ, र अन्तिममा हामी आफूलाई इन्कार नगरी सक्दैनथ्यौँ। हामीलाई हाम्रा विचार र सुझावहरू मूलतः बेकामका छन्, तीबारे उल्लेख गर्नुको कुनै अर्थ छैन, र हामीले तिनको कुरा माने पुग्छ भन्ने लाग्थ्यो। यसरी, तिनले मानिसहरूको विचार नियन्त्रण गर्ने आफ्नो उद्देश्य हासिल गरेकी थिइन्। लामो समयको यो नियन्त्रणपछि, हामीले समस्याहरू आइपर्दा खोजी गर्न र सोच्न छोड्यौँ। अन्त्यमा, हामीले आफ्नो सोच गुमायौँ, र हामी कठपुतलीजस्तै बन्यौँ, र हामी आफ्नो कर्तव्यमा पूर्णरूपमा काम नलाग्ने भयौँ। अहिले बुझेँ, यो त ख्रीष्टविरोधीहरूले मानिसहरूमाथि प्रभुत्व र नियन्त्रण जमाउन प्रयोग गर्ने माध्यम हो। सिन रानले हामीलाई नियन्त्रण गर्न, तिनको कुरा मान्ने र तिनको आज्ञा पालन गर्ने बनाउन यो तरिका प्रयोग गरेकी थिइन्। तिनी अत्यन्तै छली, धूर्त, र दुष्ट थिइन्!
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ, “यदि कुनै व्यक्ति बाठो छ, यदि उसका वचन र कार्यहरू सधैँ षडयन्त्रले भरिपूर्ण हुन्छन्, यदि ऊ अजङको व्यक्ति हो, र तँ त्यस व्यक्तिसँग हुँदा, त्यसले सधैँ तँलाई नियन्त्रण र परिबन्धमा राख्छ भने, तँलाई यो व्यक्ति दयालु लाग्छ कि क्रूर? (क्रूर।) तँ ऊदेखि डर मान्छस्, र तँ सोच्छस्, ‘यो व्यक्तिले सधैँ मलाई नियन्त्रण गर्न चाहन्छ। म यस व्यक्तिबाट सक्दो चाँडो टाढा जानुपर्छ। यसले भनेको मानिनँ भने, यसले मलाई बदला लिनेबारे सोच्नेछ र उसले मलाई कुन विधिद्वारा दण्ड दिनेछ भनेर कसलाई के थाहा।’ तैँले तिनीहरूको स्वभाव क्रूर भएको अनुभूति गर्न सक्छस्, सक्दैनस् र? (सक्छु।) तैँले कसरी यस्तो अनुभव गर्न सक्छस्? (तिनीहरूले मानिसहरूलाई सधैँ आफ्नै जिद्दी सर्त र विचारअनुसार काम गर्न लगाउँछन्।) के तिनीहरूले अरूले निश्चित तरिकाले काम गरून् भनी उसले माग गर्नु गलत हो? के अरूले तँबाट माग गर्नु गलत नै हुन्छ त? के यो तर्क सही छ? के यो सत्यताअनुरूप छ? (छैन।) तँलाई यसरी असहज तुल्याउने तिनीहरूको शैली हो कि स्वभाव? (तिनीहरूको स्वभाव।) त्यो सही हो, तिनीहरूको स्वभावले तँलाई असहज तुल्याउँछ। यसले तँलाई यो स्वभाव शैतानबाट आएको हो, यो सत्यतासँग मिल्दैन, र यसले तँलाई बाधा, नियन्त्रण र बन्धनमा पारिरहेको अनुभव गराउँछ। यसले तँलाई असहज मात्रै तुल्याउँदैन, यसले तँलाई भयभीत तुल्याउँछ, र तिनीहरूले भनेअनुसार नगरे, तँलाई तिनीहरूले ‘दण्डित गर्न’ सक्छन् भन्ने सोच्ने तुल्याउँछ। यस्तो व्यक्तिको स्वभाव अति आक्रामक हुन्छ! तिनीहरूले तँलाई त्यतिकै मात्र कुनै कुरा भन्दैनन्—तिनीहरूले त तँलाई नियन्त्रण गर्न चाहन्छन्। तिनीहरूले तँलाई विभिन्न कुरा गर्न जबरजस्ती गर्छन्, र त्यो कुरा निश्चित तरिकाले गर्न दबाब दिन्छन् र यो निश्चित प्रकारको स्वभावले भरिएको हुन्छ। तिनीहरूले तँलाई कुनै काम गर् भनेर जबरजस्ती गर्ने मात्र होइन, तिनीहरूले तँलाई नियन्त्रण गर्नसमेत चाहन्छन्। यदि तिनीहरूले तँलाई नियन्त्रण गरे भने, तँ तिनीहरूको कठपुतली अर्थात् तिनीहरूको हातको खेलौना बन्नेछस्। यदि तँ आफूले जे बोल्छस्, जे गर्छस्, र जसरी गर्छस्, त्यसको लागि तिनीहरूको पूरै कुरा सुन्छस् भने, तिनीहरू खुसी हुनेछन्। तैँले यो स्वभावबारे बुझेपछि, तँलाई हृदयमा के अनुभव हुन्छ? (मलाई डर लाग्छ।) अनि जब तँलाई डर लाग्छ, तैँले तिनीहरूको यो स्वभावलाई कसरी परिभाषित गर्छस्? के यो जिम्मेवार हुन्छ कि दयालु वा क्रूर हुन्छ? तँलाई यो क्रूर लाग्छ। जब तैँले कसैको स्वभाव क्रूर छ भन्ने बुझ्छस्, तँलाई खुसी लाग्छ कि घृणा, वितृष्णा र डर लाग्छ? (घृणा, वितृष्णा, र डर।) तँभित्र यी खराब भावनाहरू पैदा हुन्छन्। जब तँलाई घृणा, वितृष्णा, र डर हुन्छ, तब तँलाई मुक्त र स्वतन्त्र अनुभव हुन्छ कि बाँधिएको अनुभव हुन्छ? (बाँधिएको।) यस्ता विचार र भावना कहाँबाट आउँछन्? ती शैतानबाट आउँछन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो स्वभावलाई चिन्नु नै यसलाई परिवर्तन गर्ने आधार हो)। मैले परमेश्वरका वचनहरू पढिसकेपछि, मलाई किन सिन रानदेखि डर लाग्छ र तिनको अवज्ञा गर्न वा उनीविरुद्ध बोल्न आँट आउँदैन भनेर बुझेँ। मुख्यतः यो तिनले मलाई निराकरण र इन्कार गर्दा, उग्र स्वभाव देखाएकीले मलाई बन्धनमा र दमनमा परेको महसुस हुनुले गर्दा भएको थियो। मैले तिनको कुरा सुनिनँ भने, तिनले मलाई दमन गर्नेछिन् र दण्ड दिनेछिन् भन्ने लाग्थ्यो। वास्तवमा, म तिनको उग्र स्वभावको नियन्त्रणमा परिरहेकी थिएँ। सिन रानले आफ्नो उग्र स्वभावद्वारा हामीलाई आक्रमण गर्थिन् र होच्याउँथिन्, जानाजानी गल्तीहरू खोतल्थिन्, र हाम्रा दृष्टिकोणहरू इन्कार गर्थिन्। तिनको उद्देश्य हामीलाई सम्झौता गर्न लगाउनु, र अन्तिममा तिनको कठपुतली बनाउनु नै थियो। यो त सबैलाई तिनको कुरा मान्न लगाउनु, अनाज्ञाकारीता हटाउन, र यसरी पूर्ण शक्ति हात पार्ने तिनको उद्देश्य पूरा गर्नु थियो। नियन्त्रण गर्ने तिनको इच्छा अत्यन्तै बलियो थियो।
पछि, डिकनहरू र मैले सँगै परमेश्वरको वचनमा सङ्गति गऱ्यौँ। हामीले जति कुराकानी गऱ्यौँ, हाम्रो हृदय त्यति नै प्रसन्न भयो। हामीलाई छल गर्ने, नियन्त्रण गर्ने, र दमन गर्ने सिन रानका तरिकहरू हामीले केही मात्रामा बुझ्यौँ, र हामीले तिनको स्वभाव अहङ्कारी र दुष्ट छ भन्ने देख्यौँ। तिनले आफ्नो पद र शक्तिलाई दह्रिलो बनाउन, मानिसहरूलाई दमन र नियन्त्रण गर्न विभिन्न माध्यम प्रयोग गरिन्। ब्रदर-सिस्टरहरूबीच, तिनले नै अन्तिम निर्णय गर्नुपर्थ्यो। तिनले प्रायजसो सिद्धान्तहरू उल्लङ्घन गर्ने र मनमानी काम गर्ने गरेकीले, मण्डलीको काममा बाधा पुऱ्याइन् र हानि गरिन्। धेरैपटक तिनलाई खुलासा र सङ्गति गर्दा पनि, तिनले स्वीकार गरिनन् वा बुझिनन् र पश्चात्ताप गरिनन्। परमेश्वरको वचनको आधारमा, हामी सिन रान ख्रीष्टविरोधी हुन्, र तिनलाई बर्खास्त गरेर अवलोकनको लागि अलग्गै राख्नुपर्छ भनेर निश्चितरूपमा चिन्न सक्थ्यौँ। त्यसकारण, हामीले हाम्रो निर्णय त्यही दिन अगुवाहरूलाई पठायौँ, र पछि, तिनीहरूले अनुसन्धान र पुष्टि गरेपछि, सिन रानका अरू दुष्ट कार्यहरू पत्ता लगाए, र तिनी ख्रीष्टविरोधी हुन् भनेर निर्धारित गरेर तिनलाई बहिष्कार गरे। तिनलाई बहिष्कार गरिएपछि, हाम्रा ब्रदर-सिस्टरहरू निकै खुसी भए। हामीले परमेश्वर धर्मी हुनुहुन्छ र उहाँको घरमा सत्यताले शासन गर्छ भन्ने देख्यौँ। साथै, मलाई ग्लानि र पछुतो पनि भयो। मैले आफ्नै प्रकृति छली र स्वार्थी रहेछ, र आफूलाई रक्षा गर्ने मेरो इच्छा बलियो रहेछ भन्ने महसुस गरेँ। म सत्यता खोज्न, तिनलाई चिन्न, र खुलासा गर्नुको सट्टा तिनको दमन र दासत्वमा बस्न इच्छुक थिएँ, र मैले तिनका दुष्कर्महरू र मण्डलीको काममा तिनले पुऱ्याएको बाधालाई मौन स्वीकृति दिएँ, जसको अर्थ तिनको दुष्टतामा म पनि सहभागी भएकी थिएँ। मैले के पनि अनुभव गरेँ भने, हामीले अगुवाहरू र सेवकहरूका रूपमा सत्यताका सिद्धान्तहरू पालना गर्नैपर्छ र ख्रीष्टविरोधी र दुष्कर्मीहरूलाई खुलासा गर्नैपर्छ, किनभने मण्डलीको कामको रक्षा गर्ने र आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने एकमात्र तरिका यही नै हो। परमेश्वरलाई धन्यवाद होस्!