३१. “विज्ञ” नरहनुमा कति स्वतन्त्रता रहेछ
म पहिले एउटा अस्पतालको हाडजोर्नी विभागको उपप्रमुख थिएँ। चालिस वर्षसम्म म मेरो काममा पूर्ण रूपमा समर्पित रहेँ र मैले प्रशस्त चिकित्सकीय अनुभव बटुलेँ। रोगी र सहकर्मीहरू सबैले मेरो चिकित्सकीय दक्षतालाई मान्थे, जहाँ गए पनि मानिसहरूले मलाई सम्मान र आदर गर्थे। मलाई लाग्थ्यो कि म अरूभन्दा भिन्न र विशिष्ट छु। सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्विकारेपछि, मैले केही ब्रदर-सिस्टरहरूले मण्डलीका अगुवा र डिकनहरूका रूपमा सेवा गरेको, र प्रायः सत्यताको विषयमा अरूसँग सङ्गति गरी समस्याहरू समाधान गर्न सहयोग गरेको देखेँ। केही ब्रदर-सिस्टरहरू लेख-सम्बन्धी काम वा भिडियो निर्माण गरिरहेका थिए। म उनीहरूको धेरै ईर्ष्या गर्थेँ, र मलाई लाग्थ्यो यी कर्तव्यहरू निर्वाह गर्दा मानिसहरूले उनीहरूलाई धेरै महत्त्व दिन्थे। म सामान्य मामिलाहरूको आयोजना गर्ने वा सम्हाल्ने कुरालाई तुच्छ ठान्थेँ, किनकि मलाई ती कर्तव्यहरू सामान्य र बेनामी लाग्थ्यो। म सोच्थेँ, “म कहिल्यै त्यस्तो कर्तव्य निर्वाह गर्न सक्दिनँ। मसँग राम्रो शिक्षा र प्रतिष्ठा छ। मेरो कर्तव्य मेरो पहिचान र हैसियतसँग मेल खानुपर्छ।”
सन् २०२० को चिनियाँ नयाँ वर्षपछि, एक जना मण्डली अगुवाले मलाई भने, “लेख-सम्बन्धी काम गरिरहेका केही सिस्टरहरूसँग बस्न सुरक्षित ठाउँ छैन। तपाईं परमेश्वरमा विश्वास गर्नुहुन्छ भन्ने धेरैलाई थाहा छैन, त्यसैले तपाईंको घर अलिक सुरक्षित हुनुपर्छ। के तपाईं यी सिस्टरहरूलाई आफ्नो घरमा बस्न दिन सक्नुहुन्छ?” मैले सोचेँ, “म कर्तव्य निभाउन त तयार छु, तर मजस्तो सम्मानित उप-प्रमुख, आफ्नो क्षेत्रको विज्ञ, कसरी ब्रदर-सिस्टरहरूको आतिथ्य गर्ने, भाँडाकुँडा र कराहीहरू चलाउने र हरेक दिन तातो चुल्होमा खटिने जस्ता कुरामा झर्न सक्छ? के यो धाई आमा हुनु जस्तै होइन र?” म यसमा इच्छुक थिइनँ र सोचेँ, “आतिथ्य गर्नुभन्दा अरू कुनै पनि कर्तव्य बढी प्रतिष्ठित हुन्छ। जे गरे पनि, तपाईंले मेरा लागि हैसियत भएको वा केही सीप चाहिने कर्तव्यको व्यवस्था गर्नुपर्छ। त्यसरी मैले मेरो प्रतिष्ठा गुमाउनेछैन! के सिस्टरहरूको आतिथ्य गर्नु मेरो प्रतिभाको अपव्यय होइन र? यदि मेरा साथीभाइ र परिवारले मैले घरमै बसेर अरूका लागि खाना पकाउनका लागि आफ्नो विज्ञको हैसियत त्यागेँ भनेर थाहा पाए भने, के उनीहरू हाँसेर मर्ने छैनन्?” म त्यसबारे जति धेरै सोच्थेँ, त्यति नै असन्तुष्टि हुन्थ्यो। तर त्यसबेला, मण्डलीलाई तुरुन्तै एक आतिथ्य गृहको आवश्यकता थियो। त्यसैले त्यो कर्तव्य मलाई मन नपरे पनि, यति संवेदनशील समयमा अस्वीकार गर्न सक्दिनथेँ—यो अमानवीयताको सङ्केत हुन्थ्यो। पछि मलाई मेरो आत्मिक स्तर सानो छ, र सत्यताको मेरो बुझाइ कम छ जस्तो लाग्यो। तर यदि म ती लेख-सम्बन्धी काम गर्ने सिस्टरहरूसँग सधैँ सम्पर्कमा रहेँ भने, म उनीहरूबाट सिक्न सक्थेँ। त्यसपछि, सायद मण्डलीले मलाई पनि त्यो कर्तव्य निर्वाह गर्ने व्यवस्था गर्थ्यो। सिस्टरहरूलाई आतिथ्य दिने काम केही समयका लागि मात्र हुने थियो। त्यसका साथै, त्यतिबेला अस्पतालमा काम गर्दा आर्थिक लाभ खासै राम्रो थिएन, र म काममा जान चाहन्नथेँ। त्यसैले मैले आफ्नो पदबाट राजीनामा दिएँ र खुशीसाथ अतिथिसेवा स्वीकारेँ।
यसअगाडि, म सधैँ काममा व्यस्त हुन्थेँ र कमै मात्र खाना पकाउँथेँ। तर सिस्टरहरूले स्वादिष्ट खाना खान पाऊन् भनेर म खाना पकाउन सिक्नमा लागेँ। तर खाना पकाइसकेपछि, म त्यसलाई टेबलमा लगेर राख्न चाहन्नथेँ, किनकि मलाई सधैँ लाग्थ्यो कि त्यो अरूलाई सेवा गर्ने काम हो। जतिबेला म अस्पतालमा काम गर्थेँ, त्यहाँ अरूले मेरा लागि खाना तयार गर्थे, प्रत्येक विभागका सहकर्मीहरू म आउनेबित्तिकै उभिएर मसँग कुरा गर्थे, र म जहाँ गए पनि म सम्मानित हुन्थेँ। तर अहिले, म हरेक दिन एप्रन र तेलको दाग भएका लुगा लगाएर चिल्ला भाँडाहरू सफा गरिरहेकी थिएँ, जबकि सिस्टरहरू सफा लुगा लगाएर कम्प्युटरअगाडि बसेका हुन्थे। मेरो हृदयमा पीडा र मनमा असन्तुष्टि थियो, “‘दिमाग खियाउनेहरू अरूमाथि शासन गर्छन्, हात खियाउनेहरू अरूद्वारा शासित हुन्छन्,’ र ‘एउटै प्रजातिका चरा एकै ठाउँमा बस्छन्’ भन्ने सोचिरहन्थेँ। खाना पकाउने र अतिथि सत्कार गर्ने काम शारीरिक काम हो र सिस्टरहरूले गरिरहेका कामसँग यसको स्तर मिल्दैन।” मैले यसबारे जति धेरै सोच्थेँ, त्यति नै नराम्रो लाग्थ्यो। यो मैले बिसाउनै नमिल्ने भारी बोझजस्तो थियो, र म त्यो कर्तव्यलाई लामो समयसम्म निभाउन चाहन्नथेँ। मैले सोचेँ, “मैले चिकित्सा सम्बन्धी लेखहरू लेखेकी छु र मेरो क्षेत्रमा प्रशंसा पाएकी छु, त्यसैले मेरो लेखन सीप धेरै नराम्रो हुन सक्दैन। यदि मैले केही राम्रा अनुभवजन्य गवाही लेखहरू लेख्न सकेँ भने, सायद अगुवाले मेरो प्रतिभा देख्नेछन् र मेरा लागि लेख-सम्बन्धी कामको व्यवस्था गर्नेछन्।” त्यसपछि, मैले अनुभवजन्य लेखहरू लेख्न बिहान चाँडै उठ्न र राति अबेरसम्म जागा रहन थालेँ। सिस्टरहरूले ती लेखहरू पढेर मेरो लेखन राम्रो रहेको बताए। म अत्यन्तै खुसी भएँ, र मैले ती लेखहरू अगुवालाई पठाएँ। मैले निरन्तर पर्खिरहेँ, तर अगुवाले अझै पनि मेरा लागि लेख-सम्बन्धी कामको व्यवस्था गरेनन्। म निकै नै निराश भएँ, र ममा बिस्तारै लेख लेख्ने उत्साह हराउँदै गयो।
केही दिनपछि, मैले मण्डलीलाई भिडियो निर्माणका लागि जनशक्तिको आवश्यकता भएको थाहा पाएँ, र सोचेँ, “भिडियो निर्माण एक सीपयुक्त काम हो। यो एउटा अवसर हो, र यदि मैले भिडियो निर्माण गर्न सिक्न सकेँ भने, मसँग एक विशेष सीप हुनेछ।” त्यसैले, मैले पुनः बिहान चाँडै उठेर र राति अबेरसम्म बसेर भिडियो निर्माणको सीप सिक्न मेहनत गर्न थालेँ। तर, मेरो उमेर ढल्केकाले, मैले जवानहरूको गतिमा काम गर्न सकिनँ। त्यसैले, त्यो आशा पनि टुट्यो। म निरुत्साहित भएँ। “उच्च-स्तरको” कर्तव्य पाउनु मेरो भाग्यमा थिएन जस्तो लाग्यो, र म शारीरिक श्रम गर्नमै अड्किएकी थिएँ। मलाई उपेक्षा गरिएको जस्तो महसुस भयो, र केही दिनसम्म मैले राम्ररी खान वा सुत्न सकिनँ। खाना बनाउँदै गर्दा म के गर्दैछु भन्ने पनि बिर्सिन्थेँ, र कुनै कुरामा ध्यान दिन सक्दिनथेँ। कहिलेकाहीँ, तरकारी काट्दा मैले हात काट्थेँ, वा हात पोल्थेँ। मैले भाँडा, चम्चा, र ढकनी बारम्बार भुइँमा खसालेँ, जसले ठूलो आवाज गर्थ्यो र मलाई नै तर्साउँथ्यो। सिस्टरहरूले त्यो हल्ला सुनेपछि, आफ्ना काम छोडेर हतारहतार भित्र आई सफा गर्न मद्दत गर्थे। जब मैले सिस्टरहरूलाई कर्तव्य निर्वाहमा असर पारिरहेकी छु भन्ने देखेँ, तब मलाई धेरै दोषी महसुस भयो। मेरो पीडाको समयमा, मैले परमेश्वरसँग प्रार्थना गरेँ, “हे परमेश्वर! यी सिस्टरहरूको आतिथ्य गर्नाले मलाई सधैँ आफूलाई अरू मानिसभन्दा हीन महसुस गराउँछ। मलाई अन्याय गरिएको जस्तो लाग्छ, र म समर्पित हुन सक्दिनँ। यसलाई कसरी पार गर्ने थाहा छैन। कृपया मलाई मार्गदर्शन गर्नुहोस्।”
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँः “तेरो कर्तव्य जेसुकै भए पनि, तिनलाई ठूलो र सानो भनेर नछुट्या। मानौँ तैँले यसो भन्छस्, ‘यो काम परमेश्वरबाट आएको आज्ञा र परमेश्वरको घरको काम भए पनि, यदि मैले यो काम गरेँ भने, मानिसहरूले मलाई तुच्छ नजरले हेर्न सक्छन्। अन्य व्यक्तिहरूले भने आफूलाई अरूभन्दा उच्च देखाउने काम गर्न पाउँछन्। मलाई भने अरूभन्दा माथि देखिन नदिने, बरु पर्दापछाडि मेहनत गर्न लगाउने काम दिइएको छ, यो त अन्याय भो! म यो कर्तव्य निर्वाह गर्दिनँ। मेरो कर्तव्य त्यस्तो हुनुपर्छ जसले मलाई अरूभन्दा माथि देखाउँछ र मलाई मेरो नाम राख्न दिन्छ—र मैले मेरो आफ्नै नाम नराखे पनि वा मलाई माथि नदेखाए पनि, मैले यसबाट लाभ प्राप्त गर्नुपर्छ र शारीरिक रूपमा सहजताको अनुभूति गर्नुपर्छ।’ के यो स्वीकार्य मनोवृत्ति हो त? रोजीछानी गर्नु परमेश्वरबाट आउने कुरालाई स्वीकार गर्नु होइन; यो त तेरा आफ्नै रुचिहरूअनुसार छनौट गर्नु हो। यो तेरो कर्तव्यलाई स्वीकार गर्नु होइन; यो तेरो कर्तव्यलाई इन्कार गर्नु हो, परमेश्वरविरुद्धको तेरो विद्रोहीपनको प्रकटीकरण हो। त्यस्तो छनौट गर्ने कार्यमा तेरा व्यक्तिगत रुचि र चाहनाहरू मिसिएका हुन्छन्। जब तँ तेरा आफ्नै लाभहरू, तेरो प्रतिष्ठा, आदि इत्यादि कुरालाई ध्यान दिइरहेको हुन्छस्, तब कर्तव्यप्रतिको तेरो मनोवृत्ति समर्पित हुँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?)। परमेश्वरका वचनहरूले प्रकट गरेको कुरा मेरो स्थितिको सही प्रतिविम्ब थियो। म आफूलाई जहाँ गए पनि कदर गरिने र सम्मानित हुने उच्च हैसियतको विज्ञ मान्थेँ। त्यस आधारमा, म आफूलाई भीडभन्दा विशेष ठान्थेँ। जब मलाई सिस्टरहरूको आतिथ्य गर्ने काम दिइयो, मैले मेरो “विज्ञ” को हैसियत गुमाएजस्तो, र त्यो अन्याय भएकोजस्तो महसुस गरेँ। परमेश्वरका वचनहरूको न्याय र प्रकटनमार्फत, मैले आतिथ्यको कामलाई यसरी हेप्नुको कारण मैले सधैँ कर्तव्यहरूलाई गैरविश्वासीको दृष्टिकोणबाट हेर्नु रहेछ भन्ने बुझेँ। मैले कर्तव्यहरूलाई उच्च वा तल्लो स्तरका रूपमा हेर्दै तिनीहरूलाई वर्गीकृत गरिरहेकी थिएँ। म आफूलाई पहिचान र ख्याति दिलाउने कुनै पनि कर्तव्य गर्न खुसी हुन्थेँ, तर साधारण देखिने कर्तव्यलाई हेप्थेँ। म ती दृष्टिकोणहरूले बाँधिएकीले, मैले आफ्नो कर्तव्य अनिच्छापूर्वक गरेँ, र यसलाई पूर्ण रूपमा त्याग्ने समेत सोचेँ। मैले देखेँ कि आफ्नो कर्तव्य निर्वाह गर्दा मैले परमेश्वरका अभिप्रायहरूलाई बिलकुलै ध्यान दिएकी थिइनँ। यो सबै, भीडबाट अलग देखिन र प्रतिष्ठा र हैसियत पछ्याउनका लागि गरेको स्पष्ट थियो। यो परमेश्वरको कृपा नै थियो जसले मलाई मेरो कर्तव्य निर्वाह गर्ने अवसर दिएको थियो, तर मैले आफ्ना व्यक्तिगत प्राथमिकताका आधारमा छनोट गरिरहेकी थिएँ। ममा वास्तवमै कुनै समझ नै थिएन। जब मैले यो बुझेँ, तब मैले परमेश्वरप्रति निकै ऋणी भएको महसुस गरेँ, र शान्त मनले आफ्नो कर्तव्य सकेसम्म राम्रोसँग निर्वाह गर्ने दृढ निश्चय गरेँ।
त्यसपछि, मैले सचेत भएर परमेश्वरका वचनहरू ग्रहण गरेँ र आफ्नो स्थितिबारे उहाँसँग प्रार्थना गरेँ, र मैले स्थिर मनले सिस्टरहरूको आतिथ्य गर्न सकेँ। तर त्यसपछि भएको घटनाले मलाई फेरि झस्कायो। मैले आतिथ्य गरिरहेकी सिस्टरहरूमध्ये एकजना मण्डली अगुवामा निर्वाचित भइन्। मैले उनको धेरै इर्ष्या गरेँ र मनमनै सोचेँ, “म लेख-सम्बन्धी काम गर्ने व्यक्तिहरूलाई धेरै महत्व दिइएको देख्छु। उनीहरू ससम्मानित छन् र भीडमा अलग देखिन्छन्, र मण्डली अगुवा पनि बन्न सक्छन्। तर मलाई हेर, सिस्टरहरूलाई आतिथ्य गरिरहेकी छु, मसँग आफूलाई अलग देखाउने के नै मौका छ र? हरेक दिन म एप्रन लगाउँछु, र जतिबेला पनि खाना पकाउने तेल र धुवाँजस्तै गनाउँछु। म हरेकपटक खानेकुरा किनमेल गर्न बाहिर जाँदा, कसैले मलाई चिन्छन्, र म जस्तो उत्कृष्ट चिकित्सकीय सीप भएको राम्रो डाक्टरले किन काम नगरिरहेको भनेर सोध्छन् कि भनेर डराउँछु। त्यसैले, हरेकपटक बाहिर निस्कँदा, म टाउको तल झुकाएर पर्खाल छेउ लागेर, लुसुक्क निस्कन्छु। घर पुगेपछि मात्रै मैले ढुक्कले सास फेर्छु। विगतमा, कुनै पनि अवसरमा म अगाडि उभिन्थेँ र प्रायः मञ्चमा गएर बोल्थेँ। र जहाँ गए पनि, सबै जना मसँग हात मिलाउन अघि सर्थे। तर अहिले भने म कसैले मलाई देखोस् भन्ने चाहन्न, र तरकारी किनमेल गर्दा लुकिछिपी गरेझैँ लाग्छ।” म यसबारे जति धेरै सोच्थेँ, त्यति नै धेरै मनभित्र पीडा हुन्थ्यो। मलाई धर्मनिरपेक्ष समाजमा आफ्नो पहिलेको प्रतिष्ठा सम्झना आइरहन्थ्यो, र विशेषगरी “विज्ञ”, “निर्देशक”, “प्राध्यापक” जस्ता पदवीहरूको अभाव महसुस हुन्थ्यो। मलाई सम्मान गर्ने अगुवाहरू, प्रशंसा गर्ने सहकर्मीहरू, र कृतज्ञता व्यक्त गर्ने बिरामीहरूको याद आइरहन्थ्यो, जसले मलाई मैले सभ्य र सम्मानजनक जीवन बिताएको छु भन्ने महसुस गराउँथ्यो। मलाई म स्वर्गबाट नर्कमा झरेजस्तो भएको थियो, र मेरो यो कर्तव्य कहिले सकिएला झैँ लाग्थ्यो। मलाई निकै दुःख लाग्थ्यो। मैले सिस्टरहरू आफ्नो खानाको आनन्द लिइरहेको देख्थेँ, तर मलाई भने खान मन नै लाग्दैनथ्यो, र चाँडै नै मेरो तौल धेरै घट्यो। त्यसपछि, मलाई अस्पतालका निर्देशकबाट काममा फर्कन आग्रह गर्दै एकाएक फोन आयो। यसले मलाई पुनः अन्योलमा पार्यो, र मैले सोचेँ, “काममा फर्केर, सबैले मलाई सम्मान गर्ने जीवन जिउनु, र विज्ञको रूपमा आफ्नो प्रतिष्ठा फेरि पाउनु राम्रो हुनेछ। तर आतिथ्य गर्नु उत्तिकै आवश्यक छ। मैले घरमै बसेर सिस्टरहरूको सुरक्षा गर्नु पर्छ, र यदि म काममा फर्किएँ भने, यो कर्तव्य पूरा गर्न सक्दिनँ।” मैले तुरुन्तै परमेश्वरसँग प्रार्थना गरेँ, “हे परमेश्वर! म आफ्नो पहिलेको हैसियत र महिमा बिर्सन सकेकी नै छैन। कृपया मलाई आफैँलाई चिन्ने र समर्पित हुने मार्ग देखाउनुहोस्।”
खोज्दै गर्दा, मैले परमेश्वरका वचनको एक खण्ड पढेँ: “यसबारे सोच त—तिमीहरूले मानिसको मूल्य, सामाजिक हैसियत र पारिवारिक पृष्ठभूमिलाई कसरी लिनुपर्छ? तिमीहरूमा हुनुपर्ने सही मनोवृत्ति के हो? सबैभन्दा पहिले, तिमीहरूले परमेश्वर यो मामिलालाई कसरी लिनुहुन्छ भनेर उहाँका वचनहरूबाट हेर्नुपर्छ; यसरी मात्र तिमीहरूले सत्यता बुझ्नेछौ र सत्यताविरुद्धका कुनै पनि कुरा गर्नेछैनौ। त्यसोभए, परमेश्वर कुनै व्यक्तिको पारिवारिक पृष्ठभूमि, सामाजिक हैसियत, उसको भावी शिक्षा र समाजमा ऊसँग हुने सम्पत्तिलाई कसरी लिनुहुन्छ? यदि तँ यी कुराहरूलाई परमेश्वरका वचनहरूको आधारमा हेर्दैनस् र परमेश्वरको पक्षमा खडा हुन अनि परमेश्वरबाट आउने कुराहरू स्विकार्न सक्दैनस् भने, विभिन्न कुराहरू हेर्ने तेरो तरिका निश्चित रूपले परमेश्वरले जे अभिप्राय राख्नुहुन्छ त्योभन्दा पूरै फरक हुनेछ। यदि त्यति फरक छैन, थोरै मात्र भिन्नता छ भने, त्यो समस्या होइन; यदि विभिन्न कुराहरू हेर्ने तेरो तरिका परमेश्वरले राख्नुभएको अभिप्रायभन्दा पूर्णतया भिन्न छ भने, त्यो सत्यताविपरित छ। जहाँसम्म परमेश्वरको कुरा छ, उहाँ मानिसहरूलाई के दिनुहुन्छ र कति दिनुहुन्छ, त्यो उहाँमै निर्भर हुन्छ, र समाजमा मानिसहरूसँग हुने हैसियत पनि परमेश्वरद्वारा नै निर्धारण हुन्छ, त्यो मानिसहरू आफैले प्रबन्ध गर्ने कुरा हुँदै होइन। यदि परमेश्वरले कसैलाई पीडा र गरिबी भोग्न लगाउनुभयो भने, के यसको मतलब तिनीहरूसँग मुक्ति पाउने आशा छैन भन्ने हो? यदि तिनीहरू कम मूल्यका र कम सामाजिक पदका हुन् भने, के परमेश्वरले तिनीहरूलाई मुक्ति दिनुहुनेछैन र? यदि समाजमा तिनीहरूको हैसियत कम छ भने, के तिनीहरू परमेश्वरका नजरमा पनि कम हैसियतका हुन्छन् त? त्यस्तो हुन्छ भन्ने छैन। त्यो केमा निर्भर गर्छ त? त्यो कुरा व्यक्ति हिँड्ने मार्ग, उसले पछ्याउने कुरा, अनि सत्यता र परमेश्वरप्रतिको उसको मनोवृत्तिमा निर्भर गर्छ। यदि कसैको सामाजिक हैसियत एकदमै कम छ, उसको परिवार धेरै गरिब छ, र उसको शैक्षिक स्तर कम छ, तैपनि ऊ व्यावहारिक तवरमा परमेश्वरमा विश्वास गर्छ, अनि सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्छ भने, परमेश्वरको नजरमा ऊ उच्च वा कम मूल्यको, वा मूल्यवान् वा बेकारको, के हुन्छ? ऊ मूल्यवान् हुन्छ। त्यसलाई यस दृष्टिकोणबाट हेर्दा, कुनै व्यक्तिको मूल्य—उच्च वा कम, कुलीन वा निम्न—केमा निर्भर हुन्छ? यो कुरा परमेश्वर तँलाई कसरी हेर्नुहुन्छ, त्यसमा निर्भर हुन्छ। यदि परमेश्वर तँलाई सत्यता पछ्याउने व्यक्तिको रूपमा हेर्नुहुन्छ भने, तँ महत्त्वको र मूल्यवान् होस्—तँ मूल्यवान् पात्र होस्। यदि परमेश्वर तँ सत्यता पछ्याउँदैनस् र उहाँको लागि सच्चा रूपमा आफूलाई समर्पित गर्दैनस् भन्ने देख्नुहुन्छ भने, तँ बेकार होस् र मूल्यवान् होइनस्—तँ नीच पात्र होस्। तँ जति नै उच्च शिक्षित भए पनि वा समाजमा तेरो हैसियत जति नै उच्च भए पनि, यदि तँ सत्यता पछ्याउँदैनस् वा सत्यता बुझ्दैनस् भने, तेरो मूल्य कहिल्यै उच्च हुन सक्दैन; धेरै मानिसहरूले तँलाई साथ दिए पनि, प्रशंसा गरे पनि, र प्यारो ठाने पनि, तँ घृणित पात्र नै होस्। त्यसोभए, किन परमेश्वर मानिसहरूलाई यसरी हेर्नुहुन्छ? यस्तो ‘कुलीन’ व्यक्ति, समाजमा यति उच्च ओहोदा भएको, यति धेरै मानिसले प्रशंसा र मान गर्ने, प्रतिष्ठासमेत यति उच्च भएको व्यक्तिलाई किन परमेश्वर नीच देख्नुहुन्छ? किन परमेश्वरले मानिसहरूलाई हेर्ने तरिका मानिसहरूले अरूलाई हेर्ने दृष्टिकोणभन्दा पूर्णतया भिन्न छ? के परमेश्वर आफूलाई जानाजान मानिसहरूविरुद्ध राख्दै हुनुहुन्छ? बिलकुलै होइन। यस्तो किन भएको हो भने, परमेश्वर सत्यता हुनुहुन्छ, परमेश्वर धार्मिकता हुनुहुन्छ, जबकि मानिस भ्रष्ट छ र उसमा सत्यता वा धार्मिकता छैन, र परमेश्वर मानिसलाई आफ्नो मानकअनुसार मापन गर्नुहुन्छ, अनि मानिसलाई मापन गर्ने उहाँको मानक सत्यता हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक))। परमेश्वरका वचनहरूले मेरो हृदय उज्यालो बनाए। मेरो पीडाको मुख्य कारण यो थियो कि मैले परमेश्वरका वचन र सत्यतामा आधारित दृष्टिकोण अपनाएकी थिइनँ। बरु, मैले शैतानको दृष्टिकोण अपनाएर कर्तव्यहरूलाई ठूलो-सानो भनेर छुट्याएकी थिएँ, र सामाजिक हैसियत, प्रतिष्ठा, शिक्षा, र पेसागत उपलब्धिहरूलाई सफलताको मापदण्ड बनाएकी थिएँ। यी दृष्टिकोणहरूबाट प्रभावित भएर मैले आफूलाई अरूभन्दा उच्च र महान देख्थेँ। मैले आफूलाई हैसियत र राम्रो स्थान भएको एउटा विज्ञ, र भीडबाट फरक, र अरू मानिसहरूभन्दा राम्रो छु भन्ने महसुस गर्थेँ। परमेश्वरमा विश्वास गरेपछि पनि, मैले त्यो दृष्टिकोणलाई कायम राखेँ। त्यसैले मैले अगुवा र कामदारका कर्तव्यहरू, साथै उच्च सीप आवश्यक पर्ने कर्तव्यहरूलाई महत्त्वपूर्ण ठानेँ। तर आतिथ्य गर्नु वा सामान्य मामिलाहरू सम्हाल्नु मेरा लागि महत्त्वपूर्ण थिएन, र मलाई ती मेरो सामाजिक प्रतिष्ठासँग मेल नखाने तल्लो स्तरका कामहरूजस्तो लाग्थ्यो। जब अगुवाले मलाई सिस्टरहरूलाई आतिथ्य गर्नु भने, म समर्पित हुन सकिनँ। मेरो कर्तव्य निभाउने क्रममा, म आफ्नो विगतको प्रतिष्ठा सम्झिरहन्थेँ, त्यसैले म राम्रोसँग खान वा सुत्न सकिनँ। म तनावमा थिएँ, र मेरो तौल निकै घट्यो। यो असह्य पीडा थियो। तर, परमेश्वरका वचनहरूको प्रकटन र न्याय मार्फत मैले उहाँको धार्मिकता देखेँ। उहाँलाई कसैको हैसियत उच्च होस् या निम्न, वा तिनका योग्यता र शैक्षिक उपलब्धिहरूको कुनै वास्ता छैन। परमेश्वरलाई मानिसहरूले सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन्, र उनीहरू कुन मार्गमा छन् भन्ने पर्वाह छ। कसैको हैसियत जति नै उच्च किन नहोस्, वा तिनको शैक्षिक उपलब्धि र प्रतिष्ठा जति नै ठूलो किन नहोस्, यदि उनीहरू सत्यतालाई माया गर्दैनन् र सत्यताबाट विमुख छन् भने, तिनीहरू परमेश्वरको नजरमा तुच्छ हुन्छन्। परमेश्वरले सत्यता पछ्याउने र पाउनेहरूलाई कदर गर्नुहुन्छ, चाहे उनीहरूको कुनै हैसियत होस् वा नहोस्। मैले के जानेँ भने जति मानिसहरूले मलाई समर्थन र प्रशंसा गरे पनि, र मेरो हैसियत जति नै उच्च भए पनि, यदि मैले परमेश्वरप्रति समर्पित भएर सृजित प्राणीको कर्तव्य निर्वाह गर्न सकिनँ भने, म पूर्ण रूपमा बेकार छु।
पछि, मैले आफूले गलत दृष्टिकोण राखेको स्पष्ट थाहा हुँदाहुँदै पनि, अझै प्रतिष्ठित र मलाई विशेष बनाउने कर्तव्यहरू पछ्याउनतिर किन लागेँ भन्नेबारे सोचेँ। मैले उत्तर खोज्दै जाँदा परमेश्वरका वचनको एउटा खण्ड देखेँ जसमा लेखिएको थियो: “शैतानले मानिसको विचारहरूलाई नियन्त्रण गर्नको लागि ख्याति र प्राप्तिको प्रयोग गर्छ, र अन्ततः मानिसहरूले ख्याति र प्राप्तिबाहेक अरू केही सोच्न सक्दैनन्। तिनीहरूले ख्याति र प्राप्तिका लागि संघर्ष गर्छन्, ख्याति र प्राप्तिकै लागि कठिनाइहरू भोग्छन्, ख्याति र प्राप्तिकै लागि अपमान सहन्छन्, ख्याति र प्राप्तिकै लागि आफूसँग भएका सबै कुराको बलिदान गर्छन्, र तिनीहरूले ख्याति र प्राप्तिकै लागि जुनसुकै मूल्याङ्कन वा निर्णय पनि गर्नेछन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य बन्धनमा बाँध्छ, र त्यो बन्धन हटाउन तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रन्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्वरबाट अलग बस्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, यही तरिकाले शैतानको ख्याति र प्राप्तिको माझमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। परमेश्वरका वचनले खुलासा गरेको कुराबाट, मैले के बुझेँ भने शैतानले ख्याति र लाभको माध्यमबाट मलाई शिकार बनाउँदै र बाँध्दै पकडमा राखिरहेको छ। सानैदेखि, मैले मेरा अभिभावकहरूले सिकाएका कुरा, विद्यालयमा पढाइएका शिक्षा, र धर्मनिरपेक्ष समाजले सिकाएका विचारहरू स्वीकारेँ, जस्तै “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ,” “जसरी हाँसले आफू जहाँ जहाँ उड्छ त्यहाँ त्यहाँ क्वाँक क्वाँक आवाज निकाल्छ, त्यसरी नै मानिस आफू जहाँ जहाँ बस्छ त्यहाँ त्यहाँ उसले आफ्नो नाम छोडी राख्छ,” र “दिमाग खियाउनेहरू अरूमाथि शासन गर्छन्, हात खियाउनेहरू अरूद्वारा शासित हुन्छन्।” पहिल्यैदेखि, यी शैतानी सिद्धान्त र भ्रमहरूले मेरो हृदयमा जरा गाडिसकेका थिए। यसले मलाई ख्याति र प्राप्तिलाई जीवनको सही लक्ष्यको रूपमा लिन प्रेरित गर्यो, र यदि मैले तिनलाई पाएँ भने, अरू मानिसहरूले मलाई उच्च सोच्नेछन् र मलाई समर्थन गर्नेछन् भन्ने ठानेँ। त्यसैले, विद्यालय, समाज, वा मण्डलीमा जहाँसुकै होस्, मैले सधैँ पद र हैसियतलाई महत्व दिएँ। म समूहभित्र उच्च हैसियत र प्रतिष्ठा पाउने आशामा विशेष सीपहरू विकास गर्न कडा मेहनत गरेँ। मलाई मेरो अस्तित्वको मूल्यलाई प्रतिबिम्बित गर्ने त्यो मात्र जीवन हो जस्तो लाग्यो। जब मैले प्रसिद्धि र हैसियत पाउन सकिनँ, मैले आफ्नो भविष्यलाई अन्धकार र कष्टपूर्ण देखेँ, र आफ्नो कर्तव्य निर्वाह गर्नमा उदासीन भएँ। हैसियत, प्रसद्धि, र लाभ मलाई निरन्तर नियन्त्रण गर्ने बन्धन जस्तै थिए, जसले गर्दा म परमेश्वरलाई बेवास्ता गर्न र धोका दिन पुगेँ। मैले के पनि बुझेँ भने सिस्टरहरूको आतिथ्य गर्नु सामान्यजस्तो लागे पनि, त्यो वातावरणले मलाई केलाई पछ्याउने भन्नेबारे मेरो भ्रमपूर्ण दृष्टिकोणलाई चिन्न, र आफ्नो कर्तव्य निर्वाहको क्रममा सत्यता पछ्याउन अनि ख्याति र प्राप्तिको बन्धन हटाउन सक्षम बन्न मदत गर्यो। परमेश्वरको असल अभिप्रायहरू बुझेपछि, मैले हृदयदेखि उहाँलाई धन्यवाद दिएँ, र म पश्चात्तापले भरिएँ। मैले उहाँसामु प्रार्थना गरेँ, “हे परमेश्वर, मेरो भ्रामक पछ्याइको दृष्टिकोणलाई प्रकट गर्न यो वातावरण सिर्जना गर्नुभएकोमा धन्यवाद। म पश्चात्ताप गर्न चाहन्छु र हैसियत र प्रतिष्ठालाई पछ्याउन छोडिदिन्छु। म समर्पित भई आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न चाहन्छु।” त्यसपछि मैले विनम्रतापूर्वक अस्पतालको प्रस्ताव अस्वीकार गरेँ र घरमै बसेर आफ्नो कर्तव्य निर्वाह गर्न जारी राखेँ।
त्यसपछि, मैले परमेश्वरका वचनका अरू दुई खण्डहरू पढेँ: “परमेश्वर कस्तो किसिमको व्यक्ति चाहनुहुन्छ? के उहाँ महान्, प्रसिद्ध, वा कुलीन वा संसार-हल्लाउने व्यक्ति चाहनुहुन्छ? (होइन।) त्यसोभए, परमेश्वर कस्तो किसिमको व्यक्ति चाहनुहुन्छ? (दृढ व्यक्ति, जसले सृष्टि गरिएको प्राणीको भूमिका पूरा गर्छ।) हो, अनि अरू के? (परमेश्वर उहाँको डर मान्ने र दुष्टताबाट टाढा बस्ने अनि उहाँमा समर्पित हुने इमानदार व्यक्ति चाहनुहुन्छ।) (त्यस्तो व्यक्ति, जो सबै मामिलामा परमेश्वरसँगै उभिन्छ, जो परमेश्वरलाई प्रेम गर्न लागिपर्छ।) ती उत्तरहरू पनि सही छन्। हृदय र मन परमेश्वरको जस्तै भएको जोकोही पनि त्यस्तो व्यक्ति हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भ्रष्ट स्वभावलाई सत्यता स्विकारेर मात्र हटाउन सकिन्छ)। “अन्त्यमा, मानिसहरूले मुक्ति प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा तिनीहरूले पूरा गर्ने कर्तव्यमा होइन, बरु तिनीहरूले सत्यता बुझ्न र प्राप्त गर्न सक्छन् कि सक्दैनन् र तिनीहरू अन्त्यमा परमेश्वरमा पूर्ण रूपमा समर्पित हुन, आफैलाई उहाँका योजनाबद्ध कार्यहरूको कृपामा छोड्न, भविष्य र नियतिको बारेमा केही नसोच्न र सृष्टि गरिएको योग्य प्राणी बन्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा निर्भर रहन्छ। परमेश्वर धर्मी र पवित्र हुनुहुन्छ र उहाँले सबै मानवजातिलाई मापन गर्न प्रयोग गर्नुहुने मानकहरू यिनै हुन्। यी मानकहरू अपरिवर्तनीय छन् र तैँले यो सम्झनैपर्छ। यी मानकहरूलाई दिमागमा खोपेर राख्, र कुनै अवास्तविक कुरालाई पछ्याउन अर्को बाटो पत्ता लगाउनेबारेमा जुनसुकै बेलामा नसोच्। मुक्ति प्राप्त गर्न चाहने सबैलाई परमेश्वरले दिनुभएका सर्त र मापदण्डहरू कहिले पनि परिवर्तन हुँदैनन्। तिमीहरू जोसुकै भए तापनि ती उस्तै रहन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले के बुझेँ भने परमेश्वरले कुलीन मानिसहरूलाई चाहनुहुन्न। उहाँ यथार्थ रूपमा सृजित प्राणीको कर्तव्य निर्वाह गर्न सक्ने मानिसहरूलाई चाहनुहुन्छ। धर्मनिरपेक्ष संसारमा मेरो केही पहिचान र हैसियत भए पनि, सत्यताको मेरो बुझाइ धेरै नै सतही थियो। अगुवा र कामदार हुन, वा लेख-सम्बन्धी काम गर्नलाई सत्यताको बुझाइ आवश्यक पर्छ, र यो केवल हैसियत, ज्ञान, र शिक्षा पाएर मात्र गर्न सकिँदैन। म समझदार हुनुपर्छ, आफ्नो क्षमताले सक्ने कुनै पनि कर्तव्य निर्वाह गर्नुपर्छ। मेरो घर आतिथ्यका लागि उपयुक्त भएकाले, मैले सिस्टरहरूलाई भद्र तरिकाले आतिथ्य गर्दै, सत्यता पछ्याउन सक्दो प्रयास गर्नुपर्छ। मसँग त्यस प्रकारको समझ हुनुपर्छ। हामीले जुनसुकै कर्तव्य गरे पनि, शीर्षक र काम फरक भए तापनि, सृजित प्राणीको पहिचान र सार उस्तै रहन्छ। म आफूबारे धेरै उच्च धारणा राख्थेँ र आफूलाई निकै कुलीन सोच्थेँ। मैले सधैँ आफूलाई विज्ञ र प्रसिद्ध चिकित्सकका रूपमा हेर्थेँ, मानौँ म अरू सबैभन्दा राम्रो थिएँ। मलाई ब्रदर-सिस्टरहरूको आतिथ्य गर्नु एउटा तल्लो हैसियतको काम हो जस्तो लाग्थ्यो, र म अझै प्रतिष्ठित र प्रमुख कर्तव्यको चाहना राख्थेँ। मलाई अर्को तर्फको घाँस सधैँ बढी हरियो देखेँ झैँ लाग्थ्यो, जसकारण म स्थिर भएर आफ्नो कर्तव्य राम्ररी गर्न सकिनँ। मेरो हृदयमा, म परमेश्वरको विपक्षमा पनि उभिएँ। म यति धेरै अहङ्कारी थिएँ कि बिल्कुलै असमझदार भइसकेकी थिएँ। मैले अय्यूबलाई सम्झेँ, जो पूर्वका सबैभन्दा महान् व्यक्ति थिए। उनीसँग उच्च हैसियत र ठूलो ख्याति थियो, तर उनले आफूलाई आफ्नो हैसियतको आधारमा हेर्थेनन्, न त यसले दिएको प्रतिष्ठाको कुनै पर्वाह गर्थे। अय्यूबले, हैसियत भए पनि नभए पनि, परमेश्वरलाई महान् ठानेर उहाँको डर मान्न र आदर गर्न सक्थे। अय्यूब तर्कसङ्गत व्यक्ति थिए। मेरो अय्यूबसँग तुलना हुन नसके पनि, म उनको उदाहरणलाई पछ्याउन चाहन्छु र एउटा योग्य सृजित प्राणी बन्ने प्रयास गर्नेछु। जब मैले ख्याति, प्राप्ति, र हैसियतको पछ्याइ छोडेँ, मेरो मनोवृत्ति पनि परिवर्तन भयो। मैले प्रत्येक कर्तव्य महत्त्वपूर्ण र अत्यावश्यक रहेको देखेँ। यदि कसैले आतिथ्य सेवा गरेन भने, ब्रदर-सिस्टरहरूले आरामपूर्वक आफ्नो कर्तव्य गर्न सक्ने उचित वातावरण पाउने छैनन्। त्यसपछि मैले आफूविरुद्ध विद्रोह गर्न सचेत प्रयास गरेँ, र सिस्टरहरूले शान्तिपूर्वक आफ्नो कर्तव्य गर्न सकून् भनेर मैले स्वादिष्ट भोजन तयार गर्न र उनीहरूको सुरक्षामा ध्यान दिन आफूलाई समर्पित गरेँ। बिस्तारै, मलाई हामीबीच हैसियतको भिन्नता महसुस हुन छोड्यो, र खाना पकाउँदा म मनमनै भजन गाउँथेँ। मेरो काम सकिएपछि, म प्रार्थना गर्दै परमेश्वरका वचनहरू पढ्थेँ, म आफ्नो हृदयलाई शान्त पार्थेँ र मेरो अनुभवबाट के सिकेँ भनेर सोच्थेँ, र त्यसपछि म आफ्नो अनुभवका लेखहरू लेख्थेँ। प्रत्येक दिन, म एकदमै सन्तोषजनक जीवन जिउँछु। मलाई यो शान्तिपूर्ण जीवन जिउने तरिका हो, र मेरो हृदय स्वतन्त्र भए जस्तो लाग्छ।