९५. सतावटमार्फत परमेश्वरका कार्यहरू देख्दा
सन् २०१८ जुलाई महिनाको एक बिहान, एक सिस्टर म हाम्रो आतिथेय घरमा कामको छलफल सकेर सुत्न जान लागेका थियौँ, तब हामीले अचानक ढोकामा हल्ला र कुकुरको भुकाइ सुन्यौँ—यसबाट म अलिक डराएँ। त्यसै बेला, सात आठ जना प्रहरी हाम्रो शयन कक्षमा पसे, र हाम्रा हात पछाडि लगेर हतकडी लगाए। कुनै कागज नदेखाई तिनीहरूले घरको हरेक कुना खोजतलास गर्न थाले। अन्तत: तिनीहरूले ७ हजार युआन नगद र र मण्डलीको ३ लाख ५० युआनको एउटा रसिद फेला पारे। म निकै डराएँ—रसिद भेटेपछि, प्रहरीले पैसा कहाँ छ भनेर सोध्ने निश्चित थियो। तिनीहरूले मलाई कस्तो यातना दिनेहुन् वा कुटेर पो मार्ने हुन् कि, मलाई थाहा थिएन। मैले तुरुन्तै मनमनै प्रार्थना गरेँ, परमेश्वरसँग शक्ति र उहाँको सुरक्षा मागेँ, ताकि म यहुदा बनेर उहाँलाई धोका नदिऊँ। त्यसपछि, एउटा भजन “जीवन गवाही” याद आयो: “मैले परमेश्वरको गवाही दिएको कारण एक दिन मलाई पक्राउ गर्न र सताउन सक्छन्। यो कष्टभोग धार्मिकताको खातिर हो भन्ने कुरा मलाई हृदयदेखि नै थाहा छ। यदि मेरो जीवन एक पलमै समाप्त भयो भने, मलाई अझै मैले यो जीवनमा ख्रीष्टलाई पछ्याउन र उहाँको गवाही दिन सक्छु भन्नेमा गर्व हुनेछ” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। यो सही हो। आस्था राख्नु धर्मी कुरा हो, त्यसैले मैले जस्तोसुकै क्रूर यातना सामना गर्नु परे पनि, यो धार्मिकताका लागि सहिएको कष्ट हुने थियो। म डरपोक वा भयभीत हुनु हुँदैनथ्यो—म परमेश्वरमा भर परी यसबाट पार हुनु थियो। यो सोचले मलाई बिस्तारै शान्त बनायो।
त्यो दिउँसो, प्रहरीले हामी दुईलाई छुट्टाछुट्टै सोधपुछका लागि होटेलमा लिएर गयो। लिउ नाम गरेको एउटा प्रहरीले ठुलो सोरमा भन्यो, “ल भन्, यी धार्मिक मामिलाबारे साँचो कुरा बता! ३ लाख ५० हजार युआन रसिदको कुरा के हो?” मैले सोचेँ, “त्यो पैसा मण्डलीको हो—यसको उनीहरूसँग कुनै सरोकार छैन। मैले उनीहरूलाई किन भन्ने?” त्यसैले म चुप लागेर बसेँ। त्यसपछि, प्रहरी लिउले मलाई रिसाउँदै अनुहारमा थप्पड हान्यो, मेरो अनुहारमा दुखाइले पोल्यो। उसले मेरो गर्दन वरिपरि दबाब बिन्दुहरूमा जोडले दबायो, तर मैले पीडाले दाँत बाँधे र एक शब्द पनि बोलिनँ। त्यसपछि, एउटा मोटो प्रहरीले सोध्यो, “यहाँ हेर्, म तँलाई केही व्यायाम गराउँछु।” उसले मेरो कपाल समातेर माथि तल तान्न थाल्यो, उठबस गरायो। पचास साठी पटक गरेपछि, मेरो तालु पोलिरहेको थियो भने सबैतिरका कपाल टुक्रिएका थिए। फेरि, तिनीहरूले एउटा कुर्सी ल्याए, मेरो पछाडि ढाडमा टाँसिने गरी उल्टो फर्काएर राखे। मेरो हतकडी लगाएका हातहरू कुर्सीको ढाड अड्याउने भागको खाली ठाउँमा राखे, हातहरू कुर्सीको बस्ने ठाउँमा अडेस लागेका थिए। म आफ्नो खुट्टा अगाडि सीधा फैलाउँदै भुईँमा बसेकी थिएँ। तिनीहरूले त्यो ३ लाख ५० हजार युआनका बारेमा जानकारी मागिरहे; म नबोल्ने देखेर, तिनीहरूले मलाई अझै यातना दिन थाले। केही समयपछि, तन्काइले गर्दा मेरो काँधका जोर्नीहरू अत्यधिक दुख्न थाले, र मेरो ढाड भाँचिएको जस्तो भयो। हतकडीका चुकुलहरू मेरो मासुमा भित्रसम्म पस्दै थिए। दुखाइले शरीर पूरै काँपिरहेको थियो, लगातार पसिना बगिरहेको थियो। म अब अरू सहन सक्दिनँ जस्तो भयो। मैले मनमनै प्रार्थना गरिरहेँ, म दृढ़ खडा रहन सकूँ भन्दै मलाई शक्ति दिन र मेरो हेरविचार गर्नुहुन परमेश्वरलाई अनुरोध गरिरहेँ। त्यति बेला, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “जब तँ कष्ट सामना गर्छस्, त्यसबेला तैँले देहका चिन्ताहरू एकातिर पन्छाउन सक्नुपर्छ र परमेश्वरविरुद्ध गुनासो गर्नुहुँदैन। जब परमेश्वरले आफैलाई तँदेखि लुकाउनुहुन्छ, तँमा उहाँलाई पछ्याउने आस्था हुन सक्नुपर्छ, तैँले आफ्नो पहिलेको प्रेमलाई डगमगाउन र बिलाउन नदिई कायम राख्न सक्नुपर्छ। परमेश्वरले चाहे जे गर्नुभए पनि, उहाँले इच्छा गरेअनुसार उहाँलाई योजनाबद्ध गर्न दिनुपर्छ, अनि उहाँविरुद्ध गुनासो गर्नुको साटो तेरो आफ्नै देहलाई सराप्न इच्छुक हुनुपर्छ। तैँले परीक्षाहरू सामना गर्दा परमेश्वरलाई सन्तुष्ट पार्न, तँ प्रिय वस्तु त्याग्ने पीडा सहन र नराम्ररी रुन इच्छुक हुनुपर्छ। यो मात्र साँचो प्रेम र आस्था हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधन भएर जानैपर्छ)। परमेश्वरका वचनबाट मैले थाहा पाएँ कि उहाँले मेरो आस्था र प्रेमलाई सिद्ध बनाउन, र म आफ्नो गवाहीमा दृढ रहन र सम्पूर्ण कष्ट भोगाइको दौरान परमेश्वरलाई सन्तुष्ट बनाउन सक्छु कि सक्दिनँ भनी हेर्न, मलाई शैतानले सताउने अनुमति दिनुभएको थियो। शैतानले मलाई शारीरिक यातना दिएर परमेश्वरलाई धोका दिलाउन खोज्दै थियो, तर मैले त्यसको सामु हार मान्नु हुँदैनथ्यो। मैले परमेश्वरको अभिप्राय बुझेपछि, आन्तरिक शक्ति पाएँ, र थाहै नपाई, म पीडा सहन सक्ने भएँ।
भोलिपल्ट, प्रहरीले मण्डलीको पैसाका बारेमा सोधिरह्यो। म अझै पनि बोल्ने वाला थिइनँ, त्यसैले एउटाले अश्रुग्याँस निकाल्यो। उसले यसलाई मेरो अनुहारमा हल्लाउँदै भन्यो, “यदि यो वस्तु तेरो अनुहारमा छर्कियो भने, तेरो आँखा र नाकबाट पानी बगिरहनेछ। असह्य पोल्नेछ। तँ अझै बोलिनस् भने, यो प्रयोग गर्नेछौँ।” प्रहरी लिउले रिसाउँदै भन्यो, “यसमाथि खुर्सानी पानी खन्याऔँ—अनि यसले थाहा पाउँछे!” त्यसपछि, तिनीहरूले बाघे कुर्सी ल्याए, र मलाई थर्काउँदै भने, “बोलिनस् भने, तँलाई यसभित्र राखेर करेन्ट लगाएर मार्नेछौँ!” त्यो सुनेर म अति डराएँ—तिनीहरूले साँच्चिकै त्यसरी यातना दिए भने, म सहन सकूँली? त्यसपछि, मनमा परमेश्वरका वचनहरू आए: “यो वा त्यो कुराको डर नमान्, सेनाहरूका सर्वशक्तिमान् परमेश्वर अवश्य नै तेरो साथमा हुनुहुनेछ; उहाँ तेरो सहायक शक्ति हुनुहुन्छ, र उहाँ तेरो ढाल हुनुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय २६)। परमेश्वरका वचनले मलाई शान्त बनाए। यो साँचो थियो—म यो सतावट र कष्ट एक्लै भोगिरहेकी थिइनँ, परमेश्वर मेरै छेउमा हुनुहुन्थ्यो; परमेश्वरले मेरो संरक्षण गर्दै हुनुहुन्थ्यो। प्रहरीले मलाई जति यातना दिए पनि, यस कठिन समयमा परमेश्वरले नै मलाई मद्दत तथा मार्गदर्शन गर्नु हुन्थ्यो। परमेश्वर मेरै साथमा हुनुभएकोले, म डराउनु पर्ने नै थिएन। म अझै नबोल्ने देखेर, प्रहरीले अश्रुग्याँस र प्लास्टिकको झोला ल्याए, अनि मलाई घिसारेर चर्पीमा लगे। तिनीहरूले मेरो टाउको प्लास्टिकको झोला भित्र राख्न लागेको मैले थाहा पाएँ, त्यसैले तिनीहरूले त्यसो गर्नै लाग्दा, मैले गहिरो सास तानेँ र रोकिराखेँ। लगभग ४० सेकेन्डपछि, तिनीहरूले झोला हटाए, र तुरुन्तै मेरो अनुहारमा अश्रुग्याँस छर्किए। मैले अझै पनि सास रोकेरै राखेकीले म निसास्सिइनँ। बरू दुई प्रहरीलाई अश्रुग्याँस परेकाले खोक्न थाले। तिनीहरूले फेरि मेरो टाउकोमा प्लास्टिक झोला राखे, यो पटक एक मिनेट जति। तिनीहरूले फेरि अश्रुग्याँस पहिलो पटक भन्दा धेरै छर्के। अचम्मको कुरा, मेरो घाँटी र अनुहारमा केही पोलेको जस्तो मात्र भयो—अरू कुनै असर भएन। प्रहरीहरूले मलाई फेरि कोठामा फर्काउन बाध्य भए। म अत्यन्त प्रभावित भएँ, मैले वास्तवमै परमेश्वरको काम देखेकी थिएँ, मलाई लाग्यो परमेश्वर छेउमै बसेर मलाई मद्दत गर्दै हुनुहुन्छ। त्यसपछि, तिनीहरूले मलाई थप्पड हाने, मेरा दबाब बिन्दुमा थिचे। मलाई कपाल तान्दै उठबस गराए, र फेरि मेरा हातहरू कुर्सीको सिटमा जबरजस्ती राखे। तिनीहरूले बारम्बार यसरी मलाई सताए; म निरन्तर प्रार्थना गरेर बलियो बनिरहेँ।
चौथो दिनको मध्यान्हसम्म, म अझै पनि तिनीहरूलाई केही नबताउने देखेर, प्रहरी लिउले मेरो चिउँडो कडासँग च्याप्दै क्रूरतापूर्वक भने, “तेरो जस्तो मामिलाको सोधपुछमा समय सीमा हुँदैन। राष्ट्रिय सरकारले तिमीहरूलाई कि त मार्ने, थुन्ने वा जबरजस्ती पश्चात्ताप गराउने आदेश दिएको छ। हामीसँग प्रशस्त समय छ। तँ मुख खोल्दिनस् भने, हामी तँलाई आज दिउँसो साँच्चै नै देखाउनेछौँ!” तिनीहरूले मलाई अब कस्तो यातना दिने हुन् भन्ने डरले मेरो मुटु जोडले धड्किन थाल्यो। म झन् झन् आत्तिँदै थिएँ। मैले मनमनै परमेश्वरसँग आस्था र शक्ति माग्दै उहाँलाई निरन्तर प्रार्थना गरिरहेँ। त्यसपछि मैले उहाँका वचन सम्झेँ: “मेरो ज्योतिको मार्गदर्शनमा, तिमीहरूले अन्धकारको शक्तिको पकडलाई तोड्नेछौ। तिमीहरूले अन्धकारबीच ज्योतिको मार्गदर्शन गुमाउनेछैनौ। तिमीहरू सारा थोकको मालिक बन्नेछौ। तिमीहरू शैतानको अघि विजेता बन्नेछौ। ठूलो रातो अजिङ्गरको राज्यको पतन हुँदा, तिमीहरू मेरो विजयको प्रमाणका रूपमा धेरै मानिसमाझ खडा हुनेछौ। सिनिमको देशमा तिमीहरू दृढ र अटल हुनेछौ। तिमीहरूले सहने कष्टहरूमार्फत्, तिमीहरू मेरा आशिष्हरूका उत्तराधिकारी हुनेछौ, र सम्पूर्ण ब्रह्माण्डभरि मेरो महिमाको ज्योतिलाई चम्काउनेछौ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय १९)। परमेश्वरका वचनले मलाई शक्ति दिए। परमेश्वरले ठुलो रातो अजिङ्गरको क्रूर अत्याचारको बिचमा विजेताहरूको एउटा समूहलाई सिद्ध बनाउनुहुनेछ, यी विजेताहरूले जस्तोसुकै पीडा र कष्टको सामना गरे पनि, तिनीहरू अन्तिमसम्म परमेश्वरप्रति समर्पित भएर उहाँकै उपासना गरिरहनेछन्। जति नै क्रूर भएपनि ठुलो रातो अजिङ्गर पनि परमेश्वरकै हातमा छ; यसले त खालि परमेश्वरका चुनिएका जनहरूलाई सिद्ध बनाउन लागि उहाँकै लागि सेवा गर्दै छ। प्रहरीले मलाई जस्तोसुकै भयानक यातना दिए पनि, मैले केवल साँचो रूपमा परमेश्वरमा भर पर्दै उहाँले मलाई शैतानको अत्याचारमाथि विजय पाउन मार्गदर्शन गर्नुहुन्छ भन्ने विश्वास गरे पुग्थ्यो। परमेश्वरका वचनहरूको मार्गदर्शनले म चिन्तित र भयभीत हुन छाडेँ।
त्यो दिउँसो प्रहरीले यातना दिइरह्यो। प्रहरी लिउले लगातार कान बज्ने गरी मलाई थप्पड हानिरहेको थियो। उसले मेरो कन्चटको रौँ समातेर अगाडि पछाडि तान्यो, त्यसपछि मेरो गर्दन र कानको दबाब बिन्दु अनि कठालोको हड्डी जोडले दबायो। पीडाले रन्थनिएर मेरो त पसिनै छुट्यो। अर्को प्रहरीले मेरो चुल्ठो समातेर उचाल्दै पछार्दै गऱ्यो। उसले त्यसो कम्तीमा ९० पटकसम्म गऱ्यो। म यति धेरै सहन सक्छु भनेर मैले कहिल्यै कल्पनै गरेकी थिइनँ, तर मेरो खुट्टा लाटिने समेत भएन। प्रहरी लिउले मेरो गर्दन वरपरका दबाब बिन्दुमा कडा गरी थिच्यो, र सुरुमा केही दुखे पनि, केही समयपछि म सहन सक्ने भएँ। क्रोधित हुँदै, उसले भन्यो, “तेरो शरीर बलियो रहेछ!” उसले यसो भनेको सुनेर मैले बारम्बार परमेश्वरलाई धन्यवाद दिएँ। मेरो शारीरिक संरचना बलियो थिएन, यो त पूरै परमेश्वरको सुरक्षा थियो। त्यसपछि, तिनीहरूले मेरा हातहरू फेरि कुर्सीको सिटमा राखे। मैले थाहा पाइनँ कति समय बित्यो, तर मेरा हातको दुखाइ असह्य भइसकेको थियो, र सारा शरीर लगातार काँपिरहेको थियो। त्यसै बेला, अफिसर लिउले मलाई चलमलाउनै नसक्ने गरी मेरो अनुहारमा खुट्टाले थिच्यो। उसले आफ्नो खुट्टाले मेरो अनुहार उठायो, उसको जुत्ता मेरो मुखभित्र कोचेर भन्यो, “अझै पनि बोलिनस् भने, मेरो मोजा खोलेर तेरो मुखमा कोच्चाउनेछु। मेरा खुट्टा नराम्रोसँग गन्हाउँछन्।” उसको दुष्ट मुस्कानले मलाई रिस उठायो। म त केवल एउटी विश्वासी थिएँ—मैले कुनै अवैध काम गरेकी थिइनँ, तर, राक्षसहरूको यो गिरोह मलाई यातना दिँदै मसँग खेलिरहेको थियो। मैले आफ्नो अस्तित्वको हरेक तन्तुबाटै तिनलाई घृणा गरेँ। मैले मनमनै परमेश्वरलाई निरन्तर प्रार्थना गरिरहेँ, म दृढ़ खडा रहन सकूँ भन्दै मलाई शक्ति दिन र मेरो हेरविचार गर्नुहुन उहाँलाई अनुरोध गरिरहेँ। बिस्तारै हातको दुखाइ कम हुँदै गयो, र म भुईँमा शान्तसँग बस्न सकेँ। म निकै प्रभावित भएँ—मैले फेरि एक पटक परमेश्वरको कृपा अनुभव गरेँ। म परमेश्वरप्रति निकै आभारी भएँ, आँखाका आँसु रोक्न सकिनँ। पछि, उनीहरूले मबाट पैसाको बारेमा कुनै जानकारी नपाउने देखेपछि, मलाई पश्चात्ताप पत्रमा हस्ताक्षर गर्न बाध्य पार्ने प्रयास गरे। मैले हस्ताक्षर नगरे जेल जानुपर्ने भन्दै यसरी तर्साए: “जेलमा तैँले भोग्नुपर्ने दुःख अत्यन्त कठोर हुन्छ। दैनिक श्रम गराइन्छ, तँ कुटिन्छेस्, गाली खान्छेस्, र मान्छेले खान लायकको खाना पनि दिइँदैन। त्यतिखेर पछुतो गर्कान धेरै ढिला भइसकेको हुनेछ! यसबारे राम्रोसँग सोच्। हस्ताक्षर गर्न अझै समय छ।” मैले सोचेँ, “मेरो आस्थाले कुनै कानुन तोडिरहेको छैन, म यो पत्रमा हस्ताक्षर गर्दिनँ। त्यसो गर्नु परमेश्वरलाई धोका दिनु र लज्जित बनाउनु हो। जेलमा परिस्थिति जस्तोसुकै कठिन भए पनि, म परमेश्वरमा भर परेर अडिग रहन तयार छु।” अनि, मैले जवाफ दिएँ, “म हस्ताक्षर गर्दिनँ।” तिनीहरूले रिसाउँदै, “ठिक छ! तँलाई कष्ट सहनु नै छ भने त्यसै गर्” भने, अनि बाहिर गए।
अगस्टको सुरुमा, मलाई मेरो गाउँको स्थानीय सार्वजनिक सुरक्षा निकायमा स्थानान्तरण गरियो। प्रहरीले मलाई सोधपुछका लागि सीधै एउटा होटेलमा लगे। मलाई सम्झना छ, त्यहाँ ६ प्रहरी थिए। दुई दुई जनाको समूहमा पालो गरी मलाई निगरानी गर्थे र सुत्न दिँदैनथे। तिनीहरू यसलाई “चील थकाउनु” भन्थे—मानिसको उत्साह तोड्नका लागि लामो समयसम्म सुत्न नदिने, त्यसपछि, भ्रमित अवस्था भएको बेला सोधपुछ गर्ने र स्वीकार गराउने। यो प्रहरीले प्रयोग गर्ने यातनाको सामान्य रूप हो। सुरुमा तिनीहरूले मेरो दिमाग भुट्ने कोसिस गरे, नास्तिकता र विकासवादको कुरा गरे, मलाई परमेश्वरको इन्कार र विरोध गर्ने सबै प्रकारका विधर्म र भ्रामक कुराहरू सुनाए। कहिलेकाहीँ उनीहरूले मलाई परमेश्वरको निन्दा गर्ने र सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई बदनाम गर्ने भिडियोहरू देखाउँथे—यो निकै घिनलाग्दो कुरा थियो। मैले सुरुमा तिनीहरूसँग विवाद गरेँ, तर पछि तिनीहरू परमेश्वरविरोधी राक्षस, परमेश्वरका शत्रुहरू हुन् भन्ने जानेपछि, मैले जे जति भने पनि आफ्नो ऊर्जा मात्रै नष्ट गरिरहे झैँ लाग्यो। त्यसपछि, मैले तिनीहरूलाई उपेक्षा गरेँ। एउटा प्रहरीले मलाई पढ्न भनेर केही ल्यायो जसमा परमेश्वरको निन्दा मात्र गरिएको थियो। जब मैले त्यो पढ्न इन्कार गरेँ, उसले मलाई जोडले थप्पड हान्यो विकृत मुस्कुराहट देखाउँदै मलाई धम्की दियो: “यदि तैँले यो पढिनस् भने तेरा सबै लुगा खोलेर यो निन्दा तेरो शरीरभरि टाँसिदिनेछौँ।” मैले ती राक्षसहरूलाई भित्रैदेखि घृणा गरेँ, तिनीहरूले यस्तो घृणित र फोहोरी तरिका प्रयोग गरेर मलाई परमेश्वरलाई धोका दिन बाध्य बनाउन खोजिरहेका थिए। मैले आफ्नो जीवनको कसम खाएर कहिल्यै परमेश्वरको निन्दा नगर्ने दृढ सङ्कल्प गरेँ। मैले आफ्नो अनुहार अर्कोतिर फर्काएँ र तिनीहरूलाई बेवास्ता गरेँ। म त्यहाँ हुँदा, मैले झप्की लिन सुरु गर्ने बित्तिकै एउटा प्रहरीले कराउँदै भन्थ्यो, “सुत्ने होइन!” ती क्षणहरूमा, म मनमनै प्रार्थना गर्थेँ, चुपचाप परमेश्वरका केही वचनहरू दोहोर्याउँथेँ, वा मनमनै भजन गाउँथेँ। थाहै नभई, मलाई त निद्रा लाग्नै छाडेछ। जति समय बित्यो, मैले उति नै ऊर्जा पाएँ; अर्कोतिर प्रहरीहरू चैँ बरू टुट्ने बिन्दुमा पुगिरहेका थिए—तीमध्ये केही त बिरामी नै भए। यसरी, मैले परमेश्वरका वचनमाथि भरोसा गरेर आठ दिनको “चील थकाउने” यातना पार गरेँ। म यसबाट साँच्चै प्रभावित भएँ। म एक्लैको प्रयासले यति दिनसम्म नसुती रहँदा ममा कुनै ऊर्जा बाँकी हुने थिएन। यो पूर्ण रूपमा परमेश्वरकै काम हो भन्ने मलाई थाहा थियो, र म परमेश्वरको संरक्षणका लागि धेरै आभारी भएँ। यसले थप सोधपुछ गर्दा पनि परमेश्वरप्रतिको मेरो गवाहीमा म दृढ रहन सक्छु भन्ने मेरो आत्मविश्वासलाई बलियो बनायो। म अझै पनि नबोलेको देखेर, एउटाले रिसाउँदै मलाई थप्पड हान्यो, मलाई कुर्सीबाट तानेर निकाल्यो, मेरो कपाल समात्यो र मलाई भुईँ र पर्खालमा बजार्यो। त्यसपछि उसले मलाई दह्रोसँग समात्यो र म हलचल गर्न नसक्ने गरी मेरो देब्रे खुट्टामा टेक्यो, अनि अर्कोले मेरो दाहिने खुट्टामा लात्ताले हान्यो जसले मेरा खुट्टाहरू १२० डिग्री जति च्यात्तिए। म पीडाले चिच्याएँ। एक मिनेटसम्म त्यसरी नै राखेर बल्ल मलाई छोडे, र एउटाले धम्की दिँदै भन्यो, “तँ चुप लागिरहिस् भने तँलाई नाङ्गो बनाउनेछौँ, झुन्ड्याउनेछौँ र पिटेर छाला फुटाउनेछौँ! चीनमा परमेश्वरमा विश्वास गर्नु राजनीतिक अपराध हो। पहिले जस्तो भएको भए तँ गोली हान्ने दस्ताबाट मारिएकी हुन्थिस्, तर अहिले हामी तँसँग जनावरजस्तो व्यवहार गर्न सक्छौँ। हामी तँलाई जे मन लाग्यो त्यही गर्न सक्छौँ!” उसले यस्तो भनेको सुनेर मलाई निकै रिस उठ्यो, तर म धेरै चिन्तित पनि थिएँ। ती राक्षसहरूले मलाई अब कस्तो यातना दिन्छन् र अपमान गर्छन् भन्ने थाहा थिएन। तिनीहरूले मेरो सबै लुगा खोलेर मलाई झुन्ड्याए भने के होला? मेरो पिडाबिच, मैले लगातार परमेश्वरलाई प्रार्थना गरेँ, म दृढ रहन सकूँ भनेर उहाँसँग शक्ति र सुरक्षा मागेँ। प्रार्थनापछि, मैले “परमेश्वरको राज्य” नामक भजन सम्झेँ।
…………
2 … परमेश्वर मेरो सहारा हुनुहुन्छ, किन डराउनु? म लड्छु शैतानसित आखिरीसम्म परमेश्वर हामीलाई उचाल्नुहुन्छ, यसैले सबैलाई छोडेर, ख्रीष्टको गवाही दिन लड्नु। परमेश्वरले निश्चय पृथ्वीमा उहाँको इच्छा पूरा गर्नुहुनेछ। म मेरो प्रेम, बफादारीता, र भक्ति उहाँलाई दिन्छु। म उहाँको आगमनलाई स्वागत गर्दछु, जब उहाँ महिमामा आउनुहुन्छ। जब ख्रीष्टको राज्य साकार हुन्छ, म फेरि उहाँलाई भेट्नेछु।
3 … धेरै जना विजयी, असल सिपाहीहरू कठिनाइहरूबाट आउँछन्। परमेश्वरको साथमा विजयी भई, हामी अहिले उहाँका गवाही हौं। त्यो दिनलाई हेर, जब परमेश्वरले महिमा पाउनुहुन्छ, त्यो चाँडै आउँदैछ। सबै मानिसहरू यो पर्वततिर बढ्छन्, परमेश्वरको ज्योतिमा हिँड्दै। त्यो राज्यको ठूलो भव्यता सारा संसारभरि देखिनुपर्छ। …
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
यो भजनले मेरो मनमा वास्तवमै केही भावना जगायो। आफ्नो आस्थामा यस्तो उत्पीडन र कष्टको अनुभव हुनु, र शैतानसामु परमेश्वरको गवाही दिने मौका पाउनु मेरा लागि सम्मानको कुरा थियो। मैले प्रभु येशूले काम गरिरहेको समयलाई फर्केर हेरेँ; उहाँका धर्मदूत र चेलाहरूले उहाँको सुसमाचार फैलाउने प्रयास गर्दा यातना सहनु परेको थियो। केहीलाई ढुङ्गाले हानेर मारियो, केहीलाई तानेर टुक्रा टुक्रा पारियो, तर ती सबैले परमेश्वरको शानदार गवाही दिँदै शैतानमाथि विजय पाए। आखिरी दिनहरूमा, परमेश्वरले देहधारी भई काम गर्न, मानिसलाई पापबाट पूर्ण रूपमा मुक्ति दिन र हामीलाई सुन्दर गन्तव्यमा पुऱ्याउन आउनुभएको छ। तर कम्युनिस्ट पार्टी दुष्ट पार्टी हो जसले परमेश्वरको विरोध र घृणा गर्छ। यसले मानिसलाई परमेश्वर माथि आस्था राखी उहाँको आराधना गर्न दिँदैन, र उन्मत्त भएर इसाईहरूलाई दबाउँछ र सताउँछ। यति धेरै ब्रदर-सिस्टरलाई पक्राउपछि निर्दयी तरिकाले यातना दिइएको छ, तर परमेश्वरमा भर परेर तिनीहरूले सुन्दर गवाही दिन सके। मलाई थाहा थियो, मैले तिनीहरूको उदाहरण अनुसरण गर्नुपर्छ, म शारीरिक पीडा र अपमानबाट डराउन हुँदैन, बरु आफ्नो गवाहीमा दृढ भएर शैतानलाई लज्जित पार्नुपर्छ।
केही दिनपछि प्रहरीले फेरि सोधपुछ सुरु गर्यो, मेरा ब्रदर-सिस्टरलाई बेच्न र मण्डलीको पैसाको बारेमा बताउन मलाई बाध्य पार्न खोज्दै थियो। तर मैले तिनीहरूलाई केही भनिनँ, त्यसैले तिनीहरूले मलाई भित्तामा अडेस लागेर बस्न लगाए र जबरजस्ती मेरा खुट्टा च्यातिदिए। एउटा प्रहरीले मेरो देब्रे खुट्टा समात्यो, र म हलचल गर्न नसक्ने गरी हात समात्यो, अनि अर्कोले मेरो दाहिने खुट्टा अर्को छेउमा रहेको भित्तासम्म पुग्ने गरी नराम्रोसँग लात हान्यो। मेरो शरीरभरि गहिरो पीडाका झट्का महसुस भइरहेको थियो। तिनीहरूले मलाई राति ८ बजेदेखि ११ बजेसम्म लगातार यातना दिए। तिनीहरूले कति पटक मलाई त्यस्तो गरे सम्झना छैन। अन्तमा, तिनीहरूले मेरो दाहिने खुट्टा भित्तामा टाँसेर १८० डिग्रीसम्म च्यातिने गरी थिचे म भुईँमा थचक्क भएँ, पूरै शक्तिविहीन भएकी थिएँ। सूर्य उदाएपछि, मैले आफ्ना दुवै खुट्टा सुन्निएका र निलो भएका देखेँ। विशेष गरी मेरो दायाँ भित्री जाँघ पूरै निलो थियो, उठेर बाथरुम जान पनि अत्यन्त कठिन थियो। चर्पीमा बस्नका लागि पनि कसैको सहयोग चाहिन्थ्यो। एउटा प्रहरीले मलाई तर्साउन खोज्दै भन्यो, “तेरा खुट्टाहरू यस्तै भएको बेला, हामीले यातना दिइराख्यौँ भने हिजोको भन्दा दोब्बर कष्टकर हुनेछ। हरेक पटक अझ बढी पीडा हुनेछ। बस छिट्टै स्वीकार गरिहाल्!” मैले उनीहरूलाई केही पनि नभनिरहेकी देखेर, अर्को प्रहरीले क्रूरतापूर्वक मेरो खुट्टा च्यात्तिने गरी तान्यो, र ९० डिग्रीभन्दा धेरै च्यात्दा मलाई असह्य पीडा भयो। म सहन नसकी चिच्याएँ। उसले भन्यो, “यति मात्र च्यात्दा यति दुख्यो? म तँलाई स्पष्ट भन्छु। यो यातना खास गरी महिला विशेष एजेन्टहरूका लागि प्रयोग गरिन्छ। के तेरो शरीरले यसलाई सहन सक्छ? यसलाई विचार गर्।” अर्को मोटो प्रहरीले भन्यो, “मैले अघि सोधपुछ गरेका सबै मानिस हत्यारा हुन्। अन्तमा, तिनीहरू सबैले बाउ-आमा पुकारेर रुँदै स्वीकार गरे। तिनीहरू त्यस प्रकारको पीडा सहनुभन्दा त मर्न तयार थिए।” यो मेरा लागि सुन्दै डरलाग्दो कुरा थियो। अपराधीहरू उसको यातना खप्नुभन्दा मर्नु राम्रो ठान्थे—यो पक्कै पनि कुनै भयानक यातना हुनुपर्छ! मर्नु बरु निको हुने गरी यति धेरै यातना सहनुपर्ने सोचले मेरो मुटुको ढुकढुकी बढ्यो। मैले परमेश्वरलाई एकपछि अर्को गरी मनमनै प्रार्थना गरिरहेकी थिएँ। त्यही बेला, मैले प्रभु येशूले भनेका केही कुरा सम्झेँ: “अनि शरीर मार्ने तर आत्मा मार्न नसक्नेहरूसँग नडराओ, तर उहाँसँग डराओ जसले आत्मा र शरीर दुवै नरकमा नष्ट पार्न सक्नुहुन्छ” (मत्ती १०:२८)। साथै, सर्वशक्तिमान परमेश्वरका वचन पनि सम्झेँ: “जब मानिसहरूले आफ्नो जीवन बलिदान दिन तयार हुन्छन्, सबै कुरा तुच्छ बन्छ, र त्यतिको उत्तम कुरा कसैले पनि गर्न सक्दैन। जीवनभन्दा महत्त्वपूर्ण कुरा अरू के हुन सक्छ र? तसर्थ, मानिसहरूमा थप कुनै काम गर्न शैतान असमर्थ हुन्छ, यसले मानिसलाई गर्न सक्ने कुरा केही पनि छैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय ३६)। परमेश्वरका वचनले मेरो शक्ति बढाए। प्रहरीले मलाई निर्दयतापूर्वक यातना दिन सक्थ्यो, तर तिनीहरूले मेरो देहगत अस्तित्व मात्र खोस्न सक्थे। मेरो आत्मालाई छुन सक्दैनथे। मैले शारीरिक कष्टको डरले परमेश्वरलाई धोका दिएँ भने, मैले यहुदाको रूपमा तुच्छ जीवन जिउनुपर्ने हुन्थ्यो, अनि, अन्तमा मेरो मन, आत्मा, र शरीर सबै दण्डित हुने थिए। शैतानले मलाई परमेश्वरलाई धोका दिने बनाउन मेरा देहगत कमजोरी प्रयोग गर्दै थियो, र म यसका चालहरूमा फस्न मिल्दैनथ्यो। प्रहरीले मलाई जसरी यातना देओस्, मलाई कुटेरै मारिए पनि, म मेरो गवाहीमा खडा रहन र शैतानलाई लज्जित पार्न दृढ थिएँ।
त्यसपछि, प्रहरीले मलाई कैयौँ दिनसम्म सोधपुछ गरिरहे, फेरि खुट्टा च्यातिदिने धम्की दिइरहे। उनीहरूले मलाई यातना कक्षमा लगेर हरेक प्रकारका कठोर यातना दिने र मैले मण्डलीका बारे जानकारी नदिएसम्म यातना नरोक्ने बताए। मैले खुट्टा च्यात्दाको पीडा सम्झेँ—मेरा खुट्टाहरू मेरो शरीरबाट जबरजस्ती चुँडाउन लागेको जस्तो भएको थियो। म फेरि कहिल्यै त्यो असह्य पीडा सहन चाहन्नथेँ। मलाई के लाग्यो भने, त्यस्तो भयानक यातना सहनुभन्दा त मर्नु निको। मैले भोक हडताल सुरु गरेँ, कैयौँ दिनसम्म खाना खाइनँ। प्रहरीले रिसाएर चिच्याउँदै मैले खाना खान नमाने जबरजस्ती खुवाउने बताए। तर्सिँदै, अन्तत: मैले परमेश्वरकै अभिप्राय खोज्नुपर्छ भन्ने बुझेँ। त्यसै बेला, मैले परमेश्वरका वचन सम्झेँ: “केही मानिसहरूको दुःख चरम सीमामा पुग्छ, र तिनीहरूका विचारहरू मृत्युमा बदलिन्छन्। यो परमेश्वरप्रतिको साँचो प्रेम होइन; त्यस्ता मानिसहरू कायरहरू हुन्, तिनीहरूमा कुनै दृढता हुँदैन, तिनीहरू कमजोर र शक्तिहीन छन्! … यसैले, यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्वरको गवाही दिनैपर्छ। तिमीहरूका दुःख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्वरप्रति विश्वासयोग्य हुनैपर्छ र उहाँको योजनाबद्ध कार्यको कृपामा हुनैपर्छ; यो मात्रै परमेश्वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्)। परमेश्वरका वचनबाट मैले देखेँ शारीरिक कष्टका डरले मृत्यु माग्नु कायरता हो। यस प्रकारले त मैले परमेश्वरको महिमा बढाउन नसक्ने मात्र होइन, म शैतानको हाँसोको पात्र समेत बन्ने थिएँ। परमेश्वरले मबाट शैतानसामु उहाँको गवाही दिने, आखिरी साससम्म उहाँप्रति समर्पित हुने र शैतानको अघि कहिल्यै नझुक्ने आशा गर्नुभएको थियो। त्यो शैतानलाई प्रत्युत्तर दिने बलियो गवाही थियो। मैले परमेश्वरको अभिप्राय बुझेपछि, खाना खान सुरू गरेँ। तर प्रहरीको हातबाट निरन्तर यातना खप्नुपर्ने सम्भावनाको बारेमा सोच्दा, यो कहिले अन्त्य होला भन्ने थाहा नपाएर, मैले हृदयमा केही कमजोरी महसुस गरेँ। त्यसपछि, मैले एउटा भजन सम्झेँ, “प्रभु येशूको अनुकरण गर”: “यरूशलेमतर्फ जाने बाटोमा येशू ठूलो वेदनामा हुनुहुन्थ्यो, मानौं उहाँको मुटुमा छुरी रोपेको थियो, तापनि उहाँमा आफ्नो वचनबाट पछि फर्कने अलिकति पनि इच्छा थिएन; सधैँ एउटा प्रबल शक्तिले काम गरिरहेको थियो, र त्यो शक्तिले उहाँलाई क्रूसमा टाँगिने स्थानतर्फ बढ्न बाध्य बनायो। अन्त्यमा, उहाँलाई क्रूसमा टाँगियो र मानवजातिको छुटकाराको काम पूरा गर्दै उहाँ पापी मानिस सरह हुनुभयो। उहाँ मृत्यु र पातलका बन्धनहरू तोडेर स्वतन्त्र हुनुभयो। उहाँको सामुन्ने मृत्यु, नरक र पातालले आफ्नो शक्ति गुमाए, र उहाँद्वारा पराजित भए” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरका अभिप्रायहरू अनुसार कसरी सेवा गर्ने)। परमेश्वरका वचनहरू मनन गर्दा प्रभु येशूले मानवजातिलाई छुटकारा दिने आफ्नो काम पूरा गरिरहँदा उहाँलाई रोमी सिपाहीहरूले कसरी कोर्रा हानेका थिए, कसरी काँडा भएका मुकुट लगाउनु पर्यो, कसरी पीडा सहँदै उहाँको क्रुसीकरण हुने ठाउँसम्म हरेक पाइला चाल्नुभयो भन्ने सोच्न बाध्य भएँ। अन्तमा, उहाँले अकल्पनीय पीडा सहँदै क्रुसमा आफ्नो अन्तिम थोपा रगत बगाउनुभयो। हामीलाई मुक्ति दिन, परमेश्वरले कुनै हिचकिचाहट बिना आफ्नो जीवन त्याग्नुभयो—परमेश्वरको प्रेम कति महान् छ! तर म भने, उम्कन नसक्ने खालको भयानक यातना देखेपछि, आफूले अरू थप कष्ट सहनै चाहिनँ। मैले परमेश्वरका लागि गवाही दिने सङ्कल्प गुमाएँ। मलाई यो असाध्यै लाजमर्दो कुरा लाग्यो। परमेश्वरले हाम्रा लागि आफ्नो जीवनको बलिदान दिन सक्नुभयो, अनि मैले किन उहाँको प्रेम चुकाउन आफूलाई अर्पित गर्न सकिनँ? परमेश्वरको प्रेम महसुस गर्दा, मेरा गालाबाट आँसु बगिरहे। मैले मनमनै प्रार्थना गरेँ, “हे परमेश्वर, मैले जति लामो समय वा जति धेरै कष्ट सहनु परे पनि, म आफ्नो गवाहीमा दृढ रहन चाहन्छु!”
त्यो साँझ भुईँबाट उठेर बस्दा, मैले सम्पूर्ण शरीरमा शक्ति महसुस गरेँ र म धेरै राम्रो मनस्थितिमा थिएँ। एउटा प्रहरीले मण्डलीबारे जानकारी माग्दै मलाई सोधपुछ गरिरहे। मैले उसलाई दृढतापूर्वक भनेँ, “म तिमीहरूलाई केही पनि भन्ने वाला छैन।” ऊ रिसाएर ढोका बजाउँदै गयो। केही समयपछि नै, प्रहरीले नयाँ सोधपुछ कुर्सी ल्यायो, मलाई त्यसमा हतकडी लगाएर बसायो, र भोलिको दिन मेरा लागि भयानक हुनेछ भन्यो। राति अबेरतिर, मलाई निगरानी गर्ने दुवै प्रहरी निदाएका देखेँ, त्यसैले म हतकडीबाट फुत्कन सक्छु कि भन्ने कोसिस गरेर हेर्ने निर्णय गरेँ। अचम्म, हतकडी खुकुला रहेछन् र मेरा हात सजिलै बाहिर निस्किए। मैले मनमनै प्रार्थना गरेँ, “हे परमेश्वर, के यो तपाईँले मेरा लागि बाटो खोलिरहनुभएको हो? मलाई थाहा छैन यो कोठा बाहिर के छ वा म कहाँ भाग्न सक्छु। म आफूलाई तपाईँकै हातमा राख्दै छु—बिन्ती मलाई मार्गदर्शन गर्नुहोस्!” प्रार्थनापछि, म सोधपुछ कुर्सीबाट लुसुक्क निस्केँ र ढोकानेर पुगेँ। मैले बिस्तारै ढोका खोलेँ र होटेलको प्रवेशद्वारतिर दौडिएँ। अचम्म, प्रवेशद्वारका गार्डहरू पनि टेबलमा झुकेर निदाइरहेका थिए, त्यसैले, म कुनै सङ्घर्ष बिना होटेलबाट निस्किएँ र गल्लीतिर भागेँ। मेरा खुट्टामा नराम्रोसँग चोट लागेको थियो, तर त्यो क्षणमा, अचम्म लाग्दो गरी खुट्टा दुख्दै दुखेनन्। म बस ज्यान बचाउन भागेँ। म निक्कै आत्तिएकी थिएँ, प्रहरीले मलाई समातेर फिर्ता लैजालान् भनी डराएकी थिएँ। कहाँ जाने मलाई थाहा थिएन, अनि मैले आफ्ना ब्रदर-सिस्टरहरूलाई खतरामा पार्छु कि भन्ने डरले उनीहरूकहाँ जाने हिम्मत गरिनँ। मलाई हालसालै मेरो परिवारले किनेको घर याद आयो जसको बारेमा प्रहरीले सम्भवत: अहिलेसम्म थाहा पाएको थिएन। म त्यहाँ गएर केही समय लुक्न चाहन्थेँ, त्यसैले म छिटो गरेर घरतिर दौडिएँ। म त्यहाँ पुगेकी मात्र के थिएँ मेरी आमा आउनुभयो। उहाँले आत्तिँदै भन्नुभयो, “प्रहरीले तिम्रो फोटो देखाउँदै जताततै तिम्राबारे सोधिरहेका छन्। तिमी यहाँ बस्न हुँदैन—तिमी अहिले नै निस्कनुपर्छ।” यसले म निकै अत्तालिएँ, र मेरो मुटु जोडले धड्किन थाल्यो। मैले तुरुन्त घुँडा टेकेर प्रार्थना गरेँ, “हे परमेश्वर, कहाँ जाने मलाई थाहा छैन। बिन्ती मलाई मार्गदर्शन गर्नुहोस्। मेरो भाग्ने प्रयास सफल हुन्छ-हुँदैन मलाई थाहा छैन, तर म सबै कुरा तपाईँकै हातमा, तपाईँकै बन्दोबस्तमा छाड्दै छु। यदि म उम्कन सकिनँ भने, म आफ्नो गवाहीमा दृढ रहन ज्यान दिन तयार छु।” प्रार्थनापछि बिस्तारै मन हल्का भयो। त्यसपछि, मेरो बुबाले मलाई आफ्नो इलेक्ट्रिक स्कुटरमा लिएर हिँड्नुभयो। हामी अपार्टमेन्ट परिसरको पछाडिको ढोका पुग्नै लागेको बेला, मलाई सोधपुछ गर्ने प्रहरीहरू नै, नजिकै मेरो फोटो देखाउँदै बाटोमा हिँडनेलाई सोधिरहेको मैले देखेँ। मेरो मुटु घाँटीमा आयो र म पसिनाले निथ्रुक्क भएँ। उनीहरूको ध्यान अन्यत्रै भएको बेला, म स्कुटरबाट ओर्लिएँ, र लुक्नलाई नजिकैको भवनमा पसेँ। मेरो बुबा शान्त रहेको अभिनय गर्दै अघि बढ्नुभयो। म निरन्तर परमेश्वरलाई प्रार्थना गर्दै मार्गदर्शन गर्न बिन्ती गरिरहेकी थिएँ। लगत्तै मेरो बुबा प्रहरी गए भन्दै मलाई लिन फर्कनुभयो। कसैले पनि अपार्टमेन्ट परिसरको पछाडिको गेटतिर हेरिरहेका थिएनन्, त्यसैले त्यही मौकामा म त्यहाँबाट निस्केँ। केही बाधा अवरोधपछि, मेरा ब्रदर-सिस्टरहरूको सहयोगले, मैले लुक्नका लागि तुलनात्मक रूपमा सुरक्षित ठाउँ फेला पारेँ।
पछि मैले सुनेँ, त्यही दिन, आमाबुबाको घरबाट निस्केको केही समयपछि नै प्रहरीका धेरै कारहरू आएर अपार्टमेन्ट परिसरलाई घेरेका थिए। उनीहरूले कैयौँ दिन घरघर गएर तलासी गरेका थिए। तिनीहरूले मेरो आमाबुबाको घर फेला पारेपछि लथालिङ्ग बनाएका थिए, मेरो बुबालाई मेरो ठेगानाबारे सोधपुछ गर्न प्रहरी चौकी लगे। त्यो मात्र होइन, तिनीहरूले मेरो आमाबुबाको घरको ठिक सामुन्ने उच्च क्षमताको क्यामेरा लगाए। प्रहरीले मेरो हजुरआमाको घरमा पनि गएर मेरो निकै खोजतलास गरे। जब छिमेकमा बस्ने एक वृद्ध महिलाले छेउमा उभिएको व्यक्तिलाई केही भनिन्, प्रहरीले उनलाई मलाई सुम्पन आदेश दिए, र उनलाई प्रहरी चौकीमा लगेर रातभर राखे। त्यसपछि तिनीहरूले मेरो आन्टीलाई पक्रेर म कहाँ छु भनेर सोधपुछ गरे। मेरा सबै आफन्त प्रहरीको निगरानीमा थिए। मैले यो कुरा सुनेपछि म निकै क्रोधित भएँ। कम्युनिस्ट पार्टी साँच्चै पागल छ—मेरो आस्थाले कुनै कानुन तोडेको थिएन, तर पनि तिनीहरूले मलाई समात्ने कोसिसमा कुनै कसर बाँकी राखेनन्। मैले परमेश्वरका वचनको यो कुरा सम्झिएँ: “प्राचीनका पुर्खाहरू? प्रिय अगुवाहरू? तिनीहरू सबैले परमेश्वरको विरोध गर्छन्! तिनीहरूका हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै पाप ढाक्ने युक्तिहरू हुन्। … सहस्राब्दीदेखिको घृणा हृदयमा जमेको छ, हजारौं वर्षको पापमय अवस्था हृदयमा कुँदिएको छ—यसले कसरी घृणा पैदा गर्दैन? परमेश्वरको लागि बदला लेऊ, उहाँको शत्रुलाई पूर्ण रूपमा नाश पार, त्यसलाई अब जथाभाबी दगुरि हिँड्न नदेऊ, र त्यसलाई तानाशाहीले जस्तो शासन गर्न नदेऊ! समय अहिले नै हो: त्यस दियाबलसको घृणित अनुहार तोड्न र अन्धो पारिएका र हरप्रकारका दुःख र कठिनाइ झेलेका मानिसहरूलाई तिनीहरूको पीडाबाट उठ्ने र त्यो बूढो दियाबलसको विरुद्ध विद्रोह गर्नका निम्ति मानिसले धेरै समयदेखि आफ्ना सबै शक्ति जम्मा गर्दैआएको छ, उसले आफ्ना सबै प्रयासहरू समर्पण गरेको छ र यसका लागि हरेक मूल्य चुकाएको छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (८))। परमेश्वर आखिरी दिनहरूमा देहधारण गरी मानिसलाई मुक्ति दिन सत्यता व्यक्त गर्दै हुनुहुन्छ। उहाँले हाम्रो मुक्ति र स्वर्गको राज्यमा प्रवेशका लागि सुसमाचार ल्याउनुभएको छ, तर कम्युनिस्ट पार्टीले मानिसलाई परमेश्वरमा आस्था राख्न र उहाँलाई पछ्याउन दिँदैन। यसले उन्मत्त भएर इसाईहरूलाई पक्राउ गरी सताउँछ, क्रूरतापूर्वक यातना दिन्छ, हामीलाई जेलमा हाल्छ र अपाङ्ग बनाउँछ वा मार्छ। कम्युनिस्ट पार्टी अधोलोकको दुष्ट राक्षस हो! जति जति यसले दमनलाई तीव्र बनाउँछ, उति नै म यसको दानवीय सारलाई स्पष्ट देख्छु, र त्यति नै म यसलाई हृदयदेखि घृणा गर्छु र यस विरुद्ध विद्रोह गर्छु। म जीवनमा परमेश्वरलाई पछ्याइरहने कसम खान्छु।
यस पक्राउ र सतावटको अनुभवले मलाई परमेश्वरको सर्वशक्तिमान् शासन र उहाँका अद्भुत कार्यहरू देखायो। सङ्कटको समयमा, परमेश्वरले मलाई हेरचाह गर्नुभयो ताकि म शैतानको पाशविकतामाथि विजय पाउन सकूँ। ती परमेश्वरकै वचनहरू थिए जसले मलाई बारम्बार शक्ति र आस्था दिए। मैले साँच्चै नै उहाँका वचनहरूको शक्ति र अख्तियारको अनुभव गरेँ, र मेरा लागि उहाँको प्रेम र संरक्षण महसुस गरेँ। म परमेश्वरप्रति आभारी छु र हृदयदेखि नै उहाँको प्रशंसा गर्छु!