८६. स्नेहको कारण आफ्नो मन कमजोर नपार्नुहोस्
सन् २०१५ को जून महिनामा, म सुसमाचार डिकनको रूपमा सेवा गर्न एउटा मण्डलीमा गएँ। ली जीय नाउँ गरेकी महिला पानी हाल्ने टोलीमा थिइन्, र हामीले निकै चोटी सँगै काम गर्नुपऱ्यो। हामी दौँतरी थियौँ। हाम्रो जिउने तरिका एकै प्रकारको थियो र व्यक्तित्व पनि समान थियो। हामी पतिबाट भएका दमनका अनुभव पनि बताउँथ्यौं—हाम्रा धेरै कुरा समान थिए। हाम्रो एकदमै ठ्याक मिल्थ्यो। अनि, म त्यस मण्डलीमा नयाँ भएकोले अरू सदस्यलाई चिन्दिनँथेँ र मेरो कर्तव्यमा थुप्रै चुनौतीहरू थिए। तिनले मसित सङ्गति गर्थिन्, मलाई धेरै मदत गर्थिन्, र तिनको जीवनमा समस्या आइपर्दा म पनि सधैँ साथ दिन्थेँ। समय बित्दै जाँदा, हामीले आफ्ना भित्री विचार र भावनाहरू साटासाट गर्न थाल्यौँ। हाम्रो सम्बन्ध घनिष्ठ थियो र हाम्रो एकदमै ठ्याक मिल्थ्यो।
पछि, म मण्डली अगुवा भएँ र हाम्रो त्यति धेरै सम्पर्क हुन पाएन। केही महिना यस्तैमा बित्यो र धेरै दाजुभाइ-दिदीबहिनीले ली जीयमा समस्याहरू छन् भनेर कुरा गरेको मैले सुनेँ। तिनीहरूले भने, तिनी एकदमै अहङ्कारी छिन्, र अरूमा समस्या देखिँदा तिनीहरूप्रति सहनशील नहुने मात्र होइन, गाली गर्ने र र होच्याउने पनि गर्छिन्। सबैले तिनीद्वारा विवश पारिएको महसुस गर्छन्। कोही इन्चार्जले तिनलाई यो कुरा औँल्यादिए तर तिनले स्वीकार गर्न इन्कार गर्दै अशिष्ट व्यवहार देखाइन्। तिनले भेलामा निकै बाधा पुऱ्याइरहेकी थिइन्। तिनले अरूको सङ्गति स्वीकार गर्दिनथिइन्, तर केवल अरूमाथि दोष थोपर्थिन्। सबैले भन्थे, तिनीसित आत्माको कामको कमी छ, तिनको सङ्गति भद्रगोल र नबुझिने छ, र कहिलेकहीँ अरू मानिसलाई चोट पुऱ्याउँछिन्। तिनले केही महिनादेखि नवप्रवेशीलाई राम्रोसित पानी हालिरहेकी थिइननन्। यी सब सुन्दा, तिनी उप्रान्त पानी हाल्ने कर्तव्यको लागि योग्य छैनन् भन्ने मलाई लाग्यो। केही सहकर्मीहरूले मण्डलीको काममा ढिलाइ हुने भन्दै तिनलाई हटाउन सुझाव दिए। त्यस कुराले म एकदमै अप्ठ्यारोमा परेँ—म तिनलाई निकाल्न चाहन्नथिएँ। म त्यस मण्डलीमा नौलो हुँदा ली जीयसँग नै मेरो पहिलो भेट थियो र तिनले मलाई धेरै मदत गरिन्। हामीबीच एकदम राम्रो सम्बन्ध थियो, त्यसैले, तिनलाई हटाउन म राजी भएँ भने, तिनले के सोच्लिन्, कतै मलाई निष्ठुर ठान्छिन् कि भनेर म डराएँ। अनि तिनी प्रसिद्धिको असाध्यै ख्याल गर्थिन्, त्यसैले, आफूलाई हटाइँदा तिनी दुःखी हुँदिनन् र? त्यसरी सोच्दा तिनलाई हटाउन मेरो मन मानेन। मैले बहाना बनाएँ, त्यो के हो भने, ली जीयले अहिले राम्ररी काम गरिरहेकी छैनन्, तर यो तिनको मात्र गल्ती होइन। तिनले पानी हालेका नवप्रवेशीहरू धार्मिक धारणामा अल्झिएका र सिकाइमा सुस्त छन्, त्यसैले तिनीबाट राम्रो काम नहुनु सामान्य कुरा हो। साथै, तिनी रगत-पसिना एक गरेर घण्टौँ काम गर्न सक्छिन्। हामीले तिनलाई हटाउँदा तिनको ठाउँमा अर्को राम्रो व्यक्ति पाउन केही समय लाग्छ, त्यसैले, कोही नहुनुभन्दा कानो मामा नै निको। मेरो यो कुरा सुन्दा केही सहकर्मीहरू अनकनाए। केही समयका लागि त्यस कर्तव्यमा तिनलाई नै राख्न र तिनको ठाउँमा अर्को व्यक्ति खोज्न सबै जना मन नपरी नपरी सहमत भए। मैले राहतको सास फेरेँ, तर मैले के पनि सोचिरहेकी थिएँ भने, तिनलाई अहिले ननिकालिए पनि, अर्को राम्रो मान्छे भेट्टाएपछि तिनलाई निकाल्नुपर्ने हुन्छ। हुन सक्छ, यदि मैले मदत गरेँ भने तिनको काममा सुधार आउन सक्छ र तिनले आफ्नो कर्तव्य गरिरहन सक्छिन्। त्यसैले, त्यो रात साँझको भेला सकिएपछि म सिधै ली जीयको घर गएँ र तिनको कार्यक्षमतामा कमी आउनुको कारण, तिनको कर्तव्यमा भएका समस्याबारे कुरा गरेँ तिनीसित आत्म-चेतना थिएन र बहाना मात्र बनाइन्। तिनको त्यस्तो तरिका देखेर म निकै खिन्न भएँ। त्यसपछि, मैले तिनको कर्तव्यमा सुधार गराउन अझ धेरै सङ्गति गरेँ, तर तिनको काममा कहिल्यै सुधार आएन। यसले मलाई निकै चिन्तित तुल्यायो। त्यसको केही समयपछि, एक जना अगुवाले मलाई ली जीयको कर्तव्य परिवर्तन गर्नेबारे मसित सोधखोज गर्दै केही पत्रहरू पठाइन्। मैले ली जीयको ठाउँमा राख्न राम्रो मान्छे पाइएको छैन भनेर त्यतिकै टारेँ। ली जीयले सल्लाह मान्न इन्कार गरिरहिन्, र पुलिसले नजर राखिरहेको हुनसक्ने स्थिति रहेको बेला तिनले स्वीकृति नलिई सुरक्षाको जोखिममा रहेकी एक जना सिस्टरसित सम्पर्क गरिन्। तिनलाई कर्तव्यबाट हटाउनुबाहेक अर्को विकल्प मसित रहेन।
पछि, मण्डलीले मलाई सुसमाचार कामको इन्चार्ज बनायो, र मैले कर्तव्यविहीन भएर घरमा दुःखी भई बसिरहेकी ली जीयबारे सोचेँ। तिनी सुसमाचार काममा असाध्यै अभिप्रेरित थिइन्, त्यसैले, तिनलाई फेरि कर्तव्यमा ल्याउने यो एउटा राम्रो मौका थियो। मैले त्यो कुरा सहकर्मीहरूको भेलामा उठाउँदै भनेँ, त्यस प्रकारको काममा तिनीसित अनुभव र क्षमता छ, आफू गलत रहेको बोध गर्दै त्यसको पछुतो मानेकी छिन्। हामीले तिनलाई सुसमाचार टोलीमा सामेल हुने मौका दिनुपर्छ भनेर मैले भनेँ। अरू सबैले पनि सहमत जनाए। अब, केही समयपछि नै दाजुभाइ-दिदीबहिनीहरूबाट के कुरा सुनेर म छक्क परेँ भने, पहिलेको सुसमाचार डिकनसित तिनको खटपट भएको रहेछ, त्यसैले भेलाहरूमा कसरी डिकनले तिनलाई दमन गर्थिन् भनेर कुरा गरिरहिन् र त्यो कुरा उठाइरहिन्। थुप्रै दाजुभाइ-दिदीबहिनीहरू डिकनविरुद्ध पक्षपाती भए र उनलाई बहिष्कार गरे। काम सम्बन्धी भेलाहरूमा तिनको डिकनसँग टक्कर पर्थ्यो र अरू केही सिस्टरहरूले तिनको पक्ष लिए। सुसमाचार डिकनले कुनै काम फत्ते गर्न सकिनन् र त्यसले मण्डलीको काममा गम्भीर बाधा पुऱ्यायो। त्यो कुरा सुनेर म स्तब्ध भएँ। मलाई थाहा थियो, डिकनले ली जीयसँग औपचारिक तवरमा माफी मागेकी थिइन्, र मैले तिनीसँग सङ्गति गरेकी थिएँ। मैले तिनलाई आफूलाई चिन्नू, कुरा नकोट्याउनू तर पाठ सिक्नू भनेर सम्झाएकी थिएँ। तर, तिनी ती कुरामा लागिरहन्छिन् र त्यसलाई त्याग्न इन्कार गर्छिन् भन्ने सोचेकी थिइनँ। तिनको व्यवहारले गर्दा मण्डलीभित्र पहिला नै निकै बाधा पुगिसकेको थियो, र यदि त्यस्तै रह्यो भने तिनले सुसमाचार टोली छोड्नुपर्थ्यो। मलाई तिनीबारे झन् बढी चिन्ता लाग्यो। मैले तिनीसित धेरै पटक सङ्गति गरेँ। तिनले मेरो अघि त ठिक्कै पार्थिन्, तर भेलाहरूमा त्यस्तै व्यवहार गरिरहन्थिन्। अरू केही डिकनहरूले तिनीसित सङ्गति गरे र मदत दिए, तर तिनीसित आत्म-चेतना थिएन र तिनी परिवर्तन भइनन्।
अगुवाले तुरुन्तै यी सबै कुरा थाहा पाइन्। तिनले मण्डलीमा बाधा पुऱ्याएकी थिइन्, बारम्बार सङ्गतिपछि पनि पश्च्चात्ताप गरिनन्, र नराम्रो असर पारहेकी थिइन्। सिद्धान्तअनुसार तिनलाई कर्तव्यमुक्त गर्नुपर्थ्यो, र अझै पश्चात्ताप गरिनन् भने मण्डलीबाट हटाउनुपर्थ्यो। यो कुरा सुन्दा मेरो मुटु कटक्क दुख्यो। तिनले कसरी सबै कुरा त्यागेकी छन् र धेरै पीडा भोगेकी छन् भनेर मैले सोचेँ। यदि तिनलाई निकालियो भने साँच्चै लाजमर्दो कुरा हुँदैन र? मैले सुसमाचार डिकनको रूपमा सेवा गर्दा तिनले मलाई धेरै मदत गरेकी थिइन् र त्यस मण्डलीमा तिनको सबैभन्दा नजिकको व्यक्ति म नै थिएँ। यदि मैले तिनको पक्षमा बोलिनँ भने, म अति निष्ठुर हुनेछु भन्ने मलाई लाग्यो। तिनलाई निकालियो भने कसरी मैले तिनीसित आखाँ जुधाउनु? तिनी मसित रुष्ट हुनेछिन् र तिनलाई ठूलो चोट पुग्नेछ भनेर म निश्चित थिएँ। मैले यसबारे त्यसरी सोचेपछि, ती सहकर्मीहरूलाई के बताएँ भने, ली जीयसित अवश्यै केही समस्याहरू छन्, तर तिनले सारा समय मण्डलीमा सेवा गरिरहेकी छिन् र सुसमाचार काम राम्ररी गरेकी छिन्, त्यसैले, त्यो गर्नु अति कठोर हुन सक्छ। तिनलाई अर्को मौका दिनुपर्छ र अझ मदत गर्नुपर्छ अनि हुन सक्छ तिनी परिवर्तन हुन्छिन् भनेर सुझाव दिएँ। एक जना सहकर्मीले अत्यन्तै कठोर प्रतिक्रिया जनाउँदै यसो भनिन्, “सिस्टर सीन, तपाईंले सत्यताका सिद्धान्तहरू पालन नगरी भावनामा बग्दै हुनुहुन्छ। ली जीयले पहिला सुसमाचार काममा राम्रो गरिन्। तिनी मेहनती छिन्। तर तिनी सत्यता स्वीकार्दिनन्—सत्यतालाई घृणा गर्छिन् र यहाँ नकारात्मक भूमिका खेल्छिन्। तिनले परमेश्वरको घरको काममा गम्भीर रूपले बाधा पुऱ्याएकी छिन्। हामी स्नेहको कारण तिनलाई पुलपुल्याउन सक्दैनौँ। यसबारे अलिक सोच्नुहोस्।” तिनले त्यो भनेपछि, मैले ली जीयको कुरामा वास्तवमै सिद्धान्तहरू पालन नगरिरहेकी, बरु अझै त्यो गर्न मन नमानेको र अगुवाले तिनलाई अर्को मौका दिऊन् भन्ने चाहेको महसुस गरें। भेलाबाट घर जाँदै गर्दा, मलाई संसारै घुमे जस्तो भयो र आँखा खोल्नै डर लाग्यो। हिँड्न समेत सकिनँ। म सडकको छेउमा थचक्क बसेँ, र सायद यो परमेश्वरले मलाई दिइरहनुभएको ताडना हो भन्ने लाग्यो। मैले मनमनै प्रार्थना गरेँ। ठीक त्यसपछि, परमेश्वरका केही वचनहरू स्पष्टसित मेरो मनमा आए। परमेश्वर भन्नुहुन्छ: “जब मानिसहरूले परमेश्वरलाई ठेस पुर्याउँछन्, कुनै एउटा घटना वा तिनीहरूले बोलेको कुनै एउटा कुराले त्यस्तो भएको नहुन सक्छ, बरु तिनीहरूको मनोवृत्ति वा तिनीहरू जुन स्थितिमा छन् त्यो स्थितिको कारण त्यस्तो भएको हुन सक्छ। यो एकदमै डरलाग्दो कुरा हो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ७)। परमेश्वरका यी वचनहरूले मेरो हृदयमा केही डर पैदा गरे। मैले पक्कै पनि परमेश्वरको स्वभावलाई चिढ्याइरहेकी हुनुपर्छ भनेर बुझेँ। मैले चिन्तन गर्न थालेँ र के बुझेँ भनेँ, मैले ली जीयलाई निकाल्नुपर्छ र आत्मसमीक्षा गर्न दिनुपर्छ भनेर ती अगुवाले मलाई भनेदेखि नै, मैले सत्यता खोजिरहेकी थिइनँ वा परमेश्वरको घरका हितलाई विचार गरिरहेकी थिइनँ। म ढीट भएर तिनको लागि मरिमेटिरहेकी थिएँ। मेरो हृदयमा परमेश्वरको लागि कुनै स्थान थिएन, र मैले उहाँलाई पहिला नै चिढ्याइसकेकी थिएँ। मैले तुरुन्तै परमेश्वरलाई प्रार्थना गर्दै आफू गलत रहेको स्वीकार गरेँ र आत्मसमीक्षा गर्ने आशा साँचेँ। प्रार्थना गरेपछि, म लरखराउँदै घरतिर लागेँ।
घर पुगेपछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ। परमेश्वर भन्नुहुन्छ: “कतिपय मानिसहरू अत्यन्तै भावुक हुन्छन्। हरेक दिन, तिनीहरूले बोल्ने सबै कुरामा, अरूसित व्यवहार गर्ने तिनीहरूका सबै तौरतरिकामा, तिनीहरू आफ्नो भावनाअनुसार जिइरहेका हुन्छन्। तिनीहरूले यो व्यक्ति र त्यो व्यक्तिप्रति स्नेहको अनुभूति गर्छन्, र तिनीहरू स्नेहको शिष्टतामा उठबस गर्दै दिन बिताउँछन्। आफूले सामना गर्ने हरेक काममा, तिनीहरू भावनाको क्षेत्रमा जिउँछन्। … यो भन्न सकिन्छ कि भावनाहरू नै उसको घातक त्रुटि हो। यस्ता व्यक्तिहरू हर मामिलामा भावनाहरूद्वारा नियन्त्रित हुन्छन्, तिनीहरू सत्यता अभ्यास गर्न वा सिद्धान्तअनुसार काम गर्न असक्षम हुन्छन्, र तिनीहरूमा प्राय परमेश्वरविरुद्ध विद्रोह गरिरहने प्रवृत्ति हुन्छ। भावनाहरू नै तिनीहरूका सबैभन्दा ठूला कमजोरी, र घातक त्रुटि हुन्, अनि तिनीहरूका भावनाहरूले तिनीहरूलाई पूर्ण रूपमा बर्बाद र नाश पार्न सक्छन्। अत्यन्तै भावुक मानिसहरू सत्यता अभ्यास गर्न वा परमेश्वरप्रति समर्पित हुन असक्षम हुन्छन्। तिनीहरू देहमा लिप्त हुन्छन्, अनि तिनीहरू मूर्ख र बेवकुफ हुन्छन्। यस्ता व्यक्तिहरूको प्रकृति नै एकदमै भावुक हुने हुन्छ, र तिनीहरू आफ्ना भावनाहरूअनुसार जिउँछन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। यसले मेरो मन साह्रै छोयो र आँशु थाम्नै सकिनँ। म अरूप्रतिको भावनाले साँच्चै सञ्चालित रहेछु भनेर बुझेँ, त्यो मेरो कमजोर पक्ष, मेरो कमजोरी थियो। ली जीय मलाई मदत गर्न सधैं तत्पर थिइन् र तिनीसँग मेरो आत्मीयता बस्यो। समयसँगै तिनी तनमन मिल्ने व्यक्ति भइन्। तिनी मुछिएको कुरामा म भावनामा बहेर बोल्थेँ, तिनलाई कस्तो लाग्ला भनेर सधैँ चिन्ता गर्थेँ र तिनको पक्ष लिन्थेँ। मैले निष्पक्ष भएर सिद्धान्तहरू लागू गर्न सकिनँ। तिनले आफ्नो कर्तव्यमा राम्रो नगरिरहेकी, त्यसले बाधा पुऱ्याएको, भलाइभन्दा खराबीको पल्ला भारी रहेकोले तिनलाई तुरुन्तै निकाल्नुपर्छ भनेर मलाई थाहा थियो। तर हाम्रो बलियो बन्धनले गर्दा, तिनले आफ्नो कर्तव्य गुमाउलिन् वा मण्डलीबाट हटाइएला भनेर म चिन्तित भएँ, त्यसैले म भावनामा बहेँ, तिनलाई राखिरहनका लागि अरूलाई मनाउन सबै प्रकारका बहानाहरू बनाएँ। मैले तिनलाई तिनको कार्यमा सुधार ल्याउनका लागि मदत दिन समेत चाहेँ ताकि तिनी आफ्नो पदमा कायम रहन सकून्। यदि यो हाम्रो सम्बन्धको खातिर नहुँदो हो त, तिनका लागि म यत्ति धेरै बोल्नेथिइनँ। म अरू कुनै दाजुभाइ वा दिदिबहिनीलाई सिद्धान्तअनुसार व्यवहार गर्नेथिएँ। त्यस मोडमा मैले के बुझेँ भने, म आफ्नो कर्तव्यमा भावनाद्वारा पूर्णतया सञ्चालित थिएँ, हरेक मोडमा तिनको पक्ष लिएँ र तिनलाई पुलपुल्याएँ, सिद्धान्तहरूलाई वास्तै गरिनँ। मैले परमेश्वरको घरका काम वा हितलाई अलिकति पनि विचार गरिरहेकी थिइनँ, तर पूर्ण रूपले आफ्नो भावनामा आधारित भएर बोलिरहेकी र काम गरिरहेकी थिएँ—त्यो एकदमै स्वार्थी कुरा थियो!
मैले अलिक धेरै परमेश्वरका वचनहरू पढेँ, त्यसले यस समस्याबारे झन् मेरा आँखा खोलिदिए। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कस्ता मामलाहरू भावनाहरूसँग सम्बन्धित हुन्छन्? पहिलो त, तैँले आफ्नै परिवारका सदस्यहरूलाई कसरी मूल्याङ्कन गर्छस्, र तिनीहरूले गर्ने कामकुराहरूलाई कसरी लिन्छस् भन्ने हो। यहाँ ‘तिनीहरूले गर्ने कामकुरा’ मा तिनीहरूले मण्डलीको काममा अवरोध र बाधा दिने, पिठ्यूँपछाडि मानिसहरूको आलोचना गर्ने, तिनीहरू अविश्वासीहरूका केही अभ्यासहरूमा संलग्न हुने, इत्यादि कुराहरू स्वत: समावेश हुन्छन्। के तँ यी कामकुराहरूलाई निष्पक्ष रूपमा हेर्न सक्छस्? तैँले तेरो परिवारका सदस्यहरूको मूल्याङ्कन लेख्नुपर्ने हुँदा, के तैँले आफ्ना भावनाहरू पन्छाएर वस्तुगत र निष्पक्ष रूपमा लेख्न सक्छस्? यो तैँले तेरो परिवारका सदस्यहरूलाई कसरी लिन्छस् भन्ने कुरासित सम्बन्धित छ। यसका साथै, के तँ, तँसँग मिल्ने वा तँलाई पहिला मदत गरेका मानिसहरूप्रति पूर्वाग्रही भावनाहरू पाल्छस्? के तैँले तिनीहरूका क्रियाकलाप र आचरणलाई वस्तुगत, निष्पक्ष, र सही रूपमा हेर्न सक्छस्? यदि तिनीहरूले मण्डलीको काममा अवरोध र बाधा पुऱ्याउँछन् भने, के तैँले त्यो कुरा थाहा पाएपछि, तुरुन्तै तिनीहरूको रिपोर्ट वा खुलासा गर्न सक्नेछस्? साथै, के तैँले तुलनात्मक रूपमा आफूनिकटका, वा तेरोजस्तै रुचिहरू बोकेका मानिसहरूप्रति पूर्वाग्रही भावनाहरू राख्छस्? के तँसँग तिनीहरूको क्रियाकलाप र व्यवहारलाई निष्पक्ष र वस्तुगत मूल्याङ्कन, परिभाषा, अनि व्यवहार गर्ने तरिका छ? मानौँ, तँसित भावनात्मक सम्बन्ध भएका यी मानिसहरूलाई, मण्डलीले सिद्धान्तहरूअनुसार तह लगायो, र यसको परिणाम तेरा आफ्ना धारणाहरूअनुरूप भएनन् भने—तैँले यसलाई कसरी लिनेथिइस्? के तैँले पालन गर्न सक्नेथिस्? के तँ सुटुक्क तिनीहरूसित उल्झिरहनेथिइस्, अनि के तँ तिनीहरूका लागि बहानाहरू बनाउने, तिनीहरूलाई जायाज तुल्याउने र तिनीहरूको प्रतिरक्षा गर्ने गरी, तिनीहरूद्वारा बहकाइने र उक्साइनेसमेत थिइस्? के तँ सत्यता सिद्धान्तहरूलाई उपेक्षा गर्दै र परमेश्वरको घरका हितहरूलाई बेवास्ता गर्दै आफूलाई मदत गरेकाहरूलाई सहायता गर्ने र गोली थाप्नेथिइस्? के भावनासम्बन्धी विभिन्न समस्याहरू यिनै होइनन् र? कतिपय मानिसहरू भन्छन्, ‘के भावनाहरू नातागोता र परिवारका सदस्यहरूसँग मात्र सम्बन्धित हुँदैनन् र? के भावनाको दायरामा आफ्ना आमा-बुबा, दाजुभाइ-दिदीबहिनी, र परिवारका अन्य सदस्यहरू मात्र पर्दैनन् र?’ होइन, भावनाले मानिसहरूको ठूलो दायरा समेट्छ। आफ्नै परिवारका सदस्यहरूलाई निष्पक्ष रूपमा मूल्याङ्कन गर्ने कुरा बिर्सिदे—कतिपय मानिसहरूले त आफ्ना असल साथी र मित्रहरूलाई समेत निष्पक्ष रूपमा मूल्याङ्कन गर्न सक्दैनन्, र यी मानिसहरूबारे बोल्दा तिनीहरूले तथ्यहरू बङ्ग्याउँछन्। उदाहरणका लागि, यदि तिनीहरूको मित्र आफ्नो उचित काममा हाजिर हुँदैन र आफ्नो कर्तव्यमा सधैँ कुटिल र दुष्ट अभ्यासहरूमा संलग्न रहन्छ भने, तिनीहरूले उसलाई अलिक चुलबुले भनेर व्याख्या गर्नेछन्, र उसको मानवता अपरिपक्व र अझै स्थिर भइनसकेको भन्नेछन्। के यी शब्दहरूभित्र भावनाहरू छैनन् र? यो भावनाहरूले ओतप्रोत भएका शब्दहरू बोल्नु हो। यदि आफूसँग कुनै सम्बन्ध नभएको व्यक्ति आफ्नो उचित काममा हाजिर भएन र कुटिल र दुष्ट अभ्यासहरूमा संलग्न भयो भने, तिनीहरूले उसका बारेमा निकै कठोर कुराहरू भन्नेछन्, र उसलाई निन्दा समेत गर्न सक्छन्। के यो भावनाहरूका आधारमा बोल्नु र कार्य गर्नुको प्रकटीकरण होइन र? के आफ्ना भावनाहरूले जिउने मानिसहरू निष्पक्ष हुन्छन्? के तिनीहरू सोझा हुन्छन्? (हुँदैनन्।) आफ्ना भावनाहरूअनुसार बोल्ने मानिसहरूमा के समस्या हुन्छ? तिनीहरूले अरूलाई किन निष्पक्ष रूपमा व्यवहार गर्न सक्दैनन्? तिनीहरूले किन सत्यता सिद्धान्तहरूमा आधारित भएर बोल्न सक्दैनन्? दुईजिब्रे र आफ्ना शब्दहरूलाई कहिल्यै पनि तथ्यमा आधारित नगर्ने मानिसहरू दुष्ट हुन्छन्। बोल्दा निष्पक्ष नहुनु, सत्यता सिद्धान्तहरूअनुसार नभई सधैँ आफ्ना भावनाहरूअनुसार बोल्नु अनि आफ्नै निम्ति बोल्नु, परमेश्वरको घरको कामबारे नसोच्नु, अनि आफ्ना व्यक्तिगत भावना, ख्याति, लाभ, र हैसियतको मात्र रक्षा गर्नु—यो ख्रीष्टविरोधीहरूको चरित्र हो। ख्रीष्टविरोधीहरू यसरी नै बोल्छन्; तिनीहरूले भन्ने सबथोक दुष्ट, अनि बाधा र अवरोध ल्याउने खालको हुन्छ। देहका प्राथमिकता र रुचिहरूमाझ जिउने मानिसहरू आफ्ना भावनाहरूमाझ जिउँछन्। आफ्ना भावनाहरूले जिउने मानिसहरू सत्यतालाई पटक्कै नस्विकार्ने र अभ्यास नगर्ने मानिसहरू हुन्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२))। “म मानिसहरूलाई उनीहरूका भावनाहरू व्यक्त गर्ने अवसर दिँदिनँ, किनकि म देहगत भावना विहीन छु, र मानिसहरूका भावनाहरूलाई हदैसम्म घृणा गर्ने बनेको छु। मानिसहरूबीचका भावनाहरूको कारण नै म एकातिर पन्साइएको छु, र यसैले म तिनीहरूका आँखामा ‘अरू’ भएको छु; मानिसहरूबीचका भावनाहरूकै कारण मलाई बिर्सिइएको छ; मानिसहरूका भावनाहरूको कारणले नै उसले आफ्नो ‘अन्तस्करण’ चुन्ने मौका पाउँदछ; मानिसहरूका भावनाहरूको कारणले नै ऊ सधैँ मेरो ताडनाबाट वाक्क हुन्छ; मानिसहरूका स्नेहहरूको कारणले नै उसले मलाई अनुचित र अन्यायपूर्ण भन्छ, र परिस्थितिहरूको सामना गर्दा मैले मानिसहरूका भावनाहरूमा ध्यान दिँदिनँ भन्छ। के मेरो पनि पृथ्वीमा आफन्त छन्? मैले जस्तो खाने र पिउने कुरामा ध्यान नदिई कसले मेरो सम्पूर्ण व्यवस्थापन योजनाको निम्ति दिन र रात काम गरेको छ? मानिस कसरी परमेश्वरसित तुलनायोग्य हुन सक्छ? मानिस कसरी परमेश्वरसित मिल्न सक्छ?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय २८)। यो पढेर भावनाद्वारा सञ्चालित हुनु भनेको के रहेछ भनेर म अझ स्पष्ट भएँ, अनि परमेश्वरले यस्ता मानिसलाई घृणा गर्नुहुन्छ भनेर मैले बुझेँ। यसले हामीलाई सत्यताका सिद्धान्तहरू उल्लङ्घन गर्न, खराब कार्य गर्न र परमेश्वरको विरोध गर्न लगाउँछ। परमेश्वरले मलाई अगुवा बनाउनुभयो, तर अरू मानिसहरूलाई सम्हाल्दा, मैले सत्यता अभ्यास गरिनँ वा तिनीहरूलाई सिद्धान्तअनुसार निष्पक्ष व्यवहार गरिनँ। हाम्रो सम्बन्धको कारण मैले ली जीयलाई जोगाएँ, तिनलाई निकाल्न वा हटाउन आवश्यक हुँदा त्यसो गर्न मानिनँ। मैले मण्डलीको हितलाई बलि चढाएर परमेश्वरको घरको कामलाई कसैको उपकार गर्न प्रयोग गरिरहेकी थिएँ। यसले दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशलाई हानि गऱ्यो र परमेश्वरको घरको काममा बाधा पुऱ्याउनुबाहेक अरू केही गरेन। मैले आफ्नो खाने थालमा आफै प्वाल पारिरहेकी थिएँ—म गद्दार थिएँ। के त्यो परमेश्वरलाई अपमान र विरोध गरेको होइन र? यी सबै बुझेपछि, आफ्ना कामहरूको लागि मलाई साह्रै पछुतो भयो, र तुरुन्तै परमेश्वरलाई प्रार्थना र पश्चात्ताप गरेँ। पछि एउटा भेलामा, मैले सारा परिस्थिति सम्हाल्दा कसरी म भावनद्वारा सञ्चालित थिएँ भनेर खुलेर बताएँ। ली जीयको व्यवहारको आधारमा, मैले तिनलाई आत्मसमीक्षा गर्न सकून् भनी कर्तव्यबाट हटाएँ।
छ महिना जति समय बित्यो, र तिनले आफ्नो खराब व्यवहार नबुझेकी मात्र होइन, आफूलाई अन्याय भयो, अगुवा निष्पक्ष नरहेको भनेर ढिपी कसिन्। अगुवाले तिनलाई होच्याएको र तिनीप्रति तुस राखेको भनेर तिनले अरूलाई बताइन्। अगुवाले तिनीसित सत्यताबारे सङ्गति गरिन् र तिनको व्यवहारको विश्लेषण गरिन्, तर तिनले कुनै कुरा पनि स्वीकारिनन् र पुरै बहाना बनाइन्। ली जीयले अगुवालाई भित्रभित्रै कटु व्यवहार समेत गरिन्, मौन विरोध गर्दै उनलाई सिधै बेवास्ता गरिन्। तिनले गुनासो गरिन् र अरूमाझ नकारात्मक कुरा फैलाइन्, आफूले यति पीडा भोगेर पनि कुनै आशिष् नपाएको तर अयोग्यहरू चाहिँ आशिषित् भएको भनेर कुरा गरिन्। तिनीसित सम्पर्कमा भएका कतिपय दाजुभाइ-दिदीबहिनीले तिनको पक्ष लिए र तिनको बचाउमा उत्रे। धेरै मानिसहरूले भने कि, तिनीसित कमजोर मानवता छ, आफू पाहुना बसेको घरमा खानेकुराबारे असाध्यै नाटिकुटी गर्छिन्, अनि त्यो घरकी सिस्टिरले तिनका लागि खानेकुरा किन्दिनन् भनेर उनको पछाडि गुनासो गर्छिन्। तिनी कन्जुस थिइन् र गरिब भएको गुनासो गर्थिन्, जसले गर्दा दाजुभाइ-दिदीबहिनीहरू मूर्ख बन्थे र माया लागेर तिनलाई मदत गर्थे, पैसा वा अन्य कुराहरू दिन्थे। अनि यी सब पाउन तिनी हकदार थिइन् मानौँ तिनलाई मदत गर्न तिनीहरू सबै ऋणी थिए। तिनी परमेश्वरको घरमा परजीवी थिइन्। यी सबै कुराले मलाई परमेश्वरका वचनका एउटा खण्डबारे सोच्न बाध्य बनायो, जुन “सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी” मा छ। परमेश्वर भन्नुहुन्छ: “जसले मण्डलीमा उनीहरूको विषाक्त, द्वेषपूर्ण कुराहरू ओकल्छन्, जसले अफवाह फैलाउँछन्, अमेल सृजना गर्छन्, र भाइ-बहिनीहरूमाझ गुट पैदा गर्छन्—तिनीहरूलाई मण्डलीबाट निकालिनुपर्छ। तापनि अहिले परमेश्वरको कामको एक फरक युग भएकोले यी मानिसहरू प्रतिबन्धित छन्, किनकि तिनीहरूलाई निश्चित रूपमा हटाइनुपर्ने हुन्छ। शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। कोही-कोहीसँग त भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू फरक हुन्छन्: केवल उनीहरूसित भ्रष्ट शैतानिक स्वभाव मात्र हुँदैन, तर तिनीहरूको प्रकृति पनि अत्यन्तै द्वेषपूर्ण हुन्छ। तिनीहरूका बोलीवचन र व्यवहारहरूले मात्र तिनीहरूको भ्रष्ट, शैतानिक स्वभावहरू प्रकट गरेन, तर यी मानिसहरू खाँटी दियाबलस र शैतान हुन्। तिनीहरूको व्यवहारले परमेश्वरको काममा अवरोध र बाधा पुऱ्याउँछ, त्यसले दाजुभाइ र दिदी-बहिनीहरूको जीवन प्रवेशलाई बाधा दिन्छ, र त्यसले मण्डलीको सामान्य जीवनलाई नोक्सान पुर्याउँछ। ढिलो-चाँडो, भेडाहरूको खाल ओढ्ने यी ब्वाँसाहरूलाई हटाउनैपर्छ; शैतानका यी नोकरहरूप्रति निष्ठुर मनोवृत्ति, तिरस्कार गर्ने मनोवृत्ति अपनाउनुपर्छ। परमेश्वरको पक्षमा उभिनु भनेको यही मात्रै हो, र त्यसो गर्न नसक्नेहरू शैतानको साथमा हिलोमा लडीबुडी गर्दैछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। परमेश्वरका यी वचनहरूले मलाई ली जीयबारे अझ धेरै बुझ्ने शक्ति दियो। तिनले सत्यता स्वीकार्न इन्कार गरिन्, तिनले बाधा पुऱ्याइन् र आलोचना गरिन्, सकारात्मक भूमिका निर्वाह गरिनन्, हाम्रो मण्डली जीवनलाई लथालिङ्ग पार्ने कुहेको आलु थिइन्। तिनको आलोचना गरिँदा र तिनले कर्तव्य गुमाउँदा, तिनले कहिल्यै पश्चात्ताप गरिनन्, बरु असन्तुष्ट भइन्, अगुवाहरूबारे गुनासो गरिन् र मण्डली जीवनमा बाधा पुऱ्याइरहिन्। सत्यतालाई घृणा गर्ने र बदला लिने त्यस प्रकारको उग्र र दुष्ट व्यक्तिले कहिल्यै मुक्ति पाउन सक्दैन। कुखुराको खोरमा पसेर जताततै कुखुरालाई आक्रमण गर्ने फ्याउरोले जस्तै तिनले मण्डलीको काममा बाधा मात्र पुऱ्याइन्। दुष्ट मानिसलाई हटाउनैपर्छ ताकि परमेश्वरको घरको काम अघि बढ्न सकोस् र हामीले मण्डलीको उचित जीवन पाउन सकौँ। परमेश्वर धर्मी र पवित्र हुनुहुन्छ। उहाँले सत्यतालाई प्रेम गर्ने असल मानवता भएकाहरूलाई मुक्ति दिनुहुन्छ, दुष्कर्मीहरूलाई होइन। सत्यतालाई घृणा गर्नु दुष्ट मानिसहरूको स्वभावै हो। र तिनीहरूले जत्ति नै मौका पाए पनि साँचो अर्थमा पश्चात्ताप गर्नेछैनन्। सत्यतालाई प्रेम गर्नेहरूले भ्रष्टता प्रकट गर्न सक्छन्, बाधा पुऱ्याउन सक्छन् र केही आलोचनात्मक कुरा गर्न सक्छन्, तर त्यसपछि आत्मसमीक्षा गर्न सक्छन् र परमेश्वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्न सक्छन्, अनि पश्चात्ताप र परिवर्तन गर्न सक्छन्। मण्डलीले ली जीयलाई धेरै मौका दियो, तर तिनले कहिल्यै पश्चात्ताप गरिनन्। तिनले केवल झन् धेरै आक्रमण गरिन् र बाधा पुऱ्याइन्। तिनको सार नै दुष्ट थियो। तिनलाई मण्डलीका सिद्धान्तको आधारमा हटाउनुपर्थ्यो। मण्डली अगुवाको रूपमा, मैले तिनको दुष्ट काम खुलासा गर्न अरूसित सङ्गति गर्नुपर्छ र तिनलाई बहिष्कार गर्न तयार पारिएको कागजातमा हस्ताक्षर गर्नुपर्छ भनेर मलाई थाहा थियो। त्यो गर्न मलाई अझै मन लागेन। तिनलाई साँच्चै मण्डलीबाट हटाइयो भने पूर्ण रूपले बर्बाद हुनेछिन् भन्ने मलाई चिन्ता लाग्यो। यो सोचाइ आउनासाथ मैले परमेश्वरलाई प्रार्थना गरेँ र भावनालाई काबूमा राख्न उहाँसँग मार्गदर्शन मागेँ।
त्यसपछि, मैले परमेश्वरका वचनहरूमा यो कुरा पढेँ, “परमेश्वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्।” बाट खण्ड 4, परमेश्वर भन्नुहुन्छ: “यदि परमेश्वरमा विश्वास नगर्ने प्रतिरोधीहरू होइनन् भने शैतान को हो, भूतहरू को हुन्, र परमेश्वरका शत्रुहरू को हुन्? के उनीहरू परमेश्वरविरुद्ध विद्रोह गर्ने मानिस नै होइनन् र? के उनीहरू नै ती होइनन् जसले विश्वास भएको दाबी गर्छन्, तैपनि सत्यताको कमी हुन्छ? के उनीहरू परमेश्वरको निम्ति गवाही दिन असक्षम हुँदा पनि आशिष्हरू मात्र प्राप्त गर्न खोज्नेहरू होइनन् र? आज तैँले अझै ती भूतहरूसँग घुलमेल गर्छस् र तिनीहरूसँग विवेक र प्रेमले व्यवहार गर्छस्, तर यस्तो अवस्थामा, के तैँले शैतानप्रति शुभेच्छा बढाइरहेको छैन र? के तैँले भूतहरूसँग साँठगाँठ गरिरहेको छैनस् र? यदि मानिसहरू यो बिन्दुमा पुगेका छन् र अझै असल र खराबबीच भिन्नता छुट्याउन असक्षम छन् भने, र परमेश्वरका अभिप्रायको खोजी गर्ने कुनै चाहनाविना नै अन्धाधुन्ध प्रेमिलो र कृपालु भइरहन्छन् भने वा कुनै पनि किसिमले परमेश्वरका अभिप्रायहरूलाई उनीहरूको आफ्नै झैँ गरी लिन सक्षम हुन्छन् भने, उनीहरूको अन्त झनै दयनीय हुनेछ। देहमा हुनुभएको परमेश्वरलाई विश्वास नगर्ने जो कोही पनि परमेश्वरको शत्रु हो। यदि तैँले शत्रुलाई सम्मान र प्रेम गर्न सक्छस् भने, के तँमा न्याय बोधको कमी छैन र? यदि तँ मैले जे घृणा गर्छु र म जेसँग असहमत हुन्छु, र त्यसैसँग अनुकूल हुन्छस् र उनीहरूप्रति अझै प्रेम वा व्यक्तिगत भावनाहरू वहन गर्छस् भने, तब के तँ विद्रोही होइनस् र? के तैँले जानी-जानी परमेश्वरको प्रतिरोध गरिरहेका छैनस् र? के यस्तो मानिससित वास्तवमै सत्यता हुन्छ? यदि मानिसहरूले शत्रुप्रति सम्मान राख्छन्, भूतहरूलाई प्रेम गर्छन् र शैतानलाई कृपा गर्छन् भने, तब के उनीहरूले परमेश्वरको कामलाई जानी-जानी अवरोध गरिरहेका हुँदैनन् र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। परमेश्वरका वचनहरूको यो खण्ड पढ्दा मलाई एकदमै दोषी महसुस भयो। तिनी समस्याको पोको हुन्, कहिल्यै पश्चात्ताप नगर्ने काममा बाधक, सत्यतालाई घृणा गर्ने सार भएकी दुष्कर्मी हुन् भनेर मलाई राम्ररी थाहा थियो, तर मैले अझै तिनलाई लाडप्यार दिएँ, मण्डलीमै राख्न सधैँ चाहेँ। मैले दुष्ट व्यक्तिलाई मण्डलीको काममा हानि पुऱ्याउन दिइरहेकी थिएँ, शैतानको पक्षमा खडा भएर परमेश्वर विरुद्ध गइरहेकी थिएँ। शैतानी दर्शनहरू, “रगत पानीभन्दा गाढा हुन्छ,” “मानिस निर्जीव छैन; ऊ भावनाबाट कसरी मुक्त हुन सक्छ र?” ले मलाई डोऱ्याइरहेका थिए। म अरूसितको सम्बन्धलाई जहिले पनि मोल गर्थेँ, दयालु हुने र असल व्यक्ति बन्ने एकमात्र तरिका त्यही हो भनेर सोच्थेँ। अरू कुरा निठुरीपन हो र मलाई अरूले इन्कार गर्नेछन् भनेर सोच्थेँ। त्यो मेरो लागि एकदमै हास्यास्पद कुरा थियो। ती सांसारिक दर्शनहरू सही जस्तो देखिन्छन् र मानव धारणासित मेल खान्छन्, तर ती सत्यता र सिद्धान्त विपरीत छन्। यदि हामी भावुक र अरू सबैप्रति प्रेमिलो भयौं भने, त्यो अरूलाई प्रेम गर्ने मूर्ख तरिका र पूर्णतया असैद्धान्तिक हो। परमेश्वर हामीलाई अरूसित सैद्धान्तिक हुनू, दाजुभाइ-दिदीबहिनीहरूप्रति प्रेमिलो हुनू र परमेश्वरसित विवेकशील हुनू, दुष्कर्मी, अविश्वासी, पिशाच र शैतानलाई इन्कार गर्नू भन्नुहुन्छ। त्यस प्रकारका मानिसहरूप्रति भावुक हुनु के मूर्ख र बेसमझ हुनु होइन र? यस प्रकारको प्रेममा समझ र सिद्धान्तको कमी हुन्छ—यो मूर्खताबाट आउँछ। यसले हामीलाई बहकाउने मात्र होइन, दुष्ट व्यक्तिलाई पछ्याउँदा परमेश्वरको घरको काममा ठूलो हानि पनि पुग्न सक्छ। म शैतानी दर्शनअनुसार जिइरहेको थिएँ र यो अति मूर्खता, अति अमर्यादित कुरा हो भनेर मैले बुझेँ। मलाई थाहा थियो, ली जीयले सत्यता स्वीकार गर्नेछैनन्, तिनी मण्डलीमा बाधा पुऱ्याउने दुष्कर्मी हुन्, र तिनलाई हटाउनुपर्छ। तर, म आफ्ना भावनामा अल्झिएँ, स्नेहले गर्दा पछि हटेँ। मैले तिनलाई घरीघरी पुलपुल्याएँ। मेरो लागि यो पीडादायी, थकाइलाग्दो र सीमित पार्ने कुरा थियो, तर त्योभन्दा महत्त्वपूर्ण, मैले आफूले बुझेको सत्यता अभ्यास गरिरहेकी थिइनँ। म परमेश्वरविरुद्ध लडिरहेकी थिएँ। मैले परमेश्वरको अनुग्रह र मुक्ति पाइरहेकी थिएँ तर उहाँविरुद्ध काम गरिरहेकी थिएँ, शैतान र दुष्कर्मीको रक्षा गरिरहेकी थिएँ। मैले वास्तवमै विवेक र तर्कशक्ति गुमाएँ। अन्त्यमा मलाई के स्पष्ट भयो भने, भावनाद्वारा नियन्त्रित हुनु भनेको परमेश्वर र सत्यतालाई बेवास्ता गर्नु हो। त्यसपछि, कसरी परमेश्वरले वर्षौंदेखि ममा यत्तिका धेरै काम गरिरहनुभएको छ र यस्तो मूल्य चुकाउनुभएको छ भनेर मैले सोचेँ। बद्लामा मैले उहाँलाई केही पनि दिएकी थिइनँ तर उहाँविरुद्ध शैतानको पक्षमा समेत खडा भएँ। मैले यसबारे त्यसरी सोच्दा, मलाई साह्रै पछुतो र दोषी महसुस भयो।
त्यसपछि, मैले मेरा भक्तिहरूमा परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ। परमेश्वर भन्नुहुन्छ: “परमेश्वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न आग्रह गर्छन्? परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू: यो सिद्धान्त पालन गर्नुपर्छ। परमेश्वरले सत्यको पछि लाग्ने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; यी त्यस्ता मानिसहरू हुन् जसलाई हामीले प्रेम गर्नुपर्छ। परमेश्वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्वरलाई घृणा गर्नेहरू, र परमेश्वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्वरले तिरस्कार गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई तिरस्कार गर्नुपर्छ। परमेश्वरले मानिसलाई यस्तै गर्नू भन्नुहुन्छ। … अनुग्रहको युगमा प्रभु येशूले भन्नुभयो, ‘मेरी आमा को हुन्? र मेरा दाजुभाइहरू को हुन्?’ ‘जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्छालाई पछ्याउँछन्, तिनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी, र आमा हुन्।’ यी वचनहरू पहिल्यै अनुग्रहको युगमै अस्तित्वमा थिए, र अहिले परमेश्वरका वचनहरू अझ स्पष्ट भएका छन्: ‘परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू।’ यी वचनहरूले मुख्य बुँदालाई सिधै छुन्छन्, तर मानिसहरूले तिनका वास्तविक अर्थलाई बुझ्न सक्दैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रमित दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ)। त्यसले अभ्यास गर्नुपर्ने यो सिद्धान्तलाई स्पष्ट पारिदियो, “परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू।” साँचो विश्वास भएका, सत्यताको पछि लाग्ने र आफ्नो कर्तव्यप्रति समर्पित व्यक्तिहरू मात्र साँचो दाजुभाइ-दिदीबहिनीहरू हुन्, अनि तिनीहरू नै हाम्रो प्रेम पाउन योग्य जनहरू हुन्। सत्यता स्वीकार्न इन्कार गर्ने र मण्डलीमा सधैँ बाधा पुऱ्याउने, सत्यता र परमेश्वरलाई घृणा गर्नेहरू सबै जना दुष्ट, अविश्वासी, पिशाच र शैतान हुन्। तिनीहरू हाम्रो घृणा र तिरस्कारको योग्य छन्। मानिसहरूलाई सिद्धान्त र परमेश्वरको इच्छाअनुसार व्यवहार गर्ने एकमात्र तरिका त्यही हो। त्यसपछि, एउटा भेलामा मैले दुष्ट व्यक्ति कस्तो हुन्छ र तिनीहरूलाई कसरी चिन्नुपर्छ भन्नेबारे सङ्गति गरेँ, र मैले ली जीयको दुष्ट व्यवहारलाई प्रकट गरिदिएँ। कसैलाई मण्डलीबाट हटाउने बारेका सिद्धान्तहरूबारे पनि मैले सङ्गति गरेँ, र तिनीहरू सबैले सत्यता बुझेपछि, ली जीयको दुष्कर्म खुलासा गर्न थाले। अन्त्यमा तिनलाई निकालियो।
ती सबै कुरापछि, म परमेश्वरप्रति अति कृतज्ञ भएँ। यदि परमेश्वरले प्रकट गर्नुभएको कुरा र उहाँका वचनहरूको न्याय नभएको भए, म ती शैतानी दर्शनअनुसार निरन्तर जिइरहेकी हुनेथिएँ, केवल अरूप्रति अन्धाधुन्ध दयालु हुनेथिएँ, असलबाट खराब र सहीबाट गलत छुट्याउन सक्नेथिइनँ, परमेश्वरविरुद्ध शैतानको पक्षमा खडा हुनेथिएँ र यो कुरा मलाई थाहा हुनेथिएन। परमेश्वरका वचनहरूले मलाई स्नेहको वशमा पर्दा हुने खतरा र परिणामहरू देखाइदिए, र स्नेहको बन्धनबाट उम्कन मदत गरे ताकि मैले मानिसहरूलाई सत्यताका सिद्धान्तअनुसार व्यवहार गर्न सकूँ। परमेश्वरको प्रेम र मुक्तिको लागि म अत्यन्तै कृतज्ञ छु।