८२. सही छनोट
म एक विकट पहाडी गाउँमा, पुस्तौँ पुस्तादेखिको कृषक परिवारमा जन्मेको थिएँ। स्कूलमा हुँदा, मेरी आमा प्रायः मलाई सम्झाउँथिन्: “हाम्रो परिवारसँग भर पर्नका लागि केही छैन। यदि तिमी आफ्नो भाग्य परिवर्तन गर्न र जीवनमा सफल हुन चाहन्छौ भने, तिम्रो साथमा तिमी आफू मात्र छौ। तिम्रो एक मात्र आशा भनेको स्कूलमा राम्ररी पढ्नु हो।” मैले उनका यी शब्दलाई मनमा लिँदै, साँच्चिकै एक दिन अरूभन्दा असल बन्ने र पुर्खाको नाम राख्ने आशा गरेको थिएँ। तर स्नातक गरेपछि, मैले स्थिर रोजगारी पाउन नसकेको मात्रै होइन, मेरा आमा-बाबु दुवै गम्भीर बिरामी भए। हामीले हाम्रो परिवारका सबै बचत खर्च गर्यौँ र त्यसपछि आफन्तहरूबाट पैसा उधारो लियौँ। मैले समयमै पैसा फिर्ता दिन सकिनँ, त्यसैले मेरी आफ्नै काकीले मलाई मेरो पिठ्यूँपछाडि रगत-चुसुवा भनिन्। तिनीहरूले मलाई हेयको दृष्टिले नहेरून् भनेर म पैसा कमाउनतिर होमिएँ, तर हाम्रो दरिद्र पारिवारिक अवस्था, साथै आफन्तहरूको तिरस्कारले मलाई अवसाद महसुस गरायो, र म धेरै पटक लुकीलुकी रोएँ। मैले एकदमै उदास महसुस गरिरहेकै बेला एउटा साथीले मलाई सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको सुसमाचार सुनायो। परमेश्वरका शब्दहरू पढ्दै र मेरा ब्रदर-सिस्टरहरूसँग भेला हुँदा, मैले जानेँ कि मानिसलाई परमेश्वरले सृजित गर्नुभएको हो, र हाम्रो भाग्य उहाँको हातमा छ। मैले यो पनि थाहा पाएँ कि जीवन यति पीडादायी हुनुको कारण शैतानद्वारा भ्रष्ट पारिएपछि मानिसहरूले परमेश्वरको सुरक्षा गुमाउनु हो। अहिले, आखिरी दिनहरूमा, परमेश्वर देह बन्नुभएको छ र मानवजातिलाई शैतानको भ्रष्टता र हानिबाट जोगाउन सत्यता व्यक्त गरिरहनुभएको छ। मानवजातिलाई मुक्ति दिने परमेश्वरको अभिप्राय बुझेसँगै, म भेलाहरूमा सक्रिय रूपमा सहभागी हुन थालेँ र सकेसम्म धेरै पटक परमेश्वरका शब्दहरू पढ्न थालेँ। छिट्टै, मैले मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न थालेँ।
केही महिनापछि, मेरो उत्साह र सत्यतालाई पछ्याउने चाहना देखेर, मेरा ब्रदर-सिस्टरहरूले मलाई समूह अगुवा बन्न तालिम लिने सल्लाह दिनुभयो। मैले ब्रदर ली झेङसँग सहकार्य गरेँ, र हामीलाई सँगसँगै केही भेला समूहहरूको जिम्मेवारी दिइयो। त्यति बेलामा मेरो जागिर थियो, त्यसैले ली झेङ दिउँसोको टाढाका भेलाहरूमा जान्थे, र म साँझका भेलाहरूमा जान्थेँ। त्यसरी, सबै कुरा मेरो तालिकासँग मिल्थ्यो। वर्षको अन्त्यतिर, सामान्य कार्य सम्हाल्न पर्याप्त कर्मचारी नभएकाले, ली झेङलाई त्यो काम गर्न खटाइयो, र मलाई अस्थायी रूपमा ती समूहहरूको जिम्मेवारी दिइयो। मलाई थाहा थियो कि म परमेश्वरमा भर पर्नुपर्छ र आफ्नो भूमिका निभाउनुपर्छ, तर साथसाथै, मैले आफू गाह्रो अवस्थामा भएको महसुस गरेँ। यदि मैले मेरो सबै समय र ऊर्जा मेरो कर्तव्य निर्वाह गर्न खर्च गरेँ भने, मसँग मेरो कामका लागि पर्याप्त समय हुने थिएन। मेरो कम्पनीले मेरा लागि वर्षको अन्त्यमा दस लाख युआनको बिक्री लक्ष्य तोकेको थियो, र यदि मैले त्योभन्दा बढी बिक्री गरेँ भने, मैले वर्षको अन्त्यमा झन् ठूलो बोनस पाउनेथिएँ। मैले सोचेँ: “यदि मैले यो लक्ष्य पूरा गरेँ भने, मैले मेरो ऋण तिर्न मात्र होइन, अलिकति पैसा बचत गर्न पनि सक्छु, र त्यसपछि मेरा साथीभाइ र आफन्तहरूले मलाई हेयको दृष्टिले हेर्नेछैनन्। सायद पहिले मैले यो पैसा कमाउनुपर्छ, त्यसपछि मेरो कर्तव्यमा ध्यान दिनुपर्छ।” मेरो सुपरभाइजर त्यो लक्ष्य पूरा गर्न साँझमा मलाई ओभरटाइम काम गराउन चाहन्थे, त्यसैले म राति एक घण्टा वा बढी काम गर्थेँ र त्यसपछि भेलाका लागि समय निकाल्थेँ, तर चाँडै नै सुपरभाइजरले मलाई छुट्टी दिन छोडे र थप ओभरटाइम काम गराउन चाहे। यसले गर्दा प्रायः मलाई भेलामा जान ढिलो हुन्थ्यो। ब्रदर-सिस्टरहरूले मलाई पहिले नै उपस्थित हुन सम्झाउँथे, र म उनीहरूलाई हेरेर अनिच्छापूर्वक टाउको हल्लाउँथेँ। त्यसपछि छिट्टै, मैले ५००,००० युआनभन्दा माथिको अर्डर पाएँ र मैले त्यो महिनामा ७,००० युआनभन्दा बढी कमाएँ, जसले मेरो थप पैसा कमाउने चाहनालाई झन् बढायो। मैले सोचेँ: “वाह, यसरी त छिटो पैसा कमाइने रहेछ! मैले यो अर्डरले मेरो वर्ष-अन्त्य लक्ष्यको आधाभन्दा धेरै भाग पूरा गरिसकेको छु। यदि मेरा दस ग्राहकमध्ये पाँचले थप अर्डरमा हस्ताक्षर गरे भने, म ठूलो रकम कमाउन सक्छु! अनि यदि मैले अझ केही ठूला ग्राहकहरू पाएँ भने, सायद केही वर्षमा म घर र गाडी किन्न सक्छु! त्यसपछि म गौरवका साथ गाउँ फर्किन सक्छु, र गाउँलेहरूले मलाई साँच्चै सम्मान गर्नेछन्।” त्यसैले, म प्रायः साँझ ढिलोसम्म ओभरटाइम काम गर्दै आफ्नो धेरै पैसा कमाउने सपना पूरा गर्न लागिपरेँ। कहिलेकाहीँ, मैले भेलामा मलाई कुर्दै बसेका ब्रदर-सिस्टरहरूका बारेमा सोच्थेँ, र मलाई अलिकति दोषी महसुस हुन्थ्यो, तर जब म कामबाट घर फर्कन्थेँ, त्यतिबेलासम्म ढिलो भइसकेको हुन्थ्यो। म थकित भएर घर पुग्थेँ र सिधै सुत्थेँ, परमेश्वरका वचन पढ्ने ऊर्जा नै हुँदैनथ्यो। केही बिहान म निकै ढिलो उठ्थेँ, त्यसैले म परमेश्वरका वचनलाई सरर हेर्थेँ र काममा जान्थेँ। प्रार्थना गर्दा परमेश्वरसँग के भन्नुपर्छ, मलाई थाहा हुँदैनथ्यो। यस प्रकारको स्थितिमा जिउँदै, म मेरो कर्तव्यप्रति झन् झन् लापरवाह हुँदै गएँ। मेरो जिम्मामा भएका केही नव आगन्तुकहरूलाई तत्काल मलजल गर्न आवश्यक थियो, तर मैले अन्य ब्रदर-सिस्टरहरूलाई मेरो ठाउँमा नव आगन्तुकहरूको भेलामा जान आग्रह गरेँ। तर उनीहरूका आफ्नै कर्तव्यहरू थिए, र कहिलेकाहीँ मेरा कर्तव्यहरू लिन सक्दैनथे। फलस्वरूप, मलजल गर्ने कामको प्रभावकारितामा प्रभाव पर्यो। पछि, ब्रदर-सिस्टरहरूले मैले आफ्नो कर्तव्यलाई प्राथमिकता दिन आवश्यक रहेको भन्दै मसँग सङ्गति गरे, र भेलामा केवल झारा टार्नु र आफ्नो कर्तव्यमा गैर-जिम्मेवार हुनुले नव आगन्तुकहरूको जीवन प्रगतिलाई अवरोध गर्नेछ भनी सम्झाए। यो सुनेर मलाई डर लाग्यो। यदि नव विश्वासीहरूलाई समयमा मलजल गरिएन भने, तिनीहरू अफवाहद्वारा बहकिएर विश्वास त्याग्नेथे, र त्यसपछि म दुष्टता गर्दै हुनेथेँ। मलाई थाहा थियो, म यसरी अघि बढिरहन सक्दिनँ, त्यसैले मैले परमेश्वरसँग प्रार्थना गरेँ र पश्चात्ताप गर्ने र परिवर्तित हुने वाचा गरेँ।
त्यसपछि, म मेरा समूहहरूको स्थिति कस्तो छ भनी बुझ्न गएँ। मैले देखेँ कि मैले वास्तविक काम नगरेकाले, नव आगन्तुकहरूका समस्या र कठिनाइहरू समयमै समाधान भएका थिएनन्, जसले तिनीहरूलाई खराब स्थितिमा छोडेको थियो। केही त नियमित रूपमा भेलामा सहभागीसमेत हुँदैनथे। यो अवस्था देखेर मलाई असाध्यै दोषी महसुस भयो। धेरैभन्दा धेरै नव आगन्तुकहरूले परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरे, जसलाई तत्काल मलजल र सहयोगको आवश्यकता थियो। तिनीहरूलाई साँचो मार्गमा राम्रोसँग आधार स्थापित गर्न सहयोग गर्न, मैले मेरो काम छोडेर पूर्ण रूपमा मेरो कर्तव्यमा समर्पित हुनुपर्ने महसुस गरेँ, तर मेरा मालिकले मलाई केही राम्रा परियोजनाहरू दिइरहेका थिए, र मेरा सुपरभाइजरले मलाई थप ग्राहकहरू खोज्न मद्दत गर्ने भनेका थिए। जब मैले मेरा सहकर्मीहरूलाई काम छोड्ने सोचिरहेको छु भनेँ, तिनीहरूले भने: “तपाईंले आफ्नो बिक्री लक्ष्य आधाभन्दा बढी पार गरिसक्नुभएको छ, त्यसैले वर्षको अन्त्यसम्ममा पक्कै पनि पूरा गर्नुहुनेछ। अहिले हार मान्नु लाजमर्दो हुनेछ।” उनीहरूले त्यसो भनेको सुनेर, मलाई पनि त्यो लाजमर्दो हुनेछ भन्ने लाग्यो, र म वर्षको अन्त्यसम्म काम गरिरहन र त्यसपछि राजीनामा दिन चाहन्थेँ। त्यसो भए पनि, मण्डलीमा अझै जनशक्तिको अभाव थियो, त्यसैले मेरो काममा पैसा कमाउन मात्रै ध्यान दिनु र मण्डलीको काममा मेरो हृदय नलगाउनु असाध्यै स्वार्थी हुने थियो। यो मेरो लागि साँच्चै द्विविधाजनक थियो। मैले परमेश्वरसँग प्रार्थना गरेँ, उहाँलाई मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिन आग्रह गरेँ।
त्यसपछि एकदिन, जब म “तिमीहरूले अहिले जिउने हरेक दिन निर्णायक छ” शीर्षकको परमेश्वरका वचनहरूको भजन सुनिरहेको थिएँ, मैले यो सुनेँ: “अहिले, प्रत्येक दिन तिमीहरू जिउनु महत्वपूर्ण छ र तिमीहरूको गन्तव्य र तिमीहरूको भवितव्यको लागि यो अत्यन्तै महत्त्वपूर्ण छ, त्यसैले तिमीहरूले आफूसँग आज भएको सबै कुरालाई सम्हाल्नुपर्छ र बित्ने प्रत्येक मिनेटलाई महत्त्व दिनुपर्छ। तिमीहरूले यो जीवन व्यर्थमा बाँच्नु नपरोस् भन्नाका खातिर आफूलाई उच्चतम लाभहरू दिनलाई सकेसम्म धेरै समय दिनुपर्दछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ कोप्रति निष्ठावान् छस्?)। मैले “गुमाएको समय फेरि कहिल्यै आउँदैन” पनि सुनेँ “दाजु-भाइ हो, ब्यूँझ! दिदी-बहिनी हो, ब्यूँझ! मेरो दिन आउन विलम्ब हुनेछैन; समय नै जीवन हो, अनि समय आफ्नो हातमा लिनु भनेकै जीवन बचाउनु हो! समय त्यति टाढा छैन! यदि तिमीहरू कलेजको प्रवेश-परीक्षामा असफल भयौ भने, तिमीहरूले अध्ययन गरेर तिमीहरूलाई जति पटक मन लाग्यो त्यति पटक परीक्षा दिन सक्छौ। तर, मेरो दिनले थप ढिलाइ सहनेछैन। याद राख! याद राख! म तिमीहरूलाई यी असल वचनहरूद्वारा आग्रह गर्छु। तिमीहरूकै आँखाको अघि संसारको अन्त्य हुन्छ, अनि ठूला विपत्तिहरू तीव्र गतिमा नजिक आउँछन्। कुनचाहिँ बढी महत्त्वपूर्ण हो: तिमीहरूको जीवन, कि तिमीहरूको निद्रा, तिमीहरूको भोजन र पेय पदार्थ र वस्त्र? तिमीहरूले यी कुराहरूलाई तौलने बेला आएको छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ३०)। यी परमेश्वरका वचनका भजनहरूले ममा छाप छोडे। आखिरी दिनहरूको परमेश्वरको काम यो युगको अन्त्य हो। परमेश्वरले प्रत्येक व्यक्तिको नतिजा निर्धारण गर्दै हुनुहुन्छ र तिनीहरूलाई तिनको प्रकारअनुसार छुट्ट्याउँदै हुनुहुन्छ। अन्ततः सबैजनाले या त मुक्ति पाउनेछन् र राखिनेछन्, या त बरबाद हुनेछन्। यो हामीले अहिले सत्यता कसरी पछ्याउछौँ भन्ने कुराले निर्धारण गर्दछ। यो हाम्रो नतिजा र भाग्य निर्धारण गर्ने महत्त्वपूर्ण क्षण हो। आज हामी एकपछि अर्को विपत्तिले घेरीएका छौँ—भूकम्प, बाढी, र खडेरी तीव्र दरमा बढ्दै गइरहेका छन्। हामीलाई थाहा छैन, परमेश्वरको काम कहिले अन्तिम रूपमा समाप्त हुनेछ। मलाई थाहा थियो, यदि म सत्यता पछ्याउन आफ्नो समयको सही प्रयोग नगरी, गैर-विश्वासीहरूझैँ पैसा र सजिलो जीवनको पछि लागेँ भने, सत्यता प्राप्त गर्ने र मुक्ति पाउने मेरो मौका बर्बाद हुनेछ। मैले लूतकी श्रीमतीलाई सम्झेँ। स्वर्गदूतहरूले उनको परिवारलाई सहरबाट बाहिर लगे र तिनीहरूलाई पछाडि नहेर्न भने तर आफ्नो सम्पत्ति र धनको लोभले गर्दा उनले पछाडि हेरिन्। यसले उनलाई नुनको खम्बामा परिणत गर्यो, जुन लाजको प्रतीक बन्यो। म पनि लूतकी श्रीमतीझैँ थिएँ। मैले धनको लोभ गरेँ र सांसारिक सुखहरू पछ्याएँ, हलोमा हात राखेर पछाडि हेरेँ। म कति मूर्ख र अन्धो थिएँ! म कसरी यसअघि संसारमा भौँतारिने गरेको थिएँ, ऋणमा चुर्लुम्म डुबेर बाहिर निस्किने बाटो नभएको भनेर सम्झेँ। परमेश्वरको मुक्ति ममाथि आयो र मलाई मेरो पीडाबाट बाहिर निकाल्यो, जसले मलाई सत्यता र मुक्ति पछ्याउने मौका दियो। म परमेश्वरको प्रेममा रमाएको थिएँ तर ममा त्यसलाई चुक्ता गर्ने इच्छा थिएन। म आफ्नो कर्तव्यमा लापरवाह थिएँ, त्यसप्रति गैर-जिम्मेवार थिएँ। म विवेकविहीन थिएँ। म जिद्दी भएर गलत बाटोमा बस्न मिल्दैनथ्यो। बरु, मैले आफ्ना व्यक्तिगत स्वार्थ त्याग्नु, सत्यता पछ्याउनु र सही ढङ्गले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्थ्यो।
त्यसपछि, मैले किन काम र पैसालाई कहिल्यै त्याग्न सकिन भनी सोच्न थालेँ—यसको मूल कारण के थियो? त्यसपछि, एक दिन, मैले परमेश्वरका केही वचन पढेँ: “शैतानले मानिसको विचारहरूलाई नियन्त्रण गर्नको लागि ख्याति र प्राप्तिको प्रयोग गर्छ, र अन्ततः मानिसहरूले ख्याति र प्राप्तिबाहेक अरू केही सोच्न सक्दैनन्। तिनीहरूले ख्याति र प्राप्तिका लागि संघर्ष गर्छन्, ख्याति र प्राप्तिकै लागि कठिनाइहरू भोग्छन्, ख्याति र प्राप्तिकै लागि अपमान सहन्छन्, ख्याति र प्राप्तिकै लागि आफूसँग भएका सबै कुराको बलिदान गर्छन्, र तिनीहरूले ख्याति र प्राप्तिकै लागि जुनसुकै मूल्याङ्कन वा निर्णय पनि गर्नेछन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य बन्धनमा बाँध्छ, र त्यो बन्धन हटाउन तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रन्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्वरबाट अलग बस्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, यही तरिकाले शैतानको ख्याति र प्राप्तिको माझमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। “‘दुनियाँ पैसाको इसारामा चल्छ’ भन्ने भनाइ शैतानको दर्शन हो। यो सारा मानवजातिमा, हरेक मानव समाजमा हाबी छ; यो प्रचलन नै बनेको छ भनेर भन्न सकिन्छ। यस्तो किन हुन्छ भने यो हरेक व्यक्तिको हृदयमा घुसाइएको छ, र तिनीहरूले सुरुमा त यो भनाइलाई स्वीकार गरेनन्, तर जब तिनीहरू वास्तविक जीवनको सम्पर्कमा आए तिनीहरूले यसलाई मौन रूपमा स्वीकार गरे, अनि यी शब्दहरू वास्तवमा साँचो छन् भन्ने अनुभव गर्न सुरु गरे। के मानिसलाई भ्रष्ट तुल्याउने शैतानको प्रक्रिया यही होइन र? शायद मानिसहरूले यो भनाइलाई एउटै हदमा बुझ्दैनन्, तर आफ्नो वरिपरि घटेका घटनाहरू र आफ्ना व्यक्तिगत अनुभवहरूको आधारमा यो भनाइलाई हरेकले फरक-फरक हदमा अर्थ्याएका र स्वीकार गरेका छन्। के त्यो यस्तै होइन र? यो भनाइको बारेमा कसैसँग जतिसुकै अनुभव भए तापनि, निजको हृदयमा यसले पार्न सक्ने नकारात्मक प्रभाव के हो त? तिमीहरू प्रत्येक लगायत मानिसहरूको मानव स्वभावबाट यो संसारमा केही न केही कुरा प्रकट हुन्छ। यो के हो त? यो पैसाको आराधना हो। के यसलाई कसैको हृदयबाट हटाउनु कठिन छ त? यो अत्यन्तै कठिन छ! मानिसलाई शैतानले दिएको भ्रष्टता अवश्य नै गहन छ भन्ने देखिन्छ! शैतानले मानिसहरूलाई प्रलोभनमा पार्न पैसाको प्रयोग गर्छ, र तिनीहरूलाई भ्रष्ट पारी पैसाको पूजा गर्ने र भौतिक कुराहरूको मान गर्ने बनाउँछ। अनि, यस्तो पैसा पूजा कसरी मानिसहरूमा प्रकट हुन्छ त? के कुनै पैसा भएन भने तिमीहरू यो संसारमा बाँच्न सक्दैनौ, पैसाविना एक दिन कटाउन समेत असम्भव हुन्छ भन्ने अनुभव गर्छौ त? मानिसहरूको सम्मान जस्तै, तिनीहरूको हैसियत तिनीहरूसँग कति पैसा छ भन्नेमा आधारित हुन्छ। गरिबको ढाड लाजले कुप्रो हुन्छ, तर धनीले आफ्नो उच्च प्रतिष्ठाको आनन्द लिन्छ। तिनीहरू ठाडो गरी अभिमानका साथ उभिन्छन् अनि उच्च स्वरमा बोल्छन् र अहङ्कारी रूपमा जिउँछन्। यो भनाइ र प्रवृत्तिले मानिसहरूकहाँ के ल्याउँछ? के धेरैजसो मानिसहरूले पैसाको लागि जे पनि बलि चढाउन सक्छन् भन्ने कुरा साँचो होइन र? के धेरै मानिसहरूले पैसाको पछि लाग्ने क्रममा आफ्नो गौरव र इज्जत गुमाउँदैनन् र? के धेरै मानिसहरूले पैसाको लागि आफ्नो कर्तव्य निभाउने र परमेश्वरलाई पछ्याउने अवसर गुमाउँदैनन् र? के सत्यता हासिल गर्ने र मुक्ति पाउने मौका गुमाउनु मानिसहरूको लागि नोक्सानीहरूमध्येकै सबैभन्दा ठूलो नोक्सानी होइन र? के मानिसहरूलाई त्यस हदसम्म भ्रष्ट तुल्याउनको लागि यो विधि र यो भनाइको प्रयोग गर्न शैतान कुटिल छैन र? के यो दुर्भावनापूर्ण छल होइन र?” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ५)। परमेश्वरका वचनहरूले मलाई पैसा र प्रतिष्ठाको पछि लाग्नुको जड प्रकाश गरे। सानैदेखि, मैले “दुनियाँ पैसाको इसारामा चल्छ” र “अरूभन्दा असल बन र पुर्खाको नाम राख” जस्ता शैतानी दर्शनहरूलाई जिउँदा पालन गर्नुपर्ने वचन ठानेको थिएँ। मैले सोचेको थिएँ, पैसा भए मानिसहरूले आत्मविश्वास र इज्जतका साथ बोल्न सक्छन्, तिनीहरू अग्लो भई उभिन, उच्च हैसियत पाउन, र सम्मानित हुन सक्छन्। मैले यो नै सार्थक र सम्मानजनक जीवन जिउने एक मात्र उपाय हो भन्ने ठानेको थिएँ। विशेष गरी, जब मेरा आफन्तहरूले मलाई बेवास्ता गरे, मैले कुनै दिन तिनको दमित पार्ने दृष्टिबाट मुक्त हुने आशामा अझ बढी पैसा कमाउन अझ बढी ओभरटाइम गर्न थालेँ। आस्था प्राप्त गरेपछि, मैले बुझेँ, सत्यता बुझ्न र जीवनमा प्रगति गर्नका लागि म अझ बढी भेलामा सहभागी हुन र मैले आफ्नो कर्तव्य निर्वाह गर्न आवश्यक छ, तैपनि म पैसा र हैसियतको पछ्याइ त्याग्न सक्दिनथेँ। जब मेरो कर्तव्य र जागिरबीच अन्तरविरोध हुन्थ्यो, मैले पैसा कमाउने कामलाई पहिलो प्राथमिकता दिन्थेँ र आफ्नो कर्तव्यलाई हल्का रूपमा लिन्थेँ। जब मेरो काम राम्रो भइरहेको थियो र म धेरै पैसा कमाइरहेको थिएँ, त्यो चाहना अझ बलियो भयो। म मण्डलीको कामलाई पूर्ण रूपमा बेवास्ता गर्दै अझ ठूलो रकम कमाउन कसरी अझ धेरै ग्राहकहरू पाउने र अझ धेरै अर्डरहरूमा हस्ताक्षर गराउने कुरामा केन्द्रित भएँ। यसको मतलब केही नव आगन्तुकहरूलाई समयमा मलजल गरिएन र तिनीहरू झन्डै अलग भए, र मलजलको काममा गम्भीर ढिलाइ भयो। त्यसपछि मात्र मैले महसुस गरेँ कि यी शैतानी दर्शनहरूअनुसार जिउँदा म अझ स्वार्थी र लोभी बन्दै गएको थिएँ—म केवल आफ्नै स्वार्थका बारेमा सोचिरहेको थिएँ। मैले परमेश्वरका वचनको मलजल र भरणपोषणको आनन्द उठाइरहेको थिएँ, तर मेरो कर्तव्यमार्फत उहाँको ऋण चुक्ता गरिरहेको थिइनँ। म पूर्ण रूपमा विवेक र समझविहीन थिएँ! शैतानले मानिसलाई लोभ्याउन र भ्रष्ट बनाउन पैसा र हैसियत प्रयोग गर्छ। यसले मेरो हृदयलाई परमेश्वरबाट झन् झन् टाढा पुर्यायो, त्यो हदसम्म कि प्रार्थना गर्दा र परमेश्वरका वचनहरू पढ्दा पनि म केवल झारा टारिरहेको हुन्थेँ। यदि यो जारी रह्यो भने, मैले सत्यता प्राप्त गर्न सक्नेथिइनँ र परमेश्वरद्वारा मुक्त पारिने मेरो मौका गुम्नेथ्यो।
पछि, मैले “मौका गुमाऊ र तिमी सधैँ पछुताउनेछौ” नामको परमेश्वरका वचनको अर्को भजन सुनेँ, तिनले भन्थे: “तिमीहरू परमेश्वरको बोझप्रति अहिले नै सचेत हुनुपर्छ। तिमीहरूले आफू परमेश्वरको बोझप्रति सचेत हुनुअघि उहाँले सम्पूर्ण मानवजातिप्रति आफ्नो धर्मी स्वभाव प्रकट गर्नुभइञ्जेलसम्म पर्खिनु हुँदैन। के त्यति बेलासम्म धेरै ढिलो हुनेछैन र? परमेश्वरद्वारा सिद्ध हुने राम्रो अवसर अहिले नै हो। यदि तैँले यस अवसरलाई आफ्नो हातबाट जान दिइस् भने, मोशाले कनानको असल भूमिमा प्रवेश गर्न असक्षम हुँदा बाँकी जीवनभरि अफसोस गर्दै मरेजस्तै तैँले तेरो बाँकी जीवनभरि अफसोस गर्नेछस्। परमेश्वरले सम्पूर्ण मानवजातिलाई आफ्नो धर्मी स्वभाव प्रकट गर्नुहुँदा तँ अफसोसले भरिनेछस्। परमेश्वरले तँलाई सजाय नदिनुभए तापनि अफसोसले भरिएर तैँले आफूलाई सजाय दिनेछस्। अत्यन्तै राम्रो समय अहिले नै हो। यदि परमेश्वरद्वारा सिद्ध तुल्याइनको लागि तैँले गम्भीरतापूर्वक खोजी गर्दैनस् भने, उहाँको काम पूरा भएपछि धेरै ढिलो भइसकेको हुनेछ—तैँले अवसर गुमाइसकेको हुनेछस्। तेरा आकांक्षाहरू जतिसुकै ठूलो भए तापनि, यदि परमेश्वरले उप्रान्त काम गरिरहनुभएको छैन भने, तैँले जतिसुकै प्रयास गरे पनि कहिल्यै सिद्धता हासिल गर्न सक्नेछैनस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर)। म परमेश्वरका वचनहरूबाट हामीप्रतिका उहाँका अपेक्षाहरू महसुस गर्न सक्थेँ। उहाँ आशा गर्नुहुन्छ कि हामी यस अमूल्य समयलाई ख्याल गर्न, उचित रूपले सत्यता पछ्याउन, हाम्रो कर्तव्य राम्रोसँग पूरा गर्न, र उहाँको मुक्ति प्राप्त गर्न सकौँ। यो परमेश्वरद्वारा सिद्ध पारिनुलाई पछ्याउने जीवनमा एक पटक मात्र आउने अवसर हो, र कर्तव्य निर्वाह गर्ने एक महत्त्वपूर्ण समय हो। आफ्नो कर्तव्य निभाउने क्रममा, विभिन्न समस्याहरू समाधान गर्न सत्यता खोज्ने अभ्यासद्वारा, हामी थप सत्यताहरू सिक्न र जीवनमा छिटो प्रगति गर्न सक्छौँ। यदि मैले यो प्रशिक्षण गर्ने यो अवसरलाई राम्रोसँग उपयोग गरिनँ, बरु पैसाको पछि मात्र दौडिरहेँ भने, परमेश्वरको कामको अन्त्यमा मसँग केही पनि बाँकी रहनेछैन, र कति पनि पछुतो काम लाग्नेछैन। वास्तवमा, हामी जीवनमा खानपान र कपडासँगै सन्तुष्ट हुनुपर्छ। यदि हामी ठूलो रकमको पछि लागेर हाम्रो कर्तव्यलाई बेवास्ता गर्छौँ भने, अन्ततः त्यसले हाम्रो जीवनलाई हानी पुर्याउनेछ र हामीले सत्यता प्राप्त गर्ने र परमेश्वरद्वारा सिद्ध पारिने अद्भुत अवसर गुमाउनेछौँ। त्यो ठुलो मूर्खता हुनेछ!
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: “परमेश्वरप्रतिको प्रेमलाई खोजी गर्ने एक सामान्य व्यक्तिको रूपमा परमेश्वरका मानिसमध्ये एक बन्न राज्य प्रवेश गर्नु तिमीहरूको साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र महत्त्वको जीवन हो; तिमीहरू जत्तिको आशिषित कोही पनि हुँदैन। म किन यसो भन्छु? किनभने परमेश्वरमा विश्वास नगर्नेहरू देहको लागि जिउँछन्, र तिनीहरू शैतानको लागि जिउँछन्, तर आज तिमीहरू परमेश्वरको लागि जिउँछौ, र परमेश्वरको इच्छालाई पछ्याउनका लागि जिउँछौ। यही कारणले गर्दा नै तिमीहरूको जीवन सबैभन्दा महत्त्वपूर्ण छ भनेर म भन्छु। परमेश्वरले चुन्नुभएका मानिसहरूको यो समूहले मात्रै सबैभन्दा महत्त्वको जीवन जिउन सक्छन्: पृथ्वीमा अरू कोही पनि त्यस्तो मूल्य र अर्थको जीवन जिउन सक्षम छैनन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ)। परमेश्वरका यी वचनहरू पढ्दा म उत्साहित भएँ। सत्यता पछ्याउनु र परमेश्वरलाई चिन्नु साँचो अर्थपूर्ण जीवन पाउने एक मात्र बाटो हो। पहिले, पैसा र हैसियत भयो भने सबैले मेरो प्रशंसा गर्नेछन् र यसले मेरो जीवनलाई अर्थ दिनेछ भन्ने सोच्दै म सधैँ शैतानी दर्शनअनुसार जिउँथेँ। तर त्यो सबै गलत थियो। आस्था बिना, जीवनका रूपमा सत्यतालाई प्राप्त नगरी, मानिसहरूले वास्तवमा केही पनि बुझ्न सक्दैनन्। उनीहरूलाई आफू कहाँबाट आएका हौँ, वा परमेश्वरले मानवजातिको भाग्यमाथि शासन गर्नुहुन्छ भन्नेसमेत थाहा छैन। उनीहरू जतिसुकै दुःख भोगे पनि पछि फर्कने नसोची केवल हैसियत र पैसाको पछि लाग्छन्। जब विपत्तिहरू आउँछन्, त्यस्ता मानिसहरू अवश्यै नष्ट हुनेछन्—तब तिनीहरूको पैसा बेकार हुनेछ। सारा जीवन शैतानबाट खेलिनु र पीडित हुनु निकै दुःखद कुरा हो। तर, आस्था राख्नु र सत्यता पछ्याउनु फरक कुरा हो। हामीले धेरै भौतिक सन्तुष्टि नपाउन सक्छौँ, तर सत्यताहरू सिकेर, हामी चीजहरू अझ स्पष्ट देख्न सक्छौँ, र त्यसउपरान्त पैसाको परीक्षामा पर्ने वा त्यसद्वारा बाँधिने छैनौँ। हामी शान्ति र अन्तर्दृष्टि प्राप्त गर्न सक्छौँ। अय्यूबसँग धेरै पारिवारिक सम्पत्तिहरू थिए, तर त्यसमा उनले आनन्द लिँदैनथे। उनी सबै कुरामा परमेश्वरको शासनलाई बुझ्नमा र परमेश्वरदेखि डराउन र दुष्टताबाट अलग रहनमा केन्द्रित थिए। जब उनीमाथि परीक्षाहरू आइपरे, उनले कहिल्यै गुनासो गरेनन्, र गवाहीमा दृढ रहन सक्षम भए। उनले परमेश्वरको अनुमोदन प्राप्त गरे, र अन्त्यमा परमेश्वर उनीसामु प्रकट हुनुभयो। अय्यूबको जीवनको अर्थ र मूल्य थियो। त्यसरी सोचेर, मैले आफ्नो राजीनामा पत्र लेखेँ। म मन बनाइसकको देखेर, मालिकले मलाई रोक्न प्रयास गरेनन्। मेरो राजीनामा प्रक्रिया सहज थियो। कम्पनीबाट बाहिर निस्कनेबित्तिकै मैले आराम र स्वतन्त्र महसुस गरेँ।
त्यसपछि, मैले मेरो कर्तव्यमा आफूलाई समर्पित गरेँ र नव आगन्तुकहरूलाई मलजल गर्न ब्रदर-सिस्टरहरूसँग काम गरेँ। केही समयपछि, नयाँ विश्वासीहरू उत्साहपूर्वक भेलामा सहभागी हुन थाले, र मण्डली जीवले गति लिन थाल्यो। मलाई यस्तो शान्तिको अनुभूति भयो! परमेश्वरलाई धन्यवाद!