६८. कारागारभित्रको यातना
सन् २००४ को नोभेम्बर महिनाको एक बिहान, म भेलामा सहभागी हुन एउटा सिस्टरको घर गएको थिएँ। मैले ढोका ढकढक्याउनै लागेको थिएँ कि ढोका अचानक खुल्यो, र दुई हातहरूले मलाई समाते र भित्र ताने। मेरो आँखामा आँखा जुधाउँदै गहिरो र चर्को स्वरमा एकजनाले धम्की दिँदै भने, “बोली हेर्लास्!” अर्को व्यक्तिले मेरो घाँटी समात्यो र मेरो खुट्टामा लत्ताले हान्दै म त्यहाँ के गर्दै थिएँ र कति जना मानिसहरू आउँदै थिए भनेर सोध्यो। मैले बुझेँ यी मानिसहरू प्रहरी थिए, र अलि आत्तिदै मैले भनेँ, “म त यहाँ केवल पानी पुर्याउन र पानीको बिल सङ्कलन गर्न आएको हुँ।” तीमध्ये एकजनाले सोधे, “तँ चेन हाओ होस्, हैन?” म अचम्ममा परेँ—उनीहरूले मेरो नाम कसरी थाहा पाए? मैले प्रतिक्रिया जनाउने मौका पाउनु अघि नै, उनीहरूले मेरो तलासी लिए, खल्तीबाट एउटा नोटबुक र ६०० युआन जफत गरे, र मलाई हतकडी लगाइदिए। “अन्ततः यो ठाउँमा एक महिनासम्मको निगरानी खेर गएन।” मैले कसैले भनिरहेको सुनेँ, मलाई बुझेँ कि उनीहरूले यो घरलाई धेरै समयदेखि निगरानी गरिरहेका थिए। करिब पाँच मिनेटपछि, तीनजना सादा पोशाक लगाएका प्रहरी अधिकारीहरू आए। “तिमी यहाँ के गर्दै छौ? यी मानिसहरूसँग किन?” तीमध्ये एकजनाले मलाई अचम्म मानेर हेर्यो र भन्यो, यस व्यक्तिको नाम लियू थियो र उसकी बहिनी मेरो सहकर्मी थिइन् जब म प्रभु येशूमाथि विसास गर्थेँ। र मलाई लैजान उसले आफू तलका प्रहरीलाई आदेश दियो। ऊ एकदमै निर्दयी र कपटी थियो, मैले सम्झेँ, अन्य ब्रदर-सिस्टरहरू पहिले पक्राउ हुँदा, तिनीहरूलाई अनेक किसिमका यातना दिइन्थ्यो र केहीलाई त मृत्युसम्म पुर्याइन्थ्यो। म निकै डराएँ। मलाई प्रहरीले मलाई यातना दिने हुन् वा मार्ने हुन् थाहा थिएन, त्यसैले मैले परमेश्वरलाई, मेरो रक्षा गर्न र उहाँप्रति मेरो गवाहीमा दृढ रहनको लागि मलाई आस्था र शक्ति दिनुहोस् भन्दै प्रार्थना गरेँ। त्यसपछि मैले प्रभु येशूले यसरी भन्नुभएको कुरा सम्झेँ: “अनि शरीर मार्ने तर आत्मा मार्न नसक्नेहरूसँग नडराओ, तर उहाँसँग डराओ जसले आत्मा र शरीर दुवै नरकमा नष्ट पार्न सक्नुहुन्छ” (मत्ती १०:२८)। हो, प्रहरीले मेरो शरीरलाई मात्र नष्ट गर्न सक्छन्, तर मेरो आत्मा तिनीहरूले खोस्न सक्दैनन्। परमेश्वरका वचनहरूको मार्गदर्शनले मेरो डर केही हदसम्म कम भयो।
त्यसपछि, तिनीहरूले मलाई स्थानीय प्रहरी चौकीमा ल्याए। आफूलाई इमान्दार देखाउन खोज्दै, लियू नाम गरेका व्यक्तिले मलाई भित्र ल्याएका प्रहरीहरूलाई भने, “उहाँलाई धेरै कडा नगर्नुहोस्। उहाँ इमान्दार व्यक्ति हुनुहुन्छ, र हाम्रो पुरानो चिनजान छ।” त्यसपछि, नक्कली इमान्दारीका साथ, उनले मलाई भने, “तपाईंले थाहा पाएको कुरा मात्र बताउनुहोस्। अलिकति धार्मिक अभ्यास गर्नुलाई ठूलो कुरा मानिदैन। यदि तपाईं सत्य बताउनुहुन्छ भने, घर जान पाउनुहुन्छ। तपाईं अन्तिम पटक घर गएको पनि एक वर्षभन्दा बढी भयो, हैन र? यस विषयमा राम्रोसँग विचार गर्नुहोस्। समय आएपछि, तपाईंले हामीलाई चाहिएको कुरा बताउनुहोस्, म वचन दिन्छु कि तपाईं सुरक्षित हुनुहुनेछ।” उसको यो कुरा सुन्दा, म अलिकति डगमगाएँ र मैले सोचेँ: “हाम्रो राम्रो चिनजान छ, र ऊ विशेष अनुसन्धान टोलीको प्रमुख पनि हो, सायद, मैले कम महत्त्वका कुरा बताएर उसको विसास जित्न सकेँ भने, उसले मलाई जान दिनेछ।” यसबारे सोच्दै गर्दा, मैले अचानक परमेश्वरका वचनहरू सम्झिएँ: “मेरा मानिसहरू हर समय शैतानका धूर्त युक्तिहरूप्रति सावधान रहनुपर्छ … ताकि शैतानको पासोमा पर्न नपरोस्, जुन बेला पछुतो गर्नको लागि धेरै ढिलो भइसकेको हुनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय ३)। मैले आफू शैतानको धूर्त षड्यन्त्रमा झन्डै फसेको थिएँ भनेर बुझेँ। यो अधिकारी लिउ धूर्त र कुटिल व्यक्ति थियो—उसको भनाइ म कसरी विश्वास गर्न सक्थेँ? उसले मबाट केवल मण्डलीबारे जानकारी पाउन र मलाई परमेश्वरलाई धोका दिन लगाउन चाहन्थ्यो। यो कुरा बुझेर, मैले मुख बन्द राखेँ। त्यसपछि अर्को अधिकारीले मलाई सोधे, “तँ कहाँ सुसमाचार प्रचार गर्दै छस्? तँ को-कोसँग भेला भइरहेको छस्? तेरो अगुवा को हो? मण्डलीले आफ्नो पैसा कहाँ राख्छ?” तर, उसले जति सोधपुछ गरे पनि, म एक शब्द बोलिनँ।
त्यही दिन लगभग ३ बजेतिर, तिनीहरूले मलाई काउन्टी हिरासतगृहमा लगे। एक जना अधिकारीले मलाई एउटा कोठरीमा लगेर सबै लुगा खोल्न, हात माथि उठाउन र घुम्न आदेश दियो। र तीनपटक कुखुरा बनेर उठबस गर्न भन्यो। मैले घुम्न नमानेपछि, उसले मलाई लात्तीले हान्यो मलाई अत्यन्त रिस उठ्यो र अपमानित महसुस भयो। त्यसपछि, मलाई ३० भन्दा बढी कैदीहरू भएको २० वर्ग मिटरभन्दा साँघुरो कोठरीमा राखियो। म कोठरीमा छिर्नेबित्तिकै, दुई कैदीले मेरो हात ढाडपछाडि लगेर बटार्दै माथि ताने र घचेड्दै कोठा वरिपरि परेड गराए, अनि लात्तीले हानेर भुइँमा लडाए। मेरो निधार भुइँमा बज्रियो र रगत बग्न थाल्यो। कैदीहरू हाँसे र एउटाले भन्यो, “जहाजले ब्रेक लगाउन बिर्से जस्तो छ।” अर्कोले भन्यो, “हामीसँग तँलाई सिकाउन धेरै कुरा छ। समयको दौरान तैँले सिक्नेछस्।” मैले मनमनै सोचेँ: “म त यहाँ भर्खर मात्र आएको हुँ, र पनि तिनीहरूले मलाई यत्रो यातना दिइरहेका छन्। म यहाँ कसरी बाँचूँला? के म यो सहन सकूँला?” मनमनै, मैले परमेश्वरलाई प्रार्थना गरेँ, मेरो हृदयको रक्षा गर्नुहोस् ताकि म गवाहीमा दृढ रहन सकूँ भनी बिन्ती गरेँ। त्यही बेला, मैले परमेश्वरका यी वचनहरू सम्झेँ: “त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्वरले उहाँको बुद्धि र उहाँका अचम्मका कामहरू प्रकट गर्दै, अनि मानिसहरूको यो समूहलाई पूर्ण बनाउन यो मौका प्रयोग गर्दै, उहाँ आफ्नो कार्यको एउटा चरण गर्नुहुन्छ। मानिसहरूको कष्ट भोगाइद्वारा, तिनीहरूकै क्षमताद्वारा, अनि यस फोहोर देशका मानिसहरूको सारा शैतानिक स्वभावद्वारा नै परमेश्वरले शुद्धीकरण र विजयको कार्य गर्नुहुन्छ, ताकि यसद्वारा उहाँले महिमा पाउन सक्नुभएको होस्, अनि उहाँले आफ्ना कार्यहरूको साक्षी बन्नेहरूलाई प्राप्त गर्न सक्नुभएको होस्। मानिसहरूको यस समूहका निम्ति परमेश्वरले गर्नुभएका सबै बलिदानको पूर्ण महत्त्व यही नै हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के परमेश्वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। मैले परमेश्वर हाम्रो आस्थालाई सिद्ध पार्न यस वातावरणलाई उपयोग गर्दै हुनुहुन्छ भन्ने बुझेँ। परमेश्वरका वचनहरू मनन गर्दा, मलाई प्रहरीले पक्राउ गर्नु र यातना दिनु परमेश्वरकै अनुमतिले भएको थियो। उहाँले म आफ्ना गवाहीमा अडिग रहेर शैतानलाई लज्जित बनाउनेछु भन्ने आशा गर्नुभएको थियो। परमेश्वरका लागि गवाही दिने अवसर पाउनु वास्तवमा ठूलो सम्मानको कुरा थियो। मैले कसरी प्रभु येशू मानवजातिलाई छुटकारा दिन क्रुसीकरण हुनुभएको थियो, र कसरी परमेश्वरले हामीलाई मुक्ति दिन आखिरी दिनहरूमा देहधारण गरिसकेपछि सत्ताधारी पार्टीको खेदो र सतावट, धर्मको संसारको निन्दा र अस्वीकारको सामना गर्नुपर्यो, र सबै प्रकारका कष्ट र अपमान सहनुभयो। त्यसको बाबजुद, परमेश्वर सत्यता व्यक्त गर्नुहुन्छ र हामीलाई भरणपोषण गर्नुहुन्छ। परमेश्वरको पछि लाग्ने, सत्यता पछ्याउने र उहाँबाट मुक्ति पाउने अवसरसँग तुलना गर्दा, यो सानो कष्ट के नै थियो र? यो बुुझेपछि, मलाई अलि दह्रिलो महसुस भयो र सोचेँ: “उनीहरूले मलाई जसरी यातना दिए पनि, मैले मण्डलीको कुनै पनि जानकारी खुलासा गर्नै हुँदैन र परमेश्वरलाई धोका दिनै हुँदैन।”
चौथो दिनको बिहान, प्रहरी फेरि मलाई सोधपुछ गर्न आयो र मण्डलीबारे विभिन्न कुरा सोध्यो, र विभिन्न व्यक्तिको फोटो देखाउँदै यी व्यक्तिले तँलाई चिनेको भनिसकेका छन्, यी व्यक्तिहरू को हुन् भनी सोध्यो। यो उनीहरूको अर्को चाल हो भन्ने मलाई थाहा भयो—उनीहरू छलले मबाट ब्रदर-सिस्टरहरूको पोल खुलाउन चाहन्थे—त्यसैले मैले उनीहरूको कुरा बेवास्ता गरेँ। अन्ततः, मैले केही पनि नभन्ने देखेपछि, उनीहरूले मलाई फर्काएर अर्को कोठरीमा राखे। कोठरीमा प्रवेश गर्दैगर्दा, मैले त्यस अधिकारीले अरू कैदीहरूलाई “यो विश्वासी हो। यसको ‘राम्रो खातिरदारी गर्नू’ भनेको सुनेँ।” त्यसपछि, एक जवान कैदी मेरो नजिक आयो र “मेरा कान सफा गर्दिन्छु” भन्यो। ऊ र अर्को कैदीले मेरा दुवै कान दुईतिर ताने। मैले तिनीहरूलाई धकेल्न खोजेँ, तर उनीहरूले मलाई अचानक छोडे र म जमिनमा लडेँ। म उठ्नै लाग्दा, कसैले मेरो काँधमा थिच्यो, मलाई उठ्नै दिएन। त्यसपछि अर्को कैदी मकहाँ आएर “रुखको बोक्रा उप्काउँछु” भन्यो। उसले मेरो पाइन्ट माथि सुर्काइदियो, र त्यसपछि एक हातले मेरो खुट्टा जोडले दबाउँदै लुगा धुने पाउडरको झोलाले छोपिएको अर्को हातले मेरो नली खु्ट्टाको छाला जोरसँग घोट्यो। उसले यति छिटो घोट्यो कि चाँडै मेरो खुट्टा रातो भयो, र दुखाइले पोल्न थाल्यो। मलाई भुइँमा थिचिरहेको अर्को कैदीले मेरो कान निमोठिरहेको थियो। उनीहरूले त्यसरी मलाई बीस मिनेटभन्दा बढी यातना दिए। मेरा कानमा असह्य पीडा भयो र मेरो नली खुट्टा नराम्ररी पिल्सिएको थियो र त्यसबाट रगत बगिरहेको थियो। त्यसपछि, त्यो जवान कैदीले मलाई पछाडि जोरसँग लात हान्यो, र म अगाडि हुत्तिएँ। त्यसपछि उसले मलाई पेटमा यति जोडले लात हान्यो कि दुखाइले मेरो ढाड कुप्रियो। मेरा भित्री अङ्गहरू फुट्लाजस्तो भयो। अर्को कैदी आएर पछाडिबाट लात्तीले हान्यो, र म लड्खडाउँदै भुइँमा लडेँ, र त्यसपछि उनीहरूले मलाई कम्बलले छोपेर लात्ती र मुड्कीले हान्न थाले। मेरो पूरै शरीर दुःखिरहेको थियो—मेरो निधार काटिएको थियो र नाकबाट रगत बगिरहेको थियो। उनीहरूले मेरो कपालमा लुगा धुने पाउडर दले, जबर्जस्ती मेरा सबै लुगा फुकाल्न लगाएर चिसो पानीमा नुहाउन लगाए। त्यति बेला डिसेम्बर महिना थियो र बाहिर हिउँ परिरहेको थियो। कोठरीको पानी ट्याङ्कीको बरफ पग्लिएर आएको, हड्डी जम्ने चिसो थियो। चिसो पानीले म कठ्याङ्ग्रिएको थिएँ र पूरै शरीर काँपिरहेको थियो। त्यसपछि, एक कैदीले लुगा धुने पाउडर घोलेको आधा गिलास पानी ल्याएर भन्यो, “तँ कठ्याङ्ग्रिरहेको जस्तो छ। तेरा लागि आधा गिलास ‘बियर’ राखेका छौँ। ला, खा।” जब मैले खान मानिनँ, उसले भन्यो, “के? थोरै भयो?” र अनि अरू चिसो पानी हाल्यो। डिटर्जेन्टको फिँज गिलासबाहिरबाट चुहिन थाल्यो। मैले अझै पनि खान नमानेको देखेर, उसले भन्यो, “तैँले यो खाइनस् भने, हामीले कसरी तेरो ‘पट्का पड्काउने’?” त्यसपछि दुई जना कैदीले मलाई ओछ्यानमा लडाएर मेरो नाक थुने र जबर्जस्ती त्यो पानी खुवाए। उनीहरूले “पट्का पड्काउने” भनेको सरफ पानी जबर्जस्ती खुवाउनु र त्यसपछि त्यो व्यक्तिलाई कुटेर उल्टी गराउनु हो। मैले निकै सङ्घर्ष गर्दै चिच्याएँ, “के तँ मलाई मार्न खोज्दैछस्? यहाँ कानून लाग्दैन?” एउटा उभिएको प्रहरीले म चिच्याइरहेको सुन्यो र कराउँदै भन्यो: “तँ किन चिच्याइरहेको? उनीहरूले तँलाई हल्का नुहाइरहेका त हुन्—यसले तँलाई मार्दैन! फेरि चिच्याइस् भने, भोलि तँलाई बिजुलीको लाठी हानिन्छ!” उसका कुरा सुनेर मलाई एकदमै रिस उठ्यो। मेरो सम्पूर्ण शरीर चिसो पानीले गर्दा काँपिरहेको थियो र मेरो छाला चिसोले सुन्निएको थियो। म लुगा उठाएर लगाउनको लागि काँपेको हात अघि बढाउँदै मात्र के थिएँ, एउटा कैदीले मलाई लात्ताले हानेर भुइँमा लडायो। पीडाले कुप्रिँदै म उभिने प्रयास गर्दैगर्दा अरू दुई कैदीले तुरुन्तै मलाई भित्तामा च्यापे, त्यसपछि तेह्र जना कैदीले मतिर दौडेर आए र मलाई मुक्काले भकुर्न थाले। मृत्युदण्डको सजाय पाएको एक कैदीले चिच्याउँदै भन्यो, “ल, हरेकले यसलाई दश मुक्का हान।” त्यसपछि ऊ एकातिर उभिएर सबै कैदीका मुक्का प्रहारहरू गन्न थाल्यो। म यति कष्टमा थिएँ कि मेरो ढाड कुप्रेको थियो, मेरो छाती र पेट अत्यन्त दुखिरहेका थिए र मलाई सास लिन मुस्किल भइरहेको थिइनँ। त्यसपछि अर्को कैदी मेरो नजिक आयो र मेरो टाउकोको पछाडि हत्कडीले दुई पटक कडा प्रहार गर्यो। मलाई चक्कर र वाकवाकी लाग्न थाल्यो, कोठा घुम्न थाल्यो, मेरो कान बज्न थाले र त्यसपछि मलाई धेरै बेरसम्म बान्ता भयो। अन्तमा, पहेँलो पानी मात्र बान्ता हुन थाल्यो। मैले आफ्नो छाती समाएँ, सास फेर्दा समेत दुख्ने भएकाले गहिरो सास लिन सक्दिनँथेँ। अन्ततः खोक्दा रगत बग्न थाल्यो र मलाई मेरो शरीर टुक्रिरहेको जस्तो लाग्यो। मैले मनमनै सोचेँ, “यी कैदीहरूले मलाई कुटेर मार्नेछन् अनि न मेरो परिवारलाई म पक्राउ परेको थाहा छ, न त मेरा ब्रदर-सिस्टरहरू मलाई कहाँ लगिएको छ भन्ने थाहा छ। यदि यिनीहरुले साँच्चिकै मलाई मारे र प्रहरीले मेरो लाशलाई एकान्तमा लगेर गाड्यो भने, कसैलाई पनि यो घटना कहिल्यै थाहा हुने छैन।” यो बुझेपछि म निकै डराएँ र कमजोर भएँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ: “हे परमेश्वर! म अब सहन सक्दिनँ। यस्तै चलिरह्यो भने, तिनीहरूले मलाई यातना दिएर मार्नेछन्। मेरो सुरक्षा गर्नुहोस्, ताकि म यस पीडा र यातनालाई सहन सकूँ।” त्यही बेला, मैले परमेश्वरका यी वचन सम्झेँ: “अब्राहामले इसहाकलाई अर्पण गरे—तिमीहरूले के अर्पण गरेका छौ? अय्यूबले सबै थोक अर्पण गरे—तिमीहरूले के अर्पण गरेका छौ? सत्य बाटो खोज्नका निम्ति एकदमै धेरै मानिसले आफूलाई बलिदान गरेका छन्, आफ्नो जीवन दिएका छन् र रगत बगाएका छन्। के तिमीहरूले त्यो मूल्य चुकाएका छौ?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मोआबका सन्तानहरूलाई बचाउनुको महत्त्व)। यी प्रश्नहरू सामना गर्दा, म लाजले भरिए। मैले युगौँयुगभरिका सन्तहरूका बारेमा सोचेँ। तिनीहरूले सुसमाचार फैलाएकाले र परमेश्वरलाई गवाही दिएकाले, तिनीहरूमध्ये कसैलाई ढुङ्गाले हानेर मारियो, कसैलाई टुक्रा-टुक्रा पारियो, र कसैलाई घोडाले घिसारेर मारियो। उनीहरूले आफ्नो बहुमूल्य जीवन परमेश्वरको गवाहीमा दृढ खडा रहनाका लागि समर्पण गरे। तर जब मलाई पक्राउ गरियो, कुटियो, यातना दिइयो र मेरो ज्यान लिइने धम्की दिइयो, म कमजोर, नकरात्मक र मृत्युको डरले कायरतापूर्वक जीवनसँग झुन्डिएँ। म कति डरपोक थिएँ! मैले परमेश्वरका वचनहरूको पानी र पोषणबाट धेरै लाभ उठाएर पनि यस महत्वपूर्ण क्षणमा परमेश्वरको गवाहिमा दृढ भइ उभिन नसक्नु कति अनुचित कुरा थियो भन्ने सोचेँ। मैले गहिरो आरोपको अनुभूति गरेँ र म कहिल्यै शैतानको प्रलोभनमा नपरी, जस्तै यातना भए पनि टुट्ने छैन भन्दै शपथ लिएँ। म जमिनमा अचल अवस्थामा लडेको देखेर मात्र कैदीहरूले मलाई कुट्न रोके।
करिब एक हप्ता पछि, अधिकारी लियू फेरि मलाई सोधपुछ गर्न आयो। उसले झूटो निष्ठाको स्वर अपनाउँदै मलाई भन्यो: “पुरानो साथी, हामीले तेरो रेकर्डहरू हेरिसकेका छौँ र तेरो कुनै अवैध क्रियाकलापको इतिहास छैन। तेरा आमाबाबु अब बूढो हुँदै गएका छन् र तेरोको बच्चा तेरा लागि रोइरहेको छ। तिनीहरू सबै तँ नयाँ वर्षको उत्सवको लागि घर फर्कने आशा गर्दैछन्। अरू केही सोच्। यदि तैँले हामीलाई मण्डलीको बारेमा थाहा पाउन चाहेका कुरा भनिस भने, हामी तँलाई तुरुन्तै जान दिन्छौँ।” मैले जवाफ नदिँदा, उसले आफ्ना तरिका परिवर्तन गर्दै भन्यो, “तँलाई थाहा छ, यदि तैँले हामीलाई केही भनेनस् भने पनि हामी तँलाई ३-५ वर्षको सजाय दिन सक्छौँ। तैँले थाहा पाउनु पर्छ कि यो यस्तै हो—यति जिद्दी नभइ।” मैले उसलाई बेवास्ता गर्न जारी राख्दा, उसले मलाई फेरि कोठरीमा पठाएर आफ्नो प्रस्ताव बारे सोच्न भन्यो। कोठरीमा फर्केपछि मैले मेरी आमाको उमेर कति बढिसकेको छ र उनको स्वास्थ्य राम्रो छैन भनेर सोचेँ। यदि मलाई साँच्चै ३-५ वर्षको सजाय भयो भने र म जेल भित्र मरेँ भने, मेरी आमाको हेरचाह कसले गर्नेथ्यो? मैले यस बारेमा जति सोचेँ, म त्यति नै दुःखी भएँ। अन्ततः मैले सोचेँ कि सायद मैले केही महत्त्वहीन कुराको खुलासा गर्न सक्थेँ जसले मलाई जेल जानबाट बचाउन सक्थ्यो। ठिक त्यही समयमा, मैले परमेश्वरका वचनहरू सम्झेँ, जसले भन्छन्: “सङ्कष्टको समयमा मप्रति अलिकति पनि निष्ठा नदेखाउनेहरूप्रति, अब म कृपालु हुनेछैनँ, किनभने मेरो कृपा यहीँसम्मका लागि मात्रै थियो। साथै, मलाई एक पटक विश्वासघात गर्नेहरूलाई म मन पराउँदिनँ र आफ्ना साथीहरूको हितलाई बिक्री गर्नेहरूसँग संलग्न हुन झनै मन पराउँदिनँ। मानिस जोसुकै भए पनि मेरो स्वभाव यही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्वरका वचनबाट मैले परमेश्वरको धार्मिक स्वभावले कुनै पनि अपराधलाई सहन गर्दैन भन्ने देखेँ। परमेश्वरले यहूदा बनेर मण्डलीलाई बेच्ने र उहाँलाई धोका दिने व्यक्तिहरूलाई पूर्ण रूपमा घृणा गर्नुहुन्छ, र उहाँ यस्ता व्यक्तिहरूलाई कहिल्यै माफ गर्नुहुन्न। मैले स्पष्ट रूपमा बुझेँ, अधिकारी लियू धूर्त र कपटी थियो, र मैले थोरै जानकारी मात्रै दिएको भए, उसले मलाई अझ धेरै जानकारी दिन बाध्य पार्ने थियो। अझै पनि, मैले उसका दुष्ट शब्दहरूमा विश्वास गर्दै थिएँ। म कति मूर्ख थिएँ! मेरो परिवारको चिन्ताले गर्दा, मैले परमेश्वरलाई धोका दिने सोच बनाएको थिएँ। मैले मेरो परमेश्वरमाथिको आस्था साँच्चै कमजोर देखेँ। हाम्रो सबै भाग्य परमेश्वरकै हातमा छ। म यातनाबाट मर्नेछु कि बाँच्नेछु र मेरो परिवारको भविष्य के हुनेछ भन्ने अन्तिम निर्णय परमेश्वरकै हुनेछ। मैले सबै कुरा परमेश्वरको हातमा छोड्नुपर्छ। र यो कठिन परीक्षा पार गर्न परमेश्वरमाथि भर पर्नुपर्छ। जब म समर्पित हुन इच्छुक भएँ, कोठरी ८ का कैदीहरूले मलाई कुट्न छोडे। कैदीहरूले मप्रति आफ्नो दृष्टिकोण परिवर्तन गरेको देखेर, अधिकारीहरूले मलाई कोठरी १० मा स्थानान्तरण गरे।
कोठरी १० का कैदीहरूले मलाई कोठरी ८ का कैदीहरूले जसरी नै कुटे। मैले कुनै प्रतिक्रिया दिने मौका पाउनुअघि, उनीहरूले मलाई कम्बल ओढाएर लात र मुक्का हान्न थाले। उनीहरूले यसलाई “म:म: बनाउने” भन्थे। जबजब कैदीहरू खराब मनस्थितिमा हुन्थे, उनीहरूले आफ्नो क्रोध ममाथि निकाल्थे। त्यो वातावरणमा मैले धेरै कष्ट भोगेँ र गहिरो दमन महसुस गरेँ। हरेक दिन पार गर्न मात्र पनि सङ्घर्ष थियो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरी मार्गदर्शन र आस्था मागेँ। एक हप्ता पछि, मृत्युदण्ड सजाय पाएका एक कैदीले मलाई भने: “प्रभुमाथिको तेरो आस्थाका बारेमा मलाई भन् र तेरा भजन गाएर सुना। यदि मैले भनेको गरिनस् भने, म यी हत्कडीले तेरो टाउकोमा हान्नेछु। रोकिएलास्, तेरो काम अहिले केवल बोल्ने र गाउने हो।” त्यसैले मैले जे मनमा आयो त्यही गाएँ, र केही पनि नसोची मैले परमेश्वरका वचनहरूको “तिमीहरूप्रति परमेश्वरका आशाहरू महसुस गरेका छौ?” भन्ने भजन गाउन थालेँ: “तिमीहरूमध्ये अय्यूब को हो? पत्रुस को हो? किन मैले अय्यूबलाई बारम्बार उल्लेख गरेको छु? किन मैले पत्रुसलाई यति धेरैपटक उल्लेख गरेको छु? के तिमीहरूले तिमीहरूका लागि मेरा आशाहरू के हुन् भनी कहिल्यै बोध गरेका छौ? तिमीहरूले यस्ता कुराहरूमा मनन गर्न अझ बढी समय खर्च गर्नुपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय ८)। गाइरहँदा, म भावुक हुन थालेँ। मैले कसरी अय्युबले सबै सम्पत्ति गुमाएपछि र शरीरभरि घाउ आउँदा पनि परमेश्वरको नामको स्तुति गरिरहेको कुरा सम्झेँ। मैले पत्रुसलाइ सम्झेँ, जसले आफ्नो सम्पूर्ण जीवन परमेश्वरलाई माया गर्न खर्चिए र अनगिन्ती शोधन र कठिनाइहरू भोगे, अन्ततः क्रूसमा उल्टो टाँगिए। उनले परमेश्वरलाई अत्यन्त माया गरे र मृत्युसम्म उहाँमा समर्पित भए। उनीहरू दुवैले परमेश्वरका लागि सुन्दर गवाही दिए र उहाँको प्रशंसा प्राप्त गरे। परमेश्वर भन्नुहुन्छ: “तिमीहरूमध्ये अय्यूब को हो? पत्रुस को हो?” परमेश्वरका वचनबाट मैले उहाँका अपेक्षाहरूको बोध गरेँ। मैले सोचेँ: “म अय्युब र पत्रुसजस्तै भएर परमेश्वरको गवाही दिनुपर्छ।” त्यो भजनले मलाई ताजा प्रेरणा दियो। परमेश्वर मेरो साथमा हुनुहुन्छ भन्ने महसुस गरायो, र मैले सबै कष्ट सहन रआफ्नो गवाहीमा दृढ रहन नयाँ प्रकारले दृढ सङ्कल्प महसुस गरेँ। त्यसपछि मैले त्यो कैदीलाई परमेश्वरको सार्वभौम शासनको कुरा, कसरी उहाँले दुष्टलाई दण्ड र असललाई इनाम दिनुहुन्छ भन्ने कुरा बताउँदै परमेश्वरको धर्मी स्वभावको गवाही दिएँ। मैले उसलाई लाजारस र धनाढ्यको कथा पनि सुनाएँ। मैले उसलाई दुष्कर्म गर्नेले कठोर सजाय भोग्नेछन् र मृत्युपछि नरकमा जाकिनेछन् भनी बताएँ। परमेश्वर सत्यता व्यक्त गर्न र मानव जातिको मुक्तिको काम गर्न आइसक्नुभएको छ, र मानिसहरूले पापमुक्त भई शुद्ध भएर स्वर्गको राज्यमा प्रवेश गर्न सत्यता स्वीकार स्वीकार्नुपर्छ। ती सबै कुरा सुनेपछि, त्यो कैदीले लामो सास फेर्यो र भन्यो, “अब त धेरै ढिला भइसक्यो! तँजस्तो कोही मैले पहिले नै भेटेको भए, म यो अवस्थासम्म पुग्ने थिइनँ।” अर्को कैदी अवकाशप्राप्त शिक्षक थियो र उसले पनि स्विकार्दै भन्यो: “मैले तपाईंजस्ता विश्वासीलाई पहिले पनि भेटेको छु। मैले कहिल्यै उनीहरूले अवैध काम गरेको सुनेको छैन।” त्यसपछि उसले रिसाउँदै भन्यो, “चीनमा न्याय वा कानूनी शासन भन्ने कुनै चीज नै छैन।” त्यसपछि, उक्त कोठरीका कैदीहरूले मलाई कुट्न छोडे। मलाई यो परमेश्वरको कृपाको सङ्केत थियो र उहाँले मेरो कमजोरीमा सहानुभूति देखाउनुभएको थियो भनेर थाहा थियो। परमेश्वरको सर्वशक्तिमानता र सार्वभौमिकता क्रियाशील भएको देखेर, मेरो आस्था दोब्बर भयो।
सन् २००४ को डिसेम्बरमा, चिनियाँ कम्युनिष्ट पार्टीले मलाई “अवैध धर्म प्रचार गरी सामाजिक व्यवस्थामा खलल पुर्याएको” आरोपमा दोषी ठहर गर्दै तीन वर्षको श्रम सुधारको सजाय सुनायो। मेरो सजाय सुनाइँदा, म धेरै क्रोधित भएँ—एक विश्वासीको रूपमा, म सही मार्गमा हिँडिरहेको थिएँ र मैले कुनै अवैध काम गरेको थिइनँ, तर पनि चिनियाँ कम्युनिष्ट पार्टीले मलाई जबरजस्ती तीन वर्षको सजाय दियो। उनीहरू साँच्चै दुष्ट छन्! पछि, परमेश्वरका शब्दहरूको एउटा खण्ड मेरो मनमा आयो: “यस्तो अन्धकारको समाजमा जहाँ भूतहरू निर्दयी र अमानवीय हुन्छन्, जहाँ शैतानका राजाले कुनै चासो नराखी मानिसहरूलाई मार्छ, त्यसले यस परमेश्वरको अस्तित्वलाई कसरी सहन गर्न सक्छ जो प्रेमिलो, दयालु, साथै पवित्र पनि हुनुहुन्छ? त्यसले परमेश्वरको आगमनको प्रशंसा र जयजयकार कसरी गर्न सक्छ? यी चापलुसहरू! तिनीहरूले दयाको बदलीमा घृणा गर्छन्, तिनीहरूले धेरै पहिलेदेखि नै परमेश्वरलाई शत्रुको रूपमा व्यवहार गर्न थालेका छन्, तिनीहरूले परमेश्वरसित दुर्व्यवहार गर्छन्, तिनीहरू चरम रूपमा क्रूर छन्, तिनीहरूमा परमेश्वरप्रति अलिकति पनि आदर छैन, तिनीहरू आक्रमण गर्छन् र लुट्छन्, तिनीहरूले सबै विवेक गुमाएका छन्, तिनीहरू सबै विवेकको विरुद्धमा जान्छन्, तिनीहरूले निर्दोष मानिसहरूलाई अचेत होउन्जेल लोभ्याउँछन्। प्राचीनका पुर्खाहरू? प्रिय अगुवाहरू? तिनीहरू सबैले परमेश्वरको विरोध गर्छन्! तिनीहरूका हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै पाप ढाक्ने युक्तिहरू हुन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (८))। चिनियाँ कम्युनिष्ट पार्टीले धर्मको स्वतन्त्रताको प्रवर्द्धन गर्ने दाबी गर्छ, तर गोप्य रूपमा इसाईहरूलाई दमन र उत्पीडन गर्छ, परमेश्वरका विश्वासीहरूलाई पिट्ने, यातना दिने, र जेलमा हाल्ने काम गर्छ। तिनीहरू छलकपटको माध्यमबाट ख्याति कमाउन खोज्छन् र पूर्ण रूपमा दुष्ट छन्! मैले चिनियाँ कम्युनिष्ट पार्टीद्वारा पक्राउ र सतावटको व्यक्तिगत रूपमा अनुभव गरेर, तिनीहरूको राक्षसी र परमेश्वरको विरोधी सारलाई चिन्न सकेँ। यसले अन्तिम क्षणसम्म परमेश्वरलाई पछ्याउने मेरो दृढ अठोटलाई अझ बलियो बनायो।
सन् २००५ को जनवरीमा, मलाई श्रम शिविरमा पठाइयो र प्रिन्टिङ कार्यशालामा काम गर्न लगाइयो। हामीले दिनमा झन्डै १५ घण्टा काम गर्नुपर्थ्यो र प्रायः ३–४ घण्टा मात्र आराम गर्न पाउँथ्यौँ। हरेक महिना हामीले १०–१५ दिनसम्म ओभरटाइम गर्नुपर्थ्यो र कहिलेकाहीँ रातभर काम गर्नुपर्थ्यो। समयसँगै, हाम्रो प्रिन्टिङ कोटा ३,००० बाट १५,००० पानाभन्दा माथि पुग्यो। यसकारण, मैले दिनभरि प्रिन्टिङ प्लेटहरू ओसारपसार गर्नुपर्थ्यो र प्रायः दैनिक १० किलोमिटरदेखि दर्जनौँ किलोमिटरसम्म हिँड्नुपर्थ्यो। म मेरो बाँया हातमा रङ्ग समात्दै दाहिने हातले लगातार ब्रस गरिरहन्थेँ। रङ्गको गन्धले गर्दा मलाई चक्कर आउँथ्यो, आँखा पोल्थ्यो, दृष्टि धमिलो हुन्थ्यो, र सास फेर्न गाह्रो हुन्थ्यो। दिनभर म मेरो हात, खुट्टा र काँधमा निरन्तर र असहनीय दुखाइ सहन्थेँ, र म यति थाकेको हुन्थेँ कि उभिएरै निदाउन सक्थेँ। म एक पटक मलाई ज्वरो र रुघाखोकी लागेको थियो, र चक्कर लागेर म झण्डै लडेको थिएँ। जब प्रबन्धक सुपरिवेक्षकले यो देखे, उनले म कामबाट पन्छिन खोजेको आरोप लगाउँदै भने, “मैले करेन्टको झट्का दिए भने तैँले कामको गति बढाउनेछस्।” मैले १७ वर्षे केटालाई सम्झिएँ, जसलाई कठोर श्रम गर्न नसकेकाले झट्का दिइएको थियो। उसका कान धेरै ठाउँमा जलेका थिए, र अन्य जलनका कारण छालाका विभिन्न भाग कालो भएका थिए। अन्ततः उसले सहन नसक्ने भयो, र उसले कीलाहरू निलेर आत्महत्या गर्ने प्रयास गर्यो, तर ऊ मरेन, र उसलाई थप एक महिना श्रमको सजाय दिइयो। मलाई थाहा थियो यी मानिसहरू राक्षस थिए, जो हामीलाई आँखा नझप्काई मार्न सक्थे र कहिल्यै विश्राम गर्न दिन्नथे, त्यसैले म दाँत किटेर अगाडि बढ्नुपर्थ्यो। कामको अत्याधिक बोझका कारण, मेरा औँलाहरू विकृत भए, र मेरो कुहिनोमा अण्डाको पहेँलो भाग जत्रो मासुका डल्लाहरू उठे। मलाई गम्भीर राइनाइटिसको समस्या पनि भयो, र प्रायः चक्कर लाग्ने र सास फेर्न गाह्रो हुने महसुस गर्थेँ। अत्याधिक काम र निन्द्राको कमीले मलाई यति चक्कर लाग्थ्यो कि म हिँड्दा लड्खडाउँथेँ र मलाई म कुनै पनि क्षणमा लड्न सक्छु जस्तो लाग्थ्यो। हाम्रो काम बाहेक, हामीलाई हरेक महिना दुईपटक चिनियाँ कम्युनिष्ट पार्टी-प्रायोजित मस्तिष्क धुलाइका सत्रमा सहभागी हुन बाध्य पारिन्थ्यो। मैले चिनियाँ कम्युनिष्ट पार्टीका भ्रम र विधर्मी विचारहरू घृणायोग्य पाएँ र ममा तिनलाई सुन्ने चाहना थिएन। मैले त्यो श्रम शिविरमा अत्यन्त दुःख भोगेँ र म ब्रदर-सिस्टरहरूसँग भेलामा सहभागी हुने र परमेश्वरका वचन पढ्ने दिनहरू सम्झिन्थेँ। म त्यो नरकीय, अमानवीय अवस्थाबाट सकेसम्म चाँडो निस्कन चाहन्थेँ। मैले परमेश्वरलाई प्रार्थना गरेँ, त्यो वातावरणमाथि बिजय पाउन उहाँसँग शक्ति र मद्दत मागेँ। पछि, परमेश्वरका वचनहरूको एउटा भजन “कसरी सिद्ध पारिने” मनमा आयो: “जब तँ कष्ट सामना गर्छस्, त्यसबेला तैँले देहका चिन्ताहरू एकातिर पन्छाउन सक्नुपर्छ र परमेश्वरविरुद्ध गुनासो गर्नुहुँदैन। जब परमेश्वरले आफैलाई तँदेखि लुकाउनुहुन्छ, तँमा उहाँलाई पछ्याउने आस्था हुन सक्नुपर्छ, तैँले आफ्नो पहिलेको प्रेमलाई डगमगाउन र बिलाउन नदिई कायम राख्न सक्नुपर्छ। परमेश्वरले चाहे जे गर्नुभए पनि, उहाँले इच्छा गरेअनुसार उहाँलाई योजनाबद्ध गर्न दिनुपर्छ, अनि उहाँविरुद्ध गुनासो गर्नुको साटो तेरो आफ्नै देहलाई सराप्न इच्छुक हुनुपर्छ। तैँले परीक्षाहरू सामना गर्दा परमेश्वरलाई सन्तुष्ट पार्न, तँ प्रिय वस्तु त्याग्ने पीडा सहन र नराम्ररी रुन इच्छुक हुनुपर्छ। यो मात्र साँचो प्रेम र आस्था हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधन भएर जानैपर्छ)। मैले त्यो भजन गाउँदै जाँदा, परमेश्वरको अभिप्रायलाई बुझेँ र गहिरो प्रेरणा महसुस गरेँ र यस कठिन परिस्थितिमा समर्पित हुन तयार भएँ र परमेश्वर र मेरो आस्थामा निर्भर भएर यसलाई पार गर्न चाहन्थेँ। दुई वर्ष भन्दा बढी श्रम शिविरमा बिताउँदा, मैले राइनाइटिस, ब्रोङ्काइटिस, रुमेटोइड आर्थ्राइटिस, हर्निया र पेटका समस्या भोगेँ। एक पटक, जब मेरो हर्निया दुख्न थाल्यो र श्रम शिविरको एक अधिकारीले मलाई मेडिकल क्लिनिकमा पुर्याए, त्यहाँ मैले डाक्टरले एक कैदीको पिठ्युँमा सुई भाँचेको र त्यसपछि रगत रोक्ने औजार प्रयोग गरी त्यसलाई बाहिर निकाल्दै गरेको देखेँ। त्यो देखेर म निकै डराएँ र त्यस क्लिनिकमा फर्किने साहस गरिनँ। त्यो समयमा, एक-दुई पाइला हिँड्ने बित्तिकै मेरो तलको पेटमा असह्य दुखाइ हुन्थ्यो। जब मैले दुखाइ सहेर काम गर्न कोसिस गरेँ, मलाई म निसास्सिन्छु जस्तो लाग्यो। जेलका अधिकारीहरूलाई म मरेको खण्डमा उनीहरूलाई जिम्मेवार ठहराइने डर थियो, त्यसैले उनीहरूले थप स्वास्थ्य जाँचका लागि मलाई शहरको श्रम शिविरमा लगे। स्वास्थ्य जाँच पूरा भएपछि, चिकित्सकले अचम्मित पारामा भने: “तपाईंले कुन प्रकारको श्रम गरिरहनुभएको छ? यति बेलासम्म स्वास्थ्य जाँच नगराइकन कसरी बस्नुभयो! तपाईंको हर्नियाको शल्यक्रिया आवश्यक छ। साथै, तपाईंको कलेजो र पित्त थैली केही सुन्निएका छन्, त्यसैले तपाईं अब शारीरिक श्रम गर्न योग्य हुनुहुन्न। यदि तपाईंले काम जारी राख्नुभयो भने, तपाईं मर्नुहुनेछ।” तर, अधिकारीहरूले मेरा लागि केही औषधि मात्र लिए र मलाई श्रम शिविरमा फर्काइदिए। त्यो समयमा म निकै चिन्तित थिएँ किनकि मेरो सजाय अझै एक वर्ष बाँकी थियो र म त्यो समयसम्म बाँच्न सक्छु कि सक्दिनँ भन्नेमा म निश्चित थिइनँ। त्यसपछि मैले सोचेँ: “दुई वर्षको बन्दी जीवनमा, मलाई प्रहरीले यातना दियो र कैदीहरूले कुटेर झण्डै मारेँ, तर सबै कष्टमा पनि, मैले एक पटक पनि परमेश्वरलाई धोका दिइनँ। त्यसोभए, म यस्तो गम्भीर रोगी कसरी भएँ? के यसै श्रम शिविरमा मर्नुपर्ने नै मेरो भाग्य हुन सक्छ र?” मेरो कष्टको बीचमा, मैले परमेश्वरलाई प्रार्थना गरेँ: “हे परमेश्वर! अब म के गरौँ? कृपया मलाई मार्गदर्शन गर्नुहोस्।” केही समयपछि, परमेश्वरका वचनहरूको एउटा खण्ड मेरो मनमा आयो: “तैँले तँमा साँचो विश्वास र साँचो बफादारीता छ कि छैन, तँमा परमेश्वरको लागि कष्ट भोगेको अभिलेख छ कि छैन र तँ सम्पूर्ण रूपले परमेश्वरप्रति समर्पण भएको छस् कि छैनस् भनेर थाहा पाउनुपर्छ। यदि तँसँग यी कुराहरूको कमी छ भने तँभित्र विद्रोहीपन, छल, लोभ र गुनासो छन्। तेरो हृदय इमानदारीदेखि दूर भएकोले तैँले परमेश्वरबाट कहिल्यै पनि मान्यता प्राप्त गरेको छैनस् र प्रकाशमा कहिल्यै पनि बसेको छैनस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तीन अर्तीहरू)। परमेश्वरका वचन मनन अर्दै मैले आत्मचिन्तन गरेँ। रोग र पीडामा परेका बेला, म नकरात्मक र कमजोर भएँ र परमेश्वरसँग तर्क गर्न खोजेँ। मैले मेरो शपथ तोडेको थिएँ र म गुनासो र विद्रोह गर्दै थिएँ। मेरो समर्पण कहाँ थियो? मेरो गवाही कहाँ थियो? मैले सम्झेँ, जब म चिनियाँ कम्युनिष्ट पार्टीको सताइ र यातना भोगिरहेको थिएँ, र पीडामा र कमजोर थिएँ, त्यो समयमा परमेश्वरका वचनले मलाई मार्गदर्शन गरेका र आस्था र शक्ति दिएका थिए। परमेश्वरले मानिस, परिस्थिति, र वस्तुहरू मार्फत मेरा लागि एउटा मार्ग खोल्ने काम गर्नुभएको थियो। उहाँ सधैँ मेरो साथमा रही, मेरो हेरचाह र रक्षा गरिरहनुभएको थियो। मेरा लागि उहाँको माया धेरै ठूलो थियो र मलाई थाहा थियो मैले उहाँलाई गलत बुझ्न र गुनासो गर्न छोड्नु पर्छ। जस्तोसुकै यातना वा पीडा आए पनि, चाहे म जिए नि मरे नि, अगाडि बढ्नका लागि म परमेश्वरमा भर पर्नुपर्थ्यो! एक महिना पछि, प्रहरीले मलाई अर्को काममा लगाए जहाँ मैले धेरै हिँड्नुपर्ने थिएन र मेरो स्वास्थ्यमा उल्लेखनीय सुधार आएको थियो। मैले परमेश्वरलाई उहाँको मायाका लागि हृदयदेखि धन्यवाद दिएँ।
श्रम शिविरमा हुँदा, म प्रायः मनमनै भजनहरू गाउने गर्थेँ। ममा विशेष रूपमा गहिरो प्रभाव पारेको एउटा भजन “तपाईंले परमेश्वरमा के समर्पित गर्नुभएको छ?” भन्ने शीर्षकमा थियो। यसले भन्छ: “अब्राहामले इसहाकलाई अर्पण गरे—तिमीहरूले के अर्पण गरेका छौ? अय्यूबले सबै थोक अर्पण गरे—तिमीहरूले के अर्पण गरेका छौ? सत्य बाटो खोज्नका निम्ति एकदमै धेरै मानिसले आफूलाई बलिदान गरेका छन्, आफ्नो जीवन दिएका छन् र रगत बगाएका छन्। के तिमीहरूले त्यो मूल्य चुकाएका छौ? तुलना गर्दा, त्यस्तो महान् अनुग्रह पाउन तिमीहरू बिलकुल योग्य छैनौ। आज तिमीहरू मोआबका सन्तान हौ भनेर भन्दा के तिमीहरूलाई अन्याय हुन्छ? तिमीहरू आफूलाई ज्यादै ठूलो नठान। तिमीहरूसित घमन्ड गर्ने केही कुरा छैन। तिमीहरूलाई त्यस्तो ठूलो मुक्ति, त्यस्तो ठूलो अनुग्रह सित्तैमा दिइएको छ। तिमीहरूले केही पनि अर्पण गरेका छैनौ, तापनि तिमीहरूले सित्तैमा अनुग्रह पाउँछौ। के तिमीहरूलाई लाज लाग्दैन?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मोआबका सन्तानहरूलाई बचाउनुको महत्त्व)। हरेक पटक यो भजन गाएर सक्दा, म कृतज्ञताले भरिएको महसुस गर्थेँ। मेरो दुर्दशा युगौँदेखिका सन्तहरूको दुर्दशाका तुलनामा केही पनि थिएन। परमेश्वरको कामको अनुभव गर्दै, उनीहरू सबैले परमेश्वरका बारेमा सुन्दर गवाही दिए र उहाँको अनुमोदन प्राप्त गरे। परमेश्वरले अहिले मलाई गवाही दिने त्यस्तै अवसर दिनुभएको थियो—यो उहाँको मेरा लागि माया थियो! परमेश्वरका वचनले नै मलाई निरन्तर प्रेरणा दिए र मलाई श्रम शिविरको लामो र कठिन कारावासका बेला मार्गदर्शन गरे। यस्ता भयानक परिस्थितिमा परमेश्वरका वचनको मार्गदर्शन बिना म केही गर्न सक्दिनथेँ।
सन् २००७ को सेप्टेम्बर महिनामा, म मेरो सजाय पूरा गरी श्रम शिविरबाट छुटेँ। म बाहिर निस्कँदै गर्दा, उनीहरूले मलाई घर फर्केपछि मेरो स्थानीय प्रहरी चौकीमा रिपोर्ट गर्न निर्देशन दिए, अन्यथा मेरो आवासीय दर्ता अमान्य हुनेथ्यो। उनीहरूले मलाई, यदि म फेरि पक्राउ परेमा, मलाई अझ कडा सजाय दिइनेछ भनेर धम्की दिए। छुटेपछि, म परमेश्वरमा विश्वास गर्न र मेरो कर्तव्य निर्वाह गर्न जारी राख्न सकूँ भनेर मैले घर छोडेँ। चिनियाँ कम्युनिष्ट पार्टीद्वारा पक्राउ र सतावटको माध्यमबाट, मैले तिनीहरूको राक्षसी परमेश्वर-विरोधी सारलाई स्पष्ट रूपमा चिनेँ। उनीहरूले मलाई जति धेरै सताए, म त्यति नै परमेश्वरलाई पछ्याउन, सृजित प्राणीको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न र परमेश्वरको माया चुक्ता गर्न कर्तव्य राम्ररी निर्वाह गर्ने सङ्कल्प गरेँ। परमेश्वरलाई धन्यवाद!