६९. म कसरी झूटो अगुवा बनेँ
सन् २०१९ को अन्त्यतिर, मलाई मण्डलीमा भिडियो बनाउने कामको इन्चार्ज बनाइयो। मलाई साह्रै तनाव भयो किनभने यसमा मैले पहिले कहिल्यै नसिकेको सीपको आवश्यकता थियो। यो अपरिचित कामको तनावले मलाई छाती गह्रौँ भारीले थिचेजस्तो भयो। जब म कामको अनुगमन गर्थेँ, तब समूह अगुवाहरूले प्रायजसो प्राविधिक समस्याहरूबारे छलफल गर्थे, र म तिनीहरूले भनेको कुरा आधा जति मात्रै बुझिरहेकी हुन्थेँ। यदि तिनीहरू कुनै कुरामा असहमत हुँदा, मेरो दृष्टिकोण र सुझाव माग्थे र त्यतिबेला म साह्रै घबराउथेँ, किनभने समस्या के हो म बताउन सक्दिनथेँ। कहिलेकहीँ म आवेगको भरमा केही सुझाव दिन्थेँ, तर ती लागू हुँदैनथिए। यस्तो हुँदा मलाई लाज लाग्थ्यो। म मण्डली अगुवा थिएँ, त्यसकारण मैले यी समस्याहरू देख्न सकिनँ वा ती समाधान गर्ने कुनै उपाय बताउन सकिनँ भने ब्रदर-सिस्टरहरूले मलाई के ठान्नेछन्? एक-दुईपटक यस्तो घटना भएपछि, मलाई कामको छलफलमा सहभागी हुन मन लागेन: मैले सोचेँ, “म यस्ता प्राविधिक समस्याहरू पटक्कै बुझ्दिनँ, र अहिले सिक्नको लागि धेरै ढिला भइसक्यो। भिडियोहरू बनाउने तिनीहरू नै हुन्, त्यसकारण म तिनीहरूलाई कामको त्यो भागबारे छलफल गर्नमा प्रयास गर्न दिनेछु। म तिनीहरूलाई यस क्षेत्रमा डोऱ्याउन सक्दिनँ, तर तिनीहरूको जीवन प्रवेशमा अझ बढी सहयोग गर्न सक्छु। यदि तिनीहरूको स्थिति सामान्य छ र तिनीहरूले प्राविधिक पक्ष सम्हाल्न सक्छन् भने, के मैले अझै पनि आफ्नो कर्तव्य पूरा गरिरहेकी हुँदिनँ र? यसरी, म तिनीहरूको अगाडि लज्जित हुनु पर्नेछैन।” मैले मनमा यी विचारहरू राखेर तिनीहरूलाई कामको छलफल गर्न दिएँ, तर म सहभागी भइनँ।
केही समयपछि, मैले भिडियो प्रडक्सनको प्रगति सुस्त भइरहेको, सिद्धान्तसम्बन्धी केही समस्याहरू पनि देखा परेका, र ब्रदर-सिस्टरहरूले मिलेर काम नगरिरहेका थाहा पाएँ। धेरै जना सिस्टरले समूह अगुवा सिस्टर साराबारे एकपछि अर्को गर्दै मलाई रिपोर्ट गरेर उनी हैकम जमाउँछिन् र कामको छलफलमा अरूलाई उनकै कुरा सुन्न बाध्य पार्छिन्, जसले गर्दा भिडियोलाई दोहोऱ्याएर बनाइरहनुपर्छ भनेर बताए। मैले सोचेँ, “साराको क्षमता राम्रो छ। उनको स्वभाव अलिक अहङ्कारी भए पनि, उनी निकै सिपालु छिन्। अलिक प्रतिभा भएका मानिसहरू अहङ्कारी हुनु सामान्य कुरा हो, मैले उनीसँग सङ्गति मात्रै गर्नुपर्छ।” त्यसकारण मैले परमेश्वरको वचनबाट उनलाई अरूसँग कसरी सहकार्य गर्ने र उनले के-कस्ता पाठहरू सिक्नुपर्छ भनेर सङ्गति दिएँ। साराले मेरो कुरा स्वीकार गर्ने र परिवर्तन हुने इच्छा व्यक्त गरिन्। तैपनि, त्यसको केही समयपछि नै, सिस्टर एल्सी मकहाँ आइन् र उनले एउटा भिडियो बनाउन समय र मेहनत लगाएकी, तर साराले एक झलक हेरेर भिडियोसम्बन्धी उनको अवधारणालाई इन्कार गरिन्, उनलाई आफ्नो कुरा राख्ने मौकै दिइनन् भनेर भनिन्। एल्सी निकै खिन्न थिइन् र यसबाट कसरी पार पाउने भनेर मलाई सोधिन्। मैले सोचेँ, “उनको भिडियोको अवधारणा इन्कार गरियो, त्यसोभए त्यसको अर्थ उनको आइडिया उपयुक्त थिएन कि साराले अहङ्कारी स्वभावअनुसार कामकुरा सम्हालिरहेकी छिन्?” म एल्सीले त्यो अवधारणा बारे मलाई बताएको चाहन्थेँ, ताकि ठ्याकै समस्या के हो भनेर मैले थाहा पाउन सकूँ, तर कामको त्यो भागबारे म परिचित छैनँ भन्ने मलाई याद आयो। यदि उनले मलाई बताइन् र मैले समस्या बुझ्न सकिनँ भने, उनले मलाई के सोच्नेछिन्? मैले सोचेँ, “होस्, म तिनीहरूलाई आफै छलफल गर्न दिनेछु। मैले एल्सीलाई उनको अवस्थाबारे सङ्गति मात्रै दिएर यसलाई काटछाँट र निराकरणको रूपमा लिनू भनेँ भने पुगिलहाल्यो नि। यदि उनले यस कुरालाई सहीरूपमा लिन सकिन् भने, सारासँग काम गर्दाका समस्या हल हुनेछ।” त्यसकारण, मैले एल्सीलाई सङ्गति दिएँ र अरूको सल्लाह लिनुपर्छ, घमण्डको बसमा पर्नु हुँदैन, पहिले सत्यता अभ्यास गर्नुपर्छ र अरूसँग सक्रियरूपमा सहकार्य गर्नुपर्छ भनेर बताएँ। यो सुनेपछि पनि एल्सी अझै खिन्न थिइन्, र हताश हुँदै गइन्। म पनि निकै व्याकुल थिएँ, किनभने उनको समस्या समाधान नै भएको छैन भनेर मलाई थाहा थियो। एल्सीको भिडियोमा के समस्या रहेछ भनेर हेर्न चाहेकी थिएँ, तर म समस्या पत्ता लगाउन सक्दिनँ र अयोग्य देखिनेछु भन्ने मलाई चिन्ता लाग्यो। मैले सोचेँ, “होस्, म तिनीहरूलाई नै यो समस्याबारे कुरा गर्न दिनेछु।” त्यसपछि, म साराको स्थिति सुधार गर्न तिनीसँग सङ्गति गर्न गएँ। मैले उनलाई उनको स्वभाव अहङ्कारी छ भनेर औँल्याइदिएँ, र उनलाई अरूसँग मिलेर काम गर्नुपर्छ र एकअर्काको सबल पक्षबाट सिक्नुपर्छ, अनि उनका सुझावहरू राम्रा नै भए पनि, अरूसँग त्यसबारे छलफल गर्नुपर्छ भनेर सम्झाएँ। साराले परिवर्तन हुन ध्यान दिनेछु भनेर वचन त दिइन्, तर पछि पनि उनी अझै निकै अहङ्कारी भइन् र सधैँ आफ्ना विचारहरू अरूका भन्दा राम्रा छन् भन्ठान्थिन्। उनी आफूलाई सिपालु र अनुभवी अनि अरूलाई उनीभन्दा कमसल ठान्थिन्, र तिनीहरूसँग काम गर्दा सधैँ अन्तिम निर्णय गर्न चाहन्थिन्। यदि ब्रदर-सिस्टरहरू उनले चाहेको भन्दा फरक प्रडक्सन योजनामा सहमत भए भने, उनी त्यसलाई इन्कार गर्थिन् र त्यो उनका मापदण्डहरूअनुसार फेरि बनाउन माग गर्थिन्। यदि अरूले उनको योजना अनुपयुक्त लागेर सल्लाह दिए भने, उनी कहिल्यै स्वीकार गर्दिनथिइन्, र तिनीहरूको सल्लाहलाई काम नलाग्ने भनेर खारेज गर्थिन्। ब्रदर-सिस्टरहरूले उनीसँग कुराकानी गर्न सक्दैनथिए, र प्रायजसो तिनीहरूको काम दोहोर्याएर गर्नुपर्थ्यो। सबैको स्थिति झन्-झन् खराब हुँदै गइरहेको थियो र तिनीहरू नकारात्मकतामा जिइरहेका थिए। सारा अहङ्कारी, आत्म-धर्मी, र नियम तोक्ने व्यक्ति भएकी, अनि उनले कामको प्रगतिमा गम्भीर असर पारिरहेकी देखेर, मलाई साह्रै बेचैन भयो, तर मैले यी प्राविधिक समस्याहरू बुझ्न सकिनँ। त्यो बेला, मलाई साराले सत्यता स्वीकार गर्दिनन् र पश्चात्ताप गरेकी र परिवर्तन भएकी छैनन्, अनि सायद उनी यो कर्तव्यको लागि उपयुक्त व्यक्ति होइनन् भन्ने कता-कता लागेको थियो। तर मैले उनी यो काममा अरूभन्दा सिपालु छिन् र यदि उनलाई बर्खास्त गरियो भने, अरूले उनको काम सम्हाल्न सक्छन् कि सक्दैनन् भनेर सोचेँ। मलाई पक्का भएन, र म यो कुरा माथिल्लो तहका अगुवाहरूलाई रिपोर्ट गर्न चाहन्थेँ, तर तिनीहरूले मैले हाम्रो काममा ल्याएको गडबडी देखे भने मलाई निराकरण गरेर बर्खास्त गर्नेछन् भन्ने मलाई चिन्ता लाग्यो। आफैसँग सङ्घर्ष गरिसकेपछि, मैले सारासँग फेरि सङ्गति गर्ने निर्णय गरेँ। त्यसकारण, मैले उनलाई गएर उनको अहङ्कारी स्वभाव औँल्याइदिएँ, यस्तो उत्पीडक भएकोमा र अन्तिम निर्णय गर्न चाहेकोमा उनको खुलासा गरेँ, र उनी ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी छिन् भनेर बताएँ। यो सुनेपछि उनले एक शब्द पनि बोलिनन्, तर प्रतिरोध गरिरहेकी छिन् भन्ने स्पष्ट थियो। त्यसपछि पनि, उनले आफ्नै तरिकामा कामकुरा गरिन्, र प्रायजसो आफूलाई देखाउने र अरूलाई होच्याउने गर्थिन्। धेरैजसो ब्रदर-सिस्टरहरूले बन्धनमा परेको महसुस गरे र उनीसँग काम गर्न चाहेनन्। उनको बाधा र व्यवधानको कारण, भिडियो काममा ढिलाइ भयो, र अन्त्यमा, मसँग माथिल्लो तहका अगुवाहरूलाई यसबारे रिपोर्ट गर्नुबाहेक कुनै विकल्प रहेन। तिनीहरूले अनुसन्धान गरिसकेपछि, सारालाई समूह अगुवाको पदबाट र मलाई व्यावहारिक काम नगरेको वा वास्तविक समस्याहरू समाधान नगरेकोमा बर्खास्त गरियो।
मलाई बर्खास्त गरिएपछि, मैले मेरो क्षमता कमजोर थियो, कामको त्यो क्षेत्रलाई बुझेकी थिइनँ, र मैले व्यावहारिक काम गर्न सकिनँ भनेर मात्रै स्वीकार गरेँ। मैले आफ्नै समस्याहरूलाई वास्तवमा बुझेकी थिइनँ। पछि, मैले झूटा अगुवाहरूको फरक-फरक प्रकटीकरण चिन्नेबारे परमेश्वरको सङ्गति पढेपछि, मनन गर्न थालेँ र वास्तवमा के गरेकी रहेछु भनेर बुझेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “झूटा अगुवाहरू देखावटी काममा माहिर हुन्छन्, तर तिनीहरू कहिल्यै वास्तविक काम गर्दैनन्। तिनीहरू विभिन्न व्यावसायिक कामको निरीक्षण, सुपरिवेक्षण गर्न, वा तिनलाई निर्देशन गर्न जाँदैनन्, वा विभिन्न टोलीहरूको काम कसरी अगाडि बढिरहेको छ, के-कस्ता समस्याहरू छन्, टोलीका सुपरिवेक्षकहरू आफ्ना काममा योग्य छन् कि छैनन्, र दाजुभाइ-दिदीबहिनीहरूले कसरी सुपरिवेक्षकहरूका बारेमा रिपोर्ट वा मूल्याङ्कन गर्छन् भन्ने कुराको निरीक्षण गर्दै ती टोलीमा के भइरहेको छ भन्ने कुरा समयमै पत्ता लगाउँदैनन्। तिनीहरूले टोली अगुवा वा सुपरिवेक्षकहरूद्वारा कोही बाँधिएको पो छ कि, मानिसहरूले दिएका सही सुझावहरू अवलम्बन गरिँदै छन् कि छैनन्, कुनै प्रतिभाशाली वा सत्यता पछ्याउने व्यक्ति दमन वा बहिष्करणमा पो परिरहेको छ कि, कुनै निष्कपट मानिसहरू हेपाइमा पो परिरहेका छन् कि, झूटा अगुवाहरूको खुलासा र रिपोर्ट गर्ने मानिसहरूमाथि आक्रमण पो भइरहेको छ कि, उनीहरूसँग प्रतिशोध लिइँदै छ कि, उनीहरू निकालिँदै र निष्कासित हुँदै पो छन् कि, टोली अगुवा र सुपरिवेक्षकहरू दुष्ट मानिस पो हुन् कि, र कोही सास्तीमा पो परिरहेको छ कि भनी हेर्न जाँचबुझ गर्दैनन्। यदि झूटा अगुवाहरूले यीमध्ये कुनै पनि ठोस काम गर्दैनन् भने, तिनीहरूलाई बर्खास्त गर्नुपर्छ। उदाहरणका लागि, मानौँ, कुनै व्यक्तिले एक जना सुपरिवेक्षकले मानिसहरूलाई बारम्बार बाँध्छ र दमन गर्छ भनेर एक जना झूटो अगुवालाई रिपोर्ट गर्छ। उक्त सुपरिवेक्षकले केही गलत कामहरू गरेको छ, तर उसले दाजुभाइ-दिदीबहिनीहरूलाई कुनै पनि सुझावहरू प्रदान गर्न दिँदैन, र आफूलाई सही ठहराउन र आफ्नो बचाव गर्न बहानाहरूसमेत खोज्छ, र आफ्ना गल्तीहरू कहिल्यै स्विकार्दैन। के यस्तो सुपरिवेक्षकलाई तत्कालै बरखास्त गर्नुपर्दैन र? अगुवाहरूले समयमै समाधान गर्नुपर्ने समस्याहरू यिनै हुन्। कतिपय झूटा अगुवाहरू आफूले नियुक्त गरेका सुपरिवेक्षकहरूको काममा जस्तोसुकै समस्याहरू आएका भए पनि तिनीहरूको खुलासा हुन दिँदैनन्, र निश्चय नै माथिल्लो तहका मानिसहरूकहाँ तिनीहरूको रिपोर्ट गर्ने अनुमति दिँदैनन्—तिनीहरूले मानिसहरूलाई समर्पित हुन सिक्न समेत भन्छन्। यदि कसैले कुनै सुपरिवेक्षकका समस्याहरू खुलासा गरिहाल्यो भने, यी झूटा अगुवाहरूले तिनीहरूलाई बचाउने वा साँचो तथ्यहरू छोप्ने कोसिस गर्छन्, र यसो भन्छन्, ‘यो सुपरिवेक्षकको जीवन प्रवेशसम्बन्धी समस्या हो। तिनीहरूमा अहङ्कारी स्वभाव हुनु सामान्य हो—अलिकति क्षमता भएको जोकोही अहङ्कारी हुन्छ। यो ठूलो कुरा होइन, मैले तिनीहरूसित थोरै सङ्गति मात्र गर्नुपर्छ।’ सुपरिवेक्षकले सङ्गतिमार्फत यसो भन्दै आफ्नो अडान राख्छ, ‘म अहङ्कारी छु भन्ने कुरा स्विकार्छु। म स्विकार्छु कि कहिलेकाहीँ म मेरो आफ्नै अभिमान, शान, र हैसियतप्रति चासो राख्छु, र अरू मानिसहरूका सुझावहरू स्विकार्दिनँ। तर अरू मानिसहरू यो पेशामा निपुण हुँदैनन्, तिनीहरूले प्रायः बेकारका सुझावहरू दिन्छन्, त्यसकारण मैले तिनीहरूको कुरा नसुन्नुको कारण छ।’ झूटा अगुवाहरूले परिस्थितिलाई राम्रोसँग बुझ्ने कोसिस गर्दैनन्, सुपरिवेक्षकको कामका नतिजाहरू हेर्दैनन्, तिनीहरूको मानवता, स्वभाव, र पछ्याइ कस्ता छन् भनेर त झनै हेर्दैनन्। तिनीहरूले यसो भन्दै कामकुरालाई सानो मात्र बनाउँछन्, ‘यो कुरा मलाई रिपोर्ट गरियो, त्यसैले मैले तिमीलाई निगरानीमा राखिरहेको छु। म तिमीलाई अर्को मौका दिँदै छु।’ तिनीहरूको कुराकानीपछि, सुपरिवेक्षकले आफू पश्चात्ताप गर्न इच्छुक रहेको भन्छ, तर उसले त्यसपछि साँच्चै पश्चात्ताप गरोस् कि ढाँटोस् र धोका देओस्, झूटा अगुवाहरूले यसलाई पूरै बेवास्ता गर्छन्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (३))। “झूटा अगुवाहरू अत्यन्तै नीरस र सतही रूपमा काम गर्छन्: तिनीहरू मानिसहरूलाई गफ गर्न बोलाउँछन्, मानिसहरूसँग तिनीहरूका सोचाइको तरिकाबारे परामर्श गर्ने थोरै काम गर्छन्, मानिसहरूलाई थोरै अर्ती दिन्छन्, र यो नै वास्तविक काम गर्नु हो भन्ठान्छन्। यो सतही कुरा हो, होइन र? अनि यस सतहीपनको पछाडि कुन समस्या लुकेको हुन्छ? के त्यो भोलापन होइन र? झूटा अगुवाहरू अत्यन्तै भोलाभाला हुन्छन्, र तिनीहरूले मानिस र कामकुराहरूलाई पनि अत्यन्तै भोलाभाला तरिकाले हेर्छन्। मानिसहरूका भ्रष्ट स्वभावहरू समाधान गर्न जतिको गाह्रो केही पनि हुँदैन—कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गो नै हुन्छ। झूटा अगुवाहरूले यो कुरा छर्लङ्ग देख्न सक्दै सक्दैनन्। त्यसकारण, निरन्तर बाधाहरू सिर्जना गरिरहने, सधैँ मानिसहरूलाई बाँध्ने र सास्ती दिने मण्डलीका त्यस्ता सुपरिवेक्षकहरूको कुरा आउँदा, झूटा अगुवाहरूले उनीहरूसँग कुरा गरेर उनीहरूलाई एक-दुई वचन सुनाएर काटछाँट गर्नुबाहेक केही गर्दैनन्, अनि कुरा त्यतिमै सकिन्छ। तिनीहरूले उनीहरूलाई तोकिएको कर्तव्यलाई तुरुन्तै समायोजन गर्ने र उनीहरूलाई बर्खास्त गर्ने गर्दैनन्। झूटा अगुवाहरूको यो रवैयाले मण्डलीको काममा ठूलो हानि पुर्याउँछ, र प्रायः मण्डलीको काम रोकिने, त्यसमा ढिलाइ हुने, क्षति पुग्ने, र केही दुष्ट मानिसहरूका बाधाहरूका कारण सामान्य, सहज, र कुशल रूपमा अघि बढ्नबाट रोकिने अवस्था सिर्जना गर्छ—यो सबै झूटा अगुवाहरूले आफ्ना भावनाहरूका आधारमा कार्य गर्नु, सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्नु, र गलत मानिसहरू प्रयोग गर्नुका गम्भीर परिणामहरू हुन्। बाहिरबाट हेर्दा, झूटा अगुवाहरूले ख्रीष्टविरोधीहरूझैँ जानाजान अनेकौँ दुष्टताहरू गरिरहेका, वा आफ्नै तरिकाले कामकुरा गरिरहेका र तिनीहरूका आफ्नै स्वतन्त्र राज्य स्थापना गरिरहेका हुँदैनन्। तर झूटा अगुवाहरू मण्डलीको काममा उत्पन्न हुने विभिन्न समस्याहरूलाई तत्कालै समाधान गर्न सक्षम हुँदैनन्, अनि जब विभिन्न टोलीका सुपरिवेक्षकहरूमा समस्याहरू देखिन्छन् र जब ती सुपरिवेक्षकहरूले आफ्नो कामको बोझ बोक्न सक्दैनन्, तब झूटा अगुवाहरूले तिनीहरूलाई तोकिएका कर्तव्यहरूलाई तुरुन्तै समायोजन गर्न वा तिनीहरूलाई बर्खास्त गर्न सक्दैनन्, जसले गर्दा मण्डलीका काममा गम्भीर नोक्सानी हुन्छ। अनि यो सबै झूटा अगुवाहरू जिम्मेवारीबाट विमुख हुनुले गर्दा निम्तिएको हो” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (३))। परमेश्वरका यी वचनहरू पढेपछि, मलाई साह्रै दुःख लाग्यो र चित्त दुख्यो। परमेश्वरले बताइरहनुभएको झूटो अगुवा त म पो रहेछु भन्ने मलाई महसुस भयो। परमेश्वर के प्रकट गर्नुहुन्छ भने, झूटा अगुवाहरू व्यावहारिक काम गर्दैनन्, कामको कहिल्यै निरीक्षण र रेखदेख गर्दैनन्, वा त्यसमा निर्देशन दिँदैनन्, र कहिल्यै आफै समस्याहरू बुझ्न निश्चित कामहरूको अनुगमन गर्ने गर्दैनन्। कसैले सुपरभाइजरलाई समस्याको रिपोर्ट गर्दा, तिनीहरू कहिल्यै रामम्ररी अनुसन्धान गर्दैनन्, वा सुपरभाइजरको सार र तिनीहरूको कामको परिणाम थाहा पाउँदैनन्। तिनीहरूले गर्ने भनेकै उनीहरूलाई सङ्गति दिन्छन् र थोरै वैचारिक काम गर्छन् र यसले समस्या समाधान हुनेछ भन्ने सोच्छन्। यसको अर्थ तिनीहरूले अनुचित सुपरभाइजरहरूलाई तुरुन्तै सरुवा गर्दैनन्, जसले गर्दा काममा गम्भीर हानि हुन्छ। परमेश्वरले मेरो व्यवहार ठ्याक्कै प्रकट गरिदिनुभएको थियो। म काममा बिरलै संलग्न हुन्थेँ, र यो कसरी अघि बढिरहेको छ भनेर कहिल्यै सोधपुछ गर्ने वा मार्गदर्शन दिने गर्दिनथेँ। भिडियो प्रडक्सन ढिलो भइरहेको छ भन्ने मलाई थाहा थियो, र मानिसहरूले सारा अहङ्कारी छिन्, आफ्नै तरिकामा जोड दिन्छिन् र यसले काममा असर पुर्याएको छ भनेर रिपोर्ट गरेका थिए, तर मैले उनको स्थितिबारे सङ्गति मात्रै गरेँ। भिडियो प्रडक्सन प्रक्रियाबारे तिनीहरूमा आएको विवाद वा समस्याको स्रोत के हो भनेर मैले अनुसन्धान गरिनँ, तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव चिन्नुपर्छ र पाठ सिक्नुपर्छ भनेर मात्रै सङ्गति दिएँ। मैले सङ्गति गर्नु र वैचारिक काम गर्नु भनेको समस्या समाधान गर्नु र व्यावहारिक काम गर्नु हो भन्ने सोचेँ, र कामको प्रगतिलाई रोकिरहेका वास्तविक समस्याहरूबारे सोधिनँ वा ती समाधान गरिनँ। बाधा र व्यवधान ल्याउने समूह अगुवालाई मैले सरुवा गरिनँ वा सम्हालिनँ, तिनलाई भिडियो बनाउने काममा बाधा दिन मात्र दिएँ। के म परमेश्वरको वचनमा प्रकट गरिएको झूटो अगुवा थिइनँ र? त्यो अवधिमा, एक जनाभन्दा बढी व्यक्तिले मलाई साराद्वारा आफू बन्धनमा परेको कुरा बताएका थिए। सबै भिडियो प्रडक्सनका अवधारणा र योजनाहरू उनले अनुमोदन गर्नुपर्थ्यो र अरूले उनीविना निर्णय गरे भने, उनी त्यो खारेज गर्थिन्। तिनीहरूले जोसुकै छलफल गरे पनि, ब्रदर-सिस्टरहरूले उनको विचार पर्खिनुपर्थ्यो, जसले गर्दा काममा साह्रै ढिलाइ हुन्थ्यो। वास्तवमा, उनले समूहमा शक्ति जमाइसकेकी थिइन् र अन्तिम निर्णय गर्थिन्। अरूले उनका समस्याहरूबारे निरन्तर रिपोर्ट गरे, तर म अन्धो र अनजान बनेँ र कामबारे राम्ररी बिरलै बुझेँ, त्यसकारण मैले यी समस्याहरूलाई सतहीरूपमा मात्रै हेरेँ र साराको अत्यन्तै गम्भीर समस्याहरू चिन्न सकिनँ। मैले अझै पनि तिनी सिपालु छिन्, तर उनको स्वभाव अलिक अहङ्कारी मात्रै छ, अनि अलिकति सङ्गति दियो भने, उनले आत्मचिन्तन गरेर केही आत्मज्ञान प्राप्त गर्न सक्छिन् भन्ने सोचेँ। तिनले के गरिरहेकी छिन् भन्ने कुराको प्रकृतिलाई मैले स्पष्टसित देख्न नसकेकीले, तिनलाई जति नै सङ्गति दिए पनि, मैले त सिद्धान्तहरू मात्रै भट्ट्याइरहेकी हुन्थेँ, र वास्तविक समस्या पटक्कै समाधान गरिरहेकी हुन्थिनँ। परिणामस्वरूप, छ महिनासम्म धेरै मानिसहरू उनको बन्धनमा परे, नकारात्मक र कमजोर महसुस गरे, प्रडक्सन प्रभावकारी भएन, र भिडियो काममा गम्भीर बाधा र व्यवधान आयो। त्यसपछि मात्रै, मैले व्यावहारिक काम नगरेकीले वा अनुचित समूह अगुवालाई समयमै सरुवा नगरेकीले काममा ठूलो हानि भएको रहेछ भन्ने स्पष्ट देखेँ। म खास झूटो अगुवा थिएँ। सुरुमा त, ममा कमजोर क्षमता भएकोले र मैले कामको त्यो क्षेत्रबारे नबुझेकीले मात्रै म आफ्नो काममा असफल भएकी हुँ भन्ने लाग्थ्यो। आफूलाई परमेश्वरको वचनअनुसार जाँच गरेपछि मात्रै मैले समस्याहरूलाई आफै बुझ्ने वा वास्तविक समस्याहरू समाधान गर्ने प्रयाससमेत गरेकी रहेनछु भन्ने थाहा पाएँ। यो कमजोर क्षमताको कुरा मात्रै थिएन, तर यो त व्यावहारिक काम नगर्ने समस्या थियो।
मैले आत्मचिन्तन गरिरहेँ, “मलाई किन यस कामबारे अझ सिक्न मन लाग्दैन?” पहिलेका आफ्ना केही विचार र व्यवहारलाई सम्झेपछि मात्रै मलाई म सधैँ अति गलत दृष्टिकोण लिएर हिँडेकी रहेछु भन्ने महसुस भयो। मलाई आफूले कामको त्यो क्षेत्र बुझेकी छैनँ भन्ने लागेको थियो, त्यसकारण म यससँग सम्बन्धित समस्याहरूबाट टाढा बस्न चाहन्थेँ, र म यसबारे अनुसन्धान वा अध्ययन गर्न चाहन्नथेँ। यदि मैले यी समस्याहरूबारे यो क्षेत्र राम्ररी बुझेका मानिसहरूसँग छलफल गरेँ भने, म कति अज्ञानी छु भन्ने कुरा प्रकट हुनेछ भन्ने मलाई डर भयो। त्यसैले त्यो काम मैले जिम्मेवारी नै लिनुपर्ने कुरा भए पनि, म त्यस लाई बेवास्ता गर्न चाहन्थेँ। पछि, मैले परमेश्वरको वचनमा यो कुरा पढेँ: “झूटा अगुवाहरूको कामको प्रमुख विशेषता भनेको धर्मसिद्धान्तबारे बकबक गरिरहने र नाराहरू भट्याइरहने हो। आफ्ना आदेशहरू जारी गरिसकेपछि, तिनीहरूले त्यस मामलाबाट हात झिकिहाल्छन्। तिनीहरूले कामको त्यसपछिको विकासबारे प्रश्नहरू सोध्दैनन्; तिनीहरूले कुनै समस्या, विचलन, वा कठिनाइहरू उत्पन्न भए कि भनेर सोध्दैनन्। तिनीहरूले काम अह्राउनेबित्तिकै आफ्नो काम सकिएको मान्छन्। वास्तवमा, अगुवाको नाताले, कामको बन्दोबस्त गरेपछि, तैँले कामको प्रगतिबारे अनुगमन गर्नैपर्छ। तँ त्यस क्षेत्रको कामसित परिचित नभए पनि—तँसँग यसबारे कुनै ज्ञान नभए पनि—तैँले कुनै उपाय खोजेर आफ्नो काम गर्न सक्छस्। तैँले छानबिन गर्न र सुझावहरू दिनका लागि त्यसलाई साँच्चिकै बोध गरेको, सम्बन्धित पेसा बुझेको व्यक्ति भेटाउन सक्छस्। उसका सुझावहरूबाट तैँले उचित सिद्धान्तहरू पहिचान गर्न सक्छस्, र त्यसरी तैँले कामको अनुगमन गर्न सक्नेछस्। सम्बन्धित पेसासित तँ परिचित भए पनि नभए पनि वा तैँले त्यसलाई बुझे पनि नबुझे पनि, तैँले कम्तीमा पनि उक्त कामको नेतृत्व लिनुपर्छ, यसको अनुगमन गर्नुपर्छ, र निरन्तर रूपमा यसको प्रगतिबारे सोधपुछ गर्नुपर्छ र प्रश्नहरू सोध्नुपर्छ। तैँले यस्ता मामलाहरूको बोध कायम राख्नुपर्छ; यो तेरो जिम्मेवारी हो, यो तेरो कामकै पाटो हो। कामको अनुगमन नगर्नु, काम अह्राइसकेपछि थप केही नगर्नु, यसबाट हात झिक्नु—यो झूटा अगुवाहरूको कामकुरा गर्ने तरिका हो। कामको अनुगमन नगर्नु वा त्यस सम्बन्धमा निर्देशन प्रदान नगर्नु, उत्पन्न भएका समस्याहरूबारे सोधपुछ नगर्नु वा तिनलाई समाधान नगर्नु, र कामको प्रगति वा प्रभावकारिता बोध नगर्नु—यी पनि झूटा अगुवाहरूका प्रकटीकरण नै हुन्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (४))। मैले परमेश्वरको वचनबाट के बुझेँ भने, कुनै क्षेत्रबारे बुझेको छैन भन्ने आधारमा निश्चित कामबारे अनुगमन नगर्नु अनि कामका व्यावहारिक समस्याहरू समाधान नगर्नु भनेको गैरजिम्मेवार र आफ्नो दायित्वबाट पछि हट्ने झूटो अगुवाको प्रकटीकरण हो। अगुवाको रूपमा, हामीले कम्तीमा पनि कामको नेतृत्व गरेर त्यसको अनुगमन गर्नुपर्छ, यसको प्रगतिबारे सोध्नुपर्छ, र यसका समस्याहरू पत्ता लगाएर समाधान गर्नुपर्छ। हामीले कुनै क्षेत्र राम्ररी बुझेका छैनौँ भने पनि, आफ्ना कमजोरीहरू परिपूर्ति गर्न त्यो क्षेत्र बुझेकाहरूलाई जाँच गरिमाग्न र सुझाव माग्न, अनि तिनीहरूसँग काम गर्न सक्छौँ। त्यसरी हामी अझै पनि राम्रो काम गर्न सक्छौँ। तर मैले प्राविधिक कामसँग सम्बन्धित कुनै पनि कुराबाट जोगिने प्रयास गरेँ र म आफूले निश्चित कामहरू बुझेकी छैनँ भन्ने आधारमा ती काममा संलग्न भइनँ। मैले यो आफ्ना कमीकमजोरी र त्रुटिहरू ढाकछोप गर्न, आफ्नो छवि र हैसियत कायम राख्न अनि मैले ब्रदर-सिस्टरहरूलाई अगुवाइ गर्न सकिनँ भने तिनीहरूले मलाई तुच्छ ठान्नेछन् भन्ने डर लागेको कारण गरेकी थिएँ। प्रडक्सनमा समस्याहरू आइपर्दा, कुनै विषयमा ब्रदर-सिस्टरहरू असहमत हुँदा, सहकार्य गर्न नसक्दा, र प्रगति ठप्प हुँदा, मैले वास्तवमा कामकुरा समाधान गर्नुको सट्टा, संलग्न नहुने शैली अपनाएँ। के परमेश्वरको वचनमा प्रकट गरिएको झूटो अगुवा ठ्याक्कै म नै थिइनँ र? वास्तवमा, मण्डलीका सबै काममा सत्यताका सिद्धान्तहरू मुछिएका हुन्छन्, त्यसकारण राम्रो काम गर्नको लागि विशेष ज्ञानमा पोख्त हुनु मात्रै पर्याप्त हुँदैन। अगुवाको रूपमा, हामीले कुनै कामको क्षेत्र बुझेनौँ भने पनि, सत्यताका सान्दर्भिक सिद्धान्तहरू जान्नुपर्छ ताकि त्यसमा डोऱ्याइ दिन र त्यसलाई जाँच्न सकौँ। कतिपय अगुवाहरूले सुरुमा कामको क्षेत्र बुझ्दैनन्, तर दह्रो अध्ययन गर्छन् र सत्यताका सान्दर्भिक सिद्धान्तहरू सिक्छन्, त्यसपछि व्यावहारिकरूपमा यसको अगुवाइ र जाँच गर्न सक्छन्, र काममा सुधार भइरहन्छ। मैले मनमनै सोधेँ, “म सधैँ कामको यो क्षेत्र बुझेकी छैनँ भन्थेँ, तर के यसलाई अध्ययन गर्न मैले कहिल्यै कडा परिश्रम गरेँ? के मैले प्रयास गरेँ वा मूल्य चुकाएँ? कामकुरा कसरी जाँच्ने भन्ने थाहा नहुँदा, के मैले सत्यताका सिद्धान्तहरू खोजी गरेँ?” मैले यीमध्ये कुनै पनि गरेकी थिइनँ। म आफ्नो कर्तव्यमा सुस्त भएँ, प्रगति गर्ने प्रयास गरिनँ, र कामकुरा नबुझ्दा अरूबाट सिक्ने प्रयास गरिनँ, सत्यताका सिद्धान्तहरू खोजी गर्नु त परको कुरा हो। त्यो कामको क्षेत्रबारे आफूलाई थाहा नहुनुलाई मैले आफ्नो नाम र हैसियत जोगाउने बहानाको रूपमा प्रयोग गरेँ, जसको अर्थ अरूले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा आएका धेरै व्यावहारिक समस्या र कठिनाइहरू तुरुन्तै समाधान भएनन्, र यसले भिडियो कामका परिणामहरूमा गम्भीर असर गऱ्यो। मैले नाराहरू भट्ट्याएको तर व्यावहारिक काम वा व्यावहारिक समस्याहरू समाधान नगरेका परिणामहरू यिनै हुन्।
त्यसपछि, मैले परमेश्वरको वचनमा यो पनि पढेँ: “जब परमेश्वरले मानिसहरूलाई ख्याति, प्राप्ति र हैसियत त्याग्न लगाउनुहुन्छ, तब उहाँले तिनीहरूको स्वतन्त्र रूपमा छनौट गर्ने अधिकार हटाइरहनुभएको हुँदैन; बरु, ख्याति, प्राप्ति र हैसियतको पछि लाग्ने क्रममा, मानिसहरूले मण्डलीको काम र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा बाधा र अवरोध पुर्याउँछन्, र अझ धेरै मानिसलाई परमेश्वरका वचनहरू खान र पिउन र सत्यता बुझ्न, अनि परमेश्वरको मुक्ति प्राप्त गर्नमा समेत असर पुर्याउँछन्, त्यसैले यसो गरिन्छ। यो नकार्न नसकिने तथ्य हो। जब मानिसहरू आफ्नै ख्याति, प्राप्ति र हैसियत पछ्याउँछन्, तब तिनीहरू सत्यता पछ्याउँदैनन् र तिनीहरूले अर्पित भएर आफ्नो कर्तव्य पूरा गर्दैनन् भन्ने कुरा निश्चित हुन्छ। तिनीहरूले ख्याति, प्राप्ति र हैसियतको खातिर मात्र बोल्ने र व्यवहार गर्नेछन्, र तिनीहरूले गर्ने सबै काम अपवादरहित रूपमा तिनै कुराको लागि हुन्छ। त्यसरी व्यवहार र काम गर्नु भनेको ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नु हो भन्नेमा कुनै सन्देह छैन; यो परमेश्वरको काममा अवरोध गर्नु र बाधा दिनु हो, र यसका विविध र हरेक परिणामहरूले राज्यको सुसमाचारको फैलावट र मण्डलीभित्रको परमेश्वरको इच्छा अघि बढाउनमा रोकावट पैदा गरिरहेका हुन्छन्। त्यसकारण, ख्याति, प्राप्ति र हैसियत पछ्याउने मानिसहरू परमेश्वरको प्रतिरोध गर्ने मार्गमा हिँडिरहेका छन् भनेर निश्चयका साथ भन्न सकिन्छ; उनीहरू जानीजानी उहाँको प्रतिरोध गरिरहेका र उहाँलाई इन्कार गरिरहेका छन्—अनि परमेश्वरको प्रतिरोध गर्न शैतानसँग सहकार्य गरिरहेका र उहाँविरुद्ध उभिरहेका छन्। यो मानिसहरूद्वारा गरिने ख्याति, प्राप्ति र हैसियतको खोजीको प्रकृति हो। मानिसहरूले आफ्ना हितहरू पछ्याउनुको त्रुटि भनेको उनीहरूले पछ्याउने लक्ष्यहरू शैतानी हुन्—र ती दुष्ट र अन्यायपूर्ण लक्ष्यहरू हुन्। जब मानिसहरूले ख्याति, प्राप्ति र हैसियतजस्ता आफ्नै हितहरू पछ्याउँछन्, उनीहरू अनजानमै शैतानको औजार, शैतानका लागि निकासद्वार, र त्योभन्दा पनि बढी, शैतानकै मूर्तरूप बन्छन्। उनीहरूले मण्डलीमा नकारात्मक भूमिका खेल्छन्; मण्डलीको कामप्रति, र मण्डलीको सामान्य जीवन र परमेश्वरका चुनिएका मानिसहरूको सामान्य खोजीप्रति, उनीहरूले पार्ने प्रभाव भनेको बाधा पुर्याउने र कमजोर पार्ने मात्र हो; उनीहरूको केवल प्रतिकूल र नकारात्मक प्रभाव हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। परमेश्वरका वचनहरूमा मनन गर्ने क्रममा मैले के देखेँ भने, मैले आफ्नो कर्तव्यमा आफ्नो छवि र हैसियतको रक्षा मात्रै गरेँ, र मण्डलीको कामको रक्षा पटक्कै गरिनँ, जसले गर्दा यसमा हानि पुग्यो। मैले त शैतानको नोकरको भूमिका खेलेर मण्डलीको काममा बाधा र व्यवधान ल्याइरहेकी थिएँ। यदि मैले कामको क्षेत्र बुझिनँ भने अरूले मलाई तुच्छ ठान्नेछन् भन्ने डरले, म कामको छलफलमा सहभागी हुँदिनथेँ, न त निश्चित कामहरूको अनुगमन नै गर्थेँ। समूह अगुवाले नियम आफ्नो हातमा लिएर काममा बाधा दिइरहेकी, र म यो समाधान गर्न सक्दिनँ भन्ने देख्दा, मलाई माथिल्लो तहका अगुवाहरूले म व्यावहारिक काम गर्दिनँ भनेर थाहा पाउनेछन् र मलाई बर्खास्त गर्नेछन् भन्ने डर लाग्यो, त्यसकारण मैले यो कुराको माथि रिपोर्ट गर्ने वा समाधान खोज्ने गरिनँ, तर मण्डलीको काममा हानि पुगेको हात बाँधेर हेरिरहेँ। मैले जानाजानी तथ्यहरू ढाकछोप गरिरहेकी थिएँ, मभन्दा माथिका र मुनिकाहरूलाई छल गरिरहेकी थिएँ, मैले रेखदेख गरेको काममा कुनै समस्या छैन र यो सामान्यरूपमा अघि बढिरहेको छ भनेर सबैलाई विश्वस्त बनाइरहेकी थिएँ, ताकि मैले आफ्नो नेतृत्व पद जोगाउन सकूँ। मैले आफ्नो छवि र हैसियत जोगाउन सक्दो प्रयास गर्दा, मेरा ब्रदर-सिस्टरहरू बन्धनमा परेका थिए र आफ्नो कर्तव्यमा अघि बढ्ने बाटो पाएका थिएनन्। तिनीहरू पीडा र दुःखमा जिए, तिनीहरूलै आफ्नो जीवन प्रवेशको सन्दर्भमा कष्ट भोगे, र काममा गम्भीर रोकावट आयो, तर मैले यो कुनै कुराको वास्ता गरिनँ। के यो झूटो नेतृत्वको प्रकटीकरण थिएन र? यी कुराहरूबारे मनन गर्ने क्रममा, मलाई अलिक डर लाग्यो, ग्लानि र पछुतो भयो। यति स्वार्थी र छली भएकोमा मलाई आफैप्रति घृणा जाग्यो। मेरो विवेक केही थाहा नपाउने भएको रहेछ! भिडियो बनाउने कामले सुसमाचार सुनाउने काममा महत्त्वपूर्ण भूमिका खेल्छ। मैले यस्तो महत्त्वपूर्ण कर्तव्य निर्वाह गरेकी थिएँ, र पनि परमेश्वरको इच्छालाई वास्ता गरिनँ, म सबै कुरामा आफ्नै छवि र हैसियत कायम राख्थेँ, अनि मैले मण्डलीको काममा बाधा र व्यवधान ल्याएँ। मैले आफ्नो कर्तव्यमा व्यवहार गरेको तरिका र मण्डलीको काममा पुऱ्याएको हानिबारे सम्झिँदा मुटुमा छुरा रोपिएको जस्तै पीडा हुन्थ्यो। मलाई अत्यन्तै लाज लाग्यो। पछुतोमा आँसु झार्दै मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म आफ्नो कर्तव्यमा धूर्त र छली थिएँ, मैले व्यावहारिक काम गरिनँ र मैले मण्डलीको काममा पुर्याएको हानिलाई सच्याउन ढिलो भइसकेको छ। म आफ्नो भावी कर्तव्यद्वारा तपाईंसामु पश्चात्ताप गर्न चाहन्छु, र मलाई छानबिन गर्नुहोस् भनी म बिन्ती गर्छु।”
पछि, मैले परमेश्वरको वचनमा अभ्यासका केही मार्ग र प्रवेश प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तँ कसरी साधारण र सामान्य व्यक्ति हुन सक्छस्? परमेश्वरले भन्नुभएझैँ, कुनै महान् व्यक्ति वा अतिमानव बन्ने प्रयास नगरी, तँ कसरी सृजित प्राणीको उचित स्थान लिन सक्छस्? तँ कसरी साधारण र सामान्य व्यक्ति हुन अभ्यास गर्नुपर्छ? यो कसरी हासिल गर्न सकिन्छ? … पहिले, आफूलाई उपाधि नदे र त्यसपछि त्यसलाई तँलाई बाँध्न नदे, र यसो नभन्, ‘म अगुवा हुँ, म टोली प्रमुख हुँ, म सुपरिवेक्षक हुँ, वा म यस क्षेत्रमा सबैभन्दा ज्ञानी र प्राविधिक रूपमा निपुण व्यक्ति हुँ।’ आफूले आफैलाई दिएको उपाधिद्वारा नियन्त्रित नहो। यसो हुनेबित्तिकै, यसले तँलाई कसिलो गरी बाँध्नेछ; तेरा वचन र कार्यहरू यसबाट प्रभावित हुनेछन्, साथै तेरो सामान्य सोचाइ र निर्णय पनि प्रभावित हुनेछन्। तैँले आफूलाई यो हैसियतका बन्धनहरूबाट मुक्त गर्नैपर्छ। पहिले, यो आधिकारिक उपाधिको पदबाट हट्, र एक साधारण व्यक्तिको पद धारण गर्। त्यसपछि तेरो मानसिकता केही हदसम्म सामान्य हुनेछ। तैँले यो पनि स्वीकार गर्नुपर्छ: ‘मलाई यो कसरी गर्ने भन्ने थाहा छैन, र म त्यो बुझ्दिनँ—मैले केही अनुसन्धान र अध्ययन गर्नुपर्छ,’ वा ‘मैले यो कहिल्यै अनुभव गरेको छैन, त्यसैले मलाई के गर्ने भन्ने थाहा छैन।’ जब तँ आफूले साँच्चै के सोचिरहेको छु भनी भन्न सक्छस् र यसरी इमानदारीपूर्वक बोल्न सक्छस्, तब तँसँग सामान्य समझ हुनेछ। यदि तैँले अरूलाई आफ्नो वास्तविक रूप चिन्न दिइस् भने, तिनीहरूले तँप्रति सामान्य दृष्टिकोण राख्नेछन्, र तैँले देखावटी गर्नु पर्नेछैन। तैँले उप्रान्त गह्रौँ दबाब महसुस गर्नेछैनस्, र तँ अरूसँग सामान्य रूपमा कुराकानी गर्न सक्षम हुनेछस्। यसरी जिउनु स्वतन्त्र र सहज हुन्छ। जीवन धेरै थकाइलाग्दो लाग्नेले आफैलाई मात्रै दोष दिनुपर्छ। कुनै पनि कुराको नाटक नगर् वा कुनै पनि कुरालाई ढाकछोप नगर्। पहिले, तँ आफ्नो हृदयमा के सोचिरहेको छस् र तेरा साँचो विचारहरू के हुन् भनी खुलस्त हो, ताकि सबैले ती कुरा जानून् र बुझून्। यसरी, तेरा चिन्ताहरू, साथै तँ र अरूबीचका तगारो र शङ्काहरू सबै हट्नेछन्। यसबाहेक, तँलाई अर्को कुराले पनि बाँधिरहेको छ, त्यो के हो भने, तँ सधैँ आफूलाई टोलीको प्रमुख, एक अगुवा वा एक कामदार, उपाधि, हैसियत र प्रतिष्ठा भएको व्यक्ति ठान्छस्—यदि तँ त्यसपछि आफूले यो बुझ्दिनँ र त्यो गर्न असक्षम छु भनेर भन्छस् भने, के त्यो आफ्नै अपमान गर्नु होइन र? जब तँ आफ्नो हृदयका यी बन्धनहरू त्याग्छस्, जब तँ आफूलाई अगुवा वा कामदार ठान्न छोड्छस्, र जब तँ आफूलाई अरू मानिसहरूभन्दा राम्रो ठान्न छोड्छस् र बरु तँ एक साधारण व्यक्ति, अरू सबैजस्तै होस्, र तँ केही क्षेत्रमा अरूभन्दा निम्नस्तरीय छस् भनी महसुस गर्छस्, तब तैँले यस मानसिकताका साथ सत्यता र कामसँग सम्बन्धित मामिलाहरूमा सङ्गति गर्दा, नतिजा र वातावरण दुवै फरक हुनेछन्। यदि तेरो हृदयमा सधैँ दुबिधाहरू हुन्छन् भने, यदि तैँले सधैँ तनाव र रोकटोक महसुस गर्छस्, र तँ यी कुराहरू त्याग्न चाहन्छस् तर सक्दैनस् भने, तैँले इमानदारीपूर्वक परमेश्वरलाई प्रार्थना गर्नुपर्छ, आत्म-चिन्तन गर्नुपर्छ, आफ्ना कमीकमजोरीहरू चिन्नुपर्छ, र सत्यतातर्फ लागिपर्नुपर्छ। यदि तँ सत्यतालाई अभ्यासमा लागू गर्न पुगिस् भने, तैँले नतिजाहरू प्राप्त गर्नेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्नु नै परमेश्वरमाथिको विश्वासको जग हो)। परमेश्वरका वचनहरू पढेपछि, मेरो हृदय निकै प्रसन्न भयो। मैले आफूलाई सधैँ अगुवाको स्थानमा राखेकी थिएँ। म सधैँ अरूले मलाई आदर गरून् भनेर सबै कुरा जानेको बहाना गर्न चाहन्थेँ, र अरूले मेरो वास्तविक रूप नदेखून् भन्ने चाहन्थेँ। अगुवा बन्नको लागि म अरूभन्दा माथि र कुनै पनि कुरा गर्न सक्ने हुनुपर्छ भन्ने विश्वास गर्थेँ, तर म गलत थिएँ। वास्तवमा, म अरूभन्दा असल थिइनँ। मेरो भ्रष्ट स्वभाव ब्रदर-सिस्टरहरूको जस्तै थियो, र धेरै कुरा मैले स्पष्टरूपमा देख्न वा बुझ्न सकेकी थिइनँ। अगुवा बन्नु भनेको अभ्यास गर्ने मौका मात्रै हो। मैले आफ्नो पदलाई पन्छाउनुपर्छ, इमानदार बन्नुपर्छ, आफ्नो वास्तविक रूपबारे अरूलाई खुलस्त बताउनुपर्छ, र कर्तव्य पूरा गर्दा आफूलाई अरूकै बराबरीमा राखेर सबैसँग काम गर्नुपर्छ। मैले कुनै कुरा बुझिनँ भने, त्यो स्वीकार गर्नुपर्छ र बुझेकाहरूलाई थप सङ्गति दिन अनुरोध गर्नुपर्छ। त्यसरी, मैले कामका समस्याहरू तुरुन्तै समाधान गर्न मात्रै सक्दिनँ, तर आफ्नै कमजोरीहरूसमेत परिपूर्ति गर्न सक्छु। यदि मैले पत्ता लगाउन वा समाधान गर्न नसक्ने समस्या आइपर्यो भने, पछि हुने गम्भीर समस्याहरूलाई रोक्न मैले यसबारे तुरुन्तै माथि रिपोर्ट गरिहाल्नुपर्छ।
अहिले, मलाई फेरि मण्डली अगुवाको रूपमा काम गर्न छनौट गरिएको छ। म अत्यन्तै कृतज्ञ छु, र मैले पश्चात्ताप गर्न सकूँ भनेर परमेश्वरले यो मौका दिनुभएको हो भन्ने मलाई थाहा छ। म मेरा विगतका अपराधहरूलाई परिपूर्ति गर्न सक्दिनँ, त्यसकारण म भविष्यमा आफ्नो कर्तव्य पूरा गर्दा सक्दो गर्न चाहन्छु। मैले मनमनै यो शपथ खाएँ: “हे परमेश्वर, म यो कर्तव्य राम्ररी पूरा गर्न आफूले सक्ने र गर्नुपर्ने सबै गर्न तयार छु। यदि म फेरि आफ्नो कर्तव्यमा आफ्नो भ्रष्ट स्वभावमाथि भर परेँ र गैरजिम्मेवार बनेँ भने, तपाईंले मलाई दण्ड र अनुशासन दिनुहुनेछ भन्ने मलाई आशा छ।” अहिले मेरो कर्तव्यमा मलाई थाहा नभएका धेरै कामहरू छन्। कहिलेकाहीँ, ब्रदर-सिस्टरहरू मकहाँ कामको छलफल गर्न आउँदा, र म तीमध्ये कति कुरा राम्ररी बुझ्दिनँ, र अझै पनि मलाई यस्तो कुराबाट टाढा बस्न र त्यसमा सहभागी नहुन मन लाग्छ। तर जब म मेरा अघिल्ला असफलताहरूबाट सिकेका पाठहरूबारे सोच्छु, तब मलाई अलिक डर लाग्छ र म तुरुन्तै परमेश्वरलाई प्रार्थना गर्छु। म शान्त हुन, ध्यान दिएर सुन्न र यी समस्याहरू समाधान गर्ने उपाय खोज्न ब्रदर-सिस्टरहरूसँग मिलेर काम गर्न उहाँलाई मदत माग्छु। जब म बोझ लिन्छु र यी कामहरूमा साँच्चै सहभागी हुन्छु, तब समस्या के हो भनेर बुझ्न सक्ने मात्रै होइन, कहिलेकाहीँ म केही उचित सुझाव पनि दिन सक्छु। मैले स्पष्टरूपमा बुझ्न वा समाधान गर्न नसक्ने सिद्धान्तसम्बन्धी समस्याहरू आइपर्दा, म तीबारे माथिल्लो तहका अगुवाहरूलाई रिपोर्ट गर्छु र सहयोग माग्छु। यसरी काममा ढिलाइ हुँदैन, र समस्या तुरुन्तै समाधान हुन्छ।