४२. दुष्कर्मीलाई चिनेर मैले के सिकेँ
अगस्ट २०१५ मा, मलाई के थाहा भयो भने मुख्यरूपमा व्यावहारिक काम नगरेको अनि प्रतिष्ठा र हैसियतको लागि अरूसँग प्रतिस्पर्धा गरेको, साथै अरू ब्रदर-सिस्टरहरूको अघि आफ्नो सहकर्मीलाई आलोचना गरेको, अनि यी सबैले मण्डलीको काममा बाधा पुऱ्याएको कारण सिस्टर निकोललाई प्रतिस्थापन गरियो। निकोललाई बर्खास्त गरिएपछि, सङ्गति र निराकरणद्वारा, उनले आफ्नो अपराध र भ्रष्ट स्वभावलाई केही मात्रामा बुझिन्। उनले धेरै पछुतो देखाइन् र आफूलाई दोष दिइन्, अनि पश्चात्ताप गर्ने इच्छा गरिन्। मेरी सहकर्मी एलिना पहिले निकोलकी सहकर्मी थिइन्। निकोललाई झूटो अगुवाको रूपमा वर्गीकरण गरिएको छ भन्ने सुनेपछि उनले भनिन्, “निकोल अगुवा बनेपछि, उनी आफूलाई अरू सबैभन्दा माथि राख्थिन्। उनी मसँग निकै रूखो व्यवहार गर्थिन्, अनि घमण्डी, र अत्यन्तै अहङ्कारी थिइन्। उनी गुटबन्दी गर्ने र हैसियत प्राप्त गर्न डाह गर्दै विवाद गर्ने पनि गर्थिन्। ख्रीष्टविरोधीले मात्रै त्यस्ता कुराहरू गर्न सक्छ। उनलाई झूटो अगुवा भन्नु मात्रै पर्याप्त छैन; उनलाई ख्रीष्टविरोधीको रूपमा वर्गीकरण गरिनुपर्छ।” उनले माथिल्ला अगुवालाई अनुरोध गरेर निकोललाई पुनः वर्गीकरण गर्न लगाउने योजना पनि बनाएकी थिइन्। एलिनाको कुरा सुनेपछि अर्की सहकर्मी रेचलले सहमति जनाइन्। त्यो बेला, मैले सोचेँ, “निकोल आफूलाई महत्त्व दिने र एकलकाँटे रहेछिन् र उनमा अत्यन्तै अहङ्कारी स्वभाव रहेछ, तर उनले कुनै ठूलो दुष्कर्म गरेकी थिइनन्, न त निरन्तर बाधा र व्यवधान नै ल्याइरहेकी थिइन्, अनि उनलाई प्रतिस्थापन गरिएपछि, उनले पश्चात्ताप गर्न, मनन गर्न, अनि आफूलाई चिन्न सकिन्। उनी सत्यता पटक्कै स्वीकार नगर्नेहरूमध्ये पर्दिनन्। यदि हामीले उनले प्रकट गरेको सीमित भ्रष्टता र एक-दुईवटा विगतका अपराधहरूको आधारमा मात्रै उनलाई ख्रीष्टविरोधीको रूपमा वर्गीकरण गर्यौँ भने, के त्यो हद नाघ्नु होइन र? उनलाई गलतरूपमा वर्गीकरण गर्नु भनेको असल व्यक्तिलाई अन्यायी व्यवहार गर्नु हो।” त्यसकारण, मैले आफ्नो दृष्टिकोण बताएँ। तर एलिनाले यो कुरा स्वीकार नगरेकी मात्र होइन, तर यसो पनि भनिन्: “तपाईंले निकोलका कतिपय व्यवहार बुझ्नुभएको छैन। हामीले सिद्धान्तहरूमा अडिक रहनुपर्छ। हामीले कुनै पनि ख्रीष्टविरोधीलाई छोड्नु हुँदैन।” त्यो बेला, मलाई अलिक अप्ठ्यारो लाग्यो, तर एलिनाले त्यसपछि गरेको कुराले मलाई झनै अचम्मित पाऱ्यो।
एक दिन एलिनाले रेचललाई निकोलका मूल्याङ्कनहरू सङ्कलन गर्न लगाइन्, र माथिल्ला अगुवाहरूसँग सल्लाह नलिई उनले सुटुक्क निकोलबारे बुझ्न र विश्लेषण गर्न ब्रदर-सिस्टरहरूको भेला बोलाइन्। भेलामा, एलिनाले विस्तृतरूपमा पहिले निकोलले कसरी अहङ्कारी व्यवहार गरेकी थिइन् भनेर बताइन्, र निकोलले स्वेच्छाचारी व्यवहार गरेको कुरालाई विशेष जोड दिइन्, तर यसो गर्ने तिनको बानी थियो कि यो उनले भ्रष्टता प्रकट गरेको क्षणिक घटना थियो भनी उनले बताइनन्। निकोलले पछि सत्यता स्वीकार गर्न सकिन् कि सकिनन् र पश्चात्ताप गरिन् कि गरिनन् भन्ने कुरा पनि उनले बताइनन्। एउटी सिस्टरले यो त निकोललाई दमन र निन्दा गर्न बोलाइएको भेला रहेछ भन्ने महसुस गरिन्, त्यसपछि उनले रेचललाई सतर्क गराइन्: “तपाईंहरूले यसो गरेर वास्तवमा के हासिल गर्ने प्रयास गरिरहनुभएको छ? के यो परमेश्वरको इच्छाअनुरूप छ? पर्याप्त प्रमाणविना अरूलाई वर्गीकरण गर्न मिल्दैन। त्यसो गर्दा परमेश्वरलाई चिढ्याउने सम्भावना हुन्छ।” यो सुनेपछि रेचल अलिक डराइन्, र निकोललाई यस्तो व्यवहार गर्नु हदभन्दा अलि बढी भयो भन्ने पनि उनलाई लाग्यो होला, त्यसकारण उनले एलिना र मलाई आफ्नो शङ्का बताइन्। एलिनाले झर्किँदै भनिन्, “जब-जब हामी सत्यताको अभ्यास गर्न चाहन्छौँ, तब-तब शैतानले बाधा ल्याउँछ।” अन्त्यमा, उनले फेरि निकोलको व्यवहारबारे विश्लेषण गरिन्, र निकोलले आफ्नो सहकर्मीको डाहा गर्ने गरेकोले गुटबन्दी गरेर आफ्नो सहकर्मीको आलोचना र दमन गरेकी थिइन् भनेर उनले जोड दिइन्। उनले के पनि भनिन् भने, निकोलले स्वेच्छाचारी ढङ्गले र अरूसँग सल्लाह नलिई काम गरेकी थिइन्, र मानिसहरूलाई आफूखुसी बर्खास्त गर्थिन्। एलिनाले बताएको व्यवहारको गम्भीरतालाई हेरेर रेचल विश्वस्त भइन्, र उनले फेरि एलिनाको पक्ष लिइन्। यसपटक, म पनि अलिक दोधारमा परेँ। के एलिना र रेचलको दृष्टिकोण सही थियो? ख्रीष्टविरोधीहरू गुटबन्दी गर्छन् भनेर प्रकट गर्ने परमेश्वरका वचनहरूमा एलिनाले जोरदार सङ्गति गरेको सुन्दा, म झन् अन्योलमा परेँ र मलाई उनको विश्लेषण सही हुन सक्छ जस्तो लाग्यो। के माथिल्ला अगुवाहरूले उचितरूपमा निकोललाई पहिचान नगरी ख्रीष्टविरोधीलाई झूटो अगुवा भनेर रहन दिएको हुन सक्छन्? यदि त्यसो हो भने त, के म ख्रीष्टविरोधीलाई नचिनी ख्रीष्टविरोधीको पक्षमा बोल्ने व्यक्ति बनेकी थिइनँ र? त्यो अवस्थामा मैले आफ्नो पद गुमाउन सक्ने सम्भावना थियो। मलाई ख्रीष्टविरोधीको रक्षा गरेको आरोप लाग्न सक्थ्यो र म पूर्णरूपमा बदनाम हुनेथिएँ। सायद मैले एलिना र रेचलको पक्ष लिँदा नै राम्रो हुनेथ्यो। त्यसरी, यदि म गलत भएँ भने, त्यो मेरो मात्रै गल्ती हुनेथिएन। गलत भएको खुलासा भएर सबै दोष लिनुभन्दा त्यो नै राम्रो हुनेथियो। तिनीहरूको दृष्टिकोणसँग सहमत हुनलागेको बेला, मलाई अलिक अप्ठ्यारो लाग्यो। अहिलेसम्म कुरा स्पष्ट भइनसकेको हुनाले, मैले अरू कसैको राय त्यतिकै स्वीकार गर्नु हुँदैन भन्ने सोचेँ। यदि निकोल ख्रीष्टविरोधी होइनन्, र मैले उनलाई वर्गीकरण गर्नमा अरूलाई अन्धाधुन्ध पछ्याएँ भने, मैले मनमानी ढङ्गले कसैलाई दोष लगाइरहेको हुनेथिएँ, जुन परमेश्वरलाई चिढ्याउने कुरा थियो। त्यस्तो अपराध गरिसकेपछि त्यसलाई कहिल्यै मेट्न सकिँदैन। मलाई मेरो विवेकले घोचेकोले, मैले एलिनाको पछि नलाग्ने निर्णय गरेँ।
त्यसपछि, मैले ख्रीष्टविरोधीहरूलाई कसरी चिन्ने भन्नेबारे सत्यता खोजी गरेँ। परमेश्वरको वचनमा मैले यो पढेँ: “ख्रीष्टविरोधीको स्वभाव मात्र भएको व्यक्तिलाई सारमा ख्रीष्टविरोधीका रूपमा वर्गीकृत गर्न मिल्दैन। ख्रीष्टविरोधीको प्रकृति सार भएकाहरू मात्र साँचो रूपमा ख्रीष्टविरोधी हुन्। ती दुईबीचका मानवतामा भिन्नताहरू हुन्छन्, अनि त्यसैगरी, भिन्न प्रकारका मानवताको शासनमा रहँदै गर्दा, सत्यताप्रति ती मानिसहरूले राख्ने मनोवृत्ति पनि उही हुँदैनन्—अनि जब सत्यताप्रति मानिसहरूले राख्ने मनोवृत्ति उही हुँदैन, तब तिनीहरूले छनोट गर्ने बाटो पनि फरक हुन्छन्; अनि जब मानिसहरूले छनोट गर्ने बाटो फरक हुन्छन्, तब त्यसको परिणामस्वरूप निस्कने सिद्धान्तहरू र तिनीहरूका कार्यका नतिजाहरूमा पनि भिन्नता हुन्छन्। ख्रीष्टविरोधीको स्वभाव मात्र भएको व्यक्तिको विवेकले काम गरिरहने हुनाले, र उसमा समझ र सम्मानबोध हुने हुनाले, र तुलनात्मक रूपमा भन्नुपर्दा, उसले सत्यतालाई प्रेम गर्ने हुनाले, उसले आफ्नो भ्रष्ट स्वभाव प्रकाश गर्दा, उसको हृदयमा त्यसप्रतिको अस्वीकृति हुन्छ। त्यस्ता समयमा, उसले आत्मचिन्तन गर्न र आफूलाई चिन्न सक्छ, र आफ्नो भ्रष्ट स्वभाव र भ्रष्टताको प्रकटीकरणलाई स्विकार्न सक्छ, जसले उसलाई देह र आफ्नो भ्रष्ट स्वभावविरुद्ध विद्रोह गर्ने, अनि सत्यता अभ्यास गर्ने र परमेश्वरमा समर्पित हुने तुल्याउँछ। तर, ख्रीष्टविरोधीको हकमा भने यस्तो हुँदैन। उसको विवेकले काम नगर्ने र उसमा विवेकशील चेतना नहुने हुनाले, र उसमा सम्मानबोध त झनै नहुने हुनाले, उसले आफ्नो भ्रष्ट स्वभाव प्रकाश गर्दा, उसको प्रकटीकरण सही हो कि गलत, अथवा उसमा भ्रष्ट स्वभाव छ कि सामान्य मानवता, वा त्यो सत्यताअनुरूप छ कि छैन भनेर परमेश्वरका वचनहरूअनुसार मापन गर्दैन। उसले कहिल्यै यी कुराहरूबारे चिन्तन गर्दैन। त्यसोभए, उसले कस्तो व्यवहार गर्छ? ऊ सधैँ आफूले प्रकट गर्ने भ्रष्ट स्वभाव र छनोट गर्ने बाटो सही हुन् भन्ने कुरामा कायम रहिरहन्छ। ऊ आफूले गर्ने जे पनि सही हो, आफूले बोल्ने जे पनि सही हो भन्ने सोच्छ; ऊ आफ्नै विचारमा अडिग रहन कम्मर कस्छ। अनि त्यसैले, उसले जतिसुकै ठूलो गल्ती गरे पनि, उसले जतिसुकै भ्रष्ट स्वभाव प्रकाश गरे पनि, उसले मामिलाको गम्भीरतालाई बुझ्नेछैन, र आफूले प्रकाश गरेको भ्रष्ट स्वभाव निश्चय नै बुझ्नेछैन। अनि उसले निश्चय नै आफ्ना चाहनालाई पन्छाउनेछैन, र आफ्नै महत्त्वाकाङ्क्षा वा भ्रष्ट स्वभावविरुद्ध विद्रोह गर्दै परमेश्वर र सत्यताप्रतिको समर्पणको बाटो छनोट गर्नेछैन। यी दुई परिणामहरूबाट देख्न सकिन्छ कि, यदि ख्रीष्टविरोधीको स्वभाव भएको मानिसले हृदयमा सत्यतालाई प्रेम गर्छ भने, ऊसँग त्यसको बुझाइ प्राप्त गर्ने र त्यसलाई अभ्यास गर्ने, अनि मुक्ति पाउने अवसर हुन्छ, जबकि ख्रीष्टविरोधीको सार भएखालको व्यक्तिले सत्यता बुझ्न वा त्यसलाई अभ्यास गर्न सक्दैन, न त उसले मुक्ति नै पाउन सक्छ। यी दुईबीचको भिन्नता यही नै हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट पाँच: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग दुई))। “विगतमा कतिपय अगुवा र सेवकहरूले बारम्बार ख्रीष्टविरोधीका स्वभावहरू प्रकट गर्थे: तिनीहरू बेकाबु र स्वेच्छाचारी थिए, र कुराहरू सधैँ तिनीहरूले भनेकै जस्तो हुनुपर्थ्यो। तर तिनीहरूले कुनै स्पष्ट दुष्टता गरेनन् र तिनीहरूको मानवता भयानक थिएन। काटछाँटमा परेपछि, दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई सहयोग गरेपछि, स्थानान्तर वा प्रतिस्थापन गरिएपछि, केही समयसम्म नकारात्मक भएपछि, तिनीहरू आफूले पहिले प्रकट गरेका कुराहरू भ्रष्ट स्वभाव हुन् भनेर बल्ल सचेत बन्छन्, तिनीहरू पश्चात्ताप गर्न तयार हुन्छन्, र सोच्छन्, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको जेसुकै भए पनि आफ्नो कर्तव्यमा लागिरहनु हो। म ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेको भए पनि, मलाई त्यस्तो व्यक्तिको रूपमा वर्गीकरण गरिएन। यो परमेश्वरको कृपा हो, त्यसकारण मैले मेरो विश्वास र पछ्याइमा मेहनत गर्नैपर्छ। सत्यता पछ्याउने मार्गमा केही पनि गलत छैन।’ बिस्तारै, तिनीहरूले आफूलाई परिवर्तन गर्छन्, र त्यसपछि पश्चात्ताप गर्छन्। तिनीहरूमा असल प्रकटीकरणहरू हुन्छन्, तिनीहरूले आफ्ना कर्तव्य पूरा गर्दा सत्यता सिद्धान्तहरू खोजी गर्न सक्छन्, र अरूसँग अन्तरक्रिया गर्दा पनि सत्यता सिद्धान्तहरू खोजी गर्छन्। हरेक हिसाबमा, तिनीहरू सकारात्मक दिशामा प्रवेश गरिरहेका हुन्छन्। के त्यसपछि तिनीहरू परिवर्तन भएका हुँदैनन् र? तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नेबाट परिवर्तन भएर सत्यता अभ्यास गर्ने पछ्याउने मार्गमा हिँड्न थालेका हुन्छन्। तिनीहरूले मुक्ति पाउने आशा र मौका हुन्छ। के त्यस्ता मानिसहरूले कुनै बेला ख्रीष्टविरोधीका केही प्रकटीकरणहरू प्रदर्शन गरेका वा तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा हिँडेका हुनाले तैँले तिनीहरूलाई ख्रीष्टविरोधीहरू भनेर वर्गीकरण गर्न मिल्छ? मिल्दैन। ख्रीष्टविरोधीहरू त पश्चात्ताप गर्नभन्दा मर्न तयार हुन्छन्। तिनीहरूमा कुनै लाजको बोध हुँदैन; त्यस बाहेक, तिनीहरू द्वेषपूर्ण र दुष्ट स्वभावका हुन्छन्, र तिनीहरूमा सत्यताप्रति चरम वितृष्णा हुन्छ। के सत्यताप्रति यति धेरै वितृष्ण व्यक्तिले यसलाई अभ्यास गर्न, वा पश्चात्ताप गर्न सक्छ? त्यो असम्भव हुनेछ। तिनीहरू सत्यताप्रति पूर्णतया वितृष्ण हुनुको अर्थ तिनीहरूले कहिल्यै पनि पश्चात्ताप गर्नेछैनन् भन्ने हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। साँचो ख्रीष्टविरोधीहरूमा हिंस्रक स्वभाव, द्वेषपूर्ण प्रकृति हुन्छ, र तिनीहरू दुष्कर्मी हुन्छन्। तिनीहरूमा विवेक वा लाज हुँदैन, र तिनीहरूले जति नै धेरै दुष्कर्म गरे पनि, वा मण्डलीको काम वा ब्रदर-सिस्टरहरूको जीवनमा जति नै धेरै हानि गरे पनि, तिनीहरूको विवेकले घोच्दैन। यसको साथै, तिनीहरू सत्यतालाई नराम्ररी घृणा र तिरस्कार गर्छन्। तिनीहरू कहिल्यै अलिकति पनि सत्यता स्वीकार गर्दैनन्, र कहिल्यै आफ्नो गल्ती स्वीकार गर्ने वा पश्चात्ताप गर्ने गर्दैनन्, चाहे जति नै धेरै दुष्कर्म गरेका किन नहोऊन्। तर ख्रीष्टविरोधी स्वभाव भएका मानिसहरूमा दुष्ट प्रकृति हुँदैन; तिनीहरू वास्तवमा दुष्कर्मी हुँदैनन्। तिनीहरूले कहिलेकहीँ बाटो बिराउने र लापरवाही गर्ने, हैकम जमाउने र आफूसँग सहमत नहुनेहरूलाई बहिष्कार गर्नेजस्ता ख्रीष्टविरोधी व्यवहार देखाउँछन्, तर काटछाँट र निराकरण, वा बर्खास्त र हेरफेरद्वारा सत्यता खोजी गरेर आत्मचिन्तन गर्न सक्छन्, आफ्नो दुष्ट कार्यहरूका लागि पछुतो गर्न सक्छन्, र पछि साँचो पश्चात्ताप गरेर परिवर्तन हुन सक्छन्। ठ्याक्कै कतिपय अगुवाहरूजस्तै जो धेरैपटक बर्खास्त गरिएपछि आत्मचिन्तनद्वारा सत्यताको पछि लाग्ने मार्गमा हिँड्न सक्छन्। कसैको कतिपय व्यवहार ख्रीष्टविरोधीको जस्तै हुँदा, उसलाई ख्रीष्टविरोधीको रूपमा वर्गीकरण गरेर भूल गर्ने सम्भावना हुन्छ। त्यसपछि, मैले एलिना र अरूले निकोलको व्यवहारबारे सङ्कलन गरेका मूल्याङ्कनहरू फेरि पढेँ, र यो धेरैजसो भ्रष्टता देखाउने व्यवहार मात्रै रहेछ, जस्तै अहङ्कारी स्वभाव, अरूलाई घृणा गर्ने, आफूखुसी गर्ने, सहकर्मीसँग सल्लाह नगरी मानिसहरूलाई हेरफेर गर्ने इत्यादि। उनले आफ्नो सहकर्मीलाई आलोचना गर्न अरू ब्रदर-सिस्टरहरूलाई पनि मनाउँथिन्, जसले मण्डली जीवनमा असर गरेको थियो। यो वास्तवमा दुष्ट कार्य थियो, तर यो उनको बानी थिएन। विगतमा, उनले कहिल्यै अरूलाई दमन गर्ने वा आलोचना गर्ने गरेकी थिइनन्। उनलाई बर्खास्त गरिएपछि, उनले मनन गरेर आफ्ना अपराध र भ्रष्ट स्वभाव पहिचान गर्न सकिन्, र उनले आफूलाई घृणा गरेर पश्चात्ताप गरिन्। यसबाट के देख्न सकिन्छ भने उनी सत्यता इन्कार गर्ने वा कहिल्यै पश्चात्ताप नगर्ने व्यक्ति थिइनन्। यस कुरालाई यसरी हेर्दा, उनमा केही ख्रीष्टविरोधी व्यवहार भए पनि वास्तवमा उनी ख्रीष्टविरोधी थिइनन्। त्यस्ता अपराधहरूका आधारमा उनलाई ख्रीष्टविरोधीको रूपमा वर्गीकरण गर्नु त हद नाघ्नु, र सत्यताको सिद्धान्तबाहिर जानु हुनेथिएन। यो त उनलाई दमन गर्ने र निन्दा गर्ने कार्य हुनेथियो, जुन दुष्कर्म थियो।
पछि, माथिल्ला अगुवाहरूले हामीलाई भ्रष्ट स्वभाव र आधारभूत प्रकृतिको भिन्नताबारे सङ्गति दिए। मैले सोचेँ, “अब एलिनाले बुझ्नुपर्छ, र उनी यस मामिलामा लागिरहनेछैनन्।” अप्रत्याशितरूपमा, भेलापछि एलिनाले हामीलाई भनिन्, “माथिल्ला अगुवाहरूले निकोलको रक्षा गरिरहेका छन्। तिनीहरूले निकोलको व्यवहारको सारअनुसार समस्यालाई हेर्दैनन्। उनमा केही क्षमता भएकोले तिनीहरूले कतै उनको रक्षा गरिरहेका हुन् कि त्यो मलाई थाहा छैन।” मैले सोचेँ, “कसरी एलिनाले निकोलको एउटा अपराधलाई पक्रेर छोड्दै नछोडेकी? के अगुवाहरूले स्पष्टरूपमा सङ्गति दिएका होइनन् र? निकोलको व्यवहारमा भ्रष्टता देखिएको मात्रै थियो। यो क्षणिक अपराध थियो। उनलाई साँच्चै ख्रीष्टविरोधीको रूपमा वर्गीकरण गर्न सकिँदैन।” तर एलिना र अरूले यो कुरा स्विकार्दैनथे र अगुवाहरूले निकोललाई तह लगाएनन् भने अझ माथिकाहरूलाई बताउँछौँ भनी भने। एलिनाको मनोवृत्ति अत्यन्तै जिद्दी थियो, र अरू दुई सहकर्मीहरू पनि उनको पक्षमा थिए। उनीसँग असहमत हुने म मात्रै थिएँ। म अत्यन्तै बेचैन भएँ। यदि अगुवाहरूले परिस्थिति सम्हालेको तरिकालाई मैले स्विकारिरहेँ भने, के एलिना र अरूले म हैसियतको भक्ति गर्छु, ममा समझको कमी छ, र अगुवाले जे भन्यो त्यही भन्छु भनेर भन्नेछन्? तर यदि मैले तिनीहरूको दृष्टिकोणमा सहमति जनाएको भए, के त्यो अन्धाधुन्ध कसैलाई निन्दा गर्नुहुनेथिएन र? सायद मैले मलाई यस्तो कुरा छुट्याउन आएन भन्नुपर्छ। त्यसरी, तिनीहरूले मेरो वास्तविक दृष्टिकोण थाहा पाउनेथिएनन्, र ममा समझको कमी छ, वा म ख्रीष्टविरोधीको पक्षमा उभिएँ भनेर भन्नेथिएनन्। त्यसकारण, मैले निकै हिचकिचाउँदै भनेँ, “मलाई निकोलको व्यवहार राम्रोसँग थाहा छैन, त्यसकारण उनलाई कसरी वर्गीकरण गर्ने भनेर मलाई थाहा छैन।” मैले एलिनाको कुरा नमानेको देखेर उनको हाउभाउ तुरुन्तै परिवर्तन भयो। त्यसपछि, तिनीहरूले निकोलको पोल खोल्ने बारेमा छलफल गर्दा जानाजानी मलाई टाढा राखे। मलाई एकल्याइएको जस्तो लाग्यो, जसले गर्दा मलाई नराम्रो लाग्यो, “के मैले कुनै गल्ती गरेँ? किन तिनीहरूले मसँग यस्तो व्यवहार गरिरहेका छन्?” यसले मलाई व्याकुल बनायो, र कर्तव्य पूरा गर्दा मलाई अशान्ति भयो। मेरो पिठ्युँपछाडि तिनीहरूले मेरो सत्यता बुझाइ अत्यन्तै सतही छ र ममा समझको कमी छ भनेर भन्छन् भन्ने मलाई शङ्का लाग्यो। के अबदेखि तिनीहरूले मलाई बहिष्कार गरिरहनेछन्? मलाई दुःख लाग्यो, र सोचेँ, “ठिकै छ, यदि तिनीहरूले मेरो सुझाव सुन्दैनन् र मलाई संलग्न गर्न चाहँदैनन् भने, म धेरै समस्याबाट जोगिनेछु र मैले तिनीहरूलाई चिढ्याउनेछैनँ ताकि तिनीहरूले मलाई दोष लगाएर बर्खास्त गर्न नलगाऊन्। तिनीहरूले जे मन लाग्छ त्यही गरून्; आखिर मलाई के मतलब।” तर मैले त्यो निर्णय गरेपछि, मैले आफैलाई धिक्कारेँ: “के म समस्याबाट भागिरहेको छैन र? मैले मण्डलीको काम कायम गरिरहेको छैन।” पछि, मैले अगुवाहरूलाई आफ्नो स्थितिबारे खुलस्त बताएर सङ्गति गरेँ, र तिनीहरूले मलाई परमेश्वरको इच्छा खोज्नू र मण्डलीको काम कायम राख्नू भनेर सम्झाए, अनि एलिना र अरूले मलाई एकल्याएको कारण म पछि हटेँ वा भाग्ने विचार गरेँ भने, म जिम्मेवारीबाट पन्छिरहेको हुनेछु भनेर पनि भने। अगुवाहरूको कुरा सुनेर, मलाई मैले आफ्नै व्यक्तिगत हितहरूबारे मात्रै विचार गरिरहेको छु भन्ने महसुस भयो। कसैलाई दमन गरिएको मैले देखेँ, तर त्यो मेरो चासोको विषय होइन जस्तो व्यवहार गरेँ। मैले बहिष्कार हुनबाट बच्नको लागि भाग्नसमेत चाहेँ। म कति स्वार्थी र घृणित थिएँ!
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, त्यसपछि मात्रै आफ्नो प्रकृतिबारे अलिक स्पष्टरूपमा बुझेँ। परमेश्वर भन्नुहुन्छ: “मानिसहरूले आफ्नो कर्तव्यप्रति कुनै जिम्मेवारी लिँदैनन्, झारा टार्ने किसिमले कर्तव्य निभाउँछन्, सधैँ हुन्छ मानिसलाई रिझाउने शैलीमा काम गर्छन्, र परमेश्वरको घरका हितहरूको रक्षा गर्दैनन् भने, त्यो कस्तो स्वभाव हो? यो धूर्तता हो, शैतानको स्वभाव हो। मानिसको संसारसँग व्यवहार गर्ने दर्शनको सबैभन्दा प्रमुख पक्ष भनेको धूर्तता हो। मानिसहरूलाई के लाग्छ भने यदि तिनीहरू धूर्त बनेनन् भने, तिनीहरूले अरूलाई रिस उठाउने सम्भावना हुन्छ र तिनीहरूले आफूलाई रक्षा गर्न सक्दैनन्; तिनीहरू अरू कसैलाई चोट पुर्याउने वा चिढ्याउने कार्य नगर्ने हदसम्मको धूर्त हुनुपर्छ, यसरी तिनीहरूले आफूलाई सुरक्षित राख्न, आफ्नो रोजी-रोटीलाई सुरक्षा गर्न, र अरू मानिसहरूमाझ दह्रिलो आधार बनाउन सक्छन् भन्ने तिनीहरूलाई लाग्छ। गैरविश्वासीहरू सबै नै शैतानका दर्शनहरूअनुसार जिउँछन्। तिनीहरू सबै अरूलाई रिझाउने र कसैलाई नचिढ्याउने हुन्छन्। तँ परमेश्वरको घरमा आएको छस्, तैँले परमेश्वरको वचन पढेको, र परमेश्वरको घरका प्रवचनहरू सुनेको छस्, तैपनि किन तँ सत्यताको अभ्यास गर्न, हृदयबाट बोल्न, र इमान्दार व्यक्ति बन्न सक्दैनस्? किन तँ सधैँ अरूलाई रिझाउने व्यक्ति भएको छस्? सधैँ अरूलाई रिझाउने व्यक्तिहरूले आफ्नै हित रक्षा गर्छन्, मण्डलीका हित रक्षा गर्दैनन्। कसैले दुष्कर्म गरिरहेको र मण्डलीका हितहरूमा हानि गरिरहेको देख्दा, तिनीहरूले यसलाई बेवास्ता गर्छन्। तिनीहरू सधैँ अरूलाई रिझाउने व्यक्ति बन्न चाहन्छन्, र कसैलाई चिढ्याउन चाहँदैनन्। यो गैरजिम्मेवार कार्य हो, र त्यस्तो व्यक्ति अत्यन्तै छली र विश्वासघाती हुन्छ। कतिपय मानिसहरू आफ्नै अभिमान र गौरवको रक्षा गर्न, र आफ्नो ख्याति र हैसियत कायम राख्न जति नै मूल्य परे पनि खुसीसाथ अरूलाई सहयोग गर्छन् र आफ्ना मित्रहरूका लागि त्याग गर्छन्। तर जब तिनीहरूले परमेश्वरको घरका हित, सत्यता, र न्यायको रक्षा गर्नुपर्ने हुन्छ, तब तिनीहरूका त्यस्ता असल अभिप्रायहरू हराउँछन्, ती पूर्ण रूपमा हराएका हुन्छन्। सत्यता अभ्यास गर्नुपर्ने बेला तिनीहरूले बिलकुलै अभ्यास गर्दैनन्। के भइरहेको छ? तिनीहरूले आफ्नो मर्यादा र गौरवको रक्षा गर्न, कुनै पनि मूल्य चुकाउनेछन् र जुनसुकै कष्ट सहनेछन्। तर जब तिनीहरूले वास्तविक काम गर्नुपर्ने र व्यावहारिक मामिलाहरू सम्हाल्नुपर्ने हुन्छ, अनि मण्डलीको काम र सकारात्मक कुराहरूको रक्षा गर्नुपर्छ, अनि परमेश्वरका चुनिएका मानिसहरूको रक्षा र भरणपोषण गर्नुपर्छ, तब किन तिनीहरूसँग मूल्य चुकाउने र कुनै कष्ट सहने सामर्थ्य हुँदैन? यो अकल्पनीय कुरा हो। वास्तवमा, तिनीहरूमा सत्यतादेखि वितृष्ण हुने एक प्रकारको स्वभाव हुन्छ। म किन तिनीहरूको स्वभाव सत्यतादेखि वितृष्ण हुने किसिमको छ भन्छु? किनभने, जब कुनै कुरामा परमेश्वरको गवाही दिने, सत्यता अभ्यास गर्ने, परमेश्वरका चुनिएका मानिसहरूको रक्षा गर्ने, शैतानका षड्यन्त्रहरूविरुद्ध लडाइ गर्ने, वा मण्डलीको कामको रक्षा गर्ने कार्य समावेश हुन्छ, तब तिनीहरू भाग्छन् र लुक्छन्, र उचित उचित मामिलाहरूलाई ध्यान दिँदैनन्। तिनीहरूको कष्ट सहने बहादुरी र भावना खै त? तिनीहरूले यी कुराहरू कहाँ लागू गर्छन्? यो सजिलै देख्न सकिन्छ। कसैले तिनीहरूलाई स्वार्थी र नीच हुनु हुँदैन, आफ्नै बचाउ गर्नु हुँदैन र तिनीहरूले परमेश्वरको घरको कामको सुरक्षा गर्नुपर्छ भनी हप्काए पनि, तिनीहरू मतलबै गर्दैनन्। तिनीहरू मनमनै यसो भन्छन्, ‘म ती कामहरू गर्दिनँ, र तिनको मसँग कुनै सरोकार छैन। मेरो ख्याति, लाभ र हैसियतको खोजीमा त्यस्तो व्यवहारले मलाई के नै राम्रो गर्ला र?’ तिनीहरू सत्यता पछ्याउने व्यक्ति होइनन्। तिनीहरू ख्याति, लाभ र हैसियत खोज्न मात्र मन पराउँछन्, र तिनीहरू परमेश्वरले तिनीहरूलाई सुम्पनुभएको काम बिलकुलै गर्दैनन्। त्यसैले, जब तिनीहरूले मण्डलीको काम गर्नुपर्ने हुन्छ, तिनीहरू खुरुक्क भाग्ने विकल्प रोज्छन्। यसको मतलब के हो भने, तिनीहरू हृदयदेखि नै सकारात्मक कुराहरू मन पराउँदैनन्, र सत्यताप्रति कुनै रुचि राख्दैनन्। यो सत्यतादेखि वितृष्ण हुने कुराको प्रस्ट प्रकटीकरण हो। सत्यतालाई प्रेम गर्ने र सत्यताको वास्तविकता भएकाहरू मात्रै परमेश्वरको घरको काम र चुनिएका मानिसहरूलाई आवश्यक पर्दा अघि आउन सक्छन्, तिनीहरू मात्रै साहससाथ र कर्तव्यनिष्ठ भई परमेश्वरको गवाही दिन र सत्यता सङ्गति गर्न खडा हुन सक्छन्, र यसरी परमेश्वरका चुनिएका मानिसहरूलाई सही मार्गमा डोर्याउन र परमेश्वरको काममा समर्पण हासिल गर्न सक्षम तुल्याउन सक्छन्। यो मात्रै जिम्मेवारीको मनोवृत्ति र परमेश्वरका अभिप्रायको ख्याल गर्नुको एउटा प्रकटीकरण हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूसँग तुलना गर्दा मात्रै मलाई आफू विशेष गरी धूर्त र छली रहेछु भन्ने थाहा भयो। एलिना र अरू निकोललाई ख्रीष्टविरोधीको रूपमा वर्गीकरण गर्न चाहन्थे। म तिनीहरूसँग अवश्य नै सहमत भइनँ, र तिनीहरूले निकोललाई स्वेच्छाचारी ढङ्गले निन्दा गरेर अन्यायी व्यवहार गरिरहेका छन् भन्ने पनि मलाई थाहा थियो, तर मलाई तिनीहरूलाई चिढ्याउनेछु र तिनीहरूले मलाई निन्दा गर्नेछन् वा बर्खास्त गर्नेछन् भन्ने डर लाग्यो। मैले आफ्नो हैसियत र प्रतिष्ठा जोगाउन आफ्नो वास्तविक विचार बताइनँ तर अस्पष्ट कुरा बोलेँ। ममा सही दृष्टिकोणमा अडान लिने साहस थिएन। म सधैँ आफ्नै हितहरूबारे विचार गर्थेँ र पहिला आफूलाई जोगाउँथेँ, र मण्डलीको हितलाई रक्षा गर्न केही पनि गरिनँ। यसो गरेर तिनीहरूले मण्डलीको काममा कति समस्या ल्याउनेछन् भनेर पनि मैले विचार गरिनँ। मैले मण्डलीको काम र ब्रदर-सिस्टरहरूको जीवन प्रवेशसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा, अनजान भएको नाटक गरेँ ताकि कसैलाई पनि रिस नउठोस् वा चोट नपुगोस्, र आफ्नो पद कायम राख्न देशअनुसारको भेष लगाएर सिद्धान्तहरूको विरुद्धमा बोलेँ। म साँच्चै अत्यन्तै धूर्त थिएँ। म धूर्त मात्रै थिइनँ, सत्यताप्रति दिक्क पनि मान्थेँ। सत्यता अभ्यास गर्नु र मण्डलीको कामको रक्षा गर्नु धर्मी र सकारात्मक कुरा हो भन्ने मैले बुझेको थिएँ, तर मेरा आफ्ना हितहरूमा हानि पुग्ला भन्ने सोचेर, मैले यो अभ्यास गरिनँ। सही कुराको प्रतिरक्षा गर्दा मलाई कष्ट होला भन्नेसमेत सोचेँ। के यसले म सकारात्मक कुरालाई मन पराउँदिनँ र सत्यताप्रति दिक्क मान्छु भन्ने देखाएन र? मलाई साह्रै पछुतो र ग्लानि भयो।
त्यसपछि, माथिल्ला अगुवाहरूले मलाई यसपटक निकोललाई बर्खास्त गरिएपछि, एलिनाले उनलाई ख्रीष्टविरोधी भनेर निरन्तर रिपोर्ट गरिरहिन्, र निकोललाई बहिष्कार नगरिञ्जेलसम्म रोकिनेवाला छैनन् भनेर याद दिलाए। यो अब भ्रष्टताको सामान्य प्रकटीकरण मात्रै थिएन। यदि एलिनाको अभिप्राय ख्रीष्टविरोधीलाई चिनेर मण्डलीको कामको रक्षा गर्नु थियो, तर उनले सही सही तरिकाले चिन्ने कार्य नगरिरहेका भए, अगुवाहरूले सत्यताका सिद्धान्तहरूअनुसार सङ्गति गरेपछि उनले आफ्नो गल्ती देखेर निकोलको अपराधलाई सही रूपमा सम्हाल्न सक्थिन्। तर उनले सङ्गति पटक्कै स्वीकार गरिनन्, आफ्नै कुरामा जिद्दी गरेर यस कुरालाई छोडिनन्, जुन कसैलाई दमन गर्नु र दण्ड दिनु हो। अगुवाहरूले मलाई एलिनाबारे अनुसन्धान गरेर यस मामिलाको साँचो कुरा पत्ता लगाउन अनुरोध गरे र म राजी भएँ। तर मैले अरूलाई यसबारे सोध्न लाग्दा, म फेरि पछि हट्न थालेँ। “अहिले एलिनाको वास्तविकता नबुझ्ने रेचल मात्रै होइन रहेछिन्। मण्डलीका कतिपय ब्रदर-सिस्टरहरूले समेत उनको पक्ष लिइरहेका छन्। यदि मैले कसैले थाहा नपाउने गरी यस मामिलाबारे साँचो कुरा पत्ता लगाउने प्रयास गरेँ, र यसबारे तिनीहरूले एलिनालाई बताए भने, के एलिना र अरूले मलाई बर्खास्त गराउनेछन्?” यसबारे विचार गर्दा, मलाई फेरि दोधार हुन थाल्यो। पछि, मलाई परमेश्वरका यी वचनहरू याद आयो: “तिमीहरू परमेश्वरको भारलाई बुझ्छौ र मण्डलीको गवाहीको प्रतिरक्षा गर्छौ भनी तिमीहरू सबै भन्छौ, तर तिमीहरूमध्ये कसले परमेश्वरको बोझलाई साँच्चै बुझेका छौ? आफैलाई सोध्: के तँ उहाँको बोझलाई बुझ्ने व्यक्ति होस्? के तैँले उहाँका निम्ति धार्मिकतालाई अभ्यास गर्न सक्छस्? के तँ मेरा लागि खडा भएर बोल्न सक्छस्? के तँ दृढताको साथ सत्यतालाई अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूको विरुद्धमा लड्न सक्ने जत्तिको साहसी छस्? के तँ आफ्ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तँ मेरो इच्छालाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले सबैभन्दा महत्त्वपूर्ण पलहरूमा आफ्नो हृदयलाई समर्पण गरेको छस्? के तँ मेरो इच्छा पछ्याउने व्यक्ति होस्? आफैलाई यी प्रश्नहरू सोध्, र तिनीहरूको बारेमा बारम्बार सोच्ने गर्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १३)। परमेश्वरका वचनहरूले मेरो मन झकझकाइदिए। परमेश्वरका प्रश्नहरूको सामना गर्दा, मैले आफू डरपोक र कायर भइरहेको छु र समस्यामा पर्छु भनेर भयभित छु भन्ने थाहा पाएँ। म सधैँ समस्याबाट भाग्न चाहन्थेँ। मैले परमेश्वरको बोझलाई ध्यान नै दिइनँ। मैले मण्डलीको कामको रक्षा गरिनँ किनभने त्यसो गर्दा मैले अरूलाई चिढ्याउँछु र आफूलाई हानि हुनेछ भन्ने मलाई डर लागेको थियो। म साह्रै स्वार्थी र घृणित थिएँ! परमेश्वरका वचनहरूले मेरो होस खोलिदिए। अहिले एलिनाको व्यवहारले मण्डली जीवनमा बाधा दिइरहेको थियो। यदि म अहिले खडा भइनँ भने, निकै ढिला हुनेथ्यो र एलिनाले मण्डलीको काममा झनै ठूलो हानि पुऱ्याइसक्थ्यो। मेरो कायरता र डर परमेश्वरमाथिको विश्वासको कमी थियो। सबै कुरा परमेश्वरको हातमा छ भन्ने कुरामा म विश्वास गर्दिनथेँ, त्यसकारण सधैँ मलाई अरूको दमनमा पर्छु भन्ने डर लाग्थ्यो। परमेश्वर धर्मी हुनुहुन्छ, र परमेश्वरको घरमा सत्यताले शासन गर्छ। अन्त्यमा नकारात्मक मानिसहरू र दुष्कर्मीहरूले यहाँ स्थान पाउन सक्दैनन्, तर मेरो विश्वास अत्यन्तै सानो थियो। त्यसैले, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मेरो हृदयमा डर र कायरता छ। बिन्ती छ, खडा भएर मण्डलीको कामको रक्षा गर्न मलाई विश्वास दिनुहोस्।” प्रार्थना गरेपछि, मलाई एक जना अगुवाको याद आयो, जो सोझो र समझशक्ति भएका व्यक्ति थिए। त्यसकारण मैले तिनलाई भेटेँ र मसँग यस मामिलाको अनुसन्धान गर्न अनुरोध गरेँ। एलिनाले निकोलका ख्रीष्टविरोधी व्यवहारहरू बारे बनाएका रिपोर्टहरू जाँच गर्दा, हामी तीनछक पर्यौँ। कतिपय आरोपहरू गलत भेट्टायौँ, र अरू व्यवहारमा भ्रष्टता देखिएका मात्रै थिए र ती खास समस्या थिएनन्। के एलिनाले त्यस्ता व्यवहारहरूका आधारमा निकोललाई ख्रीष्टविरोधीको रूपमा निन्दा गरेर, निकोललाई दमन गर्न तथ्यहरू बङ्ग्याइरहेकी थिइनन् र? साधारण मामिला हेर्ने डिकनले पनि एलिना निकोलप्रति कठोर भइरहेको देखेर उनलाई दुष्कर्म नगर्न चेतावनी दिएका थिए, तर एलिना टसमस भइनन् र अझै निकोललाई ख्रीष्टविरोधी भएको दोष दिन लागिपरिरहेकी थिइन्। एलिनाले निकोलप्रति विशेष घृणा पालेकी छिन् र उनलाई बहिष्कार गराउने अठोट गरेकी छिन् भन्ने हामीले देख्यौँ। हामीले एलिना र निकोल सहकर्मी हुँदाको अवस्था बारे थाहा पायौँ, र त्यो बेला निकोलको सामर्थ्य र कार्य क्षमता एलिनाको भन्दा राम्रो भएको कारण माथिल्ला अगुवाहरूले धेरैवटा महत्त्वपूर्ण काम निकोललाई दिएका थिए भन्ने पत्ता लगायौँ। एलिनाले उनको प्रतिष्ठा निकोलले खोसिरहेकी छिन् भन्ने सोचिन्, परिणामस्वरूप निकोलप्रति ईर्ष्यालु र असन्तुष्ट भइन्। साथै, निकोलले प्रायजसो एलिनाका कामका समस्याहरू औँल्याइरहन्थिन्, जसले गर्दा निकोल उनलाई घृणा गर्छिन् भन्ने लाग्यो। एलिनाले निकोलको विरुद्धमा ईख बोकेकी थिइन् र सधैँ बदला लिने मौका खोजिरहन्थिन्। अहिले, निकोलले सिद्धान्तहरू उल्लङ्घन गरेर झूटो अगुवा भएको देखिँदा, एलिना यस मौकामा निकोललाई ख्रीष्टविरोधीको रूपमा वर्गीकरण गरेर बहिष्कार गर्न चाहन्थिन्। सुरुमा, उनले सत्यता नबुझेकी हुनाले निकोललाई निन्दा गरेकी हुन् भन्ने मलाई लागेको थियो। तर अहिले, एलिनाको बदला लिने चाहना यति तीव्र थियो कि उनले निकोललाई निन्दा गर्नमा अरूलाई मूर्ख बनाएर संलग्न गराउन तथ्यहरू बङ्ग्याएको मैले देखेँ। यो अत्यन्तै घृणित कार्य थियो!
एक दिन, मैले परमेश्वरको वचनको प्रकाशद्वारा एलिनाको सारलाई अझै स्पष्टरूपमा देखेँ। परमेश्वर भन्नुहुन्छ: “मतविरोधी भनेको के हो? ख्रीष्टविरोधीले मतविरोधीहरूका रूपमा हेर्ने मानिसहरू को हुन्? कम्तीमा पनि, तिनीहरू ख्रीष्टविरोधीलाई अगुवाका रूपमा गम्भीरतासाथ नलिने मानिसहरू हुन् अर्थात् तिनीहरू ख्रीष्टविरोधीहरूलाई आदर वा आराधना नगर्ने, बरू तिनीहरूलाई साधारण व्यक्तिको रूपमा हेर्ने मानिसहरू हुन्। त्यो एउटा प्रकार हो। त्यसपछि सत्यतालाई प्रेम गर्ने, सत्यताको खोजी गर्ने, आफ्नो स्वभाव परिवर्तन गर्न खोज्ने, र परमेश्वरप्रतिको प्रेमको खोजी गर्ने मानिसहरू छन्; तिनीहरू ख्रीष्टविरोधीको भन्दा फरक मार्ग अपनाउँछन्, र ख्रीष्टविरोधीको नजरमा तिनीहरू मतविरोधीहरू बन्छन्। अरू कोही छन्? (ख्रीष्टविरोधीहरूलाई सधैँ सुझाव दिने, र तिनीहरूको खुलासा गर्ने आँट गर्ने मानिसहरू।) ख्रीष्टविरोधीलाई सुझाव दिन र तिनीहरूलाई खुलासा गर्न आँट गर्ने, वा तिनीहरूको भन्दा फरक विचार राख्ने मानिसहरूलाई ख्रीष्टविरोधीले मतविरोधीहरूको रूपमा हेर्छ। अनि अर्को प्रकारका मानिसहरू पनि हुन्छन्: जो क्षमता र सीपमा ख्रीष्टविरोधी जत्तिकै हुन्छन्, जसको बोलीवचन र व्यवहार क्षमता ख्रीष्टविरोधीहरूको जत्तिकै हुन्छ, वा जसलाई ख्रीष्टविरोधीले आफूभन्दा उच्च र उनीहरूलाई चिन्न सक्ने मानिसहरूका रूपमा ठान्छ। ख्रीष्टविरोधीका लागि, यो असह्य, र उसको हैसियतका निम्ति खतरायुक्त हुन्छ। यस्ता मानिसहरू ख्रीष्टविरोधीका सबैभन्दा ठूला मतविरोधीहरू हुन्। ख्रीष्टविरोधीले यस्ता मानिसहरूलाई बेवास्ता गर्ने वा थोरै लचक बन्ने पनि आँट गर्दैनन्। तिनीहरू यस्ता मानिसहरूलाई काँडाको रूपमा हेर्छन्, सधैँ झिज्याउने कुराका रूपमा हेर्छन्, यस्ता मानिसहरूका विरुद्धमा सधैँ सचेत र सतर्क रहन्छन्, र आफूले गर्ने हरेक कुरामा तिनीहरू यस्ता मानिसहरूबाट टाढा बस्छन्। विशेष गरी जब ख्रीष्टविरोधीले कुनै मतविरोधीले उसलाई पहिचान र खुलासा गर्न लागेको देख्छ, तब तिनीहरू एकदमै अत्तालिन्छन्; यस्तो व्यक्तिलाई बहिष्कार र आक्रमण गर्न उसलाई यति तीव्र इच्छा हुन्छ कि त्यस मतविरोधीलाई मण्डलीबाट सफाइ गरेर ननिकालेसम्म उसलाई चित्त बुझ्दैन। … ख्रीष्टविरोधीका लागि, मतविरोधी नै तिनीहरूको हैसियत र शक्तिका लागि खतरा हुन्छ। तिनीहरूको हैसियत र शक्तिलाई चुनौती दिने जोकोही व्यक्तिलाई ‘तह लगाउन’ जुनै पनि हदसम्म ख्रीष्ट विरोधीहरू जानेछन्। यदि यी मानिसहरूलाई साँच्चै अधीनमा ल्याउन वा भर्ती गर्न सकिएन भने, ख्रीष्टविरोधीहरूले तिनीहरूलाई ढलाउनेछन् वा हटाउनेछन्। अन्त्यमा, ख्रीष्ट विरोधीहरूले पूर्ण शक्ति प्राप्त गर्ने र तिनीहरू आफै नै कानुन बन्ने आफ्नो लक्ष्य हासिल गर्नेछन्। ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत र शक्ति कायम राख्न सधैँ प्रयोग गर्ने विधिहरूमध्ये एउटा यही हो—असहमत हुनेहरूलाई तिनीहरूले आक्रमण र निष्कासन गर्छन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दुई: तिनीहरूले मतविरोधीहरूलाई आक्रमण र निष्कासन गर्छन्)। “जब क्रूर व्यक्तिले कुनै पनि राम्रो अभिप्रायको सल्लाह, आरोप, शिक्षा वा सहयोग सामना गर्छ, तब उसको मनोवृत्ति कृतज्ञ हुनु वा यसलाई नम्रसाथ स्विकार्नु हुँदैन, बरु लज्जित र क्रोधित हुनु, र चरम शत्रुता, र घृणा महसुस गर्नु, र बदलासमेत लिन चाहनु हुन्छ। … जब तिनीहरूले घृणाको कारण अर्को व्यक्तिसित बदला लिन्छन्, तब त्यो अवश्य नै तिनीहरूसँग त्यस व्यक्तिप्रति घृणा भएकोले वा त्यस व्यक्तिसँगको पुरानो ईख भएकोले होइन, तिनीहरूले त त्यो व्यक्तिले तिनीहरूको गल्ती खुलासा गरेकोले यसो गर्छन्। यसले देखाउँछ कि ख्रीष्टविरोधीलाई खुलासा गर्ने काम जसले गरे पनि, र ख्रीष्टविरोधीसँग त्यो व्यक्तिको सम्बन्ध जे भए पनि, त्यो खुलासाले नै तिनीहरूमा घृणा पैदा गर्न र बदला लिने इच्छा जगाउन सक्छ। त्यो व्यक्ति जोसुकै भए पनि, उसले सत्यता बुझे नि नबुझे नि, वा ऊ अगुवा भए नि सेवक भए नि वा परमेश्वरका चुनिएका मानिसहरूको साधारण सदस्य भए नि, उसले ख्रीष्टविरोधीलाई खुलासा र काटछाँट गर्यो भने, ख्रीष्टविरोधीले त्यो व्यक्तिलाई शत्रुको रूपमै लिनेछ। उसले खुलेआम यसोसमेत भन्नेछ, ‘जसले मलाई काटछाँट गर्छ ऊप्रति म कठोर हुनेछु। जसले मलाई काटछाँट गर्छ, जसले मेरो भित्री कुरा पर्दाफास गर्छ, जसले मलाई परमेश्वरको घरबाट निष्कासित गराउँछ, वा मेरो आशिष्को भाग लुट्छ, उसलाई म त्यतिकै कहिल्यै छोड्नेछुइनँ। बाहिरी संसारमा म यस्तै छु: मलाई समस्या दिने आँट कसैले गर्दैन। मलाई झिज्याउन आँट गर्ने व्यक्ति अझै जन्मेको छैन!’ काटछाँट सामना गर्दा ख्रीष्टविरोधीहरूले बोल्ने रूखा शब्दहरू यिनै हुन्। जब तिनीहरूले यी निर्दयी शब्दहरू बोल्छन्, तब यो अरूलाई डर देखाउन बोलिएको हुँदैन, न त तिनीहरूले आफूलाई रक्षा गर्नलाई नै यी आवेगहरू पोखाइरहेका हुन्छन्। तिनीहरू त साँच्चै नै दुष्ट काम गर्न सक्षम हुन्छन्, र तिनीहरूले आफूसँग भएको हरकुनै माध्यमसमेत प्रयोग गर्नेछन्। ख्रीष्टविरोधीहरूको क्रूर स्वभाव यही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। परमेश्वरको वचनको प्रकाशद्वारा मात्रै मैले एलिनाका मनसायहरूलाई स्पष्टरूपमा देखेँ। तिनी मण्डलीको कामको रक्षा गर्न चाहन्छु र कुनै ख्रीष्टविरोधीलाई त्यतिकै छोड्नु हुँदैन भनेर भनिरहन्थिन्, तर वास्तवमा तिनले त व्यक्तिगत बदला लिइरहेकी थिइन्। केवल निकोलले तिनको कामका गल्तीहरू औँल्याएको कारण तिनले ईख बोकेकी थिइन्। तिनले निकोलको बर्खासीलाई ठूलो बनाइन् र निकोललाई ख्रीष्टविरोधीको रूपमा वर्गीकरण गर्न उनको क्षणिक अपराधलाई प्रयोग गरिन्। हाम्रा अगुवाहरूले भ्रष्टता र दुष्कर्मबीचको भिन्नताबारे स्पष्ट सङ्गति दिएपछि पनि, तिनले यो कुरा छोडिनन्, र निकोलबारे पूर्वाग्रही जानकारी प्रस्तुत गर्न सकेजति सबै गरिरहिन्। तिनले बढाइचढाइ गरेर दोष लगाइन् र तिनको भन्दा फरक विचार राख्नेहरूलाई हटाउने प्रयासमा निकोललाई दोष लगाउने कार्यमा ब्रदर-सिस्टरहरूलाई मूर्ख बनाएर आबद्ध गरिन्। तिनले चाहेअनुसार अगुवाहरूले निकोललाई कारबाही नगरेको देख्दा, तिनी असन्तुष्ट बनिन् र अगुवाहरूले निकोलको रक्षा गरिरहेका छन् भनेर सहकर्मीहरूलाई भनिन्, जसले गर्दा तिनीहरूले बहकिएर उनको पक्ष लिए र अगुवाहरूविरुद्ध पूर्वाग्रह राखे। मैले निकोलको विषयमा फरक दृष्टिकोण राख्दा, तिनले मलाई बहिष्कार गरिन् र एकल्याइन्। अरू ब्रदर-सिस्टरहरूले तिनलाई तिनको कामबारे चेतावनी दिँदा, तिनले स्विकार्न मानिनन् र यो शैतानको बाधा हो भनेर भनिन्। यी तथ्यहरूबाट हामी के देख्न सक्छौँ भने, एलिना सत्यतालाई घृणा गर्थिन् र तिनमा अत्यन्तै दुष्ट स्वभाव थियो। यदि कसैले उनको वास्तविकता थाहा पायो वा उनको हैसियतलाई खतरामा पाऱ्यो भने, तिनी उसलाई आक्रमण गर्नुपर्ने शत्रु ठान्थिन्, बदला लिन बहिष्कार गर्थिन् र दण्ड दिन्थिन्। एलिना दुष्कर्मी थिइन्। त्यसपछि, मैले थाहा पाएका तथ्यहरूबारे अगुवाहरूलाई रिपोर्ट गरेँ। त्यसपछि तिनीहरूले एलिनालाई बर्खास्त गरे, एक्लै राखे, र उनको व्यवहार निगरानी गरे ताकि तिनले थप बाधा पैदा गरिन् भने तिनलाई निष्कासन गर्न सकियोस्। सङ्गतिद्वारा रेचलले पनि एलिनाको वास्तविकता थाहा पाइन्। आफूले एलिनाको पछि लागेर दुष्कर्म गरेको थाहा पाएपछि, उनलाई साह्रै पछुतो भयो र उनले आफूलाई घृणा गरिन्।
यो घटना धेरैपहिले घटेको भए पनि, मैले कसरी केही समयसम्म आफ्नो हितको लागि मण्डलीको काममा हानि पुगेको छ कि छैन भनेर वास्ता गरिनँ भन्ने सोच्दा मलाई लाज लाग्छ। तर मैले परमेश्वरको वचनको अन्तर्दृष्टि र मार्गदर्शन नपाएको भए, मण्डलीको कामको रक्षा गर्ने साहसमेत पाउनेथिइनँ। परमेश्वरको वचनले नै मलाई अभ्यासका सिद्धान्तहरू दिएको थियो। मैले जति धेरै सत्यता बुझे पनि, जहाँसम्म मण्डलीका हितहरूको कुरा छ, म ती हितहरूको रक्षा गर्न खडा हुनुपर्छ। यो अपरिवर्तनीय जिम्मेवारी हो।