२२. मेरो खुलासा गर्ने एउटा मूल्याङ्कन
सन् २०२१ मे महिनाको बिचतिर एउटी मण्डली अगुवा अचानक मसँग कुरा गर्न आइन्, र सिस्टर लीलाबारे मलाई धेरै कुरा थाहा छ कि, तिनी अरूप्रति निष्पक्ष छन्-छैनन्, र आलोचना गर्ने खालकी छन्-छैनन् भनेर सोधिन्। उनी निकै कठोर देखिएकीले मैले तत्कालै के भइरहेको हो र भनेर सोधेँ। उनले लीला वास्तवमा अहङ्कारी स्वभाव भएकी र ब्रदर सिस्टरहरूका अगाडि धेरै अगुवाहरूलाई झुटा अगुवा हुन् भन्दै आलोचनात्मक कुरा गरेकी बताइन्। उनले लीला चापलुस वक्ता भएकी, र भेलामा आफ्नो आत्मज्ञानका बारेमा कुरा गर्ने गरेकी तर खासमा आफूलाई बुझ्दै नबुझेकी पनि भनिन्। उनले अधिकांश ब्रदर सिस्टरहरूले लीलाको वास्तविक स्वरूप देख्न सकेनन् र उनको सङ्गति मन पराए भनिन्। मैले त्यतिखेरै अगुवा र सेवकको आलोचना गर्दै यस्तै कुरा गर्ने, मण्डलीबाट निकालिएका केही ख्रीष्ट विरोधीलाई सम्झेँ। यहाँ वा त्यहाँका एउटा अगुवालाई झुटा भन्नु एउटा कुरा हो, तर धेरै अगुवालाई झुटा भन्नु अहङ्कार हो। त्यतिबेला, मैले भनेँ, “तिनले यस्तो कुरा भन्न सक्नु गम्भीर मामिला हो। तिनले गरेका आलोचना ती ख्रीष्टविरोधीले गरेका आलोचना जस्तै छैनन् र?” मैले गएको वर्षको अगुवा चुनावमा लीलाले एक जना सिस्टरसँग एउटा उम्मेदवारबारे सुटुक्क कुरा गरेको पनि सम्झेँ, उनले उक्त उम्मेदवार आफ्नो इज्जत र हैसियतको धेरै ख्याल गर्ने, देखाउनका लागि मात्र गर्ने र कुनै वास्तविक काम नगर्ने भनेकी थिइन्। मैले आफैंलाई लिलाप्रति पूर्वाग्रही हुनबाट रोक्न सकिनँ र उनी साँच्चै आलोचना गर्ने खालकी छिन् भन्ने सोचेँ।
त्यसपछि, अगुवाले मलाई लीलाको मूल्याङ्कन लेख्न आग्रह गरिन्। मैले उनीसँग मेरो हालै भएको कुराकानी सम्झेँ, जतिबेला केही ब्रदर-सिस्टरहरूले कुनै कुरामा उनको व्यवहारको आलोचना गरेका थिए। सुरुमा उनी रक्षात्मक भए पनि पछि आत्मचिन्तन गरी आफूलाई चिनिन्, उनमा केही परिवर्तन र प्रवेश आयो, र सत्यता स्वीकार गर्न सकिन्। उनीसँगको कुराकानीमा उनले आत्मचिन्तन र आत्मज्ञानलाई महत्त्व दिएको मैले देखेँ, उनी प्रार्थना गर्थिन्, सत्यता सिद्धान्तको खोजी गर्थिन् र प्रवेशका लागि परमेश्वरका वचन खोज्थिन्। मलाई उनी सत्यता खोज्ने व्यक्ति लाग्थ्यो। तर, अगुवाले लीला अहङ्कारी स्वभावकी, चापलुस वक्ता, मानिसलाई बहकाउन सिपालु, अनि अहिले अगुवा र सेवकहरूको सतहीरूपमा आलोचना गरिरहेकी छिन् भनेको कुरालाई सोच्दा, मैले मूल्याङ्कनमा उनी सत्यता स्विकार्ने र पछ्याउने व्यक्ति हुन् भनेमा, अगुवाले मलाई खुट्याउने क्षमता नभएकी मूर्ख भन्लिन् कि? यदि मैले अगुवामा खराब छाप छोडेँ भने उनले भविष्यमा मलाई केही कर्तव्य निर्वाह गर्न नदिन सक्छिन्। त्यो कुरालाई ध्यानमा राखी, मैले मूल्याङ्कनमा लीलामा अहङ्कारी स्वभाव छ, कहिलेकाहीँ आफ्नै कल्पनाअनुसार मानिसको आलोचना गर्छिन् भनी लेखेँ। मैले उनलाई सत्यता स्विकार्न कठिन हुन्छ, मानिसले उनमा समस्या देखाउँदा आफ्नो सफाइ दिन खोज्छिन् भनेँ। उनले कहिलेकाहीँ दैनिक जीवनमा प्रकट गर्ने केही भ्रष्टता पनि मैले उल्लेख गरेँ। उनले सत्यता पछ्याउने केही तरिकाको बारेमा मैले लेखेको भए पनि उनी वास्तवमा सत्यताको खोजकर्ता हो नै भन्नेमा म विश्वस्त चैँ छैन भन्ने टिप्पणी थपेँ। मूल्याङ्कन लेखेपछि, मलाई अलिक बेचैनी भयो, लीला अगुवाले भनेजस्तै छिन् भन्ने मलाई कहिल्यै लागेन। उनमा अहङ्कारी स्वभाव भए पनि र कहिलेकाहीँ उनले रूखो र ग्रहण गर्नै मुस्किल हुनेगरी बोलेपनि, उनी मनको खराब थिइनन्। समस्या आउँदा उनले मण्डलीका हितको रक्षा गर्थिन्, र अरूले सत्यता सिद्धान्तको उल्लङ्घन गरेको देख्दा त्यसबारे बहादुरीसाथ बोल्थिन्। उदाहरणका लागि, एउटी सिस्टरले सधैँ कर्तव्यमा झारा टारेको र कामको प्रगतिमा असर पारेको देखेपछि, लीलाले आफूहरूबीचको सम्बन्धलाई एकातिर राख्दै अविलम्ब यसबारे औँल्याएर उनलाई सहयोग गर्न सकिन्, अनि अगुवालाई पनि यसबारे बताइन्। लीलाको समग्र व्यवहारलाई हेर्ने हो भने उनी मण्डलीको हितको रक्षा गर्न सक्ने र सही व्यक्ति हुन्, तर अगुवाले अर्कै कुरा भनिन्। मैले अगुवा पूर्वाग्रही भएको त होइन, र उनले सङ्ग्रह गरिरहेका मूल्याङ्कनहरू लीलालाई मण्डलीबाट बर्खास्त वा सफाइ गर्नका लागि त होइन भन्ने सोचेँ। यसबारे जति सोच्थेँ, त्यति बेचैन हुन्थेँ, त्यसैले, मैले लीलाको समस्याबारे उनीसँग सङ्गति गरे नगरेको, अनि ती समस्यालाई कसरी बुझेको भनी अगुवालाई सोधेँ। तर अगुवाले यो प्रश्नलाई छल्दै लीलामा पहिले पनि अगुवा र सेवकको आलोचना गर्ने प्रवृत्ति रहेको, र अहिले फेरि त्यस्तै गरिरहेकी छिन् भनिन्। उनले लीलाको आरोपका कारण एउटा अगुवाले राजीनामा दिन लागेको, त्यसैले उनी पहिल्यै बाधा बनेकी बताइन्। यो सुनेर, मैले अगुवाले मभन्दा राम्रोसँग समस्या बुझेको हुनुपर्छ, र ममा सुझबुझको कमी रहेको र म लीलाको बाहिरी व्यवहारबाट प्रभावित भएकी हुनुपर्छ भन्ने निष्कर्ष निकालेँ। त्यसैले मैले अरू केही भनिनँ।
दुईदिनपछि, एउटी माथिल्लो अगुवाले यो परिस्थितिको छानबिन गरिन्, र के भनिन् भने लीलाले मनमानी ढङ्गले अगुवा र सेवकहरूको आलोचना गरिरहेकी थिइनन्, बरु न्यायबोधका साथ झुटा अगुवाहरूको खुलासा र उजुरी गरिरहेकी थिइन्। ती अगुवाबारे लीलाले उजुरी गरेकी थिइन्, त्यसैले उनले लीला मनोमानी ढङ्गले अगुवा र सेवकहरूको आलोचना गर्दै छिन् भनेर उनलाई दबाउन र दण्डित गर्न खोजेकी हुन्—उनले एकतर्फी हिसाबले लीलाको कर्तव्य पनि रोकेकी थिइन्! लीलाले उजुरी गरेका सबै झुटा अगुवालाई बर्खास्त गरियो, र उनलाई उनको कर्तव्य फिर्ता दिइयो। यो सुनेपछि मेरो हृदय जोडसँग धड्किन थाल्यो—म स्तब्ध भएँ र बेचैनी पनि महसुस भयो। मैले पनि अगुवा सँगसँगै लागेर लीलामा अहङ्कारी स्वभाव रहेको, अगुवाहरूको मनोमानी आलोचना गर्ने र सत्यता राम्ररी नस्विकार्ने भनेकी थिएँ। के म पनि लीलाको निन्दा गरिरहेकी थिइनँ र? यो गम्भीर समस्या थियो! मलाई लाग्यो, यो सानो मामिला होइन र मैले आत्मचिन्तन गरी आफूलाई चिन्नुपर्छ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ र आफूलाई चिन्न उहाँको मार्गदर्शन मागेँ। पछि, मैले परमेश्वरका वचनमा यो कुरा पढेँ: “परमेश्वरमा विश्वास गर्न र जीवनको सही मार्गमा हिँड्नका लागि, तैँले कम्तीमा पनि मर्यादा र मानव रूपसाथ जिउनुपर्छ, तँ मानिसहरूको भरोसालायक र मानिसहरूले मूल्यवान् ठान्ने हुनुपर्छ, र मानिसहरूलाई तेरो चरित्र र निष्ठामा सारतत्व छ, र तैँले आफूले बोलेको हरेक कुरालाई व्यवहारमा लागु गर्छस् र आफ्नो हरेक वचनमा अटल रहन्छस् भन्ने अनुभूति हुनुपर्छ। … मर्यादा भएका सबै मानिसहरूमा अलिअलि व्यक्तित्व हुन्छ, तिनीहरू कहिलेकाहीँ अरूहरूसित राम्ररी घुलमिल हुन सक्दैनन्, तर तिनीहरू इमान्दार हुन्छन्, र तिनीहरूमा कुनै झूटोपन वा छलकपट हुँदैन। अरूहरूले अन्त्यमा तिनीहरूलाई उच्च सम्मान दिन्छन्, किनकि तिनीहरू सत्यता अभ्यास गर्न सक्छन्, तिनीहरू इमान्दार हुन्छन्, तिनीहरूमा मर्यादा, निष्ठा र चरित्र हुन्छ, तिनीहरूले कहिल्यै पनि अरूबाट फाइदा उठाउँदैनन्, तिनीहरूले समस्यामा परेका मानिसहरूलाई मद्दत गर्छन्, तिनीहरू मानिसहरूसित विवेक र समझसाथ व्यवहार गर्छन्, र तिनीहरूले कहिल्यै पनि अरूबारे हतारमा निर्णय लिँदैनन्। अरू मानिसहरूबारे मूल्याङ्कन् र छलफल गर्दा, तिनीहरूले बोल्ने हरेक कुरा सही हुन्छ, तिनीहरूले आफूलाई थाहा भएको कुरा मात्र बताउँछन् र आफूलाई थाहा नभएको कुराबारे मुख चलाउँदैनन्, तिनीहरूले मिठास थपेर कुरा गर्दैनन् र तिनीहरूका बोलीवचनहरूले प्रमाण वा सन्दर्भको काम गर्न सक्छन्। बोल्दा र काम गर्दा, निष्ठा भएका मानिसहरू तुलनात्मक रूपमा व्यावहारिक र भरोसालायक हुन्छन्। निष्ठा नभएकाहरूलाई कसैले पनि मूल्यवान् ठान्दैन, त्यस्ताले बोल्ने वा गर्ने कुरामा कसैले पनि ध्यान दिँदैन, तिनीहरूका बोली र कार्यहरूलाई कसैले महत्त्वपूर्ण मान्दैन, र कसैले पनि तिनीहरूलाई भरोसा गर्दैन। यस्तो किन हुन्छ भने, तिनीहरूले अत्यन्तै धेरै झूट र अत्यन्तै थोरै इमान्दार शब्दहरू बोल्छन्, र अरूहरूसित अन्तरक्रिया गर्दा वा अरूका लागि काम गर्दा तिनीहरूमा निष्कपटता हुँदैन, तिनीहरूले सबैलाई छल्ने र मूर्ख बनाउने प्रयास मात्र गर्छन्, र कसैले पनि तिनीहरूलाई मन पराउँदैन। के तिमीहरूले आफ्नो नजरमा भरोसायोग्य कोही भेट्टाएका छौ? के तिमीहरू आफूलाई अरू मानिसहरूको भरोसालायक ठान्छौ? के अरू मानिसहरूले तिमीहरूलाई भरोसा गर्न सक्छन्? यदि कसैले तँलाई कुनै अर्को व्यक्तिको अवस्थाबारे सोध्छ भने, तैँले तेरो आफ्नै इच्छाअनुसार त्यो व्यक्तिको लेखाजोखा र मूल्याङ्कन गर्नु हुँदैन, तेरा शब्दहरू वस्तुपरक, सही र तथ्यहरूअनुरूप हुनुपर्छ। तैँले आफूले बुझेका कुराहरूबारे बोल्नुपर्छ, र आफूले भित्री तथ्य नबुझेका कुराहरूबारे बोल्नु हुँदैन। तँ त्यो व्यक्तिप्रति न्यायसङ्गत र निष्पक्ष हुनुपर्छ। त्यो जिम्मेवार ढङ्गले व्यवहार गर्नु हो। यदि तैँले सतही तहको घटना मात्र अवलोकन गरेको छस् भने, र तैँले भन्न चाहेको कुरा त्यस व्यक्तिबारेको तेरो आफ्नै मूल्याङ्कन् मात्र हो भने, तैँले अन्धाधुन्ध रूपमा त्यो व्यक्तिबारे आफ्नो फैसला सुनाउने काम गर्नु हुँदैन, र तैँले त्यो व्यक्तिको आलोचना त गर्नै हुँदैन। तैँले जे भन्छस् त्योभन्दा पहिले ‘यो बस मेरो आफ्नै मूल्याङ्कन हो’ वा ‘मलाई चाहिँ यस्तो लाग्छ है’ भनेर भन्नुपर्छ। यसरी, तेरा शब्दहरू तुलनात्मक रूपमा अलि वस्तुगत हुनेछन्, अनि तैँले भनेको कुरा सुनेपछि, त्यो सुन्ने व्यक्तिले तेरा शब्दहरूमा रहेको इमान्दारिता र तेरो निष्पक्ष मनोवृत्ति अनुभूत गर्नेछ, र उसले तँलाई भरोसा गर्न सक्नेछ। के तिमीहरू यस्तो कुरा हासिल गर्न सक्नेमा पक्का छौ?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ)। परमेश्वरका वचनबाट मैले के बुझेँ भने, नैतिक, इमानदार मानिसले अरूको सही र निष्पक्ष मूल्याङ्कन गर्दछन्, र सोचविचार नगरी बोल्दैनन्। तिनीहरू आफूले जानेका कुरा मात्र भन्छन्, थपथाप गर्दैनन्। तिनीहरूमाथि भरोसा गर्न सकिन्छ। तर नैतिकहीन मानिसहरूको मूल्याङ्कनमा व्यक्तिगत स्वार्थ हुन्छ, आफूले कल्पना गरेका कुरा उकेल्छन्, आफ्ना लक्ष्य हासिल गर्न तथ्यहरूलाई तोडमोड गर्छन्, कामकुरा उल्टोपाल्टो पार्छन्। त्यस्ता खालका व्यक्ति अति धेरै झुट बोल्छन्, अति कम सत्यता बोल्छन् र तिनलाई विश्वास गर्न सकिन्न। तिनीहरूमा मर्यादा र निष्ठाको कमी हुन्छ। मैले लीलाबारे गरेको आफ्नो मूल्याङ्कनमा पुनर्विचार गरेँ। अगुवाले उनलाई अहङ्कारी, आत्मधर्मी र आलोचक भनेर दोष दिएको सुन्दा मैले यो तथ्यगत छ कि छैन भन्ने खुट्याउने प्रयास गरिनँ, र लीलाले उजुरी गरेका अगुवाहरू झुटा अगुवा हुन् कि होइनन् भनेर छानबिन गरिनँ। मैले आखाँ चिम्लेर अगुवा सँगसँगै उनलाई दोषी देखाउनतिर लागेँ। मैले लीलाबारे अगुवाको राय मेरो अनुभवसँग मेल नखाएको पाए पनि र मलाई असहज लागेको भए पनि उनले मलाई खुट्याउने क्षमता नभएकी मूर्ख भन्लिन् र मेरो खराब छाप बस्ला, अनि मलाई कुनै पनि महत्त्वपूर्ण जिम्मेवारी नदिइएला भनी डराएँ। त्यसैले मैले लीलाबारे नकारात्मक मूल्याङ्कन लेखेँ। म तथ्यविरुद्ध गई उनलाई दोषी ठहराइरहेकी र अत्याचार गरिरहेकी थिएँ, मैले दुर्भावनापूर्ण स्वभाव प्रकट गरिरहेकी थिएँ। हैसियत र शक्तिको नियन्त्रणमा नपरी झुटा अगुवाबारे उजुरी र खुलासा गर्नु लीलाको इमान्दारी थियो। म उनलाई सहयोग गर्न असफल भएकी मात्र होइन, उनलाई दोषी ठहराउन झुटो अगुवासँग मिलेँ, अनि उनलाई पीडाबाहेक केही दिइनँ। यो दुष्कर्म थियो र म शैतानको सहयोगीको काम गर्दै थिएँ। यो बुझेर, म पछुतो र आत्मग्लानिले भरिएँ। मैले लीलाप्रति ठुलो ऋणी भएको महसुस गरेँ र मैले उनको सामना गर्न सकिनँ। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “परमेश्वर, ममा मानवताको कमी छ। म झुटो अगुवाको पछि लागेँ, र लीलालाई अत्याचार गरेँ, दोषी ठहराएँ। मैले तपाईंसामु अपराध गरेको छु। परमेश्वर म गलत थिएँ, र प्रायश्चित्त गर्न चाहन्छु।”
मैले परमेश्वरका वचनको थप दुईवटा खण्ड पढेँ जसबाट म आफूलाई बुझ्न मद्दत मिल्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीहरू परमेश्वरप्रति अन्धा हुन्छन्, र तिनीहरूको हृदयमा उहाँको निम्ति कुनै ठाउँ हुँदैन। ख्रीष्टलाई भेट्दा, तिनीहरूले उहाँसँग साधारण व्यक्तिभन्दा फरक व्यवहार गर्दैनन्, उहाँको अभिव्यक्ति र स्वर-शैलीबाट निरन्तर सङ्केत लिन्छन्, परिस्थितिअनुसार आफ्नो शैली बदल्छन्, वास्तविक रूपमा भइरहेको कुरा कहिल्यै भन्दैनन्, इमानदार कुरा कहिल्यै बोल्दैनन्, खोक्रा शब्दहरू र धर्मसिद्धान्त मात्रै बोल्छन्, तिनीहरूको अगाडि उभिरहनुभएका व्यावहारिक परमेश्वरलाई धोका दिने र छल्ने प्रयास गर्छन्। तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय बिलकुलै हुँदैन। तिनीहरू हृदयबाट परमेश्वरसँग बोल्न र कुनै पनि वास्तविक कुरा भन्नसमेत सक्षम हुँदैनन्। तिनीहरू सर्पको घिस्राइजस्तै घुमाउरो र अप्रत्यक्ष तरिकाले कुरा गर्छन्। तिनीहरूका वचनहरूको शैली र दिशा थाङ्ग्रोमा बेरिएर माथितिर गएको लहरोजस्तै हुन्छ। उदाहरणको लागि, जब तैँले कुनै व्यक्ति राम्रो क्षमता भएको व्यक्ति हो र उसको पदोन्नति गरिनुपर्छ भनेर भन्छस्, तब तिनीहरू तुरुन्तै ऊ कति असल छ, र उसमा के कुराको प्रकटीकरण र प्रकाश भएको छ भन्नेबारे कुरा गर्न थाल्छन्; र यदि तैँले कुनै व्यक्ति खराब हो भनेर भनिस् भने, तिनीहरू तुरुन्तै त्यो मान्छे कति खराब र दुष्ट छ, र उसले मण्डलीमा कति बाधा र अवरोधहरू ल्याएको छ भन्नेबारे कुरा गर्न थाल्छन्। जब तैँले केही वास्तविक परिस्थितिहरूबारे सोधपुछ गर्छस्, तिनीहरूसँग भन्ने कुरा केही पनि हुँदैन; तिनीहरू घुमाउरो तरिकाले कुरा गरेर तेरो निर्णयको प्रतीक्षा गर्छन्, तेरा वचनहरूमा अर्थ छन् कि भनी राम्ररी सुन्छन्, तेरा अभिप्रायहरू पत्ता लगाउने प्रयास गर्छन्, ताकि तिनीहरूका शब्दहरू तेरो सोचसँग मिलून्। तिनीहरूले भन्ने हरेक कुरा मिठो सुनिने, चापलुसी, र खुसामदीका शब्दहरू मात्र हुन्; तिनीहरूको मुखबाट एउटै इमानदार वचन निस्कँदैन” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग दुई))। “ख्रीष्टविरोधीहरूको मानवता बेइमान हुन्छ, जसको अर्थ तिनीहरू अलिकति पनि सत्यवादी हुँदैनन्। तिनीहरूले भन्ने र गर्ने हरेक कुरा अशुद्ध हुन्छन्, ती तिनीहरूका आफ्नै अभिप्राय र लक्ष्यहरूद्वारा दूषित भएका हुन्छन्, त्यो सबैमा तिनीहरूका भन्न नमिल्ने तथा अकथनीय चाल र योजनाहरू लुकेका हुन्छन्। त्यसकारण ख्रीष्टविरोधीहरूका बोलीवचन तथा कार्यहरू अत्यन्तै धेरै दूषित र ढोँगले भरिएका हुन्छन्। तिनीहरूले जति धेरै बोले पनि तिनीहरूका शब्दहरूमध्ये कुन साँचो, कुन झूटो, कुन सही र कुन गलत हुन् भनी थाहा पाउन असम्भव हुन्छ। किनभने तिनीहरू बेइमान हुन्छन्, तिनीहरूका मन अत्यन्तै जटिल, षड्यन्त्रपूर्ण युक्तिहरूले भरिएका र चलाकीपनले गाँजिएका हुन्छन्। तिनीहरूले भन्ने कुनै कुरा पनि सीधा र स्पष्ट हुँदैन। तिनीहरूले एकलाई एक, दुईलाई दुई, होलाई हो अनि होइनलाई होइन भन्दैनन्। त्यसको साटो तिनीहरू सबै मामलाहरूमा घुमाउरो कुरा गर्छन् र परिणामहरूको बारेमा परिकल्पना गर्दै हरेक कोणबाट गुण र दोष तौलँदै मनमस्तिष्कमा कामको बारेमा थुप्रैपटक विचारविमर्श गर्छन्। त्यसपछि तिनीहरूले आफूले भन्न चाहेका कुराहरूलाई भाषामार्फत यसरी हेरफेर गर्छन् कि तिनीहरूले भन्ने हरेक कुरा भद्दा सुनिन्छ। इमान्दार मानिसहरूले तिनीहरूले भन्ने कुरा कहिल्यै बुझ्दैनन् अनि सजिलै तिनीहरूको धोका र छलमा पर्छन्, त्यस्ता मानिसहरूसित बोल्ने र कुराकानी गर्ने जोकोहीले पनि आफ्नो अनुभव पट्यारलाग्दो र कठिन पाउँछन्। तिनीहरूले कहिल्यै एकलाई एक, दुईलाई दुई भन्दैनन्, तिनीहरूले कहिल्यै तिनीहरूले के सोचिरहेका छन् भनेर भन्दैनन् अनि तिनीहरूले कहिल्यै कामकुरा जस्तो छ, त्यस्तै बयान गर्दैनन्। तिनीहरूले भन्ने हरेक कुरा बुझ्न नसकिने हुन्छ अनि तिनीहरूका कामहरूका लक्ष्य र अभिप्रायहरू धेरै नै जटिल हुन्छन्। यदि सत्यता बाहिरियो भने—यदि अरू मानिसहरूले तिनीहरूको वास्तविक रूप देखे र तिनीहरूलाई छर्लङ्ग देखे भने—कुरो मिलाउनलाई तिनीहरूले तुरुन्तै अर्को झुट सिर्जना गर्छन्। … यी मानिसहरूले जुन सिद्धान्त र विधिद्वारा आफूलाई आचरणमा ढाल्छन् र संसारसँग व्यवहार गर्छन् त्यो झुटहरूद्वारा मानिसहरूलाई छल्ने हो। तिनीहरू दुई-जिब्रे हुन्छन् अनि आफ्ना श्रोताहरूसित अनुकूल हुने गरी बोल्छन्; परिस्थितिले जस्तो भूमिका माग गर्दछ, तिनीहरूले त्यही भूमिका निर्वाह गर्दछन्। तिनीहरू चाप्लुसीपूर्ण र धूर्त हुन्छन्, तिनीहरूका मुख झुटहरूले भरिएका हुन्छन् र तिनीहरू भरोसा गर्न नसकिने किसिमका हुन्छन्। तिनीहरूसित थोरै समय सम्पर्कमा हुनेहरू भ्रममा पर्छन् वा व्याकुल हुँदै जान्छन् अनि तिनीहरूले कुनै रसद, सहायता वा प्रवर्द्धन प्राप्त गर्न सक्दैनन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक))। परमेश्वरका वचनले के प्रकाश गरे भने, ख्रीष्टविरोधीहरूको बोली र कार्यमा सधैँ छलकपट लुकेको हुन्छ, तिनीहरू घुमाउरो कुरा गर्छन्, अरूलाई धोका दिन्छन्, र तिनीहरूमा कुनै विश्वसनीयता हुँदैन। तिनीहरू ख्रीष्टको सम्पर्कमा हुँदा पनि उहाँका वचनमा सुराक खोज्छन्, हावा कता बहेको छ हेर्छन् र चापलुस बन्छन्। तिनीहरूमा कुनै कुरा असली हुँदैन। तिनीहरू निकै कपटी, छली र दुष्ट हुन्छन्। म कहिल्यै ख्रीष्टसँग प्रत्यक्ष सम्पर्कमा रहेकी थिइनँ, तर मैले सङ्केतलाई ध्यान दिएँ, माहौलअनुसार चलेँ र अरूले के चाहन्छन् अनुमान गरेँ। मैले ख्रीष्टविरोधीको स्वभाव देखाइरहेकी थिएँ। केही महिना पहिले, अगुवाले लीलाबारेको मेरो मूल्याङ्कन मागेकी थिइन्। त्यति बेला, उनीबारे अगुवामा नकारात्मक राय रहेको मैले सुनिनँ, मैले सोचेँ, उनी लीलालाई बढुवा गर्न चाहन्छिन्। त्यसैले मैले लीलाले समस्या आइपर्दा सत्यता खोज्न र स्विकार्न सक्छिन्, उनमा न्यायबोध छ र मण्डलीका हितको रक्षा गर्न सक्छिन् भनी बताएँ। मैले मूलतः उनको खुबीबारे मात्र लेखेँ, कमजोरीहरू खासै उल्लेख गरिनँ। तर यस पटक अगुवाले उनी सही व्यक्ति नभएको र अरूसँग पनि लीलाको मूल्याङ्कन मागिरहेको भनेको सुनेपछि लीलाबारे मेरो अनुभव उनको भन्दा फरक रहेको मलाई थाहा भयो। तर अगुवाले ममा खुट्याउने क्षमता रहेको भनुन् भनेर म उनीसँगै लागेँ र मैले लीलामा अहङ्कारी स्वभाव छ, आलोचना गर्छिन्, र परिस्थिति आइपर्दा सत्यता स्विकार्न गाह्रो मान्छिन् भनेँ। मैले गरेको दुवै मूल्याङ्कन एउटै व्यक्तिबारे थियो, तर भनिएका कुरा बिलकुलै फरक थिए। म अलिकति पनि निष्पक्ष वा वस्तुनिष्ठ भइरहेकी थिइनँ। मैले प्रभु येशूका वचन सम्झेँ: “तिमीहरूको बोलीवचन होलाई, हो; होइनलाई, होइन भन्ने होस्” (मत्ती ५:३७)। तर मैले लीलाबारे लेख्दै गर्दा म अगुवामा राम्रो छाप छोड्न चाहन्थेँ, त्यसैले उनले सुन्न चाहेको कुरा अनुमान गर्न खोजेँ। कुनै राय व्यक्त गर्नुअघि मैले दिमागमा धेरै कुराहरू खेलाउनु पर्थ्यो जसले गर्दा मेरा विचार जटिल बन्न पुग्थे। मैले भनेका र गरेका हरेक कुरा व्यक्तिगत मनसायले दूषित थिए, ती मध्ये एक शब्द पनि वास्तविक वा सत्य थिएनन्। म अत्यन्त धेरै छली र दुष्ट भइरहेकी थिएँ। म आफ्ना बोली र कार्यमा सिद्धान्तनिष्ठ थिइनँ र परमेश्वर वा अरू मानिसको भरोसाको लायक थिइनँ। मैले आफ्नो मर्यादा र निष्ठा पूर्ण रूपमा गुमाएकी थिएँ। मलाई आफैप्रति झन्-झन् घृणा लाग्न थाल्यो। पहिले, जब म झुट्टा अगुवा र ख्रीष्टविरोधीहरूले आफ्नो नाम र हैसियत जोगाउन अरूलाई सताउने र दोष लगाउने गरेको देख्थेँ तब म क्रोधित हुन्थेँ। म पनि यस्तै खालको दुष्ट काम गर्छु भनी मैले कहिल्यै कल्पना गरेकी थिइनँ। मैले आफ्ना लक्ष्य प्राप्त गर्न र हितलाई जोगाउन तथ्यहरूलाई तोडमरोड गरेँ। मैले मण्डलीका हितहरूको रक्षा गर्ने न्यायबोध भएकी एक व्यक्तिलाई गलत तरिकाले एउटा आलोचनात्मक व्यक्तिका रूपमा प्रस्तुत गरेँ। म एउटा असल व्यक्तिलाई दोषारोपण र अन्याय गरिरहेकी थिएँ। म लीलालाई दोष लगाउँदै र सताउँदै झुटो अगुवाको पक्षमा उभिएँ।
एक पटक भेलाको समयमा एउटी सिस्टरले अगुवाले लीलाबारे मूल्याङ्कनहरू सङ्कलन गर्न चाहेको सुनेकी तर लीला अगुवाले चित्रित गरेजस्तो आफूलाई बिलकुलै नलागेको बताइन्। यी सिस्टरले आँखै चिम्लेर अगुवाको कुरा सुनिनन्, बरु, अगुवाले भनेका र गरेका कुरा खुट्याइन्। उनले माथिल्ला अगुवाहरूलाई पनि यसबारे बताइन् र लीलाप्रतिको त्यो व्यवहारलाई विराम लगाइन्। मैलेजस्तै परिस्थितिको सामना गर्दा यी सिस्टरले सत्यता खोज्न सकिन्, उनमा परमेश्वरको डर मान्ने हृदय थियो, र उनको बोली इमानदार र निष्पक्ष थियो। उनले लीलालाई जोगाइन् र मण्डलीको हितको रक्षा गरिन्। तर मैले झुटो अगुवाको झुट र चालबाजी स्वीकार गरेँ, शैतानको अनुचरजस्तै व्यवहार गरेर उनको बेलगाम दुष्ट्याइँलाई प्रोत्साहित गरेँ। यसका लागि मैले आफूलाई निकै घृणा गरेँ। मैले अगुवाले लीलाबारे ती कुरा भन्दा किन यति सजिलै स्विकारेँ भन्नेबारे चिन्तन गरेँ। मैले आलोचनात्मक हुनु भनेको के हो भन्ने सत्यता पूर्ण रूपमा नबुझेकाले यस्तो भएको थियो। वास्तवमा, कोही आलोचनात्मक छ कि छैन भनेर जान्ने मुख्य कुरा भनेको उनीहरूको बोली भित्रको मनसाय, र तिनीहरूले बताएका समस्या तथ्यगत छन् छैनन् भनी हेर्नु हो। यदि कसैले सिद्धान्तविरुद्ध जाने र वास्तविक काम नगर्ने झुटा अगुवाहरू पत्ता लगाउँछ, अनि सत्यता बुझ्ने ब्रदर-सिस्टरहरूसँग मिलेर सङ्गति गर्ने र खुट्याउने काम गर्छ, र त्यो व्यक्तिको मनसाय मण्डलीका हितको रक्षा गर्नु हो भने ऊ आलोचनात्मक भइरहेको होइन, बरु उसमा न्यायबोध भएको हो। वास्तवमै आलोचनात्मक हुने व्यक्तिहरूको आफ्नै मनसाय हुन्छ; उनीहरू तथ्यलाई तोडमरोड गर्छन् र कुराहरूलाई उल्ट्याउँछन्, मानिसहरूलाई बदनाम र आक्रमण गर्छन्; अरूमाथि हाबी हुने कुरा फेला पार्छन्, वा मानिसहरूले देखाउने भ्रष्टतालाई ठुलो मुद्दा बनाउँछन् र उनीहरूमाथि अन्धाधुन्ध लेबल लगाउँछन् उनीहरू अरूलाई सताउने र दोषी ठहराउने मात्र गर्छन्। आलोचनात्मक हुनु भनेकै यही हो। ममा आलोचनात्मक हुनुको शुद्ध बुझाइ थिएन, त्यसैले मैले के गलत विश्वास गरेँ भने हामीले कुनै अगुवा वा सेवकको समस्या पत्ता लगायौँ भने हामीले तिनीहरूलाई सोझै भन्नुपर्छ वा यसबारे माथिल्लो अगुवामा उजुरी गर्नुपर्छ, र हामीले तिनीहरूको समस्याबारे तिनीहरूको पछाडि अरू ब्रदर सिस्टरसँग छलफल गर्यौँ भने त्यो आलोचनात्मक हुनु हो। मैले परिवेश वा परिस्थितिको सारलाई हेरिरहेकी थिइनँ। जब मैले लीलाले केही सिस्टरसँग सुटुक्क कुरा गरेको र केही अगुवाले वास्तविक काम गरिरहेका छैनन् र तिनीहरू झुटा अगुवा हुन् भनेको भन्ने सुनेँ, तब मैले तिनी आलोचनात्मक हुँदै छिन् भन्ने ठानेर उनलाई मनपरी ढङ्गले दोष लगाएँ। उनले भनेका कुराले वास्तविकता दर्साउँछ कि दर्साउँदैन भन्नेबारे विचार गरिनँ। तर अहिले तथ्यहरूले तिनले उजुरी गरेका कुरा साँचो रहेको देखाए। उनले सत्य बोल्ने हिम्मत गरिन् र मण्डलीका हितको रक्षा गरिन्। उनमा न्यायबोध थियो, अनि उनी आलोचनात्मक थिइनन्।
मेरो यस असफलताबाट मैले केही पाठ सिकेँ। भविष्यका मूल्याङ्कनमा, ममा परमेश्वरको डर मान्ने हृदय हुनुपर्छ, र अरूमाथि अन्धाधुन्ध भरोसा गर्नु हुँदैन। मैले तथ्य र परमेश्वरका वचनका आधारमा कामकुराको सार खुट्याउनुपर्छ। यदि म सत्यता बुझ्दिनँ र कामकुरा स्पष्ट देख्न सक्दिनँ भने म कम्तीमा खुलस्त हुनुपर्छ, कसैको पक्षमा लागेर कुराहरूलाई बङ्ग्याउनु हुँदैन। परमेश्वरका वचनहरूले भन्छन्: “मैले ‘परमेश्वरको मार्ग पछ्याउनु’ भनेर भन्दा, ‘परमेश्वरको मार्ग’ ले केलाई जनाउँछ? त्यसको अर्थ परमेश्वरको डर मान्नु र दुष्टताबाट अलग बस्नु हो। अनि, परमेश्वरको डर मान्नु र दुष्टताबाट टाढा बस्नु भनेको के हो? उदाहरणको लागि, जब तैँले कसैको बारेमा मूल्याङ्कन गर्छस्—यो परमेश्वरको डर मान्नु र दुष्टताबाट टाढा बस्नुसँग सम्बन्धित हुन्छ। तैँले तिनीहरूलाई कसरी मूल्याङ्कन गर्छस्? (हामी इमानदार, न्यायसङ्गत, र निष्पक्ष हुनुपर्छ, र हाम्रा शब्दहरू हाम्रा भावनाहरूमा आधारित हुनु हुँदैन।) जब तैँले आफूले जे सोच्यो, र आफूले जे देख्यो, त्यही बोल्छस्, तब तँ इमानदार भइरहेको हुन्छस्। सर्वप्रथम, इमानदार व्यक्ति हुने अभ्यास गर्नु परमेश्वरको मार्गलाई पछ्याउनुसित मिल्छ। परमेश्वरले मानिसहरूलाई यही कुरा सिकाउनुहुन्छ; यही नै परमेश्वरको मार्ग हो। परमेश्वरको मार्ग भनेको के हो? परमेश्वरको डर मान्नु र दुष्टताबाट टाढा बस्नु। के इमानदार बन्नु भनेको परमेश्वरको डर मान्नु र दुष्टताबाट अलग बस्नुकै एक हिस्सा होइन र? के यो परमेश्वरको मार्ग पछ्याउनु होइन र? (हो। परमेश्वरको मार्ग पछ्याउनु हो।) यदि तँ इमानदार छैनस् भने, तैँले देखेको र सोचेको कुरा र तेरो मुखबाट निस्कने कुरा उस्तै हुँदैनन्। कसैले तँलाई सोध्छ, ‘त्यो व्यक्तिबारे तपाईंको राय के छ? के ऊ मण्डलीको काममा जिम्मेवार छ?’ र तैँले यस्तो जवाफ दिन्छस्, ‘ऊ राम्रो छ। ऊ मभन्दा बढी जिम्मेवार छ, उसको क्षमता मेरोभन्दा राम्रो छ, र उसको मानवता पनि राम्रो छ। ऊ परिपक्व र स्थिर छ।’ तर के तैँले आफ्नो हृदयमा यही सोचिरहेको हुन्छस् त? तैँले वास्तवमा के देख्छस् भने, यो व्यक्तिमा क्षमता भए पनि, ऊ भरोसा गर्न लायक छैन, बरु छली, र अत्यन्तै षड्यन्त्रकारी छ। तैँले मनमा वास्तवमा यस्तै सोचिरहेको हुन्छस्, तर बोल्ने समयमा, तँलाई लाग्छ, ‘मैले सत्य कुरा भन्नु हुँदैन। मैले कसैलाई पनि चिढ्याउनु हुँदैन,’ त्यसकारण तैँले झट्टै अरू नै कुरा भन्छस्, र उसका बारेमा राम्रा कुराहरू भन्ने निर्णय गर्छस्, तर तैँले भनेको कुनै पनि कुरा तैँले वास्तवमा सोचेको कुरा हुँदैन; यो सबै झूट र नक्कली कुरा मात्रै हुन्छ। के यसले तैँले परमेश्वरको मार्ग पछ्याउँछस् भन्ने सङ्केत दिन्छ? दिँदैन। तँ शैतानको मार्ग, भूतहरूको मार्गमा हिँडेको हुन्छस्। परमेश्वरको मार्ग भनेको के हो? यो सत्यता हो, यो मानिसहरूको बानीबेहोराको आधार हो, र यो परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्ग हो। तँ कुनै अर्को व्यक्तिसँग बोल्दै छस् भने पनि, परमेश्वरले सुनिरहनुभएको हुन्छ; उहाँले तेरो हृदय नियालिरहनुभएको र त्यसलाई जाँचिरहनुभएको हुन्छ। मानिसहरूले तैँले भन्ने कुरा सुन्छन्, तर परमेश्वरले तेरो हृदय जाँच्नुहुन्छ। के मानिसहरू मानवको हृदय जाँच्न सक्ने हुन्छन्? बढीमा, मानिसहरूले तैँले सत्यता बताइरहेको छैनस् भन्नेसम्म देख्न सक्छन्; तिनीहरूले सतहमा के छ त्यो देख्न सक्छन्, तर परमेश्वरले मात्रै तेरो हृदयको गहिराइलाई देख्न सक्नुहुन्छ। परमेश्वरले मात्रै तैँले के सोचिरहेको छस्, तैँले के योजना बनाइरहेको छस्, र तेरो हृदयमा के-कस्ता तुच्छ षड्यन्त्र, विश्वासघाती तरिका र सक्रिय सोचहरू छन् भनी देख्न सक्नुहुन्छ। जब तैँले सत्यता बताइरहेको छैनस् भन्ने कुरा परमेश्वरले देख्नुहुन्छ, तँप्रतिको उहाँको राय र मूल्याङ्कन के हुन्छ? यस मामिलामा तैँले परमेश्वरको मार्ग पछ्याएको छैनस्, किनभने तैँले सत्यता बोलिनस् भन्ने हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनबाट मैले के बुझेँ भने घटित हुने हरेक कुरा हामी परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्छौँ सक्दैनौँ भन्ने कुरामा निर्भर रहन्छ। परमेश्वरले हाम्रो मन र हृदय हेर्नुहुन्छ। परमेश्वरले हामीले सोच्ने र गर्ने सबै कुरा पूर्ण रूपमा देख्नुहुन्छ। जब हामी अरूलाई मूल्याङ्कन गर्छौँ, हामीमा परमेश्वरको डर मान्ने हृदय हुनुपर्छ। हामी व्यक्तिगत मनसाय वा स्वार्थले नियन्त्रित हुनु हुँदैन, बरु तथ्यगत हुँदै आफूले जानेका कुरा मात्र भन्नुपर्छ, र परमेश्वरको मागहरूअनुसार इमानदार हुनुपर्छ। हामीमा कसैको व्यवहार वा कुनै परिस्थितिमा लागू हुने सत्यता सिद्धान्तबारे स्पष्ट बुझाइ छैन भने, हामीले धेरै खोजी र प्रार्थना गर्नुपर्छ, ताकि हामीले मनोमानी कसैलाई आलोचना गर्ने वा लेबल लगाउने नगरौँ। मैले मण्डलीको सफाइको कामबारे पनि सोचेँ। व्यक्तिगत उद्देश्य राख्नाले, र मानिसलाई वस्तुनिष्ठ एवम् तथ्यगत रूपमा मूल्याङ्कन गर्न असफल हुनाले अरूलाई बहकाउन सक्छ। गम्भीर मामिलाहरूमा, कोही निकालिन वा निष्कासित हुन गई तिनीहरूप्रति अन्याय हुन सक्छ। भावनाका आधारमा बोल्नु र कार्य गर्नु, अविश्वासी वा दुष्ट व्यक्तिलाई रक्षा गर्नु भनेको हटाइनु वा निष्कासित गर्नुपर्ने व्यक्तिलाई मण्डलीमा नै राखिनु हो जहाँ तिनीहरूले थप व्यवधान पैदा गर्न सक्छन्। कर्तव्य परिवर्तनमा पनि यस्तै हो। यदि मूल्याङ्कन गलत छ भने, यसले असल मानिसलाई बढुवा र वृद्धि हुनबाट रोक्न सक्छ, जबकि खराब मानिस आफ्नो पदमा रहिरहन्छन्। यसले ब्रदर सिस्टरहरूको जीवन प्रवेशलाई अवरोध गर्ने मात्र होइन, यसले मण्डलीको काममा बाधा व्यवधान पनि ल्याउँछ। यसबाहेक, मैले के बुझेँ भने मूल्याङ्कन समग्र व्यवहारमा आधारित हुनुपर्छ, ती निष्पक्ष र वस्तुनिष्ठ हुनुपर्छ। हामीले मानिसको कमजोरी वा क्षणिक भ्रष्टतामा मात्र केन्द्रित रहेर बढाइचढाइ गर्ने वा तिनीहरूलाई लेबल लगाउने गर्नु हुँदैन। यो बुझेर मैले आफैलाई के सम्झाउन थालेँ भने भविष्यमा अरू मानिसको मूल्याङ्कन गर्दा ममा परमेश्वरको डर मान्ने हृदय हुनुपर्छ र यसो गर्दा तथ्यगत, निष्पक्ष र वस्तुनिष्ठ ढङ्गले गर्नुपर्छ। पछि, मैले कर्तव्यका कारण लीलाको अर्को मूल्याङ्कन लेख्नुपर्यो। मलाई थाहा थियो, यो मैले सत्यता अभ्यास गर्न, सिद्धान्तमा प्रवेश गर्न र मेरो सिस्टरको निष्पक्ष र वस्तुनिष्ठ तरिकाले मूल्याङ्कन गर्न सक्छु कि सक्दिनँ भनी हेर्ने परीक्षा हो। त्यसैले, मैले परमेश्वरसामु आफ्नो हृदयलाई शान्त पारी प्रार्थना गरेँ, परमेश्वरलाई मेरो हृदयमा हेर्न अनुरोध गरेँ। म इमानदार हुन चाहन्थेँ। मैले कुटोलाई कुटो भन्नु थियो, र आफ्नै मनसायले बोल्नु हुँदैन थियो। मैले आफूले जानेको मात्र लेख्नु थियो र कुनै कुरा थाहा छैन भने थाहा छैन नै भन्नु थियो। जब मैले यसलाई अभ्यासमा ल्याएँ, मलाई निकै आनन्द महसुस भयो।
लीलाको त्यो मूल्याङ्कनले मलाई आफ्नै धूर्त र छली भ्रष्ट स्वभाव देख्न, र यदि मैले आफ्नै मनसायले बोलेँ र कार्य गरेँ भने अनजानमै दुष्टता गर्नेछु र मानिसलाई हानि पुर्याउनेछु भन्ने थाहा पाउन मद्दत गर्यो। मैले परमेश्वरका वचन र सत्यताअनुसार जिउनु, परमेश्वरले सिकाएअनुसार साँचो रूपमा बोल्नु र कार्य गर्नु साँचो मानव रूप जिउने र परमेश्वरको अनुमोदन प्राप्त गर्ने एक मात्र तरिका हो भन्ने पनि देखेँ।