१७. हीनताभावका पछाडि के लुकेको हुन्छ?

मैले पहिलो चोटि अगुवाका रूपमा काम गर्न थाल्दा मलाई सिस्टर चेन जियाओको सहकर्मी बनाइयो। मैले चेन जियाओलाई क्षमतावान, हक्की र कामप्रति दृढ पाएँ, तर म भने कम बोल्ने, अरूले भनेको मान्ने व्यक्तित्व भएकी र आफ्नो कामका लागि चाहिने सीपबारे अत्यन्तै आंशिक बुझाइ भएकी थिएँ। म आफूलाई हीन र अगुवा बन्न अयोग्य ठान्थेँ। चेन जियाओले कुशलतापूर्वक सङ्गति गरेको र सबै मामिला सम्हालेको, म आफू भने छेउमा वाल्ल परी बस्नुपरेको देख्दा आफूसँग चाहिने कुरा छैन भन्ने अझ यकिन हुन्थ्यो, र मलाई झन् दिक्दार लाग्थ्यो। कैयौँ महिनासम्म म त्यही स्थितिमा रहेँ। पछि, मैले मण्डली अगुवा भई सेवा जारी राखेँ, तर मलाई ली जू नामकी नयाँ सहकर्मी दिइयो। मैले ली जू सुन्दर, परिष्कृत, सक्षम र अनुभवी रहेकी देखेँ, उनले सफल र व्यावसायिक महिला हाकिमको छाप पारेकी थिइन्, जबकि म आत्मविश्वासबिना बोल्थेँ, ममा सङ्कल्प थिएन, प्राय चिन्तित रहन्थेँ, नचिनेका मानिस वा धेरै मानिस जमघट भएका ठाउँमा पछि हट्थेँ, र ममा अगुवाको अलिकति पनि छनक थिएन, अनि म दिक्दार नभई रहन सकिनँ। हरेक पटक जब ली जू भेलाबाट फर्केपछि आफूले कसरी ब्रदर-सिस्टरको वर्तमान स्थितिबारे सोधखोज गरिन्, र कसरी तिनीहरूको समस्या हल गर्न परमेश्वरका वचनहरूको प्रयोग गरी सङ्गति गरिन्, अनि आफूलाई ब्रदर-सिस्टरहरूले कत्ति सम्मान गर्छन् भनी खुलेर बताउँथिन्। यी कुरा भन्दै गर्दा उनी सधैँ प्रसन्नताले धपक्क बल्थिन्। ली जू अलिक आफ्नै प्रशंसा गर्ने खालकी देखिएपनि उनले बेला बेलामा प्रकट गर्ने भ्रष्टता उनको असल क्षमता, कार्यदक्षता र समस्या हल गर्नसक्ने खुबीको अगाडि ठूलो समस्या होइन भन्ने मलाई लाग्थ्यो। म आफू उनको बराबरी छैन, उनमा भएको दृढता ममा छैन भन्ने सोच्थेँ। त्यहाँपछि, मैले समस्याको सामना गर्दा आफू असक्षम छु भन्ने सोच्दै पछि हट्थेँ, सङ्गति गर्ने हिम्मत गर्दिनथेँ। बिस्तारै, मेरो स्थिति झन्-झन् खराब हुँदै गयो, र आफूमा कमजोर क्षमता रहेको, सत्यता वास्तविकता नरहेको र अगुवा बन्ने योग्यता नभएको जस्तो झनै लाग्थ्यो। म त्यो दिक्दार मनोस्थितिमा डुबिरहेँ, र कर्तव्यमा झाराटारुवा हुन थालेँ। निरन्तर सत्यता खोज्न असफल भएकी र आफूलाई नकारात्मक दलदलबाट बाहिर निकाल्न नसकेकीले म केही समयपछि नै बर्खास्त भएँ। एक वर्षपछि, ब्रदर-सिस्टरले मलाई फेरि अगुवा चुने। सिस्टर वु फान मेरी सहकर्मी भइन् र मैले चाँडै उनको क्षमता र कार्यदक्षता राम्रो रहेको देखेँ, र हामी सँगै काम गर्दा प्रायः हरेक समय मार्गनिर्देशको भूमिका उनले सम्हाल्थिन्। एक पटक हामीले एउटा भेला सहआयोजना गरिरहेको बेला, धेरैजसो सङ्गति वु फानले गरिन् र ब्रदर-सिस्टरहरूले पनि उत्साहपूर्वक आआफ्नो सङ्गति थपे। जहाँसम्म मेरो कुरा छ, म सङ्गति गर्न त चाहन्थेँ, तर प्रभावकारी ढङ्गले सङ्गति गर्न सक्दिनँ होला भनी डराएँ, र लाजमर्दो नहोस् भनेर केही पनि नबोली बसेँ। भेलापछि म निकै दिक्दार भएँ, र म अगुवा बन्न लायक छैन भन्ने लाग्यो। म श्रमिकको रूपमा सामान्य मामिलासँग सम्बन्धित कुनै कर्तव्य मात्र गर्न चाहन्थेँ, अब अगुवा बन्न चाहन्नथेँ।

एक दिन, मैले केही ब्रदर-सिस्टरलाई आफ्नो स्थितिबारे बताएँ, एउटा सिस्टरले स्मरण गराइन् कि मैले आफ्नो स्थिति तुरुन्त समाधान गरिनँ भने निकै खतरनाक हुन सक्छ र मैले साँच्चिकै केही समय चिन्तनमा बिताउनु आवश्यक छ। तब मात्र मैले केही आत्मसचेतना प्राप्त गरेँ: “म किन यति दिक्दार भएकी? ममा सुधारमा लागिपर्ने दृढ सङ्कल्प किन अलिकति पनि छैन?” त्यसपछिका दिनहरूमा, मैले परमेश्वरलाई प्रार्थना गरिरहेँ, मेरो स्थिति बुझ्न र दिक्दारीबाट बाहिर आउन मार्गदर्शन गर्नुहोस् भनी बिन्ती गरेँ। पछि, मैले परमेश्वरका वचनको यो खण्ड भेटेँ: “बच्‍चामा कतिपय मानिसहरू सामान्य देखिने, स्पष्ट बोल्‍न नसक्‍ने, र चतुर व्यवहार गर्न नजान्‍ने हुन्छन्, जसले गर्दा परिवार र समाजले तिनीहरूको नकारात्मक मूल्याङ्कन गर्छन्, र यस्तो भन्छन्: ‘यो बच्‍चा मन्दबुद्धिको, सुस्त, र बोल्न नजान्‍ने छ। अरूका छोराछोरीलाई हेर त, तिनीहरूले अरूलाई औँलामा नचाउँछन्। यो बच्‍चाचाहिँ दिनभरि ओठ लेब्र्याउँदै बस्छ। मान्छेलाई भेट्दा के भन्‍ने, कुनै गल्ती गरेपछि कसरी स्पष्टीकरण दिने वा आफ्‍नो बचाउ गर्ने, यसलाई थाहै छैन, र यसले मान्छेहरूलाई खुसी पार्न सक्दैन। यो बच्‍चा मूर्ख छ।’ आमाबुबाले यसै भन्छन्, आफन्त र साथीहरूले यसै भन्छन्, र तिनीहरूका शिक्षकहरूले पनि यसै भन्छन्। त्यस्ता व्यक्तिहरूमा यस्तो वातावरणले केही निश्‍चित र अदृश्य दबाब दिन्छ। यी वातावरणहरू अनुभव गरेर, तिनीहरूले अचेतन रूपमै निश्‍चित मानसिकता विकास गर्छन्। कस्तो मानसिकता? तिनीहरूले आफू राम्रो छैनँ, आफूलाई अरूले मन पराउँदैनन्, र आफूलाई देख्दा अरू खुसी हुँदैनन् भन्‍ने सोच्छन्। तिनीहरूले आफू पढ्नमा सिपालु छैनँ, र सुस्त छु भन्‍ने सोच्छन्, र अरूको छेउमा मुख खोलेर बोल्‍न सधैँ धकाउँछन्। मानिसहरूले तिनीहरूलाई केही कुरा दिँदा लाजले धन्यवाद पनि भन्दैनन्, र मनमनै सोच्छन्, ‘किन मेरो मुख सधैँ बन्द हुन्छ? अरू मानिसहरू किन यति मीठो बोल्‍न सक्छन्? म त मूर्खै हुँ!’ अवचेतन रूपमा, तिनीहरूले आफूलाई बेकामे ठान्छन्, तर आफू त्यति बेकामे, र त्यति मूर्ख भएको स्वीकार गर्न इच्छुक हुँदैनन्। तिनीहरूले हृदयमा सधैँ आफैलाई सोध्छन्, ‘के म साँच्‍चै त्यति मूर्ख छु? के म साँच्‍चै त्यति अप्रिय छु?’ तिनीहरूका आमाबुबाले तिनीहरूलाई त्यति मन पराउँदैनन्, अनि तिनीहरूका दाजुभाइ-दिदीबहिनीले, शिक्षकहरूले, र कक्षाका साथीहरूले पनि तिनीहरूलाई मन पराउँदैनन्। अनि कहिलेकहीँ तिनीहरूको परिवारका सदस्यहरू, आफन्तहरू र साथीहरूले तिनीहरूबारे यसो भन्छन्, ‘त्यो होचो छ, आँखा-नाक पनि सानो छ, र त्यस्तो रूपले त, ठूलो भएपछि त्यो सफल हुँदैन।’ त्यसकारण, जब तिनीहरूले ऐना हेर्छन्, आफ्‍नो आँखा साँच्‍चै सानो देख्छन्। यस्तो अवस्थामा, तिनीहरूको हृदयको गहिराइमा लुकेर रहेको प्रतिरोध, असन्तुष्टि, अनिच्छा, र अस्वीकार क्रमिक रूपमा आफ्‍नो कमीकमजोरी, त्रुटि, र समस्याहरूको स्वीकार र अङ्गीकारमा परिणत हुन्छ। तर तिनीहरूले यो वास्तविकता स्विकार्न सके पनि, तिनीहरूको हृदयमा एउटा अटुट संवेग पैदा भइरहन्छ। यो संवेग के हो? यो संवेग हीनताबोध हो। आफूलाई अरूभन्दा कमजोर ठान्‍ने मानिसहरूलाई आफ्‍नो सबल पक्ष के हो भन्‍ने नै थाहा हुँदैन। तिनीहरूले सधैँ आफूलाई कसैले मन पराउँदैन भन्‍ने सोच्छन्, आफू मूर्ख भएको महसुस गर्छन्, र परिस्थितिहरू सामना कसरी गर्ने, तिनीहरूलाई थाहै हुँदैन। छोटकरीमा भन्दा, तिनीहरूले म केही गर्न सक्दिनँ, म कुरूप छु, म चलाख छैनँ, र म प्रतिक्रिया दिन सुस्त छु भन्‍ने महसुस गर्छन्। अरूको तुलनामा तिनीहरू अनुल्‍लेखनीय हुन्छन् र पढाइमा राम्रो अङ्क ल्याउँदैनन्। त्यस्तो वातावरणमा हुर्केपछि, हीनताबोधको यो मानसिकताले क्रमिक रूपमा स्थान लिन्छ। यो तेरो हृदयमा गाँजिएको र दिमागमा खाँदिएको एक अटुट संवेगमा परिणत हुन्छ। तँ पहिले नै वयस्क भएर, संसारमा सङ्घर्ष गर्न थालेको, विवाह गरिसकेको र करियरमा अघि बढिसकेको भए पनि नभए पनि, र तेरो सामाजिक हैसियत जे-जस्तो भए पनि, तँ तेरो वातावरणमा हुर्कँदै गर्दा तँभित्र रोपिएको हीनताबोधको यो भावना हटाउनु असम्‍भव हुन्छ। तैँले परमेश्‍वरमा विश्‍वास गरेर मण्डलीमा आबद्ध भएपछि पनि, तैँले अझै पनि आफ्नो रूप त्यति राम्रो छैन, बौद्धिक क्षमता कमजोर छ, स्पष्ट रूपमा बोल्‍न आउँदैन, र केही पनि गर्न सक्दिनँ भन्‍ने लाग्छ। तैँले यस्तो सोच्छस्, ‘म जे सक्छु त्यही गर्छु। मैले अगुवा बन्‍ने आकाङ्क्षा बोक्‍नु हुँदैन, गहन सत्यताहरू खोजिरहनुपर्दैन, म सबैभन्दा सानो बनेर नै सन्तुष्ट हुनेछु, र अरूलाई जसरी मन लाग्छ त्यसरी नै मप्रति व्यवहार गर्न दिनेछु।’ ख्रीष्टविरोधी र झूटा अगुवाहरू देखा पर्दा, तैँले तिनीहरूलाई चिन्‍न वा खुलासा गर्न सक्दैनस्, र त्यसो गर्न आफू योग्य छैनँ भन्‍ने सोच्छस्। तँलाई लाग्छ कि तँ झूटो अगुवा वा ख्रीष्टविरोधी होइनस् भने त्यो काफी छ, तैँले बाधा र अवरोध ल्याइनस् भने पुगिहाल्छ, र तँ आफ्‍नै स्थानमा बस्‍न सकिस् भने त्यो पर्याप्त हुन्छ। हृदयको गहिराइमा, तँलाई यो पनि लाग्छ कि तँ पर्याप्त रूपमा कामलाग्दो र अरूजत्तिको असल छैनस्, सायद अरू मुक्तिका पात्रहरू हुन सक्लान्, तर तँ बढीमा सेवाकर्ता मात्रै होस्, त्यसकारण तँ सत्यता पछ्याउन योग्य नै छैनस्। तैँले जतिसुकै सत्यता बुझ्न सक्‍ने भए पनि, तँलाई अझै लाग्छ कि परमेश्‍वरले तँलाई त्यस्तो क्षमता र त्यस्तो रूप दिन पूर्वनिर्धारित गर्नुभएको हुनाले, सायद उहाँले तँलाई सेवाकर्ता हुन मात्रै पूर्वनिर्धारित गर्नुभएको हो, र सत्यता खोजी गर्ने, अगुवा बन्‍ने, र जिम्‍मेवारीमा रहने वा मुक्ति पाउने व्यक्ति बन्‍ने कार्यसँग तेरो कुनै सम्‍बन्ध छैन; यसको साटो, तँ सबैभन्दा महत्त्वहीन मानिस बन्‍न तयार हुन्छस्(वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (१))। परमेश्वरका वचन मनन गरेपछि आफू हीनताभावले बाँधिएकी रहेछु भन्ने थाहा भयो। सानो छँदादेखि नै म आफूलाई सधैँ औसत रूपकी, राम्ररी बोल्न नसक्ने, आज्ञापालक व्यक्तित्व भएकी ठान्थेँ, अनि प्रायः दिक्दार र दमित महसुस गर्थें, र म नराम्रोसँग हीनताभावले ग्रस्त थिएँ। सांसारिक कार्यजीवनको समयमा पनि यही समस्या थियो—मेरा सहकर्मी राम्रोसँग बोल्थे, चापलुसी गर्न सिपालु थिए, कर्मचारी व्यवस्थापनमा दृढ थिए, र केहीलाई त हाकिमले तारिफ पनि गर्थे। तर म बोल्न, विभिन्न विभागसँग असल सम्बन्ध बनाउन नसक्ने, काममा आत्मविश्वास र दृढताको कमी रहेकी थिएँ, उत्पादन लाइनमा समस्या आउँदा अरूले आफ्ना सम्पर्कको प्रयोग गरी समस्या समाधान गर्न सही कुरा भन्थे, तर म त्यस्तो थिइनँ, म अघि सरेर बोल्दिनँथेँ, समस्या जहाँको त्यहीँ रहन्थ्यो, र म बाथरुम पसी रुन्थेँ। आस्थामा जोडिएपछि, मलाई ब्रदर-सिस्टरको डाह लाग्थ्यो, तिनीहरू मभन्दा शिक्षित, असल क्षमताका, र आफ्ना काममा दृढ र साहसी थिए। मलाई लाग्थ्यो, म उनीहरू बराबर हुन सक्दिनँ, र निकै बाँधिएर बस्थेँ। परिणामस्वरूप, म प्रायः नकारात्मक, पछि हट्ने, काम टाल्ने खालकी भएँ, र हीनताको भावनाले ग्रसित रहन्थेँ। चेन जियाओ र ली जूसँग सहकार्य गर्दाको अवस्था यस्तै थिए—तिनीहरू राम्रोसँग बोल्न सक्ने, असल क्षमता र कार्यदक्षताका भएकाले मलाई उनीहरूअघि हीन महसुस हुन्थ्यो। यो समस्या हो भन्ने मैले सोच्दै सोचिनँ, जब मैले ली जूले आफ्नै प्रशंसा गरिरहेको देखेँ, मैले यसलाई कामप्रति उनको दृढताको सङ्केत मानेँ। म हीनताको यो भावनामा डुबेकी थिएँ, मेरो स्थिति लगातार खस्कँदै गएको थियो, मैले कर्तव्य निर्वाह ठीकसँग गरिरहेकी थिइनँ, र अन्तमा म बर्खास्त भएँ। ब्रदर-सिस्टरहरूले फेरि एक पटक मलाई अगुवा चुनेका भएपनि, भित्रबाट मलाई अझैपनि हीन महसुस हुन्थ्यो, र आफ्नो क्षमता कमजोर छ, कुनैपनि कुरा राम्रोसँग गर्न सक्दिनँ भन्ने ठान्थेँ, र म सेवाकर्ता मात्र बन्न लागयक छु र मैले मुक्ति पाउने छैन भन्ने सोचेँ। मलाई आफू हीनताको भावनामा नराम्रोसँग बाँधिएको र जकडिएको महसुस भयो। मैले सम्झेँ, कसरी परमेश्वरले मानवजातिलाई मुक्ति दिन देहधारण गरी हर प्रकारका कष्ट सहनुभएको छ, निरन्तर सत्यता व्यक्त गर्दै मानवजातिलाई मलजल र आपूर्ति गर्नुभएको छ, ताकि धेरैभन्दा धेरै मानिसले उहाँको मुक्तिको अनुग्रह हासिल गर्न, मुक्ति प्राप्त गर्न र विपत्तिबाट बाँच्न सकून्। यदि मानिसले यो अवसर गुमाए भने, तिनीहरूले अपरिहार्य रूपमा भोलिका विपत्ति र अनन्त दण्ड भोग्नेछन्। मैले परमेश्वरको अभिप्राय बुझेकी थिइनँ, नकारात्मकता र गलतफहमीमा डुबेकी थिएँ, मुक्ति नपाउने सोचेर हार मानिसकेकी थिएँ। म सत्यता खोज्न र पछ्याउन पनि चाहन्नथेँ म निकै विद्रोही थिएँ र मेरा कार्य परमेश्वरलाई चोट पुऱ्याउने खालका थिए। यो सबै बुझेपछि मलाई निकै दोषी र परमेश्वरप्रति ऋणी महसुस भयो म दिक्दारीमा डुबिरहन हुँदैन भन्ने लाग्यो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ: “हे परमेश्वर! म तपाईँसामु पश्चात्ताप गर्न तयार छु। बिन्ती मलाई हीनताका यी नकारात्मक भावनाबाट बाहिर निक्लन मार्गदर्शन गर्नुहोस्।”

पछि, मैले परमेश्वरका वचनका यो खण्ड भेटेँ: “अन्तिममा, म तिमीहरूलाई एउटा कुरा भन्‍न चाहन्छु: सानातिना संवेग, वा सरल र महत्त्वहीन संवेगलाई जीवनभरि तँलाई बाँधेर राख्‍न नदे, नत्रभने यसले तैँले मुक्ति पाउने नपाउने कुरामा असर पार्छ र मुक्तिको तेरो आशा माटोमा मिलाइदिन्छ, कुरो बुझिस् नि? (बुझेँ।) तेरो यो संवेग नकारात्मक मात्रै छैन, तर अझै ठीक तरिकाले भन्दा, यो परमेश्‍वर र सत्यताविरुद्ध छ। तँलाई यो सामान्य मानवताको संवेग हो भन्‍ने लाग्छ होला, तर परमेश्‍वरको नजरमा, यो संवेगको सामान्य कुरो मात्रै होइन, यो त परमेश्‍वरको विरोध गर्ने तरिकासमेत हो। यो नकारात्मक संवेगहरूले भरिएको एक तरिका हो जुन मानिसहरूले परमेश्‍वर, परमेश्‍वरका वचनहरू र सत्यताको विरोध गर्न प्रयोग गर्ने गर्छन्। त्यसकारण, तैँले सत्यता खोजी गर्छस् भन्‍ने मान्यता राख्दै म आशा गर्छु कि तैँले आफूलाई राम्रोसित जाँच गर्नेछस् र यी नकारात्मक संवेगहरूलाई अङ्गालिरहेको छस् कि छैनस् र जिद्दी रूपमा, मूर्ख तरिकाले परमेश्‍वरको विरोध र उहाँसँग होड गरिरहेको छस् कि छैनस् भनेर हेर्नेछस्। यदि तैँले त्यसरी जाँचेर उत्तर पत्ता लगाएको छस् भने, यदि तँलाई यो कुरा महसुस भयो र तैँले स्पष्ट चेतना प्राप्त गरिस् भने, म तँलाई भन्दै छु, सुरुमै यी संवेगहरू त्यागिदे। यी कुरालाई प्यारो ठान्‍ने वा पक्रेर बस्‍ने नगर्, किनभने यी कुराले तँलाई नष्ट गर्नेछन्, तेरो गन्तव्यलाई नष्ट गर्नेछन्, र सत्यता खोजी गर्ने र मुक्ति प्राप्त गर्ने तेरो अवसर र आशालाई नष्ट गर्नेछन्(वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (१))। यस खण्डले ममा गहिरो प्रभाव पार्‍यो। मैले विगतमा नकारात्मक भावना गम्भीर समस्या हो भनेर कहिल्यै सोचेकी थिइनँ। परमेश्वरको विश्लेषण पढेपछि नकारात्मक भावनाको स्थितिमा जिउनुको सार परमेश्वर र सत्यताको विरोधमा हुनु हो भन्ने बुझेँ। मैले यो समस्या हल नगरेकी भए मैले मुक्ति पाउने कुनै पनि मौका गुमाउनेथिएँ। मैले हीनताभावमै जिएका आफ्ना विगतका वर्षहरूबारे चिन्तन गरेँ: आफूभन्दा प्रतिभाशाली, धेरै क्षमता र कार्यदक्षता भएका ब्रदर-सिस्टरहरू भेट्दा मलाई हीनता महसुस हुन्थ्यो, म दिक्दारीमा डुब्थेँ, आफ्नो परिस्थितिको वास्तविकताप्रति प्रतिरोधी र असन्तुष्ट हुन्थेँ, आफ्नो परिस्थिति सामना र स्वीकार गर्न इच्छुक हुन्नथेँ र शक्तिहीन महसुस गर्थेँ। मैले अरूको सबल पक्षबाट कसरी सिक्न सक्छु वा आफ्नो कर्तव्य राम्ररी गर्न तिनीहरूसँग कसरी सहकार्य गर्ने भनी सोच्ने कष्ट गरिनँ, बरु, परमेश्वरले मलाई दिनुभएको क्षमता, प्रतिभा र आफूमा रहेको दृढताको कमीलाई लिएर उहाँलाई दोष दिएँ। म लगातारको नकरात्मकताको स्थितिमा जिएँ, चुपचाप परमेश्वरको विरोध गर्थेँ, र कहिलेकाहीँ मेरो कर्तव्य निर्वाह गर्न नै चाहन्नथेँ। म यी वर्षका आफ्नो आस्थामा हीनताको भावनाले बाँधिएकी थिएँ, र प्राय दिक्दारी र निष्क्रियताको अवस्थामा पुग्थेँ। ममा सत्यता पछ्याउने इच्छाशक्ति थिएन, र मात्र केही परिश्रम गर्न र निष्क्रिय रूपमा पछ्याउने कुरामै सन्तुष्ट थिएँ। परिणामस्वरूप, मैले परमेश्वरमा विश्वास गर्दा आफ्नो कर्तव्य सधैँ राम्ररी पूरा गरेकी र अभ्यास गर्ने धेरै अवसर पाएकी भए पनि जीवनमा मेरो प्रगति न्यून थियो। म सधैँ झैँ दयनीय र दरिद्र थिएँ। परमेश्वरको काम समाप्त हुन लागेको थियो र मैले सत्यता प्राप्त गर्ने अनगिन्ती अवसर गुमाएकी थिएँ, यदि मैले आफ्नो स्थिति बदलिनँ भने मुक्ति पाउने जुनसुकै मौका बर्बाद गर्नेथिएँ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, मेरो हीनताको भावना पछाडि कस्ता भ्रष्ट स्वभाव लुकेका छन् भनेर बुझ्न खोजेँ।

पछि, मैले परमेश्वरका वचनको यो खण्ड भेटेँ: “धेरै जना मानिसहरूसित सत्यताको खोजी गर्नुको साटो आ-आफ्नै ससाना एजेन्डाहरू हुन्छन्। तिनीहरूका लागि आफ्नै स्वार्थ, इज्‍जत, र मानिसहरूको मनमा तिनीहरूले ओगटेको स्थान र प्रतिष्ठा नै धेरै महत्त्वपूर्ण हुन्छन्। तिनीहरूले यिनै कुराहरूलाई मात्रै कदर गर्छन्। तिनीहरू यी कुरालाई जकडेर राख्छन् र यिनैलाई आफ्नो जीवन मान्छन्। परमेश्‍वरले तिनीहरूलाई कसरी हेर्नुहुन्छ वा व्यवहार गर्नुहुन्छ भन्‍ने कुरा तिनीहरूका निम्ति कम महत्त्वको हुन्छ। अहिलेको लागि तिनीहरूले यसलाई बेवास्ता गर्छन्; अहिलेको लागि तिनीहरू त्यो झुन्डको मालिक हुन् कि होइनन्, मानिसहरूले तिनीहरूलाई उच्च मानेर हेर्छन् कि हेर्दैनन् वा आफ्नो कुरामा वजन छ कि छैन भन्‍ने कुरा मात्र विचार गर्छन्। तिनीहरूको प्राथमिक चिन्ता नै ओहोदा ओगट्नु हो। जब मानिसहरू समूहमा हुन्छन्, लगभग सबै मानिसहरूले यस प्रकारको प्रतिष्ठा, यस प्रकारका मौकाहरू खोज्छन्। जब तिनीहरू उच्‍च प्रतिभाका हुन्छन्, निश्‍चय नै तिनीहरू आफ्नो क्षेत्रमा सर्वोत्कृष्ट हुन चाहन्छन्; यदि तिनीहरू मध्यम क्षमताका छन् भने पनि, तिनीहरू समूहमा उच्‍च स्थानमा रहन चाहन्छन्; र यदि तिनीहरू औसत क्षमता र योग्यताका भएर समूहमा निम्‍न स्थानमा छन् भने पनि, अरूले आफूलाई उच्‍च नजरले हेरून् भन्‍ने चाहन्छन्, अरूले आफूलाई नीच नामनून् भन्‍ने चाहन्छन्। यी मानिसहरूले इज्‍जत र मर्यादामै रेखा खिच्छन्: तिनीहरूले यी कुराहरूलाई नै समाति बस्‍नुपर्छ। तिनीहरूसित कुनै निष्ठा हुन सक्दैन, र न त परमेश्‍वरको अनुमोदन न त स्वीकृति पाएका हुन्छन्, तर तिनीहरूले अरूमाझ पछ्याएको इज्‍जत, हैसियत, वा सम्मान गुमाउन सक्दै-सक्दैनन्—जुन शैतानको स्वभाव हो। तर मानिसहरूलाई यसबारे सचेत नै छैनन्। उनीहरू इज्‍जतको टुक्रालाई आखिरीसम्म समातेर राख्‍नुपर्छ भनी विश्‍वास गर्छन्। यी व्यर्थ र सतही कुराहरूलाई पूर्ण रूपमा त्याग्दा र पन्छाउँदा मात्र तिनीहरू वास्तविक व्यक्ति बन्छन् भन्‍ने कुरा उनीहरूलाई थाहा छैन। यदि व्यक्तिले यी त्याग्नुपर्ने कुराहरूलाई जीवन मानेर रक्षा गर्छ भने, उसले जीवन गुमाउँछ। तिनीहरूलाई कुन कुरा खतरामा छ भन्‍ने थाहा हुँदैन। त्यसैले, जब तिनीहरूले कार्य गर्छन्, तिनीहरूले सधैँ केही न केही आफैभित्र रोकेर राख्छन्, तिनीहरू सधैँ आफ्नो इज्‍जत र प्रतिष्ठा जोगाउने कोसिस गर्छन्, तिनीहरू यी कुराहरूलाई पहिलो स्थानमा राख्छन्, केवल आफ्नै उद्देश्य, आफ्नै मिथ्या प्रतिरक्षाको कुरा मात्र गर्छन्। तिनीहरूले गर्ने सबै काम आफ्नै लागि हुन्छ। तिनीहरू हर उज्‍ज्वल कुराको पछि दौडन्छन्, र अरूलाई तिनीहरू त्यसको एउटा हिस्सा थिए भनी देखाउँछन्। वास्तवमा तिनीहरूसँग त्यसको कुनै सरोकार हुँदैन, तर तिनीहरू कहिल्यै पृष्ठभूमिमा धकेलिन चाहँदैनन्, तिनीहरू सधैँ अरू मानिसहरूले तिनीहरूलाई हेला गर्लान् भनी डराउँछन्, तिनीहरू सधैँ अरू मानिसहरूले तिनीहरू केही पनि होइनन्, तिनीहरू केही पनि गर्न असमर्थ छन्, तिनीहरूसँग कुनै सीप छैन भन्लान् भनी डराउँछन्। के यो सबै तिनीहरूको शैतानी स्वभावद्वारा निर्देशित छैन र? जब तँ यी इज्जत र हैसियत जस्ता कुराहरूलाई छोड्न सक्छस्, तब तँ अझ ढुक्‍क र स्वतन्त्र हुनेछस्; तैँले इमानदार हुने बाटोमा पाइला राखेको हुनेछस्। तर धेरैका लागि, यो कुरा हासिल गर्न सजिलो हुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचन पढेर मैले बुझेँ कि ममा कमजोर क्षमता भएकाले वा म बोल्न नसक्ने र औसत देखिने भएकीले हीनताको भावनाबाट ग्रसित भएकी होइन रहेछु, यो त शैतानले मेरो पछ्याइबारे केही गलत दृष्टिकोण हालेर मेरो दिमाग भुटेकाले रहेछ। मैले प्रतिष्ठा र हैसियतलाई धेरै महत्त्व दिएकी रहेछु। म अवचेतन रूपमा “मानिस उभोतिर जान खोज्छ; तर खोला तलतिर बग्छ”, र “मानिस आफू जहाँ जहाँ जान्छ त्यहाँ त्यहाँ उसले आफ्नो नाम छोडी राख्छ, त्यसरी नै जसरी हाँसले आफू जहाँ जहाँ उड्छ त्यहाँ त्यहाँ क्वाँक क्वाँक आवाज निकाल्छ” भन्ने शैतानी विषले प्रभावित भएकी रहेछु। प्रतिष्ठा, हैसियत र अरूबाट सम्मान पाउनु जत्तिको महत्त्वपूर्ण मेरा लागि केही थिएन; म सोच्थेँ, यी कुरा प्राप्त गरेर मात्रै म सार्थक र मूल्यवान् जीवन जिइरहेकी हुनेछु। मेरो सांसारिक कार्यजीवनमा, मलाई सधैँ चलाख, तेज, बोलक्कड, र अरूसँग व्यवहार गर्न सिपालु, र हाकिमहरूको तारिफ र प्रशंसा पाउने सहकर्मीहरू देख्दा डाह लाग्थ्यो। म पनि आफ्ना सहकर्मीले जस्तै हाकिमहरूको प्रशंसा पाउन चाहन्थेँ। तर, आफू औसत देखिने, बोल्न नसक्ने र सम्बन्ध बनाउन सिपालु नभएकीले हीनता महसुस हुन्थ्यो। समस्या आइपर्दा, म सहकर्मीलाई भन्दिनँथेँ, बरु बाथरुम पसेर रुन्थेँ। अरूले मेरा समस्या थाहा पाए भने मलाई तुच्छ सम्झनेछन्, सम्मान गर्नेछैनन् भन्ने चिन्ता लाग्थ्यो—त्यो समय मैले साँच्चै नै ठूलो कष्ट भोगेँ। परमेश्वरमा आस्था राखेपछि, म गैरविश्वासीहरूको दृष्टिकोणअनुसार जिइरहेँ, सोच्थेँ, अगुवा वा सुपरभाइजर हुनका लागि व्यक्तिमा अगुवाको व्यक्तित्व हुनुपर्छ, दृढतापूर्वक बोल्न, आफूलाई आकर्षक तरिकाले प्रस्तुत गर्न, अनि प्रबन्ध गर्न सक्षम हुनुपर्छ र राम्रो कार्यदक्षता हुनुपर्छ र यसरी, जहाँ गएपनि सम्मान पाइन्छ, आफ्नो पहिचान बनाउन सकिन्छ र उच्च ठानिन्छ। जब मैले सहकार्य गरेका ब्रदर-सिस्टर मभन्दा सक्षम, दृढ निश्चयका साथ बोल्ने र राम्रो कर्यदक्षता रहेको देख्थेँ, तब म आफूलाई हरेक पक्षबाट व्यर्थ पाउँथेँ। अरूको सम्मान पाउन असफल भएकीले, उच्च नठानिएकीले र प्रतिष्ठा र हैसियतको मेरो अभिलाषा पूरा नभएकाले उप्रान्त म अगुवाको रूपमा काम गर्न चाहन्नथेँ, र त्यो वातावरणबाट पर गएर मानिसहरूको अर्को छुट्टै समूहमा सामेल हुन चाहन्थेँ। म सोच्थेँ, यसो गरेमा म आफ्नो कमजोरी र अक्षमता खुलासा हुनबाट बच्न सक्नेछु, र साथीहरूले मलाई हेयका दृष्टिले हेर्नेछैनन्। यी सबबारे चिन्तन गरेपछि, शैतानको विषले पहिले नै मेरो हृदयको गहिराइमा जरा गाडिसकेको थाहा पाएँ, म हैसियत र अरूको सम्मान र प्रशंसाको पछि लागेँ, ती कुरालाई सकारात्मक कुरा मानेँ। मेरा व्यक्तिगत चाहना सन्तुष्ट नहुनेबित्तिकै मलाई कर्तव्य गर्न मन लागेन, नकारात्मक र विरोधी भएँ, र परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुन असमर्थ भएँ। म शैतानद्वारा गहन रूपमा भ्रष्ट तुल्याइएकी रहेछु, हैसियत र प्रतिष्ठा पाउने मेरो लालसा निकै बलियो रहेछ भन्ने महसुस भयो—यदि यस्तै चलिरह्यो भने परमेश्वरले मलाई घृणा गरेर हटाउनुहुनेथ्यो। म उप्रान्त गलत मार्गमा अघि बढ्न इच्छुक भइनँ, बरु परमेश्वरसामु पश्चात्ताप गर्न, परमेश्वरका मागअनुसार व्यावहारिक रूपमा कर्तव्य निर्वाह गर्दै उहाँको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुन तयार भएँ।

पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड भेटेँ: “जब हीनताबोधको भावनाले तेरो हृदयमा गहिरो जरा गाडेको हुन्छ, त्यसले तँमा गहन असर मात्रै गर्दैन, त्यसले त मानिसहरू र परिस्थितिहरूप्रतिको तेरो दृष्टिकोण, र तेरो व्यवहार अङ्गालाइ र कार्य गराइमा समेत नियन्त्रण कायम गर्छ। अनि, हीनताबोधको भावनाद्वारा नियन्त्रित व्यक्तिहरूले मानिसहरू र परिस्थितिहरूलाई कसरी हेर्छन्? तिनीहरूले अरू मानिसहरूलाई आफूभन्दा असल ठान्छन्, र तिनीहरूले ख्रीष्टविरोधीहरूलाई पनि आफूभन्दा असल ठान्छन्। ख्रीष्टविरोधीहरूमा दुष्ट स्वभाव हुने र तिनीहरूको मानवता खराब हुने भए पनि, यी मानिसहरूले अझै पनि तिनीहरूलाई अनुकरण गर्नुपर्ने र आदर्शको रूपमा लिनुपर्ने मानिसहरूको रूपमा लिन्छन्। तिनीहरूले आफैलाई यस्तोसमेत भन्छन्, ‘हेर्‌ त, तिनीहरूमा खराब स्वभाव र दुष्ट मानवता भए पनि, तिनीहरू वरदानप्राप्त छन् र काममा मभन्दा सिपालु छन्। तिनीहरूले सहजतासाथ अरूसामु आफ्‍नो क्षमता देखाउन सक्छन् र कुनै लाज वा धक नमानी त्यति धेरै मानिसहरूअघि बोल्‍न सक्छन्। तिनीहरूमा साँच्‍चै साहस छ। म त तिनीहरूको स्तरमा पुग्‍नै सक्दिनँ। म पर्याप्त रूपमा साहसी छैनँ।’ केले यस्तो अवस्था पैदा गर्छ? यसको एउटा कारण के हो भनेर भन्‍नैपर्छ भने, तेरो हीनताबोधले मानिसहरूको सारसम्‍बन्धी तेरो मूल्याङ्कन क्षमता, साथै अरू मानिसहरूलाई हेर्ने तेरो दृष्टिकोण र विचार प्रभावित गरेको छ। के कुरा यही होइन र? (हो।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (१))। परमेश्वरका वचन मनन गरेपछि, मैले हीनताको भावनाले मानिस र कामकुराप्रतिको हाम्रो हेराइलाई प्रभावित गर्न सक्छ भन्ने बुझेँ। मैले कसरी आफू हीनताको भावनामा डुबेको बेला मानिसको बाहिरबाट देखिने प्रतिभा, क्षमता, दृढतासाथ बोल्न र कार्य गर्नसक्ने क्षमतामा ध्यान केन्द्रित गर्ने गरेकी थिएँ भन्नेबारे चिन्तन गरेँ। यी गुणहरूलाई मानकको रूपमा लिएर मैले मानिसको क्षमता मूल्याङ्कन् गरेँ, तैपनि तिनीहरूको मानवता, सार र तिनीहरू हिँड्ने मार्ग खुट्याउने कुरामा ध्यान दिन असफल भएँ। मैले सोचेँ, ली जूसँग सहकार्य गर्दा मैले उनी कति स्पष्टवक्ता छिन्, दृढतापूर्वक बोल्छिन् र कार्य गर्छिन् भन्ने मात्र हेरेँ, तर उनको व्यवहार खुट्याउने कुरामा जोड दिन असफल भएँ। म जस्तो होइन, उनमा पुँजी छ, त्यसैले उनले आत्मप्रशंसा गर्नु सामान्य कुरा हो भन्ने समेत मानेँ। म निकै अलमल्ल अवस्थामा थिएँ!

पछि, मैले मानिसको वाक्पटुता, प्रतिभा, बोलीमा दृढता र कार्यदक्षताका अधारमा मानिसको क्षमतालाई मापन गर्नु मापनको सबभन्दा सही तरिका हो त भनेर प्रश्न गर्न थालेँ। त्यसपछि, मैले परमेश्वरका वचनको यो खण्ड भेटेँ: “हामी मानिसहरूको क्षमता कसरी मापन गर्छौँ? सत्यताप्रति आफ्नो मनोवृत्ति कस्तो छ र आफूले सत्यता बुझ्न सक्छ कि सक्दैन भनी हेर्नु नै यसो गर्ने उचित तरिका हो। कतिपय मानिस अति चाँडो केही विशेषज्ञता हासिल गर्छन्, तर जब तिनीहरू सत्यता सुन्छन्, अन्योलमा पर्छन् र उँघ्‍न थाल्छन्। तिनीहरूका हृदयमा अन्योल छाउँछ, तिनीहरू आफूले सुनेको कुनै पनि कुरा सम्झँदैनन्, न त आफूले सुनेका कुरा नै बुझ्‍छन्—कमजोर क्षमता भनेको यही हो। कतिपय मानिसलाई यदि तैँले तिनीहरू कमजोर क्षमताका छन् भनेर भनिस् भने तिनीहरू असहमत हुन्छन्। तिनीहरूले आफू उच्च शिक्षित हुनु र जानकार हुनुको अर्थ असल क्षमताका हुनु हो भन्‍ने सोच्छन्। के असल शिक्षाले उच्च क्षमताको प्रदर्शन गर्छ त? गर्दैन। मानिसहरूको क्षमता कसरी मापन गर्नुपर्छ? यसलाई तिनीहरूले कुन हदसम्म परमेश्‍वरका वचन र सत्यता बुझ्छन् त्यसको आधारमा मापन गर्नुपर्छ। यो नै क्षमता मापन गर्ने सबैभन्दा सही तरिका हो। कतिपय मानिस वाक्पटु, तिक्ष्ण बुद्धिका, र अरू मानिसलाई सम्हाल्न अत्यन्तै सिपालु हुन्छन्—तर जब तिनीहरू प्रवचनहरू सुन्छन्, तब कहिल्यै केही पनि बुझ्न सक्दैनन्, र तिनीहरू परमेश्‍वरका वचनहरू पढ्दा ती बुझ्दैनन्। तिनीहरू आफ्ना अनुभवात्मक गवाहीबारे कुरा गर्दा, सधैँ वचन र धर्मसिद्धान्तहरू बोल्छन्, जसले गर्दा तिनीहरू जाबो अनुभवहीन देखिन्छन्, र अरूलाई तिनीहरूमा आत्मिक बुझाइ रहेनछ भन्‍ने भान हुन्छ। यी कमजोर क्षमताका मानिसहरू हुन्। त्यसोभए, के यस्ता मानिसहरू परमेश्‍वरको घरका निम्ति काम गर्न योग्य हुन्छन्? (हुँदैनन्।) किन हुँदैनन्? (तिनीहरूमा सत्यता सिद्धान्तहरू हुँदैनन्।) ठिक भनिस्, यो तिमीहरूले अहिलेसम्म बुझिसक्नुपर्ने कुरा हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो कर्तव्य राम्रोसँग पूरा गर्नका लागि, सत्यता बुझ्‍नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ)। परमेश्वरका वचन पढेर, मैले थाहा पाएँ कि हामीले मानिसको क्षमता तिनीहरू कति शिक्षित छन्, तिनीहरूमा बाहिरबाट देखिने कस्ता प्रतिभा छन्, कति तीक्ष्णबुद्धिका छन् वा कति स्पष्टवक्ता छन् भन्ने आधारमा मापन गर्नुहुँदैन बरु तिनीहरूले परमेश्वरका वचनको सही बुझाइ प्राप्त गर्न सक्छन् कि सक्दैनन् र परमेश्वरका वचनको वास्तविकता बुझ्न समर्थ छन् कि छैनन् भन्ने आधारमा गर्नुपर्छ—अर्थात, तिनीहरूले परमेश्वरका वचनबाट उहाँका अभिप्राय बुझ्न सक्छन् कि सक्दैनन् र परमेश्वरका वचनबाट आफ्नो भ्रष्ट स्वभाव र सार चिन्छन् चिन्दैनन् भन्ने हो। ली जूसँग केही खास प्रतिभा, बोल्ने निपुणता र दृढतापूर्वक कार्य गर्ने सक्षमता भएपनि उनी आफूबारेको सही बुझाइबारे चर्चा गर्न वा परमेश्वरका वचनको अनुभवात्मक गवाही दिन असमर्थ थिइन्। ब्रदर-सिस्टरहरूले धेरै पटक उनको आत्मप्रशंसापूर्ण व्यवहारलाई इङ्गित गरेका थिए, तर, यी समस्या स्विकारेर पनि, उनले यस्तो व्यवहारको प्रकृति र गम्भीर परिणामलाई कहिल्यै बुझिनन्। आफ्नो कर्तव्य निर्वाहको क्रममा उनी बारम्बार आफ्नै प्रशंसा गर्थिन्, र अरूलाई तुच्छ पनि देखाउने गर्थिन्, आफू बर्खास्त भएपछि पनि आफूलाई उचाल्थिन्, र यो समस्याबारे चिन्तन गर्ने वा ज्ञान प्राप्त गर्नेतिर लागिनन्। यसबाट मैले ली जूसँग केही खास प्रतिभा त थिए तर उनी असल क्षमता भएकी होइनन् भन्ने देखेँ। मैले परमेश्वरले पावलको व्यक्तित्वको विश्लेषण कसरी गर्नुभएको थियो भन्ने सम्झेँ—पावल प्रतिभावान् थिए, धेरै पत्र लेखे, धेरै मानिसम्म सुसमाचार फैलाए तर उनले सत्यता बुझ्न सकेनन्, र अन्ततः आफ्नो शैतानी, परमेश्वर प्रतिरोधी प्रकृति चिन्न सकेनन्। यसरी, पावल राम्रो क्षमताका थिए भनी मान्न सकिन्न। यो सब बुझेर म अलि प्रष्ट भएँ। मैले पनि सत्यता बुझेकी थिइनँ, अनि सधैँ सुशिक्षित, स्पष्टवक्ता र दृढनिश्चयी हुनु राम्रो क्षमता हुनु हो, र यी गुण नहुनु कमजोर क्षमताको सङ्केत हो भनी सोच्थेँ। परिणामस्वरूप, मैले प्रायः आफूलाई कमजोर क्षमताकी र अगुवा वा सेवकको रूपमा सेवा गर्न योग्य नरहेकी ठानेँ। परमेश्वरका वचन पढेपछि मैले बुझेँ कि कसैको क्षमता मापन गर्दा हामीले मुख्य गरी उक्त व्यक्तिले कति राम्रोसँग परमेश्वरका वचन बुझ्न सक्छ, सत्यता बोध गर्न र सिद्धान्तअनुसार आफ्नो कर्तव्य निर्वाह गर्न सक्छ कि सक्दैन भनी हेर्नुपर्छ। मानिस र कामकुरालाई हेर्ने सबभन्दा सही तरिका भनेको परमेश्वरका वचनअनुसार हो।

पछि, मैले परमेश्वरका दुईवटा खण्ड भेटेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “त्यसोभए, तैँले आफूलाई सही रूपमा कसरी मूल्याङ्कन गर्न र चिन्‍न सक्छस्, र तँ कसरी हीनताबोधको भावनाबाट मुक्त हुन सक्छस्? तैँले आफ्‍नो बारे ज्ञान पाउने, आफ्‍नो मानवता, क्षमता, र प्रतिभाबारे जान्‍ने, साथै आफूमा के-कस्ता सामर्थ्यहरू छन् भनेर थाहा पाउने आधारको रूपमा परमेश्‍वरका वचनहरूलाई लिनुपर्छ। उदाहरणको लागि, मानौँ तँलाई गीत गाउन मन पर्थ्यो र तँ राम्ररी गाउँथिस्, तर कतिपय मानिसहरूले तेरो आलोचना गरिरहे र तँलाई होच्याइरहे, तँलाई सुर चिन्‍न आउँदैन र तैँले बेसुरे गाउँछस् भनी भनिरहे, त्यसकारण अहिले तँलाई राम्ररी गाउन आउँदैन भन्‍ने लाग्छ र तैँले अरूको अगाडि गाउने आँट गर्न छोडेको छस्। ती सांसारिक जन, ती भ्रमित र औसत मानिसहरूले तेरो बारे गलत मूल्याङ्कन र आलोचना गरेका हुनाले, तेरो मानवताले पाउनुपर्ने अधिकारहरूबाट तँ वञ्चित भइस्, र तेरो प्रतिभा दबियो। परिणामस्वरूप, तँलाई गीत गाउनेसमेत आँट आउँदैन, र कोही नभएको बेला एकलै हुँदा मात्रै तँलाई खुलेर गाउने आँट आउँछ। तँलाई आफूमाथि भयानक दमन गरिएको छ भन्‍ने सामान्य रूपमै महसुस हुने हुनाले, तँ एकलै नहुँदा गीत गाउने आँटै गर्दैनस्; एकलै हुँदा मात्रै तँलाई गीत गाउने आँट आउँछ र तँ ठूलो स्वरमा र स्पष्टसित गीत गाउँदै रमाइलो गर्छस्, अनि त्यो कति सुन्दर र स्वतन्त्र समय हुन्छ! यस्तै हुन्छ नि, होइन र? मानिसहरूले तँलाई गरेको हानिको कारण, तैँले वास्तवमा के गर्न सक्छस्, तँ के कुरामा सिपालु छस्, र तँ के कुरामा सिपालु छैनस् भन्‍ने कुरा तँ जान्दैनस् वा स्पष्ट रूपमा देख्‍न सक्दैनस्। यस्तो परिस्थितिमा, तैँले सही मूल्याङ्कन गर्नुपर्छ र परमेश्‍वरका वचनहरूअनुसार आफ्‍नो सही मापन गर्नुपर्छ। तैँले के सिकेको छस् र तेरा सामर्थ्यहरू के-केमा छन् त्यो पत्ता लगाएर आफूले गर्न सक्‍ने कुरा गर्नुपर्छ; तैँले गर्न नसक्‍ने कुराहरू, तेरा कमीकमजोरी र त्रुटिहरूको हकमा, तैँले मनन गरेर तिनलाई चिन्‍नुपर्छ, र तैँले तेरो क्षमता कस्तो छ, र त्यो असल छ कि खराब छ भनेर सही रूपमा मूल्याङ्कन गर्नु र जान्‍नुपर्छ। यदि तैँले आफ्‍ना समस्याहरू बुझ्‍न वा तीबारे स्पष्ट ज्ञान प्राप्त गर्न सक्दैनस् भने, समझशक्ति भएका र आफूले चिनेजानेका मानिसहरूलाई तेरो बारे मूल्याङ्कन गर्न अनुरोध गर्। तिनीहरूले भनेको कुरा सही भए पनि नभए पनि, कम्तीमा पनि यसले तँलाई एउटा सन्दर्भको रूपमा प्रयोग र विचार गर्न सकिने आधार दिन्छ र तँलाई आफ्‍नो बारेमा आधारभूत मूल्याङ्कन वा चरित्र चित्रण गर्न सक्षम तुल्याउँछ। अनि, तँ हीनताबोधजस्तो नकारात्मक संवेगको अपरिहार्य समस्या समाधान गर्न, र त्यसबाट क्रमिक रूपमा मुक्त हुन सक्छस्। यदि व्यक्तिले हीनताबोध चिन्‍न र त्यसप्रति सतर्क हुन, अनि सत्यता खोजी गर्न सक्छ भने, त्यस्तो हीनताबोधका भावनाहरू समाधान गर्न सजिलै हुन्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (१))। “परमेश्‍वर तैँले सत्यता पछ्याउने कार्य त्यागेको हेर्न चाहनुहुन्‍न, न त आफूलाई हारिसकेको मान्छे ठान्‍ने कसैको मनोवृत्ति नै हेर्न चाहनुहुन्छ। उहाँ त तैँले यी सबै साँचो तथ्यहरू बुझेपछि, तैँले परमेश्‍वर एक धर्मी परमेश्‍वर हुनुहुन्छ भनेर स्पष्ट पहिचान गर्दै, अझ दृढ, साहसी र आश्‍वस्त तरिकाले सत्यता पछ्याउन सकेको हेर्न चाहनुहुन्छ। जब तँ बाटोको अन्त्यमा आइपुग्छस्, तब तैँले परमेश्‍वरले तेरो लागि तोक्‍नुभएको मापदण्ड पूरा गरेको छस् भने, र तँ मुक्तिको बाटोमा छस् भने, परमेश्‍वरले तँलाई त्याग्‍नुहुनेछैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (२))। परमेश्वरका वचनमा मैले आफ्नो हीनताको भावना हल गर्ने मार्ग भेटेँ। मैले परमेश्वरका वचनअनुसार वस्तुस्थितिलाई हेर्नुपर्थ्यो, मेरा सबल पक्ष र कमजोरीबारे सही बुझाइ हासिल गर्नुपर्थ्यो, आफूले गर्न सक्षम रहेका कुरा सक्दो राम्रोसँग गर्नुपर्थ्यो, आफूले बोध वा पूरा गर्न असफल भएका कुरालाई सही तरिकाले सम्हाल्दै तिनको हल गर्न सत्यता खोज्नुपर्थ्यो। मैले पहिलो पटक अगुवा र सुपरिवेक्षकका रूपमा सेवा गर्न थालेको समय सम्झेँ: सुरुमा, मैले लगनका साथ सहकार्य गरेर केही वास्तविक काम गर्न सकेकी थिएँ, पछि म नकारात्मक र सुस्त भएकीले, र भ्रष्ट स्वभावमा जिएर कर्तव्यमा कमजोर नतिजा पाएकीले बर्खास्त भएँ। म बर्खास्त हुनुमा मेरो कमजोर क्षमता मात्रै कारण थिएन। वास्तवमा, मेरा ब्रदर-सिस्टरहरू सबैले मेरो औसत क्षमता छ, कमजोर होइन भनेका थिए। ब्रदर-सिस्टरहरूसँग सहकार्य गर्दा लगनशील भएर काम गरेकी भए, मैले अझै केही काम पूरा गर्न सक्थेँ। यो सबै बुझेर, मैले आफूप्रति सही मनोवृत्ति प्राप्त गरेँ—मसँग सर्वोत्तम क्षमता थिएन, र केही विषयका सिद्धान्त बुझ्न सक्दिनँथे, तर मेरा कमीकमजोरी परिपूर्ति गर्न म सधैँ ब्रदर-सिस्टरबाट सहयोग माग्न सक्थेँ, र मेरो क्षमता सुधार्न मेहनत गर्न सक्थेँ। यसरी, मैले केही प्रगति गर्न सकेकी हुनेथिएँ। यो बुझाइपछि, मैले अभ्यासको मार्ग पाएँ र निकै सहजता महसुस भयो। म अब हीनताको भावनाले बाँधिन चाहन्नथेँ, र म आफ्नो कर्तव्य निर्वाह राम्ररी गर्दै परमेश्वरलाई सन्तुष्ट बनाउन सत्यताको अभ्यासमा केन्द्रित हुन तयार थिएँ।

पछि एक पटक, म जियाओए नाम गरेकी लेखापढी कामको सुपरिवेक्षण गर्ने सिस्टरसँग सानो समूह भेलामा थिएँ, जियाओएले परमेश्वरका वचनमा सङ्गति गरेर उहाँको अभिप्रायबारे राम्रोसँग बताउन, र सङ्गतिमा आफ्नो अनुभवका सिकाइहरू हाल्न सकिन्, भेलामा भएका सबैका लागि यी सबै कुरा निकै शिक्षाप्रद थिए। उनले सङ्गति गर्दा सबै ब्रदर-सिस्टरले सहमतिमा शिर हल्लाउँथे, र नोट लेख्थे। यो देखेर, मभित्र फेरि हीनताको भावना प्रवेश गर्न थाल्यो, जियाओए मभन्दा धेरै सक्षम छिन्, अगुवा हुन धेरै योग्य छिन् भन्ने लाग्यो। तर, जसै हीनताका यी भावनाहरू आउन थाले, मैले परमेश्वरका वचनको एउटा खण्ड सम्झेँ: “तैँले के सिकेको छस् र तेरा सामर्थ्यहरू के-केमा छन् त्यो पत्ता लगाएर आफूले गर्न सक्‍ने कुरा गर्नुपर्छ; तैँले गर्न नसक्‍ने कुराहरू, तेरा कमीकमजोरी र त्रुटिहरूको हकमा, तैँले मनन गरेर तिनलाई चिन्‍नुपर्छ, र तैँले तेरो क्षमता कस्तो छ, र त्यो असल छ कि खराब छ भनेर सही रूपमा मूल्याङ्कन गर्नु र जान्‍नुपर्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (१))। वास्तवमा, हरेकमा फरक फरक क्षमता र सबल पक्ष हुन्छन्। यो परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तकै नतिजा हो। मसँग जस्तो प्रकारको क्षमता होस्, मैले सधैँ आफ्ना जिम्मेवारी र कर्तव्य पूरा गर्नुपर्छ। मसँग सर्वोत्तम क्षमता थिएन र अरूजस्तो वाक्पटु थिइनँ, तर परमेश्वरका वचनको केही बुझाइ र अनुभव भएसम्म मैले सही इरादा राख्नुपर्छ र आफ्नो बुझाइबारे सङ्गति गरी आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। मैले गर्नुपर्ने कुरा नै यही हो। यो बुझिसकेपछि, मलाई धेरै निको महसुस भयो, हीनताको भावना आउन छोड्यो, परमेश्वरका वचनअनुसार अभ्यास गर्न, आफूले बुझेका सबै कुरामा सङ्गति गरी आफ्नो जिम्मेवारी पूरा गर्न तयार भएँ। त्यहाँपछि, मैले परमेश्वरका वचनबारे आफ्नो बुझाइ र ज्ञानमा सङ्गति गर्थेँ। जब मैले आफ्नो सङ्गति ब्रदर-सिस्टरका लागि लाभदायक र सहयोगी भएको देखेँ मैले परमेश्वरलाई धन्यवाद दिएँ! यो सबै परमेश्वरका वचनको अन्तर्दृष्टि र मार्गदर्शन थियो जसले मलाई प्रगति र आफूसँग भएको कुरा प्राप्त गर्न सहयोग गर्‍यो।

अघिल्लो: १६. पाष्टरको दुष्टतालाई देख्दा

अर्को: १८. जब मेरा आमाबाबुलाई मण्डलीबाट निकालियो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२०. सत्यतालाई अभ्यास गर्नु नै सामञ्जस्यतापूर्ण समन्वयको कुञ्जी हो

डोङ्गफेङ्ग, अमेरिकाअगस्त २०१८ मा, मेरो काम ब्रदर वाङसित फिल्मसम्बन्धी सरसामग्री बनाउनु थियो। पहिले त, मैले नजानेको कति धेरै कुरा छ भनी मैले...

६५. अहङ्कारको हल गरी मानव रूप प्राप्त गर्न सकिन्छ

झेन्क्षिङ्ग, अमेरिकामेरो कथा मार्च २०१७ मा सुरु हुन्छ। मैले मुख्यतः चलचित्रका पोस्टरहरू र भिडियोका थम्‍बनेलहरू बनाउने कामसँगै मण्डलीको लागि...

७७. बिमारी मार्फत फसल काटियो

झाङ्ग ली, चीनवर्ष २००७ मेरो जीवनको ठूलो मोड थियो। त्यो वर्ष मेरा श्रीमान् कार दुर्घटनामा परेर थला पर्नुभयो। हाम्रा दुई बच्चाहरू अझै सानै...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्