९०. कर्तव्य करियर होइन

काइली, फ्रान्स

गत वर्ष म दुईटा मण्डलीहरूको कामको लागि जिम्मेवार थिएँ। कहिलेकाहीं, अर्को ठाउँमा कर्तव्य निर्वाह गर्नको लागि हाम्रा मण्डलीहरूबाट मानिसहरूलाई अन्यत्र सरुवा गर्नुपर्थ्यो। सुरुमा त म सहकार्य गर्न खुसी थिएँ र तुरुन्तै मानिसहरू उपलबध गराउँथेँ। तर केही समयपछि, असल मानिसहरूलाई सरुवा गरिंदा मैले मेरो काम पूरा गर्न गाह्रो भएको महसुस गरें। मेरो कार्यप्रदर्शन खराब होला, र काममा राम्रो नतिजा ननिस्केमा अगुवाहरूले मलाई बर्खास्त गर्लान् र मेरो प्रतिष्ठा र हैसियत खतरामा पर्ला भनेर म चिन्तित भएँ। त्यसपछि, म मानिसहरू उपलब्ध गराउन त्यति तयार र इच्छुक भइनँ।

भर्खर भर्खरै, मैले सिस्टर राना नामकी एक नवविश्‍वासीमा राम्रो क्षमता भएको र तिनी आफ्नो खोजीमा उत्सुक रहेको देखेँ। तिनी प्रायजसो परमेश्‍वरका वचनहरू पढिरहेकी र मण्डलीका भिडियो हेरिरहेकी हुन्थिन्, र मलाई सत्यता अभ्यास गर्ने र सत्यता वास्तविकतामा प्रवेश गर्नेबारे प्रश्‍न सोधिरहन्थिन्। हाम्रो मण्डलीमा सिञ्‍चनकर्ताको खाँचो थियो र उनलाई त्यसको लागि तुरुन्तै तयार पार्नुपर्छ भन्‍ने सोचेँ। यस प्रकारले, मैले नयाँ विश्‍वासीहरूलाई सिञ्‍चन गर्ने काम मात्र गरिरहेकी हुन्‍नथेँ, यसबाट मैले राम्रा नतिजा निकालिरहेको पनि देखिनेथ्यो र अगुवाहरूले मलाई वास्तवमै सक्षम ठान्‍नेथे—यसबाट सबैलाई फाइदा हुनेथ्यो। यसैले, मैले उनलाई निकै मदत गरें ताकि अझ धेरै सत्यता बुझेर उनले सिञ्‍चन कार्यको जिम्मेवारी सम्हाल्न सकून्। मैले त सोचेकी पनि थिइनँ, एकदिन अचानक एक अगुवाले मलाई अर्को मण्डलीमा सिञ्‍चन कार्यको लागि मान्छे चाहिएकोले सिस्टर रानालाई त्यहाँको कर्तव्य सम्हाल्न खटाउन चाहेको कुरा गरिन्। यो कुरा सुन्दा मलाई एकदमै रिस उठ्यो, र प्रतिरोधको भावना जाग्यो र सोचें, काम गर्ने मान्छे आवश्यक परेको मण्डली त्यो मात्र त होइन नि। केही दिनपछि, ती अगुवाले सिस्टर रानालाई सरुवा गर्ने विचार फेरि अघि सार्दै उनीसित राम्रो क्षमता छ र उनलाई थप जिम्मेवारीको लागि प्रशिक्षण दिन सकिन्छ भनेर भनिन्। मैले जति धेरै सुने मेरो प्रतिरोध झनै बढ्यो र सोचें, “तपाईं उनलाई त्यतिकै लग्‍न चाहनुहुन्छ? तर हाम्रो मण्डलीको काममा धक्‍का लागिरहेमा, म त बर्खास्त हुनेछु।” यो महसुस भएपछि, मैले कड्किँदै भनें, “म त उनलाई यहीं राखेर अगुवा पदको लागि जगेर्ना गर्न सकिन्छ कि भन्‍ने सोच्दै थिएँ।” वास्तवमा मलाई अर्को मण्डलीमा बढी नवविश्‍वासीहरू आएका छन् र तिनीहरूलाई सिञ्‍चन गर्नुपर्ने आवश्यकता बढी छ भनेर थाहा थियो। मैले उनलाई पठाउँदिनँ भनेर सोझै भन्‍ने आँट त गरिनँ, तर ममा भित्रभित्रै रिस भरियो र मलाई नराम्रो लाग्यो, र मैले त्यो कुरा स्विकार्नै सकिनँ। ती अगुवाले भर्खरै हाम्रा मण्डलीहरूबाट दुईजना समूह अगुवाहरूलाई सरुवा गरेकी थिइन्, त्यसैले मैले निरन्तर नयाँ मानिसहरूलाई जगेर्ना गरिरहेकी र रिक्त स्थान भरिररहेकी थिएँ, र सबभन्दा महत्वपूर्ण कुरा, राम्रो मान्छे पाउनु सजिलो थिएन। मैले राम्रो नतिजा ननिकालेमा, अरूभन्दा राम्रो देखिने, र अरूलाई मैले के गर्न सक्छु भनेर देखाउने मौका कहिल्यै पाउनेथिनँ। मलाई त्यो कर्तव्य गर्न सक्दिनँ जस्तो लाग्यो र म झनै दयनीय भएँ। मलाई अन्याय भएझैँ लाग्यो र आँशु थाम्‍नै सकिनँ। मलाई त्यस्तो हालतमा देखेर ती अगुवाले परमेश्‍वरको इच्छा र मण्डलीमा कर्तव्यको बन्दोबस्त गर्ने सिद्धान्तहरूबारे सङ्गति गरिन्, तर त्यो मेरो मनमा घुसिरहेको थिएन। पछि, उनले मलाई मैले त्यसो गरेर मण्डलीको काममा बाधा पुर्‍याइरहेको छु भनेर भनिन्, तर मैले त्यो कुरा स्विकार्नै सकिनँ। मैले सोचें, “तर यो त हाम्रो मण्डलीलाई विचार गरेर गरिएको कुरा होइन र? मैले बाधा पुर्‍याइरहेको भए, तपाईं गर्नुहोस्। मलाई निकाल्‍दिनुहोस्, त्यसपछि त टन्टै खलास।” यसबारे त्यसरी सोच्दा मलाई नराम्रो लाग्यो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरें, “हे परमेश्‍वर, अहिले जे भइरहेको छ त्यसमा म समर्पित हुन सक्दिनँ। मलाई एकदमै अन्याय भएझैँ लाग्छ। हे परमेश्‍वर, कृपया मलाई मार्गदर्शन गर्नुहोस् ताकि ममा के गलत छ बुझ्न सकूँ।”

प्रार्थनापछि, ती अगुवाले सामान्य परिवर्तनहरू गर्नुपर्दा त्यसप्रति अरू मानिसहरूलाई कुनै समस्या नहुँदा, किन मलाई मात्र समस्या भएको हो भनेर चिन्तन गरें। मैले बस यससित लड्नु र यसलाई रोक्‍नु थियो। भित्रभित्र मैले त्यसको निकै प्रतिरोध गरें, र मैले त्यसो गरेको एक वा दुईपटक मात्र थिएन। मलाई त्यो स्वीकार गर्न यत्ति गाह्रो किन भएको? त्यसपछि, मलाई परमेश्‍वरका यी वचनहरू याद आए: “कर्तव्य भनेको तेरो आफ्नै उद्यम, तेरो आफ्नै करियर, वा तेरो आफ्नै काम होइन; त्यो परमेश्‍वरको काम हो। परमेश्‍वरको कामलाई तेरो सहकार्यको आवश्यकता पर्छ, जसले तेरो कर्तव्य पैदा गर्छ। मानिसले सहकार्य गर्नैपर्ने परमेश्‍वरको कामको भाग नै मानिसको कर्तव्य हो। कर्तव्य भनेको परमेश्‍वरको कामको भाग हो—यो तेरो जागिर होइन, वा तेरो घरायसी कामकाज वा तेरो जीवनको व्यक्तिगत कामकाज पनि होइन। तेरो कर्तव्य बाहिरी मामलाहरूसँग सम्‍बन्धित भए पनि वा भित्री मामलाहरूसँग सम्‍बन्धित भए पनि, त्यसमा मानसिक वा शारीरिक परिश्रम जे आवश्यक हुने भए पनि, यो तैँले निर्वाह गर्नुपर्ने कर्तव्य हो, यो मण्डलीको काम हो, यो परमेश्‍वरको व्यवस्थापन योजनाको एउटा भाग हो, र यो परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा हो। यो तेरो व्यक्तिगत कामकाज होइन। त्यसो भए, तैँले आफ्‍नो कर्तव्यलाई कसरी लिनुपर्छ त? कम्तीमा पनि, तैँले आफ्‍नो कर्तव्य आफूलाई जसरी मन लाग्यो त्यसरी गर्नु हुँदैन, तैँले लापरबाही रूपमा व्यवहार गर्नु हुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता सिद्धान्तहरू खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्छ)। “आखिर कर्तव्य के हो? यो परमेश्‍वरले मानिसहरूलाई सुम्पनुभएको एउटा आज्ञा हो, यो परमेश्‍वरको घरको कामको भाग हो, र परमेश्‍वरका चुनिएका हरेक मानिसहरूले वहन गर्नुपर्ने जिम्‍मेवारी र दायित्व हो। के कर्तव्य भनेको तेरो करियर हो र? के यो निजी पारिवारिक मामला हो? तँलाई कुनै कर्तव्य दिइएपछि, के त्यो कर्तव्य तेरो व्यक्तिगत व्यवसाय बन्छ भनेर भन्‍नु उचित हुन्छ? यस्तो त अवश्य नै भन्‍न मिल्दैन। त्यसो भए तैँले आफ्नो दायित्व कसरी पूरा गर्नुपर्छ? परमेश्‍वरका आवश्यक सर्तहरू, वचनहरू र मापदण्डहरूअनुसार काम गरेर, अनि तेरो व्यवहारलाई मानवीय व्यक्तिगत चाहनाहरूको साटो सत्यता सिद्धान्तहरूमा आधारित गरेर। केही मानिसहरू भन्छन्, ‘मलाई एक पटक कर्तव्य दिएपछि के त्यो मेरो आफ्नै काम हुँदैन र? मेरो कर्तव्य मेरो जिम्मेवारी हो, र मलाई जुन जिम्मेवारी दिइन्छ के त्यो मेरो आफ्नै काम हुँदैन र? यदि मैले आफ्नो कर्तव्यलाई आफ्नै कामको रूपमा सम्हाल्छु भने, के त्यसको अर्थ म त्यो ठिकसँग गर्छु भन्‍ने हुँदैन र? यदि मैले त्यसलाई मेरो आफ्नै कामको रूपमा व्यवहार गरिनँ भने के म त्यो राम्रोसँग गर्नेछु र?’ यी कुराहरू सही छन् कि गलत? ती गलत छन्; ती सत्यसँग अमिल्दा छन्। कर्तव्य तेरो व्यक्तिगत कामकाज होइन, यो परमेश्‍वरको कामकाज हो, यो परमेश्‍वरको कामको एउटा हिस्सा हो, र तैँले त्यही गर्नुपर्छ जे परमेश्‍वरले अह्राउनुहुन्छ; परमेश्‍वरमा समर्पित हुने हृदयको साथ कर्तव्य निर्वाह गर्दा मात्र तँ मापदण्डअनुरूपको हुनेछस्। यदि तँ सधैँ तेरा आफ्नै धारणा र कल्पनाहरूअनुसार, र तेरो आफ्नै झुकावअनुसार, आफ्नो कर्तव्य निर्वाह गर्छस् भने, तैँले कहिल्यै पनि मापदण्ड पूरा गर्नेछैनस्; आफूले चाहेजसरी मात्रै कर्तव्य निर्वाह गर्नु भनेको कर्तव्य निर्वाह गर्नु होइन, किनकि तैँले जे गरिरहेको छस् त्यो परमेश्‍वरको व्यवस्थापनको दायराभित्रको काम होइन, यो परमेश्‍वरको घरको काम होइन; यो त तैँले आफ्नै कामकारबाही सञ्‍चालन गरिरहेको र आफ्नै कार्य अघि बढाइरहेको अवस्था हो, र त्यसैले यसलाई परमेश्‍वरले सम्झनुहुन्‍न(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता सिद्धान्तहरू खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्छ)। मैले परमेश्‍वरका वचनहरूको बारेमा मनन गरेँ र कर्तव्य करियर होइन रहेछ, यो त परमेश्‍वरले मानिसहरूलाई दिनुभएको आज्ञा रहेछ भन्‍ने बुझेँ। त्यसैले यसलाई परमेश्‍वरका मपापदण्डहरूअनुसार अघि बढाउनुपर्छ। मैले आफ्नो व्यक्तिगत इच्छा र योजनाअनुसार जे मन लाग्यो त्यही गर्नु हुँदैन। यसो गरेमा मैले धेरै काम गरिरहेको जस्तो त देखिएला, तर त्यो मैले कर्तव्य पूरा गरिरहेको हुँदैन; यो त मैले आफ्नै उद्यम चलाइरहेको र परमेश्‍वरको विरोध गरिरहेको हुन्छ। अहिले मेरो व्यवहार सम्झिँदा, मलाई कोही व्यक्ति उपलब्ध गराउन भनिएको बेला, यदि मैले कर्तव्य पूरा गर्नमा प्रभावकारी रहेका मण्डली सदस्यहरूलाई जान दिएँ भने, हाम्रा मण्डलीहरूले राम्रो नतिजा निकाल्न सक्दैनन् र मैले मेरो पद गुमाउन सक्छु भनेर म चिन्तित थिएँ। मैले आफ्नो प्रतिष्ठा र हैसियत बचाउन मान्छे उपलब्ध गराउन चाहिनँ। मेरो कर्तव्य मलाई परमेश्‍वरले दिनुभएको हो र यो मेरो जिम्मेवारी हो भनेर सैद्धान्तिक रूपमा त मलाई थाहा थियो, तर व्यवहारमा भने, मैले यसलाई आफ्नै काम, आफ्नै जागिर ठानें। मलाई त्यो काम दिइएकोले, त्यो मेरो काम हो, त्यसैले यसमा अन्तिम निर्णय मेरै हुन्छ भन्‍ने लाग्यो। आफ्नो कामको नतिजामा असर नगर्दा मात्र, म मान्छे उपलब्ध गराउन इच्छुक हुन्थेँ, तर असर गर्नासाथ, म ढीठ गर्थेँ र कसैलाई पनि जान दिँदिनथेँ। त्यसकारण, सिस्टर रानालाई सरुवा गरिँदै छ भनेको सुन्दा, म अत्यन्तै निराश भएँ र उनलाई पठाउन चाहिनँ। मलाई ठूलै अन्याय भएको महसुस भयो, र रिस पोखाउन र आफ्नो कर्तव्य नगर्नसमेत मन लाग्यो। त्यस्तो पनि कर्तव्य निभाएको हुन्थ्यो र? मैले मण्डलीको काममा बाधा र रोकावट ल्याइरहेको स्पष्ट थियो। मैले कर्तव्य निर्वाह गर्दा बृहत चित्रको बारेमा विचार गरिरहेकी थिइनँ, न त मण्डलीका हितहरू नै कायम गरिरहेकी थिएँ बरु आफ्नै योजना बनाइरहेकी थिएँ, र मैले आफ्नो कर्तव्यलाई प्रतिष्ठा र हैसियत पाउने मौकाको रूपमा प्रयोग गरिरहेकी थिएँ। के मैले आफ्नै व्यवसाय सञ्‍चालन गरिरहेकी थिइनँ र? मैले जति नै धेरै काम गर्न सक्‍ने भए पनि, परमेश्‍वरले त्यस्तो व्यवहारलाई कहिल्यै स्मरण गर्नुहुनेथेन। मण्डलीलाई कसैको खाँचो पर्दा त्यसमा मैले उत्साहपूर्वक सहयोग गर्नुपर्थ्यो। मैले त्यसरी आफ्नै निजी स्वार्थहरूबारे मात्र सोच्न सक्दिनथेँ।

भोलिपल्ट भेलामा एक अगुवाले बताउनुभयो कि दाजुभाइ-दिदीबहिनीहरूलाई मलजल गर्ने र काम गर्ने मान्छेहरूको जगेर्ना गर्ने जिम्मेवारी मण्डली अगुवाहरूको हो ताकि सबैले आफूसुहाउँदो कर्तव्य निभाउन सकून्। त्यो कुरा सुन्दा मलाई सपनाबाट ब्यूँझे जस्तो भयो। उहाँले सही भन्‍‍नुभयो। दाजुभाइ-दिदीबहिनीहरूलाई मलजल गर्नु र उनीहरूलाई सुहाउने कर्तव्य पाउन मदत गर्नु मेरो कामकै हिस्सा थियो। तर अर्को मण्डलीलाई कसैको आवश्यकता पर्दा मैले बाह्य रूपमा इन्कार गर्ने आँट नगरे पनि, मनभित्र झगडा गरिरहेकी थिएँ, र उनीहरूलाई सरुवा नगर्ने हर बहाना बनाउँदै थिएँ। त्यो मैले आफ्नो कर्तव्य निभाइरहेको कुरो थिएन। मैले त्यो भूमिकामा आफ्नो जिम्मेवारी पूरा गरिरहेकी थिइनँ, र मलाई अप्ठ्यारो परिस्थितिमा पारेको भनी ती अवुवालाई दोषसमेत लगाइरहेकी थिएँ। मैले आत्मसमीक्षा गरिनँ; बस मण्डलीको काममा बाधा पुर्‍याएँ। ती सिस्टरले भनेझैँ के त्यस्तो व्यवहारले काममा जानाजान बाधा पुर्‍याइरहेको थिएन र? मैले पहिला त्यो कर्तव्य सम्हाल्दाको कुरा सम्झिएँ, म केवल परमेश्‍वरको घरको सुसमाचार प्रचार-कार्यमा विनम्रतापूर्वक आफ्नो भूमिका निभाउन चाहन्थें। तर अब म एक अवरोध, ठेस लाग्‍ने ढुङ्गा हुन पुगें। यस कुराले मलाई केही पछुतो भयो र आफैलाई भनेँ, अर्कोपटक मैले सत्यता अभ्यास गर्नुपर्छ, मैले त्यस्तो स्वार्थी र तुच्छ तरिकाले आफ्नो बारेमा मात्र ध्यान दिनु हुँदैन्।

केही दिनपछि, ती अगुवाले मलाई टोलीका केही सदस्यहरूलाई अर्को मण्डलीमा सरुवा गर्न सन्देश पठाइन्। त्यो सन्देश पाउँदा म पूर्ण शान्त थिएँ र यो परिस्थिति मलाई सत्यता अभ्यास गर्ने मौकाको रूपमा आएको हो भनेर बुझें। तर टोली सदस्यहरूको मूल्याङ्कन गर्दै गर्दा, मलाई अलि हिच्किचाहट भयो र वास्तवमै टोलीका सबैभन्दा असल दुई सिस्टरहरूलाई पठाऊँ कि त्यति असल नभएका अर्का दुई सिस्टरलाई पठाउन सकिन्छ भनेर सोचें। त्यस्तो सोचाइ राखेकोमा, आफू स्वार्थी भएको र फेरि उही गल्ती गर्दै छु भन्‍ने महसुस भयो। त्यसपछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढें: “छली र दुष्ट मानिसहरूको हृदय व्यक्तिगत महत्त्वाकाङ्क्षा, योजना र षड्यन्त्रहरूले भरिभराउ हुन्छ। के यी कुराहरू पन्छाउन सजिलो छ? (छैन।) यदि तँ अझै तेरो कर्तव्य उचित रूपमा निभाउने इच्छा गर्छस् तर यी कुराहरू पन्छाउन सक्दैनस् भने, तैँले के गर्नुपर्छ? त्यसको लागि एउटा मार्ग छ: तैँले जे गरिरहेको छस् त्यसको प्रकृतिबारे तँ प्रस्ट हुनुपर्छ। यदि कुनै कुराले परमेश्‍वरको घरका हितहरूसित सरोकार राख्छ, र त्यो ठूलो महत्त्वको छ भने, तैँले त्यसलाई थाती राख्न हुँदैन, र तैँले गल्ती गर्न, परमेश्‍वरको घरका हितमा हानि पुर्‍याउन, वा परमेश्‍वरको घरको काम बिथोल्‍न हुँदैन। तैँले कर्तव्य निभाउँदा पालना गर्नुपर्ने सिद्धान्त यही हो। यदि तँ परमेश्‍वरको घरका हितहरूमा हानि पुर्‍याउनबाट जोगिन चाहन्छस् भने, सुरुमा तैँले तेरा महत्त्वाकाङ्क्षा र चाहनाहरू त्याग्‍नुपर्छ; तैँले तेरा हितहरूमा धेरथोर सम्झौता गर्नुपर्छ, तिनलाई पन्छाउनुपर्छ, र तैँले खतराको सीमा नाघी परमेश्‍वरको स्वभाव चिढ्याउनुभन्दा चाँडै अलिअलि कठिनाइ सहनुपर्छ। यदि तैँले तेरा ससाना महत्त्वाकाङ्क्षाहरू र आडम्बर पूरा गर्न मण्डलीको काम बिगार्छस् भने, तेरो अन्तिम परिणाम के हुनेछ? तँ प्रतिस्थापित हुनेछस्, र सायद हटाइनेछस्। तैँले परमेश्‍वरको स्वभाव भड्काएको हुनेछस्, र तँसित मुक्ति प्राप्त गर्ने थप कुनै मौका नहुन सक्छ। परमेश्‍वरले मानिसहरूलाई सीमित मौकाहरू दिनुहुन्छ। मानिसहरूले परमेश्‍वरको जाँच भोग्ने कति मौकाहरू पाउँछन्? यो तिनीहरूको सारअनुसार निर्धारित हुन्छ। यदि तैँले तँलाई दिइएका अवसरहरू सक्दो सदुपयोग गर्छस् भने, यदि तँ आफ्नो घमण्ड र आडम्बर त्याग्न सक्छस्, र मण्डलीको काम राम्ररी गर्न प्राथमिकता दिन्छस् भने, तँसित सही मानसिकता छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता सिद्धान्तहरू खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्छ)। यो खण्ड पढेपछि, मैले महसुस गरेँ कि चाहे मेरो व्यक्तिगत प्रतिष्ठा र सुविधामै असर परे पनि, मैले कम्तीमा पनि मण्डलीको हितसँग सरोकार रहेको कामलाई असर पार्न र रोक्‍न सक्दिनथेँ। पहिले, टोलीका उत्कृष्ट मण्डली सदस्यहरूलाई स्थानान्तरण गरियो भने, हाम्रा मण्डलीहरूको काममा आँच आउनेछ र म बर्खास्त हुनेछु भनेर सधैं चिन्तित हुन्थें। तर मण्डलीका हितहरू रक्षा गर्दा र उहाँको इच्छाको ख्याल गर्दा, को बर्खास्त हुन्छ र? कोही पनि बर्खास्त हुँदैन। यसको विपरीत, स्वार्थी र घृणित अनि मण्डलीको काम र हितहरूमा बाधा पुर्‍याउँदै टोलीका असल सदस्यहरूलाई पठाउन नचाहने व्यक्तिलाई चाहिं बर्खास्त गरिन्छ र हटाइन्छ। अनि, मैले ती सिस्टरहरूलाई आफूसितै राख्दैमा हाम्रा मण्डलीहरूले राम्रो नतिजा निकाल्थे भन्‍ने पनि त थिएन। यदि मेरा मनसायहरू गलत थिए, र मैले आफ्नो नाम र ओहदालाई जोगाइरहेकी हुन्थेँ भने, पवित्र आत्माको कार्य प्राप्त गर्नेथिनँ, अनि परमेश्‍वरको मार्गनिर्देशनबिना कसरी मैले आफ्नो कर्तव्यमा राम्रा नतिजाहरू प्राप्त गर्न सक्थें र? यी सोचाइले मेरो मन अलि हलुको भयो र परमेश्‍वरलाई मनमनै भनें, “हे परमेश्‍वर, म सत्यता अभ्यास गर्न र तपाईंलाई सन्तुष्ट पार्न चाहन्छु, आफ्नो नाम र हैसियत जोगाउन चाहन्‍नँ।” त्यसपछि, मैले त्यो अर्को मण्डलीलाई उत्कृष्ट कार्यप्रस्तुति दिन सक्‍ने टोलीका दुई सदस्यहरू उपलब्ध गराएँ। मैले यो अभ्यास गर्नासाथ वास्तवमै शान्ति महसुस गरें। आफू त्यस्तो व्यक्ति बनेकोमा मलाई खुसी लाग्यो।

त्यस अनुभवपछि, आफू अलिक बद्लेको जस्तो लाग्यो, तर अचम्म, त्यसको केही समयपछि नै म फेरि पनि पूर्ण रूपले उदाङ्गो पारिएँ। एकदिन एक सिस्टरले मलाई हाम्रा मण्डलीहरूमा द्विभाषी नवविश्‍वासीहरू निकै धेरै भएकाले केही थप सिञ्‍चन सदस्यहरू उपलब्ध गराउदिनुस् न भनेर भनिन्। यदि त्यस्तो हो भने त, मैले प्रायः सबै द्विभाषी र राम्रो क्षमता भएकाहरूलाई पठाउनुपर्ने हुनेथ्यो। यस मोडमा, फेरि मलाई आफ्नो प्रतिष्ठा र पदबारे चिन्ता लाग्‍न थाल्यो। यदि यी मान्छेहरू गए भने, हाम्रा मण्डलीहरूको सुसमाचार कार्य निश्‍चय नै प्रभावित हुन सक्छ भनेर म डराएँ। त्यो साँझ ती अगुवाले कुरा के हुँदैछ भनेर जान्‍नलाई सन्देश पठाइन्। मलाई भित्रभित्रै निकै प्रतिरोध गर्न मन लाग्यो। उनले भनेका सबै नाममा मैले एउटै जवाफ दिएँ: “हवस,” “हुन्छ।” उनले विस्तृत जानकारी माग्दा मलाई केही पनि भन्‍न मन लागेन। मैले सोचें, “पहिलो कुरा त, म यी मान्छेहरू पठाउन चाहन्‍नँ, तर तपाईं प्रश्‍नमाथि प्रश्‍न गरिरहनुहुन्छ। तपाईंले कर्तव्य निभाउन सक्‍ने सबैलाई ओसारेर हाम्रा मण्डलीहरू रित्याउँदै हुनुहुन्छ। मैले आफ्नो काम कसरी गर्ने हो?” मनभरि विरोध जाग्यो र म समर्पित हुनै सकिनँ।

केही पछि एउटा भेलामा, परमेश्‍वरका वचनहरू पाठ गरिएको एउटा भिडियो हेरें, त्यसबाट मलाई आफ्नो भ्रष्टता बुझ्न मदत मिल्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “ख्रीष्टविरोधीहरूको स्वार्थीपन र दुष्टताको सार प्रस्टै छ; तिनीहरूका यस्ता प्रकटीकरणहरू एकदमै स्पष्ट हुन्छन्। मण्डलीले तिनीहरूलाई सानो काम सुम्पन्छ, र यदि त्यसले नाम र दाम दिन्छ र तिनीहरूलाई आफ्नो प्रदर्शन गर्न दिन्छ भने, तिनीहरू अत्यन्तै चासो लिएर त्यो काम स्विकार्न इच्छुक हुन्छन्। यदि त्यो काममा जस पाइँदैन वा मानिसलाई चिढ्याउनुपर्ने हुन्छ, वा त्यसले तिनीहरूलाई आफ्नो प्रदर्शन गर्न दिँदैन वा तिनीहरूको प्रसिद्धि, प्राप्ति वा हैसियतलाई फाइदा गर्दैन भने, तिनीहरू चासो देखाउँदैनन् र त्यो काम स्विकार्नेछैनन्, मानौँ यो कामको तिनीहरूसँग कुनै सम्बन्ध छैन, र त्यो तिनीहरूले गर्नुपर्ने काम होइन। तिनीहरूलाई कठिनाइहरू आइपर्दा, तिनीहरू ती समाधान गर्न मरेकाटे सत्यता खोज्दैनन्, झन् त्यसलाई समग्रतामा हेरेर मण्डलीको कामबारे सोच्ने त कुरै छाडौँ। उदाहरणका लागि, परमेश्‍वरको घरको कामको दायराभित्र, कामको समग्र आवश्यकताको आधारमा, केही व्यक्तिहरूलाई स्थानान्तर गरिनुपर्ने हुन सक्छ। यदि मण्डलीबाट एकदुई जना मानिसहरूलाई स्थानान्तर गरियो भने, मण्डलीका अगुवाहरूले यस मामिलालाई सम्हाल्ने बुद्धिमानी तरिका के होला? तिनीहरू समग्र हितहरूबारे नभई, आफ्‍नै मण्डलीको हितबारे मात्रै चिन्तित हुन्छन् भने, र यदि ती मानिसहरूलाई सरुवा गर्न बिलकुलै अनिच्छुक हुन्छन् भने, के समस्या हुन्छ? किन मण्डली अगुवाका रूपमा तिनीहरूले परमेश्‍वरको घरका केन्द्रीकृत बन्दोबस्तहरू पालना गर्न सक्दैनन्? के त्यस्तो व्यक्तिले परमेश्वरका अभिप्रायहरूको ख्याल गर्छ? के उसले कामको समग्र परिदृश्यमा ध्यान दिन्छ? यदि तिनीहरूले परमेश्‍वरको घरको कामलाई समग्र रूपमा सोच्दैनन्, केवल आफ्‍नै मण्डलीका हितहरूबारे सोच्छन् भने, के तिनीहरू अत्यन्तै स्वार्थी र नीच हुँदैनन् र? मण्डली अगुवाहरू बिनासर्त परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरूमा, अनि परमेश्‍वरको घरका केन्द्रीय बन्दोबस्त र समन्वयमा समर्पित हुनुपर्छ। यो कुरा सत्यता सिद्धान्तअनुरूप हुन्छ। परमेश्‍वरको घरको कामले मागेमा, व्यक्ति जोसुकै भए पनि, हरेक व्यक्तिले परमेश्‍वरको घरका समन्वय र बन्दोबस्तहरूलाई मान्‍नुपर्छ, र कुनै पनि व्यक्तिगत अगुवा वा सेवकको स्वामित्वमा वा उसको निर्णयको अधीनमा भएजस्तै गरी उसको नियन्त्रणमा बस्‍नु हुँदैन। परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरको घरका केन्द्रीय बन्दोबस्तहरूलाई पालना गर्नु पूर्णतया स्वाभाविक र जायज कुरा हो, र कुनै अगुवा वा सेवकले सिद्धान्तविपरीत आफूखुसी सरुवा नगरेसम्म यी बन्दोबस्तहरूलाई कसैले पनि उल्‍लङ्घन गर्न मिल्दैन, आफूखुसी सरुवा गरेको खण्डमा यो बन्दोबस्तलाई अवज्ञा गर्न सकिन्छ। यदि सिद्धान्तहरूबमोजिम सामान्य सरुवा गरिएको छ भने, परमेश्‍वरका चुनिएका मानिसहरू सबैले पालना गर्नुपर्छ, र कुनै पनि अगुवा वा सेवकसँग अरू कसैलाई नियन्त्रण गर्ने अधिकार वा कारण हुँदैन। के तिमीहरू यस्तो कुनै काम हुन्छ भनेर भन्छौ जुन परमेश्‍वरको घरको काम हुँदैन? के यस्तो कुनै काम हुन्छ जसमा परमेश्‍वरको राज्यको सुसमाचारको विस्तार सामेल हुँदैन? यो सबै परमेश्‍वरको घरको काम हो, प्रत्येक काम बराबर छ, र यहाँ ‘तेरो’ र ‘मेरो’ हुँदैन। … परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरको घरले केन्द्रीय रूपमा अह्राउखटाउ गर्छ। यसको कुनै अगुवा, समूह प्रमुख, वा व्यक्तिसँग कुनै सरोकार हुँदैन। सबैले सिद्धान्तअनुसार काम गर्नुपर्छ; यो परमेश्‍वरको घरको नियम हो। ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरका सिद्धान्तहरूअनुसार व्यवहार गर्दैनन्, तिनीहरू आफ्‍नै हैसियत र हितहरूको खातिर निरन्तर षड्यन्‍त्र रच्छन्, र आफ्नै शक्ति र हैसियतलाई दह्रिलो बनाउन असल क्षमता भएका दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो सेवा गर्न लगाउँछन्। के यो स्वार्थी र नीच होइन र? बाहिरबाट हेर्दा, असल क्षमता भएका मानिसहरूलाई आफ्नै साथमा राख्दा र परमेश्‍वरको घरलाई ती मानिसहरूलाई सरुवा गर्न नदिँदा, तिनीहरूले मण्डलीको कामको बारेमा सोचेर तिनीहरूलाई सरुवा हुन नदिएजस्तो देखिन्छ, तर वास्तवमा तिनीहरूले आफ्‍नै शक्ति र हैसियतको बारेमा मात्र सोचिरहेका हुन्छन्, मण्डलीको कामको बारेमा बिलकुलै सोचिरहेका हुँदैनन्। तिनीहरू आफूले मण्डलीको काम राम्रोसित नगर्ने आफूलाई हटाइने, र आफ्‍नो हैसियत गुम्ने हो कि भनी डराउने गर्छन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरको बृहत् कामको बारेमा सोच्दैनन्, बरु आफ्‍नै हैसियतको बारेमा मात्रै सोच्छन्, परमेश्‍वरको घरका हितहरूमा पुग्‍ने क्षतिको बारेमा कुनै हिसाबकिताब नगरी आफ्‍नै हैसियत जोगाउँछन्, र मण्डलीको काममा हानि पुर्‍याउँदै आफ्‍नै हैसियत र हितहरूको रक्षा गर्छन्। यो स्वार्थी र नीच हो। यस्तो परिस्थितिको सामना गर्दा, व्यक्तिले कम्तिमा पनि आफ्नो अन्तस्करणले सोच्नुपर्छ: ‘यी मानिसहरू सबै परमेश्‍वरको घरका हुन्, तिनीहरू मेरो व्यक्तिगत सम्पत्ति होइनन्। म पनि परमेश्‍वरको घरको सदस्य हुँ। परमेश्‍वरको घरलाई मानिसहरूको सरूवा गर्नबाट रोक्‍ने मलाई के अधिकार छ र? मैले आफ्नै जिम्मेवारीको क्षेत्रभित्रको काममा मात्र ध्यान केन्द्रित गर्नुको सट्टा, परमेश्‍वरको घरको समग्र हितलाई विचार गर्नुपर्छ।’ विवेक र समझ हुने व्यक्तिहरूमा यस्ता विचारहरू पाइनुपर्छ, र परमेश्‍वरमा विश्‍वास गर्नेहरूमा यस्तो समझ हुनुपर्छ। परमेश्वरको घर समग्र काममा सामेल हुन्छ अनि मण्डलीहरू आंशिक कामहरूमा सामेल हुन्छन्। त्यसकारण, जब परमेश्‍वरको घरमा मण्डलीको विशेष खाँचो हुन्छ, तब अगुवा र सेवकहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरको घरका बन्दोबस्तहरूलाई पालना गर्नु हो। झूटा अगुवा र ख्रीष्टविरोधीहरूमा त्यस्तो विवेक र समझ हुँदैन। तिनीहरू सबै निकै स्वार्थी हुन्छन्, तिनीहरूले आफ्‍नै बारेमा मात्रै सोच्छन्, र तिनीहरूले मण्डलीको कामको बारेमा सोच्दैनन्। तिनीहरूले आफ्नै आँखाअगाडि फाइदा हुने कुरा मात्रै सोच्छन्, तिनीहरूले परमेश्‍वरको घरको व्यापक कामबारे सोच्दैनन्, त्यसकारण तिनीहरू परमेश्‍वरको घरका बन्दोबस्तहरू पालना गर्न पूर्ण रूपमा असमर्थ हुन्छन्। तिनीहरू अत्यन्तै स्वार्थी र दुष्ट हुन्छन्! परमेश्‍वरको घरमा, तिनीहरू निडर भई बाधक बन्‍छन्, र अटेरी गर्ने दुस्साहस समेत गर्छन्, तिनीहरू मानवताको कमी भएका मानिसहरू हुन्, तिनीहरू दुष्ट मानिसहरू हुन्। ख्रीष्टविरोधीहरू त्यस्तै प्रकारका मानिसहरू हुन्। तिनीहरू सधैँ मण्डलीको काम, र दाजुभाइ-दिदीबहिनीहरूलाई, र आफ्नै जिम्मेवारीको दायराभित्र पर्ने परमेश्‍वरको घरको सम्पत्तिलाई समेत तिनीहरूको आफ्नै निजी सम्पत्तिजस्तो व्यवहार गर्छन्। तिनीहरू यी कुराहरूलाई कसरी वितरण, स्थानान्तरण र प्रयोग गर्ने त्यो तिनीहरूकै तजबिजमा निर्भर हुन्छ, र परमेश्‍वरको घरलाई हस्तक्षेप गर्न अनुमति दिइँदैन भन्ने विश्वास गर्छन्। एकपल्ट ती कुराहरू तिनीहरूको हातमा पुगेपछि यस्तो लाग्छ मानौँ ती शैतानको कब्जामा छन्, र कसैलाई पनि ती कुराहरू छुने कुनै अनुमति हुँदैन। तिनीहरू ठूलाठालू र नाइके हुन्छन्, र तिनीहरूको क्षेत्रमा जाने जोकोहीले सुशील र नम्र तरिकाले तिनीहरूको आदेश र प्रबन्धहरू पालन गर्नुपर्छ, र तिनीहरूका भावहरूअनुसार चल्नुपर्छ। यो ख्रीष्टविरोधीहरूको चरित्रभित्रको स्वार्थीपन र नीचताको प्रकटीकरण हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभावको सारको सारांश (भाग एक))। परमेश्‍वरका वचनहरूले मेरो आफ्नै स्थितिलाई प्रकट गरिदिए। दाजुभाइ-दिदीबहिनीहरूलाई मैले आफ्नो कब्जामा राख्‍न चाहनु र उनीहरूलाई अरू मण्डलीहरूमा सुम्पन नचाहनु स्वार्थी र घृणित कुरा थियो, अनि मैले ख्रीष्टविरोधी स्वभाव देखाइरहेकी थिएँ। अगुवाले हाम्रा मण्डलीहरूबाट कसैलाई स्थानान्तरण गर्न चाहँदा, त्यो पूरै अवधिभर, मनमा प्रतिरोध जाग्यो र उक्त स्थानान्तरण स्विकार्न अनिच्छुक बनेँ। मैले रिसको झोंकमा काम गरेँ, म कड्किएँ र मैले अन्याय भएको महसुस गरें र मेरो आँसु झर्‍यो। अगुवाले मेरो सोचाइ परिवर्तन गर्न मदत गर्ने हेतुले सङ्गति नगरेसम्म र मलाई केही राम्रा कुराहरू नभनेसम्म म त्यस कुरामा सहमत भइनँ। म परमेश्‍वरले पर्दाफास गर्नुभएको हाकिमजस्तै थिएँ, जो आफू जिम्मेवार भएका मण्डलीहरूबाट मान्छे स्थानान्तरणको सन्दर्भमा आफ्नो निर्णय चलाउन चाहन्थ्यो। मान्छेहरूको खाँचो पर्दा मैले चाहें भने मात्र उनीहरू जान सक्थे, तर मेरो अनुमतिबिना कसैले पनि उनीहरूलाई छुन सक्दैनथ्यो। मैले हुन्छ भनेर नभनुन्जेल कोही पनि जान सक्दैनथ्यो। मैले मण्डलीहरूलाई आफ्नो कब्जामा जकडेर राखिरहेको थिएँ, सबैकुरा मेरो आदेशमा चल्थ्यो। मण्डलीहरूको इन्चार्ज ख्रीष्ट नभई म थिएँ। मानौं कि जगेर्ना गरिएका नवविश्‍वासीहरू मेरै पेवा हुन्। तिनीहरूले आफ्नो कर्तव्यमा प्राप्त गरेका उपलब्धिलाई म आफ्नो पद सशक्त पार्न प्रयोग गर्न चाहन्थें। म कति निर्लज्‍ज थिएँ! के म परमेश्‍वरविरुद्धको ख्रीष्टविरोधी मार्गमा हिँडिरहेकी थिइनँ र? यो परिस्थितिले मलाई धार्मिक संसारका पाष्टर र एल्डरहरूको याद दिलायो। तिनीहरूलाई सर्वशक्तिमान परमेश्‍वरको मण्डलीले प्रभु आउनुभएको छ र उहाँले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ भनेर गवाही दिन्छ भन्‍ने थाहा छ, तर तिनीहरू आफ्ना मण्डलीहरूले यी सत्यताहरू बुझेपछि सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउँछन्, र तिनीहरूले आफ्नो हैसियत, प्रतिष्ठा र जीविका गुमाउनुपर्नेछ भनेर डराउँछन्, र विश्‍वासीहरूलाई साँचो मार्ग पछ्याउनदेखि रोक्‍नको लागि आफ्नो शक्तिले भ्याएसम्म सबै प्रयास गर्छन्। तिनीहरूले भेडाहरू तिनीहरूकै हुन् भनेर सीधै भन्छन् र ती भेडाहरूलाई परमेश्‍वरको आवाज सुन्‍न र उहाँलाई पछ्याउन दिँदैनन्। तिनीहरूले विश्‍वासीहरूलाई आफ्नो व्यक्तिगत सम्पत्ति ठान्छन्, उनीहरूलाई कडा नियन्त्रणमा राख्छन् र उनीहरूको खातिर परमेश्‍वरसँग लडाइँ गर्छन्। ती पाष्टर र एल्डरहरू आखिरी दिनहरूमा खुलासा भएका दुष्ट दास र ख्रीष्टविरोधीहरू हुन्। सारगत रूपमा कसरी मेरा कार्यहरू पाष्टर र एल्डरहरूका कार्यहरूभन्दा फरक थिए र? मैले आफ्नो प्रतिष्ठा र पद जोगाउन अरूलाई नियन्त्रण गरिरहेकी थिएँ। मैले पश्‍चात्ताप गरिनँ भने, अन्ततः परमेश्‍वरले मलाई ख्रीष्टविरोधीहरूसँगै धिक्‍कार्नुहुनेछ र सजाय दिनुहुनेछ भनेर मलाई थाहा थियो। परमेश्‍वरका चुनिएका मानिसहरू उहाँका हुन्, कुनै मानिसका होइनन्। अन्य मण्डलीहरूमा आवश्यक भएका कुनै पनि व्यक्तिलाई आवश्यकताअनुसार स्थानान्तरण गर्न सकिन्छ। आफूले सम्हालिरहेका मण्डलीहरूमा कसैलाई पनि राखिराख्‍ने अधिकार मसित थिएन। अगुवाहरूले कामको बन्दोबस्त मिलाउँदा र मानिसहरूको स्थानानतरण गर्दा, तिनीहरूले आदरको कारणले मसँग रायसुझाव माग्छन् र साथमा मबाट सुमधुर सहकार्यको अपेक्षा गर्छन्। वास्तवमा, मेरो सहमति नलिई कसैलाई सिधै स्थानान्तरण गर्नु पनि औचित्यपूर्ण नै हुनेथ्यो। मानिसहरूलाई आफ्नो नियन्त्रणमा राख्‍ने अधिकार मसित थिएन। म त्यस्तो स्वार्थी भएर जिउन सक्दिनँ भन्‍ने मलाई थाहा थियो, परमेश्‍वरले मलाई जीवन दिनुभएको थियो, अनि मचाहिँ किन आफ्नै लागि लड्दै थिएँ त? मैले मण्डलीको लागि ठूलो योगदान दिन नसके पनि कम्तीमा पनि बाधाचाहिं पुर्‍याउनु हुँदैनथ्यो। मैले मण्डलीको काममा लाभ पुर्‍याउने अझ धेरै कुरा गर्नुपर्थ्यो। त्यसपछि, मैले जरुरी पर्नासाथ स्वस्फूर्त रूपले सरुवामा मदत गर्न थालेँ र आफ्नै हितहरूबारे मात्र सोच्न छोडें।

एकपटक, मैले अर्को मण्डलीमा सरुवा गरेको एक सिस्टरले त्यहाँ उनीहरूले गरेको सुसमाचार प्रचार-कार्यबाट उनले र अन्य दाजुभाइ-दिदीबहिनीहरूले धेरै कुरा प्राप्त गरेको बताउँदै मलाई एक सन्देश पठाइन्। मलाई एकदमै खुसी लाग्यो र म लज्‍जित पनि भएँ। उनीहरूले राज्य सुसमाचार फैलाउने आफ्नो भूमिका निर्वाह गर्न सकेको थाहा पाउँदा म एकदमै खुसी भएकी थिएँ। तर म लज्‍जित यो कारणले भएँ कि यदि मैले अवरोध नबनी स्वेच्छाले मानिसहरू उपलब्ध गराएको भए, उनीहरू धेरै अघि नै प्रशिक्षित हुन सक्थे। त्यसैले, मैले परमेश्‍वरलाई प्रार्थना गरें र अबउप्रान्त आफ्नो भ्रष्ट स्वभावअनुसार जिउन चाहिनँ, बरु यसको सट्टा राम्रा मान्छेहरू उपलब्ध गराउन, सुसमाचार कामको लागि आफ्नो भूमिका निर्वाह गर्न र आफ्नो कर्तव्य पूरा गर्न चाहेँ।

अघिल्लो: ८९. हेर्नुहोस् मेरा आमाबुबा को हुन्

अर्को: ९१. लापरवाहीपन पछाडिको सत्यता

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

६३. अहङ्कारी स्वभाव परिवर्तन गर्न सकिँदैन भनेर कसले भन्छ?

झाओ फान, चीनपरमेश्‍वरका वचनहरूले भन्छ, “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय, र...

१५. झुटहरू पश्‍चात्

चेन शी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले इमानदारलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। वास्तवमा,...

२३. परमेश्‍वरलाई मेरो हृदय दिँदा

क्षिन्चे, दक्षिण कोरियावर्ष २०१८ को जुन महिनामा, मैले राज्यको स्तुतिगानको प्रदर्शनका लागि अभ्यास गरें। परमेश्‍वरको प्रशंसा गर्दै र उहाँको...

१७. कमजोर क्षमता बहाना होइन

झुइक्‍वी, चीनविगतका समयमा, मैले मेरो कर्तव्य गर्ने समयमा कठिनाइको सामना गर्नु पर्दा, वा मैले नराम्रोसँग काम गर्दा, मेरो क्षमता कमजोर भएर हो...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्