परमेश्वर र उहाँको कार्यलाई चिन्नेहरू मात्र परमेश्वरलाई सन्तुष्ट पार्न सक्नेहरू हुन्
देहधारी परमेश्वरको कार्य दुई भागमा समावेश छ। जब उहाँ पहिलो पटक देह बन्नुभयो, मानिसहरूले उहाँमा विश्वास गरेनन् वा उहाँलाई चिनेनन्, र तिनीहरूले येशूलाई क्रूसमा टाँगे। त्यसपछि, जब उहाँ दोस्रो पटक देह बन्नुभयो, मानिसहरूले अझै पनि उहाँमा विश्वास गरेनन्, उहाँलाई जान्ने कुरा त परै जाओस्, र फेरि एक पटक तिनीहरूले ख्रीष्टलाई क्रूसमा टाँगे। के मानिस परमेश्वरको शत्रु होइन र? यदि मानिसले उहाँलाई चिन्दैन भने, मानिस कसरी परमेश्वरसँग घनिष्ठ हुन सक्थ्यो र? ऊ कसरी परमेश्वरको गवाही दिन योग्य हुन सक्थ्यो र? के परमेश्वरलाई प्रेम गर्ने, परमेश्वरको सेवा गर्ने, र परमेश्वरलाई महिमित गर्ने मानिसका दाबीहरू सबै कपटपूर्ण झूट होइनन् र? यदि तैँले आफ्नो जीवन यस्ता अवास्तविक, अव्यवहारिक कुराहरूमा समर्पित गर्छस् भने, के तैँले व्यर्थमा परिश्रम गर्दैनस् र? जब परमेश्वर को हुनुहुन्छ भन्ने कुरा समेत तँलाई थाहा छैन भने तँ कसरी परमेश्वरसँग घनिष्ठ हुन सक्थिस्? के यस्तो किसिमको खोजी अस्पष्ट र अमूर्त छैन र? के यो कपटपूर्ण छैन र? कुनै व्यक्ति कसरी परमेश्वरसँग घनिष्ठ बन्न सक्छ? परमेश्वरसँग घनिष्ठ हुनुको व्यावहारिक महत्त्व के हो? के तँ परमेश्वरका आत्मासँग घनिष्ठ हुन सक्छस्? आत्मा कति महान् र उच्च हुनुहुन्छ भन्ने कुरा के तँ देख्न सक्छस्? अदृश्य, अस्पृश्य परमेश्वरसँग घनिष्ठ हुनु—के त्यो अस्पष्ट र अमूर्त छैन र? यस्तो खोजीको व्यावहारिक महत्त्व के हो? के यो सबै कपटपूर्ण झूट होइन र? तँ जे कुराको पछि लाग्छस् त्यो परमेश्वरसँग घनिष्ठ बन्नु हो, तथापि वास्तवमा तँ शैतानको काखे-कुकुर होस्, किनकि तैँले परमेश्वरलाई चिन्दैनस्, र तँ अस्तित्वविहीन “यावत् थोकहरूका परमेश्वर” को पछि लाग्छस्, जुन अदृश्य, अस्पृश्य, र तेरो आफ्नै विचारहरूको एक उपज हो। मोटामोटी रूपमा भन्नुपर्दा, यस्तो “परमेश्वर” शैतान हो, र व्यावहारिक रूपमा भन्नुपर्दा, यो तँ आफै होस्। तँ आफैसँग घनिष्ठ हुन खोज्छस्, तैपनि तँ परमेश्वरसँग घनिष्ठ बन्न खोज्छु भनी भन्छस्—के यो ईश्वरनिन्दा होइन र? यस्तो खोजीको महत्त्व के हो? यदि परमेश्वरका आत्मा देह बन्नुहुन्न भने, परमेश्वरको सारतत्त्व केवल मानिसको निम्ति एक अदृश्य, अस्पर्श्य जीवनको आत्मा, आकारविहीन र निराकार, अभौतिक प्रकारको, पहुँचरहित र अबोध्य हुन्छ। मानिस कसरी यस्तो अपार्थिव, अनुपम, अगाध आत्मासँग घनिष्ठ हुन सक्थ्यो र? के यो एक ठट्टा होइन र? यस्तो निरर्थक तर्क अमान्य र अव्यावहारिक छ। सृष्टि गरिएको मानिस परमेश्वरका आत्माभन्दा स्वभावैले फरक प्रकृतिको छ, त्यसैले यी दुई कसरी घनिष्ठ हुन सक्छन्? यदि परमेश्वरका आत्मा देहमा नआउनुभएको भए, यदि परमेश्वर देह नबन्नुभएको भए र सृष्टि गरिएको प्राणी बन्नको लागि उहाँले आफैलाई नहोच्याउनुभएको भए, सृष्टि गरिएको मानिस उहाँसँग घनिष्ठ हुनको लागि दुवै अयोग्य र असक्षम हुनेथियो, र आफ्ना आत्मा स्वर्गमा प्रवेश गरिसकेपछि परमेश्वरसँग घनिष्ठ हुने मौका पाउन सक्ने ती धर्मी विश्वासीहरूभन्दा बाहेक, अधिकांश मानिसहरू परमेश्वरका आत्मासँग घनिष्ठ हुन असमर्थ हुनेथिए। अनि यदि मानिसहरू देहधारी परमेश्वरको अगुवाइ अन्तर्गत स्वर्गमा हुनुहुने परमेश्वरका निकटवर्तीहरू बन्ने इच्छा गर्छन् भने, के तिनीहरू अचम्मै मूर्ख गैर-मानिसहरू होइनन् र? मानिसहरू अदृश्य परमेश्वरप्रतिको “विश्वासयोग्यता” लाई फगत पछ्याउँछन्, र देख्न सकिने परमेश्वरलाई कति पनि ध्यान दिँदैनन्, किनकि अदृश्य परमेश्वरलाई पछ्याउनु अति सजिलो छ। मानिसहरू यो उनीहरूले चाहेजस्तै गर्न सक्छन्, तर दृश्यगत परमेश्वरको खोजी त्यति सजिलो छैन। अस्पष्ट परमेश्वरलाई खोज्ने व्यक्तिले परमेश्वरलाई प्राप्त गर्न नितान्तै असमर्थ हुन्छ, किनकि अस्पष्ट र अमूर्त कुराहरू सबै मानिसहरूद्वारा परिकल्पित हुन्छन्, र मानिसद्वारा हासिल गरिन असक्षम हुन्छन्। यदि तिमीहरूको माझमा आउनुभएको परमेश्वर उच्च हुनुभएको र उचालिनुभएको परमेश्वर, जो तिमीहरूको पहुँचरहित हुनुभएको भए, तिमीहरूले उहाँका अभिप्राय कसरी बुझ्न सक्थ्यौ र? अनि तिमीहरूले उहाँलाई कसरी चिन्न र जान्न सक्थ्यौ? यदि उहाँले आफ्नो कार्य मात्र गर्नुभएको भए, र मानिससँग कुनै सामान्य सम्पर्क नगर्नुभएको भए, वा सामान्य मानवत्व नभएको र केवल मरणशीलहरूसम्म पहुँचरहित हुनुभएको भए, अनि, यदि उहाँले तिमीहरूको लागि निकै कार्य समेत गर्नुभएको तर तिमीहरूले उहाँसँग कुनै सम्पर्क नराखेको भए, र उहाँलाई देख्न असमर्थ भएका भए, तिमीहरूले उहाँलाई कसरी जान्न सक्थ्यौ र? यदि यस देहले सामान्य मानवत्व धारण नगरेको भए, मानिसले परमेश्वरलाई जान्ने कुनै उपाय हुनेथिएन्; यो त परमेश्वरको देहधारणले गर्दा मात्र मानिस देहधारी परमेश्वरसँग घनिष्ठ हुन योग्य भएको हो। मानिसहरू परमेश्वरसँग घनिष्ठ बन्छन् किनकि तिनीहरू उहाँको सम्पर्कमा आउँछन्, तसर्थ तिनीहरू उहाँसँग सँगै जिउँछन् र उहाँको सङ्गतमा रहन्छन्, र यसरी उहाँलाई बिस्तारै चिन्छन्। यदि यो यस्तो नभएको भए, के मानिसको खोजी व्यर्थै हुनेथिएन र? भन्नुको मतलब, यो सबै परमेश्वरको कार्यको कारणले गर्दा मानिस परमेश्वरसँग घनिष्ठ हुन योग्य भएको होइन, तर देहधारी परमेश्वरको व्यावहारिकता र स्वाभाविकताको कारणले हो। यो केवल परमेश्वर देह बन्नुहुने कारणले गर्दा मात्रै मानिसले आफ्नो कर्तव्य पूरा गर्ने मौका, र साँचो परमेश्वरलाई आराधना गर्ने मौका पाउँछ। के यो सबैभन्दा वास्तविक र व्यावहारिक सत्यता होइन र? अब, के तँ अझै पनि स्वर्गमा हुनुहुने परमेश्वरसँग घनिष्ठ हुने इच्छा गर्छस्? परमेश्वरले आफैलाई एउटा निश्चित बिन्दुसम्म विनम्र तुल्याउनु हुँदा मात्र, भन्नुको मतलब, परमेश्वर देह बन्नुहुँदा मात्र, मानिस उहाँसँग घनिष्ठ र विश्वासपात्र हुन सक्छ। परमेश्वर आत्मा हुनुहुन्छ: मानिसहरू कसरी यस आत्मासँग घनिष्ठ हुन योग्य हुन सक्छन् जो यति उच्च र बुझ्न नसकिने हुनुहुन्छ? जब परमेश्वरका आत्मा देहमा अवतरण गर्नुहुन्छ, र बाहिरी स्वरूपमा मानिसजस्तै सृजित प्राणी बन्नुहुन्छ, तब मात्र मानिसहरूले उहाँका अभिप्राय बुझ्न सक्छन् र व्यावहारिक रूपमा उहाँद्वारा प्राप्त गरिन सक्छन्। उहाँ देहमा बोल्नुहुन्छ र कार्य गर्नुहुन्छ, मानिस जातिको सुख, दुःख, र सङ्कष्टहरू सँगै अनुभव गर्नुहुन्छ, मानवजाति कै संसारमा जिउनुहुन्छ, मानवजातिको सुरक्षा गर्नुहुन्छ, र तिनीहरूलाई मार्गदर्शन गर्नुहुन्छ, र यसद्वारा उहाँले मानिसहरूलाई शुद्ध पार्नुहुन्छ र तिनीहरूलाई उहाँको मुक्ति र उहाँको आशिष् प्राप्त गर्न दिनुहुन्छ। जब मानिसहरूले यी कुराहरू प्राप्त गरेर साँच्चै परमेश्वरका अभिप्राय बुझ्छन्, तब मात्र तिनीहरू परमेश्वरसँग घनिष्ठ हुन सक्नेछन्। केवल यो व्यावहारिक छ। यदि परमेश्वर मानिसहरूको निम्ति अदृश्य र अमूर्त हुनुभएको भए, तिनीहरू कसरी उहाँसँग घनिष्ठ हुन सक्थे होलान्? के यो खोक्रो सिद्धान्त होइन र?
अहिलेसम्म परमेश्वरमा विश्वास गरेर, धेरै मानिसहरूले अझै पनि त्यही पछ्याउँछन् जुन अस्पष्ट र अमूर्त छ। तिनीहरूसँग आज परमेश्वरको कार्यको व्यावहारिकताको बारे कुनै बुझाइ छैन, र अझै पनि वचन र सिद्धान्तहरूको माझ जिउँछन्। यति मात्र होइन, अधिकांश त अझै पनि “परमेश्वरलाई प्रेम गर्नेहरूको नयाँ पुस्ता,” “परमेश्वरको घनिष्ठ,” “परमेश्वरलाई प्रेम गर्नेहरूको उदाहरण र नमुना,” र “पत्रुसको शैली” जस्ता नयाँ वाक्याङ्शहरूको यथार्थभित्र प्रवेश गर्न बाँकी नै छन्; यसको सट्टामा, तिनीहरूको खोजी अझै पनि अस्पष्ट र अमूर्त छ, तिनीहरू अझै पनि सिद्धान्तलाई छामछुम गर्छन्, र तिनीहरूसँग यी शब्दहरूको यथार्थको कुनै बोध छैन। जब परमेश्वरका आत्मा देह बन्नुहुन्छ, तैँले देहमा उहाँको कार्य हेर्न र स्पर्श गर्न सक्छस्। अझै पनि यदि तँ उहाँको निकटवर्ती बन्न असक्षम छस् भने, यदि तँ अझै पनि उहाँको विश्वासपात्र बन्न असमर्थ छस् भने, तँ कसरी परमेश्वरका आत्माको विश्वासपात्र हुन सक्लास्? यदि तैँले आजको परमेश्वरलाई चिन्दैनस् भने, परमेश्वरलाई प्रेम गर्नेहरूको नयाँ पुस्ताको एक व्यक्ति कसरी हुन सक्छस्? के यी वाक्यांशहरू खोक्रा वचन र सिद्धान्तहरू होइनन् र? के तँ आत्मालाई हेर्न र उहाँ अभिप्राय बुझ्न समर्थ छस्? के यी वाक्यांशहरू खोक्रा छैनन् र? यी वाक्यांशहरू र शब्दावलीहरू उच्चारण गर्नु मात्र तेरो लागि पर्याप्त छैन, र न त तैँले सङ्कल्पद्वारा मात्र परमेश्वरको सन्तुष्टि हासिल गर्न सक्छस्। तँ यी शब्दहरूलाई उच्चारण गरेर मात्र सन्तुष्ट छस्, र तैँले आफ्नै इच्छाहरू सन्तुष्ट पार्न, तेरो आफ्नै अवास्तविक आदर्शहरू सन्तुष्ट पार्न, र तेरा आफ्नै धारणाहरू र विचारलाई सन्तुष्ट पार्न यसो गर्छस्। यदि तैँले आजको परमेश्वरलाई चिन्दैनस् भने, तैँले जेसुकै गरे तापनि तँ परमेश्वरका अभिप्राय पूरा गर्न असमर्थ हुनेछस्। परमेश्वरको विश्वासपात्र हुनु भनेको अर्थ के हो? के तँ अझै पनि यो बुझ्दैनस्? मानिस परमेश्वरसँग घनिष्ठ भएको हुनाले, त्यस्तै परमेश्वर पनि मानिस हुनुहुन्छ। अर्थात्, परमेश्वर देह हुनुभएको छ, र मानिस बन्नुभएको छ। तिनीहरूले मात्रै एक-अर्कालाई विश्वासपात्रहरू भनी भन्न सक्छन् जो एकै किसिमका छन्, तब मात्र तिनीहरूलाई घनिष्ठहरू भनी विचार गर्न सकिन्छ। यदि परमेश्वर आत्मा हुनुहुन्थ्यो भने, सृष्टि गरिएको मानिस कसरी उहाँसँग घनिष्ठ हुन सक्थ्यो र?
परमेश्वरमाथिको तेरो विश्वास, तेरो सत्यताको पछ्याइ, र तैँले आफूलाई आचरणमा ढाल्ने तरिका समेत सबै वास्तविकतामा आधारित हुनुपर्छ: सबै कुरा वास्तविक र व्यावहारिक हुनुपर्छ, साथै तैँले भ्रामक र काल्पनिक कुराहरू पछ्याउनु हुँदैन। यसरी आफूलाई आचरणमा ढाल्नुको कुनै मूल्य छैन, र त्यसमाथि, त्यस्तो जीवनको कुनै अर्थ छैन। तेरो पछ्याइ र जीवन झूट र छलमै मात्र बित्ने हुनाले, र तैँले मूल्य र महत्त्व भएका कुराहरू नपछ्याउने हुनाले, तैँले प्राप्त गर्ने कुराहरू बेतुके तर्क र धर्मसिद्धान्तहरू मात्रै हुन् जुन सत्यताका होइनन्। यस्ता कुराहरूको तेरो अस्तित्वको महत्त्व र मूल्यसँग कुनै सम्बन्ध हुँदैन, र तिनले तँलाई खोक्रो क्षेत्रमा मात्रै पुर्याउन सक्छन्। यसरी, तेरो सम्पूर्ण जीवन कुनै मूल्य वा अर्थविनाको हुनेछ—र यदि तैँले अर्थपूर्ण जीवन पछ्याइनस् भने, तँ सय वर्ष जिए पनि त्यो सबै व्यर्थ हुनेछ। त्यसलाई कसरी मानव जीवन भन्न सकिन्छ र? के त्यो वास्तवमा पशुको जीवन होइन र? त्यसै गरी, यदि तिमीहरू परमेश्वरमाथिको विश्वासको मार्गमा हिँड्ने पछ्याइमा लाग्छौ, तैपनि देख्न सकिने परमेश्वरलाई पछ्याउने कुनै प्रयास गर्नुको सट्टामा अदृश्य र निराकार परमेश्वरको आराधना गर्छौ भने, के त्यस्तो पछ्याइ झनै व्यर्थ होइन र? अन्त्यमा, तेरो पछ्याइ भग्नावशेषको थुप्रो बन्नेछ। त्यस्तो पछ्याइले तँलाई के फाइदा हुन्छ? मानिसको सबैभन्दा ठूलो समस्या के हो भने ऊ आफूले देख्न वा छुन नसक्ने कुराहरू, अत्यन्तै रहस्यमय र अद्भुत, अनि मानिसद्वारा कल्पना गर्न नसकिने र नश्वरहरूद्वारा प्राप्त गर्न नसकिने कुराहरूलाई मात्रै प्रेम गर्छ। कुराहरू जति बढी अवास्तविक हुन्छन्, तिनलाई मानिसहरूद्वारा त्यति नै बढी विश्लेषण गरिन्छन्, र मानिसहरू तिनलाई प्राप्त गर्ने व्यर्थ आशा गर्दै अरू सबै कुरालाई बेवास्ता गरेर तिनलाई पछ्याउने समेत गर्छन्। ती जति बढी अवास्तविक हुन्छन्, मानिसहरू तिनलाई त्यति नै नजिकबाट गहन जाँच र विश्लेषण गर्छन्, यहाँसम्म कि तिनका बारेमा आफ्नै विस्तृत विचारहरू बनाउने हदसम्म पुग्छन्। यसको विपरीत, कुराहरू जति बढी वास्तविक हुन्छन्, मानिसहरू तीप्रति त्यति नै बढी उपेक्षापूर्ण हुन्छन्; तिनीहरू तिनलाई हेला मात्रै गर्छन्, र तिनलाई तिरस्कार समेत गर्छन्। आज मैले गर्ने वास्तविक कामप्रतिको तिमीहरूको मनोवृत्ति ठ्याक्कै यही होइन र? यस्ता कुराहरू जति बढी वास्तविक हुन्छन्, तिमीहरू तीविरुद्ध त्यति नै बढी पूर्वाग्रही हुन्छौ। तिमीहरू तिनको जाँच गर्ने अलिकति पनि ठाउँ दिँदैनौ, बरु तिनलाई सिधै बेवास्ता गर्छौ; तिमीहरू यी वास्तविक, निम्न-स्तरका मागहरूलाई हेला गर्छौ, र यी सबैभन्दा व्यावहारिक परमेश्वरका बारेमा अनेकौँ धारणा समेत राख्छौ, र उहाँको व्यावहारिकता र सामान्यतालाई स्वीकार गर्न पूर्ण रूपमा असक्षम छौ। यसरी, के तिमीहरू काल्पनिक विश्वास राख्दैनौ र? तिमीहरूलाई विगतको समयका अस्पष्ट ईश्वरमा अटल विश्वास छ, र आजका व्यावहारिक परमेश्वरमा कुनै रुचि छैन। के हिजोका ईश्वर र आजका ईश्वर दुई फरक युगका हुनुभएकाले गर्दा यसो भएको होइन र? के हिजोका ईश्वर स्वर्गका महान् र उच्च ईश्वर हुनुभएको, जबकि आजका ईश्वर पृथ्वीका एक साना मानिस हुनुभएको हुनाले पनि यसो भएको होइन र? त्यसमाथि, के मानिसले आराधना गर्ने ईश्वर उसका धारणाहरूद्वारा पैदा गरिएको, जबकि आजका ईश्वर पृथ्वीमा पैदा हुनुभएको छुन सकिने देह हुनुभएको हुनाले यसो भएको होइन र? आखिरमा, के आजका परमेश्वर अत्यन्तै वास्तविक हुनुभएकाले नै मानिसले उहाँलाई नपछ्याएको होइन र? किनभने आजका परमेश्वर मानिसहरूसँग जे माग गर्नुहुन्छ त्यो ठ्याक्कै त्यही काम हो जुन काम गर्न मानिसहरू सबैभन्दा बढी अनिच्छुक छन्, र जसले तिनीहरूलाई लज्जित महसुस गराउँछ। के यसले मानिसहरूलाई कठिनाइमा पारिरहेको छैन र? के यसले मानिसहरूका दागहरूलाई उदाङ्गो पार्दैन र? फलस्वरूप, धेरै मानिस वास्तविक परमेश्वर, व्यावहारिक परमेश्वरलाई पछ्याउँदैनन्, र देहधारी परमेश्वरका शत्रु, अर्थात्, ख्रीष्टविरोधी बन्छन्। के यो एउटा प्रस्ट तथ्य होइन र? विगतमा, परमेश्वर देह बनिसक्नुअघि, तँ एक धार्मिक व्यक्ति, वा भक्त विश्वासी थिइस् होला। परमेश्वर देह बन्नुभएपछि, त्यस्ता धेरै भक्त विश्वासी थाहै नपाई ख्रीष्टविरोधी बने। यहाँ के भइरहेको छ, तँलाई थाहा छ? तैँले परमेश्वरमा विश्वास गर्दा, तँ वास्तविकतामा ध्यान केन्द्रित गर्ने वा सत्यता पछ्याउने गर्दैनस्, बरु त्यसको सट्टामा अवास्तविक कुराहरूमा ध्यान केन्द्रित गर्छस्—के यो देहधारी परमेश्वरप्रतिको तेरो शत्रुताको सबैभन्दा स्पष्ट स्रोत होइन र? देहधारी परमेश्वरलाई ख्रीष्ट भनिन्छ, त्यसैले के देहधारी परमेश्वरमा विश्वास नगर्नेहरू सबै ख्रीष्टविरोधी होइनन् र? त्यसोभए, के तैँले विश्वास गर्ने र प्रेम गर्ने साँच्चै देहमा हुनुभएका यिनै परमेश्वर हुनुहुन्छ त? के साँच्चै यही जीवित र साक्षात् परमेश्वर नै सबैभन्दा वास्तविक र असाधारण रूपमा सामान्य हुनुहुन्छ त? तेरो पछ्याइको उद्देश्य ठ्याक्कै के हो? यो स्वर्गमा छ कि पृथ्वीमा? यो धारणा हो कि सत्यता हो? यो परमेश्वर हुनुहुन्छ कि कुनै अलौकिक प्राणी हो? वास्तवमा, सत्यता नै मानवजातिका लागि सबैभन्दा व्यावहारिक जीवन मन्त्र, र सर्वोच्च जीवन मन्त्र हो। यो परमेश्वरले मानिससँग गर्नुहुने माग भएको, र व्यक्तिगत रूपमा परमेश्वरद्वारा गरिने काम भएको हुनाले, यसलाई “जीवन मन्त्र” भनिएको हो। यो कुनै कुराबाट निचोड निकालिएको मन्त्र होइन, न त यो कुनै महान् व्यक्तिको चर्चित भनाइ नै हो। बरु, यो स्वर्ग र पृथ्वी अनि यावत् थोकका सार्वभौमबाट मानवजातिलाई दिइएको वाणी हो; यो मानिसद्वारा निचोड निकालिएका केही शब्द नभई परमेश्वरको अन्तर्निहित जीवन हो। त्यसैले यसलाई “सर्वोच्च जीवन मन्त्र” भनिन्छ। मानिसहरू सत्यतालाई व्यवहारमा लागु गर्ने पछ्याइमा लाग्नु भनेको तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्नु हो—अर्थात्, यो परमेश्वरको मागलाई सन्तुष्ट पार्ने पछ्याइ हो। यस मागको सार सबैभन्दा वास्तविक सत्यता हो, कुनै पनि मानिसद्वारा हासिल गर्न नसकिने खोक्रो धर्मसिद्धान्त होइन। यदि तेरो पछ्याइ धर्मसिद्धान्त बाहेक केही होइन र त्यसमा कुनै वास्तविकता छैन भने, के तँ सत्यताविरुद्ध विद्रोह गर्ने व्यक्ति होइनस् र? के तँ सत्यतालाई आक्रमण गर्ने व्यक्ति होइनस् र? त्यस्तो व्यक्ति कसरी परमेश्वरको प्रेम पछ्याउने व्यक्ति हुन सक्छ? वास्तविकता नभएका मानिसहरू तिनै हुन् जो सत्यतालाई विश्वासघात गर्छन्, र तिनीहरू सबै अन्तर्निहित रूपमै विद्रोही हुन्छन्!
तैँले जस्तोसुकै गरी पछ्याए तापनि, सबैभन्दा माथि, आज परमेश्वरले गर्नुहुने कार्यलाई तैँले बुझ्नुपर्छ, र तैँले यस कार्यको महत्त्वलाई जान्नुपर्छ। जब उहाँ अन्तिम दिनहरूमा आउनुहुन्छ, परमेश्वरले कुन कार्य ल्याउनुहुन्छ, उहाँले कुन स्वभाव ल्याउनुहुन्छ, र मानिसमा कुन कुरा पूर्ण गर्नुहुनेछ भन्ने बारेमा तैँले बुझ्नुपर्छ र जान्नुपर्छ। उहाँले देहमा गर्नलाई आउनुभएको कार्यलाई यदि तैँले जान्दैनस् वा बुझ्दैनस् भने, तैँले उहाँका अभिप्राय कसरी जान्न सक्छस्, र तँ उहाँसँग कसरी घनिष्ठ हुन सक्छस्? वास्तवमा, परमेश्वरसँग घनिष्ठ हुनु जटिल छैन, तर न त यो सरल नै छ। यदि मानिसहरूले यो कुरा पूरै बुझ्न सक्छन् र यसलाई अभ्यास गर्न सक्छन् भने, यो सरल बन्छ; यदि मानिसहरूले यसलाई पूरै बुझ्न सक्दैनन् भने, यो अझ धेरै कठिन हुन्छ, र, यति मात्र होइन, तिनीहरू आफ्नो खोजीलाई अस्पष्टतातिर लिएर जानलाई लालायित हुन्छन्। यदि, परमेश्वरको खोजीमा, मानिसहरूसँग आफ्नै अडानमा खडा हुने अवस्था छैन भने, र तिनीहरूले कुन सत्यतालाई अङ्गीकार गर्नुपर्ने हो सोबारे जान्दैनन् भने, यसको अर्थ यही हो कि तिनीहरूसँग कुनै जग छैन, र त्यसैले तिनीहरूलाई दृढ खडा हुन कठिन हुन्छ। आज, सत्यतालाई नबुझ्ने यति धेरै छन्, जसले असल र खराबबीचको भिन्नता छुट्ट्याउन सक्दैनन् वा केलाई प्रेम गर्ने वा घृणा गर्ने भन्न सक्दैनन्। यस्ता मानिसहरू मुस्किलै दृढ खडा हुन सक्छन्। परमेश्वरमाथिको विश्वासको कुञ्जी भनेको सत्यतालाई अभ्यासमा लगाउन सक्नु, परमेश्वरका अभिप्रायलाई ध्यान दिनु, उहाँ देहमा आउनुहुँदा मानिसमा परमेश्वरको कार्यलाई र उहाँले जुन सिद्धान्तहरूद्वारा बोल्नुहुन्छ त्यसलाई जान्नु हो। हूलहरूको पछि नलाग्। तैँले प्रवेश गर्नुपर्ने कुरामा तँसँग सिद्धान्तहरू हुनुपर्छ, र तैँले तिनलाई अङ्गीकार गर्नुपर्छ। परमेश्वरको अन्तर्दृष्टिद्वारा ल्याइएका तँभित्र भएका ती कुराहरूलाई दृढपूर्वक पक्रिराख्दा सो तेरो लागि सहयोगी हुनेछ। यदि तैँले पक्रँदैनस् भने, आज तैँले एक प्रकारले दिशा परिवर्तन गर्नेछस्, भोलि अर्को तरिकाले दिशा परिवर्तन गर्नेछस्, र तैँले कहिल्यै पनि कुनै व्यावहारिक कुरा पाउने छैनस्। यस्तो हुनु तेरो आफ्नै जीवनको लागि लाभदायक छैन। सत्यतालाई नबुझ्नेहरूले सदैव अरूहरूलाई पछ्याउँछन्: यदि मानिसहरूले यो पवित्र आत्माको कार्य हो भनी भन्छन् भने, तैँले पनि यो पवित्र आत्माको कार्य हो भनी भन्छस्; यदि मानिसहरूले यो दुष्टात्माको कार्य हो भनी भन्छन् भने, तँ पनि शङ्कालु हुन्छस्, वा यो दुष्टात्माको कार्य हो भनी भन्छस्। तँ सदैव अरूहरूको कुराहरूलाई सुगारटाइ गर्छस्, र आफैँ केही कुरा खुट्ट्याउनसक्दैनस्, न त तँ आफ्नै लागि सोच्न समर्थ हुन्छस्। यो कुनै अडानविनाको व्यक्ति हो, जससँग सुझबुझ छैन—यस्तो व्यक्ति एक निकम्मा नालायक हुन्छ! तँ सदैव अरूहरूको कुराहरू दोहोर्याउँछस्: आज यस्तो भनिन्छ कि यो पवित्र आत्माको कार्य हो, तर यस्तो सम्भावना छ कि कुनै दिन कसैले भन्नेछ कि यो पवित्र आत्माको कार्य होइन, र वास्तवमा यो मानिसको कार्यभन्दा बाहेक अरू केही होइन—तापनि तँ यसलाई छुट्ट्याउन सक्दैनस्, र अरूहरूद्वारा यो कुरा बताइएको तँ प्रत्यक्षदर्शी हुँदा, तैँले पनि त्यही कुरा भन्छस्। यो वास्तवमा पवित्र आत्माको कार्य हो, तर तँ यो मानिसको कार्य हो भनी भन्छस्; के तँ पवित्र आत्माको कार्यको विरुद्धमा निन्दा गर्नेहरूमध्ये एक हुँदैनस् र? यसमा, के तैँले आफूमा सुझबुझ नभएको कारण परमेश्वरलाई विरोध गरेको छैनस् र? सायद कुनै दिन कुनै मूर्ख प्रकट हुनेछ जसले भन्छ “यो दुष्टात्माको कार्य हो,” र जब तँ यी शब्दहरू सुन्छस्, तँ नोकसानीमा हुनेछस्, र फेरि एकपटक तँ अरूहरूको कुराहरूद्वारा बन्धित हुनेछस्। हरेक पटक कसैले खलबल पैदा गर्छ, तँ आफ्नो अडानमा खडा हुन असक्षम हुन्छस्, र यो सबै तँसँग सत्यता नभएकोले गर्दा हो। परमेश्वरमा विश्वास गर्ने र परमेश्वरलाई जान्न खोज्ने कुरा सरल छैन। यी कुराहरू केवल सँगै भेला भएर अनि प्रचार सुनेर हासिल गर्न सकिँदैन, र तँ जोसद्वारा मात्र सिद्ध गरिन सक्दैनस्। तैँले आफ्नो कार्यहरू अनुभव गर्नुपर्छ, र जान्नुपर्छ, र तँ तिनमा सिद्धान्तवान् हुनुपर्छ, र पवित्र आत्माको कार्य हासिल गर्नुपर्छ। जब तँ अनुभवहरूबाट गुज्रेको हुन्छस्, तब तैँले धेरै कुराहरू छुट्ट्याउन समर्थ हुनेछस्—तँ असल र खराबबीचको, न्याय र दुष्टताबीचको, शरीर र रगत को हो र सत्यता के हो सोबीचको भिन्नता छुट्ट्याउन समर्थ हुनेछस्। तैँले यी सबै कुराहरूको बीचको भिन्नतालाई छुट्ट्याउन सक्नुपर्छ, र यसो गर्दा, परिस्थितिहरू जस्तोसुकै भएतापनि, तँ कहिल्यै हराउने छैनस्। यही मात्र तेरो वास्तविक कद हो।
परमेश्वरको कामलाई चिन्नु कुनै सरल कुरा होइन। तेरो पछ्याइमा मानकहरू र एउटा उद्देश्य हुनुपर्छ, तैँले साँचो मार्ग खोज्न, यो साँचो मार्ग हो कि होइन र यो परमेश्वरको काम हो कि होइन भनी मापन गर्न जान्नुपर्छ। साँचो मार्ग खोज्ने सबैभन्दा आधारभूत सिद्धान्त के हो? तैँले यस मार्गमा पवित्र आत्माको काम छ कि छैन, यी शब्दहरू सत्यताका अभिव्यक्ति हुन् कि होइनन्, कसको गवाही दिइँदै छ, र यसले तेरा लागि के ल्याउन सक्छ भन्ने कुरा हेर्नुपर्छ। साँचो मार्ग र झूटा मार्गहरूका बीचमा भिन्नता छुट्याउनका लागि आधारभूत ज्ञानका केही पक्ष आवश्यक पर्छन्, जसमध्ये सबैभन्दा आधारभूत कुरा भनेको त्यसमा पवित्र आत्माको काम छ कि छैन भनी थाहा पाउनु हो। किनभने परमेश्वरमाथिको मानिसहरूको विश्वासको सार भनेको परमेश्वरका आत्मामाथिको विश्वास हो, र देहधारी परमेश्वरमाथिको तिनीहरूको विश्वास पनि यो देह परमेश्वरका आत्माको ठोस रूप भएकाले गर्दा हो, जसको अर्थ त्यस्तो विश्वास पनि आत्मामाथिको विश्वास नै हो। आत्मा र देहका बीचमा भिन्नताहरू रहेका छन्, तर यो देह आत्माबाट आउने, र देह बन्नुभएको वचन भएको हुनाले, मानिसले विश्वास गर्ने भनेको अझै पनि परमेश्वरको अन्तर्निहित सारमा नै हो। त्यसैले, यो साँचो मार्ग हो कि होइन भनी छुट्याउँदा, तैँले सबैभन्दा पहिले यसमा पवित्र आत्माको काम छ कि छैन भनेर हेर्नुपर्छ, र त्यसपछि तैँले यस मार्गमा सत्यता छ कि छैन भनेर हेर्नुपर्छ। जुन कुरालाई सत्यता भनिन्छ त्यो सामान्य मानवताको जीवन स्वभाव हो। अर्को शब्दमा भन्नुपर्दा, सुरुमा परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा मानिससँग जे माग गरिएको थियो त्यो यही हो, अर्थात्, सम्पूर्ण रूपमा सामान्य मानवता (जसमा मानवताको समझ, साथै अन्तर्ज्ञान, बुद्धि, र आफूलाई कसरी आचरणमा ढाल्ने भन्ने आधारभूत ज्ञान समावेश हुन्छ)। अर्थात्, तैँले यो मार्गले मानिसहरूलाई सामान्य मानव जीवनमा डोर्याउन सक्छ कि सक्दैन, उल्लिखित सत्यताले सामान्य मानवताको वास्तविकताका आधारमा मागहरू गर्छ कि गर्दैन, यो सत्यता वास्तविक र व्यावहारिक छ कि छैन, र यो सबैभन्दा सामयिक छ कि छैन भनेर हेर्नुपर्छ। यदि सत्यता छ भने, यसले मानिसहरूलाई सामान्य र व्यावहारिक अनुभवहरूमा डोर्याउन सक्छ; यसबाहेक, मानिसहरू झन्-झन् सामान्य बन्छन्, तिनीहरूसँग भएको मानवताको समझ झन्-झन् पूर्ण बन्छ, तिनीहरूको देहको जीवन र आत्मिक जीवन झन्-झन् व्यवस्थित बन्छन्, र तिनीहरूका संवेगहरू झन्-झन् सामान्य बन्छन्। यो दोस्रो सिद्धान्त हो। अर्को एउटा सिद्धान्त छ, जुन मानिसहरूमा परमेश्वरको ज्ञान बढ्दै गइरहेको छ कि छैन, र त्यस्तो काम र सत्यताको अनुभव गर्दा त्यसले तिनीहरूमा परमेश्वरलाई प्रेम गर्ने हृदय जगाउन र तिनीहरूलाई परमेश्वरको झन्-झन् नजिक ल्याउन सक्छ कि सक्दैन भन्ने हो। यसबाट यो मार्ग साँचो मार्ग हो कि होइन भनेर मापन गर्न सकिन्छ। सबैभन्दा आधारभूत कुरा भनेको यो मार्ग अलौकिक नभई वास्तविक छ कि छैन, र यसले मानिसको जीवनलाई आपूर्ति गर्न सक्छ कि सक्दैन भन्ने हो। यदि यो यी सिद्धान्तहरू अनुरूप छ भने, यो मार्ग नै साँचो मार्ग हो भनेर निष्कर्ष निकाल्न सकिन्छ। म यी कुराहरू तिमीहरूका भावी अनुभवहरूमा तिमीहरूलाई अन्य मार्गहरू स्वीकार गर्न लगाउनका लागि भन्दिनँ, न त भविष्यमा नयाँ युगको अर्को काम हुनेछ भन्ने भविष्यवाणीका रूपमा नै भन्छु। म यी कुराहरू यसकारण भन्छु ताकि तिमीहरू आजको मार्ग नै साँचो मार्ग हो भन्ने कुरामा निश्चित हुन सक, ताकि तिमीहरू आधा मात्रै विश्वास नगर र आजको कामलाई सधैँ स्पष्ट रूपमा देख्न असक्षम नहोओ। त्यस्ता पनि धेरै छन् जो, निश्चित हुनुका बाबजुद, अझै पनि अलमल्ल तरिकाले पछ्याउँछन्; त्यस्तो निश्चिततामा कुनै सिद्धान्त हुँदैन, र त्यस्ता मानिसहरू ढिलो-चाँडो हटाइनेछन्। विशेष गरी जोसका साथ पछ्याउनेहरू समेत तीन भाग निश्चित र पाँच भाग अनिश्चित हुन्छन्, जसले तिनीहरूसँग कुनै जग छैन भन्ने देखाउँछ। तिमीहरूको क्षमता अत्यन्तै कमजोर भएको र तिमीहरूको जग अत्यन्तै सतही भएको हुनाले, तिमीहरूले खुट्ट्याउनेसम्बन्धी यी मामलाहरूबारे केही पनि बुझेका छैनौ। परमेश्वर आफ्नो काम दोहोर्याउनुहुन्न, उहाँ अवास्तविक काम गर्नुहुन्न, उहाँ मानिससँग अत्यधिक मागहरू गर्नुहुन्न, र उहाँ मानिसको समझभन्दा बाहिरको काम गर्नुहुन्न। उहाँले गर्नुहुने सबै काम मानिसको सामान्य समझको दायराभित्रै हुन्छ, र यसले सामान्य मानवताको समझलाई नाघ्दैन, र उहाँको काम मानिसका सामान्य आवश्यकताहरू अनुसार गरिन्छ। यदि यो पवित्र आत्माको काम हो भने, मानिसहरू झन्-झन् सामान्य बन्छन्, र तिनीहरूको मानवता झन्-झन् सामान्य बन्छ। मानिसहरूले आफ्नो शैतानी भ्रष्ट स्वभाव, र मानिसको मूल-तत्त्वका बारेमा बढ्दो ज्ञान प्राप्त गर्छन्, र तिनीहरूले सत्यताको झन्-झन् ठूलो तृष्णा पनि प्राप्त गर्छन्। भन्नुको मतलब, मानिसको जीवन निरन्तर अघि बढिरहन्छ, र मानिसको भ्रष्ट स्वभावमा झन्-झन् धेरै परिवर्तन आउँछन्—जुन सबै परमेश्वर मानिसको जीवन बन्नुको अर्थ हो। यदि कुनै मार्गले मानिसको मूल-तत्त्व रहेका ती कुराहरूलाई खुलासा गर्न सक्दैन, मानिसको स्वभावलाई परिवर्तन गर्न सक्दैन, र अझ बढी, मानिसहरूलाई परमेश्वरसामु ल्याउन वा तिनीहरूलाई परमेश्वरबारे साँचो बुझाइ दिलाउन सक्दैन, र यहाँसम्म कि यसले गर्दा तिनीहरूको मानवता झन्-झन् निकृष्ट बन्छ र तिनीहरूको समझ झन्-झन् असामान्य बन्छ भने, यो मार्ग साँचो मार्ग हुनै सक्दैन, र यो दुष्ट आत्माको काम, वा पुरानो मार्ग हुन सक्छ। छोटकरीमा भन्दा, यो पवित्र आत्माको वर्तमान काम हुन सक्दैन। तिमीहरूले यतिका वर्ष परमेश्वरमा विश्वास गरेका छौ, तैपनि साँचो मार्ग र झूटा मार्गहरूका बीचमा भिन्नता छुट्याउने, वा साँचो मार्ग खोज्ने सिद्धान्तहरूको तिमीहरूलाई कुनै भान छैन। धेरैजसो मानिस त यी मामलाहरूलाई ध्यान समेत दिँदैनन्; तिनीहरू केवल बहुसङ्ख्यक मानिस जता जान्छन् त्यतै जान्छन्, र बहुसङ्ख्यक मानिसले जे भन्छन् त्यही नै भन्छन्। यिनीहरू कसरी साँचो मार्ग खोज्ने मानिस हुन्? अनि त्यस्ता मानिसहरूले कसरी साँचो मार्ग भेट्टाउन सक्छन्? यदि तैँले यी केही मुख्य सिद्धान्त बुझिस् भने, तँ कुनै पनि हालतमा भ्रमित हुनेछैनस्। आज, मानिसहरूले केही खुट्ट्याउने क्षमता विकास गर्नु अति महत्त्वपूर्ण छ; सामान्य मानवतामा हुनुपर्ने कुरा यही हो, र मानिसहरूको अनुभवमा हुनुपर्ने कुरा यही हो। यदि मानिसहरूले आजसम्म पछ्याएका छन्, तर तिनीहरूसँग अझै पनि खुट्ट्याउने क्षमता पटक्कै छैन, साथै तिनीहरूको मानवताको समझ अझै पनि बढेको छैन भने, तिनीहरू अत्यन्तै अलमल्ल छन्, अनि तिनीहरूको पछ्याइ गलत छ र त्यसमा विचलनहरू रहेका छन्। तैँले आजसम्म पछ्याएको छस् तर तँसँग अलिकति पनि खुट्ट्याउने क्षमता छैन, र तैँले भनेजस्तै, तैँले साँचो मार्ग भेट्टाएको साँचो भए पनि, के तैँले त्यो प्राप्त गरेको छस् त? के तैँले कुनै खुट्ट्याउने क्षमता विकास गरेको छस्? साँचो मार्गको सार के हो? साँचो मार्गमा, तैँले साँचो मार्ग प्राप्त गरेको छैनस्; तैँले सत्यताको केही पनि प्राप्त गरेको छैनस्। यसको अर्थ, परमेश्वरले तँसँग माग गर्नुभएको कुरा तैँले हासिल गरेको छैनस्, र त्यसैले तेरो भ्रष्टतामा कुनै परिवर्तन आएको छैन। यदि तैँले यसरी नै पछ्याइरह्यिस् भने, तँ अन्ततः हटाइनेछस्। आजको दिनसम्म पछ्याइसकेपछि, तैँले लिएको मार्ग नै सही मार्ग हो भन्ने कुरामा तँ निश्चित हुनुपर्छ, र तँमा थप कुनै शङ्का हुनु हुँदैन। धेरै मानिस सधैँ शङ्कालु हुन्छन् र केही सानातिना मामिलाका कारण सत्यता पछ्याउन छोड्छन्। त्यस्ता मानिसहरू परमेश्वरको कामको कुनै ज्ञान नभएकाहरू हुन्; तिनीहरू अलमल्ल तरिकाले परमेश्वरलाई पछ्याउनेहरू हुन्। परमेश्वरको काम नचिन्ने मानिसहरू उहाँका घनिष्ठ बन्न, वा उहाँको साक्षी दिन असक्षम हुन्छन्। आशिष्हरू र अस्पष्ट कुराहरू मात्रै खोज्नेहरूलाई म सकेसम्म चाँडो सत्यता पछ्याउने सल्लाह दिन्छु, ताकि तिनीहरूको जीवनको अर्थ होस्। अब उप्रान्त आफैलाई मूर्ख नबनाओ!