आफ्ना धारणाहरूमा परमेश्वरलाई सीमित गरेकाहरूले उहाँको प्रकाश कसरी प्राप्त गर्न सक्छन्?
परमेश्वरको काम सधैँ अघि बढिरहन्छ, र उहाँको कामको उद्देश्य परिवर्तन नभए पनि, उहाँले काम गर्ने विधि नित्य परिवर्तन हुन्छ, जसको अर्थ के हो भने परमेश्वरलाई पछ्याउनेहरू पनि नित्य परिवर्तन भइरहेका छन्। परमेश्वरले जति धेरै काम गर्नुहुन्छ, उत्ति नै परमेश्वरबारे मानिसको ज्ञान पनि पूर्ण हुन्छ। परमेश्वरको कामको सँगसँगै मानिसको स्वभावमा पनि सोही अनुरूपका परिवर्तनहरू आउँछन्। तर, परमेश्वरको काम सदैव परिवर्तन भइरहने हुनाले पवित्र आत्माको काम नजान्नेहरू र सत्यता नचिन्ने ती वाहियात मानिसहरू नै परमेश्वरको प्रतिरोध गर्ने मानिसहरू बन्छन्। परमेश्वरको काम मानिसको धारणाअनुसार कहिल्यै हुँदैन, किनभने उहाँको काम सदैव नयाँ हुन्छ र पुरानो कहिल्यै हुँदैन, र उहाँ पुरानो कामलाई कहिल्यै दोहोर्याउनुहुन्न, बरु यस अघि उहाँले कहिल्यै नगरेको काम गर्नुहुन्छ। परमेश्वरले आफ्नो काम नदोहोर्याउनुहुने भएकोले र मानिसले परमेश्वरको हालको कामलाई उहाँले विगतमा गर्नुभएको कामका आधारमा सधैँ मूल्याङ्कन गर्ने भएकाले नयाँ युगको कामको हरेक चरणलाई कार्यान्वयन गर्न परमेश्वरलाई अत्यन्त कठिन भएको छ। मानिससँग अत्यन्तै धेरै कठिनाइहरू छन्! ऊ उसको सोचाइमा अत्यन्त रूढिवादी छ! परमेश्वरको कामलाई कसैले जान्दैन, तैपनि सबैले यसलाई सीमित गर्छन्। जब मानिसले परमेश्वरलाई छोड्छ, तब उसले जीवन, सत्यता, र परमेश्वरका आशिष् गुमाउँछ, तैपनि उसले न जीवन न त सत्यता नै स्विकार्छ, परमेश्वरले मानवजातिलाई दिनुहुने अझै ठूला आशिष् त झनै स्विकार्दैन। सबै मानिसहरूले परमेश्वरलाई पाउन चाहन्छन्, तैपनि परमेश्वरको काममा हुने कुनै पनि परिवर्तनलाई सहन सक्दैनन्। परमेश्वरको नयाँ कामलाई स्वीकार नगर्नेहरूले परमेश्वरको काम अपरिवर्तनशील हुन्छ, यो सदैव ठप्प रहन्छ भन्ने विश्वास गर्छन्। तिनीहरूको विचारमा, तिनीहरूले परमेश्वरबाट अनन्त मुक्ति पाउनका लागि आवश्यक कुरा भनेको व्यवस्था पालन गर्नु हो, र तिनीहरूले पश्चात्ताप गरेसम्म र आफ्ना पापहरू स्वीकार गरेसम्म, परमेश्वरका अभिप्राय सदैव पूरा हुनेछन्। तिनीहरू परमेश्वर व्यवस्था अन्तर्गत हुने परमेश्वर र मानिसका निम्ति क्रूस टाँगिनुभएको परमेश्वर मात्र हुन सक्नुहुन्छ भन्ने राय राख्छन्; तिनीहरू परमेश्वरले बाइबललाई अतिक्रमण गर्नु हुँदैन र गर्न सक्नुहुन्न भन्ने राय पनि राख्छन्। ठ्याक्कै यिनै रायहरूले तिनीहरूलाई पुरानो व्यवस्थाको जन्जिरमा जोडसँग बाँधेका छन् र मृत प्रावधानहरूमा टाँगेका छन्। परमेश्वरको नयाँ काम चाहे जेसुकै होस्, यसलाई अगमवाणीहरूले पुष्टि गर्नुपर्छ, र यस्तो कामको हरेक चरणमा, उहाँलाई “साँचो” हृदयले पछ्याउनेहरूलाई प्रकाशहरू पनि देखाइनुपर्छ, नत्र यस्तो काम परमेश्वरको काम हुन सक्दैन भनी विश्वास गर्नेहरू त अझै धेरै छन्। परमेश्वरलाई चिन्नु मानिसका निम्ति मूलतः सजिलो काम होइन। मानिसको वाहियात हृदयको साथसाथै अहम्ता र अभिमान भएको उसको विद्रोही प्रकृतिलाई लिँदा, उसलाई परमेश्वरको नयाँ कामलाई स्वीकार गर्नु अझ धेरै कठिन हुन्छ। मानिसले न त परमेश्वरको नयाँ कामलाई सावधानीपूर्वक छानबिन गर्छ, न नम्रतासाथ स्वीकार नै गर्छ; बरु, उसले परमेश्वरबाट प्रकाश र मार्गदर्शनको प्रतीक्षा गर्दै गर्दा हेयको मनोवृत्ति अपनाउँछ। के यी परमेश्वरको विरुद्ध विद्रोह गर्ने र उहाँको विरोध गर्ने मानिसका प्रकटीकरणहरू होइनन् र? यस्ता मानिसहरूले परमेश्वरको अनुमोदन कसरी प्राप्त गर्न सक्छन्?
यहोवाको काम अनुग्रहको युगको पछि परेको छ भनी येशूले भन्नुभयो, त्यसरी नै येशूको काम पनि पछि परेको छ भनी आज म भन्छु। यदि अनुग्रहको युग नभइ व्यवस्थाको युगमा मात्र भएको थियो भने, येशू क्रूसमा टाँगिनुहुनेथिएन र सबै मानवजातिलाई छुटकारा दिन सक्नुहुन्नथ्यो। यदि व्यवस्थाको युग मात्र भइदिएको भए, के मानवजाति आजको दिनसम्म आइपुग्न सक्थे? इतिहास अघि बढ्छ, अनि के इतिहास परमेश्वरको कामको प्राकृतिक व्यवस्था होइन र? के यो सारा ब्रह्माण्डभरि मानिसप्रतिको उहाँको व्यवस्थापनको चित्रण होइन र? इतिहास अघि बढ्छ, त्यसरी नै परमेश्वरको काम पनि अघि बढ्छ। परमेश्वरका अभिप्राय निरन्तर परिवर्तन भइरहन्छ। उहाँ छ हजार वर्षसम्म कामको एकै चरणमा रहन सक्नुहुन्नथियो, किनभने परमेश्वर सदैव नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भन्ने कुरा सबैलाई थाहा छ, सम्भवतः उहाँले क्रूसमा मारिने काम एक, दुई, तीन…। पटक गरिरहन सक्नुहुन्नथियो। यस्तो सोच्नु हास्यास्पद कुरा हुनेथियो। परमेश्वरले उही काम गरिरहनुहुन्न; मैले तिमीहरूसँग धेरै नयाँ वचनहरू बोलेजस्तै र हरेक दिन नयाँ काम गरेजस्तै, उहाँको काम सदैव परिवर्तन भइरहन्छ र सधैँ नयाँ हुन्छ। मैले गर्ने काम यही हो, र चाबीहरूचाँहि “नयाँ” र “चमत्कारी” शब्दहरू हुन्। “परमेश्वर अपरिवर्तनशील हुनुहुन्छ र परमेश्वर सदैव परमेश्वर नै हुनुहुनेछ”: यो भनाइ साँच्चै सत्य छ; परमेश्वरको सार परिवर्तन हुँदैन, परमेश्वर सदैव परमेश्वर नै हुनुहुन्छ, र उहाँ कहिल्यै पनि शैतान हुन सक्नुहुन्नथ्यो, तर उहाँको काम उहाँको सारजस्तै स्थिर र अपरिवर्तनीय छ भन्ने कुरा यसले प्रमाणित गर्दैन। परमेश्वर अपरिवर्तनशील हुनुहुन्छ भनेर तँ नै भन्छस्, अनि परमेश्वर सदैव नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भनी तैँले कसरी वर्णन गर्न सक्छस्? परमेश्वरको काम निरन्तर रूपमा फैलिन्छ र अनवरत रूपमा परिवर्तन भइरहन्छ, अनि उहाँका अभिप्राय मानिसलाई निरन्तर रूपमा प्रकट गरिन्छ र देखाइन्छ। जब मानिसले परमेश्वरको कामको अनुभव गर्छ, तब जसरी उसको ज्ञान बढ्छ त्यसरी नै उसको स्वभाव अविरल रूपमा परिवर्तन हुन्छ। अनि यो परिवर्तन कहाँबाट उदय हुन्छ? के यो सदैव परिवर्तन भइरहने परमेश्वरको कामबाट नै आउँदैन र? यदि मानिसको स्वभाव परिवर्तन हुन सक्छ भने, मानिसले मेरो काम र मेरा वचनहरूलाई पनि किन परिवर्तन हुन दिँदैन? के म मानिसको प्रतिबन्धमा रहनुपर्छ? यसमा के तैँले जबरजस्ती बहस र विकृत तर्क प्रयोग गरिरहेको छैनस् र?
आफ्नो पुनरुत्थानपछि, येशूले चेलाहरूकहाँ देखा परेर भन्नुभयो, “म तिमीहरूमाथि मेरा पिताको प्रतिज्ञा पठाउँछु: तर तिमीहरूले माथिबाट शक्ति प्राप्त नगरेसम्म तिमीहरू येरुशलेममा नै रहो।” के तँलाई यी वचनहरू कसरी व्याख्या गर्न सकिन्छ भन्ने थाहा छ? के तैँले अहिले उहाँको शक्ति प्राप्त गरेको छस्? के तँ “शक्ति” ले केलाई जनाउँछ भनेर बुझ्छस्? येशूले आखिरी दिनहरूमा मानिसलाई सत्यताको आत्मा प्रदान गरिनेछ भनी भन्नुभयो। अहिले आखिरी दिनहरू हुन्; के तँ सत्यताको आत्माले कसरी वचनहरू व्यक्त गर्नुहुन्छ भनी बुझ्छस्? सत्यताको आत्मा कहाँ देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ? अगमवक्ता यशैयाको अगमवाणीको पुस्तकमा, नयाँ करारको युगमा येशू नामको एक बालक जन्मनेछ भनी कहिल्यै उल्लेख गरिएको थिएन; त्यसमा इम्मानुएल नामको एक बालक शिशुको जन्म हुनेछ भनेर मात्रै लेखिएको थियो। “येशू” नाम किन उल्लेख गरिएन? पुरानो करारमा यो नाम कतै पनि देखिँदैन, त्यसोभए, तँ किन अझै येशूमा विश्वास गर्छस्? पक्कै पनि तैँले येशूलाई आफ्नै आँखाले देखेपछि उहाँमा विश्वास गर्न थालेको होइनस्, हो त? वा के तैँले प्रकाश प्राप्त गरेपछि विश्वास गर्न थालेको होस्? के परमेश्वरले साँच्चै तँलाई यस्तो अनुग्रह देखाउनुहुनेथ्यो र? के उहाँले तँलाई यति ठूलो आशिष् प्रदान गर्नुहुनेथ्यो र? येशूमाथि तेरो विश्वासको आधार के हो? तँ किन परमेश्वर आज देह बन्नुभएको छ भनी विश्वास गर्दैनस्? किन तँ परमेश्वरबाट तैँले प्रकाश नपाउनुले उहाँले देहधारण गर्नुभएको छैन भन्ने प्रमाणित गर्छ भनी भन्छस्? के परमेश्वरले आफ्नो काम सुरु गर्नुअघि मानिसहरूलाई जानकारी दिनैपर्छ र? के उहाँले पहिले तिनीहरूको अनुमोदन प्राप्त गर्नैपर्छ? यशैयाले डुँडमा एक बालक शिशुको जन्म हुनेछ भनेर मात्रै भनेका थिए; उनले मरियमले येशूलाई जन्म दिनेछिन् भनी कहिल्यै अगमवाणी गरेका थिएनन्। तँ ठ्याक्कै केका आधारमा मरियमबाट जन्मनुभएको येशूमा विश्वास गर्छस्? निश्चय नै तेरो विश्वास अन्योलपूर्ण छैन, होइन र? कतिपयले परमेश्वरको नाम परिवर्तन हुँदैन भनेर भन्छन्। त्यसोभए, यहोवाको नाम किन येशू बन्यो त? मसीह आउनुहुनेछ भनी अगमवाणी गरिएको थियो, त्यसोभए येशू नामको मानिस किन आउनुभयो त? परमेश्वरको नाम किन परिवर्तन भयो? के यस्तो काम धेरैअघि नै गरिएको थिएन र? के परमेश्वर आज अझै नयाँ काम गर्न सक्नुहुन्न र? हिजोको काम परिवर्तन हुन सक्छ र येशूको काम यहोवाको कामपछि आउन सक्छ। त्यसोभए, के येशूको कामको पछि अन्य काम आउन सक्दैन र? यदि यहोवाको नाम येशूमा परिवर्तन हुन सक्छ भने, के येशूको नाम पनि परिवर्तन हुन सक्दैन र? यीमध्ये कुनै पनि कुरा अनौठो छैन; कुरा के मात्रै हो भने मानिसहरू अत्यन्तै सरल-मनका छन्। परमेश्वर सधैँ परमेश्वर नै हुनुहुनेछ। उहाँको काम जसरी परिवर्तन भए पनि र उहाँको नाम जसरी परिवर्तन भए पनि, उहाँको स्वभाव र बुद्धि कहिल्यै परिवर्तन हुनेछैन। यदि तँ परमेश्वरलाई येशूको नामले मात्रै बोलाउन सकिन्छ भनी विश्वास गर्छस् भने, तेरो ज्ञान अत्यन्तै सीमित छ। के तँ येशू सधैँभरि परमेश्वरको नाम हुनेछ, परमेश्वर सधैँभरि र सधैँ येशूको नामले चिनिनुहुनेछ अनि यो कहिल्यै परिवर्तन हुनेछैन भनी दाबी गर्ने आँट गर्छस्? के तँ येशूको नामले नै व्यवस्थाको युग अन्त्य गर्यो र यसले नै अन्तिम युग पनि अन्त्य गर्नेछ भनी दृढतापूर्वक विश्वास गर्ने आँट गर्छस्? येशूको अनुग्रहले युगको अन्त्य गर्न सक्छ भनी कसले भन्न सक्छ? यदि तँमा यी सत्यताहरूबारे स्पष्ट बुझाइ छैन भने, तँ सुसमाचार प्रचार गर्ने काम गर्न असक्षम हुने मात्रै होइन, तर तँ आफै दृढ रहन असक्षम पनि हुनेछस्। जब तैँले ती धार्मिक मानिसहरूका सबै कठिनाइ समाधान गर्ने र तिनीहरूका सबै त्रुटि र बेतुकलाई खण्डन गर्ने दिन आउँछ, तब त्यसले तँ कामको यस चरणबारे पूर्ण रूपमा निश्चित छस् र तँमा अलिकति पनि शङ्का छैन भन्ने प्रमाणित गर्नेछ। यदि तँ तिनीहरूका त्रुटि र बेतुकहरूलाई खण्डन गर्न सक्दैनस् भने, तिनीहरूले तँलाई झुटो आरोपमा फसाउनेछन् र बदनाम गर्नेछन्। के त्यो लाजमर्दो हुनेछैन र?
यहूदीहरू सबैले पुरानो करार पढ्थे र डुँडमा एउटा बालक शिशुको जन्म हुनेछ भन्ने यशैयाको अगमवाणी तिनीहरूलाई थाहा थियो। त्यसोभए, यो अगमवाणीबारे पूर्ण रूपमा थाहा हुँदाहुँदै पनि, तिनीहरूले किन अझै येशूलाई सताए त? के यो तिनीहरूको विद्रोही प्रकृति र पवित्र आत्माको कामबारेको अज्ञानताले गर्दा होइन र? त्यतिबेला, फरिसीहरूले येशूको कामलाई तिनीहरूले अगमवाणी गरिएको बालक शिशुबारे जानेको कुराभन्दा फरक छ भनी विश्वास गर्थे र आज मानिसहरू परमेश्वरलाई देहधारी परमेश्वरको काम बाइबलअनुरूप नभएकाले इन्कार गर्छन्। के परमेश्वरप्रतिको तिनीहरूको विद्रोहीपनको सार उस्तै होइन र? के तँ कुनै अपवादविना पवित्र आत्माका सबै काम स्वीकार गर्न सक्छस्? यदि यो पवित्र आत्माको काम हो भने, यो सही प्रवाह हो र तैँले यसलाई कुनै आशङ्काविना स्वीकार गर्नुपर्छ; तैँले के स्वीकार गर्ने भनेर रोजी-छानी गर्नु हुँदैन। यदि तँ परमेश्वरप्रति अझ धेरै आफ्नो अन्तर्दृष्टि लागू गर्ने र उहाँप्रति अझ बढी सतर्कता अपनाउने प्रयास गर्छस् भने, के यो अनुचित होइन र? तैँले गर्नुपर्ने कुरा भनेको बाइबलबाट थप प्रमाण खोज्नु होइन, बरु पवित्र आत्माको काम निरन्तर रूपमा स्वीकार गर्नु हो, किनभने तँ परमेश्वरलाई पछ्याउन परमेश्वरमा विश्वास गर्छस् र तैँले उहाँलाई छानबिन गर्नु हुँदैन। तैँले म तेरा परमेश्वर हुँ भनी प्रमाणित गर्न मबारे थप प्रमाण खोज्नु हुँदैन, बरु म तेरा लागि लाभदायक छु कि छैनँ भनी खुट्ट्याउन सक्नुपर्छ—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तैँले बाइबलभित्र थप खण्डन गर्न नसकिने प्रमाण भेट्ट्इस् भने पनि, त्यसले तँलाई पूर्ण रूपमा मसामु ल्याउन सक्दैन। तँ केवल बाइबलको सीमाभित्र जिउँछस् र मसामु होइन; बाइबलले तँलाई मलाई चिन्न मद्दत गर्न सक्दैन, न त यसले मप्रतिको तेरो प्रेमलाई गहन बनाउन नै सक्छ। एक बालक शिशुको जन्म हुनेछ भनी बाइबलले अगमवाणी गरेको भए पनि, त्यो अगमवाणी कोमाथि पूरा हुनेछ भनी कसैले पनि बुझ्न सकेन, किनभने मानिसलाई परमेश्वरको काम थाहा थिएन र यसैले गर्दा फरिसीहरूले येशूको प्रतिरोध गरे। मेरो काम मानिसको हितमा छ भन्ने कतिपयलाई थाहा छ, तैपनि तिनीहरू येशू र म दुई पूर्ण रूपमा अलग, आपसमा नमिल्ने सत्त्वहरू हौँ भनी विश्वास गरिरहन्छन्। त्यतिबेला, येशूले आफ्ना चेलाहरूलाई अनुग्रहको युगमा कसरी अभ्यास गर्ने, कसरी एकसाथ भेला हुने, प्रार्थनामा कसरी बिन्ती गर्ने र अरूलाई कसरी व्यवहार गर्ने भन्नेजस्ता विषयहरूबारे अनुग्रहको युगका प्रवचनहरूको शृङ्खला मात्रै दिनुभयो। उहाँले गरेको काम अनुग्रहको युगको काम थियो र उहाँले त्यस समयका चेलाहरू र उहाँलाई पछ्याउनेहरूले कसरी अभ्यास गर्नुपर्छ भन्ने बारेमा मात्रै बोल्नुभयो। त्यतिबेला, उहाँले अनुग्रहको युगको काम मात्रै गर्नुभयो र आखिरी दिनहरूको कुनै पनि काम गर्नुभएन। जब यहोवाले व्यवस्थाको युगमा पुरानो करारको व्यवस्था स्थापित गर्नुभयो, तब उहाँले किन अनुग्रहको युगको काम गर्नुभएन? उहाँले किन अनुग्रहको युगको कामलाई अगावै स्पष्ट पार्नुभएन? के यसले मानिसलाई त्यो स्वीकार गर्न मद्दत गर्नेथिएन र? उहाँले एक बालक शिशुको जन्म हुनेछ र ऊ शक्तिमा आउनेछ भनेर मात्रै अगमवाणी गर्नुभयो, तर उहाँले अनुग्रहको युगको काम अगावै गर्नुभएन। प्रत्येक युगमा हुने परमेश्वरको कामका स्पष्ट सीमाहरू हुन्छन्; उहाँ हालको युगको काम मात्रै गर्नुहुन्छ र कामको अर्को चरण कहिल्यै अगावै गर्नुहुन्न। यसरी मात्रै प्रत्येक युगको उहाँको प्रतिनिधिमूलक कामलाई अगाडि ल्याउन सकिन्छ। येशूले आखिरी दिनहरूका चिह्नहरूबारे मात्रै बोल्नुभयो; उहाँले त्यसबेलाका मानिसहरू कसरी धैर्यवान् हुनुपर्छ, तिनीहरूले कसरी छुटकारा पाउनुपर्छ, तिनीहरूले कसरी पश्चात्ताप गर्नुपर्छ र पाप स्विकार्नुपर्छ र तिनीहरूले कसरी क्रूस बोक्नुपर्छ र कष्ट सहनुपर्छ भनेर मात्रै भन्नुभयो। उहाँले कहिल्यै मानिसले आखिरी दिनहरूमा कसरी प्रवेश हासिल गर्नुपर्छ भनेर बोल्नुभएन, न त उसले परमेश्वरका अभिप्रायहरू सन्तुष्ट पार्न कसरी खोज्नुपर्छ भन्नेबारे नै कहिल्यै बोल्नुभयो। यसो भएकाले, आखिरी दिनहरूको परमेश्वरको कामका लागि बाइबलमा खोज्नु के बेतुकको कुरा होइन र? तैँले बाइबल मात्रै च्यापेर के देख्न सक्छस् र? चाहे बाइबलको व्याख्याता होस् वा प्रचारक, कसले आजको काम अगावै स्पष्टसँग देख्न सक्थ्यो र?
“आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ सो, कान हुनेले सुनोस्।” के तिमीहरूले अहिले पवित्र आत्माका वचनहरू सुनेका छौ? परमेश्वरका वचनहरू तिमीहरूमाथि आएका छन्। के तिमीहरू ती सुन्छौ? परमेश्वर आखिरी दिनहरूमा वचनहरूको काम गर्नुहुन्छ र यी वचनहरू पवित्र आत्माका हुन्, किनभने परमेश्वर पवित्र आत्मा हुनुहुन्छ र उहाँ देह पनि बन्न सक्नुहुन्छ; त्यसकारण, विगतमा बोलिएझैँ, पवित्र आत्माका वचनहरू आज देहधारी परमेश्वरका वचनहरू हुन्। पवित्र आत्मा बोलिरहनुभएको हुनाले, मानिसहरूले सुन्नका लागि उहाँको आवाज स्वर्गबाट आउनुपर्छ भनी विश्वास गर्ने धेरै बेतुके मानिस छन्। यसरी सोच्ने जोकोहीलाई परमेश्वरको काम थाहा छैन। वास्तवमा, पवित्र आत्माले बोलेका वाणीहरू देह बन्नुभएको परमेश्वरले बोलेका वाणीहरू हुन्। पवित्र आत्माले सिधै मानिससँग बोल्न सक्नु सम्भव नै थिएन; व्यवस्थाको युगमा समेत, यहोवाले जनसमूहसँग सिधै बोल्नुभएन। के उहाँले आजको यस युगमा त्यसो गर्ने सम्भावना झनै कम हुनेथिएन र? परमेश्वरले आफ्नो बोली र वाणीहरूद्वारा काम गर्नका लागि, उहाँ देह बन्नैपर्छ; अन्यथा, उहाँको कामले आफ्ना लक्ष्यहरू पूरा गर्न सक्नेछैन। देहधारी परमेश्वरलाई इन्कार गर्नेहरू आत्मा वा परमेश्वरले काम गर्ने सिद्धान्तहरू थाहा नहुनेहरू हुन्। अहिले पवित्र आत्माको युग हो भनी विश्वास गर्ने, तैपनि उहाँको नयाँ काम स्वीकार नगर्नेहरू काल्पनिक आस्थाबीच जिउनेहरू हुन्। त्यस्ता मानिसहरूले पवित्र आत्माको काम कहिल्यै प्राप्त गर्नेछैनन्। पवित्र आत्माले सिधै बोल्नुभएको र आफ्नो काम गर्नुभएको मात्रै माग गर्ने अनि देहधारी परमेश्वरका वचनहरू वा काम स्वीकार नगर्नेहरू कहिल्यै नयाँ युगमा प्रवेश गर्न वा परमेश्वरद्वारा पूर्ण रूपमा मुक्ति पाउन सक्षम हुनेछैनन्!