तीन अर्तीहरू
परमेश्वरमा विश्वास गर्ने व्यक्तिको रूपमा तैँले सबै कुरामा उहाँ बाहेक अरू कसैप्रति बफादार रहनु हुँदैन र हरेक कुरामा उहाँका अभिप्रायसँग मिल्न सक्नुपर्छ। तथापि, सबैले यो सन्देश बुझे पनि, मानिसका विविध कठिनाइहरूको कारण—उदाहरणको लागि, उसको अज्ञानता, निरर्थकता र भ्रष्टताको कारण—यी सत्यहरू उसमा सम्पूर्ण रूपले स्पष्ट देखिँदैनन्, जुन सबैभन्दा स्पष्ट र आधारभूत कुराहरू हुन्, त्यसैले तिमीहरूको अन्त्य अपरिवर्तनीय हुनुभन्दा अगाडि, म पहिले तिमीहरूलाई तिमीहरूको लागि अत्याधिक महत्त्वका केही कुराहरू बताउन चाहन्छु। म अघि बढ्नुभन्दा पहिले, तिमीहरूले यो बुझ्नुपर्छ: मैले बोल्ने वचनहरू सम्पूर्ण मानवजातिप्रति लक्षित सत्यताहरू हुन्; तिनीहरू केवल निश्चित व्यक्ति वा निश्चित प्रकारको व्यक्तिको लागि मात्र सम्बोधन गरिएका होइनन्। त्यसकारण, तिमीहरूले मेरा वचनहरू सत्यताको दृष्टिकोणबाट बुझ्न ध्यान केन्द्रित गर्नुपर्छ र तिमीहरूसँग अविभाजित ध्यान र इमानदारीताको मनोवृत्ति हुनुपर्छ; मैले बोलेका कुनै पनि वचन वा सत्यतालाई बेवास्ता नगर्नू र मैले बोलेका सबै वचनहरूलाई हल्का रूपमा नलिनू। तिमीहरूले तिमीहरूको जीवनमा सत्यतासँग सान्दर्भिक नहुने धेरै कुराहरू गरेका छौ भन्ने मैले देखेको छु र त्यसैले म तिमीहरूलाई विशेष अनुरोध गर्दछु, कि तिमीहरू सत्यताका सेवकहरू बन, तिमीहरू दुष्टता र कुरूपताको दास नबन र तिमीहरूले सत्यतालाई नकुल्चिओ वा परमेश्वरको घरको कुनै पनि भागलाई अपवित्र नतुल्याओ। तिमीहरूलाई मेरो अर्ती यही हो। अब म हालको विषयमा कुरा गर्नेछु।
पहिलो, तिमीहरूको भाग्यका खातिर, तिमीहरूले परमेश्वरबाट मान्यता प्राप्त गर्नुपर्छ। भन्नुको मतलब, तिमीहरूले आफू परमेश्वरको घरका सदस्य भएको भनी स्विकार्ने हुनाले, तिमीहरूले सबै पक्षमा परमेश्वरको मनलाई शान्त पार्नुपर्छ र सबै कुरामा उहाँलाई सन्तुष्ट पार्नुपर्छ—यसो भन्नुको मतलब, तिमीहरूले सिद्धान्तसाथ र सत्यताअनुरूप कार्य गर्नैपर्छ। यदि तिमीहरूले यो कुरा पूरा गर्न सकेनौ भने, तिमीहरू परमेश्वरद्वारा तिरस्कृत हुनेछौ र तिरस्कारका साथ सबैबाट अस्वीकृत हुनेछौ। यस्तो बन्धनमा फसिसकेपछि, तिमीहरूलाई परमेश्वरको घरका सदस्यमा गन्न मिल्दैन, र परमेश्वरबाट मान्यता प्राप्त नगर्नु भनेको यही नै हो।
दोस्रो, परमेश्वर इमानदार हुनेहरूलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूलाई थाहा हुनुपर्छ। परमेश्वरसँग विश्वासयोग्यताको सार छ, त्यसैले उहाँका वचनहरूलाई सधैँ विश्वास गर्न सकिन्छ; यसबाहेक, उहाँका कार्यहरू त्रुटिरहित र निर्विवाद छन्। यसै कारण परमेश्वर उहाँसँग पूर्ण रूपमा इमानदार हुनेहरूलाई मन पराउनुहुन्छ। इमानदारी भनेको तिमीहरूको हृदय परमेश्वरलाई दिनु, कुनै पनि कुरामा परमेश्वरप्रति झूटो नहुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, तथ्यहरू कहिल्यै नलुकाउनु, आफूभन्दा माथिकालाई छल गर्ने र आफूभन्दा तलकाबाट कुराहरू लुकाउने प्रयास कहिल्यै नगर्नु, र परमेश्वरको चापलुसी गर्ने फगत प्रयासका कामकुरा नगर्नु हो। छोटकरीमा भन्दा, इमानदार हुनु भनेको आफ्नो बोली-व्यवहारमा विशुद्ध हुनु हो, र परमेश्वर वा मानिस कसैलाई पनि छल नगर्नु हो। म जे भन्छु त्यो एकदमै सरल छ, तर तिमीहरूका लागि त्यो अत्यन्तै कठिन छ। धेरै मानिसहरू इमानदारीपूर्वक बोल्नु र कार्य गर्नुभन्दा बरु नर्क जान रुचाउँछन्। बेइमानहरूका निम्ति मसँग अर्कै इलाज छ भन्ने कुरा त्यत्ति आश्चर्यजनक कुरा होइन। अवश्य पनि, तिमीहरूलाई इमानदार हुन कति गाह्रो छ भन्ने कुरा मलाई राम्ररी थाहा छ। तिमीहरू सबै निकै “चलाख” भएकाले, आफ्नै तुच्छ मनस्थितिका आधारमा भद्र मानिसहरूको हृदय मापन गर्न एकदमै सिपालु भएकाले, यसले मेरो कामलाई अझ सरल बनाउँछ। अनि तिमीहरू प्रत्येकले आ-आफ्ना गोप्य कुराहरू छातीमा टाँसेर राखेको हुनाले, ल त्यसोभए, म तिमीहरूलाई अग्निमार्फत “शिक्षा दिन” एक-एक गर्दै प्रकोपमा पार्नेछु, ताकि तत्पश्चात् मेरा वचनहरूमाथिको तिमीहरूको विश्वासमा तिमीहरू दृढ हुन सक। अन्ततः, म तिमीहरूको मुखबाट “परमेश्वर विश्वासयोग्य परमेश्वर हुनुहुन्छ” भन्ने शब्दहरू निचोर्नेछु, जसपछि तिमीहरू आफ्ना छाती पिट्नेछौ, र “मानिसको हृदय अति छली हुन्छ!” भन्दै विलाप गर्नेछौ। यो बेला तिमीहरूको मनस्थिति के हुनेछ? निश्चय नै, तिमीहरू अहिलेको जति घमण्डले आविष्ट हुनेछैनौ! र अहिले भए जति “गहन र दुर्बोध” त झनै हुनेछैनौ। परमेश्वरको उपस्थितिमा, कतिपय मानिसहरू निकै अनुशासित हुन्छन्, र निकै “भद्र” हुन्छन्, तर उनीहरूले आत्माको उपस्थितिमा आफ्ना दाह्राहरू देखाउँछन् र नङ्ग्राहरू फिँजाउँछन्। के तिमीहरू त्यस्ता मानिसहरूलाई इमानदार व्यक्तिहरूको श्रेणीमा गणना गर्छौ? यदि तिमीहरू “अन्तर वैयक्तिक सम्बन्धहरू” मा पोख्त भएको पाखण्डी हौ भने म त भन्छु तिमीहरू पक्कै पनि परमेश्वरसँग तुच्छ व्यवहार गर्न प्रयास गर्ने व्यक्तिहरू हौ। यदि तेरा शब्दहरू बहानाहरू र मूल्यहीन औचित्यहरूले भरिएका छन् भने, म के भन्छु भने तँ सत्यता अभ्यास गर्न अत्यन्तै अनिच्छुक व्यक्ति होस्। यदि तँसँग भन्नै गाह्रो हुने धेरै निजी मामलाहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू, अर्थात् आफ्ना कठिनाइहरू, अरूसामु उदाङ्गो पार्न अत्यन्तै वितृष्ण छस् भने, म के भन्छु भने, तँ त्यस्तो व्यक्ति होस् जसलाई मुक्ति पाउन ठूलो कठिनाइ हुनेछ, र अँध्यारोबाट बाहिर आउन कठिनाइ हुनेछ। यदि तँलाई सत्यताको मार्ग खोजी गर्दा साँच्चै आनन्द लाग्छ भने, तँ सधैँ उज्यालोमा जिउने व्यक्ति होस्। यदि तँ परमेश्वरको घरमा सेवाकर्ता हुनमा निकै खुसी छस्, गुमनाम रही लगनशील र निष्ठावान् भई काम गर्छस्, सधैँ दिन्छस् र कहिल्यै लिँदैनस् भने म भन्छु, तँ बफादार सन्त होस् किनभने तँ कुनै इनाम खोज्दैनस्, तँ केवल इमानदार व्यक्ति भइरहेको छस्। यदि तँ खुलस्त हुन इच्छुक छस् भने, यदि तँ आफ्नो सबथोक समर्पित गर्न इच्छुक छस् भने, यदि तँ परमेश्वरका लागि आफ्नो जीवन बलिदान गर्न र आफ्नो गवाहीमा दृढ रहन सक्षम छस् भने, यदि तँ परमेश्वरलाई सन्तुष्ट पार्न मात्रै जान्ने तर आफूबारे नसोच्ने र आफ्ना लागि केही नलिने हदसम्मको इमानदार छस् भने, तब म भन्छु, त्यस्ता मानिसहरू ज्योतिमा पोषित हुनेहरू हुन् र तिनीहरू राज्यमा सदासर्वदा जिउनेछन्। तँलाई तँभित्र साँचो आस्था र साँचो बफादारी छ कि छैन, तँसँग परमेश्वरका लागि कष्ट भोगेको अभिलेख छ कि छैन, र तँसँग परमेश्वरप्रतिको पूर्ण समर्पणता छ कि छैन भनेर थाहा हुनुपर्छ। यदि तँसँग यी कुराहरू छैनन् भने, तँभित्र विद्रोहीपन, छल, लोभ र गुनासो रहन्छन्। तेरो हृदय इमानदार नभएकाले, तैँले परमेश्वरबाट कहिल्यै सराहना प्राप्त गरेको छैनस् र तँ ज्योतिमा कहिल्यै जिएको छैनस्। आखिरमा व्यक्तिको नियति कस्तो हुनेछ भन्ने कुरा ऊसँग इमानदार र रगत झैँ रातो हृदय छ कि छैन, र ऊसँग विशुद्ध प्राण छ कि छैन भन्ने कुरामा निर्भर रहन्छ। यदि तँ त्यस्तो व्यक्ति होस् जो अत्यन्तै बेइमान छ, जोसँग अत्यन्तै दुर्भावपूर्ण हृदय छ, जोसँग अशुद्ध प्राण छ भने तेरो नियतिको अभिलेखमा लेखिए अनुरूप, तँ त्यो ठाउँमा पुग्ने निश्चित छ जहाँ मानिसलाई दण्ड दिइन्छ। यदि तँ आफू अत्यन्तै इमानदार भएको दाबी गर्छस्, तर कहिल्यै सत्यता अनुरूप व्यवहार गर्न सक्दैनस् वा एउटा सत्य कुरा बोल्न सक्दैनस् भने, के तैँले अझै परमेश्वरबाट इनाम पाउने प्रतीक्षा गरिरहेको छस्? के तँ अझै परमेश्वरले तँलाई उहाँको आँखाको नानी मान्नुहुन्छ भन्ने आशा गर्छस्? के यस्ता सोचहरू बेतुका छैनन् र? तँ सबै कुरामा परमेश्वरलाई छल गर्छस्; मैला हातहरू भएको तँजस्तोलाई परमेश्वरको घरले कसरी रहन दिन सक्छ?
मैले तिमीहरूलाई भन्न चाहेको तेस्रो कुरा हो: प्रत्येक व्यक्तिले परमेश्वरप्रतिको विश्वासमा आफ्नो जीवन जिउने क्रममा परमेश्वरलाई धोका दिने र प्रतिरोध गर्ने खालका कामहरू गरेको छ। तीमध्ये कतिपय कुरालाई कसुरका रूपमा अभिलिखित गर्नु आवश्यक छैन, तर केही भने अक्षम्य छन्, किनभने प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने कामकुराहरू—परमेश्वरको स्वभावलाई चिढ्याउने कामकुराहरू—धेरै छन्। आफ्नै नियतिबारे चासो राख्ने धेरैले यी कामकुराहरू के-के हुन् भनी सोध्न सक्छन्। तिमीहरूले आफू स्वभावैले अहङ्कारी र घमण्डी र तथ्यहरूमा समर्पित हुन अनिच्छुक रहेको कुरा थाहा पाउनुपर्छ। यसकारण, तिमीहरूले आफ्नै बारेमा चिन्तन गरेपछि अलिअलि गरेर म तिमीहरूलाई बताउनेछु। म तिमीहरूलाई साँच्चिकै प्रशासनिक आदेशका विषयवस्तुहरू बुझ्ने कोसिस गर्न र परमेश्वरको स्वभाव जान्ने प्रयास गर्न अर्ती दिन्छु। नत्रभने, तिमीहरूलाई आफ्नो मुख बन्द राख्न गाह्रो हुनेछ र तिमीहरूको जिब्रो जथाभावी रूपमा चल्नेछ, र तिमीहरूले ठूलो कुरा फलाक्नेछौ, जसले गर्दा थाहै नपाई तिमीहरू परमेश्वरको स्वभावलाई चिढ्याएर अन्धकारमा खस्नेछौ, र तिमीहरूले पवित्र आत्मा र ज्योतिको उपस्थिति गुमाउनेछौ। तिमीहरू आफ्ना कार्यहरूमा सिद्धान्तहीन भएका कारण, तिमीहरूले गर्न र भन्न नहुने कुराहरू गरेका र भनेका हुनाले, तिमीहरूले पाउनुपर्ने दण्ड पाउनेछौ। तँ वचन र कर्ममा सिद्धान्तहीन भए पनि परमेश्वर यी दुवै कुरामा सिद्धान्तयुक्त हुनुहुन्छ भन्ने कुरा तैँले थाहा पाउनुपर्छ। तैँले दण्ड पाउने भनेको कुनै व्यक्तिलाई नभई परमेश्वरलाई चिढ्याएका कारणले गर्दा हो। यदि तैँले तेरो जीवनमा परमेश्वरको स्वभावविरुद्ध धेरै कसुरहरू गरिस् भने, तँ नर्कको सन्तान बन्ने पक्का छ। मानिसलाई तैँले सत्यसँग मेल नखाने केही कार्यहरू मात्र गरेको छस् र त्योभन्दा अरू कुनै कुरा गरेको छैनस् जस्तो लाग्न सक्छ। के तँलाई थाहा छ, परमेश्वरको आँखामा तँ यस्तो व्यक्ति होस् जसका निम्ति अब कुनै पापबलि छैन? तैँले परमेश्वरको प्रशासनिक आदेशहरू धेरै पल्ट उल्लंघन गरिसकेको हुनाले, र तैँले पश्चात्ताप वा बदलावको कुनै पनि सङ्केत नदेखाएको हुनाले, तँलाई परमेश्वरले मानिसलाई दण्डित गर्ने नरकमा खसालिनु बाहेक अन्य कुनै पनि उपाय छैन। केही मानिसहरूले परमेश्वरको अनुसरण गर्ने क्रममा केही यस्ता कार्यहरू गरे जसले सिद्धान्तहरू उल्लंघन गर्यो, तर काँटछाँट गरिएपछि र मार्गदर्शन दिइएपछि, उनीहरूले क्रमशः आफ्नो भ्रष्ट आचरणहरू पत्ता लगाए र त्यसपछि वास्तविकताको सही बाटोमा प्रवेश गरे र उनीहरू आज व्यावहारिक भएका छन्। यस्ता मानिसहरू नै अन्त्यमा बाँच्नेहरू हुन्। तथापि, मैले चाहने चाहिँ इमानदार मानिस हो; यदि तँ इमानदार व्यक्ति होस् र सिद्धान्तहरू अनुसार कार्य गर्छस् भने, तँ परमेश्वरको विश्वासपात्र बन्न सक्छस्। यदि तैँले आफ्ना कार्यहरूमा परमेश्वरको स्वभावलाई उल्लङ्घन गर्दैनस्, र परमेश्वरका चाहनाहरू खोज्छस्, र तँमा परमेश्वरको डर मान्ने हृदय छ भने, तेरो विश्वास मानकअनुरूप छ। जसले परमेश्वरको डर मान्दैन र जोसँग भयले काँप्ने हृदय छैन, उसले परमेश्वरका प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने सम्भावना धेरै हुन्छ। धेरैले आफ्नो जोशको दममा परमेश्वरको सेवा गर्छन् तर उनीहरूमा परमेश्वरको प्रशासनिक व्यवस्थाको कुनै बुझाइ नै हुँदैन र उहाँको वचनका आशयहरूको आभास त परै जाओस्। तसर्थ, उनीहरूको असल नियत हुँदाहुँदै पनि, उनीहरू परमेश्वरको व्यवस्थापनमा बाधा पुऱ्याउने कुराहरू गर्न पुग्छन्। गम्भीर अवस्थाहरूमा, उनीहरूलाई परमेश्वरको घरबाट निष्कासित गरिन्छ, उहाँलाई अनुसरण गर्ने थप अवसरबाट वञ्चित गरिन्छ र नरकमा फ्याँकिन्छ, र परमेश्वरको भवनसँगको सबै सम्बन्ध अन्त्य हुन्छ। यी मानिसहरू आफ्नो अनभिज्ञ असल अभिप्रायको दममा परमेश्वरको घरमा काम गर्छन् र अन्त्यमा परमेश्वरको स्वभावलाई क्रोधित पार्न पुग्छन्। मानिसहरूले परमेश्वरको भवनमा आफ्ना अधिकारीहरू र मालिकहरूको सेवा गर्ने तरिकाहरू लिएर आउँछन् र तिनीहरूले यहाँ प्रयत्नविना सजिलै प्रयोग गर्न सकिन्छ भन्ने कुरा व्यर्थमा सोचेर तिनीहरूलाई प्रयोगमा ल्याउने कोसिस गर्छन्। परमेश्वरको स्वभाव भेडाको पाठाको जस्तो हुँदैन, बरु सिंहको जस्तो हुन्छ भनेर उनीहरूले कहिल्यै पनि कल्पना गर्दैनन्। त्यसकारण, परमेश्वरसँग पहिलोपल्ट सम्बन्ध राख्ने व्यक्तिहरूले उहाँसँग वार्तालाप गर्न सक्दैनन् किनभने परमेश्वरको हृदय मानिसको हृदयभन्दा फरक हुन्छ। तैँले धेरै सत्यहरू बुझिसकेपछि मात्र तैँले परमेश्वरलाई निरन्तर बुझ्न सक्छस्। यो ज्ञान शब्दहरू र सिद्धान्तहरूले बनेको होइन तर यसलाई खजानाको रूपमा प्रयोग गर्न सकिन्छ जसको मद्दतले तँ परमेश्वरसँगको निकट निश्चयतामा प्रवेश गर्न सक्छस् र यसलाई उहाँ तँसँग प्रसन्न हुनुहुन्छ भन्ने प्रमाणको रूपमा प्रयोग गर्न सकिन्छ। यदि तँमा ज्ञानको वास्तविकताको कमी छ र तँ सत्यद्वारा सुसज्जित छैनस् भने, तेरो जोशिलो सेवाले परमेश्वरको घिन र घृणा मात्र निम्त्याउँछ। अहिलेसम्ममा तैँले परमेश्वरमाथिको विश्वास ईश्वरशास्त्रको अध्ययन होइन भन्ने कुरा बुझिसकेको हुनुपर्छ।
मैले तिमीहरूलाई अर्ती दिएका शब्दहरू संक्षिप्त भए तापनि मैले बताएका ती सबै कुराहरू तिमीहरूमा निकै कमी छ। मैले अहिले बताएका कुराहरू मानिसहरू माझ मेरो अन्तिम कार्यको लागि र मानिसहरूको अन्त्य निर्धारण गर्नको लागि हो भनी तिमीहरूले बुझ्नुपर्छ। म कुनै उद्देश्य नै पूरा नगर्ने अत्याधिक धेरै कार्य गर्न चाहन्न, न त कुहेका काठ जस्तै विवश भई तिमीहरूलाई मार्गदर्शन नै गरिरहन चाहन्छु, झनै गुप्तमा गलत नियत थुपारिरहनेहरूलाई अगुवाइ गर्नु त परै जाओस्। शायद एक दिन तिमीहरूले मेरा वचनहरू पछाडिका अभिप्रायहरू र मैले मानवजातिको लागि गरेका योगदानहरूलाई बुझ्नेछौ। सायद एक दिन तिमीहरूले त्यो सन्देश बोध गर्नेछौ जसले तिमीहरूलाई आफ्नो अन्त्यबारे निर्णय गर्न सक्षम तुल्याउनेछ।