अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ

मैले तिमीहरूलाई धेरै चेतावनीहरू दिएको छु र तिमीहरूलाई जित्ने मनसाय भएका धेरै सत्यहरू तिमीहरूलाई प्रदान गरेको छु। अहिले सम्ममा, तिमीहरू सबैले तिमीहरू विगतमा भन्दा अत्यन्तै धेरै समृद्ध भएको महसुस गर्छौ, तिमीहरूले व्यक्ति कस्तो हुनुपर्छ भन्‍ने बारेका धेरै सिद्धान्तहरू बुझेका छौ, र तिमीहरूले धेरै हदसम्म विश्‍वसनीय मानिसहरूसँग हुनुपर्ने सामान्य सुझबुझ प्राप्त गरेका छौ। यी सबै ती कटनी हुन् जुन तिमीहरूले धेरै वर्षको अन्तरालमा जम्मा गरेका हौ। म तिमीहरूका उपलब्धिहरूलाई इन्कार गर्दिन, तर मैले खुलस्त रूपमा यो पनि भन्नुपर्छ कि यी धेरै वर्षहरूको अन्तरालमा तिमीहरूले म विरुद्ध गरेका असंख्य अवज्ञाहरू र विद्रोहहरूलाई पनि नकार्दिनँ, किनभने तिमीहरू माझमा एक जना पनि सन्त छैन। तिमीहरू शैतानले भ्रष्ट पारेका मानिसहरू हौ भन्‍नेमा कुनै अपवाद छैन; तिमीहरू ख्रीष्टका शत्रुहरू हौ। आजको मितिसम्ममा तिमीहरूका अपराधहरू र अवज्ञाहरू अनगिन्ती भएका छन्, त्यसैले मैले तिमीहरूलाई निरन्तर सताइरहेको छु भन्‍ने कुरालाई विरलै मात्र अनौठो मान्न सकिन्छ। म यस्तो तरिकाले तिमीहरूसँग सह-अस्तित्वमा रहन सक्दिन—तर तिमीहरूको भविष्यको निम्ति, तिमीहरूको गन्तव्यहरूको निम्ति, म, यहाँ र अहिले, फेरि एक पटक म तिमीहरूलाई झिज्याउँछु। म आशा गर्छु कि तिमीहरूले मलाई सन्तुष्ट पार्नेछौ र अझ भन्‍ने हो भने, तिमीहरूले मेरा हरेक वाणीहरूमा विश्‍वास गर्न सक्‍नेछौ र मेरा वचनहरूको गहन तात्पर्य बुझ्नेछौ। मैले जे भन्छु त्यसमा शङ्का नगर, मेरा वचनहरूलाई मन लागे टिप्ने अनि मन लागे हुत्याइफाल्ने त झन् गर्दै-नगर; म यस कार्यलाई सहन सक्दिन। मेरा वचनहरूलाई जाँच नगर, र तिनीहरूलाई हल्का रूपले लिने वा मैले सधैँ तिमीहरूलाई प्रलोभनमा पार्दैछु भन्‍ने कुरा गर्दै-नगर, वा त्योभन्दा खराब रूपमा, मैले तिमीहरूलाई जे भने त्यसलाई गलत छ भनेर त झन् भन्दै नभन। यी कुराहरूलाई पनि म सहन सक्दिन। तिमीहरूले, मेरा वचनहरूलाई कहिल्यै पनि सराहना नगर्ने अनि मलाई सधैँ उपेक्षा गर्ने कार्य गर्दै, मलाई र मैले भनेका कुराहरूलाई शङ्काको दृष्टिले व्यवहार गर्ने भएकोले म तिमीहरू प्रत्येकलाई पूर्ण गम्भीरताका साथ भन्छु: मैले जे भन्छु त्यसलाई दर्शनशास्‍त्रसँग नजोड; मेरा वचनहरूलाई छलीहरूको झूटसँग नजोड। अवहेलनाको साथमा मेरा वचनहरूको प्रत्युत्तर दिने कार्य त झन् गर्दै-नगर। शायद भविष्यमा कसैले पनि तिमीहरूलाई मैले जे भन्दैछु त्यो भन्न सक्नेछैन वा तिमीहरूसँग यति उदारताका साथ बोल्न सक्नेछैन, अर्थात् यी बुँदाहरूमा यति धैर्यताका साथ तिमीहरूलाई डोर्याउने कुरा त परै जाओस्। तिमीहरूले राम्रो समयको सम्झना गर्दै आउने ती दिनहरू बिताउनेछौ, वा घ्वाँ-घ्वाँ जोडले रुँदै वा पीडामा अइयाअइया भन्दै बस्नेछौ, वा तिमीहरू सत्य वा जीवनको एक त्यान्द्रो समेत बन्दोबस्त नभइकनै अन्धकार रातमा बाँचिरहेका हुनेछौ वा केवल निराशाका साथ प्रतीक्षा गरिरहेका हुनेछौ, वा तिमीहरूले सम्पूर्ण विवेक गुमाएकोमा अत्यन्तै नमीठो अफसोस मान्दै बसिरहेका हुनेछौ…। वास्तवमा तिमीहरूमध्ये कोही पनि यी सम्भावनाहरूबाट उम्कन सक्दैनौ। किनभने तिमीहरूमध्ये कसैले पनि परमेश्‍वरलाई साँचो रूपले आराधना गर्ने स्थान ओगट्दैनौ बरु तिमीहरूका विश्‍वास, तिमीहरूका आत्मा, प्राण, र शरीरमा जीवन र सत्यतासँग कुनै सम्बन्ध नै नभएका र वास्तवमा तिनका विपरीत हुने धेरै कुराहरू मिसाउँदै आफैलाई दुराचार र दुष्टताको संसारमा डुबाउँछौ। त्यसकारण तिमीहरूको लागि म के आशा गर्छु भने तिमीहरूलाई ज्योतिको पथमा ल्याउन सकियोस्। मेरो एकमात्र आशा भनेको तिमीहरू आफ्नो बन्दोबस्ती, आफ्नो हेरविचार आफैले गर्न सक्षम होऊ अनि तिमीहरूले तिमीहरूका व्यवहार र अपराधहरूप्रति उदासीनता प्रकट गर्दै तिमीहरूको गन्तव्यमा मात्र धेरै जोड नेदेऊ भन्‍ने हो।

लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू सबैले उत्सुकतापूर्वक सुन्दर गन्तव्यको आशा गरिरहेका छन् र परमेश्‍वरका विश्‍वासीहरू सबैले नै अचानक तिनीहरूको भाग्य चम्कनेछ भनी आशा गर्छन्। तिनीहरू सबैले तिनीहरूलाई थाहा हुनुअघि नै शान्तिपूर्वक स्वर्गको एउटा वा अर्को स्थानमा तिनीहरू बसिसकेको पाउनेछन् भनी आशा गर्छन्। तर म भन्छु कि सुन्दर विचारहरू भएका ती मानिसहरूले तिनीहरू स्वर्गबाट झरी आउने त्यस्तो सौभाग्य प्राप्त गर्नको लागि वा त्यहाँको कुनै स्थानमा बस्नको लागि योग्य छन् कि छैनन् भनेर कहिल्यै पनि जानेका छैनन्। तिमीहरूसँग वर्तमान समयमा आफ्नो बारेमा राम्रो ज्ञान छ, तैपनि तिमीहरूले अझै पनि आखिरी दिनहरूका विपत्तिहरूबाट र उहाँले दुष्टहरूलाई सजाय दिँदै गर्दा सर्वशक्तिमानका हातहरूबाट उ‍म्कने आशा गर्छौ। यस्तो देखिन्छ कि मीठा सपना देख्नु र आफूले चाहेको जस्तै कुराहरू पाउने इच्छा गर्नु शैतानद्वारा भ्रष्ट पारिएका सबै मानिसहरूको एक साझा विशेषता हो अनि त्यो कुरा कोही एक्लो व्यक्तिको कुनै निपुर्ण चाल होइन। त्यति हुँदाहुँदै पनि, म अझै पनि तिमीहरूका यी अनावश्यक इच्छाहरूका साथसाथै आशीर्वादहरू प्राप्त गर्ने तिमीहरूको उत्सुकताको अन्त्य गर्न चाहन्छु। तिमीहरूका अपराधहरू अनगिन्ती छ र तिमीहरूको विद्रोहीपन सधैँ बढिरहन्छ भन्‍ने कुरालाई ध्यानमा राख्दा, यी कुराहरू कसरी भविष्यको लागि तिमीहरूको सुन्दर योजनाहरूसँग मेल खान सक्छन्? यदि तैँले मनोमानी ढङ्गले कुनै कुरा बाँकी नराखी गल्ती गरिरहन्छस्, तर त्यति नै बेला आफ्नो सपना पनि अझै पूरा होस् भन्‍ने चाहन्छस् भने, म तँलाई तेरो अचेतपनलाई जारी राख्न अनि कहिल्यै पनि नब्युँझन आग्रह गर्छु—किनभने त्यो तेरो खोक्रो सपना हो र धर्मी परमेश्‍वरको उपस्थितिमा उहाँले तेरो लागि कुनै अपवाद सृजना गर्नुहुनेछैन। यदि तैँले केवल तेरो सपना पूरा होस् भन्‍ने चाहन्छस् भने, कहिल्यै पनि सपना नदेख्; बरु सधैँ सत्य र तथ्यको सामना गर्। तँलाई मुक्ति दिन सकिने एउटै मात्र तरिका यही मात्रै हो। ठोस शब्दहरूमा भन्दा, यो तरिकाका चरणहरू के-के हुन्?

पहिलो, तेरा सबै अपराधहरूलाई एकपल्ट हेर् र सत्यतासँग मेल नखाने तेरा जुनसुकै व्यवहार र तँमा भएका जुनसुकै सोचहरूको जाँच गर्।

यो तैँले सजिलैसँग गर्न सक्‍ने एउटा कुरा हो, र म सबै बुद्धिमान मानिसहरूले यो कुरा गर्न सक्छन् भन्‍ने विश्‍वास गर्छु। तथापि, जसलाई अपराध र सत्यता के हुन् भन्‍ने नै थाहा छैन तिनीहरू अपवाद हुन्, किनभने आधारभूत तहमा तिनीहरू बुद्धिमान मानिसहरू होइनन्। म ती मानिसहरूसँग कुरा गरिरहेको छु जसलाई परमेश्‍वरले स्वीकार गर्नुभएको छ, जो इमान्दार छन्, अनि जसले गम्भीर रूपमा प्रशासनिक आदेशहरू उल्लंघन गरेका छैनन् र आफ्ना अपराधहरू सजिलैसित देख्न सक्छन्। मैले तिमीहरूलाई पूरा गर्न लगाएको यो कुरा सजिलो भए तापनि, मैले तिमीहरूले पूरा गर्न अनिवार्य गरेको कुरा यही मात्रै होइन। जे-जस्तो कुरा भए पनि, तिमीहरू यी आवश्यकताप्रति एक्लै हाँस्नेछैनौ अनि विशेष गरी तिमीहरूले यसलाई तुच्छ नजरले हेर्नेछैनौ वा यसलाई हल्का रूपले लिनेछैनौ भन्‍ने म आशा गर्छु। तिमीहरूले यसलाई गम्भीर रूपमा लिनुपर्छ, र बेवास्ता गर्नुहुँदैन।

दोस्रो, तेरा हरेक अपराधहरू र अवज्ञाहरूको लागि तैँले सम्बन्धित सत्यतालाई खोज्नुपर्छ, त्यसपछि ती सत्यताहरूलाई ती समस्याहरू समाधान गर्नको लागि प्रयोग गर्नुपर्छ। त्यसपछि, तेरा ती अपराधी कार्यहरू र अवज्ञाकारी विचार र कार्यहरूलाई सत्यताको अभ्यासद्वारा प्रतिस्थापन गर्नुपर्छ।

तेस्रो, तैँले आफू इमान्दार मानिस बन्नुपर्छ, सँधै बाठो बनिरहने र निरन्तर छली रहिरहने व्यक्ति होइन। (यहाँ मैले तिमीहरूलाई फेरि पनि एक इमान्दार व्यक्ति बन्नू भनी अनुरोध गरिरहेको छु।)

यदि तैँले यी तीन वटै कुराहरू पूरा गर्न सक्छस् भने, तँ भाग्यमानीहरू मध्येको एक होस्—एक यस्तो व्यक्ति जसको सपना पूरा हुन्छ र जसको भाग्य चम्कन्छ। शायद तिमीहरूले यी तीन अनाकर्षक आवश्यकताहरूलाई गम्भीर रूपमा लिनेछौ होला, वा शायद तिमीहरूले तिनलाई गैर-जिम्मेवारपूर्वक लिनेछौ होला। जेसुकै गरे तापनि, मेरो उद्देश्य भनेको तिमीहरूको सपना पूरा गर्नु र तिमीहरूको आदर्शलाई व्यवहारमा उतार्नु हो, तिमीहरूको खिल्ली उडाउनु वा तिमीहरूलाई मूर्ख बनाउनु होइन।

मेरा मागहरू सरल हुन सक्छन्, तर मैले तिमीहरूलाई जे भनिरहेको छु त्यो एकमा एक जोड्दा दुई हुन्छ भन्‍ने जत्तिको सरल छैन। यदि तिमीहरू यसको बारेमा त्यत्तिकै कुरा मात्रै गर्छौ, वा खोक्रा, आडम्बरी भनाइहरू भट्याउँछौ मात्रै भने तिमीहरूका योजनाहरू र तिमीहरूका इच्छाहरू सधैँभरि केवल खाली पानामा मात्र सीमित रहिरहनेछन्। ममा तिमीहरूमध्येका त्यस्ता व्यक्तिहरूप्रति कुनै पनि दयाभाव हुनेछैन जो वर्षौं कष्ट सहन्छन् र कडा मेहनत गर्छन् तैपनि तिनीहरूसँग देखाउने कुनै कुरा नै हुँदैन। यसको विपरीत, जसले मेरा मागहरू पूरा गरेका छैनन् म तिनीहरूलाई सजाय दिन्छु, पुरस्कार दिन्नँ, सहानुभूति दिने कुरा त परै जाओस्। तिमीहरूले कल्पना गर्न सक्छौ कि वर्षौंसम्‍म अनुयायी भएर तिमीहरूले जे-जस्तो भए पनि कडा मेहनत गरेका छौ र एक सेवाकर्ता भएकै कारण तिमीहरूलाई परमेश्‍वरको घरमा एक कचौरा भात प्रदान गरिनुपर्छ। म त भन्छु तिमीहरूमध्ये अधिकांशले यसरी नै सोच्छौ, किनभने तिमीहरूले सधैँ कसरी विभिन्न कुराहरूबाट फाइदा लिने र आफूबाट फाइदा लिन नदिने सिद्धान्तलाई पछ्याएका छौ। यसरी, अब म तिमीहरूलाई पूर्ण गम्भीरताका साथ भन्दैछु: तेरो कडा मेहनत कति सराहनीय छ, तेरा योग्यताहरू कति प्रभावशाली छन्, कति नजिकबाट तैँले मलाई पछ्याउँदैछस्, तँ कति प्रख्यात छस्, वा तैँले आफ्नो मनोवृत्तिमा कति सुधार गरिस् भन्‍ने कुरामा म ध्यान दिँदिन; जबसम्म तैँले मेरा मागहरू पूरा गरेको हुँदैनस्, तबसम्म तैँले कहिल्यै पनि मेरो प्रशंसा प्राप्त गर्न सक्नेछैनस्। जतिसक्दो चाँडो तिमीहरूका ती सबै विचारहरू र आकलनहरूलाई महत्त्व दिन छोडिदेऊ र मेरा आवश्यकताहरूलाई गम्भीरताका साथ लिन थाल; होइन भने, म मेरो कामको अन्त्य गर्न सबैलाई खरानी पारिदिनेछु र अझै खराब कुरा त, मेरो वर्षौंको काम र कष्टलाई शून्यमा बदलिदिन्छु, किनभने म मेरा शत्रुहरूलाई अनि ती व्यक्तिहरू जसबाट दुष्टताको गन्ध आउँछ र जसमा शैतानको रूप छ तिनीहरूलाई मेरो राज्यमा ल्याउन वा अर्को चरणमा लैजान सक्दिन।

मलाई एकदमै धेरै आशा छ। म आशा गर्दछु कि तिमीहरूले उचित र शिष्ट तवरले व्यवहार गर्छौ, विश्‍वसनीय रूपले आफ्नो कर्तव्य पूरा गर्छौ, सत्यता र मानवता हासिल गर्छौ, यस्ता मानिस बन्छौ जसले परमेश्‍वरको लागि आफूसँग भएका सबै कुरा र ज्यानै पनि त्याग्न सक्छ, र यस्तै-यस्तै अन्य कुराहरू गर्नेछौ। यी सबै आशाहरू तिमीहरूका अपर्याप्तताहरू अनि तिमीहरूका भ्रष्टता र अवज्ञाबाट आएका हुन्। यदि मैले तिमीहरूसँग गरेका कुनै पनि संवादहरूले तिमीहरूको ध्यान खिच्न अपर्याप्त रहेका छन् भने, सम्भवतः मैले अब गर्न सक्ने सबै कुरा भनेको थप केही नबोल्नु मात्र हो। तथापि, त्यसको परिणाम के हुन्छ भनेर तिमीहरू बुझ्छौ। म त्यति धेरै पटक थकाइ मार्दिनँ, त्यसैले यदि म बोल्दिन भने मानिसहरूले हेर्नको लागि म केही गर्नेछु। म कसैको जिब्रो कुहाउन सक्छु, वा कसैलाई अङ्गभङ्ग भई मर्ने बनाउन सक्छु, वा मानिसहरूलाई स्नायु अपाङ्गता दिलाउन सक्छु अनि तिनीहरूलाई धेरै तवरमा कुरूप देखिने बनाउन सक्छु। त्यसपछि पनि फेरि, म मानिसहरूलाई पीडा सहन लगाउन सक्छु जुन मैले विशेष गरी तिनीहरूकै लागि भनेर तयार गरेको छु। यसरी म खुशी हुन्थें, धेरै खुशी हुन्थें, र एकदमै धेरै सन्तुष्ट हुन्थें। सधैँ भनिएको छ कि “राम्रोलाई राम्रैले अनि दुष्टतालाई दुष्टताले नै तिरिन्छ”, त्यसो भए अहिले किन त्यसो नगर्ने? यदि तैँले मलाई विरोध गर्न चाहन्छस् र मलाई केही न्याय गर्छस् भने म तेरो मुख कुहाइदिनेछु, र त्यसले मलाई अत्याधिक खुशी दिलाउनेछ। यस्तो किन हो भने अन्ततः तैँले जे गरेको छस् त्यो सत्यता हुँदै-होइन, जीवनसँग यसको कुनै सम्बन्ध हुने कुरा त परै जाओस्, जबकी मैले गर्ने हरेक कुराहरू सत्यता हुन्; मेरा सबै कार्यहरू मेरो काम र मैले तयार गरेको प्रशासनिक नियमहरूको सिद्धान्तहरूसँग सम्बन्धित छन्। त्यसकारण, म तिमीहरू प्रत्येकलाई केही सद्गुण एकत्रित गर्न, त्यति धेरै दुष्टताको कार्य नगर्न र फुर्सदको समयमा मेरा मागहरूको बारेमा ध्यान दिन आग्रह गर्छु। त्यसपछि म आनन्दित महसुस गर्नेछु। यदि तिमीहरूले देहमा लगाउने प्रयत्नको एक हजारको एक भाग मात्र सत्यताको लागि योगदान (वा दान) गर्थ्यौ भने, म त भन्छु, तिमीहरूले बारम्बार अपराधहरू गर्दैनथ्यौ र तिमीहरूका मुखहरू कुहिएका हुँदैनथे। के यो स्पष्ट छैन र?

तैँले जति धेरै अपराधहरू गर्छस् त्यति नै थोरै राम्रो गन्तव्य प्राप्त गर्ने अवसरहरू पाउनेछस्। यसको विपरीत, तैँले जति थोरै अपराधहरू गर्छस् त्यति नै धेरै परमेश्‍वरबाट तेरो प्रशंसा हुने सम्भावना हुन्छ। यदि तेरा अपराधहरू मैले तँलाई क्षमा दिनै नसक्ने हदसम्म बढ्दै जान्छ भने तैँले क्षमा हुने आफ्‍नो मौका पूर्ण रूपमा गुमाइसकेको हुनेछस्। यसै गरी, तेरो गन्तव्य पनि माथि हुँदैन, तल हुन्छ। यदि तैँले मलाई विश्‍वास गर्दैनस् भने तँ साहसी बन् र गलत काम गर्, अनि हेर् तैँले त्यसबाट के पाउँछस्। यदि तँ सत्यताको अभ्यास गर्ने निष्कपट व्यक्ति होस् भने तैँले निश्चय पनि तेरा अपराधहरूको लागि क्षमा पाउने अवसर प्राप्त गर्नेछस्, र तैँले झनझन कम मात्र अवज्ञा गर्नेछस्। यदि तँ सत्यताको अभ्यास गर्न अनिच्‍छुक व्यक्ति होस् भने, अवश्य पनि परमेश्‍वरसामु तेरा अपराधहरूको संख्या बढ्नेछ र तैँले तबसम्‍म झन्-झन् बढी अवज्ञा गर्दै जानेछस् जबसम्‍म तँ तेरो सीमिततामा पुग्छस्, जुन तेरो पूर्ण विनाशको समय हुनेछ। यो त्यही समय हुनेछ जब आशिष्‌हरू प्राप्त गर्ने तेरो मीठो सपना चकनाचूर हुनेछ। आफ्ना अपराधहरूलाई केवल अपरिपक्व वा मूर्ख व्यक्तिले गरेका गल्तीहरूको रूपमा मात्रै नमान्; तैँले आफ्नो कमजोर क्षमताले यसो गर्न असम्भव बनाएकोले गर्दा आफूले सत्यताको अभ्यास गरिन भन्‍ने बहानाबाजी नगर्। यसबाहेक, तैँले गरेका अपराधहरूलाई केवल त्योभन्दा राम्रो केही थाहा नभएको व्यक्तिले गरेका कार्यहरूको रूपमा नमान्। यदि तँ आफूलाई क्षमा गर्न र आफूलाई उदारताका साथ व्यवहार गर्नमा खप्पिस छस् भने म त भन्छु तँ एक काँतर होस् जसले कहिल्यै पनि सत्यता हासिल गर्नेछैन, न त कहिल्यै तेरा अपराधहरूले तेरो पिछा गर्न नै छाड्नेछन्; तिनीहरूले तँलाई सधैँ सत्यताका मागहरू पूरा गर्नबाट रोक्नेछन्, र तँलाई सधैँको लागि शैतानको बफादार रहने बनाउनेछन्। अझै पनि तेरो लागि यो मेरो सुझाव हो: आफ्ना लुकेका अपराधहरूलाई देख्न नसकी आफ्नो गन्तव्यमा मात्र ध्यान नदे; अपराधहरूलाई गम्भीर रूपमा हेर्, र तीमध्ये कुनै पनि अपराधलाई आफ्नो गन्तव्यको सरोकारको कारण बेवास्ता नगर्।

अघिल्लो: तीन अर्तीहरू

अर्को: परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्