अध्याय २७
मानव आचरणले मेरो हृदयलाई कहिल्यै छोएको छैन, न त मेरो लागि यो कहिल्यै बहुमूल्य रूपमा नै देखा परेको छ। मानिसको नजरमा, म जहिल्यै पनि त्यसप्रति कडा छु, र म सधैँ त्यसको विरुद्धमा अधिकारको प्रयोग गरिरहेको हुन्छु। मानिसका सबै कार्यहरूमा, मेरो खातिर गरिने कुरा बिरलै हुन्छ, मेरो नजरअगाडि दह्रिलो गरी खडा हुने कुरा बिरलै हुन्छ। अन्तिममा, मानिसले कुनै कानेखुसीसमेत नगरिकन मेरो अगाडि सबै कुरा थुपार्छ; त्यसपछि मात्रै हरेकलाई तिनीहरूका आफ्नै असफलताद्वारा मलाई चिन्ने तुल्याउँदै म मेरा कार्यहरूलाई प्रकट गर्छु। मानव स्वभाव अपरिवर्तित रहन्छ। तिनीहरूका हृदयमा जे छ, त्यो मेरो इच्छाअनुसार छैन—मलाई चाहिने कुरा यो होइन। मैले सबैभन्दा बढी घृणा गर्ने कुरा भनेको मानिसको जिद्दीपन र अपराध दोहोर्याउने प्रवृत्ति हो, तर मलाई चिन्नबाट बारम्बार असफल गराउन, मलाई सधैँ टाढा राख्न, र मेरो इच्छाअनुसार कहिल्यै काम नगर्ने तर मेरो पिठ्यूँपछाडि मेरो विरोध गर्ने तुल्याउन मानवजातिलाई बाध्य बनाउने शक्ति के हो? के तिनीहरूको निष्ठा यही हो? के मप्रतिको तिनीहरूको प्रेम यही हो? किन तिनीहरू पश्चात्ताप गरेर नयाँ गरी जन्मन सक्दैनन्? किन मानिसहरू हिलो नभएको ठाउँमा बस्नुको सट्टा दलदलमा नै सदासर्वदा बसिरहन इच्छुक हुन्छन्? के मैले तिनीहरूलाई दुर्व्यवहार गरेकोले हो? के मैले तिनीहरूलाई गलत दिशातर्फ इसारा गरेकोले हो? के मैले तिनीहरूलाई नरकतिर डोर्याएकोले हो? हरेक व्यक्ति नै “नरक” मा जिउन इच्छुक हुन्छन्। जब ज्योति आउँछ, तिनीहरूको आँखा तुरुन्तै दृष्टिविहीन हुन्छ, किनभने तिनीहरूमा भएको हरेक कुरा नरकबाट आउँछ। तैपनि मानिसहरू यसबारे अनभिज्ञ छन्, र यी “नरकीय आशिषहरू” मा नै तिनीहरू आनन्द लिन्छन्। तिनीहरूलाई “तिनीहरूको अस्तित्वको मूलविना” नै छोडेर, मैले ती सम्पत्तिहरू खोसेर लिनेछु भन्ने डरले तिनीहरूले ती आशिषहरूलाई सम्पत्तिको रूपमा आफ्ना छातीमा मुठ्ठी कसेर समेत लुकाएर राख्छन्। मानिसहरू मदेखि डराउँछन्, त्यही कारणले गर्दा, जब म पृथ्वीमा आउँछु, मेरो नजिक आउने कार्यलाई घृणा गर्दै तिनीहरू मबाट टाढा बस्छन्, किनभने तिनीहरू “आफैमाथि समस्याहरू ल्याउन” अनिच्छुक छन्, तर आफ्नो परिवारभित्र सद्भाव कायम गर्ने कामना गर्छन् ताकि तिनीहरू “पृथ्वीको खुसी” मा रमाउन सकून्। तर म मानवजातिलाई तिनीहरूले चाहेअनुसार गर्न दिन सक्दिनँ, किनभने मानिसको परिवारलाई नष्ट गर्नकै लागि म यहाँ आएको छु। म आइपुगेकै क्षणबाट तिनीहरूका घरहरूबाट शान्ति गइसकेको हुन्छ। सारा राष्ट्रहरूलाई धूलोपिठो हुने गरी चकनाचूर गर्ने मेरो अभिप्राय छ, मानिसको परिवारको बारेमा त कुरै नगरौं। मेरो पकडबाट को उम्कन सक्छ र? के आशिषहरू प्राप्त गर्ने सबै जना आफ्ना अनिच्छाको सद्गुणद्वारा उम्कने हुन सक्छ? के सजाय भोग्नेहरूले आफ्नो त्रासको सद्गुणद्वारा मेरो सहानुभूति प्राप्त गर्ने कहिल्यै हुन सक्छ? मेरा सबै वचनहरूमा, मानिसहरूले मेरो इच्छा र मेरा कार्यहरूलाई देखेका छन्, तर आफ्नै विचारहरूको जालबाट को स्वतन्त्र हुन सक्छ? मेरा वचनहरूबाट वा बाहिरबाट उम्कने बाटो कसले कहिल्यै पत्ता लगाउन सक्छ?
मानिसले मेरो न्यानोपनलाई अनुभव गरेको छ, मानिसले मलाई इमानदारीताको साथ सेवा गरेको छ, र मेरो उपस्थितिमा सबै कुरा गर्दै मानिस मेरो अघि इमानदारीताको साथ समर्पित भएको छ। तैपनि आजका मानिसहरूले यो प्राप्त गर्नु असम्भव छ; तिनीहरूले आत्मामा बिलौना गर्नेबाहेक केही पनि गर्दैनन्, मानौं तिनीहरूलाई भोको ब्वाँसोले लुछेको छ, र नरोकिइकन मेरो अगाडि रुँदै तिनीहरूले विवश भएर मलाई हेर्न मात्रै सक्छन्। तर अन्त्यमा, तिनीहरू आफ्नो दुःखद अवस्थाबाट उम्कन सक्दैनन्। विगतका मानिसहरूले आफ्नो स्नेहद्वारा मेरो दयाको ऋण तिर्नको लागि मेरो उपस्थितिमा स्वर्ग र पृथ्वीको शपथ खाँदै कसरी प्रतिज्ञा गरेका थिए, त्यसबारे म विचार गर्छु। तिनीहरूले मेरो अगाडि शोकले बिलौना गरे, र तिनीहरूको रुवाइको आवाज हृदयस्पर्शी, सहनै नसकिने किसिमको थियो। तिनीहरूको सङ्कल्पको कारण, म प्रायजसो मानिसहरूलाई सहयोग प्रदान गर्छु। धेरै पटक मानिसहरू ममा समर्पित हुनका लागि मेरो सामने आएका छन्, तिनीहरूको प्रेमिलो आचरण बिर्सनै नसकिने किसिमको छ। धेरै पटक तिनीहरूले अटल वफादारिता देखाउँदै मलाई प्रेम गरेका छन्, तिनीहरूको उत्सुकता सराहनीय छ। धेरै पटक तिनीहरूले आफ्नै ज्यानको बलिदान दिने हदसम्म समेत मलाई प्रेम गरेका छन्, तिनीहरूले आफैलाई भन्दा बढी मलाई प्रेम गरेका छन्—र तिनीहरूको इमानदारीता देखेर मैले तिनीहरूको प्रेमलाई स्वीकार गरेको छु। धेरै पटक मृत्युको मुखमा समेत मेरो खातिर तटस्थ बस्दै तिनीहरूले मेरो उपस्थितिमा आफैलाई प्रदान गरेका छन्, र मैले तिनीहरूका परेलीहरूबाट चिन्ताहरूलाई पुछिदिएको छु र तिनीहरूको मुहारबाट फोहोरहरूलाई बिस्तारै हटाइदिएको छु। धेरै पटक मैले तिनीहरूलाई संरक्षण गरी राखेको सम्पत्तिलाई जस्तै प्रेम गरेको छु, र धेरै पटक मैले तिनीहरूलाई मेरा आफ्नै शत्रुहरूको रूपमा घृणा गरेको छु। तैपनि, मेरो मनमा जे छ त्यो मानिसको पकडभन्दा बाहिर रहन्छ। जब मानिसहरू दुःखित हुन्छन्, म तिनीहरूलाई सान्त्वना दिन आउँछु, र जब तिनीहरू कमजोर हुन्छन्, म तिनीहरूलाई सहयोग गर्न आउँछु। जब तिनीहरू हराउँछन्, म तिनीहरूलाई दिशा-निर्देशन दिन्छु। जब तिनीहरू रुन्छन्, म तिनीहरूको आँसु पुछिदिन्छु। तर जब म दुःखित हुन्छु, कसले मलाई आफ्नो हृदयबाट सान्त्वना दिन सक्छ? जब म अत्यन्तै चिन्तित हुन्छु, तब मेरा भावनाहरूबारे कसले विचार गर्छ? जब म शोकमा पर्छु, मेरो हृदयको चोटलाई कसले उपचार गर्छ? जब मलाई कसैको खाँचो पर्छ, मसँग सहकार्य गर्नलाई कसले स्वयंसेवकको काम गर्छ? के मप्रतिको मानिसहरूको पहिलेको मनोवृत्ति कहिल्यै नफर्किने गरी अब हराएको हो भन्न सकिन्छ? किन तिनीहरूको स्मरणमा केही पनि रहँदैन? कसरी मानिसहरूले यी सबै कुराहरू बिर्सेका छन्? के यी सबै मानवजातिको शत्रुले उसमा ल्याएको भ्रष्टताको कारणले होइन र?
जब मेरो प्रशंसामा स्वर्गदूतहरूले सङ्गीत बजाउँछन्, यसले ममा मानिसप्रतिको सहानुभूतिलाई जगाएरै छाड्छ। मेरो हृदय तुरुन्तै उदास हुन्छ, र यो पीडादायी भावनाबाट आफैलाई मुक्त गर्नु असम्भव छ। मानिसबाट अलग गरिनु र फेरि मिल्नुको आनन्द र शोकमा, हामी भावनाको आदनप्रदान गर्न असमर्थ छौं। स्वर्गमा माथि र पृथ्वीमा मुनि अलग गरिएको कारण, म र मानिस बिरलै भेट्छौं। अतीतका भावनाहरूबाट को उम्कन सक्छ? अतीतका मीठा यादहरूलाई कसले रोक्न सक्छ र? विगतका भावनाहरू जारी रहोस् भन्ने आशा कसले गर्दैन र? कसले मेरो आगमनको तृष्णा गर्दैन र? मानिससँगको मेरो मिलापको लागि कसले तृष्णा गर्दैन र? मेरो हृदय बेचैन छ, र मानिसको आत्मा अत्यन्तै चिन्तित छ। आत्मामा उस्तै भए पनि, हामी त्यति एकसाथ हुन सक्दैनौं, र हामी त्यति एकअर्कालाई भेट्न सक्दैनौं। त्यसैले सारा मानवजातिको जीवन शोकले भरिएको छ र यसमा जोशको कमी छ, किनभने मानिसले सधैँ मेरो तृष्णा गरेको छ। यो यस्तो छ मानौं मानवजाति स्वर्गबाट फ्याँकिएका वस्तुहरू हुन्; तिनीहरू भुइँबाट नजर उठाएर मलाई हेर्दै पृथ्वीबाट मेरो नाम पुकार्छन्—तर तिनीहरू भोको ब्वाँसोको मुखबाट कसरी उम्कन सक्छन् र? यसका खतराहरू र यसका परीक्षाहरूबाट तिनीहरूले आफैलाई कसरी मुक्त गर्न सक्छन् र? मेरो योजनाको प्रबन्धलाई पालन गर्नुले गर्दा कसरी मानवजातिले आफैलाई बलिदान गर्न सक्दैन? जब तिनीहरूले उच्च सोरमा बिन्ती गर्छन्, म तिनीहरूबाट मेरो अनुहार लुकाउँछु, अबउप्रान्त तिनीहरूलाई हेर्नै सक्दिनँ तर तिनीहरूको आँसुसहितको रुवाइलाई नसुनी म कसरी बस्न सक्छु र? म मानव संसारका अन्यायहरूलाई सच्याउनेछु। मेरा मानिसहरूलाई फेरि हानी गर्नबाट शैतानलाई रोक्दै, फेरि आफूखुसी गर्नबाट शत्रुहरूलाई रोक्दै, म संसारभरि मेरै हातद्वारा मेरो काम गर्नेछु। मेरा सबै शत्रुहरूलाई भुइँमा लडेर मेरो अगाडि आफ्ना अपराधहरू स्वीकार गर्ने तुल्याउँदै म पृथ्वीमा राजा बन्नेछु र मेरो सिंहासनलाई त्यहाँ सार्नेछु। उदासपन, साथै रिसको बेलामा, कसैलाई पनि बाँकी नराखी अनि मेरा शत्रुहरूको हृदयमा आतङ्क पैदा गर्दै म सारा ब्रह्माण्डलाई कुल्चिमिल्ची गर्नेछु। म सारा पृथ्वीलाई अवशेषमा परिवर्तन गर्नेछु, र मेरा शत्रुहरूलाई त्यही अवशेषमा खसाल्नेछु, ताकि अबउप्रान्त तिनीहरूले मानवजातिलाई भ्रष्ट नबनाऊन्। मेरो योजना पहिले नै निश्चित भइसकेको छ, र कसैले पनि यसलाई परिवर्तन गर्दैन, चाहे तिनीहरू जोसुकै होऊन्। म ब्रह्माण्डमाथिको प्रतापी वैभवमा डुलिहिँड्ने क्रममा सारा मानवजातिलाई नयाँ बनाइनेछ, र सबैलाई पुनर्जीवित पारिनेछ। मानिसले अबउप्रान्त कहिल्यै पनि बिलौना गर्नेछैन, सहयोगको लागि मलाई पुकार्नेछैन। त्यसपछि मेरो हृदय आनन्दित हुनेछ, र मानिसहरू खुसियाली मनाउँदै मकहाँ फर्कनेछन्। सारा ब्रह्माण्ड तलदेखि माथिसम्मै हर्षोल्लासमा उर्लनेछ …
संसारका राष्ट्रहरूका बीचमा आज म आफूले पूरा गर्ने भनी तय गरेको काम गरिरहेको छु। मेरो योजनाभित्रका सारा काम गर्दै म मानवजातिको बीचमा हिँड्डुल गरिरहेको छु, र सारा मानवजातिले मेरो इच्छाअनुसार फुटकर राष्ट्रहरूलाई तोडिरहेका छन्। पृथ्वीका मानिसहरूले आफ्नो गन्तव्यमा ध्यान केन्द्रित गरेका छन्, किनभने त्यो दिन वास्तवमा नै नजिक आइरहेको छ र स्वर्गदूतहरूले आफ्ना तुरहीहरूलाई फुकिरहेका छन्। अबउप्रान्त ढिलाइ हुनेछैन, र सारा सृष्टि नै त्यसबेला हर्षोल्लासमा नाच्न थाल्नेछन्। कसले आफ्नो इच्छाअनुसार मेरो दिनलाई लम्ब्याउन सक्छ? के पृथ्वीको प्राणीले? वा आकाशका ताराहरूले? वा स्वर्गदूतहरूले? जब इस्राएलका मानिसहरूको मुक्तिको पहल गर्न म वाणी बोल्छु, तब सारा मानवजातिको सामने मेरो दिन आउँछ। इस्राएल फर्कीआउने घटनाप्रति हरेक मानिस डराउँछ। जब इस्राएल फर्केर आउँछ, त्यो मेरो महिमाको दिन हुनेछ, र त्यो यस्तो दिन पनि हुनेछ, जुन दिन सबै कुरा परिवर्तन हुन्छन् र नवीकरण हुन्छन्। धर्मी न्याय सारा ब्रह्माण्डमा आउन लागेको बेला, सबै मानिसहरू डरपोक बन्छन् र भयभीत हुन्छन्, किनभने मानव संसारमा धार्मिकता नसुनिएको कुरा हो। जब धर्मी सूर्य देखा पर्छ, पूर्व प्रकाशित हुनेछ, र हरेक व्यक्तिलाई ज्योति दिँदै यसले सारा ब्रम्हाण्डलाई प्रकाशमान् पार्नेछ। यदि मानिसले साँच्चै नै मेरो धार्मिकतालाई अघि बढाउन सक्छ भने, डराउनुपर्ने कारण के हुनेछ र? मेरा सबै मानिसहरू मेरो दिनको आगमनको लागि प्रतिक्षारत छन्, तिनीहरू सबै मेरो दिनको आगमनको तृष्णा गर्छन्। सारा मानवजातिमा दण्ड ल्याउन र धार्मिकताको सूर्यको रूपमा रहेको मेरो भूमिकामा मानवजातिको गन्तव्यलाई मिलाउन तिनीहरू मेरो प्रतीक्षा गर्छन्। सारा ब्रह्माण्डभन्दा माथि मेरो राज्य आकारमा आइरहेको छ, र मेरो सिंहासनले करोडौँ मानिसहरूको हृदयमा शासन गर्छ। स्वर्गदूतहरूको सहयोगमा मेरो महान् उपलब्धिलाई चाँडै नै पूरा गरिनेछ। तिनीहरूबाट फेरि कहिल्यै अलग नहुने गरी तिनीहरूसँग मिलाप गर्ने दिनको लागि मेरा सन्तान र मेरा मानिसहरू मेरो आगमनको उत्कट इच्छाको साथ प्रतीक्षा गर्छन्। म तिनीहरूसँग भएको कारण मेरा राज्यका कैयौं निवासीहरू हर्षोल्लास मनाउन एकअर्कासँग किन नदौडी बस्न सक्छन् र? के यो त्यस्तो मिलाप हो जसको लागि कुनै मूल्य चुकाउनु आवश्यक छैन? म सबै मानिसहरूको नजरमा सम्मानित छु, म सबैका वचनहरूमा घोषित छु। तैपनि, जब म फर्कनेछु, तब म शत्रुका सबै शक्तिहरूलाई विजय गर्नेछु। समय आइपुगेको छ! म मेरो कार्यलाई अघि बढाउनेछु, म मानिसहरूका बीचमा राजाको रूपमा शासन गर्नेछु! म फर्कन लागेको अवस्थामा छु! र म बिदा हुनलागेको छु! सबैले आशा गरेको यही नै हो, तिनीहरूले कामना गर्ने यही नै हो। सारा मानवजातिलाई म मेरो दिनको आगमनलाई अवलोकन गराउनेछु, र तिनीहरूले मेरो दिनको आगमनलाई आनन्दको साथ स्वागत गर्नेछन्।
अप्रिल २, १९९२