अध्याय २६
मेरो घरमा कसले बास गरेको छ? मेरो खातिर को खडा भएको छ? मेरो नाममा कसले कष्ट भोगेको छ? कसले मेरो अघि प्रतिज्ञा गरेको छ? मलाई वर्तमानसम्म पछ्याएर पनि को उदासीन भएको छैन? किन सबै मानिस रूखो र असंवेदनशील छन्? किन मानवजातिले मलाई त्यागेको छ? किन मानवजाति मलाई घृणा गर्छन्? किन मानव संसारमा कुनै न्यानोपन छैन? सियोनमा हुँदा, मैले स्वर्गको न्यानोपन चाखेको छु, र सियोनमै हुँदा मैले स्वर्गको आशिष् उपभोग गरेको छु। अनि, म मानवजातिको माझमा जिएको छु, र मैले मानव संसारको तीतोपन चाखेको छु, र मानिसहरूमाझ रहेका विभिन्न अवस्थाहरू सबैलाई नै आफ्नै आँखाले देखेको छु। जसरी म “परिवर्तन भएको छु” त्यसरी नै थाहै नपाई मानवजाति परिवर्तन भएको छ र यसरी मात्रै ऊ वर्तमानको दिनमा आइपुगेको छ। मानिसले मेरो खातिर जुनसुकै कामकुरा गर्न सकोस् भनेर मैले मापदण्ड तय गरेको छैनँ, न त मेरै कारण उसले कुनै वृद्धि गरोस् भन्ने मापदण्ड नै तय गरेको छु। म त उसले मेरो योजनाअनुसार काम गर्न सकोस्, मविरुद्ध विद्रोह नगरोस् वा मेरो बेइज्जतीको प्रतीक नबनोस्, बरु मेरो लागि सानदार साक्षी दियोस् भन्ने मात्रै चाहन्छु। मानिसहरूको माझमा, मेरो लागि राम्रो साक्षी दिने र मेरो नामलाई महिमावान् तुल्याउने मानिसहरू पनि छन्, तर मानिसको अभ्यासहरू वा आचरणले मेरो हृदयलाई कसरी सन्तुष्ट तुल्याउन सक्छ र? उसले कसरी मेरो हृदयअनुसार हुन वा मेरा अभिप्रायलाई पूरा गर्न सक्छ र? पृथ्वीका पहाडहरू अनि समुद्र र नदीहरू, र पृथ्वीका फूल, घाँसपात र रूखहरू सबैले मेरा हातका कार्य प्रदर्शन गर्छन्, र सबै नै मेरो नामको खातिर अस्तित्वमा रहन्छन्। तैपनि मानिसले किन मेरो मापदण्डको स्तर पूरा गर्न सक्दैन? के उसको घृणित नीचताले गर्दा हो? के उसलाई मैले उचालेको कारणले गर्दा हो? के म ऊप्रति अत्यन्तै निर्दयी भएकोले हो? किन मानिस सँधै मेरा मापदण्डहरूप्रति भयभीत हुन्छ? आज, राज्यका धेरै मानिसहरूमध्ये, किन तँ मेरो आवाज मात्रै सुन्छस् तर मेरो अनुहार हेर्न चाहँदैनस्? किन तँ मेरा वचनहरूलाई हेर्छस् मात्रै तर तिनलाई मेरो आत्मासँग मिलाउँदैनस्? किन तँ मलाई यसरी स्वर्गमा र पृथ्वीमा अलग गर्छस्? के पृथ्वीमा हुँदा, म स्वर्गमा जस्तो हुन्छु त्यस्तो नभएकोले हो? के स्वर्गमा हुँदा म पृथ्वीमा आउन नसक्ने हुनाले हो? के पृथ्वीमा हुँदा, म स्वर्गमा सर्न योग्य नभएकोले हो? यो त पृथ्वीमा हुँदा म नीच प्राणी र स्वर्गमा हुँदा उच्च प्राणी भएझैँ, अनि स्वर्ग र पृथ्वीको बीचमा पुर्न नसकिने दरार भएझैँ भयो। तैपनि मानव संसारमा यी कुराहरूको उत्पत्तिको बारेमा तिनीहरूलाई केही पनि थाहा छैन जस्तो देखिन्छ, र तिनीहरू मेरा वचनहरू ध्वनी मात्रै भएझैँ र तिनमा कुनै अर्थ नै नभएझैँ गरी सँधै मेरो विरुद्ध हिँडिरहेका छन्। मेरो बाहिरी स्वरूपमा आफै अनुसन्धान गर्दै, सारा मानवजातिले मेरा वचनहरूमा प्रयत्न लगाउँछन्, तर तिनीहरू सबै असफल हुन्छन्, तिनीहरूका प्रयासहरूले कुनै फल फलाउँदैन, बरु तिनीहरू मेरा वचनहरूको प्रहारद्वारा लड्छन् र फेरि उठ्ने आँट गर्दैनन्।
जब म मानिसहरूको आस्था जाँच्छु, साँचो साक्षी दिने एक जना पनि हुँदैन, आफ्नो सम्पूर्णता अर्पण गर्न एक जना पनि सक्षम हुँदैन; बरु, मैले उसको हृदयलाई खोसेर लैजान खोजिरहेको छु झैँ गरी मानिसले निरन्तर रूपमा आफूलाई लुकाउँछ र खुलस्त हुन इन्कार गर्छ। आफ्नो परीक्षाको बेला अय्यूबसमेत कहिल्यै पनि साँचो रूपमा दृढ भई खडा हुन सकेन, न त कष्टको बेला उसले मिठास छर्न नै सक्यो। सबै मानिसहरूले वसन्तको न्यानोपनमा हरियालीको फिक्का झलक पैदा गर्छन्; हिउँदको चिसोले प्रहार गर्दा तिनीहरू कहिल्यै पनि हरित रहँदैनन्। आफ्नो ख्याउटे र दुर्बल कदद्वारा, मानिसले मेरा अभिप्रायहरू पूरा गर्न सक्दैन। सारा मानवजातिमा, अरूका लागि नमुनाका रूपमा काम गर्न सक्ने कोही छैन, किनभने सबै मानिस आधारभूत रूपमा उस्तै छन् र तिनीहरू एकअर्काबाट फरक छैनन् अर्थात् तिनीहरूलाई एकअर्कामा छुट्ट्याउने कुरा नगन्य छ। यसकारण, आज पनि मानिसहरू मेरा कार्यहरूको बारेमा पूर्ण रूपमा जान्न असमर्थ छन्। मेरो सजाय सारा मानवजातिमाथि परेपछि मात्रै तिनीहरू थाहा नपाई मेरा कार्यहरूको बारेमा सचेत हुन्छन्, र मैले केही नगरीकनै वा कसैलाई बाध्य नपारीकनै, मानिसले मलाई चिन्नेछ, अनि मेरा कार्यहरूलाई देख्नेछ। यही नै मेरो योजना हो, यही नै मेरा कार्यहरूको प्रकट गरिने पक्ष हो, र यही नै मानिसहरूले जान्नुपर्ने कुरा हो। राज्यमा, सृष्टिका असंख्य थोकहरू पुनर्जीवित हुन र आफ्नो जीवनशक्ति पुन: प्राप्त गर्न थाल्छन्। पृथ्वीका स्थिति परिवर्तनहरूको कारण, एउटा मुलुक र अर्को मुलुक बीचका सिमानाहरू पनि सर्न थाल्छन्। मैले अगमवाणी जब मुलुकबाट मुलुक विभाजित हुन्छ, र एउटा मुलुक अर्को मुलुकसँग जोडिन्छ, तब यही नै प्रत्येक देशलाई टुक्राटुक्रा हुने गरी मैले प्रहार गर्ने समय हुनेछ भनेर अगमवाणी गरेको छु। यो समयमा, म सारा सृष्टिको नवीकरण गर्नेछु र सम्पूर्ण ब्रह्माण्डको पुनर्विभाजन गर्नेछु, र यसरी ब्रह्माण्डलाई व्यवस्थित गरेर पुरानोलाई नयाँमा रूपान्तरित गर्नेछु—मेरो योजना यही हो र मेरा कामहरू यिनै हुन्। जब प्रत्येक देश र मेरा चुनिएको प्रत्येक मानिस मेरो सिंहासनअघि फर्कन्छन्, तब म त्यसद्वारा मानव संसारलाई स्वर्गको सारा प्रचुरता प्रदान गर्नेछु, ताकि मैले गर्दा त्यो संसार अतुलनीय प्रचुरताले भरियोस्। पुरानो संसार अस्तित्वमा रहँदा, म प्रत्येक देशमाथि आफ्नो क्रोध बर्साउनेछु र सारा ब्रह्माण्डलाई सार्वजनिक गरिने प्रशासनिक आदेशहरू जारी गर्नेछु, र ती उल्लङ्घन गर्ने जोकोहीलाई सजाय दिइनेछ:
म सारा ब्रह्माण्डसँग बोल्दा, सबै मानिसले मेरो आवाज सुन्छन्, अर्थात् सबै मानिसले मैले ब्रह्माण्डभरि गरेका सबै कार्य देख्छन्। मेरा अभिप्रायविरुद्ध जानेहरू, अर्थात् मानिसका कार्यहरूद्वारा मेरो विरोध गर्नेहरू मेरो सजायमा ढल्नेछन्। म आकाशका अनगिन्ती ताराहरूलाई नवीकरण गर्नेछु; मैले गर्दा नै घाम र जून पनि नवीकरण हुनेछन्, आकाशहरू यसउप्रान्त पहिलेजस्तो रहँदैनन् र संसारका सबै थोक नवीकरण हुनेछन्—यो सब मेरा वचनहरूको कारण पूर्ण हुनेछ। ब्रह्माण्डभित्रका सबै देशहरू पुनर्विभाजित हुनेछन् र मेरो राज्यद्वारा प्रतिस्थापित गरिनेछन्, ताकि पृथ्वीका देशहरू सदाका लागि हराएर जाऊन् र त्यहाँ मलाई आराधना गर्ने राज्य मात्र होस्; पृथ्वीका सबै देशहरू नष्ट हुनेछन् र ती अस्तित्वमा रहन छोड्नेछन्। ब्रह्माण्डभित्रका मानव जातिमध्ये, जो दियाबलसका हुन् तिनीहरू सबैलाई नष्ट पारिनेछ। शैतानको पूजा गर्ने सबै मेरो प्रज्वलित अग्निमा खस्नेछन्—अर्थात्, अहिले प्रवाहभित्र रहेकाहरूबाहेक, सबैलाई खरानीमा परिणत गरिनेछ। जब म प्रत्येक मानिसलाई सजाय दिन्छु, तब धार्मिक समुदायहरू विभिन्न हदमा, मेरो राज्यमा फर्कनेछन्, अनि मेरा काममार्फत विजय गरिनेछन्, किनभने तिनीहरूले सेतो बादलमा सवार पवित्र जन आइसक्नुभएको छ भनेर देखेका हुनेछन्। सबै मानिसहरूलाई तिनीहरूका प्रकारअनुसार वर्गीकृत गरिनेछ, र तिनीहरूले आफ्ना कार्यहरूअनुसारका विभिन्न सजाय पाउनेछन्; र मेरो प्रतिरोध गरेकाहरू सबै नष्ट हुनेछन्, अनि पृथ्वीमा आफ्ना कार्यहरूमा मलाई समावेश नगर्नेहरूका हकमा, तिनीहरूले आफूलाई जसरी व्यवहार गरेका हुन्छन् सोही कारण तिनीहरू मेरा पुत्रहरू र मेरा मानिसहरूको अधीनमा रही पृथ्वीमा अस्तित्वमा रहिरहनेछन्। म असङ्ख्या देश र असङ्ख्य मानिसहरूकहाँ देखा पर्नेछु, र म पृथ्वीमा आफ्नै आवाज व्यक्त गर्नेछु, मेरो महान् कामको पूर्ती घोषणा गर्नेछु, सबै मानिसलाई यो उनीहरूकै आँखाले देख्न दिनेछु।
मेरा वाणीहरू झन्झन् गहन हुँदै जाँदा, म ब्रह्माण्डको स्थिति पनि अवलोकन गर्छु। मेरा वचनहरूका कारण, यावत् थोक नवीन बनाइन्छन्। स्वर्ग, अनि पृथ्वी पनि परिवर्तन हुन्छ। मानव त्यसको मौलिक स्वरूपमा खुलासा गरिन्छ र, बिस्तारै सबै मानिसलाई उनीहरूको प्रकारअनुसार अलग गरिन्छ, र अनजान रूपमै उनीहरू आफ्नो “परिवार” कहाँ फर्काइन्छन्। यसले मलाई अत्यन्तै प्रसन्न तुल्याउँछ। म बाधाबाट मुक्त छु, र थाहै नभई, मेरो महान् काम पूरा हुन्छ, र यावत् थोक रूपान्तरित हुन्छन्। संसारको सृष्टि गर्दा, मैले यावत् थोकलाई तिनीहरूको प्रकारअनुसार छुट्टयाएँ, रूप भएका यावत् थोकलाई वर्गीकृत गरेँ। जब मेरो व्यवस्थापनको योजनाको समाप्ति नजिकिन्छ, म सृष्टिको पहिलेको स्थिति पुनर्स्थापित गर्नेछु; म सबै कुरालाई मौलिक स्थितिमा पुनर्स्थापित गर्नेछु, सबै कुरालाई पूर्णतः परिवर्तन गर्नेछु, र सबै कुरालाई मेरो योजनाअन्तर्गत पर्ने तुल्याउनेछु। समय आइसकेको छ! मेरो योजनाको अन्तिम चरण पूरा हुन लागेको छ। ए, फोहोर पुरानो संसार! यो निश्चय नै मेरा वचनहरूमाझ भत्किनेछ! यसलाई मेरो योजनाले अवश्यै शून्यतामा झार्नेछ! ए, यावत् थोकहरू! ती सबैले मेरा वचनहरूमाझ नयाँ जीवन प्राप्त गर्नेछन्— तिनले आफ्नो सार्वभौम पाउनेछन्! ए, पवित्र र निष्खोट नयाँ संसार! यो निश्चय नै मेरो महिमामाझ पुनर्जीवित हुनेछ! ए, सियोन पर्वत! अबउप्रान्त चुप नबस्—म विजयसाथ फर्केको छु! म यावत् कुरामाझ सारा पृथ्वीलाई नियाल्छु। पृथ्वीका मानिसहरूले नयाँ जीवन सुरु गरेका छन् र तिनीहरूसँग नयाँ आशाहरू छन्। ए, मेरा मानिसहरू हो! तिमीहरू कसरी पो मेरो ज्योतिमाझ जीवनमा फर्किआउन नसक्लाऊ र? मेरो मार्गदर्शनमुनि तिमीहरू कसरी पो हर्षले उफ्रन नसक्लाऊ र? भूमिहरू हर्षोल्लासमा चिच्याइरहेका छन्, पानीहरू उल्लासमय हाँसोले गर्जिरहेका छन्! ए, पुनरुत्थानित इस्राएल! मेरो पूर्वनिर्धारणका कारण तैँले कसरी पो गर्व महसुस गर्न नसक्लास् र? को रोएको छ र? कसले विलाप गरेको छ र? पुरानो दिनको इस्राएल उप्रान्त अस्तित्वमा छैन, र आजको इस्राएल संसारमा ठाडो र उच्च हुँदै उदाएको छ, र सारा मानवताको हृदयमा खडा भएको छ। आजको इस्राएलले निश्चय नै मेरा मानिसहरूका कारण अस्तित्वको आधार प्राप्त गर्नेछ! हे, घृणित मिश्र! के तैँले अझै मेरो प्रतिरोध गर्नेथिइस् र? तैँले कसरी पो मेरो कृपाको फाइदा उठाएर मेरो सजायबाट उम्कने प्रयास गर्न सक्छस् र? तँ कसरी पो मेरो सजायभित्र नजिउन सक्छस् र? मैले प्रेम गर्ने सबै निश्चय नै अनन्तका लागि अस्तित्वमा रहनेछन्, र मेरो प्रतिरोध गर्ने सबैले निश्चय नै अनन्तका लागि मबाट सजाय पाउनेछन्। किनभने म ईर्ष्यालु परमेश्वर हुँ र म सबै मानिसहरूलाई तिनीहरूले गरेका सबै कुराका निम्ति हल्का रूपमा छाड्नेछैन। म सारा पृथ्वीलाई छानबिन गर्नेछु र, संसारको पूर्वमा धार्मिकता, प्रताप, क्रोध, र सजायसहित देखा पर्दै, म अनगिन्ती मानिससामु आफूलाई प्रकाश गर्नेछु!
मार्च २९, १९९२