अध्याय २८

जब म सियोनबाट आएँ, मलाई सबै थोकले पर्खिरहेका थिए, र जब म सियोनमा फर्कें, मलाई सबै मानिसले अभिवादन गरे। म आउने-जाने क्रममा, मेरा पाइलालाई आफ्नो निम्ति वैरी रहेका कुनै पनि कुराले कहिल्यै बाधा दिएन, र त्यसरी मेरो काम सहजताको साथ अघि बढ्यो। आज, जब म सबै प्राणीका बीचमा आउँछु, सबै कुराले म फेरि पनि बिदा भएर जानेछु र तिनीहरूले साथको लागि भरोसा गर्ने कुरा गुमाउनेछन् भन्‍ने डरले मलाई मौनतामा अभिवादन गर्छन्। सबै कुराले मेरो अगुवाइलाई पछ्याउँछन्, र सबैले मेरो हातले सङ्केत गर्ने दिशालाई हेर्छन्। मेरो मुखबाट निस्‍केका वचनहरूले धेरै प्राणीलाई सिद्ध बनाएका छन् र अवज्ञाकारी धेरै पुत्रलाई सजाय दिएका छन्। तसर्थ, सबै मानिसले मेरा वचनलाई तत्परतासाथ नियाल्छन्, र मेरो मुखबाट निस्‍केका वाणीहरूलाई ध्यान दिएर सुन्छन्, र यो सुनौलो अवसर गुमाइन्छ कि भनेर औधी डराउँछन्। यही कारणले गर्दा नै मैले बोल्‍ने कामलाई जारी राखेको छु, ताकि मेरो काम अझै शीघ्र रूपमा अघि बढ्न सकोस्, ताकि प्रसन्‍न पार्ने अवस्थाहरू पृथ्वीमा चाँडै देखा परून् र पृथ्वीको उजाड दृश्यहरूलाई हटाऊन्। जब म आकाशतिर नियाल्छु, मैले मानवजातितर्फ फेरि पनि मेरो अनुहार फर्काउने समय पनि त्यही नै हुन्छ; सारा भूमि तुरुन्तै जीवनले भरिन्छ, त्यसउप्रान्त हावामा धूलो हुँदैन, र भूमिलाई लेदोले ढाक्दैन। मेरो आँखाहरू चम्कन्छन्, र सबै भूमिका मानिसहरूले मतिर हेर्छन् र ममा शरण लिन्छन्। मेरो घरानामा उपस्थित सबैलगायत, आजको संसारका मानिसहरूमध्ये कसले साँचो रूपमा ममा शरण लिन्छ? मैले चुकाएको मूल्यको लागि कसले आफ्‍नो हृदय दिन्छ? मेरो परिवारभित्र को कहिल्यै शान्तिमा बास गरेको छ? को चाहिँ कहिल्यै साँचो रूपमा ममा समर्पित भएको छ? जब म मानिसलाई मापदण्डहरू दिन्छु, उसले तुरुन्तै आफ्‍नो “सानो ढुकुटी” बन्द गर्छ। जब म मानिसलाई दिन्छु, तब उसले मेरा सम्पत्तिहरू चुपचाप लिनलाई तुरुन्तै आफ्‍नो मुख खोल्छ, र मैले उसलाई प्रहार गर्नेछु कि भनेर ऊ आफ्नो हृदयमा प्रायः डरले थरथर काम्छ। तसर्थ, मानिसको मुख आधा खोलिएको र आधा बन्द भएको हुन्छ, र त्यसकारण उसले मैले दिने सम्पत्तिहरू साँचो रूपमा उपभोग गर्न सक्दैन। म सहजै मानिसलाई दोषी ठहर्‍याउँदिनँ, तैपनि उसले सधैँ मेरो हात तान्छ र उसलाई कृपा दिन मलाई अनुरोध गर्छ; मानिसले मलाई बिन्ती गर्दा मात्रै म फेरि उमाथि “कृपा” बर्साउँछु, र म उसलाई मेरो मुखबाट निस्कने कठोर वचनहरू दिन्छु, जसले गर्दा उसलाई तुरुन्तै लाज लाग्छ, र उसले मेरो “कृपा” सीधै लिन नसकेर अरूको हातबाट लिन्छ। जब उसले मेरा सबै वचनहरूलाई पूर्ण रूपमा बुझेको हुन्छ, मानिसको कद मेरो चाहनाअनुरूप हुन्छ, र उसका बिन्तीहरू फलवान् हुन्छन्, व्यर्थ वा बेकम्‍मा हुँदैनन्; म मानिसका इमानदार, बहानारहित बिन्तीहरूलाई आशिष् दिन्छु।

मैले युगौंयुग काम गर्दै र बोल्दै आइरहेको छु, तैपनि मानिसले मैले आज बोलेका जस्ता वाणीहरू कहिल्यै सुनेको छैन, र उसले मेरो प्रताप र न्यायलाई कहिल्यै चाखेको छैन। विगतको संसारका कतिपय मानिसले मेरो बारेमा किंवदन्तीहरू सुनेको भए पनि, मेरो प्रचुरताको हदलाई कसैले कहिल्यै पनि साँचो रूपमा पत्ता लगाउन सकेको छैन। आजका मानिसहरूले मेरो मुखबाट निस्‍केका वचनहरू सुन्‍ने भए पनि, मेरो मुखमा कति धेरै रहस्य छन् भन्‍नेबारे तिनीहरू अनजान नै रहन्छन्, तसर्थ, मेरो मुखलाई प्रशस्‍तताको प्रतीक ठान्छन्। सबै मानिसहरूले मेरो मुखबाट केही न केही प्राप्त गर्ने चाहना गर्छन्। चाहे यो राज्यका रहस्यहरू होऊन् वा स्वर्गका रहस्यहरू होऊन्, वा आत्मिक संसारका गतिशीलता होस् वा मानवजातिको गन्तव्य होस्, सबै मानिसले त्यस्ता कुरा प्राप्त गर्न चाहन्छन्। तसर्थ, यदि मैले मानिसहरूलाई भेला गरेँ र “कथाहरू” सुनाएँ भने, तिनीहरू मेरो मार्ग सुन्‍नको लागि “बिरामी शैय्‍या” बाट तुरुन्तै उठ्नेथिए। मानिसमा धेरै कुराको कमी छ: उसलाई “पोषण पूरकहरू” को मात्र आवश्यकता छैन, तर त्योभन्दा पनि बढी, उसलाई “मानसिक साथ” र “आत्मिक आपूर्ति” चाहिन्छ। सबै मानिसमा यही कुराको कमी छ; यो सबै मानिसको “रोग” हो। अझै राम्रो प्रभाव हासिल गर्न सकियोस् भनेर म मानिसको रोगको उपचार प्रदान गर्छु, ताकि सबैले स्वास्थ्य लाभ गर्न सकून्, ताकि मेरो उपचारको कारण, तिनीहरू आफ्‍नो सामान्य अवस्थामा फर्कन सकून्। के तिमीहरू साँच्चिकै ठूलो रातो अजिङ्गरलाई घृणा गर्छौ? के तिमीहरू साँच्चै इमानदारीसाथ घृणा गर्छौ? मैले किन तिमीहरूलाई धेरै पटक सोधेको छु? म किन तिमीहरूलाई बारम्बार यो प्रश्न सोध्ने गर्छु? तिमीहरूको हृदयमा ठूलो रातो अजिङ्गरको कस्तो छवि छ? के यसलाई साँच्चै हटाइएको छ? के तँ त्यसलाई साँच्चै आफ्नो बुबा ठान्दैनस्? सबै मानिसले मेरा प्रश्नहरूमा रहेको मेरो अभिप्रायलाई बुझ्नुपर्छ। यो, मानिसको रिस उठाउनका निम्ति होइन, न त मानिसमाझ विद्रोह सुरु गर्नका लागि, न त मानिसले आफू उम्कने बाटो पाओस् भनेर नै हो, बरु यो त मानिसहरूलाई ठूलो रातो अजिङ्गरको बन्धनबाट छुटकारा दिनलाई हो। तर कोही पनि चिन्तित हुनुपर्दैन। मेरा वचनहरूद्वारा सबै कुरा सम्पन्न हुनेछन्; मैले गर्ने काममा कुनै मानिस सहभागी हुन सक्दैन, र त्यो कुनै पनि मानिसले गर्न सक्दैन। म सबै देशको हावा सफा गर्नेछु र पृथ्वीमा भएका भूतात्माहरूका सबै छाप मेटाउनेछु। मैले अघिबाटै सुरु गरिसकेको छु, र ठूलो रातो अजिङ्गरको वासस्थानमा म मेरो सजायको कामको पहिलो चरण सुरु गर्नेछु। यसैले मेरो ताडना सम्पूर्ण ब्रह्माण्डमाथि आइलागेको छ, र त्यो ठूलो रातो अजिङ्गर र सबै किसिमका अशुद्ध आत्माहरू मेरो सजायबाट उम्कन असक्षम हुनेछन् भन्‍ने देख्‍न सकिन्छ, किनकि म सबै देशमाथि नजर लगाउनेछु। जब पृथ्वीमा मेरो काम समाप्त हुन्छ अर्थात् जब न्यायको युगको अन्त्य हुन्छ, ठूलो रातो अजिङ्गरलाई म औपचारिक रूपमा सजाय दिनेछु। मेरा मानिसहरूले मैले ठूलो रातो अजिङ्गरलाई दिएको मेरो धार्मिक सजाय निश्चय देख्नेछन्, मेरो धार्मिकताको कारण निश्चय प्रशंसाको गीत गाउनेछन्, र मेरो धार्मिकताको कारण सदासर्वदा मेरो पवित्र नाउँको प्रशंसा गर्नेछन्। यसैले तिमीहरूले औपचारिक रूपले आफ्नो कर्तव्य पूरा गर्नेछौ, र सारा देशहरूभरि औपचारिक रूपमा मेरो सदासर्वदा प्रशंसा गर्नेछौ!

जब न्यायको युग चरम सीमामा पुग्दछ, म आफ्नो कामलाई निष्कर्षमा पुऱ्याउन हतार गर्नेछैनँ, तर यसमा सजायको युगको प्रमाण समावेश गर्नेछु र यो प्रमाण मेरा सबै मानिसलाई देखाउनेछु; यसमा धेरै फल फलाइनेछ। यो प्रमाण नै मैले ठूलो रातो अजिङ्गरलाई दण्ड दिने माध्यम हुनेछ, र म मेरा मानिसलाई यो उनीहरूका आफ्नै आँखाले हेर्न लगाउनेछु, ताकि तिनीहरूले मेरो स्वभावबारे अझ धेरै जानून्। मेरा मानिसहरूले ममा त्यसबेला धेरै आनन्द पाउनेछन् जब त्यो ठूलो रातो अजिङ्गरलाई सजाय दिइन्छ। ठूलो रातो अजिङ्गरका मानिसहरूलाई मेरो योजना अनुसार खडा गरिन्छ र त्यसको विरुद्ध विद्रोह गर्न लगाइन्छ, र यही विधिद्वारा म मेरा मानिसहरूलाई सिद्ध बनाउँछु, र यो मेरा सबै मानिसहरूका निम्ति जीवनमा वृद्धि हुने एउटा ठूलो मौका हो। जब चम्किलो चन्द्रमा उदाउँछ, शान्तिमय रात तुरुन्तै नष्ट हुन्छ। चन्द्रमा खण्डहर अवस्थामा भए पनि मानिस आत्मिक खुसीको अवस्थामा हुन्छ, र चन्द्रमाले बनाएको सुन्दर दृश्यको प्रशंसा गर्दै चन्द्रमाको प्रकाशमुनि शान्तिपूर्वक बस्छ। मानिसले आफ्ना भावनाहरूको वर्णन गर्न सक्दैन; यस्तो लाग्छ उसले आफ्ना विचारहरू विगततिर फर्काउन चाहन्छ, मानौं ऊ भविष्यतिर हेर्न चाहन्छ, मानौं उसले वर्तमानको आनन्द लिँदैछ। उसको अनुहारमा मुस्कान देखा पर्छ, र मनोहर हावामा ताजा सुवास छरिन्छ; कोमल हावा चल्न थाल्दा मानिसले प्रचुर सुगन्ध पत्ता लगाउँछ र ऊ होसमा आउनै नसक्ने गरी त्यसमा लट्ठ परेको जस्तो देखिन्छ। यही समयमा म व्यक्तिगत रूपमा मानिसहरूमाझ आएको छु, र तिनीहरूले प्रचुर सुगन्धको तीव्र अनुभूति गर्न सक्छन्, र यसरी सबै मानिस यो सुगन्धको बीचमा जिउँछन्। मेरो र मानिसको बीचमा शान्ति छ, मानिस मसँगको मिलापमा जिउँछ, ऊ अब फेरि कहिल्यै मप्रतिको श्रद्धामा विचलित हुँदैन, अबउप्रान्त म मानिसको कमी-कमजोरीलाई काटछाँट गर्दिनँ, अब मानिसको अनुहारमा कुनै चिन्ता बाँकी छैन, अनि अब फेरि कहिल्यै पनि मृत्युले सम्पूर्ण मानवजातिलाई भयभीत बनाउँदैन। आज म मानिस सँगसँगै सजायको युगमा अगाडि बढ्दछु, उसको छेउमा रहेर अघि बढ्दछु। म मेरो काम गर्दैछु, भन्नुको अर्थ, म मानिसको माझमा मेरो लौरो प्रहार गर्दछु र त्यो मानिसको विद्रोही कुरामाथि पर्छ। मानिसको नजरमा, मेरो लौरोमा विशेष शक्ति भएको जस्तो देखिन्छ: यो ती सबैमाथि आउँछ जो मेरा शत्रु हुन् र यसले तिनीहरूलाई सहजै छोड्दैन; मेरो विरोध गर्नेहरू सबैमाझ यो लौरोले अन्तर्निहित काम गर्दछ; मेरो हातमा हुनेहरू सबैले मेरो अभिप्रायअनुसार आफ्नो कर्तव्य पूरा गर्छन्, र तिनीहरूले कहिल्यै मेरा इच्छाहरूलाई उल्लङ्घन गरेका छैनन् वा आफ्नो सारलाई बदलेका छैनन्। फलस्वरूप, पानीहरू गर्जनेछ, पहाडहरू ढल्नेछन्, ठूलठूला नदीहरू भङ्गालिनेछन्, मानिसलाई सधैँ परिवर्तन हुन दिइन्छ, सूर्य मधुरो हुँदैजानेछ, चन्द्रमा अँध्यारो हुनेछ, मानिसको निम्ति शान्तिमा जिउने धेरै दिन हुँदैन, भूमिमा फेरि कहिल्यै अरू शान्तिको समय हुनेछैन, स्वर्ग फेरि कहिल्यै शान्त र मौन रहनेछैन, र अझ धेरै सहनेछैन। सबै थोक नवीकरण हुनेछन् र तिनीहरूले आफ्‍नो मूल स्वरूप फेरि प्राप्त गर्नेछन्। पृथ्वीका सबै परिवार भत्कनेछन्, र पृथ्वीका सबै जातिलाई च्यातेर टुक्रा-टुक्रा पारिनेछ; पति र पत्नी बीच पुनर्मिलनको दिन हुनेछैन, आमा र छोरा फेरि कहिल्यै भेट्नेछैनन्, फेरि कहिल्यै बाबु र छोरीको भेट हुनेछैन। पृथ्वीमा जे हुने गर्थे ती सबैलाई म नष्ट पार्नेछु। म मानिसहरूलाई उनीहरूका स्‍नेहहरू व्यक्त गर्ने अवसर दिँदिनँ, किनकि म स्‍नेहविहीन छु, र मानिसहरूका स्‍नेहहरूलाई हदैसम्म घृणा गर्ने बनेको छु। मानिसहरूबीचका स्‍नेहहरूको कारण नै म एकातिर पन्साइएको छु, र यसैले म तिनीहरूका आँखामा “अरू” भएको छु; मानिसहरूबीचका स्‍नेहहरूकै कारण मलाई बिर्सिइएको छ; मानिसहरूका स्‍नेहहरूको कारणले नै उसले आफ्नो “अन्तस्करण” चुन्ने मौका पाउँदछ; मानिसहरूका स्‍नेहहरूको कारणले नै ऊ सधैँ मेरो ताडनाबाट दिक्क हुन्छ; मानिसहरूका स्‍नेहहरूको कारणले नै उसले मलाई अनुचित र अन्यायपूर्ण भन्छ, र परिस्थितिहरूको सामना गर्दा मैले मानिसहरूका भावनाहरूमा ध्यान दिँदिनँ भन्छ। के मेरो पनि पृथ्वीमा आफन्त छन्? मैले जस्तो खाने र पिउने कुरामा ध्यान नदिई कसले मेरो सम्पूर्ण व्यवस्थापन योजनाको निम्ति दिन र रात काम गरेको छ? मानिस कसरी परमेश्‍वरसित तुलनायोग्य हुन सक्छ? मानिस कसरी परमेश्‍वरसित मिल्‍न सक्छ? सृष्टि गर्नुहुने परमेश्‍वर कसरी सृष्टि गरिएको मानिससँग उस्तै प्रकारको हुन सक्नुहुन्छ? मैले कसरी सधैँ पृथ्वीमा मानिससँग बस्न र व्यवहार गर्न सक्छु? मेरो हृदयको चिन्ता कसले महसुस गर्न सक्छ? के त्यसो गर्न सक्ने मानिसका प्रार्थनाहरू हुन्? म एक पटक मानिसमाझ सामेल हुन र उसको साथमा हिँड्न राजी भएँ—अनि हो, आजको दिनसम्म मानिस मेरो वास्ता र सुरक्षामा बाँचिरहेको छ, तर के त्यस्तो दिन कहिल्यै आउनेछ जब मानिसले मेरो वास्ताबाट आफैलाई अलग गर्न सक्छ? मानिसले कहिल्यै पनि मेरो मनको चिन्ता लिएको छैन, तैपनि उज्यालोबिनाको देशमा को जीवित रहिरहन सक्छ? मेरो आशिष्‌को कारण मात्र मानिस आजको दिनसम्म बाँचेको छ।

अप्रिल ४, १९९२

अघिल्लो: अध्याय २७

अर्को: अध्याय २९

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्