अध्याय ३
तिमीहरूलाई मेरा मानिसहरू भनेर बोलाइने हुनाले, परिस्थिति पहिलेजस्तो छैन; तिमीहरूले मेरो आत्माका वाणीहरूलाई सुन्नुपर्छ र पालना गर्नुपर्छ, र मेरो कार्यलाई नजिकबाट पछ्याउनुपर्छ; तिमीहरूले मेरो आत्मा र मेरो देहलाई अलग गर्न सक्दैनौ, किनभने हामी अन्तर्निहित रूपमा एउटै हौं, र प्रकृतिले नै अखण्डित छौं। जसले आत्मा र व्यक्तिलाई अलग गर्छ र व्यक्ति वा आत्मामध्ये एक जनामा ध्यान केन्द्रित गर्छ, उसले घाटा बेहोर्नेछ, र तिनीहरूले आफ्नै तीतो कचौराबाट मात्रै पिउन सक्नेछन्, र तिनीहरूसँग कुनै विकल्प हुँदैन। आत्मा र व्यक्तिलाई अखण्डित सम्पूर्णताको रूपमा हेर्न सक्नेहरूसँग मात्रै मेरो बारेमा पर्याप्त ज्ञान हुन्छ; तिनीहरूको भित्री जीवन क्रमिक रूपमा परिवर्तन हुनेछ। मेरो कामको अर्को चरण सहजताको साथ र कुनै बाधाविना अघि बढ्न सकोस् भनेर, म मेरो घरका सबैलाई जाँच्न वचनहरूको शोधन प्रयोग गर्छु, अनि मलाई पछ्याउनेहरूलाई जाँच्नको लागि कामका विधिहरूको प्रयोग गर्छु। यी परिस्थितिहरूमा, तिनीहरू सबैले आशा गुमाउन सक्छन् भनेर भन्न सकिन्छ; मानिसहरूका रूपमा, तिनीहरूका बीचमा नकरात्मक र निष्क्रिय अवस्थाहरू नभएको एक जना पनि छैन, मानौं सम्पूर्ण स्थान नै परिवर्तन भएको छ। कतिपय मानिसहरूले स्वर्ग र पृथ्वीको निन्दा गर्छन्; कतिपय मानिसहरू आफ्नो नैराश्यतामा आफैलाई दह्रिलो बनाउँछन् र मेरा वचनहरूको जाँचलाई स्वीकार गर्छन्; कतिपय मानिसहरूले आकाशतिर हेर्छन् र आँखाभरि आँसु झार्दै सुस्केरा हाल्छन्, मानौं तिनीहरू नवजात शिशुको अकाल मृत्युले व्याकुल भएका छन्; कतिलाई यसरी जिउनु लाजमर्दो कुरा हो भन्ने पनि लाग्छ, अनि आफूलाई चाँडै लैजानको लागि परमेश्वरसँग प्रार्थना गर्छन्; कतिपय मानिसहरू दिनभरि बेहोसीमा नै बिताउँछन्, मानौँ तिनीहरू घातक रूपमा बिरामी परेका छन् र तिनीहरू होसमा आउनै बाँकी छ; कतिपय मानिसहरू गनगन गरिसकेपछि, चुपचाप जान्छन्; अनि कतिपयले अझै मलाई तिनीहरूको आफ्नै स्थानबाट प्रशंसा गर्छन्, यद्यपि तिनीहरू केही हदसम्म नकरात्मक नै रहन्छन्। आज, जब सबै कुरा प्रकट गरिन्छ, मैले विगतको बारेमा अबउप्रान्त बोल्नु पर्दैन; सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको, तिमीहरूलाई आज मैले दिएको स्थानबाट अझै पनि तिमीहरू सबैभन्दा धेरै बफादारीता प्रस्तुत गर्न सक्ने हुनुपर्छ, ताकि तिमीहरूले गर्ने हरेक कुराले मेरो स्वीकृती प्राप्त गर्न सकोस्, र तिमीहरूले भन्ने सबै कुरा मेरो अन्तर्दृष्टि र प्रकाशको परिणाम बनोस्, ताकि तिमीहरूले जिउने कुरा अन्तिममा मेरो स्वरूप बनोस्, अनि पूर्ण रूपमा मेरो प्रकटीकरण बनोस्।
मेरा वचनहरूलाई कुनै पनि समय वा स्थानमा प्रस्फुटन र व्यक्त गरिन्छ, त्यसकारण तिमीहरूले मेरो सामुन्ने सधैँ आफूलाई जान्नुपर्छ। किनभने, आखिर आज पहिले आएको कुराजस्तो होइन, र तैँले जे इच्छा गर्छस् त्यो अबउप्रान्त प्राप्त गर्न सक्दैनस्। बरु, मेरा वचनहरूको मार्गनिर्देशनमा, तिमीहरू आफ्नो शरीरलाई वशमा राख्न सक्ने बन्नुपर्छ; तिमीहरूले मेरा वचनहरूलाई तिमीहरूको मुख्य आधारको रूपमा प्रयोग गर्नुपर्छ, र तिमीहरूले लापरवाही रूपमा काम गर्नु हुँदैन। मण्डलीको लागि वास्तविक अभ्यासका सबै मार्ग मेरा वचनहरूमा भेट्टाउन सकिन्छ। मेरा वचनहरू अनुसार काम नगर्नेहरूले मेरो आत्मालाई प्रत्यक्ष रूपमा उल्लङ्घन गरिरहेका हुन्छन्, र म तिनीहरूलाई नष्ट गर्नेछु। आजको अवस्थामा परिस्थिति आइपुगेको हुनाले, तिमीहरूले आफ्ना विगतका कर्म र कार्यहरूको बारेमा अत्यन्तै पीडा र पछुतो मान्नु पर्दैन। मेरो उदारता समुद्र र आकाशजस्तै असीमित छ—मानिसका क्षमताहरू र मेरो बारेमा उसको ज्ञान कसरी मेरो लागि मेरा हत्केलाको पछाडिको भागजस्तै परिचित नहुन सक्थ्यो र? मानिसहरूमाझ को मेरो हातमा छैन र? के तँलाई तेरो कद कति ठूलो छ भन्ने मलाई थाहा छैन, म यसको बारेमा पूर्ण रूपमा अनजान छु भन्ने लाग्छ? त्यो असम्भव कुरा हो! तसर्थ, जब सबै मानिसहरू आफ्नो सबैभन्दा निराशाजनक अवस्थामा हुन्छन्, जब तिनीहरूले अबउप्रान्त प्रतीक्षा गर्न सक्दैनन् र नयाँ सुरुवात गर्न चाहन्छन्, जब तिनीहरूले मलाई के भइरहेको छ भनेर सोध्न चाहन्छन्, जब कतिपय मानिसहरू विलासीतामा मग्न हुन्छन् र कतिलाई विद्रोह गर्न मन लाग्छ, जब कतिपयले अझै निष्ठावान सेवा गरिरहेका हुन्छन्, तब म न्यायको युगको दोस्रो भागलाई सुरु गर्छु: मेरा मानिसहरूलाई शुद्ध पार्ने र न्याय गर्ने काम। भन्नुको अर्थ के हो भने म मेरा मानिसहरूलाई औपचारिक रूपमा तालिम दिन सुरु गर्छु, र यसरी तिमीहरूलाई मेरो सुन्दर गवाही दिने मात्र तुल्याउँदिन, त्योभन्दा पनि बढी, तिमीहरूलाई मेरा मानिसहरूको आसनबाट मेरो लागि युद्धमा सुन्दर विजय हासिल गर्न सक्षम समेत तुल्याउँछु।
मेरा मानिसहरू मेरो निम्ति मेरो घरको ढोकाको सुरक्षा गर्दै हर समय शैतानका धूर्त युक्तिहरूप्रति सावधान रहनुपर्छ गर्नुपर्छ; तिनीहरूले एक-अर्कालाई सहयोग गर्नुपर्छ र एक-अर्काको लागि प्रबन्ध गर्न सक्नुपर्छ, ताकि शैतानको पासोमा पर्न नपरोस्, जुन बेला पछुतो गर्नको लागि धेरै ढिलो भइसकेको हुनेछ। म किन तिमीहरूलाई यति जरुरीको साथ तालिम दिँदैछु? किन म तिमीहरूलाई आत्मिक संसारको तथ्यहरू बताउँछु? किन म तिमीहरूलाई बारम्बार सम्झाउँछु र सल्लाह दिन्छु? के तिमीहरूले यसमाथि कहिल्यै विचार गरेका छौ? के तिमीहरूका सोच विचारले कहिल्यै स्पष्टता ल्याएको छ? यसरी, तिमीहरूले केवल विगतको जगमाथि निर्माण गरेर आफैलाई उपयोगी बनाउन मात्र सक्ने होइन, तर, त्योभन्दा पनि बढी, मेरो प्रत्येक वचनलाई तिमीहरूका आत्माभित्र जरा हाल्न अनि फक्रन दिँदै, र त्योभन्दा अझ महत्त्वपूर्ण, धेरै फल फलाउनका निम्ति आजका वचनहरूको मार्गदर्शनमा रहेर तिमीहरू भित्रको अशुद्धतालाई हटाउनुपर्छ। किनकि मैले चहकिला, लहलहाउँदा फूलहरू मागेको होइनँ, तर प्रशस्त फल मागेको हुँ, त्यस्तो फल जसले आफ्नो पाकेको रूप हराउँदैन। के तैँले मेरा वचनहरूको वास्तविक अर्थ बुझ्छस्? हरित गृहका फूलहरू ताराहरू जत्तिकै असङ्ख्य छन्, र तिनले तारिफ गर्ने भीडहरूलाई खिँच्छन्, तैपनि तिनीहरू ओइलिएपछि, तिनीहरू शैतानका छलपूर्ण युक्तिहरू जस्तै नष्ट हुन्छन्, र कसैले पनि तिनमा कुनै चासो देखाउँदैन। तर ती सबै जसले हावाको झोक्का र सूर्यको तापमा डढेर मेरो गवाही दिन्छन् ती फक्रेर सुन्दर नभए पनि तिनका फूलहरू ओइलाएपछि तिनले फल फलाउँछन्, किनकि म तिनीहरू त्यस्तै होस् भन्ने चाहन्छु। जब म यी वचनहरू बोल्छु, तिमीहरूले कतिसम्म बुझ्दछौ? फूलहरू ओइलिए फल फलेपछि, र यी सबै फल मेरो आनन्दका लागि उपलब्ध गराउन सकिएपछि, म पृथ्वीमा मेरा सबै काम समाप्त गर्नेछु, र मेरो बुद्धिलाई यथार्थमा बदलेकोमा आनन्द लिन थाल्नेछु!
फेब्रुवरी २२, १९९२