अध्याय २
नयाँ शैलीतर्फ प्रवेश गर्ने बाहेक, मेरो काममा नयाँ चरणहरू पनि हुनेछन्। राज्यमा जस्तै, म मानव अभिप्रायहरू अलिकति पनि नमिसाईकन, हरेक विवरण नछुटाईकन, मार्गको हरेक चरणमा अगुवाइ गर्दै सबै कुरा सीधै ईश्वरीयतामा गर्नेछु। यसपछि समावेश गरिएको कुरा वास्तविक अभ्यासका मार्गहरूको रूपरेखा हो: तिनीहरूले कठिनाइ र शोधनबाट “प्रजा” भन्ने नाम कमाएका हुनाले र तिनीहरू मेरो राज्यका प्रजा भएका हुनाले, मैले तिनीहरूलाई कडा आवश्यक सर्तहरू प्रदान गर्नुपर्छ, जसको मापदण्ड अघिल्ला पुस्ताहरूमा मैले गरेको कामका विधिहरूभन्दा उच्च छ। यो वचनहरूको वास्तविकता मात्रै होइन; अझै महत्त्वपूर्ण कुरा, यो अभ्यासको वास्तविकता हो। सुरुमा यिनै कुराहरू हासिल गरिनुपर्छ। सबै वचन र कार्यहरूमा, राज्यका प्रजाले पूरा गर्नुपर्ने मापदण्डहरूलाई पूरा गर्नुपर्छ, र कुनै पनि उल्लङ्घनकर्तालाई तुरुन्तै हटाइनुपर्छ, नत्र तिनीहरूले मेरो नाममा सर्म ल्याउनेछन्। तैपनि, स्पष्ट रूपमा देख्न वा बुझ्न नसक्ने अनजानहरू यसका अपवाद हुन्। मेरो राज्य निर्माण गर्ने क्रममा, मेरा वचनहरू खाने र पिउने, मेरो बुद्धिलाई पहिचान गर्ने, र मेरो कार्यमार्फत सुनिश्चितता प्राप्त गर्ने कार्यमा ध्यान देओ। यदि कसैले मेरा वचनहरू समावेश भएको बाहेकका पुस्तकहरूलाई ध्यान दिन्छन् भने, म अवश्य नै तिनीहरूलाई चाहँदिन; त्यस्ता मानिसहरू मेरो अवहेलना गर्ने वेश्याहरू हुन्। प्रेरित भएर, व्यक्तिले घरमा अति धेरै समय बिताउनु हुँदैन। यदि कसैले त्यसो गर्छ भने, म तिनीहरूलाई जबरजस्ती गर्नेछैन, तर त्यस व्यक्तिलाई त्याग्नेछु र अबउप्रान्त प्रयोग गर्नेछैन। प्रेरितहरूले घरमा त्यति धेरै समय नबिताउने हुनाले, तिनीहरूले सुधार हुनको लागि मण्डलीमा धेरै लामो समय अवधि बिताउँछन्। प्रेरितहरूले मण्डलीहरूमा हुने दुई वटा भेलामध्ये कम्तीमा पनि एउटामा सहभागिता जनाउनुपर्छ। तसर्थ, (सबै प्रेरितीय भेला, सबै मण्डली अगुवाका भेला, र स्पष्ट अन्तर्ज्ञान पाएका सन्तहरूको सबै भेला लगायत) सहकर्मीहरूका भेलाहरू बारम्बार हुनुपर्छ। कम्तीमा पनि तिमीहरूमध्ये केहीले हरेक भेलामा सहभागिता जनाउनुपर्छ, र प्रेरितहरूले मण्डलीहरूको रेखदेख गर्ने कार्यमा मात्रै ध्यान दिनुपर्छ। यसभन्दा पहिले सन्तहरूका निम्ति दिइएका सर्तहरू अझै गहन बनेका छन्। मैले मेरो नामको गवाही दिनुभन्दा पहिले उल्लङ्घनका कार्यहरू गर्नेहरूका हकमा, मप्रति तिनीहरूको भक्तिको कारण, म तिनीहरूलाई जाँचेर अझै प्रयोग गर्नेछु। तैपनि, मेरो गवाहीपछि थप उल्लङ्घनका कार्यहरू गर्ने तर पश्चात्ताप गरेर पीडा सही ताजा सुरुवात गर्ने अठोट गरेकाहरूका हकमा, त्यस्ता मानिसहरूलाई मण्डलीभित्र रहन मात्रै दिइन्छ। तर, तिनीहरू लापरवाही र स्वेच्छाचारी हुनु हुँदैन, बरु अरूभन्दा थप संयमी हुनुपर्छ। मैले बोलेपछि आफ्ना मार्गहरूलाई सुधार नगर्नेहरूका हकमा, मेरो आत्माले तिनीहरूलाई तुरुन्तै त्याग्नेछ, र मण्डलीसँग मेरो न्याय लागू गरेर तिनीहरूलाई निकाल्ने अधिकार हुनेछ। यो निरपेक्ष कुरा हो, र यसमा ढिलाइ गरिरहने कुनै ठाउँ हुन सक्दैन। यदि कुनै व्यक्ति परीक्षाहरूको बीचमा ढल्छ भने—अर्थात्, ऊ छोडेर जान्छ भने—मलाई जाँच गर्ने कार्य र शैतानलाई पागलझैँ हतारमा मण्डलीभित्र प्रवेश गर्न दिने कार्यबाट जोगिनको लागि कसैले पनि त्यस व्यक्तिलाई कुनै ध्यान दिनु हुँदैन। त्यस्तो व्यक्तिलाई मैले गर्ने न्याय यही हो। यदि छोडेर जाने व्यक्तिप्रति कसैले धार्मिकता विहीन रूपमा र भावनामा बगेर व्यवहार गर्छ भने, छोडेर जाने व्यक्तिले आफ्नो स्थान गुमाउने मात्र होइन, तर अर्को व्यक्तिलाई पनि मेरा मानिसहरूमध्येबाट निकालिनेछ। प्रेरितहरूको अर्को काम भनेको सुसमाचार प्रचार गर्ने कार्यमा ध्यान दिनु हो। अवश्य नै, सन्तहरूले पनि यो काम गर्न सक्छन्, तर तिनीहरूले यसो गर्ने क्रममा तिनीहरू बुद्धिमानी हुनैपर्छ, र समस्या पैदा गर्ने कामबाट टाढा बस्नुपर्छ। उपर्युक्त कुराहरू अभ्यास गर्ने वर्तमान मार्गहरू हुन्। यसको साथै, तिमीहरूलाई के स्मरण गराउँछु भने, तिमीहरूले आफ्ना प्रवचनहरूलाई अझै गहन बनाउने कार्यमा ध्यान दिनुपर्छ, ताकि सबै जना मेरा वचनहरूको वास्तविकतामा प्रवेश गर्न सकून्। तिमीहरूले मेरा वचनहरूलाई नजिकबाट पछ्याउनुपर्छ, र यसलाई यसरी प्रस्तुत गर्नुपर्छ कि सबै मानिसहरूले ती वचनहरूलाई स्पष्ट रूपमा र अस्पष्टताविना बुझ्न सकून्। यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो। मेरा मानिसहरूका बीचमा धोका दिने विचारहरू बोकेर हिँड्नेहरूलाई बहिष्कार गरिनुपर्छ, र अबउप्रान्त मेरो घरमा बस्न दिनु हुँदैन, नत्र तिनीहरूले मेरो नामलाई बदनाम गर्नेछन्।
फेब्रुवरी २१, १९९२