सर्वशक्तिमान्‌को सुस्केरा

तेरो हृदयमा विशाल रहस्य छ, जसको बारेमा तँ कहिल्यै जानकार भइनस्, किनकि तँ ज्योतिबिनाको संसारमा बाँचिरहेको छस्। तेरो हृदय र तेरो आत्मा दुष्टद्वारा बलजफती खोसिएको छ। तेरा आँखाहरू अन्धकारले धमिला भएका छन्‌ र तँ न दिनमा आकाशको सूर्य देख्न सक्छस् न राती चम्किरहने तारा नै। तेरा कानहरू कपटपूर्ण शब्दहरूले टालिएका छन्, र तँ न यहोवाको गर्जनको आवाज सुन्न सक्छस्, न उहाँको सिंहासनबाट बग्ने पानीको आवाज नै। तेरो अधिकारमा भएका तेरा सबै चीज, जुन सर्वशक्तिमान्‌ले तँलाई दिनुभएको थियो, तैँले ती सबै गुमाइसकेको छस्। तँ पीडाको अनन्त सागरमा प्रवेश गरेको छस् जहाँ उद्धार गर्ने कुनै शक्ति छैन, बाँच्ने कुनै आशा छैन, र तैँले गर्ने कार्य भनेको केवल सङ्घर्ष र हस्याङफस्याङ मात्र हो…। त्यस क्षणपश्चात्, तँ दुष्टद्वारा पीडित बन्न अभिशप्त भइस्, सर्वशक्तिमान्‌को आशीर्वादबाट धेरै टाढा रहिस्, सर्वशक्तिमान्‌का प्रावधानहरूको पहुँचबाट बाहिर रहिस्, फर्केर आउन नसक्ने मार्गमा हिडिरहिस्। लाखौँ आह्वानहरूले पनि तेरो मन र आत्मालाई मुस्किलले मात्र जगाउन सक्छन्‌। तँ दुष्टको काखमा चीर निद्रामा सुतेको छस् जसले तँलाई दिशाविहीन वा मार्गसङ्केतरहित असीम साम्राज्यमा लोभ्याएको छ। तत्पश्चात्‌ तैँले तेरो मौलिक निर्दोषता र शुद्धता गुमाइस्, र सर्वशक्तिमान्‌को हेरचाहबाट टाढा हुन थालिस्। तेरो हृदयमा रहेको दुष्टले सबै मामिलाहरूमा तँलाई परिचालन गर्छ र यही नै तेरो जीवन बनेको छ। अब तँ ऊसँग डराउनु, ऊबाट टाढा रहनु, वा ऊमाथि शङ्का गर्नुको सट्टा उसलाई आफ्नो मनको परमेश्‍वरको रूपमा व्यवहार गर्छस्। तैँले उसलाई पवित्र मान्न थालिस्, उसैको पूजा गर्न थालिस्, र तिमीहरू दुवै जना शरीर र छाया झैँ अविभाज्य भएका छौ, सँगसँगै जिउन र मर्न प्रतिबद्ध बनेका छौ। तँ कहाँदेखि आएको थिइस्, तेरो जन्म किन भएको थियो, वा तँ किन मर्नेछस् भन्‍ने कुराको ज्ञान तँलाई छैन। तँ सर्वशक्तिमान्‌लाई एक अपरिचितको रूपमा हेर्छस्; उहाँले तेरो लागि गर्नुभएका सबै कुराहरूलाई छोडौं, तँलाई त उहाँको प्रारम्भको बारेमा समेत थाहा छैन। उहाँबाट आएको हरेक चीज तेरा लागि घृणास्पद भएको छ; तैँले न त्यसको कदर गर्छस् न त्यसको महत्त्व नै जान्दछस्। सर्वशक्तिमान्‌को प्रावधान पाउन सुरु गरेदेखि नै तँ दुष्टको साथमा हिँड्छस्। दुष्टको साथमा तैँले हजारौं वर्षको तुफान र आँधीबेहरी सहिस्, र तँ उसैसँग परमेश्‍वरका विरुद्धमा उभिइस् जो तेरो जीवनको स्रोत हुनुहुन्थ्यो। तँ विनाशको किनारामा आइपुगिसकेको छस् भन्‍ने कुरै छोडौं, तैँले त पश्चात्ताप समेत गर्न जानेको छैनस्। दुष्टले तँलाई बहकाएको र कष्ट दिएको छ भन्‍ने कुरा तैँले बिर्सिएको छस्; तैँले आफ्नो सुरुवात बिर्सिएको छस्। यसरी आजको दिनसम्म त्यो दुष्टले तेरो मार्गका हरेक पाइलामा कष्ट दिएको छ। तेरो मन र आत्मा चेतनाशून्य र नाश भएका छन्। तैँले मानव संसारका विडम्बनाहरूको बारेमा गुनासो गर्न बन्द गरेको छस्; यो संसार अन्यायी छ भन्‍ने अबउप्रान्त तैँले विश्‍वास गर्दैनस्। सर्वशक्तिमान्‌को अस्तित्व छ कि छैन भन्‍ने कुरामा तैँले वास्ता गर्ने त कुरै छाडौं। धेरै पहिलादेखि त्यो दुष्ट तेरो वास्तविक पिता हो र तँ त्यसबाट अलग्गिन सक्दैनस् भनी तैँले ठानेकोले गर्दा यस्तो भएको हो। तेरो मनमा गढेको रहस्य यही हो।

मिरमिरे बिहानीको आगमनसँगै पूर्वमा बिहानी तारा उदाउन थाल्छ। यो तारा त्यहाँ पहिला कहिल्यै थिएन, र यसले शान्त, रिमरिमे आकाशलाई चहकिलो बनाउँछ, जसले मानिसहरूको हृदयमा निभेको ज्योति पुनः प्रज्वलित पार्छ। तँमा र अरूमा समान रूपले चम्किने यो ज्योतिको कारण मानव अब एक्लो छैन। तैपनि तँ एक्लै यो अँध्यारो रातमा मस्त निद्रामा रहन्छस्। तैँले कुनै आवाज सुन्दैनस् र कुनै ज्योति देख्दैनस्; नवीन स्वर्ग र पृथ्वीको आगमन, नवयुगको आगमनको बारेमा तँ अनभिज्ञ छस्, किनभने तेरा बुवाले तँलाई भन्नुहुन्छ, “मेरो छोरा, तिमी अहिल्यै नउठ, अझै बिहान सबेरै छ। मौसम चिसो छ, त्यसैले तिमी बाहिर नजाऊ, नत्र तिम्रा आँखाहरू तरबार र भालाले रोपिनेछन्‌।” तँ केवल तेरो बुवाका सल्लाहहरूमा भरोसा गर्छस्, किनकि तँलाई विश्‍वास छ कि केवल तेरो बुवा सही हुनुहुन्छ, किनभने उहाँ तँभन्दा जेष्ठ हुनुहुन्छ र तँलाई औधी माया गर्नुहुन्छ। यस्ता सल्लाहहरू र यस्तो मायाले तँलाई विश्‍वमा ज्योति छ भन्‍ने प्राचीन कथामा विश्‍वास गर्न रोक लगाउँछन्‌; त्यस्ता कुराहरूले विश्‍वमा अझै सत्य अस्तित्वमा छ भन्‍ने कुरामा चासो राख्नदेखि तँलाई रोक्छन्। तैँले अबउप्रान्त सर्वशक्तिमान्‌द्वारा गरिने उद्धारको आशा गर्ने हिम्मत गर्दैनस्। तँ यथास्थितिमा सन्तुष्ट हुन्छस्, अबउप्रान्त तँ ज्योतिको आगमनको अपेक्षा गर्दैनस्, प्राचीन कथामा भनिएझैँ सर्वशक्तिमान्‌को आगमन हेर्न तँ पर्खँदैनस्। तेरो विचारमा, हरेक सुन्दर चीजलाई पुनर्जीवित गर्न सकिँदैन, यो अस्तित्वमा रहन सक्दैन। तेरो नजरमा, मानवजातिको भोलि र मानवजातिको भविष्य हराउँछ, विलय हुन्छ। आफ्नो पूरै बल लगाई तँ आफ्नो बुवाको लुगामा झुन्डिएको छस्, कठिनाइहरू सहन प्रफुल्ल छस्, तेरो यात्राको सहयात्री र लामो यात्राको दिशा गुम्ने हो कि भन्‍नेमा निकै डराएको छस्। मानिसहरूको विशाल र धमिलो संसारले तिमीहरूजस्ता धेरैलाई दृढ र निडर भएर विभिन्न भूमिकाहरू निर्वाह गर्न तयार गरेको छ। यसले मृत्युसँग नडराउने धेरै “योद्धाहरू” सृजना गरेको छ। योभन्दा पनि बढी, यसले चेतनाशून्य र पक्षाघात भएका मानवहरूको एकपछि अर्को हूल तयार गरेको छ, जो आफू सृष्टि हुनुको उद्देश्यको बारेमा अनभिज्ञ छन्। सर्वशक्तिमान्‌का आँखाले गहिरो पीडामा रहेका हरेक मानवजातिको निरीक्षण गर्छन्। उहाँले जे सुन्नुहुन्छ त्यो पीडितहरूको विलाप हो, उहाँले जे देख्नुहुन्छ त्यो पीडाले छट्पटिएकाहरूको निर्लज्जपन हो, र उहाँले जे अनुभूति गर्नुहुन्छ त्यो मुक्तिको अनुग्रह गुमाएको मानवजातिको असहायपन र भयावहपन हो। मानवजातिले आफ्नो मार्गमा आफैँ हिँड्ने निर्णयको छनौट गर्दै उहाँको हेरचाहलाई अस्वीकार गर्छ, र दुस्मनको साथमा रहेर गहिरो समुन्द्रका, अन्तिम थोपासम्मै, तितोपनाको स्वाद चाख्ने इच्छा गर्दै उहाँको दृष्टिको निगरानीबाट भाग्न चाहन्छ। अब मानवद्वारा सर्वशक्तिमान्‌को सुस्केरा सुनिँदैन; अब सर्वशक्तिमान्‌का हातहरू पीडित मानवलाई सुमसुम्याउन इच्छुक छैनन्। समय-समयमा उहाँले आधिपत्य जमाउनुहुन्छ, र समय-समयमा पुनः गुमाउनुहुन्छ, र यसरी यही कार्य उहाँले दोहोर्‍याउनुहुन्छ। त्यही क्षणदेखि उहाँ थाक्न, झर्को मान्न थाल्नुहुन्छ र यसैकारण उहाँले गरिरहनुभएको काम रोक्नुहुन्छ र मानवजातिमाझ हिँड्न छोड्नुहुन्छ…। मानवजाति यी सबै परिवर्तनसँग पूर्ण रूपले अनभिज्ञ छ, सर्वशक्तिमान्‌को आउने र जाने अनि दुःख र उदासीनताको विषयमा अनभिज्ञ छ।

यस संसारमा भएको हरेक कुरा सर्वशक्तिमान्‌का विचारहरू र उहाँको प्रत्यक्ष निगरानीमा द्रुत गतिमा परिवर्तन हुन्छ। मानवजातिले कहिल्यै नसुनेका कुराहरू अकस्मात् आइपुग्छन्, जबकि मानवजातिले लामो समयदेखि अधिकार जमाएका कुराहरू थाहै नपाई फुत्कन्छन्। सर्वशक्तिमान्‌ कहाँ हुनुहुन्छ कसैले पनि बुझ्न सक्दैन, झन् सर्वशक्तिमान्‌को जीवनशक्तिको पराभौतिकता र विशालता जोकोहीले बुझ्छन् भन्‍ने त कुरै नगरौँ। उहाँ यो अर्थमा सर्वश्रेष्ठ हुनुहुन्छ कि मानवले बुझ्न नसक्ने कुरा उहाँले बुझ्नुहुन्छ। उहाँ यस अर्थमा महान् हुनुहुन्छ कि मानवजातिद्वारा त्यागिनुभए तापनि उहाँले अझै मानवजातिलाई मुक्ति दिनुहुन्छ। उहाँलाई जीवन र मृत्युको अर्थ थाहा छ, र त्यसका अतिरिक्त, उहाँले सृष्टि गर्नुभएको मानवजातिले पालना गर्नुपर्ने अस्तित्वका नियमहरू उहाँलाई थाहा छ। उहाँ मानव अस्तित्वको आधार हुनुहुन्छ, र उहाँ नै उद्धारक हुनुहुन्छ जसले मानवजातिको फेरि पुनरुत्थान गर्नुहुन्छ। उहाँले खुशी हृदयलाई दुःखित पार्नुहुन्छ, र दुःखित हृदयलाई खुशी दिएर उठाउनुहुन्छ, सबै आफ्नो कार्यको खातिर, र आफ्नो योजनाको खातिर।

सर्वशक्तिमान्‌ले प्रदान गर्नुभएको जीवनबाट तर्किएर गएको हुनाले, मानवजाति आफ्नो अस्तित्वको उद्देश्यबारे अनभिज्ञ छ, तथापि ऊ मृत्युसँग डराउँछ। तिनीहरू सहयोग वा समर्थनरहित छन्‌, अझै पनि आफ्ना आँखा चिम्लन अनिच्छुक हुन्छन्‌, र तिनीहरू यस संसारमा जसोतोसो एक तुच्छ अस्तित्व कायम राखिराख्‍न र आफ्नै प्राणको समेत कुनै बोध नहुने देहको पोको भएर जिउन आफैलाई तयार पार्छन्‌। तँ, अरूझैँ, यसैगरी आशाबिना, लक्ष्यबिना बाँच्छस्। केवल प्राचीन कथाका पवित्र एउटै उहाँले मात्र ती मानिसहरूलाई मुक्ति दिनुहुनेछ जो सङ्कटको माझमा शोक गर्दै उहाँको आगमनको व्याकुलताका साथ प्रतीक्षा गर्छन्‌। अहिलेसम्म, त्यस्तो विश्‍वास तिनीहरूमा महसुस गरिएको छैन जसमा चेतनाको अभाव छ। तथापि, मानिसहरू अझै पनि यसका लागि आतुर छन्। सर्वशक्तिमान्‌ले यी मानिसहरूमाथि कृपा गर्नुहुन्छ जो गहिरोगरी कष्टमा छन्‌; त्यसैगरी, यी मानिसहरूसँग दिक्क हुनुहुन्छ जोसँग चेतनाको अभाव छ, किनकि मानवबाट उत्तर प्राप्त गर्न उहाँले लामो समय पर्खनुपरेको छ। उहाँले खोज्न चाहनुहुन्छ, तेरो हृदय र तेरो आत्मा खोज्न चाहनुहुन्छ, तेरो लागि पानी र खाना ल्याउन र तँलाई ब्यूँझाउन चाहनुहुन्छ, ताकि तँ अब उप्रान्त तिर्खाउन र भोकाउन नपरोस्‌। जब तँ थाक्छस् र जब तैँले यो संसारको निराशाजनक वैराग्यपनका केही कुरा महसुस गर्न थाल्छस्, तब तँ हताश नबन्, नरू। सर्वशक्तिमान्‌ परमेश्‍वर, रखवालाले जुनसुकै बखत पनि तेरो आगमनलाई स्वीकार्नुहुनेछ। उहाँले तेरो नजिकैबाट रखवाली गर्दै हुनुहुन्छ, तँ फर्किने प्रतीक्षा गर्दै हुनुहुन्छ। उहाँ तेरो स्मृति अकस्मात् फर्किने दिनको प्रतिक्षा गर्दै हुनुहुन्छ: जुन दिन तैँले तँ परमेश्‍वरबाट आइस्, तैँले कुनै अज्ञात समयमा आफ्नो दिशा गुमाइस्, कुनै एक अज्ञात समयमा तैँले बाटोमा चेतना गुमाइस्, र कुनै अज्ञात समयमा एक “पिता” प्राप्त गरिस् भन्‍ने कुरा महसुस गर्छस्; यसका अतिरिक्त, जुन दिन तैँले सर्वशक्तिमान्‌ले तेरो फिर्तीको लागि धेरै, धेरै लामो समयदेखि त्यहाँ पर्खँदै, सधैँ रखवाली गर्दै आउनुभएको छ भन्‍ने कुरा महसुस गर्छस्। बिना कुनै उत्तर तेरो प्रत्युत्तरको प्रतीक्षा गर्दै, उहाँले पूरा व्यग्र इच्छाको साथ रखवाली गर्दै आउनुभएको छ। उहाँको रखवाली र प्रतीक्षा अमूल्य छन्, र ती मानव हृदय र मानव आत्माका खातिर हुन्। सायद ती रखवाली र प्रतीक्षा असीमित छन, र सायद ती समाप्तिमा आएका छन्। तर, तेरो हृदय र तेरो आत्मा अहिले ठ्याक्कै कहाँ छन् भन्‍ने कुरा तैँले जान्नुपर्दछ।

मे २८, २००३

अघिल्लो: परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ

अर्को: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्